निर्णय नं. ८७६१ - ज्यान मार्ने उद्योग

ने.का.प. २०६९, अङ्क १
निर्णय नं. ८७६१
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुशीला कार्की
माननीय न्यायाधीश श्री प्रकाश वस्ती
२०६७–CR -०७७७
फैसला मितिः २०६८।१२।५।१
मुद्दाः– ज्यान मार्ने उद्योग ।
पुनरावेदक वादीः रोशन श्रेष्ठको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी प्रतिवादीः जिल्ला भक्तपुर, भक्तपुर नगरपालिका वडा नं. १५ बस्ने अशोक सितिखु समेत
शुरू फैसला गर्नेः
मा.न्या.श्री बलराम वास्तोला
पुनरावेदन फैसला गर्नेः
मा.न्या.श्री माधवप्रसाद चालिसे
मा.न्या.श्री ठाकुरप्रसाद शर्मा
§ ज्यानसम्बन्धी अपराधहरूमा कर्तव्य ज्यान र यसको उद्योगको बीचमा अपराध स्थापित गर्ने तत्वहरूको रुपमा रहेको कार्य (Actus reus), मनसाय (Mens rea) र वैध प्रतिरक्षाको अभाव (absence of valid defense) को दृष्टिकोणबाट हेर्दा कुनै भिन्नता रहेको हुँदैन । केवल परिणामको दृष्टिले अपराधले पूर्णता पाउन मात्र बाँकी रहेको हुन्छ । कुनै अपराधको सन्दर्भमा सो अपराध गर्ने उद्योगको प्रश्न मनसायपूर्वक गरिएको आपराधिक कार्यमा मात्र सान्दर्भिक हुन आउने ।
§ मनसायपूर्वक गरिएको अपराधमा मनसाय, तयारी, उद्योग र पूर्ण अपराधका चार चरणहरूमध्ये मनसाय र तयारीसम्मको चरणमा त्यस्तो अपराध गर्न चाहने व्यक्तिले आपराधिक कार्य घटाउनको लागि कुनै कार्य नगरेको हुनाले यो चरणसम्म अपराधको उद्योगको प्रश्न नउठ्ने ।
§ अपराध गर्न चाहने व्यक्तिले मनसायअनुसारको तयारी पुरा गरी मनसायलाई कार्यरुप दिन सारवान रुपमा (Substantially) कुनै आपराधिक कार्य गरेको तर कुनै कारणले निजको कार्यबाट निजले अपेक्षा गरेको परिणाम प्राप्त नभएको अवस्थालाई उद्योगको रुपमा लिन सकिन्छ । यस्तो अपूर्ण कार्यलाई छुटृै अपराधको रुपमा परिभाषित गरी कानूनले दण्डनीय बनाएको अवस्थामा सो कार्य गर्ने व्यक्तिले कानूनमा उल्लिखित आपराधिक दायित्व वहन गर्नुपर्ने ।
§ ज्यान मार्ने उद्योगको अपराधमा कर्तव्य ज्यानको अपराधको लागि आवश्यक पर्ने आपराधिक कार्य, आपराधिक मनसाय र वैध प्रतिरक्षाको अभाव समेतका सबै तत्वहरू विद्यमान हुनु पर्दछ । तर, परिणामका दृष्टिले पीडितको मृत्यु भएको हुन भने नहुने ।
§ ज्यान मार्ने मनसाय राखेर पीडितमाथि कुनै किसिमको प्रहार वा अन्य कुनै प्रकारको आपराधिक कार्य गर्दछ र उसलाई वैध प्रतिरक्षा उपलब्ध छैन भने त्यस्तो प्रतिवादीले ज्यान मार्ने उद्योगको अपराध गरेको मान्नुपर्ने ।
§ ज्यान मर्न नपाएको अवस्था हुनको लागि तेस्रो पक्षको उपस्थिति अनिवार्य भने होइन । तेस्रो पक्षले हस्तक्षेप गरेको हुन पनि सक्दछ र नगरेको पनि हुन सक्दछ । कारण जेसुकै भएपनि ज्यान मर्नबाट बच्नु र कर्तव्य ज्यानको वारदातको लागि आवश्यक सबै तत्वहरूको विद्यमानता हुनु नै ज्यान मार्ने उद्योगको वारदात स्थापित हुन पर्याप्त हुने ।
(प्रकरण नं.४)
§ वारदातस्थलमा हातहतियार सहितका समूहमा प्रवेश गरेको अवस्थामा निजहरूले मार्ने मनसायले नै पीडित माथि हतियार प्रहार गरेको भए बाँच्न सक्ने अवस्था देखिन आउँदैन । यसबाट प्रतिवादीहरूमा जाहेरवालालाई मार्नेसम्मको मनसाय (Intention) थियो भन्ने स्थापित हुन नआउने ।
(प्रकरण नं.६)
वादी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री ठोकप्रसाद शिवाकोटी
प्रत्यर्थी प्रतिवादी तर्फबाटः
अवलम्बित नजीरः
सम्बद्ध कानूनः
§ ज्यानसम्बन्धी महलको १, १५ नं.
§ सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को दफा २७
फैसला
न्या.सुशीला कार्कीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत पाटनको मिति २०६७।२।२५ को फैसलाउपर पुनरावेदक वादी नेपाल सरकारको यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर निम्नानुसार रहेको छ :–
मिति २०६३।६।१६ गते म समेतले सञ्चालन गरेको भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं १० यालाछेंस्थित पुल हाउसमा अशोक सितिखु समेतका व्यक्तिहरू आई निजहरूले आ–आफ्नो हातमा बोकी ल्याएका तरवार, खुकुरी, रड लगायतका हातहतियारले मलाई प्रहार गरी मरणासन्न अवस्थामा पुर्याई अन्य साथीहरूको सहयोगमा ज्यान बच्न गएको हुँदा निजहरूलाई कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको रोशन श्रेष्ठको जाहेरी दरखास्त ।
मिति २०६३।६।१६ गते रोशन श्रेष्ठको पुल हाउसमा अशोक सितिखु, विक्रम मचामसी समेतले जाहेरवालालाई तरवार सहितका हातहतियारले प्रहार गरी रोशन श्रेष्ठलाई घाइते तुल्याएका हुन् भन्ने समेत व्यहोराको मिति २०६३।६।२५ को घटनास्थल मुचुल्का ।
मिति २०६३।६।१६ गते अन्दाजी ९:३० बजेको समयमा रोशन श्रेष्ठको पुल हाउसमा मलाई तरवार समेतले प्रहार गर्ने व्यक्ति मलाई देखाइएका व्यक्तिहरू मध्ये कोही छैनन् । पुल हाउसको बाहिरी ढोकामा उभिएका व्यक्ति चाँही देखो, चिने, निजको नाम श्याम गाईजु हो । निजले मलाई तरवार समेतले प्रहार गरेका होइनन् भन्ने समेत जाहेरवालाले गरिदिएको सनाखत कागज ।
सुरेश सितिखुलाई काट्ने नितिनको ग्रुपको व्यक्तिलाई काट्नु पर्छ भनी विक्रम मचामसीले भनेकाले बाजे, नरेन्द्र लामा, राजु मचामसी, दिवे दिवाकर, रामहरी सिल्पकार, शंकर पलिखेल, ग्रिस भन्ने व्यक्ति, नरेन्द्र लामा भित्र पसे । म र राजु मचासमी ढोकामा बस्यौं । श्याम गाईजु ढोका नजिक बसे । दिवे दिवाकर, रामहरी सिल्पकार, शंकर पलिखेल, अर्जुन कपाली, ग्रिस बाहिर ढोकामा बसे । नितिनलाई प्रहार गर्दा भागी गएकाले रोशन श्रेष्ठलाई विक्रम मचामसी र नरेन्द्र लामाले मोटरसाईकलको सकले, बाजेले खुकुरीले प्रहार गरेका हुन । म ढोकामा नितिन ग्रुपका मान्छे छेक्न बसेको हुँ, जाहेरवाला घाईते भै लडेपछि भागेका हौं, ज्यानमार्ने नियतले प्रहार गरेको हो । अन्य व्यक्तिहरूले छुट्टयाएकोले सबै उक्त स्थानबाट भागेका हौं भन्ने समेत व्यहोराको अशोक सितिखुले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
घटना वारदात हुँदाको अवस्थामा म पनि रोशन श्रेष्ठको पुल हाउसमा थिएँ । सो दिन जाहेरीमा उल्लिखित प्रतिवादीहरू पुल हाउसमा आई प्रतिवादी मध्येका बाजे भन्ने सुरेन्द्र जोशीले आफ्नो हातमा भएको तरवारले मेरो टाउकामा प्रहार गर्दा म लड्न गएँ । सो पश्चात् यी प्रतिवादीहरू ज्यानमार्ने उद्देश्यले खुकुरी तथा अन्य हतियार प्रहार गरी जाहेरवाला रोशन श्रेष्ठलाई घाइते बनाएका हुन् भन्ने समेत व्यहोराको घाइते विमल सुवालले गरिदिएको कागज ।
मिति २०६३।६।१६ गते १९:३० बजेको समय तिर म लगायत विक्रम मचामसी, बाजे भन्ने व्यक्ति, नरेन्द्र लामा, राजु मचामसी, दिवे भन्ने दिवाकर, रामहरी सिल्पकार, शंकर पलिखेल, अशोक सितिखु समेत भै पुल हाउसमा पुगी भित्र रहेका नितिनलाई प्रहार गर्दा निज भाग्न सफल भएकाले निजकै ग्रुपको रोशन श्रेष्ठलाई विक्रम मचामसी र नरेन्द्र लामाले मोटरसाईकलको सकले, बाजेले खुकुरीले ज्यानमार्ने नियतले प्रहार गरेका हुन् । अरु हामी मानिसहरू छेक्न बाहिर बसेका हौं भन्ने समेत व्यहोराको ग्रिस भन्ने सुनिल तुलसी वाख्याले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
ज्यानमार्ने नियतले खुकुरी, तरवार, मोटरसाईकलको सकले प्रहार गर्ने ४ जना व्यक्ति विक्रम मचामसी, बाजे भन्ने सुरेन्द्र जोशी, नरेन्द्र लामा र अशोक सिखितु एवं भाग्न उम्कन नपाउने गरी बाटो गौंडा छेक्ने अन्य व्यक्ति राजु मचामसी, दिवे भन्ने दिवाकर, रामहरी सिल्पकार, शंकर पलिखेल, ग्रिस भन्ने सुनिल तुलसी वाख्या, अर्जुन कपालीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १, १५ नं. बमोजिम सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको अभियोग माग दावी ।
अधिकारप्राप्त अधिकारीसमक्ष मैले गरेको बयान व्यहोरामा प्रहरीहरूले पढ्न नदिई धम्काएर सही गर भनेकाले सही गरेको हुँ । बयानका सम्पूर्ण कुराहरू झूठा हुन् । उक्त मितिमा कोही कसैसँग झगडा गरेर घाइते भएको भन्ने थाहा छैन । मिसिल संलग्न बुझिएका मानिसहरू शुभराम मुनकर्मी, निहित हाडालाई चिन्दिन । उक्त घटनामा संलग्न नभएको हुँदा मेरो नाम किन संलग्न गरे मलाई थाहा भएन, साथै जाहेरवालाले गरेको कागज व्यहोरा समेत झूठा हो भन्ने समेत व्यहोराको प्रतिवादी अशोक सितिखुले शुरु अदालतमा गरेको बयान ।
उक्त दिन म कुनै किसिमको झगडा र घटनामा संलग्न थिइँन । अधिकारप्राप्त अधिकारी समक्ष मैले गरेको बयान व्यहोरामा लेखिएका सम्पूर्ण कुराहरू बनावटी र झूठा हुन्, प्रहरीहरूले पढ्न नदिई धम्काएर जबरजस्ती सही गर भनेकाले सही गरेको हुँ । मिसिल संलग्न जाहेरी दरखास्त, घटनास्थल मुचुल्का, बुझिएका मानिसहरू समेतका कागज व्यहोरा झूठा हुन् । नितिन हाडा समेतका कागज गर्ने मानिसलाई म चिन्दिन भन्ने समेत व्यहोराको प्रतिवादी ग्रिस भन्ने सुनिल तुलसी वाख्याले शुरु अदालतमा गरेको बयान ।
यी प्रतिवादीहरू अशोक सितिखु र सुनिल तुलसी वाख्या अहिले नै कसूरदार होइनन् भनी विश्वास गर्ने मनासिब आधार नभएकाले पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल प्रतिवादीहरू दुवै जनालाई मुलुकी ऐन, अ.वं. ११८ को देहाय २ बमोजिम सीधा खान पाउने गरी थुनुवा पूर्जी दिई थुनामा राख्न पठाईदिनु भन्ने समेत व्यहोराको मिति २०६४।२।२३ को शुरु अदालतको थुनछेक आदेश ।
मिति २०६३।६।१६ गतेको मितिभन्दा अगाडि भदौ १५ गते नै म मेरो मामा घर धनुषा गई कार्तिकमा लक्ष्मीपूजाको दिन मामासँगै मेरो घर भक्तपुरमा आएको हुँ । घरमा आएपछि मात्र उक्त घट्नाका बारेमा थाहा पाएको हुँ । अनुसन्धानको क्रममा कागज गर्ने विमल सुवाल भन्ने मान्छेलाई म चिन्दिन । घटनाका बारेमा आफूलाई थाहा नभएको, संलग्नता समेत नभएको तथा जाहेरवाला र अन्य प्रतिवादीहरूलाई समेत नचिनेको अवस्थामा जाहेरी दरखास्तदेखि अभियोग पत्र समेतका कुराहरू मलाई थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी सुरेन्द्र जोशीले शुरु अदालतमा गरेको बयान ।
यी प्रतिवादी उक्त वारदातमा संलग्न नरहेको भनी मान्न नमिल्ने देखिँदा पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल यी प्रतिवादी बाजे भन्ने सुरेन्द्र जोशीलाई मुलुकी ऐन अ.वं. ११८ को देहाय २ बमोजिम सीधा खान पाउने गरी थुनुवा पूर्जी दिई थुनामा राख्न पठाईदिनू भन्ने मिति २०६४।७।११ को शुरु अदालतको आदेश ।
मिति २०६३।६।१६ गते म भक्तपुरमा नै थिइँन, जाहेरवाला रोशन श्रेष्ठलाई म चिन्दिन, साथै मसँग प्रतिवादी बनाइएका अशोक सितिखु, विक्रम मचामसी समेतलाई म चिन्दिन । मैले कोही कसैलाई कुटपीट गर्ने, धारिलो हतियारले काट्ने काम गरेको छैन, अभियोग दावी झूठा हो । मसँग प्रतिवादी बनाईएका अशोक सितिखुले गरेको बयान सुनी पाऊँ । नरेन्द्र लामा भन्ने मानिसहरू धेरै हुन्छन् । मैले अशोक सितिखुलाई चिनेको छैन भन्ने समेत व्यहोराको प्रतिवादी नरेन्द्र लामाले शुरु अदालतमा गरेको बयान ।
यी प्रतिवादी कसूरदार होइनन् भन्न मिल्ने अवस्था विद्यमान नदेखिँदा पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल प्रतिवादी नरेन्द्र लामालाई सीधा खान पाउने गरी थुनामा राख्न अ.वं. ११८ को देहाय २ बमोजिम थुनुवा पूर्जी दिई सम्बन्धित कारागार शाखामा लेखी पठाईदिनु भन्ने मिति २०६४।१२।२१ को शुरु अदालतको थुनछेक आदेश ।
मिति २०६३।६।१६ गतेका दिन म आफ्नो भक्तपुर ताथली गाउँ विकास समिति वडा नं. ८ स्थित श्री महाशक्ति भट्टामा दिनरात काम गरी बसेकोले वारदातमा म छैन । जाहेरवाला समेतलाई चिन्दिन, अरु प्रतिवादी मेरा छिमेकी भएकाले जाहेरवालाले मेरो पनि नाम राखी जाहेरी दिएका होलान् । अरु प्रतिवादीहरूले आफू उम्कनका लागि मलाई पोलेका होलान्, म निर्दोष छु, झूठा अभियोग दावीबाट फुर्सद पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी विक्रम मचामसीले शुरु अदालतमा गरेको बयान ।
यी प्रतिवादी विक्रम मचामसीलाई मुलुकी ऐन, अ.वं. ११८ को देहाय २ बमोजिम थुनामा बस्ने गरी अ.वं. १२४(ग) बमोजिम यो आदेश पर्चा गरिदिएँ, नियमानुसारको सीधा खान पाउने गरी थुनुवा पूर्जी दिई थुनामा राख्न पठाई दिनु भन्ने समेत व्यहोराको मिति २०६५।४।२३ को शुरु अदालतको थुनछेक आदेश ।
मेरो भाञ्जा मसँगै २०६३ भदौ १५ गतेदेखि काठमाडौंबाट जनकपुर आई कार्तिक ५ गतेसम्म मेरो घर जनकपुरमा बसी काठमाडौं फर्केका हुन् भन्ने समेत व्यहोराको प्रतिवादी सुरेन्द्र जोशीका साक्षी दिपेश प्रधानले शुरु अदालतमा गरेको बकपत्र ।
रोशन श्रेष्ठले भनेको मिति र समयमा अशोक सितिखु मसँगै भोजमा भएकाले घटना कसरी घट्यो मलाई थाहा भएन भन्ने समेत व्यहोराको प्रतिवादी अशोक सितिखुका साक्षी जगतराम ह्योगमिखाले शुरु अदालतमा गरेको बकपत्र ।
वारदातको मिति समयमा नरेन्द्र लामा काभ्रेस्थित आफ्नै घरमा थिए, नरेन्द्र लामा काभ्रेका नभै अन्यत्रकै पनि हुन सक्छ । हाल थुनामा रहेको नरेन्द्र लामा आफ्नै घर काभ्रेमा नै रहेको हुँदा निजको ज्यानमार्ने उद्योगमा संलग्नता छैन भन्ने समेत व्यहोराको प्रतिवादी नरेन्द्र लामाका साक्षी कालमान तामाङ र आसमलाल तामाङले शुरु अदालतमा गरेको बकपत्र ।
उक्त दिन वडादशैंको टिकाको दिन थियो, सो दिन उनको फुपु मेरो भाई बुहारीको घरमा भोज थियो र म पनि बेलुका ८:३० बजे त्यहाँ पुग्दा सुनिल पनि त्यहीँ आइरहेको थियो र भोज खाइसकेपछि राती १०:३० बजे सुनिल समेत आ–आफ्नो घरतिर लागेका थियौं । वारदात भनिएको समयमा सुनिल मसँगै भोजमा रहेकाले वारदातमा निज संलग्न भएको भनिएको कुरा झूठा हो भन्ने समेत व्यहोराको प्रतिवादी सुनिलका साक्षी बेलभक्त कोजुले शुरु अदालतमा गरेको बकपत्र ।
अनुसन्धानको क्रममा भएको कागज व्यहोरा र सहीछाप मेरो हो । वारदातको मिति र समयमा म रोशनको पुल हाउसमा पसी सकेपछि त्यसको लगत्तै हातमा हतियार सहित केटाहरू बाहिर निस्कदै गर्दा हाम्रो जम्का भेट भयो । सोही क्रममा मलाई पनि प्रहार ग¥यो, सो प्रहारबाट बचेर बाहिर निस्को । सोही बेला प्रतिवादीहरू विक्रम मचामसीको हातमा तलवार, नरेन्द्र लामाको एक हातमा तलवार र अर्को हातमा पुलको भाँचिएको स्टिक थियो र व्यासीको ओरालो हुँदा तलतिर लागेको देखेको थिएँ । त्यसपछि प्रशान्त कायस्थ, म लगायतका टोलबासीहरू घटनास्थलतर्फ गयौं । त्यहाँ रोशन श्रेष्ठ र व्यासीको एकजना भाई घाइते अवस्थामा लडिरहेका थिए । घाइते रोशनलाई म, प्रशान्त लगायतले प्रहरी कार्यालयमा पुर्याई प्रहरीको भ्यानमा राखेर अस्पताल लगेका हौँ भन्ने समेत व्यहोराको शुभराम मुनकर्मीले शुरु अदालतमा गरेको बकपत्र ।
वारदातको मिति र समयमा म र शुभराम रोशनको पुल हाउसमा जान लागेका थियौं, रातको समयमा १०/१२ जनाको हुलले कुटपीट गरी फर्केका रहेछन् । मैले फेस देखो, नाम थाहा भएन । ५/६ जनाको हातमा रड, खुकुरी लगायतका हतियार देखो र रोशन भएको ठाउँमा जाँदा निज लडिरहेको देखो । त्यसपछि म नितिन लगायतका व्यक्तिहरूले रोशनलाई प्रहरी कार्यालयमा पुर्याई प्रहरीको भ्यानमा राखेर अस्पताल लगेका हौं भन्ने समेत व्यहोराको प्रशान्त कायस्थले शुरु अदालतमा गरेको बकपत्र ।
वारदातको मिति र समयमा म आफ्नो पुलहाउस बन्द गर्ने तरखरमा थिएँ । एक्कासी माक्स लगाएका केटाहरूले आक्रमण गरे, सबैभन्दा पहिले नरेन्द्र लामाले आक्रमरण गरे । त्यसपछि को–कसले हाने चिन्न नै सकिएन । अशोक, नरेन्द्रलाई समातेपछि अरुलाई पनि समातेको हो । मलाई आक्रमण गर्दा मैले देख्दाखेरी ५, ६ जना व्यक्ति थिए, नाम थाहा भएको विक्रम मचामसी, नरेन्द्र लामा, बाजे भन्ने र अशोक भन्ने समेतले तरवार र खुकुरी लिई आएका थिए । निजहरूले मलाई मार्ने उद्देश्यले टाउकोेको देब्रे पट्टि, त्यसपछि देब्रे हातमा, दायाँ हातको बीचको औँला, दाया पट्टि ढाड अनि देब्रे गालामा तरवार, रड, खुकुरीले प्रहार गरेका थिए । सो अवस्थामा मेरो टाउको हातको घाउ चोट बढी भएकाले मर्ने अवस्थामा थिएँ । निजहरूको आक्रमणबाट भाग्न सफल भई डि.एस.पी. कार्यालय आई प्रहरीले भ्यानमा राखेर अस्पताल लगेकाले बाच्न सफल भएँ भन्ने समेत व्यहोराको जाहेरवाला रोशन श्रेष्ठले शुरु अदालतमा गरेको बकपत्र ।
वारदातको मिति र समयमा म रोशनसँग पुलहाउसमा खेल्दै थिएँ, त्यही क्रममा ढोकामा आवाज आयो र मैले ढोका खोलो । सो समयमा प्रतिवादीहरू विक्रम मचामसी, नरेन्द्र लामा र बाजे लगायतका मान्छेले खुकुरी तलवारले मलाई आक्रमण गरे, सो आक्रमणबाट म बाच्न सफल भएँ र रोशनलाई आक्रमण गर्न लाग्दा म भागी गएको हुँ भन्ने समेत व्यहोराको नितिन हाडाले शुरु अदालतमा गरेको बयान ।
प्रतिवादीहरू राजु मचामसी, दिवे भन्ने दिवाकर, रामहरी शिल्पकार, शंकर पलिखेल र अर्जुन कपाली समेत ५ जना वारेण्ट म्यादी पूर्जीमा हाजिर नभै फरार रहेको र निजहरूको अंश रोक्का मुचुल्का समेत भएको देखिँदा निजहरूको हकमा अ.वं. १९० नं. बमोजिम मुतलबीमा राखिदिने र प्रतिवादीद्वय अशोक सितिखु तथा सुनिल तुलसी वाख्या उपरको अभियोग दावीलाई वादी पक्षले स्वतन्त्र प्रमाणबाट पुष्टि समर्थित गर्न नसकेको हुँदा ज्यानमार्ने उद्योगजस्तो गम्भीर आरोपित कसूरबाट सफाइ दिने र प्रतिवादीहरू विक्रम मचामसी, नरेन्द्र लामा र बाजे भन्ने सुरेन्द्र जोशीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १५ नं. बमोजिम कसूर अपराधमा ५(पाँच) वर्ष जनही कैद हुने ठहर्छ भन्ने शुरु भक्तपुर जिल्ला अदालतको मिति २०६५।५।२४ को फैसला ।
वारदात भएको समयमा म आफ्नै व्यवसायस्थल ताथलीस्थित इट्टा भट्टामा नै थिएँ । मैले वारदातमा इन्कार रही अदालतमा गरेको बयान र मेरा साक्षी समेतले त्यसलाई पुष्टि गरिदिई बकपत्र रहेको अवस्था छ । जाहेरवालाले म समेतको संलग्नता रहेको भनी जाहेरी दिएको कुरा पछि मात्र थाहा पाएको हुँ । सह–अभियुक्तहरूले वारदातस्थलमा म समेत रहेको भनी पोल गरेबाट एक–आपसमा बाझिने गरी भएको तथ्यगत आधारबाट वारदात पुष्टि हुन सक्दैन । जोहरवालाले अनुसन्धान अधिकारीसमक्ष गरेको कागज र अदालतमा बकपत्र गर्दा अलग–अलग हतियारले प्रहार गरेको भनी उल्लेख गरिरहेको अवस्थामा प्रमाणको यथेष्ट मूल्याङ्कन नै नगरी कसूर कायम गरी सजाय गर्ने गरेको शुरु फैसला त्रुटिपूर्ण हुँदा बदर गरी सफाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी विक्रम मचामसीको पुनरावेदन पत्र ।
वारदातमा मेरो संलग्नता नभएकोलाई मेरा साक्षी समेतले बकपत्र गरिदिएको अवस्था छ । जाहेरवालाले कुन कुन व्यक्तिले कुन कुन हतियारले प्रहार गरेका हुन् यकिनसाथ खुलाउन सकेको अवस्था छैन । अभियोग पुष्टि गर्न Actus Reus र Means Rea हुनु आवश्यक छ । ज्यानमार्ने उद्योगको वारदात हुन योजनावद्ध किसिमले ज्यानमार्ने उद्देश्यले कार्य गरिनु आवश्यक हुन्छ । जाहेरवाला र अन्य चश्मदीद भनिएका व्यक्तिहरू समेतको भनाई आपसमा बाझिई स्वतन्त्र रुपबाट वारदातको पुष्टि नभएको अवस्थामा म समेतको संलग्नता रहेको भनी कसूर ठहर गरी सजाय गर्ने गरेको शुरु फैसला त्रुटिपूर्ण हुँदा बदर गरी सफाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी नरेन्द्र लामाको पुनरावेदन पत्र ।
जाहेरवालाले ५/६ जना चिनेका र अन्य नचिनेका व्यक्तिहरूले विभिन्न किसिमका हतियारले प्रहार गर्दाकै अवस्थामा भागी तत्काल उपचार पाएबाट बाच्न सफल भएको भनी उल्लेख गरिरहेको र वारदातमा संलग्न रहेका अशोक सितिखुको हातमा हतियार नभएको र जाहेरवालाले जाहेरीमा नाम उल्लेख गर्न नसकेको भनी सुनिल तुलसी वाख्यालाई सफाइ दिने गरी भएको शुरु फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग माग दावीबमोजिम निजहरूलाई सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको वादी नेपाल सरकारको पुनरावेदन पत्र ।
म र जाहेरवालाको बीचमा रिसइवी पनि छैन । त्यस्तो अवस्थामा ज्यान मार्नु पर्नेसम्मको कारण छैन । वारदातको समयमा म अन्यत्र रहेको र त्यसलाई मेरो साक्षीले अदालतमा आई बकपत्र समेत गरिदिएको अवस्था छ । सफाइ पाउने सह–अभियुक्तले पोलेको आधारमा सजाय ठहर हुन सक्दैन । ज्यानमार्ने उद्योगमा तेस्रो पक्षको हस्तक्षेप नभएको अवस्थामा त्यस्तो कसूर समेत ठहर हुन सक्दैन । यस स्थितिमा प्रमाणको यथेष्ट मूल्याङ्कन नगरी कसूर ठहर गरी सजाय गर्ने गरेको शुरु फैसला त्रुटिपूर्ण हुँदा बदर गरी सफाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी बाजे भन्ने सुरेन्द्र जोशीको पुनरावेदन पत्र ।
यसमा तेस्रो पक्षको हस्तक्षेप थियो, थिएन भन्ने विषयमा केही विवेचना नै नगरी शुरु जिल्ला अदालतबाट भएको फैसला फरक पर्नसक्ने हुँदा छलफलको निमित्त अ.वं. २०२ नं. को प्रयोजनार्थ पुनरावेदन सरकारी वकील कार्यालय पाटनलाई जानकारी दिई नियमानुसार गरी पेश गर्नु भन्ने पुनरावेदन अदालत पाटनको मिति २०६६।३।१८ को आदेश ।
कुटपीटसम्म भएको देखिँदा कुटपीटमा परिणत गर्नुपर्नेमा प्रतिवादीमध्ये विक्रम मचामसी, बाजे भन्ने सुरेन्द्र जोशी र नरेन्द्र लामालाई ज्यानसम्बन्धी महलको १५ बमोजिम जनही ५(पाँच) वर्ष कैद गर्ने र प्रतिवादी अशोक सितिखु र सुनिल तुलसी वाख्यालाई सफाइ दिने गरी भएको शुरु भक्तपुर जिल्ला अदालतको मिति २०६५।५।२४ को फैसला मिलेको नदेखिँदा उल्टी हुने ठहर्छ । वारदातको प्रकृति समेतलाई दृष्टिगत गर्दा कुटपीटको वारदातसम्म भएको देखिँदा सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को दफा २७ बमोजिम सरोकारवाला व्यक्तिले मुद्दा सकार गर्न आएमा वादी पक्ष कायम गरी यसै मुद्दाबाट कारवाही किनारा गर्ने गरी प्रस्तुत मुद्दा कुटपीटमा परिणत गरिदिएको छ । थुनामा रहेका प्रतिवादी विक्रम मचामसी र नरेन्द्र लामालाई थुनाबाट मुक्त गरिदिनु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको मिति २०६७।२।२५ को फैसला ।
पीडितको घाउको विवरण उल्लिखित केश फाराम रिपोर्ट, घाउचोटको प्रकृति समेतबाट पनि प्रतिवादीहरूले जोखिमी हतियारको प्रयोग गरी पीडितलाई ज्यानै लिने मनसाय राखेको पुष्टि भै रहेको छ । जाहेरवालाले यी प्रतिवादीहरूउपर किटानी जाहेरी दिई सोही व्यहोरालाई समर्थन गरी अदालतमा समेत बकपत्र गरेको तथा उक्त जाहेरी दरखास्तको व्यहोरा पीडित जाहेरवालाको घाउ जाँच केश फारामबाट समेत पुष्टि भएको आधार प्रमाणबाट ज्यानमार्ने उद्योगको वारदात पुष्टि भइरहेको छ । प्रतिवादीहरू अदालतमा इन्कार रही बयान गरेतापनि मौकामा पक्राउ परी बयान गर्ने प्रतिवादी अशोक सितिखु र सुनिल तुल्सी वाख्या समेतले उक्त घटनामा निजहरूले ढोकामा बसी घेराउ गरेको र अन्य प्रतिवादीहरू विक्रम मचामसी, नरेन्द्र लामा, बाजे भन्ने सुरेन्द्र जोशीले मोटरसाईकल र खुकुरी लिई जाहेरवालालाई सामूहिक प्रहार गरेकोमा सावित भई सह–अभियुक्तहरूलाई गरेको पोल बयानलाई जाहेरी एवं घाउजाँच प्रतिवेदन समेतबाट समर्थित भइरहेको छ । घटनाका प्रत्यक्षदर्शीहरू नितिन हाडा, प्रशान्त कायस्थ, शुभराम मुनकर्मी समेतले यी प्रतिवादीहरूले खुकुरी तरवार समेत प्रयोग गरी जाहेरवालालाई कुटपीट गरेको भनी गरेको मौकाको कागजलाई पूर्णतः समर्थन गरी अदालतमा गरेको बकपत्रबाट पनि प्रतिवादीहरूले जाहेरवालालाई जोखिमी हतियारको प्रयोग गरी टाउको लगायत शरीरका संवेदनशील अङ्गमा ज्यानै लिने अभिप्रायले कुटपीट गरेको पुष्टि भइरहेको छ । पीडितको शरीरका संवेदनशील अङ्गहरूमा लागेको घाउचोटको अवस्था, धारिलो हतियारले प्रहार गरेको अवस्था, पीडितको तत्कालको अवस्था, जाहेरवालाको बकपत्र समेतबाट जाहेरवालाको टाउको लगायत संवेदनशील भागमा Sharp weapon ले काटेको, मौकामा नै यी जाहेरवालालाई उपचारका लागि लगिएको, आफ्नो पुल हाउसमा खेल खेलाई रहेको अवस्थामा राती करिब ९:३० बजेको समयमा यी प्रतिवादीहरूले तलवार, खुकुरी तथा मोटरसाईकलको सक जस्ता हतियार बोकी लिई गई ज्यानमार्ने नियतले नै जाहेरवालालाई शरीरका संवेदनशील भागहरूमा प्रहार गरी मरणासन्न पारी घाईते बनाएका र तत्काल मौकामा उपचारको लागि अस्पताल पुर्याएको कारण निजको ज्यानसम्म बँचेको अवस्था मिसिल संलग्न रहेका आधार प्रमाणबाट पुष्टि भइरहेको अवस्थामा ज्यानमार्ने उद्योग मुद्दाबाट प्रतिवादीहरूलाई सफाइ दिई उक्त वारदातलाई कुटपीटतर्फ परिणत गर्ने गरी भएको पुनरावेदन अदालत पाटनको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी प्रतिवादीहरूलाई शुरु अभियोग माग दावी अनुसार कसूर ठहर गरी सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको यस अदालतमा पर्न आएको वादी नेपाल सरकारको पुनरावेदन पत्र ।
नियमबमोजिम पेशी सूचीमा चढी यस इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान सह–न्यायाधिवक्ता श्री ठोकप्रसाद शिवाकोटीले पीडित जाहेरवालाले सञ्चालन गरेको पुल हाउसमा मिति २०६३।६।१६ गते राती करीब ९:३० बजेको समयमा प्रतिवादीहरू हात हतियार सहित आई प्रतिवादीको संवेदनशील अङ्ग टाउकोमा प्रहार गरेकोमा विवाद छैन । प्रतिवादीहरूले टाउकोमा धारिलो हतियारले प्रहार गरेकाले मार्ने नियतले नै प्रहार गरेको पुष्टि हुन्छ । पीडितलाई तत्काल उपचारको लागि अस्पताल पुर्याएको कारणले मात्र निजको ज्यान बाँचेको हो । वारदातमा विवाद नभएको र मार्ने नियतले नै प्रहार गरेको स्थापित भएको अवस्थामा कुनै कारणले ज्यान मर्न नपाएमा सो कार्य ज्यानमार्ने उद्योगको अपराध हुने कानूनी व्यवस्था भएकोले यी प्रतिवादीहरूले ज्यानमार्ने उद्योग गरेको स्थापित भइरहेको छ । वारदातस्थलमा हतियार नभेटिएको भनी पुनरावेदन अदालतले फैसलाको आधार बनाएको छ । यी प्रतिवादीहरू समूहमा आएको र पीडितलाई प्रहार गरी वारदातमा प्रयोग भएका हतियारहरू लिएर गएको अवस्थामा सो हतियार बरामद हुन नसक्नु स्वाभाविक छ । घा जाँच केश फारमबाट धारिलो हतियार प्रयोग भएको भन्ने पुष्टि भएको अवस्थामा उक्त हतियार नभेटिएको भन्ने आधारमा वारदात स्थापित हुन नसक्ने भन्ने हुँदैन । प्रतिवादीले मौकामा वारदातमा आफ्नो संलग्नता स्वीकार गरेका छन् । आफूले नै पीडितलाई आक्रमण गरेको भनी बयान गरेका छन् । अदालतमा इन्कारी बयान गरेकै कारणले उनीहरूको अदालतको भनाई पुष्टि हुन सक्ने होइन । प्रतिवादीहरूको संलग्नता नभएको भए कुटपीटमा परिणत गर्न सक्ने अवस्था नभई सफाइ पाउनुपर्नेमा पुनरावेदन अदालतले कुटपीटमा परिणत हुन सक्ने फैसला गरेकाले निजहरूको वारदातमा संलग्नता भएको भन्ने स्थापित छ । निजहरूको संलग्नता कुटपीटका लागि मात्रै भएको भन्ने कुरा निजहरूले प्रयोग गरेको धारिलो हतियार र टाउकोमा गरिएको प्रहारबाट खण्डन भइरहेको छ । निजहरूले ज्यानमार्ने मनसायले नै प्रहार गरेको अवस्था हुँदा पुनरावेदन अदालतले ज्यानमार्ने उद्योग ठहर नगरी कुटपीटको वारदातसम्म देखिने भनी गरेको फैसला बदर गरी अभियोग दावीबमोजिम प्रतिवादीहरूलाई सजाय हुनुपर्छ भन्ने समेत बहस जिकीर प्रस्तुत गर्नुभयो ।
प्रस्तुत मुद्दाको मिसिल संलग्न कागज, प्रमाणको अध्ययन गरी पुनरावेदकको तर्फबाट प्रस्तुत भएको बहस जिकीर समेत सुनी विचार गर्दा पुनरावेदन अदालत पाटनबाट भएको मिति २०६७।२।२५को फैसला मिलेको छ, छैन र वादी नेपाल सरकारको पुनरावेदन जिकीर पुग्न सक्ने हो, होइन भन्ने सम्बन्धमा निर्णय दिनु पर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा मिति २०६३।६।१६ गते म समेतले सञ्चालन गरेको भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं १० यालाछेंस्थित पुल हाउसमा विपक्षीहरू आई आ–आफ्नो हातमा बोकी ल्याएका तरवार, खुकुरी, रड लगायतका हातहतियारले मलाई प्रहार गरी मरणासन्न अवस्थामा पुर्याई अन्य साथीहरूको सहयोगमा ज्यान बच्न गएको हुँदा निजहरूलाई कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको पीडित रोशन श्रेष्ठको जाहेरी दरखास्तको आधारमा प्रस्तुत मुद्दाको अनुसन्धान प्रारम्भ भएको देखिन्छ । प्रतिवादी अशोक सितिखु, सुनिल तुलसी वाख्या समेतको अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान लगायतका अनुसन्धानको क्रममा तयार भएको कागजात समेतको आधारमा जाहेरवाला रोशन श्रेष्ठले निजको पुलहाउसमा खेल खेलाई रहेको समयमा अशोक सितिखु समेत चिनेका ५ जना र नचिनेका १०/११ व्यक्तिहरू हातहतियार समेत लिई पुलहाउस भित्र छिरी जाहेरवालालाई प्रहार गरिरहेको र अन्य व्यक्तिहरूको सहयोगले निजलाई बचाउन सफल भएको हुँदा प्रतिवादीहरूले ज्यानमार्ने मनसायले उक्त वारदात गराएको हुँदा निज प्रतिवादीहरूलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १५ नं. को कसूरमा सजाय गरिपाऊँ भनी अभियोग पत्र दायर भएको देखिन्छ ।
३. प्रस्तुत वारदातको घटनास्थल मुचुल्कामा वारदात भएको भनिएको पुलहाउसमा रगत जस्तो पदार्थ लागि सुकेको दाग रहेको भन्ने समेत व्यहोरा उल्लेख भएको देखिन्छ । मिसिल संलग्न बरामदी मुचुल्कामा प्रतिवादी विक्रम मचामसीको घरकोठाबाट कुनै पनि प्रमाण लाग्ने चिजवस्तु फेला नपरेको भन्ने व्यहोरा उल्लेख भएको पाइन्छ । प्रतिवादीहरू अशोक सितिखु र सुनिल तुलसी वाख्याले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा नितिन समेतको ग्रुपले साथीलाई घाइते बनाएकोले तिनिहरूलाई काट्नुपर्छ भनी विक्रम मचामसीले भनेपछि निजहरूको सँगसाथ लागी पुलहाउसमा गएको भन्ने व्यहोरा उल्लेख गरेको देखिन्छ भने निजहरूले अदालतसमक्ष बयान गर्दा उक्त घटनामा हाम्रो संलग्नता छैन, घटनाको सम्बन्धमा जानकारी पनि छैन भनी वारदातमा आफ्नो संलग्नतालाई इन्कार रही वयान गरेको पाइन्छ । मौकामा फरार रहेका प्रतिवादीहरू विक्रम मचामसी, नरेन्द्र लामा र बाजे भन्ने सुरेन्द्र जोशीले अदालतमा उपस्थित भई बयान गर्दा वारदातमा हाम्रो संलग्नता छैन, कसले के व्यहोराले हामी समेतउपर अभियोग लगाएका हुन् थाहा छैन भनी निजहरूको वारदातमा संलग्न रहेकोमा पूर्ण इन्कार रही बयान गरेको देखिन आउँछ । अनुसन्धानको क्रममा कागज गर्ने प्रशान्त कायस्थ, निराजन खर्वुज, नितिन हाडा र शुभराम मुनकर्मी समेतले मौकामा कागज गर्दा मिति २०६३।६।१६ गते बेलुका भक्तपुरस्थित रोशन श्रेष्ठको पुलहाउसमा १०/११ जना मानिसहरू आई खुकुरी समेतका हात हतियारले प्रहार गरेको हुन् भनी व्यहोरा लेखाएको र अदालतसमक्ष आई बकपत्र गर्दा आफ्नो अनुसन्धान अधिकारीसमक्ष भएको कागजलाई समर्थन हुने गरी बकपत्र गरेको देखिन्छ । पीडित जाहेरवाला रोशन श्रेष्ठले अदालतमा आई बकपत्र गर्दा प्रतिवादीहरू विक्रम मचामसी समेतका व्यक्तिहरू खुकुरी समेतका हतियारसहित पुल हाउसमा आई प्रहार गर्दागर्दै भाग्न सफल भई प्रहरी कार्यालयमा आएको र प्रहरीकै भ्यानमा अस्पतालसम्म गई उपचार गराउन सफल भएको हुँ भन्ने समेतको व्यहोरा उल्लेख गरेको देखिन आउँछ । उल्लिखित जाहेरी दरखास्त, घटनास्थल मुचुल्का, अनुसन्धान अधिकारीसमक्ष भएको पीडित र अन्य व्यक्तिहरूको कागज, यी प्रतिवादीहरूको अनुसन्धान अधिकारीसमक्ष तथा अदालतमा भएको बयान तथा घाउँ जाँच केश फाराम समेतका कागज प्रमाणबाट जाहेरवालाको भक्तपुरस्थित पुलहाउसमा मिति २०६३।६।१६ गते बेलुका वारदात भएको भन्ने स्थापित हुन आउँछ ।
४. जाहेरवालाको भक्तपुरस्थित पुलहाउसमा मिति २०६३।६।१६ गते बेलुका भएको वारदात ज्यानमार्ने उद्योगको वारदात स्थापित हुनसक्नेसम्मको हो, होइन भन्ने प्रश्न नै प्रस्तुत मुद्दामा निर्णयक प्रश्नको रुपमा रहेको देखिन आउँछ । सोतर्फ विचार गर्दा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १५ नं. मा ज्यान मार्ने मनसायले गोली चलाउने वा बम हान्ने वा घातक हतियारले काट्ने वा मार्नका लागि अरु जुनसुकै कुराको उद्योग गरी मर्नेसम्मको काम गरेकोमा कुनै कारणले ज्यान मर्न पाएको रहेनछ भने त्यस्तो काम गर्ने र गर्न लगाउने तथा सो ठाउँमा गै बचन दिने वा मद्दत गर्नेलाई पाँच वर्षदेखि बाह्र वर्षसम्म कैद गर्नुपर्छ भन्ने कानूनी व्यवस्था गरिएको पाइन्छ । ज्यानसम्बन्धी अपराधहरूमा कर्तव्य ज्यान र यसको उद्योगको बीचमा अपराध स्थापित गर्ने तत्वहरूको रुपमा रहेको कार्य (Actus reus), मनसाय Mens rea) र वैध प्रतिरक्षाको अभाव (Absence of valid defense) को दृष्टिकोणबाट हेर्दा कुनै भिन्नता रहेको हुँदैन । केवल परिणामको दृष्टिले अपराधले पूर्णता पाउन मात्र बाँकी रहेको हुन्छ । कुनै अपराधको सन्दर्भमा सो अपराध गर्ने उद्योगको प्रश्न मनसायपूर्वक गरिएको आपराधिक कार्यमा मात्र सान्दर्भिक हुन आउँछ । ज्यानसम्बन्धी अपराधमा पनि यही सिद्धान्त लागू हुन्छ । मनसायपूर्वक गरिएको अपराधमा मनसाय, तयारी, उद्योग र पूर्ण अपराधका चार चरणहरूमध्ये मनसाय र तयारीसम्मको चरणमा त्यस्तो अपराध गर्न चाहने व्यक्तिले आपराधिक कार्य घटाउनको लागि कुनै कार्य नगरेको हुनाले यो चरणसम्म अपराधको उद्योगको प्रश्न उठ्दैन । तर त्यस्तो अपराध गर्न चाहने व्यक्तिले मनसायअनुसारको तयारी पूरा गरी मनसायलाई कार्यरुप दिन सारवान रुपमा (Substantially) कुनै आपराधिक कार्य गरेको तर कुनै कारणले निजको कार्यबाट निजले अपेक्षा गरेको परिणाम प्राप्त नभएको अवस्थालाई उद्योगको रुपमा लिन सकिन्छ । यस्तो अपूर्ण कार्यलाई छुट्टै अपराधको रुपमा परिभाषित गरी कानूनले दण्डनीय बनाएको अवस्थामा सो कार्य गर्ने व्यक्तिले उक्त कानूनमा उल्लिखित आपराधिक दायित्व वहन गर्नुपर्ने हुन्छ । मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ नं. ले ज्यान मार्ने उद्योगलाई अपराधको रुपमा परिभाषित गरी सोही महलको १५ नं. मा सो अपराधको लागि सजायको व्यवस्था गरिएको छ । यसबाट ज्यान मार्ने उद्योगको अपराधमा कर्तव्य ज्यानको अपराधको लागि आवश्यक पर्ने आपराधिक कार्य, आपराधिक मनसाय र वैध प्रतिरक्षाको अभाव समेतका सबै तत्वहरूको विद्यमान हुनु पर्दछ तर परिणामका दृष्टिले पीडितको मृत्यु भएको हुनु हुँदैन । प्रतिवादीले ज्यान मार्ने मनसाय राखेर पीडितमाथि कुनै किसिमको प्रहार वा अन्य कुनै प्रकारको आपराधिक कार्य गर्दछ र उसलाई वैध प्रतिरक्षा उपलब्ध छैन भने त्यस्तो प्रतिवादीले ज्यान मार्ने उद्योगको अपराध गरेको मान्नुपर्ने हुन्छ । ज्यान मर्न नपाएको अवस्था हुनको लागि तेस्रो पक्षको उपस्थिति अनिवार्य भने होइन । तेस्रो पक्षले हस्तक्षेप गरेको पनि हुन सक्दछ वा नगरेको पनि हुन सक्दछ । कारण जेसुकै भएपनि ज्यान मर्नबाट बच्नु र कर्तव्य ज्यानको वारदातको लागि आवश्यक सबै तत्वहरूको विद्यमानता हुन नै ज्यान मार्ने उद्योगको वारदात स्थापित हुन पर्याप्त हुन्छ ।
५. प्रस्तुत मुद्दामा जाहेरवालाले आफ्नो जाहेरी व्यहोरामा यी प्रतिवादीहरूले ज्यानमार्ने उद्देश्यले आफू माथि यो यो तरिकाले यो यो हतियार प्रहार गरेका हुन् भनी उल्लेख गर्न सकेको देखिँदैन । प्रतिवादीहरू समूहमा हतियार सहित पुलहाउस भित्र प्रवेश गरेको र शरीरको विभिन्न भागमा प्रहार गरेका हुन् भनी उल्लेख गरेको देखिन्छ । प्रतिवादीहरूले प्रहार गरेको भनिएका जाहेरवालाले उल्लेख गरेको तरवार लगायतका हातहतियार बरामद हुन र सोको परीक्षण हुन सकेको पाइँदैन । हातहतियार बरामद नभएकोले वारदातको समयमा के कस्ता हतियारहरूको प्रयोग भएको थियो भन्ने सम्बन्धमा यकीन गर्न सकिने अवस्था रहँदैन । पीडित जाहेरवालाको तत्काल गरिएको घा जाँच केश फाराममा Sharp cut over the Rt. Wrist region about 8x1 cm, cut injury over right capular region over 12x0.5 cm र cut injury over scalp left temporal over 3x0.5 cm भनी उल्लेख भएको र टाउको तथा पछाडिको भाग नाडी लगायत औँलाहरूमा cut by sharp weapon भन्नेसम्म उल्लेख गरिएको देखिन आउँछ । यसबाट मौकामा भएको घा जाँच केश फारमबाट पीडितको अवस्था ज्यान मर्ने हदसम्मको गम्भीर रहेको भन्ने देखिँदैन । साथै पीडितको स्थितिको बारेमा पेश भएको प्रतिवेदनमा घाइतेको स्थिति मर्नेसम्मको थियो, थिएन भनी उल्लेख गर्न सकेको समेत देखिन आउँदैन । वारदातस्थलमा यी प्रतिवादीहरूले जाहेरवालालाई हातहतियारले प्रहार गरिहेको अवस्थामा अन्य व्यक्तिहरू समेतको उपस्थित रहको र निजहरू वारदात भै रहँदा सो स्थानबाट भागेको भन्ने तथ्य मौकामा कागज गर्ने व्यक्तिहरूले समेत उल्लेख गरेको देखिन आउँछ । यसबाट प्रतिवादीहरूले पीडितलाई प्रहार गरिरहेको अवस्थामा घटनास्थलका अन्य व्यक्ति भागिसकेको र पीडित जाहेरवाला मात्र सो स्थानमा बाँकी रहेको भन्ने देखिन आउँछ । पीडित जाहेरवालाले समेत जाहेरी दरखास्त र अदालतमा भएको बकपत्रमा पनि आफू घाइते अवस्थामा वारदातस्थलबाट भागेको भन्ने उल्लेख गरेको देखिन आउँछ । घाउ केश फारम समेतबाट पीडित जाहेरवाला रोशन श्रेष्ठलाई मर्नेसम्मको गम्भीर चोट लाग्न गएको भन्ने देखिँदैन ।
६. वारदातस्थलमा हात–हतियार सहितका १०/११ जना समूहमा प्रवेश गरेको भन्ने देखिएको छ । यस्तो अवस्थामा निजहरूले मार्ने मनसायले नै यी पीडित जाहेवालामाथि हतियार प्रहार गरेको भए जाहेरवाला बाँच्न सक्ने अवस्था देखिन आउँदैन । यसबाट प्रतिवादीहरूमा यी जाहेरवालाई मार्नेसम्मको मनसाय (Intention) थियो भन्ने स्थापित हुन आउँदैन । यसबाट प्रस्तुत मुद्दामा वारदात भएकोमा विवाद नदेखिए पनि प्रतिवादीहरूमा यी जाहेरवालाई मार्नेसम्मको मनसाय रहेभएको देखिन आएन ।
७. तसर्थ, उल्लिखित विवेचित आधार र कारणबाट मिति २०६३।६।१६ को वारदात कुटपीटको वारदातसम्म भएको देखिँदा शुरु भक्तपुर जिल्ला अदालतको मिति २०६५।५।२४ को ज्यान मार्ने उद्योग ठहर्याएको फैसला उल्टी हुने ठहर्याई वारदातको प्रकृति समेतलाई दृष्टिगत गरी सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को दफा २७ बमोजिम सरोकारवाला व्यक्ति मुद्दा सकार गर्न आए वादी पक्ष कायम गरी यसै मुद्दाबाट कारवाही किनारा गर्ने गरी प्रस्तुत मुद्दा कुटपीटमा परिणत गर्ने गरी भएको पुनरावेदन अदालत पाटनको मिति २०६७।२।२५ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकीर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कटृा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.प्रकाश वस्ती
इति संवत् २०६८ साल चैत ५ गते रोज १ शुभम्–
इजलास अधिकृत : श्रीप्रकाश उप्रेती