शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७७४८ - बकसपत्र बदर

भाग: ४८ साल: २०६३ महिना: मंसिर अंक:

निर्णय नं. :७७४८   ने.का.प. २०६३           अङ्क ८

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ

माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा

सम्वत् २०५८ सालको दे.पु.न..७८७९

फैसला मितिः २०६३।८।१८

 

मुद्दाःबकसपत्र बदर ।

 

पुनरावेदक

प्रतिवादीः जिल्ला कपिलवस्तु रंगपुर गा.वि.स. ७ वस्ने अब्दुल मावुद खाँ

विरूद्ध

प्रत्यर्थी

वादीः  जिल्ला कपिलवस्तु सिसवा गा.वि.स. ३ वस्ने रैसा मुसलमान

 

§  शेषपछिको वकसपत्रको लिखतमा उल्लेखित शर्तबमोजिम विवादित लिखतको भावना र राखेको शर्त पूरा भएको हुनपर्छ । उल्लेखित शर्त पूरा भएको छैन भने त्यस्तो लिखत वदरयोग्य (Voidable) हुने ।

§  शेषपछिको वकसपत्रको शर्तले कुनै एकको सेवा टहल र मृत्युपछि निजको भाग जति खण्डित गरी वकसपत्रमा उल्लिखत सम्पती हस्तान्तरण हुनसक्ने भन्ने देखिदैन । शेषपछिको वकसपत्रको स्वरुपले वकसपत्र गरिदिने र निजको धर्मपत्नीको अलगअलग अस्तित्व कायम गरी विवादित शेषपछिको वकसपत्र गरिदिएको भन्ने देखिदैन । शेषपछिको वकसपत्र गरिलिनेले सो वकसपत्रमा उल्लेखित सम्पत्ति प्राप्त गर्न दुवैको हकमा सम्पन्न हुने कार्यको स्वरुपलाई एकरुपमा राखेको पाइने ।

§  विवादित लिखतको प्रमुख शर्तमा रहेको वादीको जीवन काल सम्म वकसपत्र गरिदिने निजको पतिको मृत्युले मात्र शेषपछिको वकसपत्र क्रियाशिल हुने अवस्था नदेखिने ।

§  वकसपत्रको शर्त अनुसार निजको सेवा टहल पुनरावेदक प्रतिवादीले नगरेको कारण देखाई वकसपत्र गरिदिनेको संयुक्त हकवाला विपक्षी वादी श्रीमती रैसा मुसलमानले आफ्नो जीवनकालमा उक्त शेषपछिको वकसपत्रमा उल्लेखित शर्तको पालन नगरेको कारण मुलुकी ऐन दान वकसको महलको २ नं. बमोजिम वदर गराउन नपाउने भन्ने नदेखिने ।

(प्रकरण नं. १४)

§  शेषपछिको वकसपत्रको मुख्य भाव आफ्नो र श्रीमतीको सेवा टहल हुनु पर्ने र शेषपछिको वकसपत्र क्रियाशिल हुन दुवैको मृत्यु हुनुपर्ने भएकोले खण्डित अर्थ गर्न मिल्ने नदेखिने ।

(प्रकरण.१५)

§  अतः शेषपछिको वकसपत्रमा उल्लिखित शर्त अनुसार लिखत गरिदिनेको मृत्यु भएपनि निजको जीवित पत्नी प्रत्यर्थी वादी रैसा मुसलमानलाई पुनरावेदक प्रतिवादीले शेषपछिको वकसपत्रको लिखतमा उल्लिखित शर्तअनुसार सेवा टहल गर्नुपर्ने नगरेको कारण देखाई आफ्नो जीवन कालमा विवादित शेषपछिको वकसपत्र वदर गराई लिन पाउने ।

(प्रकरण नं.१६)

पुनरावेदक तर्फबाटः  विद्वान अधिवक्ता श्री कृष्ण टण्डन र महमदिन अली

विपक्षी तर्फबाटः  विद्वान अधिवक्ता श्री श्यामवहादुर के.सी.

अवलम्बित नजीरःने.का.प. २०५३, अंक ७, पृष्ठ ५९२

 

फैसला

न्या.दामोदर प्रसाद शर्माः पुनरावेदन अदालत बुटवलको मिति २०५४।५।३१ को फैसला उपर प्रतिवादीको तर्फबाट परेको मुद्दा दोहोर्याई पाऊँ भन्ने निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) र (ख) अनुसार यस अदालतबाट निस्सा प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :-

२.    मेरो लोग्ने महमद इनुस मुसलमानको गा.वि.स. वडा नं. ३क कि.नं. ४१५ र ७७९ वडा नं. ३ख कि.नं. ३२८ समेत ज.बि. २३ जग्गा म र मेरो श्रीमती मरेपछि धर्मअनुसार काजक्रिया गरी लेखिएको जग्गा आफ्ना नाउँमा दर्ता गराई लिनु भनी गा.वि.स. रंगपुर वडा नं. ७ बस्ने अव्दुल मावुद मुसलमानलाई शेषपछिको वकपत्र लेखी दिई मिति ०३९।४।२१ मा रजिष्ट्रेशन पारित गरी दिएकोमा मेरो पति महमद इनुस मिति ०४५।४।५ गते परलोक भएकोले निजको शेषपछि बकस पाउने अव्दुल मावुदले मेरो सेवा टहल गर्न छाडेको र निज अव्दुल मावुदको वाबुआमाले मेरो खेतिवारी धान,गहुँ जत्रतत्र गर्न लागकोले मलाई खान लाउनमा दुःख तकलिफ भएकोले मृतक महमद इनुस मुसलमानको अंश हक खाने एक मात्र हकवाला स्वास्नी म रेसा मुसलमान भएकोले उक्त शेषपछिको बकसपत्र दान बकसको २ नं. बमोजिम वदर गरी पाउँ भनी रेसा मुसलमानको ना.प्र.को फाटोकपी महमद इनुसको मृत्यू दर्ताको फोटोकपी समेत पेश गरी रेसा मुसलमानको वा.जमिल महमद मुसलमानले मिति ०५२।९।१३ गते मालपोत कार्यालय कपिलबस्तुमा दिएको निवेदन ।

३.    मैले मावली बाजे र बजैको समेत सेवा टहल गर्दै राखेकोमा बाजे महमद इनुस मुसलमानले मिति ०३९।४।२१ मा मेरा नाममा शेषपछिको वकसपत्र पारित गरी दिनु भै निज महमद इनुस मिति ०४५।४।५ मा परलोक हुनु भएकोमा निजकै काजक्रिया मैले गरेको छु । बजैको सेवा टहल गर्दै राखेको, दान वक्सको २ नं. बमोजिम लिखत गरी दिनेको चित्त नबुझे जहिले सुकै वदर गर्न पाउँछ लिखत गरी दिनेको मृत्यू पश्चात उक्त विषयमा मुद्दा लाग्ने र  कारवाही चल्ने समेत व्यवस्था छैन । रजिष्ट्रशनको ३०, ३२ नं. बमोजिम शेषपछिको बकसपत्रको जग्गा मेरा नाउँमा दा.खा. दर्ता गरी पाउँ भनी अव्दुल मावुद मुसलमानको वा अव्दुल रउफ मुसलमानको मिति ०५२।१०।२३ गतेको प्रतिवाद जिकिर ।

४.    महम्मद इनुस मुसलमानले अव्दुल मावुद मुसलमानलाई मिति ०३९।४।२१ मा र नं. २०९ बाट पारित गरी दिएको शेषपछिको वकसपत्र दान वक्सको २ नं. बमोजिम रु.५।जरिवाना गरी वदर गरी दिएको छ भन्ने समेत व्यहोराको मिति ०५३।१।२५ को मालपोत कार्यालय कपिलवस्तु निर्णय पर्चा ।

५.    दानवकसको २ नं. ले लिखत गरी दिने व्यक्तिले मात्र लिखत वदर गराउन दर्खास्त दिन पाउनेमा लिखत गरी दिने व्यक्तिको मृत्यू पश्चात अरुको दर्खास्तबाट लिखत वदर नहुनेमा लिखत वदर हुने ठहराएको शुरु मालपोत कार्यालय कपिलवस्तुको निर्णय त्रुटीपूर्ण हुँदा उक्त निर्णय वदर गरी इन्साफ पाउँ भन्ने समेत व्यहोराको पुनरावेदन पत्र ।

६.    यसमा शेषपछिको वकसपत्र गरी दिने इनुस मुसलमानका नाममा के कति जग्गा दर्ता छ, मालपोत कार्यालय कपिलवस्तु बुझी जवाफ आएपछि नियमानुसार गर्नु भन्ने मिति २०५४।२।३०।५ को पुनरावेदन अदालत बुटवलको आदेश ।

७.    यसमा शेषपछिको वकसपत्रको लिखत गरी दिनेको चित्त नबुझेमा रजिष्ट्रेशन भएको वा इलाकाको रजिष्ट्रेशन अड्डामा गै दर्खास्त दिई जहिले सुकै वदर गराउन पाउने व्यवस्था दान वक्सको २ नं. ले व्यवस्था गरेको देखिएको र शेषपछिको वकसपत्र गरी दिने मध्येका एकको परलोक भैसकेपछि जिवित रहेको व्यक्तिले लिखत वदरको लागि दिएको दर्खास्तबाट शेषपछिको वकसपत्र वदर गरी दिएको शुरु मालपोत कार्यालय कपिलवस्तुबाट मिति ०५३।१।२५ को निर्णय मिलेकै देखिंदा सदर हुने ठहर्छ । पुनरावदेन जिकिर पुग्न सक्दैन भन्ने पुनरावेदन अदालत बुटवलको फैसला ।

८.    दानवकसको २ नं. ले लिखत गरी दिने व्यक्तिले मात्र लिखत वदर गराउन दर्खास्त दिन पाउनेमा लिखत गरी दिने व्यक्तिको मृत्यू पश्चात अरुको दर्खास्तबाट लिखत वदर नहुनेमा लिखत वदर हुने ठहराएको शुरु मालपोत कार्यालय कपिलवस्तुको निर्णय त्रुटीपूर्ण सदर गर्ने गरी पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण रहेकोले न्याय प्रशासन ऐन २०४८ को दाफ    १२ (१) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरी इन्साफ गरीपाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको यस अदालतमा परेको मुद्दा दोहोर्याई पाउँ भन्ने   निवेदन ।

९.    यसमा वादीका पति मोहमद इनुसले प्रतिवादीलाई शेषपछिको बकसपत्र गर्दा वादी समेत साक्षी बसेको उक्त लिखतको दाताको मिति २०४५।४।५ मा मृत्यु भएपश्चात २०५२ सालमा छोरी पट्टिका नाति प्रतिवादीले बकसपत्रको शर्तबमोजिम पालनपोषण नगरेकोले वदर गरी माग्न मालपोत कार्यालय कपिलबस्तुमा निवेदन दिएअनुसार वदर गरिदिएको देखिन्छ । पतिले गरिदिएको शेषपछिको बकसपत्र अनुसार  पतिको भाग जति निजको मृत्यु पश्चात प्रतिवादीको  हक हुन आएको हो,होइन सो सम्बन्धमा तेरो मेरो परेको प्रश्नमा अदालतमा जान सुनाउनु पर्नेमा सो नगरी सम्पूर्ण लिखत आफैले वदर गरेको मा.पो.का. को निर्णय सदर गरेको पुनरावेदन अदालत बुटवलको फैसला ने.का.प २०५३,अंक ७ पृष्ठ ५९२, नि.न.६२३२ अनुसार प्रतिपादित सिद्धान्त समेतको विपरित भएको देखिँदा न्याय प्रशासन ऐन २०४८ को दफा १२(१)(क)(ख) को आधारमा मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने यस अदालतको मिति २०५८।७।२७ को आदेश ।

१०.    नियम बमोजिम मुद्दा पेशी सूचीमा चढी इजलास समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको पुनरावेदक तर्फबाट विद्वान अधिवक्ता श्री कृष्ण टण्डन एवं श्री महमदिन अलीले दानवक्सको २ नं. ले लिखत गरी दिने व्यक्तिले मात्र लिखत वदर गराउन दर्खास्त दिन पाउनेमा लिखत गरी दिने व्यक्तिको मृत्यु पश्चात अरुको दर्खास्तबाट सम्पूर्ण लिखत वदर हुने होइन । दाताको मृत्यु भैसकेकोले आधासम्म लिखत वदर हुनु पर्छ ।तसर्थ मालपोत कर्यालय एवं पुनरावेदन अदालतको फैसला उल्टी होस भन्ने समेत बहस गर्नुभयो ।प्रत्यर्थी वादीको तर्फबाट विद्वान अधिवक्ता श्री श्यामबहादुर के.सी.ले शेषपछिको बकसपत्रको शर्त पालना नगरेमा वदर गराउने हक हकवालामा हुने भएकोले मालपोत कार्यालय कपिलबस्तुको फैसला सदर गरेको पुनरावेदन अदालत बुटवलको फैसला मुनासिव रहेकोले सदर कायम होस भन्ने समेत बहस गर्नुभयो ।

११.    उपरोक्त बहस जिकिर समेतलाई दृष्टिगत गर्दै मिसिल अध्ययन गरी हेर्दा पुनरावेदन अदालतको फैसला मिले वा नमिलेको के हो? र पुनरावेदन जिकिर पुग्ने वा नपुग्ने के हो? सो सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।

१२.   यसमा पतिको परलोक भएपछि शेषपछिको बकसपत्र पाउने व्यक्तिले शर्तबमोजिम मेरो हेरविचार नगरेकोले शेषपछिको बकस वदर गरिपाउँ भन्ने वादी दावी र शेषपछिको बकसपत्र गरिदिने दाताको मुत्यु भैसकेपछि शेषपछिको बकसपत्रको लिखत कसैले पनि वदर गराउन नसक्ने भन्ने प्रतिउत्तर जिकिर रहेको प्रस्तुत मुद्दामा मालपोत कार्यालय रुपन्देहीले वादी दावी पुग्ने गरी भएको फैसला पुनरावेदन अदालत बुटवलबाट सदर भएकोमा प्रतिवादीको सो फैसला उपर मुद्दा दोहोर्‍याई पाउँ भनी परेको निवेदनमा मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई दर्ता भएको पुनरावेदनमा पुनरावेदकले मुख्य रुपमा शेषपछिको बकसपत्र गरिदिनेको मृत्यु भएकोले सो बकसपत्र स्वतःक्रियाशिल हुने भई शेषपछिको बकसपत्रको गरिदिने बहेक वा अरुले बदर गर्न पाउने होइन भनी जिकिर लिएकोले सर्वप्रथम विवादित शेषपछिको बकसपत्रको लिखत के, कसरी भएको रहेछ , हेर्नुपर्ने हुनआयो ।

१३.   प्रत्यर्थी वादीको पति महमद इसुन मुसलमानले आफ्नो छोरीको छोरा पुनरावेदक प्रतिवादी अब्दुल मबुद मुसलमानलाई २०३९।४।२९ को र.न.२०९ को शेषपछिको बकसपत्रको लिखत गरिदिंदा उक्त लिखतको कैफियत महलमा मेरो छोरा नभै साथै तीन पुस्ताभित्रको हकवालासमेत कोही नभै म र मेरो श्रीमतीको समेत बृद्ध अवस्था भै खेति गृहस्थीको कामकाज गर्नमा असमर्थ भै मेरो छोरीको छोरा अब्दुल मावुद मुसलमानले सेवा टहल गरी मलाई रिझाएकोले हामी बाचुन्जेल हाम्रो सेवा टहल गरी म र मेरो श्रीमती मरेपछि धर्मअनुसार काजकृया गरी लेखिएको जग्गा आफ्नो नाउँमा दर्ता गराई लिनु भन्ने कुरा उल्लेख भएको देखिन्छ ।

१४.   शेषपछिको बकसपत्र गरिदिने इनुस मुसलमानले आफू स्वयंको र आफूपछि आफ्नो धर्मपत्नी प्रत्यर्थी वादी रैसा मुसलमान बाँचुन्जेल निजहरुको सेबाटहल गर्नुपर्ने र दुबैजना मरेपछि काजकृया गरी बाँचेको सम्पत्ति पुनरावेदक प्रतिवादीले आफ्नो नाउमा दर्ता गराउन पाउने भनी प्रष्ट रुपमा विवादित शेषपछिको बकसपत्र क्रियाशिल हुने शर्त समेत निर्धारण गरिएको पाइन्छ । उक्त शर्तबमोजिम पुनरावेदक प्रतिवादीले शेषपछिको बकसपत्र गरिदिनेको मृत्युपछि शेषपछिको बकसपत्रमा उल्लेख भएबमोजिम वादीको पनि सेवा टहल गरी निजको मृत्युपश्चात धर्मअनुसार काजकृया गरेपछि मात्र उक्त लिखतमा लेखिएको जग्गा आफ्नो नाउमा दर्ता गर्न पाउने देखिन्छ । विवादित शेषपछिको बकसपत्रमा उल्लेख भएको शर्त पालन नगरेमा इनुस मुसलमानले दिएको  शेषपछिको बकसपत्र क्रियाशिल हनसक्ने देखिदैन ।   

१५.   शेषपछिको वकसपत्रको लिखतमा उल्लेखित शर्तबमोजिम उक्त विवादित लिखतको भावना र राखेको शर्त पूरा भएको हुनपर्छ । उल्लेखित शर्त पूरा भएको छैन भने त्यस्तो लिखत वदरयोग्य (Voidable) हुन्छ । यस्तो वदरयोग्य लिखत कसले कहिले,कसरी वदर गर्ने भन्ने कुरा यसपछिको कार्य हो । प्रस्तुत मुद्दामा लिखत गरिदिनेले आफ्नो सम्पत्तिको समान हकदार आफ्नो धर्मपत्नी र आफ्नो संयुक्त हितको विचार गरी आफू र आफ्नो धर्मपत्नीको सेवा टहल हुनुपर्ने र  आफू र आफ्नो धर्मपत्नीको जीवनकाल पछिमात्र पुनरावेदक प्रतिवादी शेषपछिको बकसपत्रको हकदार भई उल्लेखित सम्पत्ति पाउन सक्ने प्रमुख शर्त राखेको पाइदा, शेषपछिको बकसपत्र गरिदिनेमात्रको जीवनपछि उक्त शेषपछिको बकसपत्रमा उल्लेखित सम्पत्ति शेषपछिको बकसपत्र गरिलिनेले स्वतः पाउने भन्ने देखिदैन । यहाँ शेषपछिको बकसको कार्यान्वयन कुनै एकको मृत्यु वा एकको सेवा टहलमा सिमित नभई दवैको सेवा टहल र दुवैको मृत्यु हुनुपर्ने अनिवार्य तत्व भएर रहेको पाइन्छ । शेषपछिको वकसपत्रको शर्तले कुनै एकको सेवा टहल र मृत्युपछि निजको भाग जति खण्डित गरी वकसपत्रमा उल्लिखत सम्पती हस्तान्तरण हुनसक्ने भन्ने देखिदैन । शेषपछिको वकसपत्रको स्वरुपले वकसपत्र गरिदिने र निजको धर्मपत्नीको अलगअलग अस्तित्व कायम गरी विवादित शेषपछिको वकसपत्र गरिदिएको भन्ने देखिदैन । शेषपछिको वकसपत्र गरिलिनेले सो वकसपत्रमा उल्लेखित सम्पत्ति प्राप्त गर्न दुवैको हकमा सम्पन्न हुने कार्यको स्वरुपलाई एकरुपमा राखेको पाइन्छ । विवादित लिखतको प्रमुख शर्तमा  रहेको वादीको जीवन काल सम्म  वकसपत्र गरिदिने निजको  पतिको मृत्युले मात्र शेषपछिको वकसपत्र क्रियाशिल हुने अवस्था देखिदैन । विवादित शेषपछिको वकसपत्रको शर्तमा रहेको प्रमुख तत्व शेषपछिको वकसपत्र गरिदिनेको पत्नीको सेवा टहल हुनुपर्ने र निजको मृत्युपछि भन्ने शर्त रहेको र शेषपछिको वकसपत्रको यस्तो शर्त अनुसार निजको सेवा टहल पुनरावेदक प्रतिवादीले नगरेको कारण देखाई वकसपत्र गरिदिनेको संयुक्त हकवाला विपक्षी वादी श्रीमती रैसा मुसलमानले आफ्नो जीवनकालमा उक्त शेषपछिको वकसपत्रमा उल्लेखित शर्तको पालन नगरेको कारण मुलुकी ऐन दान वकसको महलको २ नं. बमोजिम  वदर गराउन नपाउने भन्ने देखिएन ।

१६.    शेषपछिको वकसपत्रको पूरै शर्त पालन हुन बांकी भए पनि शेषपछिको वकसपत्र गरिदिनेको मृत्यु भएकोले निजको हकको हुने सम्पत्तिको हदसम्म शेषपछिको बकसपत्र लिखत वदर हुनुपर्ने होइन भन्ने पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर बमोजिम  हुनुपर्ने होकि भन्नलाई विवादित शेषपछिको वकसपत्रको शर्तको त्यस्तो अर्थ गर्न मिल्ने देखिदैन । शेषपछिको वकसपत्रको मुख्य भाव आफ्नो र श्रीमतीको सेवा टहल हुनु पर्ने र शेषपछिको वकसपत्र क्रियाशिल हुन दुवैको मृत्यु हुनुपर्ने भएकोले खण्डित अर्थ गर्न मिल्ने देखिदैन । विवादित शेषपछिको बकसपत्रमा उल्लिखित शर्तअनुसार दुवैको मृत्यु नभई क्रियासिल हुन नसक्ने यस्तो शेषपछिको वकसपत्रको सम्पत्ति शेषपछिको बकसपत्र गरिदिनेको मृत्यु भएको कारण उल्लेखित सम्पत्तिमा भएको निजको भाग जतिको सम्पत्तिमा हक बेहकको प्रश्न समावेस भएको कारण मालपोत कार्यालयले हेर्न नमिल्ने भन्ने अर्थ गरी यस अदालतबाट ने.का.प २०५३,अंक ७ पृष्ठ ५९२, नि.न.६२३२ मा प्रतिपादित सिद्धान्त प्रस्तुत मुद्दाको विषयवस्तुमा आकर्शित हुने नभएकोले यस अदालतबाट भएको दो.पा निस्सा आदेशसँग  सहमत हुनसक्ने  देखिदैन ।

१७.   अतः शेषपछिको वकसपत्रमा उल्लिखित शर्त अनुसार लिखत गरिदिनेको मृत्यु भएपनि निजको जीवित पत्नी प्रत्यर्थी वादी रैसा मुसलमानलाई पुनरावेदक प्रतिवादीले शेषपछिको वकसपत्रको लिखतमा उल्लिखित शर्तअनुसार सेवा टहल गर्नुपर्ने नगरेको कारण देखाई आफ्नो जीवन कालमा विवादित शेषपछिको वकसपत्र वदर गराई लिन पाउने नै देखिँदा, वादी दावीबमोजिम  शेषपछिको वकसपत्र वदर हुने ठहराएको मालपोत कार्यालय कपिलवस्तुको निर्णय सदर गर्ने गरेको पुनरावेदन अदालत वुटवलको इन्साफ मुनासिव देखिंदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्नसक्दैन

 

उक्त रायमा सहमत छु ।

 

न्याः रामप्रसाद श्रेष्ठ

शाखा अधिकृतः रमेशप्रसाद रिजाल

 

ईति सम्वत् २०६३ साल मंसिर १८ गते रोज २ शुभम्.................................।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु