शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७७५५ - उत्प्रेषण समेत

भाग: ४८ साल: २०६३ महिना: पौस अंक:

निर्णय नं.  ७७५५   ने.का.प. २०६३     अङ्क ९

 

सर्वोच्च अदालत, विशेष इजलास

माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी

माननीय न्यायाधीश श्री खिलराज रेग्मी

माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ

संवत् २०६२ सालको रिट नम्बर ...११०

आदेश मितिः २०६३।६।२६।५

 

विषय : उत्प्रेषण समेत

 

निवेदकः काठमाडौं जिल्ला का.म.न.पा.वडा नं.४ बस्ने काञ्चनमाला चालिसे

विरूद्ध

विपक्षीः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौं समेत

 

§  कुनै निजामती कर्मचारीको मृत्यु भएमा कस्ले निवृत्तिभरण पाउने भन्ने प्रश्न मृत निजामती कर्मचारीसँगको नातासम्बन्ध, पालनपोषण सम्बन्धमा निजको दायित्व र इच्छा आदि कुराहरुद्वारा निर्धारीत हुने ।

§  नेपाल अधिराज्यको संविधान २०४७ को धारा ११ को उपधारा १ को सबै नागरिक कानूनको दृष्टिमा समान हुनेछन्, कानूनको समान संरक्षणबाट कसैलाई बञ्चित गरिने छैन भन्ने व्यस्थाले समान अवस्थामा रहेका समान व्यक्तिमा कानूनको समान प्रत्याभूति गरेबाट त्यसलाई विभिन्न परिस्थितिका कारण कुनै खास व्यक्तिलाई इच्छ्याएको अवस्थालाई समानताको प्रश्नसँग गासेर हेर्न उपयुक्त नदेखिने ।

(प्रकरण नं.१३)

§  प्रस्तुत विवादमा मृत कर्मचारी विद्युतराज चालिसेले आफ्नी श्रीमती हेमलक्ष्मी चालीसेलाई इच्छ्याएको अवस्था मिसिल संलग्न प्रमाणहरुबाट देखिन आएको छ । यसरी इच्छ्याइएको व्यक्ति निजामती सेवा ऐन, २०४९ को दफा ३९(६) ले निर्दिष्ट गरेको परिधिभित्रकै व्यक्ति भएको र कानूनले इच्छ्याउन पाउने अधिकार प्रदान गरे अनुरुप इच्छ्याएको अवस्थामा इच्छ्याएको व्यक्तिले नै निवृत्तिभरणको अधिकार पाउने कानूनी व्यवस्था रहने ।

(प्रकरण नं.१४)

§  निजामती सेवा ऐन, २०४९ को दफा ३९ को उपदफा (६) नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११ को उपधारा (१) सँग बाझिएको नदेखिनुका अतिरिक्त निवेदीकाका पति विद्युतराज चालिसेले निजामती सेवा ऐन २०४९ को दफा ३९(६) बमोजिम हेमलक्ष्मी चालीसेलाई इच्छ्याएको र सो बमोजिम निजामती कितावखानाले निज हेमलक्ष्मी चालीसेले निवृत्तिभरण पाउने गरी गरेको निर्णय र प्रदान गरेको अधिकारपत्र कानून प्रतिकूल नदेखिदा निवेदकको माग बमोजिमको आदेश जारी गरिरहनु नपर्ने ।

(प्रकरण नं.१५)

निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने

विपक्षी तर्फबाटः विद्वान नायव महान्यायाधिवक्ता श्री नरेन्द्रप्रसाद पाठक, विद्वान अधिवक्ता श्री सतिशकृष्ण खरेल

लम्वित नजीरः ०५२ सालको रिट नं. ३१४७ र ०६० सालको रिट नं. २९९४

आदेश

न्या.मीनवहादुर रायमाझीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(१) एवं ८८(२) बमोजिम दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :

२.    म निवेदकका पति विद्युतराज चालिसेको आफ्नै कालगतिले स्वर्गे भएकोले निज पतिले पाई आएको पेन्सन प्राप्त गर्नका लागि पेन्सन पट्टा समेत बनाई पाउँ भनि विपक्षी निजामती कितावखानामा निवेदन दिएकोमा सम्मानीत सर्वोच्च अदालतको सम्वत् २०६० सालको रिट नं. २९९४ समेतका आधारमा प्रस्तुत विषयमा अवकास प्राप्त सम्बन्धित कर्मचारी विद्युतराज चालीसेले शेषपछि इच्छ्याइएको पत्नी हेमलक्ष्मी चालीसेलाई नियम अनुसार पाउनुपर्ने पेन्सन दिने गरी निवृत्तिभरणको अधिकारपत्र बनाइदिने गरी मिति २०६२।४।१६ मा निर्णय भई मिति २०६२।४।२४ मा अधिकारपत्र प्रदान गरिएको व्यहोरा आदेश अनुसार जानकारी गराइन्छ भन्ने व्यहोराको च.नं. १७७९ मिति २०६२।७।१० को पत्र प्राप्त भयो । निजामती सेवा ऐन २०४९ को दफा ३९(६) समेत हेर्दा निवृत्तिभरण वा उपदान दिंदा मृत निजामती कर्मचारीले आफ्नो परिवारको सदस्य मध्य वा आफ्नो नाबालक भाइ वा अविवाहीत दिदी बहिनी कसैलाई इच्छ्याएको रहेछ भने सो व्यक्तिलाई र कुनै कारणले सो व्यक्तिले पाउन नसक्ने भएमा वा कसैलाई पनि इच्छ्याएको रहेनछ भने सो कर्मचारीको परिवारको सदस्य मध्य श्री ५ को सरकारले उचित ठहर्याएको व्यक्तिलाई दिइनेछ भन्ने कानूनी व्यवस्था रहेछ । नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११(१) मा सबै नागरिक कानूनको दृष्टिमा समान हुनेछन् । कसैलाई पनि कानूनको समान संरक्षणबाट ञ्चित गरिने छैनभन्ने सवैधानिक व्यवस्था रहेको छ । निजामती सेवा ऐन, २०४९ को दफा २(घ) मा कर्मचारीको परिवार भन्नाले कर्मचारीसँग बस्ने तथा निज आफैले पालन पोषण गर्नुपर्ने पति पत्नी छोरा अविवाहीत छोरी... समेतलाई जनाउछ भनि परिभाषित भएकोमा दफा ३९(६) ले परिवारका सदस्य बिचमा असमान हुने गरी कानून बनाउन मिल्ने होइन । नि.से.ऐन, २०४९ को दफा ३९(६) संविधानको धारा ११(१) को विपरित भई बदरभागी छ । हाम्रो आफ्नो व्यवसाय नभएको र श्रीमान्को पेन्सन र तलवमा भर पर्नु पर्ने हुनाले पनि त्यस्तो परिवारमा इच्छ्याएको व्यक्तिलाई मात्र पेन्सन दिने भन्न मिल्दैन । म निवेदीकाले सौता पनि खेप्नुपर्ने पेन्सन पनि नपाउने भन्न मिल्दैन । अंशवण्डाको १, २ र ११(२) समेतका व्यवस्थाले पनि परिवारमा समानताको अवधारणालाई अगाडी सारेको र यो विषय पनि त्यस्तै प्रकृतिको भएकोले असमान कानूनलाई कायम राख्न मिल्दैन । विद्युत राज चालिसेको जेठी श्रीमती म निवेदीका भएको र मेरा तर्फबाट पनि अविवाहीत २ छोरी र एक छोरा पनि भएकोले विपक्षी हेमलक्ष्मीले मात्र पेन्सन पाउने गरी निर्णय गर्दा समान अधिकारवाला व्यक्तिका बीचमा असमानता भएको छ । मलाई सुनुवाईको मौका नदिई बुझ्दै नबुझी निर्णय गरिएको हुंदा र  निजामती सेवा ऐन, २०४९ को दफा ३९(६) नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११(१)सँग वाझिएकोले धारा २३ र ८८ (१) बमोजिम उत्प्रेषण लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जीद्वारा बदर गरी धारा ८८(२) बमोजिम विपक्षी निजामती कितावखानाको च.नं. १७७९ मिति २०६२।७।१० को पत्र र सो पत्रमा उल्लेख भएको मिति २०६२।४।१६ को निर्णय र २०६२।४।२४ को अधिकार पत्र समेतका सम्पूर्ण काम कारवाही उत्प्रेषणको आदेशले बदर गरी पति विद्युतराज चालिसेको समान हकदार म निवेदीका समेतले निवृत्तिभरणको अधिकारपत्र पाउने दिने गरी विपक्षी निजामती कितावखाना समेतलाई आदेश जारी गरी पाउँ साथै विपक्षी निजामती किताबखानाले विपक्षी हेमलक्ष्मीलाई दिएको पेन्सनपट्टाले निवृत्तिभरण भुक्तान भइरहेकोले यो निवेदनको अन्तिम टुङ्गो नलागेसम्मका लागी उल्लेखीत पत्र र निर्णय बमोजिम बनेका निवृत्तिभरणको अधिकारपत्रको आधारमा रकम भुक्तान नगरी यथास्थितिमा राख्नु र राख्न लगाउनु भनि विपक्षी निजामती किताखाना समेतका नाममा स.अ. नियमावली, २०४९ को नियम ४१(१) बमोजिम अन्तरिम आदेश जारी गरी पाउँ भन्ने समेत व्यहोराको निवेदन पत्र ।

३.    यस्मा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? यो आदेश प्राप्त भएका मितिले बाटाका म्याद बाहेक १५ दिनभित्र सम्बन्धीत मिसिलसाथ राखी महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पठाउनु भनि विपक्षीहरु १,,,,५ र ६ लाई र आफै वा आफ्नो प्रतिनिधिद्धारा उपस्थित हुनु भनि विपक्षी हेमलक्ष्मी चालीसेलाई सूचना पठाई लिखित जवाफ आए वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने यस अदालतको मिति २०६२।१२।१३ को आदेश ।

४.    विपक्षी रिट निवेदकले संसद सचिवालयलाई विपक्षी बनाउनु पर्ने कुनै आधार र कारण उल्लेख गर्नु भएको छैन । निजामती सेवा ऐन, २०४९ मा उल्लेखित पारिवारीक निवृत्तिभरण सम्बन्धी प्रावधानबाट आफूलाई मर्का परेको भन्ने निवेदकको दावी रहेकोमा निजामती सेवा ऐन, तत्कालिन संसदय प्रक्रिया बमोजिम निर्माण भएको ऐन भएको र संसद सचिवालयले आफै कानून निर्माण गर्ने नभई संसदको कामकारवाहीलाई सुचारपले सञ्चालन गर्न सहयोगी भूमिकासम्म निर्वाह गर्ने भएकोले सचिवालयलाई अनावश्यक प्रत्यर्थी बनाइएको प्रस्तुत रिट निवेदन खारेज गरी पाउँ भन्ने विपक्षी संसद सचिवालयको लिखित जवाफ ।

५.    स्व. विद्युत राज चालिसेको शेषपछि इच्छाइएकी पत्नी हेमलक्ष्मी चालिसेको नाममा प्रचलित निजामती सेवा ऐन, नियम बमोजिम निजामती किताखानाबाट परिवारीक निवृत्तिभरणको अधिकार पत्र तयार भै आएकोले सो बमोजिमको निवृत्तिभरण निज हेमलक्ष्मी चालीसेलाई उपलव्ध गराइएको हो, निवेदीकाको हक हनन् हुने कार्य यस कार्यालयबाट नभएकोले रिट निवेदन खारेज गरी पाउँ भन्ने व्यहोराको कोशी तोषाखाना कार्यालयको लिखित जवाफ ।

६.    कुनै अंशियारले आफ्नो ज्ञान वा सिप वा प्रयासबाट निजी रुपमा आर्जन गरेको सम्पत्ति सो आर्जन गर्ने वा पाउने अंशियारको निजी ठहरिई आफू खुशी गर्न पाउने र त्यस्तो सम्पत्ति वण्डा गर्न कर नलाग्ने व्यवस्था मुलुकी ऐन अंशवण्डाको महलको १८ नं. मा समेत रहेको सन्दर्भमा आफ्नो निजी आर्जनको रुपमा रहने निवृत्तिभरण आफ्नो शेषपछि कस्ले प्राप्त गर्ने भन्ने सम्बन्धमा सम्बन्धीत व्यक्तिले नै निर्धारण गर्न पाउने सम्बन्धी निजामती सेवा ऐन, २०४९ को दफा ३९(६) को व्यवस्थालाई अन्यथा भन्न मिल्दैन । निवेदकको पति विद्युतराज चालिसेले इच्छ्याएको व्यक्ति निजको पत्नी हेमलक्ष्मी चालिसे हुनु भएको र मृत निजामतीले आफ्नो परिवार मध्यमा वा आफ्नो नावालक भाइ वा अविवाहीता दिदी बहिनी कसैलाई इच्छ्याएको भएमा निजलाई नै निवृत्तिभरण प्रदान गरिने निजामती सेवा ऐन, २०४९ को दफा ३९ को उपदफा (६) मा भएको व्यवस्था अनुसार हेमलक्ष्मी चालिसेलाई निवृत्तिभरण अधिकारपत्र बनाएको कार्य कानूनसम्मत रुपमा रहेको र निज हेमलक्ष्मी चालिसेले निवृत्तिभरण पाउन नसक्ने अवस्था रहेको भनि रिट निवेदकले दावी लिन सकेको समेत नपाइएको एवं यस मन्त्रालयबाट निवेदकको संविधान एवं अन्य प्रचलित कानून प्रदत्त हक अधिकारमा आघात पुग्ने गरी कुनै काम कारवाही नभएको नगरेको हुदा प्रस्तुत रिट निवेदन खारेज गरी पाउँ भन्ने सामान्य प्रशासन मन्त्रालयको लिखित जवाफ ।

७.    निवेदीका विद्युतराज चालिसेकी भिन्न बसेकी पत्नी भएको र म सगोलमा बसेकी पत्नीलाई इच्छ्याएको समेत हुदा निजलाई निवेदन दिने हकदैया नै छैन । नेपाल अधिराज्यको संविधान, २०४७ ले कुनै व्यक्तिले काम गरे वापत पाउने सुविधामा कसैले हकदावी गर्न पाउने सुविधा दिएको छैन । निजामती सेवामा कार्यरत कुनै निजामती कर्मचारीले लामो समय सेवा गरे वापत प्राप्त गर्ने आफूखुशी गर्न पाउने सुविधा वण्डा लगाउन पाउने धारा १७ को व्यवस्था होइन । पति विद्युतराज चालिसेले मलाई इच्छ्याउनु भएकोबाट विपक्षीको सम्पत्ति सम्बन्धी हकमा कुनै असर परेको छैन । सम्मानीत सर्वोच्च अदालतले २०५२ सालको रिट नं. २०४७ निवेदिका शान्तिदेवी राई विरुद्ध निजामती किताखाना समेत भएको उत्प्रेषण परमादेश लगायतका मुद्दामा निवृत्तिभरणको मागफारम एवं अधिकारपत्रमा शेषपछि इच्छ्याएको व्यक्तिले निवृत्तिभरण पाउने भन्ने सिद्धान्त प्रतिपादन भएको छ । पति विद्युतराज चालिसेले कानून बमोजिम आफूले इच्छ्याउन पाउने अधिकार अन्तर्गत म एकासगोलकी पत्नीलाई इच्छ्याउदा विपक्षीको संविधानको धारा ११ अन्तर्गत प्राप्त हकमा असर पर्ने अवस्था नभएको समेत हुँदा प्रस्तुत, हकदैया विहिन, झुठ्ठा रिट खारेज गरी पाउँ भन्ने समेत व्यहोराको विपक्षी हेमलक्ष्मी चालिसेको लिखित जवाफ ।

८.    मृतक निजामती कर्मचारीले आफ्नो परिवारको सदस्यमध्य वा आफ्नो नावालक भाइ वा अविवाहीत दिदी बहिनी कसैलाई इच्छ्याएको रहेछ भने सो व्यक्तिलाई निवृत्तिभरण वा उपदान प्रदान गरिने निजामती सेवा ऐन २०४९ को दफा ३९(६) मा भएको व्यवस्था अनुसार हेमलक्ष्मी चालिसेलाई सम्बन्धित निकायले निवृत्तिभरण अधिकारपत्र बनाएको कार्य कानून सम्मत हुनुका साथै यस सम्बन्धमा सर्वोच्चअदालतबाट २०५२ सालको रिट नं. ३१४७ को मुद्दा र रिट नं. २९९४ को मुद्दामा समेत कर्मचारीले एउटी श्रीमतीलाई इच्छ्याएकोमा अर्क समेतलाई निवृत्तिभरण बराबर पाउने गरी भएको निजामती किताखानाको निर्णय बदर हुने गरी सिद्धान्त समेत प्रतिपादन भइसकेको अवस्था छ । उपदान वा निवृत्तिभरण कर्मचारीको निजी आर्जनको सम्पत्ति भएको र वण्डा समेत नलाग्ने र आफूखुशी गर्न पाउने  भएकोले त्यस्तो सुविधा आफ्नो शेषपछि कस्ले प्राप्त गर्ने भन्ने सम्बन्धमा सम्बन्धित कर्मचारीले तोकेकै व्यत्तिले पाउने भएकोले निजामती सेवा ऐन, २०४९ को दफा ३९ को उपदफा (६) को व्यवस्था नेपाल अधिराज्यको संविधान २०४७ सँग बाझिएको अवस्था नहुदा रिट निवेदन खारेजभागी छ , खारेज गरी पाउँ भन्ने समेत व्यहोराको प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयको लिखित जवाफ ।

९.    नेपाल अधिराज्यको संविधान २०४७ को धारा ११(१)को व्यवस्था नागरिकहरुको मौलिक हकका रुपमा राज्यले प्रत्याभूत गरेको हक हो । मौलिक हक राज्यका विरद्ध नागरिकलाई प्राप्त हुने हक भएकोले राज्यले निर्माण गर्ने कानूनले नागरिक बिच असमानता गर्न वा समान संरक्षणबाट बञ्चित गर्न हुदैन । निजामती सेवा ऐन, २०४९ को दफा ३९(६) को व्यवस्थाले निजामती कर्मचारीलाई आफ्नो निवृत्तिभरणमा आफ्नो परिवारको सदस्यमध्य आफूले चाहेको कुनै व्यक्तिलाई दिन सक्ने आत्मनिर्णयको अधिकारसम्म प्रदान गरेको हो । यसले परिवारका कुनै सदस्यलाई निवृत्तिभरण पाउने हकबाट ञ्चित गरेको नभई परिवारका जुनसुकै सदस्यले पनि प्राप्त गर्न सक्ने गरी व्यवस्था गरेकोले संविधानको धारा ११(१) को व्यवस्था विपरित छ भनि तर्क गर्नु औचित्यपूर्ण देखिंदैन । संविधानको धारा १७ द्धारा प्रदत्त सम्पत्तिको हक उपभोग गर्दा प्रचलित कानूनका अधिनमा रही गर्नुपर्ने भएकोले निजामती सेवा ऐन, २०४९ को दफा ३९ (६) को व्यवस्था पनि सोही प्रचलित कानूनको अधिनमा रही उपभोग गर्नु पर्ने हुन्छ । दफा ३९(६) को व्यवस्थाले निवेदीकाको अंश हक गुम्ने अवस्था नभएकोले अंशवण्डाको महलमा भएका व्यवस्थासँग एकै अर्थमा लिन मिल्ने पनि होइन । तसर्थ प्रस्तुत रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको विपक्षी कानून न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको लिखित जवाफ ।

१०.    मन्त्रिपरिषद् सचिवालयको सचिव पदबाट अवकाश भई निवृत्तिभरण उपभोग गर्दै आउनु भएका विद्युतराज चालिसेको २०६१।७।२० मा मृत्यु भएपछि निजामती सेवा ऐन, २०४९ को दफा ३९(६) तथा नि.से.नि. २०५० को नियम १०२ मा निवृत्तिभरण वा उपदान दिदा मृत निजामती कर्मचारीले आफ्नो परिवारको सदस्य मध्यमा वा आफ्नो नावालक भाइ वा अविवाहित दिदी वा बहिनी कसैलाई इच्छ्याएको रहेछ भने सो व्यक्तिलाई र कुनै कारणले सो व्यक्तिले पाउन नसक्ने अवस्था भएमा वा कसैलाई इच्छ्याएको नभएमा सो कर्मचारीको परिवारको सदस्य मध्य सरकारले उचित ठहर्याएको व्यक्तिलाई दिइनेछ भन्ने व्यवस्था भए अनुरुप निजले सेवामा छदै भरेको वैयक्तिक विवरण (सिटरोल) मा एवं अनिवार्य अवकाश पाउने अवस्थामा भरिएको फारममा समेत हेमलक्ष्मी चालीसेलाई इच्छ्याएकोले साही अनुसार निजका नाममा अधिकार पत्र तयार गरिएको हो । यस विभागको काम कारवाहीबाट विपक्षीको कुनै पनि हक हनन नभएको हुदा रिट खारेज गरी पाउँ भन्ने समेत व्यहोराको विपक्षी निजामती कितावखानाको लिखित जवाफ ।

११.    नियम बमोजिम आजको दैनिक मुद्दा पेशी सूचिमा चढी पेश हुन आएको प्रस्तुत निवेदनमा निवेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता बालकृष्ण न्यौपानेले निजामती सेवा ऐन २०४९ को दफा ३९ को उपदफा १ र उपदफा ६ को भावना फरक फरक छ । उपदफा १ मा कुनै निजामती कर्मचारीको सेवामा छदै वा निवृत्तिभरण पाउन थालेको सातवर्ष नपुग्दै मृत्यु भएमा निजको परिवारलाई वा निजको नावालक भाइ वा अविवाहीत दिदी बिहिनीलाई दफा ३६ वा ३७ मा लेखिए बमोजिम निवृत्तिभरण प्राप्त हुनेछ भनि उल्लेख भएको छ भने उपदफा ६ ले उपदफा १ द्धारा प्रदत्त अधिकारलाई असमान रुपमा प्रयोग हुने गरी व्यवस्था गरेको छ । कुनै हकको प्रयोग असमान रुपले हुने गरी व्यवस्था गर्ने कानून समानताको हक विपरित हुन्छ । दुइवटा श्रीमती भएकोमा एउटी श्रीमतीलाई मात्र इच्छ्याउने अधिकार दिदा त्यो समानताको हक विपरित हुन जान्छ । त्यसैले निजामती सेवा ऐन, २०४९ को दफा ३९(६) नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११ सँग वाझिएको अवस्था हुदा बदर भै विपक्षी हेमलक्ष्मीलाई इच्छ्याएको आधारमा निजले मात्र निवृत्तिभरण पाउने गरी निजामती किताखाना समेतबाट भएका निर्णय र निजका नाममा दिइएको अधिकारपत्र समेत बदर गरी निवेदीका समेतले निवृत्तिभरण पाउने गरी आदेश जारी हुनुपर्छ भनि तथा विपक्षी प्रधानमन्त्री तथा मन्त्री परिषद्को सचिवालय समेतका तर्फबाट उपस्थित विद्वान नायव महान्यायाधिवक्ता श्री नरेन्द्र प्रसाद पाठकले निजामती सेवा ऐन, २०४९ को दफा ३९(६) नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११ को व्यवस्थासँग बाझिएको अवस्था छैन । समानताको हक समानहरुका बचमा मात्र लागु हुने हो । नि.से.ऐन, २०४९ को दफा ३९(६) बमोजिम इच्छाएको रहेनछ भने मात्र दुई पत्नी बचमा समानताको हक आकर्षित हुने हो । नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(१) बमोजिम निवेदनमा प्रश्न उठाइएको कानूनी व्यवस्था संविधानको कुन चाही व्यवस्था बाँझिएको छ भन हेर्नुपर्छ । सामाजिक न्यायको कुरा ल्याएर धारा ८८(१) बमोजिमको प्रश्नमा आधार बनाउन मिल्दैन । मुलूकी ऐनको अंशवण्डाका प्रावधानहरुसँग जोडेर निजामती सेवा ऐनका प्रावधानलाई व्याख्या गर्न मिल्ने पनि होइन । नि.से.एन, २०४९ को दफा ३९(६) बमोजिम कसैलाई इच्छ्याएको अवस्थामा निजलाई नै निवृत्तिभरणको अधिकार पत्र दिनुपर्छ भन्ने सम्बन्धमा सम्मानीत सर्वोच्च अदालतबाट शान्ति देवी राई विरुद्ध निजामती किताखाना समेतका मुद्दाहरुमा सिद्धान्त प्रतिपादन भैसकेको अवस्था हुदा निवेदन जिकिर प्रथम दृष्टिमै गलत छ तसर्थ रिट खारेज हुनुपर्छ भनि हस गर्नुभयो । त्यस्तै विपक्षी हेमलक्ष्मी चालीसेका तर्फबाट उपस्थित विद्वान अधिवक्ता सतिशकृष्ण खरेलले निजमती सेवा ऐन, २०४९ को दफा ३९(६) ले निजामती कर्मचारीलाई आफ्नो शेषपछि पाउने उपदान वा निवृत्तिभरण कस्लाई दिने भनि इच्छ्याउने अधिकार दिएको र सोही बमोजिम विद्युतराज चालिसेले श्रीमती हेमलक्ष्मी चालीसेलाई इच्छ्याएको र हेमलक्ष्मी चालीसेले निवृत्तिभरण अधिकारपत्र प्राप्त समेत गरिसकेको अवस्था हुदा निवेदकको जिकिर बमोजिम आदेश जारी हुनुपर्ने होइन भनि गर्नुभएको हस र निजामती सेवा ऐन, २०४६ को दफा ३९(६) को निवृत्तिभरण वा उपदान दिदा मृत निजामती कर्मचारीले आफ्नो परिवारको सदस्य मध्येमा वा आफ्नो नावालक भाइ वा अविवाहीता दिदी बहिनी कसैलाई इच्छ्याएको रहेछ भने सो व्यक्तिलाई र कुनै कारणले सो व्यक्तिले पाउन नसक्ने अवस्था भएमा सो कर्मचारीको परिवारको सदस्यमध्ये सरकारले उचित ठहर्याएको व्यक्तिलाई दिइनेछ भन्ने व्यवस्था नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११ सँग बाझिएको अवस्था भएकोले सो निजामती सेवा ऐन, २०४९ को दफा ३९(६) लाई संविधानको धारा ८८(१) बमोजिम अमान्य घोषित गरी स्व. विद्युत राज चालीसेका दुई श्रमिती मध्ये विपक्षी हेमलक्ष्मीले मात्र निवृत्तिभरण पाउने गरी निजामती किताखानाले गरेको निर्णय र सो का आधारमा दिएको निवृत्तिभरण अधिकार पत्र समेत बदर गरी निवेदीका समेतले निवृत्तिभरण पाउने गरी आदेश जारी गरी पाउँ भन्ने निवेदन जिकिर एवं निजामती कर्मचारीले गरेको लामो अवधिको सेवा अवधि गरे वापत पाउने सुविधा उस्को निजि आर्जन भएको र सो नजि आर्जनको सम्पत्ति आफ्नो शेषपछि कस्ले पाउने भनि इच्छ्याउने अधिकारले समानताको हक कुण्ठीत हुने होइन । यस सम्बन्धमा सर्वोच्च अदालत समेतबाट सिद्धान्त प्रतिपादन भै सकेको हुदा माग बमोजिम आदेश जारी हुनुपर्ने होइन भन्ने समेत व्यहोराको विपक्षीहरुको लिखित जवाफ समेतलाई मध्यनजर राखी निर्णयतर्फ विचार गर्दा प्रस्तुत निवेदनमा मुलतः निम्न प्रश्नहरुमा निर्णय दिनुपर्ने देखिन आयो ।      

 

(क)   निजामती सेवा ऐन, २०४९ को दफा ३९ को उपदफा (६) नेपाल अधिराज्यको संविधान २०४७ को धारा ११ को व्यवस्थासँग बाझिएको छ वा छैन?

(ख)   निवेदकको माग बमोजिम निजामती किताखानाको च.नं. १७७९ मिति २०६२।७।१० को पत्र र सो पत्रमा उल्लेख भएको मिति २०६२।४।१६ का निर्णय र २०६२।४।२४ को अधिकार पत्र बदर भै निवेदीका समेतले निवृत्तिभरणको अधिकार पत्र पाउने गरी आदेश जारी हुनुपर्ने हो वा होइन ?

१२.   पहिलो प्रश्नतर्फ विचार गर्दा निजामती सेवा ऐन, २०४९ को दफा ३९(६) मा निवृत्तिभरण वा उपदान दिदा मृत निजमति कर्मचारीले आफ्नो परिवारको सदस्य मध्येमा वा आफ्नो नावालक भाइ वा अविवाहीत दिदी बहिनी कसैलाई इच्छ्याएको रहेछ भने सो व्यक्तिलाई र कुनै कारणले सो व्यक्तिले पाउन नसक्ने अवस्था भएमा वा कसैलाई पनि नइच्छ्याएको भएमा सो कर्मचारीको परिवारको सदस्यमध्ये नेपाल सरकारले उचित ठहर्याएको व्यक्तिलाई दिइने छ भनि व्यवस्था गरिएको पाइयो । सो कानूनी व्यवस्था हेर्दा कुनै पनि निजामती कर्मचारीले आफ्नो परिवारको सदस्य वा आफ्नो नावालक भाइ वा अविवाहीत दिदी बहिनीमध्ये कसैलाई इच्छ्याउन सक्ने व्यवस्था गरेको देखियो । कसैलाई पनि नइच्छ्याएको वा कुनै कारणले इच्छ्याएको व्यक्तिले निवृत्तिभरण पाउन नसक्ने अवस्था भएमा परिवारका सदस्य मध्यमा नेपाल सरकारले उचित ठहर्याएको व्यक्तिले पाउने कानूनी व्यवस्था रहेको देखिन्छ ।

१३.   कुनै निजामती कर्मचारीको मृत्यु भएमा कस्ले निृत्तिभरण पाउने भन्ने प्रश्न मृत निजामती कर्मचारीसँगको नातासम्बन्ध, पालन पोषण सम्बन्धमा निजको दायित्व र इच्छा आदी कुराहरुद्धारा निर्धारित हुने हुन्छ । निजामती सेवा ऐनको उक्त दफा ३९(६) मा भएको निवृत्तिभरण वा उपदान दिदा मृत कर्मचारीले आफ्नो परिवारको सदस्य मध्येमा वा आफ्नो नाबालक भाई वा अविवाहित दिदी बहिनी कसैलाई इच्छ्याएको रहेछ भने सो ब्यक्तिलाई र कुनै कारणले सो ब्यक्तिले पाउन नसक्ने अवस्था भएमा वा कसैलाई पनि नइच्छ्याएको भएमा सो कर्मचारीको परिवारको सदस्य मध्येमा सरकारले उचित ठहर्याएको व्यक्तिलाई दिइनेछ भन्ने व्यवस्था नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११ को उपधारा १ सँग बाझिएको भन्ने निवेदकको जिकिर रहेको छ । नेपाल अधिराज्यको संबिधान २०४७ को धारा ११ को उपधारा १ को सबै नागरिक कानूनको दृष्टिमा समान हुनेछन्, कानूनको समान संरक्षणबाट कसैलाई बञ्चित गरिने छैन भन्ने व्यबस्थाले समान अवस्थामा रहेका समान व्यक्तिमा कानूनको समान प्रत्याभूति गरेबाट त्यसलाई विभिन्न परिस्थितिका कारण कुनै खास व्यक्तिलाई इच्छ्याएको अवस्थालाई समानताको प्रश्नसँग गांसेर हेर्न उपयुक्त देखिदैन । तसर्थ निवेदकको उक्त जिकिरसँग सहमत हुने अवस्था देखिन आएन ।

१४.   अव निवेदकको दावी बमोजिम निजामती कितावखानाको मिति २०६२।४।१६ को निर्णय र २०६२।४।२४ को अधिकारपत्र बदर भै निवेदीका समेतले निवृत्तिभरणको अधिकारपत्र पाउने हो वा होइन भन्ने सम्बन्धमा बिचार गर्दा निजामती सेवा ऐन, २०४९ को दफा ३९(६) मा कुनै निजामती कर्मचारीले आफ्नो परिवारको सदस्य वा नावालक भाइ वा अविवाहीत दिदी वा बहिनी मध्ये कसैलाई इच्छ्याएको रहेछ भने सो व्यक्तिलाई निजको शेषपछि निवृत्तिभरण दिइने गरी व्यवस्था गरिएको पाइन्छ । प्रस्तुत विवादमा मृत कर्मचारी विद्युतराज चालिसेले आफ्नी श्रीमती हेमलक्ष्मी चालीसेलाई इच्छ्याएको अवस्था मिसिल संलग्न प्रमाणहरुबाट देखिन आएको छ । यसरी इच्छ्याइएको व्यक्ति निजामती सेवा ऐन, २०४९ को दफा ३९(६) ले निर्दिष्ट गरेको परिधिभित्रकै व्यक्ति भएको र कानूनले इच्छ्याउन पाउने अधिकार प्रदान गरे अनुरुप इच्छ्याएको अवस्थामा इच्छ्याएको व्यक्तिले नै निवृत्तिभरणको अधिकार पाउने कानूनी व्यवस्था रहेको एवं यस सम्बन्धमा सर्वोच्च अदालतबाट ०५२ सालको रिट नं. ३१४७, निवेदक शान्ति देवी राई विरुद्ध निजामती किताखाना समेत भएको उत्प्रेषणयुक्त परमादेश जारी गरिपाउ भन्ने निवेदनमा तथा ०६० सालको रिट नं. २९९४ निवेदक लक्ष्मी गजुरेल विरुद्ध निजामती किताखाना समेत भएको उत्प्रेषणयुक्त परमादेश जारी गरिपाउ भन्ने निवेदनमा इच्छ्याइएको व्यक्ति बाहेक अर्क व्यक्तिलाई निवृत्तिभरण दिने गरी निजामती किताबखानाबाट भएको निर्णय बदर हुने गरी निर्णय समेत भैरहेको र उक्त निवेदनहरुमा प्रतिपादीत सिद्धान्त विपरित छुट्टै धारणा राख्नुपर्ने अवस्था समेत नहुदा निजामती किताखानाको ०६२।४।१६ को निर्णय र ०६२।४।२४ को अधिकार पत्र बदर गरी निवेदीकाले समेत निवृत्तिभरण पाउने गरी आदेश जारी गरी पाउँ भन्ने निवेदकको निवेदन कानूनसम्मत मान्न सकिएन ।

१५.   अतः निजामती सेवा ऐन, २०४९ को दफा ३९ को उपदफा (६) नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११ को उपधारा (१) सँग बाझिएको नदेखिनुका अतिरिक्त निवेदीकाका पति विद्युतराज  चालिसेले निजामती सेवा ऐन २०४९ को दफा ३९(६) बमोजिम हेमलक्ष्मी चालीसेलाई इच्छ्याएको र सो बमोजिम निजामती कितावखानाले निज हेमलक्ष्मी चालीसेले निवृत्तिभरण पाउने गरी गरेको निर्णय र प्रदान गरेको अधिकार पत्र कानून प्रतिकूल नदेखिंदा निवेदकको माग बमोजिमको आदेश जारी गरिरहनु परेन । प्रस्तुत निवेदन खारेज हुने ठहर्छ । फैसलाको जनाउ महान्यायाधिवक्ताको कार्यालयलाई दिई मिसिल नियमानुसार बुझाई दिनु ।

 

उक्त रायमा सहमत छौं ।

 

न्या.खिलराज रेग्मी

न्या.कल्याण श्रेष्ठ

इ.अ. देबेन्द्रराज ढकाल

 

 

ईति संवत्  २०६३ साल असोज २६ गते रोज ५ शुभम् ..................।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु