शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७७५८ - सवारी कर्तव्य ज्यान

भाग: ४८ साल: २०६३ महिना: पौस अंक:

निर्णय नं. ७७५८    ने.का.प. २०६३     अङ्क ९

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी

माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित

संवत् २०६२ सालको फौ.पु.नं. .. ३५७७

सम्वत् २०६३ सालको साधक नं. .. ३३७

फैसला मितिः २०६३।९।१६

 

मुद्दा :सवारी कर्तव्य ज्यान ।

 

पुनरावेदक / प्रतिवादीः जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.५ बस्ने            लक्ष्मणबहादुर श्रेष्ठ

विरुद्ध

प्रत्यर्थी / वादीः शुसिलकुमार अर्यालको जाहेरीले नेपाल सरकार                         

 

वादीः शुसिलकुमार अर्यालको जाहेरीले नेपाल सरकार   

विरुद्ध

प्रतिवादीः जिल्ला रुपन्देही देवदह गा.वि.स. वडा नं.७ बस्ने भीमबहादुर वि.सी.

 

§  सवारी दुर्घटनामा मृत्यु हुने व्यक्तिको हकवालाले पाउने क्षतिपूर्तिवापतको दायित्व पूरा गर्ने जिम्मेवारी आधारभूत रुपमा सवारी चालकको नभै सवारीधनी वा व्यवस्थापकको नै हुने ।

§  सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६३(१)(क) ले क्रिया खर्च र क्षतिपूर्ति बिमा नगराएको भए तेश्रो पक्षले पाउने दुर्घटना बिमा वापतको रकम सवारी चालक, सवारीधनी वा व्यवस्थापकबाट भराई दिनुपर्ने व्यवस्था रहेकोबाट क्षतिपूर्तिको रकम तिर्नुपर्ने दायित्व केबल सवारी चालक मात्रको भन्न नमिल्ने ।

§  मृतकका हकवालाले क्षतिपूर्ति पाउने रकम वापत सवारीधनीले विमा गरेको अवस्थामा मृतकको हकवालाले क्षतिपूर्ति वापत पाउने रकम अन्ततः सो विमाबाट नै व्यहोरिने भएकोले सो दायित्व सवारी चालकको हो भनी अर्थ गर्नु कानूनसम्मत नहुने ।

§  क्षतिपूर्ति वापतको रकम तिर्ने प्रयोजनका लागि तेश्रो पक्षको बीमा गरिसकेको अवस्थामा सो क्षतिपूर्ति वापत मृतकका हकवालाले पाउने रकम तिर्ने दायित्व सवारी चालकको नहुने हुँदा दफा १६६ मा उल्लेखित सवारी चालकले तिर्नुपर्नेभन्ने वाक्यांशले  विमाबाट गरिपाउने त्यस्तो दायित्वलाई नजनाउने भएकाले रकम आफूले व्यहोर्नु नपर्ने भन्ने पुनरावेदन जिकिर मनासिव नदेखिने ।

(प्रकरण नं.२४)

 

पुनरावेदक प्रतिवादी तर्फबाटः

प्रत्यर्थी वादी तर्फबाटः

अवलम्वित नजीरः

 

फैसला

न्या.केदारप्रसाद गिरीः पुनरावेदन अदालत वुटवलबाट २०६२।२४।३ मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम प्रतिवादीको पुनरावेदन तथा दफा १० बमोजिम साधक समेत जाहेर भै दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकारछ :

२.    मेरो बाबु कविराज अर्याल मिति २०५९।६।२३ गते बिहान खाना खाई भैरहवा आउनु भएकोमा राष्ट्र बैंक सिद्धार्थनगरमा नगद रु.३३,३११२।सटहीगरी सिद्धार्थ राजमार्गको पश्चिम बाया साइडबाट अर्थात पिचले सडकदेखि अं.२ मिटर पश्चिम हुँदै दक्षिणबाट उत्तरतर्फ गैरहेको अवस्था ल.१ख १८८७ नं.को ट्रकले दक्षिणबाट उत्तरतर्फ जादै गर्दा आफ्नो साइड मिची बाबु कविराज अर्यालको दाहिने खुट्टामा ठक्कर दिई लडाएपछि ट्रक केही अगाडि गै पुनः व्याक गरि पछाडिको कच्चाले टाउको किची मारेको कुरा प्रत्यक्ष देख्नु बु.न.पा.वार्ड नं. ८ बस्ने लेखनाथ भण्डारीले बुटवल घरमा टेलिफोनद्धारा खवर गर्नु भएको र वहा समेतका मानिसहरुले बाबु कविराज अर्याललाई तत्काल भिम अस्पतालमा पुर्‍याउँदा घटनास्थलमै ठहरै हुनु भएको रहेछ । म बुटवलबाट सिद्धार्थनगरमा आई घटनास्थलमा गै बुझ्दा घटनास्थलदेखि पुर्व चित्रराज पाण्डेको घरमा साइकल दुकान गरी बस्ने सत्य नारायण बस्याल ऐ. घरमा होटल चिया पसल गरि बस्ने ओम प्रकाश बस्याल ऐ. घरमा तरकारी पसल गरी बस्ने सानु घिमिरे समेतका मानिसले प्रत्यक्ष देख्नु भएको रहेछ । ले.१ख १८८७ नं.को चालक भिमबहादुर वि.सी. हुन भन्ने जानकारी हुन आएको र उक्त ट्रक चालक भिमबहादुर वि.सी.ले जानी जानी ठक्कर दिई लापर्वाहीपूर्वक ठक्कर दिई लडाएपछि पुनः गाडि व्याक गरि मारेको हुदा निज चालकलाई ज्यान सम्बन्धिको १३ नं. बमोजिम कारवाही र सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको जाहेरी दरखास्त ।

३.    जिल्ला रुपन्देही सि.न.पा.वडा नं. १२ नया सडकस्थित पूर्व सिद्धार्थराजमार्ग सडक, पश्चिम साल्ट ट्रेडिङ्ग कं.लि.उपर आ.वा. रोड दक्षिण सार्वजनिक शौचालय भाग यति चारकिल्ला भित्रमा सोही सिद्धार्थ राजमार्ग सडकको पीच सडकको किनाराको भागदेखि ११ फिट पश्चिमतर्फ ग्राविल सडकको भागमा पश्चिम टाउको पूर्व खुट्टा गरि उत्तानो अवस्थामा मृतक लास रहेको, सो लासदेखि दक्षिण पश्चिम ४ फिट ४ इन्च दुरीमा कालले व्याग रहेको, सो लासदेखि दक्षिण ३ फिटको दुरीमा ढाकाको टोपी रहेको सो लास नजिकै बगलमा पहेंलो प्रेम भएको चश्मा समेत रहेको भन्ने समेत व्यहोराको घटनास्थल एवं लास जांच प्रकृति  मुचुल्का ।

४.    साल्ट ट्रेडिङ्ग गोदामबाट बाहिर निस्की बुद्धचोकतर्फ जान लागेको लू.१ख. १८८७ नं.को भाडा ट्रकले पैदल यात्री कविराज अर्याललाई ठक्कर दिई घटनास्थलमा नै मृत्यु भएको भन्ने सडक दुर्घटना प्रतिवेदन ।

५.    घटनास्थल भनिएको सिद्धार्थ राजमार्गको पूर्व साइडतर्फ चिया पसल भएको करण म सोही चिया पसलमा नै बसेको थिएं । मेरो चिया पसल अगाडि नै उक्त लु.१ख. १८८७ नं. को ट्रक सोही दक्षिण मोहडा गरी रोकी राखेको थियो उक्त नं.को ट्रक सोही मिति र समयमा सडकको पूर्व तर्फबाट मोडि सडकको वायाँतर्फ पुगि साल्ट ट्रेडिङको गेटसम्म पुगि पुनः उत्तरतर्फ लाग्दा कविराज अर्याल हातमा कालो व्याग छोपी सिद्धार्थराजमार्गको पश्चिम साइडतर्फ हिडिरहेको अवस्था सो ट्रकले अगाडि तर्फको वायाँ चक्काले ठक्कर दिई निज कविराज अर्याललाई जमिनमा लडाएपछि सो ट्रक केही अगाडि नै पुनः व्याक गरी निज कविराज अर्याललाई घटनास्थलमा लडेको अवस्थामा नै पछाडिको चक्काले किची निज कविराज अर्याललको घटनास्थलमै मृत्यु भएको हो । चालकको गल्ती लापरवाहीका कारणले उक्त घटना हुन गएको हो भन्ने समेत व्यहोराको ओम प्रकाश ज्ञवालीले गरि दिएको कागज ।

६.    २०४७ सालदेखि ट्रक बस चलाउँदै आएको थिएँ । आजभन्दा करीव ६ वर्ष अघिदेखि लू.१ख १८८७ नं.को ट्रक हांकी चलाई विभिन्न ठाउँमा विभिन्न मालसामानहरु ओसार पसार गर्दै आएको थिएं । मिति २०५९।६।२३ गतेका दिन भैरहवा भन्सारमा सामान लिन भनि काठमाडौंबाट लु. १ ख १८८७ नं.को ट्रक म आफूले हाकी आएको थिए । सोही मितिको बिहान भैरहवा आइपुग साल्ट ट्रेडिङदेखि पूर्वतर्फ सामानवालासँग भेट भएकोले सडकको पूर्वतर्फ गाडी रोकें, गाडि रोकी सामानवालाले एकछिन खबर आएपछि सामान लिन आउला भनेकाले केही समय बस्दा केही खवर नआएकोले अब ढिला भयो, वर्मेली टोलमा ग्यारेजमा गाडि राखी खाना खान पर्यो भनि लु.१ख.१८८७ नं.को ट्रक सडकको पूर्वतर्फ खाली जमिनबाट यू आकारमा मोडी उत्तरतर्फ लाग्दा गाडि सडकको पश्चिमतर्फ पिचमा छाडी खाली ग्राभिल भागमा हिडिरहेको मानिसलाई अगाडि वम्पर भागले ठक्कर लाग्न गएकोले मानिस पल्टेपछि डरले भाग्न लाग्दा पछाडिको वाया चक्काले भेटी किच्चिन गए, त्यसपछि गाडि लिई भागेको हु । प्रत्यक्षदर्शले कविरा अर्याललाई लु. १ख १८८७ नं.को ट्रकले ठक्कर दिई लडाएपछि पुनः व्याक गरी किची मारेको भनि किन लेखेका हुन मलाई थाहा छैन मैले हाकेको ट्रकले ठक्कर लाग्नु अघि देखेको थिए । ठककर लागेपश्चात गाडि मुनि परेकोले मैले देखिन पछाडिएको चच्काले भेटी किचिंदा हल्का चोट लागेको जस्तो भएको थियो भन्ने समेत व्यहोराको प्र. भिमबहादुर वि.सी.को बयान कागज ।

७.    मिति २०५९।६।२३ गतेका दिन म आफ्नो काम विशेषले भैरहवातर्फ घुमफिर गर्न आएकोमा आफ्नो घर बुटवलतर्फ जाने क्रममा घटनास्थल भनिएको ठाउमा पुगि बसमा बस्ने भनि सडकको किनारामा उभिएको थिए । यस्तैमा लु.१ख १८८७ नं. को ट्रकले उत्तर तर्फजान लाग्दा मृतक भनिएका कविराज अर्याल हातमा कालो व्याज लिई उक्त सडकको पश्चिम साइडतर्फ हिडिरहेको अवस्थामा उक्त नं. को ट्रकले अगाडि तर्फको वाया चक्काले मृतक भनिएका कविराज अर्याललाई ठक्कर दिई निज जमिनमा ढलेपछि सो ट्रक केही अगाडितर्फ गै ट्रक पुनः व्याक गरी निज जमिनमा लडेको अवस्थामा ट्रक व्याक गरी पछाडिको चक्काले किची कविराज अर्यालको घटनास्थलमै मृत्यु भएको मैले प्रत्यक्ष देखेको हु भन्ने समेत व्यहोराको अनुसन्धानको क्रममा बुझिएका लेखनाथ भण्डारीले गरिदिएको कागज ।

८.    सोही लेखनाथ भण्डारीले गरिदिएको कागजसँग मेल खाने गरी सानु घिमिरेले गरी दिएको कागज ।

९.    मिति २०५९।६।२३ गतेका दिन म आफ्नो काम विशेषले भैरहवा तर्फ घुमफिर गर्न गएकोमा घुमफिर गरी घर फर्कने क्रममा घटनास्थल भनिएको ठाउँमा पुगि सडकमै उभिएको थिएं । यस्तैमा ल.१ ख १८८७ नं.को ट्रक उत्तरतर्फ जान लाग्दा मृतक भनिएका कविराज अर्याल हातमा कालो व्याग लिई उक्त सडकको पश्चिमतर्फ हिडिरहेको अवस्थामा उक्त नं. को ट्रकले अगाडि तर्फको बायाँ चक्काले मृतक कविराज अर्याललाई ठक्कर दिई जमिनमा ढलेपछि जमिनमा ढलेका कविराज अर्याललार्य जमिनबाट उठाउन जादासम्म निज अर्यालले दाया हात उठाई मलाई केही भएको छैन भनि भनेका थिए र उक्त नं.को ट्रक पनि केही अगाडि थियो ट्रक व्याक गरी पछाडिको चक्काले किची कविराज अर्याललको घटनास्थलमै मृत्यु भएको प्रत्यक्ष देखेको हु । उक्त दुर्घटना चालकको गल्ती लापरवाहीको कारण भएको हो भन्ने समेत व्यहोराको सत्य नारायण वस्यालले गरि दिएको कागज ।

१०.    जाहेरी दरखास्तमा उल्लेखित मिति र समयमा जाहेरवालाको बाबु कविराज अर्याललाई ल.१ख. १८८७ नं.को ट्रकले घटनास्थलमा ठक्कर दिई लडाई सकेपछि उक्त ट्रक व्याक गरी किची निज जाहेरवालाको बाबु कविराज अर्याललको घटनास्थलमै मृत्यु भएको हो भन्ने समेत व्यहोराको वस्तुस्थिति मुचुल्का ।

११.    ल.१ख. १८८७ नं.को ट्रकको मेकानिकल जाच गर्दा उक्त ट्रकको सम्पूर्ण पार्टपूर्जा ठिक हालतमा रहेको भन्ने मेकानिकल जाच प्रतिवेदन ।

१२.   प्रतिवादी भिमबहादुर वि.सी. मृतक कविरा अर्याललाई सडक बाहिर आफ्नो साइडमा हिडीरहेको देख्दा देख्दै आफूले चलाएको ट्रकले सडक बाहिर आफ्नो साइडमा हिडी रहेको देख्दा देख्दै आफूले चलाएको ट्रकले सडक बाहिर गै निजलाई ठक्कर दिई घाइते बनाएपछि निज घाइते कविरा अर्यालले हातले इसारा गर्दै पनि केही अगाडि पुगि ट्रकलाई निज घाइतेको ज्यान मार्ने मनसायले पुनः व्याक गरी ल्याई किची भागी निज कविराज अर्यालको तत्काल घटनास्थलमै मृत्यु भएको देखिएको हुदा निज प्रतिवादी भिमबहादुर वि.सी.ले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(१) बमोजिम को कसूर अपराध गरेको देखिंदा ऐ. दफा १६१(१) बमोजिम सजाय गरिपाऊँ र लु.१ख १८८७ नं.को ट्रकका धनि प्रतिवादी लक्ष्मणबहादुर श्रेष्ठ भएको भन्ने देखिएको र मृतकका हकवालाले हालसम्म कृयाखर्च तथा क्षतिपूर्ति वापतको रकम समेत भरी पाएको नदेखिएकोले ऐ. दफा १६३ र सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नियम ५५ बमोजिम कृयाखर्च तथा क्षतिपूर्ति वापतको रकम प्र. लक्ष्मणबहादुर श्रेष्ठ र भिमबहादुर वि.सी. बाट मृतक कविराज अर्यालको हकवालालाई दिई भराई पाउँ भन्ने समेत अभियोग मागदावी ।

१३.   मिति  ०५९।६।२२ गते भैरहवा भन्सारमा सामान लिन भनि काठमाडौंबाट हिडी ०५९।६।२३ गते बिहान ८.९ बजेतिर भैरहवा आई गाडि मर्मत गर्ने खाना खाने काम गरी सामान लिन जानको लागि भैरहवा साल्ट ट्रेडिङको पूर्वतर्फ गाडि रोकि सोही नजिकको ट्रान्सपोर्टमा बुझ्दा सामान नपाइने भएपछि गाडि बुटवलतर्फ लैजानको लागि स्टार्ट गरी घुमाउन लाग्दा मैले यताउता हेरेको थिए कुनै मानिसलाई देखिन गाडि घुमाउन लाग्दा गाडिमा बोट लागेजस्तो आवाज आएपछि त्यहा भएका मानिसहरु हल्ला गर्न थाले र खलासीले हेर्दा मानिस किचिएछ भनि भनेपछि अ जीउ भोगाउनु पर्छ भनि मैले उक्त ट्रकलाई हाकी प्रहरी कार्यालयमा गएको हूम जाहेरवालाका बाबु कविराज अर्याललको मैले चलाएको ट्रकले किची मृत्यु भएको हो । गाडि व्याक गर्दा पछाडिको चक्कामा ओट लगाएको जस्तो आवाज आएपछि मात्र मैले थाहा पाएको हु । मैले गाड व्याकगरि किची मारेको होइन भन्ने समेत व्यहोराको प्रतिवादी भिमबहादुर वि.सी.ले अदालत समक्ष गरेको बयान ।

१४.   ल.१ख १८८७ नं.को ट्रक मेरो नाउँमा दर्ता कायम छ । भिमबहादुर वि.सी.ले मेरा नाउँको ट्रक चलाउने गरेको थियो । उक्त ट्रकले दुर्घटना गराई कविराज अर्यालको मृत्यु भएको कुरा जिल्ला प्रहरी कार्यालय मार्फत ०५९।६।२३ गते मैले थाहा पाएको हु, के कसरी दुर्घटना भयो मैले नदेखकोले भन्न सकिएन । मृतकको हकदारलाई कृयाखर्च क्षतिपूर्ति वापत रकम दिने सम्बन्धमा मृतकका हकदारसँग कुराकानी छलफल भएकोमा कृयाखर्च बुझ्न आउनु भएन । मेरा नाउँको ल.१ख १८८७ नं.को ट्रक दि ओरियन्टल इन्स्योरेन्ट कम्पनी लिमिटेड काठमाडौंमा तेश्रो पक्षको विमा वापत रु. तीन लाखसम्मको रकम विमा गरेको छु । कृयाखर्चको हकमा कानूनले तिर्नुपर्ने भए रु. १०,०००।सम्मको रकम ट्रकधनिको हैसियतले बुझाउन मन्जूर छु । सो बाहेक दावी बमोजिमको क्षतिपूर्ति वापतको कानू पाउने रकम दि ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेड काठमाडौंबाट मृतकको हकवालालाई दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी लक्ष्मणबहादुर श्रेष्ठले अदालत समक्ष गरेको बयान ।

१५.   प्रहरीमा कागज गर्ने सत्य नारायण वस्याल र लेखनाथ भण्डारी तथा दिपकबहादुर धिमाल, प्रतिवादी भिमबहादुर वि.सी.को साक्षी दिपक रेग्मी, प्र. लक्ष्मणबहादुर श्रेष्ठका साक्षी गोबिन्दलाल श्रेष्ठ, जाहेरवाला शुसिलकुमार अर्याल र वस्तुस्थितिका मानिस खेमराज ढुंगाना तथा दामोदर खनालको बकपत्र भै मिसिल सामेल रहेको ।

१६.    मार्ने नियतले ट्रक व्याक गरेको भन्न कुनै प्रमाणबाट प्रमाणित हुन नआएको र मृतक र प्रतिवादीको बिचमा मार्नुपर्ने सम्मको कुनै रिस इवी रहेको पनि देखिन नआएकोले प्रतिवादीले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(१) बमोजिमको कसूर गरेको हो भन्न मिलेन । तर प्र.ले चलाएको ट्रकलाई यू. टर्न गरि मोड्दा मूल सडक पिच छोडी बटुवा हिड्ने बाटो ग्राभेलसम्म लैजादा बाटोमा हिड्ने बटुवाको ज्यान मर्न सक्छ भन्ने संभावना हुदा हुदै लापरवाहीसँग प्रतिवादीले ट्रक घुमाएको कारणले दुर्घटना हुनगई मृतक कविराज अर्यालको मृत्यु हुन गएको भन्ने सडक दुर्घटना प्रतिवेदनबाट प्रमाणित भैरहेकोले प्र. भिमबहादुर वि.सी.ले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(१) बमोजिम कसूर गरेको ठहरीकोले निज प्र.लाई २ वर्ष कैद हुने ठहर्छ । ऐनको दफा १५३ को दावीको हकमा मर्नेको हकवालालाई क्रिया खर्च र रु. १०,०००।–  क्षतिपूर्ति वापत तेश्रो पक्षले दुर्घटना विमा वापत रु. २,००,०००।भरी पाउने ठहर्छ भन्ने समेत व्यहोराको रुपन्देही जिल्ला अदालतको मिति २०६१।१।२० को  फैसला ।

१७.   प्रतिवादी भिमबहादुर वि.सी.ले हाकी आएका ट्रक मोड्दा सडक छोडी पैदल हिडिरहेको कविराज अर्याललाई ठक्कर दिई लडाई सकेपछि मार्ने नियत लिई गाडि व्याकगरि पछाडिको टायरले टाउकोमा किची मारेको भन्ने कुरा शव परिक्षण प्रतिवेदन तथा वादीका साक्षीको बकपत्र लगायतका मिसिल संलग्न प्रमाणबाट पुष्टि भइरहेको अवस्थामा  सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(१) बमोजिम सजाय हुनु पर्नेमा नगरि ऐ. को दफा १६२(२) बमोजिम कम सजाय गर्ने गरेको तथा क्षतिपूर्तिको रकम पुरै नभएको रुपन्देही जिल्ला अदालतको फैसला सो हद सम्म नमिलेको हुदा बदर गरि प्रतिवादी भिमबहादुर वि.सी.लाई अभियोग माग दावी बमोजिम सजाय गरि तेश्रो पक्षको बिमा वापतको रकम समेत माग दावी बमोजिम नै भराई पाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको तर्फबाट पर्न आएको पुनरावेदन पत्र ।

१८.   ज्यान मर्न सक्ने कुनै संभावना नदेखिएको अवस्थामा मैले चलाएको ट्रक घटनास्थल सडकमा घुमाउन लाग्दा अनिश्चित र अनपेक्षित रुपमा मृतक कविराज अर्यालको मृत्यु हुन गएको हुदा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९८ को दफा १६२(२) आकर्षित हुनेमा ऐ ऐनको दफा १६१(२) अनुसार सजलाय गरेको शुरु रुपन्देही जिल्ला अदालतको मिति २०६१।१।२० को फैसला नमिलेको हुँदा सो हदसम्म उल्टी गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी भिमबहादुर वि.सी.को पुनरावेदन पत्र ।

१९.    मृतक कविराज अर्याल फुपामा हिरिहेको अवस्थामा ट्रकले अगाडिबाट ठक्कर दिएपछि निज अधकल्चो पीडितलाई छोड्नु भन्दा मारिदिएमा औषधोपचार आदि गर्नु नपरी क्रिया खर्च दिई छुकारा पाइने उद्देश्यबाट मारौं भन्ने मनसाय राखि ट्रक व्याक गरि मारेको देखिंदा निज प्रतिवादी भिमबहादुर वि.सी.लाई अभियोग माग दावी अनुसार सजाय गरि सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) अनुसार सजाय गरेको मिलेको नदेखिंदा रुपन्देही जिल्ला अदालतको मिति २०६१।१।२० को फैसला उल्टी भई प्रतिवादी चालक भिमबहादुर वि.सी.लाई ऐ. ऐनको दफा १६१(१) अनुसार सर्वस्व सहित जन्मकैदको सजाय हुने साथै क्षेतिपूर्ति रकम सम्बन्धमा समेत अभियोग माग दावी बमोजिम हुने देखिएकोले क्षेतिपूर्तिको तेश्रो पक्ष विमित रकम दि ओरियन्टल इन्सोरेन्स कंपनी लिमिटेडमा ट्रककधनिले बिमा गराएको हुँदा मर्नेको हकवालाले ट्रकधनि लक्ष्मणबहादुर श्रेष्ठबाट सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नियम ५५ मा उल्लेखित तेश्रो पक्षको बिमा वापतको रकम रु. ३,०००००।– (तीन लाख) तथा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६३ बमोजिम क्रिया खर्च वापत रु. १०,०००।समेत भरि पाउने ठहर्छ भन्ने समेत पुनरावेदन अदालत वुटवलको फैसला ।

२०.   पुनरावेदन अदालतबाट भएको फैसलामा चालकको पुनरावेदन जिकिर पुग्ने वा नपुग्ने के हो त्यसतर्फ बोलिएको छैन । सवारी ऐनको दफा १६६ ले चालकलको लापरवाही तथा बद्‌नियतपूर्व सवारी ऐन वा त्यस अन्तर्गतको नियम वा आदेशको उल्लंघन गरेको बाहेकको अवस्थामा मात्र न नियम बमोजिम चालकले तिर्नुपर्ने जरिवाना वा खर्च वा क्षतिपूर्ति रकम सवारी धनी वा व्यवस्थापकले दिने हो । सवारी चालकलाई सवारी ऐनको दफा १६१(२) को कार्य कसूर ठहरेमा नै पनि ऐनको दफा १६६ को आरंशः व्याख्या हुदा फैसला अनुसारको क्रिया खर्च क्षेतिपूर्ति वापतको रकम मैले दिनुपर्ने र मबाट भरि भर हुने होइन । सवारी ऐन बमोजिम सवारी धनीबाट रकम भराउने माग गरी जिल्ला अदालतमा मुद्दा दायर गर्ने अधिकार सरकारलाई छैन । ट्रक अगाडि पछाडि व्याक गरेको भए स्केचमा त्यस्तो गरेको टायरको डामहरु देखिनुपर्ने, देखिएको छैन । साक्षीहरुले अदालतमा गरेको बकपत्रमा एक रुपता छैन । सवारीले टर्न लिएका वखत दुर्घटना भएको भन्ने छ । त्यस अवस्थामा अगाडि बम्बर भै ठक्कर लागेकै भएपनि तत्क्षण पछाडिको टायर मानिसको शरीरमा चढ्ने सम्भावना हुन्छ । टायरमुनी शरीर पर्न व्याक गर्नु पर्दैन । मृतकसँग सवारी चालकको पूर्व चिनजान रिसइवी नभएको अवस्थामा निमेष भरमा मारिदिने मनसाय उत्पन्न हुन नसक्ने तथ्य तर्फ विचार नभएको हुदा पुनरावेदन अदालतको फैसला आत्मनिष्ट छ । तसर्थ म सँग क्रियाखर्च र क्षेतिपूर्ति समेत भराउने गर्दा पुनरावेदन अलालत वुटवलको फैसला बदर गरिपाऊँ भन्ने समेत प्रतिवादी लक्ष्मणबहादुर श्रेष्ठले यस अदालतमा गरेको पुनरावेदन ।

२१.   नियम बमोजिम पेशीसूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितको सम्पूर्ण मिसिल अध्ययन गरी हेर्दा पुनरावेदन अदालतबाट भएको फैसला मिले नमिलेको एवं पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन सो सम्बन्धमा निर्णय दिनु पर्ने हुन आयो ।

२२.   प्रतिवादी मीमबहादुर वि.सी.को हकमा साधकको रोहबाट हेर्नु पर्ने भै त्यस तर्फ विचार गर्दा २०५९ साल श्रावण २३ गते अं. दिनको १२ बजेका समयमा प्रतिवादी मीमबहादुरले चलाएको लु.१ख १८८७ नं.को ट्रकले टक्कर दिएका कारण घाइते भै कविराज अर्यालको मृत्यु भएको तथ्यलाई प्रतिवादी चालक भीमबहादुरले समेत स्वीकार गरेको देखिन्छ । उक्त तथ्य घट्नास्थल तथा लाश जाच मुचुल्का आफ्नै साइडमा पीच भन्दा बाहिर हिडिरहेको अवस्थामा मृतकलाई ठक्कर दिएको भनी जाहेरीमा उल्लेखित व्यहोरा तथा सत्यनारायण वस्याल समेतका प्रत्यक्षदर्शीहरुले गरेको बकपत्रबाट समर्थित भैरहेको हुदा प्रतिवादी भीमबहादुर वि.सी.ले चलाएको लु.अ.ख. १८८७ को ट्रकले पीचबाटो बाहिर गई ठक्कर दिएका कारण कविराज अर्थालको मृत्यु भएकोमा विवाद देखिएन ।

२३.   प्रतिवादी मीमबहादुर वि.सी.लाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(१) बमोजिम सजाय हुन अभियोग दावी भएकोमा शुरु जिल्ला अदालतले दफा १६१ को उपदफा (२) बमोजिम कैदवर्ष २ (दुई) हुने ठहराएको र पुनरावेदन अदालत बुटवलबाट ऐ. दफा १६१ को उपदफा (१) बमोजिम सर्वश्व सहित जन्मकैद हुने गरी फैला भएको रहेछ । घटनास्थल प्रकृति मुचुल्काबाट मृतक कविराज अर्याल हिडीरहेको बाटोको साइडभन्दा पारी तर्फबाट यूटर्न गरी आएको ट्रकले आफ्नो साइडको बिचभन्दा बाहरि हिडीरहेका मृतकलाई ठक्कर दिएको देखिन्छ । यूटर्न गरेको अवस्थामा पनि ट्रकको गती २५४० कि.मी. प्रतिघण्टा थियो भन्ने कुरा प्रतिवादी स्वयंले स्वीकार गरेको अवस्था छ । अभियोग दावीमा उल्लेखित ट्रकको बायां साइडको अगाडिको कम्पडले ठक्कर दिइसकेपछि ट्रक व्याक गरी मारेको भन्ने दावीलाई प्रतिवादी भीमबहादुरले आफ्नो बयानमा इन्कार गरेतापनि अनुसन्धान क्रममा बयान गर्दा ट्रकको ठक्करको अगाडिको कम्पडले ठोक्किइ मानिस पल्टिएपछि ट्रक अगाडि बढाउदा पछाडिएको चक्काले किचेको भन्ने कुरालाई स्वीकार गरेकोबाट मानिसलाई ट्रकले ठक्कर दिईसकेपछि पनि ट्रक चलाएको र घाइते अवस्थाको मानिसलाई किचेको कारण मानिसको मृत्यु भएको भन्ने देखिन्छ । अर्क तर्फ आफ्नै साइडमा हिडेका कविराज अर्याललाई ट्रकले दाहिने खुट्टामा ठक्कर दिई लडाएपछि सो ट्रक केही अगाडि गै पुनः व्याक गरी पछाडिको चक्काले टाउकोमा किची मारेको र सो कुराका प्रत्यक्षदर्शी साक्षी भएको कुरा समेत उल्लेख गर्दा जाहेरी दरखास्त परेका देखिन्छ । साथै जाहेरी दरखास्तवालाले अदालत समक्ष बकपत्र गर्दा जाहेरीलाई पुष्टि गरिदिएको पाइयो । जाहेरी दरखास्तमा प्रत्यक्षदर्शी भनी उल्लेख भएका सत्यनारायण बढ्याल, लेखनाथ भण्डारी दामोदर खनाल, खेमराज ढुंगानाले कविराजलाई ट्रकको अगाडिको दाया भागले ठक्कर दिई लडाएपछि अगाडि बढेको गाडी पुनः व्याक गरी पछाडिको चक्का मृतकको शरीरमा चढाई मारेको भनी स्पष्ट र एकै मिलानको बकपत्र गरिदिएकोले त्यस्तो प्रत्यक्षदर्शी साक्षीको भनाइलाई प्रमाणमा लिन मिल्ने नै हुदा मृतकलाई ठककर दिई लडापछि व्याक गरी किचाएको होइन भन्ने प्रतिवादीको जिकीरसँग सहमत हुन सकिएन । यसरी मानिसलाई आफूले चलाएको सवारी साधनले ठक्कर दिइसकेपछि मार्ने नै मनसाय राखी भुईमा लडेका मानिसलाई पछाडिको चक्काले किची मारेको देखिँदा प्रतिवादी भीमबहादुर वि.सी.लाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(१) बमोजिमको कसूर गरेकोमा सोही दफा बमोजिम सर्वशव सहित जन्मकैदको सजाय हुने ठहराएको पुनरावेदन अदालत वुटवलको इन्साफ मिलेकै देखियो ।

२४.   प्रतिवादी लक्ष्मणबहादुर श्रेष्ठले गरेको पुनरावेदन सम्बन्धमा विचार गर्दा निज पुनरावेदक लु.१.स. १८८७ को ट्रकको सवारीधनी भएको हुँदा निजबाट मृतकको हकवालाले तेश्रोपक्षको विमा वापत रु. ३ लाख समेत रिपाउने ठहराएको उपर पुनरावेदन गरेको पाइयो । पुनरावेदकले खासगरी प्रस्तुत वारदातमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) बमोजिमको भएको भन्ने पुनरावेदन अदालतको फैसला मिलेको छैन भनी लिएको जिकिर सम्बन्धमा माथि विवेचना भैसकेको हुँदा त्यस तर्फ अरु उल्लेख गरिरहनु परेन । पुनरावेदकले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६६ ले सो ऐनको दफा १६१ को उपदफा (१) र (२) अन्तर्गतको कसूर गरेको अवस्थामा सवारीधनीले विमाको रकम व्यहोर्नु पर्ने होइन भनी लिएको जिकिर तर्फ हेर्दा उक्त ऐनको दफा १६६ मा यसप्रकार व्यवस्था रहेको पाइन्छ । कुनै सवारी चालकले लापरवाही गरी वा बदनियतपूर्वक यो ऐन वा यस ऐन अन्तर्गतको नियम वा आदेशको उल्लंघन गरेमा बाहेक अन्य अवस्थामा यस ऐन बमोजिम, त्यस्तो चालकले तिर्नु पर्ने जरिवाना, खर्च, क्रिया खर्च वा क्षेतिपूर्तिको रकम सम्बन्धित सवारी धनी वा व्यवस्थापकले तिरीदिनु पर्छ ।यस प्रावधानमा लापरवाही गरी वा बद्‌नियत पूर्वक मानिस मारेको अवस्थामा बाहेक अरु अवस्थामा चालकले तिर्नु बुझाउनु पर्ने दायित्व सवारीधनी वा व्यवस्थापकले तिरीदिनु पर्ने भन्ने उल्लेख भएबाट प्रस्तुत मुद्दामा सवारी चालकलाई बद्‌नियतपूर्वक मानिस मारेको ठहर भएकोले सवारीधनीको दायित्व रहदैन भन्ने पुनरावेदकको जिकिर देखिन्छ । तर, दफा १६६ को प्रावधानले प्राथमिक रुपमा कानूनले चालकको दायित्व हुने भनी तोकेको रहेछ भने मात्र त्यस्तो अवस्थामा यो दफा आकर्षित हुँने देखिन्छ । सवारी दुर्घटनामा मृत्यु हुने व्यक्ति हकवालाले पाउने क्षतिपूर्तिवापतको दायित्व पूरा गर्ने जिम्मेवारी आधारभूत रुपमा सवारी चालकको नभै सवारीधनी वा व्यवस्थापकको नै हुन्छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६३(१)(क) ले क्रिया खर्च र क्षतिपूर्ति बिमा नगराएको भए तेश्रो पक्षले पाउने दुर्घटना बिमा वापतको रकम सवारी चालक, सवारीधनी वा व्यवस्थापकबाट भराईदिनु पर्ने व्यवस्था रहेकोबाट यो क्षतिपूर्तिको रकम तिर्नु पर्ने दायित्व केबल सवारी चालकको मात्रको भन्न मिल्दैन । यस्तो दायित्व सवारी चालकले व्यहोर्नु परेको अवस्थामा पनि कूल रकमको पाच प्रतिशत भन्दा बढी चालकबाट भराउने छैन भन्ने प्रावधान उक्त ऐनको दफा १६३(४) मा रहेबाट क्षतिपूर्ति र कृयाखर्चको कूल रकमको पन्चानब्बे प्रतिशत दायित्व सवारीधनी वा व्यवस्थापकको नै हुने निश्चित देखिन्छ । त्यस्तै उक्त ऐनको दफा १५२(१) मा सवारीको दुर्घटनाबाट कुनै तेश्रो पक्ष वा निजको कुनै सम्पत्ति कुनै किसिमले नोक्सान भएमा सो नोक्सानीको क्षेतपिूर्ति दिने प्रयोजनका लागि सवारीधनी वा व्यवस्थापकले तोकिएको रकमको तेश्रो पक्षको विमा गराउनु पर्छ भन्ने व्यवस्था रहेबाट सो बिमा गराउने दायित्व सवारी धनी वा व्यवस्थापकको नै भएको र सवारी चाललकको नभएको स्पष्ट छ । सो बमोजिम  मृतकका हकवालाले पाउने क्षतिपूर्ति वापत सवारीधनीले विमा गरेको अवस्थामा मृतकको हकवालाले क्षतिपूर्ति वापत पाउने रकम अन्ततः सो विमाबाट नै व्यहोरिने भएकोले सो दायित्व सवारी चालकको हो भनी अर्थ गर्नु कानूनसम्मत हुँदैन ।  क्षतिपूर्ति वापतको रकमको तिर्ने प्रयोजनका लागि तेश्रो पक्षको बीमा गरिसकेको अवस्थामा सो क्षेतिपूर्ति वापत मृतकका हकवालाले पाउने रकम तिर्ने दायित्व सवारी चालकको नहुने हुँदा दफा १६६ मा उल्लेखित सवारी चालकले तिर्नुपर्नेभन्ने वाक्यांशले  विमाबाट गरिपाउने त्यस्तो दायित्वलाई नजनाउने भएकाले क्षतिपूर्ति वापतको रकम आफूले व्यहोर्नु नपर्ने भन्ने पुनरावेदन जिकिर मनासिव देखिएन ।

२५.   उल्लिखित विवेचनाबाट प्रतिवादी र चालक भीमबहादुर वि.सी.लाई सवारी तथा यातायात व्यवस्था ऐनको  दफा  १६१(१)  अनुसार सर्वश्वसहित जन्मकैद हुने र दि ओरियन्टल इन्स्युरेन्स कम्पनीमा गराईएको तेश्रोपक्षको वीमा बराबर तीसलाख रुपैया प्रतिवादी लक्ष्मणबहादुर श्रेष्ठबाट मृतकका हकवालाले भराईलिन पाउने समेत ठहर्‍याई पुनरावेदन अदालत वुटवलबाट ०६२।२।२४।३ मा भएको फैसला मनासिव देखिंदा सदर हुने ठहर्छ । प्रतिवादी लक्ष्मणवहादुर श्रेष्ठको पुनरावेदन जिकिर पुग्न सक्तैन । प्रतिवादी मीमबहादुर वि.सी.का वतनमा फैसलाको प्रतिलिपी पठाई मिसिल निमानुसार बुझाई दिनु ।

 

उक्त रायमा सहमत छु ।

 

न्या.शारदाप्रसाद पण्डित

इजलास अधिकृत सूर्यप्रसाद पराजुली

 

इति संवत् २०६३ साल पौष १६ गते रोज १ शुभम् ....

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु