निर्णय नं. ७७६१ - अंश चलन

निर्णय नं. ७७६१ ने.का.प. २०६३ अङ्क ९
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री अनूपराज शर्मा
माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा
संवत् २०५९ सालको दे.पु नं. ९२३०
फैसला मितिः २०६३।७।१।४
मुद्दाः अंश चलन ।
पुनरावेदक
वादीः का.जि.का.म.न.पा.वडा न. ९ वस्ने हरिहर पुरी
विरुद्ध
विपक्षी
प्रतिवादीः भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा न. ४ वस्ने केशव पुरी समेत
§ विगत लामो समयदेखि जग्गाको विक्री गर्दा एकलौटी किसिमबाट भएको र १९९९ साल देखिनै एक आपसमा नामसारी दर्ता वदर समेत विभिन्न मुद्दाहरु परि रहेको सन्दर्भबाट यी वादी प्रतिवादीहरु एकासँगोलका अशियार रहेछन् भन्न सकिने अवस्था नदेखिने ।
(प्रकरण नं.२३)
§ वादी प्रतिवादीको संयुक्त रुपमा दर्ता रहेको गुठी जग्गा गुठी कार्य सन्चालन गरी वाँकी दर्तावालाहरुले संयुक्त रुपमा खान पाउने भै वण्डा समेत नलाग्ने हुंदा सो गुठी जग्गाहरु संयुक्त नाममा भएकै आधारमा वादी प्रतिवादीहरु एका सँगोलमा भएको भन्न नमिल्ने ।
§ वादी प्रतिवादीहरु विच छुटि भिन्न भएको पारित लिखतको अभाव भएतापनि व्यवहार प्रमाणबाट वादी प्रतिवादीहरुका बाबु बाजे अगाडि देखिनै छुटि भिन्न भै अलग अलग वसी भोग विक्रि व्यवहार गरी वसेका देखिएको र मुलुकी ऐन अंशवण्डाको ३० नं. ले व्यवहार प्रमाणबाट छुटि भिन्न भएको देखिएको अवस्थामा वण्डा लिखत नै हुनु पर्ने अनिवार्यता नहुने ।
§ अंशवण्डाको ३० नं. को पुर्व शर्त र तिरो फुटेको प्रमाण र रोष दोष नमिलेको भन्ने समेतको अभावमा वादी दावी पुग्न नसक्ने ठहर्याएको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला त्रुटिपूर्ण भनी मुद्दा दोहोर्याउने निस्सा प्रदान गरेको आदेशसँग सहमत हुन नसकिने ।
(प्रकरण नं.२४)
पुनरावेदक वादी तर्फबाटःविद्वान वरिष्ठ अधिवक्ता श्री हरि अर्याल विद्वान अधिवक्ताद्धय श्री राजकुमार कार्की र श्री प्रेमवहादुर खड्का
विपक्षी प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री वसन्तराम भण्डारी र विद्वान अधिवक्ता श्री विमल सुवेदी
अवलम्वित नजीरः
फैसला
न्या.अनूपराज शर्माः पुनरावेदन अदालत पाटनको मिति २०५६।११।१६ को फैसला दोहोर्याई हेरी पाउँ भनी वादी पक्षको निवेदन परेकोमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्याई हेर्नको लागि निस्सा प्रदान भई पुनरावेदन दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ : –
२. बाजे सुन्दर पुरीको ३ जना छोराहरुमा जेठा निर्मल पुरी,माहिलो गंगा पुरी र कान्छा म फिरादीको पिता गणेश पुरी हो । बाजे सुन्दर पुरी बजै मनकुमारी पुरी, जेठा बाबु निर्मल पुरी र माहिलो गंगा पुरी निर्मल पुरीको छोरा कृष्ण पुरी कृष्ण पुरीको छोरा शंकर पुरी समेतको परलोक भैसकेको छ । शंकर पुरीको छोरा राजेन्द्र पुरी र रवि पुरी हुन् । विपक्षी प्रतिवादीहरुको जिजु बाजे तथा पिता समेतले मलाई पैत्रिक सम्पत्ति केही नदिई घर बाट निकाला गरी दिएकोले श्रीमतीको माइती तर्फबाट दिएको जग्गामा सानो तिनो घर वनाई वसि आएको छु । पैतृक सम्पत्ति लिएको छैन । सम्पूर्ण पैतृक सम्पत्ति प्रतिवादीहरुको जिम्मामा रहेकोले प्रतिवादीहरुबाट सम्पूर्ण पैतृक सम्पत्तिको तायदाती लिई सो तायदातीमा आएको सम्पत्तिलाई ३ खण्ड गरी ३ खण्ड मध्ये १ खण्ड अंश भाग मलाई दिलाई पाउँ र चलन समेत चलाई पाउँ भन्ने समेत व्यहोराको मिति ०५०।९।१८ को फिराद पत्र ।
३. वादी पहिले नै छुटी भिन्न भइसकेको हुंदा हामीले वादीको माग बमोजिमको अंशको तायदाती फाँटवारी दिनुपर्ने होइन र वादीलाई अंश दिनुपर्ने होइन । वादीको फिराद दावी झुठ्ठा हो वादी दावी नपुग्ने गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी केशव पुरी समेत जना ४ को मिति २०५१।४।२८ को संयुक्त प्रतिउत्तर पत्र ।
४. वादी प्रतिवादीका साक्षीहरुले आ–आफ्नो पक्षको मिलान गरी गरेको वकपत्र मिसिल सामेल रहेछ ।
५. मेरो पिता ठुलो वावु मेरो ससुरा बाजे माहिला ससुरा बाजे कान्छा ससुरा बाजे र हाम्रो जिजु बाजे माहिला जिजु बाजे कान्छा जिजु बाजेहरुका बीच १९८६ सालमा वण्डा भएको हो । अंश पाउनेले पछि बेचेको पारित लिखतको फोटो कपी पेश गरेको छु भन्ने समेत व्यहोराको प्रतिवादीहरुको वा. हरिवोल थापाले मिति २०५१।११।२३ मा गरेको कागज ।
६. मा.पो.का. तथा गुठी तहसिल कार्यालयमा संयुक्त रुपमा दर्ता भएको जग्गा निजी गुठीको जग्गाहरु हुँदा अंशवण्डा गरी भाग लगाउन मिल्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादीका वा हरिवोल थापाले २०५२।३।६ मा गरेको कागज ।
७. प्रतिवादीले प्रतिउत्तर पत्रमा उल्लेख गरेको मठ गुठी जग्गा भएको कुन चाही हो मलाई थाहा छैन । प्रतिवादी समेत सँगको संयुक्त दर्ता रहेको केही कित्ता जग्गाहरु रैकर जग्गा हुन् । भाग वण्डा हुने जग्गा हुन् । त्यसमाथी हाम्रो पैतृक सम्पत्ती मध्ये कुनै प्रतिवादीकै नाउँमा एकलौटी दर्ता छन् कुनै अस्थायी दर्ता छन् पुख्र्यौली घरहरु समेत वाँकी छन् । ती सम्पूर्ण घर जग्गाहरु पैतृक हुन् र वण्डा हुन्छन् भन्ने समेत व्यहोराको वादी वा. राजकुमार कार्कीले गरेको मिति २०५२।३।६ को कागज ।
८. १९८६ सालको वण्डापत्र भ.पु.जि.बाट १९९९।११।१० गते प्रमाण समेत नलाग्ने गरी सो वण्डापत्रको कागज जालसाजी ठहरी फैसला भएकोले सो वण्डापत्र बमोजिम कुनै काम कारवाही भएको छैन । साविक रै.नं. १२३० को हाल कायम का.जि. सिनामंगल गा.वि.स.वडा नं. ४ (क) कि.नं. ७१ को जग्गा वादीको पिताको नाउँमा आएको भनेको छ । सो कुरा झुठा हो उक्त जग्गा साविक मैया मौजाको जग्गा हो सो जग्गा मेरो पिताले कमल गिरी सँग १९६९ साल जेष्ठ २६ गतेका दिन र.नं. ७३४ बाट राजिनामा पारित गरी लिएको जग्गा हो भन्ने समेत व्यहोराको वादी वा राजकुमार कार्कीले मिति २०५२।३।२८ मा गरेको कागज ।
९. नापी शाखा काठमाडौंबाट प्राप्त हुन आएको कि.नं. ७१ को फिल्डवुक उतार मा.पो.का. काठमाडौंबाट प्राप्त हुन आएको हरिहर पुरी तथा गणेश पुरीका नाउंमा ज.ध.प्र.पुर्जाको फोटोकपि मिसिल संलग्न कागज ।
१०. अदालतको आदेशानुसार वादी प्रतिवादीहरुले पेश गरेको तायदाती फाँटवारी मिसिल सामेल रहेछ ।
११. वादीले पेश गरेको तायदाती फांटवारीमा उल्लेख भएका जग्गाहरु मुलुकी ऐन गुठीको महलले वण्डा गर्न नमिल्ने साविक अनुसार राख्नु पर्ने भ.पु.भ.न.पा.वडा नंं ३ तचपाल टोल मिलाको छ गुच्चा टोल मुठ गुठीका जग्गा हुन् । जुन कुरा यसै साथ पेश भएका शिलापत्र गुठीको आम्दानी खर्चको लगत, साविक लगत तथा फिल्डवुकका फोटो कपि तथा अदालतबाट २०३६ सालको वाली मुद्दाको फैसला तथा ०३९ सालको धर्मलोप मुद्दाको फैसलाले समेत स्पष्ट गर्दछ भन्ने समेत प्रतिवादी रविन्द्र पुरी समेतको उजुरी निवेदन पत्र ।
१२. मा.पो.का. भक्तपुरबाट प्राप्त हुन आएको वादी र प्रतिवादीहरुको बाबु समेतको संयुक्त नाउंमा दर्ता भएको जग्गाको दर्ता श्रेस्ता तथा मा.पो.का. काठमाडौबाट प्राप्त हुन आएको कि.नं. २३ समेतको जग्गा सम्वन्धमा दिएको जवाफको पत्र मिसिल संलग्न रहेको ।
१३. अदालतबाट मिति ०३६।८।५ को वाली मुद्दाको फैसला सहितको मिसिल तथा प्रतिवादी केशव पुरी र वादी शंकर पुरी भएको बागमती अंचल अदालतबाट मिति ०३९।९।४ मा पुनरावेदक प्रतिवादीले तारेख गुजारी डिसमिस भएको धर्मलोप मुद्दा मिसिल संलग्न रहेको ।
१४. वादी प्रतिवादीहरु एक आपसमा व्यवहार प्रमाणबाट उहिले छुट्टी सकेको प्रस्तुत गरिएको मिसिल तथा कागजहरुबाट देखिंदा र वादीले मानो छुट्टीएको मिति समेत उल्लेख गर्न नसकेकोले प्रस्तुत मुद्दामा वादी दावी पुग्न सक्दैन भन्ने समेत व्यहोराको मिति ०५४।८।३० को भक्तपुर जिल्ला अदालतको फैसला ।
१५. भक्तपुर जिल्ला अदालतको फैसलामा मुलुकी ऐन अदालती बन्दोवस्तको १८४ (क) १८५ नं. अंशवण्डाको ३० नं. प्रमाण ऐन, २०३१ को दफा ३, ३४ एवं ५४ र सम्मानित सर्वोच्च अदालतबाट पुनरावेदक वादी अर्थु माझी थारु विरुद्ध प्रतिवादी सुनार माझी थारु भएको ०३९ को दे.पु.नं. ४५ को अंश मुद्दामा ०४१।३।३० मा निर्णय भई पुर्ण इजलासबाट प्रतिपादित सिद्धान्तको समेत प्रयोग एवं व्याख्यामा गम्भीर त्रुटि गरेकोले शुरुको फैसला वदर गरि उल्टाई शुरु फिराद बमोजिम ३ भागको १ भाग अंश पाउने ठहर्याई पाउँ भन्ने समेत व्यहोराको वादीको पुनरावेदन पत्र ।
१६. यसमा वादी पुनरावेदकको पैतृक सम्पत्तिबाट अंश पाएको नदेखिएको अवस्थामा वादी दावी पुग्न सक्दैन भनि गरेको शुरुको फैसला फरक पर्न सक्ने हुँदा अ.वं. २०२ नं. बमोजिम विपक्षी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालतको मिति०५६।७।२९ मा भएको आदेश ।
१७. यसमा वादी प्रतिवादीका नाममा सँगोल दर्ता रहेका विभिन्न कित्ताका जग्गा गुठीको देखिन्छ । सँगोलमा दर्ता रहेको गुठी जग्गाबाट वादीलाई भोगमा वन्चित गरेको भन्ने देखिदैन । वादीका बाबु गणेश पुरी र प्रतिवादीका पिता एवं जिजु बाजे गंगा पुरी निर्मल पुरीका बीचमा नामसारी दर्ता वदर मुद्दा परी १९९९।११।१० मा फैसला भै रहेको देखिन्छ । त्यस्तै वाली मुद्दा धर्मलोप मुद्दा समेत परी फैसला भएको र वादीको बाबुको नाउँमा दर्ता भएको जग्गा वादीले नामसारी गरार्ई लिंदा मालपोत कार्यालयमा दिएको निवेदन व्यहोरा समेतका कारण प्रमाणबाट वादी प्रतिवादी एकासँगोलका अंशियार भन्ने नदेखिएको र व्यवहार प्रमाणबाट वादी प्रतिवादी छुट्टी भिन्न भै अलग वसी अलग अलग जग्गा दर्ता गराई भोग विक्री व्यवहार गरेका देखिएकोले वादी दावी नपुग्ने ठहर्याएको शुरु फैसला मिलेको देखिंदा सदर हुने ठहर्छ भन्ने व्यहोराको पुनरावेदन अदालत पाटनको मिति ०५६।११।१६ को फैसला ।
१८. शुरु फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसलामा चित्त वुझेन गुठी राखे नराखेको विषयलाई प्रस्तुत मुद्दाको निर्णयाधार वनाउन मिल्ने होइन । म फिरादीका बाबुको नाउमा रहेको भनिएको कि.नं. ७१ को जग्गा कमल गिरीसँगबाट पारित गरी लिएको हो । जुन निजी आर्जुनको सम्पत्ति हो । मानो छुट्टिएको लिखत भएको वा मुख मिलेको अवस्थामा वाहेक फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम हुने भनी प्रतिपादित सिद्धान्त विपरीत मानो छुट्टिएको मिति कायम गर्न नसकेको भनी फैसलामा लिएको आधार समेत त्रुटिपूर्ण छ । भक्तपुर जिल्ला अदालतबाट तायदाती माग हुँदा बाबुको नाममा रहेको जग्गा विवरण नदेखाएको आधारबाट सम्पत्ति वण्डा लाग्ने भएमा अंश दपोटमा नालेश गर्न सक्ने भएकोले सोही आधारमा अंशमा ठहर गर्न नमिल्ने होइन । प्रतिवादीहरुले दाखिल गरेको १९९९।११।१० को नामसारी वदर मुद्दाको तजविज पत्रले प्रतिवादीको पुर्खा निर्मल पुरीले झुट्टा व्यहोराबाट जग्गा नामसारी गरेकोले निजलाई सजाँय समेत गरी विवादित सम्पत्ति तिनै जना दाजुभाईका नाउंमा संयुक्त दर्ता हुने भनी प्रष्ट लेखिएको छ । यसबाट भिन्न भएका वा वण्डापत्र खडा भएको भन्ने कुरा तथ्य विपरीत देखिन्छ । प्रमाणको वाली मुद्दामा विपक्षी केशव पुरीका पिता र म वादीका पिता गंगा पुरी र गणेश पुरीले संयुक्त प्रतिउत्तर फिराएको अंशमा नालेश गर्न लागेको थाहा पाई वाली मुद्दाको नालेश गरेको, यस्तो अवस्थामा छुट्टि भिन्न भैसकेको भन्न प्रतिवादी नै विवन्धित भएको, अवस्थामा मिसिल संलग्न प्रमाणको वस्तुनिष्ठ मुल्यांकन नगरी अंश हक जस्तो नैसर्गिक अधिकारबाट वञ्चित हुने गरी वादी दावी नपुग्ने ठहर्याएको पुनरावेदन अदालतको फैसलामा मुलुकी ऐन अ.वं. १८४ (क) १८५, १८९ प्रमाण ऐन, २०३१ को दफा ३, ५४ तथा अंशवण्डाको ३० नं. को विपरीत भै सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल हुँदा प्रस्तुत मुद्दा दोहोर्यार्ई हेरी पाउन निस्सा पाउँ भन्ने व्यहोराको वादीको यस अदालतमा परेको निवेदन पत्र ।
१९. यसमा प्रतिवादीहरुले १९८६।२।२० को घरायसी वण्डापत्रलाई आधार वनाई वण्डा भैसकेको भन्ने जिकिर लिएको १९९९।११।१० मा नामसारी वदर मुद्दा अनुसारको पास नभएको हुँदा फैसलाले प्रमाण नलाग्ने ठहर्याई सो ठहर वदर नभएकोमा २००३ सालमा फैसला भएको वाली मुद्दामा हालका प्र. केशव पुरीको बाबु जग्गा पुरीले वण्डा भएको छैन भनी प्रतिउत्तर लगाएको र गुठी जग्गामा निर्मल पुरीको मात्र एकलौटी हक लाग्ने प्रमाण नभएको भनी फैसला भएको देखिई दुवै मुद्दाहरुबाट अंशवण्डा भैसकेको नदेखिनेमा वण्डा भैसकेको भनी अंशवण्डाको ३० नं. को पुर्वशर्त तिरो फुटेको रोष रोष मिलेको आदी अवस्थाको अभावमा प्रमाण ऐन २०३१ को दफा ५४ को प्रतिवन्धात्मक वाक्यांश समेतको त्रुटि गरी फैसला भएको देखिंदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१) (क) बमोजिम मुद्दा दोहोर्याई हेर्नको लागि निस्सा प्रदान गरिएको छ । नियमानुसार पेश गर्नु भन्ने यस अदालतको आदेश ।
२० नियम बमोजिम पेश भएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल संलग्न प्रमाण अध्ययन गरी पुनरावेदक वादी तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री हरि अर्याल विद्वान अधिवक्ता श्री राजकुमार कार्की, श्री प्रेमबहादुर खड्काले वादीले विधिवत अंश नपाएको, १९९९।११।१० को नामसारी वदर मुद्दाको तजविजी पत्रले विवादित सम्पत्ति सँगोलको कायम गरेको वादी प्रतिवादीहरु विच मुद्दा परेकै कारणबाट अंशवण्डा भएको भन्न मिल्ने अवस्था नभएको, प्रमाणको वाली मुद्दामा हालका प्रतिवादी केशव पुरीका बाबु गंगा पुरी र वादीका बाबु गणेश पुरीले संयुक्त प्रतिउत्तर फिराएकोबाट सँगोलमा रहेको पुष्टि भएको, कि.नं. ७१ को जग्गा निजी आर्जनको भएको, श्रेस्ताबाट विवादित जग्गा गुठी नभै रैकर देखिएको, १९८६ मा वण्डा भएको भनिएपनि १९९९ सालको फैसलाले वण्डा नभएको भनि वोलेको २००३ सालमा गंगा पुरीले वण्डा नभएको भनी प्रतिउत्तर गरेकोमा प्रस्तुत मुद्दामा निजको छोरा प्रतिवादी केशव पुरीले वण्डा भैसकेको भनी भन्न विवन्धित भएको, वावुको नामको जग्गा नामसारी गराउन निवेदन दिएको आधारले मात्र अंशवण्डा भएको भन्न मिल्ने होइन । उपरोक्त आधार प्रमाणबाट वादी प्रतिवादी विच अंशवण्डा नभएको भन्ने पुष्टि भएकोले पुनरावेदन अदालतको फैसला उल्टी गरी वादी दावी बमोजिम हुनु पर्छ भनी वहस प्रस्तुत गर्नु भयो ।
२१. त्यस्तै प्रत्यर्थी प्रतिवादी तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री वसन्तराम भण्डारी विद्वान अधिवक्ता श्री विमल सुवेदीले १९८६ सालको वण्डापत्र र १९९९ सालको नामसारी वदर मुद्दाबाट वादी प्रतिवादीका बाबु बाजे नै छुटि भिन्न भएको पुष्टि भएको, वादीले आफ्नो फिरादमा बाबुले समेत अंश नदिई घरबाट निकाला गरेको भनी उल्लेख गरी बाबुलाई नै प्रतिवादी नवनाएको, वादी प्रतिवादीहरुका बाबुहरूबीच पटक पटक वाली, धर्मलोप समेतको मुद्दा पर्दा अंशवण्डा नभएको भए अंशमा समेत मुद्दा नपर्ने भन्ने अवस्था नै नभएको, विपक्षीले एकलौटी रुपमा विभिन्न मितिमा जग्गा विक्री गरेको लिखतमा कसैको हक नलाग्ने भन्ने उल्लेख गरेको यी वादीले ०३६।१।६ मा बाबुको अंश नामसारी गर्न भनि निवेदन दिंदा अन्य अंशियार नभएकोले भन्ने व्यहोरा उल्लेख गरी निवेदन दिएको, विवादित मठ घरको श्रेस्तामा गुठी जनिएको त्यस्तो जग्गा वण्डा हुन सक्ने अवस्थाको नभएको, वादी प्रतिवादीहरुको भोग विक्रि व्यवहारबाट छुटि भिन्न भएको देखिएको अवस्थामा दुषित मनसायले प्रस्तुत मुद्दा परेको, १९९९ सालमा सगोलमा भएको भए १९९६ सालमा वादीका पिताले फार्छे राजीनामा गरी लिएको जग्गा सँगोलको हुनु पर्ने अवस्था रहेको समेतका आधार प्रमाणबाट वादी प्रतिवादीहरु छुटिृ भिन्न भैसकेको भन्ने कुरा पुष्टि हुन आएकोले दावी नपुग्ने गरी भएको शुरु फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला सदरै हुनु पर्छ भनी गर्नु भएको वहस सुनियो ।
२२. विद्वान कानून व्यवसायीहरुको वहस जिकिर सुनि मिसिल अध्ययन गरी विचार गर्दा पुनरावेदन अदालतले गरेको फैसला मिले नमिलेको के रहेछ ? वादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन ? निर्णय दिनुपर्ने देखियो ।
२३. निर्णयतर्फ विचार गर्दा प्रतिवादीहरुबाट ३ खण्डको १ खण्ड अंश भाग दिलाई पाउँ भन्ने वादीको मुख्य फिराद दावी देखिन्छ । वादी प्रतिवादीका बाजे, जिजु बाजेहरू बीच १९८६ मा घरायसी वण्डा भएको र भोग विक्रि व्यवहार प्रमाणबाट छुट्टि भिन्न भैसकेको हुंदा अंश दिनुपर्ने होइन भन्ने प्रतिउत्तर जिकिर भएकोमा मिसिल संलग्न प्रमाण कागज हेर्दा वादीका पिता गणेश पुरीका नाउंमा दर्ता रहेको कि.नं. ७१ को जग्गा धनी प्रमाण पुर्जामा र.नं. २७० मिति २०१९।४।३० को पारित राजीनामा बमोजिम कित्ता फोड भै कायमी कि.नं. ९० को ०–४–० ललितवहादुर खड्काको नाउँमा दाखिल दर्ता भएको र वाँकी कि.नं. ९१ बाट ५–१२–० जग्गा निज गणेश पुरीकै नाममा कायम भएको भन्ने उल्लेख भएको पाईन्छ । उक्त कि.नं. ९१ को जग्गा समेत कि. फोड गरी निज वादीका पिता गणेश पुरीले विभिन्न मितिमा विभिन्न व्यक्तिहरुलाई राजीनामा पास गरी दिएको देखिन्छ । उक्त जग्गा विक्री गर्दा पारित लिखतमा कसैको हक नलाग्ने मेरो हकभोग तिरोको भन्ने उल्लेख गरेको देखिन्छ । उक्त जग्गा रै. नं. १२३० बाट भिडि नाप नक्सा भएको भन्ने नापी शाखा काठमाडौंबाट प्राप्त फिल्डवुक उतारबाट देखिन्छ । उक्त जग्गा रै. न. १२३० बाट भिड्ने होइन एकलौटी राजीनामा पारित गरी लिएको भन्ने वादीको पुनरावेदन जिकिर भएतापनि सो सम्वन्धमा वादीले वस्तुनिष्ठ प्रमाण पेश दाखिल गर्न सकेको देखिदैन । यसरी यी वादीका पिताले २०१९ साल देखि पटकपटक जग्गा राजीनामा पारित गर्दा मेरो मात्र हक लाग्ने भनी उल्लेख गरेको, सो जग्गा मध्ये केही जग्गा अधिग्रहणमा परेकोमा त्यसको क्षतिपूर्ति समेत निजलेनै लिएको भन्ने कुरा देखिन आउछ । त्यसै गरी वादीका बाबु गणेश पुरी र प्रतिवादीका पिता एवं बाजेका बीचमा नामसारी दर्ता वदर, वाली तथा धर्मलोप जस्ता मुद्दा परि रहेको समेत देखिएबाट यी वादी प्रतिवादीहरु बीच छुटि भिन्न नभएको भए सँगोलका दाजुभाइ बीच त्यस प्रकारका मुद्दा गर्नुपर्ने स्थिति आउनु पर्ने अवस्था पनि देखिदैन । छुटिृ भिन्न नभएको भए यी वादी प्रतिवादीहरुका बाबु बाजेबीच विभिन्न मुद्दा पर्दा अंश मुद्दा पर्ने थिएन भनी अनुमान गर्न सकिने अवस्था पनि रहदैन । यसरी विगत लामो समयदेखि जग्गाको विक्री गर्दा एकलौटी किसिमबाट भएको र १९९९ साल देखिनै एक आपसमा नामसारी दर्ता वदर समेत विभिन्न मुद्दाहरु परि रहेको सन्दर्भबाट यी वादी प्रतिवादीहरु एकासँगोलका अंशियार रहेछन् भन्न सकिने अवस्था देखिन आएन ।
२४. वादी हरिहर पुरी तथा प्रतिवादी केशव पुरी राजेन्द्र पुरीका वाजे निर्मल पुरी समेतका नाममा केही जग्गा रहेको देखिएतापनि उक्त जग्गाहरु गुठीका जग्गा हुन् भन्ने कुरा नापी शाखा भक्तपुरबाट प्राप्त फिल्डवुकबाट देखिन आउँछ । वादी प्रतिवादीको संयुक्त रुपमा दर्ता रहेको गुठी जग्गा गुठी कार्य सन्चालन गरी वाँकी कसर दर्तावालाहरुले संयुक्त रुपमा वाँकी खान पाउने नै हुँदा र उक्त गुठी जग्गा वण्डा समेत नलाग्ने हुंदा सो गुठी जग्गाहरु संयुक्त नाममा भएकै आधारमा वादी प्रतिवादीहरु एकासँगोलमा भएको भन्न मिल्ने देखिन आएन । यसरी यी वादी प्रतिवादीहरु बीच छुटिृ भिन्न भएको पारित लिखतको अभाव भएतापनि व्यवहार प्रमाणबाट वादी प्रतिवादीहरुका बाबु बाजे अगाडि देखिनै छुटिृ भिन्न भै अलग अलग वसी भोग विक्री व्यवहार गरी वसेका देखिएको र मुलुकी ऐन अंशवण्डाको ३० नं. ले व्यवहार प्रमाणबाट छुटि भिन्न भएको देखिएको अवस्थामा वण्डा लिखत नै हुनु पर्ने अनिवार्यता नगरेको हुंदा अंशवण्डाको ३० नं. को पुर्व शर्त र तिरो फुटेको प्रमाण र रोष पोष नमिलेको भन्ने समेतको अभावमा वादी दावी पुग्न नसक्ने ठहर्याएको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला त्रुटिपूर्ण भनी मुद्दा दोहोर्याउने निस्सा प्रदान गरेको यस अदालतको आदेशसँग यो इजलास सहमत हुन सकेन ।
२५. अतः माथि विवेचित आधारबाट वादी प्रतिवादीहरु विच व्यवहार प्रमाणबाट छुट्टिभिन्न भै अलग अलग भोग विक्रि व्यवहार गरेको देखिएबाट अंश पाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहर्याएको शुरु फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको मिति २०५६।११।१६ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । प्रमाणको अभावमा वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या.दामोदरप्रसाद शर्मा
शाखा अधिकृत कृष्णप्रसाद नेपाल
इति सम्वत् २०६३ साल कार्तिक १ गते रोज ४ शुभम–––––––