शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७७६४ - कर्तव्यज्यान

भाग: ४८ साल: २०६३ महिना: पौस अंक:

निर्णय नं.  ७७६४    ने.का.प. २०६३     अङ्क ९

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित

माननीय न्यायाधीश श्री बलराम के.सी.

सम्वत २०६० सालको फौ.पु.नं.३३२५

फैसला मितिः २०६३।५।२५

 

मुद्दाःकर्तव्य ज्यान ।

पुनरावेदक / वादीः गोपीप्रसाद सिंह समेतको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

प्रत्यर्थी / प्रतिवादीः सिरहा जिल्ला धनगढी गा.बि.स.वडा नं.२ बस्ने उत्तमप्रसाद भट्टराइ            समेत

 

§  प्रेम सम्बन्धको जरिया बनाई यी प्रतिवादीहरुले आरोपित कसूर गरेको हुन भनी प्रहरी समक्ष भएको साविती बयानकै भरमा कर्तव्य ज्यान जस्तो अ0पराधमा दोषि करार गरी सजाय गर्नु न्यायोचित नहुने ।

(प्रकरण नं.५०)

§  सावितीलाई स्वतन्त्र प्रमाणले पुष्टि गरी आरोपित कसूरमा प्रतिवादीहरुको नै संलग्नता रहेको कुरा प्रमाणित गर्ने प्रमाणको भारलाई त्यस्तो प्रमाणको अभावमा जिकिर लिएकै आधारमा प्रतिवादीहरुलाई सजाय गर्नु फौज्दारी न्यायको सिद्धान्तले पनि आत्मसात नगर्ने । 

(प्रकरण नं.५१)

§  छोरीसँग प्रेम सम्बन्ध रहेकै कारणबाट मृतकलाई मार्नु पर्ने अवस्था परी सो कर्तव्यमा निजको संलग्नता रहेको भनी जाहेरीमा नामाङ्कन गर्दैमा ज्यान सम्बन्धी महलको १३(३) नं.अनुसारको कसूरमा यी प्रतिवादीलाई सजाय गर्न न्यायोचित नहुने ।

(प्रकरण नं.५२)

 

पुनरावेदक वादी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री वज्रेश प्याकुरेल

प्रत्यर्थी प्रतिवादी तर्फबाटः

अवलम्वित नजीरः

 

फैसला

न्या.शारदाप्रसाद पण्डितः न्याय प्रशासन ऐन २०४८ को दफा ९ (१) (ग) वमोजिम पुनरावेदन अदालत, राजविराजको मिति २०५९।८।२५ को फैसला उपर वादी श्री ५ को सरकारको तर्बाट यस अदालतमा पर्न आएको पुनरावेदन यसै अदालतको अधिकार क्षेत्र भित्र पर्ने हुंदा प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः

२.    मिति २०५७।५।२ गतेका दिन बिहान ७ बजेको समयमा सिराहा जिल्ला धनगढी गा.बि.स.वडा नं.२ स्थित २ नं.रोड देखि उत्तर धान खेतमा लोग्ने मानिसको मृतक लास छ भन्ने कुरा स्थानीय व्यक्तिहरुले भनेको हुँदा हामीहरु उक्त स्थानमा गई हेर्दा जिल्ला सिराहा गोबिन्दपुर गा.बि.स.वडा नं.८ बस्ने महेन्द्र नारायण सिंहको छोरा विनोदकुमार सिंहको मृतक लाश हो भन्ने बुझि लास चिनेको निज विनोदकुमार सिंहलाई मिति २०५७।५।१ गते रातीको कसले कर्तव्य गरी मारेकोले अपराधीहरु पत्ता लगाई कारवाही गरिपाऊँ भन्ने प्र.स.नि. पुष्पबिक्रम मल्ल समेतको जाहेरी दरखास्त ।

३.    सिराहा जिल्ला धनगढी गा.बि.स.वडा नं.२ स्थित २ नं.रोड देखि उत्तर भरत श्रेष्ठको घर देखि दक्षिण हरि दाहालको घर देखि पूर्व उत्तम भट्टराईको घर देखि पश्चिम यति चार किल्ला भित्र लास रहेको, भरतको घर देखि १०० मिटर पूर्व चाइनिज ज्याकेट र लास छेउमा २ वटा खुकुरी रहेको र लासको नाकबाट केही तरल पदार्थ निस्किएको, बाँया हातको बुढी औंला १ इन्च लामो, साइली र कान्छी औंलामा खोस्रिएको घाउ बाँया काखी मुनि खोस्रिएको दाग भन्ने घटनास्थल तथा लास प्रकृति मुचुल्का ।

४.    बिजुलीको करेन्ट लागेको कारणबाट विनोदकुमार सिंहको मृत्यु भएको हुन सक्ने ( The cause of death is asphyxia due to electric burn, but that is not sufficient) भन्ने समेत व्यहोराको मृतक विनोदकुमार सिंहको लास जाँच प्रतिवेदन ।

५.    महेश भन्ने रंजितकुमार पोखरेल र म जाहेरवालाको भाई विनोदकुमार सिंह क्याम्पसमा सँगै पढने साथी भएकोले १ अर्काको घरमा आउने जाने गर्दथे । उत्तमप्रसादको छोरी कोपिला र रंजित पोखरेल बिच भएको प्रेममा मद्दत गरेकोले उत्तमप्रसादले सो कुराको रिसइवी राखेको । मिति २०५७।५।२ गतेको दिन बिहान ७ बजेको समयमा भाइ विनोदकुमार सिंहको मृतक लास धनगढीमा मृत अवस्थामा फेला परेकोले को कसले भाई विनोदकुमार सिंहलाई मारेको हो भनी पत्ता लगाउँदै जाँदा मिति २०५७।५।१ गते राती ८।९ बजे २ नं.सडकमा रंजित, अंकित र भाई विनोदकुमार सिंह साथै रहेकोमा सोही दिन देखि नै महेश भन्ने रंजितकुमार पोखरेल फरार रहेको हुँदा अन्यायी उत्तमप्रसाद भट्टराईको घरसँग जोडिएको कुखुरा फर्मको नजिकै विनोदकुमार सिंहको लास फेला परेकाले अन्यायी महेश भन्ने रंजितकुमार पोखरेल, निजको सहयोगी मेलुवा आनन्द केशर भट्टराई, अंकितकुमार लामिछाने लगायत उत्तमप्रसाद भट्टराईको उक्त घटनामा प्रत्यक्ष संलग्न भई कर्तव्य गरी मारेको स्पष्ट भएको हुँदा निज अन्यायीहरुलाई पक्राउ गरी निजहरुबाट सम्पूर्ण कुरा खुलाउन लगाई हदै सम्म सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको गोपीप्रसाद सिंहको मिति २०५७।५।५ गतेको जाहेरी दरखास्त ।

६.    प्रतिवादी महेश भन्ने रंजितकुमार पोखरेलको घरको सुत्ने कोठा भित्र प्रवेश गरी हेर्दा निजले खटियामा पूर्व सिरानी गरी बिस्तारा लगाएको र सिरानी मुनी हेर्दा प्रतिवादी आनन्द केशरको बहिनी कोपिलाले मृतक विनोदकुमार सिंहलाई देवरजी भनी सम्बोधन गरी लेखिएको लेमिनेशन गरेको चिठ्ठी, सोही चिठ्ठीको फोटोकपी, कोपिलाले मेरो राजा भनी सम्बोधन गरी प्रतिवादी महेश भन्ने रंजितकुमार पोखरेललाई लेखेको लेमिनेशन गरेको चिठ्ठी, सोही चिठ्ठीको फोटोकपी, दुई मृतक विनोदकुमार सिंहले कोपिलालाई भाउजु सम्बोधन गरी लेखेको चिठ्ठी, रंजित पोखरेलले कोपिलालाई लेखेको चिठ्ठी २ प्रहरीले फेला पारी वरामद गरेको भन्ने मिति २०५७।५।९ गतेको बरामदि मुचुल्का ।

७.    म काठमाडौंबाट आफ्नो घर आए पछि बहिनी कोपिला र रंजितको प्रेम भएको कुरा थाहा पाएँ । विनोदकुमार सिंह, रंजित लगायतका ८,१० जना मानिसहरु घर वरिपरि आई मेरो बहिनी कोपिलालाई भगाउने जस्ता कुराहरु गरेको । कोपिलाको र रंजितको प्रेमले गर्दा गाउँमा बेज्जति हुने डरले बहिनी कोपिलालाई लिई ०५७।५।१ गते बुवा काठमाडौं जानु भयो । निज महेश भन्ने रंजित पोखरेल सित बहिनी कोपिलासँग प्रेम गरेकोले मलाई रिस उठी राखेको थियो । कोपिलाले रंजितलाई राती आउन भनी बोलाएको छ भन्ने खबर अंकितकुमार मार्फत रंजितलाई सुनाएको थियो । सोही दिनको राती निज रंजितकुमार समेतका मानिसहरु आउँछन भन्ने पूर्णबिश्वास भएको हुँदा राती अं.९ बजे सो नागों तारमा करेन्ट छाडी म र अंकित दुवै जना साथै सुत्यौं । राती १ बजे आमाले ए नानी पानी पर्यो कुकुर पनि भुकि रहेका छन हेर त भनेकाले म र अंकित दुवै जना उठी बत्ति बाली हेर्दा सो तार छेउमा विनोदकुमार सिंह लडी रहेको रहेछ । सो लास हाम्रो जग्गा पट्टि रहेको हुँदा भोली हामीलाई अप्ठ्यारो पर्ला भन्ने उद्देश्यले अंकितले खुट्टामा र मैले टाउको तिर बोकी नजिकै रहेको अर्काको धान खेतमा लासलाई सारी दिएको हो । घटनास्थलमा फेला परेको खुकुरी हाम्रो होइन । ज्याकेट रंजितको हो, नांगो तार मैले नै खोली घरमा राखेको हो भन्ने समेत व्यहोराको प्रतिवादी आनन्दकेशर भट्टराईको मिति २०५७।५।११ गतेको प्रहरीमा गरेको बयान ।

८.    कोपिला र रंजितको लगभग १ बर्ष पहिला देखि प्रेम सम्बन्ध थियो । कोपिला दिदिले लेखेको चिठ्ठी म रंजितलाई ल्याई दिन्थे । रंजितले लेखेको चिठ्ठी म कोपिला दिदिलाई ल्याई दिन्थे । निजहरुको प्रेम समबन्धबारे मेरो मामा उत्तमप्रसादलाई पनि थाहा भएर कोपिला दिदिलाई गाली गरी पिटनु भयो । कोपिला दिदिलाई कुटेको कुरा भोली पल्ट बिहान रंजितलाई सुनाएर सोही ३२ गतेको दिन बेलुका रंजित, विनोदकुमार सिंह लगायतका अन्य नचिनेका ८,१० जना केटाहरु घर वरिपरि आई हल्ला खल्ला समेत गरी गए । भोली पल्ट मामा उत्तमप्रसाद र कोपिला काठमाडौं तर्फ गएका थिए । मिति २०५७ साल भाद्र १ गतेका दिन दिउसो अं.२ बजेको समयमा आनन्द केशर भट्टराईले अंकित हिजो बेलुका पनि रंजित र विनोदकुमार सिंह समेत हाम्रो घरमा बैनी कोपिलालाई देखेर आए, आज पनि आउँछन । तार फिट गरौं भनी कुखुरा पालन घरको उत्तर पश्चिम बाटोमा बाँस गाडी बेरि तारमा करेन्ट नछाडी तार फिट गर्यो । तँ रंजित पोखरेलको घरमा गएर कोपिला दिदिले बोलाएको छ । राती आउनु भन्नु भनी आनन्द केशरले सिकाएको हुँदा म रंजितको घरमा गै दिदले बोलाएको छ भने । राती अं.९ बजेको समयमा फिट गरेको नाँगो तारमा करेन्ट छाडी दिएको हो । सोही करेन्टको पासोमा पारेको हो । राती १ बजे तिर रंजितको साथी विनोदकुमार सिंह भएको भन्ने थाहा भयो भन्ने समेत व्यहोराको प्रहरी समक्षको प्र. अंकितकुमार लामिछानेको बयान ।

९.    उत्तमप्रसादको छोरी कोपिला र मेरो प्रेम सम्बन्ध थियो । उक्त प्रेम सम्बन्धमा विनोदकुमार सिंहले पनि सहयोग गर्ने गर्दथे । प्रतिवादी अंकितकुमार लामिछानेले कोपिला दिदिलाई तिमीले प्रेम गरेको कुरा थाहा पाई मामा उत्तमले कोपिलालाई पिट्नु भयो भनी मलाई सुनाएको थियो । भोली पल्ट म र विनोदकुमार सिंह समेत कोपिलाको घरमा गयौं । हामी राती कोपिला भन्ने संजितालाई भगाउने उद्देश्यले गएका थियौं । केही छिन पछि काका अर्जुन पोखरेल आउनु भयो । के कुरा भयो मलाई थाहा भएन । हामी आफ्नो घरमा आयौं । प्रतिवादी अंकितकुमार लामिछाने मेरो घरमा आई कोपिला दिदिले बोलाएको छ । राती आउन भन्यो । निजले पहिला पनि कोपिला र मेरो चिठ्ठी आदान प्रदान गरेकाले कोपिला काठमाडौं गएकी रहिछन भन्ने पूर्ण बिश्वास भयो । राती म र विनोद अं.१२ बजे तिर कोपिलाको घरमा गयौं । जाँदा विनोद अगाडि म पछाडि थिए । एक्कासी झ्याट केही चिज झरे जस्तो आवाज आयो । म त्यही उभिए । निकै बेर सम्म बिनोद नआए पछि बिनोद भाग्यो होला भनी त्यही पक्रिने र बेइज्जत हुने डरले म पनि बिनोदलाई नहेरी भागी गएको हो । कोपिलाको घर जाँदा बिनोदले हातमा सानो खुकुरी बोकी गएको र मैले पनि खुकुरी बोकी गएको थिए । सानो खुकुरी भुवन मगरसँग मागी गएको थिएँ भन्ने समेत व्यहोराको प्रतिवादी रंजितकुमार पोखरेलले प्रहरीमा गरेको बयान ।

१०.    आनन्द केशर भट्टराईको कुखुरा पाल्ने घरको पश्चिम तर्फ सोही घरको ३ वटा खावोहरु रहेको पश्चिमबाट कुखुराको खोर तर्फ प्रवेश गर्ने बाटोमा एउटा बाँसको धोचो गाडी उक्त खामाहरु र बाँसको धोचोमा बेरी बिजुलीको तार तत्काल फिट गरेको भनी प्रतिवादीले देखाएको भन्ने समेत व्यहोराको मिति २०५५।५।१२ को घटनास्थल प्रकृति मुचुल्का ।

११.    प्रतिवादी आनन्द केशर भट्टराइले बयानमा लेखाई दिए अनुसार उत्तमप्रसाद भट्टराईको कुखुरा पाल्ने घर भित्र प्रवेश गरी हेर्दा घरको पशिचम पट्टि कोठामा सिउरी तार राखेको र सो तार निकाली बास गाड्दा नाँगो जि.आई तार ३५ फिट लामो र सेतो कमर भएको वाइरिंग तार ९ फिट ४ इन्च लामो प्रहरीले फेला पारी वरामद गरेको भन्ने समेत व्यहोराको मिति २०५७।५।१२ को बरामदि मुचुल्का ।

१२.   प्रतिवादी रंजित पोखरेलको घरको सुत्ने कोठामा प्रवेश गरी हेर्दा मृतक बिनोदकुमार सिंहको LOREA लेखिएकोअगाडि कालो मानिसको नक्सा भएको अन्य भागमा सेतो सेन्डोभेष्ट थान १, अगाडि AIR NIKE लेखिएको गाडा हरियो रंगको क्याप थान १, टेलिकटनको शर्ट थान १ कटानको बुटा भएको घिउ रंगको रुमाल १, जिन्सको निलो खुइलिएको पेन्ट १, सोही पेन्टमा रहेको पेटी १, गोल्ड स्टार जुत्ता जोर १, कलेजी रंगको मौजा जोर १ प्रहरीले फेला पारी बरामद गरेको भन्ने समेत व्यहोराको मिति २०५७।५।१२ गतेको बरामदि मुचुल्का ।

१३.   घटनास्थलमा फेला परेको खुकुरी मध्ये सानो खुकुरी तपाईको हो होइन भनी मेघबहादुर थापा मगरलाई सोधिएकोमा मलाई देखाएको सानो खुकुरी मेरो हो । मिति २०५७।४।३२ गते मेरो भुवन मगरसँग रंजित पोखरेलले माँगी लगेको खुकुरी हो भनी मेघबहादुर थापा मगरले गरी दिएको मिति २०५७।५।१२ गतेको सनाखत कागज ।

१४.   मिति २०५७।४।३२ गतेका दिन बेलुका अं.७,८ बजेको समयमा मेरो भतिजो महेश भन्ने रंजित पोखरेल, उत्तमप्रसाद भट्टराईको घरमा गएका छन भन्ने कुराको जानकारी भए पछि म केटीको बाबुको घरमा गई महेश भन्ने रंजित र कोपिलाको प्रेम रहेछ । केही दिनु पर्यो केटा केटीको जोडी मिल्छ भन्दा उत्तमले दुई चार दिन पिछाडि हेरौला भनेको हुँदा म समेत घर फर्कि विनोद, रंजितको घर तर्फ गए भन्ने मिति २०५७।५।१४ गतेको अर्जुनकुमार पोखरेलेको ठाडो कागज ।

१५.   महेश भन्ने रंजित पोखरेल र छोरी कोपिलाको प्रेम छ भन्ने जानकारी भए पछि सोही दिन बेलुका छोरीलाई गाली गरेको । ०५७।५।१ गते बेलुका विनोद र रंजित समेतका केटाहरु घर वरिपरि आएर हल्ला खल्ला गर्न थाले, महेशका काका अर्जुन पोखरेलले मलाई तपाईको छोरी कोपिला र मेरो भतिजो रंजितको गहिरो प्रेम भयो । बिवाह गरी दिऔं भनी केही दिन पछि विचार गरौला भनेर मैले भन्दा निजहरु गए । भोली पल्ट छोरी र हामी काठमाडौं गएकोले वारदात हुँदा राति ०५७।५।१ काठमाडौंमा भएकोले निज विनोदकुमार सिंहलाई मार्नेमा मेरो केही षडयन्त्र र संलग्नता छैन । मलाई टेलिफोन गर्दा घटनाको बारेमा जानकारी भयो भन्ने प्रतिवादी उत्तमप्रसाद भट्टराईको मिति २०५७।५।१५ को प्रहरीमा गरेको बयान ।

१६.    प्रहरीले बरामद गरेको चिठ्ठीहरु मेरो हुने वाला देवरजी विनोद भन्ने व्यहोरा गरेको चिठ्ठी मैले लेखेको हो र सोही चिठ्ठी फोटोकपी थान २ समेत चिने, रंजित मेरो राजा भनी लेखिएको चिठ्ठी मैले रंजितलाई लेखेको चिठ्ठी हो । सोही चिठ्ठीको फोटोकपी थान २ समेत देखे भनी कोपिला भन्ने संजिताकुमारी भट्टराईले गरी दिएको मिति २०५७।५।१८ गतेको चिठ्ठी सनाखत कागज ।

१७.   महेश भन्ने रंजितकुमार पोखरेल मेरो ८,९ महिना अगाडि देखि प्रेम सम्बन्ध भएको  हो । हामीहरुको प्रेममा मृतक विनोदकुमार सिंहले सहयोग गर्ने गर्दै थिए र विनोदकुमार सिंह मार्फत नै महेश भन्ने रंजित पोखरेलसँग चिनजान भै चिठ्ठी आदान प्रदान गर्थे । प्रेम गरेको कुरा घर परिवारमा थाहा भई मिति २०५७।४।३१ गतेका दिन बेलुका बुवाले मलाई साधारण गाली गर्नु भयो । विनोदकुमार सिंह, रंजित समेतका केटाहरु मिति २०५७।४।३२ गते साँझ हाम्रो घरमा आई हल्ला खल्ला गरे भोली पल्ट विहान बुवा र म काठमाडौं गयौं । काठमाडौं पुगे पछि भोली पल्ट हामी बसेको घरको टेलिफोन नं.०१४७४२४४ मा धनगढी नैनपुर गई बस्ने सालीग्रामले टेलिफोन गरेकोले बुवा ट्याकसीबाट आफ्नो घर आउनु भएको भन्ने कोपिला भन्ने संजिता भट्टराईको मिति २०५७।५।१८ को कागज ।

१८.   मिति २०५७।५।१ गते राती १२ बजेको समयमा विनोदकुमार सिंह र म कोपिलाको घरमा जाँदा २०,२५ फिट अगाडि विनोदकुमार सिंह थियो, झ्याट आवाज आएकोले विनोदकुमार सिंह पक्राउ पर्यो होला भनी भोली मलाई थानामा लान्छन पंचायती हुन्छ भन्ने डरले म भागी गएको हुँ भन्ने मिति २०५७।५।१९ गतेको प्रतिवादी रंजितकुमार पोखरेलको ततिम्बा बयान कागज ।

१९.    उत्तमप्रसाद भट्टराई, निजकै छोरी कोपिलालाई मिति २०५७।५।१ गते राती अं.९ बजे तिर उत्तमको छोरी काठमाडों भिमसेन गोला बस्ने रंजित घिमिरेको घरमा भेटेको हो । कोपिला र महेशको प्रेम रहेछ । कोपिलालाई दिदकै घरमा राखेर पढलेख गर्न लगाउनु पर्यो भनी लिएर आएको भन्ने कुरा बताए । भोली पल्ट उत्तमको छोरी संजिताको घरमा जाँदा निज उत्तमले मेरो घर नजिक मानिस मरेको छ, खबर आयो अव हामी तुरुन्त धनगढी जानु पर्छ भनी उत्तम गोबिन्द र म धनगढी आई पुगेको हुँदा उक्त वारदातमा निज उत्तमको संलग्नता छैन भन्ने समेत व्यहोराको मिति २०५७।५।१९ को झबिन्दकुमार सुवेदीको कागज ।

२०.   मेरो छोरी कोपिला र रंजितको प्रेम भएको कुरा श्रीमान उत्तमलाई पनि जानकारी थियो । २०५७।४।३१ गते छोरी कोपिलालाई श्रीमानले गाली गरी ०५७।५।१ गते बिहान छोरीलाई लिई मेरो श्रीमान उत्तम काठमाडौं जानु भयो र मिति २०५७।५।३ गते बिहान मात्र घरमा आउनु भएको हो भन्ने समेत व्यहोराको श्रीमती चन्दादेवी भट्टराईको मिति २०५७।५।२० गतेको कागज ।

२१.   मिति २०५७।५।२ गतेका दिन बिहान अं.७ बजेको समयमा धनगढी बजारमा आउँदा निज उत्तमप्रसाद भट्टराईको घर छेउमा प्रहरीहरु समेतका मानिसहरु देखि के भएछ भनी हेर्न जाँदा विनोदकुमार सिंहको लास देखेको हुँदा छपरारी बजार पूर्व रहेको पेट्रोल पम्पबाट मलाई थाहा भएको टे.नं.०१४७४२४४ मा टेलिफोन गरी दिएको भन्ने सालीग्राम कार्कीको मिति २०५७।५।२० गतेको कागज ।

२२.   मिति २०५७।५।१ गते बेलुका मेरो ससुरा उत्तम, सालि कोपिला, गणेश चौधरी मेरो डेरामा आएको तपाईकी साली कोपिलाको र रंजितको प्रेम रहेछ । अव यही राखेर पढाउनु पर्यो भनी ससुराले भन्नु भयो । भोली पल्ट बिहान म बसेको घरको टेलिफोन नं.०१४७४२४४ मा उत्तमलाई पाउँ भनी फोन आएकाले मैले ससुरालाई फोन दिएको हुँ । घर छेउमा लास परेको खबर आयो । धनगढी जाओ भनेको हुँदा मिति २०५७।५।२ गते मेरो ससुरा उत्तम, झबिन्द्र मिति २०५७।५।३ गते धनगढी आइ पुगेको भन्ने गोबिन्दप्रसाद घिमिरेको मिति २०५७।५।२१ को कागज ।

२३.   मिति २०५७।५।१ गतेका दिन दिउसो अं.२ बजेको समयमा अंकितकुमार लामिछाने आई कोपिला दिदिले राती बोलाएको छ आउनु भन्ने कुरा रंजितलाई गरेकोले सो कुरा मैले र विनोदकुमार सिंह सुनेको र राती अं.१२ बजेको समयमा हामी भाउजु कोपिलालाई लिन जान्छौं भनी विनोदकुमार सिंह र रंजित कोपिलाको घर तर् गएको भन्ने समेत व्यहोराको रंजितकुमार पोखरेलले घरमा काम गर्ने बर्ष १० को राम उदगार महतोको मिति २०५७।५।२२ को कागज ।

२४.   मिति २०५७।५।१ गतेका दिन उत्तम बसमा चढेको निजको छोरी कोपिला सोही दिन काठमाडों जाने बसमा चढेको हुँदा हामी एउटै बसमा काठमाडौं गै निज उत्तमकै छोरी ज्वाई गोबिन्द घिमिरेको डेरामा सँगै सुतेको भन्ने मिति २०५७।५।२२ को गणेशकुमार चौधरीको कागज ।

२५.   ०५७।५।१ गते बुलुका ४ बजेको समयमा छपरारी बजारमा जाँदा बिशेश्वर यादव, बिन्देश्वर यादव, सुरेश यादव, रंजित पोखरेल र विनोदकुमार सिंह नास्ता खाई रहेको देखेकोले छोरो विनोदकुमार सिंहलाई घर जाऔं भन्दा आज विनोदकुमार सिंह मेरो घरमा बस्छ भनी रंजितकुमार पोखरेलले मलाई भनेको हो भन्ने महेन्द्र नारायण सिंहको मिति २०५७।५।२२ को कागज ।

२६.   मिति २०५७।५।१ गते बेलका ९ बजेको समयमा बलराम र म धनगढी बजारबाट घर तर् आउँदै गर्दा सडकमा रंजितकुमार पोखरेल, अंकितकुमार लामिछाने र हाल मृतक विनोदकुमार सिंहलाई भेटेको हो । निजलाई घर जाओ भन्दा मानेन । भोली पल्ट धनगढी जाँदा उत्तमप्रसाद भट्टराईको घर छेउमा विनोदकुमार सिंहको लास देखेको कुरा जाहेरवालालाई भनेको हो भन्ने नारायण सिंह महतोको कागज ।

२७.   मिति २०५७।५।११ गतेको राती अं.८, ९ बजेको समयमा  नारायण सिंह महतो र म घर तर् आउँदै गर्दा प्रतिवादी महेशको घर देखि पश्चिम सडकमा रंजित, अंकित विनोदकुमार सिंहलाई देखेकोले निजलाई घर जाओ भन्दा नजाने कुरा गरेकोले हामी घर आयौं । भोली पल्ट बिहानै धनगढी जाँदा आनन्द केशरको घर छेउमा मानिस मरेको हुँदा भिड देखेकोले सबै कुरा जाहेरवालालाई सुनाएको र अंकितकुमार लामिछाने समेतको कर्तव्यबाट विनोदकुमार सिंहको मृत्यु भएको हुनु पर्छ भन्ने बलराम महतोको कागज ।

२८.   मिति २०५७।५।१ गते बेलुका ४, ३० बजेको समयमा म सुरेश, बिन्देश्वर समेतले छपरारी बजारमा नास्ता खाएको र साँझ पख हामी गोबिन्दपुर ७ बस्ने सत्य नारायण यादवको घरमा नै खाई हामी मलहन्वा चोकमा निस्की रामअशिषसँग कुराकानी गरी बिन्देश्वर आफ्नो घरमा गएको र सुरेश मेरो घरमा सुतेको हो भन्ने बिशेश्वर यादवको कागज ।

२९.   मृतक विनोदकुमार सिंहको भिसेरा जाँच गर्दा बिष सेवन गरेको पाइएन भन्ने केन्द्रिय प्रहरी बैज्ञानिक प्रयोगशाखाको पत्र र परीक्षण प्रतिवेदन भएको ।

३०.   मिति २०५७।५।२ गतेका दिन बिहान मृतक विनोदकुमार सिंहको लास देखेको, उक्त लास आनन्द केशरको घर छेउमा रहेको थियो । तर निजलाई को कसले मार्यो थाहा भएन भन्ने बुझिएका व्यक्तिहरु रामकुमार यादव, गणेशबहादुर कार्की, सुरेशकुमार साह, लालबहादुर कार्कीको व्यहोरा र आनन्द केशरको घरमा मिति २०५७।५।१ गते राति हल्ला भएको र केटाहरु समेत बोलेको आवाज सुनेको हुँदा निज विनोदकुमार सिंहलाई निज आनन्द केशर भट्टराईको कर्तव्यबाट मृत्यु भएको भन्ने बुझिएको असर्फप्रसाद सिंह, भोला महतो र धर्मनाथ महतोले गरी दिएको मिति २०५७।५।२४ को बस्तुस्थिति मुचुल्का ।

३१.   प्रतिवादी आनन्द केशर भट्टराईको बहिनी कोपिलासँग प्रेम सम्बन्ध भएकोले सो कार्यमा मृतकले सहयोग गरेको हुँदा प्रतिवादी आनन्दले रिसइवी लिई प्रतिवादी अंकित समेत भै बिजुलीको तारको पासो थापेको, प्रतिवादी उत्तमप्रसाद भट्टराइले पनि सोही प्रेम सम्बन्धको रिसइवी लिएको भनी किटानी जाहेरी परेको र निज प्र.उत्तमको घर छेउमा लास फेला परेको देखिएकोले निज उत्तमप्रसादले समेत मृतकलाई मार्नमा षडयन्त्र गरी मार्न लगाएको र मृतकको मृत्यु करेन्ट लागेर नै भएको कुरा पोष्टमार्टम रिपोर्ट लगायत बस्तुस्थिति मुचुल्का समेतका कागजातबाट पुष्टि भएको देखिंदा प्र.आनन्द केशर भट्टराई एवं अंकितकुमार लामिछाने र उत्तमप्रसाद भट्टराईले ज्यान सम्बन्धी महलको १ नं.१६ नं.एवं १३(३) नं.अनुसारको कसूर गरेको र प्र.रंजितकुमार पोखरेलको हकमा घटनास्थलमा आवाज आए पछि मृतकलाई बचाउने प्रयास नगरेको र मृतकको लुगा फाटा निज रंजितको घरबाट वरामद भएको आदी कारणहरुले गर्दा प्र.महेश भन्ने रंजितकुमार पोखरेलले पनि ऐ.ऐनको कसूर गरेको हुँदा चारै जना प्रतिवादीहरुलाई ज्यान सम्बन्धी महलको १६ र १३(३) नं.अनुसार सजाय गरी पाउ भन्ने समेत व्यहोराको अभियोग पत्र ।

३१.   मिति २०५७।५।१ गतेका दिन रात म आफ्नै घरमा छु । मैले मृतक विनोदकुमार सिंहलाई मारेको होइन । को कसले मारे थाहा छैन । प्रतिवादी उत्तम भट्टराईको छोरी कोपिला भन्ने संजिता भट्टराईसँग मेरो प्रेम थियो । त्यस सम्बन्धमा प्र.उत्तम भट्टराईलाई थाहा भै मनमोटाव थियो । विनोदकुमार सिंह मेरो मित्र हुन । दुवै जनाको चिठ्ठी जाने ल्याउने प्र.अंकितकुमार लामिछानेले नै गर्दथे । मिति २०५७।५।१ गतेका दिन दिउँसो अंकितकुमार लामिछाने आएर राती कोपिला दिदिले बोलाउनु भएको छ भनी भनेकोले सो रात म र विनोदकुमार सिंह कोपिलाको घरमा गयौं । विनोदकुमार सिंह अगाडि म पछाडि गएँ । त्यसै बखत २।४ जना कुदे जस्तो झ्यारम आवाज आयो । विनोदकुमार सिंह भाग्यो जस्तो लाग्यो । म भागेर आफ्नो घरमा आए । विनोदकुमार सिंहसँग मेरो भेट भएन । विनोदकुमार सिंहको मृत्यु भएको कुरा पछि थाहा पाएको हुँ म माथि लागेको अभियोग झुठ्ठा हो भन्ने समेत व्यहोराको प्र.रंजितकुमार पोखरेलले अदालतमा गरेको बयान ।

३२.   मिति ०५७।५।१ गतेका दिन म आफ्नो मामाको घर धनगढीमा थिए । बिहानै मामा काठमाडौं जानु भएको थियो । उक्त दिन रातमा आनन्द केशर र म उन्कै साथमा सुतेका हौं । मृतक विनोदकुमार सिंहलाई मारेको होइन, कसले मारे थाहा भएन । वरामद भएको नाँगो तार वायरिङ कुखुराको खोरबाट वरामद भएको हो । मिति २०५७।५।२ गते खेतमा लास देखेको हुँ । अभियोग माग दावी अनुसारको कुनै कसूर नगरेकोले मलाई सजाय हुनु पर्ने होइन भन्ने समेत व्यहोराको प्र.अंकितकुमार लामिछानेले अदालतमा गरेको बयान ।

३३.   मिति २०५७।५।१ गते राति म आफ्नो घरमा सुतेको थिए । प्र.मध्येका अंकितकुमार मसँगै सुतेका हुन । अन्य प्रतिवादीहरुसँग भेटघाट भएन । जाहेरी अनुसार मैले विनोदकुमार सिंहलाई मारेहो होइन । कसले मारे मलाई थाहा छैन । वरामद भएको तार प्रहरीले कहाँबाट बरामद गरे थाहा छैन । म निर्दोष भएकोले सफाई पाउँ भन्ने समेत व्यहोराको प्र.आनन्द केशर भट्टराईले अदालतमा गरेको बयान ।

३४.   मिति २०५७।५।१ गतेका दिन रात म काठमाडौंमा थिए । मैले विनोदकुमार सिंहलाई मारेको होइन । कसले मारयो थाहा छैन । विनोदकुमार सिंह मेरो घर भन्दा अली पर खेतमा मरेको भन्ने सुनेको हुँ । म घरमा नहुँदा कुने कसूर गरेको छैन । तसर्थ सजाय हुनु पर्ने होइन भन्ने समेत व्यहोराको प्र.उत्तमप्रसाद भट्टराइले अदालतमा गरेको बयान ।

३५.   मिति २०५७।५।२ मा भएको लास प्रकृति मुचुल्का देखे सुने । सोमा भएको व्यहोरा सहीछाप हाम्रो नै हो भन्ने लास प्रकृति मुचुल्कामा बस्ने मानिस रामदयाल यादव, बलबहादुर श्रेष्ठ र हिराबहादुर सुनवारको बकपत्र ।

३६.   रंजित र कोपिलाको प्रेम सम्बन्ध थियो भन्ने कुरा सुनेको थिए भन्ने व्यहोरा सम्म मैले भनी लेखाएको हैन । म र.अंकित घर गाउँमै थियो । प्र.उत्तमप्रसाद भट्टराई मिति २०५७।५।१ को बिहान ६.३० बजे काठमाडौं गएका थिए । विनोदकुमार सिंहलाई उत्तमप्रसाद भट्टराई र अंकितले मारे मारेनन मलाई थाहा छैन । मारे मराएको होइन भन्ने समेत व्यहोराको बुझिएका तथा प्रतिवादी अंकितकुमार प्र.उत्तमकुमार समेतको साक्षी गणेशबहादुर कार्कीको बकपत्र ।

३७.   मौकामा बुझिएका गणेशकुमार चौधरी, झबिन्द्रकुमार सुवेदी, गोबिन्दप्रसाद घिमिरे, मनोजकुमार महतो, शालिग्राम कार्की, नारायण सिंह महतो, रामउदगार महतो, जिवनबहादुर पोखरेलले गरेको बकपत्र ।

३८.   प्र.अंकितकुमार, उत्तमकुमार, गणेशबहादुर कार्की, आनन्दका साक्षी नेत्र लुगेली र बसन्त मल्ल, सरोजकुमार सिंह, उत्तमबहादुर खर्गा, पशुपति अर्याल, लालबहादुर कार्की, बिष्णुप्रसाद लम्सालले गरेको बकपत्र ।

३९.   यसमा राती नाँगो तारमा बिजुलीको करेन्ट प्रवाह गरेको कराण ज्यान मर्न सक्ने कुरामा मुख्य भै प्रतिवादी आनन्दकेशर भट्टराइले षडयन्त्र गरेको र सो षडयन्त्रको परिणाम करेन्ट लागी विनोदकुमार सिंहको मृत्यु भएको देखिंदा कर्तव्य गरी मारेको भन्ने अभियोग दावी स्पष्ट नभएको प्रस्तुत केशमा प्रतिवादीहरुलाई ज्यान सम्बन्धी महलको १३(३) नं.अनुसार सजाय गरिपाऊँ भन्ने अभियोग दावी पुग्न सकदैन । प्रस्तुत मुद्दामा प्र.आनन्दकेशर भट्टराईले ज्यान सम्बन्धी महलको १६ नं.को कसूर गरेको ठहर्छ । निजलाई सोही नं.वमोजिम १० (दश) बर्ष कैद हुने ठहर्छ । प्रतिवादी अंकितकुमार लामिछानेको सो कार्यमा तार फिट गर्ने काममा र रंजित पोखरेललाई खबर गरेको सम्मको काम गरी ज्यान सम्बन्धी महलको १७(३) नं.अनुसारको कसूर गरेको देखिंदा सोही नं.वमोजिम २ बर्ष कैद हुने ठहर्छ । प्र.उत्तमप्रसाद भट्टराई र रंजितकुमार पोखरेल उपरको अभियोग दावी तथ्ययुक्त प्रमाणबाट पुष्टि भएको नदेखिंदा निजले सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको सिराहा जिल्ला अदालतको मिति २०५८।६।१० को फैसला ।

४०.   प्रहरीमा भएको बयान मेरो इच्छा बिरुद्धको हो भनी अदालतमा बयान गरेको र प्रहरीको सो साविति बयान अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि नभएको अवस्थामा प्रमाणमा ग्रहण गरेको  छ । मौकामा बुझिएका राम उदगार, जिवन पोखरेल समेतका व्यक्तिहरुको अदालतको बकपत्र र मौकाको भनाईमा विरोधाभास देखिएको छ । वरामद भएको तारको सनाखत भएको छैन । जहाँ सुकै प्रयोग हुने तारलाई मानिस मार्न प्रयोग गरिएको भनी अनुमान गरी निर्णयमा पुगेको, मृत्युको कारण बिजुलीको करेन्ट मात्रले भएको भन्ने नदेखिएको, सहअभियुक्तको पोल अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि नभए सम्म प्रमाणमा लिन नमिल्ने मान्य सिद्धान्त समेतको आधारमा मलाई ज्यान सम्बन्धी महलको १६ नं.अनुसार षडयन्त्रको कसूरमा सजाय गरेको शुरुको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी आनन्दकेशर भट्टराईको पुनरावेदन अदालत, राजविराजमा परेको पुनरावेदन पत्र ।

४१.   प्र.आनन्दकेशर भट्टराईले षडयन्त्र गरी आफू समेत सरिक भै प्र.अंकितकुमारको सहयोग लिई बिजुलीको नाँगो तार बिछ्याई करेन्ट प्रवाह गरी विनोदकुमार सिंहको धरापमा पारी मृत्यु भएको अवस्थामा षडयन्त्र सम्मको कसूर गरेको भनी ठहराएको निर्णय त्रुटिपूर्ण भएको, मृत्यु नै भैसकेकोमा समेत मानसिक तत्वसम्मको बिद्यमानता देखाई भएको शुरुको फैसला ज्यान सम्बन्धीको १३(३) नं.विपरीत भएको, ज्यान मार्ने उद्देश्यले घटनास्थलमा उपस्थित भै बिजुलीको नाँगो तार बिछ्याउने कार्य गर्ने प्र.अंकितकुमारलाई मतलवी सम्मको कसूरदार ठहराएको त्रुटिपूर्ण भएको छ । प्रतिवादी उत्तमकुमारलाई र रंजितकुमारलाई सफाई दिएको शुरुको फैसला समेत प्रमाण मुल्याङ्कनको दृष्टिकोणले त्रुटिपूर्ण भएकोले उल्टी गरी सबै प्रतिवादीहरुलाई अभियोग दावी वमोजिम सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको पुनरावेदन अदालत, राजविराजमा परेको पुनरावेदन पत्र ।

४२.   प्र.आनन्दकेशर र म मिलि विनोदकुमार सिंहलाई मार्न भनी तार फिट गरेको भन्ने अभियोग दावी कुनै प्रमाणबाट पुष्टि नभएको, मैले गरेको इन्कारी बयानलाई साक्षीको बकपत्रले पुष्टि गरेको छ । जाहेरी पर्नु पूर्वको बरामदि मुचुल्कालाई प्रमाणमा ग्रहण गरेको नमिलेको, मृत्युको कारण नै एकिन नभएको अवस्थामा समेत मैले मृतकलाई मार्ने प्र.आनन्दकेशरलाई तार फिट गर्ने कार्यमा सहयोग पुर्‍याई मतलवी भनी कसूरदार ठहर्‍याई गरेको शुरुको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी अभियोग दावीबाट सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी अंकितकुमार लामिछानेको पुनरावेदन अदालत, राजविराजमा परेको पुनरावेदन पत्र ।

४३.   मिसिल संलग्न कागजहरुबाट अभियोग दावी वमोजिमको कसूर प्रतिवादीहरु आनन्द केशर भट्टराई र अंकितकुमार लामिछानेले गरेको भन्ने पुष्टि हुने आधार नदेखिएको शंकास्पद अवस्थामा निजहरुलाई क्रमशः ज्यान सम्बन्धी महलको १६ नं.अनुसार षडयन्त्र गरेकोमा र सो को मतलवमा पसेको भनी ऐ.को १७ नं.अनुसार सजाय गरेको शुरुको फैसला मिलेको  देखिएन । प्रतिवादी रंजितकुमारको हकमा निजको प्रेम सम्बन्ध प्रतिवादी आनन्दकेशरको बहिनी कोपिलासँग भएको देखिंदा निजै रंजितकुमार उपर रिसइवी भएको र रिसइवी भएका प्रतिवादीको मिलोमतोबाट मृतकको मृत्यु हुन गएको भनी ठहर गर्नु न्यायको रोहमा मिल्ने नदेखिएको र मृतकलाई सँग साथ रहदा पनि बचाव नगरेको भन्ने सम्म आधारमा ज्यान सम्बन्धी महलको १६ र १७(३) नं.अनुसारको कसूर स्थापित हुन सक्ने नदेखिंदा निज रंजितकुमारलाई सफाई दिएको शुरुको फैसला मिलेकै देखियो । यसै गरी वारदात भएको दिन ०५७।५।१ को रात भन्दा अगावै सोही दिन बिहान प्रतिवादी मध्येका उत्तमप्रसाद भट्टराई काठमाडौंगएको भन्ने निजको बयान, प्रेषित बसको टिकट वादीकै साक्षी शालीग्राम कार्की, गोबिन्द घिमिरेको बकपत्र समेतले पुष्टि गरेको हुँदा निजलाई सफाई दिएको शुरुको फैसला मिलेकै देखियो । तसर्थ प्रतिवादी मध्येका उत्तमप्रसाद भट्टराई र रंजितकुमारलाई सफाई दिएको शुरुको फैसला मिलेकै देखिंदा निजहरुको हकमा सदर हुने र प्रतिवादी मध्येका आनन्दकेशर र अंकितकुमारका हकमा ज्यान सम्बन्धी महलको १६ नं.र १७(३) नं.अनुसार सजाय गरेको फैसला निजहरुको हकमा सो हदसम्म नमिलि उल्टी हुने भई निज प्रतिवादीहरु समेतले आरोपित कसूरमा सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, राजविराजको मिति २०५९।१।२३ को फैसला ।

४४.   पुनरावेदन अदालत, राजविराजको फैसला त्रुटिपूर्ण हुँदा चित्त बुझेन । प्रतिवादी आनन्द केशर भट्टराईले शुरु जिल्ला अदालतमा बयान गर्दा इन्कारी रही विद्युतीय तारको सम्बन्धमा अनभिज्ञता प्रकट गरेकोमा सह अभियुक्त अंकितकुमारले सो बरामदीलाई पुष्टि हुने गरी बयान गरेको हुँदा आनन्द केशरको षडयन्त्रबाट नै विनोदकुमार सिंहलाई रातको समयमा करेन्ट लागी मृत्यु भएको प्रष्ट हुन्छ । प्रतिवादी आनन्द केशरको बहिनी कोपिलासँग प्र.रंजितकुमार पोखरेलको प्रेम सम्बन्ध रहेको र सो कार्यमा मृतक विनोदकुमार सिंहले सहयोग पुर्‍याएको कारण प्र.आनन्दले रिसइवी लिई प्र.अंकितलाई समेत साथ लिई मिलाई आफ्नो घरको नजिक बिजुलीको नाँगो तारको पासो थापी विद्युत प्रवाहद्धारा आफ्नो बहिनीसँग प्रेम सम्बन्ध पुर्‍याउने मृतक तथा रंजितलाई मार्ने षडयन्त्र गरी धराप थाप्दा त्यसमा परी विनोदकुमार सिंहको मृत्यु भएको मिसिलबाट स्पष्ट भएको छ । आनन्दले षडयन्त्र गरी आफू समेत सरिक भई अंकितको सहयोग लिई धराप बिछ्याई करेन्ट प्रवाह गरी विनोदकुमार सिंहको धरापमा परी मृत्यु भएको अवस्थामा षडयन्त्र सम्मको कसूर गरेको भन्न मिल्दैन । ज्यान सम्बन्धी महलको १७ नं.को व्यवस्था प्रतिवादी अंकितको हकमा आकर्षण नै हुँदैन । ज्यान मार्ने षडयन्त्रमा पसि सो कार्य गरी ज्यान समेत गराएको अवस्थामा ज्यान सम्बन्धी महलको १३(३) नं.अनुसार नै सजाय हुनु पर्दछ । प्रतिवादी आनन्द केशरको षडयन्त्र वमोजिम निजको आदेशको पालना गरी अंकित तार फिट गर्ने काम र रंजितलाई खबर गर्ने सम्मको काम गरी ज्यान मार्ने मतलवमा पसि भनी मतलवी बनाई १७ (३) नं.वमोजिम सजाय गरेको मिल्दैन । ज्यान मार्ने षडयन्त्रमा पसि सो वमोजिमका काम गरी ज्यान समेत मरि सकेको अवस्थामा शुरुको फैसलाले अंकितलाई सफाई दिएकोमा निजको हकमा सो सदर गर्न मिसिल संलग्न प्रमाणबाट मिल्दैन । घटनास्थलमा अंकित उपस्थित भई विनोदकुमार सिंहलाई मार्न तार बिछ्याई विद्युत प्रवाह गर्ने कार्यमा समेत संलग्न भएको अवस्थामा ज्यान सम्बन्धी महलको १६ र १३(३) नं.अनुसारको समान हैसियत र दावी भएका प्रतिवादीलाई १७ (३) को मतलवी मानी सजाय घटाउन मिल्दैन भने पुनरावेदन अदालतबाट सबैलाई सफाई दिने निर्णयले प्रमाणको मुल्याङ्कन नै नभएको प्रष्ट छ ।

४५.   प्रतिवादी उत्तम भट्टराई वारदातको समयमा आफू अन्यत्र भएको भनी अदालतमा बयान गर्दै मकालु बसको टिकट पेश गरेकोबाट लिएको फैसलाका आधार बसको टिकट कहीबाट पनि बुकिङ हुन सक्छ । जसलाई प्रमाणमा लिन मिल्दैन । छोरी कोपिलाको रंजितसँगको प्रेममा सघाएको सम्बन्धमा मृतक विदोनसँग रिसइवी भएको, २०५७।४।३२ मा मृतकसँग बिवाद भएको भनी प्र.आनन्द कशर र प्र.अंकितकुमारको मौकाको कागज एवं बकपत्रबाट देखिएको आफ्नो छोरा प्र.आनन्दकेशर आफ्नै घरमा दिने मृतक विनोद समेतलाई मार्ने कार्यमा षडयन्त्र गर्ने धराप थाप्न लगाउने सकिने ठोस प्रमाण नदेखिंदा किटानी जाहेरी भई ज्यान सम्बन्धी महलको १६ र १३(३) नं.अनुसार दावी भएको प्र.उत्तमको हकमा सफाई दिन मिल्दैन । मृतकलाई मार्न समान हैसियत राख्ने प्र.रंजितले मृतकलाई घटनास्थलमा सँगै लिएर गएको भ्याट्ट आवाज आए पछि निज भागेको नबचाएको पुष्टि भएको अवस्थामा सफाई दिन मिल्दैन । किटानी जाहेरी, लास प्रकृति मुचुल्का, प्रतिवादीको मौकाको कागज समेतबाट प्रतिवादीहरु कै षडयन्त्रपूर्वक कार्यबाट विनोदको विद्युत करेन्टबाट मृत्यु भएको पुष्टि भएको अवस्थामा प्र.आनन्दकेशर र अंकितकुमारलाई कम सजाय गरेको शुरुको फैसला उल्टी गरी यी प्रतिवादी समेतले पुरै सफाई पाउने गरी भएको फैसला तथा प्र.उत्तमप्रसाद र प्र.रंजितलाई शुरुले सफाई दिने गरी भएको फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला प्रमाणको उचित मुल्याङ्कन नभै भएको हुँदा बदर गरी प्रतिवादीहरुलाई अभियोग दावी वमोजिम सजाय गरिपाऊँ भन्ने वादी श्री ५ को सरकार तर्बाट पर्न आएको पुनरावेदन ।

४६.   नियम वमोजिम दैनिक मुद्दा पेशी सुचीमा चढी निर्णयार्थ इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा मिसिल संलग्न पुनरावेदन सहितको सम्पूर्ण मिसिल अध्ययन गरियो । पुनरावेदक वादी नेपाल सरकारका तर्बाट उपस्थित विद्वान उपन्यायाधिवक्ता श्री ब्रजेश प्याकुरेलले बिजुलीको करेण्ट लागेर मृतकको मृत्यु भएको कुरामा बिवाद छैन । प्रतिवादीले अदालतमा आई कसूरमा इन्कार गरेकोलाई सफाईको आधार बनाएको पुनरावेदन अदालतको फैसला मिलेको छैन । अभियोग दावी वमोजिम प्रतिवादीलाई सजाय गरिपाऊँ भनी गर्नु भएको बहस जिकिर सुनियो । प्रस्तुत मुद्दामा पुनरावेदन अदालत, राजविराजले आरोपित कसूरबाट प्रतिवादीहरुलाई सफाई दिने ठहर्याएको फैसला मिले वा नमिलेको के हो ? त्यस सम्बन्धमा निणर्य गर्नुपर्ने भएको छ ।

४७.   निर्णयतर् विचार गर्दा मिति २०५७।५।२ मा भाईको लाश प्र.उत्तमको घर सँगै जोडिएको फर्म नजिक फेला पर्यो । ०५७।५।१ मा रंजित, विनोद, अंकित साथै भएको सोही दिनबाट रंजित फरार रहेको हुँदा रंजित पोखरेल निजको सहयोगी आनन्द केशर भट्टराई, अंकितकुमार र उत्तम भट्टराईले भाईको कर्तव्य गरी ज्यान मारेको हुँदा आवश्यक कारवाही गरिपाऊँ भन्ने गोपीप्रसाद सिंहको ०५७।५।५ को जाहेरी वमोजिम अनुसन्धानको सिलसिलामा भएको घटनास्थल लास प्रकृति मुचुल्का, लास जाँच प्रतिवेदन, बरामदि मुचुल्का प्रतिवादीहरुको भएको बयान, सनाखत कागज, मौकाका व्यक्तिको कागज, बस्तुस्थिति मुचुल्का समेतका आधारमा प्रतिवादी आनन्द केशर भट्टराई एवं अंकितकुमार लामिछाने र उत्तमप्रसाद भट्टराईले ज्यान सम्बन्धी महलको १ नं.१६ नं.एवं १३(३) नं.अनुसारको कसूर गरेको र प्र.रंजित पोखरेलले घटनामा भ्याट आवाज आउँदा बचाउने प्रयास नगरेको, रंजितको लुगा फाटा निजको घरबाट वरामद भएको कारणले निजलाई ऐ.१ नं.१६ र १३ (३) नं.वमोजिम कसूर गरेको हुँदा सजाय गरिपाऊँ भन्ने अभियोग माग दावी देखिन्छ । चारै जना प्रतिवादीरुलाई ज्यान सम्बन्धी महलको १ नं.को कसूरमा ऐ.को १६ नं.एंव १३(३) नं.अनुसारको सजाय माग दावी भएकोमा प्रतिवादी आनन्द केशर भट्टराईलाई ज्यान सम्बन्धी महलको १६ नं.वमोजिम १० बर्ष, प्र.अंकितकुमारलाई ज्यान सम्बन्धी महलको १७(३) नं.अनुसार २ बर्ष प्रतिवादी उत्तमप्रसाद भट्टराई र रंजितकुमारलाई आरोपित कसूरबाट सफाई पाउने ठहर्याएको सिराहा जिल्ला अदालतको मिति २०५८।६।१० को फैसला उपर वादी प्रतिवादी दुवै पक्षको पुनरावेदन अदालत, राजविराज समक्ष पुनरावेदन पर्दा शुरुले उत्तम भट्टराई र रंजितकुमारको हकमा अभियोग दावीबाट सफाई दिएको फैसला सदर गरी प्रतिवादी आनन्द केशर भट्टराई र प्र.अंकितकुमारलाई क्रमशः १० बर्ष र २ बर्ष कैद हुने ठहर्याएको फैसला सो हद सम्म उल्टी गरी निज प्रतिवादीहरु समेत चारै जना प्रतिवादीले आरोपित कसूरबाट सफाई दिने ठहर्याएको फैसला उपर वादी श्री ५ को सरकारको तर्बाट यस अदालत समक्ष प्रस्तुत पुनरावेदन परेको देखिन्छ ।

४८.   सर्वप्रथम जाहेरी वमोजिमको वारदात घटेको हो होइन भन्ने प्रश्न तर्फ विचार गर्दा सिराहा जिल्ला धनगढी गा.बि.स.वडा नं.२ स्थित २ नं.रोड देखि उत्तर भरत श्रेष्ठको घर देखि दक्षिण हरि दाहालको घर पूर्व उत्तम भट्टराईको घर पश्चिम भरतको घर देखि उत्तर १०० मिटर पूर्व चाइनिज ज्याकेट र लास छेउमा २ वटा खुकुरी रहेको, लाशको नाकबाट केही तरल पदार्थ निस्केको, साइली कान्छी औंलामा खोस्रिएको घाउ भन्ने घटनास्थल प्रकृति मुचुल्का रहेको देखिन्छ । बिजुलीको करेन्ट लागेको कारणबाट विनोदकुमार सिंहको मृत्यु भएको हुन सक्ने (The couse of death is asphyxa due to electric burn but that is not sufficient) भन्ने लास जाँच प्रतिवेदनमा उल्लेख भएको पाईंदा वारदात घटेको कुरामा बिवाद रहेन ।

४९.   अब को कस्को कर्तव्यबाट विनोदकुमार सिंहको मृत्यु भएको हो भन्ने प्रश्न तर् विचार गर्दा मिति २०५७।५।२ गतेका दिन सिराहा जिल्ला धनगढी गा.बि.स.वडा नं.२ स्थित २ नं.रोड देखि उत्तर धान खेतमा विनोदकुमार सिंहको लाश भेटिएको हुँदा कसले कर्तव्य गरी मारेको कारवाही गरिपाऊँ भन्ने प्र.स.नी पुष्प बिक्रिम मल्लको जाहेरी परेको देखिन्छ । अनुसन्धानको सिलसिलामा भएको लास प्रकृति मुचुल्कामा भरतको घर देखि पूर्व १०० मि.पूर्व चाइनिज ज्याकेट र लाशको नजिक २ खुकुरी रहेको, लाशको नाकबाट केही तरल पदार्थ निस्केको बाँया हातको बुढी औंला साइली र कान्छी औंलामा खोस्रिएको घाउ काखी मुनि खोस्रिएको दाग भन्ने लास प्रकृति मुचुल्कामा उल्लेख भएको देखिन्छ । लाशको पोष्टमार्टम रिपोर्टमा (The couse of death is asphyxa due to electric burn but that is not sufficient) भन्ने उल्लेख भएको पाईन्छ । लास जाँच प्रतिवेदनमा मृत्युको कारणलाई Electric Burn भनी उल्लेख गरेतापनि त्यतिकै कारणले मृत्यु भएको भन्ने उल्लेख नभएबाट लास जाँच प्रतिवेदन स्वयंममा खण्डित भएको देखिन्छ । अर्को तर् मृतकको दाजु गोपी सिंहले दिएको जाहेरी दरखास्तमा मृतकलाई विद्युत्तीय धराप राखी मारेको वा के कस्तो कर्तव्य गरी मारेको हो सो बारेमा केही कुरा उल्लेख गर्न नसकी प्रतिवादी मध्येका रंजितकुमार पोखरेलसँग मृतकको भाई साथीको सम्बन्ध रही प्रतिवादी मध्येको उत्तम भट्टराई कि छोरी कोपिलासँग रंजितको प्रेम सम्बन्ध भएकोमा सो सम्बन्धमा मद्दत पुर्‍याएको रिसमा प्रतिवादीहरुले मारेको शंका देखाई जाहेर गरेको देखिन्छ । प्रतिवादीहरु अधिकार प्राप्त अधिकारी समक्ष सावित भै बयान गरेको भएतापनि अदालतमा उपस्थित भै बयान गर्दा आरोपित कसूरमा इन्कारी रही बयान गरेको पाइन्छ । प्रतिवादीहरुको अदालत समक्ष भएको बयानमा एक अर्कामा पोल भएको पनि देखिदैन । अदालत समक्षको सो इन्कारी बयानलाई प्रतिवादीका साक्षीहरुका बकपत्रले पुष्टि गरेको देखिन्छ । मौकामा प्रतिवादीले गरेको साविती बयानलाई अन्य स्वतन्त्र र भरपर्दो प्रमाणले पुष्टि नगरे सम्म प्रमाणको रुपमा ग्रहण गर्न पनि मिल्दैन । प्रतिवादी आनन्द केशरकी बहिनी कोपिलासँग रंजितको प्रेम सम्बन्ध रहेको भन्ने मिसिल संलग्न चिठ्ठी पत्र समेतले पुष्टि गरेको अवस्थामा प्रतिवादीहरुको विनोदलाई मार्नु पर्ने रिसइवी स्थापित हुन सकेको देखिदैन ।

५०.   प्रतिवादी आनन्द केशरकी बहिनी कोपिलासँग प्रतिवादी रंजित पोखरेलको प्रेम सम्बन्धको जरियामा वारदात घटेको, सो वारदातमा प्रतिवादी आनन्द केशर र अंकितकुमारले कोपिलासँगको रंजितको प्रेम सम्बन्धलाई लिई रिसइवी राखी रंजितलाई मार्न विद्युतको धराप थापेको र सो धरापमा परी मृतकको मृत्यु भएको पुनरावेदन जिकिर भए पनि निज प्रतिवादीहरुले नै सो धराप सोही मिति समयमा थापेको हुन भनी प्रत्यक्ष देख्ने साक्षी समेतको अभाव देखिन्छ । प्रतिवादीहरु आनन्द केशर भट्टराई एवं अंकितकुमार लामिछानेले प्रहरी समक्ष आरोपित कसूरमा सावित भएतापनि अदालत समक्ष भएको बयानमा आरोपित कसूरमा इन्कार रहेको देखिन्छ । वादी नेपाल सरकार तर्बाट परेको पुनरावेदनमा अंकितकुमारलाई सह अभियुक्तको रुपमा देखाई बरामद मुचुल्कामा उल्लेख भएका सामान सम्बन्धमा स्वीकार गरेको भनी पुनरावेदन जिकिर लिएको देखिएतापनि निज प्रतिवादी अंकितकुमारले अदालत समक्ष गरेको बयानमा बरामदि मुचुल्कामा उल्लेख भएको लुगाफाटा, खुकुरी समेतमा अनभिज्ञता देखाई तार सम्म निज बसेको घरको कुखुरा खोरबाट लगिएको, वरामद भएको भन्ने सम्म उल्लेख भएको पाईन्छ । पुनरावेदन जिकिर वमोजिम विनोदकुमारलाई विद्युतीय धरापमा पारिएको सम्बन्धमा प्रयोगमा आएको विद्युतीय तार नै सोही बरामद मुचुल्कामा उल्लेख भएको तार थियो भन्ने कुरा अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि भएको पाइदैन । अर्को तर्फ सो तार वारदातस्थलबाट वरामद भएको भन्ने पनि उल्लेख भएको पाइदैन र अन्य सामानको बारेमा पनि अनभिज्ञता देखाएको देखिन्छ । आफू बस्नेको घरबाट सामान्य तार त्यसमा पनि वारदातमा प्रयोग भएको सम्बन्धमा कहीं कतैबाट पुष्टि नभएकोमा सोही तारको कुरालाई लिई प्रतिवादी आनन्द केसरको आरोपित कसूरमा संलग्नता रहेको भन्ने कुरा पुष्टि हुन सक्दैन । प्रहरी समक्ष भएको बयानमा आरोपित कसूरमा प्रतिवादी आनन्द केशर भट्टराई एवं प्रतिवादी अंकितकुमार लामिछाने सावित भएको पुनरावेदन जिकिर भएतापनि सो साविती बयानलाई अन्य स्वतन्त्र, ठोस एंव बस्तुनिष्ठ प्रमाणले पुष्टि गरेको कुरा पुनरावेदन जिकिरमा उल्लेख भएको पाइदैन । त्यस्तो प्रमाण मिसिलबाट पनि देखिदैन । प्रहरी समक्ष भएको साविती बयान स्वतन्त्र एवं बस्तुनिष्ठ प्रमाणबाट पुष्टि गर्नुपर्ने प्रमाणको भार वादी पक्षमा रहने कानूनी व्यवस्था प्रमाण ऐन, २०३१ को दफा २५ ले गरेको पाईन्छ । प्रतिवादी आनन्द केशर भट्टराईले नै विद्युत्तीय धराप राखेका, विनोदलाई ज्यान मार्ने कुराको षडयन्त्र गरी पूर्व योजना तथा तयारी गरेको र मृतकसँग त्यस्तो रिसइवी भएको भन्ने समेत नदेखिएको अवस्थामा कोपिलासँगको प्रेम सम्बन्धको जरिया बनाई यी प्रतिवादीहरुले आरोपित कसूर गरेको हुन भनी प्रहरी समक्ष भएको साविती बयान कै भरमा कर्तव्य ज्यान जस्तो अपराधमा दोषि करार गरी सजाय गर्नु न्यायोचित हुदैन । सावितीलाई स्वतन्त्र प्रमाणले पुष्टि गरी आरोपित कसूरमा प्रतिवादीहरुको नै संलग्नता रहेको कुरा प्रमाणित गर्ने प्रमाणको भारलाई त्यस्तो प्रमाणको अभावमा जिकिर लिएकै आधारमा प्रतिवादीहरुलाई सजाय गर्नु फौज्दारी न्यायको सिद्धान्तले पनि आत्मसात गर्दैन । प्रतिवादी आनन्द केशर भट्टराई समेत प्रहरीमा सावित भएतापनि अदालत समक्ष उपस्थित भई बयान गर्दा आरोपित कसूरमा इन्कार रहेको देखिन्छ । विनोदलाई मार्नको लागि विद्युतीय धराप राखेको, सो कुरा देख्ने प्रत्यक्षदर्शी कोही नभएको, बरामद भै आएको सामान एवं अन्य स्वतन्त्र प्रमाण समेतले सो कुरा पुष्टि गर्न नसकेको अवस्थामा निजकी बहिनी कोपिलासँग रंजितको प्रेम सम्बन्ध रहेको, सो सम्बन्धको बिस्तारमा मृतक विनोदले सहयोग पुर्याएकोमा रिसइवी रही निजलाई समेत मार्ने रिसइवी भएको मान्न सकिने हुदैन ।

५१.   पुनरावेदक वादी पक्षबाट विनोदको मृत्यु सम्बन्धमा प्रतिवादी आनन्द केशर भट्टराईको यो यस्तो प्रकारको संलग्नता रहेको छ । सो कुराको पुष्टि यो यस्तो स्वतन्त्र प्रमाणले गरेको छ भनी आरोपित कसूरलाई शंकारहित तवरबाट प्रमाणित गर्न सकेको पाइदैन । शंका रहित तवरले कसूरको प्रमाणित नभएको अवस्थामा शंकाको सुविधा अभियुक्तले पाउँछ । Benefit of the doubt goes to the accused भन्ने फैज्दारी न्यायको सर्वमान्य सिद्धान्तको सुविधाबाट यी प्रतिवादीलाई बंचित गर्न मिल्ने देखिदैन । प्र.स.नी.पुष्प बिक्रम मल्लको प्रतिवेदनमा विनोदको मृत्यु विद्युतीय धरापमा परी भएको, यी प्रतिवादीहरुको संलग्नता रहेको भनी किटानी नभएको, मृतकका दाजु गोपी सिंहद्धारा परेको जाहेरी समेतमा मृतकको मृत्यु सम्बन्धमा विद्युत धरापको बारेमा उल्लेख नभई कोपिलाको प्रेम सम्बन्धी बिषयलाई सम्म उल्लेख गरी यी प्रतिवादीहरुको नामाङ्कन सम्म गरेको, लास जाँच प्रतिवेदनमा Electric Burn कै कारण मृतकको मृत्यु भएको बारेमा एकिनता नभएको, प्रतिवादीका साक्षी समेतले आरोपित कसूरमा यी प्रतिवादीहरुको संलग्नता नभएको भनी बकपत्र गरी दिएको र प्रतिवादीहरु आरोपित कसूरमा प्रहरीमा सावित भएतापनि सो सावितीलाई अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि गर्न सकेको नपाइएको एवं घटनाको प्रत्यक्षदर्शीको अभाव रहेको अवस्थामा प्रतिवादी आनन्द केशर भट्टराईलाई ज्यान सम्बन्धी महलको १६ नं.अनुसारको कसूरमा १० बर्ष कैद सजाय हुने र प्रतिवादी अंकितकुमारलाई ऐ.महलको १७ (३) को कसूरमा २ बर्ष कैद सजाय गरेको शुरु सिराहा जिल्ला अदालतको फैसला न्यायोचित मान्न  सकिदैन ।

५२.   प्रतिवादी मध्ये उत्तमप्रसाद भट्टराई एवं प्र.रंजितकुमार पोखरेलको सम्बन्धमा विचार गर्दा वारदात घटेको दिन ०५७।५।१ भन्दा अगावै उत्तम भट्टराई काठमाडौं तर् लागेको काठमाडौंमा निजको घर नजिक मृतकको लास रहेको घटना टेलिफोनबाट थाहा हुन आई निज काठमाडौंबाट फर्केको कुरा मिसिल संलग्न बसको टिकटबाट मात्र पुष्टि नभै आरोपित कसूरमा अदालतमा निज प्रतिवादी इन्कारी रहेकोबाट समेत देखिन्छ । अर्को तर् वारदातको समय भन्दा अगावै उत्तमप्रसाद भट्टराई काठमाडौं तर् छोरीलाई लिई गएको कुरा वादीकै पक्षबाटै बुझिएका शालिग्राम कार्की एवं गोबिन्द घिमिरेको बकपत्रबाट पुष्टि भएको देखिन्छ । मृतक विनोदलाई मार्ने षडयन्त्र, मतलवमा बसेको वा मृतकलाई मार्नु पर्ने त्यस्तो रिसइवी यी प्रतिवादीको रहेको कुरा मिसिल संलग्न अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि भएको पाइदैन । छोरी सँग रंजितको प्रेम सम्बन्ध रहेकै कारणबाट मृतकलाई मार्नु पर्ने अवस्था परी सो कर्तव्यमा निजको संलग्नता रहेको भनी जाहेरीमा नामाङ्कन गर्दैमा ज्यान सम्बन्धी महलको १३(३) नं.अनुसारको कसूरमा यी प्रतिवादीलाई सजाय गर्न न्यायोचित नभै आरोपित कसूरबाट प्रतिवादी उत्तमप्रसाद भट्टराईलाई सफाई दिने ठहर्‍याएको शुरुको फैसला अन्यथा भन्न  मिल्दैन ।

५३.   प्रतिवादी मध्येका रंजितकुमार पोखरेलले कोपिलाको प्रेम सम्बन्ध र सो सम्बन्धलाई पुष्टि गर्ने वरामद भएको एक आपसका चिठ्ठी पत्र र विनोदकुमार सिंहको मृत्युको बिषय फरक हुन । प्रतिवादी आरोपित कसूरमा अदालतमा इन्कार रहेका छन् । आनन्द केशर भट्टराई, अंकितकुमार लामिछाने एवं उत्तम भट्टराईसँग मिलि विनोदलाई मार्नु पर्ने सम्मको रिसइवी भएको, त्यस्तो कुनै षडयन्त्र गरेको भन्ने स्वतन्त्र प्रमाणबाट पुष्टि भएको देखिदैन । बरामद भै आएका मिसिल संलग्न चिठ्ठी पत्रको अवलोकन समेतबाट रंजितकुमार पोखरेलले विनोदलाई मार्नु पर्ने कारण रहेको वा त्यस्तो मिलोमतो रहेको कुरा पुष्टि हुन सकेको देखिदैन । प्रेम सम्बन्धलाई पुष्टि गरेको चिठ्ठी पत्रको आधारमा सो सम्बन्ध बिस्तारमा सहयोग पुर्याएको कुराले प्रतिवादी रंजितकुमार पोखरेलले विनोदलाई कर्तव्य गरी मार्न पर्ने कुरासँग कुनै सम्बन्ध स्थापित गर्न सक्दैन । मृतकलाई मार्नु पर्ने कारणको पुष्टि हुन नसकेको, रंजितकुमार पोखरेलको प्रतिवादी आनन्द केशर, अंकितकुमार एवं उत्तम भट्टराईसँग सो बिषयमा संलग्नता रहेको भनी कुनै स्वतन्त्र प्रमाणबाट पुष्टि नभएको र प्रतिवादीहरु आनन्द, अंकित एवं उत्तम भट्टराईकै सो आरोपित कसूरमा संलग्नताको पुष्टि नभएको अवस्थामा सोही कसूरमा यी प्रतिवादीको संलग्नता नदेखिई आरोपित कसूरबाट निजलाई सफाई दिने ठहर्‍याएको शुरुको फैसला अन्यथा भन्न मिलेन ।

५४.   तसर्थ उल्लिखित विवेचनाको आधारमा प्रतिवादीहरु अंकितकुमार लामिछाने र आनन्द केशर भट्टराईलाई क्रमशः २ बर्ष र १० बर्ष कैद गर्ने ठहर्‍याएको शुरुको फैसला सो हद सम्म केही उल्टी गरी सफाई दिएको अन्य प्रतिवादी उत्तम भट्टराई र प्रतिवादी रंजितकुमार पोखरेललाई आरोपित कसूरबाट   सफाई दिने ठहर्याएको हदसम्म सदर गरेको पुनरावेदन अदालत, राजविराजको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । तदनुरुप प्रतिवादी अंकितकुमार लामिछाने, प्रतिवादी आनन्द केशर भट्टराई, उत्तम भट्टराई प्रतिवादी रंजितकुमार पोखरेल समेतले आरोपित कसूरबाट सफाई पाउने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार बुझाई दिनु।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.वलराम के.सी.

इजलास अधिकृत प्रकाश खरेल

 

इति संवत २०६३ साल भाद्र २५ गते रोज १ शुभम–––––––––––

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु