निर्णय नं. ७७६६ - अंश दर्ता

निर्णय नं. ७७६६ ने.का.प. २०६३ अङ्क ९
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा
माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ
सम्वत २०६० सालको दे.पु.नं. ९०२१
फैसला मितिः २०६३।७।२२।४
मुद्दा : अंश दर्ता ।
पुनरावेदक
प्रतिवादीः जिल्ला सप्तरी गा.वि.स. वरहीविरपुर वडा न. १ वस्ने सुखदेव यादव समेत
विरुद्ध
प्रत्यर्थी
वादीः ऐ.ऐ.वस्ने क्षत्रीकुमारी यादवनी
§ जिल्ला प्रशासन कार्यालयबाट लिएको नं. २७६०।८२० को नागरिकताको प्रमाणपत्रमा निजको जन्ममिति २०१८।१।२८ भनी उल्लेख भएको देखिंदा फिराद दायर गर्दाका अवस्थामा वादी ३५ वर्ष नपुगेको भन्ने नदेखिने ।
§ प्रतिवादीहरुले उमेर सच्याई ३५ वर्ष पुर्याएको भनी जिकिर लिएकोमा आधिकारीक निकायबाट कानून वमोजिम प्राप्त गरेको नागरिकतामा उल्लेखित जन्ममितिलाई प्रस्तुत मुद्दाबाट अन्यथा हो भन्न नमिल्ने ।
§ मुलुकी ऐनमा एघारौ सशोधन (२०५९।६।१०) हुनु अगाडि अंशवण्डाको १६ नं मा छोरीले छोरा सरह अंश प्राप्त गर्नका लागि ३५ वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था भएपनि हालको अबस्थामा छोरीले अंश प्राप्त गर्नको लागि त्यस्तो उमेरको हद शर्त वन्देज नभएको र वादीको वैवाहिक स्थितीमा परिवर्तन भएको भन्ने प्रतिवादीहरुको जिकिर नरहेको अवस्थामा उमेर नपुगेको कारणबाट वादीले अंश नपाउने भन्ने प्रतिवादीहरुको पनरावेदन जिकिर पनि पुग्न नसक्ने ।
(प्रकरण नं.२०)
पुनरावेदक प्रतिवादी तर्फबाटःविद्वान अधिवक्ता श्री रामकृष्ण गौतम
प्रत्यर्थी वादी तर्फबाटः
अवलम्वित नजीरः
फैसला
न्या.दामोदरप्रसाद शर्माः पुनरावेदन अदालत राजविराजको मिति २०६०।१।३१ को फैसलामा प्रतिवादीले चित्त नवुझाई न्याय प्रशासन ऐन, २०४८ को दफा ९ वमोजिम पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एंव ठहर यस प्रकार छ : –
२. मुल पुर्खा फौदार यादवको २ पत्नीमा जेठी भुटिया देवी यादवनी कान्छी गुलवन्ती यादवनी हुन । जेठी भुटियादेवी तर्फका एक मात्र छोरा विपक्षी सुखदेव यादव कान्छी गुलवन्ती यादवनी तर्फबाट दुई छोरीमा जेठी वालोदेवी यादवनी र कान्छी म फिरादी क्षत्रीकुमारी यादवनी हुँ । विपक्षी सुखदेव यादवका दुई छोरामा जेठा विपक्षी इन्द्रदेव यादव कान्छा विपक्षी धर्मनारायण यादव हुन यसरी विपक्षी सुकदेव र म विच सौतेनी दाजु वहिनीको नाता पर्छ एंव विपक्षी इन्द्रदेव र धर्मनारायण यादव र म विच फुपु भतिजाको नाता पर्दछ । मेरो वावु आमा तथा सौतेनी आमा समेतको आफ्ना कालगतीले मृत्यु भएको हो । वुवाको मृत्यु भन्दा पहिला नै वुवा फौदार यादवले मेरी आमाको नामको सम्पत्ति समेत आफ्ना नाममा गराई स्व.वुवा फौदार यादवले विपक्षी इन्द्रदेव यादवलाई वकसपत्र गरि दिएकोमा सो को विरुद्धमा वकसपत्र वदर मुद्दा अदालतमा मैले चलाएकोमा मलाई सो मुद्दा मिलापत्र गरौँ हामी तिमीलाई इज्जत आमद अनुसार खान लाउन दिई पालन पोषण गरौला भनि मुद्दा मिलापत्र गरि साझा सगोल मै वस्दै आएका थियौ । तर पछि पछि गएर प्रतिवादीले म उपर नराम्रो व्यवहार गर्न थाले । म सानै देखि खुट्टाको विरामीका कारण अर्धअपांग जीवन विताई रहेको अवस्थामा मलाई खान लाउन समेत नदिई घरबाट निकाला गरेकाले अन्य गाउले समाजको साहरामा अर्काको काम गरि खादै २०५३।१०।१२ गते देखि विपक्षीहरुसँग चुलोमानो अलग गरि वस्दै आएकी छु । विपक्षीहरुसँग मेरो अंश हक माग्दा सो समेत नदिई खान लाउन समेत नदिएर घरबाट निकाला गरि अन्याय गरेका छन । म सानै देखि अपांग भएको र विपक्षीहरुको उदासिनताका कारण मेरो हालसम्म विवाह पनि नभएको विपक्षीहरुले मेरो अंश भाग पनि नदिएकोले तथा मेरो उमेर ३५ वर्ष पुरा भइसकेकोले स्व वुवा फौदार यादवका दुइ पत्नीमा जेठी तर्फका हकदार विपक्षीहरु र कान्छी पत्नी तर्फको हकदार म भएकोले मेरा साक्षी सवुद प्रमाण समेतको आधारमा सम्पूर्ण सम्पत्तिको २ भाग लगाई सो को १भाग म फिरादीका नाममा दर्ता समेत गरी इन्साफ दिलाई पाउँ भन्ने समेत व्यहोराको फिराद दावी ।
३. वादीले देखाएको नाता सम्वन्ध सही छ, तर वादीले दावी लिएका अन्य कुराहरु झुठ्ठा एंव कानून विपरीत छन् । ३५ वर्ष पुगेकी छोरीलाई अंश दिने कानूनी व्यवस्था भएतापनि वहिनी तथा फुपुलाई अंश दिनुपर्ने कानूनी व्यवस्था कतै पाइदैन । फौदार यादवले आफ्नो सम्पत्ति आफ्नो जिवनकालमा नै आफ्ना छोरा नाती समेतलाई दिई विक्रि व्यवहार समेत भएको छ । फिरादी हाम्रो अशियार भित्र नपर्ने हुनाले उपरोक्त नालेश खारेज योग्य छ । साथै विपक्षी वादीले हामी प्रतिवादी समेत उपर फौदार यादवले हक छाडी हाम्रा नाउमा जग्गा दर्ता गरी दिएकोमा उक्त लिखत वदरका लागि दे.नं १६७५ को अपुताली फैसला वदर लिखत वदर दर्ता वदर मुद्दा यसै अदालतमा दिएकोमा दावीमा अडन नसकी मुद्दा मिलापत्र गरेकी छन । सो मुद्दा मिलापत्र गर्दा २०४३ सालमा निज वादीको उमेर १८ वर्ष लेखाई मिलापत्र गरी २०५३ सालमा २८ वर्ष हुनुपर्नेमा ३५ वर्ष भनि उमेर समेत ढाटी प्रमाण ऐनको विवन्धनको सिद्धान्त विपरीत वादी गएकीछन । २०४२ सालको मुद्दामा सम्पूर्ण वादी दावी छाडी मिलापत्र गरी हाल पुनः सोही विषयमा दावी लिनु पनि कानून विपरीत छ । फिरादी हाम्रो सगोलमा पनि नभएको हामी आफै पनि अलग भिन्न भई आ– आफ्नो गरि खाई आएका छौ। यसरी विभिन्न झुठ्ठा वहाना गरी फिराद दावी दिएको नालेस नै खारेज योग्य हुँदा मेरो साक्षी प्रमाणको आधारमा दावीबाट उन्मुक्ति गरिपाऊँ भन्ने समेत प्रतिवादी सुखदेव, धर्मनारायण, इन्द्रदेव यादवको संयुक्त प्रतिउत्तर पत्र ।
४. मिति २०५५।१।१० गतेमा वालो देवी यादवलाई १३९ नं वमोजिम बुझिएको ।
५. शुरु अदालतको आदेशानुसार मिति २०५५।३।१ मा वादीबाट तथा मिति २०५५।३।२९ गतेमा प्रतिवादी धर्मनारायण , २०५५।२।३० गतेमा प्रतिवादी इन्द्रदेव यादवले आफ्नो जिम्माको तायदाती दाखेल गरेको । साथै प्रतिवादी सुखदेव यादवले तायदाती नदिई म्याद समेत गुजारी वसेकोमा वादीले नै निज समेतको तायदाती फाँटवारी २०५५।९।१ मा दिएको ।
६. वादीले झुठ्ठा तायदाती दिएको भनि प्रतिवादी इन्द्रदेव यादवले मिति २०५५।१२।१७।४ मा दिएको उजुरी पत्र ।
७. मिति २०५६।९।२२।५ मा आदेशानुसार वादीबाट नागरिकताको प्रमाण पत्र तथा २०५६।१०।२६ गतेमा विद्यालयको उमेर खुलेको प्रमाण पेश भएको ।
८. ले.व.अपुताली मुद्दाको क्षत्रीकुमारी यादवको उमेर र वारेसनामाको उमेर सम्वन्धमा मिति २०५६।११।२५ मा वादी प्रतिवादीको वयान भएको ।
९. समतोलिया देवीका नाममा रहेको जग्गाका सम्वन्धमा सा.दे.नं. २२०७ को लिखत वदर मुद्दाबाट ठहर हुने नै हुँदा प्रतिवादी सुखदेव र फौदार यादवका नाममा रहेको तायदाती अनुसारका जग्गामा यि फिरादीले २ भागको १ भाग वण्डा पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरु सप्तरी जिल्ला अदालतको मिति २०५६।१२।१४ को फैसला ।
१०. शुरु अदालतको फैसलामा चित्त वुझेन । कि.नं १६७ र १६२ को जग्गा समेत अंश भित्रको हो भन्ने कुरामा विवाद छैन । अंश भित्रको जग्गा वण्डा गर्नु पर्छ । उक्त जग्गा अन्य कुनै किसिमबाट प्राप्त गरेको हो भनी विपक्षीले प्रतिउत्तर पत्रमा देखाउन सकेको छैन । अंशकै जग्गा एक अशियारबाट अर्को अंशियारमा गएतापनि सो जग्गा अंश भित्रकै मान्नु पर्ने हुन्छ । अपुताली मिलापत्रबाट अंशियारको अंश हक विस्थापित हुन सक्दैन । तसर्थ उक्त कि.नं १६७ र १६२ को जग्गामा मेरो अंश हक कायम गरी फैसला गर्नुपर्नेमा सो जग्गामा वादी दावी नपुग्ने ठहर गरी भएको शुरुको फैसला त्यति हदसम्म वदर गरी उक्त जग्गाबाट समेत अंश दिलाई पाउँ भन्ने समेतको वादीको पुनरावेदन पत्र ।
११. वादी दावी अंशवण्डाको १,२,१०,१६ नं वमोजिमको भएकोले उक्त कानून अनुसार वादी हाम्रो अंशियार हुदै होइनन । छोरीलाई कानूनले खास अवस्था पुगेपछि वावु आमाको अंशियारसम्म कायम गरेको हुन्छ । दाजुभाइ भतिजा, भदाहाहरु छोरीको अंशियार हुदैन । प्रत्यक्ष लिखत प्रमाणको विरुद्धमा अंश लाग्ने ठहर गरेको सप्तरी जिल्ला अदालतको निर्णयमा गम्भिर कानूनी त्रुटीपूर्ण हुँदा हामीलाई हराएको हदसम्म वदर गरी पाउँ भन्ने समेत प्रतिवादीहरुको पुनरावेदन पत्र ।
१२. यसमा जनता मा.वि. खुदीवखारी कुपही को मिति २०५६।९।१५ को सिफारिस पत्र तयार गर्दा आधार लिइएको रजिष्टर खाता केछ, भए सो सक्कल रजिष्टर खाता सम्वन्धित विद्यालयबाट झिकाई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालतको मिति २०५८।७।२१ को आदेश ।
१३. यसमा शुरु सप्तरी जिल्ला अदालतको मिति २०५६।५।१५ को आदेशमा उल्लेख भएको सम्वन्धित गा.वि.स.को नावालकको नागरिकताको दर्ता रजिष्ट्रार जिल्ला प्रशासन कार्यालय सप्तरीबाट झिकाई नियमानुसार पेश गर्नु भन्ने समेतको पुनरावेदन अदालतको मिति २०५८।१२।११ को आदेश ।
१४. २ भाग लगाई वादीले १ भाग अंश पाउने ठहर्याएको शुरुको फैसला सो हदसम्म मिलेको नै देखिन आएकाले अन्यथा भन्न मिलेन । कि.नं १६२ र १६७ को जग्गामा अंश दावी नपुग्ने ठहर्याएकोमा सगोलका कुने एक अंशियारको नाममा रहेको अचल सम्पत्ति सवै अशियारको हक लाग्ने सगोलको मान्नु पर्ने भनी प्रमाण ऐन, २०३१ को दफा ६(ग) मा भएको कानूनी व्यवस्था अनुसार पनि वादी र प्रतिवादीहरु दुवै थरको वावुकै पालामा सगोलमा रहदा आएका यी दुई कित्ता जग्गा समेतलाई मानो छुट्टिएपछि निजी सिपकला कौशलबाट आर्जन गरेको सम्पत्ति भन्नको लागि प्रतिवादी पक्षको कुनै प्रमाणले समर्थन गरेको देखिन आएन । यस्तो अवस्थामा अंश हक नलाग्ने ठहर्याएको कि.नं १६२ र १६७ का जग्गामा समेत वादीको अंश हक लाग्ने नै देखिन आयो । यी दुई कित्ता जग्गाको अंशवण्डा नलाग्ने गरेको हदसम्म शुरुको फैसला नमिलेकोले उल्टी भई वादी दावी वमोजिम २ भाग लगाई वादीले १ भाग अंश पाउने ठहर्छ भन्ने पुनरावेदन अदालत राजविराजको मिति २०६०।१।३१ को फैसला ।
१५. पुनरावेदन अदालतको फैसलामा चित्त वुझेन । वादीले आमाको अंश हकको जग्गा दावी गरेको होइन । फिरादमा त्यस्तो कहि पनि छैन । ३५ वर्ष नपुगेकी वादीले ३५ वर्ष पुगेको भनी हामी उपर आफ्नै अंश हक भनी दावी गरेको छ । अंशवण्डाको १६ नं ले ३५ वर्ष नपुगी अंशमा दावी गर्न पाइदैन । वादीले ३५ वर्ष नपुग्दै नालेश गरेकाले फिराद लाग्न सक्ने अवस्थै छैन । नालेश गर्दाको अवस्थामा जुन कानून हुन्छ त्यो कानूनले प्रदान गरेको हक अधिकार उपर मात्र निर्णय गर्नु पर्दछ । मुद्दा पर्दा पर्दैको अवस्थामा संशोधन भएको कानून अघि दायर भएको मुद्दामा आकर्षित हुन सक्दैन । वादीको वावु मरेपछि जग्गा नामसारी गरी हामीले पैतृक सम्पत्ति प्राप्त गरेको होईन । विधिवत जग्गा खरिद विक्रि गरी थैली वुझाई जग्गा राजिनामा पारित गराई लिएको हो । कि.नं १६३ को जग्गाको थैली वुझि पारित गरी दिएकोमा अंशवण्डा लाग्ने ठहर्याएको फैसला मिलेको छैन । कानून वमोजिम फिराद पत्र परी सो मा मिलापत्र भएको विषयलाई अन्यथा भन्न मिल्दैन । मुलुकी ऐन, अशंवण्डाको १६ नं वमोजिम ३५ वर्ष पुगेकी छोरीलाई अंश दिने कानूनी व्यवस्था भएपनि फुपु तथा वहिनीलाई अंश दिनुपर्ने कानूनी व्यवस्था नहुँदा हामीबाट वादीले अंश नपाउने प्रष्ट छ । वादीका बाबु फौदार यादवले आफ्नो जीवनकालमा आफ्ना नाउका सम्पत्ति छोरा नातीलाई विक्रि गरी नीजको नाममा कुनै पैतृक सम्पत्ति समेत नरहेको अवस्थामा वादीले हामीबाट अंश पाउने अवस्था नहुँदा हामीबाट अंश पाउने ठहर्याई भएको पुनरावेदन अदालतको फैसला उल्टी गरी हाम्रो प्रतिउत्तर जिकिर वमोजिम वादीले अंश नपाउने ठहर्याई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको यस अदालत समक्ष पर्न आएको पुनरावेदन ।
१६. नियम वमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितका मिसिल कागजात अध्ययन गरियो । पुनरावेदक प्रतिवादी तर्फका विद्वान अधिवक्ता श्री रामकृष्ण गौतमले वादीका पिताका नाममा कुनै पैतृक सम्पत्ति रहे भएको देखिदैन । वादीले आमाको अंश हकको जग्गा दावी गरेको होईन । फिराद दिंदाका अवस्थामा वादीको उमेर ३५ वर्ष पुरा भएको पनि छैन । अंशवण्डाको १६ नं ले विवाह नभएकी ३५ वर्ष पुरा भएकी छोरीले अंश पाउने व्यवस्था गरेको छ । फिराद दिदाका अवस्थामा जुन कानून विद्यमान छ सोहि कानून वमोजिम फैसला गर्नु पर्छ । पछि संशोधन भएको कानून वमोजिम फैसला गर्न मिल्दैन । अंश पाउने नै भएपनि बाबुको सम्पत्तिमा मात्र अंश पाउने हो । दाजु तथा भदाहाबाट अविवाहित वहिनी तथा फुपुले अंश पाउने कुनै कानूनमा व्यवस्था गरेको छैन । लिखत वदरमा यिनै वादीले दिएको फिरादमा वादी दावी छाडी मिलापत्र समेत गरी सकेको अवस्थामा पछि आएर अंशमा दावी गर्न नपाउने भन्ने प्रष्टै छ । प्रतिवादीहरुका नाउका जग्गा बाबुको मृत्यु पश्चात नामसारी गरी प्राप्त भएको होइन । बाबुको नाममा कुनै सम्पत्ति नै नरहेको अवस्थामा वादीले अंश पाउने अवस्थै नहुँदा अंश पाउने गरी भएको पुनरावेदन अदालतको फैसला उल्टी हुनुपर्छ भनी वहस प्रस्तुत गर्नु भयो ।
१७. विद्वान कानून व्यवसायीले गर्नु भएको वहस समेतलाई विचार गरी पुनरावेदन अदालतबाट भएको फैसला मिलेको छ छैन ? सोहि विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।
१८. निर्णयतर्फ विचार गर्दा मुल पुरुष फौज्दार यादवका २ श्रीमतीहरु भुटिया देवी र गुलवन्ती देवी तथा निजहरुका सन्तानमा छोरा इन्द्र देव तथा छोरीहरु क्षत्रीकुमारी यादवनी र वालोदेवी रहेको भन्ने देखिन्छ । फौज्दार यादव तथा निजका श्रीमतीहरुको मृत्यु भैसकेको भन्ने कुरामा वादी प्रतिवादी दुवै थरीको मुख मिलेको अवस्था छ । वादी क्षत्रीकुमारीको विवाह नभै अविवाहित रहेकोले हामी जिवित २ अंशियार हुँदा २ भागको १ भाग अंश दिलाई पाउँ भनी वादीले दाजु तथा भदाहाका नाममा फिराद दायर गरेको पाइन्छ । प्रतिवादीहरुले वादी हाम्रो अंशियार भित्रको नहुँदा अंश दिनुपर्ने होइन भन्ने जिकिर लिएको देखिन्छ । प्रतिउत्तर एंव पुनरावेदन जिकिर वमोजिम वादी प्रतिवादीहरुको अंशियार नाता भित्रको हो कि होइन भन्ने नै सर्वप्रथम निक्यौल गर्नुपर्ने देखिन आयो । फौज्दार यादवको वादी छोरी तथा छोरा इन्द्रदेव यादव भएको भन्ने कुरामा विवाद छैन । वादीको विवाह नभै अविवाहित रहेको भन्ने देखिंदा फिराद दायर गर्दाका अवस्थामा वहाल रहेको मुलुकी ऐन, अंशवण्डाको १६ नं वमोजिमको शर्त पुरा भएको अवस्थामा अविवाहित छोरी पनि छोरा सरह अंशियार हुने नै देखिन्छ । पिताको मृत्यु भैसकेको अवस्थामा निज पछिको दोश्रो हकदार व्यक्ति यी पुनरावेदक प्रतिवादी इन्द्र देव यादव रहेको अवस्था छ । पिताको नामको पैतृक सम्पत्ति समेत प्रतिवादीहरुकै नाउमा रहेको भन्ने देखिएको र फौज्दार यादवको हक खाने अंशियार वादी तथा प्रतिवादी रहेको देखिंदा वादी प्रतिवादीहरुको अंशियार नाताको होइन भनी मान्न मिलेन।
१९. मुल पुरुष फौज्दार यादवले आफ्नो जिवनकालमै आफ्ना नाउँको पैतृक सम्पत्ति छोरा तथा नातीलाई हक हस्तान्तरण गरी दिएको देखिदा मृत्यु पश्चात निजका नाउमा कुनै पैतृक सम्पत्ति रहेको भन्ने देखिदैन । प्रतिवादीहरुले वादीले अंश नपाउने कुराको जिकिर लिदा हामीहरुका नाउका जग्गाहरु पिता फौज्दार यादवको मृत्यु पश्चात नामसारीबाट प्राप्त नभएको र निजका नाउमा कुनै सम्पत्ति नहुँदा अंश दिनुपर्नै होइन भनी जिकिर लिएको अवस्था छ । वादीका पिता फौज्दार यादवले आफ्नो जीवनकालमै सम्पूर्ण पैतृक सम्पत्ति छोरा तथा नातीलाई हक हस्तान्तरण गरी सकेको देखिंदा निजका नाउमा कुनै सम्पत्ति वाकी रहने र नामसारीबाट प्राप्त हुने कुरै भएन । प्रतिवादीका नाउका जग्गाहरु आफ्नो निजी श्रम सिपबाट आर्जन गरेको भन्ने नदेखिई पैतृक सम्पत्ति नै हक हस्तान्तरण हुदै आएको भन्ने देखिएको र सोही पैतृक सम्पतीबाट नै अंश पाउ भनी वादीले माग गरेको देखिंदा नामसारी बाट प्रतिवादीहरुका नाउमा पैतृक सम्पत्ति आएको होइन भन्ने कारणले मात्र त्यस्तो सम्पत्तिमा वादी अंशियारको अंशवण्डा नलाग्ने भन्ने प्रतिवादी पुनरावेदकको जिकिर पुग्ने देखिदैन । यीनै वादी क्षत्रीकुमारीले बाबु फौज्दार यादवले प्रतिवादीहरुलाई हक छाडी दिएको जग्गाको सम्वन्धमा लिखत वदर मुद्दा दायर गरेकोमा सो मा वादी दावी छाडी २०४३।९।२ मा मिलापत्र गरेको भन्ने देखिन्छ । प्रतिवादीहरुले सो मुद्दामा वादी दावी छाडी मिलापत्र गरी सकेको अवस्थामा अंश प्राप्त गर्न सक्ने होइन भनी लिएको जिकिर तर्फ विचार गर्दा वादीका वावु फौज्दार यादवले आफ्ना नामको सम्पत्ति हक हस्तान्तरण गर्दा अंशियार वाहेकका अन्य व्यक्तिलाई हक हस्तान्तरण गरेको नभई अंशियार मध्येकै व्यक्तिलाई हक हस्तान्तरण गरेकोमा सो मुद्दामा मिलापत्र गरी वादी दावी छाडदैमा पैतृक सम्पत्तिमा भएको वादीको आफ्नो अंश हक समेत छोडेको भन्न मिलेन । पैतृक सम्पत्ति अंशियार मध्येका जुनसुकै व्यक्तिका नाममा भएपनि अंशवण्डा लाग्ने भन्ने सम्वन्धमा यस अदालतबाट विभिन्न मुद्दामा सिद्धान्त समेत प्रतिपादन भैसकेको अवस्था छ । बाबु पछिको घरको मुख्य अशियार दाजुतथा निजका परिवारका नाउँमा भएको सम्पत्तिबाट वादीले अंश पाउँ भनी माग गरेको देखिंदा लिखत वदर मुद्दामा २०४३ सालमा वादी दावी छाडी गरेको मिलापत्रको कारणले मात्र वादीले अंशमा समेत दावी छाडेको भन्ने अवस्था देखिदैन । सो लिखत वदर मुद्दामा भएको मिलापत्रले वादीको अंश पाउने नैसर्गिक अधिकारलाई कुण्ठीत गर्न नसक्ने भएकोले वादीले अंश पाउने होइन भन्ने पुनरावेदन जिकिर तथा विद्वान कानून व्यवसायीको वहससँग समेत सहमत हुन सकिएन ।
२०. फिराद दायर गर्दाका अवस्थामा वहाल रहेको अंशवण्डाको १६ नं मा ३५ वर्ष नपुगेकी छोरीले अंशमा दावा गर्न नपाउने भएको र फिराद गर्दा वादीको उमेर ३५ वर्षको नहुँदा वादीले अश पाउने ठहराएको सुरु तथा पुनरावेदन अदालतको इन्साफ नमिलेकोले उल्टी हुनुपर्छ भन्ने पुनरावेदन जिकिर तथा निज तर्फका कानून व्यवसायीको वहस जिकिर भएकोले त्यस तर्फ विचार गर्दा फिराद दायर गर्नू भन्दा अगाडि जिल्ला प्रशासन कार्यालय सप्तरीबाट लिएको नं. २७६०।८२० को नागरिकताको प्रमाणपत्रमा निजको जन्ममिति २०१८।१।२८ भनी उल्लेख भएको देखिंदा फिराद दायर गर्दाका अवस्थामा वादी ३५ वर्ष नपुगेको भन्ने देखिएन । प्रतिवादीहरुले उमेर सच्याई ३५ वर्ष पुर्याएको भनी जिकिर लिएकोमा आधिकारीक निकायबाट कानून वमोजिम प्राप्त गरेको नागरिकतामा उल्लेखित जन्ममितिलाई प्रस्तुत मुद्दाबाट अन्यथा हो भन्न मिल्ने पनि देखिदैन । मुलुकी ऐनमा एघारौ सशोधन (२०५९।६।१०) हुन अगाडि अंशवण्डाको १६ नं मा छोरीले छोरा सरह अंश प्राप्त गर्नका लागि ३५ वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था भए पनि हालको अबस्थामा छोरीले अंश प्राप्त गर्नको लागि त्यस्तो उमेरको हद शर्त वन्देज नभएको र वादीको वैवाहिक स्थितीमा परिवर्तन भएको भन्ने प्रतिवादीहरुको जिकिर नरहेको अवस्थामा उमेर नपुगेको कारणबाट वादीले अंश नपाउने भन्ने प्रतिवादीहरुको पनरावेदन जिकिर पनि पग्न सक्ने देखिन आउँदैन ।
२१. तसर्थः माथी विवेचना गरिए वमोजिम वादीले प्रतिवादीहरुबाट २ भागको १ भाग अंश पाउने भएकोले तायदाती फाँटवारीमा उल्लेखित सम्पूर्ण सम्पत्तिबाट वादीले प्रतिवादीहरुबाट २ भागको १ भाग अंश छुटयाई लिन पाउने ठहर्याई भएको पुनरावेदन अदालत राजविराजको २०६०।१।३१को फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । प्रतिवादीहरुको पुनरावेदन जिकिर पुग्न सक्तैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.कल्याण श्रेष्ठ
शाखा अधिकृत : नेत्र प्रकाश आचार्य
इति सम्वत २०६३ साल कार्तिक २२ गते रोज ४ शुभम.................