निर्णय नं. ७७६८ - कर्तव्यज्यान

निर्णय नं. ७७६८ ने.का.प. २०६३ अङ्क ९
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री वलराम के.सी
माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह
संवत २०६१ सालको फौ.पु.नं. ––३१६७
फैसला मितिः २०६३।८।८।६
मुद्दाः कर्तव्य ज्यान ।
पुनरावेदक
वादीः महानन्द पौडेल समेतको जाहेरीले श्री ५ को सरकार
विरूद्ध
प्रत्यर्थी
प्रतिवादीः पर्वत जिल्ला, पाङ गा.वि.स. वडा नं. ४ वस्ने कलावती सुवेदी समेत
§ फौजदारी मुद्दाका वादीले पहिलो कुरा अपराधै भयो भएन सो कुरा अपराध भएको भन्ने संकारहित तवरबाट प्रमाणित भएपछि कसै उपर अभियोग लगाई मुद्दा चलाईन्छ भने त्यसरी मुद्दा चलाईएको व्यक्ति उपर संकारहित तवरबाट अभियोग प्रमाणित गर्नु पर्ने ।
§ शंकाको भरमा वा अपराध भएको सुनेको भन्ने Hear Say Evidence को भरमा वा अदालतलाई ग्राह्य नहुने प्रमाणको भरमा मात्र राज्यले कसै उपर अभियोग लगाई मुद्दा चलाउन नहुने ।
§ वारदात प्रतिवादीहरुको संलग्नतामा भएको भन्ने प्रत्यक्ष प्रमाण वा परिस्थितीजन्य वा कुनै अन्य प्रमाण पनि नभएको अवस्थामा मुद्दानै चल्न नसक्ने अवस्थाको प्रतिवादीहरुलाई मुद्दा चलाई पुनरावेदन सुन्ने अदालतबाट समेत सफाई दिए उपर वादी नेपाल सरकारले चित्त बुझाई बस्नु पर्नेमा अझ सँजाय हुनुपर्छ भनी वादीले गरेको पुनरावेदन जिकिर उपर सहमती हुन नसकिने ।
§ फौजदारी मुद्दामा वादी राज्य पक्ष हुने हुनाले राज्यले पुनरावेदन गर्ने अधिकारका सम्वन्धमा हाम्रो कानूनले वादी र प्रतिवादीलाई समान पुनरावेदन गर्ने अधिकार दिएको छ । पुनरावेदन गर्ने अधिकार कानूनले प्रदान गरेको छ भन्दैमा प्रमाण सुन्य मुद्दामा समेत पुनरावेदन गर्ने वर्तमान परिपाटी राज्यले अन्त्य गर्ने तर्फ ध्यान दिनुपर्ने ।
§ पुनरावेदन गरी मुद्दा लम्व्याउने भन्दा कहाँ के किन र कस्तो त्रुटीले गर्दा राज्यले मुद्दा हार्न गयो भन्ने तर्फ सुधार गरेपछि यस अदालत एवं राज्य दुवैको अमुल्य समय खेर नजाने ।
(प्रकरण नं.३३)
§ सजायको माग गरी पुनरावेदन दावी लिएका यी प्रतिवादीहरुलाई अभियोगमा सजाय गर्न तथ्य प्रमाणको अभाव देखिएको र सफाई दिने गरी भएको पुनरावेदन फैसलालाई यस अदालतबाट फौ.पु.नं. ३०७९ को कर्तव्य ज्यान मुद्दामा मिति २०६०।२।१९ मा सदर ठहरी फैसला समेत भैसकेको देखिदा यी प्रतिवादीहरुलाई सफाई दिने गरी भएको पुनरावेदन अदालतको फैसला मिलेकै देखिदा सदर हुने ।
(प्रकरण नं.३४)
पुनरावेदक वादी तर्फबाटः
प्रत्यर्थी प्रतिवादी तर्फबाटः
अवलम्वित नजीरः
फैसला
न्या.वलराम के.सी. : पुनरावेदन अदालत वाग्लुङको मिति २०५९।३।१२ को फैसला उपर वादी श्री ५ को सरकारको तर्फबाट यस अदालतमा पुनरावेदन परी न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ख) बमोजिम यस अदालतको क्षेत्राधिकार भित्रको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य सहित ठहर यस प्रकार छ : –
२. म जाहेरवालाको जेठो छोरा वर्ष १९ को शेषकान्त उपाध्यायको विवाह २ वर्ष अगाडि धाइरिङ माइत भएकी जमुनासँग भएको र उनीहरू बीचको सुमधुर रहेको कुनै किसिमको खटपट थिएन । हालसम्म कुनै सन्तानको जन्म भएको छैन, मिति ०५७।१०।२४ गते छोरा शेषकान्तलाई ज्वरो आई सुतिरहेको र बुहारी जमुना उपाध्याय रेग्मी खानाखाई घरको काम धन्दा सकि सुतेकी र राति १० बजेको समयमा पाङबाट मेरी माइती सासुले कोसेली स्वरुप ल्याई दिएको रोटी भाउजुलाई लगिदे भनि मेरो श्रीमतीले कान्छा छोरालाई पठाउँदा कोठामा चुकुल लगाएको, पटक पटक वोलाउँदा नवोलेपछि माइलो छोराले वत्ति लिएर गई झ्यालबाट हेर्दा जमुना उनि च्यादरले घाटीमा पासो लगाई झुण्डिरहेको देखि भाउजु झुण्डीनु भएको छ भनी हल्ला खल्ला गरेपछि मेरो श्रीमती योगमायाले गई झ्यालबाट पसेर पासो फुकाइ पानी खुवाउँदा पानी ननिलेकी प्राण गई सकेको रहेछ निजले आफै पासो लगाई आत्माहत्या गरेकी हुन् भन्ने जि. पर्वत नाङलिवाङ गा.वि.स. वडा नं. ४ वस्ने वर्ष ४८ का महोदत्त उपाध्याय रेग्मीको पाना २ को जाहेरी दरखास्त ।
३. यसमा पूर्व तेर्छो डहर पश्चिम जाहेरवालाकै खेत, उत्तर मणीनाथ उपाध्यायको घर, दक्षिण जाहेरवालाकै वारी, यति ४ किल्ला भित्र जाहेरवालाको घरको माथि पश्चिम पट्टिको वार्दलिकोठा सो कोठा भित्र खाटमा उत्तानो अवस्थामा राखिएको मृतक जमुना उपाध्यायको लास भन्ने समेत व्यहोराको घटनास्थल मुचुल्का ।
४. सो कोठा भित्र खाटमा पूर्व दक्षिण टाउको उत्तर पश्चिम गोडा रहेको मृतक जमुनाको लास दुवै आखा बन्द दुवै कान सुख्खा, दुवै नाकको प्वालबाट तरलपदार्थ निस्केको घाँटीमा कहिँ कतै झुण्डिएको चिन्ह नदेखिएको दुवै हात अर्ध खुम्चिई पेटमाथि रहेको दुवै खुट्टा उत्तर पश्चिमतर्फ फर्केका मृतकले लगाएको सम्पूर्ण कपडाहरु खोली ओल्टाई पल्टाई हेर्दा मृतकका वायाँ पट्टिका गाला सुनिएका जस्तो देखिएको, चिउडोमा सानो काटेको खत रगत सुकेको अवस्थामा रहेको दाहिने हातको चुरा फुटि भुइमा खसेको सोही दायाँ हातको चुराले नाडिमा काटेको रगत सुनेको अवस्थामा रहेको गुद्वारबाट दिसा निस्केको मुत्रद्धारबाट केही ननिस्केको, झुण्डिएको भनिउको वलो देखि भुई सम्मको उचाई ५ फिट २ इन्च रहेको भन्ने घटनास्थल विवरण ।
५. घाँटि थिचिई स्वास प्रश्वास वन्द हुन गएको कारणबाट मृत्यु भएको भन्ने मिति ०५७।१०।१५ गतेको जिल्ला स्वास्थ्य कार्यालय वाग्लुङबाट प्राप्त भएको लास पोष्टमार्टम रिपोर्ट ।
६. मेरी वहिनी वर्ष १९ की जमुनालाई मिति ०५५।११।१७ गते शेषकान्त रेग्मी उपाध्यासँग परम्परा अनुसार विवाह गरी दिएकोमा विवाह पश्चात मेरी वहिनीलाई सासुले तेरा माइतिले सासु ज्वाई समेतलाई सिक्रि दिनुपर्ने दिएनन र अन्य दाइजो कम भयो भन्ने विषयलाई लिई वहिनीलाई दुःख दिने गर्दथे र वहिनी माइतमा आउँदा घरमा जान नमान्ने गर्दथिन् । मैले सम्झाई बुझाई घरमा पुर्याई दिने गर्दथे । मिति ०५७।१०।२५ गतेका दिन दिउँसो मेरो घरमा ऐ. २८ गते हुने स्वस्थानी सांगेको निम्तो दिन वहिनीको घर तर्फ जाँदै गर्दा बाटोमा नै वहिनीको हत्या गरे भन्ने सुने सो दिन घटनास्थलमा पुगी वेलुका नाङलिवाङ ७ स्थित ससुराली गई वास वसियो घटना सम्वन्धमा सोधपुछ गर्दा सो दिन वहिनीको सासुकी आमा पाङ गा.वि.स. ४ निवासी यमुना सुवेदीको आमा सोही साँझ वहिनीको घरमा आई ज्वाई शेषकान्तको विवाह गरी दिने केटीको खोजी गरी विवाह गर्ने सल्लाह गर्ने सिलसिलामा पहिला मेरी वहिनीलाई नपन्छाई विवाह गर्ने धौं हुने भएकोबाट वहिनीको ससुरा महोदत्त, साहिलो छोरा र कान्छो छोरा समेतको मद्दत र सल्लाहा लिई हत्या गरी मायतिलाइ समेत खवर नगरी लास दवाउने काम समेत गर्न खोजेको भन्ने बुझिएको भन्ने समेत व्यहोराको जिल्ला पर्वत धाइरिङ गा.वि.स. वडा नं. ४ वस्ने वर्ष ३४ का महानन्द पौडेलको किटानी जाहेरी दरखास्त ।
७. मृतक जमुनालाई मैले मिति ०५५।११।७ गते परम्परा अनुसार विवाह गरी ल्याएको हो र हामीहरु विच राम्रो सम्वन्ध थियो । यस्तै क्रममा विवाह पश्चात मेरी आमा योगमाया उपाध्यायले दाइजो कम भएको विषयलाई लिई मेरी श्रीमती जमुनालाई गालि गर्ने रिसाउने गरेको थाहा पाएको थिएँ, निज माइतमा वढी जाने हुँदा माइत जाने क्रममा पनि रिसाउने गाली गर्ने गर्नु हुन्थ्यो मिति ०५७।१०।११ गते देखि म विरामी परी सुतेको थिएँ र निज श्रीमती रजस्वला भएको कारण वाहिर काम धन्दा गर्दथिन् । मिति ०५७।१०।२४ गते रजस्वला अवधिबाट उम्की दिउसो मेलामा गई वेलुका घरमा आई घरको काम धन्दा सकि आफु सत्ने गरेको वार्दलिको कोठामा गई सुतिन, म विरामी परेको र श्रीमती रजस्वला भएकै कारण भुई तलामा नै सुति आएको थिएँ । सो दिन २४ गते पनि भुई तलामानै सुतेको थिएँ रातको अं. १० बजेको समयमा श्रीमती सुतेको कोठामा घुद्रक गरेको आवाज पनि सुनेको थिए उक्त आवाज झण्डै १०।१५ मिनेटसम्म आई रहेको थियो सो समयमा म विरामी परी सुतेको हुनाले श्रीमती सुतेको कोठामा जान सकिन श्रीमतीको मृत्यु आत्माहत्या नभई भन्ने समेत व्यहोराको प्रतिवादी शेषकान्त उपाध्यायको वयान कागज ।
८. मिति ०५७।१०।२४ गते पाङबाट हजुरआमा आउनु भएको थियो । दाई शेषकान्त विरामी परी भूई तलामा सुत्न भएको थियो, आमा र हजुरआमा भुई तलामा कुराकानी गरी वस्नु भएको थियो वुवा पनि वार्दलीको पूर्वतर्फको कोठीमा सुत्नु भएको थियो भाउजु आफु सुत्ने कोठामा ९ बजेनै सुति सक्नु भएको थियो । म र भाइ पढदै थियौं । रातको अं. ९.३० बजेको समयमा आमा र हजुर आमा भाउजु सुत्नु भएको कोठा तिर जानु भएको हो केही छिनमा नै भाउजुको कोठामा गएको १०।१५ मिनेट पछि तल्लो तलामा आई आमाले भाउजुलाई रोटी लगिदे भनि कान्छो भाइलाई भनेकीले भाइले रोटी लिई भाउजु सुत्ने कोठामा लगी भाउजुलाई वोलाउँदा भाउजु नवोलेपछि मैले बत्ति लिई गई झयालबाट हेर्दा भाउजु खाटको तलपट्टि मुन्तिर मृत अवस्थामा लडी रहनु भएको देखें । त्यसपछि आमालाई समेत वोलाई आमाले भाउजुलाई पानी खुवाउँदा पनि नील्नु भएन । उहाँको मृत्यु भैसकेको रहेछ । म ढोका खोली पसी हेर्दा कोठाको माथि वलोमा पासो लगाइएको देखेको हुँ । यसरी आमा र हजुरआमा भाउजु सुतेको कोठिमा गई १०।१५ मिनेट पछि तल झर्नु, कोठिमा घद्राक घुद्रुक आवाज आउनु, तल्लो तलामा आउने वित्तिकै भाइलाई भाउजुलाई रोटी लगिदे भनि आमाले भन्नु, भाई तथा म समेत कोठिमा जाँदा भाउजुको मृत्यु भएको हुनु यसमा मेरो आमा र हजुर आमाले कर्तव्य गरी भाउजुलाई मारेकोमा विश्वास लाग्छ भन्ने प्रतिवादी थगराज उपाध्याय रेग्मीको वयान कागज ।
९. मृतक जमुना रेग्मीको मानसिक अवस्था राम्रो भएको निसँग गाउँ घरमा कोही कसैसँग पूर्वरिसइवी भए नभएको मलाई थाहा भएन । घरमा मृतकको सासुले विवाहपछि दाइजोको विषयलाई लिई जमुनालाई गाली गर्ने रिसाउने झै झगडा गर्ने मावली हजुर आमा कलावती सुवेदीले समेत मेरो घरमा आई दाइजो दिएनन् भन्ने विषयलाई लिई कल झगडा गर्दथिन, घरमा वस्न सक्दिन भनि घरबाट माइत जाँदा रुदै म घरमा जान्न भन्दथिन् । सोही दाइजोको विषयलाई लिई जाहेरीमा उल्लेखित प्रतिवादीहरुले कर्तव्य गरी मारेकोमा पूर्ण विस्वास लाग्छ भन्ने व्यहोराको रामप्रसाद पौडेलको कागज ।
१०. जमुनाले माइतमा आउँदा घरमा दाइजोको विषयलाई लिई मलाई बिभिन्न गाली गलोज गर्दछन मलाई घरमा बस्न साह्रै गारो भयो भन्ने निज मृतकबाट थाहा पाएको हुँदा र मिति ०५७।१०।२४ गते निज जमुनाको मृत्यु भएको हुँदा सोही दाइजोको विषयलाई लिई कर्तव्य गरी मारेकोमा विश्वास लाग्छ निजले आत्माहत्या गर्नुपर्ने कारण केही थिएन, निजको मानसिक अवस्था ठिक थियो भन्ने समेत व्यहोराको चित्रवहादुर के.सी को कागज ।
११. मिति ०५७।१०।२४ गते राति १० बजेको समयमा मेरो घरमा स्वास्थानी पढि म वाहिर घर पछाडि पिसाव फेर्न जाँदा जमुनाको घरमा निजकै सासु योगमायाले जमुना उपाध्यायलाई तईले हामीहरुलाई ज्यान मारा पार्ने झुण्डिएकी होस यस्तो काम पनि गर्ने हो भन्दा सुनि म घर भित्र गर्य मेरा श्रीमानसँग सो कुरा वताएपछि मेरा श्रीमानले जान तँ के रहेछ भनेको हुँदा म त्यहाँ जाँदा सो घरको माथि वार्दलीमा गई हेर्दा जमुना खटमुनि बसाए जस्तो अवस्थामा निजको सासु योगमायाले आफ्नो खुट्टामा अडाई हातले समाएकी थिइन । मैले हातमा वत्ति लिई टाउको उठाउ जमुना भन्दा टाउको नउठाएको हुँदा निज योगमायाले टाउको मुख खुल्ला रहेको अवस्थामा देखियो । पानी खुवाउँदा पानी ननिलेको हुँदा के भएको भनि भाइले सोधपुछ गर्दा पासो लगाई झुण्डि मरीछ । सो अवस्था देखि मैले माया लागि पासो फुकाई दिएकी हुँ भनेकी हुन पासो लगाएको ठाउँ कहाँको डोरी खोइ भनी सोधपुछ गर्दा खाटमाथि रहेको च्यादर देखाएकी हुन । घटनास्थल हेर्दा र झुण्डिएको भनेको ठाउँ हेर्दा झुण्डि आत्माहत्या गरे जस्तो लाग्दैन । कर्तव्य हो वा आत्माहत्या म एकिन भन्न सक्दीन सो समयमा सो कोठा भित्र योगमाया, कलावती सुवेदी थगराज उपाध्याय थिए भन्ने समेत व्यहोराको राधिका खत्रीको कागज ।
१२. मिति ०५७।१०।२४ गते म पाङ ४ घरबाट छोरी ज्वाईको घरमा गएकी हुँ, साना नातीहरु पढदै थिए ठूला नाती शेषकान्त विरामी भएको हुँदा सुति सकेको थिए म र छोरी भुई तलामा सुति वातचित गर्दा गदै निधाएछु । रातको अं. १० बजेको समयमा वुहारी मृत अवस्थामा भएको कुरा माइलो नातिले भनि थाहा पाएको हुँ । म पहिला वुहारी सुतेको कोठामा गएकी होइन सो खवर पाएपछि गएकी हुँ । निजको के कसरी मृत्यु भयो मलाई थाहा भएन भन्ने समेत व्यहोराको प्रतिवादी कलावती सुवेदीको वयान कागज ।
१३. मिति ०५७।१०।२४ गते जमुना उपाध्यायको मृत्यु भएछ मैले २५ गते विहान गाउँ घरमा हल्ला चलेपछि थाहा पाएको हुँ निजको मानसिक अवस्था राम्रो थियो, गाउँ घरमा कोही कसैसँग झै झगडा भएको थाहा भएन निजले आफै झुण्डि आत्माहत्या गरेकोमा विश्वास लाग्दैन कोही कसैको कर्तव्यबाट मृत्यु भएकोमा शंका लाग्छ भन्ने व्यहोराको गिता रेग्मीको कागज ।
१४. मिति ०५७।१०।२४ गते म घरमा नै थिए, सो दिन मैले सो घटना थाहा पाइन २५ गते विहान मात्रै गाउँ घरमा हो हल्ला भएपछि थाहा पाएकी हुँ मृतकको घर र मेरो घर आधा घण्टाको फरकमा पर्ने र निज र म जंगल घाँस दाउरा गर्ने जाँदा सँगै जाने हुँदा निजले म सँग मेरा घरमा मलाई गालि गर्दछन् झगडा भएको थाहा भएन निजको मानसिक अवस्था ठिक थियो निजको मृत्यु निजकै घरपरिवारको कर्तव्यबाट भएकोमा विश्वास लाग्छ भन्ने कोपिला रेग्मीको कागज ।
१५. मिति ०५७।१०।२४ गते मैले सो घटनाको सम्वन्धमा थाहा पाइन पछि २६ गते मृतकको दाजुले भनेपछि थाहा पाउको हुँ जमुना माइतमा जाँदा घरमा जान कठिन गर्दथिन कारण के हो थाहा भएन गाउँ घरमा कोही कसैसँग झै झगडा भएको मलाई थाहा भएन निज माइतमा आउँदा घरमा जान नमान्नुको कारण निजको आत्महत्या नभई कर्तव्यबाट हुन सक्ने शंका लाग्छ को कसको कर्तव्यबाट निजको मृत्यु भएको हो मलाई थाहा भए भन्ने समेत व्यहोराको हिमलाल रिजालको कागज ।
१६. मिति ०५७।१०।२४ गते म घरमा नै वसे, मेरी वुहारी जमुना रेग्मी गाउँमा काममा गइन वेलुका साँझ कामबाट आई खाना खाई निज आफ्नो कोठामा सुत्न गईन छोरा शेषकान्त रेग्मी विरामी भएको हुँदा तल्लो तलामा सुत्यो निज उपल्लो तलाको कोठामा सुत्न गईन सोही दिन पाङबाट मेरी आमा कलावती सुवेदी आएकी थिइन । निजले घरबाट पाउरोटी लिएर आएकी थिइन । राति अं. १० बजेको समयमा रोटी भाउजुलाई लगीदे भनी कान्छो छोरा पठाएकोमा भाउजु भनी वोलाउँदा नवोलेको हुँदा छोरा कान्छो तल आयो र माइलो छोरा थगराजलाई लिइृ हेर्न पठाउँदा निज भाउजु जमुना रेग्मीलाई झुण्डि रहेको अवस्थामा देखि मलाई वोलाई म घटनास्थलमा गई श्वास छ कि भनि घाँटीमा वाँधेको पछ्यौरा फुकाएकी हुँ मैले कर्तव्य गरी मारेको होइन के कति कारणबाट मेरो नाममा किटानी जाहेरी दिए सो विषयमा मलाई थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी योगमाया रेग्मीले गरेको वयान कागज ।
१७. मिति ०५७।१०।२४ गते म आफ्नो घरमा नै काम गरी वसी रहेकी थिएँ । वेलुका खाना खाई सुतें, राति अं. १०, १५ बजेको समयमा वाहिरबाट गोपाल गोपाल भनेको आवाज सुनी के हो ? किन वोलाएको भनि सोधपुछ गर्दा थगराजले तल आउनुहोस् काम छ भनी भनेको हुँदा के काम हो, पहिला भन अनि मात्र आउछु भनी मैले भने त्यसपछि निजले भाउजु जमुना रेग्मी घरमा झुण्डिएको कुरा सुनाएपछि तत्काल उठी कपडा लगाई घटनास्थलतर्फ आउँदै गर्दा धर्मराज के.सी को घर पनि बाटोमा नै पर्ने हुँदा निजलाई उठाउन लगाई म धर्मराज के.सी हामी दुवै जना भई घटनास्थलमा गएको हो हामी पुग्दा मृत्यु लासलाई खाटमाथि सुताइएको थियो । त्यसपछि घटनास्थललाइ सुरक्षित राखी गाउँ घरका मानिसहरु तथा भद्र भलादवीहरुलाई खवर गरेको हो पछि भोली पल्ट विहान प्रहरीमा खवर गरेको हो निज मृतकको मानसिक अवस्था ठिक थियो मृतक जमुनाको कोही सँग पूर्वरिसइवी झगडा केही थिएन जाहेरीमा उल्लेखित प्रतिवादीहरुले कर्तव्य गरी मारेकोमा हामीहरुलाई पूर्ण विश्वास लाग्छ भन्ने एकै मिलान व्यहोराको गोपाल रेग्मी धर्मराज के.सी र मणीनाथ उपाध्यायले गरेको एकै मिलान व्यहोराको कागज ।
१८. वहिनी जमुनालाई विवाह पश्चात दाइजोको विषयलाई लिई निजकी सासु योगमाया रेग्मीले हेर्दा होचो गर्ने गरेको कुरा वहिनीले माइतमा आउँदा वेला बखतमा भन्ने गरेकोमा ०५७।१०२४ गते राती वहिनी आफनै कोठामा मस्त सुतीरहेको अवस्थामा घाँटी अँठ्याई योगमाया समेतले मारेकोमा विश्वास लाग्छ भन्ने जाहेरी भएकोमा घाँटीमा झुण्डी मरेको कुनै चिन्हहरु नभएको, चिउँडोमा सानो काटेको खत रहेको गुद्वारबाट दिशा निस्केको साथै मृतकको मृत्युको कारण निस्सासियर भएको र घाँटीमा पासोको चिन्ह नभएको वायाँ पट्टि घाटीमा रगत जम्नुको साथै सुनिएको भन्ने व्यहोराको लास जाँच प्रतिवेदन व्यहोराबाट खुल्न आएको प्र. योगमायाले आफुले कसूर गरेकोमा पूर्ण इन्काररही वयान गरेता पनि मृतक भन्दा अगाडि मृतकको कोठामा आमा कलावती सुवेदीलाई साथमा लिई गएको लगतै गद्रक गुद्रकको आवाज आएको र तत्पश्चात रोटी लगीदे भने मुताविक कान्छो छोराले रोटी लिई गई वोलाउँदा नवोलेको माइलो छोरा वत्तीलीई जाँदा मृत अवस्थामा जमुनालाई खात नेर देख्न रातको समयमा आफु निद्रामा हुँदा म माथि मिति सुतेको कोठामा घद्राक घुद्रुक आवाज आएको र त्यसपछि श्रीमती मरेको हुँदा र माइत जाने एवं दाइजो सम्वन्धी विषयमा पनि आमाले श्रीमतीलाई वेलावेलामा गाली गर्ने गरेको हुँदा आमा समेत भै श्रीमती जमुनालाई मारेकोमा विश्वास लाग्छ भनी वयान क्रममा प्र. शेषकान्तले व्यक्त गरेको, मौकामा घटनास्थलमा पुगेकी राधीका खत्रीले पासोमा झुण्डिएको भनी योगमायाले भनेता पनि कोठामा पासो थिएन आत्माहत्या गरि मरेकोमा विश्वास लाग्दैन भनि निजले गरेको कागजबाट आफूले झुण्डिएको अवस्थामा देखेको हुँ भन्ने प्र. योगमायाको वयान खण्डीत हुन पुगेको देखिनु मौकामा बुझिएका गिता रेग्मी समेतका व्यक्तिहरुले गरेको कागज एवं वस्तुस्थिति मुचुल्का समेतका अधार प्रमाणबाट जमुना रेग्मीलाई निज सुती निदाएको अवस्थामा अभियुक्त योगमाया रेग्मीले घाँटी अँठ्यार्ई कर्तव्य गरी मारेको स्पष्ट रुपमा पुष्टि हुन आएकोले निजलाई मुलुकी ऐन ज्यान सम्वन्धी महलको १३(३) विपरीतको कसूरमा सोही महलको १३(३) नं. बमोजिम सजाय हुन मागदावी लिइएको अर्का प्रतिवादी शेषकान्त रेग्मीको हकमा निजले समेत मारेको भनि जाहेरीमा किटान भएता पनि निज सो दिन भन्दा पहिलादेखि नै विरामी परि तल्लो तलामा सुतेको भन्ने निजको वयान लगायत अन्य प्र. वादीहरुको वयानबाट र शुरु जाहेरी कथनबाट पुष्टि हुन आएको मृतकलाई मार्नमा आफनो कुनै संलग्नता नरहेको भनी वयानमा भन्ने तापनि रातको समयमा श्रीमती सुतेको कोठामा घद्राक घुद्रुकको आवाज आउँदा पनि नकराई नवोली राख्नुले निजले पनि उक्त वारदातमा मौन सहमती रही मतलवी देखिन आएकोले निजलाई सोही महलको १७(३) को कसूरमा सोही १७(३) नं. बमोजिम सजाय हुन माग दावी लिइएको छ । त्यस्तै अर्का प्रतिवादी कलावती सुवेदीले आफु कसूर गरेकोमा पूर्णत इन्काररही वयान गरेतापनि प्र.थगराज रेग्मीले वयान गर्दा मृतक मर्नु भन्दा पूर्व आमाका साथमा हजुरआमा पनि जानु भएको थियो भनी पोल गरेको देखिएको र निज प्र. कलावती सुवेदीको शारीरिक अवस्था एवं उमेरका हिसावले मृतकलाई मार्ने कार्यमा जिउमा हात हालेको भन्ने नदेखिएता पनि मृतकलाई भाग्न उम्कन नपाउने ध्येयले कोठा भित्र गर्य घटनास्थलमा मौजुद रही मार्ने कार्यमा संयोग पारी दिएको देखिदा निज कलावती सुवेदी उपर ऐ थगराज रेग्मी मृतक मर्नु भन्दा पूर्व आमा समेत मृतकको कोठामा गउको कुरा निजलाई थाहा भएको । उक्त कोठामा घद्राक घुद्रुक गरेपछि आमा र भाई थगराजको आवाज आएको सुनी थाहा पाएको भनी प्र. शेषकान्तले वयानका क्रममा व्यक्त गरेको देखिन आएबाट मृतकलाई मार्दाका बखत निज मृतक भाग्न उम्कन नपाउने गरी प्र. थगराज रेग्मीले मार्ने कार्यमा सहयोग पुर्याएको देखिएको र निज प्र. थगराज रेग्मीको उमेर केवल १४ वर्ष मात्र पुगेको देखिदा निज उपर मु. ऐन ज्यान सम्वन्धी महलको १७(२) को कसूरमा निजको उमेर अनुसार वालवालिका सम्वन्धी ऐ ऐन २०४८ को दफा ११(३) नं. बमोजिम सजाय हुन मागदावी लिइएको अभियोगपत्र ।
१९. २०५७।१०।२४ गते साँझा छोरी भेटन छोरीको घर नाङलिवाङ पुगेकी थिएँ । मृतक जमुना नातीनी वुहारी हुन उक्त दिन जमुनाको कसरी मृत्यु भयो मलाई केही थाहा भएन उनको मृत्यु कति बजे भयो मलाई थाहा मैले मारेको रर मार्नेमा सहयोग समेत गरेको होइन भन्ने समेत अभियुक्त कलावती सुवेदीले अदालतमा गरेको बयान ।
२०. ०५७।१०।२४ गते म विरामी परेको कारण घरमै सुतिरहेको थिएँ । घटना करिव १० बजेतिर घटेछ खल्ल वल्ल गरेपछि मैले थाहा पाएँ, म माथी जान नसकेकोले माथि गईन । श्रीमती र मेरो विवचमा राम्रो सम्वन्ध थियो । श्रीमतीको मानसिक अवस्था ठिक थियो । जमुना झुण्डिएकी रहिछ भनी अरुले भन्दा सुनेको हुँ मारेकोमा कसैमाथि शंका लाग्दैन भन्ने समेत अभियुक्त शेषकान्त रेगमीले अदालतमा गरेको वयान ।
२१. ०५७।१०।२४ गते राती १० बजे भाउजु जमुना गम्छाको पासो लगाई आत्माहत्या गरी मरेको हुन पासो लगाउँदा र मर्दा कुनै आवाज मैले सुनिन सवै परिवार सँग सम्वन्ध राम्रो थियो, भाइले मामा काहाँ कि हजर आमाले ल्याएको रोटी लिई गई भाउजुलाई वोलाउँदा नवोलेकोले गै हेर्दा कोठामा पासो लगाई झुण्डिरहेको अवस्थामा देखेको र आमाले पानी ल्याई खुवाउँदा नखान भएकोले मैले जेठा वुवालाई वोलाए जेठा वुवाले नाडी छाम्दा परान छैन भने र मृत्यु भउको थाहा भयो । भाउजुको कोठामा चुकुल लगाएको थिएन भाउजु जमुना आत्माहत्या गरी मारेको हुन् भन्ने समेत अभियुक्त थगराज रेग्मीले अदालतमा गरेको वयान ।
२२. ०५७।१०।२४ वेलुका म आफ्नै घरको तल्लो तलामा सुतेकी थिएँ, वुहारी जमुना माथी तलामा सुत्न गएकी थिइन । उनी नछुने भएकी थिइन ठूलो छोरा शेषकान्त जरो आई विरामी भएकोले तल्लो कोठामा सुतेको थियो माहिलो र कान्छो पढदै थिए । माथी कोठामा खात र दराज एकै ठाउँमा भएकोले वर्जने गर्दथ्यो । सो दिन ठूलो आवाज आएको ले माहिलो छोरालाई किन ठूलो आवाज आयो भनी वोलाउन लगाए । भाउजु भनि निजले वोलाउँदा जमुना नवोले पछि ढोका भित्रबाट लगाएको हुँदा थगराज झयालबाट पसी टुकी वाली हेर्दा जमुनाले पासो लगाई मरेको देखि डराई मलाई वोलायो र मसमेत गै पासो फुकाई उनलाई मैले धान्न नसकी भुईमा लडिन चुराले हात दराजमा ठोकिइ गालामा चोट लाग्यो । प्राण छ जस्तो लागेकोले पानी खुवाएँ एक छिन पछि प्राण गयो मैले कर्तव्य गरी मारेकी होइन भन्ने समेत व्यहोराको अभियुक्त योगमाया रेग्मीले अदालतमा गरेको बयान ।
२३. आदेशानुसार बुझिएका जाहेरवाला महानन्द पौडेल, मौकामा कागज गर्ने गिता रेग्मी, चित्रवहादुर के.सी, कोपिला रेग्मी, रामप्रसाद पौडेल, राधिका खत्री, तथा मृतक जमुना रेग्मीको पोष्टमार्टमा राय व्यक्त गर्ने वाग्लुङ जिल्ला अस्पतालका डा. तेजराज जोशीले गर्नुभएको बकपत्र र प्रतिवादीका साक्षी योगेन्द्रवहादुर रेग्मी, राधीका खत्री, प्रेमकुमारी रेग्मी, तेजवहादुर खत्री, लक्ष्मीप्रसाद शर्मा, ऋषिराम पाध्या समेतले वकेको बकपत्र मिसिल संलग्न रहेछ ।
२४. अदालतका आदेशानुसार प्रतिवादी मध्येकी योगमाया रेग्मीको ०५८।८।१९।३ मा अंश रोक्का मुचुल्का भै मिसिल संलग्न रहेछ ।
२५. अदालतको च.नं. ७१२ मिति ०५८।८।२१ को पत्रले प्रतिवादी योगमाया रेग्मीको अंश रोक्का राखी जानकारी दिनु हुन भनि मालपोत कार्यालय पर्वतमा पत्राचार भई मालपोत कार्यालय पर्वतको च.नं. ४१८ मिति ०५८।८।२२ को पत्रले रोक्का राखिएको जानकारी प्राप्त भई मिसिल संलग्न रहेको रहेछ ।
२६. प्रतिवादी योगमाया रेग्मीले ज्यान सम्वन्धी महलको १ नं. को वर्खिलाप गरी घाँटी तथा नाक मुख समेत थिची कर्तव्य गरी जमुना रेग्मीको ज्यान मारेको ठहर्छ । सजायको हकमा ज्यान सम्वन्धी महलको १३(३) नं. बमोजिमको सजाय यि प्रतिवादीलाई हुन्छ । ज्यान सम्वन्धी महलको १७(२) नं. बमोजिमको सजायको मागदावी लिएका प्रतिवादी थगराज रेग्मी तथा कलावती सुवेदी १४ वर्षका नावालक तथा ७६ वर्षकी वृद्धाले अभियोग दावी बमोजिम मृतक जमुनालाई मार्ने कार्यमा प्र. योगमाया रेग्मीलाई सहयोग पुर्याएको भन्ने वादी पक्षको अभियोग दावी ठोस प्रमाणले पुष्टि भएको नदेखिदा अभियोग दावी पुग्न नसकी प्रतिवादी कलावती सुवेदी तथा थगराज रेग्मीले आरोपित कसूरबाट सफाई पाउने ठहर्छ । ज्यान सम्वन्धी महलको १७(३) नं. बमोजिम सजाय मागदावी लिएको प्रतिवादी शेषकान्त रेग्मीलाई केवल ज्यान मरेको थाहा थियो भन्ने अनुमानको भरले सजाय गर्न नमिल्ने देखिदा निज उपरको अभियोग दावी समेत पुग्न सक्दैन । आरोपित कसूरबाट प्रतिवादी शेषकान्त रेग्मीले समेत सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरु पर्वत जिल्ला अदालतको मिति ०५८।९।१२ को फैसला ।
२७. लाश प्रकृति मुचुल्कालाई पूर्णतया वेवास्ता गरी शव परीक्षण प्रतिवेदनमा लेखिएको कारण र शव परीक्षण प्रतिवेदन दिने चिकित्सकले अदालत समक्ष अन्दाजका भरमा दिएको वयानलाई आधार लिई उल्लेख गरेको झुण्डिएको लक्षण, पोष्टमार्टम रिपोर्ट, मैले अदालत समक्ष गरेको इन्कारी वयान र मेरा साक्षीले किटानीसाथ मलाई सफाई दिई गरेको बकपत्र र प्रमाण ऐन २०३१ को दफा ९ को समेत वेवास्ता गरी मलाई ज्यान सम्वन्धी महलको १३(३) बमामेजिम सजाय गर्ने गरी भएको फैसला प्रमाण ऐन २०३१ को दफा ५४ र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतको आधारमा वदर भागी हुँदा शुरु जिल्ला अदालतबाट मिति ०५८।९।१२ मा मलाई कसूरदार ठहर्याईएको फैसला उल्टी गरी पूर्णतया मलाई अभियोग दावीबाट सफाई दिलाई पाउँ भन्ने समेत व्यहोराको पुनरावेदक प्रतिवादी योगमाया रेग्मीको पुनरावेदन अदालत वाग्लुङमा परेको पुनरावेदन जिकिर ।
२८. मृतकको शरीरमा देखिएका विभिन्न घा खत चिन्ह समेतले पनि मृतकको प्राण लिने कार्य सम्पन्न गर्दा प्र. योगमाया र मृतकको बीचमा छ शारीरिक संघर्ष भएको कुरालाई पुष्टी गर्दछ । शारीरिक बलमा प्र. योगमाया समान रहन सक्ने उमेरकी मृतकलाई मार्ने कार्य सम्पन्न गर्न पूर्ण मनसाय र तयारीका साथ गएकी योगमायाबाट मृतक भाग्न उम्कन संघर्ष रहनु स्वाभाविककै हुने र त्यसरी भाग्न उम्कन नदिन प्र. कलावती र प्र. थगराजको मद्दत प्र. योगमायालाई आवश्यक रहेकोले छेक्ने ढोका थुन्ने कार्य प्र. कलावती र थगराजले गरेका हुन भन्ने कुरा मिसिल संलग्न तथयगत र परिस्थितीजन्य प्रमाणले पुष्टि गरी रहेकै अवस्थामा निजहरुलाई पूर्णत सफाई दिइएको र प्र. शेषकान्त वीरामीका कारण तल्लो तलामा सुतेको तथ्य प्रमाणहरु देखिए पनि आफ्नी श्रीमती सुतेको कोठामा रातको समयमा गद्राक गुद्रुक आवाज निरन्तर १०।१५ मिनेट सम्म आई रहेको थाहा पाइकन पनि निजले कुनै प्रतिक्रिया नजनाई हार गुहार पनि नगरी मौनतापूर्वक वसी मतलवीको भूमिकामा अप्रत्यक्ष रुपमा अपराधमा संलग्न भएको अवस्थामा ज्यान सम्वन्धी महलको १७(३) नं. को कानूनी प्रावधानलाई समष्टीगत रुपमा नहेरी केवल एउटा वाक्यांश र प्रावधानलाई उल्लेख गरी प्रमाण कानून समेतलाई सही र वस्तुनिष्ठ रुपमा मूल्यांकन नगरी भएको शुरु फैसला कानून र न्याय सम्मत नभएको हुँदा सो फैसला वदर गरी अभियोग पत्र बमोजिम कारवाही र सजाय हुन सादर अनुरोध छ भन्ने समेत व्यहोराको पुनरावेदक वादी श्री ५ को सरकारको पुनरावेदन अदालत वाग्लुङमा परेको पुनरावेदन जिकिर ।
२९. यसमा प्र. थगराज र प्र. शेषकान्त उपाध्याय रेग्मी समेतलाई आरोपित कसूर सजायँबाट सफाई दिने गरी र उपरोक्त विवेचित प्रमाणको आधारमा प्र. योगमाया उपाध्याय रेग्मीलाई दावी बमोजिम सर्वस्व सहित जन्मकैद हुने ठहर्याई भएको पर्वत जिल्ला अदालतको उक्त ०५८।९।१२ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने पुनरावेदन अदालत वाग्लुङको मिति २०५९।३।१२ को फैसला ।
३०. मृतक जमुना उपाध्यायलाई प्रतिवादी योगमाया उपाध्यायले कर्तव्य गरी मारेको पुष्टि भएको र उक्त वारदात हुँदाका अवस्थामा प्रतिवादीहरु कलावती सुवेदी, थगराज उपाध्याय र शेषकान्त उपाध्याय समेत उक्त घरमा रहेको र सँगै प्रतिवादी कलवाती सुवेदी पनि मृतकको कोठामा गएको मृतकको कोठाबाट गद्राक गुद्रुकको आवाज आएको प्र. शेषकान्तले सुनेको र उक्त समयमा योगमाया र प्रतिवादी थगराज पनि आमासँग बोलेको सुनेको भनी प्रतिवादी शेषकान्तले गरेको घटना विवरणको प्रस्तुतिले जमुनालाई प्र. योगमायाले कर्तव्य गरी मार्दाका अवस्थामा निजहरु वारदातस्थालमा नै रहेको र सजायबाट वच्न झुण्डिई मरेको भन्ने देखाउन जाहेरी दिएको समेतका भाग्न उम्कन नदिएको पुष्टि हुन्छ । मार्ने कार्यमा सहयोग नपुरयाएको भए ततकाल मृतकलाई वचाउने समेतका कार्य केही गरेको नदेखिएको, अन्य प्रतिवादीहरुले सहयोग नदिएको भए प्रतिवादी योगमायाले मात्र मार्न सक्ने अवस्था नरहेको समेतका आधारबाट प्रतिवादीहरुलाई सफाई दिने गरी भएको शुरु फैसला सदर गरेको पुनरावेदन अदालत वाग्लुङको फैसला सो हदसम्म वदर गरी पुनरावेदनको विरुद्ध प्रतिवादीलाई समेत अभियोग दावी बमोजिम सजाय गरी पाउँ भन्ने वादी श्री ५ को सरकरको तर्फबाट यस अदालतमा परेको पुनरावेदनपत्र ।
३१. नियमबमोजिम दैनिक पेशी सूचीमा चढी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनपत्र सहितको मिसिल अध्ययन गरी हेर्दा पुनरावेदन अदालत वाग्लुङको फैसला मिलेको छ, छैन र पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन भनी निर्णय दिनुपर्ने देखियो ।
३२. निर्णयतर्फ विचार गर्दा, जमुना रेग्मीलाई निज सुती निदाएको अवस्थामा प्रतिवादी सासु योगमाया रेग्मीले घाँटी अठ्याई कर्तव्य गरी मारेको मुलुकी ऐन ज्यान सम्वन्धी महलको १३(३) नं. बमोजिम र प्र. शेषकान्त रेग्मीका हकमा ऐ १७(३) नं. बमोजिम र प्र. कलावती सुवेदीका हकमा ऐ १७(२) नं. बमोजिम र प्र. थगराज रेग्मीलाई ज्यान सम्वन्धी महलको १७(२) को कसूरमा निजको उमेरका आधारमा वालवालिका सम्वन्धी ऐन, २०४८ को दफा ११(३) नं. बमोजिम सजायको माग दावी लिई अभियोगपत्र पेश भएकोमा शुरु पर्वत जिल्ला अदालतबाट प्र. योगमाया रेग्मीलाई अभियोग दावी बमोजिम ज्यान सम्वन्धी महलको १३(३) बमोजिम सजाय गरी अन्य प्रतिवादीहरु थगराज रेग्मी, कलावती सुवेदी तथा शेषकान्त रेग्मी समेतलाई अभियोग दावीबाट सफाई पाउने ठहरी भएको फैसला पुनरावेदन अदालत वाग्लुङबाट मिति २०५९।३।१२ मा सदर भै फैसला भएको देखिन्छ । सो फैसला उपर प्रतिवादी योगमाया रेग्मीको तर्फबाट पुनरावेदन परी यस अदालतबाट २०६०।२।१९ मा फैसला हुँदा निज प्र. योगमाया रेग्मीलाई कसूरदार ठहर्याई सजाय गरेको र अन्य प्रतिवादीहरु शेषकान्त रेग्मी, कलावती सुवेदी र थगराज रेग्मीलाई सफाई दिएको पुनरावेदन अदालत वाग्लुङबाट भएको फैसला मनासिव ठहर्याई फैसला भएको देखिन्छ । तर प्रस्तुत मुद्दामा प्रतिवादीहरु कलावती सुवेदी, शेषकान्त रेग्मी र थगराज रेग्मीलाई समेत सजाय गरी पाउँ भन्ने जिकिर लिई नेपाल सरकारको पुनरावेदन परेको देखिन्छ । मृतक जमुना रेग्मीलाई कर्तव्य गरी मार्नमा योगमाया रेग्मी बाहेकका अन्य कुन कुन प्रतिवादीहरुले कस्तो भूमिका खेलेका हुन भन्ने कुरा मिसिल संलग्न प्रमाणबाट पुष्टि हुन सकेको देखिदैन । प्रतिवादीहरु अधिकार प्राप्त अधिकारी तथा अदालत समेतमा वयान गर्दा आफूले कर्तव्य गरी जमुना रेग्मीलाई मारेकोमा इन्कार रही वयान गरेको र घटना घटीसकेपछि मात्र थाहा पाएको भन्ने देखिन्छ भने शव परीक्षण प्रतिवेदनबाट मृत्युको कारणमा श्वास प्रश्वास अवरुद्ध (Asphyxia death due to suffocation) भन्ने उल्लेख भै धेरै जना प्रतिवादीहरुको संलग्नता भै मृतकलाई मारेको भन्ने कुराको पुष्ट्याई हुन सकेको छैन ।
३३. फौजदारी मुद्दाका वादीले पहिलो कुरा अपराधै भयो भएन ? सो कुरा अपराध भएको भन्ने शंकारहित तवरबाट प्रमाणित भएपछि कसै उपर अभियोग लगाई मुद्दा चलाइन्छ भने त्यसरी मुद्दा चलाइएको व्यक्ति उपर संकारहित तवरबाट अभियोग प्रमाणित गर्नु पर्छ । शंकाको भरमा वा अपराध भएको सुनेको भन्ने Hear say evidence को भरमा वा अदालतलाई ग्राह्य नहुने प्रमाणको भरमा मात्र राज्यले कसै उपर अभियोग लगाई मुद्दा चलाउन पनि हुँदैन । यो फौजदारी न्याय एवं न्यायको मान्य सिद्धान्त समेत हो । प्रमाण ऐन २०३१ को दफा २५ ले वादीलाई कसूर प्रमाणित गर्ने कानूनी कर्तव्य तोकेको छ । दफा २५ को कर्तव्य पूरा गर्ने वादीको कानूनी कर्तव्य हो । सो सम्वन्धमा प्रमाण ऐन २०३१ को दफा ८ मा परिच्छेद ३ बमोजिम साँक्षीले अदालत समक्ष बकेको कुरामात्र प्रमाणमा लिन हुन्छ भनी स्पष्ट कानूनी व्यवस्था गरेको देखिन्छ । प्रतिवादीहरु विरुद्ध प्रत्यक्षदर्शी गवहा भएको देखिदैन । प्रतिवादीहरु वारदात स्थलमा पक्राउ भएको भन्ने पनि देखिदैन । वारदात प्रतिवादीहरुको संलग्नतामा भएको भन्ने प्रत्यक्ष प्रमाण वा परिस्थितीजन्य वा कुनै अन्य प्रमाण पनि नभएको यस्तो अवस्थामा मुद्दानै चल्न नसक्ने अवस्थाको प्रतिवादीहरुलाई मुद्दा चलाई पुनरावेदन सुन्ने अदालतबाट समेत सफाई दिए उपर वादी नेपाल सरकारले चित्त बुझाई बस्नु पर्नेमा अझ सँजाय हुनुपर्छ भनी वादीले गरेको पुनरावेदन जिकिर उपर सहमती हुन सक्ने अवस्था देखिएन । फौजदारी मुद्दामा वादी राज्य पक्ष हुने हुनाले राज्यले पुनरावेदन गर्ने अधिकारका सम्वन्धमा हाम्रो कानूनले वादी र प्रतिवादीलाई समान पुनरावेदन गर्ने अधिकार दिएको छ । तर न्यायपालिका स्वतन्त्र भएको, अपराध अनुसन्धान गर्ने र मुद्दा चलाउने निकाय अलग अलग एवं Professional भएका अन्य कतिपय मुलुकहरुमा त शुरु अदालतबाट प्रमाणको अभावमा अभियुक्तले सफाई पाउने ठहर भए उपर राज्यले पुनरावेदन नै गर्न नपाउने व्यवस्था भएका देशहरु पनि छन् । हामी कहाँ पुनरावेदन गर्ने अधिकार कानूनले प्रदान गरेको छ भन्दैमा प्रमाण सुन्य मुद्दामा समेत पुनरावेदन गर्ने वर्तमान परिपाटी राज्यले अन्त्य गर्ने तर्फ ध्यान दिनुपर्छ । पुनरावेदन गरी मुद्दा लम्व्याउने भन्दा कहाँ के किन र कस्तो त्रुटीले गर्दा राज्यले मुद्दा हार्न गयो भन्ने तर्फ सुधार गरेपछि यस अदालत एवं राज्य दुवैको अमुल्य समय खेर जाँदैन ।
३४. तसर्थः सजायको माग गरी पुनरावेदन दावी लिएका यी प्रतिवादीहरुलाई अभियोगमा सजाय गर्न तथ्य प्रमाणको अभाव देखिएको र सफाई दिने गरी भएको पुनरावेदन फैसलालाई यस अदालतबाट फौ.पु.नं. ३०७९ को कर्तव्य ज्यान मुद्दामा मिति २०६०।२।१९ मा सदर ठहरी फैसला समेत भैसकेको देखिदा यी प्रतिवादीहरुलाई सफाई दिने गरी भएको पुनरावेदन अदालत वाग्लुङको मिति २०५९।३।१२ को फैसला मिलेकै देखिदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनु ।
उक्त रायमा सहमत छु ।
न्या.रामकुमारप्रसाद शाह
इ.अः चुरामन खड्का
संवत २०६३ साल मार्ग ८ गते रोज ६ शुभम् ................