शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७७७९ - नागरिकता किर्ते

भाग: ४८ साल: २०६३ महिना: माघ अंक: १०

निर्णय नं. ७७७९    ने.का.प.२०६३       अङ्क १०

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री वद्रिकुमार वस्नेत

माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ

संवत् २०६० सालको फौ.पु नं. : ३५३४

फैसला मितिः २०६३।३।१८।१

 

मुद्दाःनागरिकता किर्ते ।

 

पुनरावेदक प्रतिवादीः संखुवासभा जिल्ला तामाफोक गा.वि.स.वार्ड नं. ९ वस्ने पदमवहादुर गुरुङ्ग 

विरूद्ध

प्रत्यर्थी वादीः जिल्ला प्रशासन कार्यालय खाँदवारीको पत्रले श्री ५ को सरकार

 

§  आफ्नो साथमा रहेको नागरिकता सच्याएको, किर्ते गरेको पाइन्छ भने त्यो निर्दोषितापुर्ण छ भनी प्रमाणीत गर्ने भार पुनरावेदकको हुने ।

§  विवादित नागरिकता प्रमाणपत्रमा सरकारी अड्डाको नाम लेखिएको अड्डाको छाप लागेको, सरकारी कर्मचारीको छाप र दस्तखत समेत भएको हुँदा सो नगारिकता प्रमाणपत्रलाई सरकारी कागज मान्नु पर्ने देखिन्छ । त्यस्तो सरकारी कागज जुनसुकै तरिकाले किर्ते गर्ने यी प्रतिवादीले कसूर गरेको मान्नु पर्ने र निजलाई कानून बमोजिम सजाय गर्नुपर्ने ।

§  सरकारी कागज किर्ते गर्नेलाई कानूनबमोजिमको सजाय भन्नाले किर्ते कागजको १२ नं. अनुसार सरकारी अड्डाको छाप वा सरकारी काममा सरकारी कर्मचारीको छाप दस्तखत वा सो छाप दस्तखत भएको सरकारी कागज किर्ते गर्नेलाई यसै महलको यस नम्वरले हुने सजायमा एक वर्ष थप कैद हुन्छ भन्ने कानूनी व्यवस्था भए अनुसार प्रतिवादीलाई १ वर्ष कैद थप सजाय गर्नुपर्ने वाध्यात्मक कानूनी व्यवस्थाको आधारमा किर्ते कागजको महलको ९ नं. बमोजिम सजाय गरेपछि ऐ.को १२ नं. बमोजिम १ वर्षको कैद सजाय समेत गर्नुपर्नेमा सो को दावी नपुग्ने भन्ने शुरुको इन्साफ त्यति हदसम्म उल्टी गरी प्रतिवादीलाई किर्ते कागजको १२ नं. बमोजिम १ वर्ष कैद सजाय समेत हुने ठहर्‍याएको पुनरावेदन अदालतको फैसला मिलेकै देखिँदा सदर हुने ।                                               

(प्रकरण नं.२२)

 

पुनरावेदक प्रतिवादी तर्फबाट :

प्रत्यर्थी वादी तर्फबाट :

अवलम्विन नजीरः

 

फैसला

            न्या.वद्रीकुमार वस्नेतः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम पुनरावेदन अदालत धनकुटाको मिति ०५८।११।१३ को फैसला उपर प्रतिवादी तर्फको पुनरावेदनपर्न आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार छ :-

२.    तामाफोक गा.वि.स.वडा नं. ९ वस्ने प्रेमवहादुर गुरुङ्गले राहदानी लिनको लागि पेश गरेको नागरिकताको प्रमाणपत्र सच्याएकोमा शंका लागि कार्यालयको अभिलेख सँग भिडाउदा निजको ना.नं. ९९१।३०७८६ मा नाम पदमवहादुर गुरुङ्ग देखिएको हुँदा निजले आफ्नो नाम किर्ते गरी सच्याएको देखिएकोले आवश्यक कारवाहीको लागि प्रतिवेदन पेश गरेको छु भन्ने समेत व्यहोराको जिल्ला प्रशासन कार्यालय खाँदवारीमा ना.सु. पदमा कार्यरत रामवहादुर श्रेष्ठको  प्रतिवेदन ।

३.    मिति २०५५।७।२० गतेका दिन दिनको १०.३० वजेतिर अभियुक्त प्रेमवहादुर गुरुङ्ग जिल्ला प्रशासन कार्यालयमा आई मैले पहिला पनि दुईपटक राहदानी लिएको थिए । दुवै राहदानी हराए पुनः अर्को राहदानी लिन के गर्नुपर्छ भनी सोध्दा तपाईले पहिला राहदानी लिईसक्नु भएको रहेछ, पहिला लिएको राहदानी हराएकोमा प्रहरीलाई जानकारी गराएको छ छैन ? वारम्वार राहदानीहरु लिने हराउने गरेमा राहादानी पाउन सक्नु हुन्न तपाईले गलत काममा प्रयोग गर्नु भएको छ कि  के थाहा भनि मैले जवाफ दिए पछि निजले राहदानी फाराम पेश गरेछन् । भिडभाड भएको हुँदा मैले थाहा पाइन । पछि पेश गरेको फारमहरु जाँच गर्दा राहदानी फाराम साथ पेश गरेका नागरिकता र सो को प्रतिलिपि हेरी नाम प्रेमवहादुर गुरुङ्ग राहदानीमा भएको हुँदा को हो प्रेमवहादुर भनि सोध्दा म हुँ भनि निज पदमवहादुर आए, नागरिकताको प्रमाणपत्र हेर्दा नाम मेटाएर लेखे जस्तो देखिएकोले र केही समय अगाडि राहदानी निकालेको थिए हरायो भनेको हुँदा निज माथी शंका लागि मैले र ना.सु. रामवहादुर श्रेष्ठले नागरिकताको अभिलेख हेर्दा पदमवहादुर गुरुङ्ग भएको थाहा पाएको हुँदा निजले आफ्नो सक्कली नागरिकतामा आफ्नो पदमवहादुर गुरुङ्ग नामलाई प्रेमवहादुर गुरुङ्ग किर्ते गरी (सच्याई) बनाएको हुँदा ना.सु. रामवहादुर श्रेष्ठले निजले पेश गरेको किर्ते नागरिकता र निज पदमवहादुर गुरुङ्गलाई श्रीमान प्र.जि.अ.ज्यू समक्ष प्रतिवेदन सहित पेश गर्दा आवश्यक कार्वाही गर्ने भनि तोक आदेश भएकोले तोक आदेश साथ निजलाई कार्वाहीका निमित्त पठाइएको हो भन्ने समेत व्यहोराको संखुवासभा जिल्ला प्रशासन कार्यालय खाँदवारीको खरिदार प्रेमचन्द्र श्रेष्ठले अनुसन्धानका सिलसिलामा गरि दिएको कागज ।

४.    मेरो विचारमा निज पदमवहादुर गुरुङ्गको नाम प्रेमवहादुर गुरुङ्ग नभई पदमवहादुर गुरुङ्ग नै हुनु पर्छ, जिल्ला प्रशासन कार्यालयबाट नै नागरिकता लिएको हुँदा निजले के कुन विचारले आफ्नो नाम वदली नागरिकता किर्ते गरे भन्न सक्दीन भन्ने समेत व्यहोराको वस्तुस्थिति मुचुल्काका मानिस जि.प्र.का. खाँदवारीका ना.सु. पदमा कार्यरत तारानाथ दंगालले लेखाई दिएको व्यहोरा ।

५.    पदम हुनु पर्नेमा प्रेम गरेको पाईएकोले र नागरिकता प्रमाणपत्रको नाम समेत मेटी थप गरेको स्पष्ट देखिएकोले निज डिकवहादुरको छोरा पदमवहादुरले आफ्नो सक्कल नागरिकता प्रमाणपत्रमा पदम मेटी प्रेम लेखेकोमा विश्वास लाग्छ भन्ने समेत व्यहोराको वस्तु स्थिति मुचुल्काका मानिस जिल्ला प्रशासन कार्यालय खांदवारीमा मुखिया पदमा कार्यरत खडग विक्रम कटुवालले लेखाई दिएको व्यहोरा ।

६.    निजको सक्कल नागरिकता प्रमाणपत्र हेर्दा प्रेम लेखेका ठाउँमा पहिला केही लेखि मेटाए जस्तो देखिएकोले निजले नागरिकतामा किर्ते गरी नाम सच्याए जस्तो लाग्छ भन्ने समेत व्यहोराको वस्तुस्थिति मुचुल्काका मानिस जिल्ला प्रशासन कार्यालय खांदवारीको पियन पदमा कार्यरत भिमवहादुर रानाले लेखाई दिएको  व्यहोरा ।

७.    निज पदमवहादुर गुरुङ्गले आफ्नो सक्कल नागरिकतामा पदम हटाई प्रेम थपेको हो भन्ने कुरामा पूर्ण विश्वास लाग्छ र अन्य प्रमाणपत्रहरुमा निजको नाम के छ सो थाहा छैन भन्ने समेत व्यहोराको वस्तुस्थिति मुचुल्काका मानिसहरु जिल्ला प्रशासन कार्यालय खांदवारीमा कार्यरत खरिदार श्रीकान्त निरौला र पियन अफनवहादुर मगरले लेखाई दिएको व्यहोरा ।

८.    मैले विदेश जानको लागी २ वटा पासपोर्ट वनाएको लिएकोमा उक्त पासपोर्ट हराएको तथा गाउँ घरमा मलाई प्रेम भन्ने गरेकोले प्रेमवहादुरको नाममा पासपोर्ट वनाई विदेश जानको लागि नागरिकतामा पदम मेटी आफैले प्रेम थपेको हो भन्ने समेत व्यहोराको अधिकार प्राप्त अधिकारी समक्ष अभियुक्त पदमवहादुर गुरुङ्गले गरेको वयान ।

९.    अनुसन्धान कार्यपुरा भई प्राप्त मिसिल अध्ययन गरी हेर्दा जिल्ला प्रशासन कार्यालय खांदवारीका ना.सु. रामवहादुर  श्रेष्ठको प्रतिवेदन जिल्ला प्रशासन कार्यालय खाँदवारीको पत्र, प्र.ना.नी नेत्रवहादुर वरुवालको प्रतिवेदन, नागरिकता प्रमाणपत्र, प्रतिवादी पदमवहादुर गुरुङ्गको वयान, प्रेमचन्द्र श्रेष्ठको कागज वस्तुस्थिति मुचुल्का समेतका सवुद प्रमाणबाट प्रतिवादी पदमवहादुर गुरुङ्गले सरकारी छाप दस्तखत लागेको सरकारी कागज किर्ते गरेको कुरा प्रमाणित हुन आयो । जिल्ला प्रशासन कार्यालय खाँदवारीका खरिदार प्रेम चन्द्र श्रेष्ठले कागज गर्दा मिति २०५५।७।२० गतेका दिन राहदानी लिन पेश गरेको राहदानी फारम र नागरिकताको प्रमाणपत्र हेर्दा नाम मेटाएर लेखिए जस्तो देखिएको र कार्यालयमा रहेको नागरिकताको अभिलेख हेर्दा ना.प्र.प.नं.९९१।९०७८६ जारी मिति २०४१।१०।२५ मा पदमवहादुर गुरुङ्ग उल्लेख भएको राहदानीका लागि पेश गरेको ना.प्र. नं. ९९१।३०७८६ मा प्रेमवहादुर गुरुङ्ग हुँदा आफ्नो पदमवहादुर नामलाई प्रेमवहादुर गुरुङ्ग सच्याएको हो भनि कागज गरी दिएका छन् भने वस्तुस्थिति मुचुल्कामा वस्ने मानिसहरुले पनि पदमवहादुर गुरुङ्गले आफ्नो नागरिकतामा भएको पदम भन्ने शव्द मेटाई किर्ते गरी प्रेम भन्ने शव्द थपेको हो भनि लेखाई दिएका सवुद प्रमाणहरुबाट प्र. पदमवहादुरले जिल्ला प्रशासन कार्यालयबाट आफ्नो नाममा जारी भएको नागरिकता प्रमाणपत्रमा भएको पदम भन्ने शव्द मेटाई सो ठाउँमा प्रेम भन्ने शव्द थपी सरकारी छाप दस्खत भएको सरकारी कागज किर्ते गरी मुलुकी ऐन किर्ते कागजको १२ नं. विपरीत कसूर गरेको हुँदा निज पदमवहादुर गुरुङ्गलाई ऐ. ऐनको ९ र १२ नं. अनुसार सजाय हुन सादर अनुरोध गरिएको छ भन्ने समेत व्यहोराको संखुवासभा जिल्ला सरकारी वकिल कार्यालय चैनपुरको अभियोग पत्र ।

१०.    म पदमवहादुर गुरुङ्गले मेरो नागरिकताको प्रमाणपत्रमा पदम नाम किर्ते गरी प्रेम वनाएको होइन । जिल्ला सरकारी वकिल कार्यालयमा मैले गरेको वयान राजी खुसीले गरेको होइन । डर त्रास देखाई सो वयान भएको सहिछाप गराएका हुन भन्ने समेत व्यहोराको प्रतिवादी पदमवहादुर गुरुङ्गले अदालतमा आई गरेको वयान ।

११.    निज प्रतिवादी पदमवहादुर गुरुङ्गले नै आफ्नो नागरिकताको प्रमाणपत्रमा पदम नाम सच्याई प्रेम वनाएकोमा मलाई शंका लाग्छ भन्ने समेत व्यहोराको वस्तुस्थिति मुचुल्काका श्री कान्त निरौलाको वकपत्र ।

१२.   प्रतिवादी पदमवहादुर गुरुङ्गले आफ्नो नागरिकता आफै सच्याएको हुन् भन्ने कुरामा संका लाग्छ भन्ने समेत व्यहोराको वस्तुस्थिति मुचुल्काका अफनवहादुर मगरले गरेको वकपत्र ।

१३.   मैले सुनेको कुरा लेखाई राजी खुसीबाट लेखाई दिएको हुँ भन्ने समेत व्यहोराको वस्तुस्थिति मुचुल्काका भीमवहादुर रानाको वकपत्र ।

१४.   प्रतिवादी पदमवहादुर गुरुङ्गको किर्ते गरी नागरिकता सच्याएको होइन । २०४८ सालमा निज प्रतिवादी घरमा नभएका समयमा जग्गा नापी हुँदाका अवस्थामा गाउँलेले निजको नागरिकता किर्ते गरी सच्याई दिएको भन्ने सुनि थाहा पाएको हुँ भन्ने समेत व्यहोराको प्रतिवादीका साक्षी निरवहादुर भनेको श्रीवहादुर गुरुङ्गले गरेको वकपत्र ।

१५.   प्रतिवादी पदमवहादुर गुरुङ्गले आफ्नो नागरिकतामा किर्ते गरी सच्याएको होइन जग्गा नापीको अवस्थामा यि प्रतिवादी पदमवहादुर गुरुङ्ग वाहिर गएका थिए र सोही अवस्थामा निजको नागरिकताको खोजी भई नाप गर्दा निजको नागरिकता निकालिएको र गाउँ घरका छर छिमेकीले निजको नागरिकता सच्याई दिएको हुनु पर्छ । गाउँ घरमा प्रेम भनि यि पदमलाई चिन्दछन् र त्यसबाट गाउँलेहरुले यो प्रेम हो पदमवहादुर होइन भनि सच्याई दिएका होलान भन्ने समेत व्यहोराको प्रतिवादीका साक्षी सेवन्त अधिकारीले इमान धर्म सम्झी गरेको वकपत्र ।

१६.    यी प्रतिवादीको नागरिकताको प्रमाणपत्रमा पदमवहादुर गुरुङ्गलाई प्रेमवहादुर गुरुङ्ग भनि पदमको ठाउँमा प्रेम लेखी सच्याइएको भन्ने कुरामा विवाद भएन र सो सच्याएर अरुले पदमलाई प्रेम वनाउनु पर्ने कारण यी प्रतिवादीले उल्लेख गर्न सकेको नदेखिएको समेतका कारणले यी प्रतिवादीले अधिकार प्राप्त अधिकारी समक्ष गरेको साविति वयान निराधार रहेछ भन्न मिल्ने अवस्था नहुँदा र यी प्रतिवादीले मुलुकी ऐन किर्ते कागजको १ र २ नं. बमोजिमको कसूर गरेको देखिएकोले यी प्रतिवादीलाई किर्ते कागजको ९ नं. बमोजिम रु ५०। जरिवाना हुने ठहर्छ । श्री सर्वोच्च अदालत डिभिजन वेन्चबाट राजकुमार क्षेत्री विरूद्ध श्री ५ को सरकार भएको रेडियो लाइसेन्स किर्ते गर्‍यो भन्ने मुद्दामा मिति २०३४।३।२३।५ मा प्रतिपादित रेडियोलाइसेन्स व्यक्ति विशेष सँग रहने कागज देखिएकोले सरकारी अधिकारीबाट प्राप्त भएको भएपनि त्यसलाई सरकारी कागजभन्न नमिल्ने भन्ने नजिर सिद्धान्त समेतका आधारमा किर्ते कागजको १२ नं. बमोजिमको कसूर हुने अवस्था नदेखिएकोले सो १२ नं. को सम्म वादी श्री ५ को सरकारको दावी पुग्न सक्दैन भन्ने समेत व्यहोराको शुरु संखुवासभा जिल्ला अदालतको मिति २०५६।१०।१४।६ को फैसला ।

१७.   अदालतबाट प्रतिवादी पदमवहादुर गुरुङ्गलाई नागरिकताको प्रमाणपत्रमा पदम भन्ने नम मेटाई सोको सट्टामा प्रेमवहादुर गुरुङ्ग थपी सरकारी छाप दस्तखत भएको नेपाल नागरिकताको प्रमाणपत्रको कागजमा किर्ते गरेको कुरामास्वीकार गरी किर्ते कागजको ९ नं.बमोजिम ठहर भएको देखिंदा प्र. पदमवहादुर गुरुङ्गले नेपाल नागरिकताको प्रमाणपत्रमा किर्ते गरेको होइन भन्ने कुरामा कुनै विवाद देखिदैन । रेडियो लाईसेन्स र नागरिकता प्रमाणपत्र लिने प्रकृया अलग अलग भएकोले शुरुले अवलम्वन गरेको नजिर प्रस्तुत मुद्दामा सान्दर्भिक छैन । सम्मानित अदालतबाट स.फौ.पु.नं. ४।८९ को मिति २०५६।५।२९ मा भएको फैसलामा नेपाल नागरिकताको प्रमाणपत्रलाई सरकारी छाप दस्तखत भएको फैसलालाई रुलिङ्ग को रुपमा प्रमाण लगाई शुरु अभियोगदावी बमोजिम सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको तर्फबाट पुनरावेदन अदालत धनकुटामा परेको पुनरावेदन जिकिर ।

१८.   यसमा ने.का.प. २०५५ अंक ७ नि.नं. ६५७२ को परिप्रेक्ष्यबाट शुरु अदालतको फैसला फरक पर्न सकने देखिंदा अ.वं.२०२ नं.र पुनरावेदन अदालत नियमावली बमोजिम विपक्षीको नाममा म्याद जारी गरी फौ.न..११।९६ को मुद्दा समेत साथै राखी नियमानुसार गरी पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालतको मिति २०५८।८।२७ को  आदेश ।

१९.    शुरु संखुवासभा जिल्ला अदालतले नागरिकता किर्ते अभियोगमा कसूर कायम गरी किर्ते कागजको महलको ९ नं. बमोजिम प्रत्यर्थी प्रतिवादीलाई सजाय गरेपछि सो महलको १२ नं. बमोजिम १ वर्षको कैद सजाय समेत गर्नुपर्नेमा सो १२ नं.बमोजमको कैद सजायको दावी नपुग्ने भन्ने सम्मको शुरुको इन्साफ नमिलेकोले त्यतिहद सम्म उल्टी भई अरु शुरुको इन्साफ सदर भै प्रतिवादीबाट किर्ते कागजको १२ न. बमोजम १ वर्ष कैद सजाय समेत हुने ठहर्छ भन्ने पुनरावेदन अदालत धनकुटाको फैसला ।

२०.   जिल्ला प्रशासन कार्यालय संखुवा सभाबाट मैले ०४१ सालमा नागरिकता प्राप्त गरी सो नागरिकता घरैमा छाडी म वाहिर गएको अवस्थामा ०४५ सालमा कित्ता नापी हुनु भन्दा अघि गाउँ घरकै कसले हो नागरिकतामा मेरो नाम प्रेमवहादुर वनाई नापीमा मेरो प्रेमवहादुरकै नाउँमा सवै जग्गा दर्ता गराए छन् । जग्गानापी हुँदाका अवस्था मेरो नाम प्रेमवहादुरको नाममा दर्ता भएको जग्गाको पुर्जाको फोटोकपि यसै मुद्दामा धरौटी समेत राखेकोबाट मैले किर्ते गरेको होईन । मेरै नाम प्रेमवहादुर हो भन्ने प्रष्ट हुन्छ । यस मुद्दामा मेरो अपराधिक मनसाय कार्य र परिणाम केही छैन साथै मेरो अधिकार प्राप्त अधिकारी समक्ष जवरजस्ती रुपमा भएको वयानलाई स्वतन्त्र प्रमाणले पुष्टी गरेको छैन । अतः किर्ते कागजको १२ नं.ले कैद समेत गर्ने गरेको पुनरावेदन अदालत धनकुटाको फैसला त्रुटीपूर्ण हुँदा वदर गरी अभियोग दाविबाट सफाई पाउँ भनि प्रतिवादीको यस अदालतमा परेको पुनरावेदन ।

२१.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितको मिसिल अध्ययन गरी हेरियो प्रतिवादी पदमवहादुर गुरुङ्गले संखुवासभा जिल्ला अदालतबाट लिएको आफ्नो नाउँको नागरिकता प्रमाणपत्रमा सच्याई प्रेमवहादुर लेखी किर्तेको १ र २ नं. अन्तर्गतको कसूर गरेकोमा शुरु संखुवा सभा जिल्ला अदालतले निजलाई ऐ.का. ९ नं. बमोजिम रु ५०। जरिवाना गरेको पुनरावेदन अदालतले उक्त सजायलाई कायम राखी किर्तेको १२ नं. बमोजिम १ वर्ष कैदको थप सजाय गरे उपर चित्त नवुझाई प्रतिवादीको यस अदालतमा पुनरावेदन परेको देखियो । अव पुनरावेदन अदालतको उक्त फैसला मिलेको छ छैन र प्रतिवादीको पुनरावेदन जिकिर पुग्ने नपुग्ने के हो सो हो निर्णय दिनुपर्ने देखिन आयो ।

२२.   निर्णय तर्फ विचार गर्दा यी प्रतिवादी उपर जिल्ला प्रशासन कार्यालय संखुवासभाबाट जारी भएको आफ्नो नाउँको नागरिकतामा पदम भन्ने शव्द हटाई सो को ठाउँमा प्रेम भन्ने शव्द थपी सरकारी छाप दस्तखत भएको सरकारी कागज किर्ते गरेको हुनाले किर्ते कागजको १, २ नं. को कसूरमा ऐ.को ९ नं. र १२ न.. बमोजिमको सजायको माग दावी लिई अभियोग पत्र दायर भएको देखिन्छ । आफू उपर लागेको अभियोगको सम्वन्धमा प्रतिवादीले आफूले पदमवहादुर गुरुङ्ग नाउँको नागरिकता लिएको सो नाउँबाट विदेश जान भनी २ वटा पासपोर्ट वनाएकोमा हराएकोले सोही नाउँबाट पुन पासपोर्ट लिन मिल्दैन होला भनी आफ्नो सक्कल नागरिकतामा पदम भन्ने हटाई प्रेम शव्द थप गरेको हो भनी अधिकार प्राप्त अधिकारी समक्ष कसूर गरेकोमा सावीत भई वयान गरेको पाईन्छ । अदालतमा कसूरमा इन्कार रही वयान गरेको भएतापनि आफूले नागरिकताको प्रमाणपत्र लिंदा पदमवहादुर गुरुङ्ग भनि लिएको भन्ने कुरालाई स्वीकारै गरेको पाईन्छ । २०४१ सालमा नागरिकता प्राप्त गरी आफू वाहिर वसेको अवस्थामा आफ्नो नागरिकतामा कसले हो प्रेमवहादुर वनाई नापिमा प्रेमवहादुरकै नाउँमा जग्गा दर्ता गराएछन भन्ने प्रतिवादीले पुनरावेदन जिकिर लिएको भएतापनि यदी त्यस्तो हो भने निजले तेश्रो पटक पासपोर्ट वनाउन जिल्ला प्रशासन कार्यालय संखुवासभामा जाँदा उल्लिखित सम्पूर्ण व्यहोरा खोली आफ्नो भएको सत्य साँचो व्यहोरा लेखाई प्रथमत आफ्नो नागरिकता प्रमाणपत्रमा पदमवहादुर गुरुङ्ग नाम शंसोधन कायम गराउन कारवाही अगाडि वढाउनु पर्ने थियो तर त्यसो नगरी प्रेमवहादुरकै नाउबाट पासपोर्ट लिने प्रयास गर्ने यी प्रतिवादीको नियत सफा रहेछ भन्न मिल्ने देखिएन । साथै निजका नाम पदमको सट्टा प्रेम वनाई अरुले सच्याउनु पर्ने कुनै कारण पनि देखिदैन । यसरी जिल्ला प्रशासन कार्यालय संखुवासभाबाट जारी भएको नागरिकता प्रमाणपत्रमा पदम भन्ने नामलाई सच्याई सो ठाउँमा प्रेम भन्ने लेखिएको कुरामा र उक्त नागरिकता प्रतिवादीको नाउँमा जारी भएको कुरामा विवाद रहेको पाइदैन । आफनो साथमा रहेको नागरिकता सच्याएको किर्ते गरेको पाइन्छ भने त्यो निर्दोशितापूर्ण छ भनी प्रमाणीत गर्नेभार पुनरावेदकको हुन्छ । यस्तोमा किर्ते कागजको ९ नं. बमोजिम पुनरावेदकलाई रु ५०। जरिवाना गरेको संखुवा सभा जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत को फैसलालाई अन्यथा भन्न मिलेन । विवादित नागरिकता प्रमाणपत्रमा श्री ५ को सरकारको छाप लागेको सरकारी अड्डाको नाम लेखिएको अड्डाको छाप लागेको, सरकारी कर्मचारीको छाप र दस्तखत समेत भएको हुँदा सो नगारिकता प्रमाणपत्रलाई सरकारी कागज मान्नुपर्ने देखिन्छ । त्यस्तो सरकारी कागज जुनसुकै तरिकाले किर्ते गर्ने यी प्रतिवादीले कसूर गरेको मान्नु पर्ने र निजलाई कानून बमोजिम सजाय गर्नुपर्ने देखियो । सरकारी कागज किर्ते गर्नेलाई कानून बमोजिमको सजाय भन्नाले किर्ते कागजको १२ नं. अनुसार सरकारी अड्डाको छाप वा सरकारी काममा सरकारी कर्मचारीको छाप दस्तखत वा सो छाप दस्तखत भएको सरकारी कागज किर्ते गर्नेलाई यसै महलको यस नम्वरले हुने सजायमा एक वर्ष थप कैद हुन्छ भन्ने कानूनी व्यवस्था भए अनुसार सरकारी कागज नागरिकता प्रमाणपत्र किर्ते गर्ने प्रतिवादी पदमवहादुर गुरुङ्गलाई १ वर्ष कैद थप सजाय गर्नुपर्ने वाध्यात्मक कानूनी व्यवस्थाको आधारमा किर्ते कागजको महलको ९ नं. बमोजिम प्रतिवादीलाई सजाय गरेपछि ऐ.को १२ नं. बमोजिम १ वर्षको कैद सजाय समेत गर्नुपर्नेमा सो को दावी नपुग्ने भन्ने शुरुको इन्साफ त्यति हदसम्म उल्टी गरी प्रतिवादीलाई किर्ते कागजको महलको १२ नं. बमोजिम १ वर्ष कैद सजाय समेत हुने ठहर्याएको पुनरावेदन अदालत धनकुटाको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्दैन । यो फैसलाको जानकारी धरौटी पुनरावेदकलाई दिई प्रस्तुत मुद्दाको दायरीको लगतकट्टा गरी मिसिल नियमानुसार गरी वुझाई दिनु ।

 

उक्त रायमा सहमत छु ।

 

न्या.कल्याण श्रेष्ठ

इजलास अधिकृत राजेन्द्र अधिकारी

 

 

इति सम्वत् २०६३ साल आसार १८ गते रोज १ शुभम–––––––

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु