निर्णय नं. ७७८० - कर्तव्यज्यान

निर्णय नं. ७७८० ने.का.प.२०६३ अङ्क १०
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री बलराम के.सी
माननीय न्यायाधीश श्री तपवहादुर मगर
सम्वत् २०५८ सालको फौ.पु.नं. : २७०३
फैसला मितिः २०६३।७।२७।२
मुद्दाः कर्तव्य ज्यान ।
पुनरावेदक
वादीः मदनलाल श्रेष्ठको जाहेरीले श्री ५ को सरकार
विरूद्ध
विपक्षी
प्रतिवादीः मकवानपुर जिल्ला हेटौडा न.पा. वडा नं. ४ बस्ने हरिशचन्द्रप्रसाद कर्माचार्य
§ प्रतिवादीले आफ्नी श्रीमतीलाई सलले घाँटीमा कसी भुईमा लडाएकोमा श्रीमतीको उपचार गर्न नलागी सो कुरा कसैलाई नबताई कोठाको ढोका बन्द गरी घरबाट वाहिर निस्किएको र करिब एक घण्टा पछि मात्र कोठामा आएको भनी प्रतिवादी स्वयंले अधिकार प्राप्त अधिकारी समक्ष व्यक्त गरेको हुँदा प्रतिवादीले आवेशप्रेरित भएर होश नपुर्याई कार्य गर्दा मृतकको मृत्यु भएको भन्ने नदेखिने ।
§ श्रीमतीले घाँटीमा लगाएको सलले निजको घाँटी कसेर अठ्याउँदा मानिसको मृत्यु हुन सक्छ भनेर एउटा सामान्य विवेक भएको व्यक्तिले पनि बुझ्ने कुरा हुने ।
(प्रकरण नं.२८)
§ आफुसँगै आफ्नै घरको कोठामा साथ रहेको श्रीमतीसँग विवाद झगडा गरी सलले श्रीमतीको घाँटी कसी अठयाउनु र घटनाको जानकारी छिमेकी समेत कसैलाई नदिई ढोका थुनेर घरवाहिर निस्कनु जस्ता कार्यबाट प्रतिवादीले मृतकलाई मार्न चाहेको स्पष्ट हुने ।
§ श्रीमतीसँग झगडा हुँदा आफ्नी २० महिनाकी छोरीलाई केही चोटपटक लाग्न सक्छ कि भन्ने चिन्ता गरी छोरीलाई विछयौनामा राख्नु र श्रीमतीलाई सलले घाँटी कस्नुबाट प्रतिवादीले आवेगमा आएर मृतकको हत्या गरेको भन्न नमिल्ने ।
§ प्रस्तुत वारदातलाई शुरु र पुनरावेदन अदालतले भवितव्य ठहर गरी ज्यान सम्वन्धी महलको ६(२) नं. बमोजिम प्रतिवादीलाई सजाय ठहर गरेको त्रुटीपूर्ण देखिँदा उल्टी भै ज्यानसम्वन्धीको १३(३) बमोजिम सर्वस्वसहित जन्मकैद हुने ।
(प्रकरण नं.३०)
पुनरावेदक वादी तर्फबाट :
विपक्षी प्रतिवादी तर्फबाट :
अवलम्वित नजीरः
फैसला
न्या.वलराम के.सी. : न्याय प्रशासन ऐन, २०४८ को दफा १२ अन्तर्गत पुनरावेदन अदालत हेटौडाको फैसला उपर वादीको तर्फबाट मुद्दा दोहोराउने निवेदन परी यस अदालतबाट मुद्दा दोहोराई हेर्ने निस्सा भएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ : –
२. मिति २०५४।६।१३ गते छोरीलाई कपडा छोटो र महंगो भयो भनी श्रीमतीले किचकिच गर्न थालिन, सोही निउँबाट श्रीमती मसँग झगडा गर्न थालिन, सोही निउँबाट मलाई बोतलले प्रहार गरिन र बोतलको प्रहारले मलाई २ पटक लाग्यो र मेरो छोरी समेत साथमा भएको हुँदा मैले छोरीलाई समाएँ, रिस उठ्यो, रिसको आवेगमा श्रीमतीको कपडाको सलले श्रीमतीको घाँटी कसी दिएँ, निज भुइमा लडिन, पानी ल्याई छर्कि सल फुकाई हेर्दा मरी सकिछिन, मृतकलाई घर भित्र कोठामा राखी ढोका बन्द गरी छोरीलाई लिएर दाजुलाई जिम्मा दिई पुनः घर गई ताला ल्याई लगाई घटनाको जाहेरी गर्न आएको छु भन्ने समेत व्यहोराको प्रतिवादी हरिशचन्दप्रसाद कर्माचार्यको जाहेरी दरखास्त ।
३. मेरो छोरी आफ्नो राजीखुशी साथ जि.म.हे.न.पा. वडा नं. ४ बस्ने हरिशचन्द्रप्रसाद कर्माचार्यसँग प्रेम विवाह गरी आएको थिइन र मेरो ज्वाई विदेश जानु भएको थियो, विदेशबाट फर्की आएपछि मेरो छोरीलाई पटक पटक यातनाहरु समेत दिने गर्थे भन्ने कुरा छोरीले मेरो घरमा आई पटक पटक भन्ने गर्थिन, मिति २०५४।६।१४ गते ज्वाई हरिशचन्द्रले मेरो छोरीलाई कर्तव्य गरी मारेको हुँदा निजलाई पक्राउ गरी कानून बमोजिम कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको मन लाल श्रेष्ठको जाहेरी दरखास्त रहेछ ।
४. जि.म.हे.न.पा. वडा नं. ४ का स्थित पूर्व कृष्ण दुवाडीको घर, पश्चिम केशव बन्जाडेको घर, उत्तर झकप्रसाद कर्माचार्यको जग्गा, दक्षिण कच्ची बाटो यति चार किल्ला भित्र रहेको प्रतिवादी हरिशचन्द्रको घर भित्र मृतक रोमी भन्ने पदमा कर्माचार्यको लाश रहेको भन्ने समेत घटनास्थल चार किल्ला विवरण ।
५. मिति २०५४ माघ महिनामा मेरो भिनाजुको बुवा परलोक हुनु भएको थियो र सो समयमा म दिदीको घरमा आई बसेको थिएँ र भिनाजुको कहिलेकाही कलह भएको जस्तो अनुभ लाग्दथ्यो, मैले दिदी भिनाजुलाई किन यस्तो गर्नु हुन्छ भन्दा तिमी चुक लाग हामीहरुको घरायसी कुरा हो भनी मलाई भन्थे, हाल आएर आफ्नो घर भित्र दिदीको मृत्यु भएको कुरा सुन्दा भिनाजुले नै कर्तव्य गरी मेरो दिदीलाई मारेको हुनुपर्छ भन्ने समेत व्यहोराको मृतकको बहिनी सुलोचना श्रेष्ठको कागज ।
६. मिति ०५४।६।१३ गते मैले मेरो छोरी २० महिनाको थिइन, सो छोरीलाई कपडा किन्न भनी बजार गई कपडा किनी ल्याएको थिएँ, त्यो कपडा राम्रो नभएको र महंगो भएको भनि मेरो श्रीमतीले मलाई गाली गलौंज गरिन, मैले त्यसको प्रतिकार गरिन्, भोलीपल्ट मिति २०५४।६।१४ गते पुनः त्यो कपडा फिर्ता गरी अर्को कपडा ल्याएको थिएँ, सो समेत मन नपरेको भनी मेरो श्रीमतीले मलाई गाली गर्न थालिन, मैले कहि भनिन मलाई अघिल्लो दिनको बासी रोटी तताएर दिई, त्यो रोटी मैले नबोलिकन खाएँ र मेरो बेडमा गई ढल्के सो पछि म भएको छेउमा आई श्रीमतीले माइत जान्छु भनी, छोरी छाड अनि जाउ भनें त्यसपछि मेरो श्रीमती र मेरो बीच वाद विवाद भयो, अं. दिनको ३ बजेको समयमा श्रीमतीले मलाई हुस्कीको खाली बोतलले म माथि प्रहार गरी सो बोतल नफुटेको कारण मलाई घाउँ चोट लागेन र मलाई यसरी प्रहार गर्दा छोरीलाई बेडमा राखी श्रीमतीको घाँटी लगाएकोले सलले फन्को पारी कसी तान्दा श्रीमती बेहोस भई भुईमा लडिन र मैले तुरुन्त पानी ल्याई पानी छर्की खुवाउन लाग्दा पानी खाइनन्, हेर्दा मरि सकेको, जस्तो लाग्यो र केही बेरपछि सोची चौकी टोल जाने बसपार्कमा जाने ट्याम्पो पार्कमा घरको ढोका लगाई आएँ, दाजु झुलेन्द्र कर्माचार्य सँग अचानक भेट भयो, छोरीलाई दाजुको जिम्मा दिएँ, दाजुले यसको आमा खोई भनी सोधे, मैले घरमा नै छ भनी पुनः घर फर्कि गएँ, साँझ पर्न लागेको थियो, घरबाट हिंडी जाहेरी साथ आफै हाजिर हुन आएको हो भन्ने समेत व्यहोराको प्रतिवादी हरिशचन्द्रप्रसाद कर्माचार्यको प्रहरीमा भएको बयान ।
७. मिति ०५४।६।१४ गते बेलुका प्रहरी डोर घरबाला हरिशचन्द्रको घटनास्थल घर खोल्दा हरिशचन्द्रले आफनो श्रीमतीलाई कर्तव्य गरी मारी आफु सावित भई प्रहरीमा खवर गरी आफू समेत घटनास्थलमा आएको र निजले लोग्ने स्वास्नी र एक नावालक छोरी भएको घरमा आफनो श्रीमतीलाई मारी आफू दिनको ३।४ पटक ओहोर दोहोर गरेको देखिएको थियो, लाश हेर्दा निजकै कर्तव्यबाट मरेको हो भन्ने समेत व्यहोराको विश्वनाथ ढकालले गरी दिएको कागज ।
८. मिति २०५४।५।१४ गते बेलुका प्रहरी तथा हरिशचन्द्र आई निजको बन्द रहेको ढोका खोली हेर्दा मैले निजको श्रीमती रोमी भन्ने पदमा कर्माचार्यको लाश देखेको हुँ सो घरमा लोग्ने स्वास्नी र नावालक वच्चा मात्र भएको, एकलो घरमा निज हरिशचन्द्रले आफ्नो श्रीमतीलाई कर्तव्य गरी प्रहरीमा आफू सावित हुन गएको हो भन्ने समेत व्यहोराको शिवराम मल्लले गरी दिएको कागज ।
९. निजहरुको हाम्रो गाउँ टोलमा त्यति घुलमेल थिएन, निजहरुको पारिवारिक स्थिति के कस्तो थियो सो मलाई थाहा छैन । मिति ०५४।६।१४ गते प्रहरी तथा अभियुक्त हरिशचन्द्रप्रसाद कर्माचार्य आई निजको बन्द रहेको घरको ढोका खोली प्रहरीले हेर्दा मैले समेत लाश देखेको छु, लास हेर्दा हरिशचन्द्रले कर्तव्य गरी मारेको हुनुपर्छ भन्ने समेत व्यहोराको महेन्द्र विष्टको कागज ।
१०. अभियुक्त हरिशचन्द्रप्रसाद कर्माचार्य र निजको श्रीमतीको म सँग मेरो घुलमेल थिएन, गाउँलेहरु सँग समेत थिएन, हरिशचन्द्र बैदेशिक रोजगारबाट आएपछि निजको र स्वास्नीको बीच भित्र भित्रै झैं झगडा गर्ने गरेको थियो भन्ने कुरा मैले सुनेको थिएँ, घटनाको दिन मिति ०५४।६।१४ गते म आफ्नो पसलमा थिएँ, हरिशचन्द्र रिक्सामा ३।४ पटक ओहोर दोहोर गरेको थियो भन्ने कुरा मैले सुनेको थिएँ, देखेको थिएँ, मलाई केही भनेनन्, मिति ०५४।६।१४ गते बेलुका अभियुक्तको साथमा प्रहरी डोरमा आई निजको घर कोठा बन्द खोली हेर्दा निजको श्रीमतीलाई मृतक अवस्थामा देखेको हुँ, श्रीमतीलाई कर्तव्य गरी मारी कोठा बन्द गरी बजार ओहर दोहोर गरेको हो भन्ने समेत व्यहोराको तारकवहादुर वस्नेतको कागज ।
११. मिति ०५४।६।१४ गतेको दिन अं. दिनको ११ बजेको समयमा बच्चा लिई मृतक पदमा मेरो घरमा आएकी थिइन, निजको अनुहार अन्ध्यारो थियो, खाना खानुभयो भनी मैले भन्दा छैन मलाई पनि खाना पकाउनुस भन्नु भयो, मेरो घरमा खाना खानु भयो, मेरो लोग्ने रिसाई रहनु भएको छ, जे परे पर्ला म घर जान्छु भनी घर गइन बेलुका घटनास्थलमा थुप्रै मानिसहरु जम्मा भएको कारण म समेत सो स्थानमा आई हेर्दा पदमा कर्माचार्यको लाश देखें, लाश हेर्दा निजलाई लोग्नेले कर्तव्य गरी मारेकोमा विश्वास लाग्यो, हरिशचन्द्रले पहिला पहिला पनि क्यासेट बजाएर कुट्ने गरेको थियो भन्ने समेत व्यहोराको सर्मिला लामाले गरी दिएको कागज ।
१२. प्रतिवादी हरिशचन्द्रले घटना हुनु भन्दा अगाडि पनि आफ्नो श्रीमतीलाई बारम्बार पिट्ने गरेको र विगत ५ गते अगाडि पनि घाँटी निचोरी निल डाम समेत बनाएको भनी निजले आफ्नो वेदना मलाई भन्थिन, घाँटी निचोरी निलडाम समेत बनाएको भनी भन्न र घटना घट्न गएकोले समेत हरिशचन्द्रले आफ्नो श्रीमतीलाई कर्तव्य गरी मारेकोमा पुरा विश्वास लाग्छ भन्ने समेत व्यहोराको कमला नेपालको कागज ।
१३. प्रतिवादीले आफ्नो श्रीमतीलाई बेला बेलामा कुट्दै आएको र निजको श्रीमती एउटा सँग बोल्दा पनि कुट्ने गरेको थियो, निजले त्यस भन्दा अगाडि पनि भाद्र महिनाको गते अगाडि पनि आफ्नो श्रीमतीलाई घाँटी निचोरी निलडाम समेत बनाएको थियो । निजको लोग्ने स्वास्नीको झगडाको कारण किन आफ्नो श्रीमतीलाई हरिशचन्द्रले मारे निजैहरु हुन भन्ने समेत व्यहोराको सुभद्रा दवाडी समेतको कागज ।
१४. प्रतिवादी हरिशचन्द्रल आफनो श्रीमतीलाई कर्तव्य गरी मारी प्रहरीमा आफैं गएको हो, पहिला पहिला पनि निजले आफ्नो श्रीमतीलाई कुटपिट गर्ने गरेकाले कर्तव्य हरिशचन्द्रले गरेका हुन भन्ने समेत व्यहोराको दुर्गामाया तिमल्सिनाको कागज ।
१५. प्रतिवादी हरिशचन्द्रप्रसाद कर्माचार्यले मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १ नं. को कसूर गरेकोले निजलाई ऐ. ऐनको १३(३) नं. अनुसार सर्वश्व सहित जन्म कैदको सजाय हुन माग दावी भएको अभियोग दावी ।
१६. बच्चालाई मैले ल्याई दिएको कपडा महंगो भयो भनी श्रीमती म सँग झगडा गर्न थालिन, खाना किन नपकाएको भन्दा झन झगडा गर्न थालिन, म चुक लागेर आफनो बेडमा गएर सुतें, भोलिपल्ट विहान ६ बजे तिर उठी बच्चालाई चिया खुवाइन र मलाई चिया खान दिइन, विहान ७, ८ बजेको समयमा ३।४ पटक जति छिमेकी डेरा बस्ने काहाँ जाँदै आउँदै गरिन, त्यही समयपछि छोरीलाई मात्रै जाउलो बनाएर दिइन, अन्दाजी दिनको १ बजे तिर रोटी ना मलाई बोलाइन, रोटी खान म गएँ, रोटी खाई म बेडमा गएर पल्टिएँ, छोरी कराउन थालिन र बच्चालाई कपडा लगाउन थालिन, मैले कपडा किन लगाउन थालेको भन्दा माइत जान्छु भनिन्, मैले बच्चा लिएर नजाउ, जाने भए तिमी मात्र जाउ भने, मलाई नाना थरिले गाली गर्न थालिन, बच्चालाई मैले काखमा राखें, आवेशमा आएर मलाई एक्कासी २ पटक सिसिले टाउकोमा हिर्काइन, त्यसपछि भुत भुताउँदै म मर्छ भन्दै गालामा आफ्नो हात लगी निचोरीन, आफुले लगाएको सलले घाँटीमा बेरिन र भुतभुताउँदै थिइन, म कोठाबाट वाहिर निस्किएँ, बाहिर हल कोठामा श्रीमती प्याक प्याक परेको देखे र सल फुकाई पानी ल्याएर छर्किए, एकछिन पछि उनको ज्यान गयो, मैले कर्तव्य गरी मारेको होइन भन्ने समेत व्यहोराको प्रतिवादी हरिशचन्द्रप्रसाद कर्माचार्यको शुरु अदालतमा भएको वयान।
१७. प्रहरी समक्ष सम्पूर्ण घटनाक्रमहरुको बारेमा स्वयं जाहेरी दिन आएको हुँदा होस नपुर्याई हेलचक्रयाई गरी परिणाम सोच्न नसकी वुद्धिको न्युनताबाट प्रतिवादीले गरेको कार्यबाट मृतकको मृत्यु हुन गएको र यी प्रतिवादीको २० महिनाको बच्चा छोरी समेत भएको तथ्य समेतलाई विचार गरी प्रतिवादी हरिशचन्द्रप्रसाद कर्माचार्यलाई ज्यान सम्वन्धीको ६(२) नं. बमोजिम १ वर्ष ६ महिना कैद रु रु. ५००।– जरीवाना समेत हुने ठहर्छ भन्ने समेत व्यहोराको २०५४।१२।१७ को मकवानपुर जिल्ला अदालतको फैसला ।
१८. प्रतिवादीलाई मृतक निजको श्रीमतीले बोतलले टाउकोमा हिर्काएको कुराबाट प्रतिवादी आवेशमा आई आफ्नो श्रीमती रोमीको घाँटीमा सलले कसी मारेको कुरा पुष्टी भएको छ । ज्यान सम्वन्धीको १४ नं. अनुसार लाठा, ढुंगा, लात मुक्का इत्यादीले हानेको नदेखिएको भनी फैसला उल्लेख गरिएको, उक्त प्रकरण १ मा उल्लेखित नजिर अनुसार ज्यान सम्वन्धीको १४ नं. आकर्षित नभई ज्यान सम्वन्धीको १३(३) नं. आकर्षित हुने देखिन्छ केवल प्रतिवादीले आफुले इन्कारी वयानको भरमा वारदात र आपराधिक दायित्वसँग मेल नै नखाने असम्वन्धित भवितव्यको वारदात कायम गरी घटी सजाय गरी मकवानपुर जिल्ला अदालतबाट भएको फैसला मिसिलमा विद्यमान तथयगत प्रमाणमा आधारित नभएकोले बदर गरी प्रतिवादीलाई शुरु अभियोग दावी नुसार हदै सम्म सजाय गरी पाउँ भन्ने वादी श्री ५ को सरकारको तर्फबाट पर्न आएको पुनरावेदन जिकिर ।
१९. यसमा घाँटीमा सल बेरी मृतकलाई मारेको कुरामा प्रतिवादी सावित भए पनि दावी अनुसारको कसूर नठहर्याई ज्यान सम्वन्धीको ६(२) अनुसार सजाय गरेको शुरु फैसला फरक पर्न सक्ने हुनाले अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली,२०४८ बमोजिम विपक्षी झिकाई आए वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने ०५५।९।२० को यस अदालतको आदेश।
२०. होस नपुर्याई घाँटी जस्तो संवेदनशिल ठाउँमा सल कसी दिएको सम्म अवस्थालाई ज्यान सम्वन्धीको १३(३) नं. को अवस्थाको विद्यमानता छ भन्न मिलेन । तसर्थ उल्लेखित आधार प्रमाण एवं शुरुले लिएको हुँदा प्रमाण समेतबाट हरिशचन्द्रप्रसाद कर्माचार्यलार्य ज्यान सम्बन्धीको ६(२) नं. अनुसार १ वर्ष ६ महिना कै रु. ५००।– समेत जरीवाना हुने ठहर्याएको मकवानपुर जिल्ला अदालतको ०५४।१२।१७ को फैसला मनासीवै हुँदा सदर हुने ठहर्छ । वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने व्यहोराको पुनरावेदन अदालतको फैसला ।
२१. प्रतिवादीले मृतक आफनी श्रीमतीलाई मार्ने नियतले घाँटी जस्तो संवेदनशिल अंगमा सलले कसी कर्तव्य गरी मारेको अवस्थामा प्रतिवादीलाई ज्यान सम्वन्धी महलको ६(२) नं. बमोजिम सजाय हुने ठहराएको शुरु जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत हेटौडाको फैसला त्रुटीपूर्ण हुँदा अभियोग दावी बमोजिम प्रतिवादीलाई सजाय गरी पाउँ भन्ने समेत व्यहोराको वादीको यस अदालतमा परेको निवेदन ।
२२. यसमा प्रतिवादीले मृतक आफनी स्वास्नीसँग झगडा गरी घाँटीमा सलले कसरी मारेकोमा घाँटी जस्तो संवेदनशिल अंगमा सलले कस्दा मानिस मर्छ भन्ने सामान्य अनुमान गर्दा पनि संझन पर्ने हुन्छ । यस्तो कार्यलाई भवितव्य मान्न नमिल्ने हुँदा पुनरावेदन अदालतको फैसलामा ज्यान सम्वन्धी महलको ६ नं. को व्याख्यात्मक त्रुटी र ने.का.प. २०४८ नि.नं. ४२९१ पृ. २०२ मा प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल देखिदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) को आधारमा मुद्दा दोहोराउने निस्सा प्रदान गरिएको भन्ने यस अदालतको आदेश ।
२३. यसमा मृतकको पोष्टमार्टम रिपोर्ट तयार गर्ने चिकित्सकलाई प्रमाण ऐन बमोजिम बुझीएको नदेखिदा झिकाई बकपत्र गराई पेश गर्नु भन्ने यस अदालतको आदेश ।
२४. मृतकको मृत्यु श्वाशप्रस्वाश अवरुद्ध भएको हो । घाँटीमा लागेको वाहिरी Scarch Mark ले पनि जनाउँछ । स्वास प्रस्वाश अवरुद्ध हुँदाको अवस्थामा मृतकको अनुहारमा निलो हुन्छ जुन कुरा प्रतिवेदनले समेत देखाइरहेको छ । पोस्ट मार्टम रिपोर्ट मैले भनेको अनुसार ठिक छ भनी चिकित्क डा. लालवहादुर मल्लले गरेको बकपत्र ।
२५. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी यस इजलास समक्ष पेश भएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरियो । प्रस्तुत मुद्दामा पुनरावेदन अदालत हेटौडाको फैसला मिलेको छ वा छैन र वादीको पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्तैन भन्ने प्रश्नमा निर्णय गर्नुपर्ने देखिएको छ ।
२६. प्रस्तुत मुद्दामा मिति २०५४।६।१४ मा आफ्नी श्रीमती पदमा कर्माचार्यले आफुसँग झगडा गरी खाली वोतलले आफुमाथि दुइ पटक प्रहार गरेपछि रिसको आवेगमा निजले लगाएको सलले निजको घाँटीमा कस्दा भुइमा लडेको र सल फुकाई हेर्दा मरिसकेको थाहा भएको भनि प्रतिवादी हरिशचन्दप्रसाद कर्माचार्यले पहिलो जाहेरी दिएको देखिन्छ । सो जाहेरी व्यहोराबाट जाहेरवाला स्वयंले आफुले कसूर गरेको कुरामा सावित भै जाहेरी दिएको देखिन्छ । वारदात स्थल एवं लास प्रकृति मुचुल्कामा मृतकले लगाएको सल घाँटी गर्दनबाट पछाडि भई लतारिएको, घाँटीको दाया कान मुनीको भागदेखि वाँया कान मुनी सम्म रातो रातो टिका दाग भएको र घाँटीमा निलडाम भएको भन्ने उल्लेख भएको देखिन्छ । घटनास्थल एवं लाश जाँच प्रकृति विवरणमा उल्लेख भएको कुरालाई मिति २०५४।६।१५ को लाश जाँच प्रतिवेदनले समेतबाट पुष्टि भएको देखिन्छ । उक्त लाश जाँच प्रतिवेदनमा मृतकको मृत्यु कारण Asphyxia भन्ने उल्लेख भएको छ भने घाँटीको अघिल्लो भागमा Two Small appx 2mm x 2mm x 1mm Scarch Mark front of neck रहेको भन्ने उल्लेख देखिन्छ । साथै प्रतिवेदनमा there is internal heamatoma over in front of neck भन्ने समेत उल्लेख भएको पाइन्छ ।
२७. मिति २०५४।६।१५ मा मृतकका बाबु मनलाल श्रेष्ठले आफ्नी छोरीलाई ज्वाई हरिशचन्द्रप्रसादले नै कर्तव्य गरी मारेको भनी जाहेरी दिएको पाइन्छ । अधिकार प्राप्त अधिकारी समक्ष प्रतिवादीले गरेको बयानमा घटना भएको दिन १ बजेदेखि मृतक श्रीमतीसँग वादविवाद भएको, सोही दिनको ३ बजेको समयमा श्रीमतीले हिस्कीको खाली वोतलले आफु माथि प्रहार गरेको, आफनो टाउकोमा दुइवटा टुटुल्का उठेकोले श्रीमतीले घाँटीमा लगाएको सल फन्को मारी घाँटी कसिदिदा श्रीमती वेहोश भई भुइमा लडेको र सो पछि आफु छोरी साथमा लिई कोठाको ढोका बन्द गरी वाहिर निस्किएकोमा करिव एक घण्टा पछि घरमा फर्कि आउँदा श्रीमती मरिसकेको भन्ने समेत उल्लेख गरेको देखिन्छ । प्रतिवादीले अदालत समक्ष वयान गर्दा आफुले श्रीमतीलाई कर्तव्य गरी मारेको नभई आफ्नो सलले आफैले घाँटीमा वेरी निजको मृत्यु आत्महत्याबाट भएको हो भनी उल्लेख गरेको देखिन्छ । तर मृतकको मृत्यु आत्महत्याबाट भएको भनि मिसिल संलग्न तथ्य र प्रमाणहरुबाट पुष्टि हुन सकेको पाइदैन । प्रतिवादी स्वयंले मृतक श्रीमतीको घाँटीमा सलले कस्दा निज श्रीमतीको मृत्यु भएको कुरा स्वीकार गरी जाहेरी दिएको र अधिकार प्राप्त अधिकारी समक्षवयान गर्दा समेत सोही कुरालाई समर्थन गरेको देखिन्छ।
२८. अधिकार प्राप्त अधिकारी समक्ष प्रतिवादीले गरेको वयानको जवाफ ४ मा श्रीमतीले हिव्स्कीको खाली वोतलले टाउकोमा हिर्काएको र दुइवटा टुटुल्का उठेको भन्ने कुरा मिति २०५४।६।१५ को प्रतिवादीको घाँ जाँच फारामले पुष्टि गरेको देखिदैन । प्रतिवादीले मृतक श्रीमतीको घाँटीमा सलले कसी मृत्यु भएको भन्ने कुरालाई घटनास्थल प्रकृति एवं लाश जाँच प्रकृति मुचुल्का र शवपरीक्षण प्रतिवेदन समेतबाट समर्थित भएको पाइन्छ । शव परीक्षण गर्ने चिकित्सकले यस अदालतको आदेशानुसार गरेको बकपत्रमा समेत शवपरीक्षण प्रतिवेदनको व्यहोरालाई समर्थन गरी मृतकको मृत्यु श्वास प्रश्वास अवरुद्ध भएर भएको हो, र घाँटीमा लागेको वाहिरी scrach mark ले पनि सोही व्यहोरा जनाउँछ भनी बकपत्र गरेको पाइन्छ । प्रहरीमा कागज गर्ने सुलोचना श्रेष्ठ, विश्वनाथ ढकाल, सावित्री दुवाडी समेतका व्यक्तिहरुले मृतक र प्रतिवादी बीच अघिदेखि नै झगडा हुँदै आएको, मृतक र आफुहरुलाई प्रतिवादी लोग्नेले कुटपिट गर्दै आएको कुरा वताएको भन्ने उल्लेख गरी प्रतिवादीले नै मृतकलाई कर्तव्य गरी मारेको हुनुपर्दछ भनी यस अदालतमा आई बकपत्र समेत गरेको पाइन्छ । प्रतिवादीले आफ्नी श्रीमतीलाई सलले घाँटीमा कसी भुईमा लडाएकोमा श्रीमतीको उपचार गर्न नलागी सो कुरा कसैलाई नबताई कोठाको ढोका बन्द गरी घरबाट वाहिर निस्किएको र करिब एक घण्टा पछि मात्र कोठामा आएको भनी प्रतिवादी स्वयंले अधिकार प्राप्त अधिकारी समक्ष व्यक्त गरेको हुँदा प्रतिवादीले आवेशप्रेरित भएर होश नपुर्याई कार्य गर्दा मृतकको मृत्यु भएको भन्ने देखिदैन । श्रीमतीले घाँटीमा लगाएको सलले निजको घाँटी कसेर अठ्याउँदा मानिसको मृत्यु हुन सक्छ भनेर एउटा सामान्य विवेक भएको व्यक्तिले पनि बुझ्ने कुरा हो ।
२९. आफूसँगै आफ्नै घरको कोठामा साथ रहेको श्रीमतीसँग विवाद झगडा गरी सलले श्रीमतीको घाँटी कसी, अठ्याउनु र घटनाको जानकारी छिमेकी समेत कसैलाई नदिई ढोका थुनेर घर वाहिर निस्कनु जस्ता कार्यबाट प्रतिवादीले मृतकलाई मार्न चाहेको स्पष्ट हुन्छ । अर्को शब्दमा प्रतिवादीले आफ्नी श्रीमतीलाई कर्तव्य गरी मार्ने नियत राखेको प्रस्ट हुन्छ । श्रीमतीसँग झगडा हुँदा आफनी २० महिनाकी छोरीलाई केही चोटपटक लाग्न सक्छ कि भन्ने चिन्ता गरी छोरीलाई विछयौनामा राख्नु र श्रीमतीलाई सलले घाँटी कस्नुबाट प्रतिवादीले आवेगमा आएर मृतकको हत्या गरेको भन्न मिल्दैन । प्रस्तुत वारदातलाई शुरु र पुनरावेदन अदालतले भवितव्य ठहर गरी ज्यान सम्वन्धी महलको ६(२) नं. बमोजिम प्रतिवादीलाई सजाय ठहर गरेको त्रुटीपूर्ण देखिन्छ । प्रतिवादीले होश नपुर्याई वा हेलचक्रयाई गरी कार्य गरेकोले मृतकको मृत्यु भएको भन्ने तथ्य कतैबाट पनि स्थापित भएको छैन । आफनी श्रीमतीको घाँटीमा सलले कसी मार्ने क्रिया गर्न र त्यसलाई Post Martam ले संकारहित तवरबाट प्रमाणित गर्नु र श्रीमती भुइमा लडेपछि कोठाको ढोका बन्द गरी वाहिर निस्कनु जस्ता जुन कार्यहरु प्रतिवादीबाट भएको छ, त्यसलाई होश नपुर्याएको वा हेलचक्रयाई गरेको भन्ने अर्थ गर्न मिल्दैन । सलले बेरी घाँटी कस्ने कार्य र त्यसबाट भएको मृत्यु भवितव्य हुन सक्तैन । प्रतिवादीले मार्ने नियतले नै आफ्नी श्रीमतीलाई सलले घाँटी कसी अठ्याई मारेको भन्ने मिसिल संलग्न प्रमाणहरुबाट देखिएको अवस्थामा प्रतिवादीले मुलुकी ऐन, ज्यान सम्वन्धी महलको १३(३) नं. कसूर गरेको देखिन्छ ।
३०. तसर्थ उल्लिखित आधार कारणबाट प्रतिवादीलाई मुलुकी ऐन ज्यान सम्वन्धी महलको ६(२) नं. बमोजिम एक वर्ष छ महिना कैद र रु. ५००।– जरिवाना हुने ठहराएको शुरु मकवानपुर जिल्ला अदालतको मिति २०५४।१२।१७ को फैसला सदर गरेको पुनरावेदन अदालत हेटौडाको मिति २०५६।१२।२१ को फैसला त्रुटीपूर्ण देखिदा उल्टी भई प्रतिवादीलाई मुलुकी ऐन ज्यान समवन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्म कैद हुने ठहर्छ । अरु तपसिल बमोजिम गर्नु ।
तपसिल
माथि उल्लेख भए बमोजिम प्रतिवादी हरिशचन्द्रप्रसाद कर्माचार्यलाई मुलुकी ऐन, ज्यान सम्वन्धी महलको ६(२) नं. बमोजिम एक वर्ष ६ महिना कैद र रु. ५००।– जरिवाना हुने ठहराएको शुरु मकवानपुर जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत हेटौडाको उल्टी भई प्रतिवादीलाई मुलुकी ऐन, ज्यान सम्वन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर भएको हुँदा निज प्रतिवादी मिति २०५४।६।१४ देखि थुनामा रही एक वर्ष ६ महिना कैद सजाय भुक्तान गरी थुनाबाट मुक्त सकेको देखिंदा अव प्रतिवादीलाई पक्राउ गरी थुनामा रहेको एक वर्ष ६ महिना कैद अवधि कटाई वाँकी लगत कसी कैद असुल गर्नु भनी शुरु अदालतमा लेखी पठाइदिनु ––––––१
दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनु ––––––१
उक्त रायमा सहमत छु ।
न्या.तपवहादुर मगर
शा.अः रमेश ढकाल
इति सम्वत् २०६३ साल कार्तिक २७ गते रोज २ शुभम् .......