शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७७८१ - कर्तव्यज्यान

भाग: ४८ साल: २०६३ महिना: माघ अंक: १०

निर्णय नं. ७७८१    ने.का.प.२०६३       अङ्क १०

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी

माननीय नयायाधीश श्री कल्याण श्रेष्ठ

सम्वत २०५७ सालको फौ.पु.नं. २३४१

फैसला मितिः २०६२।१२।३

 

मुद्दाः कर्तव्य ज्यान ।

 

पुनरावेदक

वादीः मोहनवहादुर भण्डारीको जाहेरीले श्री ५ को सरकार  

विरूद्ध

प्रत्यर्थी

प्रतिवादीः नुवाकोट जिल्ला कविलास गा.वि.स.वडा नं. १ वस्ने राजु भन्ने दमन कुमार लामा समेत

 

§  न्यायिक प्रकृयामा कसूर र संजाय बिचाराधिन रहेको अवस्थामा नै माफी वा मिनाहा दिनाले माफी वा मिनाहा पाउनेले तत्काल कैदबाट छुटेको अनुभूति गर्न पाउने भएतापनि त्यस्तो छुट सँगसंगै संजायंको दाग पनि बोक्नु पर्ने ।

§  न्यायिक प्रकृयाबाट मुद्दाको टुङ्गो लाग्दा उपचार पाउन सक्ने स्थितिलाई त्यस्तो माफी वा मिनाहाले ढोका बन्द गरिदिएको हुन्छ । त्यस्तो माफी वा मिनाहा पाउनेले चाहेर पनि आफ्नो सजायको दाग मेटाउन नसक्ने परिस्थिति सृजना हुन्छ । अन्ततः माफी वा मिनाहा पाउनेलाई Face Value मा लाभ देखिएपनि न्यायिक प्रकृया अन्तर्गत संजायको दागलाई आत्मसात गर्नुको बिकल्प नरहने ।

(प्रकरण नं.३४)

§  न्यायिक प्रकृयाबाट कुन प्रकृतिको कस्तो कसूर गरेको हो र कस्तो संजाय हुने भन्ने निश्चित नै हुन नदिइ बिच बिचमै संजायको माफी मिनाहा दिने हो भने अभियोजनको लक्ष्य र न्यायिक प्रकृया नै निरर्थक, प्रभावरहित, दिशाबिहिन र औचित्यरहित हुने स्थिति आउने ।

§  यस्तो कार्यबाट एकातर्फ संजायबाट उम्कन कानून र संबैधानिक ब्यवस्थाको गलत ब्याख्या गर्ने प्रबृति बढ्न सक्छ भने अर्कोतर्फ शुसासनको आकांक्षा र फौज्दारी न्याय प्रणाली प्रति नै बितृष्णा र नकारात्मक भावना सिर्जना हुन पुग्ने ।

(प्रकरण नं.३५)

§  प्रतिवादी उपरको सजाय माफीको प्रकृया चलाउँदा त्यस्तो प्रकृया चलाउने अधिकारीले जिल्ला अदालतको फैसला उपर पुनरावेदन परेको छ छैन ? मुद्दाको अन्तिम टुंगो लागिसकेको छ छैन ? प्रतिवादीलाई के कति संजायको निर्धारण भएको  छ ? प्रतिवादी उपर लागेको कसूर र संजायको प्रकृति र गाम्भिर्यता कस्तो छ ? भन्ने जस्ता आधारभुत तथ्यको आधारमा मात्र कारबाही बढाउन जरुरी हुने ।

§  प्रस्तुत मुद्दामा यस्ता आधारभुत तथ्यको न्युनतम जानकारी समेत नलिई हचुवाको आधारमा कैद माफीको सिफारिस भएको देखिएकाले उक्त कैद माफीको प्रक्रिया प्रति यस इजलासको गम्भीर ध्यानाकर्षण भएको छ । अतः अभियुक्तहरुको कैद माफीको सिफारिस गर्दा उल्लेखित प्रश्नहरुको विचार गरी मुद्दाको अन्तिम टुङ्गो लागेको छ छैन वुझी मुद्दाको अन्तिम टुङ्गो लागि सकेपछि मात्र कैद माफीको सिफारिसको कारवाही अगाडी वढाउनु र यसरी मुद्दाको अन्तिम टुङ्गो नलागी कैद माफीको प्रक्रिया अगाडि बढाएमा आबश्यक कारबाही समेत हुने भनी सम्बन्धित कारागार प्रशासन कार्यालयहरुमा अबिलम्ब परिपत्र जारी गर्नु भनी गृह मन्त्रालयका नाउँमा यो न्यायिक निर्देशन जारी हुने ।

(प्रकरण नं.३६)

 

पुनरावेदक वादी तर्फबाट : विद्धान उपन्यायाधिवक्ता श्री शरद खड्का

प्रत्यर्थी प्रतिवादी तर्फबाट :

अवलम्वित नजीरः

 

फैसला

            न्या.कल्याण श्रेष्ठः पुनरावेदन अदालत पाटनको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त टिपोट र ठहर यस प्रकार छ :

२.    मेरो भतिजा महेन्द्रवहादुर भण्डारीलाई मिति २०५१।१।७ गते वा दिन राजु भन्ने दमन कुमार लामाले विहान पसलमा लुटपिट गरे । वेलुका थेवा भन्ने रामवहादुर तामाङलाई साथै लिई गएको र भोली पल्ट ढोका खोल्दा महेन्द्र रगत पक्ष भई मृत अवस्थामा फेला परेकोले राजु भन्ने दमन कुमार लामा, सुव्वा तामाङ र थेवा भन्ने रामवहादुर तामाङहरुले कर्तव्य गरी मारेकाले कानून बमोजिम कारवाही गरी पाउँ भन्ने जाहेरी दरखास्त ।

३.    टाउको काटिएको मुख नाक च्यापुमा माटो लागेको आखा वन्द रहेको आँखा वरी परी निलडाम देखिएको भन्ने लाश प्रकृति मुचुल्का ।

४.    मेरो श्रीमान मिति २०५१।१।६ गते घरबाट हिडी ७ गते साझ थेवा भन्ने रामवहादुर तामाङ समेतको घुरमा आएको तिनलिई दुवै जना जानु भयो । मैले चियो गर्दा थेवा भन्ने रामवहादुरको घर तर्फ गएकी देखेको हुँ । भोलीपल्ट विहान ढोका खोली वाहिर निस्कदा आगनमा श्रीमानको मुखबाट रगत आएको रहेछ वोलाउदा मरि सकेका रहेछन मेरो श्रीमानलाई कर्तव्य गरी मारेकोमा विश्वास लाग्छ भन्ने मृतकको श्रीमती कमला देवी भण्डारीले प्रहरीमा गरेको कागज ।

५.    मिति २०५१।१।७ गते ११ वजेको समयमा सुव्वाले १ वोतल रक्सी माग्यो मेरो श्रीमतीले रक्सी दिए पछी मेरो साथै रहेका महेन्द्र भण्डारीलाई पनि रक्सी खान हुन्न भन्दै दमनको रक्सी फालिदियो । त्यतिकैमा दमन सुव्वा विच रक्सीको वटुका फाल्ने भनाभन हुदै महेन्द्र माथि दम कुमार र सूव्वाले लात्ती मुडकीले हिर्काउन थाले । यत्तीकैमा महेन्द्रलाई घर भित्र थुने पछि झगडा टुगियो । वेलुका म कोदालो राख्न थेवा भन्ने राम वहामदुरको घरमा जाँदा महेन्द्र त्यही रहेछ । १५,२० मिनेट पछी म र महेन्द्र मेरो घर तिर गयौ । मेरो घरमा आधा माना जति रक्सी खाए र अ ८.३० वजे तिर महेन्द्र हिडेको  थियो भोली पल्ट मरेको कुरा सुनेको हुँ भन्ने जितवहादुर लामाको कागज ।

६.    मिति २०५१।१।७ गते जितवहादुरको घरमा महेन्द्र माथि लुटपिट भएको र सोही साझ पटक पटक थेवा भन्ने रामवहादुर तामाङले महेन्द्रलाई वोलाउन गएको ६.३० वजे साझ तेल वोकाई गएकोले मार्ने भराउनेमा थेवा रामवहादुर तामाङको सहमति भएकोमा मलाई विश्वास लाग्छ भन्ने टेक लाल श्रेष्ठको कागज । 

७.    जितवहादुरको घरमा कुटपिट हुँदा मान्छेहरुले छुटयाएको ले रिस खपी उकालो लाग्यौ र अव के गर्ने यहि कुरेर वसौ आएपछि सिध्याउनु पर्छ भनी महेन्द्रको चियो गरी वस्दा साझमा महेन्द्र रामवहादुरको घरमा लागेको देखे पछि महेन्द्र घर आउने वाटो मोड भन्ज्याङ्गमा लुकी कुरी वसियो । फर्केर आउदा भेट भयो र तैले हामीलाई भोटे साले भन्दै वेइज्जत गरेको भनी सुव्वा तामाङले घाटीमा समाई म दमनले वक्सीङले आधा भावी हानि मारे र लास वोकी लगी मृतकको घर आगनमा सुताई दिएका हौ भन्ने दमन कुमार लामा र सुव्वा तामाङको एकै मिलानको प्रहरीमा गरेको छुट्टाछुट्टै कागज ।

८.    महेन्द्रलाई मार्नमा मेरो हात छैन । ७ .३० वजे जितवहादुर सँग महेन्द्र पनि मेरो घरबाट निस्की गएका हुन् । महेन्द्र र म उसको घरबाट निस्कदा दमनले चियो गरेका हुन सक्दछ । प्रतिवादीहरु मेरो नाता भित्रका मानिस हुन सर्जमिनको आरोपमा मेरो भन्नु केही छैन । महेन्द्रको घरबाट तेल वोकी हामी सगै निस्केका हौ भन्ने व्यहोराको प्र. थेवा  भन्ने रामवहादुर तामाङले प्रहरीमा गरेको वयान ।

९.    मिति २०५१।१।७ गते का दिन जितवहादुरको घरमा दमन र सुव्वाले मृतक महेन्द्र माथि कुटपिट झै झगडा गरेको र सोही रात थेवा भन्ने रामवहादुर तामाङको परिपञ्च र सहमतिमा महेन्द्र भण्डारीलाई मारी फालेकोमा विश्वास लाग्छ भन्ने व्यहोराको सर्जमिन मुचुल्का ।

१०.    मेरुदण्डको चोटको असर टाउकोमा परी मृत्यु भएको देखिन्छ भन्ने लास जाँच प्रतिवेदन ।

११.    मिति २०५१।१।७ गतेका दिन विहान महेन्द्रवहादुरको सुव्वा र दमनसँग कुटपिट भएकोले महेन्द्र घर भित्र हुँदा धनवहादुर समेतका मानिस लाई किन झगडा गरेको भने पछि निजहरु डाडा तिर लागे । भोलीपल्ट विहान महेन्द्रलाई कुटपिट गरी कर्तव्यबाट मारेको अवस्थामा निज कै घर आगनमा लाश भएको हुँदा निजैहरुको कर्तव्यबाट महेन्द्र मरेको मलाई विश्वास लाग्छ भनि फुलमाया लामाले प्रहरीमा गरेको कागज ।

१२.   थेवा भन्ने रामवहादुर तामाङलाई मत र सल्लाहामा लिइृ दमन लामा र सुव्वा तामाङले महेन्द्रलाई मार्ने उद्देश्यले पटक पटक लिन पठाई सोही दिन वेलुकी ६ .३० वजे तल घरमा पुर्याई दिने वहाना रचि महेन्द्रलाई घरबाट उम्काई थेवा भन्ने रामवहादुरले आफ्नो घरमा लगी जितवहादुर समेत आएको वखत रक्सी खुवाई रातमा पठाएको र १ घण्टा पछी मोड भन्ज्याङ्गमा कुरी वसेको प्रतिवादीहरुले समाती मारी मृतक महेन्द्रलाई निजकै घर आगनमा पुर्याएको स्पष्ट भएको हुँदा राजु भन्ने दमन कुमार लामा र सुव्वा तामाङलाई मुलुकी ऐन ज्यान सम्वन्धी महलको १३(३) नं बमोजिम सजाय गरी पाउँ भन्ने र थेवा भन्ने रामवहादुर तामाङलाई  सोही ऐनको दफा १७(३) नं बमोजिम हदसम्म सजाय गरी पाउँ भन्ने अभियोग दावी ।

१३.   मिति २०५१।१।७ गते विहान पसलमा रक्सी खान लाग्दा मृतक महेन्द्रले मेले खाई रहेको रक्सीको वटुको फालेकोले रिट उठी सामान्य तरिकाले पछाडि कटीमा दुइृ पटक हिर्काएको हुँ  पछी वेलुका घर गई घरमा खाई सुति भोली पल्ट वोका पुजा गर्न दक्षिण काली गएको हुँ । मैले निजलाई कर्तव्य गरी मारेको होइन भन्ने समेत व्यहोराको प्रतिवादी राजु भन्ने दमन कुमार लामाले अदालतमा गरेको वयान ।

१४.   मिति २०५१।१।७ गते म मेरो आफ्नो घरमा थिए झगडा पर्‍यो भन्ने कुरा सुनेको सम्म हो म त्यहाँ गई वुझ्दा दमन र सुव्वाले मृतक महेन्द्रवहादुरलाई कुटपिट गरेको भन्ने सुनेको हो । दमन र सुव्वा मास्तीर जादा वोलाई नममारी छोडदिन भनि महेन्द्रलाई भनेको मैले सुनेको हुँ भन्ने कर्तव्य गरी मारेको होइन भन्ने समेत व्यहोराको प्रतिवादी रामवहादुर तामाङले अदालतमा गरेको वयान ।

१५.   मिति २०५१।१।७ गते का दिन विहान मैले र दमन ले जितवहादुरको घरमा रक्सी खान लाग्दा महेन्द्र पनि आई रक्सी खान लाग्यो । त्यसपछि हामीलाई भोटे साले गाली गरेकोले दमनले महेन्द्रलाई दुई लात्नी हिर्कायो । त्यस पछि थेवा भन्ने रामवहादुर समेत आएको थियो हामी घर तर्फ लाग्यो । को कसले कर्तव्य गरी मार्‍यो मलाई थाहा छैन भन्ने प्रतिवादी सुव्वा तामाङले अदालतमा गरेको वयान ।

१६.    प्रतिवादी सुव्वा तामाङ राज भन्ने दमन लामा र थेवा भन्ने रामवहादुर तामाङले मृतक महेन्द्र भण्डारीलाई कर्तव्य गरी मारेको भनि मृतकको श्रीमतीले भनेको हुँदा जाहेरी दिएको हुँ भन्ने जाहेरवाला मोहनवहादुर भण्डारीले अदालतमा गरेको वकपत्र ।

१७.   मेरो पति महेन्द्र भण्डारीलाई प्रतिवादी थेवा भन्ने रामवहादुर सुव्वा तमाङ्ग दमन लामा समेतले कर्तव्य गरी मारी मेरो घर आगनमा लास ल्याई राखि दिएका हुन भन्ने मृतकको श्रीमती कमला देवी भण्डारीले अदालतमा गरेको वकपत्र ।

१८.   मृतक महेन्द्र भण्डारीलाई प्रतिवादी थेवा भन्ने रामवहादुर दमन र सुव्वा तमाङ्ग भई कर्तव्य गरी मारेको हो भन्ने सर्जमिनका लिलावहादुर भण्डारी, लालवहादुर भण्डारी समेतले अदालतमा गरेको वकपत्र ।

१९.    यी प्रतिवादीहरु उपर शंका लाग्दैन भन्ने प्रतिवादी दमनकुमार लामाको साक्षी खोपवहादुर थापाले अदालतमा गरेको वकपत्र

२०.   मृतक महेन्द्र भण्डारी कर्तव्यबाट मरेको हो भन्ने मलाई विश्वास लाग्छ । प्रतिवादी थेवा भन्ने रामवहादुर तामाङसँग वारदातको दिन मेरो भेटघाटै छैन । वारदातमा थियो थिएन खुलाउन सक्दीन भन्ने प्रतिवादी थेवा भन्ने रामवहादुर तामाङको साक्षी विरवहादुर तामाङले अदालतमा गरेको वकपत्र ।

२१.   प्रतिवादी दमन लामा र सुव्वा तामाङले मेरो विचारमा मृतकलाई मारेको होयन भन्ने प्रतिवादी दमन लामा र सुव्वा तामाङको साक्षी ज्ञानवहादुर तामाङले अदालतमा गरेको वकपत्र।

२२.   मृतक महेन्द्र भण्डारीको मृत्यु कर्तव्यबाट भएको हो वेलुकी घरबाट छुटयाई  लाने थेवा भन्ने रामवहादुर तामाङलाई नै मृत्यु वारे थाहा होला भन्ने प्रहरीमा ठाडो कागज गर्ने टेकवहादुर श्रेष्ठले अदालतमा गरेको वकपत्र ।

२३.   प्रतिवादीहरु साहिला राजु भन्ने दमन कुमार लामआ र सुव्वा तामाङलाई मुलुकी ऐन , ज्यान सम्वन्धीको महलको १४ नं बमोजिम जनही १०(दश) वर्षका दरले कैद हुने ठहर्छ र प्रतिवादी थेवा भन्ने रामवहादुर तामाङले आरोपित कसूरबाट सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको नु.जि.अ.को २०५३।१०।६ को फैसला ।

२४.   नुवाकोट जिल्ला अदालतले प्रतिवादी दमन कुमार लामा र प्र. सुव्वा तामाङलाई आकर्षित नै हुन नसक्ने ज्यान सम्वन्धी महलको १४ नं को अवस्था देखाई सो अनुसार सजाय हुने र प्रतिवादी थेवा भन्ने रामवहादुर तामाङलाई आरोपित कसूरबाट सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला वदर गरी अभियोग पत्र माग दावी बमोजिम नै प्रतिवादीहरुलाई सजाय गरी पाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको पुनरावेदन पत्र ।

२५.   यसमा २०५१।१।७ गते दिउसो जीतवहादुरको घरमा प्रतिवादीहरु र मृतक विच कुटपिट सम्म भएको भन्ने देखिंदा ज्यान सम्वन्धी महलको १४ नं आकर्षित हुने अवस्था देखिन नआएकोले शुरुको इन्साफ फरक पर्न सक्ने देखिंदा छलफलको लागी अ.व.२०२ नं बमोजिम विपक्षी झिकाई नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको आदेश।

२६.   रक्सी आएको अवस्थामा रक्सीकै विषयमा विवाद हुँदा मनार्भन भै प्रत्यर्थी प्रतिवादीहरुले मृतकलाई लात मुक्का हानेको भनी स्वयं निजहरुको अदालतमा भएको वयानबाट खुल्न आएको र मृतक महेन्द्रवहादुरको मृत्यु अन्यथाबाट भएको भन्ने प्रमाणित हुन आएको समेतको अवस्था नहुँदा प्रतिवादीहरुले तत्काल उठेको रीसको कारणबाट कुटपिट गरेको र सोही कुटपिटको कारणबाट मृत्यु भएको पुष्टी हुन आएको प्रतिवादीहरु राजु भन्ने दमन कुमार लामा र सुव्वा तामाचङ्गलाई ज्यान सम्वन्धीको १४ नं बमोजिम १० वर्ष कैद गर्ने गरेको शुरु नुवाकोट जिल्ला अदालतको फैसला मनासिव ठहर्छ  साथै अर्को प्रतिवादी थेवा भन्ने रामवहादुर लामाले कर्तव्य गर्न सहयोग पुर्याएको भन्ने मिसिल संलग्न सवुद प्रमाणबाट पुष्टि हुन सकेको नदेखिएबाट तथ्युक्त सवुद प्रमाणको अभावमा प्रतिवादी रामवहादुर लामा तामाङ उपरको अभियोग दावी पुग्न नसक्ने ठहर्‍याई सफाई पाउने ठहर्‍याएको शुरु नु.जि.अ. को फैसला मनासिव देखिंदा सदर हुने ठहर्छ  भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको फैसला ।

२७.   प्रतिवादीहरु दमन कुमार लामा र सुव्वा तामाङ कै कर्तव्यबाट मृतकको मृत्यु भएको तथ्य पुनरावेदन अदालतले स्वीकार नै गरेको छ । प्रतिवादी र मृतक बीच २०५१।१।७ गते दिउसो झगडा गरी प्रतिवादीहरुले मृतकलाई मार्ने सम्म वचन दिएको र सोही रिसइवीबाट वेलुका वाटो ढुकी वसी एक्लै आउदै गरेका महेन्द्र भण्डारीलाई एकान्तमा लगी अन्धधुन्ध कुटपिट गरी मारेको अवस्थामा पूर्व रिसइवी नभएको भन्ने आधार त्रुटीपूर्ण छ । पूर्व रिसइवीको कारण सुनियोजित ढुगले हत्या गरी मृतकको मृत्युपछि मृतकको लाश मृतककै घर आगनमा ल्याई राखेबाट समेत मनसाय पुष्टि हुन्छ । जोखिमी हतियार प्रयोग नगरेकै आधारमा ज्यान सम्वन्धीको १४ नं आकर्षित हुने होइन । अर्का प्रतिवादी रामवहादुर तामाङले मृतकलाई घरबाट वोलाई लगेको भन्ने मिसिलको तथ्यबाट खुल्न आएकोले निजले मतियारको भूमिका निभाएको पुष्टि हुँदा निजलाई सफाई दिएको समेत त्रुटिपूर्ण हुँदा पुनरावेदन अदालतको फैसला उल्टी गरी प्रतिवादीहरुलाई अभियोग दावी बमोजिम सजाय गरी पाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको यस अदालतमा परेको पुनरावेदन ।

२८.   प्रतिवादी राजु भन्ने दमन कुमार लामा र सुव्वा तामाङ हाल थुनामा नै छन वा थुनाबाट छुटिसकेका छन कारागार शाखा वुझि पेश गर्नु भनी यस अदालतबाट भएको आदेश ।

२९.   प्रतिवादीहरु राजु भन्ने दमन कुमार लामा र सुव्वा तामाङ श्री ५ महाराजाघिराज सरकारको ५५ औ शुभजन्मोत्सवको उपलक्ष्यमा वाँकी कैद माफी मिन्हा भएकाले मिति २०५६।९।१४ मा छुटकारा भएको भन्ने समेत व्यहोराको कारागार शाखा काठमाण्डौको  पत्र ।

३०.   नियम बमोजिम मुद्दा पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा मिसिल संलग्न कागजात अध्ययन गरियो । पुनरावेदक वादी तर्फबाट उपस्थित विद्वान उपन्यायाधिवक्ता श्री शरद खड्काले मृतक र प्रतिवादीहरु बीच दिउसो कुटपिट झै झगडा समेत भएको छ । मृतकले प्रतिवादीहरु राजु भन्ने दमन कुमार लामा र सुव्वा तामाङलाई केटीहरुको अगाडी वेइज्जत गरेको भन्ने समेत रिसइवीमा राती एकान्तमा वाटो ढुकी कुटपिट गरी मारेको र उक्त कार्यमा रामवहादुर तामाङको समेत संलग्नता रहे भएकाले प्रतिवादीहरुलाई अभियोग दावी बमोजिम सजाय हुनुपर्छ भनी गर्नु भएको वहस जिकिर समेत सुनी पुनरावेदन अदालत पाटनको फैसला मिले नमिलेको के रहेछ हेरी निर्णय दिनु पर्ने देखिन आयो ।

३१.   निर्णय तर्फ विचार गर्दा प्रतिवादी रामवहादुर तामाङले महेन्द्र भण्डारीलाई घर लगी रक्सी खुवाई पठाएको र अन्य दुई जना प्रतिवादीहरुले एकान्तमा वाटो ढुकी कुटपिट गरी मारेकोले प्रतिवादीहरु राजु भन्ने दमन कुमार लामा र सुव्वा तामाङलाई ज्यान सम्वन्धीको १३(३) नं. र अर्का प्रतिवादी रामवहादुर तामाङलाई ज्यान सम्वन्धीको १७(३) नं अनुसार सजाय गरी पाउँ भन्ने अभियोग दावी छ । शुरु नुवाकोट जिल्ला अदालतले प्रतिवादीहरु राजु भन्ने दमन कुमार लामा र सुव्वा तामाङलाई ज्यान सम्वन्धी महलको १४ नं अनुसार जनही १० वर्ष कैदको संजाय गरी अर्का प्रतिवादी रामवहादुर तामाङलाई सफाई दिने ठहर गरेको फैसला पुनरावेदन अदालत पाटनबाट सदर भए उपर वादी श्री ५ को सरकारको यस अदालतमा पुनरावेदन परी पेश हुन आएको देखियो । मृतकको नाक मुख कानबाट रगत निस्केको , छातीमा निलडाम रहेको र टाउकोको पछाडिपछि काटेको घाउ रहेको भन्ने समेत व्यहोराको लाश जाँच प्रकृति मुचुल्का र टाउकोमा घाउ देखिएको करङ्ग र मेरुदण्ड भाच्चिएको (Facturedc and dibordered) घाटीको वरिपरी दाग रहेको भन्ने समेत व्यहोराको शव परिक्षण प्रतिवेदनबाट समेत मृतकको मृत्यु कर्तव्यबाट भएको भन्ने तथ्य स्थापित हुन्छ । अव को कस्को के कस्तो कर्तव्यबाट यी प्रतिवादीहरुको मृत्यु भयो भन्ने सम्वन्धमा विचार गर्दा प्रतिवादीहरु राजु भन्ने दमन कुमार लामा र सुव्वा तामाङले आधिकार प्राप्त अधिकारी समक्ष वयान गर्दा मृतकलाई कर्तव्य गरी मारेको तथ्यमा सावित भै वयान गरेको देखिन्छ । निजहरु अदालत समक्ष उपस्थित भै गरेको वयानमा आफुहरुले कर्तव्य गरेकोमा इन्कारी भएतापनि २०५१।१।७ गते दिउसो सानु तामाङको घरमा मृतकसँग सगै वसी रक्सी खाई रहेको अवस्थामा मृतकले आफुलाई भोटे भनी खाइरहेको रक्सीको कचौरा खोसेर मिल्काई दिएपछि प्रतिवादी मध्येका दमन कुमार लामाले पछाडि पटिृ घाँटीमा २ पटक हिर्काएको भन्ने तथ्यसम्म स्वीकार नै गरेको देखिन्छ । मृतक र प्रतिवादीहरु बीच झै झगडा कुटपिट भैरहेको र निजहरुलाई आफ्नो श्रीमानले छुट्टाउन खोज्दा समेत छुट्टाउन सकेका थिएनन । प्रतिवादीहरुले ढोका खोलेर यसलाई नमारी छाडदिन भनी उफ्रिरहेको थिए भनी मौकामा कागज गर्ने फुलमाया लामाले अदालत समक्ष उपस्थित भै वकपत्र गरिदिएको अवस्था छ । प्रतिवादी मध्येका थेपा भन्ने रामवहादुर तामाङले अदालत समक्ष आई गरेको वकपत्रमा समेत प्रतिवादी दमन कुमार लामा र सुव्वा तामाङले मृतकलाई कुटपिट गरेको र निजहरुले मृतक महेन्द्रवहादुरलाई तलाई नमारी छाडदिन भनी भनेको समेत सुनेको हुँ भनी लेखाई दिएको देखिन आएबाट यिनै प्रतिवादीहरु दमन कुमार लामा र सुव्वा तामाङकै कर्तव्य बाट मृतक महेन्द्रवहादुर भण्डारीको मृत्यु भएको भन्ने पुष्टि हुन आयो । अव प्रतिवादीहरुलाई के कस्तो सजाय हुनुपर्ने हो भन्ने तर्फ हेर्दा मिसिलबाट मृतक र प्रतिवादीहरु बीच कुनै पूर्व रिसइवी देखिदैन ।

३२.   निजहरु संगै वसी रक्सी खाईरहेको अवस्थामा प्रतिवादी दमन कुमारले मृतकलाई तँ क्षेत्रीको छोरा होस धेरै रक्सी नखा भनी भनेकोमा मृतकले प्रतिवादीहरुलाई भोटे साले भनी खादै गरेको रक्सीको कचौरा खोसेर फालिदिएको कारणबाट प्रतिवादीहरु रिसाई मृतकलाई टाउको लगायतका शरिरका विभिन्न भागमा लात मुक्काले हानी सुव्वा तामाङले घाँटी समेत वटारेको भन्ने देखिन आयो । मिसिलबाट प्रतिवादीहरुको ज्यान मार्ने मनसाय नदेखिएको, ज्यान मार्नु पर्ने सम्मको इवी लाग पनि नदेखिएको र उसै मौकामा उठेको रिस थाम्न नसकी कुनै जोखिमी हतियारको प्रयोग समेत नगरी लात मुक्काले हान्दा मृतकको मृत्यु भएको अवस्था देखिन आएकाले प्रतिवादीलाई ज्यान सम्वन्धी महलको १४ नं अनुसार १० वर्ष कैदको सजाय गरेको शुरु नुवाकोट जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ ।

३३.   अर्का प्रतिवादी थेपा भन्ने रामवहादुर तामाङको हकमा निजले अधिकार प्राप्त अधिकारी समक्ष तथा अदालतको वयानमा समेत कसूरमा इन्कार रही वयान गरेको देखिन्छ । मौकामा अधिकार प्राप्त अधिकारी समक्षको वयानमा साविती हुने अन्य प्रतिवादीहरुले समेत कर्तव्यमा रामवहादुर तामाङको समेत संलग्नता थियो भनी लेखाउन सकेको देखिन आउदैन । वारदातको प्रत्यक्षदर्शी मौकामा कागज गर्ने फुलमाया लामा समेतका व्यक्तिले यी प्रतिवादी रामवहादुर तामाङले प्रतिवादीहरुको मतमा फसी मृतक महेन्द्रवहादुर भण्डारीलाई घरबाट वोलाई कर्तव्य गरी मार्नमा सहयोग पुर्‍याएको भन्ने मिसिल संलग्न तथ्य प्रमाणबाट पुष्टि हुन नआएकाले प्रतिवादी थेपा भन्ने रामवहादुर तामाङले अभियोग दावीबाट सफाई पाउने ठहराएको शुरु नुवाकोट जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । अभियोग दावी बमोजिम सजाय गरी पाउँ भन्ने पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन ।

३४.   प्रतिवादीहरु राजु भन्ने दमन कुमार लामा र सुव्वा तामाङ कारागार व्यवस्थापन विभागको मिति २०५६।९।१३ को पत्रानुसार श्री ५ महाराजाधिराज सरकारको ५५ औ शुभ जन्मोत्सवको शुभ उपलक्ष्यमा वाँकी कैद माफी मिनाहा भएकाले २०५६।९।१४मा छुटकारा भै गएको भन्ने कारागार शाखा काठमाण्डौको पत्र मिसिल सामेल भएको देखियो । नेपाल अधिराज्यको संविधान २०४७ को धारा १२२मा श्री ५ बाट जुनसुकै अदालतले गरेको सजाय माफी गर्न सकिवक्सने व्यवस्था छ । उक्त प्रावधान अनुसार कैद माफी मिनाहा गर्दा निज विरूद्ध चलेको मुद्दा अन्तिम टुङ्गो लागी संजायको अन्तिम निकाशा भएपछि मात्र गर्नु पर्ने हो । संजायको माफी वा मिनाहा हुनु भनेको नै संजायको निर्धारण भै तत्पश्चात माफी वा मिनाहा दिएको भन्ने अर्थ हुन्छ । संजायको अन्तिम रुपमा निर्धारण नै नभई माफी वा मिनाहा दिनु भनेको घोडा भन्दा वग्गी अगाडि horse before the cart को अवस्था जस्तै हो । न्यायिक प्रकृयामा  कसूर र संजाय बिचाराधिन रहेको अवस्थामा नै माफी वा मिनाहा दिनाले माफी वा मिनाहा पाउनेले तत्काल कैदबाट छुटेको अनुभूति गर्न पाउने भएतापनि त्यस्तो छुट सँगसंगै संजायंको दाग पनि बोक्नुपर्ने हुन्छ । न्यायिक प्रकृयाबाट मुद्दाको टुङ्गो लाग्दा उपचार पाउन सक्ने स्थितिलाई त्यस्तो माफी वा मिनाहाले ढोका बन्द गरिदिएको हुन्छ । त्यस्तो माफी वा मिनाहा पाउनेले चाहेर पनि आफ्नो संजायंको दाग मेटाउन नसक्ने परिस्थिति सृजना हुन्छ । अन्ततः माफी वा मिनाहा पाउनेलाई सरसर्ती हेर्दा वाह्य रुपमा लाभ देखिएपनि न्यायिक प्रकृया अन्तर्गत संजायको दागलाई आत्मसात गर्नुको बिकल्प रहंदैन ।

३५.   अर्कोतर्फ अभियोजन पक्षको दृष्टिकोणबाट हेरिएमा कसूरको निर्धारण र संजायको मात्रामा अन्तिम स्वरुप बांकी छंदै माफी मिनाहा दिंदा मुद्दाको टुङ्गो लगाउन नै प्रतिकुल असर परी अभियोजनको प्रतिफल नै अनिश्चित हुन पुग्छ । अभियुक्त उपर चलाइएको न्यायिक कारबाही नै निरर्थक बन्न जान्छ । माफी वा मिनाहा दिने संबैधानिक ब्यवस्थाको प्रयोग मुद्दाको प्रकृयाबाट न्यायको गन्तब्यसम्म पुगेर अभिनिश्चित भएको कसूर र संजायंको प्रकृति र गम्भिरतालाई बिचार गरेर माफी वा मिनाहा दिन उपयुक्त भए नभएको निर्णय गरी गरिनुपर्ने अपेक्षा सम्बैधानिक ब्यवस्थाले गरेको पाइन्छ । न्यायिक प्रकृयाबाट कुन प्रकृतिको कस्तो कसूर गरेको हो र कस्तो संजाय हुने भन्ने निश्चित नै हुन नदिइ बिच बिचमै संजायको माफी मिनाहा दिने हो भने अभियोजनको लक्ष्य र न्यायिक प्रकृया नै निरर्थक, प्रभावरहित, दिशाबिहिन र औचित्यरहित हुने स्थिति आउंछ ।  यस्तो कार्यबाट एकातर्फ संजायबाट उम्कन कानून र संबैधानिक ब्यवस्थाको गलत ब्याख्या गर्ने प्रबृति बढ्न सक्छ भने अर्कोतर्फ शुसासनको आकांक्षा र फौज्दारी न्याय प्रणाली प्रति नै बितृष्णा र नकारात्मक भावना सृजना हुन पुग्छ ।

३६.   प्रस्तुत मुद्दामा प्रतिवादीहरु दमन कुमार लामा र सुव्वा तामाङलाई १० वर्ष कैदको सजाय ठहरी २०५३।१०।७ मा नुवाकोट जिल्ला अदालतबाट फैसला भएको र सो फैसला उपर वादी श्री ५ को सरकारको पुनरावेदन अदालत पाटनमा पुनरावेदन दायर भै कारवाहीयुक्त रहेकै अवस्थामा २०५६।९।१४ मा प्रतिवादीहरुको सजाय माफी भै कारागार मुक्त भएको देखियो । पुनरावेदन अदालत पाटनको मिति २०५७।२।१६ को फैसला उपर वादी श्री ५ को सरकारको यस अदालतमा पुनरावेदन परेको देखिन्छ । प्रतिवादीहरुले संजाय नै माफी पाइसकेको अवस्थामा परिणामका दृष्टिकोणले उक्त पुनराबेदन उपर बिचार गर्नुको तात्विक अर्थ रहंदैन । अतः  प्रतिवादी उपरको सजाय माफीको प्रकृया चलाउँदा त्यस्तो प्रकृया चलाउने अधिकारीले जिल्ला अदालतको फैसला उपर पुनरावेदन परेको छ छैन ? मुद्दाको अन्तिम टुंगो लागिसकेको छ छैन ? प्रतिवादीलाई के कति संजायको निर्धारण भएको छ ? प्रतिवादी उपर लागेको कसूर र संजायको प्रकृति र गाम्भिर्यता कस्तो छ? भन्ने जस्ता आधारभुत तथ्यको आधारमा मात्र कारबाही बढाउन जरुरी हुन्छ । प्रस्तुत मुद्दामा यस्ता आधारभुत तथ्यको न्युनतम जानकारी समेत नलिई हचुवाको आधारमा कैद माफीको सिफारिस भएको देखिएकाले उक्त कैद माफीको प्रक्रिया प्रति यस इजलासको गम्भीर ध्यानाकर्षण भएको छ । अतः अभियुक्तहरुको कैद माफीको सिफारिस गर्दा उपरोक्त उल्लेखित प्रश्नहरुको विचार गरी मुद्दाको अन्तिम टुङ्गो लागेको छ छैन वुझी मुद्दाको अन्तिम टुङ्गो लागि सकेपछि मात्र कैद माफीको सिफारिसको कारवाही अगाडी वढाउनु र यसरी मुद्दाको अन्तिम टुङ्गो नलागी कैद माफीको प्रक्रिया अगाडि बढाएमा आबश्यक कारबाही समेत हुने भनी सम्बन्धित कारागार प्रशासन कार्यालयहरुमा अबिलम्ब परिपत्र जारी गर्नु र त्यसको वोधार्थ यस अदालतलाई समेत दिनु साथै कैद माफीको प्रक्रिया अघि वढाउदा सिफारिस गर्ने कार्यालय अधिकारीको नाम नामेसी समेत अभिलिखित राख्नु भनी गृह मन्त्रालयका नाउँमा यो न्यायिक निर्देशन जारी गरिदिएको छ । फैसलाको १ प्रति महान्यायाधिवक्ताको कार्यालय मार्फत गृह मन्त्रालयमा पठाई दिनु । र यस निर्देशन बमोजिमको काम भए नभएको अनुगमन गर्ने व्यवस्था यस अदालतको मुद्दा व्यवस्थापन महाशाखाले मिलाउनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. : राजेन्द्र कुमार भण्डारी

इजलास अधिकृत नहकुल सुवेदी

 

इति सम्वत २०६२ साल चैत ३ गते रोज ५ शुभम ................।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु