शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७७८२ - सवारी गौवध

भाग: ४८ साल: २०६३ महिना: माघ अंक: १०

निर्णय नं. ७७८२           ने.का.प.२०६३       अङ्क १०

 

सर्बोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी

माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोईराला

संवत २०६१ सालको फौ.पु.नं. : ३७९४

फैसला मितिः २०६३।२।१०

 

मुद्दाः सवारी गौवध ।

 

पुनरावेदक / वादीः क्वाके चौधरी समेतको जाहेरीले श्री ५ को सरकार

विरूद्ध

विपक्षी /प्रतिवादीः जि.रुपन्देही वुटवल नगरपालिका वडा नं. ४, पाखापानी घर भै रा.१ ख            ८२ नं. को वस चालक वेचन भन्ने अनिरुद्रप्रसाद माझी

 

§  प्रस्तुत वारदातमा प्रतिवादीले गाई गोरुलाई कुटेको भन्ने तथ्य स्थापित छैन । सवारी चलाउँदा सवारीको व्रेक फेल हुनु र कुट्नुलाई एउटै अर्थमा लिन नमिल्ने ।

§  व्रेक फेल हुनु एउटा आकस्मिक घटना हो । सवारी साधन जस्तो यान्त्रिक वस्तुमा व्रेक फेल हुनु र त्यस्तो व्रेक फेल भएको अवस्थामा गुडिरहेको सवारीले वाटोमा हिडिरहेको पशुवस्तुलाई कुल्चन सक्ने सम्भावनालाई स्वभाविक घटनाको रुपमा लिनु पर्ने ।

§  कुट्नु भनेको कुनै उद्देश्य वा मनसायले गरिने एउटा कार्य हो । तसर्थ, यान्त्रिक गडवडीको कारणले मिसिनरी वस्तुको व्रेक फेल हुनु र कुट्नुलाई समान आपराधिक कार्य (Actus Reus) मान्न नसकिने ।

 

(प्रकरण नं.१९)

 

पुनरावेदक वादी तर्फबाटः विद्वान उपन्याधिवक्ता श्री सुरेन्द्रवहादुर थापा

विपक्षी प्रतिवादी तर्फबाटः

अवलम्बित नजीरः

 

फैसला

न्या.राजेन्द्रकुमार भण्डारीः पुनरावेदन अदालत तुल्सीपुरको मिति २०६०।१०।१९ को फैसलामा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) अनुसार मुद्दा दोहर्‍याई हेर्ने निस्सा प्रदान भै दायर भएको प्रस्तुत मुद्दाको सँक्षिप्त व्यहोरा यसप्रकार छः-

२.    मिति २०५९।७।१३ गते तुलसीपुर घोराही चल्ने रा.१ ख ८२ नं. को वसले क्वाके चौधरीको मुल्य रु. १,०००। पर्ने वगलु गाई र विगो रु. १५,००। पर्ने सेतो रंगको वच्चु चौधरीको गोरुलाई चालकले रफतारमा चलाएको कारणले किची मारेकोले चालकलाई कानून बमोजिम कारवाही गरी क्षेतिपूर्ति दिलाई पाऊँ भन्ने समेत व्यहोराको सँयुक्त जाहेरी दर्खास्त ।

३.    पूर्व, पश्चिम सडक उत्तर दक्षिण वाँझो चौर प्रति ४ किल्ला भित्र घटना घटी सडकको बीच भागमा रगतको खाल परी सुकेको र एक गाई र गोरुको घटनास्थल मै मृत्यु भएको भन्ने घटनास्थल प्रकृति मुचुल्का ।

४.    पेटको भागको दायांबाट वायां सम्म २ फिट जति भुडि फुटन गई आन्द्रा भुडि जमिनमा लत्रिएको भन्ने गाईको लास प्रकृति र अगाडिको दायां खुट्टाको पातामा किचिएको भन्ने गोरुको लाश प्रकृति मुचुल्का ।

५.    मिति २०५९।७।१३ गते मैले रा.१ ख ८२ नं. को वस चलाई घोराही तर्फ आउँदा घटनास्थल नेर २०।२५ वटा गाई गोरु दक्षिणबाट उत्तर जान भनी वाटो काट्दा मैले चलाएको वसको व्रेक अकस्मात फेल भै रोकिन नसक्दा वसको अगाडि भागको दाहिने साईडको वम्पर बाट ठोकि किचिन गै जाहेरवालाको गाई र गोरुको मृत्यु भएको हो भन्ने समेत व्यहोराको चालक अनिरुद्रप्रसाद माँझीको वयान कागज ।

६.    मिति २०५९।७।१३ गते अनिरुद्रप्रसाद माझीले तुलसीपुरबाट घोराही जानका लागी चलाई ल्याएको रा १ ख ८२ नं. को वसले घटनास्थलमा आई पुग्दा गाई गोरु वाटो देखि दक्षिणबाट उत्तर तर्फ जान भनी वाटो काटी जान लाग्दा उक्त वसमा ठक्कर लागी घटनास्थलमै मृत्यु भएको हो चालकले वढी रफ्तारमा वस चलाई ल्याएको र वसको व्रेक नलागेको कारणबाट उक्त घटना भएको हो भन्ने समेत व्यहोराको वुझिएका छविलाल चौधरी समेतका मानिसहरुले गरी दिएको करिव एकै मिलानको कागज ।

७.    मृतक गोरु र गाईको क्षतिपूर्ति वापतको रकम हकवालाले वुझी लिई गरी दिएको कागज मिसिल सामेल रहेको ।

८.    रा.१ ख ८२ नं. को वसले जाहेरवालाको गाई र गोरुलाई ठक्कर दिई किचि मारेकोले उक्त वसको चालक अनिरुद्रप्रसाद माझीलाई मुलुकी ऐन चौपाया महलको १५ नं. बमोजिम कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको अभियोग पत्र ।

९.    २०५९।७।१३ गते मैले चलाई ल्याएको वस त्रि.न.न.पा.वडा नं. १ को सडकमा आई पुग्दा २०।२५ वटा गाई, गोरु वायां तर्फबाट दायां तर्फ उत्तरबाट दक्षिण तर्फ हिडी रहेको देखि मैले गाडीको व्रेक लगाउँदा व्रेक नलागेपछि गाडीको स्पिड नरोकिई गाई र गोरुलाई ठक्कर लागी मरेका हुन भन्ने समेत व्यहोराको प्रतिवादीले अदालतमा गरेको वयान ।

१०.    दुवै पक्षले साक्षी उपस्थित गराउन नसकेको ।

११.    जाहेरवालाको गाई र गोरुलाई ठक्कर दिई मार्ने वस चालकलाई मुलुकी ऐन, चौपायाको १५ नं. बमोजिम कारवाही गरिपाऊँ भन्ने अभियोग दावी भएकोमा मुलुकी ऐन चौपायाको १५ नं. मा चौपायालाई कुट्दा मरेपछि भवितव्य परी मरेको भए यसरी मार्नेलाई सजाँय गर्नुपर्ने व्यवस्था गरेको पाईन्छ । प्रस्तुत मुद्दामा प्र.ले कुटेको र त्यस्तो कुटेको चोटबाट मर्न गएको नभई सवारी साधनको ठक्करबाट घटना घटेको मिसिलबाट देखिँदा प्रतिवादी अनिरुद्रप्रसाद माझीले आरोपित कसूर गरेको नदेखिँदा अभियोग दावीबाट सफाई पाउने ठहर्छ भन्ने दाङ देउखुरी जिल्ला अदालतको फैसला ।

१२.   प्रतिवादी स्वयंले अदालतमा समेत आफूले चलाएको वसले ठक्कर दिएको कारण गाई गोरुको मृत्यु भएको कुरामा स्वीकार गरेकोबाट अभियोग दावी बमोजिम सजाँय गर्नुपर्नेमा शुरु फैसला तथ्य सम्मत नभएको साथै कानूनी त्रुटिपूर्ण हुंदा सो फैसला वदर गरी अभियोग दावी बमोजिम सजाँय गरिपाऊँ भन्ने वादी श्री ५ को सरकारको पुनरावेदन पत्र ।

१३.   प्रस्तुत मुद्दामा प्रतिवादीले कुटेको र त्यस्तो कुटेको चोटबाट मर्न गएको नभै सवारी साधनको ठक्करबाट घटना घटेको मिसिलबाट देखिँदा यस स्थितिमा प्र.अनिरुद्रप्रसाद माझीले आरोपित कसूर गरेको नदेखिँदा अभियोग दावीबाट सफाई पाउने ठहर्याएको शुरु दाङ देउखुरी जिल्ला अदालतको मिति २०६०।३।१९ गते भएको फैसला मिलेकै देखिंदा सो फैसला सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत तुल्सीपुर दाङको मिति २०६०।१०।१९ को फैसला ।

१४.   उक्त फैसलामा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (क) को अवस्था विद्यमान भएकोले मुद्दा दोहोर्याउने निस्सा प्रदान भई निज प्रतिवादीलाई अभियोग दावी बमोजिम सजाँय गरिपाऊँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको यस अदालतमा परेको निवेदन पत्र ।

१५.   यसमा प्रत्यर्थी प्रतिवादी अनिरुद्रप्रसाद माझीले चलाएको रा.१.ख. ८२ नं. को वसको व्रेक फेल भई गाई गोरुलाई चोट लागेर मृत्यु भएको तथ्यमा विवाद देखिंदैन । निज प्रतिवादीले चलाएको सवारीले लाग्न गई गाई र गोरुको मृत्यु भएको विषयवस्तु मुलुकी ऐन चौपायाको महलको २ नं. ले अरु केही कुरा गर्दा अकस्मात लाग्न गई वा केही भई गाई गोरु मर्न गएकोमा भवितव्य ठहर्छ भन्ने कानूनी व्यवस्था भित्र पर्न जाने हुंदा भवितव्य परी गाई र गोरु मरेको वारदात स्थापित भएको देखिन आउँछ । त्यसरी भवितव्य परी गाई गोरुको मृत्यु भएकोमा चौपायाको महलको १५ नं. अथवा उक्त ऐनमा सजाँयको प्रष्ट व्यवस्था नभएको मानेको अवस्थामा पनि मुलुकी ऐन दण्ड सजायको १२ नं. को आधारमा सजाँय हुन सक्ने अवस्थामा सफाई दिने गरेको शुरु जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत दाङ तुल्सीपुरबाट मिति २०६०।१०।१९ मा भएको फैसलामा चौपायाको महलको २ नं., १५ नं. तथा दण्ड सजाँयको १२ नं. को व्याख्यात्मक त्रुटि देखिएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) अनुसार दोहर्‍याई हेर्ने निस्सा प्रदान गरिएको छ । विपक्षी झिकाई शुरु, रेकर्ड र भए प्रमाण मिसिल समेत झिकाई नियमानुसार पेश गर्नु भन्ने यस अदालतबाट मिति २०६१।२।२२ मा भएको आदेश ।

१६.    प्रतिवादी वस चालक वेचन भन्ने अनिरुद्रप्रसाद माझीको नाममा यस अदालतबाट जारी भएको म्याद रित पूर्वक मिति २०६१।५।१५ मा तामेल भएकोमा म्याद भित्र विपक्षी प्रतिवादी हाजिर नभई गुजारी वसेको अवस्था रहेछ ।

१७.   नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी तर्फका विद्धान उप न्यायाधीवक्ता श्री सुरेन्द्रवहादुर थापाले प्रतिवादी स्वयंले आफूले चलाएको वसले ठक्कर दिएको कारण गाई गोरुको मृत्यु भएको कुरा अदालतमा समेत स्वीकार गरेको छ । कानूनद्धारा निषेधित अपराध गर्ने व्यक्तिलाई सजाँय ठहर गर्नुपर्नेमा चौपाया महलको १५ नं. को मनसाय र मर्म तर्फ दृष्टि नै नदिई अपराधबाट पूर्ण सफाई दिने गरी भएको फैसलामा चौपायाको महलको १५ नं. को गम्भिर कानूनी त्रुटि हुन गएकोले अभियोग दावी बमोजिम प्रतिवादीलाई सजाँय होस भनी गर्नु भएको वहस समेत सुनियो ।    

१८.   पुनरावेदन सहितको मिसिलको अध्ययन गरी र विद्धान उप न्यायाधीवक्ताको वहस समेतको विवेचना गर्दा प्रतिवादीले अभियोग दावीबाट सफाई पाउने ठहर्‍याएको शुरु फैसला सदर गरेको पुनरोवदन अदालत तुल्सीपुरको फैसला मिलेको छ , छैन ? सो सम्वन्धमा निर्णय दिनुपर्ने देखियो ।

१९.    यसमा मिति २०५९।७।१३ मा तुल्सीपुर घोराही चल्ने रा.१.ख. ८२ नं. को वसले क्वाके चौधरीको वगलु गाई र सेतो रङ्गको वच्चु चौधरीको गोरुलाई चालकले रफ्तारमा चलाएको कारणले किचि मारेकोले चालकलाई चौपायाको महलको १५ नं. बमोजिम कारवाही गरिपाऊँ भन्ने अभियोग दावी भएकोमा २०५९।७।१३ गते मैले चलाई ल्याएको वस त्रि.न.न.पा.वडा नं. १ को सडकमा आई पुग्दा २०।२५ वटा गाई, गोरु वाटो काट्न लागेको देखि मैले गाडीको व्रेक लगाउँदा व्रेक नलागे पछि गाडीको स्पीड नरोकिई गाई र गोरुलाई ठक्कर लागी मरेका हुन भनी प्रतिवादीले अदालतमा समेत आफूले चलाएको सवारीबाट गाई र गोरुको मृत्यु भएको कुरा स्वीकार गरेको देखिँदा व्रेक फेल भएको कारणले गाई, गोरुको मृत्यु भएको तथ्य देखिन्छ । प्रतिवादीले चलाएको वसको व्रेक फेल भई भवितव्यबाट गाई, गोरुको मृत्यु भएको भन्ने कुरामा विवाद देखिंदैन । मुलुकी ऐन चौपायाको महलको १५ नं. मा कसैको गाई , गोरुलाई कुट्दा भवितव्य भै गाई, गोरु मर्न गएमा विगो भराई विगो बमोजिम जरिवाना गर्नु पर्छ भन्ने उल्लेख छ । प्रस्तुत वारदातमा प्रतिवादीले गाई गोरुलाई कुटेको भन्ने तथ्य स्थापित छैन । सवारी चलाउँदा सवारीको व्रैक फेल हुनु र कुट्नुलाई एउटै अर्थमा लिन मिल्दैन । व्रेक  फेल हुनु एउटा आकस्मिक घटना हो । सवारी साधन जस्तो यान्त्रिक वस्तुमा व्रेक फेल हुनु र त्यस्तो व्रेक फेल भएको अवस्थामा गुडी रहेको सवारीले वाटोमा हिडी रहेको पशुवस्तुलाई कुल्चन सक्ने सम्भावनालाई स्वभाविक घटनाको रुपमा लिनु पर्ने हुन्छ । कुट्नु भनेको कुनै उद्देश्य वा मनसायले गरिने एउटा कार्य हो । तसर्थ, यान्त्रिक गडवडीको कारणले मिसिनरी वस्तुको व्रेक फेल हुनु र कुट्नुलाई समान आपराधिक कार्य (Actus Reus) मान्न सकिदैन । यस स्थितिमा प्रतिवादीले अभियोग दावी बमोजिम मुलुकी ऐन चौपायाको महलको १५ नं. को कसूर गरेको प्रमाणित भएको देखिन आएन । प्रतिवादी उपर चौपायाको महलको १५ नं. को कसूर गरेको भनी अभियोग दायर भएकोमा चौपायाको २ नं. ले अरु केही कुरा गर्दा अकस्मात लाग्न गै वा केही भई गाई गोरु मर्न गएमा भवितव्य ठहर्छ भन्ने व्यवस्था गरेको भनी अदालत आफैले प्रतिवादीलाई उक्त २ नं. को कसूर कायम गरी सजाँय गर्न न्यायोचित नहुने र व्रेक फेल भई गाडीले किची गाई गोरु मरेको अवस्थामा उक्त महलको १५ नं. मा सजाय गर्ने व्यवस्था नगरेको स्थितिमा पनि दण्ड सजाँय महलको १२ नं. बमोजिम सजाँय गर्नु पर्छ भन्न पनि न्यायोचित नहुंदा यस अदालतबाट भएको मुद्दा दोहर्‍याउने निस्सा प्रदान गरेको आदेश सँग सहमत हुन सकिएन । तसर्थ, प्रतिवादीलाई अभियोग दावीबाट सफाई दिने ठहर्‍याएको शुरुको फैसला सदर गरेको पुनरावेदन अदालत दाङ, तुल्सीपुरको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियम बमोजिम गरी वुझाई दिनु ।

 

उक्त रायमा सहमत छु ।

 

न्या.राजेन्द्रप्रसाद कोइराला

इ.अ. नहकुल सुवेदी

 

इति सम्वत् २०६३ साल जेष्ठ १० गते रोज ४ शुभम् ––––––––

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु