निर्णय नं. ९२४० - लेनदेन

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल
माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ
फैसला मिति : २०७१।७।१६।१
०६५-CI-०५२६
मुद्दा : लेनदेन ।
पुनरावेदक/वादी : सिरहा जिल्ला, लाहान नगरपालिका वडा नं.१ बस्ने मदननारायण चौधरी
विरूद्ध
प्रत्यर्थी/प्रतिवादी : सिरहा जिल्ला, लाहान नगरपालिका साविक वडा नं.१ को हाल वडान नं.६ बस्ने चन्द्रनारायण चौधरी
§ लिखतको बीचमा लागेको ऋणीको छाप सम्बन्धमा विशेषज्ञको रायमा केरमेट नभएको ठाउँमा लागेको बीचको छाप अक्षरको मुनि रहेको वा माथि रहेको भन्ने कुरा स्पष्ट र एकिन नगरिएको भए पनि सो छाप लगाई राख्नुपर्ने कुनै प्रयोजन स्पष्ट नभएकाले सो छाप रहे भएको कारणले मात्र उक्त लिखत सद्दे साँचो व्यवहार अनुसार भएको भन्ने कुराको पुष्टि हुन सकेको नदेखिने ।
(प्रकरण नं. २)
§ विवादित लिखत सम्बन्धमा समेत लिफामा छाप लगाएको भनी प्रतिवादी वादी भई मिति २०५०।०२।३२ मा करकाप मुद्दा दायर गरी चलिरहेकै अवस्थामा प्रस्तुत मुद्दाको वादीले प्रतिवादीलाई अर्थात् करकाप मुद्दाको वादीलाई मिति २०५६।०६।०६ मा रू.९७,२२,७५५।- जस्तो ठूलो रकम ऋण प्रदान गरेको भन्ने कुरा विश्वाासलायक हुन सक्ने नदेखिने ।
§ लेनदेन मुद्दाको फिराद करकाप मुद्दामा पुनरावेदन अदालतबाट मिति २०५७।०२।३२ मा फैसला भएपश्चात मिति २०५९।०५।१८ मा २०५६।६।६ को लिखत भनी दायर भएको देखिएबाट करकाप मुद्दाको परिणाम पर्खेर प्रस्तुत मुद्दा दायर भएकाले फिरादमा उल्लेख भएअनुसार लेनदेन भएको भन्ने कुरा विश्वासलायक नदेखिने ।
(प्रकरण नं. ३)
§ प्रतिवादीले ऋण लिएकोमा इन्कार गरेको, लिखत लिफामा तयार भएको भनी विशेषज्ञले स्पष्ट राय दिएकामा प्रतिवादीले कारकाप गरी लिफामा छाप लगाएको भनी लिखत सम्बन्धमा समेत दायर गरेको करकाप मुद्दा कारवाहीयुक्त रहेकै अवस्थामा लेनदेन मुद्दाको वादीले प्रतिवादीलाई ऋण उपलब्ध गराएको भन्ने कुरा विश्वासयोग्य हुन सक्ने अवस्था नहुँदा वादीको दावी पुग्ने अवस्था नभएकाले निस्सा प्रदान गरिएको आधारसँग सहमत हुन नसकिने ।
(प्रकरण नं. ४)
पुनरावेदक/वादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता पद्मराज काफ्ले, अधिवक्ता सुरेशकुमार पौडेल र अधिवक्ता गोपालकृष्ण घिमिरे
प्रत्यर्थी/प्रतिवादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता हरिहर दाहाल, अधिवक्ताहरू सुनिल पोखरेल, प्रेमकुमार शाही र उद्धव के.सी.
अवलम्बित नजिर :
सम्बद्ध कानून :
§ न्याय प्रशासन ऐन, २०४८ को दफा १२ १(क)
§ मुलुकी ऐन, अ.बं. ७८ नं.
सुरू तहामा फैसला गर्ने :
मा.जि.न्या. श्री नारायणप्रसाद श्रेष्ठ
पुनरावेदन तहमा फैसला गर्ने :
मा.न्या. श्री तर्कराज भट्ट
मा.न्या. श्री राजेन्द्रप्रसाद राजभण्डारी
फैसला
न्या. गिरीश चन्द्र लाल : पुनरावेदन अदालत, राजविराजबाट मिति २०६२।०१।०८ मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम मुद्दा दोहोर्याई पाउँ भनी यस अदालतमा निवेदन परी निस्सा प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ :
विपक्षीले मसँग मिति २०५६।०६।०६ गते साँवा रू.९७,२२,७५५।- (सन्तानब्बे लाख बाईस हजार सात सय पचपन्न रूपैयाँ) बुझिलिई सयकडा १० व्याज लगाई साँवा व्याज २०५७ साल फागुन मसान्तसम्ममा बुझाउने भाखा गरी २०५६।०६।०६ गतेमा कपाली तमसुक गरी दिएकोमा भाखा व्यतीत भएपछि साँवा व्याज आज भोलि भनी आलटाल गरेकाले लेनदेन व्यवहारको महलको २ नं. को हदम्यादभित्र यो फिराद गरेको हुँ । आजसम्मको हुने साँवा व्याज रू.१,२६,१७,९७५।१७ र बिगो भरिभराउसम्मको व्याज र मैले दाखिल गरेको कोर्टफिसमेत दिलाई भराई पाउँ भन्नेसमेत व्यहोराको मिति २०५६।०५।१८।३ को फिरादपत्र ।
वादीले दावी लिएको मिति वा अन्य कुनै पनि मिति समयमा मैले वादीसँग कर्जा लिएको छैन । यिनै वादी मदननारायण चौधरीसमेतले मलाई २०५०।०२।०१ गतेमा जबर्जस्तीसँग करकापद्वारा कागज गराएकोमा वादी मदननारायण चौधरीसमेतउपर यसै अदालतमा २०५० सालको फौ. नं. ५७ को करकाप मुद्दा यसै अदालतबाट २०५३।११।१९ मा भएको फैसलाउपर २०५४ साल को दु.फौ.नं. २२।४४६ को पुनरावेदन परी २०५७।०२।३२ मा फैसला भई सो कारवाहीयुक्त अवस्थामा हुँदा वादीले त्यति ठूलो रकम मिति २०५६।०६।०६ मा कर्जा दिएको कुरा विश्वासलायक नहुँदा वादीले पेस गरेको सक्कल तमसुक देखाए सुनाएको अवस्थामा अ.बं. ७८ बमोजिम बयान गर्दा नामकरण गर्नेछु भन्ने २०५६।०९।०४।५ को प्रतिवादी चन्द्रनारायण चौधरीको प्रतिउत्तरपत्र ।
वादी दावीको सक्कल लिखत अ.बं.७८ नं. बमोजिम प्रतिवादीलाई देखाई सुनाई बयान गराई नियमानुसार पेस गर्नु भन्ने २०५६।१०।२३।५ को आदेश ।
वादी दावीको लिखत देखाउँदा देखेँ सुनेँ । यी कागज वादीसमेतले मलाई वारिस गरी दिने चन्द्रनारायण चौधरीबाट २०५० साल जेठ १ गतेमा १० थान कागजमा करकापद्वारा कागज गराएको मध्ये यो एउटा हो । यस सम्बन्धमा २०५० सालको स.फौ.नं. ५७ को करकाप मुद्दा सर्वोच्च अदालतमा दिई मुद्दा दोहोर्याई पाउँ भनी दिएको मुद्दा कारवाहीयुक्त अवस्थामा छ । प्रस्तुत कागज लिफामा भरिएको हुँदा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट जाँच गराइपाउँ भन्ने २०५९।१२।०९ को प्रतिवादी वादी वारिस राजकुमार रायको बयान ।
बयान व्यहोरा झुट्ठा हो । वादी दावीको कपाली तमसुक सद्दे साँचो व्यहोराबाट भएको हुँदा दावी अनुसारको साँवा व्याज वादीले प्रतिवादीबाट भरिपाउने हो । प्रस्तुत मुद्दामा करकाप मुद्दा प्रमाणमा लाग्ने होइन भन्ने २०५९।१२।०९ को किसन कामैतको बयान ।
प्रतिवादीले बयान गर्दा दावीको तमसुक लिफामा लेखिएको हो भनी उल्लेख गरेबाट तमसुकमा लिखत साक्षी अन्तरसाक्षीलाई अ.बं.१३९ नं. बमोजिम झिकाई बुझ्नु, प्रतिवादी चन्द्रनारायण चौधरीको १० वटा नमुना ल्याप्चे लिई सक्कल लिखत साथै राखी परीक्षणको लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाई परीक्षण प्रतिवेदन आएपछि स.फौ.नं. ५७ को करकाप मुद्दा अ.बं. ७८ नं. बमोजिम गरेको बयानको स.ज.६ मा उल्लिखित मुद्दासमेत साथै राख्नु भन्ने २०५९।१२।२७।५ को आदेश ।
मलाई उल्लिखित सक्कल लिखत देखाउँदा सुनाउँदा देखेँ सुनेँ । कपाली तमसुकको किनारामा अन्तरसाक्षीमा भएको मेरो नामअगाडिको सही मेरो सद्दे नै हो । मिति २०५६।०६।०६ मा धनी मदननारायण चौधरीसँग ऋणी चन्द्रनारायण चौधरीले रू.९७,२२,७५५।- कर्जा लिई ऋणीले सहीछाप गरी धनीलाई दिएका हुन् करकापबाट भएको लिखत होइन भन्ने २०६०।०२।१५ को अ.बं.१३९ नं. बमोजिम बुझिएका रामकुमार प्रधानको बयान ।
मैले धनी मदननारायण चौधरी ऋणी चन्द्रनारायण चौधरी भएको थैली रू.९७,२२७,५५।- को मिति २०५६।०६।०६।५ को कपाली तमसुक मैले लेखेको हुँ । उक्त तमसुक लिफामा भरेको वा करकाप केही होइन । मेरो सामुन्नेमा पैसा लिनु भई ऋणीले शिर पुच्छर तथा तमसुकको व्यहोरासमेतमा सहीछाप गरेकाले प्रतिवादीको बयान झुट्ठा हो भन्ने २०६०।०२।१५ गतेको अ.बं.१३९ नं. बमोजिम झिकाइएका लेखक साक्षी गोलाई चौधरीको बयान ।
अ.बं.१३९ नं. बमोजिम झिकाइएका लेखक साक्षी तथा अन्तरसाक्षीलाई तारिखमा राख्नु भन्ने मिति २०६०।०२।१५ गतेको आदेश ।
अ.बं.१३९ नं. बमोजिम बुझिएका रेशमलाल चौधरीले मिति २०६०।०२।११ को तामेली म्यादै गुजारी बसेको ।
२०५६।१२।२७।५ का आदेशानुसार राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको राय मिसिल सामेल रहेको ।
यसमा प्रतिवादीले बयान गर्दा लिफामा अक्षरहरू भरेको हो । उक्त लिखतको बीचमा भएको छापसमेत अक्षरमाथि भएको जस्तो भनी जिकिर लिएको देखिँदा सो लिखत लिफामा भरेको हो होइन र बीचको छापसमेत अक्षरमाथि छ छैन भन्ने सम्बन्धमा एकिन राय बुझ्न राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाउनु र राय आएपछि नियमानुसार पेस गर्नु भन्ने मिति २०६०।१२।१२ को आदेश ।
२०६०।१२।१२ को आदेशानुसार राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको राय मिसिल सामेल रहेको ।
यसमा प्रस्तुत मुद्दामा पेस भएको लिखत जाँच गर्ने सम्बन्धित विशेषज्ञका नाउँमा बन्द सवाल जारी गरी ललितपुर जिल्ला अदालत, पाटनबाट बकपत्रको कार्य सम्पन्न गराइदिनु । बन्द सवाल साथै राखी पत्र लेखी उक्त बकपत्रको कार्य सम्पन्न भई प्राप्त भएपछि नियमानुसार पेस गर्नु भन्ने मिति २०६१।०८।१७।५ सिरहा जिल्ला अदालतको आदेश ।
सो २०६१।०८।१७।५ बमोजिमको बन्द सवालको आदेशको काम सम्पन्न भई सो बकपत्र मिसिल सामेल रहेको ।
यसमा सं.फौ.नं. ५७।१ को यिनै पक्ष विपक्ष भएको करकाप मुद्दामा यस अदालतबाट मिति २०५३।११।१९ मा भएको फैसलाउपर पुनरावेदन परी २०५७।०२।३२ मा पुनरावेदन अदालत, राजविराजबाट फैसला भएपछि यस अदालतमा प्रस्तुत लेनदेन मुद्दा मिति २०५९।०५।१८ मा दर्ता हुन आएको र उक्त करकाप मुद्दामा यिनै लेनदेन मुद्दाका वादी करकाप मुद्दाको प्रतिवादीसमेतले प्रतिउत्तर फिराउँदा प्रतिवादीले करकाप मुद्दाका वादीलाई कुनै कागज गराएको छैन भनी प्रतिउत्तरको प्रकरण ११ मा खुलाई दिएको देखिन आएकोबाट र करकाप मुद्दा चल्दाचल्दै मुद्दाको किनारा
नहुँदाको अवस्थामा यी वादी र प्रतिवादीको लेनदेन मुद्दामा भएको मिति २०५६।०६।०६ गतेको लिखत सत्य र साँचो व्यवहारबाट भएको भनी मान्न न्यायोचित देखिन नआउँदा प्रस्तुत मुद्दामा वादी दावी पुग्न सक्तैन । दण्ड सजायको महलको १८ नं. बमोजिम वादीलाई केही सजाय गरिरहन परेन भन्ने व्यहोराको २०६२।१।८ मा सिरहा जिल्ला अदालतबाट फैसला भएको ।
मिति २०५६।०६।०६ को लिखत मिति २०५६।१२।०९ मा प्रतिवादी चन्द्रनारायण चौधरीको वारिसलाई सुनाउँदा प्रस्तुत कागज लिफामा भरिएको हो भनी बयान गरेबाट लिखतमा भएको हस्ताक्षर एवम् रेखात्मक सही प्रतिवादी चन्द्रनारायणकै हो भन्ने कुरामा विवाद देखिँदैन । सहीछाप ऋणीकै देखिएपछि लिखतलाई अन्यथा भन्न मिल्दैन । साथै बयानमा करकाप भनी बयान गरे पनि करकाप मुद्दा चल्न सक्तैन । प्रतिवादीले बयानमा सहीछाप स्वीकार गरेको सो कुरा विशेषज्ञको मिति २०६०।०८।२९ को रायसमेतबाट पुष्टि भइरहेकाले २०५६।०६।०६ को लिखतलाई करकापसँग कागज गराएको ठहर गर्नुका साथै लिफासमेत हो भनी निष्कर्षमा पुगी वादी दावी नपुग्ने ठहर गरेको सिरहा जिल्ला अदालतको २०६२।०१।०८ को फैसला त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरी मेरो दावीबमोजिम साँवा व्याज भरिपाउने गरी फैसला गरिपाउँ भन्नेसमेत व्यहोराको वादी मदननारायण चौधरीको पुनरावेदन जिकिर ।
पुनरावेदकमध्येको म गोलाई चौधरीले मिति २०५६।०६।०६ को तमसुक र म रामकुमार प्रधान सो लिखतको अन्तरसाक्षी हुँ । हामी प्रस्तुत मुद्दाको किर्तेतर्फको प्रतिवादी भएकोमा २०६२।०१।०८ को फैसलाले हामीउपरको किर्तेतर्फको दावी ठहर नगरिएकोबाट हामीहरूले मुद्दा जितेकै हुँदा जित्ने पक्षलाई पुनरावेदनको म्याद दिइएको म्याद कानूनसङ्गत नभएकाले सो हदसम्म सो फैसलामा भएको वाक्यांश हटाई लिखतको बिगोसमेतको सम्बन्धमा निर्णय गरिपाउँ भन्नेसमेत व्यहोराको रामकुमार प्रधान र गोलाई चौधरीको संयुक्त पुनरावेदन रहेछ ।
पुनरावेदक वादी र ऋणी प्रतिवादी चन्द्रनारायण चौधरीबीच लेनदेन भई सही सत्य व्यहोराबाट वादी दावीको लिखत तयार भएको हो भनी भन्ने अवस्था विद्यमान रहेको देखिएन । तसर्थ वादी दावी पुग्न नसक्ने ठहर गरी सुरू सिरहा जिल्ला अदालतबाट मिति २०६२।०१।०८ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदकहरूको पुनरावेदन जिकिर पुग्न सक्तैन भन्ने पुनरावेदन अदालत, राजविराजको मिति २०६२।०५।१६ को फैसला ।
विपक्षीले मसँग मिति २०५६।०६।०६ मा गरेको सो कपाली तमसुकलाई अन्यथा भनी गरेको पुनरावेदन अदालत, राजविराजसमेतले गरेको फैसला ऐन कानून एवम् सर्वोच्च अदालतबाट प्रतिपादित नजिर सिद्धान्तसमेतको आधारमा त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरी निस्सा प्रदान गरी मेरो दावी अनुसार न्याय दिलाई पाउँ भन्ने व्यहोराको यस अदालतमा परेको मुद्दा दोहोर्याई पाउँ भन्ने निवेदन ।
यसमा यस निवेदनसँग सम्बन्धित यसै अदालतमा दायर भएको संवत् २०५८ सालको दे.पु.नं. ८०१५ पुनरावेदक सुरेन्द्रप्रसाद चौधरी र प्रत्यर्थी सुरेन्द्रलाल चौधरी भएको लेनदेन मुद्दा साथै राखी नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०६४।०२।२३ को आदेश ।
यसमा यसै लेनदेन व्यवहारको लिखतलाई करकापबाट सिर्जना भएको भनी यसै अदालतमा चलिरहेकै फौ.पु.नं. ३७५९ को करकाप मुद्दामा संयुक्त इजलासबाट दोहोर्याई हेर्ने निस्सा प्रदान भई विचाराधीन अवस्थामा रहेको र प्रस्तुत मुद्दाको तथ्य उक्त करकाप मुद्दासँग प्रत्यक्ष सरोकारको भई अन्तरप्रभावीसमेत हुँदा प्रस्तुत मुद्दामा पनि सोही आधार र कारणबाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२ १(क) अनुसार मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिएको छ । प्रत्यर्थी झिकाई आएपछि वा अवधि नाघेपछि यसै साथ पेस भएको लगाउको मुद्दासमेत साथै राखी नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०६५।११।१५ को आदेश ।
यसमा पुनरावेदन अदालत, राजविराजको फैसलामा उल्लेख भएको यी प्रतिवादी चन्द्रनारायण चौधरी वादी र मदननारायण चौधरीसमेत प्रतिवादी भएको सिरहा जिल्ला अदालतमा दायर भएको २०५० सालको फौ.नं. ५७ को करकाप मुद्दा मिति २०५३।११।१९ मा फैसला भएको मिसिल सिरहा जिल्ला अदालतबाट एक हप्ताभित्र झिकाई नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०७१।०२।११ को आदेश ।
नियमबमोजिम आजको मुद्दा पेसीसूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक/ वादीतर्फबाट विद्वान् वरिष्ठ अधिवक्ता श्री पद्मराज काफ्ले, अधिवक्ता श्री सुरेशकुमार पौडेल र अधिवक्ता श्री गोपालकृष्ण घिमिरेले मेरो पक्षको सद्दे लिखत हो । विशेषज्ञले लिफाबारे एकिन भन्न सक्नुभएको छैन । प्रतिवादीले शिर पुछारको सही मेरो हो भन्छ । लिखत साक्षीहरूले आफ्नो सामुन्नेमा सहीछाप भएको भन्छन् । तसर्थ पुनरावेदन अदालत, राजविराजको फैसला बदर गरी फिराद दावीबमोजिम गरिपाउँ भन्ने बहस गर्नुभयो । त्यस्तै प्रत्यर्थी प्रतिवादीतर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल, अधिवक्ताहरू श्री सुनिल पोखरेल, श्री प्रेमकुमार शाही र श्री उद्धव के.सी. ले कागज गरेकोमा प्रतिवादी इन्कार छन्, लिखतको बीच भागमा नकाटिएको ठाउँमा छाप लागेको छ । विशेषज्ञले लिफामा लेखेको भनेका छन् । अर्को पक्षसँग चलेको करकाप मुद्दालाई आधार बनाई निस्सा प्रदान गरेको मिलेको छैन । तसर्थ पुनरावेदन अदालतको फैसला सदर गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।
यसमा मिसिल हेर्दा विपक्षीले मसँग मिति २०५६।०६।०६ गते रू.९७,२२,७५५।- बुझिलिई मिति २०५७ फागुन मसान्तसम्ममा साँवा व्याज बुझाउने भाखा राखी कपाली तमसुक गरेकाले दिलाई पाउँ भन्ने फिराद दावी रहेकोमा प्रतिवादीले इन्कारी प्रतिउत्तर फिराएकोमा सुरू जिल्ला अदालतले वादी दावी नपुग्ने ठहर्याई फैसला गरेकोमा सो इन्साफउपर वादीको पुनरावेदन पर्दा सुरू इन्साफ सदर हुने ठहरी पुनरावेदन अदालत, राजविराजबाट फैसला भएउपर मुद्दा दोहोर्याई हेरी पाउँ भनी यस अदालतमा निवेदन पर्दा निस्सा प्रदान भएबाट प्रस्तुत मुद्दा निर्णयार्थ पेस भएको देखियो ।
यसमा पुनरावेदनसहितको मिसिल अध्ययन गरी विद्वान् कानून व्यवसायीहरूले गर्नुभएको बहस बुँदाहरूसमेत सुनी निर्णयतर्फ विचार गर्दा पुनरावेदन अदालत, राजविराजको फैसला मिलेको छ छैन पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन सोही विषयमा निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ हेर्दा यसमा विवादको लिखत भएको भनिएको मिति २०५६।०६।०६ भन्दा पहिले प्रस्तुत मुद्दाको प्रतिवादीले यस मुद्दाको वादीसमेत माथि मिति २०५०।०२।३२ मा सिरहा जिल्ला अदालतसमक्ष करकाप मुद्दा दायर गरेकोमा सो मुद्दामा सिरहा जिल्ला अदालतबाट मिति २०५३।११।२९ मा फैसला भै सो फैसला पुनरावेदन अदालत, राजविराजबाट मिति २०५७।०२।३२ मा सुरू फैसला सदर भएको र सो करकाप मुद्दा सम्बन्धमा यस अदालतसमक्ष दोहोर्याई पाउँ भनी निवेदन परे पनि यस सर्वोच्च अदालतबाट मिति २०६३।०२।१४ मा निस्सा प्रदान नभएको देखिन्छ । प्रस्तुत मुद्दाको प्रतिवादीले दायर गरेको करकाप मुद्दा ठहर नभए पनि यस लेनदेन मुद्दामा भएको कागज केकस्तो रहेछ अर्थात् साँचो व्यहोराको हो होइन भन्नेे सम्बन्धमा विचार गर्दा सम्बन्धित लिखत सद्दे साँचो व्यहोराको नभएको, वादीले आफूसँग मिति २०५०।२।१ मा १० थान लिखतमा करकापसँग कागज गराएकोमा सोमध्येको १ थान लिखत प्रस्तुत दावीको लिखत भई लिफामा कागज गराएको हो भनी प्रतिवादीले आफ्नो प्रतिउत्तर एवम् अदालतसमक्ष ७८ नं. अनुसार बयान गर्दा भनेको कुरासमेतलाई मध्यनजर राखी सुरू सिरहा जिल्ला अदालतले विवादित लिखतको सत्यता जाँचको लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला पठाएकोमा सम्बन्धित लिखत लिफामा तैयार भएको भनी राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको विशेषज्ञले मिति २०६१।०४।०५ को पत्रसाथ राय पठाएको देखिन्छ एवम् सो लिखतको बीचमा लागेको ऋणीको छाप सम्बन्धमा विशेषज्ञको रायमा केरमेट नभएको ठाउँमा सो छाप लागेको भनी उल्लेख भएको
देखिन्छ । उक्त लिखतमा केरमेट नभएको ठाउँमा लागेको बीचको छाप अक्षरको मुनि रहेको वा माथि रहेको भन्ने कुरासमेत स्पष्ट र एकिन नगरिएको भए पनि सो छाप लगाई राख्नुपर्ने कुनै प्रयोजन स्पष्ट नभएकाले सो छाप रहे भएको कारणले मात्र उक्त लिखत सद्दे साँचो व्यवहार अनुसार भएको भन्ने कुराको पुष्टि हुन सकेको देखिएन ।
३. साथै प्रस्तुत मुद्दामा अर्को महत्त्वपूर्ण कुरा विचारणीय के छ भने प्रस्तुत लिखत सम्बन्धमा समेत लिफामा छाप लगाएको भनी यस मुद्दाको प्रतिवादी वादी भई मिति २०५०।०२।३२ मा करकाप मुद्दा दायर गरी चलिरहेकै अवस्थामा प्रस्तुत मुद्दाको वादीले प्रतिवादीलाई अर्थात् करकाप मुद्दाको वादीलाई मिति २०५६।०६।०६ मा रू.९७,२२,७५५।- जस्तो ठूलो रकम ऋण प्रदान गरेको भन्ने कुरा विश्वासलायक हुन सक्ने देखिँदैन । त्यसका अतिरिक्त प्रस्तुत लेनदेन मुद्दाको फिराद करकाप मुद्दामा पुनरावेदन अदालत, राजविराजबाट मिति २०५७।०२।३२ मा फैसला भएपश्चात मिति २०५९।०५।१८ मा २०५६।६।६ को लिखत भनी दायर भएको देखिएबाट करकाप मुद्दाको परिणाम पर्खेर प्रस्तुत मुद्दा दायर भएकाले फिरादमा उल्लेख भएअनुसार लेनदेन भएको भन्ने कुरा विश्वासलायक देखिँदैन ।
४. त्यसकारण प्रतिवादीले ऋण लिएकोमा इन्कार गरेको, लिखत लिफामा तैयार भएको भनी विशेषज्ञले स्पष्ट राय दिएको साथसाथै यस मुद्दाको प्रतिवादीले कारकाप गरी लिफामा छाप लगाएको भनी यस लिखत सम्बन्धमा समेत दायर गरेको करकाप मुद्दा कारवाहीयुक्त अवस्थामा रहेकै अवस्थामा प्रस्तुत लेनदेन मुद्दाको वादीले प्रतिवादीलाई ऋण उपलब्ध गराएको भन्ने कुरा विश्वासयोग्य हुन सक्ने अवस्था नहुँदा वादीको पुनरावेदन जिकिरबमोजिम दावी पुग्ने अवस्था भएन । अतएव यस अदालतबाट मिति २०६५।११।१५ मा निस्सा प्रदान गरिएको आधारसँग सहमत हुन सकिएन ।
५. अत: सुरू सिरहा जिल्ला अदालतबाट भएको मिति २०६२।०१।०८ को फैसलालाई सदर हुने ठहर गरेको पुनरावेदन अदालत, राजविराजको मिति २०६२।०५।१६ को फैसलालाई अन्यथा भन्न मिलेन सो फैसला सदर हुने ठहर्छ । वादीको पुनरावेदन पुग्न सक्तैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या. देवेन्द्र गोपाल श्रेष्ठ
इति संवत् २०७१ साल कात्तिक १६ गते रोज १ शुभम् ।
इजलास अधिकृत : टेकराज जोशी