शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९२४३ - कर्तव्य ज्यान

भाग: ५६ साल: २०७१ महिना: पौस अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री सुशीला कार्की

माननीय न्यायाधीश श्री दीपकराज जोशी

फैसला मिति : २०७१।६।२९। ४

०६८-CR-१२२७

 

मुद्दा : कर्तव्य ज्यान ।

 

पुनरावेदक/वादी : प्रहरी निरीक्षक कमलप्रसाद खरेलको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी/प्रतिवादी : जिल्ला सर्लाही, मुसैली गा.वि.. वडा नं. १ बस्ने रामईश्वर राय यादवसमेत

 

§  अनुसन्धान तहकिकातको सिलसिलामा कागज गराइएका व्यक्तिहरू जबसम्म अदालतमा आई आफूले बोलेका कुराहरू खम्बिर हुने गरी बकपत्र गर्दैनन् उक्त प्रमाणहरूलाई ग्राह्य भन्न  नसकिने ।

(प्रकरण नं. )

§  कुनै पनि हत्याको आपराधिक कार्य प्रमाणित हुनको लागि सो कार्य दुषित मनसाय (Mens Rea) राखी पूर्वयोजना बनाई कार्य (Actus Reus) गरिएको हुनुपर्दछ । सो कार्यको परिणामको पूर्वजानकारी (Foresightness of consequence)  र परिणाम  घटाउने इच्छा (Desire of consequence) समेत भएको हुनुपर्दछ । कर्तव्य ज्यान मुद्दामा प्रतिवादीहरूद्वारा गरिएको कार्यमा ती चार तत्त्वहरू रहेका थिए भन्ने कुरा वादी पक्षले नै ती कुरा स्थापित भएको प्रमाणित गर्नुपर्ने ।

(प्रकरण नं. )

 

पुनरावेदक/वादीको तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता टिकेन्द्र दाहाल

प्रत्यर्थी/प्रतिवादीको तर्फबाट :

अवलम्बित नजिर :

§  नेकाप २०४८, अङ्क ५, नि.नं. ४२८७, पृ. १८६

§  सर्वोच्च अदालत बुलेटिन २०५९, वर्ष ११, अङ्क ९, पृ.१९

सम्बद्ध कानून :

§  मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं., १३() र १६ नं.

§  प्रमाण ऐन, २०३१ को दफा १८

 

सुरू तहमा फैसला गर्ने :

मा.जि.न्या.श्री कुलप्रसाद शर्मा

पुनरावेदन तहमा फैसला गर्ने :

मा.मु.न्या.श्री अली अकवर मिकरानी

मा.जि.न्या.श्री द्वारिकामान जोशी

 

फैसला

            न्या. सुशीला कार्की : न्याय प्रशासन ऐन२०४८ को दफा ९() बमोजिम पुनरावेदन अदालत, जनकपुरको मिति २०६८।६।२ को फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पुनरावेदन परी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम्ठहर यस प्रकार छ :

            जिल्ला सर्लाही, मलङ्गवा नगरपालिका वडा नं.२ मा बस्ने वर्ष २९ की पचियादेवीलाई हत्या गरी सो स्थानदेखि आधा कि.मि. दक्षिण नेपाल भारतको सिमाना नजिक धान खेतमा मृतक फेला परेको भन्ने व्यहोराको मिति २०६१।७।२४ गतेको रिपोर्ट जाहेरी ।

            जिल्ला सर्लाही, मलङ्गवा नगरपालिका वडा नं.२ स्थित राजश्री सिनेमा हलदेखि १०० गज तथा कृष्णहरि रामहरिको घरदेखि पश्चिम, रमेश साहको घरदेखि पूर्व, श्यामकिशोरको खाली जग्गादेखि उत्तर, हुलाकी सडकदेखि दक्षिण यति ४ किल्लाभित्र रहेको उत्तर मुखको मूलढोका भएको पचियादेवी सुत्ने गरेको घर कोठा घटनास्थल सो कोठाभित्र खाटमाथि विस्ताराको डसना तकियाको खोलमा रगत जस्तो लागेको सोही कोठामा लेडिज साडी जस्तो गम्छा रहेको बाहिरपट्टि झ्यालमा जेन्स लुँगी रहेको भन्ने व्यहोराको घटनास्थल मुचुल्का ।

            नेपाल भारत सिमाना नजिक ३२६।१ नं. को पिलरदेखि १०० गज उत्तर नेपालतर्फ धान खेतमा मृतक लास रहेको, मृतक लासको खुट्टामा तन्नाले बाँधिएको अवस्थामा रहेको, माथि जीउमा कपडा नभएकोमुख अनुहारमा कीरा

परी मासु झरेको, बायाँ हातको नाडीमा पचियाकुमारी नाम लेखेको, टाउकोको रौँ झरी लासको शरीरमा कीरा परी दुर्गन्ध आएको, मृतक लासदेखि १०० गज उत्तर धान खेतमा बुन्दै गरेको स्विटर फेला परेको सोमा रगत लागेको जस्तो देखिएको मृतक पचियादेवीको लास जाँच मुचुल्का ठीक छ भन्ने व्यहोराको लास जाँच मुचुल्का ।

            मृतक पचियादेवीको पति सियास्वरूप रायको मृत्यु भएपछि पचियादेवीलाई सौतापक्षको छोरा नातिहरूले खानलाउन नदिएकोमा पचियादेवीले अदालतमा अंश मुद्दा दिई अदालतबाट अंशसमेत पाई मलङ्गवा नगरपालिका वडा नं. २ स्थितको घरमा बस्न थालेपछि सौतापक्षका छोरा योगेन्द्र राय नातिहरूसमेत आई गाली बेइज्जती तथा ज्यानमार्ने धम्कीसमेत दिँदै आएका थिए भन्नेसमेत व्यहोराको घटनास्थल आसपासका मानिसहरूले बकी लेखाएको घटना विवरण कागज ।

मृतक पचियादेवीको हत्या सम्बन्धमा बुझ्दा मृतकका सौतापक्षका छोरा  योगेन्द्र राय, राजेन्द्र राय, महेन्द्र रायरामचन्द्र राय, नाति रामईश्वर  रायराम कैलास राय, प्रमोद राय, रामप्रताप राय, रामएकवाल राय, संजय रायमलङ्गवा नगरपालिका ३ बस्ने भोला साह, भारत सोनवर्षा बस्ने अजय महतोसमेत भई हत्या गरेको बुझिएको भन्ने व्यहोराको प्र.नि. कमलप्रसाद खरेलको प्रतिवेदन जाहेरी ।

मृतक पचियादेवीको मिसिल संलग्न पोस्टमार्टम प्रतिवेदन ।

पचियादेवीले ज्यानको शान्ति सुरक्षा गरिपाउँ भनी जिल्ला प्रशासन कार्यालय, सर्लाहीमा दिएको सक्कलै निवेदन । मृतक पचियादेवी सौतेनी सासु हुन् । निजलाई कोकसले हत्या गरे थाहा भएन । मेरा पति योगेन्द्र राय तथा देवर, मेरा छोरा, भतिजाहरूले हत्या गरेका होइनन् भन्ने व्यहोराको जिल्ला सर्लाही, मुसैली गा.वि.. वडा नं. १ बस्ने योगेन्द्रप्रसाद यादवकी श्रीमती जगतारणदेवीले हुलाकद्वारा पठाएको जाहेरी ।

हुलाकद्वारा पठाएको जाहेरी मैले नै दिएको हुँ । देखी पहिचान गरी सनाखत गरिदिएँ भनी जगतारणदेवीले गरेको सनाखत कागज ।

मृतक पचियादेवीले सौतापक्षका ४ भाइ छोरासमेतउपर अंश मुद्दा अदालतमा दायर गरी अंश पाएकीसोही रिसइबिबाट हत्या भएको हो । उक्त मुद्दामा अनुसन्धान गरी दोषीलाई कारवाही गरिपाउँ भन्ने व्यहोराको मलङ्गवा निवासी सचेत नागरिकले हुलाकद्वारा पठाएको जाहेरी दरखास्त ।

प्रतिवादीहरूलाई खोज तलास गर्दै जाँदा प्रतिवेदन जाहेरीमा उल्लिखित प्रतिवादीमध्येका जिल्ला सर्लाही, मलङ्गवा नगरपालिका बस्ने भोला भन्ने सुरेश साह तेली फेला परेकाले निजलाई पक्राउ गरी यसै निवेदन साथ दाखिल गरेको छु भन्नेसमेत व्यहोराको प्र.ना.नि. सोनेलाल मण्डलको प्रतिवेदन ।

मृतक पचियादेवीका सौतापक्षका छोरा नातिहरूले दुःख हैरानी दिँदै आएको र घटनाको ३/४ दिन घटनास्थल वरिपरि हिँडेको देखेको थिएँ । पचियादेवीलाई निजका पक्षका छोरा नातिसमेत भई हत्या गरेको हुनुपर्छ  भन्ने व्यहोराको घटनास्थल आसपासका मानिसहरू जुगकिसोर साहसमेतले गरेको घटना कागज ।

विश्वज्योति बैङ्कमा काम गर्ने भएकाले चिनजान भएको २०६१।७।१४ गते साथी रामईश्वर रायको घरमा जाँदा निजका बाबु योगेन्द्र रायकाका महेन्द्र रायरामचन्द्र राय, भाइ रामकैलास रायप्रमोद रायरामप्रताप रायरामएकवाल राय, संजय रायसमेत बसी पचियादेवीले आफ्नो अंश अदालतबाट जितेपछि हाम्रो सम्पत्ति हानि नोक्सानी गर्ने भयो । यसलाई पन्छाउनुपर्ने भयो भन्ने सल्लाह भएअनुसार भारत सोनवर्षा बस्ने अजय महतो र मसमेत भई पचियादेवीलाई नाक मुख घाँटी थिची हत्या गरी मृतक लास सो स्थानदेखि दक्षिण बोर्डर नजिक धानखेतमा फालेको हुँ भन्ने व्यहोराको पक्राउ परेका प्रतिवादी भोला भन्ने सुरेश साहतेलीले अनुसन्धानको क्रममा गरेको बयान कागज ।

परीक्षणको लागि पठाएको रगत नमुना एकआपसमा एकै ग्रुपको रगत हो भन्ने व्यहोराको प्रहरी वैज्ञानिक प्रयोगशालाको प्रतिवेदन ।

फरार रहेका प्रतिवादीहरूलाई खोज तलास गर्दा गाउँ घरमा फेला नपरेको भन्ने व्यहोराको प्र.ना.नि. सोनेलाल मण्डलको प्रतिवेदन ।

मृतक पचियादेवी र निजका सौतापक्षका छोरा योगेन्द्र रायमहेन्द्र रायरामचन्द्र रायराजेन्द्र राय  र नातिहरूसमेतसँग अंश मुद्दा जितेपछि वाद विवाद हुँदै आएको थियो । योगेन्द्र रायको श्रीमती जगतारणदेवीले बचाउनको लागि हुलाकद्वारा जाहेरी दिएकी हुन् भन्ने व्यहोराको बुझिएका सलाम मियाँसमेतले बकी लेखाएको कागज । 

मृत्युको कारण पोस्टमार्टम प्रतिवेदनमा र प्रतिलिपिसमेतमा खुलाई पठाएको भन्ने व्यहोराको सर्लाही अस्पतालको पत्र ।

घटनास्थल तथा लासप्रकृति मुचुल्का, घटनास्थल आसपासका बुझिएका व्यक्तिहरूको कागज, प्रहरी निरीक्षक कमलप्रसाद खरेलको प्रतिवेदन, मृतक पचियादेवीको पोस्टमार्टम रिपोर्ट, निजले जीवित छँदैको अवस्थामा शान्ति सुरक्षाको लागि जिल्ला प्रशासन कार्यालय, सर्लाहीमा दिएको निवेदनपक्राउ परेको भोला भन्ने सुरेश साहले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज, बुझिएका प्रमाणका मोहन ठाकुरसमेतको कागजलगायत सङ्कलित सम्पूर्ण सबुद प्रमाणका आधारमा मृतक पचियादेवीको मृत्यु कर्तव्यबाट भएको भन्ने तथ्य प्रमाणित हुन आएको विरूद्ध खण्डका प्रतिवादीहरू भोला भन्ने सुरेश साहयोगेन्द्र राययादव, राजेन्द्र राययादव, महेन्द्र भन्ने सुरेन्द्र राययादव, रामचन्द्र राययादवरामईश्वर राययादवअजय महतोसुडीसमेतका प्रतिवादीहरूले उल्लिखित मलङ्गवा नगरपालिका स्थित पचियादेवीको घरमा अंश सम्पत्ति लिएको कारणबाट निजका सौताका छोरा योगेन्द्र रायसमेतले सल्लाह योजना बनाई रामईश्वरले आफ्नो साथी भोला भन्ने सुरेश र अजय महतोसमेतको सहयोग लिई २०६१।७।२० गते राति कर्तव्य गरी मारेको प्रमाणित हुन आएको र यो यसको चोटबाट मृत्यु भएको भन्ने तथ्य देखिन खुल्न आएको नहुँदा विरूद्ध खण्डका प्रतिवादीहरू भोला भन्ने सुरेश साहसमेतका सम्पूर्ण प्रतिवादीहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. १३() र १६ नं. को कसुर अपराधमा ऐ. महलको १३( ) नं. र १६ नं. अनुसार सजाय हुन माग दावी लिएको छ भन्नेसमेत व्यहोराको अभियोग   दावी ।

            मसमेत भई पचियादेवीलाई कर्तव्य गरी मारेको होइन । निजलाई को कसले कर्तव्य गरी मारे मराए मलाई थाहा जानकारी छैन । मउपरको अभियोग दावी सबै झुट्ठा हो । अन्य प्रतिवादीहरूले पचियादेवीलाई मारे नमारेको मलाई थाहा जानकारी छैन । मैले निज पचियादेवीलाई मार्नुपर्ने कुनै कारण छैन । अन्य प्रतिवादीसँग मृतकको अंश मुद्दा भए नभएको मलाई कुनै कुरा पनि थाहा जानकारी छैन । मलाई विश्वज्योति बैङ्कको रूपैयाँ उठाउन हिडेको अवस्थामा आजभन्दा डेढ महिनाअगाडि पक्राउ गरी थुनेका हुन् । मैले कसुर अपराध नगरेको हुँदा मलाई सजाय हुने होइन भन्नेसमेत व्यहोराको अभियोगसाथ पेस भएका प्रतिवादी भोला भन्ने सुरेश साह तेलीले अदालतमा गरेको बयान कागज ।

            मृतक पचियादेवीले लगाएको पेन्टि (जाघीया) को भित्रपट्टि धेरै ठाउँमा वीर्यको दाग (टाटा) हरू लागेको देखिएको थियो । मृतकको मृत्यु ३/४ दिन पहिला नै भई लास सडिसकेको साथै लासमा कीरासमेत लागिसकेको हुनाले निजको Vagina  मासमेत कीरा लागिसकेको हुनाले निजको Vagina बाट Vaginal Swab  लिने अवस्था नभएको र लिँदा पनि  Vaginal swab  बाट पनि केही जाँचमा आउने सम्भावना नभएको र निजले लगाएको पेन्टिमा लागेको वीर्यसमेत बढी समय भइसकेको हुनाले जाँचमा पनि केही आउने सम्भावना नभएकाले साथै निजको पोस्टमार्टमसमेत खुला फिल्डमा नै भएको र मृतक लास पूरै सडिसकेको कीरासमेत लागिसकेको हुनाले जबर्जस्ती करणीका अन्य लक्षणहरूसमेत समाप्त भैसकेको थियो भन्ने जिल्ला स्वास्थ्य कार्यालय, सर्लाहीले खुलाई पठाएको च.नं. ३०३ मिति २०६१।१२।७ गतेको पत्र ।

            मसमेत भै निज पचियादेवीलाई कर्तव्य गरी मारेको होइन । कसले मारे मलाई थाहा छैन । सो २०६१।७।२० गते म मलङ्गवा तथा मसैलीमा थिएँ । २०६१ साल कात्तिक १ गते जिल्ला सिरहा, औरही गा.वि.. मा मेरो ससुराल हुँदा घुम्न गई २०६१ साल कात्तिक २९ गते मात्र घर आउँदा हजुर आमा पचियादेवीको कुन कसले मारेछन् भन्ने थाहा जानकारी पाएको हुँ । हजुरआमाले बाबुहरूसँग यसै अदालतबाट अंश मुद्दा लिइसकेकी हुँदा मार्नुपर्ने कुनै कारण छैन । गाउँका पाटापाटीले गर्दा दुःख दिन झुट्ठा मुद्दा दिएका हुन् । आफनो हजुर आमा पचियादेवीलाई हामीले मार्नुपर्ने कुनै कारण छैन । मसमेत भई मारेको होइन । मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको फरार प्रतिवादी रामकैलास राययादवले अदालतमा आई गरेको बयान कागज ।

            अभियोग दावीअनुसारको मैले कसुर अपराध गरे गराएको होइन । अभियोग दावी सुनेँ । निज पचियादेवी मेरी हजुर आमा हुनुहुन्थ्यो ।  निज पचियादेवीले अदालतबाट अंश मुद्दा दायर गरी अंश लिइसकेकी थिइन । हामीले निजलाई मार्नुपर्ने कुनै कारण छैन । को कसले किन कसरी मारे मराए मलाई थाहा छैन । मलगायतका हाम्रो परिवारले पचियादेवीलाई कर्तव्य गरी मारेको होइन कसले मारे मलाई थाहा छैन । म २०४७ सालदेखि काठमाडौंमा छु । म सोदिन कुमारी उच्च माध्यमिक विद्यालय बौद्धमा शिक्षक पदमा काम गरेको हाजिरी रेकर्ड मसँग छ । म काठमाडौंमा भएको मानिस सर्लाही मलङ्गवामा वारदात गर्न आउने कुरै छैन । गाउँका पाटापाटीले दुःख दिन मउपरसमेत झुट्ठा पोल उजुरी गरेका मात्र हुन् । मैले कर्तव्य गरी मारेमराएको नहुँदा मलाई सजाय हुनुपर्ने होइन भन्ने व्यहोरा फरार प्रतिवादी रामएकवाल राययादवले अदालतमा आई गरेको बयान कागज ।

            मसमेत भई निज पचियादेवीलाई कर्तव्य गरी मारेमराएको होइन । अभियोग दाबी झुट्ठा हो । गाउँको पाटापाटीले गर्दा मलाई दुःख दिन म र मेरो परिवारका सदस्यसमेतउपर झुट्ठा अभियोग लगाएको मात्र हो । मृतक पचियादेवी मेरो सौतेनी आमा हुनुहुन्छ ।  निजले हामीउपर यस अदालतमा अंश मुद्दा दिई फैसला भई अंश पाउने ठहरी यस अदालतबाट फैसला भई पुनरावेदन अदालतबाट सदर भएपछि हाम्रो पुनरावेदन सर्वोच्च अदालतमा परेको थियो । हामी ५ अंशियारबाट विभिन्न छोरासमेत १०।१२ भाग लाग्ने सामान्य जग्गा सम्पत्ति पाउन हामीले सौतेनी आमा पचियादेवीलाई मार्नुपर्ने कुनै कारण छैन । को कसले के कसरी मारे मलाई थाहा छैन । दावी झुट्ठा हुँदा मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको फरार प्रतिवादी योगेन्द्र राययादवले अदालतमा आई गरेको बयान कागज ।

            मसमेत भई पचियादेवीलाई कर्तव्य गरी मारेको मार्न लगाएको समेत होइन । कुन कसले मारे मलाई थाहा छैन । म २०६१ साल कात्तिक १८ गते गोरू (वैल) किन्न भनी जिल्ला धनुषा, पर्वाहा गाउँमा गएको थिएँ । मलाई डायरीया (झाडा) भएको बिरामी भई त्यहीँ प्राथमिक उपचार गराई ऐ. २२ गते साँझ मात्र आफ्नो घर आएको थिएँ । वारदात भयो भनिएको समयमा गाउँ घरमा म नहुँदा मउपरसमेत गरिएको पोल उजुरी अभियोग झुट्ठा हो । मलाई सजाय हुने होइन । पचियादेवी मेरा सौतेनी हजुर आमा हुनुहुन्छ । निजले यस अदालतबाट अंश मुद्दा बुबा काकाहरूउपर दायर गरी अंश पाउने फैसला भएको थियो । धेरै अंशियार भएको हुँदा अंश सम्पत्ति कम नै हुन्छ । हजुर आमाले पाएको सम्पत्ति पछि हाम्रो नै हो उहाँका सन्तान छैनन् । त्यसकारण हामीले मार्नुपर्ने अवस्था नै छैन । कुन कसले कसरी मारे मलाई जानकारी भएन । हजुर आमालाई मार्नुपर्ने अवस्था नै छैन । पोल झुट्ठा हो भन्नेसमेत व्यहोराको फरार प्रतिवादी रामईश्वर राययादवले अदालतमा आई गरेको बयान

कागज ।

            मसमेत भई कर्तव्य गरी मारेको होइन । कुन कसले मारेको हो मलाई थाहा छैन । मृतक पचियादेवी हाम्रो सौतेनी आमा हुनुहुन्छ । आमाले दाजु योगेन्द्र राय, माहिलो राजेन्द्र रायसाहिँलो सुरेन्द्र राय, कान्छो मसमेतउपर ५ भागको १ भाग अंश मागी यसै अदालतमा पचियादेवीले अंश मुद्दा दायर गरी अंश पाउने ठहरी फैसला भएपछि सो मुद्दा सर्वोच्च अदालतमा चलिरहेको थियो । हामी दाजु भाइसमेत बन्डा छुट्याई अलग बसेका छौँ । धेरै ठूलो परिवार सम्पत्ति थोरै भएकाले आमाले ५ भागको १ भाग सम्पत्ति पाए पनि निजको तर्फ सन्तान नहुँदा सो सम्पत्ति हाम्रो हुने हुँदा आमालाई मार्नुपर्ने कुनै कारण छैन । हाम्रो परिवारले मारे मराएको होइन ।  गाउँको पाटापाटीले गर्दा हामीलाई दुःख दिन झुट्ठा मुद्दा लगाएका हुन् । मलाई सजाय हुने होइन भन्नेसमेत व्यहोराको फरार प्रतिवादी रामचन्द्र राययादवले अदालतमा आई गरेको बयान कागज ।

            मसमेत भई मृतक पचियादेवीलाई कर्तव्य गरी मारेको होइन । कुन कसले किन मारे मलाई थाहा छैन । म सानैदेखि धनुषा जिल्लाको डिवडिहा गा.वि.. मा मामाको घरमा पढी  एसएलसी पास गरेको हुँ । मामालाई भेट्न भनी २०६१ साल कात्तिक १६ गते गएको ऐ.१७ गते बिरामी परी पेट दुख्ने र झाडा दिसा लाग्ने भएको हुनाले परवाहा प्राथमिक उपचार केन्द्रमा भर्ना भई २० गतेसम्म त्यहीँ उपचार गराई मामाघरमा बसी मङ्‍‌सिर १० गते मात्र आफ्नो घरमा आएको हुँदा कुन कसले मारे मलाई थाहा छैन । पचियादेवी मेरी सौतेनी हजुर आमा हुनुहुन्छ । बुवाहरूसँग अंश लिनुभएको भन्ने कुरा हालमात्र सुनेको   हुँ । हाम्रो परिवार ठूलो भएकाले सम्पत्ति जग्गा जमिन कम नै छ । हजुर आमाले कुनै धेरै सम्पत्ति लिएको पाएकोसमेत  छैन । फेरि सो सम्पत्ति उहाँका सन्तान नभई हामी नाति छोराले नै पाउने हुँदा निज पचियादेवी हजुर आमालाई मार्नुपर्ने कुनै कारण नै छैन । हामीउपरको आरोप सबै झुट्ठा हो भन्नेसमेत व्यहोराको फरार प्रतिवादी रामप्रताप राययादवले अदालतमा आई गरेको बयान कागज ।

            मउपरसमेतको अभियोगपत्र झुट्ठा हो । मसमेत भई पचियादेवीलाई कर्तव्य गरी मारेको होइन । को कसले मारे मलाई थाहा छैन । म रामईश्वर रायसँग गोरू (वैल) किन्न जिल्ला धनुषा, पर्वाहा गाउँमा गएको थिएँ । दाजु रामईश्वर राय विरामी भई झाडा (दिसा पखाला) लागी त्यहीँ उपचार गराई २०६१।७।२० मा प्राथमिक उपचार केन्द्रमा स्वास्थ्यकर्ताले उपचार गरी ऐ. २२ गतेमात्र दाजुसँगै घर आएको हुँ । सोको प्रमाण दाजु प्र. रामईश्वर रायले बयानसाथ पेस गरेको छ । हजुर आमालाई मसमेतले मारेको छैन र मार्नुपर्ने कुनै कारण पनि छैन । मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको फरार प्रतिवादी संजय राययादवले अदालतमा आई गरेको बयान कागज ।

            प्रतिवादीहरू राजेन्द्र राय यादव, महेन्द्र भन्ने सुरेन्द्र राययादव र प्रमोद राय यादवका नाउँमा जारी भएको वारेन्ट तथा म्यादी पुर्जीका म्यादमा निजहरू हाजिर नभई फरारै रहे बसेका ।

            पचियादेवीले अंश मुद्दा जितेपछि सधैँका लागि पचियादेवीलाई हटाउनुपर्छ भनी प्रतिवादीहरूबीच सल्लाह भएको

छैन ।  मैले अनुसन्धानका क्रममा गरेको कागज मैले भनेबमोजिम लेखिएको हैन । पहिले नै तयार गरिरहेको कागजमा मलाई सही छाप गराएका हुन् । कुनै पनि व्यहोरा मैले लेखाएको थिइन । उक्त व्यहोरा लेखिएको कागज झुट्ठा हो । सीधै सहीगर् भनेकाले सहीमात्र गरेको हुँ । मृतक पचियादेवीको लास मैले देखिन बोर्डरनेर लास छ भन्ने कुरा मैले सुनेको

थिएँ । मृतक पचियादेवीको आचरण ठीक थिएन । निजलाई क-कसले मारी फालेका हुन् मलाई थाहा छैन । मृतकको प्रतिवादीहरूसँग राम्रो सम्बन्ध थियो भन्ने व्यहोराको वादी पक्षका गवाह  अकुप मियाँले यस अदालतमा आई बकेको बकपत्र ।

मृतक तथा प्रतिवादीहरूबीच कुनै मुद्दा मामिला चलेको मलाई थाहा जानकारी छैन । मिति २०६१।७।२४ गते मैले अनुसन्धान अधिकारीसमक्ष गरेको कागज प्रहरीले पहिले व्यहोरा लेखी तयार पारिराखेको कागजमा सही छाप गराएका   हुन् । मैले मृतक पचियादेवीको लास देखेको थिइन । प्रहरीले पञ्चनामा तथा मिलापत्रको कागज हो भनी सहीगर् भनी जबर्जस्ती सही छाप गराएका हुन् भनी वादीपक्षका अर्का गवाहहरू रामआज्ञ राय र मोहन ठाकुरले यस अदालतमा गरेको बकपत्र ।

मिति २०६१।७।२० गतेका दिन म तथा प्रतिवादी भोला भन्ने शुरेस साह तेली आफ्नै गाउँको घरमा सँगै राति एउटै खाटमा सुतेका थियौं । मृतक पचियादेवीलाई यी प्रतिवादी भोला भन्ने सुरेश साह तेलीले कर्तव्य गरी मारेमराएका हैनन् । निजउपरको अभियोग दावी झुट्ठा हो । मृतकको हत्या भएको कुरा मैले मिति २०६१।७।२४ गते मात्र सुनेको हुँ । मृतक पचियादेवीको चाल चलन राम्रो थिएन । कसले निजलाई कर्तव्य गरी मारे मलाई थाहा छैन । प्रतिवादी  भोला भन्ने सुरेश साहतेलीले अभियोग दावीबाट सफाइ पाउनुपर्ने हो भनी प्रतिवादी भोला भन्ने सुरेश साह तेलीका साक्षी राजेश राय यादवले गरेको बकपत्र ।

मिति २०६१।७।२० गते म आफनै गाउँ घरमा थिएँ । उक्त दिन प्र. राम कैलाससँग साँझमा आएको थिएँ । प्र. राम कैलासले पचियादेवीको हत्या गरेका होइनन् । जाहेरी व्यहोराबुझिएका व्यक्ति, अभियोग दावी प्र. शुरेस साहले प्र. राम कैलास रायउपर लगाएको आरोप बयान झुट्ठा हो  भन्नेसमेत व्यहोराको प्र. राम कैलासका साक्षी विजयकुमार दास यादवले गरेको बकपत्र ।

मिति २०६१।७।२० गते  पचियादेवीको हत्या गरेको भनी प्रतिवादीहरू रामईश्वर रायरामचन्द्र राययोगेन्द्र रायरामप्रताप रायसमेतउपरको अभियोग दावी झुट्ठा हो भन्नेसमेत व्यहोराको प्रतिवादी रामचन्द्र रायसमेतका साक्षी रामवली राय यादवले गरेको बकपत्र ।

मिति २०६१।७।२० गते पचियादेवीको हत्या गरेको भनी प्र.रामचन्द्र राय, प्र. रामप्रताप राय प्र. सजय रायसमेतउपरको अभियोग दावी झुट्ठा हो । ककसले पचियादेवीको हत्या गरे थाहा छैन, पचियादेवीको आचरण ठीक थिएननिजको सम्बन्ध अपराधी किसिमका व्यक्तिहरूसँग थियो । जाहेरी अनुसन्धानका क्रममा भएका कागज प्र. सुरेशले प्रहरीमा गरेको बयान झुट्ठा हो । प्रतिवादीहरूले झुट्ठा दावीबाट सफाइ पाउनुपर्दछ भन्नेसमेत व्यहोराको संजय रायसमेतका साक्षी हरिनारायण रायले गरेको बकपत्र ।

प्र. रामकैलास मिति २०६१।७।१ गते मेरै घर सिरहा आई त्यहाँबाट मिति २०६१।७।२९ गते  आफनो घर फर्कनुभएको हुँदा अभियोग दावी झुट्ठा हो भन्नेसमेत व्यहोराको प्र. रामकैलासका साक्षी दिलिपकुमार दासले गरेको बकपत्र ।

त्यस्तै मिति २०६१।७।२० गते प्र. योगेन्द्रको उपचारको क्रममा एच.एम.टि. हस्पिटल सीतामढीमा म र योगेन्द्र सँगै थियौं । अरू प्रतिवादीहरू रामईश्वर, संजय, रामप्रतापरामचन्द्र पनि उक्त मितिमा घरमा नभएकाले प्र. योगेन्द्रसमेत उपरको अभियोग दावी झुट्ठा हो भन्नेसमेत व्यहोराको प्र. योगेन्द्र रायसमेतका साक्षी भिखारी रायले गरेको बकपत्र ।

त्यस्तै मिति २०६१।७।२० गते म काठमाडौंमा थिएँ । उक्त मितिमा प्रतिवादी रामएकवाल राय मेरो पसल हुँदै कुमारसी उच्च मा.वि. मा पढाउन जानुभएको थियो । प्र. रामएकवाल राय उक्त मितिमा म सँगसँगै काठमाडौंमा भएको हुँदा निजउपरको अभियोग दावी झुट्ठा हो । निजले अभियोग दावीबाट सफाइ पाउनुपर्ने हो भन्नेसमेत व्यहोराको प्रतिवादी रामएकवाल राय यादवका साक्षी अरूणकुमार यादवले यस अदालतमा आई गरेको बकपत्र ।

मिति २०६१।७।२० गतेका दिन म आफनो गाउँ घर मुसैलीमा थिएँ ।  प्रतिवादी रामप्रताप राय मामा घर धनुषा, देवडिया कात्तिक १६ गते नै गएका थिए । प्रतिवादी संजय राय, रामईश्वर राय गोरू किन्न ऐ. १८ गते जनकपुर

गएकोमा राम प्रताप ऐ. मङ्‍‌सिर १० गते तथा रामईश्वर राय र संजय राय ऐ. कात्तिक २२ गते घर फर्किएका हुँदा निजहरूले अभियोग दावीअनुसारको अपराध गरे गराएका छैनन् हैनन् । निजहरूले आरोपित अभियोगबाट सफाइ पाउनुपर्ने हो भनी प्रतिवादी संजय राय र रामप्रताप रायका साक्षी रामआधार महतोले यस अदालतमा आई बकेको बकपत्र ।

प्रतिवादी संजय राय यादव, रामप्रताप राय यादव, रामचन्द्र राय यादव, रामईश्वर राय यादव, योगेन्द्र राययादवरामएकवाल राय यादवरामकैलास राय यादव र भोला भन्ने सुरेश साहतेलीलाई अभियोग दावीबमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धीकोमहलको १३() नं. बमोजिम सबैलाई जन्म कैदको सजाय हुने ठहर्छ भनी सुरू सर्लाही जिल्ला अदालतबाट मिति २०६४।३।२७ गते भएको फैसला ।

            म निर्दोष व्यक्तिलाई जन्मकैदको सजाय हुने भनी गरेको सर्लाही जिल्ला अदालतको फैसला तथ्य, कानून र नजिरको व्याख्यामा घोर उल्लङ्घन भएको हुँदा उक्त मिति ०६४।३।२७ को फैसला बदर गरी अभियोग दावीबाट सफाइ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी रामईश्वर राय यादवको पुनरावेदनपत्र ।

            सुरूको फैसला फरक पर्नसक्ने देखिँदा अ.बं. २०२ नं. को प्रयोजनको लागि पुनरावेदन सरकारी वकिल कार्यालय, जनकपुरलाई पेसीको जानकारी दिई नियमानुसार पेस गर्नु भन्ने मिति २०६५।५।२९ को आदेश ।

            सर्लाही जिल्ला अदालतको फैसलामा प्रमाणको मूल्याङ्कन हुन नसकेको भई सो इन्साफ फरक पर्ने देखिएकाले प्रस्तुत मुद्दामा पुनरावेदन सरकारी वकिल कार्यालय, जनकपुरलाई पेसीको सूचना दिई लगाउको फौ.पु.नं. ०२०१३ को कर्तव्य ज्यान मुद्दा साथै राखी पेस गर्नु भन्ने मिति २०६६।५।१० को आदेश ।

            प्रस्तुत मुद्दामा एउटा तथ्यको अर्को तथ्यसँग मालाकार कडी (Chain of Link)  को रूपमा आबद्ध भएको  देखिँदैन । मृतकलाई मार्न यी प्रतिवादीहरू मृतकको घरमा भएको र मृतकलाई मारी सकेपछि लास बोर्डरतर्फ लाँदै गरेको देख्ने साक्षीको अभाव स्पष्ट देखिन्छ । घटनास्थलमा प्रतिवादीहरूको खिलापमा प्रमाण लाग्ने गरी कुनै प्रमाण भेटिएको पनि छैन । अतः सुरू जिल्ला अदालतले परिस्थितिजन्य प्रमाणलाई आधारमानी शङ्का र विश्वासको आधारमा प्रतिवादीहरूलाई आरोपित कसुर कायम गरी सजाय गर्ने गरेको फैसला मिलेको नहुँदा उल्टी हुने ठहर्छ । वादीपक्षबाट लिएको अभियोग दावीमा प्रतिवादीहरूको कसुर पुष्टि गर्न सकेको नहुँदा शङ्का र विश्वासको आधारमा मात्र प्रतिवादीहरूको कसुर पुष्टि हुन सक्ने नहुँदा आरोपित कसुरबाट पुनरावेदक प्रतिवादी रामईश्वर  राययादव तथा अन्य पुनरावेदन नगर्ने प्रतिवादीहरूसमेतलाई मुलुकी ऐन, .बं. २०५ नं. बमोजिम सफाइ पाउने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, जनकपुरको मिति २०६६।९।८ को फैसला ।

            मिति २०६१।७।१८ गते आफ्ना नातेदारकहाँ जनकपुर रूपैयाँ लिन गई म डाइबेटिजको रोगी हुँदा वान्ता तथा पेट दुखेको कारण जानकी मेडिकल, जनकपुरमा भर्ना भई २०६१।७।२३ गते अस्पतालबाट डिस्चार्ज भई त्यसपछि रूपैयाँ लिएर हामी बाबु छोरा जनकपुरबाटै भारतको लुधियाना गयौँ । मिति २०६१।७।२४ को जाहेरी दरखास्त झुट्ठा हो जनकपुरबाटै लुधियाना गई मिति २०६६।१।१ गते फर्की आएको हुँ । घटनास्थल मुचुल्कालास जाँच मुचुल्का सम्बन्धमा मलाई थाहा छैन । प्रहरी प्रतिवेदन झुट्ठा हो । शवपरीक्षण प्रतिवेदन सम्बन्धमा मलाई थाहा छैन । मिसिल संलग्न फोटो कसको हो भन्न सकिन । भोला भन्ने सुरेश साहले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान तथा मिसिल संलग्न रहेको घटना विवरण कागज झुट्ठा हो । अभियोग दावी झुट्ठा हो । मैले कुनै कसुर अपराध नगरेको हुँदा सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी राजेन्द्र राययादवले अदालतमा गरेको बयान ।

            म २०६१।६।१ गते भारतको पन्जावमा ज्याला मजदुरी गर्न गई मिति २०६६।१।५ गते मात्र आफ्नो गाउँघरमा आएको हुँ । जाहेरी दरखास्त झुठो हो । घटनास्थल मुचुल्का तथा जाँच मुचुल्का सम्बन्धमा मलाई थाहा छैन । प्रहरी प्रतिवेदन झुट्ठा हो । शवपरीक्षण प्रतिवेदन र फोटो सम्बन्धमा मलाई थाहा छैन । हुलिया जाहेरी सम्बन्धमा मलाई थाहा छैन । मैले कुनै अपराध गरेको छैन । सुरेश साहको बयान व्यहोरा झुट्ठा हो । घटना विवरण कागज झुट्ठा

हो । ममाथिको अभियोग दावी झुट्ठा हो । मैले कुनै कसुर गरेको छैन । मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी महेन्द्र भन्ने सुरेन्द्र राययादवले अदालतमा गरेको बयान ।

            मिति२०६१।७।२४ को जाहेरी दरखास्त झुट्ठा हो । मिति २०६१।७।१८ गते म आफ्नो बुबा राजेन्द्र रायसँग पैसा माग्दा उहाँले जनकपुर नातेदारकहाँ पैसा छ । त्यहीँ जाउँ भन्दा म आफ्नो बुबासँग सोही दिन जनकपुर गएर बुबालाई सन्चो नभएको कारण उपचार गराइ मिति २०६१।७।२३ गते पैसा लिई व्यापारको सिलसिलामा भारतको लुधियाना गयौँ । मृतक पचियादेवीको मृत्यु सम्बन्धमा मलाई केही थाहा छैन । घटनास्थल मुचुल्का तथा लास परीक्षण प्रतिवेदन सम्बन्धमा मलाई केही थाहा छैन । भोला भन्ने सुरेश साहले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान झुट्ठा हो । मिसिल संलग्न घटना विवरण कागज झुट्ठा हो । दसीका सामान सम्बन्धमा मलाई थाहा छैन ।अभियोग दावी सम्पूर्ण झुट्ठा हो भन्नेसमेत व्यहोराको प्रतिवादी प्रमोदकुमार यादवले अदालतमा गरेको बयान ।

            जाहेरी दरखास्त तथा भोला भन्ने सुरेश साहले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान झुट्ठा हो । घटनास्थल मुचुल्का, लास जाँच मुचुल्का, प्रहरी प्रतिवेदनजीउज्यानको शान्ति सुरक्षा गरिपाउँ भनी दिएको निवेदन, जगतारणदेवीको हुलिया जाहेरी घटना, आसपासका मानिसले गरेको कागज, घटना विवरण कागज सम्बन्धमा मलाई थाहा छैन । मउपरको अभियोग दावी झुट्ठा हो । मैले कुनै कुरा अपराध नगरेको हुँदा सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी अजयकुमार महतोले गरेको बयान ।

            मिति २०६१।७।२० गते म भारतको पन्जावमा थिएँ । प्रतिवादी सँगसँगै काम गरेको थिएँ । प्रतिवादी २०६१ साल असोजमा त्यहाँ परिवारसहित गई मिति २०६६।१।५ गते परिवारसहित आफ्नो घर फर्केका हुन् । प्रतिवादीउपर लगाइएको अभियोगसमेतको सम्पूर्ण व्यहोरा झुट्ठा हो भन्नेसमेत व्यहोराको प्रतिवादी महेन्द्र भन्ने सुरेन्द्र रायका साक्षी संजय रायले बकेको बकपत्र ।

            जाहेरी व्यहोरा झुट्ठा हो । अजयकुमारले कुनै कसुर गरेको छैन । भोला भन्ने सुरेश साहले गरेको बयान व्यहोरा झुट्ठा हो । निज अजयकुमार महतोले कुनै कसुर नगरेको हुँदा सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी अजयकुमार महतोका साक्षीहरू कैलास साह र विजयकुमार चौधरीले बकेको बकपत्र ।

            अदालतसमक्ष उपस्थित भई निवेदन साथ हाजिर भई बयान गर्ने प्रतिवादी अजय महतोप्रतिवादी राजेन्द्र यादवप्रतिवादी प्रमोद राययादव र प्रतिवादी सुरेन्द्र रायउपर आरोपित दावी पुष्टि गराउने कुनै विश्वसनीय प्रमाण गुज्रिन आएको नदेखिँदा शङ्कारहित प्रमाणको अभावमा यी प्रतिवादीहरूले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ भनी सुरू सर्लाही जिल्ला अदालतबाट मिति २०६७।३।२३।४ मा भएको फैसला ।

            प्रतिवादीहरू मौकामा अपराध गरेमा साबित भै बयान गरेको, सो साबितीलाई लास प्रकृति मुचुल्का, शवपरीक्षण प्रतिवेदनघटनास्थलबाट बरामद स्विटर एवम्मौकामा बुझिएका मानिसहरूको कागजबाट समर्थन भएबाट प्रतिवादीहरूले अदालतसमक्ष इन्कारी बयान गरेको आधारमा सफाइ दिनेगरी भएको फैसला मिलेको छैन । प्रत्यक्षदर्शीको अभाव भए पनि परिस्थितिजन्य प्रमाणले प्रतिवादीहरूले अपराध गरेको पुष्टि भैरहेको छ । अतः प्रतिवादीहरूलाई सफाइ दिने गरी सुरू सर्लाही जिल्ला अदालतबाट भएको फैसला मिलेको नहुँदा उल्टी गरी अभियोग दावीबमोजिम सजाय गरिपाउँ भनी वादी नेपाल सरकारको तर्फबाट पेस भएको पुनरावेदनपत्र ।

            यसमा अनुसन्धानको क्रममा बयान गर्ने सुरेश साहले यी प्रतिवादी अजय महतोराजेन्द्र यादवसमेत भई कर्तव्य गरी मारेको भनी पोल गरेको सो बयानमा उल्लेख भएअनुरूपको लासजाँच मुचुल्का तथा घटनास्थल मुचुल्कासमेत भई मृतकको शरीरमा चोटपटक रही सोही चोटपटकबाट मृत्यु भएको भन्ने शवपरीक्षण प्रतिवेदन व्यहोरासमेत रहेको अवस्थामा सुरूको फैसला फरक पर्न सक्ने देखिँदा छलफलको लागि विपक्षी झिकाई आएपछि नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालतबाट मिति २०६७।१२।१६।४ मा भएको आदेश ।

            प्रतिवादीहरू राजेन्द्र राययादव, महेन्द्र भन्ने सुरेन्द्र राययादवप्रमोद राययादव र अजय महतो सुडीसमेतले आरोपित कसुर आफूले नगरेको अर्थात पचियादेवीलाई कर्तव्य गरी ज्यान मारेको छैन भनी इन्कार गरेको देखिन्छ । अभियुक्त भोला भन्ने सुरेश साहले अधिकारप्राप्त अधिकारीसमक्ष प्रतिवादीहरूलाई पोल गरे पनि अदालतमा निजहरूलाई पोल गर्नसकेको देखिन आएन । प्रतिवादीहरूको संलग्नता रहेको दसी प्रमाणबाट पुष्टि हुनसकेको देखिँदैन । सहअभियुक्तले अधिकारप्राप्त अधिकारीसमक्ष भएको साबिती बयान, मिसिल संलग्न Autopsy report, घटना स्थल प्रकृति मुचुल्का, लासजाँच प्रकृति मुचुल्कासमेतका प्रमाणहरूबाट समर्थन हुन सकेको देखिन आएन ।

            प्रतिवादीहरूले पचियादेवीलाई ज्यान मारेको हो भनी चश्मदीद् गवाहको अभाव रहेको साथै परिस्थितिजन्य प्रमाणबाट पनि प्रतिवादीहरूले पचियादेवीको ज्यान मारेको हो भनी पुष्टि नभएको हुँदा सफाइ पाउने ठहर्छ भनी सुरू जिल्ला अदालतबाट मिति २०६७।३।२३ मा भएको फैसला सदर हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, जनकपुरको मिति २०६८।६।२ को फैसला ।

            अपराधीले आफूले गरेको कसुर अपराधबाट बच्न र कानूनी सजायबाट उम्कन जहिले पनि झुट्ठो बयान गर्ने हुँदा निजको बयानलाई मुद्दामा सङ्कलित तथ्यगत प्रमाणहरूबाट भिडाएर हेर्नुपर्ने भनी सम्मानित अदालतबाट सिद्धान्त (नेकाप २०५३, अङ्क ६, नि.नं. ६२१९, पृ.५२७) समेत प्रतिपादन भएको पाइन्छ । प्रस्तुत मुद्दामा मृतक पचियादेवीको मृत्यु कर्तव्यबाट भएको हो भन्ने तथ्यमा विवेचना गरी रहनुपर्ने अवस्था छैन । प्रस्तुत मुद्दामा पचियादेवी प्रतिवादीहरूको सौतेनी आमा एवम्हजुरआमा नाताको भई अर्थात सीयास्वरूप रायको जेठी श्रीमती पट्टिका छोरा नाति प्रतिवादीहरू भएको र पचियादेवी सीयास्वरूपकी कान्छी श्रीमती भएको र श्रीमानको मृत्युपश्चात प्रतिवादीहरूले पचियादेवीलाई खान लाउन नदिई दुःख दिने गरेकाले मृतकले प्रतिवादीहरूउपर अंश मुद्दा दिई अंश पाउने ठहर भएपश्चात मृतकले अंश पाएको रिसइबि लिई मृतकलाई फैसलाबमोजिम पाएको घर जग्गा भोग गर्न नदिने र निजको ज्यानमार्ने योजना बनाएको भन्ने मृतकले आफ्नो मृत्युपूर्व जिल्ला प्रशासन कार्यालयसमक्ष मिति २०६०।१०।१८ मा दिएको निवेदनबाट देखिन्छ । मृतक र प्रतिवादीहरूबीच अंशसम्बन्धी कारणबाट पूर्व रिसइबि रहेको भन्ने देखिन्छ । मौकामा अनुसन्धानको क्रममा पक्राउ परेका प्रतिवादी सुरेश साहले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा मृतकलाई आफूहरूसमेत भई मार्ने पूर्वयोजना बनाई मृतक स्विटर बुन्दै गरेको अवस्थामा अजय महतोले दुबै हातले मृतकको मुखमा झम्टी लडाएकोप्रतिवादी राजेन्द्र रायले घाँटी थिचेकोप्रतिवादी प्रमोद रायले मृतकको हात समाई थिचेकोमा निजको मृत्यु भएपश्चात नेपाल भारत सिमाना बोर्डरमा लगी फालेको हो भनी प्रत्येक व्यक्तिले मृतकउपर मार्नका लागि गरेको कार्य उल्लेख गरेको देखिन्छ । निज प्रतिवादीहरूको बयानलाई मिसिलसाथ संलग्न लासप्रकृति मुचुल्का एवम्शवपरीक्षण प्रतिवेदनलगायत मृतकको घर कोठाबाट बरामद भएको बुन्दै गरेको स्विटरसमेतबाट पुष्टि भएबाट उक्त बयान आफैँमा प्रमाण हो । मृतकको मृत्यु कर्तव्यबाट भएको र मृतक र प्रतिवादीहरूबीच अंशसम्बन्धी कारणबाट पूर्वरिसइबि रहेकोप्रतिवादी सुरेश साहतेली आफैँ कसुरमा पूर्णतः साबिती रही सहअभियुक्तहरूलाई पोल गरेको र सो बयानलाई मिसिल संलग्न लासप्रकृति मुचुल्का, शवपरीक्षण प्रतिवेदन, घटनास्थलबाट बरामद भएको स्विटर एवम्मौकामा बुझिएका मानिसहरूको कागजबाट समर्थन भएबाट प्रतिवादीहरूको मृतकलाई मार्ने कार्यमा संलग्नता भएको स्पष्ट देखिन्छ । प्रतिवादीहरूको अदालतसमक्षको मौखिक इन्कारी बयानलाई आधार लिई सफाइ दिनेगरी भएको फैसला कानूनसङ्गत छैन । यस सम्बन्धमा सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादितप्रमाणरहित इन्कारीले प्रमाणको भूमिका तबसम्म निर्वाह गर्न सक्तैन जबसम्म अन्य सङ्कलित प्रमाणबाट इन्कारी अभियुक्तउपरको अभियोग प्रमाणित हुने अवस्था देखिँदैनभनी सम्मानित अदालतबाट सुनुलालसमेतको जाहेरीले श्री ५ को सरकार विरूद्ध जलिल शेषमियाँ, खुन डाँका मुद्दामा (नेकाप २०४६, अङ्क १२, पृ. १२२८, नि.नं. ४०२४) सिद्धान्त प्रतिपादन भएबाट त्रुटिपूर्ण देखिँदा बदरभागी छ ।

प्रतिवादी भोला भन्ने सुरेश साहले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा मृतक पचियादेवीलाई मार्ने भनी पूर्वयोजना बनाई सोही योजना मुताबिक सम्पूर्ण प्रतिवादीहरू भई पचियादेवीलाई कर्तव्य गरी मारेको र लासलाई भारततिर फ्याँक्यो भने तत्कालै पत्ता लाग्दैन र सडेगलेपछि हत्या भएको थाहा हुँदैन भनी भोलिपल्ट मृतक लासलाई नेपाल भारत बोर्डरको भारततर्फको भूमिमा फाल्न भनी लाँदै गर्दा गाडीको आवाज आएकाले गाडीको लाइटबाट हामीलाई

देख्छन् भन्ने सोची लासलाई धान खेतमा फाली भागेका हौँ भनी घटना वारदातलाई मौलिकरूपले चित्रण गरी आफू कसुरमा पूर्ण साबित भई अन्य प्रतिवादीहरूलाई समेत पोल गरेको देखिन्छ । यी प्रतिवादीले अदालतमा बयान गर्दा अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान राजीखुसीबाट गरेको होइन । प्रहरीले कुटपीट डरत्रास देखाएकाले प्रहरीको कुटाइबाट जोगिन सही छाप गरेको हुँ भनी कसुरमा इन्कार रहेको भए तापनि अनुसन्धानको क्रममा बयान गर्दा प्रहरीले कुटपीट गरेको भए घाउचोट देखाउन एवम्सोको जाँच गर्न माग गर्नुपर्नेमा सो नगरेबाट यी प्रतिवादीको अदालतसमक्षको इन्कारी बयान कसुर अपराधबाट बच्न एवम्सजायबाट उम्कन गरेको झुट्ठा कथन हो भन्ने पुष्टि भइरहेको हुँदा दिलिपसिंह ठाकुर विरूद्ध नेपाल सरकार (नेकाप २०४२, नि.नं. २५२१, पृ. ९४१), नेपाल सरकार वि. सुशीला साह (नेकाप २०४३, नि.नं. २७६३, पृ. ५८४),  नेपाल सरकार वि. जंगु गिरी (नेकाप २०४४, नि.नं. ३२३७, पृ. १०३९) र सचिन श्रेष्ठ विरूद्ध नेपाल सरकार (नेकाप २०६३, अङ्क २, नि.नं. ७६४९, पृ. १८३) का मुद्दाहरूमा प्रतिपादित सिद्धान्तहरूसमेतका आधारमा अधिकारप्राप्त अधिकारीसमक्षको साबिती बयानलाई प्रमाणमा लिई आरोपित कसुर ठहर गर्नुपर्नेमा सफाइ दिई भएको उक्त फैसला त्रुटिपूर्ण छ ।

जहाँसम्म मौकाको साबितीलाई स्वतन्त्र प्रमाणले समर्थन गर्नुपर्ने भन्ने प्रश्न छ, प्रतिवादी सुरेश साहले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा पूर्व योजना अनुसार सबै जना भई मृतक पचियादेवीलाई नजिकै घर कोठामा हत्या गरिएको हो भनी उल्लेख गरेकोमा मिसिल संलग्न घटनास्थल मुचुल्काबाट मृतक पचियादेवीकै घरकोठामा वारदात भएको पुष्टि भएको छ । वारदातपश्चात लासलाई भारतीय भूमिमा फाल्न भनी भोलिपल्ट लाँदै गर्दा गाडीको आवाज आएकाले गाडीको लाइटको उज्यालोले हामीलाई देख्न सक्छ भन्ने ठानी लासलाई धानखेतमै फाली भागेका हौँ भन्नेसमेत मौकाको बयानमा उल्लेख गरेकोमा सोही स्थानमा मृतक लास फेला परेको अवस्था छ । त्यसैगरी पचियादेवीको हत्या गर्न भनी आफूसमेत निजका घर कोठामा जाँदा निज पचियादेवी आफूसुत्ने विस्तारामा स्विटर बुन्दै गरेकी भन्ने उल्लेख गरेकोमा मृतक लास रहेको स्थानदेखि उत्तरतर्फ धानखेतमा बुन्दै गरेको अवस्थाको स्विटर फेला परेको भन्ने लासजाँच मुचुल्का भएको र पचियादेवीको घरबाट बरामद गरिएको डसनातकिया र धानखेतमा फेला परेको बुन्दै गरेको स्विटरमा लागेको रगत परीक्षण हुँदा तीनैवटामा ‘A’  ग्रुपको Human Blood  भेटिएको भन्ने प्रहरी वैज्ञानिक प्रयोगशालाबाट प्राप्त प्रतिवेदनसमेतबाट प्रतिवादीको मौकामा गरेको बयान थप समर्थित भएको देखिन्छ । त्यसैगरी घटनास्थलबाट रातो गम्छा र नीलो लुङ्गीसमेत बरामद भएकोमा रातो गम्छा प्रतिवादी रामईश्वर रायको र नीलो लुङ्गी प्रतिवादी योगेन्द्र रायको हो भनी प्रतिवादी सुरेश साहले सनाखत गरिदिएबाटसमेत प्रतिवादीहरू रामईश्वर रायसमेत सबैजना भई कर्तव्य गरेको हो भन्ने यी प्रतिवादीको मौकाको बयान समर्थित भइरहेको अवस्थामा मिसिल संलग्न कागज प्रमाणहरूको सूक्ष्म अध्ययन एवम्न्यायोचित विश्लेषण नै नगरी प्रतिवादीहरूलाई सफाइ दिई भएको उक्त फैसला त्रुटिपूर्ण छ ।

            मृतकलाई प्रतिवादीहरूले मारेको देख्ने प्रत्यक्षदर्शी प्रमाणको अभाव रहेको भन्ने आधारतर्फ हेर्दा प्रस्तुत वारदात रातको समयमा भएको, अपराधीहरूले अपराधजन्य कार्य गर्नका लागि पूर्वनियोजितरूपमा योजना बनाई रातको समयमा मृतकलाई मारेको हुँदा घरमा मृतक एक्लै हुँदा घटना वारदात देख्ने प्रत्यक्ष प्रमाणको अभाव रहेको भए पनि मृतकले आफू मर्नुपूर्व प्रतिवादीहरूबाट शान्ति सुरक्षा गरिपाउँ भनी जिल्ला प्रशासन कार्यालयसमक्ष निवेदन दिनु, अदालतसमक्ष अंश मुद्दा दिई अंश पाउने गरी फैसला भएपश्चात मृतक र प्रतिवादीहरूबीच ज्यानै मार्नेसम्मको पूर्व रिसइबि रहनु, प्रतिवादी सुरेश साहतेलीले अनुसन्धानको क्रममा बयान गर्दा मृतक स्विटर बुन्दाबुन्दैको अवस्थामा आफूहरूले कर्तव्य गरी मारेको हो भनी कसुर स्वीकार गरी बयान गरेकोमा मृतक लास रहेको ठाउँबाट बुन्दै गरेको स्विटरमा रगत लागेको अवस्थामा फेला पर्नु आदि जस्ता एक आपसमा मालाकार कडी भएर आएको परिस्थितिजन्य प्रमाणहरूबाट प्रतिवादीहरूको वारदातमा संलग्नता रहेभएको देखिन्छ । प्रत्यक्ष प्रमाणको अभाव रहेको भन्दै परिस्थितिजन्य प्रमाणलाई उपेक्षा गर्न सर्वथा मिल्ने अवस्था छैन । यस सम्बन्धमा सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादितव्यक्तिले साक्षी राखी कर्तव्य गर्ने भन्ने स्वाभाविक प्रक्रिया नहुने, यस्तै प्रत्यक्ष प्रमाणको अभाव छ भनी त्यसको लाभ अभियुक्तलाई मात्र दिने हो भने परिस्थितिजन्य प्रमाणको धारणा मृतप्राय: हुने स्थिति सिर्जना हुन जानेभनी सम्मानित अदालतबाट श्री ५ को सरकारविरूद्ध ठूली कान्छी तामाङ भएको  कर्तव्य ज्यान मुद्दामा  प्रतिपादित सिद्धान्तसमेतबाट प्रस्तुत फैसला त्रुटिपूर्ण भै बदरभागी छ ।

            मृतक पचियादेवीको लास सडिगलेको कारण शवपरीक्षण हुँदा मृत्युको कारण एकिन गर्न नसकेकाले शवपरीक्षण गर्ने चिकित्सकले The cause of the death will be ascertained after chemical analysis report  भनी मिति २०६१।७।२१ मा  the cause of the death is multiple injury shock profound access bleeding with rape भन्ने उल्लेख गरी सुरूको रायभन्दा विपरीत एवम्फरक व्यहोरा उल्लेख गरी पठाएको देखिन्छ । यदि मृतक लासमा  Multiple injury  रहेका र Rape चिह्नहरू रहेका भए सोसमेत उल्लेख गरी पहिले नै पठाउनुपर्नेमा पहिले केही उल्लेख नगरी पछि थप कुराहरू उल्लेख गरी पठाएको सम्बन्धमा अनुसन्धानको क्रममा पत्राचार गर्दा लास सडिसकेको साथै कीरा लागिसकेको भनी जिल्ला स्वास्थ्य कार्यालय, सर्लाहीको च.नं. ३०३ मिति २०६१।१२।७ को पत्रबाट लेखी आएको देखिँदा सडी गलीसकेको लासमा स्वाभाविकरूपमा घाउचोट वा चिह्न लक्षणहरू देख्न भेट्न नसकिने र मृत्युको कारण एकिन गर्नसमेत नसकिने हुँदा सोही मुताबिक एकचोटी मृत्युको कारण उल्लेख गरी पठाइसकेकोमा पछि त्यसको विपरीत मुद्दालाई प्रभाव पार्ने गरी थप कुरा उल्लेख गरिएकोमा त्यसतर्फ ध्यान नै नदिई गरिएको फैसला त्रुटिपूर्ण भई बदरभागी छ ।

            अतः उल्लिखित आधार प्रमाणहरूबाट विरूद्ध खण्डमा उल्लिखित प्रतिवादीहरूलाई सुरू अभियोग माग दावीबमोजिम सजाय हुनुपर्ने स्पष्ट हुँदाहुँदै सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण भएको हुँदा उक्त फैसला बदर गरी सुरू अभियोग माग दावीबमोजिम सजाय गरी पाउन सम्मानित अदालतसमक्ष सादर अनुरोध छ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा परेको पुनरावेदनपत्र ।

            नियमबमोजिम दैनिक पेसीसूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको सुरू र पुनरावेदन मिसिलसमेत अध्ययन गरी पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता टिकेन्द्र दाहालले मृतकले मर्नुभन्दा अगाडि नै विपक्षीहरूले मार्छन् भन्ने ठानी शान्ति सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालय, सर्लाहीमा निवेदन दिएकी छन् । यी मृतक र प्रतिवादीहरूबीच अंशसम्बन्धी विवादसमेत परेको देखिन्छ । सुरेश साहतेली पक्राउ परी अधिकारप्राप्त अधिकारीसमक्ष स्विटर बुन्दै थिइन् त्यही बेलामा मारेको हो भनी भनेका छन् । सो बुनेको स्विटर लास फ्याँकिएको ठाउँमा भेटिएको र त्यसमा रगत लागेको भेटिएको छ । सो रगत परीक्षण गर्दा मानव रगत भनी प्रमाणित भएको

छ । सुरेश साहले गरेको बयानलाई अन्य प्रमाणबाट प्रमाणित भैरहेको अवस्थामा पनि सुरूको फैसला उल्टी हुने ठहराई प्रतिवादीहरूले सफाइ पाउने गरी भएको पुनरावेदन अदालत, जनकपुरको फैसला त्रुटिपूर्ण हुँदा बदर हुनुपर्दछ भनी गर्नुभएको बहस जिकिरसमेत सुनियो ।

            विद्वान् कानून व्यवसायीको बहस जिकिर सुनी पुनरावेदन अदालत, जनकपुरको फैसला मिले नमिलेको के रहेछ सोही सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।

            मिसिल अध्ययन गरी हेर्दा प्रतिवादीहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं., १३() र १६ नं. को कसुर अपराध गरेकोमा ऐ. महलको १३() नं. र १६ नं. अनुसार सजाय माग दावी गरी अभियोगपत्र दायर माग दावी भएकोमा मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३() नं. बमोजिम सबै प्रतिवादीहरूलाई जन्म कैदको सजाय हुने ठहर्याएको सुरूको फैसलाउपर वादी प्रतिवादी दुबै पक्षको पुनरावेदन परी सबै प्रतिवादीहरूले सफाइ पाउने ठहर्याएको पुनरावेदन अदालत, जनकपुरको मिति २०६६।९।८ को फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पुनरावेदन परी निर्णयार्थ पेस भएको रहेछ ।

            . निर्णयतर्फ विचार गर्दा प्रस्तुत मुद्दामा प्रतिवादीहरूले मृतकलाई कर्तव्य गरी मारेकाले ज्यानसम्बन्धीको महलको १, १३() र १६ नं. बमोजिम सर्वस्वसहित जन्मकैद गरिपाउँ भन्ने अभियोग माग दावी रहेको देखिन्छ । घटनास्थल तथा लासजाँच प्रकृति मुचुल्का, मौकामा कागज गर्ने मानिसहरूको कथन, शवपरीक्षण प्रतिवेदन आदि सबुद प्रमाणहरू मिसिलसामेल रहेको पाइएको छ । यी प्रतिवादीहरूले बयान गर्ने क्रममा आफूहरूले मृतकलाई कर्तव्य गरी मारेको हो भनी अधिकारप्राप्त अधिकारीसमक्ष साबित भएका छन् भने अदालतसमक्ष आई बयान गर्दा हामीहरूले मारेको होइन भनी इन्कारी बयान गरेका छन् । यसका अतिरिक्त हामीहरूले मार्नुपर्ने कुनै कारण पनि छैन भनी बयानमा हत्याको दोष नलिएको पाइन्छ । मुद्दा चलेको सम्बन्धमा समेत हजुरआमाले पहिले नै अंश लिइ विवादको समाधान भएको कारणबाट उक्त रिसइबि वर्तमान अवस्थामा मृतक र यी प्रतिवादीबीच नरहेको साथै निज मृतकको सम्पत्तिको हकदार आफू नै भएको तथ्यबाटसमेत मार्नुपर्ने कुनै कारण नभई क-कसले मारे हामीलाई थाहा भएन भनी बयान गरेको पाइयो ।

            . मृतकको शवपरीक्षण प्रतिवेदनबाट मृत्युको कारण  Multiple injury shock, access bleeding with rape  भन्ने  Post mortem report मा लेखिएको, मृतकको पेन्टिमा वीर्य पाइएको र मृतकको लासप्रकृति मुचुल्का हेर्दा लास सडीगली कीरा परेको, लासको शरीरमा एकमात्र पेन्टि रहेको, अरू शरीर सर्वत्र नाङ्गो अवस्थामा रहेको लासको टाउकोतर्फको भागमा तेजाव हाली टाउको क्षतविक्षत हुनेगरी नचिनिने स्थितिमा रहेको भन्ने लासप्रकृति मुचुल्का विवरणबाट देखिएबाट मृतकको मृत्यु कर्तव्यबाट भएको रहेछ भन्ने कुरा एकिनरूपमा पुष्टि हुनआएको छ । तर को कसको कर्तव्यबाट मृतकको मृत्यु भएको होरहेछ भनी विचार गरी हेर्दा मृतकको मृत्यु भएपश्चात प्रतिवादी भोला भन्ने सुरेश

साह एकजना प्रतिवादीमात्र पक्राउ परी अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्ने क्रममा निजले आफूसमेत संलग्न भई मृतक पचियादेवीलाई मारेको हो भनी बयान गरे तापनि अदालतमा आई बयान गर्दा प्रहरीले मलाई कुटपीट गरी डरधाक देखाई बयान गराएको हो । मसमेत भई मारेको छैन भनी इन्कारी बयान गरेबाट निजको साबिती स्वतन्त्र प्रमाणबाट समर्थित भएको देखिएन । अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा निजहरूले कपडाले मुख थुनेर मारेको र मरेको लासलाई बोर्डरमा लगी फालेको भनेकोमा सवपरीक्षण प्रतिवेदन हेर्दा मर्नुअघि मृतकलाई जबर्जस्ती करणी गरेको देखिएको छ भने यी प्रतिवादीहरूले आफ्नो हजुरआमा नाताकी मृतकलाई सामूहिकरूपमा मिली जबर्जस्ती करणी गरी निजलाई निर्वस्त्र पारी तेजाव हाली मारेको हो भनी अनुमान गर्ने अवस्था पनि रहँदैन । लास प्रकृति मुचुल्का हेर्दा पेन्टिमा वीर्य भेटिएको र मृतकको लास सर्वत्र नाङ्गो अवस्थामा भेटिएको छ र लासको मुखमा तेजाव हालिएको पाइएको छ । प्रतिवादीहरू र मृतकबीचको पूर्वको अवस्थालाई हेर्दा पनि धेरै पहिले नै मुद्दा परी अंशलिई भिन्नबसेकी मृतक र यी प्रतिवादीहरूबीच रिसइबि रहेको पनि देखिएन । प्रतिवादीहरूले मृतकलाई मार्न भनी कुनै पूर्वयोजना बनाएको पनि देखिएन । प्रस्तुत मुद्दाको वारदात परिस्थितिजन्य प्रमाणबाट पुष्टि हुने हो कि भनी यस सन्दर्भमा विचार गर्दापरिस्थितिजन्य प्रमाण (Circumstantial evidence) को आधारमा ठहर गर्ने बिन्दु र सम्बद्ध तथ्यको कडी एक आपसमा एकबद्धरूपले आबद्ध भई एवम्रूपमा गाँसिएको हुनुपर्छ, गाँसिएको मालाकार कडीमा कुनै छुट्नुहुँदैन एउटा तथ्य अर्को तथ्यसँग अन्योन्याश्रित हुन अपरिहार्य छभनी बुद्धिप्रसाद सुवेदीसमेत विरूद्ध कृष्ण सुवेदीको जाहेरीले श्री ५ को सरकार (नेकाप २०४८, अङ्क ५, नि.नं. ४२८७, पृ. १८६) सर्वोच्च अदालत बुलेटिन २०५९, वर्ष ११, अङ्क ९, पृ.१९ मा सिद्धान्त प्रतिपादन भएको देखिन्छ । उक्त प्रतिपादित सिद्धान्तबमोजिम प्रस्तुत मुद्दामा भएको परिस्थितिजन्य प्रमाणहरूको मूल्याङ्कन गरी एक तथ्य अर्को तथ्यसँग एक आपसमा आबद्ध भई माला कडीको रूपमा गाँसिएको छ छैन भनी विचार गर्दा प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष मृतकलाई कपडाले मुख थुनी मारेर खेतमा लगेर फालेको हो भनेको कुरा र लासप्रकृति मुचुल्कामा भएको मृतकको लासको अवस्था बिल्कुलै फरक देखिन्छ । प्रतिवादीहरूले कपडासहित लास फालेको भनेकोमा लास सर्वत्र नाङ्गो अवस्थामा भेटिएको पाइन्छ । कपडाले मुख थुनी मारेको भनी प्रतिवादीहरूको कथन रहेकोमा सो स्थिति नभई मौकामा फेला पर्दा लासको अवस्था जबर्जस्ती करणी गरी शवपरीक्षण प्रतिवेदनको अनुसार Multiple injury shock, access bleeding with rape र टाउकोमा तेजाव खन्याई मारेको भन्ने लासप्रकृति मुचुल्कामा देखिन्छ । यसका अतिरिक्त लासमा विभिन्न घाउ चोटहरू रहेको भन्ने कुरा लास प्रकृति मुचुल्का र शवपरीक्षण प्रतिवेदनबाटसमेत देखिएको स्थितिमा माथि उल्लिखित परिस्थितिजन्य प्रमाणमा हुने तत्त्व एक अर्कोसँग मालाकार कडीको रूपमा मिलेको र गाँसिएको भन्ने पनि प्रस्तुत वारदातमा देखिन आएन । अतः यस्ता तथ्यगत कुराहरूको अभावमा यी प्रतिवादीहरूले नै मृतकलाई मारेका हुन् भनी किटानीसाथ भन्न सकिने अवस्था रहेन । वस्तुतः प्रतिवादीको साबिती बयानमा उल्लिखित कुरा घटना प्रकृति मुचुल्कासँग मेल खाएको नदेखिँदा बयान र वस्तुस्थितिमा अन्तर देखिन आउँदछ । 

            . त्यस्तै अधिकारप्राप्त अधिकारीसमक्ष कागज गर्ने व्यक्तिहरूसमेतले अदालतमा आई बकपत्र गर्दा अनुसन्धान अधिकारीले हामीलाई मौकामा कुनै व्यहोरा नसोधी पहिला नै तयार पारिराखेको कागजमा सही छाप गराएको हो भनी खुलाएको पाइन्छ । साथै मृतकको मृत्युको सम्बन्धमा के भएको हो केही थाहा छैन भनी सबैले भनेको पाइन्छ । प्रमाण ऐन, २०३१ को दफा १८ अनुसार प्रमाण गुजार्ने क्रममा बोलाइएका जाहेरवालालगायत अन्य कसैले पनि अदालतमा आई वारदातको सम्बन्धमा पुष्टि हुने गरी बकपत्र गरेको पाइएन । अनुसन्धान तहकिकातको सिलसिलामा कागज गराइएका व्यक्तिहरू जबसम्म अदालतमा आई आफूले बोलेका कुराहरू खम्बिर हुने गरी बकपत्र गर्दैनन् उक्त प्रमाणहरूलाई ग्राह्य भन्न

सकिँदैन ।

            . तथापि यी मृतक र     प्रतिवादीहरूबीच अंश मुद्दा भएको कारणबाट सम्बन्धमा तिक्तता थियो कि भन्ने सन्दर्भमा विचार गर्दा स्वयम् वादी पक्षका गवाह अकुप मियाँले र प्रतिवादीहरूका साक्षीहरूले समेत अदालतमा आई बकपत्र गर्दा मृतक र प्रतिवादीबीच राम्रो सम्बन्ध कायम थियो भनेबाटसमेत उक्त तथ्य खण्डित हुन आएको छ ।

            . यसमा यी प्रतिवादीहरू राजेन्द्र राययादव, महेन्द्र भन्ने सुरेन्द्र राययादवप्रमोद राययादव र अजय महतो सुडीसमेतका व्यक्तिहरूले प्रतिवादी भोला भन्ने सुरेश साहसँग मिली मारेको भन्ने अभियोग भएकोमा तत्तत् प्रतिवादीहरूले अदालतमा आई बयान गर्दा इन्कारी बयान गर्नुका अतिरिक्त निजहरूले घटना हुँदाको अवस्था मौकामा वारदातस्थलमा नरही अन्यत्र रहेको भनी Alibi को जिकिर लिएको देखिएको छ र उक्त प्रमाणहरूको सन्दर्भमा वादी नेपाल सरकारले अन्यथा भनी खण्डित गर्नसकेको पाइँदैन र उक्त प्रमाणबाट प्र. सुरेश साहले यी प्रतिवादीहरूसँग मिली हत्या गरेको भन्ने बयान व्यहोरा खण्डित भएको छ । घटनास्थलमा प्रतिवादीहरूको विरूद्धमा प्रमाण लाग्ने गरी कुनै पनि दसी प्रमाण भेटिएकोसमेत छैन । यस्तो अवस्थामा केवल अनुमान र शङ्काको भरमा मात्र प्रतिवादीहरूलाई कसुरदार हुन् भनी ठहर गर्न सकिने अवस्था पनि रहेन ।

            . कुनै पनि हत्याको आपराधिक कार्य प्रमाणित हुनको लागि सो कार्य दुषित मनसाय (Mens Rea) राखी पूर्वयोजना बनाई कार्य (Actus Reus) गरिएको हुनुपर्दछ । सो कार्यको परिणामको पूर्व जानकारी (Foresightness of consequence) र परिणाम घटाउने इच्छा (Desire of consequence) समेत भएको हुनुपर्दछ । कर्तव्य ज्यान मुद्दामा प्रतिवादीहरूद्वारा गरिएको कार्यमा ती चार तत्त्वहरू रहेका थिए भन्ने कुरा वादी पक्षले नै ती कुरा स्थापित भएको प्रमाणित गर्नुपर्दछ । आफूले गरेको कार्यबाट लक्षित व्यक्तिको मृत्यु अवश्यम्भावी छ भनेर मृत्युको परिणामको पूर्वजानकारी राखी अभियुक्तले आपराधिक कार्य गरी सो कार्यबाट मृतकको मृत्युभएको हुनुपर्दछ तर प्रस्तुत मुद्दामा सो स्थिति रहेको देखिएन ।

            . अतः उपरोक्त साक्षी प्रमाणहरूको मूल्याङ्कन गरी हेर्दा जाहेरवालाको जाहेरीबाहेक अन्य प्रमाणहरूबाट यिनै प्रतिवादीहरूको कर्तव्यबाट हत्या भएको पुष्टि भएको देखिएन । बिनासबुद प्रमाण हत्याजस्तो गम्भीर अपराधको दोषी कसैलाई करार गर्न मिल्दैन । यी मृतक र प्रतिवादीहरूबीच अंशको विवाद रहे तापनि हत्याको प्रकृति हेर्दा करणी भएको र तेजाव छरी, कुटपीट गरी बिभत्स हत्या गरेको, यसका अतिरिक्त लास नाङ्गो अवस्थामा रहेको हुँदा कुनै पनि बज्यै नाताकी मृतकलाई भाइ भतिजाले त्यसरी मार्नुपर्ने अवस्था नरहेको तथा मौकामा कागज गर्ने व्यक्तिहरूबाट सो कुराको पुष्टि नभएको, जाहेरवाला अदालतमा बयान गर्न उपस्थित नभएको, हत्याको प्रत्यक्षदर्शी नभएको अवस्थामा परिस्थितिजन्य प्रमाणको आधारमा मालाकडीको रूपमा पुष्टि हुनुपर्नेमा पुष्टि नभएको, प्रतिवादीले मृतकलाई अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा घाँटी, नाक थिची मुख थुनी मारी लुगा लगाएको अवस्थामा फालेको भनी बयान गरेकोमा ठीकविपरीत नाङ्गो अवस्थामा लास रहेको अवस्था हुँदा घट्ना प्रकृति नै फरक परी साबितीसँग वारदातको वस्तुस्थिति पुष्टि नभएको समेतका माथि उल्लिखित तथ्यगत आधार र प्रमाणहरूबाट यी प्रतिवादीहरू राजेन्द्र राययादव, महेन्द्र भन्ने सुरेन्द्र राययादवप्रमोद राययादव र अजय महतो सुडीसमेतले आरोपित कसुरबाट सफाइ पाउने गरी भएको सुरू जिल्ला अदालतको फैसला सदर हुने ठहर्याएको पुनरावेदन अदालत, जनकपुरको मिति २०६८।६।२ को फैसला मिलेकै देखिँदा कुनै परिवर्तन गरिरहनु परेन सदर हुने ठहर्छ । प्रस्तुत मुद्दाको दायरीको लगतकट्टा गरी मिसिल नियमानुसार गरी अभिलेख शाखामा बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।                              

न्या. दीपकराज जोशी

 

इति संवत् २०७१ साल असोज २९ गते रोज ४ शुभम् ।

इजलास अधिकृत : हेमबहादुर सेन

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु