शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९०५४ - सम्पत्ति शुद्धीकरण

भाग: ५५ साल: २०७० महिना: पौस अंक:

ने.का.प. २०७०,           अङ्क ९

निर्णय नं.९०५४

 

सर्वोच्च अदालत, संयुक्त इजलास

सम्माननीय का.मु. प्रधान न्यायाधीश श्री दामोदरप्रसाद शर्मा

माननीय न्यायाधीश श्री तर्कराज भट्ट

फैसला मिति : २०७०।३।२६।४

०६८CR०९३१

मुद्दाःसम्पत्ति शुद्धीकरण

पुनरावेदक/प्रतिवादी : भारत बिहार, मधुवनी जिल्ला, जयनगर नगरपालिका, वडा नं. ८ घर भई    हाल कारागार कार्यालय डिल्लीबजार, काठमाडौंमा थुनामा रहेको सुनील जयसवालसमेत

विरूद्ध

प्रत्यर्थी/वादी : सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको तर्फबाट अनुसन्धान अधिकृत सूर्यराज   दाहालसमेतको प्रतिवेदनले नेपाल सरकार

 

§  प्रतिवादीहरूले नेपाली रूपैयाँ बोकी हिँड्नुमात्र आफैँमा कसूरजन्य कार्य हुन सक्दैन । कसूरजन्य कार्य तबमात्र मान्न सकिन्छ जब त्यस्तो रकम गैरकानूनीरूपमा आर्जन गरेको वा कानूनप्रतिकूल रूपमा लिएको वा धारण गरेको हुन्छ ।

§  रूपैयाँ सहटीको प्रयोजनका लागि धारण गरेकोसम्म कार्य सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्) निवारण ऐन, २०६४ को दफा ४(ङ) मा उल्लेख भएअनुसार विदेशी विनिमय नियमित गर्ने सम्बन्धी प्रचलित कानूनको उल्लङ्घन गरेको मान्न  नमिल्ने ।

 (प्रकरण नं.५)

 

पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान अधिवक्तात्रय सुरेन्द्रकुमार महतो, विदुर ढुङ्गाना र गौरीशंकर महतो

प्रत्यर्थी/वादीका तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री दुर्गाबन्धु पोखरेल

अवलम्बित नजीर :

सम्बद्ध कानून :

§  सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्) निवारण ऐन, २०६४ को दफा ४(ङ)

 

विशेष अदालत काठमाडौमा फैसला गर्ने न्यायाधीशः

            अध्यक्ष माननीय न्यायाधीश श्री गौरीबहादुर कार्की

            सदस्य माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र

           

फैसला

का.मु.प्र.न्या.दामोदरप्रसाद शर्मा: विशेष अदालत ऐन, २०५९ को दफा १७ बमोजिम शुरू विशेष अदालतको मिति २०६८।८।२९ को फैसलाउपर प्रतिवादीहरूको तर्फबाट पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :

राजश्व अनुसन्धान विभाग, मध्यमाञ्चल इकाई कार्यालय, पथलैया, बाराको च.नं. ३७८ मिति २०६८।६।२९ को पत्रसाथ संलग्न श्रवण साह र सुनील जैसवाल तथा निजहरूबाट बरामद गरिएको नेपाली रूपैयाँ २८,४०,०००।सहित राजश्व अनुसन्धान विभाग हरिहरभवनमा पठाईएको ।

राजश्व अनुसन्धान विभाग हरिहरभवन, ललितपुरबाट प्रतिवादीहरूको बयान गराउँदा बरामद उक्त नेपाली मुद्रा आफ्नो साथबाट बरामद भएको तथ्य स्वीकार गरी प्रतिवादीहरूले बयान गरेको र प्रस्तुत विषय यस विभागको कार्यक्षेत्रभित्र पर्ने नदेखिएकोले बरामद नेपाली रूपैयाँ २८,४०,०००।माग भएको बखत पठाउने भनी बैंक दाखिला गरी आवश्यक कारवाहीको लागि पक्राउमा परेका अभियुक्त सुनील जैसवाल र श्रवण साहलाई मिति २०६८।७।१ को पत्र साथ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाइएको ।

नेपाली रूपैयाँ बोकेर भारतबाट नेपाल आउँदा मलाई परवाहा रेल स्टेशन, नेपालमा प्रहरीले पक्राउ गरेको, मबाट बरामद भएको नेपाली रूपैयाँ ९,२०,०००।मात्र भएको र बाँकी रकम १९,२०,०००।सुनील जैसवालको साथमा भएको उक्त रकम मेरो मालिक राजेश जैसवालको भएको र उहाँ जयनगर भारतमा बस्नु हुन्छ । राजेश जैसवालको ग्याँस स्टोभ, कुकरसमेतको पसल छ । आफूसँग बरामद भएको नेपाली रूपैयाँ जनकपुरमा भारतीय रूपैयाँ सटही गर्नका लागि पठाएको हो । साहुको पसल जयनगर बोर्डरमा छ । उक्त स्थानमा नेपाली रूपैयाँ चल्ने कारणले गर्दा बरामद भएको रकम पसलमा सामान बिक्री गरेको रकम भएको हुँदा कुनै गैर कानूनी रकम होइन भन्नेसमेत व्यहोराको प्रतिवादी श्रवणकुमार साहले अनुसनधानका क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अनुसन्धान अधिकृतसमक्ष गरेको बयान ।

नेपाली रूपैयाँ बोकेर भारतबाट नेपाल आउँदा मलाई परवाहा रेल स्टेशन नेपालमा प्रहरीले पक्राउ गरेको, मबाट बरामद नेपाली रूपैयाँ १९,२०,०००।मात्र भएको र बाँकी रकम रू. ९,२०,०००।मेरो साथमा आएका श्रवणकुमार साहको साथबाट बरामद भएको र बरामद रकम मालिक राजेश जैसवालको हो । निजको भारतमा ग्याँस स्टोभ, कुकरसमेतको पसल छ । आफूसँग बरामद भएको नेपाली रूपैयाँ राजेश जैसवालले जनकपुरमा भारतीय रूपैयाँ सटही गर्न पठाएको हो । साहुको पसल जयनगर बोर्डरमा भएकोले जयनगरमा नेपाली रूपैयाँ चल्ने भएको हुँदा सो रकम साहुले सामान बिक्री गरी लिएको रकम हो । कुनै गैरकानूनी रकम होइन । बरामदी रकम भा.रू. सटही गर्ने प्रयोजनको लागि लिई आएको हो । यसरी रकम लिई हिँड्दा सजाय हुन्छ भन्ने मलाई थाहा थिएन भन्नेसमेत व्यहोराको प्रतिवादी सुनील जैसवालले अनुसन्धानको क्रममा अनुसन्धान अधिकृतसमक्ष सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा गरेको बयान ।

प्रतिवादीहरू सुनील जैसवाल र श्रवण साहबाट बरामद भएको जम्मा रकम नेपाली रूपैयाँ २८,४०,०००।को स्रोतको सम्बन्धमा अनुसन्धान तहकीकातको क्रममा निजहरूसँग लिइएको बयानमा बरामद भएको रकम आफ्ना मालिक जयनगर भारत बस्ने राजेश जैसवालको भएको र निज मालिकको जयनगरमा पसल भएको उक्त रकम पसलको सामान बिक्री गरेर प्राप्त भएको साथै आफूहरूलाई सो रकम जनकपुरमा भारतीय रूपैयाँ सटही गर्न पठाएको भनी लेखाएपनि बरामदी रकम निजहरूबाट बरामद भएकोमा सोको स्रोत खुलेकोसमेत देखिन आएन । तसर्थ प्रतिवादीहरूले स्रोत नखुलेको रकम बोकी लिई सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ्) निवारण ऐन, २०६४ को दफा ३ ले निषेधित गरेको कार्य गरी सोही ऐनको दफा ४(ङ), २८ र २९ को कसूर वारदात गरेको कुरा पुष्टि हुन आएकोले श्रवण साहबाट बरामद भएको रू.९,२०,०००।र सुनील जैसवालबाट बरामद भएको रू. १९,२०,०००।गरी जम्मा बरामदी नेपाली रूपैयाँ २८,४०,०००।लाई बिगो कायम गरी बरामदी रूपैयाँ ऐ. ऐनको दफा ३४(१) अनुसार जफत गरी पाउन र भारतीय नागरिक प्रतिवादी सुनील जैसवाल र श्रवण साहलाई ऐ. ऐनको दफा ३०(२) बमोजिम सजायको माग दावी लिई विशेष अदालतमा दायर भएको अभियोग पत्र ।

नेपाली रूपैयाँ १९,२०,०००।मबाट बरामद भएको हो । उक्त रकम भारत मधुवनी जिल्ला, जयनगरमा ग्याँस चुल्हो, स्टोभ आदिको पसल गरी बस्ने राजेश जैसवालले मलाई जनकपुरबाट भारतीय रूपैयाँ सटही गर्न पठाएकोले लिई आएको हुँ । जयनगरमा नेपाली रूपैयाँ पनि चल्ने हुँदा पसलमा जम्मा भएको उक्त रकम ल्याएको हुँ । म राजेश जैसवालको पसलमा काम (मजदुरी) गर्दछु । के कति रकम साट्न सकिन्छ भन्ने मलाई थाहा थिएन । उक्त रकम मेरो नभएर साहुजी राजेश जैसवालको हो भन्नेसमेत व्यहोराको प्रतिवादी सुनीलकुमार जैसवालले शुरू विशेष अदालतमा गरेको बयान ।

म भारत जयनगरमा ग्याँस चुल्हो, स्टोभ आदिको पसल गरी बस्ने साहु राजेश जयसवालको पसलमा काम गर्दछु । साहुजीको दोकानको सामान बिक्री गरी भएको नेपाली रूपैयाँ जनकपुरमा आई भारतीय रूपैयाँमा सटही गरी लगी दिने गरेको हुँ । उक्त सटही गर्न ल्याएको नेपाली रकम रू. ९,२०,०००।सहित मलाई नेपाल प्रहरीले नेपालको परवाहा भन्ने ठाउँमा पक्राउ गरेको हो । नेपाली रूपैयाँ ठूलो परिमाणमा नेपालमा ल्याई भारतीय मुद्रामा सटही गरी भारत लैजान नेपाल कानूनले प्रतिबन्ध लगाएको छ भन्ने कुरा मलाई थाहा  थिएन । उक्त बरामद भएको रकम मेरो आफ्नो होइन मलाई मासिक रू. २०००।दिई नोकरीमा राख्ने साहु राजेश जैसवालकै रूपैयाँ हो भन्नेसमेत व्यहोराको प्रतिवादी श्रवण साहले शुरू विशेष अदालतमा गरेको बयान । 

बुझ्दै जाँदा पछि ठहरेबमोजिम हुने गरी हाल प्रतिवादी सुनील जैसवालले रू. १९,२०,०००।नगद धरौट र प्रतिवादी श्रवण साहले रू. ९,२०,०००।नगद धरौट वा सो बराबरको जेथा जमानत वा बैंक जमानत दिए लिई तारेखमा राखी मुद्दामा पुर्पक्ष गर्न दिनु र नगद धरौट वा जेथा जमानत वा बैंक जमानत दिन नसके कानूनबमोजिम सिधा खान पाउने गरी अ.बं. १२१ नं.बमोजिम थुनुवा पुर्जी दिई थुनामा राखी मुद्दा पुर्पक्ष गर्नु भन्ने शुरू विशेष अदालतको मिति २०६८।७।२२ को आदेशानुसार प्रतिवादीहरूले माग भएको धरौट रकम दिन नसकी थुनामा बसी मुद्दाको पुर्पक्ष गरी आएको ।

प्रतिवादीहरू सुनील जयसवाल र श्रवण साहको साथबाट क्रमशः रू. १९,२०,०००।र ९,२०,०००।नेपाली रूपैयाँ बरामद भएकोमा उक्त रकम भारत जयनगर बस्ने भारतीय नागरिक राजेश जैसवालको भएको र निजकै निर्देशनमा भारतीय रूपैयाँ सटही गर्न ल्याएको अवस्थामा पक्राउ परेको भनी यी प्रतिवादीहरूले बयान गरेपनि बयानमा उल्लेख गरेका रकमका धनी भनिएका भारतीय नागरिक राजेश जयसवाल भन्ने व्यक्ति रकम दावी गर्न आएकोसमेत देखिएन । यस स्थितिमा प्रतिवादीले उल्लेख गरेका राजेश भन्ने व्यक्तिकै रकम हो भन्ने कुरा पुष्टि हुन आएन । अतः प्रतिवादीहरूबाट बरामद उक्त रकम अन्यथा प्रमाणित भएको नदेखिँदा निजहरूकै भएको समर्थित हुन आयो । प्रतिवादीहरूले बैंक कारोबार गर्ने इजाजत वा कुनै कागजात वा आधार प्रमाण बिना नै यति ठूलो रकम भारतीय मुद्रामा सटही गर्ने उद्देश्यले लिई हिँडेका कार्य सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्) निवारण ऐन, २०६४ को दफा ३ ले निषेधित गरेको कार्य गरेकोले सोही ऐन (संशोधन सहित) को दफा ४  (ङ), २८ र २९ को कसूर गरेको ठहर्छ । सो ठहर्नाले उक्त ऐनको दफा ३०(२) अनुसार प्रतिवादीमध्ये सुनील जयसवाललाई रू. १९,२०,०००।र प्रतिवादी श्रवण साहलाई रू. ९,२०,०००।जरीवाना तथा जनही वर्ष १ का दरले कैदसमेत हुने ठहर्छ । बरामद भएको कसूर गर्न प्रयोग भएको सम्पत्ति नगद रकम रू. २८,४०,०००।सोही ऐनको दफा ३४(१) बमोजिम जफत हुने ठहर्छ भन्नेसमेत व्यहोराको विशेष अदालत, काठमाडौंको मिति २०६८।८।२९ को फैसला ।

विशेष अदालतको फैसला त्रुटिपूर्ण रहेको छ । अभियोगपत्रको अभियोग खण्डको दोस्रो प्रकरणको अन्त्यतिर प्रतिवादीहरू पसलमा काम गर्ने सामान्य कर्मचारी भएका बरामदी रकम आफ्नो नभई अन्य व्यक्तिको हो भनी निजहरूले बयानसमेत गरेबाट उक्त रकम निजहरूको भएको देखिएनभनी उल्लेख भएबाट वादी स्वयंले हामी पुनरावेदक प्रतिवादी नेपाली रूपैयाँ बाहक मात्र देखाएकोमा वादी लेखभन्दा बाहिर गई प्रतिवादीहरूबाट बरामद उक्त रकम अन्यथा प्रमाणित भएको नदेखिँदा निजहरूकै भएको समर्थित हुन आयो भन्ने फैसला कानूनी त्रुटिपूर्ण छ । बरामद भएको रकम हाम्रो मालिक राजेश जयसवालको हो । मालिकले नेपाली ग्राहकहरूबाट लिएको नेपाली रूपैयाँ भारतीय रूपैयाँमा सटही गर्न हामीलाई दिनु भएको  हो । हाम्रो मालिक राजेश कुमार जयसवालको जयनगरमा पसल छ । उक्त रूपैयाँ सटही गर्न बैंकसम्म नपुग्दै हामीलाई प्रहरीले पक्राउ गरेको हो । हामीबाट विदेशी मुद्रा बरामद भएको पनि होइन । अतः वादी स्वयंले बरामदी रकम हामी प्रतिवादीको हो भनी भन्न नसकेको, उक्त रकम हामी प्रतिवादीको मालिकको भएको, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरीङ) निवारण ऐन, २०६४ को दफा ४(ङ) को कसूर तथा विदेशी विनिमय (नियमित) गर्ने ऐन, २०१९ को कुन दफाअनुसारको कसूर हो भनी प्रमाणित गर्न नसकेको, नेपाल राष्ट्र बैंकको परिपत्रले पनि कसूर नभनेको, मिति २०५७।३।१२ को राजपत्रको सूचनाले भारतीय नागरिकलाई असीमित मात्रामा नेपाली मुद्रा र भारतीय मुद्रा लैजान ल्याउन पठाउन छूट दिएको अवस्थामा नेपाल राष्ट्र बैंकको पत्रको हवला दिई दफा ३ तथा ४(ङ) को कसूर ठहर्‍याई उक्त रूपैयाँ हामी प्रतिवादीहरूको भनी दफा २८बमोजिम जफतसमेत गरी दफा ३०(२) बमोजिम प्रतिवादीमध्येका सुनील भन्ने सुशील जयसवाललाई रू. १९ लाख २० हजार जरीवाना र श्रवण साहलाई रू. ९ लाख २० हजार जरीवाना एवं जनही एक वर्ष कैद गरेको विशेष अदालत, काठमाडौंको फैसला बदर गरी अभियोग दावीबाट सफाइ पाऊँ । साथै हामीबाट बरामद भएको रकम फिर्ता दिलाई पाऊँ भन्नेसमेत व्यहोराको प्रतिवादीहरू सुनील जयसवाल र श्रवण साहको संयुक्त पुनरावेदन पत्र ।

यसमा मिति २०५७।३।१२ को राजपत्रको सूचना र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्) निवारण ऐन, २०६४ को दफा ४(ङ) को व्याख्याको प्रश्नमा विशेष अदालत, काठमाडौंको फैसला फरक पर्न सक्ने देखिँदा छलफलका निमित्त अ.बं. २०२ नं. बमोजिम महान्यायाधिवक्ताको कार्यालयलाई पेशीको सूचना दिई नियमबमोजिम पेश गर्नु भन्ने यस अदालतको मिति २०६९।२।२८ को आदेश ।

यसमा प्रतिवादीहरूबाट बरामद भएको रकम आफ्नो नभई भारत, मधुवनी जिल्लाअन्तर्गत जयनगरमा ग्याँस चुल्हो स्टोभको पसल गरी बस्ने साहु राजेश जयसवालको हो भनी बयान गरेको देखिन्छ । निज राजेश जयसवाललाई अनुसन्धानको क्रममा नबुझिएको तथा शुरू विशेष अदालतबाटसमेत निजलाई नबुझी फैसला भएको पाइयो । प्रतिवादीहरूको पुनरावेदन पत्र साथ राजेशकुमार जयसवालले नोटरीसमक्ष गरेको सपथपत्र तथा जयनगर चेम्बर अफ कमर्शको २०११।१२।२९ को पत्रसमेतका प्रमाणहरू पेश गरेको देखिँदा बरामद रकमको सम्बन्धमा निज राजेश जयसवाललाई बुझ्न आवश्यक देखिएको तर निज राजेश जयसवालको वतन विदेश भारत भएकोले म्याद तामेली प्रक्रिया पूरा गर्न समय लाग्ने भएको र थुनुवा मुद्दा भएको हुँदा निजलाई म्याद जारी गर्ने प्रयोजनको लागि म्यादको पत्र पुनरावेदक थुनुवातर्फका विद्वान अधिवक्ता जिम्मा दिई निज राजेश जयसवाल उपस्थित भए बुझ्ने प्रक्रिया पूरा गरी नियमानुसार पेश गर्नु । साथै प्रतिवादी सुधिरकुमार सिंह भएको (दर्ता नं. १६७।०६८।०६९) यस्तै प्रकृतिको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मुद्दा नचलाउने निर्णय भएको छ भनी पुनरावेदकतर्फबाट उपस्थित विद्वान अधिवक्ताले बहसको क्रममा जिकीर लिनुभएको हुँदा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट उक्त मुद्दामा मिति २०६८।८।२ मा भएको निर्णयसहितको सक्कल फाइल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट झिकाई आएपछि नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०६९।६।९ को आदेश ।

मिसिल संग्लन सपथपत्र र चेम्बर अफ कमर्शको २०११।१२।२९ को पत्रसमेतमा उल्लेख भएको व्यहोरा साँचो हो । पेश भएको पान नम्बर Aowpj7932G समेत मेरा आफ्ना हुन् । प्रतिवादी श्रवण साहबाट बरामद भएको रू. ९,२०,०००।र प्रतिवादी सुनील जयसवालबाट बरामद भएको रू. १९,२०,०००।गरी जम्मा रू. २८,४०,०००।मेरो आफ्नो हो । उक्त रूपैयाँ हाम्रो व्यापार व्यवसायबाट आएको रकम हो । उक्त रूपैयाँ भारतीय सीमानामा नेपाली गएर समान खरीद गरी दिएको रकम हो । उक्त रूपैयाँ जम्मा गरी यी प्रतिवादहरूमार्फत भा.रू. लिन पठाएकामा साट्न जाने क्रममा पक्राउ परेको हो भन्नेसमेत व्यहोराको बुझिएका मानिस राजेशकुमार जयसवालले यस अदालतमा उपस्थित भई गरेको बकपत्र ।

नियमबमोजिम पेशी सूचीमा चढी इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीहरूका तर्फबाट उपस्थित विद्वान अधिवक्ता त्रय श्री सुरेन्द्र कुमार महतो, विदुर ढुङ्गाना र गौरीशंकर महतोले प्रतिवादीहरूबाट बरामद भएको रकम प्रतिवादीहरूको नभई भारत मधुवनी जिल्ला बस्ने राजेशकुमार जयसवालको हो । व्यापार व्यवसायको सन्दर्भमा नेपाली ग्राहकबाट प्राप्त भएको नेपाली रूपैयाँ भारतीय रूपैयाँमा सटही गर्न नेपाल ल्याउँदा पक्राउ गरेको भनी प्रतिवादीहरूले बयान गरेका र उक्त तथ्य यस अदालतको आदेशानुसार बुझिएका व्यक्ति राजेशकुमार जयसवालले बरामद भएको रकम आफ्नो भएको स्वीकार गरी बकपत्र गरेबाट पुष्टि भइरहेको छ । यसरी बरामद भएको रकम प्रतिवादीहरूको नभई राजेशकुमार जयसवालको भएको पुष्टि भएको साथै मिति २०५७।३।१२ को नेपाल राजपत्रको सूचनाले भारतीय नागरिकहरूले नेपाली एवं भारतीय रूपैयाँ असीमित मात्रामा लैजान वा पठाउन सक्ने व्यवस्था गरेको अवस्थामा प्रतिवादीहरूकै रकम ठहर गरी प्रतिवादीहरूलाई सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्) निवारण ऐन, २०६४ अनुसार कैद एवं जरिवाना गरी रकम बरामद हुने ठहर गरेको विशेष अदालतको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी आरोपित कसूरबाट सफाइ दिई रकमसमेत फिर्ता हुने फैसला गरी पाऊँ भनी गर्नु भएको बहससमेत सुनियो ।

प्रत्यर्थी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री दुर्गाबन्धु पोखरेलले प्रतिवादीहरूबाट बरामद भएको रकमको कानूनी स्रोत प्रतिवादीहरूले खुलाउन नसकेको अवस्था छ । विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को अधिकार प्रयोग गरी मिति २०६७।१२।७ को नेपाल राष्ट्र बैंकको परिपत्रबमोजिम भारतीय रूपैयाँको कारोबारको सम्बन्धमा सर्वसाधारणले एक पटकमा रू. २५,०००।नबढाई निवेदनको आधारमा भारतीय रूपैयाँको सटहीको सुविधा उपलब्ध हुने र के कुन कामको लागि भारतीय रूपैयाँको आवश्यकता भएको हो सोको प्रमाण खुल्ने कागजातसहित निवेदन दिएको अवस्थामा मात्र सटही गर्न पाउनेमा बिना प्रमाण यति ठूलो रकम सटही गर्न भनी हिँडेको कार्य सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्) निवारण ऐन, २०६४ को दफा ३ ले निषेधित गरेको कार्य हुँदा प्रतिवादीहरूलाई सोही ऐनको दफा ४(ङ), २८ र २९ को कसूर गरेको ठहर्‍याई दफा ३०(२) बमोजिम कैद र जरीवाना गरी दफा ३४(१) बमोजिम बरामद रकम जफत हुने ठहर गरेको विशेष अदालतको फैसला कानूनसम्मत हुँदा उक्त फैसला सदर हुने फैसला गरी पाऊँ भनी गर्नु भएको बहससमेत सुनियो ।

२. उल्लिखित बहससमेत सुनी निर्णय सुनाउन आजको तारेख तोकिएको प्रस्तुत मुद्दामा प्रतिवादीहरूले स्रोत नखुलेको रकम बोकी लिई सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ्) निवारण ऐन, २०६४ को दफा ३ ले निषेधित गरेको कार्य गरी सोही ऐनको दफा ४(ङ), २८ र २९ को कसूरमा प्रतिवादी श्रवण साहबाट बरामद भएको रकम रू. ९,२०,०००।र प्रतिवादी सुनील जयसवालबाट बरामद भएको रू. १९,२०,०००।गरी जम्मा रू. २८,४०,०००।लाई बिगो कायम गरी उक्त रकम दफा ३४(१) अनुसार जफत गरी प्रतिवादीहरूलाई ऐ. ऐनको दफा ३०(२) बमोजिम सजायको मागदावी लिई अभियोगपत्र पेश भएको देखिन्छ । मिति २०६८।६।२७ गते ११:०० बजेको समयमा भारतको जयनगरबाट नेपालतर्फ आइरहेको रेलमा सवार भारतीय नागरिक यी प्रतिवादीहरू सुनील जयसवाल र श्रवण साहबाट देउरी परवाहा स्थित रेल्वे स्टेशनमा नेपाली रूपैयाँ रू.२८,४०,०००।फेला परी निजहरू र बरामदी रकमसमेत आवश्यक कारवाहीको लागि भनी सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयमा धनुषाको मिति २०६८।६।२९ को पत्र साथ राजश्व अनुसन्धान विभागमा पठाएको देखिन्छ । राजश्व अनुसन्धान विभागले प्रतिवादीहरूको बयानसमेत लिई प्रतिवादीहरूको कसूर विभागको अधिकारक्षेत्रभित्र पर्ने नदेखिएको भनी प्रतिवादीहरू एवं सक्कल मिसिल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा मिति २०६८।७।१ मा पठाएको देखिन्छ । तत्पश्चात् सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान प्रक्रिया अगाडि बढाई प्रतिवादीहरूको बयान लिएको देखिन्छ । प्रतिवादीहरूले अनुसन्धानका क्रममा एवं शुरू विशेष अदालतमा बयान गर्दासमेत आफूबाट बरामद भएको रकम आफ्नो नभई भारत जयनगरका व्यापारी राजेशकुमार जयसवालको हो । उनको जयनगरमा ग्याँस चुल्हो, स्टोभ आदिको पसल रहेको र आफू त्यस पसलमा मजदूरी काम गर्ने गरेकोले नेपाली ग्राहकबाट प्राप्त नेपाली रूपैयाँ साहूजीले भारतीय रूपैयाँमा सटही गरी ल्याउन भनेकाले सटही गर्न नेपाल लिई आएको अवस्थामा पक्राउ परेको भनी उल्लेख गरेको पाइन्छ । शुरू विशेष अदालतले प्रतिवादीहरूलाई कसूरदार ठहर्‍याउँदा प्रतिवादीहरूले निजहरूबाट बरामद भएको रकम राजेश जयसवालको भएको भने पनि रकमका धनी भनिएका भारतीय नागरिक राजेशकुमार जयसवाल भन्ने व्यक्ति रकम दावी गर्न आएको नदेखिँदा उक्त रकम राजेश जयसवालको नदेखिई प्रतिवादीहरूकै भएको समर्थित हुन आएको भन्ने मुख्य आधार लिएको देखिन्छ ।

३. प्रस्तुत विवादमा प्रतिवादीहरूबाट बरामद भएको रकम जम्मा रू. २८,४०,०००।प्रतिवादीहरू सुनील जयसवाल र श्रवण साहको हो वा होइन भन्ने प्रश्न खडा भएको देखिन्छ । प्रतिवादीहरूले अनुसन्धानको क्रममा र विशेष अदालतमा बयान गर्दा एवं यस अदालतमा पुनरावेदन गर्दासमेत बरामदी रकम भारत जयनगरका राजेशकुमार जयसवालको हो । आफूहरू निजको पसलमा कामदारको रूपमा काम गरेको र मालिक राजेशकुमार जयसवालको आदेशअनुसार नेपाली रूपैयाँलाई भारतीय रूपैयाँमा सटही गर्न नेपाल आउँदा पक्राउमा परेको भन्ने उल्लेख गरेको पाइन्छ । राजेशकुमार जयसवाललाई अनुसन्धानको क्रममा एवं शुरू विशेष अदालतबाटसमेत बुझेको देखिन्न । प्रतिवादीहरूले पुनरावेदन पत्रसाथ राजेशकुमार जयसवालले बरामद भएको रू.२८,४०,०००।सुनील जयसवाल र श्रवण साहलाई भारतीय रूपैयाँमा सटही गर्न जनकपुरमा पठाएको भन्नेसमेतका व्यहोरा उल्लेख गरी नोटरीसमक्ष गरेको शपथपत्र एवं जयनगर चेम्बर अफ कमर्शको मिति २०११।१२।२९ को पत्रसमेतका प्रमाणहरू पेश गरेको देखिँदा बरामद रकमका सम्बन्धमा यस अदालतको आदेशानुसार निज राजेश जयसवाललाई बुझिएको देखिन्छ । निज राजेशकुमार जयसवालले यस अदालतमा उपस्थित भई मिसिल संलग्न शपथपत्र र जयनगर चेम्बर अफ कर्मशको मिति २०११।१२।२९ को पत्रमा भएको व्यहोरा सत्य साँचो भएको उल्लेख गर्दै प्रतिवादी श्रवण साहबाट बरामद भएको रू. ९,२०,०००।र सुनील जयसवालबाट बरामद भएको रू. १९,२०,०००।गरी जम्मा रू. २८,४०,०००।मेरो आफ्नो हो । उक्त रूपैयाँ हाम्रो व्यापार व्यवसायबाट आएको  हो । उक्त रूपैयाँ भारतीय सीमानामा नेपाली गएर सामान खरीद गरी दिएको रूपैयाँ जम्मा गरी प्रतिवादीहरूलाई भारतीय रूपैयाँमा साट्न पठाउँदा प्रतिवादीहरू पक्राउ परेका हुन् भन्नेसमेतका व्यहोरा उल्लेख गरी बकपत्र गरेको देखिन्छ । यसरी प्रतिवादीहरूको बयान एवं राजेश जयसवालले यस अदालतमा गरेको बकपत्र व्यहोराबाट बरामदी रकम जम्मा रू. २८,४०,०००।प्रतिवादीहरू सुनील जयसवाल र श्रवण साहकोे नभएको पुष्टि हुन आयो ।

४. अब, शुरू विशेष अदालतले प्रतिवादीहरूलाई कसूरदार ठहर्‍याई कैद एवं जरीवानासमेत गरी बरामदी रकम जफत हुने ठहर गरेको फैसला मिले नमिलेको सम्बन्धमा विचार गर्दा माथि विवेचना गरिएअनुसार बरामद भएको रकम प्रतिवादीहरू सुनील जयसवाल र श्रवण साहको नभएको पुष्टि भइसकेको छ । प्रतिवादीहरू राजेशकुमार जयसवालको पसलमा काम गर्ने कामदार भएका र निजहरूलाई राजेश जयसवालले आफ्नो व्यापारको क्रममा नेपाली ग्राहकहरूबाट प्राप्त भएको नेपाली रूपैयाँलाई भारतीय रूपैयाँमा सटही गर्न नेपालमा पठाएको र सटही गर्नुपूर्व नै प्रतिवादीहरू पक्राउ परेको देखिन्छ । प्रतिवादीहरू एवं रकमका धनी भनिएका व्यक्ति राजेशकुमार जयसवाल भारतीय नागरिक भएका र भारतमा नै गरेको व्यापार व्यवसायबाट प्राप्त नेपाली रूपैयाँ भारतीय रूपैयाँमा सटही गर्नसम्म नेपालमा ल्याउँदा पक्राउ गरेको देखिन्छ । रकमका धनी भनिएका व्यक्ति राजेशकुमार जयसवाल यस अदालतको आदेशअनुसार यस अदालतमा उपस्थित भई बरामद रकम आफ्नो भनी बकपत्र गरेको अवस्थामा यी प्रतिवादीहरू सुनील जयसवाल र श्रवण साह कै रकम भएको भनी कसूरदार ठहर गर्नु न्यायपूर्ण देखिएन ।

५. यी प्रतिवादीहरूउपर सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्) निवारण ऐन, २०६४ को दफा ४(ङ) मा विदेशी विनिमय नियमित गर्ने सम्बन्धी प्रचलित कानूनअन्तर्गतको कसूर गरी सम्पत्ति शुद्धीकरण गरेको भन्ने दावीतर्फ विचार गर्दा मिति २०५७।३।१२ को नेपाल राजपत्र, अर्थ मन्त्रालयको सूचना १ (क) मा नेपाली र भारतीय नागरिकहरूले नेपाल अधिराज्यबाट भारतमा सुन, चाँदी वा मिश्रित चाँदीका नेपाली सिक्काबाहेक अन्य नेपाली र भारतीय सिक्का करेन्सी नोट र बैंक नोट असीमित मात्रामा लैजान वा पठाउन सक्ने छन् भन्ने उल्लेख भएको देखिन्छ । बरामदी रूपैयाँ प्रतिवादीहरूको नभई निजहरू काम गर्ने पसल मालिक राजेशकुमार जयसवालले अह्राएअनुसार व्यापारबाट प्राप्त नेपाली रूपैयाँ भारतीय रूपयाँमा सटही गर्न ल्याउँदा बैंकसम्म नपुग्दाकै अवस्थामा बरामद गरिएको देखिन्छ । प्रतिवादीहरूले नेपाली रूपैयाँ बोकी हिँड्नुमात्र आफैँमा कसूरजन्य कार्य हुन सक्दैन । कसूरजन्य कार्य तबमात्र मान्न सकिन्छ जब त्यस्तो रकम गैरकानूनीरूपमा आर्जन गरेको वा कानूनप्रतिकूल रूपमा लिएको वा धारण गरेको मानिन्छ । उल्लिखित मिति २०५७।३।१२ को राजपत्रको सूचनाअनुसार प्रतिवादीहरूले बरामदी नेपाली रूपैयाँ नेपालमा ल्याउन सक्ने नै देखिन्छ । प्रतिवादीहरू बैंकसम्म पुगी कानूनी प्रक्रिया पूरा गरी नेपाली रूपैयाँ भारतीय रूपैयाँमा सटही गर्नुपूर्व नै पक्राउ गरी बरामद गरेको देखिएको साथै यस अदालतको पूर्व आदेशानुसार प्रमाणको रूपमा पेश हुन आएको प्रतिवादी सुधीर कुमार सिंह भएको (दर्ता नं. १६७।०६८।०६९) को यस्तै प्रकृतिको सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट मुद्दा तामेलीमा राखेकोसमेत देखिन्छ । प्रतिवादीहरूले आफ्नो मालिक राजेशकुमार जयसवालको आज्ञाअनुसार रूपैयाँ सटहीको प्रयोजनका लागि धारण गरेकोसम्म देखिँदा निज प्रतिवादीहरूले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्) निवारण ऐन, २०६४ को दफा ४(ङ) मा उल्लेख भएअनुसार विदेशी विनिमय नियमित गर्ने सम्बन्धी प्रचलित कानूनको उल्लङ्घन गरेको मान्न सम्झन मिलेन ।    

६. तसर्थ, बरामदी रकम प्रतिवादीहरूको नभएको, साथै निज प्रतिवादीहरूले बरामदी रकम गैरकानूनीरूपमा धारण गरेको भन्ने नदेखिएको र प्रतिवादीहरूले श्रमिकको रूपमा काम गरेको पसलको मालिक राजेशकुमार जयसवालले सटही गर्न पठाएको रकम कानूनी प्रक्रिया अनुरूप बैंक वा इजाजत प्राप्त संस्थामा गई सटही गनुपूर्व नै पक्राउ गरिएको देखिँदा प्रतिवादीहरूले मुद्रा निर्मलीकरणको कसूर गरेको मान्न मिलेन । यसबाट प्रतिवादीहरूलाई आरोपित कसूरमा कसूरदार ठहर गरेकोे विशेष अदालतको मिति २०६८।८।२९ को फैसला मिलेको नदेखिँदा उल्टि भई प्रतिवादीहरूले आरोपित कसूरबाट सफाइ पाई बरामदी रकम रू. २८,४०,०००।जफत हुने ठहर गरेको विशेष अदालतको मिति २०६८।८।२९ को फैसला उल्टि हुने ठहर्छ । अब, बरामदी रकम आफ्नो भनी स्वीकार गर्ने व्यक्ति राजेशकुमार जयसवालले बरामद भएको रकम सम्बन्धमा यस अदालतमा गरेको बकपत्रअनुसार थप प्रमाण बुझ्नुपर्ने भए बुझी कानूनबमोजिम ठहर निर्णय गर्नु भनी प्रस्तुत मुद्दाको शुरू मिसिल शुरू विशेष अदालत, काठमाडौंमा पठाई दिने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।  

तपसील

माथि इन्साफ खण्डमा लेखिएबमोजिम प्रतिवादी सुनील जयसवाललाई  रू. १९,२०,०००।जरीवाना र प्रतिवादी श्रवण साहलाई रू. ९,२०,०००।जरीवाना र जनही एक वर्ष कैद हुने ठहर्‍याएको विशेष अदालतको फैसला उल्टि भई प्रतिवादीहरूले आरोपित कसूरबाट सफाइ पाउने ठहर भएकाले प्रतिवादी सुनील जयसवाललाई रू. १९,२०,०००।जरीवाना तथा कैद वर्ष एक एवं प्रतिवादी श्रवण साहलाई रू. ९,२०,०००।जरीवाना तथा कैद वर्ष एक हुने भनी शुरू विशेष अदालतको फैसलाको तपसील खण्ड अब कायम नहुने हुँदा उक्त लगत कट्टा गर्नु भनी सम्बन्धित अदालतमा लेखि पठाउनू –––––––––––––

प्रतिवादीहरू सुनील जयसवाल र श्रवण साहले आरोपित कसूरबाट सफाइ पाउने ठहर भएकाले निज प्रतिवादीहरू सुनील जयसवाल र श्रवण साहलाई अन्य मुद्दाबाट थुनामा राख्नु नपर्ने भएमा प्रस्तुत मुद्दाको रोहबाट आजै थुनाबाट छाडीदिनु भनी छुट्टै आदेश भइसकेको हुँदा यहाँ केही बोलिरहनु परेन –––––––––––

बरामद भएको रकम जफत हुने ठहर गरेको विशेष अदालतको फैसला उल्टि भएकोले बरामदी रकम आफ्नो भनी स्वीकार गर्ने व्यक्ति राजेशकुमार जयसवालले बरामद भएको रकम सम्बन्धमा यस अदालतमा गरेको बकपत्रअनुसार थप प्रमाण बुझ्नुपर्ने भए बुझी कानूनबमोजिम ठहर निर्णय गर्नु भनी प्रस्तुत मुद्दाको शुरू मिसिल शुरू विशेष अदालत, काठमाडौंमा पठाई दिनू  ––––––

प्रस्तुत मुद्दाको दायरीतर्फको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू  ––––––

                                                           

उक्त रायमा सहमत छु ।

न्या.तर्कराज भट्ट

 

इति सम्वत् २०७० साल असार २६ गते रोज ४ शुभम् –––––––––––––––––––––––––

 

इजलास अधिकृत : शिवप्रसाद खनाल   

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु