शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९२५१ - मानव अपहरण धम्की

भाग: ५६ साल: २०७१ महिना: पौस अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय

माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज..रा.

फैसला मिति : २०७१।०७।१०।२

०७०-CR-१३२२

 

मुद्दाः- मानव अपहरण धम्की ।

 

पुनरावेदक/प्रतिवादी : जिल्ला झापा, शनिश्चरे गा.वि.. वडा नं. ८ घर भई हाल कारागार कार्यालय, झापामा थुनामा रहेका झलनाथ न्यौपाने

विरूद्ध

प्रत्यर्थी/वादी : सुजितकुमार अग्रवालको जाहेरीले नेपाल सरकार

 

§  सरकारवादी फौजदारी मुद्दा भनेको वादी नेपाल सरकारको मात्र सरोकार नभई पीडित, पूरा समाज तथा अदालतलगायत मुलुकको न्याय प्रणालीसँग सम्बद्ध रहन्छ । कुनै प्रतिवादीलाई मोलाहिजा गर्ने हिसाबले वादीले अनुसन्धानमा लापरवाही गर्दैमा त्यस्तो प्रत्येक लापरवाहीको सीधा परिणाम प्रतिवादीको सफाइ हुन नसक्ने ।

(प्रकरण नं.)

§  व्यापार व्यवसायमा संलग्न अति व्यस्त स्वभावका जाहेरवालाले आफ्नो व्यापार व्यवसाय छोडी यो यस्तो रिसइबि साध्नका लागि प्रतिवादीका विरूद्ध मनगढन्ते प्रमाण बनाउनुपरेको हो सो कुरालाई प्रतिवादीले स्पष्ट गर्न सकेको नदेखिने ।

§  जाहेरवालाले मोबाइल गर्ने र पाउने एउटा दुइटा होइन अनेकौं नम्बर, सो भएको समय, मिति र अवधि जस्ता यावत् कुरा कृत्रिम निर्माण गरे होलान् भन्ने कुराको अनुमान घटनाक्रम र त्यसको सिलसिलाको स्वाभाविकतालाई विचार गर्दा गर्नै नमिल्ने ।

(प्रकरण नं.)

 

पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान्वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र विद्वान्अधिवक्ता संजीव घिमिरे

प्रत्यर्थी/वादीका तर्फबाट : विद्वान्सहन्यायाधिवक्ता महेश शर्मा पौडेल

अवलम्बित नजिर :

सम्बद्ध कानून :

§  मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ३ र ६  नं.

§  प्रमाण ऐन, २०३१ को दफा १०(), १४, १५ र १६

सुरू फैसला गर्ने :

            मा.जि.न्या. श्री गोपाल भट्टराई

पुनरावेदन तहमा फैसला गर्ने :

            मा.न्या. श्री उदयप्रकाश चापागाईं

            मा.न्या. श्री मोहनरमण भट्टराई

 

फैसला

            न्या. गोविन्दकुमार उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा १२()() बमोजिम दोहोर्याई हेर्ने निस्सा प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम्निर्णय यस प्रकार छ :

            मिति २०६८।१।९ गते बिहानको समयदेखि  मेरो ९८५२६७२४८१ नं. मोबाइलमा ९८१३३९४८४२ नं. मोबाइलबाट डरत्रासमा पारी अपहरण गर्ने तथा ज्यान मार्ने धम्कीसमेत दिई फोन तथा एसएमएसबाट

रू.१० लाख रकम माग गरेको हुँदा निज जुलुमीलाई अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महल तथा प्रचलित कानूनबमोजिम गरी उक्त वारदातमा संलग्न अन्य अभियुक्तहरूको नाम निजबाटै खुलाई कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको सुजितकुमार अग्रवालको जाहेरी दरखास्त ।

            जिल्ला झापा, शनिश्चरे ८ स्थित पूर्व सडक, पश्चिम गणेश कोइरालाको खेत, उत्तर गोविन्द बास्तोलाको घर, दक्षिण दीपक कोइरालाको खेत यति चार किल्लाभित्र वासुदेव न्यौपानेको घर रहेको, सो घरको उत्तरको कोठाबाट झलनाथ न्यौपानेले धम्की दिन प्रयोग गरेको ९८१३३९४८४२ नं. को सिम मोबाइल र चेकबुकसहित झलनाथ न्यौपाने पक्राउ परेको भन्ने बरामदी मुचुल्का ।

            जाहेरवालाको घरमा म पूजा गर्ने काम गर्दथें । निजको घरमा सम्पत्ति छ भन्ने थाहा भएका कारण पैसा कमाउने मनसायले म एक्लैले मेरो आफ्नो नम्बरबाट सुजितकुमार अग्रवाललाई फोन तथा एसएमएस गरी रू.१० लाख रकम मागेको र नदिएमा घरका सदस्यलाई अपहरण गर्ने धम्कीसमेत दिएको हुँ । घटनामा म बाहेक अन्य कोही पनि छैन । एसएमएस गरी चन्दा माग्दा प्रयोग भएको एनसेलको सि.नं. ९८१३३९४८४२ को सिम मेरै हो भन्नेसमेत व्यहोराको झलनाथ न्यौपानेको बयान कागज ।

            जाहेरवाला झापा अनारमनी बस्ने सुजितकुमार अग्रवाल अलैची व्यापारी हुन् । निजलाई मिति २०६८।१।९ गतेदेखि ९८१३३९४८४२ नं. को फोनबाट विभिन्न धाक धम्की दिई डर त्रासमा पारी डिजनी प्लेहाउसमा पढ्ने नाबालक तथा घरको कुनै पनि सदस्यलाई अपहरण गर्ने धम्की दिई रू.१० लाख रूपैयाँ रकम माग गरेको भनी प्रतिवादी पक्राउ पर्नुअगाडि नै मलाई जाहेरवालाले सुनाएका र मेरो सल्लाह अनुसार प्रहरीमा जानकारी गरी प्रतिवादी पक्राउ परेका हुन् । प्रतिवादी झलनाथ न्यौपानेले फोन तथा एसएमएस गरी विभिन्न धाक धम्की दिई रू.१० लाख माग गरेको कल डिटेल्ससमेतबाट पुष्टि भएकाले निज प्रतिवादी झलनाथ न्यौपानेउपर कारवाही होस् भन्नेसमेत व्यहोराको प्रशान्त भण्डारीको कागज ।

            जाहेरवाला सुजितकुमार अग्रवालको उल्लिखित वारदात भएको मिति र समयमा म आफ्नै घर गाउँमा रही पेसा व्यवसाय गरी बसेको थिएँ । पछि नाम थाहा भएका झलनाथ न्यौपानेले आफ्नै मोबाइलबाट फोन तथा एसएमएस गरी विभिन्न धाक धम्की दिई डर त्रासमा पारी रू.१० लाख रकम माग गरेको र पहिला पटक धाक धम्की दिई रकम माग गरेपश्चात सुजितकुमार अग्रवालले मलाई सुनाई के गरौं भनी सल्लाह मागेकाले मैले प्रहरीमा जानकारी गराउनुपर्छ भनी सल्लाह दिएको हुँ । प्रतिवादी झलनाथ न्यौपानेउपर कारवाही होस् भन्नेसमेत व्यहोराको सुवासचन्द्र अग्रवालको कागज ।

            जाहेरवाला सुजितकुमार अग्रवाललाई पछि नाम थाहा भएको झलनाथ न्यौपानेले आफ्नै मोबाइलबाट फोन तथा एसएमएस गरी विभिन्न धाक धम्की दिई डर त्रासमा पारी रू.१० लाख रकम माग गरेको हो धाक धम्की दिई रकम माग गर्नेउपर कारवाही होस् भन्ने मुन्ना शाहको कागज ।

            मिति २०६८।१।९ गते देखि ऐ.१२ गतेसम्म म आफ्नै घरमा काममा थिएँ, जाहेरवाला सुजितकुमार अग्रवाललाई फोन तथा एसएमएस गरी विभिन्न धाक धम्की दिई अपहरणसमेत गर्ने भनी रू.१० लाख रकम

माग गरेको भनी प्रतिवादी पक्राउ गर्नुअगाडि नै थाहा पाएको हुँ र एसएमएससमेत जाहेरवालाको मोबाइलमा हेरेको हुँ । झलनाथ न्यौपाने पछि पक्राउ परेका हुन् अपहरण गर्ने धम्की दिने सिमसमेत निजै प्रतिवादीबाट बरामद भएको हो । प्रतिवादीउपर कारवाही होस् भन्नेसमेत व्यहोराको दोर्जे शेर्पासमेतले लेखाइदिएको वस्तुस्थिति मुचुल्का ।

            जाहेरवाला सुजितकुमार अग्रवालको छोरा सुयोग वंशल यस प्ले हाउसमा अध्ययनरत रहेको भन्नेसमेत व्यहोराको डिजनी प्लेहाउसको पत्र ।

            ०२००००२८६५ एनएस नं. को खाता झलनाथ न्यौपानेको नाममा रहेको भन्नेसमेत व्यहोराको किस्ट बैङ्कको पत्र ।

            मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ६ नं. बमोजिमको कसुरमा प्रतिवादी झलनाथ न्यौपानेलाई ऐ.. को ३ नं. अनुसार हुने सजायको आधारमा ऐ.. को ६ नं. बमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको अभियोग मागदावी ।

            जाहेरी दरखास्त तथा अभियोग दावीको सम्बन्धमा मलाई केही पनि थाहा छैन । युवराज आचार्य मेरो साथी हो । बेलाबेलामा निजले मेरो सिम माग्ने लाने गरी २/४ दिन चलाई पुन: फर्काउने गर्दथ्यो, त्यो सिम र किस्ट बैङ्कमा रहेको ०२००००२८६५ एनएस नं. को खाता मेरै हो, मैले १० लाख दिनु भनी जाहेरवालालाई एसएमएस पठाएको तथा फोन गरेकोसमेत होइन । मोबाइल चेक बुक सबै कोठामा टेबलमा नै हुन्थ्यो, आउने जाने साथी भाइमध्ये कसैले पनि एसएमएससमेत गरेको र खाता नं. पनि थाहा पाएको हुनसक्छ भन्नेसमेत व्यहोराको प्रतिवादी झलनाथ न्यौपानेको सुरू अदालतमा भएको बयान ।

जाहेरवाला सुजितकुमार अग्रवालले एसएमएस आएको २ दिनपछाडि मलाई विभिन्न धाकधम्की दिई मोबाइलबाट रू.१० लाख माग गर्दैछन् भनी सुनाएका र एसएमएस देखाएका हुन् । झलनाथले नै त्यसरी एसएमएस गरे भनेर किटान साथ भन्न सक्तिन भन्नेसमेत व्यहोराको वस्तुस्थितिका मानिस वकीलबहादुर कार्कीले सुरू झापा जिल्ला अदालतसमक्ष गरेको बकपत्र ।

जाहेरवालाको मोबाइलमा धम्की र एसएमएस आएको कुरा जाहेरवालाले भनेपछि उक्त एसएमएस हेरे र फोन पनि सुन्यौं र रेकर्ड पनि गर्यौं । मोबाइलमा आएको भ्वाइस र नम्बर झलनाथकै रहेको भनी सुजितका परिवारले भनेको र प्रहरीको अनुसन्धानबाट पनि मोबाइलको नम्बर झलनाथकै देखिएको भन्नेसमेत व्यहोराको घटना विवरणका मानिस प्रशान्त भण्डारीले अदालतमा गरेको बकपत्र ।

प्रतिवादी झलनाथ न्यौपाने कर्मकाण्ड गर्ने पण्डित हुन् । निज त्यस्तो गलत कार्य गर्ने व्यक्ति होइनन् । कर्मकाण्ड गरेकै भरमा जजमान जतिलाई धम्क्याउँदै हिंड्ने भए उनी धनी भइसक्थे साथै कसुर गरेको भए उनी भाग्ने थिए भन्नेसमेत व्यहोराको प्रतिवादीका साक्षी विष्णुप्रसाद नेपालले अदालतमा गरेको बकपत्र ।

प्रतिवादीले जाहेरवालालाई फोन गर्दाको अवस्थामा म जाहेरवालाको अफिसमा थिएँ । सो फोन हेन्ड फ्रि गरी मैलेसमेत सुनेको हुँ,‌ स्वर चाँही प्रतिवादी झलनाथ न्यौपानेको  थियो । मैले  प्रष्ट चिनेको सुनेको हुँ । फोनमा कुरा हुँदा स्वरसम्म सुनेँ तर के के भने सोकुरा मैले बुझिन । एसएमएस को कुरा मलाई थाहा छैन भन्नेसमेत व्यहोराको वस्तुस्थिति मुचुल्काका मानिस निम दोर्जे शेर्पाले सुरू अदालतमा गरेको बकपत्र ।

प्रतिवादीले फोन गरेको भन्ने कुरासम्म आएको हो । साथीको बढी विश्वास गर्ने हुँदा प्रतिवादीको फोन निजका साथीले गलत प्रयोग गरेका हुन् वा अरू के भएको हो थाहा भएन । प्रतिवादीले त्यसरी धम्की दिई फिरौती माग गरेको कुरामा विश्वास लाग्दैन भन्नेसमेत व्यहोराको प्रतिवादीको साक्षी वासुदेव ढुङ्गानाले सुरू अदालतमा गरेको बकपत्र ।

मलाई मिति २०६८।१।९ गते बिहान १०-११ बजेतिर मैले जाहेरी दरखास्तमा उल्लेख

गरेको मोबाइल नम्बरबाट मेरो मोबाइल नम्बरमा नेपाल भूमिगत पार्टी झापा इकाई भद्रपुरको

हवाला दिएर रू.१० दश लाख रूपैयाँ चन्दा दिनुहोस् नत्र भने तपाईको छोरा डिजनी प्लेहाउसमा रहेछ अपहरण

गर्छौं, कब्जा गर्छौं र पैसा असुल गर्छौं भनी पटकपटक एसएमएसमार्फत प्रतिवादी झलनाथ न्यौपानेले विभिन्न धाक धम्की दिई डर त्रासमा पारी अपहरण गर्ने तथा ज्यानमार्ने धम्की दिई रू.१० लाख चन्दा माग गरेको

हो । जाहेरी दरखास्तमा भएको व्यहोरा र सही छापसमेत मेरो हो भनी जाहेरवाला सुजितकुमार अग्रवालले सुरू जिल्ला अदालतमा गरेको बकपत्र ।

वारदातको अवस्थामा म सोही पसल (अलैची गड्डी) मा नै थिएँ । जाहेरवालालाई फोन गर्दा हामी सबैजना सँगै थियौँ । फोनमा कुरा भएको पनि सुनेको हो । एसएमएस पनि पढेको सुनेको हुँ । मलाई पढ्न आउँदैन फोनमा कुरा हुँदा रू.१० लाख माग गरेको सुनेको हुँ, तपाईको छोरा लान्छु, मारी दिन्छु भन्ने धम्की दिन्थ्यो सो सबै प्रतिवादी झलनाथ न्यौपानेले नै गरेको हो, फोनमा निजको स्वर मैले सुनेको हो भन्नेसमेत व्यहोराको अनुसन्धानको क्रममा बुझिएका मुन्ना साहले सुरू अदालतमा गरेको बकपत्र ।

मेरो घरबाट ३ घर छाडी चौथो निज झलनाथको घर करिब २०० मिटरको फरकमा पर्दछ । मैले निजलाई जन्मिएदेखि नै चिनेको र चार वर्षअघिदेखि सँगै बसेको कारण राम्ररी चिन्दछु । निजको चालचलन असल स्वभावको छ । जाहेरवालाले किन किटानी जाहेरी दिए सो मलाई थाहा छैन । झलनाथको मोबाइल फोन कहीं कसैबाट दुरूपयोग भएको कारणले जाहेरवालालाई प्रतिवादी झलनाथले नै धम्की दिए भन्ने भ्रम परेको हुनसक्छ, यी प्रतिवादीले कुनै अपराध गरेको छैन भन्नेसमेत व्यहोराको प्रतिवादीको साक्षी उमाकान्त भट्टराईले सुरू अदालतमा गरेको बकपत्र ।

जाहेरवालाको मोबाइलमा यिनै प्रतिवादीको मोबाइलबाट धेरै पटक एसएमएस भएको भन्ने व्यहोरा अभियोगपत्र साथ पेस भएको विवरणबाट पनि देखिएको छ । जाहेरवालाले अदालतमा आई बकपत्र गर्दा आफ्नो जाहेरी व्यहोरालाई समर्थन हुने गरी लेखाइदिएको पाइन्छ । अन्य व्यक्तिले आफ्नो मोबाइल प्रयोग गरेको हुन सक्ने भनी कसुरमा इन्कार रही बयान गरे तापनि अन्य व्यक्तिको पहिचान गराउन सकेको देखिँदैन । अतः उपरोक्त आधार प्रमाणबाट प्रतिवादीले अपहरण तथा शरीर बन्धक लिनेको महलको ६ नं. अनुसारको कसुर गरेको देखिँदा निजलाई ऐ.. को ३ नं. अनुसार हुने सजायको आधारमा ऐ को ६ नं. बमोजिम ३ वर्ष ६ महिना कैद र रू. २५,०००।- जरिवाना हुने ठहर्छ भन्नेसमेत व्यहोराको सुरू झापा जिल्ला अदालतबाट मिति २०६८।६।२ मा भएको फैसला ।

अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान मेरो स्वेच्छाको होइन । अदालतमा भएको बयानमा मेरो कोठामा रहेको मोबाइल चेकबुक अरू कसैले प्रयोग गरी मलाई फसाएको यथार्थ व्यहोरा उल्लेख गरेको छु भने प्रहरीले पक्राउ गरेपछि प्रहरीले भनेका आधारमा जाहेरवालाले शङ्का गरी मउपर जाहेरी दिएको अवस्थामा मोबाइल प्रयोग गर्ने व्यक्ति पहिचान गराउन नसक्दैमा सो अपराध प्रतिवादीले नै गरेको हो भनी मान्न नमिल्ने

तथा वादीका साक्षीहरूले अदालतमा आई गरेको बकपत्रबाट पनि वादी दावी प्रमाणित भयो भन्ने अवस्थासमेत नहुँदा सुरू जिल्ला अदालतबाट मलाई सजाय गर्ने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी मेरो पुनरावेदन जिकिरबमोजिम होस् भन्नेसमेत व्यहोराको प्रतिवादी झलनाथ न्यौपानेको पुनरावेदन अदालत, इलाममा पर्न आएको पुनरावेदनपत्र ।

यसमा जाहेरवालाको ९८५२६७२४८१ नं. को सिमसहितको मोबाइल सिलबन्दी गरी प्रमाणको रूपमा पेस गरेको देखिएको छ र प्रतिवादीको ९८१३३९४८४२ नं. को सिमसमेत प्रमाणका लागि अभियोग पत्रसाथ पेस भएको देखिन आयो । संदेशसमेत पठाउने र प्राप्त गर्ने दुबै मोबाइलका पठाएका र प्राप्त भएको व्यहोराहरू खुल्ने रेकर्डहरू भिडाई परीक्षण नगराई सुरू जिल्ला अदालतबाट भएको फैसला प्रमाण मूल्याङ्कनको सन्दर्भबाट विचारणीय भएकाले मुलुकी ऐन, .बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम छलफलका निमित्त उपस्थित हुन श्री पुनरावेदन सरकारी वकिल कार्यालय, इलामलाई सूचना दिई नियमानुसार पेस गर्नु भन्ने मिति २०६९।१।१२ गतेको पुनरावेदन अदालत, इलामको आदेश ।

यी प्रतिवादी झलनाथ न्यौपानेले आरोपित कसुर गरेको ठहराई निजलाई मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको ३ नं. अनुसारको सजायको आधारमा ऐ. को ६ नं. बमोजिम ३ वर्ष ६ महिना कैद र रू.२५,०००।– (पच्चीस हजार) जरिवानासमेत गरेको सुरू झापा जिल्ला अदालतको मिति २०६८।२।२ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन भन्ने मिति २०६९।३।२६ मा पुनरावेदन अदालत, इलामबाट भएको फैसला ।

पुनरावेदन अदालत, इलामले गरेको फैसलामा चित्त बुझेन । जाहेरी साथ पेस भएको एसएमएस फोन रेकर्डलाई धरातलीय आधार मानी अभियोगपत्र दर्ता भएको पाइन्छ । प्रस्तुत मुद्दामा पेस भएको एसएमएस को विश्वसनीयता नै फैसलाको आधार बन्ने कुरामा दुईमत हुन सक्तैन । उक्त जाहेरी साथ पेस भएको एसएमएस मोबाइलबाटै स्केनिङ गरी निकालिएको नभई आफैँ जाहेरवालाले टाइप गरी निकालेको हो भन्ने कुरा उक्त प्रिन्टबाट प्रष्ट देख्न सकिन्छ । उक्त एसएमएसमा कुन मितिमा कुन मोबाइलबाट कुन मोबाइलमा एसएमएस गरेको हो भनी हेर्न देख्न सकिँदैन । पुनरावेदन अदालत, इलामको आदेशानुसार दूरसञ्चार कार्यालयबाट प्राप्त जवाफमा एसएमएसको रेकर्ड प्राप्त हुन नसकेको, मोबाइल परीक्षण गर्दासमेत मोबाइलमा एसएमएस नपाइएकोमा सो कुरालाई वास्तै नगरी गरिएको फैसला त्रुटिपूर्ण छ । बुझ्नुपर्ने प्रमाण नबुझी तथा मेरा प्रमाणले मेरो इन्कारी पुष्टि भइरहेकोमा त्यसलाई वास्तै नगरी घटना नै स्थापित हुन नसकेका विरोधाभासयुक्त प्रमाणका आधारमा गरेको फैसला त्रुटिपूर्ण हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम दोहोर्याई हेरी सुरू र पुनरावेदन अदालतको फैसला बदर गरी झुट्ठा दावीबाट अलग गरी न्याय पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी झलनाथ न्यौपानेको यस अदालतमा परेको निवेदनपत्र ।

यसमा नेपाल टेलिकम, भद्रपुरको च.नं. ६३९ मिति २०६९।३।७ को पत्रसाथ संलग्न नेपाल टेलिकम मोबाइल सेवा निर्देशनालय, पुल्चोकको च.नं. १०४ को पत्र हेर्दा नेपाल टेलिकमको मो.नं. ९८५२६७२४८१ र एनसेलको मोबाइल नं.९८१३३९४८४२ को बीचमा एसएमएस System मा उल्लिखित नम्बरको एसएमएस नभएको र एसएमएस System मा तीन महिनासम्मको मात्र रेकर्ड रहने भएकाले उल्लिखित मितिको रेकर्ड नरहेको जानकारी गराइन्छ भनी जाहेरवाला र प्रतिवादीबीच एसएमएस आदानप्रदान भएको रेकर्ड नदेखिएको अवस्थामा सोसमेतको प्रमाणलाई आधार लिई भएको पुनरावेदन अदालत, इलामको मिति २०६९।३।२६ को फैसलामा अ.बं.१८४क र १८५ नं. तथा प्रमाण ऐन, २०३१ को दफा ३ तथा ५४ को त्रुटि देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा () को खण्ड () बमोजिम दोहोर्याई हेर्ने निस्सा प्रदान गरिदिएको छ भन्ने यस अदालतको मिति २०७०।११।३० को आदेश ।

            नियमबमोजिम साप्ताहिक तथा दैनिक पेसीसूचीमा चढी पेस हुन आएको प्रस्तुत

मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान्वरिष्ठ अधिवक्ता श्री बालकृष्ण न्यौपाने र विद्वान्अधिवक्ता श्री संजीव घिमिरेले हाम्रो पक्षले आफ्नो मोबाइलबाट जाहेरवालाको मोबाइलमा धम्कीपूर्ण एसएमएस  पठाएको भन्ने कुरा पुष्टि हुन सकेको छैन । जाहेरवालाले जाहेरी दरखास्त साथ पेस गरेको एसएमएसको प्रिन्ट भनिएको कागजमा कुन मोबाइल नं. बाट कुन मोबाइल नं. मा एसएमएस गरिएको भन्ने कुरा खुल्दैन, उक्त कागज निज जाहेरवालाले आफैंले टाइप गराई झुट्ठा खडा गरेको भन्ने कुरा स्पष्ट छ । प्रस्तुत मुद्दाको उठान धम्कीपूर्ण एसएमएस पठाएको भन्ने कुराबाट भएको तर उक्त एसएमएसको प्रमाणीकरण नभएको अवस्थामा कसुरदार ठहर गरी सजाय गरेको सुरू जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, इलामको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी पुनरावेदकलाई सफाइ दिलाइ पाउँ भनी र प्रत्यर्थी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान्सहन्यायाधिवक्ता श्री महेश शर्मा पौडेलले यी प्रतिवादीले आफ्नो नामको खाता नं. समेत उल्लेख गरी रकम माग गरी धम्कीपूर्ण एसएमएस गरेको भन्ने कुरामा अनुसन्धानको क्रममा साबित भई बयान गरेका, उक्त खाता नं. निजकै नामको रहेको कुरामा विवाद नभएको समेतका प्रमाणका आधारमा पुनरावेदन अदालत, इलामले गरेको फैसला मनासिब हुँदा सदर गरिपाउँ भनी गर्नुभएको बहस सुनी पुनरावेदनसहितको मिसिलको अध्ययन गरियो ।

अब पुनरावेदन अदालत, इलामले गरेको फैसला मिले नमिलेको र पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन भन्ने विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।

            . निर्णयतर्फ विचार गर्दा यी पुनरावेदक प्रतिवादीले गरेको मौकाको बयानमा निज आरोपित कसुरमा साबित छन् । यी प्रतिवादीले अदालतमा बयान गर्दासमेत ९८१३३९४८४२ नं. को सिमको मोबाइल आफ्नो भएको कुरालाई स्वीकार गरेको सिर्फ त्यसबाट जाहेरी जिकिरबमोजिमको एसएमएसहरू आफूले जाहेरवालालाई नगरेको तर आफ्नो कोठामा रहने उक्त मोबाइल सिम कोठामा आउने साथीभाइहरूले प्रयोग गरेको हुन सक्ने भनी एसएमएसको लागि आफ्नो मोबाइलको प्रयोग भएको हुन सक्ने तर सो कार्यमा आफ्नो संलग्नतामा सम्म इन्कार देखिन्छन् । पुनरावेदक प्रतिवादीले मौकामा गरेको बयानमा आफूले विभिन्न समय र ठाउँबाट उक्त सिमबाट एसएमएस गरेको भनी सिमको सनाखतसमेत गरिदिएको देखिन्छ । यस्तो अवस्थामा ती बयानहरूलाई अविश्वसनीय तथा शङ्कास्पद सिद्ध गर्ने दायित्वलाई प्रतिवादीले पूरा गर्नुपर्छ । सो दायित्वलाई यी प्रतिवादीले पूरा गरे गरेनन् भन्नेतर्फ हेर्दा एसएमएस System मा तीन महिनासम्मको मात्र रेकर्ड रहने भएको कारणबाट उल्लिखित मिति २०६८।१।९ देखिको उल्लिखित एसएमएसको रेकर्ड उपलब्ध हुन नसकेको कारणले आफू निर्दोष रहेको भन्नुबाहेक पुनरावेदकले अरू कुनै जिकिर लिन सकेको देखिँदैन । प्राविधिक कारणले समयावधि गुज्रेपछि रेकर्ड हराउनु, नासिनु, समाप्त हुनु अथवा रेकर्ड नै निर्माण नहुनु यस्ता प्राविधिक वस्तुका विशेषता नै हुन्छन् । यी समस्याहरू हिजो पनि हुन्थे, आज पनि हुन्छन् र भोलि पनि रहनेछन् ।

तर तिनमा तथा एसएमएस नै नभएको कारणले रेकर्ड बन्न नसक्नु यी दुबैमा जमिन आकाशको फरक छ । पहिलो अवस्थामा रेकर्ड बन्नै नसक्ने अवस्था रहेको वा एसएमएस भएको तर प्राविधिक कारणले म्याद समाप्त भएपछि रेकर्डबाट हटेको अवस्था रहन्छ भने दोस्रो अवस्थामा रेकर्डको स्रोतकै सिर्जना नै नभएको स्थिति रहन्छ ।

            . निश्चितरूपमा मौकाको अनुसन्धानमा नै अनुसन्धानकर्ताले एसएमएसका सम्बन्धमा सम्बन्धित आधिकारिक निकाय अर्थात नेपाल टेलिकमसमेतसँग सम्पर्क गरी उल्लिखित एसएमएसहरू प्रतिवादीको मोबाइलबाट जाहेरवालाको मोबाइलमा पठाइएको हो होइन र जाहेरवालाले पनि जवाफमा एसएमएस पठाएको हो होइन भन्ने कुरा बुझ्न र एकिन गरेर मुद्दा दायर गर्नुपर्नेमा सो नगरी अनुसन्धानमा लापरवाही गरेकोमा विवाद छैन । तर सरकारवादी फौजदारी मुद्दा भनेको वादी नेपाल सरकारको मात्र सरोकार नभई पीडित, पूरा समाज तथा अदालतलगायत मुलुकको न्याय प्रणालीसँग सम्बद्ध रहन्छ । कुनै प्रतिवादीलाई मोलाहिजा गर्ने हिसाबले वादीले अनुसन्धानमा लापरवाही गर्दैमा त्यस्तो प्रत्येक लापरवाहीको सीधा परिणाम प्रतिवादीको सफाइ हुन सक्तैन । यो कुरालाई भारतको सर्वोच्च अदालतले जाहिरा हबिबुल्ला एच शेख र अरूहरू २००४ को मुद्दामा This court has often emphasized that in a criminal case the fate of the proceedings cannot always be left entirely in the hands of the parties, crimes being public wrongs in breach and violation of public rights and duties, which affect the whole community … and it is the community that acts through the state and prosecuting agencies … It will not be correct to say that it is only the accused who must be fairly dealt with…

            . As pithily stated in Jennison vs Backer 1972… “The law should not be seen to sit limply, while those who defy it go free and those who seek its protection lose hope” भनी उल्लेख गरेको देखिन्छ भने नेपालमा पनि सुन्तली धामीलगायतको मुद्दामा यस अदालतले

फौजदारी अपराध मुद्दाका पक्ष अर्थात् वादी नेपाल सरकार र प्रतिवादीहरू मात्रको इच्छा र दयामा निर्भर नरहने कुरालाई व्यक्त गरिसकेको देखिन्छ । तथापि यस मुद्दामा वादीले प्रतिवादीलाई मोलाहिजा गरी लापरवाही गरेको भन्न मिल्ने अवस्था छैन । वादीबाट भएको यो लापरवाही निजको अज्ञानता वा असक्षमताको कारणले हुन गएको देखिन्छ । यस लापरवाहीका बावजुद प्रतिवादीको मौका र अदालतको बयान प्रतिवादीका विरूद्धमा सशक्तरूपमा देखिन्छन ।

            . सो बाहेक अनुसन्धानको क्रममा जिल्ला सरकारी वकिल कार्यालय, भद्रपुरले दिएको निर्देशनको प्रकरण ४ मा एसएमएस फोन रेकर्ड सुरक्षित राख्ने र सोको सीडी वा पेनड्राइभमा कपि गर्ने र सोपछि प्रमाण पेस गर्ने भनी उल्लेख गरेको र २०६८।२।४ मा जाहेरवाला सुजितकुमार अग्रवालले इलाका प्रहरी कार्यालय, अनारमनीले एसएमएससहितको मोबाइल पेस गर्नका लागि आदेश गरेबमोजिम निजको ९८५२६७२४८१ नं. को मोबाइलमा ९८१३३९४८४२ नं. को मोबाइलबाट पठाएको एसएमएससहितको मोबाइल दाखिला गरेको छु भनी पेस गरेको मोबाइलको अभिलेखबाट प्रतिवादीकै मोबाइलबाट अभियोगदावी अनुरूपको एसएमएस आएको भन्ने कुराको सत्यताको निरूपण verification समेत भैसकेको देखिन्छ । उक्त प्रमाण भनेको लरोतरो प्रमाण नभई प्रमाण ऐन, २०३१ को दफा १४, १५ र १६ अनुसार तथा जाहेरवालाले जाहेरी सहित पेस गरेको अभिलेख र निजले गरेको बयान उक्त ऐनको दफा १०() बमोजिम प्रतिवादीका विरूद्धमा प्रमाण लाग्ने देखिन्छ । त्यस अतिरिक्त यी प्रतिवादीले रकम जम्मा गर्नु भनी दिएको खाता नं. ०२००००२८६५ एनएस पनि यी प्रतिवादीकै रहेकोमा पनि विवाद छैन ।

            . पुनरावेदकतर्फका विद्वान्वरिष्ठ अधिवक्ताले जाहेरवालाले आफैँ हुँदै नभएको एसएमएसको व्यहोरा टाइप गरी झुट्ठा जाहेरी दिएको भनी बहसको क्रममा उल्लेख गर्नुभएको हकमा व्यापार व्यवसायमा संलग्न अति व्यस्त स्वभावका जाहेरवालाले आफ्नो व्यापार व्यवसाय छोडी यो यस्तो रिसइबि साध्नका लागि प्रतिवादीका विरूद्ध मनगढन्ते प्रमाण बनाउनुपरेको हो सो कुरालाई प्रतिवादीले स्पष्ट गर्न सकेको देखिँदैन । जाहेरवालाले मोबाइल गर्ने र पाउने एउटा दुइटा होइन अनेकौं नम्बर, सो भएको समय, मिति र अवधि जस्ता यावत् कुरा कृत्रिम निर्माण गरे होलान् भन्ने कुराको अनुमान घटनाक्रम र त्यसको सिलसिलाको स्वाभाविकतालाई विचार गर्दा गर्नै मिल्दैन । ती सब विवरण प्रहरी कार्यालयको आदेशानुसार पेस भएको छ । एसएमएस आएको कुरा जाहेरवालाले आफूहरूलाई भनेको, सल्लाह मागेको र आफूहरूले सल्लाह दिएको भनी वस्तुस्थितिका व्यक्तिहरूले मौकामा र अदालतमा बकपत्रसमेत गरिदिएको देखिन्छ । यसमा जाहेरवालाबाट सो टाइप विवरण नआएको भए पनि प्रतिवादीको बयान, वादीका साक्षीहरूको बकपत्र, प्रतिवादीको बैङ्क खाता नं. आदि प्रमाण दरिला प्रमाणका रूपमा रहेका र ती प्रमाणहरूबाट जाहेरवालाले पेस गरेको मौकाको एसएमएस विवरण निर्विवाद तवरबाट प्रमाणित भएको कुरामा शङ्का गर्ने ठाउँ देखिँदैन । पहिले आफैँ यावत कुरा बुझी त्यसको प्रिन्टसमेत निकाली कसैका विरूद्ध झुट्ठा मुद्दा नचलोस् भन्ने कुरामा विश्वस्त भई जाहेरी दिने जाहेरवाला जस्ता चेतनशील नागरिक धन्यवादका पात्र हुनुहुन्छ । जाहेरवालाको यो कुशलताले अदालतलाई र अनुसन्धानकर्तालाई फौजदारी न्यायको सम्बन्धमा ठूलो मद्दत भएको देखिन्छ । अतः माथि उल्लिखित आधार प्रमाणबाट यी पुनरावेदक प्रतिवादी झलनाथ न्यौपानेले आरोपित कसुर गरेको कुरा पुष्टि हुन आएकाले निजलाई मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ६ नं. को कसुरमा ऐ.को ३ नं. को सजायको आधारमा ऐ. को ६ नं. बमोजिम ३ वर्ष ६ महिना कैद र रू. २५,०००।- जरिवानासमेत हुने ठहर्याएको झापा जिल्ला अदालतको मिति २०६८।६।२ को फैसला सदर गरेको पुनरावेदन अदालत, इलामको मिति २०६९।३।२६ को फैसला मनासिब देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी फैसलाको जनाउ पुनरावेदक प्रतिवादीलाई दिई नियमानुसार मिसिल बुझाइदिनू ।           

 

उक्त रायमा सहमत छु ।

न्या. चोलेन्द्र शमशेर ज..रा.

 

इति संवत्२०७१ साल कात्तिक १० गते रोज २ शुभम् ।

इजलास अधिकृत : सन्तोषप्रसाद पराजुली

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु