निर्णय नं. ८१४१ - निर्णय दर्ता बदर हक कायम

निर्णय नं.८१४१ भदौ, २०६६ अङ्क ५
सर्वोच्च अदालत, पूर्ण इजलास
माननीय न्यायाधीश श्री खिलराज रेग्मी
माननीय न्यायाधीश श्री तपबहादुर मगर
माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह
संवत् २०५६ सालको दे.पु.ई.नं........ ३५
फैसला मितिः २०६६।३।२५।५
मुद्दाः– निर्णय दर्ता बदर हक कायम ।
पुनरावेदक/प्रतिवादीः जीतबहादुर ताम्राकारको मुद्दा सकार गर्ने ल.पु.जि.ल.पु.उ.म.न.पा.वडा नं. १९ बस्ने कान्छी ताम्राकार समेत
विरुद्ध
प्रत्यर्थी वादीः पूर्णकृष्ण ताम्राकारको मुद्दा सकार गर्ने ल.पु.जि.ल.पु.उ.म.न.पा.वडा नं. १९ बस्ने रामलाल ताम्राकार समेत
शुरु फैसला गर्नेः
जि.न्या.श्री लोकेन्द्र मल्लिक
पुनरावेदन फैसला गर्नेः
मा.मु.न्या.श्री मीनबहादुर रायमाझी
मा.न्या.श्री कोमलनाथ शर्मा
सर्वोच्च अदालत :–
मा.न्या.श्री रामप्रसाद श्रेष्ठ
मा.न्या.श्री अर्जुनप्रसाद सिंह
§ लगाउमा रहेको मुद्दाबाट एउटै साविक लगत र मोठ श्रेस्ता भित्रको जग्गा सगोलको हो भनी निजका हकदारसमेतले हक कायम गराई लिएको अवस्थामा सोही साविक लगत र मोठ श्रेस्ता भित्रको विवादित जग्गामा हक नलाग्ने भन्न नमिल्ने ।
(प्रकरण नं.७)
§ सबैको अंशहक निहित रहेको अवण्डा गोश्वाराको साविक लगत भित्रको विवादित जग्गा अंशियारको मञ्जूरी विना कुनै एक अंशियारले आफ्नो हक लाग्ने भन्दा बढी हक छाडेको भरमा हक नछोड्ने अन्य अंशियारहरूको समेत हक जान्छ भन्ने अर्थ गर्न नमिल्ने ।
§ एकासगोलमा रहेको अवण्डाको जग्गा अंशियार भन्दा वाहिरको उनाउ व्यक्तिले अनधिकृत र दूषित रुपमा निर्णय दर्ता गराएको अवस्थामा हक पुग्नेले मुलुकी ऐन, जग्गा पजनीको १७ र जग्गा मिच्नेको १८ नं. को कानूनी आधारमा फिराद गर्न सक्ने ।
(प्रकरण नं.८)
प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ताहरू श्री शम्भु थापा, श्री शिवराज अधिकारी, श्री भोजेन्द्रबहादुर खत्री र श्री मोतिराज गौतम
प्रत्यर्थी वादीहरूका तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र विद्वान अधिवक्ता श्री कृष्णप्रसाद सापकोटा
अवलम्वित नजीरः
सम्बद्ध कानूनः
§ मुलुकी ऐन, जग्गा पजनीको १७ र जग्गा मिच्नेको १८
§ अंशवण्डाको ३५ नं.
आदेश
न्या.खिलराज रेग्मीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत पुनरावेदन अदालत पाटनको मिति २०५६।३।७ को फैसला उपर प्रतिवादी जीतबहादुर ताम्राकारको तर्फबाट पुनरावेदन परी यस अदालत संयुक्त इजलाससमक्ष पेश हुँदा मत्यैक्यता हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम पूर्ण इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :–
हामीहरूको जिजुबाजे देवराजको छोरा हाम्रो बाजे भाजुराज मात्र हुनुहुन्थ्यो । बाजे भाजुराजको ३ छोरामा जेठा स्व.चीनियामान, माहिला स्व.सत्यलाल र कान्छा स्व.तुइसिंह भएकोमा तुइसिंहको निःसन्तान अवस्थामै परलोक भएबाट दुईजना मात्र कायम रहन गएकोमा पैत्रिक सम्पत्ति चीनियामानको नाममा दर्ता रहेको थियो । चीनियामानको चार छोराहरूमा जेठा केशव ताम्राकारको अघि नै मृत्यु भै माहिला माधवलाल, साहिला म पूर्णकृष्ण र कान्छा म बसन्तकृष्ण समेत ३ जना मात्र भएकोमा माधवलालको पनि २०३९ सालमा मृत्यु भएको निजको एकमात्र छोरा प्रतिवादी मध्येको गोपालकृष्ण रहेका छन् । चीनियामानका भाई सत्यलाल तर्फको हकदारमा म साइला ताम्राकार तथा छेपलाल ताम्राकार छौं । चीनियामानको शेषपछि निजको नाउँ दर्तामा रहेका सगोलका जग्गाहरू घरको मुख्य मानिस माधवलालको नाममा नामसारी दर्ता भएको थियो । सम्पूर्ण जग्गाहरू एकै लगतमा दर्ता भै सगोलमा भोगचलन गरी आएकोमा सुरुमा चीनियामान र पछि माधवलालको नाममा नामसारी दर्ता भएको अवण्डाको सम्पूर्ण जग्गा जमीनहरू आधा आधा गरी २ भाग लगाई दुई भागमा एक भाग हामी चीनियामान तर्फका हकदारको हक लाग्ने र आधामा सत्यलाल तर्फका हकवालाहरूको हक लाग्ने अर्थात् सम्पूर्ण सम्पत्तिको ६ भागमा एक भाग विपक्षी मध्येका गोपालकृष्णको र बाँकी ५ भागमा २ भाग हामी पूर्णकृष्ण तथा बसन्तकृष्णको र ३ भाग हामी साइला र छेपलालको हक लाग्ने हो ।
चीनियामानको नाममा दर्ता भएको सा.पा. मंगल ६५६ को विभिन्न खला जग्गाहरूमध्ये वोंगाखुशी ३३।। मध्ये ।। जग्गा मिति २०१२।१२।१ मा दिने चीनिया तमोट पाउने हरिबहादुर भएको रु २००१।– को पारित फार्छेले हरिबहादुरको नाममा हक हस्तान्तरण भै उक्त ६५६ नं. को लगतमा बाँकी रहेको क्षे.फ. २।।३।।ऽ समेतका विभिन्न खला जग्गाहरू नामसारी गर्न छुट भएकोले २०२२ सालमा म छेपलालले चीनियामानकै नाममा रै.प.गराएको र सोही जग्गाहरू नै मिति २०२३।९।३ मा माधवलालका नाउँमा नामसारी भए पनि सगोलमा नै भोगचलन भै मोहीवाट आयस्ता वाली लिंदै आएकोमा नापीको समयमा सवै अंशीयारहरू उपस्थित हुन नसकी जो जसको नाममा नापी भएपनि जग्गाधनी प्रमाणपूर्जा लिन बाँकी भएकोले नामसारी दा.खा. गर्ने कुरा चल्दै थियो । विपक्षी मध्येको गोपालकृष्णले त्यस विषयमा वास्ता नगरेको र बुझ्दै जाँदा गोपालकृष्णले जीतबहादुरलाई र जीतबहादुरले रोशन थापालाई सो जग्गाको स्वामित्व हस्तान्तरण गरेको भन्ने हल्ला भएकोले सम्बन्धित निकायमा गै नक्कल सारी लिए पछि वास्तविकता थाहा भयो । विपक्षी मध्येका जीतबहादुरले दिएको जग्गा दर्ताको निवेदनमा विपक्षी गोपालकृष्ण समेतले आफ्नो भागमा पर्न आउने भन्दा बढी जग्गाको हक छाडी मिति २०५०।८।२० को निर्णयले जीतबहादुरको नाममा दर्ता भै जग्गाधनी प्रमाणपूर्जा लगेको भन्ने थाहा भएकोले हामीहरूको निर्विवाद हक भोगको जग्गामा गोपालकृष्णको ६ भागको एक भाग मात्र हक हुनेमा सबै जीतबहादुरलाई दिन नपाउने स्पष्ट छ । यसरी मिति २०५०।८।२० मा भएको निर्णय दर्ताको कार्य दूषितपूर्ण भै हकदैयाविहिन व्यक्तिको नाममा दर्ता हुन गएको हुँदा कि.नं. १२९ को निर्णय तथा सोको आधारमा विपक्षी जीतबहादुरको नाममा भएको दर्ता समेत बदर गरी हाम्रो हक कायम गरिपाऊँ भन्ने व्यहोराको फिराद पत्र ।
वादीहरूका बाबु तथा ठूला बाबु समेतले हामी प्रतिवादीहरूका बाबु हरीबहादुर तथा म जीतबहादुरलाई गरिदिएको विभिन्न मितिका लिखतले उक्त विवादित सा.पा. मंगल ६५६ नं.का लगतमा दर्ता भएको विभिन्न खला जग्गाहरू मध्ये वोंगाखुशी २।। जग्गामा रहेको हरीबहादुरको हक हामी प्रतिवादीहरू मध्येका कृष्णबहादुर र कर्णबहादुरले छाडी दिएको तथा मोही समेतले दर्ताको लागि मञ्जूरी बयान दिएबाट उक्त जग्गा म जीतबहादुरको नाममा दर्ता हुन आएको हो । सोही आधारमा २०५०।८।२० मा म जीतबहादुरको नाममा दर्ता हुने गरी भएको निर्णय कानूनी रीतपूर्वकको हुँदा उक्त निर्णय दूषित एवं बदर भै विपक्षीको नाममा हक कायम हुनुपर्ने होइन । वादीहरूले अ.वं. ८२ नं. ले हकदैया नै नभएको विषयउपर विवाद उठाई दिएको झुठ्ठा फिराद दावीबाट अलग फुर्सद पाऊँ भन्ने व्यहोराको प्रतिवादीहरू जीतबहादुर ताम्राकार, कर्णबहादुर ताम्राकार, कृष्णबहादुर ताम्राकारको संयुक्त प्रतिउत्तर पत्र ।
ललितपुर सैंवु गा.वि.स.वडा नं. ३(क) कि.नं.१२९ को २–१०–० जग्गा वादीहरूको र मेरो हक लाग्ने जग्गा होइन । प्रतिवादी जीतबहादुर ताम्राकारकै हक भोगको जग्गा हो । निजको जग्गा मेरो बाबुको लगतमा पर्न गएकोले मैले हक छाडी दिएको हुँ । नापी मेरो नाममा भएको पनि होइन । पहिला मैले पनि दावी गरी निवेदन दिएकोमा बुझ्दै जांदा निज जितबहादुरकै मात्र हक भोगको जग्गा देखिएकोले सो निवेदनको सन्दर्भमा दावी छाडेको हो । हक पुग्नेले गरेको दर्ता बदर हुनु पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी गोपालकृष्ण ताम्राकारको प्रतिउत्तर पत्र ।
सम्पूर्ण प्रतिउत्तर जिकीर छाडी बादी दावीबमोजिम हुने गरी बादी र प्रतिवादी मध्येको गोपालकृष्ण बीच मिति २०५१।१०।६ मा मिलापत्र भएको रहेछ ।
विवादित जग्गा अवण्डाको हो भन्ने प्रमाण वादी पक्षबाट पेश हुन नसकेको र विवादित जग्गाको हक छाडी प्रतिवादी गोपालकृष्णले कागज गरेको देखिन्छ । विवादित जग्गामा यी वादीहरूको हालसम्म हक भोग कायम रहेको कुनै पनि निश्चित प्रमाण पेश हुन आएको नदेखिंदा वादी दावी प्रमाणित गर्ने निश्चित प्रमाणको अभावमा वादी दावी पुग्ने ठहर्दैन भन्ने ललितपुर जिल्ला अदालतको मिति २०५२।२।१० को फैसला ।
विपक्षीहरूले फार्छे कागजबाट प्राप्त गरेको ०–८–० जग्गाको पहिला नै लगत कट्टा भै अलग भएबाट विवादित जग्गा हाम्रो मात्र एकलौटी हो भन्ने कुरामा विवाद छैन । जग्गा दर्ता गर्दा विपक्षीहरूले पाएको जग्गाको लगत नम्बर नभिडाएकोबाट प्रष्ट हुन्छ । कानून र तथ्य विपरीतको आधारलाई ग्रहण गरी ललितपुर जिल्ला अदालतबाट भएको फैसला बदर गरी विवादित जग्गामा हक समेत कायम गरिपाऊँ भन्ने समेत व्यहोराको वादीहरूको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र ।
साविक लगत नं. ६५६ को जग्गासंग कि.नं. १२९ को जग्गा भिडिरहेको अवस्था र वादीको हक हुने गरी प्रतिवादी मध्येको गोपालकृष्ण ताम्राकारले गरेको मिलापत्रको परिप्रेक्ष्यमा वादी दावी नपुग्ने ठहराएको शुरुको इन्साफ फरक पर्न सक्ने हुँदा अ.वं. २०२ नं. बमोजिम प्रत्यर्थीलाई झिकाउनु भन्ने पुनरावेदन अदालत पाटनको आदेश ।
दावीको २–१०–० जग्गामध्ये २ भाग गरी त्यसबाट १ भागको ३ भागको १ भागसम्म गोपालकृष्णको मञ्जूरीबाट दर्ता हुने भए पनि सो बाहेकका बढी जग्गामा भएको मिति २०५०।८।२० को निर्णय बमोजिम प्रतिवादी जीतबहादुरको नाममा भएको दर्ता पुनरावेदकको भागसम्म बदर भै हक कायम हुनु पर्नेमा दावी नै पुग्न नसक्ने गरी भएको ललितपुर जिल्ला अदालतको फैसला पुनरावेदकहरूको भाग हिस्सा जतिको हकसम्म केही उल्टी भै पुनरावेदकहरूको अंश भागको हिसावले दावीबमोजिम हक कायम हुने ठहर्छ भन्ने पुनरावेदन अदालत पाटनको मिति २०५६।३।७ को फैसला ।
विवादित ललितपुर सैंबु ३(क) कि.नं.१२९ क्षेत्रफल २–१०–० को जग्गा वादीहरू स्वयंले तिरो तिरान भोगचलन गरेको भन्ने दावी लिए तापनि सो कुरा प्रमाणित हुन सकेको छैन । नापीमा सो जग्गा वादीहरूले आफ्नो नाममा नापजाँच गराउन सकेको छैन । सो जग्गाको मोहीले निजहरूलाई जग्गाधनी मानी बाली बुझाएको प्रमाण वादीले पेश गर्न सकेको छैन । नापीको वखत नै विपक्षीहरूले उक्त जग्गा भोगचलन नगरेको भन्ने देखिएको छ । यतिका समयपछि वादी दावीबमोजिम विवादीत जग्गा हक हस्तान्तरण भै तहतह तेश्रो चौथो तहसम्म पुगे पश्चात् दावी गर्दैमा हक कायम हुन सक्दैन । पारित लिखतबाट हक भै नापीका वखत नापजाँच भै कायमी दर्ता श्रेस्ता नै जग्गाको लागि मुलभूत खम्बीर अकाट्य प्रमाण भएकोले प्रतिवादी मध्येका जीतबहादुर ताम्राकारका नाममा कायम भएको दर्ता श्रेस्ता बदर हुन सक्दैन । अड्डावाट पारित भएको लिखतलाई स्वतः प्रमाणमा लिनु पर्नेमा प्रमाणमा नलिई गरिएको पुनरावेदन अदालत पाटनको फैसला प्रमाण ऐन, २०३१ को दफा ३, ४ र ५४, मुलुकी ऐन अ.वं. १८४क र १८५ समेतको प्रतिकूल भएकोले सो फैसला बदर गरी ललितपुर जिल्ला अदालतको फैसला सदर गरिपाऊँ भन्ने समेत प्रतिवादी जीतबहादुर ताम्राकारको मुद्दा सकार गर्ने कान्छी ताम्राकार र पूर्णबहादुर ताम्राकारको यस अदालतमा परेको पुनरावेदन पत्र ।
यसै लगाउको दे.पु.नं. ५३७१ को लिखत दर्ता बदर मुद्दामा विपक्षी झिकाउने आदेश भएकोले प्रस्तुत मुद्दामा सोही आधारमा पुनरावेदन अदालत पाटनको इन्साफ फरक पर्ने देखिंदा अ.वं.२०२ नं.बमोजिम छलफलको निमित्त प्रत्यर्थीलाई झिकाउनु भन्ने यस अदालत संयुक्त इजलासको मिति २०६०।११।४ को आदेश ।
विवादको कि.नं.१२९ को ज.रो. २–१०–० मध्ये छोडपत्र र फार्छेपत्रको लिखतबाट हक हस्तान्तरण भएको ज.रो. १–८–० जग्गा कट्टा गरी बाँकी रहेको १–२–० जग्गामध्ये वादीहरूको हक पुग्ने जति ०–१५–० जग्गाको जीतबहादुर ताम्राकारको नाममा दर्ता गर्ने गरी भएको निर्णय र सो निर्णयका आधारमा भएको दर्ता समेत बदर गरी वादीको हक कायम हुने ठहर गर्नु पर्नेमा कि.नं. १२९ को पूरै जग्गाबाट वादीहरूको भागसम्म बदर गरी बादीहरूको अंश भागको हिसावले हक कायम हुने ठहर गरेको पुनरावेदन अदालत पाटनको फैसला केही उल्टी भै पुनरावेदक प्रतिवादी जीतबहादुर ताम्राकारको नाममा दर्ता भएको कि.नं. १२९ को २–१०–० जग्गाबाट जीतबहादुर र हरीबहादुरले हक हस्तान्तरण गरी लिएको १–८–० जग्गा कटाई बाँकी हुन आउने ज.रो. १–२–० मध्येबाट वादीहरूको भागमा पर्ने दुई भाग मध्ये सत्यलालका हकदारको एक भाग पूरै अर्थात् ०–९–० र चीनियामानका हकदारको बाँकी एक भागमा गोपालकृष्णले हक छाडेकोले तीन भागको दुई भाग अर्थात् ०–६–० गरी जम्मा ०–१५–० जग्गासम्मको प्रतिवादी जीतबहादुर ताम्राकारको नाममा दर्ता गर्ने गरी भएको मालपोत कार्यालय ललितपुरको मिति २०५०।८।२० को निर्णय तथा सोका आधारमा भएको दर्ता समेत बदर भै वादीहरूको अंश भागको हिसावले हक कायम हुने ठहर्छ । पुनरावेदन अदालतको फैसला उल्टी गरी वादी दावी पुग्न नसक्ने ठहर गरेको शुरु ललितपुर जिल्ला अदालतको फैसला सदर गरेको माननीय न्यायाधीश श्री अर्जुनप्रसाद सिंहको रायसंग सहमत नभएकोले सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम पूर्ण इजलास समक्ष पेश गर्नु भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठको राय ।
चीनियामान र सीलालको बीचमा २०१२।७।२४ मा भएको दर्ता खारेजमा कुनै उजूर परेको देखिंदैन । सीलालको नाम दर्ता लगतको जग्गाका सम्बन्धमा वादीहरूलाई उजूर दावी गर्ने हकाधिकार हुँदैन । चीनियामान र सीलालले साविक बोंगाखुशी लगत मध्येबाट हरिबहादुर र जीतबहादुरलाई फार्छेपत्र, तथा छोडपत्र गरिदिएको जग्गा नै कि.नं. १२९ मा संयुक्त नापी भएकोमा विवाद छैन । चीनियामानले पारित गरिदिएको लिखतमा भिन्न भएका भाई सत्यलाल र भतिजा साहिला तमोट उल्लेख गरेको देखिएबाट निजहरूलाई सगोलको अंशीयार मान्न मिल्ने देखिएन । वोंगाखुशी जग्गालाई छेपलालले नै चीनियामान र माधवलालको नाममा दर्ता नामसारी गराएको देखिन्छ । सर्भे नापीमा संयुक्त नापी भएकोमा माधवलालको छोरा गोपालकृष्ण र हरिबहादुरको छोराहरू कृष्णबहादुर एवं कर्णबहादुरले आफ्नो हकदावी छाडी जीतबहादुरको नाममा दर्ता भएको छ । अवण्डाको प्रमाण सहित कोर्ट फी राखी दावी गरेको देखिएको छैन । बण्डा गरिपाऊँ भन्ने दावी नै नरहेको अवस्थामा शुरुको निर्णय केही उल्टी गरी जीतबहादुरका नाउँमा दर्ता गरिएको निर्णय र दर्ता वादीहरूको भागसम्म बदर गरी अंश भागको हिसावले हक कायम हुने ठहराएको पुनरावेदन अदालत पाटनको फैसला उल्टी भै वादी दावी नपुग्ने ठहराएको शुरु ललितपुर जिल्ला अदालतको फैसला सदर हुने ठहर्छ । माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठको रायसंग मतैक्य हुन नसकेकोले सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री अर्जुनप्रसाद सिंहको राय भएको यस अदालत संयुक्त इजलासवाट भएको मिति २०६२।९।१७ को रायबाझी फैसला ।
यसमा मेलमिलापको लागि दुई महिनाको अवधि तोकी प्रस्तुत र लगाउका मुद्दाहरू सर्वोच्च अदालत मेलमिलाप केन्द्रमा पठाउने भनी यस अदालतबाट मिति २०६४।१०।२४ मा आदेश भएकोमा मेलमिलाप हुन नसकेको भन्ने मिति २०६५।२।८ को पत्र साथ मिसिल फिर्ता आएको ।
नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फबाट रहनु भएका विद्वान अधिवक्ताहरू श्री शम्भु थापा, श्री शिवराज अधिकारी, श्री भोजेन्द्रबहादुर खत्री र श्री मोतिराज गौतमले विवादित कि.नं. १२९ को जग्गा साविक ल.नं. ६५६ मध्येको बोंगाखुशी खलाको जग्गा हो भन्नेमा विवाद छैन । सोही बोंगाखुशी जग्गा नै चीनियामान र सीलालबाट छोडपत्र र फार्छेपत्र लिखत पारित गराई हरिबहादुर र जीतबहादुरले लिएको हो । उक्त लिखतमा भिन्न भएका भाई छेपलाल र भतिजा साहिंला तमोट भन्ने उल्लेख गरी साक्षी बसेबाट अहिले आएर त्यही सम्पत्तिलाई अवण्डा गोश्वाराको भनी सत्यलाल तर्फका हकदारले दावी गर्न मिल्ने हकदैया नै छैन । त्यसमा पनि फिराद ज.प.को १७ र ज.मि.को १८ नं.अन्तर्गत परेको छ । अंशवण्डाको ३५ नं.को दावी नै छैन । अवण्डाको कुनै प्रमाण पेश भएको छैन । चीनियामान र सत्यलाल दर्ता फारी गरी व्यवहार प्रमाणबाट छुट्टि भिन्न भएको भन्ने देखिन्छ । व्यवहार प्रमाणबाट छुट्टिएको भन्ने अंशवण्डाको ३० नं. बमोजिमको अवस्थामा अवण्डाको स्वरुप नै बाँकी रहंदैन । छेपलालले चीनियामानका छोरा माधवलालको नाउँमा विवादित जग्गा रै.प.र दर्ता नामसारी गराई दिएबाटै निजको हक नरहेको स्पष्ट छ । चिनियमानका छोरा पूर्ण कृष्ण र बसन्त कृष्णको हक लाग्छ कि भन्नलाई पनि सगोलको जग्गाबाट वण्डा छुट्टयाई पाऊँ भन्ने दावी छैन । लिखत पारित भै गएको जग्गामा संयुक्त इजलासका माननीय न्यायाधीश बीच राय मिलेकै छ । माननीय न्यायाधीश अर्जुनप्रसाद सिंहको राय सदर गरिनु पर्दछ भन्ने समेत वहस प्रस्तुत गर्नु भयो । आफ्नो वहस जिकीरको समर्थनमा विद्वान अधिवक्ता श्री भोजेन्द्रबहादुर खत्रीले लिखित बहसनोट समेत पेश गर्नु भएको रहेछ ।
प्रत्यर्थी वादीहरूका तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र विद्वान अधिवक्ता श्री कृष्णप्रसाद सापकोटाले मूल मुद्दामा रायवाझी भएपछि लगाउका मुद्दाहरूमा पनि सोही आधारमा फैसला हुनु पर्ने हो । रोशन थापाले हक हस्तान्तरण गरे उपर परेका लिखत बदर मुद्दामा मत्यैक्य भएको छ । त्यसैले प्रथमतः उक्त फैसलाहरूका सम्बन्धमा परेका निवेदनहरूमा पुनरावलोकनको निस्सा प्रदान हुनु पर्दछ । प्रस्तुत मुद्दामा पनि संयुक्त इजलासका दुवै माननीय न्यायाधीशको राय मिलेको छैन । पूर्ण इजलास तेस्रो राय व्यक्त गर्न पनि स्वतन्त्र छ । अन्यत्र हक हस्तान्तरण गरी बाँकी रहेको १५ आना जग्गाबाट वादीले आफ्नो हक छुट्टयाई लिन पाउने भन्नु न्यायोचित हुन सक्दैन । एउटै सा.पा. मंगल ६५६ लगत अन्तर्गतको कि.नं. १३८ र १४६ जग्गाको सम्बन्धमा पनि अवण्डा भनी मुद्दा परेकोमा पुनरावेदन अदालतबाट दावीबमोजिम अबण्डा ठहर गरी वादीहरूको हक हिस्सा जतिको प्रतिवादीले गराएको दर्ता बदर हुने ठहर भएको छ । सो फैसलाउपर पुनरावेदन नपरी अन्तिम रहेकोबाट सोही लगत मध्येको विवादित जग्गा अवण्डा हो भन्नेमा विवाद छैन । वण्डाफारी लिखत सीलाल र चीनियामानका बीचमा भएको हो । त्यसबाट चीनियामान र छेपलाल छुट्टिभिन्न भएको अर्थ गर्न मिल्दैन । अवण्डामा रहेको सगोलको सम्पत्ति एउटा अंशियारले हक छाडदैमा सबैको हक जान सक्दैन । मञ्जूर नहुनेले नालेश गरी आफ्नो हक हिस्सा बदर गराउन सक्दछ । अंशियारकै नाउँमा रहेको अवस्थामा अंशवण्डाको ३५ नं. बमोजिम आउने हो । अंशियार बाहेक उनाउ व्यक्तिले दूषित रुपमा दर्ता गराएको अवस्थामा ३५ नं. बमोजिम दावी लिने नभई ज.प.र ज.मि.कै ऐनबमोजिम दावी लिने हो । विपक्षीहरूले आफ्नो हकको साविक लगत पेश गरी दर्ता गराएको अवस्था छैन । हाल नं. १०० को लगत भिडाई विवादित जग्गा दर्ता गराएको अवस्था छ । उक्त हा.नं. १०० साविक लगत नं. ६५६ बाट कायम भएको भन्नेमा पनि कुनै विवाद छैन । चीनिया तमोटले बोंगा खेतबाट आठ आना जग्गा ०१२ सालमा हरिबहादुर र जीतबहादुरलाई राजिनामा गरि दिएको र पुनः बोंगाखुशी खलाबाट आठ आना हरिबहादुरलाई राजिनामा पारित गरिदिएको हो । राजिनामा लिएपछि सो जग्गा लगत नं. ६५८ र ६६३ कायम भएकोमा उक्त लगत भिडाई निजहरूले छुट्टै जग्गा दर्ता गराई सकेको अवस्था छ । राजिनामा दिई कायम रहेको लगत नं. ६५६ को जग्गा नै रै.प. गर्दा हा.नं. १०० भएकोले उक्त लगतबाट विपक्षीहरूले दर्ता गराउन पाउने होइन । संयुक्त इजलासमा व्यक्त भएका दुवै राय कायम रहन नसक्ने भएको हुँदा पुनरावेदन अदालत पाटनको फैसला सदर गरिनु पर्दछ भन्ने समेत वहस प्रस्तुत गर्नु भयो । आफ्नो वहस जिकीरको समर्थनमा विद्वान कानून व्यवसायीहरूले लिखित वहसनोट समेत पेश गर्नु भएको रहेछ ।
आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा पक्ष विपक्षका कानून व्यवसायीहरूले गर्नु भएको उक्त वहस जिकीर मनन् गरी पेश भएको लिखित बहस नोट, सहितको सम्पूर्ण मिसिल कागजात अध्ययन गरी हेर्दा पुनरावेदन अदालतको फैसला केही उल्टी गरी दावीको जग्गामधये ०–१५–० जग्गाको हकमा सम्म प्रतिवादी जीतबहादुरले गराएको निर्णय दर्ता बदर भै वादीहरूको अंश भागको हिसावले हक कायम हुने ठहर्याएको माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठको वा पुनरावेदन अदालतको फैसला उल्टी गरी वादी दावी नपुग्ने ठहर्याएको सुरु अदालतको फैसला सदर गर्ने गरेको माननीय न्यायाधीश श्री अर्जुनप्रसाद सिंहको राय मध्ये कुन चाँही राय मनासिव छ वा कानून बमोजिम हुनु पर्ने के हो ? सो विषयमा निर्णय दिनु पर्ने हुन आएको छ ।
२. निर्णयतर्फ विचार गर्दा हाम्रा पिता तथा ठूलो बाबु स्व.चीनिया तमोटको नाउँमा सा.पा.मंगल ६५६ नं.को लगतमा दर्ता भएको बोंगाखुशी ३३।। मध्ये मिति २०१२।१२।१ मा हरिबहादुर तमोटलाई पारित फार्छेपत्रबाट हक छोडेको क्षे.फ.।। कटाई बाँकी रहेको क्षे.फ. २।।३।।ऽ जग्गा निज चीनियामान तथा सत्यलालको संयुक्त भोगचलनको जग्गा भै मोहीबाट संयुक्त रुपमा बाली खाई पाई आएका थियौं । सो जग्गा ०२२ सालमा म छेपलालले ठूलो बाबु चीनियामान कै नाममा हा.नं. १०० मा रै.प. गराएको र ०२३।९।३ मा घरको मुख्य व्यक्ति चीनियामानको छोरा माधवलालको नाममा नामसारी गराएको भएपनि सगोलकै जग्गा हो । सर्वे नापीमा हामी सबै अंशीयार उपस्थित हुन नसकी जसको नाममा नापी भएपनि ल.पु.जि.सैबु गा.वि.स.वडा नं.३(क) कि.नं. १२९ को क्षे.फ.२–१०–० कायम भएको उक्त जग्गा हामीहरूलाई थाहा जानकारी नै नदिई विपक्षीहरू एकापसमा मिली विपक्षी मध्येको गोपालकृष्ण, कर्णबहादुर र कृष्णबहादुरले हक छाडी मिति २०५०।८।२० को निर्णयले विपक्षी मध्येको जीतबहादुरले दर्ता गराएछन् । ६ भागको १ भागमा मात्र हक रहेका गोपालकृष्णले हक छाड्दैमा उक्त जग्गामा रहेको हाम्रो हक जान नसक्ने भएकोले विपक्षी जीतबहादुरले गराएको ०५०।८।२० को निर्णय र त्यसको आधारमा भएको दूषित दर्ता समेत बदर गरी हामीहरूको हक कायम गरिपाऊँ भन्ने नै प्रत्यर्थी वादीहरूको मुख्य फिराद दावी रहेको देखिन्छ । प्रतिवादी मध्येको गोपालकृष्ण ताम्राकारले दावीको सा.पा.मंगल ६५६ हा.नं. १०० भित्रका जग्गामा निजको बाबु माधवलालको मात्र एकलौटी हक भोग रहेको र वादीहरू छुट्टी भिन्न भै सकेकोले हक लाग्ने होइन । विवादित कि.नं. १२९ को जग्गा जीतबहादुरको खलाबाट भिडेकोले निजको नाउँमा दर्ता गर्न मञ्जूरी दिएको हुँ भन्ने व्यहोराको प्रतिउत्तर फिराएको देखिए पनि वादी दावीबमोजिम हुने गरी प्रतिउत्तर जिकीर छाडी मिति २०५१।१०।६ मा मिलापत्र गरेको देखियो । पुनरावेदक प्रतिवादीहरू जीतबहादुर ताम्राकार समेतले दिएको प्रतिउत्तर हेर्दा सा.पा.मंगल ६५६ का लगतमा दर्ता रहेका विभिन्न खला जग्गाहरू मध्ये बोंगाखुशी २।। जग्गा फिरादीहरूका बाबु तथा ठूला बाबु समेतले विभिन्न मितिमा पारित लिखतमार्फत स्वामित्व छोडपत्र गरिदिएको हुँदा हामीहरूको नाउँमा रीतपूर्वक दर्ता भई जग्गाधनी प्रमाणपूर्जा प्राप्त भएको हो । उक्त सा.पा.मंगल ६५६ नं. को हाल नं. १०० को लगतमा दर्ता रहेका जग्गाहरू वादीहरूको हक लाग्ने अवण्डा सम्पत्ति नभई हामीहरूको एकलौटी हकभोग दर्ताको जग्गा भएको हुँदा हकदैयाविहिन फिराद खारेज गरिपाऊँ भन्ने समेत जिकीर लिएको देखिन्छ ।
३. शुरु ललितपुर जिल्ला अदालतले वादी दावी नपुग्ने ठहर्याई गरेको फैसला केही उल्टी गरी जग्गा दर्ता नामसारीको क्रममा हकदावी छाड्ने गोपालकृष्णको भाग कटाई बाँकी रहेको जग्गामा पुनरावेदक वादीहरूको अंश भागको हिसावले निर्णय दर्ता बदर भै दावीबमोजिम हक कायम हुने ठहराई भएको पुनरावेदन अदालत पाटनको फैसला उपर पुनरावेदक प्रतिवादीहरूको प्रस्तुत पुनरावेदन परी यस अदालतको संयुक्त इजलाससमक्ष पेश हुँदा विवादको कि.नं.१२९ को क्षे.फ.२–१०–० मध्ये छोडपत्र र फार्छेपत्रबाट हक हस्तान्तरण भएको १–८–० जग्गा कट्टा गरी बाँकी रहेको १–२–० जग्गा मध्ये वादीहरूको हक पुग्ने जति ०–१५–० जग्गाको जीतबहादुर ताम्राकारको नाममा दर्ता हुने गरी भएको निर्णय र दर्ता बदर गरी वादीको हक कायम गर्नु पर्नेमा अन्यथा गरेको हदसम्म पुनरावेदन अदालतको फैसला केही उल्टी हुने भन्ने माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठको र बोंगाखुशी कै जग्गामध्ये चीनियामान र सीलालले हरिबहादुर र जीतबहादुरलाई विभिन्न मितिमा हक छाडेको २४ आना जग्गा नै कि.नं. १२९ मा नापी भएको देखिए पनि वादीहरू साइला ताम्राकार र छेपलाल चीनियामानको सगोलको अंशीयार नभएको र अवण्डा हो भन्ने कुनै प्रमाण पेश हुन नसकेको कारण पुनरावेदन अदालतको फैसला उल्टी भै वादी दावी नपुग्ने ठहराएको शुरु जिल्ला अदालतको फैसला सदर हुने भन्ने माननीय न्यायाधीश श्री अर्जुनप्रसाद सिंहको राय भै संयुक्त इजलासमा मत्यैक्यता हुन नसकी यस पूर्ण इजलास समक्ष पेश हुन आएको अवस्था छ ।
४. यसमा चीनियामानले हरिबहादुर र जीतबहादुरलाई पारित गरिदिएको फार्छेपत्र र छोडपत्र लिखतमा नै भिन्न भएका भाई छेपलाल र भतिजा साहिला तमोट उल्लेख भएबाट वादीहरूमध्ये साहिला ताम्राकार र छेपलाल, चीनियामानको सगोलको अंशियार नभएको र विवादको जग्गा अवण्डा हो भन्ने कुनै प्रमाण नभएकोले वादीहरूलाई फिराद गर्ने हकदैया नरहेको भन्ने पुनरावेदक प्रतिवादीहरूको जिकीर भई संयुक्त इजलासमा समेत उक्त प्रश्नमा मत्यैक्यता हुन सकेको देखिदैन ।
५. भाजुराजका छोराहरू स्व. चीनियामान र स्व. सत्यलाल भै चीनियामानका छोराहरू स्व.माधवलाल तथा वादीमध्येका पूर्णकृष्ण र बसन्तकृष्ण एवं सत्यलालका छोराहरू वादी मध्येकै साहिला ताम्राकार र छेपलाल तथा माधव लालका छोरा प्रतिवादी मध्येका गोपालकृष्ण समेतलाई सगोलका हकवाला देखाई विवादको कि.नं.१२९ को जग्गामा अंशियारको हैसियतले हक कायम हुनु पर्ने भन्ने दावी भएकोमा प्रत्यर्थी वादी पक्षबाट पेश भएको नाता पुस्तेवारी सत्य साँचो होइन भनी पुनरावेदक प्रतिवादी पक्षले अन्यथा जिकीर लिन सकेको देखिदैन । पारित लिखतमा भिन्न भएको भन्ने उल्लेख गरिएबाट वादी मध्येका छेपलाल र साहिलाको फिराद गर्ने हकदैया नै नरहेको भन्ने जिकीरका सम्बन्धमा विचार गर्दा, प्रस्तुत मुद्दाबाट वादीहरू छुट्टिभिन्न भएका हुन होइनन् भन्ने प्रश्नको निरुपण गर्नु भन्दा पनि विवादित जग्गा सगोलको हो होइन र त्यसमा निजहरूको हकलाग्ने अवस्था देखिन्छ देखिंदैन भन्ने प्रश्नको निरुपण हुनु वाञ्छनीय र प्रासंगिक देखिएको छ । त्यस सम्बन्धमा चीनियामान र सीलाल तमोटका बीचमा मिति २०१२।७।२४ मा पारित वण्डाफारी लिखत हेर्दा त्यसमा उल्लेख भएका विभिन्न खला जग्गाहरू मध्ये बोंगाखुशी भन्ने खलाको ज.रो.४–१२–० मध्ये ३–३–२ चीनियामानको र १–९–३ जग्गा सीलाल तमोटको भागमा पारेको भन्ने देखिन आउंछ । मिसिल संलग्न उक्त पारित वण्डाफारीको प्रमाणित प्रतिलिपिबाट स्थापित भएको त्यस तथ्यका सम्बन्धमा पुनरावेदक प्रतिवादीले अन्यथा जिकीर लिन सकेको अवस्था पनि छैन । वण्डाफारीबाट चीनियामानको भागमा परेको विभिन्न खलाका जग्गाहरू सा.पा. मंगलको साविक लगत नं.६५६ मा र सीलालको भागमा परेको जग्गाहरू लगत नं. ६५७ कायम भएको देखिन्छ । आ–आफ्नो भागमा परेका जग्गाहरू मध्येबाट बोंगाखुशी खलाको आठ आना जग्गा सीलालले मिति २०१२।१२।१ मा र.नं.२२७५ को पारित फार्छेपत्र लिखतबाट हरिबहादुर ताम्राकारलाई हक हस्तान्तरण गरेको देखिन्छ । त्यसैगरी चीनियामानको भागमा परेको जग्गा मध्येबाट बोंगाखुशी खलाकै आठ आना जग्गा सोही मितिमा र.नं. २२७६ मार्फत हरिबहादुर तमोटलाई नै हक छाडी दिएको देखिन्छ भने २०१२।११।२४ मा चीनियामानले सोही लगतको आठ आना जग्गा हरिबहादुर र जीतबहादुरलाई र.नं. २१८४ को लिखतबाट छोडपत्र गरिदिएको देखिन आएको छ । यसरी वादीहरूले आठ आना जग्गा मात्र हक हस्तान्तरण गरेको भन्ने दावी लिएको देखिए पनि मिसिल संलग्न उक्त तीन थान लिखतहरूबाट २४ आना जग्गाको हक छाडेको देखिएको छ । त्यसै गरी सो तीन थान लिखतबाट प्राप्त भएको बाहेक विवादित जग्गामा आफ्नो छुट्टै हक भोगको प्रमाण रहेको छ भनी पुनरावेदक प्रतिवादी पक्षबाट पेश दाखिल हुन सकेको समेत देखिएको छैन ।
६. २०१२ सालको वण्डाफारीबाट चीनियामानको भागमा परेका जग्गाहरू ०१३ सालमा सा.पा.मंगल लगत नं.६५६ कायम भै विवादको बोंगाखुशी लगायतका विभिन्न खलाका जग्गाहरू चीनियामानको नाउँमा दर्ता भएको देखिन्छ । चीनियामान तथा निजका भाई सत्यलाल बीच वण्डाफारी भै सो जग्गाको दाखेल खारेज भएको देखिएको छैन । मिति २०१२।११।२४ को छोडपत्रले हरिबहादुर र जीतबहादुरलाई तथा मिति २०१२।१२।१ को फार्छेपत्रबाट हरिबहादुरलाई हक हस्तान्तरण गरी बाँकी रहेका साविक लगत नं. ६५६ का सम्पूर्ण जग्गाहरू मिति २०२२।१२।३० मा हा.नं. १०० मा चीनियामानकै नाउँमा वादी मध्येका छेपलाल हस्ते रै.प.भएको देखिएको छ । त्यसैगरी सोही हा.नं. १०० को मोठ फाराममा उल्लिखित विभिन्न खला जग्गा नै चीनियामानका छोरा माधवलाल तमोटका नाउँमा मिति २०२३।९।३ मा नामसारी भएको देखिन्छ । चीनियामानका हकदार छोराहरू बादी मध्येका पूर्णकृष्ण र वसन्तकृष्णले नै उक्त साविक लगत नं. ६५६ हा.नं.१०० अन्तर्गतका जग्गाहरू सगोलको भै सगोलमा नै मोहीवाट आयस्ता वाली खाई आएको सत्यलालको आधा अंश भाग लाग्ने भै बादी मध्येको छेपलाल र साहिलाले सोही आधारमा हक पाउने हो भनी फिरादपत्रमा नै स्वीकार गरी संयुक्त फिराद दिएको र माधवलालका छोरा गोपालकृष्णले पनि प्रतिउत्तर जिकीर छोडी बादी दावीलाई स्वीकारी मिलापत्र गरेको अवस्थामा बादीहरूका अंशीयार बाहेकका उनाउ व्यक्ति पुनरावेदक प्रतिवादीलाई बादीहरूको हैसियतको वारेमा विवाद उठाउन पाउने कुनै कानूनी आधार देखिदैन । पुनरावेदक कै जिकीरबमोजिम विवादित जग्गामा चीनियामानको मात्र हक लाग्ने अवस्थाको परिकल्पना गर्ने हो भने पनि प्रतिवादीले आफ्नो हकको स्रोत भन्दा बढीमा गराएको निर्णय र दर्ता कायम रहन नसक्ने भै चीनियामानका छोराहरू पूर्णकृष्ण र बसन्तकृष्ण कै फिराद दावीवाट बदर हुने अवस्था भएकोले त्यसतर्फको जिकीर समेत औचित्यहिन देखिन आउँछ ।
७. त्यसै गरी सोही साविक लगत नं.६५६ को हा.नं.१०० अन्तर्गतको घोल्को खला भिडी नापी भएको कि.नं. १३८ र १४६ को जग्गा जितबहादुर समेतले दूषित रुपमा लिखत भन्दा बढी दर्ता गराएको निर्णय बदर गरी हक कायम गरिपाऊँ भनी चीनियामानका छोरा वादी मध्येका पूर्णकृष्ण, बसन्तकृष्ण तथा माधवलालका छोरा गोपालकृष्ण एवं सत्यलालका छोराहरू वादी मध्येकै छेपलाल र साहिला तमोट समेत ५ जना वादी भै पुनरावेदक प्रतिवादी मध्येको जीतबहादुर ताम्राकार समेत उपर दिएको निर्णय दर्ता बदर मुद्दामा सो लगतबाट भिड्ने जग्गालाई वादीहरू सबैको सगोलको अवण्डा ठहराई प्रतिवादीहरूले गराएको ०–४–० भन्दा बढीको निर्णय दर्ता बदर गरी वादीहरूको नाउँमा हक कायम हुने ठहराएको शुरु ललितपुर जिल्ला अदालतको फैसला सदर हुने ठहराई संवत् २०५५।५६ सालको दे.पु.नं.४२७/११९६ को निर्णय दर्ता बदर हक कायम मुद्दामा पुनरावेदन अदालतबाट प्रस्तुत मुद्दासंगै मिति २०५६।३।७ मा एकै दिन फैसला भैरहेको प्रमाणमा आएको उक्त मुद्दाको सक्कलै मिसिलहरूबाट देखिन आएको छ । सो फैसलाउपर पुनरावेदक प्रतिवादी जीतबहादुर समेतको यस अदालतमा मुद्दा दोहोर्याई पाऊँ भन्ने निवेदन परेको भन्ने नदेखिई अन्तिम भै बसेको देखिन्छ । यसरी लगाउमा रहेको मुद्दाबाट एउटै साविक लगत र मोठ श्रेस्ता भित्रको जग्गा चीनियामान र सत्यलालको सगोलको हो भनी निजका हकदार बादीहरू समेतले हक कायम गराई लिएको अवस्थामा सोही साविक लगत र मोठ श्रेस्ता भित्रको विवादित बोंगाखुशी खलाको जग्गामा वादीहरू छेपलाल र साहिलाको हक नलाग्ने भन्न मिल्ने कुनै आधार देखिन नआई निजहरू समेत वण्डा पाउने हकदार अर्थात् अंशियार भित्रकै व्यक्तिहरू रहेछन् भन्ने कुरामा विवाद हुनुपर्ने देखिएन ।
८. यस प्रकार प्रत्यर्थी वादीहरू सबैको अंश हक निहित रहेको अवण्डा गोश्वाराको साविक लगत नं.६५६ हा.नं.१०० भित्रको विवादित जग्गा अंशियारको मञ्जूरी विना कुनै एक अंशियारले आफ्नो हक लाग्ने भन्दा बढी हक छाडेको भरमा हक नछोड्ने अन्य अंशियाराहरूको समेत हक जान्छ भन्ने अर्थ गर्न मिल्ने देखिदैन । एकासगोलमा रहेको अवण्डाको जग्गा अंशियार भन्दा वाहिरको उनाउ व्यक्तिले अनधिकृत र दूषित रुपमा निर्णय दर्ता गराएको अवस्थामा हक पुग्नेले मुलुकी ऐन, ज.प.को १७ र ज.मि.को १८ नं.को कानूनी आधारमा फिराद गर्न सक्ने नै हुँदा अंशवण्डाको ३५ नं. बमोजिम नालेश आउनु पर्ने भन्ने पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन र निजहरू तर्फका विद्वान कानून व्यवसायीहरूको वहस जिकीरसंग सहमत हुन सकिएन ।
९. सीलाल र चीनियामानले हरिबहादुर र जितबहादुरलाई ८ आनाको दरले र.नं. २२७५,२२७६ र २१८५ मार्फत फार्छे पत्र र छोडपत्र गरी हक हस्तान्तरण गरेको जम्मा २४ आना जग्गा विवादको कि.नं. १२९ मा नापी दर्ता भएको भन्ने तथ्यमा संयुक्त इजलासका माननीय न्यायाधीशहरू बीच मत्यैक्य भएकै देखिन्छ । पुनरावेदक प्रतिवादीहरूको उक्त लिखतभन्दा बाहेकको अन्य छुट्टै हक भोगको स्रोत नरहेको भन्नेमा पनि विवाद रहेको पाइदैन । चीनियामानले हक हस्तान्तरण गरी बाँकी रहेको बोंगाखुशी खला समेतको जग्गा निजका नाममा सा.पा.मंगल ६५६ नं.लगतमा दर्ता भई मिति २०२२।१२।३० मा हा.नं. क/१०० मा रै.प. भएको र ०२३।९।३ मा चीनियामानका छोरा माधवलालको नाममा नामसारी भएको मिसिल संलग्न उक्त साविक लगत र मोठ फारामबाट देखिएको छ । बोंगाखुशी खला मध्येबाट सबै जग्गा बिक्री नगरी केही मात्र हक हस्तान्तरण गरेको कारणबाट सर्भेनापीमा सो जग्गा चीनियामानका हकदार माधवलाल तथा चीनियामानबाट हक टुटाई लिने हरिबहादुर र जीतबहादुरका नाउँमा संयुक्त नापी भएको पनि देखिएको छ । हरिबहादुरका हकदार छोरा कर्णबहादुर र कृष्णबहादुर तथा माधवलालका छोरा गोपालकृष्णले मञ्जूरी दिएको कारण विवादको कि.नं. १२९ को क्षे.फ.रो २–१०–० ससीम जग्गा पुनरावेदकमध्येको जीतबहादुरका नाउँमा मिति २०५०।८।२० को निर्णयानुसार दर्ता भएको देखिएको छ ।
१०. उक्त हा.नं./१०० मोठ फारामको मिसिल संलग्न प्रतिलिपि हेर्दा, मिति २०५०।८।२० को निर्णयानुसार साविक माधवलाल तमोटका नाउँको लगतमा नामसारी दर्ता भएको बोंगाखुशी २।।३।।क बाट भीडी हाल सैंबु वडा नं. ३क कि.नं. १२९ क्षे.फ. २–१०–० को जग्गाधनी प्रमाण पूर्जा गएको भन्ने उल्लेख भएको देखिएकोवाट उल्लिखित ३ थान लिखतबाट जीतबहादुर र हरीबहादुरको हकमा गएको जग्गाका अतिरिक्त चीनियामानका नाउँमा नै बाँकी रही ०२३ सालमा माधवलालको नाउँमा नामसारी भएको वादीहरूको हक लाग्ने अवण्डा गोश्वाराको जग्गा समेत कि.नं. १२९ मा समावेश भैरहेकोमा बादी पक्षको नाउँमा रहेको सोही लगत भिडाई प्रतिवादीले उक्त कि.नं. १२९ को सम्पूर्ण जग्गा दर्ता गराएको रहेछ भन्ने स्पष्ट रुपमा देखियो ।
११. तसर्थ हरिबहादुर र जीतबहादुर ताम्राकारले उल्लिखित तीन थान लिखतबाट हक प्राप्त गरेको जम्मा २४ आना जग्गासम्म पुनरावेदक प्रतिवादीले दर्ता गराउनु पर्नेमा आफूले हक प्राप्त गरेको भन्दा बढी कि.नं. १२९ को समूच्चा क्षे.फ.२–१०–० जग्गा नै अनधिकृत रुपमा दूषित दर्ता गराएको देखिदा पुनरावेदकले हक हस्तान्तरण गरी लिएको उक्त क्षे.फ.रो. १–८–० जग्गा कटाई बाँकी रहन आउने ज.रो १–२–० मध्येबाट ज.रो. ०–९–० मा सत्यलालतर्फका हकवालाको र ०–९–० मा चीनियामानतर्फका अंशियारको हककायम हुने देखिएकोमा चीनियामान तर्फका ३ हकदार छोराहरू मध्ये स्व. माधवलालको छोरा गोपालकृष्णले जग्गा दर्ता कै क्रममा जीतबहादुरलाई हक छाडी सकेको देखिंदा निजको एक भाग बाहेक पूर्ण कृष्ण र बसन्त कृष्णको भागमा पर्ने दुई भाग अर्थात् ज.रो. ०–६–० समेत गरी जम्मा ज.रो ०–१५–० जग्गा पुनरावेदक प्रतिवादी जीतबहादुरका नाउँमा दर्ता गर्ने मालपोत कार्यालयको मिति २०५०।८।२० को निर्णय र सोबमोजिम पुनरावेदकले गराएको दर्ता समेत बदर भै प्रत्यर्थी वादीहरूको अंश भागको हिसावले हक कायम हुने हुँदा सो हदसम्म पुनरावेदन अदालतको फैसला केही उल्टी गरेको माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठको राय मनासिव देखिदा सदर कायम हुने ठहर्छ । पुनरावेदन अदालतको फैसला उल्टी गरी वादी दावी नपुग्ने ठहर्याएको माननीय न्यायाधीश श्री अर्जुनप्रसाद सिंहको रायसंग सहमत हुन सकिएन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा सहमत छौं ।
न्या.तपबहादुर मगर
न्या.रामकुमार प्रसाद शाह
इति संवत् २०६६ साल असार २५ गते रोज ५ शुभम्
इजलास अधिकृतः नारायण सुवेदी