शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८१४२ - जवर्जस्ती करणी

भाग: ५१ साल: २०६६ महिना: भाद्र अंक:

निर्णय नं.८१४२      भदौ, २०६६         अङ्क ५

 

सर्वोच्च अदालत, संयुक्त इजलास

सम्माननीय का.मु. प्रधान न्यायाधीश श्री अनुपराज शर्मा

माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ

फौ.पु.नं.: ०६४CR०४५४

फैसला मितिः २०६६।३।२।३

मुद्दा : जवर्जस्ती करणी 

पुनरावेदक वादीः लतिकको जाहेरीले नेपाल सरकार

विरुद्ध

प्रत्यर्थी/प्रतिवादीः स्याङ्गजा जिल्ला आरुचौर गा.वि.स. वडा नं. ७ बस्ने टेकबहादुर क्षेत्री

 

अघि फैसला गर्नेः

मा.न्या. श्री हरिप्रसाद वगाले

पुनरावेदन फैसला गर्नेः

मा.न्या.श्री मोहनप्रसाद घिमिरे

मा.न्या. श्री देवेन्द्रराज शर्मा

 

§  करणी गर्ने इच्छा वा मनसायले पूर्णता प्राप्त गरेको क्रियालाई अपराधले पूर्णता पाएको अवस्था अर्थात् Commission of the Crime का रुपमा लिनु पर्ने 

(प्रकरण न.२)

§  जवर्जस्ती करणीका लागि सम्पूर्ण प्रयास गरेको, त्यसमा कहीँ कतैबाट हस्तक्षेप समेत नभएको तर बालिकाको उमेर अत्यन्त कम भएकै कारणले मात्र योनीभित्र लिङ्ग प्रवेश नगरेको अवस्थालाई अपराधको गम्भीरता घटाउने आधार बनाउन नमिल्ने 

(प्रकरण न.३)

§  बालिकाको उमेर अत्यन्त कम भएकै कारणले गर्दा बालिकाको योनीभित्र निजको लिङ्ग प्रवेश नगरेकै आधारमा निजको क्रियालाई जवर्जस्ती करणीको उद्योगका रुपमा मात्र सीमित गराउन नमिल्ने 

(प्रकरण न.४)

 

पुनरावेदक तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री ठोकप्रसाद सिवाकोटी

प्रत्यर्थी तर्फबाटः

अवलम्वित नजीरः नेकाप २०६३ नि.नं.७६५२, पृ. २३२

सम्बद्ध कानूनः

ट्ट जवर्जस्ती करणीको महलको ३(१) र १०

 

फैसला

      न्या.अनूपराज शर्माः शुरु फैसला सदर गर्ने पुनरावेदन अदालत पोखराको फैसला उपर परेको मुद्दा दोहोर्‍याई हेरी पाऊँ भन्ने निवेदनमा न्याय प्रशासन ऐन २०४८ को दफा १२(१)(क) अन्तर्गत दोहोर्‍याई हेर्ने निस्सा प्रदान भै यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर देहाय बमोजिम रहेको छ:

      (तथ्य प्रस्तुत गर्दा विशेष प्रकृतिका मुद्दाहरूको कारवाहीमा पक्षको गोपनीयता कायम राख्ने सम्बन्धी कार्यविधि निर्देशिका, २०६४ बमोजिम मुद्दाका पीडित, जाहेरवाला, पीडितका बाबु आमा, घटना सम्बन्धमा प्रारम्भमा जानकारी गराउने पीडितकी साथी र साथीकी आमासमेतको वास्तविक नाम परिवर्तन गएिको   छ । त्यसरी परिवर्तित नामसहितको विवरण छुट्टै उल्लेख गरिएको छ).

 

जिल्ला स्याङ्गजा पुतलीबजार नगरपालिका वडा नं. १० स्थित सार्वजनिक साझा ठाँटीमा शोभना (नाम परिवर्तन) लाई टेकबहादुर क्षेत्रीले करणी गरेको भनी देखाइएको घटनास्थल  मुचुल्का 

पीडित बालिकाको योनी तथा स्वास्थ्य जाँच गर्दा योनि वरपर डाम र तिघ्रा वरपर गाला समेतमा रातो भएको पाइयो भन्ने समेत व्यहोराको जिल्ला अस्पताल स्याङ्गजाको प्रतिवेदन 

मेरो सहोदर दाजु रोदन (नाम परिवर्तन) की छोरी वर्ष ८ की शोभना मिति २०६१।१०।१७ गते स्कूल पढ्न गई बेलुका घर आई खाजा खाई भैंसी गोरुलाई ओछ्याउने पत्येउला लिन भनी ताता खोला भन्ने ठाउँमा रहेका वुट्यानका झरेका पातहरू लिन जाँदा विपक्षी टेकबहादुर क्षेत्रीले मेरो भतिजी (छोरी) लाई जवर्जस्ती करणी गरेका रहेछन् । निज रोई कराई गर्दा सुनी थाहा पाई उक्त ठाँटीतर्फ गई हेर्दा रोइरहेको अवस्थामा नावालक छोरीलाई फेला पारी निज टेकबहादुरलाई पनि नियन्त्रणमा लिई पीडितको बुबा घरमा नहुँदा र आमा मूर्छित परेकी हुँदा मैले यो जाहेरी दिन आएको छु । नावालक छोरीलाई जवर्जस्ती करणी गर्ने विपक्षीलाई कारवाई गरिपाऊँ भन्ने समेत व्यहोराको लतिक (नाम परिवर्तन) को जाहेरी दरखास्त 

मिति २०६१।१०।१७ गतेका दिन म आफ्नो काम विशेषले पोखरा जान भनी मेरो आरुचौरबाट पुतलीबजार नगरपालिकाको सातुपसल हुँदै स्याङ्गजातर्फ गाडी चढ्न आउँदै गर्दा २ जना केटीलाई उक्त सातुपसल गाउँदेखि पश्चिम एकान्त स्थानमा खाली डोको बोकी हिँडिरहेको देखी मलाई करणी गर्न मन लागेकोले २ जनालाई फकाउँदा एक जना आफ्नै घरतर्फ डोको बोकी भागी गई भने १ जना हालै मात्र नामथर थाहा हुन आएकी वर्ष ७/८ की शोभना नभागी त्यहीँ उभिई रही, अनि मैले पैसा दिन्छु, त्यो ठाँटीमा हिड जाऊँ भनी फकाई ठाँटीतर्फ लगी डोको घोप्टाई म डोकोमा चढी निजलाई पनि मैले उचाली ठाँटीमा चढाई सुरुवाल खोल्न लगाई ठाँटीमा सुताई मैले मेरो पाइन्ट खोली निजको योनीमा मेरो लिङ्ग दल्दा दल्दै निज रुन लागिन्, तापनि मैले मेरो लिङ्ग योनीमा दल्दा दल्दै लिङ्गबाट वीर्य स्खलन  भयो । त्यसै वखत गाउँका मानिस पनि आईपुगी मलाई कव्जामा लिएका हुन् भन्ने समेत व्यहोराको प्रतिवादी टेकबहादुर क्षेत्रीले गरेको बयान कागज 

मिति २०६१।१०।१७ गते बेलुका अन्दाजी ५.०० बजेतिर मलाई टेकबहादुर क्षेत्री नाम थर र आरुचौर घर बताउने निज टेकबहादुर क्षेत्रीले २०।रुपैया पैसा दिन्छु भनी ललाई फकाई गरी ठाँटीमा लगी मेरो डोको घोप्टो पार्न लगाई डोकोबाट आफू पनि चढी मलाई चढाई ठाँटीमाथि लगी सुरुवाल खोल्न लगाई सुताई आफ्नो पाइन्ट खोली मेरो पिसाव गर्ने चीजमा आफ्नो पिसाव गर्ने चीज दल्दा मलाई बेसरी  दुख्यो । म दुख्दा रोई कराई गरे, रुँदा पनि निजले मलाई छाडेनन्, केही बेरमै निजको पिसाव गर्ने ठाउँबाट बाक्लो पानी जस्तो निस्क्यो र मेरो पिसाव फेर्ने चीज वरपर पूरै लागी सुरुवाल समेतमा लाग्यो र त्यसपछि म रोई कराई गर्दा मेरो सानु बुबा लतिकसहितका मानिसहरू आई निजलाई पक्राउ गरेका हुन् भनी पीडित बालिकाले आफ्नो बाबु समेतको रोहवरमा गरिदिएको कागज 

मिति २०६१।१०।१७ गतेका दिन म आफ्नै घर गाउँमा रहे भएको अवस्थामा बेलुका अन्दाजी ४/५ बजेतिर गाउँकै लोरिता दौडँदै हकानिएर आई एउटा केटाले शोभनालाई पैसा दिन्छु भनी फकाएर ठाँटीमा लगेको छ भनेकाले सो कुरा म सहितका धेरै मानिसले थाहा पाई तत्काल उक्त गाउँदेखि पश्चिमतर्फको ठाँटीमा जाँदा निज केटा पनि त्यहीँ रहेछ र शोभना रोई कराई गरेकी रहिछे । किन रोएकी, तिमीलाई के भयो भनी सोधनी गर्दा निजले रुँदैरुँदै मलाई यो केटाले आफ्नो पिसाव गर्ने चीज मेरो पिसाव गर्ने चीजमा दल्दा दुखेकोले रोएकी हुँ भनी आफ्नो पिसाव गर्ने योनीतर्फ हातले देखाएकीले हेर्दा वरपर पूरै वीर्य लागी सुरुवालसमेत वीर्य लागी भिजी चिसो भएको देखियो र निज केटालाई कब्जामा लिइएको हो भन्ने समेत व्यहोराको चिरन्जीवी तिवारी सहितका मानिसहरूले गरिदिएको कागज 

म र मेरो साथी शोभना मिति २०६१।१०।१७ गते बेलुकी डोको लिएर पत्येउला लिन गएकोमा टेकबहादुर क्षेत्रीले मलाई र शोभनालाई पैसा दिन्छु ठाँटीमा जाऊँ भनी भन्दा मलाई निजदेखि डर लागेकोले म दौडँदै घर गाउँतर्फ आएँ । शोभना त्यहीँ बसी, सो कुरा तुरुन्तै मैले गाउँमा आई भन्दा घर गाउँबाट सबै जना त्यहाँ ठाँटीमा गई हेर्दा शोभना रोइरहेकी रहिछे, के भयो भनी सोधनी गर्दा मलाई यो केटाले यस्तो यस्तो गर्‍यो भनी सबै जनालाई भन्दा केटा टेकबहादुर क्षेत्रीलाई पक्राउ गरी गाउँमा ल्याएका हुन् भन्ने समेत व्यहोराको लोरिता (नाम परिवर्तन) ले आमाको रोहवरमा गरेको कागज 

मिति २०६१।१०।१७ गतेका दिन मेरो छोरी वर्ष ८ की शोभना स्कूल गई बेलुकी अन्दाजी ३/४ बजेतिर घर आई छोरी शोभना र छिमेकी लोरितासमेत २ जना डोको लिएर सुकेको पात पत्येउला लिन गाउँदेखि पश्चिमतर्फ गएकोमा लोरिता केही वेरमै दौडँदै घर गाउँतर्फ आई शोभनालाई एकजना केटाले पैसा दिन्छु भनी फकाएर ठाँटीमा लगेको छ भन्नासाथ मसहितका ४/५ जना मान्छेहरू तत्कालै उक्त स्थानमा ठाँटीतर्फ गई हेर्दा छोरी रोइरहेकी र केटा पनि त्यहीँ रहेकोले के भयो भनी सोधनी गर्दा मलाई यो केटाले आफ्नो पिसाव गर्ने चीज मेरो पिसाव गर्ने चीजमा दल्दा बेसरी दुख्यो भनी औंलाले देखाउँदै रोएकीले छोरीको योनीमा हेर्दा योनी वरपर तथा सुरुवालमा समेत वीर्य लागी चिसो भई भिजेकोले साँझ पख मैले छोरीलाई नुहाई धुवाई गरी दिएर कपडा पनि धोई पखाली गरी सफा राखे । सो कुर्ता सुरुवाल यसैसाथ दाखिला गरेकी छु भन्ने समेत व्यहोराको पीडितकी आमा महिमा (नाम परिवर्तन) को कागज 

म आफ्नो काम विशेषले स्याङ्गजा टक्सार खलंगातर्फ  गई मिति २०६१।१०।२० गते घरतर्फ आउँदा मेरो श्रीमती र गाउँका आफन्तहरूबाट थाहा पाएअनुसार जिल्ला स्याङ्गजा आरुचौर घर बताउने टेकबहादुर क्षेत्री नाम गरेको केटाले मेरो छोरी वर्ष ८ की शोभनालाई ठाँटीमा लगी जवर्जस्ती करणी गरेको र गाउँले सबै मिली निजलाई पक्राउ गरी प्रहरीलाई जानकारी दिँदा भोलिपल्ट विहानै प्रहरीबाट अनुसन्धान भएको भन्ने कुरा सुनी थाहा पाएको थिएँ । मेरो नावालक छोरीलाई ललाई फकाई ठाँटीमा लगी करणी गरेको कुरामा विश्वास छ, त्यस्तो व्यक्तिलाई कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको रोदनको कागज 

पीडित बालिकाको हालको उमेर ७ देखि ८ वर्षसम्मको भएको भनी प्रमाणित गरिएको जिल्ला अस्पताल स्याङ्गजाको प्रमाणित पत्र र जिल्ला स्याङ्गजा पुतलीवजार नगरपालिका वडा नं. १० ताताखोला निवासी रोदनको छोरी जन्म मिति २०५३।११।८ गते भएको सुश्री शोभना हाल यस शितला प्रा.वि. मा कक्षा २ मा अध्ययनरत् रहेको व्यहोरा यस विद्यालयको रेकर्डअनुसार प्रमाणित गरिन्छ भन्ने समेत व्यहोराको श्री शिलता प्रा.वि. को पत्र 

मिति २०६१।१०।१७ गते बेलुकी अन्दाजी ५.०० बजेतिर यी प्रतिवादी टेकबहादुर क्षेत्रीले वर्ष ८ की शोभनालाई पैसा दिन्छु भनी ललाई फकाई ठाँटीमा लगी जवर्जस्ती करणी गरेको कुरामा पूर्ण विश्वास छ, किनकी पीडितले गाउँमा सबैको सामुन्ने रुँदैरुँदै  मलाई यो केटा टेकबहादुर क्षेत्रीले आफ्नो पिसाव फेर्ने चीज मेरो पिसाव फेर्ने चीज योनीमा दल्दा दुखेकोले म रोएकी हुँ भनी वताएकी र तत्कालै निजकी आमा समेतले पनि निजको योनिमा हेर्दा वरपर पूरै वीर्य भई सुरुवालसमेत वीर्य लागी भिजी चिसो थियो । त्यसैले निज केटा यो टेकबहादुर क्षेत्रीले शोभनालाई जवरजस्ती करणी गरेको कुरामा विश्वास छ भन्ने समेत व्यहोराको वस्तुस्थिति मुचुल्का 

मिसिल संलग्न जिल्ला अस्पताल स्याङ्गजाको प्रतिवेदन, पीडित बालिकाको कागज, वस्तुस्थिति मुचुल्काका टोपनारायण देवकोटा समेतका मानिसले यी प्रतिवादीले पीडित शोभनालाई जवर्जस्ती करणी गरेको कुरामा विश्वास लाग्छ भनी कागज गरिदिएको देखिनुका अतिरिक्त पीडितका बाबु, आमा, पीडितको साथी वर्ष ८ की लोरितासमेतले गरेको कागज तथा करणी गर्दा ओछ्याइएको पीडितले लगाएको कुर्ता सुरुवालबाट समेत यी प्रतिवादी टेकबहादुर क्षेत्रीले पात पत्यौला लिन भनी गएकी शोभनालाई पैसा दिन्छु भनी ललाई फकाई ठाँटीमा लगी सुरुवाल फुकाल्न लगाई सो सुरुवाल भुईंमा विछ्याई सो माथि पीडित बालिकालाई सुताई आफ्नो कट्टु खोली आफ्नो लिङ्ग पीडितको योनीको बीच भागमा दली जवर्जस्ती करणी गरी मुलुकी ऐन, जवरजस्ती करणीको महलको १ नं. विपरीतको कसूर गरेको पुष्टि हुन आएकोले प्रतिवादी टेकबहादुर क्षेत्रीलाई सोही महलको  ३(१) नं. बमोजिम सजाय गरी ऐ. को १० नं. बमोजिम प्रतिवादीको आधा अंश सर्वस्व गरी पीडितलाई दिलाई भराई पाऊँ भन्ने समेत व्यहोराको अभियोग माग दावी 

मिति २०६१।१०।१७ गते म मेरो घर आरुचौरबाट पोखरा जानको लागी आउँदै गर्दा सातुपसल गाउँदेखि पश्चिमतर्फ एकान्त ठाउँमा दुईजना केटीहरू गाई भैंसीलाई ओछ्याउने पात पत्यौला लिन भनी आएका रहेछन् र मैले ती केटीहरूलाई पैसा दिन्छु यता आऊ भनी भन्दा एउटी केटी भागिन्, अर्कीलाई मैले त्यहीँ एकान्त गाउँको ठाँटीमा लगें र मैले निजलाई जवर्जस्ती रुपमा निजले लगाएको सुरुवाल खोली मेरो लिङ्ग निजको योनीमा लगेको दलेको हुँ, योनीभित्र लिङ्ग गएको होइन । म वेसरी उत्तेजित भएको हुँदा लिङ्गबाट वीर्य योनीमा झरेको हो । निजले रुने कराउने गरेकी थिइन् । मैले निजलाई सुमसुम्याउने र किस खाने तथा छातीमा हात समेत लगेको हुँ भन्ने समेत व्यहोराको प्रतिवादी टेकबहादुर क्षेत्रीले अदालतमा गरेको बयान 

टेकबहादुर क्षेत्रीले नराम्रो कार्य गर्‍यो, छिटो ठाँटीमा जान पर्‍यो भनी गुहार माग्दै लोरिता आएकीले म तुरुन्तै घटनास्थलमा जाँदा पीडित शोभनाको अवस्था नाजुक र रोइरहेको पाएँ । मैले मिति २०६१।१०।२९ मा अनुसन्धान अधिकारीसमक्ष गरेको कागजमा भएको व्यहोरा र सहिछाप मेरो हो भन्ने समेत व्यहोराको मौकामा कागज गर्ने ख्यामनारायण तिवारीको बकपत्र 

प्रतिवादी टेकबहादुर क्षेत्रीले २०६१ माघ १७ गतेका दिन अन्दाजी ५.०० बजेको समयमा ठाँटी भन्ने ठाउँमा जवर्जस्ती करणी गरेका हुन् । उक्त दिन म स्कूलबाट घरमा आई नास्ता खाएँ, त्यसपछि गाउँकै साथी र म पत्याउला खोज्न भनी गएका थियौँ । जाँदा यी प्रतिवादीसँग भेट भयो । हामीलाई देख्नासाथ निजले बहिनी नानी म तिमीहरूलाई २०२० रुपैया दिन्छु, त्यो ठाँटीमा हिँड जाऊँ भन्दा साथी भागेर घरतर्फ  आइन् । म निजसँग ठाँटीमा डोको घोप्टाई चढेँ । निज पनि ठाँटीमा चढे र मलाई मेरो सुरुवाल खोल्न लगाए । मैले पनि सुरुवाल खोली दिएँ । त्यही सुरुवाल माथि म सुते । निजले आफ्नो पाइन्ट र कट्टु खोली आफ्नो पिसाव फेर्ने चीज निकाली मेरो पिसाव फेर्ने चीजमा रगेडी केही वेर पछि निजको पिसाव फेर्ने ठाउँबाट सेतो पदार्थ आयो । म रोएँ कराएँ, मलाई बेस्सरी दुखेको  थियो । निजले मलाई गालामा समेत टोकेका   हुन् । म रोएपछि सानुबुबा लतिकसमेतका मान्छेहरू आएर प्रतिवादीलाई पक्राउ गरी लगेका हुन् भन्ने समेत व्यहोराको पीडित शोभनाको बकपत्र 

उक्त दिन म घरमा थिइन । म स्याङ्गजामा उपचारको लागि आएको थिएँ । घरमा जाँदा छोरीका गाला सुनिएका र घरमा अरु सबैले उक्त घटनाको बारेमा भनेको हुँदा थाहा पाएको हुँ । यी प्रतिवादीले मेरो छोरी पत्याउला खोज्न जाँदा एक्लै खेतको ठाँटीमा लगी जवर्जस्ती करणी गरेछन् भन्ने समेत व्यहोराको पीडितकी आमा महिमाको बकपत्र 

२०६१ साल माघ १७ गतेका दिन मेरो दाजुकी छोरी स्कूलबाट घरमा आई नास्ता खाई पिपलका पात टिप्न भनी गएका शोभना र उनकी साथी लोरितासमेतलाई एक्लो देखी ललाई फकाई गरी ठाँटी माथिको आँटीमा शोभनालाई लगी तिमीलाई नयाँ कपडा ल्याइदिएको छु, कपडा खोल पैसा पनि दिन्छु, तिमी हामी रातभर यहीँ सुत्ने भनी निजलाई जवर्जस्ती करणी गरेछन् । साथमा गएकी लोरिताले हार गुहार गरेपछि अभियुक्तलाई पक्री प्रहरीमा बुझाएका हौँ भन्ने समेत व्यहोराको जाहेरवाला लतिकको बकपत्र 

मिति २०६१।१०।१७ गते बेलुकी पख ५.०० बजेतिर प्रतिवादी टेकबहादुरले शोभनालाई गाउँकै ठाँटीमा लगेर जवरजस्ती करणी गरेछन् । मेरी छोरी लोरितालाई ठाँटीमा जाऊँ भन्दा रुँदै घरमा आएकी हो भन्ने समेत व्यहोराको मौकामा कागज गर्ने रमिला (नाम परिवर्तन) को बकपत्र 

मिति २०६१।१०।१७ गते बेलुकीतिर म र शोभना पत्याउला लिन भनी गएको बेलामा आज हाम्रो अगाडि बसेको मानिस टेकबहादुरले ए नानी हो, तिमीहरूलाई २०/२० रुपैया दिन्छु ठाँटीतिर हिँड है भनेकाले मलाई सो मानिसदेखि डर लागेकोले त्यहाँबाट भागेर घरतिर आएकी हुँ । साथी शोभनालाई त्यो मानिसले ठाँटीतिर लग्यो । सो कुरा मैले घर गाउँमा भनेपछि गाउँका मानिस आएर ठाँटीमा शोभनासँग बसेको बेलामा समातेका हुन् । ठाँटीमा शोभनालाई यो मानिसले नराम्रो काम गरेछ । शोभना रोइरहेको अवस्थामा गाउँका मानिसले घरमा ल्याएका हुन् भन्ने समेत व्यहोराको मौकामा बुझिएकी लोरिताको बकपत्र 

प्रतिवादीको बयान, पीडितको बकपत्र र स्वास्थ्य परीक्षण प्रतिवेदन एवं सम्मानीत सर्वच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेतका आधार प्रमाणहरूबाट यी प्रतिवादी टेकबहादुर क्षेत्रीले पीडित नावालिका शोभनालाई ललाई फकाई करणी गर्ने उद्देश्यले वारदातस्थलमा निजउपर गरेको आपराधिक कार्य मुलुकी ऐन जवर्जस्ती करणीको ५ नं. अन्तर्गत जवर्जस्ती करणीको उद्योग कसूर गरेको पुष्टि हुन आएकोले सो कसूर गरेमा निज प्रतिवादी टेकबहादुर क्षेत्रीलाई मुलुकी ऐन जवर्जस्ती करणीको महलको ५ नं. बमोजिम ६ वर्ष कैद हुने ठहर्छ । निज प्रतिवादीलाई सोही महलको ३(१) नं. बमोजिम सजाय गरी ऐ. महलको १० नं. बमोजिम गरिपाऊँ भन्ने हदसम्मको वादी श्री ५ को सरकारको अभियोग मागदावी पुग्न सक्दैन भन्ने समेत व्यहोराको स्याङ्गजा जिल्ला अदालतको मिति २०६२।३।३० को फैसला 

स्याङ्गजा जिल्ला अदालतको फैसलामा चित्त बुझेन । प्रतिवादीले पीडितको योनीद्वारमा आफ्नो उत्तेजित लिङ्ग लगी वीर्य स्खलन समेत गरेको तथ्य मिसिलबाट निर्विवाद रुपमा पुष्टि भएकोमा शुरु अदालतको फैसलामा योनीभित्र लिङ्ग प्रवेश नै नगरी वीर्य स्खलन भएको पीडित र प्रतिवादीबाट उल्लेख नै नभएको कथन प्रयोग गरी जवर्जस्ती करणीको उद्योग ठहर भएको छ । जवर्जस्ती करणीको कसूर हुन लिङ्ग पुरै प्रवेश हुन अनिवार्य होइन । पीडितको बकपत्रबाट प्रतिवादीले लिङ्ग आफ्नो योनीमा रगटेको भनेबाट लिङ्ग आंशिक प्रवेश भई वीर्य स्खलन भएको देखिन्छ । यसरी जवर्जस्ती करणीको पूर्ण काम गरेको पुष्टि हुँदाहुँदै जवर्जस्ती करणीको उद्योगको वारदात कायम हुने ठहर्‍याएको शुरु फैसला कानूनी एवं तथ्यगत आधारमा त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी शुरु अभियोग मागदावीबमोजिम प्रतिवादीलाई सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको तर्फबाट परेको पुनरावेदन पत्र 

प्रतिवादी तथा पीडितसमेतको बयान तथा बकपत्रबाट प्रतिवादीको लिङ्ग पीडितको योनीभित्र पसेको भन्ने देखिन आउँदैन । मौकामा भएको योनीसमेतको स्वास्थ्य जाँच प्रतिवेदनबाट योनीको कन्याजाली पर्दा नच्यातिएको, योनीबाट रगत नबगेको र योनीको बाहिरी भागमा सामान्य रातोपन देखिएको हुँदा करणी गर्ने प्रयासमात्र भएको भन्ने उल्लेख भै आएको देखिन्छ । प्रतिवादीको बयान, पीडितको बकपत्र एवं स्वास्थ्य परीक्षण प्रतिवेदनसमेतबाट पीडितको योनीमा लिङ्ग प्रवेश गराई नसकेको भन्ने तथ्य प्रमाणित भइरहेको र पीडितको योनी जाली पर्दाछेदन नभएको र पीडितको योनीमा प्रतिवादीको लिङ्ग प्रवेश नभएको अवस्थालाई जवर्जस्ती करणीको उद्योग (Attempt to rape) को वारदात कायम हुने गरी सम्मानीत सर्वच्च अदालतबाट वादी श्री ५ को सरकार विरुद्ध मोतिलाल तेली भएको जवरजस्ती करणी मुद्दामा (नेकाप २०४० पृष्ठ ६४२) सिद्धान्त समेत प्रतिपादन भै रहेको परिप्रेक्ष्यमा शुरु अदालतबाट यी प्रतिवादीले जवर्जस्ती करणीको उद्योग गरेको ठहर्‍याएको फैसलालाई अन्यथाको भन्न सकिने अवस्था   रहेन । अतः स्वास्थ्य परीक्षण प्रतिवेदन प्रतिवादीको बयान एवं पीडितको भनाई समेतबाट जवर्जस्ती करणीको उद्योगमा सजाय गर्ने गरेको स्याङ्गजा जिल्ला अदालतको मिति २०६२।३।३० को फैसला मनासिव देखिँदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पोखराको मिति २०६३।१।२० को   फैसला 

      प्रतिवादीको बयान तथा पीडितको वकपत्रसमेतका आधार प्रमाणहरूबाट लिङ्ग र योनीको सम्पर्क स्थापित भई प्रतिवादीले जुन उद्देश्यले पीडितसँग सम्पर्क राखेको हो, उक्त उद्देश्य पूरा भएको, प्रतिवादीको वीर्य पीडितको योनीमा स्खलन भएबाट प्रतिवादीले यौन सन्तुष्टि प्राप्त गरिसकेको अवस्थामा निजले पीडितलाई जवर्जस्ती करणी नगरेको भनी दावी परिवर्तन गरी भएको शुरु फैसला सदर गरेको पुनरावेदन अदालत पोखराको फैसला त्रुटिपूर्ण रहेको हुँदा मुद्दा दोहोर्‍याई हेरी पाउन निस्सा प्रदान भई उक्त फैसला उल्टी गरी अभियोग माग दावीबमोजिम सजाय गरी प्रतिवादीको आधा अंश सर्वस्व गरी पीडितलाई दिलाई भराई पाऊँ भन्ने समेत व्यहोराको वादी नेपाल सरकारका तर्फबाट परेको पुनरावेदन पत्र 

      यसमा पीडित भनिएकी शोभनाको शारीरिक परीक्षण प्रतिवेदनमा योनीको वरिपरिको छाला रातो देखिएको, लिङ्गको प्रवेश योनीको बाहिरी द्वारमा भई वीर्य स्खलन भएको भन्ने समेत निवेदन जिकीर रहेको पाइन्छ Modi को Medical Jurisprudence and Toxicology 21st edition को पेज ३६९ मा "To constitute the offence of rape it is necessary that there should be complete penetration of the penis with emission of semen and rupture of hymen partial penetration of the penis within the labia major or the vulva of pudenda with or without emission of semen or even and attempt at penetration quite sufficient for the purpose of the law" भन्ने उल्लेख भइरहेको देखिन्छ । यस्तो अवस्थामा अभियोग दावी परिवर्तन गरी जवर्जस्ती करणीको उद्योग ठहर गरेको पुनरावेदन अदालतको फैसलामा मुलुकी ऐन जवर्जस्ती करणीको महलको १ नं., ३(१) नं. ५ नं. को गम्भीर कानूनी त्रुटि विद्यमान रहेको देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) को आधारमा प्रस्तुत मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालतको संयुक्त इजलासबाट मिति २०६४।६।२३ मा भएको  आदेश 

      नियमबमोजिम पेशी सूचीमा चढी इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको सम्पूर्ण मिसिल अध्ययन गरी पुनरावेदक/वादी नेपाल सरकारका तर्फबाट उपस्थित रहनु भएका विद्वान सहन्यायाधिवक्ता श्री ठोकप्रसाद शिवाकोटीले कसूर गरेको कुरामा प्रतिवादी समेत सावित भै योनीमा लिङ्ग दलेको भनी बयान गरेको अवस्था र पीडित व्यक्ति अत्यन्त कम उमेरकी नावालिका भएको कारणले गर्दा योनीमा लिङ्गको प्रवेशको संभावना नै नरहेको अवस्थामा जवर्जस्ती करणीको उद्योग भएको भनी भएको शुरु फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी अभियोग मागदावीअनुसार हुनुपर्छ भनी गर्नु भएको बहस समेत सुनियो 

      प्रस्तुत मुद्दामा विद्यमान रहेको तथ्यको विश्लेषण गर्दा मिति २०६१।१०।१७ गतेका दिन स्याङ्गजा जिल्ला, पुतलीबजार नगरपालिका वडा नं. १० सातुपसल ताताखोलास्थित सार्वजनिक ठाँटीमा टेकबहादुर क्षेत्रीले ८ वर्षकी शोभनालाई ललाई फकाई लगी जवर्जस्ती करणी गरेकाले पीडित रोइकराई गरेकोले थाहा पाई उक्त ठाँटीमा गई हेर्दा निज पीडितलाई रोइरहेको अवस्थामा फेला पारी त्यहीँ रहेका निज टेकबहादुरलाई समेत नियन्त्रणमा लिइएको भन्ने समेतको व्यहोरा उल्लेख गरी दिइएको जाहेरी दरखास्तबाट उठान भएको प्रस्तुत मुद्दामा प्रतिवादी टेकबहादुरले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानमा काम विशेषले पोखरा जान भनी हिँडेको अवस्थामा सातुपसल गाउँ नजिकै एकान्त स्थानमा २ जना केटीलाई डोको बोकी हिँडिरहेको देखी आफूलाई करणी गर्न मन लागेकोले दुबै जनालाई फकाउँदा एक जना भागी गएकी र एक जना त्यहीँ उभिई रहेकीले पैसा दिन्छु, त्यो ठाँटीमा हिँड जाऊँ भनी फकाई ठाँटीतर्फ लगी निजलाई ठाँटीमा चढाई सुरुवाल खोल्न लगाई सुताई आफ्नो लिङ्ग निजको योनीको बीच भागमा दल्दादल्दै लिङ्गबाट वीर्य स्खलन भयो, त्यसै वखत गाउँलेहरू आई पुगी मलाई कब्जामा लिएका हुन् भन्ने व्यहोरा उल्लेख गरेको देखिन्छ भने अदालतसमक्षको बयानमा समेत निज टेकबहादुर क्षेत्रीले सोही व्यहोरा दोहोर्‍याएका छन् । पीडित शोभनाले आफ्ना बाबुको रोहवरमा गरिदिएको कागजमा पनि निज टेकबहादुरले आफूलाई बीस रुपैया दिन्छु भनी ललाई फकाई ठाँटीमा लगी सुरुवाल खोल्न लगाई निजले समेत पाइन्ट खोली निजको पिसाव गर्ने चीज आफ्नो पिसाव गर्ने चीजमा दल्दा आफूलाई बेस्सरी दुखेको, रोइ कराई गर्दा पनि निजले नछाडेका र केही वेरमै निजको पिसाव गर्ने ठाउँबाट बाक्लो पानी जस्तो निस्क्यो भन्ने समेतको व्यहोरा लेखाइदिएको र अदालतसमक्ष आइगरेको वकपत्रमा पनि सोही व्यहोरा उल्लेख गरेको देखिन्छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण प्रतिवेदनमा hymen नच्यातिएको भनिए पनि योनी वरपर डाम रहेको र छाती र गाला समेतमा रातो पाइएको भन्ने उल्लेख  छ । घटना घट्नुअघि निज पीडित बालिकाको साथमा रहेकी वर्ष ८ की लोरिताले पनि आफूहरू सँगै रहेको समयमा टेकबहादुरले आफूहरूलाई पैसा दिन्छु ठाँटीमा जाऊँ भनी भन्दा आफू भागी गाउँमा आई जानकारी गराउँदा गाउँबाट सबै जना ठाँटीमा गई हेर्दा शोभना रोई रहेकी रहिछे भनी उल्लेख गरेकी छन् र अदालतमा आई वकपत्र गर्दासमेत त्यही कुरा उल्लेख गरेकी छन् । यसबाहेक मौकामा कागज गर्ने रमिलालगायतका व्यक्तिहरूले समेत उल्लिखित व्यहोराको समर्थनमा वकपत्र गरिदिएको देखिन्छ । शुरु अदालतले योनीमा लिङ्ग प्रवेश गराई नसकेको अवस्था समेतलाई आधार बनाई जवर्जस्ती करणीको उद्योगमा सजाय गरेको र पुनरावेदन अदालतबाट समेत सोही फैसलालाई सदर गरेको देखिन्छ । यसरी शुरु अदालतबाट भएको फैसला पुनरावेदन अदालतबाट समेत सदर भएको अवस्थामा वादी नेपाल सरकारकातर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्‍याई हेरी पाऊँ भनी निवेदन परेको र सो निवेदनमा यस अदालतको संयुक्त इजलासबाट मुद्दा दाहोर्‍याई हेर्ने निस्सा प्रदान भै प्रस्तुत मुद्दा यस इजलाससमक्ष पेश हुन आएको अवस्था छ 

      उल्लिखित तथ्य र यस अदालतले दोहोर्‍याई हेर्ने निस्सा प्रदान गर्दा लिइएको आधार समेतलाई दृष्टिगत गर्दा प्रस्तुत मुद्दामा मुख्य रुपमा जवर्जस्ती करणीको कसूर हुनका लागि योनीमा लिङ्ग प्रवेश हुनु नै अनिवार्य हुन्छ वा त्यसरी योनीभित्र लिङ्ग प्रवेश नगरेको अवस्थामा अन्य आधारमा पनि जवर्जस्ती करणी गरेको मानिन्छ  भन्ने प्रश्नको निरुपण गरेपछि मात्र पुनरावेदन अदालत पोखराको फैसला मिले नमिलेको के रहेछ  भन्ने सम्बन्धमा निर्णय दिनु पर्ने देखिन्छ 

      २.    निर्णयतर्फ विचार गर्दा प्रस्तुत मुद्दामा जवर्जस्ती करणीको कसूर हुनका लागि योनीमा लिङ्ग प्रवेश हुनु नै अनिवार्य हुन्छ वा त्यसरी योनीभित्र लिङ्ग प्रवेश नगरेको अवस्थामा अन्य आधारमा पनि जवर्जस्ती करणी गरेको मानिन्छ  भन्ने प्रश्न सर्वाधिक महत्वपूर्ण रहेको  छ । सो प्रश्नमा प्रवेश गर्नुअघि अपराधका चरणहरूबारे बुझ्नु जरुरी देखिन्छ । अपराधका विभिन्न चरणहरू हुन्छन्, अर्थात् कुनै पनि अपराध हुन मनसाय (Intention), तयारी (Preperation), उद्योग (Attempt) र अपराधले पूर्णता पाउने अवस्था (Commission) को विद्यमानता रहेको हुन्छ । यी चरणहरूमध्ये मनसाय र तयारीको चरणसम्ममा कुनै पनि अपराध हुन लागेको भन्ने जानकारी सामान्यतया त्यसमा संलग्न व्यक्तिबाहेक अरुलाई नहुन सक्छ र त्यसले अरु पक्षलाई असर पुगेकोसमेत हुँदैन । तर, जव ती दुई चरण पार गरेर सम्बन्धित अपराधलाई पूर्णता दिनका लागि उद्योगको चरण प्रारम्भ हुन्छ, त्यसमा अर्को पक्षलाई असर पार्ने क्रिया पनि सँगसँगै प्रारम्भ हुन्छ र उद्योगको चरणमा सफलता पाउनु भनेको नै अपराधले पूर्णता पाउनु हो । उद्योगलाई परिभाषित गर्दै Black's Law Dictionary मा भनिएको An effort or endeavor to accomplish a crime, amounting to more than mere preparation or planning for it, which, if not prevented, would have resulted in the full consummation of the act attempted. (Black's Law Dictionary, Fifth Edition, 1979) यस आधारमा हेर्दा पनि अपराध गर्ने मनसायसहित गरिएको त्यस्तो कार्य, जसमा वाह्य हस्तक्षेप भएन भने सम्बन्धित अपराधले पूर्णता पाउँछ, त्यस्तो कार्यलाई नै अपराधमा उद्योग मानिन्छ । अब अपराधका चरणहरू सम्बन्धी यो मान्यतालाई प्रस्तुत मुद्दाको तथ्यसँग दाँजेर हेरौं । प्रस्तुत मुद्दामा प्रतिवादी टेकबहादुर क्षेत्रीले आफू पोखरा जान हिँडिरहेको अवस्थामा एकान्त ठाउँमा दुईजना बालिकाहरू डोको बोकी हिँडिरहेको अवस्थामा भेट्दा करणी गर्ने इच्छा जागृत भएको भन्ने कुरा खुलाएका छन्, त्यो अवस्था नै मनसायको चरण हो । त्यसपछि उनले आफ्नो इच्छा पूर्तिका लागि ती बालिकाहरूलाई पैसा दिएर फकाउन खोज्दा एकजना भागेकी र अर्की त्यहीँ उभिइरहेकीले ललाई फकाई ठाँटीतर्फ लिइगएको भन्ने देखिन्छ, यो चरण भनेको स्वाभाविक रुपमा तयारीको चरण हो । त्यसपछि बालिकालाई ठाँटीमा उकालेर राख्ने र आफू पनि उक्लने, बालिकाको सुरुवाल खोल्न लगाई आफ्नो समेत पाइण्ट र कट्टु खोली बालिकालाई सुताउनेसम्मको क्रियाले उद्योगको प्रतिनिधित्व गर्दछ । त्यसपछि पनि निजले आफूलाई अगाडि बढाएका छन् र बालिकाको छाती समात्ने, गालामा चुम्वन गर्ने, आफ्नो उत्तेजित लिङ्गलाई बालिकाको योनीको बीच भागमा दल्ने क्रिया गरेका छन् र त्यसरी योनीमा लिङ्ग दल्दादल्दै वीर्य स्खलन भएको र बालिका पीडाले चिच्याउँदा गाउँलेहरूले थाहा पाई आफूलाई कब्जामा लिइएको भन्ने निज स्वयंको स्वीकारोक्ति रहेको  छ । पछिल्लो क्रियामा निज टेकबहादुरले प्रारम्भमा राखेको करणी गर्ने इच्छा वा निजको मनसायले पूर्णता प्राप्त गरेको हुँदा त्यस क्रियालाई अपराधले पूर्णता पाएको अवस्था अर्थात् Commission of the Crime का रुपमा लिनु पर्ने हुन्छ 

      ३.    अब, प्रस्तुत विवादको तथ्यलाई व्यवहारिक आधारमा विश्लेषण गर्ने हो भने प्रतिवादी टेकबहादुरले पीडित बालिकाको सुरुवाल खोली आफ्नो लिङ्गलाई बालिकाको योनीको बीच भागमा दलेको भन्ने तथ्यमा विवाद देखिँदैन । त्यसरी योनीको बीच भागमा दल्नुको अर्थ लिङ्गलाई योनीभित्र प्रवेश गराउने प्रयास गरेको भन्ने नै हुन्छ । तर, बालिका अत्यन्त कम उमेरकी भएकाले निज बालिकासमेत उत्तेजित हुने र उत्तेजित लिङ्ग निजको योनीभित्र प्रवेश गर्नसक्ने कुराको कल्पना पनि गर्न सकिँदैन । तसर्थ प्रतिवादीले जवर्जस्ती करणीका लागि सम्पूर्ण प्रयास गरेको, त्यसमा कहीँ कतैबाट हस्तक्षेप समेत नभएको, तर बालिकाको उमेर अत्यन्त कम भएकै कारणले मात्र योनीभित्र लिङ्ग प्रवेश नगरेको अवस्थालाई अपराधको गम्भीरता घटाउने आधार बनाउन मिल्दैन । अन्य अपराधभन्दा करणी सम्बन्धी अपराधको प्रकृति केही फरक पनि हुन्छ । करणी गर्नु भनेको योनीभित्र लिङ्ग प्रवेश गरेको अवस्थालाई मान्दा यो अवस्था दुबै पक्षको सहयोगमा मात्र संभव हुन्छ । एउटा पक्ष पूरै असहयोगी बन्दा यो क्रिया सामान्यतया संभव हुँदैन । यसरी उमेर पुगेकी स्वास्नी मानिसमाथि जवर्जस्ती करणीको प्रयास हुँदा निजले बाधा बिरोध र असहयोग गर्ने कारणबाट र कम उमेरकी बालिकामाथि जवर्जस्तीको प्रयास हुँदा निजको यौनाङ्ग विकसित भैनसकेको कारणबाट लिङ्ग प्रवेशको संभावना न्यून हुनु अत्यन्त स्वाभाविक मानिन्छ । यस किसिमको स्वाभाविक अवस्थालाई प्रतिवादीको पक्षमा व्याख्या गर्दा त्यसले अपराधवृत्तिलाई प्रोत्साहित मात्र गर्दैन, त्यसले अपराधको गम्भीरतालाई समेत उपेक्षा गर्दछ । किनभने योनीभित्र लिङ्ग प्रवेश नभएको कारणले मात्र पीडित पक्षले कम पीडा भोग्नु परेको वा निजको सामाजिक इज्जत प्रतिष्ठा वा निजको मानसिक स्वास्थ्यमा कम असर परेको अवस्था हुँदैन भन्ने यथार्थलाई बुझ्न नसक्नु भनेको करणीसम्बन्धी अपराधको गम्भीरता र त्यसको प्रभावलाई बुझ्न नसक्नु हो 

      ४.    अब, जवर्जस्ती करणीसम्बन्धी विधिशास्त्रीय दृष्टिकोणलाई हेर्दा, Modi को भनाईमा  "To constitute the offence of rape, it is not necessary that there should be complete penetration of the penis with the emission of semen and the rupture of hymen. Partial penetration of the penis within the labia majora or the vulva or pudenda with or without the emission of semen, or even and attempt at penetration is quite sufficient for the purpose of the law" भन्ने उल्लेख भइरहेको (Modi's Medical Jurisprudence and Toxicology, 23rd edition, p. 897) देखिन्छ । यसले पनि जवर्जस्ती करणी हुनका लागि योनीभित्र लिङ्ग पसेकै हुनुपर्ने नभै लिङ्ग पसाउने प्रयाससम्म गरेकोलाई समेत जवर्जस्ती करणीको परिभाषाभित्र समेटेको देखिन्छ । प्रस्तुत मुद्दामा प्रतिवादीलाई निजको लिङ्ग पीडित बालिकाको योनीभित्र प्रवेश नगरेको भन्ने मात्र आधारमा निजको क्रियालाई जवर्जस्ती करणीको उद्योगको परिभाषाभित्र पार्ने हो भने कुनै पनि बालिकाका विरुद्धमा हुने यस खालका अमानवीय कार्यहरूले छुट पाउने अवस्थाको सिर्जना हुन जान्छ । कुनै पनि फौजदारी कसूर हुनका लागि आपराधिक कार्य (Actus reus) र आपराधिक मष्तिष्क (Mens rea) दुबैको विद्यमानता हुनुपर्ने भन्ने मान्यता रहेको छ । प्रस्तुत मुद्दाका प्रतिवादी टेकबहादुरले एकान्त ठाउँमा बालिकालाई देखेपछि आफूमा करणी गर्ने इच्छा जागेको भनी व्यक्त गरेको भनाइले नै निजमा आपराधिक मष्तिष्कको विद्यमानता रहेको कुरामा विवाद हुन सक्दैन । अब निजले आफूमा जागृत भएको आपराधिक मष्तिष्कका आधारमा आफूलाई आपराधिक कार्यतर्फ डोहोर्‍याए वा डोहोर्‍याएनन् भन्ने कुरा पनि महत्वपूर्ण हुन आउँछ । निजले आफ्नो त्यही इच्छाको पूर्तिका लागि बालिकालाई पैसाको लोभ देखाई ठाँटीभित्र लगी बालिकाले लगाएको सुरुवाल फुकालेर आफ्नो लिङ्ग पीडित बालिकाको योनीभित्र प्रवेश गराउनकै लागि योनीको बीच भागमा दलेको देखिन्छ । त्यसै सिलसिलामा बालिकाको छाती समाउने, गालामा टोक्ने र म्वाई खाने समेतको क्रिया गरेको कुरालाई पनि निज स्वयंले नै स्वीकार गरेको अवस्था छ । यसरी निजले बालिकालाई करणी गर्नका लागि सम्पूर्ण प्रयास गरेको भन्ने स्पष्ट हुन्छ । ती सबै प्रयासका बाबजूद पनि बालिकाको उमेर अत्यन्त कम भएकै कारणले गर्दा बालिकाको योनीभित्र निजको लिङ्ग प्रवेश नगरेकै आधारमा निजको क्रियालाई जवर्जस्ती करणीको उद्योगका रुपमा मात्र सीमित गराउन मिल्ने अवस्था हुँदैन 

      ५.    यससम्बन्धी कानूनी व्यवस्थालाई हेर्दा घटना भएको मितिमा वहाल रहेको जवर्जस्ती करणीको १ नं. मा कन्या, विधवा वा अर्काकी सधवा स्वास्नी मानिसमा सोह्र वर्ष मुनिकीलाई उसको मञ्जूरी लिई वा नलिई जुनसुकै व्यहोराले करणी गरे पनि र सोह्र वर्ष नाघेकीको राजीखुशीबिना बेमञ्जूरीले जुनसुकै तरहसँग भए पनि जोरजुलुम गरी वा डर धाक देखाई वा अनुचित प्रभावमा पारी करणी गरेको समेत जवर्जस्ती करणी ठहर्छ भन्ने व्यवस्था रहेको देखिन्छ । सो कानूनी व्यवस्थामा कस्तो अवस्थामा करणी भएको मानिने हो भन्ने सम्बन्धमा स्पष्टता देखिँदैन । त्यस किसिमको अस्पष्टतालाई पछिल्लो समयमा आएर स्पष्ट तुल्याइएको छ । हाल विद्यमान रहेको उक्त १ नं. मा कसैले कुनै महिलालाई निजको मञ्जूरी नलिई करणी गरेमा वा सोह्र वर्षभन्दा कम उमेरकी बालिकालाई निजको मञ्जूरी लिई वा नलिई करणी गरेमा निजले जवर्जस्ती करणी गरेको ठहर्छ भनिएको छ । त्यसै सन्दर्भमा योनीमा लिङ्ग केही मात्र प्रवेश भएको रहेछ भने पनि ... करणी गरेको मानिनेछ भन्ने सोही १ नं. को स्पष्टीकरण खण्ड (ग) को व्यवस्थाले योनीमा लिङ्ग पूरै प्रवेश भएको हुनुपर्ने जवर्जस्ती करणीसम्बन्धी पुरातन मान्यतालाई अस्वीकार गरेको छ । लैङ्गिक समानता कायम गर्न केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०६३ द्वारा संशोधित भै कायम हुन आएको यो व्यवस्थाले यससम्बन्धी विकसित अन्तर्राष्ट्रिय मान्यता र जवर्जस्ती करणीसम्बन्धी अपराधको गम्भिरतालाई सम्वोधन गरेको छ 

      ६.    तसर्थ जवर्जस्ती करणी सम्बन्धी विधिशास्त्रीय मान्यता र यस सम्बन्धमा नेपाल कानूनमा भएको पछिल्लो विकासले पनि जवर्जस्ती करणी हुनका लागि योनीमा लिङ्ग पूरै प्रवेश भएको हुनु नपर्ने देखिन्छ । त्यसमा पनि अत्यन्त कम उमेरकी बालिकामाथि भएको यस किसिमको जघन्य अपराधमा योनीमा लिङ्ग पूरै प्रवेश नभएको भन्ने कुरालाई मात्र आधार बनाएर बालिकामाथि भएको जवर्जस्ती करणीलाई जवर्जस्ती करणीको उद्योगका रुपमा परिभाषित गर्नु न्यायोचित हुँदैन । यस सम्बन्धमा यसै अदालतबाट अबोध अवस्थाकी बालिकालाई आफ्नो लिङ्ग चलाउन लगाउने र निजको योनीद्वारासम्म लिङ्ग पुर्‍याई वीर्य स्खलन गराई आफ्नो सन्तुष्टि लिने कार्यलाई केबल करणीको उद्योग मात्र हो भनी व्याख्या गर्नु जवर्जस्ती करणीसम्बन्धी कानूनी व्यवस्थाको भावना अनुकूल पनि हुँदैन । योनीमा लिङ्ग प्रवेश नगरेसम्म जवर्जस्ती करणीको कसूर हुँदैन भनी सबै अवस्थामा व्याख्या गर्ने हो भने शारीरिक रुपमा कमजोर महिलामाथि हुने यौनजन्य अपराधबाट प्रतिवादीले उन्मुक्ति पाउने अवस्था आउन सक्छ भनी सिद्धान्त कायम भएको (नेकाप २०६३, अङ्क २, नि.नं. ७६५२, पृ. २३२) परिप्रेक्ष्यमा सोसँग असहमत हुनुपर्ने अवस्था पनि नरहेको हुँदा पीडितको योनीमा प्रतिवादीको लिङ्ग प्रवेश नभएको भन्ने मात्र आधारमा प्रतिवादीले जवर्जस्ती करणीको उद्योग गरेको ठहर्‍याएको शुरु स्याङ्गजा जिल्ला अदालतको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत पोखराको मिति २०६३।१।२० को फैसला मिलेको नदेखिँदा उल्टी हुने ठहर्छ । माथि गरिएको विश्लेषण समेतबाट प्रतिवादी टेकबहादुर क्षेत्रीले बालिका शोभनालाई जवर्जस्ती करणीको कसूर गरेको देखिएकोले निज प्रतिवादीलाई मुलुकी ऐन, जवर्जस्ती करणीको महलको ३(१) नं. बमोजिम १५ वर्ष कैद हुने र ऐ. महलको १० नं. बमोजिम प्रतिवादीले पाउने अंशको आधा अंश क्षतिपूर्तिस्वरुप पीडित शोभनाले पाउने ठहर्छ । अरुमा तपसिलबमोजिम गर्नु 

तपसिल

माथि इन्साफ खण्डमा लेखिएबमोजिम जवर्जस्ती करणीको उद्योग गरेको ठहर गरेको स्याङ्गजा जिल्ला अदालतको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत पोखराको फैसला उल्टी भई प्रतिवादी टेकबहादुर क्षेत्रीलाई मुलुकी ऐन, जवर्जस्ती करणीको ३(१) नं. बमोजिम १५ वर्ष कैद हुने ठहरी फैसला भएकाले निज मिति २०६१।१०।१८ देखि हालसम्म प्रहरी हिरासत तथा थुनामा रहेको भन्ने मिसिलबाट देखिएको हुँदा प्रहरी हिरासतमा रहेको सो मिति २०६१।१०।१८ देखि १५ वर्षको कैद सजाय कायम गरी लगत कसी सम्बन्धित कारागारमार्फत प्रतिवादीलाई जानकारी दिनु भनी स्याङ्गजा जिल्ला अदालतमा लेखी पठाई दिनू ....१

जवर्जस्ती करणीको महलको १० नं. बमोजिम प्रतिवादीले पाउने अंशको आधा अंश पीडित शोभनाले पाउने ठहरेको हुँदा प्रतिवादी टेकबहादुर क्षेत्रीको आधा अंश सर्वस्व गरी कुनै दस्तूर नलिई पीडित शोभनालाई क्षतिपूर्ति स्वरुप दिलाई भराई दिनु भनी स्याङ्गजा जिल्ला अदालतमा लेखी पठाई दिनू .... २

फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिनू....३

प्रस्तुत मुद्दाको दायरीको लगत कटृा गरी मिसिल नियमानुसार गरी बुझाईदिनू............ ४

 

उक्त रायमा म सहमत छु 

 

न्या.कल्याण श्रेष्ठ

 

इति सवंत् २०६६ साल असार २ गते रोज ३ शुमभ्

इजलास अधिकृतः उमेश कोइराला

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु