निर्णय नं. ८०७० - कीर्ते जालसाजी ।

निर्णय नं. ८०७०, जेठ २०६६ अङ्क २
सर्वोच्च अदालत, पूर्ण इजलास
माननीय न्यायाधीश श्री खिलराज रेग्मी
माननीय न्यायाधीश श्री बलराम के.सी.
माननीय न्यायाधीश श्री तपबहादुर मगर
फौ.पु.इ.नं. –२२, २३, २४, २५ र २६
फैसला मितिः २०६५।११।२२।५
मुद्दा : कीर्ते जालसाजी ।
पुनरावेदक प्रतिवादीः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २० बस्ने पुष्परत्न भन्ने आश्विनकुमार स्थापित
विरुद्ध
प्रत्यर्थी वादीः पुष्परत्न भन्ने आश्विनकुमार स्थापितको जाहेरीले नेपाल सरकार
पुनरावेदक प्रतिवादीः ओखलढुंगा जिल्ला सिंहदेवी गा.वि.स.वडा नं. ९ घर भै हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.३४ वानेश्वर बस्ने वर्ष ३५ को नानीबाबु बुढाथोकी
विरुद्ध
प्रत्यर्थी/वादीः पुष्परत्न भन्ने आश्विनकुमार स्थापितको जाहेरीले नेपाल सरकार
पुनरावेदक/प्रतिवादीः काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ३ महाराजगञ्ज बस्ने रामकृष्ण पाठक
विरुद्ध
प्रत्यर्थी/वादीः पुष्परत्न भन्ने आश्विनकुमार स्थापितको जाहेरीले नेपाल सरकार
पुनरावेदक/प्रतिवादीः उदयपुर जिल्ला आँपटार गा.वि.स.वडा नं. ८ घर भै हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ९ रातोपुल बस्ने हरिबहादुर राउत
विरुद्ध
प्रत्यर्थी/वादीः पुष्परत्न भन्ने आश्विनकुमार स्थापितको जाहेरीले नेपाल सरकार
पुनरावेदक/वादीः पुष्परत्न भन्ने आश्विनकुमार स्थापितको जाहेरीले नेपाल सरकार
विरुद्ध
प्रत्यर्थी/प्रतिवादीः काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका चिकमुँगल बस्ने पुष्परत्न भन्ने आश्विनकुमार स्थापित समेत
शुरु फैसला गर्नेः
मा.जि.न्या.श्री एकराज आचार्य
पुनरावेदन फैसला गर्नेः
मा.न्या.श्री कोमलनाथ शर्मा
मा.न्या.श्री खेमराज शर्मा
संयुक्त इजलासः
मा.न्या.श्री दीलिपकुमार पौडेल,
मा.न्या.श्री राजेन्द्रकुमार भण्डारी
§ अन्य मुद्दासँग नजोडिएको अवस्थामा जालसाजी मुद्दालाई जहिले पनि व्यक्तिवादी फौजदारी मुद्दाका रुपमा मान्यता दिइएको अवस्था हुँदा त्यस्तो जालसाजी मुद्दालाई सरकारी मुद्दा सम्बन्धी ऐनको अुनसूची– १ का आधारमा भनी सरकार वादी भै चलाउन सक्ने अवस्था नदेखिने ।
(प्रकरण नं.४)
§ अ.बं ८२ नं. ले सरकार वादी हुने मुद्दा र घूस खाने, माग्ने सरकारी कर्मचारीकै हस्ताक्षरको लिखितको सबूद लिई नालिस गरेको घूस मुद्दामा जोसुकैले नालिस गरे पनि हुने र अन्य मुद्दामा हकदैयाविहीन व्यक्तिले दिएको नालिस लाग्न नसक्ने कानूनी व्यवस्थाले हकदैयाविहीन नालिसले मुद्दाको स्वरुप नै ग्रहण गर्न नसक्ने भन्ने देखिन्छ । हकदैया भनेको कुनै पनि विवादको न्यायिक निरुपणका लागि अदालतमा प्रवेश गराउने आधार हो । हकदैया सम्बन्धी सिद्धान्तले एकाको हकमा अर्काले नालिस वा उजूर गर्न अनुमति प्रदान नगर्ने ।
§ जसको हक पुग्ने हो उसले बाहेक अन्य व्यक्ति वा निकायले मुद्दा दायर गर्न सक्ने अवस्था नहुने हुदाँ त्यसरी हक पुग्ने बाहेक अन्य व्यक्ति वा निकायले दायर गरेको मुद्दा अ.वं. ८२ नं. का आधारमा खारेज हुने ।
(प्रकरण नं.५)
पुनरावेदक वादीतर्फवाटः विद्वान सहन्यायाधिवक्ता श्री ठोकप्रसाद शिवाकोटी
पुनरावेदक प्रतिवादीकातर्फबाटः विद्वान वरिष्ठ अधिवक्ताद्वय श्री सर्वज्ञरत्न तुलाधर र श्री हरिहर दाहाल तथा विद्वान अधिवक्ताहरू श्री लभकुमार मैनाली, श्री गीता पाठक, सँग्रौला, श्री विश्वप्रकाश भण्डारी, श्री हिरा रेग्मी र श्री सन्तकुमार वास्कोटा
अवलम्वित नजीरः
सम्बद्ध कानूनः
§ मुलुकी ऐन, अ.बं. ८२ नं.र ९ नं.
§ सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को अनुसूची १, २, अनुसूची १ को देहाय ३, अनुसूची १ को देहाय १९
§ कीर्ते कागजको महलको १ नं., ७ नं. र ११ नं.
फैसला
न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत पाटनबाट भएको मिति २०५४।३।२५ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम वादी/प्रतिवादी दुबैतर्फको पुनरावेदन परी पेश हुँदा संयुक्त इजलासका माननीय न्यायाधीशहरूका बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१) बमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :-
मेरी सानीआमा नानीशोभाको कोही नभएको र निज एक्ली भएका कारण मैले हेरचाह गरी आएकोमा काठमाडौं महानगरपालिका वडा नं. २२ का वडा अध्यक्ष मणिरत्न स्थापितले मिति २०४९।९।२७ गतेका दिन तिम्री सानीआमा २,३ दिनदेखि देखिएकी छैनन् र हराइछन् भनी भनेकीले निज बस्ने टेबहाल स्थित निजको घरमा गै हेर्दा घरको छिंडिको कोठामा प्वाल पारिएको, दोश्रो तल्लाको कोठामा कागजपत्रहरू लथालिङ्ग भएको, तेश्रो तल्लाको कोठामा सानीआमाको मुखमा रुमाल कोचिएको, हात खुट्टा वाँधिएको र मृत अवस्थामा रहेको, बाकस खुला रहेको हुँदा निज नानी शोभालाई कर्तव्य गरी मारेछन्, कानूनबमोजिम सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको आश्विनकुमारको जाहेरी ।
दक्षिणतर्फ संकटा मन्दिरको कम्पाउण्ड, उत्तरतर्फ मृतकको घर, पूर्वतर्फ कमल चित्रकारको घर, पश्चिमतर्फ चतुररत्नको घर यति ४ किल्ला भित्र पर्ने काठमाडौं जिल्ला टेवहाल स्थित नानीशोभा उदासको घर रहेको । उक्त घरको भुईं तल्लाको पश्चिमतर्फको कोठाको पूर्वपट्टीको गाह्रोमा २ फिट परिधिको प्वाल पारेको र माथिल्लो तल्लामा आई हेर्दा झ्याल खुला रहेको, ओछ्यान लथालिङ्ग भएको, सो स्थानमा नानीशोभा मृतक अवस्थामा रहेको, टिनको वाक्सा खुला अवस्थामा रहेको, पूजा गर्ने ठाउँमा मूर्ति नभएको, दुवै गोडाको पिँडौलामा सेतो कपडाले वाँधेको, सोही कपडाले दुवै हात पछाडि लगी वाँधिएको, लास घोप्टो रहेको भन्ने समेत व्यहोराको घटनास्थल प्रकृति मुचुल्का ।
नानीशोभालाई कर्तव्य गरी मारेको कर्तव्य ज्यान मुद्दामा जाहेरवाला आश्विन कुमार स्थापितलाई पक्राउ गरी दाखिल गरेको भन्ने प्रहरी प्रतिवेदन ।
मेरो सानीआमा नानीशोभा उदासको पिता हिराकाजी सिक्राकारको ७ वर्ष पहिले नै मृत्यु भएको र निज आफ्नो पतिसँग सम्बन्ध विच्छेद गरी एक्लै भएकीले मैले बेला बेलामा हेरचाह गरी आएको थिएँ । निजका हकदार अन्य कोही नभएकोले हरिबहादुर राउतको फर्मबाट काठमाडौं जिल्ला धापासी वडा नं. ८ (ख) कि.नं. ३४ समेतको करिव ६ रोपनी जग्गा मेरो नाउँमा नामसारी गर्न काम गर्दै थिएँ । यता सोही जग्गाको सम्बन्धमा नक्कली हिराकाजी सिक्राकार खडा गरी हिराकाजी सिक्राकार, रामकृष्ण पाठक, नानीबाबु बुढाथोकी समेतले सोही जग्गाको लालपूर्जाको प्रतिलिपि निकाल्ने काम मालपोत कार्यालयबाट भएको रहेछ । सो कुरा थाहा पाई सो सम्बन्धमा सोधपुछ गर्दा सो जग्गा हिराकाजी सिक्राकार (नक्कली हिराकाजी) को हो, तिमीले पाउनका लागि अड्डाबाट निर्णय हुनुपर्छ भनी रामकृष्ण पाठक समेतले भनेका र नानीबाबुले सो जग्गाको हकदावी छाडी देउ, मिलापत्र गरौं सो बापत तिमीलाई ३,००,०००।– (तीनलाख) दिन्छु भनेकाले मृतक हिराकाजीका नामको उक्त जग्गा नक्कली हिराकाजी कै हो भनी हकदावी छाडी दिएँ । सो बापत राजन वास्तोलाबाट रु.१,००,०००।– (एकलाख), हरिबहादुर राउतबाट रु.४७,५००।–, नानीबाबु बुढाथोकी र रामकृष्ण पाठकबाट रु.१,००,०००।– (एकलाख) लिएको हो भन्ने समेत व्यहोराको आश्विन कुमार स्थापितले मौकामा गरेको बयान ।
२०४२ सालमा परिचय लेखापढी सेन्टर खोली बसेकोमा नानीबाबु बुढाथोकीले समेत सोही सेन्टरमा काम गर्दै आएका थिए । पछि नानीबाबु बुढाथोकी र रामकृष्ण पाठकले छुट्टै संयुक्त फर्म खोलेर बसे । २ वर्ष अगाडि काठमाडौं जिल्ला धापासीको करिव ६ रोपनी जग्गा हिराकाजी सिक्राकारको नामबाट आश्विनकुमारको नाउँमा नामसारी गर्ने कार्य सोही फर्मबाट गर्नलाग्दा सोही जग्गाको सम्बन्धमा नक्कली हिराकाजी खडा गरी मालपोत कार्यालयबाट लालपूर्जा लिने कार्य भएको भन्ने थाहापाई बुझ्दा सो जग्गामा कीर्ते कार्य गर्ने काम नानीबाबु बुढाथोकी लगायतका मानिसबाट भएकोले सबै मिली सो जग्गामा आश्विनकुमारले हक दावी छाड्ने, सो बाट आएको रकम वाँडफाँड गरी लिने कुरा भएपछि उक्त जग्गा हिराकाजी सिक्राकारले मेरो मानिस राजन कुमार वास्तोलालाई बकसपत्र गरी दिएका हुन्, सो बापत आश्विनकुमारलाई रु.४७,५००।– दिएको हो भन्ने समेत व्यहोराको हरिबहादुर राउतको मौकामा भएको बयान ।
नक्कली हिराकाजी खडागरी जग्गा नामसारी गर्ने कार्यमा मैले सहयोग गरे बापत रु.१२,०००।– रामकृष्ण पाठकबाट लिएको हुँ भन्ने समेत व्यहोराको ज्ञानकाजी सिक्राकारको मौकामा भएको बयान ।
मिति २०४२।५।८ मा हिराकाजी सिक्राकार (उदास) को मृत्यु भएपछि ज्ञानकाजी मेरो घरमा आई मृतक हिराकाजी र तिम्रो नाम ठेगाना मिल्ने भएकोले मृतक हिराकाजीको नाममा रहेको काठमाडौं जिल्ला धापासीको करिव ६ रोपनी जग्गा कीर्ते गरी तपाईको नाउँमा लालपूर्जा उतारगरी बिक्री गरौं भनेकोले सो कार्यमा रामकृष्ण पाठक समेत भै मालपोत कार्यालयमा निवेदन दिई मेरो नाउँमा आएको उक्त जग्गा छुनुमैया, राजन कुमार, नानीमैया बुढाथोकी, राधिका ठकुरी समेतलाई संयुक्त रुपमा बकस गरी दिएको छु, सो बापत रामकृष्ण पाठकले मलाई रु.२०,०००।– (वीस हजार) दिएका हुन् भन्ने समेत व्यहोराको हिराकाजीको मौकामा भएको बयान ।
नक्कली हिराकाजी सिक्राकार खडा गरी मृतक हिराकाजीको नाउँको जग्गा नानी मैया बुढाथोकी समेतलाई बकसपत्र गरी दिने कार्य म समेतबाट भएको हो र सो बापत ज्ञानकाजी र हिराकाजीलाई क्रमशः रु.१२,०००।– र रु.२०,०००।– दिएको हुँ भन्ने समेत व्यहोराको रामकृष्ण पाठको प्रहरीमा भएको बयान ।
अभिकर्ताको प्रमाणपत्र प्राप्त गरी डिल्ली बजारमा परिचित ल फर्म सञ्चालन गरी आएकोमा करिव ३ वर्ष अगाडि रामकृष्ण पाठकले हिराकाजीलाई फर्ममा ल्याई उक्त धापासीको जग्गा कीर्ते गर्ने कार्य लेखिएको र सोही जग्गाको सम्बन्धमा हरिबहादुर राउतले आश्विन कुमारको नाउँमा नामसारीको लागि कार्य गरेको थाहा भै सो कार्य रोकी निज आश्विन कुमारसँग मिलापत्र गरी सो बापत एकमुष्ट रु.३,००,०००।– (तीनलाख) निजलाई दिई सो जग्गा मेरो श्रीमती नानीमैया बुढाथोकीका नाउँमा नामसारी गरी दिएका हुन् भन्ने समेत व्यहोराको नानीबाबु बुढाथोकीको मौकाको कागज ।
पुष्परत्न भन्ने आश्विनकुमार स्थापित, रामकृष्ण पाठक समेतले नानीशोभाको मृतक पिताको नामको जग्गा कीर्ते गरी नामसारी भएको कार्य नानी शोभाले थाहा पाई उजूर गर्लिन् भन्ने डरले निजलाई मिति २०४९।९।२५ गते राती कर्तव्य गरी मारेको हो भन्ने सम्बन्धमा आश्विन कुमार स्थापित समेत जना ७ लाई पक्राउ गरेको भन्ने समेतको सर्जमिन मुचुल्का ।
काठमाडौं जिल्ला धापासी गा.वि.स.वडा नं. ८(ख) को हिराकाजी सिक्राकारको नाउँमा रहेको जग्गाको प्रति रोपनी रु., २,००,०००।– (दुईलाख) र जम्मा उक्त जग्गाको रु.१२,७५,०००।– पर्ने भन्ने व्यहोराको मालपोत कार्यालयको पत्र ।
मृतक हिराकाजी सिक्राकारको नाममा रहेको उक्त जग्गा आश्विन कुमार स्थापितले हरिबहादुर, नानीबाबु, रामकृष्ण पाठक समेतसँग रु.३,००,०००।– लिई आफ्नो हक दावी छाडी नक्कली हिराकाजीबाट श्रीमती नानी मैंया बुढाथोकी समेतका नाउँमा कीर्ते नामसारी गरेको भनी प्रष्ट हुन आएको र सो कार्यमा बालकृष्ण मल्लले पनि सिफारिस दिई सहयोग गरेकोले उक्त कार्य कीर्ते कागजको महलको १ नं. विपरीत ७ नं. र ११ नं.को कसूर अपराधगर्ने आश्विनकुमार स्थापित, हरिबहादुर राउत, रामकृष्ण पाठक, नानीबाबु बुढाथोकी, हिराकाजी सिक्राकार, ज्ञानकाजी सिक्राकार र बालकृष्ण मल्ललाई सोही महलको ७ नं. र ११ नं. अनुसार सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको अभियोगपत्र ।
सानीआमाको हकदार कोही नभएकोले निजका पिता हिराकाजीको नाउँबाट मैले मेरो नाउँमा उक्त जग्गा नामसारी गर्ने कार्य गर्दा नक्कली हिराकाजी खडागरी उक्त जग्गा नक्कली हिराकाजीको हो । सो जग्गा तिम्रो सानीआमा वा हिराकाजीको होइन । त्यसैले तिमीले आफ्नो हक दावी छाडीदेऊ भनी रामकृष्ण पाठकले भनेकाले मैले सो जग्गाको हकदावी छाडी दिएको हुँ । सो बापत कुनै रकम लिएको छैन भन्ने समेत व्यहोराको आश्विनकुमारको अदालतमा भएको बयान ।
हिराकाजीको जग्गाको लालपूर्जा हरायो भनेकाले नानीबाबु बुढाथोकीको फर्ममा सो को प्रतिलिपि लिन भनी पठाएको हुँ । सो जग्गा कसरी नामसारी गरे थाहा छैन भन्ने समेत व्यहोराको रामकृष्ण पाठकले अदालतमा गरेको बयान ।
उक्त जग्गा हिराकाजीको नाउँबाट मेरो नाउँमा नामसारी गर्नु पर्यो भनी आश्विनकुमार मेरो परिचित लेखापढी सेन्टरमा आएकाले सो जग्गाको नामसारी गर्न निवेदनसम्म गरेको हुँ । कीर्ते जालसाज हुने वा कुनै लाभ उठाउने कार्य गरेको होइन भन्ने समेत व्यहोराको हरिबहादुर राउतको अदालतमा भएको बयान ।
कुनै जालसाजी कीर्ते गरेको होइन । हिराकाजी र ज्ञानकाजी भै उक्त जग्गाको लालपूर्जा हरायो भनेकाले सो जग्गाको लालपूर्जाको प्रतिलिपि लिन निवेदनसम्म मेरो फर्मबाट लेखिएको हो र उक्त जग्गा मेरो श्रीमती नानीमैया बुढाथोकी समेतका नाममा पास गरी दिएकोसम्म हो । सो बापत रु.१,२५,०००।– हिराकाजी सिक्राकारलाई मेरो श्रीमतीले दिएकी हुन् भन्ने समेत व्यहोराको नानीबाबु बुढाथोकीको अदालतमा भएको बयान ।
उक्त जग्गाको सम्बन्धमा कुनै कीर्ते कार्य गरेको छैन । कसैलाई हालैको बकसपत्र गरी कुनै जग्गा दिएको पनि थाहा छैन । प्रहरीमा भएको कागज पनि स्वेच्छाले भएको होइन भन्ने समेत व्यहोराको हिराकाजी, ज्ञानकाजी सिक्राकारले अदालतमा गरेको बयान ।
सर्जमिन मुचुल्का र फिल्डबुकको फोटोकपीको आधारमा उक्त धापासीको जग्गा हिराकाजी सिक्राकारको हो भनी सिफारिस दिएको हो । हिराकाजी मरेको नमरेको थाहा भएन र मैले कुनै कीर्ते कार्य गरेको होइन भन्ने समेत व्यहोराको बालकृष्ण मल्लले अदालतमा गरेको बयान ।
निजहरूले कीर्ते जालसाज गरेको थाहा छैन । यस्तो गर्ने मानिस पनि होइनन् भन्ने समेत व्यहोराको प्रतिवादीहरूका साक्षीले अदालतमा गरेको बकपत्र ।
मिति २०४८।४।३० र मिति २०४८।५।२५ मा मालपोत कार्यालयमा दिएको निवेदनमा भएको सहिछाप ल्पाप्चे मेरो हो, दाजु ज्ञानकाजीले मुद्दा हाल्नु पर्यो भनेकाले विश्वासमा परी सो कार्य गरेको हुँ । मेरो कुनै जग्गा छैन । सो जग्गा सम्बन्धमा पनि कुनै थाहा छैन भन्ने समेत व्यहोराको हिराकाजी सिक्राकारले र मेरो दाजुसँगै यसै अदालतमा अंश मुद्दा दायर छ, उक्त मुद्दाको काममा रामकृष्ण पाठकलाई जिम्मा लगाएको थिए । सोही मुद्दामा साक्षी बस्नु पर्यो भनी सही गराएको हो । अरु थाहा भएन भन्ने समेत व्यहोराको ज्ञानकाजी सिक्राकारले अ.वं. ७८ नं. बमोजिम गरेको सनाखत ।
प्रहरीमा भएको कागज स्वेच्छाले गरेको होइन । धापासीको जग्गा पास गरी लिएको हो भन्ने नानीमैया बुढाथोकी, हिराकाजी सिक्राकारबाट जग्गा पासगरी लिएको हो भन्ने राधिका ठकुरी, मेरो राजीखुसिले उक्त जग्गा हालैको बकसपत्र गरी लिएको हो भन्ने व्यहोराको राजन कुमार वास्तोलाको अदालतमा भएको बकपत्र ।
मृतक नानीशोभाका पिता हिराकाजी सिक्राकारको नामको काठमाडौं जिल्ला धापासी गा.वि.स.वडा नं. ८ को जग्गालाई नक्कली हिराकाजी बनी बनाई मालपोत कार्यालयमा गैह्रकानूनी रुपमा दर्ता गरेको कुरामा संकलित सबूद प्रमाणबाट प्रमाणित हुन आयो । उक्त जग्गाको हकवालालाई कर्तव्य गरी मारेको र उक्त जग्गा श्रीमती छुनुमैया पाठक, नानीमैया बुढाथोकी, राजन कुमार वास्तोला र राधिका ठकुरीलाई संयुक्त रुपमा बकसपत्र समेत गरे गराएको देखिँदा प्रतिवादीहरूले अभियोग–पत्र बमोजिमको कसूर गरेको देखिन आयो । अतः प्रतिवादीहरू आश्विनकुमार स्थापित, हरिबहादुर राउत, ज्ञानकाजी सिक्राकार, हिराकाजी सिक्राकार, रामकृष्ण पाठक, नानीबाबु बुढाथोकीले कीर्ते कागजको १० नं. को कसूर गरी उक्त जग्गा कीर्ते दर्ता गरी कीर्ते मानिसबाट बिक्री बकसपत्र समेत गरेको ठहर्छ । प्रतिवादी बालकृष्ण मल्लको हकमा निजले गा.वि.स.को सचिवको हैसियतले सिफारिससम्म गरेको देखिँदा निजले सफाई पाउने ठहर्छ । अन्य प्रतिवादीका हकमा कीर्ते कागजको ७ नं. बमोजिम जनही रु.१२,७५,०००।– का दरले जरीवाना हुने ठहरी उक्त जग्गाको कीर्ते दर्ता समेत बदर भै निज मृतकको अपुताली खाने हकवाला कोही नहुँदा अपुतालीको १७ नं. बमोजिम सरकारको हुने ठहर्छ भन्ने समेत व्यहोराको काठमाडौं जिल्ला अदालतको मिति २०५१।११।२२ को फैसला ।
अभियोग–पत्रको उठानदेखि फैसलासम्मको अध्ययन गर्दा कीर्ते जालसाजीको जरियाबाट कर्तव्य ज्यान उठान भएको देखिन्छ । तर अभियोग–पत्रमा ज्यान मुद्दालाई आधार मानी नानीशोभाको मृत्यु भएकोमा विवाद नभएको भन्ने आधार लिएको देखिन्छ । अतः कुनको जरियाबाट मुद्दाको उठान भएको भन्ने प्रष्ट नभै वादी दावी उठान भएको हुँदा श्री ५ को सरकार वादी भै चलाउन सकिने मुद्दा होइन । अतः फैसला बदरभागी छ । धापासी गा.वि.स.को कि.नं. ३४ समेतको जग्गा गैरकानूनी रुपमा दर्ता गरेको कुरा सबूद प्रमाणबाट समर्थित हुन आएको, तर उक्त जग्गाको हकदैया ममा भएकोले आफ्नो हक दावी छाडी छोडपत्र गर्नसक्ने अधिकार म मा नै सुरक्षित हुँदा ममाथि लगाइएको अभियोग कानून बिपरीत छ । प्रस्तुत मुद्दा फैसला गर्दा नानीशोभाको कर्तव्य गरी मारेको भन्ने किटान छ । यसै मुद्दाको जरियावाट कर्तव्य गरी ज्यान मारेको सत्य नै भए तापनि मलाई सजाय के का लागि भन्ने प्रष्ट छैन । अतः काठमाडौं जिल्ला अदालतको फैसला बदर गरी न्यायपाऊँ भन्ने समेत ब्यहोराको थुनुवा आश्विनकुमारको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र ।
कर्तव्य ज्यान मुद्दाको लगाउको रुपमा जन्मिएको यो कीर्ते जालसाजी मुद्दामा उक्त जग्गाको नामसारी गर्ने कार्यमा मिलेमतो गरेको भनी आरोपित कसूरमा इन्कारी रहँदारहँदै अपुष्ट, अप्रमाणिक एवं संदिग्ध प्रमाणलाई आधार मानी निर्णयविन्दूमा पुगेको काठमाडौं जिल्ला अदालतको फैसला त्रुटिपूर्ण भएकोले बदर गरी इन्साफपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी हरिबहादुर राउतको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र ।
कीर्ते जालसाज मुद्दा स्वयंमा सरकार वादी हुनसक्ने अवस्था नै हुँदैन, तर वादी पक्षले मुद्दा दायर गर्दा सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को अनुसूची अन्तर्गत दायर गरिएको र उक्त फैसलामा म समेतको सहयोगबाट उक्त विवादित जग्गा कीर्ते गरे गराएको भन्ने अभियोग प्रमाणित हुन नसकी त्रुटिपूर्ण हुँदा न्याय पाऊँ भन्ने समेत व्यहोराको रामकृष्ण पाठकको पुनरावेदन पत्र ।
माग दावीअनुसार हदैसम्म सजाय गर्ने गरी फैसला गरिँदा के कुन आधार प्रमाण र कारणवाट कसूर गरेको ठहर भएको हो ? विवेचना नै नगरी फैसला भएको कीर्ते जालसाजमा मेरो कुनै संलग्नता तथा सम्बद्धता छैन । फैसलामा मेरो श्रीमती नानीमैया वुढाथोकी समेतका नाउँमा संयुक्त डोरपास गरेको भनिएको छ, तर उक्त कार्य मालपोत कार्यालय समेत निर्णयमा पुगी त्यस कार्यालयबाट मिति २०४९।१।१८ को निर्णय भएको तथा गा.वि.स.को कार्यालयबाट सिफारिस तथा वडा नं. २२ बाट मुचुल्का समेत भै आएकोमा उक्त कार्य गरेको हो । मवाट भएको कुनै कार्य कीर्तेसँग गरेको छैन । अतः तथ्यहिन किसिमबाट भएको फैसला बदर गरी न्याय पाऊँ भन्ने समेत व्यहोराको नानीवावु बुढाथोकीको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र ।
मिति २०४७।११।५ मा पुष्परत्न र नानीशोभा उदासको नाममा संयुक्त दर्तागर्न मालपोत कार्यालयलाई सिफारिस दिएकोमा पुनः मिति २०४८।५।१४ मा हिराकाजी र हिराकाजी सिक्राकार एकै व्यक्ति हुन् भनी अर्को सिफारिस गरेको देखिन्छ । यसरी दोहोरो सिफारिस दिने बालकृष्ण मल्ललाई सफाईदिने गरी गरेको काठमाडौं जिल्ला अदालतको फैसला त्रुटिपूर्ण भएकोले मागदावी बमोजिम नै कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको श्री ५ को सरकारकोतर्फबाट पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र ।
यसमा दोहोरो सिफारिसगरी मरेको व्यक्ति हिराकाजीलाई मिति २०४८।५।१४ मा जग्गा दर्ताको सिफारिस गर्ने बालकृष्ण मल्ललाई सफाई दिने गरी गरेको काठमाडौं जिल्ला अदालतको फैसला नमिली फरक पर्न सक्ने देखिँदा अ.वं. २०२ नं. बमोजिम छलफलको लागि झगडिया झिकाउने भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको आदेश ।
यसमा जग्गा नामसारी गर्नु र नानी शोभाको मृत्यु हुनु अलग अलग तथ्य भएपनि वारदातको सूत्र सो ज्यानसम्बन्धी मुद्दाको अनुसन्धानको सन्दर्भमा जानकारीमा आएको हुँदा र ज्यानसम्बन्धी मुद्दामा सम्बद्ध भनिएको प्रतिवादीहरू नै यस वारदातमा सम्बद्ध भएको यस अवस्थामा प्रस्तुत कीर्ते मुद्दा सो ज्यान मुद्दाको वारदातको बिषय भन्दा पृथक हो भन्न मिल्दैन । प्रस्तुत मुद्दा सो ऐनको अनुसूची १ अन्तर्गत उल्लिखित व्यवस्थाको अधिनमा रही दायर भएको कुरालाई अन्यथा गर्नु पर्ने अवस्था पनि रहंदैन ।
मृत्यु भै सकेको हिराकाजी सिक्राकारको नाममा रहेको जग्गामा प्रतिवादी हिराकाजी सिक्राकारको नाममा नामसारी दर्ता गरेको क्रियालाई निज प्रतिवादीले विधिवत व्यवहार नभएको भनेपछि त्यसवाट लाभान्वित हुने जग्गा वकसपत्र लिने व्यक्तिबाट समेत सो जग्गाको सम्बन्धमा आफूलाई यथार्थ जानकारी नभै प्रतिवादीहरूलाई जानकारी राख्ने व्यक्तिको रुपमा चित्रीत गरेको यस अवस्थामा सो जग्गा नामसारी गराउने क्रियामा प्रतिवादीहरूको सक्रिय सहभागिता रहेको मान्नुपर्ने हुन्छ । मृतक हिराकाजी सिक्राकारको नामको जग्गा प्रतिवादी हिराकाजी सिक्राकारको नाममा समानता भएको कारणबाट मात्र नामसारी दर्ता हुने भएकोले सो कार्यलाई सद्दे व्यवहारको भनी मान्न सकिँदैन । तसर्थ सो नामसारी गर्ने क्रिया सत्य र तथ्यपरक नभएपछि सो क्रियालाई कीर्ते मान्नुपर्ने हुँदा कीर्तेको वारदात भएको रहेछ भनी मान्नुपर्ने हुन आउँछ ।
प्रतिवादी सबैको सो कीर्तेको वारदातमा प्रत्यक्ष संलग्न रहेको भन्ने कुरा सो जग्गा प्राप्त हुन आएको भन्ने कुरा देखिन आएबाट सो कसूरमा प्रतिवादीहरूको संलग्नता रहेको पुष्ट्याईं हुन आएकोले सो प्रतिवादीहरूको क्रियालाई कीर्ते ठहर गरी प्रतिवादीहरू आश्विनकुमार भन्ने पुष्परत्न स्थापित, हरिबहादुर राउत, ज्ञानकाजी सिक्राकार, हिराकाजी सिक्राकार, रामकृष्ण पाठक, नानीबाबु वुढाथोकीलाई सजाय भागी बनाई गरेको काठमाडौं जिल्ला अदालतको फैसला कानूनसँगत नै देखिन्छ ।
मिति २०४९।१।२१ को हालैको वकसपत्रमा सो जग्गाको मोल रु.३,००,०००।– भनी पारीत भएको देखिएपछि त्यतिनै सजायको प्रयोजनको लागि पर्याप्त हुनेमा त्यसलाई नमानिएको र सम्पूर्ण बिगोलाई नै जनही सजाय गर्ने गरी भएको फैसला अदालतले कीर्ते जालसाजी मुद्दामा अनुशरण गर्दै आएको सजायको उल्लघंन भएको हुँदा सो हदसम्म जिल्ला अदालतले निश्चित गरेको सजाय नमिलेकोले सो हदसम्म सुधार हुनु पर्ने हुन्छ ।
सो जग्गाको दर्ता बदर सम्बन्धी बिषय प्रस्तुत अभियोगपत्रबाट नहुने भएकोले सो सम्बन्धी कार्य गर्ने वादी पक्षलाई सूचना दिन आवश्यक हो । तर सो जग्गाको दर्ता बदर गर्ने भनी भएको फैसला सो हदसम्म मिलेको देखिँदैन ।
साथै प्रतिवादी बालकृष्ण मल्ललाई गाउँ विकास समितिको सचिवको हैसियतले सिफारिस गरेको कुरालाई कसूर गरेको भनी दावी लिएपनि सिफारिस गर्दा अवलम्वन गर्नु पर्ने क्रियालाई हेर्दा सो क्रिया कीर्ते गर्ने आशयवाट भएको देखिन नआएकोले निजलाई सो अभियोगवाट मुक्त गर्ने गरी भएको शुरु जिल्ला अदालतको फैसला सो हदसम्म मिलेकै देखिन्छ ।
अतः माथि लेखिए बमोजिम सो जग्गा नामसारी गर्ने क्रियालाई कीर्ते ठहर्याएको काठमाडौं जिल्ला अदालतको मिति २०५१।१२।१२ को फैसला सो हदसम्म मिलेकै र सजायको हकमा बढी गरी नमिलेको देखिँदा सो हदसम्म उल्टी हुने ठहर्छ । वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न नसक्ने ठहर्छ । काठमाडौं जिल्ला अदालतको फैसला केही उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको मिति २०५४।३।२५ को फैसला ।
हकवालाको हैसियतले मैले जग्गा दर्ता गर्न हकदावी छाड्न पाउने अधिकार अनुसार नै गरेको कार्यलाई कीर्ते जालासजी गरेको भनी दोषी प्रमाणित गरेको पुनरावेदन अदालत पाटनको फैसला बदरभागी छ भन्ने समेत व्यहोराको प्रतिवादी आश्विनकुमारको यस अदालतमा परेको पुनरावेदन पत्र ।
कीर्ते जालसाजी भनेको लिखत मिति २०४९।१।२१ मा भएको र कीर्ते जालसाजीलाई सरकार वादी बनाइएको मिति २०४९।९।८ गतेबाट मात्र भएको हो । अतः कुनै पनि व्यक्तिलाई कसूर गर्दाको अवस्थामा प्रचलित कानूनमा तोकिएभन्दा बढी सजाय दिईने छैन भन्ने कानूनी व्यवस्था भएको हुँदा पुनरावेदन अदालत पाटनको फैसला नमिली बदरभागी छ । मेरो कीर्ते जालासजीमा कुनै संलग्नता नै नभएको हुँदा उक्त फैसला बदरभागी छ भन्ने समेत व्यहोराको प्रतिवादी नानीवावु बुढाथोकीको यस अदालतमा परेको पुनरावेदन पत्र ।
मेरो कीर्ते जालसाजमा कुनै संलग्नता रहेको ठोस प्रमाण दिन नसकेको, केवल मेरा आफन्तको नाममा मात्र जग्गा पास गराएको आधारलाई अपराध ठहर गरी सजाय गर्ने गरी गरेको फैसला बदरभागी छ भन्ने प्रतिवादी हरिबहादुर राउतको यस अदालतमा परेको पुनरावेदन पत्र ।
म पुनरावेदकले कीर्ते भन्ने कुनै आधारभूत प्रमाण स्थापित नै नगरी मैले नगरेको कीर्ते जालसाज गरेको ठहर्याई गरेको सजाय नमिलेको हुँदा पुनरावेदन अदालत पाटनको फैसला बदर गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी रामकृष्ण पाठकको यस अदालतमा परेको पुनरावेदन पत्र ।
एकै व्यक्तिको फरक फरक सिफारिस दिने बालकृष्ण र सह–अभियुक्तको पोल समेतलाई न्यायकर्ताले विचारै नगरी गरिएको फैसला र प्रतिवादी रामकृष्ण पाठक समेतका प्रतिवादीहरूले कुनै वारदातमा गलत मानिसलाई सिफारिस गराउन सफल भएको भन्ने सह– अभियुक्तको पोल समेतलाई विचारै नगरी गरिएको फैसला त्रुटिपूर्ण हुँदा अधिकतम जरीवाना कायम हुनुपर्छ भन्ने समेत व्यहोराको वादी नेपाल सरकारकातर्फबाट यस अदालतमा परेको पुनरावेदन पत्र ।
यसमा यिनै पक्ष बिपक्ष भएको फौ.पु.नं.१६२५ को कर्तव्य ज्यान मुद्दामा छलफलको लागि विपक्षी झिकाउने आदेश भएको र प्रस्तुत मुद्दा पनि सोही मुद्दासँग सम्बद्ध देखिई साथै हेर्नु पर्ने हुँदा छलफलको निमित्त अ.वं.२०२ नं. बमोजिम विपक्षी झिकाई नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको आदेश ।
प्रतिवादीहरूले अधिकारप्राप्त अधिकारी समक्ष कसूरमा सावित रही वयान गरेको, मौकामा कागज गर्ने नानीमैंया वुढाथोकी, राजन वास्तोला, राधिका ठकुरी र छुनुमैया पाठकको मौकाको कागज बमोजिम नै जग्गा वकसपत्र गरेको, रामकृष्ण पाठक समेतका प्रतिवादीहरूको सल्लाह बमोजिम नानीशोभाको पिता हिराकाजी सिक्राकारको नाउँको जग्गा कीर्ते गरी गराई वकसपत्र दिएको हो भनी स्वीकार गरी वयान गरेको, प्रतिवादीहरूको वयान बमोजिम नै नानीशोभाको पिता हिराकाजीको नाउँको धापासी गा.बि.स.वडा नं. ८(क), कि.नं.३४,१०२,१०३ र १९४ का जग्गा कीर्ते गरी वकसपत्र गरि दिएको भन्ने कुरा मिसिल संलग्न मालपोत कार्यालयको मिसिलबाट देखिई यी प्रतिवादीहरू मिली कीर्ते गरेको पुष्टि हुन्छ ।
कीर्ते वा जालासाजीमा सजायको लागि बिगो कायम गर्दा लिखतमा उल्लिखित मूल्यलाई नै आधार लिई सोही बमोजिम जरीवाना हुने हो । कीर्ते भएको भनेको मिति २०४९।१।२१ को लिखतमा कि.नं. ३४,१०२,१०३ र १९४ समेतको जग्गाको मूल्य रु.३,००,०००।– (तीनलाख) उल्लेख गरेको अवस्थामा सोही लिखतमा उल्लिखित मुल्य अनुसार नै प्रतिवादीहरू नानीवावु बुढाथोकी, पुष्परत्न भन्ने आश्विनकुमार स्थापित, हरिबहादुर राउत, हिराकाजी सिक्राकार, ज्ञानकाजी सिक्राकार र रामकृष्ण पाठकलाई कीर्ते गरेको ठहर गरी जनही रु.३,००,०००।– (तीनलाख रुपैया) जरीवाना गर्ने गरेको पुनरावेदन अदालत पाटनको मिति २०५४।३।२५ को फैसला मिलेको देखिँदा सो हदसम्म सदर हुन्छ ।
अब अर्का प्रतिवादी बालकृष्ण मल्ललाई अभियोग दावीबाट सफाई दिने गरेको हदसम्म विचार गर्दा विना आधार दोहोरो सिफारिस दिई सोही सिफारिस समेतको आधारमा कीर्ते गरी जग्गा बकसपत्र नामसारी भएको देखिँदा उक्त कीर्ते कार्यमा यी प्रतिवादी बालकृष्ण मल्लको सहभागिता छैन, निज निर्दोष हुन् भन्न मिल्ने देखिंदैन । यस्तो अवस्थामा अभियोग माग दावी बमोजिमको कसूर गरेको ठहर नगरी सफाई दिने गरेको शुरु जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको मिति २०५४।३।२५ को फैसला सो हदसम्म नमिली उल्टी हुन्छ । प्रतिवादी बालकृष्ण मल्ललाई कीर्ते कागजको ७ नं. बमोजिम रु.३,००,०००।– (तीनलाख) जरीवाना हुन्छ । यी प्रतिवादीहरू उपर सरकारवादी भै मुद्दा नै चल्न सक्दैन, प्रस्तुत मुद्दा खारेज हुनुपर्छ भन्ने सहयोगी माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारीको रायसँग सहमत हुन सकिएन, सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ (१)(क) बमोजिम निर्णयार्थ पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको संयुक्त इजलासका माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेलेको राय ।
प्रस्तुत मुद्दा श्री ५ को सरकार वादी भै चलाईने हो, होइन ? भन्नेतर्फ विचार गर्दा सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को अनुसूची १ को देहाय १९ मा भएको व्यवस्थालाई हेर्नुपर्ने देखिन्छ । उक्त अनुसूचीको देहाय १९ मा यस ऐनको अनुसूची १ वा २ अन्तर्गतका मुद्दाको जरियावाट उठेको कीर्ते वा जालसाजी मुद्दा भन्ने देखिन्छ । जालसाजी मुद्दा श्री ५ को सरकार वादी भै चलाउनको लागि यस्तो मुद्दाको जरियावाट उठान भएको हुनु पर्ने पूर्वशर्त रहेको पाइन्छ । कानूनी बनावट र शब्दकोषहरूको अर्थबाट प्रस्तुत विवादका सम्बन्धमा जरिया भन्नाले अनुसूची १ वा २ मा उल्लिखित मुद्दाको कारणबाट कीर्ते कार्य भएको भन्ने वादी श्री ५ को सरकारको भनाई रहेको अवस्थामा प्रस्तुत कीर्ते मुद्दा ज्यान मुद्दाको जरिया वा कारणबाट उठेको हो, होइन ? हेर्नुपर्ने हुन्छ । ज्यान मुद्दाको जरियाबाट प्रस्तुत कीर्ते मुद्दा उठेको हुनको लागि ज्यान मारि सकेपछि कीर्ते वा जालसाजी कार्य भएको देखिनुपर्छ ।
हक पुग्ने व्यक्ति पुष्परत्न भन्ने आश्विनकुमार स्थापितले नै मालपोत कार्यालयमा आफ्नो दावी छाडेको, हक पुग्ने व्यक्तिले दावी लिई कीर्ते गर्ने व्यक्तिलाई सजाय गरी कीर्ते गरेको जग्गा आफ्नो नाउँमा हक कायम गरिपाऊँ भन्ने दावी नै नभएको, जग्गाको हक स्वामित्व आफ्नो नाममा गराउने नानीमैया वुढाथोकी, छुनुमैया पाठक, राजन वास्तोला र राधिका ठकुरीलाई प्रतिवादी नै नबनाई उनीहरूले गरेको कार्यका बिषयमा उनीहरूका नाताका व्यक्ति नानीबाबु वुढाथोकी, रामकृष्ण पाठक र हरिबहादुर राउतलाई प्रतिवादी बनाइएको, प्रतिवादी हिराकाजी सिक्राकारको नाउँको मिति २०४९।१।२१ को निर्णय बदरतर्फ दावी नै नभएको देखिई मुख्यतः श्री ५ को सरकार वादी भै चलाउने हकदैया नै वादी पक्षलाई नभएको देखिँदा अभियोग दावी बमोजिम इन्साफमा प्रवेश गरी प्रतिवादी हिराकाजी सिक्राकार, ज्ञानकाजी सिक्राकार, रामकृष्ण पाठक, हरिबहादुर राउत, नानीबाबु वुढाथोकीलाई कीर्ते गरेको ठहर गरी अर्का प्रतिवादी बालकृष्ण मल्ललाई सफाई दिने गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेको देखिँदैन । अ.वं. ८२ नं. बमोजिम हकदैयाको अभावमा प्रस्तुत मुद्दा खारेज हुन्छ । खारेज नगरी प्रस्तुत मुद्दा श्री ५ को सरकार वादी भै चल्न सक्ने र प्रतिवादीहरूलाई अभियोग दावी बमोजिम सजाय हुने ठहर गरेको माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेलको रायसँग सहमत हुन सकिएन । सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ (१)(क) बमोजिम प्रस्तुत मुद्दा पूर्ण इजलास समक्ष पेश गर्नु भन्ने समेत व्यहोराको संयुक्त इजलासका माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारीको राय सहितको यस अदालत संयुक्त इजलासको मिति २०६२।२।२० को आदेश ।
नियमबमोजिम दैनिक पेशीसूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा हिराकाजी सिक्राकार (उदास) को नामको काठमाडौं जिल्ला धापासी गा.वि.स. वडा नं. ८ (क) कि.नं. ३४,१०२,१०३ र १९४ को मूल्य रु.१२,७५,०००।– पर्ने जग्गालाई नानीशोभाका पिता हिराकाजी सिक्राकारको मृत्युपछि निजको हकखाने नानीशोभालाई जानकारी नदिई प्रतिवादीहरू सातै जनाको मिलोमतोबाट प्रतिवादी हिराकाजी नै सक्कली हिराकाजी सिक्राकार हो भनी धापासी गा.वि.स.का तत्कालिन सचिव बालकृष्ण मल्लले हिराकाजी सिक्राकार भन्ने नै हिराकाजी हो, निजको नाममा जग्गाधनी प्रमाणपूर्जा गरिदिए हुन्छ भन्ने सिफारिस दिई लिई हकवाला नानीशोभालाई थाहा नदिई कीर्तेगरी गराई लिएको प्रष्ट हुँदा कीर्ते कागजको १ नं. बिपरीत ७ नं. र ११ नं. को कसूरअपराध गर्ने पुष्परत्न भन्ने आश्विनकुमार स्थापित, हरिबहादुर राउत, रामकृष्ण पाठक, नानीवावु वुढाथोकी, हिराकाजी सिक्राकार, ज्ञानकाजी सिक्राकार र बालकृष्ण मल्ल उपर सोही महलको ७ नं. र ११ नं. बमोजिमको सजायको मागदावी लिएकोमा शुरु काठमाडौं जिल्ला अदालतबाट प्रतिवादी बालकृष्ण मल्ललाई सफाई दिई बाँकी अन्य ६ जना प्रतिवादीहरूलाई कीर्ते कागजको ७ नं. बमोजिम कीर्ते भएको भनेको जग्गाको मालपोतको मुल्याङ्कन बमोजिम रु.१२,७५,०००।– जरीवाना हुने ठहर गरेकोमा पुनरावेदन अदालत पाटनबाट अभियोग दावी बमोजिमको कसूर कायमगरी जरीवानाको हकमा लिखतमा उल्लिखित बिगोलाई आधार मानी रु.३,००,०००।– (तीन लाख) का दरले जनही जरीवाना हुने ठहर गरी प्रतिवादी बालकृष्ण मल्लको हकमा निजलाई सफाई दिई गरेको शुरु फैसलालाई सदर गरेको देखिन्छ ।
पुनरावेदन अदालतको उक्त फैसलामा प्रतिवादी बालकृष्ण मल्ललाई सफाई दिएको मिलेन, निजलाई अभियोग माग दावी बमोजिम सजाय हुनुपर्छ र अन्य प्रतिवादीहरूलाई रु.१२,७५,०००।– जरीवाना हुनुपर्छ भनी वादी श्री ५ को सरकारकोतर्फबाट र आफूहरूले अभियोग दावीबाट सफाई पाउनुपर्छ भनी प्रतिवादीहरू मध्येका ज्ञानकाजी सिक्राकार बाहेकका सजाय भएका अन्य ५ जना प्रतिवादीहरूको यस अदालतमा पुनरावेदन पर्न आएको देखिन्छ । प्रतिवादी ज्ञानकाजी सिक्राकारले शुरु जिल्ला अदालतको फैसलालाई स्वीकार गरी पुनरावेदन अदालत र यस अदालतमा पनि पुनरावेदन नगरी बसेको अवस्था छ ।
यस अदालतको संयुक्त इजलासमा प्रतिवादीहरूलाई अभियोग दावी बमोजिम सजाय हुने वा हकदैयाको अभावमा मुद्दा नै खारेज हुने भन्ने सम्बन्धमा माननीय न्यायाधीशहरूका बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारकातर्फवाट उपस्थित विद्वान सह–न्यायाधिवक्ता श्री ठोकप्रसाद शिवाकोटीले विवादित जग्गाका सम्बन्धमा भएको काम कारवाही कीर्ते हो भन्ने कुरामा विवाद छैन, कीर्ते काम कारवाहीलाई लुकाउन ज्यान लिनेसम्मको काम भएको छ, कीर्ते र कर्तव्य ज्यानलाई छुट्याएर हेर्नु भन्दा पनि ती दुई क्रियाबीचको सम्बन्ध छ, छैन भन्ने कुरालाई हेर्नु पर्छ, कीर्ते जालसाजी मुद्दा ज्यान मुद्दासँगै सम्बन्धित हो भन्ने कुरामा विवाद नभएकाले कीर्ते जालसाजी मुद्दा दायर गर्ने हकदैया वादीमा निहित छ । ऐनले अघि पछिको कुरा गरेको छैन, दुई छुट्टाछुट्टै घटनाबीचको सम्बन्ध छ छैन भन्ने कुरा महत्वपूर्ण हुन्छ । तथ्यहरूले ती दुई घटनाबीचको सम्बन्ध स्थापित हुन पुगेको हुँदा हकदैया नरहने भन्न मिल्दैन । त्यसैले संयुक्त इजलासका माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेलको राय सदर हुनुपर्छ भनी वहस प्रस्तुत गर्नुभएको थियो । पुनरावेदक प्रतिवादीहरूकातर्फबाट उपस्थित हुनु भएका विद्वान वरिष्ठ अधिवक्ताहरू श्री सर्वज्ञरत्न तुलाधर र श्री हरिहर दाहाल तथा विद्वान अधिवक्ताहरू श्री लभकुमार मैनाली, श्री गिता पाठक सँग्रौला, श्री विश्वप्रकाश भण्डारी, श्री हिरा रेग्मी र श्री सन्तकुमार वास्कोटाले प्रस्तुत मुद्दा सरकार वादी भै चलाइएको छ । सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को अनुसूची १ को देहाय १९ मा अनुसूची १ र २ अन्तर्गतका मुद्दाको जरियाबाट उठेको कीर्ते मुद्दा श्री ५ को सरकार वादी भै चलाइने भन्ने छ । प्रस्तुत मुद्दा ज्यान मुद्दाको जरियाबाट उठेको होइन । कीर्ते भएको भनिएको लिखतको मिति २०४९।१।२१ को छ भने ज्यानको वारदातको मिति २०४९।९।२७ रहेको छ । पहिला कीर्तेको कार्य भएको र सो पछि मात्र ज्यानको वारदात भएको अवस्थामा ज्यानको जरियाबाट उठेको कीर्ते भन्न मिल्ने नहुँदा श्री ५ को सरकार वादी भै मुद्दा चलाउन मिल्ने नै हुँदैन । तसर्थ सरकार वादी भै चलाएको प्रस्तुत मुद्दा खारेज हुने ठहर्याएको संयुक्त इजलासका माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारीको राय सदर हुनु पर्छ भन्ने व्यहोराको बहस जिकिर प्रस्तुत गर्नुभएको थियो ।
विद्वान कानून व्यवसायीहरूको उल्लिखित बहस जिकिर सुनी समयाभावका कारणबाट निर्णय सुनाउनका लागि आजको तारेख तोकिएको हुँदा मुद्दामा विद्यमान रहेको तथ्य, सो सम्बन्धी कानूनी व्यवस्था र संयुक्त इजलासमा मतैक्य हुन नसकेका विषयहरू समेतका सन्दर्भमा प्रस्तुत मुद्दा सरकार वादी भै चल्ने प्रकृतिको मुद्दा हो वा होइन ? भन्ने प्रश्नको निरुपण पछि मात्र पुनरावेदन अदालत पाटनबाट भएको फैसला मिलेको छ वा छैन ? र वादी प्रतिवादीतर्फबाट लिइएको पुनरावेदन जिकिर पुग्छ वा पुग्दैन ? भन्ने प्रश्नमा प्रवेश गरी निर्णय दिनुपर्ने देखिन्छ ।
२. अब, प्रस्तुत मुद्दा सरकार वादी भै चल्ने प्रकृतिको मुद्दा हो वा होइन ? भन्ने प्रश्नमा विचार गर्दा मिति २०४९।९।२७ गते नानीशोभाको मृत्यु भएको भनी पुष्परत्न भन्ने आश्विनकुमार स्थापितले जाहेरी दरखास्त दिएपछि उक्त कर्तव्य ज्यान मुद्दाको अनुसन्धान हुँदै जाँदा प्रतिवादी आश्विनकुमारको वयानबाट नानीशोभाका बाबु हिराकाजी सिक्राकारको नाममा काठमाडौं जिल्ला धापासी गा.वि.स.वडा नं.८(ख) स्थित कि.नं. ३४,१०२,१०३ र १९४ का जग्गाहरू रहेको र हिराकाजी सिक्राकारको मृत्युपछि ती जग्गाको हकवाला नानीशोभा भएकोमा निजलाई जानकारी नदिई अर्कै नक्कली हिराकाजी सिक्राकार खडाभई निज प्रतिवादी हिराकाजी सिक्राकारको नाउँमा मिति २०४९।१।२१ मा नामसारी गरी लिएपछि प्रतिवादी नानीवावु वुढाथोकीको श्रीमती नानीमैया वुढाथोकी, हरिबहादुर राउतको भानिज राजन बास्तोला, रामकृष्ण पाठकको श्रीमती छुनुमैया पाठक र राधिका ठकुरीका नाममा प्रतिवादीहरूको सल्लाहले वकसपत्र गरी दिएकोले त्यसरी प्रतिवादीहरूबाट कीर्ते जालसाजीको कार्य भएको खुल्न आएको भन्ने समेतका आधारमा कीर्ते कागजको महलको १ नं. विपरीत ७ नं. र ११ नं.को कसूर अपराध गर्ने आश्विनकुमार स्थापित, हरिबहादुर राउत, रामकृष्ण पाठक, नानीबाबु बुढाथोकी, हिराकाजी सिक्राकार, ज्ञानकाजी सिक्राकार र बालकृष्ण मल्ललाई सोही महलको ७ नं. र ११ नं. अनुसार सजाय गरिपाऊँ भन्ने अभियोग दावी रहेबाट उक्त जग्गा कीर्ते गरेको कुरा ज्यान मुद्दाको अनुसन्धानबाट मात्र थाहा भएको, नक्कली हिराकाजी सिक्राकारले जग्गा दर्तागरी विभिन्न व्यक्तिका नाममा वकसपत्र दिएपनि वास्तविक हकवाला नानीशोभा उदास जीउँदै रहेको अवस्थामा भएको कीर्ते कार्यमा व्यवधान आउन सक्नेदेखी निज नानीशोभालाई नै हत्या गरेपछि ज्यान मुद्दाको उठान भएको देखिन्छ । यसै लगाउको उक्त कर्तव्य ज्यान मुद्दामा गरिएको विश्लेषणबाट पनि प्रतिवादी पुष्परत्न भन्ने आश्विनकुमार स्थापितले मृतक नानीशोभालाई कर्तव्य गरी मारेको भन्ने तथ्य पुष्टि हुनुका साथै विवादका कि.नं. ३४,१०२,१०३ र १९४ समेतका जग्गाहरू नक्कली व्यक्ति खडागरी हक हस्तान्तरण गरेको र सो कार्यमा निज आश्विनकुमार स्थापित समेत संलग्न रहेको तथ्य समेत खुल्न आएको छ । त्यसरी प्रतिवादी आश्विनकुमार समेत संलग्न भै गरिएको कीर्ते कार्यका बारेमा उक्त जग्गाका वास्तविक हकवाला नानीशोभालाई जानकारी भै त्यसमा व्यवधान आउन सक्ने संभावनाका आधारमा निजको कर्तव्य गरी हत्या गरिएको भन्ने कुरा लगाउको कर्तव्य ज्यान मुद्दाबाट पुष्टि भैरहेको हुँदा प्रस्तुत मुद्दामा पहिले कीर्तेको क्रिया भैसकेको र त्यसलाई लुकाउनका लागि ज्यानमार्ने क्रिया गरिएको भन्ने कुरामा विवाद देखिँदैन ।
३. यसरी कीर्ते जालसाजीको क्रिया भएपछि त्यसलाई लुकाउनकालागि कर्तव्य ज्यानको वारदात घटाइएको भन्ने तथ्यगत स्पष्टता पछि अब, त्यस प्रकृतिको मुद्दा दायर गर्ने हकदैया कसमा निहित रहन्छ भन्ने सम्बन्धमा विद्यमान कानूनी व्यवस्थालाई हेर्नुपर्ने हुन्छ । प्रस्तुत मुद्दा सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को अनुसूची– १ बमोजिम दायर भएको भन्ने कुरा अभियोगपत्रबाट खुल्न आएको छ । उक्त ऐनको अनुसूची– १ को देहाय १९ मा रहेको प्रावधानलाई हेर्दा ऐनको अनुसूची १ वा २ अन्तर्गतका मुद्दाको जरियाबाट उठेको कीर्ते वा जालसाजी मुद्दा सरकार वादी भै चल्ने भन्ने देखिन्छ । प्रस्तुत कीर्ते कार्य ज्यान मुद्दाको अनुसन्धान गर्दा खुलेको र सोही कीर्ते कार्यलाई ढाकछोप गर्नकालागि नै ज्यान मार्नु परेको भन्ने देखिएको अवस्था हुँदा नानीशोभालाई कर्तव्य गरी मारेको भन्ने ज्यान मुद्दा र प्रस्तुत मुद्दा लगाउको भै चलेको अवस्था छ । यसरी प्रस्तुत कीर्ते मुद्दा सम्बन्धी क्रिया अर्थात् जग्गा कीर्ते गरिएको कार्य सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को अनुसूची– १ को देहाय ३ अन्तर्गत पर्ने ज्यानसम्बन्धी घटना अघि नै सम्पन्न भैसकेको भन्ने कुरामा विवाद देखिँदैन । त्यसरी अनुसूची– १ को देहाय १९ ले भने जस्तो ज्यान मुद्दाको जरिया अर्थात् कारणबाट कीर्ते भएको भन्ने नभै कीर्तेको क्रिया भै सोबाट बच्न ज्यान मारेको अवस्था देखिएको हुँदा प्रस्तुत मुद्दालाई उक्त अनुसूची– १ को देहाय १९ सँग सम्बन्धित मान्न मिल्ने अवस्था देखिएन । अब कीर्ते जालसाजी मुद्दा कुन प्रकृतिको मुद्दा हो भन्नेतर्फ विचार गर्दा यो फौजदारी मुद्दा हो भन्ने कुरा मुलुकी ऐन, अदालती बन्दोवस्तको ९ नं. बाट पनि देखिन्छ । तर सरकारी मुद्दा सम्बन्धी ऐनको अनुसूची– १ वा २ अन्तर्गत समावेश नभएको हुँदा सो मुद्दा व्यक्तिवादी फौजदारी मुद्दाका रुपमा रहेको छ ।
४. यसरी सरकारी मुद्दा सम्बन्धी ऐनको अनुसूची–१ अन्तर्गतको मुद्दाको जरियाबाट उठेको जालसाजी मुद्दाको संज्ञा दिइएको प्रस्तुत मुद्दा सम्बन्धी घटना अर्थात् विवादको कित्ता नं. ३४ समेतका जग्गाहरू जालसाजीपूर्वक हक हस्तान्तरण गरिएको कार्य कर्तव्य ज्यानको वारदात हुनुभन्दा ७ महिना अगाडि नै भैसकेको देखिन्छ । त्यसरी ७ महिना अगाडि सम्पन्न भैसकेको आपराधिक कार्यलाई ७ महिना पछि भएको आपराधिक कार्यको कारणबाट भएको भनी मान्न कुनै पनि दृष्टिले उचित र तर्कसँगत देखिँदैन । तसर्थ प्रस्तुत मुद्दा सरकारी मुद्दा सम्बन्धी ऐनको अनुसूची– १ वा २ अन्तर्गतका मुद्दाको जरियाबाट उठेको कीर्ते वा जालसाजी मुद्दाका रुपमा पनि नरहेको र अन्य मुद्दासँग नजोडिएको अवस्थामा जालसाजी मुद्दालाई जहिले पनि व्यक्तिवादी फौजदारी मुद्दाका रुपमा मान्यता दिइएको अवस्था हुँदा त्यस्तो जालसाजी मुद्दालाई सरकारी मुद्दा सम्बन्धी ऐनको अुनसूची– १ का आधारमा भनी सरकार वादी भै चलाउन सक्ने अवस्था देखिएन ।
५. कस्तो मुद्दा कसले दायर गर्ने भन्ने सम्बन्धमा विद्यमान हकदैया सम्बन्धी कानूनी व्यवस्थालाई हेर्दा अ.वं ८२ नं. ले सरकार वादी हुने मुद्दा र घूस खाने माग्ने सरकारी कर्मचारीकै हस्ताक्षरको लिखितको सबूद लिई नालिस गरेको घूस मुद्दामा जोसुकैले नालिस गरे पनि हुन्छ । सो बाहेक अरु गैह्र मुद्दामा जसको जुन कुरामा हक पुग्छ, उसले सो कुरामा दावी गरी नालिस दिए मात्र लाग्छ भन्ने व्यवस्था गरेको छ । यसरी हकदैया विहीन व्यक्तिले दिएको नालिस लाग्न नसक्ने कानूनी व्यवस्थाले हकदैया विहिन नालिसले मुद्दाको स्वरुप नै ग्रहण गर्न नसक्ने भन्ने देखिन्छ । हकदैया भनेको कुनै पनि विवादको न्यायिक निरुपणका लागि अदालतमा प्रवेश गराउने आधार हो । हकदैया सम्बन्धी सिद्धान्तले एकाको हकमा अर्काले नालिस वा उजूर गर्न अनुमति प्रदान गर्दैन । सार्वजनिक सरोकारको मुद्दा, सरकारवादी भै चल्ने मुद्दा, असमर्थ पक्षकातर्फबाट अरुले नालिस उजूर गर्न पाउने व्यवस्थाहरू हकदैया सम्बन्धी सामान्य सिद्धान्तको अपवादात्मक व्यवस्थाहरू हुन् । प्रस्तुत विवादमा त्यस्ता अपवादात्मक अवस्थाको विद्यमानता रहेको छैन भने वादी भै मुद्दा दायर गर्ने सरकारले त्यस्तो दावी लिएको अवस्था पनि छैन । तसर्थ प्रस्तुत मुद्दा अ.वं ८२ नं. बमोजिमको सरकार वादी हुने मुद्दा होइन भन्ने कुरा माथि गरिएको विवेचनाबाट नै पुष्टि भैरहेको सन्दर्भमा जसको हक पुग्ने हो उसले बाहेक अन्य व्यक्ति वा निकायले मुद्दा दायर गर्न सक्ने अवस्था हुँदैन । त्यसरी हक पुग्ने बाहेक अन्य व्यक्ति वा निकायले दायर गरेको मुद्दा अ.वं. ८२ नं. का आधारमा खारेज हुन्छ ।
६. अतः माथि गरिएको विश्लेषण समेतका आधारमा नेपाल सरकार वादी भै मुद्दा दायर गर्ने हकदैया नै नरहेको अवस्थामा सरकार वादी भै दायर गरिएको प्रस्तुत मुद्दा अ.वं. ८२ नं. बमोजिम हकदैयाको अभावमा खारेज हुने ठहर्याएको संयुक्त इजलासका माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारीको राय मनासिव ठहर्छ । अरुमा तपसिल बमोजिम गर्नु ।
तपसिल
यसमा माथि ठहर खण्डमा लेखिएबमोजिम नेपाल सरकार वादी भै चलेको प्रस्तुत मुद्दा हकदैयाको अभावमा खारेज हुने ठहरेको हुँदा देहाय बमोजिम गर्नु भनी शुरु काठमाडौं जिल्ला अदालतमा लेखी पठाईदिनू . १
१. प्रतिवादी हिराकाजी सिक्राकार र ज्ञानकाजी सिक्राकारको हकमा शुरु जिल्ला अदालतमा मिति २०५१।२।४ मा जेथा जमानत दिएको श्रीमती रेश्मा सिक्राकार नाउँ दर्ताको जिल्ला काठमाडौं काठमाडौं महानगरपालिका वडा नं. १० स्थिती कित्ता नं. १८५ को क्षेत्रफल ०–४–०–० जग्गा अन्य मुद्दामा रोक्का नभएको भए यस मुद्दाको प्रयोजनका लागि फुकुवा गरिदिनू ।
२. प्रतिवादी हरिबहादुर राउतले मिति २०५२।२।२२ मा पुनरावेदन गर्दा जरीवाना बापत जेथा जमानत राखेको उदयपुर जिल्ला झुमरसुवा गा.वि.स. वडा नं. ४(क) स्थित कित्ता नं. ६ को क्षेत्रफल ०–१४–१४ जग्गा अन्य मुद्दामा रोक्का नभएको भए यस मुद्दाको प्रयोजनका लागि फुकुवा गरिदिनू ।
३. प्रतिवादी रामकृष्ण पाठकले पुनरावेदन गर्दा मिति २०५२।२।२२ मा जरीवानाबापत जेथा जमानत राखेको श्रीमती छुनुमैया पाठक नाउँ दर्ताको काठमाडौं जिल्ला गोंगबु गा.वि.स. वडा नं. २ स्थित कित्ता नं. ४०८ को क्षेत्रफल १–७–०–० जग्गा र निज प्रतिवादीकै नाउँ दर्ताको काठमाडौं जिल्ला मनमैजु गा.वि.स. वडा नं. ३(क) स्थित कित्ता न.. १४६ को क्षेत्रफल ०–१४–०–० जग्गा अन्य मुद्दामा रोक्का नभएको भए यस मुद्दाको प्रयोजनका लागि फुकुवा गरिदिनू ।
४. प्रतिवादी नानीबाबु बुढाथोकीले मिति २०५२।५।१९ मा जेथा जमानत राखेको रणध्वज पाण्डेको नाउँ दर्ताको जिल्ला काठमाडौं गोंगबु गा.वि.स. वडा नं. २ स्थित कित्ता नं. ३३८ को क्षेत्रफल २–२–२–० र ऐ.ऐ. स्थित कित्ता नं. ३४९ को क्षेत्रफल १–०–०–० जग्गाको सटृा दाखिल गरेको नगद रु.१२,५०,०००।– (बाह्रलाख पचास हजार रुपैया) सर्वोच्च अदालत, लगत नगदी शाखामा धरौटी आम्दानी बाँधिएको (र.नं.६२९, मिति २०६४।२।११) देखिएको हुँदा सो धरौटी फिर्तापाऊँ भनी दरखास्त दिए नियमानुसार गरी फिर्ता दिनु ।
५. प्रतिवादी वालकृष्ण मल्लले मिति २०५०।३।११ मा शुरुमा राखेको नगद धरौट रु.२,०००।– फिर्ता पाऊँ भनी दरखास्त दिए नियमानुसार गरी फिर्ता दिनू ।
६. प्रतिवादीहरू हरिबहादुर राउत, नानीबाबु बुढाथोकी, रामकृष्ण पाठकले क्रमशः रसिद नं. १३२९, १३२८, १३३० बाट जनही रु.२५,०००।– शुरु अदालतमा नगद धरौटी राखेको देखिएको हुँदा फिर्ता पाऊँ भनी दरखास्त दिए नियमानुसार गरी फिर्ता दिनू ।
यो फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिनू .. २
प्रस्तुत मुद्दाको दायरीको लगत कटृागरी मिसिल नियमानुसार गरी बुझाइदिनू ..... ३
उक्त रायमा हामी सहमत छौं ।
न्या.बलराम के.सी.
न्या.तपबहादुर मगर
इति संवत् २०६५ फागुन २२ गते रोज ५ शुभम्
ई.अ.श्री उमेश कोइराला