निर्णय नं. ८१४६ - जग्गा खिचोला चलन

निर्णय नं.८१४६ भदौ, २०६६ अङ्क ५
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ
माननीय न्यायाधीश श्री प्रकाश वस्ती
संवत् २०६३ सालको दे.पु.नं. ७६१
मुद्दाः जग्गा खिचोला चलन
पुनरावेदक/प्रतिवादीः जिल्ला पर्सा बीरगञ्ज उ.म. न.पा.वडा नं. १७ वस्ने समसुद्दीन अन्सारीको मु.स.गर्ने नौसाद हुसेन अन्सारी
विरुद्ध
विपक्षी/वादीः जिल्ला पर्सा बीरगञ्ज उ.म.न.पा. वडा नं १६ वस्ने वीरेन्द्रकुमार दास
§ सम्पत्तिमा अतिक्रमणका माध्यमले हक स्थापित हुन सक्दैन । अरुको हक स्वामित्वको जग्गामा घर बनाइयो भन्दैमा यसलाई भोगाधिकार वा कव्जा वा चीरभोगको रुपमा मान्यता दिनु न्यायसँगत नहुने ।
§ घर बनाउनेको ११ नं. ले घर भत्काई दिने निर्णय दिन घर तयार भएको मितिले एक वर्षपछि रोकेको हो, सो जग्गाको हक स्वामित्वसमेत घर बनाउने पक्षलाई दिलाउनु पर्छ भनी मान्न नमिल्ने ।
§ केवल घर बनेको १ वर्ष नाघेका कारणले घर भत्काई पाऊँ भन्ने वादी दावी पुग्न नसक्ने ।
(प्रकरण नं.५)
पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ता श्री अर्थबहादुर हमाल, श्री उज्वल मैनाली र बिदुषी अधिवक्ता सबिता भण्डारी 'बराल'
प्रत्यर्थी तर्फबाटः विद्वान बरिष्ठ अधिवक्ता श्री कमलनारायण दास
अवलम्वित नजीरः नेकाप २०५७, निर्णय नं. ६८५४
सम्बद्ध कानूनः
फैसला
न्या.प्रकाश वस्तीः पुनरावेदन अदालत हेटौंडाको मिति २०५८।१०।१५ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) अन्तर्गत मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भै दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :–
मेरो नाउँ दर्ताको जिल्ला पर्सा वीरगञ्ज नगरपालिकाअन्तर्गत नगर विस्तार योजनाभित्रको जिल्ला पर्सा वहुअरी (वी) वडा नं ८ प्लट नं ११९६ को कि.नं. १४२ को ज.वि.०–१–३–।।। र ऐ.ऐ. प्लट नं ११९८ को कि.नं. १४३ को ज.वि. ०–१–३ =।।। समेत दुई प्लटको जग्गा मैले खरिद गरी भोग गरिआएकोमा कुनै विवाद थिएन । मेरो उपरोक्त जग्गामध्ये केही जग्गा विपक्षीहरूले विक्री गर्नुहोस् भनेकोमा मैले विक्री नगरेको रिसइवीबाट सो मेरो प्लट नं. ११९६ को कि.नं. १४२ मध्ये दक्षिणतर्फको पूर्व लङ्ग ५२ फीट, पश्चिम लङ्ग १३ फीट र चौडाई ३५ फीटको हुने क्षेत्रफल ०–०–६–३.१/२ र प्लट नं ११९८ को कि.नं. १४३ मध्ये दक्षिणतर्फबाट पूर्व लङ्ग १३ फीट, चौडाईमा पूर्वदक्षिण कोणको १४ फीटको हुने क्षेत्रफल ०–०–०–७.१/२ समेत जम्मा ज.वि. ०–०–६–११ जग्गा मिति २०५३।१०।५ गतेका दिन विहान अं.९ बजेको समयमा विपक्षीहरूले जवर्जस्ती आफ्ना जग्गामा मिसाई घर निर्माण गर्न लागेको देखी मनाही गर्दा नमानेबाट मेरो प्लट छुट्याई दिनूस् भनी नगर विकास समितिमा निवेदन दिंदाँ खटिआएका प्रतिनिधिहरूले मेरो जग्गा छुट्टयाउँदा मेरो उल्लिखित जग्गा च्यापी विपक्षीहरूले घर पर्खाल निर्माण गर्नु भएको कुरा प्रमाणित भएबाट फिराद गर्न आएको छु । सो हुँदा उक्त ज.वि.०–०–६–११ मा विपक्षीहरूले बनाउनु भएको घर पर्खाल उठाई खिचोला छोडाई चलन चलाई कोर्ट फी भराई पाऊँ भन्ने समेत व्यहोराको वादीको फिराद दावी ।
दावीबमोजिम जवर्जस्ती खिचोला गरी २०५३।१०।५ मा घर बनाएको होइन । सर्भे नापीको समयमा म समसुद्दिनको घर छ । साविकदेखि म समसुद्दिनले घर बनाई भोग चलन गरिआएको घर जग्गा हो । बीरगञ्ज नगर विकास समितिले कुन कानूनी आधारमा मेरो हक भोगको जग्गा वादीलाई दियो सो लिखतहरू अ.वं. ७८ नं अनुसार हेर्न सुन्न पाएमा र अ.वं. १७१ नं अनुसार नाप नक्सा भएमा वादीले उल्लेख गरेको चार किल्ला आदि मिलान खान आउँछ आउँदैन सो यकीन गर्न पर्ने हो । रहमानका नाउँमा समेत नापी भएको तथा रहमान र आलम गिरका हक भई मेरो हक भोगको र केही सडक पश्चिमतर्फ गएकोमा ऐलानी हुन गई ऐलानीसमेतको जग्गामा २०४६ सालअघि नै घर बनाई भोगचलन गरिआएको आज बीसौं वर्ष भइसक्यो सोतर्फ कसैको उजूर पर्न आएको छैन । २०५३।१०।५ गते घर निर्माण गरेको भन्ने यावत कुरो झुठ्ठो हो, सो हुँदा हदम्यादसमेतको अभावमा परेको प्रस्तुत मुद्दा खारेजभागी हुँदा झुठा दावीबाट अलग फुर्सद गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी समसुद्दिन अन्सारीको प्रतिउत्तर पत्र ।
विपक्षीले दावी लिएको स्थानमा प्रतिवादी समसुद्दिन अन्सारीको साविकदेखिकै घर कम्पाउण्ड छ । विपक्षीले भत्काई पाऊँ भनेको घर पर्खाल धेरै वर्षअघि निर्माण भएको हो । समसुद्दिनको घर हुँदा मैले समेत निजैलाई जग्गाहरू हस्तान्तरण गरेको जग्गा र अन्य जग्गासमेतमा निजैले निर्माण गरी बसोवास गरिआएका छन् । विपक्षीले भनेबमोजिम २०५३।१०।५ का दिन निर्माण भएको होइन र खिचोला गरेको पनि होइन । झुठ्ठा एवंम् हदम्याद विहीन फिराद खारेज गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी आलम गिर अन्सारीको प्रतिउत्तर पत्र ।
विपक्षीले दावी लिएको स्थानमा प्रतिवादी समसुद्दिन अन्सारीको साविकदेखिकै घर कम्पाउण्ड हो । विपक्षीले भत्काई पाऊँ भनेको घर पर्खाल धेरै वर्षअघि निर्माण भएको हो । समसुद्दिनको घर हुँदा मैले समेत निजैलाई जग्गाहरू हस्तान्तरण गरेको जग्गा र अन्य जग्गासमेतमा निजैले निर्माण गरी बसोवास गरिआएका छन् । विपक्षीले भनेबमोजिम २०५३।१०।५ का दिन घर निर्माण भएको होइन र खिचोला गरेको पनि होइन । सो हुँदा झुठ्ठा दावीबाट अलग फुर्सद गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी जमिर मियाँ भन्ने जमिल मियाको श्रीमती मोकीमा खातुनको प्रतिउत्तर पत्र ।
वादीको साक्षी नथुनी मियाँ अन्सारी, पशुपति दास तथा प्रतिवादीको साक्षी प्रवेश अहमद अन्सारी, अव्दुल अजीम अन्सारी समेतले अदालतमा गरेको वकपत्र ।
आदेशानुसार मिति २०५५।९।२७ मा डोरबाट भै आएको विवादित जग्गासमेतको नाप नक्सा मुचुल्का ।
वादीले दावी गरेको जग्गाहरू वीरगञ्ज नगर विकास समितिबाट लिखत रजिष्ट्रेशन गरिलिएको तथ्य निजका नाउँको ज.ध.द.प्र.पूर्जा, मालपोत तिरेको रसिद समेतका प्रमाणबाट प्रमाणित हुन्छ । सो मा प्रतिवादीको जिकीर देखिन्न । डोरबाट भैआएको उल्लिखित कि.नं १४२ को न.नं ८,९,११ तथा कि.न.ं १४३ को न.नं. ४,५ समेतको जग्गामा प्रतिवादीको हक पुगेको कुनै पनि लिखत प्रमाण प्रतिवादीले देखाउन खुलाउन सकेको पाइएन । मिसिल संलग्न वादीका साक्षीको वकपत्र तथा लगाउको दे.न. १८५२ को खिचोला मेटाई घर पर्खाल भत्काई चलन चलाई मुद्दामा भै आएको सरजमीन व्यहोरा समेतबाट न.नं.४,८ मा भएको निर्माण कार्य प्रतिवादीले २०५२ सालमा आएर गरेको देखिँदा वादी दावीबमोजिम कि.नं. १४२, १४३ को नं.न. ४ र ८ को जग्गामा प्रतिवादीले बनाएको घर पर्खाल हटाई खिचोला मेटाई वादीलाई चलन समेत चलाई दिने ठहर्छ भन्ने समेत व्यहोराको शुरु पर्सा जिल्ला अदालतको मिति २०५६।७।१४ को फैसला ।
अदालतबाट भएको नक्सामा न.नं.८ मा पूर्वतर्फ ६० फीट र सोदेखि उत्तर ६१ फीट जम्मा १२१ फीट कायम गरिएको छ । पश्चिमतर्फ ६०,६० र १३ गरी १३३ फीट कायम गरिएको छ । यसरी १२ फीट बढी भएपछि सो वादी दावीभन्दा बढी प्राप्त हुन नसक्ने र कि.नं १४३ को न.नं ४ मा क्षेत्रफलतर्फ पनि साढे नौ कनवा बढ्न गएको छ । कि.नं १४२ को नक्सा नं ८ को ०–०–११–० छ । पश्चिम साध ज.८९ भनी न.नं. ३ लाई भनिएको छ । सो साधँमा पश्चिमतर्फ उत्तर दक्षिण १०८ फीट पूर्वतर्फ १०७ फीट छ । ज.८९ साँध राख्दा यसतर्फ मिचेको भन्ने नभएपछि १०८ र १०७ भन्दा बढी भन्ने देखिन आउँछ । वादीले देखाएको नक्सा साँधसँग मिलान हुन आउँदैन । वादीले लिखत गर्न नसकी दूषित दर्ताको ज.ध.पूर्जा पेश गर्दैमा मेरो हकभोगको जग्गा वादीको हुँदैन । नगर विकास समितिको पत्रले पनि भोगचलन मेरो कायम स्वीकार गरी सोको प्रमाण पेश छ । हकै नपुग्ने अधिकरण र मुआव्जा नदिई प्लट बनाई विक्री गर्यो भनी अनुमानको आधारमा वारा जिल्लाको साविक दर्ता तिरो तथा कि.नं. ३० को हाल पनि कि.नं ९१ का जग्गा कायम रहेसम्म कि.का. नभई प्लट नं १४२ र १४३ को दर्ता स्रेस्ता भनी दूषित दर्तालाई स्वीकार गरी हदम्याद व्यतीततर्फ केही नबोली एकै दिनमा घर बनायो भन्ने झुठ्ठो वारदातलाई आधार लिई भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीको पुनरावेदन जिकीर ।
वादी दावीभन्दा बढी जग्गामा खिचोला ठहर्याएको र वादीको जग्गाको चार किल्लासमेत यकीन नगरी पर्सा जिल्ला अदालतबाट भएको फैसला फरक पर्न सक्ने देखिँदा अ.वं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ बमोजिम प्रत्यर्थी झिकाउनु भन्ने व्यहोराको मिति २०५७।९।१७ को आदेश ।
वादी वीरेन्द्रकुमार दासको मिति २०५७।१०।२९ को लिखित प्रतिवाद मिसिल संलग्न रहेको ।
नक्सा मुचुल्काबाट न.नं ४,८ को विवादित वादीको दर्ताभित्रको कि.नं. १४२, १४३ को जग्गामा यी पुनरावेदक प्रतिवादीले घर पर्खालसमेत निर्माण गरेको देखिन आएकाले र सो घर पर्खाल नापीकै समयमा निर्माण रहेको अन्य प्रमाण प्रस्तुत कित्ताका जग्गाको हकमा गुज्रिन नआएको अवस्थामा प्रतिवादीले पछिमात्र निर्माण गरेको घर पर्खाल वादीको हक स्वामित्वको जग्गामा निर्माण गरेको भन्ने कुरा प्रमाणित हुन आयो । अतः कि.नं १४२, १४३ को न.नं. ४ र ८ को जग्गामा प्रतिवादीले बनाएको घर पर्खाललाई खिचोला मेटाई चलनसमेत चलाई पाउने ठहर्छ भनी शुरु पर्सा जिल्ला अदालतबाट भएको मिति २०५८।७।१४ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत हेटौडाको मिति २०५८।१०।१५ को फैसला ।
विपक्षीले फिरादमा घर गोदाम कम्पाउण्डवाल मिति २०५३।१०।५ गते विहान ९ बजे बनाउन शुरु गरी सोही दिन बेलुका ५ बजे तयार भएको भन्नु भएको छ । सोही घरको पूर्वतर्फको भाग भत्काई पाऊँ भन्ने जुवैदा खातुनको फिरादमा २०५१।६।३० बाट बनाउन शुरु गरी २०५२।६।२० मा तयार गरेको भनी दावी गरेकोमा त्यसमा सोभन्दा पहिला नै घर गोदाम पर्खाल निर्माण भैसकेको आधार लिई हदम्यादको आधारमा फिराद खारेज गर्ने ठहर भएको छ । सो प्रमाण प्रस्तुत मुद्दामा आकर्षित हुने होइन भन्ने फैसलाले भन्न सकेको छैन । एउटै घर हुँदा सो फैसलाको आधारमा पनि प्रस्तुत फैसलामा गम्भीर त्रुटि विद्यमान भएको छ । वादीले मिति २०५३।१०।५ मा घर निर्माण गरेको भनी लिएको जिकीरलाई पुष्टि गराउन सकेको छैन । पुनरावेदन अदालतको फैसलामा घर बनाउनेको ११ नं, ज.मि.को १८ नं समेतको त्रुटि छ । २०५१।८।२२ को बीरगञ्ज नगर विकासको निर्णयमा जग्गावालाले जग्गा चिनाई पाउन माग गरेमा प्लट देखाई दिने भनेबाटै विपक्षीलाई प्लटको पहिचान नै छैन भन्ने पाइन्छ । जव प्लटको पहिचान छैन भन्ने विपक्षीले भोगचलन गर्ने भन्ने प्रश्नै आउँदैन । पुनरावेदन अदालतको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ३,५४, अ.वं.१८४क, १८५ समेतको प्रतिकूल हुँदा दोहोर्याई हेरी बदर गरी न्याय पाऊँ भन्ने समेतको प्रतिवादी समसुद्दिन अन्सारीको यस अदालतमा परेको निवेदन ।
पुनरावेदन अदालत हेटौंडाको फैसलामा एकरुपता नभएको साथै प्रमाण ऐन, २०३१ को दफा ५४ र घर बनाउनको ११ नं.को त्रुटि देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) को आधारमा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिएको छ । नियमानुसार पेश गर्नु भन्ने यस अदालतको आदेश ।
नियमबमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीतर्फबाट उपस्थित विद्वान अधिवक्ता अर्थबहादुर हमाल र उज्जलराज मैनाली एवं विदुषी अधिवक्ता सविता भण्डारी वरालले साथै विपक्षीतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता कमलनारायण दासले गर्नु भएको बहस समेत सुनी पुनरावेदनसहितको मिसिल अध्ययन गरी पुनरावेदन अदालत हेटौँडाबाट भएको फैसला मिलेको छ, छैन साथै पुनरावेदकको पुनरावेदन जिकीर पुग्न सक्छ, सक्दैन भन्ने सम्बन्धमा निर्णय दिनु पर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा मेरो नाउँ दर्ताको जिल्ला पर्सा बीरगञ्ज नगर विकास समितिबाट खरीद गरी लिएको वडा नं. ८ कि.नं. १४२ प्लट नं ११९६ को ०–१–३ =।।। जग्गा र ऐ.ऐ. कि.नं. १४३ प्लट नं ११९८ को ०–१–३ ।।। मध्ये दक्षिणतर्फबाट ०–०–६–११ जग्गा विपक्षीले खिचोला गरी पर्खाल घर निर्माण गरेकोले खिचोला मेटाई घर पर्खाल हटाई चलन समेत चलाई पाऊँ भन्ने वादी दावी भएकोमा वादी दावीको जग्गामा रहेको पर्खाल गोदाम घरसमेत २०४६ साल अगाडि सर्भे नापीकालदेखि नै निर्मित भै भोगचलन गरिआएको हुँदा खिचोला नगरेको र वादीको फिराद हदम्यादसमेतको अभावमा खारेज गरिपाऊँ भन्ने समेतको प्रतिवादीमध्येको समसुद्दिन अन्सारीको, वादी दावीबमोजिम प्रतिवादीले गरेको खिचोलामा हाम्रो मिलोमतो नरहेकोले वादी दावीबाट फुर्सद पाऊँ भन्ने समेतको प्रतिवादीमध्येको बीरगञ्ज नगर विकास समितिको, विपक्षीले दावी लिएको स्थानमा समसुद्दिन अन्सारीको साविकदेखिकै घर कम्पाउण्ड छ । विपक्षीले भनेबमोजिम २०५३।१०।५ मा घर निर्माण भएको होइन । फिराद खारेज गरिपाऊँ भन्ने समेतको प्रतिवादीमध्येको आलम गिर र जमिर मियाँ भन्ने जमिल मियाँको श्रीमती मोकीमा खातुनको प्रतिउत्तर जिकीर देखिन्छ । दावीबमोजिमको जग्गामा प्रतिवादीले बनाएको पर्खाल गोदाम घर भत्काई हटाई वादीलाई चलनसमेत चलाई दिने गरेको शुरू फैसला सदर गरेको पुनरावेदन अदालत हेटौँडा फैसलाउपर उक्त फैसला बदर गरी न्याय पाऊँ भन्ने जिकीरसहितको प्रतिवादीमध्ये समसुद्दीन अन्सारीको मुद्दा दोहोर्याई पाऊँ भन्ने निवेदन परी सोमा दोहोर्याई हेर्ने निस्सा प्रदान भई निर्णयार्थ पेश हुन आएको देखियो ।
३. वादीले दावी गरेको कि.नं. १४२ प्लट नं ११९६ र कि.नं.१४३ प्लट नं ११९८ को जग्गा बीरगञ्ज नगर विकास समितिबाट वादीले रजिष्ट्रेशन गरिलिएको वादीको दर्ता तिरोभित्रको जग्गा हो भन्ने तथ्य मिसिल संलग्न वादी वीरेन्द्रकुमार दासको नाउँको जग्गाधनी दर्ता प्रमाण पूर्जा, मालपोत तिरेको रसिद समेतबाट देखिन्छ । उक्त जग्गा नगर विकास समितिले प्राप्त गरी अधिग्रहण पछि प्लटिङ्ग गरेर व्यवस्थित शहरको लागि विक्री वितरण गरिएको जग्गामध्येको भएको र वादीले प्राप्त गरेको देखिन्छ । अदालतबाट भै आएको मिति २०५५।९।२७ को नक्सा मुचुल्काबाट न.नं. ८,९,११ कि.नं. १४२ प्लट नं. ११९६ को जग्गा भएको, नं. नं. ४,५ कि.नं १४३ प्लट नं ११९८ को जग्गा भएको र न.नं. ८,९ को विवादित घर पर्खाल देखिन्छ । न.नं ९,११ कि.नं १४२ को जग्गा न.नं. ८ को सम्म जोडी हेर्दा र न.नं. ५ को कि.नं. १४३ को जग्गा नं.नं ४ सम्म जोडी हेर्दा पूर्व, पश्चिम, उत्तर, दक्षिण सवै दिशामा सीधारेखामा गई एउटै चाक्लाको जग्गा देखिन्छ । न.नं.४,८ को जग्गामा प्रतिवादी समसुद्दिन मियाँ अन्सारीको हक पुग्ने कुनै पनि लिखत स्रेस्ता प्रमाण प्रतिवादीले देखाउन खुलाउन सकेको पाइदैन । यस्तो अवस्थामा वादी दावीको नं.नं ४,८ को विवादित पर्खाल, घर वादी वीरेन्द्रकुमार दासको कि.नं १४३, १४२ को जग्गामा निर्माण गरी प्रतिवादी समसुद्दिन मियाँ अन्सारीले खिचोला गरेको देखियो । यसरी नाप नक्सा समेतका प्रमाणबाट विवादित जग्गा वादीको देखिँदा प्रतिवादीले खिचोला गरेको ठहर्छ ।
४. सो वादीको ठहरेको जग्गाको न.नं. ४ र ८ मा रहेका गोदाम घर पर्खाल भत्काइनु पर्ने हो होइन भन्ने अर्को निर्णायक प्रश्न यस मुद्दामा रहेको छ । नक्सामा गोदाम घरको आकृति हेर्दा सो लाम्चो रुपमा रही सो सम्पूर्ण संरचनामध्ये न.नं.४ र ८ को खण्डबाहेक अन्य भाग प्रतिवादीकै हक स्वामित्वको जग्गामा बनेको देखिन्छ । सो समग्र संरचनाका कारणले नै वादीले आफ्नो जग्गा मिचिएको छ छैन् थाह पाउन नगर विकास समितिमा निवेदन दिई जाँचवुझ गराई २०५३।१०।२० को पत्र पाई जग्गा मिचिएको थाहा पाई प्रस्तुत फिराद गरेको पाइन्छ । लगाउको दे.पु.नंं ७९९७ को पुनरावेदक जुवैदा खातुन विरुद्ध समसुद्दीन अन्सारी भएको खिचोला मेटाई घर भत्काई पाऊँ भन्ने मुद्दामा गरिएको विवेचनाबाट विपक्षी समसुद्दीन अन्सारीले विवादित गोदाम घर पर्खाल मिति २०५१।८।२२ भन्दा पहिले नै वनिरहेको स्थापित भएको छ । मिति २०५३।११।१०.मा प्रस्तुत फिराद दायर भएको छ । यसरी घर भत्काईपाऊँ भन्ने तर्फको दावी घर बनाउनेको ११ नं. मा व्यवस्थित हदम्यादभित्र परेको नपाइँदा घर भत्काई दिनु पर्ने अवस्था परेन ।
५. तर, आफ्नो हक नपुग्ने जग्गामा कसैले घर बनायो र सो घर बनेको एक वर्ष नाघ्यो भन्दैमा जग्गामा नै घर बनाउनेको स्वामित्व कायम हुन्छ वा हुँदैन भन्ने अर्को निर्णायक प्रश्न यस अदालतसमक्ष उपस्थित भएको छ । सम्पत्तिमा स्वामित्वको प्राप्ति र समाप्तिका सुनिश्चित कानूनी आधार छन् । सम्पत्तिमा अतिक्रमणका माध्यमले हक स्थापित हुन सक्दैन । अरुको हक स्वामित्वको जग्गामा घर बनाइयो भन्दैमा यसलाई भोगाधिकार वा कव्जा वा चीरभोगको रुपमा मान्यता दिनु न्यायसँगत हुँदैन । कुनै जग्गामा उभिएको घरका हकमा जग्गा र घरको कानूनी स्थिति अलग हुने कुरालाई यसै अदालतको पूर्ण इजलासले नेकाप २०५७ पृष्ठ १०७ नि.नं. ६८५४ मा अंगीकार गरिसकेको छ । घर बनाउनेको ११ नं. ले पनि घर भत्काई दिने निर्णय दिन घर तैयार भएको मितिले एक वर्षपछि रोकेको हो सो जग्गाको हक स्वामित्वसमेत घर बनाउने पक्षलाई दिलाउनुपर्छ भनेको होइन । तसर्थ, न.नं.४ र ८ को जग्गामा प्रतिवादीको स्वामित्व नै कायम हुन सक्दैन । केवल घर बनेको १ वर्ष नाघेका कारणले घर भत्काई पाऊँ भन्ने वादी दावी पुग्न सक्दैन ।
६. अव उल्लिखित न.नं. ४ र ८ को जग्गामा वादीको हक कसरी संरक्षित हुन सक्दछ भन्ने अर्को निर्णायक प्रश्न यस अदालतका सामु छ । यसका लागि नं.नं. ४ र ८ को घर जे जस्तो रुपमा अदालतको आदेशानुसार भएको २०५४।५।१४ को नक्सामा छ सोही रुपमा कायम रहनु नितान्त आवश्यक छ । त्यसमा मरमत संभार, थप निर्माणलगायतका कुनै पनि किसिमको निर्माण कार्य प्रतिवादी पक्षले गर्न नपाउने र सो न.नं ४ र ८ को भौतिक संरचना भत्के नासिएमा त्यसले ओगटेको जग्गा वादीको हुने कार्यले वादीको हक संरक्षण हुने देखिन्छ । तसर्थ, न.नं. ४ र ८ को विवादित गोदाम घर पर्खाललाई थप निर्माण तथा मरमत सम्भार गर्न प्रतिवादीले नपाउने र उक्त विवादित न.नं.४ र ८ को घर पर्खाल भत्की गएपछि सोमा वादीको हक कायम हुने ठहर्छ । पुनरावेदन अदालत हेटौँडाको फैसला केही उल्टी हुन्छ । अरु तपसील बमोजिम गर्नू ।
तपसील
माथि इन्साफ खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत हेटौँडाको फैसला केही उल्टी हुने ठहरेकोले उक्त अदालतको मिति २०५८।१०।१५ को फैसलाको तपसिल नं. १ ले कायम गरेको लगत र शुरु पर्सा जिल्ला अदालतको मिति २०५६।७।१४ को फैसलाको तपसिल नं. १ र २ ले कायम गरेको लगतसमेत कायम नरहने हुँदा उक्त लगतहरू कट्टा गरी मिति २०५५।९।२७ को नक्सा मुचुल्कामा उल्लिखित न.नं ४ र ८ को विवादित पर्खाल गोदाम घर भत्किगएपछि सो चलन चलाई पाऊँ भनी वादीको म्यादभित्र दरखास्त परे कानूनबमोजिम गरी चलन चलाई दिनु भनी शुरु पर्सा जिल्ला अदालतमा लेखी पठाई दिनू..१
प्रतिवादी समसुद्दिन अन्सारीके माथि इन्साफ खण्डमा लेखिएबमोजिम हुने ठहरेकोले मिति २०५५।९।२७ को नक्सा मुचुल्कामा उल्लिखित न.नं. ४ र ८ को विवादित गोदाम घर पर्खाललाई थप निर्माण तथा मर्मत सम्भार समेत नगर्नु भनी शुरु पर्सा जिल्ला अदालतमा लेखी पठाई दिनू......२
उपरोक्त फैसलाबमोजिम वादीले प्रतिवादीबाट भरी पाउने शुरु कोर्ट फीमध्ये कोर्ट फी रु २००। र प्रतिवादीले पुनरावेदन अदालतमा पुनरावेदन गर्दा र.नं. ८५९० बाट मिति २०५७।२।२७ मा राखेको धरौटी रकम रु २८६०। मध्येबाट रु.२००। वादीले फिर्ता माग्न आएमा निजलाई नियमानुसार गरी फिर्ता दिनु र वाँकी रु.२६६०। प्रतिवादीले फिर्ता माग्न आएमा निजलाई नै नियमानुसार गरी फिर्ता दिनु भनी पुनरावेदन अदालत हेटौडामा लेखी पठाई दिनू ....... ३
दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू..... ४
उक्त रायमा म सहमत छु ।
न्या.रामप्रसाद श्रेष्ठ
इजलास अधिकृत : अर्जुन अधिकारी
इति संवत् २०६५ साल चैत ३१ गते रोज २ शुभम् ।