निर्णय नं. ८०७३ - जीउ मास्ने बेच्ने ।

निर्णय नं. ८०७३ जेठ २०६६ अङ्क २
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी
माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय
फौ.पु.नं. ०६३–CR–००६८
फैसला मितिः २०६५।१२।४।३
मुद्दाः जीउ मास्ने बेच्ने ।
पुनरावेदक वादीः शान्ता तामाङको जाहेरीले नेपाल सरकार
विरुद्ध
प्रत्यर्थी प्रतिवादीः धादिङ जिल्ला, नालाङ्ग गा.वि.स. वडा नं. ९ बस्ने रबीन्द्र सिलवाल
शुरु फैसला गर्नेः
मा.जि.न्या. शम्भुबहादुर कार्की
पुनरावेदन तहमा फैसला गर्नेः
मा.न्या. श्री गिरीशचन्द्र लाल
मा.न्या. श्री हरिबाबु भट्टराई
§ कुनै महिलाले आफूलाई कसैले बेच्यो भनी जाहेरी दिई सोही अनुरूप वयान प्रमाणित गराएकै भरमा निजको सो कथनलाई समर्थन गर्ने अन्य प्रमाण भए नभएतर्फ नहेरिने हो भने जीउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ७ को कानूनी प्रावधानको दुरुपयोग हुन सक्ने भएकाले उक्त दफा ७ को प्रावधानलाई एकतर्फीरुपमा पीडित भनी जाहेरी दिने वा वयान प्रमाणित गराउनेको सन्दर्भमा मात्र नहेरी अपराध घटे नघटेको, आरोपित प्रतिवादीले अपराध गरेको प्रमाण रहे नरहेको, प्रतिवादीले आफ्नो निर्दोषिताको प्रमाण दिन सके नसकेको समग्र वस्तुतर्फ अदालतको ध्यान जानुपर्ने ।
(प्रकरण नं.७)
पुनरावेदक वादीतर्फवाटः विद्वान नायव महान्यायाधिवक्ता श्री कुमार चुडाल
प्रत्यर्थीतर्फवाटः विद्वान अधिवक्ता श्री राजेश खड्का
अवलम्वित नजीरः
सम्बद्ध कानूनः
§ जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ७, दफा ७(२)
फैसला
न्या.मीनबहादुर रायमाझीः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्याउने निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर निम्नबमोजिम छः–
मेरो बाबु आमा म सानो हुँदा परलोक भएकोले कपन गा.वि.स.२ बस्ने मामा रामबहादुर तामाङ्गले राखी हुर्काएको र गौशाला फुटपाथमा चिया बिक्री गर्ने गरेकोमा २०५६ आश्विनतिर रवी भन्ने रबीन्द्र सिलवाल मेरो पसलमा चिया खाने र जाने गरेकोमा निजले घर बुटवलमा छ, विहा गरौं, वुटवलमा राखौंला भनी भनेकाले २०५६।७।१६ गते कलंकीबाट रात्री बसहुँदै बुटवल लगी ३ दिनसम्म रेष्टुरेन्टमा राखी भारततिर घुम्न जाउँ, फर्केर आएर वुटवलमा बसौंला भनी ललाई–फकाई बसमा तथा रेलमा राखी भारत बम्बैमा लगी कमातिपुरमा छायाँ तामाङनीको कोठीमा भा.रु. ५०,०००।– मा बिक्री गरी नुहाई आउँछु भनी नफर्केको, छायाँ तामाङनीले १५।२० दिन पछि देखि वेश्यावृत्तीको काममा लगाएको, त्यहाँकी उर्मीला नामकी शिखरवेंशीतिरकी केटीलाई एड्सको रोग लागी कोठीबाट फर्काएको र निज नेपाल आउँदा मेरो मामाको ठेगाना र सवै कुरा भनी पठाएकोमा सो केटीले मेरो मामालाई भेटिछन्, मामा बम्बई आई मलाई भेटी त्यहाँको प्रहरीलाई जाहेरगरी मलाई २०५७।२।१७ गते निकाली दिएकाले मामासँगै काठमाडौं आएको हुँदा रबीन्द्र सिलवाललाई पक्राउ गरी जीउ मास्ने वेच्ने कार्य नियन्त्रण ऐन, २०४३ बमोजिम हदैसम्म सजाय गरिपाऊँ भन्ने व्यहोराको शान्ता तामाङको २०५७।३।२ मा दर्ता भएको जाहेरी दरखास्त ।
रबीन्द्र सिलवाल मेरो चिया पसलमा दैनिक चिया खान आउने र निजसँग राम्रोसँग चिनजान भै मसँग विवाह गरौं भनी भनेकोले मञ्जूर गरेपछि मिति २०५६।७।१६ गते कलंकी गै रात्री बस चढेर बुटवल गयौं र चौथो दिनमा बस र रेलमा चढाएर बम्बै भन्ने ठाउँमा छायाँ तामाङको घरमा लगी रु.५०,०००।– मा बिक्री गरी फर्कियो । लगभग ५ महिना पछि सोही वेश्यालयमा बेचिएकी उर्मिला तामाङलाई एड्स लागेकोले साहूनीले निकालेर घर पठाई दिएकोले निजको हातमा मेरो मामाले पाउने गरी पत्र लेखी पठाएको थिएँ । सो पत्र पाएपछि मामा भारत बम्बैमा गई २०५७।२।१७ गते त्यहीको स्थानीय प्रहरीसँग पुगेर मलाई उक्त वेश्यालयबाट निकालेर प्रहरीले मामा जिम्मा लगाएर पठाएकोले मामासँग आई जिल्ला प्रहरी कार्यालय काठमाडौंमा जाहेरी दिएकी हुँ भन्ने समेत व्यहोराको जाहेरवाला शान्ता तामाङले जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ताको रोहवरमा गरेको वयान काठमाडौं जिल्ला अदालतबाट प्रमाणित भएको ।
शान्ता तामाङलाई म चिन्दिन । रिसइवी पनि छैन । मैले निज जाहेरवाली शान्ता तामाङलाई भारत बम्बैमा लगी बिक्री गरेको समेत छैन । जाहेरीसँग पेश गरेको फोटो मैले गौशाला रिजाल फोटो स्टुडियोमा खिचेर श्रीमान लामासँगको मेरो रकम पाउने सम्बन्धमा मिलापत्र गर्ने भनी श्रीमान लामासँग मेरो संझौता भएको र मिलापत्रको लागि फोटो चाहिन्छ भनेर श्रीमान लामाले भनेकाले उक्त पासपोर्ट साइजको फोटो श्रीमान लामाले पाउने गरी निजको मानिस विजय मोक्तानलाई दिएको, सोही फोटो श्रीमान लामाले जाहेरीसँग पेश गर्न लगाएको हुनुपर्छ । शान्ता तामाङ्गलाई भारत बम्बई वेश्यालयमा लगेर बिक्री गर्यो भन्ने मुख्य भूमिका श्रीमान लामाले नै बनाएको हुनुपर्छ । जाहेरवालालाई मैले यसै घटनामा जाहेरी परे पछि मात्र देखि चिनेको हुँ । निजलाई मैले श्रीमती बनाएर लगेको, वुटवलमा ३ दिनसम्म राखेको होइन भन्ने समेत व्यहोराको प्रतिवादी रबीन्द्र सिलवालले जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता समक्ष गरेको वयान ।
प्रतिवादी रबीन्द्र सिलवालको फोटो मैले खिचेको हुँ । देखाइएको सानो फोटो मेरो स्टुडियोमा बनेको हो । पोष्टकार्ड साइजको फोटो पासपोर्ट साइजको फोटोबाट फोटो खिचेर नेगेटिभ तयार गरी रंगिन पेपरमा प्रिन्ट गरी अर्को फोटो तयार गरेको देखिन्छ । सो कहाँ तयार गरेको हो, थाहा छैन । रबीन्द्र सिलवालको फोटो जाहेरवालासँग कसरी पुग्यो मलाई थाहा छैन भन्ने समेत व्यहोराको बुझिएका रिजाल फोटो स्टुडियोका सञ्चालक सीताराम रिजालको कागज ।
मिसिल संलग्न परिस्थितिजन्य प्रमाण समेतका आधारबाट प्रतिवादी रबीन्द्र सिलवालले जाहेरवालीलाई विवाह गर्ने प्रलोभन देखाई ललाई–फकाई भारत बम्बै स्थितछाया तामाङ्गको वेश्यालयमा लगी भा.रु. ५०,०००।– मा बिक्री गरेको भन्ने पुष्टि हुन आएकोले निज प्रतिवादीको उक्त कार्य जीउ मास्ने वेच्ने (कार्य नियन्त्रण) ऐन, २०४३ को दफा ४(क) को कसूर अपराध गरेको देखिँदा प्रतिवादी रबीन्द्र सिलवाल उपर सोही ऐनको दफा ८(१) अनुसार तथा सोही ऐनको ८(५) अनुसार थप सजाय समेत गरिपाऊँ भन्ने २०५७।३।२७ को अभियोग पत्र ।
जाहेरवालीलाई चिनेको छैन । निजलाई मैले भारत बम्बैमा लगी बिक्री गरेको होइन । श्रीमान लामाले सञ्चालन गरेको मधु रेष्टुरेण्टमा आफू गार्डको काम गर्ने गरेको, प्रहरीले छापा मारी सार्वजनिक अपराध मुद्दा चलाएकोमा आफूले सफाइ पाएको, श्रीमान लामालाई जीउ मास्ने वेच्ने समेत मुद्दा चलाई थुनामा परेकाले सो रेष्टुरेण्ट न्यू राजधानी रेष्टुरेण्ट नाम राखी २ जना पार्टनर राखी श्रीमानसँग कागज गरी रेष्टुरेण्ट सञ्चालन गर्न थालेकोमा २०५६ माघमा जेलबाट निज श्रीमान लामा छुटे पछि पार्टनरहरूलाई निजहरूको हिस्सा दिई विदा गरे पछि आयस्ता श्रीमानले राख्न थाले । रेष्टुरेण्ट संचालन गर्न सम्झौता गर्नु पर्ने भै फोटो चाहिन्छ भनेकोले रिजाल फोटो स्टुडियोमा फोटो खिचाई श्रीमान लामाको साथी विजय मोक्तानलाई दिएको थिएँ । फोटो फिर्ता नगरी सम्झौता पनि तयार नगरी शुरुको खातापाता श्रीमान लामाले च्याते ।, आफू गार्ड वस्दाको तलव बाँकी भएकोमा सो नदिए पछि गौशाला प्रहरी कार्यालयमा उजूर गरेकोमा सम्झौता गर्न भनी लगेको फोटो जाहेरवालालाई दिई झुठ्ठा उजूर गर्न लगाएको हो । बिक्री गरेको भनेको मितिमा कामना सेभिङ्ग कोअपरेटिभमा कलेक्टर पदमा हाजिर रहेको छु भन्ने समेत ब्यहोराको प्रतिवादी रबीन्द्र सिलवालले जिल्ला अदालतमा गरेको बयान ।
प्रतिवादीका साक्षीहरू सीताराम रिजाल र रविन मैनालीले शुरु अदालतमा गरेको वकपत्र मिसिल सामेल रहेको ।
पीडित भनिएकी जाहेरवाली शान्ता तामाङलाई प्रतिवादी रबीन्द्र सिलवालले नै बिक्री गरेको भन्ने कुरा पुष्टि हुन सक्दैन । वादी दावी पुग्न नसक्ने र दावीको कसूरबाट प्रतिवादीले सफाइ पाउने ठहर्छ भन्ने समेत व्यहोराको काठमाडौं जिल्ला अदालतको मिति २०५८।१०।३० को फैसला ।
जिउ मास्ने वेच्ने (कार्य नियन्त्रण) ऐन, २०४३ विशेष ऐन हो । उक्त ऐनको दफा ७ बमोजिम आफू विरुद्धको कसूर अपराध आफूले गरेको होइन भन्ने कुरा बस्तुनिष्ठ प्रमाणबाट प्रतिवादी स्वयंले प्रमाणित गराउनु पर्दछ । प्रतिवादीको फोटो सहित दाखेल गरी किटानी जाहेरी दरखास्त दिएको अवस्थामा प्रतिवादीको इन्कारी बयान र प्रतिवादीका साक्षीहरूको वकपत्रको आधारमा मात्र प्रतिवादीलाई अभियोग दावीबाट सफाइ दिन मिल्दैन । पीडितको किटानी जाहेरी दरखास्त एवं जाहेरवालीले अधिकारप्राप्त अधिकारी समक्ष गरेको बयान तथा जाहेरवालीले प्रतिवादी उपर अभियोग लगाउनु पर्ने मनासिव कारण प्रतिवादीबाट पेश हुन नसकेको अवस्थामा समेत अभियोग दावीबाट प्रतिवादीले सफाइ पाउने ठहराएको शुरुको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी प्रतिवादीलाई अभियोग दावी बमोजिम सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको वादीको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र ।
शान्ता तामाङको किटानी जाहेरी, निजको अधिकारप्राप्त अधिकारी समक्ष भएको बयान जिल्ला न्यायाधीश समक्ष प्रमाणित भईरहेको अवस्था र जाहेरवालाले आफू उपर अभियोग लगाउनु पर्ने कुनै मनासिव कारण प्रतिवादीले आफ्नो बयानमा उल्लेख गर्न नसकेको स्थितिमा केवल अ.वं. ११५ नं. बमोजिम पीडितको मामा र पीडित अदालतमा उपस्थित भई वकपत्र गर्न नसकेको भन्ने आधारमा प्रतिवादीलाई सफाइ दिने ठहराएको फैसला फरक पर्न सक्ने हुँदा छलफलको लागि प्रत्यर्थी झिकाई पेश गर्नु भन्ने समेत व्यहोराको मिति २०६०।८।५ को पुनरावदेन अदालत पाटनको आदेश ।
प्रतिवादीलाई अभियोग दावीबाट सफाइ दिने ठहराएको काठमाडौं जिल्ला अदालतको मिति २०५८।१०।३० को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने पुनरावेदन अदालत पाटनको २०६१।९।१९ को फैसला ।
प्रतिवादीले कसूर गरेमा इन्कार रही बयान गरे पनि किटानी जाहेरी र जाहेरवालीको बयानमा उल्लिखित कुरालाई झुठ्ठा हो भनी तथ्ययुक्त आधारमा प्रमाणित गर्न सकेको अवस्था छैन । जाहेरवाली उपस्थित हुन नआएको कुराले प्रतिवादीले आफ्नो निर्देषिता सावित गर्नु पर्ने र प्रमाण पुर्याउनु पर्ने भारको दायित्व समाप्त हुन सक्दैन । पीडितलाई वेश्यालयबाट निकाल्ने निजको मामा रामबहादुर तामाङ फेला नपरेको कारणले अन्य प्रमाणलाई नबुझी प्रतिवादीलाई सफाइ दिन मिल्ने होइन । जीउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ७ अनुसार जीउ मास्ने वेच्ने जस्तो मुद्दामा प्रतिवादीले अन्यथा प्रमाणित गर्न सकेमा बाहेक पीडित जाहेरवालीको भनाइलाई विश्वासप्रद मान्नु पर्ने भनी सम्मानित अदालतबाट सिद्धान्त प्रतिपादन भएकोमा सोको प्रतिकूल हुने गरी पुनरावेदन अदालत पाटनबाट भएको फैसलामा प्रमाण ऐन, २०३१ को दफा २७, ५४ तथा जीउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ७(१) र (२) को गम्भीर कानूनी त्रुटि भएकोले मुद्दा दोहोर्याउने निस्सा प्रदान भै उक्त फैसला बदर गरी प्रतिवादीलाई अभियोग दावी बमोजिम सजाय गरिपाऊँ भन्ने वादी नेपाल सरकारको २०६२।२।५ मा यस अदालतमा दर्ता भएको निवेदन ।
यसमा जाहेरवाली पीडित शान्ता तामाङले मिति २०५७।३।२।६ मा प्रत्यर्थी प्रतिवादीलाई गडाउ गरी गरेको बयान कागज जिल्ला अदालत काठमाडौंबाट सोही मितिमा प्रमाणित गरेको देखिएको अवस्थामा, त्यस्तो कागज पीडित अदालतमा उपस्थित भै बकपत्र नगरे पनि प्रमाणमा गाह्य हुने गरी संवत् २०५९ सालको फौ.पु.नं. ३२५७ पु.वे. प्रतिवादी सुनिल लामा भन्ने कृष्णबहादुर लामा विरुद्ध सम्झना लामाको जाहेरीले श्री ५ को सरकार भएको जीउ मास्ने वेच्ने मुद्दामा व्याख्या भै सिद्धान्त प्रतिपादन भै सकेको अवस्थामा, सो प्रमाणित बयान कागजलाई प्रमाणमा ग्रहण नगरी आरोपित अभियोगबाट प्रतिवादीलाई सफाइ दिने गरी गरेको शुरु फैसलालाई सदर गरेको पुनरावेदन अदालत पाटनको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ५४ तथा उक्त नजीरको त्रुटि देखिनाले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) (ख) बमोजिम दोहोर्याउने निस्सा प्रदान गरिएको छ । प्रत्यर्थी झिकाई नियमानुसार पेश गर्नु भन्ने यस अदालतको २०६३।३।९ को आदेश ।
नियमबमोजिम पेशीसूचीमा चढी आज यस इजलास समक्ष पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदन जिकिर सहित मिसिल कागजात अध्ययन गरी पुनरावेदकतर्फबाट नायब महान्यायाधिवक्ता कुमार चुडालले पीडित कोठीमा वेचिएर नेपाल फर्किएको भन्ने तथ्य निजले बयानमा खुलाएको अवस्था छ । पीडितले वेश्यालयबाट उद्धार गर्ने व्यक्ति काम गरी खाने व्यक्ति भएकोले खोजी गर्दा फेला नपर्नु स्वभाविक नै हो, पीडितको अदालतमा प्रमाणित बयान खम्बिर प्रमाणको रुपमा रहने हुँदा प्रतिवादीलाई सफाइ दिएको फैसला मिलेको छैन भनी तथा प्रतिवादीकातर्फबाट उपस्थित विद्वान अधिवक्ता राजेश खड्काले प्रतिवादीले श्रीमान लामासँग रेष्टुरेन्ट संचालन गर्ने सम्झौता गरी रेष्टुरेन्ट चलाउने सम्बन्धमा पछि आएर झगडा गरेको कारण श्रीमान लामाले झुठ्ठा वारदात खडा गर्न लगाएको अवस्था छ, पीडित भनिएकी व्यक्तिलाई बिक्री गरिएको होइन, रामबहादुर भन्ने व्यक्तिले पीडितलाई उद्दार गरेको भने पनि अदालतमा कोही उपस्थित भएको छैन, सम्झौतामा टाँस्न खिचेको फोटो हात पारी जाहेरवालालाई दिई प्रतिवादीलाई फसाई रेष्टुरेण्ट हात पार्न खोजिएको हो, जाहेरी बाहेक अन्य प्रमाण छैन, बारदात मिति समयमा प्रतिवादी सहकारी वचत संस्थामा कार्यरत रहेकोले अभियोग दावी पुष्टि नहुँदा प्रतिवादीलाई सफाइ दिईएको पुनरावेदन अदालतको फैसला मनासिव छ भनी गर्नु भएको वहस समेत सुनियो ।
उपर्युक्त वहस जिकिर एवं मिसिलबाट देखिएको तथ्य समेतलाई मध्यनजर राखी इन्साफतर्फ विचार गर्दा, प्रतिवादी रबीन्द्र सिलवालले जाहेरवालीलाई विवाह गर्ने समेतका प्रलोभन देखाई ललाई फकाई भारत बम्बै स्थित छायाँ तामाङको वेश्यालयमा लगी भा.रु. ५०,०००।– मा बिक्री गरेको भन्ने पुष्टि हुन आएकोले निज प्रतिवादीको उक्त कार्य जीउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४(क) को कसूर अपराध गरेको देखिँदा निज प्रतिवादी रबीन्द्र सिलवाल उपर सोही ऐनको दफा ८(१) अनुसार तथा सोही ऐनको दफा ८(५) अनुसार थप सजाय समेत गरिपाऊँ भन्ने अभियोग माग दावी भएकोमा प्रतिवादीलाई शुरु तथा पुनरावेदन अदालतले सफाइ दिएको अवस्था छ ।
जाहेरी व्यहोरा हेर्दा गौशाला फुटपाथमा चिया बिक्री गर्ने गरेकोमा रवि भन्ने रबीन्द्र सिलवालले घर बुटवलमा छ, विहा गरौं, वुटवलमा राखौंला भनी २०५६।७।१६ गते कलंकीबाट रात्री वसबाट बुटवल लगी ३ दिनसम्म रेष्टुरेन्टमा राखी भारत तिर घुम्न जाउँ भनी वसमा तथा रेलमा राखी भारत बम्बैमा लगी कमातिपुरमा छायाँ तामाङनीको कोठीमा भा.रु. ५०,०००।– मा बिक्री गरेको भन्ने उल्लेख गरेको देखिन्छ र जिल्ला न्यायाधिवक्ता समेत समक्ष सोहि अनुरूप वयान भएको र सो वयान जिल्ला अदालतबाट प्रमाणित भएको समेत देखिन्छ ।
२. प्रतिवादीले मौकामा बयान गर्दा जाहेरवालालाई विवाह गर्ने प्रलोभनमा भारत बम्बई वेश्यालयमा लगेर बिक्री नगरेको, जाहेरवालाले पेश गरेको फोटो श्रीमान लामासँग आफ्नो रकम पाउने सम्बन्धमा मिलापत्र गर्ने भनी श्रीमान लामासँग सम्झौता भएको र मिलापत्रको लागि फोटो चाहिन्छ भनेर श्रीमान लामाले भनेकोले पासपोर्ट साइजको फोटो निजको मानिस विजय मोक्तानलाई दिएको, सोही फोटो श्रीमान लामाले जाहेरवालाको हातमा पारी श्रीमान लामाले नै पेश गर्न लगाएको भन्ने उल्लेख गरेको पाइन्छ भने अदालतमा बयान गर्दा श्रीमान लामाले सञ्चालन गरेको मधु रेष्टुरेण्टमा आफू गार्डको काम गर्ने गरेको, प्रहरीले छापा मारी सार्वजनिक अपराध मुद्दा चलाएकोमा आफूले सफाइ पाएको, श्रीमान लामालाई जीउ मास्ने वेच्ने समेत मुद्दा चलाई थुनामा परेकाले सो रेष्टुरेण्ट न्यू राजधानी रेष्टुरेण्ट नाममा २ जना पार्टनर राखी श्रीमानसँग कागज गरी रेष्टुरेण्ट सञ्चालन गर्न थालेको, २०५६ माघमा जेलबाट निज श्रीमान लामा छुटे पछि पार्टनरहरूलाई निजहरूको हिस्सा दिई विदा गरे पछि आयस्ता श्रीमानले राख्न थालेको, रेष्टुरेण्ट संचालन गर्न सम्झौता गर्नुपर्ने भै फोटो चाहिन्छ भनेकोले रिजाल फोटो स्टुडियोमा फोटो खिचाई श्रीमान लामाको साथी विजय मोक्तानलाई दिएको, फोटो फिर्ता नगरी सम्झौता पनि तयार नगरी शुरुको खातापात च्यातेको, आफू गार्ड वस्दाको तलव बाँकी भएकोमा सो नदिए पछि गौशाला प्रहरी कार्यालयमा उजूर गरेपछि सम्झौता गर्न भनी लगेको फोटो जाहेरवालालाई दिई उजूर गर्न लगाएको, जाहेरवालालाई बिक्री गरेको भनेको मितिमा कामना सेभिङ्ग कोअपरेटिभमा कलेक्टर पदमा हाजिर रहेको भनी अभियोग दावी प्रति इन्कार रहेको अवस्था छ ।
३. प्रतिवादीले जाहेरवालाले पेश गरेको फोटो रिजाल फोटो स्टुडियोमा खिचाएको भन्ने उल्लेख गरेको सन्दर्भमा अनुसन्धानको क्रममा कागज गर्ने तथा प्रतिवादीका साक्षी सीताराम रिजालले उक्त पासपोर्ट साइजको फोटो रबीन्द्र सिलवालको २०५७।२।७ मा आफूले खिचेको र सो को नेगेटिभ आफ्नो स्टुडियोमा सुरक्षित रहेको, ठूलो फोटो फोटोबाट फोटो खिची अन्तै बनाएको भनी वकपत्र गरेको समेत पाइयो । निजले अनुसन्धानको क्रममा स्टुडियोमा फोटो खिच्ने नामावली दर्ताको छाँयाप्रति समेत पेश गरेको देखियो । निज सीताराम रिजालको भनाइलाई वादी पक्षले अन्यथा भन्न सकेको देखिएन । जाहेरवालाले आफूलाई प्रतिवादीले २०५६।७।१६ मा रात्री वसबाट बुटवल लगेको भन्ने उल्लेख गरेकोमा शुरु अदालतको आदेशानुसार काठमाडौं महानगरपालिका वडा नं. ९ कार्यालयबाट झिकाइएको कामना सेभिङ एण्ड कोअपरेटिभ कार्यालयको हाजिरी रजिष्ट्रीको प्रतिवादीको नामको हाजिरी पानामा निज २०५६।७।८ को मिति देखि ऐ. १९ गते सम्म शनिवार बाहेक निरन्तर उक्त कामना सेभिङ एण्ड कोअपरेटिभ कार्यालयमा हाजिर रहेको भन्ने देखिन आयो । उक्त हाजिरी रजिष्ट्रार अन्यथा भन्ने पनि मिसिलबाट देखिन आएन ।
४. प्रतिवादीले आफूलाई श्रीमान लामाले निजसँग मनमुटाव भएको कारण जाहेरवालालाई आफ्नो फोटो दिई उजूर गर्न लगाएको भन्ने उल्लेख गरेको सन्दर्भमा हेर्दा निज श्रीमान विरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जीउधनको सुरक्षा गरिपाऊँ भनी २०५७।१।२० मा प्रतिवादीले दर्ता गराएको निवेदन तथा वडा प्रहरी कार्यालय गौशालामा २०५७।१।१९ मा दर्ता भएको जीउधनको सुरक्षा गरी कारवाही गरिपाऊँ भन्ने दरखास्त समेत वडा प्रहरी कार्यालय गौशालाबाट प्राप्त भएको देखियो । साथै प्रतिवादीले बयानमा उल्लेख गरेको सार्वजनिक अपराध मुद्दामा २०५६।८।३ मा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट भएको फैसलाको राय कीतावको प्रमाणित छाँयाप्रति समेत मिसिल सामेल रहेको पाईएबाट प्रतिवादीले बयानमा उल्लेख गरेको श्रीमान लामासँग निजको मनमुटाव रहेको भन्ने नै देखिन आयो । उक्त मनमुटाव नै आफूप्रति झूठो उजूरी परेको कारण भन्ने प्रतिवादीको कथन छ ।
५. जाहेरवालालाई उद्दार गरी ल्याउने भनिएका निजका मामा रामबहादुर तामाङ तथा जाहेरवालालाई खोजतलास गर्दा जाहेरवाला शान्ता तामाङ रामबहादुर तामाङको घरमा नबस्ने, निजलाई रामबहादुर तामाङले नचिन्ने र नाता समेत नपर्ने भन्ने वुझिन आएको र सो सम्बन्धमा रामबहादुर तामाङलाई केही कुरा थाहा नभएको भन्ने सम्बन्धित गा.वि.स. अध्यक्षबाट पाइएको र जाहेरवाला कपन गा.वि.स. को वडा एरियामा नबस्ने भन्ने प्रहरी चौकी कपनले २०५७।३।१७ मा जिल्ला प्रहरी कार्यालय अ.अ. तथा का. शाखा काठमाडौंलाई लेखेको च.नं. १७१ को पत्रबाट देखियो । साथै कपन गा.वि.स.को शुरु मिसिल संलग्न २०५७।१०।२३, च. नं. ६४६ को सिफारिस पत्रबाट पनि रामबहादुर तामाङ्ग भन्ने व्यक्ति उक्त गा.वि.स. वडा नं. १ देखि वडा नं. ९ सम्म नभएको भन्ने देखिन्छ । जाहेरवालालाई भारत बम्बैबाट उद्धार गरी ल्याउने भनिएका व्यक्ति नै जाहेरवालाले उल्लेख गरेको स्थानमा नभई जाहेरवालाको समेत अत्तोपत्तो नभएको अवस्थामा जाहेरी ब्यहोरा नै सन्देहात्मक देखिन आई जाहेरवालालाई बिक्री गर्ने यिनै प्रतिवादी हुन् वा अरु कोही छन् भन्ने सम्बन्धमा जाहेरवालाको सनाखत हुन सकेको समेत पाइएन ।
६. पुनरावदेन पत्रमा जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ७ को जिकिर लिएको सन्दर्भमा हेर्दा उक्त दफाको उप–दफा १ मा कुनै स्वास्नी मानिसलाई निजको अभिभावक वा नजिकको नातेदार बाहेक अन्य कसैले विदेश लैजान लागेकोमा वेचविखन गर्ने वा वेश्यावृत्तिमा लगाउने उद्देश्यले लगेको हो भन्ने दफा ५ बमोजिम कसैको उजूर परेमा त्यस्तो उद्देश्यले लगेको होइन भन्ने कुराको प्रमाण अभियुक्तले पुर्याउनु पर्नेछ भन्ने उल्लेख भएको छ । त्यस्तै सोही दफाको उप–दफा २ मा दफा ६ को उपदफा (२) बमोजिम अदालतद्वारा प्रमाणित बयानमा उल्लिखित कुरा झुठ्ठा हो भन्ने प्रमाण अभियुक्तले पुर्याउनु पर्नेछ भन्ने व्यवस्था छ ।
७. पीडित भनिएकी जाहेरवालालाई प्रतिवादीले भारतमा लगेको र बिक्री गरेको भन्ने अदालतद्वारा प्रमाणित बयानमा उल्लेख भए पनि सो कुराको समर्थनमा कुनै पनि प्रमाण मिसिलबाट नदेखिएको अवस्थामा जीउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ७(२) बमोजिम पीडितको अदालतद्वारा प्रमाणित बयान पीडितको आफ्नो भनाइ सम्म देखिन आयो । अदालतद्वारा प्रमाणित पीडित भनिएको व्यक्तिको कथन पुष्टि हुने अन्य समर्थित प्रमाण (Corroborative Evidence) मिसिलमा मौजुद रहेको अवस्थामा पीडित व्यक्ति अदालतमा वकपत्रको प्रयोजनार्थ उपस्थित नभए पनि सो भनाइलाई आधार मान्नु पर्ने र अदालतबाट प्रमाणित वयान झुठो हो भनी प्रमाणित गर्नु पर्ने प्रमाणको भार अभियुक्तको हुन्छ । प्रस्तुत मुद्दाको सन्दर्भमा जाहेरवालाको भनाइलाई पुष्टि गर्ने अन्य समर्थित प्रमाण (Corroborative Evidence) को अभाव रहेको देखिँदा जाहेरवालाको आफ्नो कथनसम्मबाट मात्र अभियोग दावी नै पुष्टि भएको मान्न सकिने अवस्था हुँदैन । कुनै महिलाले आफूलाई कसैले बेच्यो भनी जाहेरी दिई सोही अनुरूप वयान प्रमाणित गराएकै भरमा निजको सो कथनलाई समर्थन गर्ने अन्य प्रमाण भए नभएतर्फ नहेरिने हो भने जीउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ७ को कानूनी प्रावधानको दुरुपयोग हुन सक्ने खतरा रहन्छ । त्यसैले न्यायकर्ताले उक्त दफा ७ को प्रावधानलाई एकतर्फीरुपमा पीडित भनी जाहेरी दिने वा वयान प्रमाणित गराउनेको सन्दर्भमा मात्र नहेरी अपराध घटे नघटेको, आरोपित प्रतिवादीले अपराध गरेको प्रमाण रहे नरहेको, प्रतिवादीले आफ्नो निर्दोषिताको प्रमाण दिन सकेको नसकेको आदि समग्र वस्तुतर्फ अदालतको ध्यान जानु जरुरी हुन्छ ।
८. प्रतिवादीले आफ्नो प्रमाणस्वरुप उल्लेख गरेको निज पछिल्लो पटक कार्यरत मनकामना सेभिङ्ग एण्ड कोअपरेटिभ कार्यालयको हाजिरी रजिष्ट्रीबाट जाहेरवालाले निजलाई २०५६।७।१६ गते कलंकीबाट रात्री वसहुँदै बुटवल लगेको भनेकोमा २०५६।७।८ देखि ऐ. १९ गतेसम्म निज प्रतिवादी निरन्तररुपमा उक्त कार्यालयमा हाजिर रहेको भन्ने देखिएको, जाहेरवालाले पेश गरेको फोटो २०५७।२।७ मा खिचिएको, आफूले खिचेको र नेगेटिभ समेत आफूसँग रहेको भनी सीताराम रिजालले वकपत्रबाट पुष्टि गरेको, जाहेरवालाको कथनलाई समर्थन गर्ने अन्य प्रमाण मिसिलबाट नदेखिएको समेतको आधार प्रमाणबाट जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ७ अनुरूप प्रतिवादीको निर्दोषिता पुष्टि भैरहेको देखिन आएबाट जाहेरवालाको अदालतद्वारा प्रमाणित बयानमा उल्लिखित प्रमाण बिनाको अपुष्ट कथनसम्मले अभियोग दावी पुष्टि भएको मान्न नमिल्ने हुँदा मुद्दा दोहोर्याउने निस्सा प्रदान गरिएको २०६३।३।९ को आदेशमा व्यक्त रायसँग सहमत हुन सकिएन । प्रतिवादीलाई अभियोग दावीबाट सफाइ दिने ठहराएको काठमाडौं जिल्ला अदालतको २०५८।१०।३० को फैसला सदर हुने ठहराएको पुनरावेदन अदालत पाटनको २०६१।९।१९ को फैसला मिलेकै देखिँदा सदर हुन्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या.कृष्णप्रसाद उपाध्याय
इति संवत् २०६५ चैत ४ गते रोज ३ शुभम्
इजलास अधिकृतः– दीपककुमार दाहाल