निर्णय नं. ८०७४ - उत्प्रेषण ।

निर्णय नं. ८०७४ जेठ २०६६ अङ्क २
सर्वोच्च अदालत,संयुक्त इजलास
माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ
माननीय न्यायाधीश श्री ताहिरअली अन्सारी
संवत् २०६५ सालको रिट.नं.०६५–WO–०२८६
आदेश मितिः २०६५।१२।१६।१
विषयः उत्प्रेषण ।
निवेदकः काठमाडौं, जोरपाटी गा.वि.स.वडा नं ४ घर भै हाल रेडियो प्रसार सेवा विकास समिति, रेडियो नेपाल, सिंहदरवारमा मुख्य संगित प्रबन्धक पदमा कार्यरत मीरा राणा
विरुद्ध
विपक्षीः रेडियो प्रसार सेवा विकास समिति, रेडियो नेपाल, सिंहदरवारको सञ्चालक समिति समेत
§ एकपटक समकक्षता निर्धारण भएको कुनै पनि उपाधि वा शैक्षिक योग्यतालाई त्रिभुवन विश्वविद्यालयले स्वदेश भित्रका शैक्षिक संस्थाहरूले निर्धारण गरेको पाठ्यक्रमको स्तरसँग तुलना गरी कुनै उपाधिलाई यथावत् राख्ने वा नराख्ने भन्ने निर्णय गर्न सक्ने ।
(प्रकरण नं.४)
§ तत्कालीन अबस्थामा रेडियो प्रसार सेवा विकास समितिको गायन अधिकृत पदमा स्थायी नियुक्ति पाउँदा निजले प्राप्त गरेको सँगीत प्रभाकरको उपाधिलाई त्रिभूवन विश्वविद्यालयले मान्यता दिई समकक्षता निर्धारण समेत गरेको अबस्था भएको र हाल कर्मचारी सेवा शर्त नियमावली, २०५७ को नियम ५७(२) को कानूनी व्यवस्था बमोजिम बढुवाको दरखास्त माग गरिएको नवौं तहको उप– निर्देशक पदको लागि न्यूनतम शैक्षिक योग्यता सम्बन्धित बिषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने गरी सो नियमावलीले अनिवार्य कानूनी व्यवस्था गरेको साथै निवेदकले प्राप्त गरेको सो उपाधिलाई त्रिभूवन विश्वविद्यालयले स्नातक सरहको समकक्षता सूचीबाट हटाइसकेको स्थितिमा हालको संशोधित नियमावलीबमोजिम निवेदक स्नातक उपाधि प्राप्त भनी अर्थ गर्न नमिल्ने ।
(प्रकरण नं.६)
निवेदकतर्फवाटः विद्वान अधिवक्ता श्री सतिशकृष्ण खरेल
विपक्षीतर्फवाटः विद्वान अधिवक्ता श्री दुर्गाप्रसाद अधिकारी
अवलम्वित नजीरः
सम्बद्ध कानूनः
§ कर्मचारी सेवा शर्त नियमावली, २०५७ को नियम ५७(२)
आदेश
न्या.रामप्रसाद श्रेष्ठः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७ (२) बमोजिम यस अदालतमा दर्ता भएको प्रस्तुत रिट निवेदनको व्यहोरा एवं निर्णय यसप्रकार छ :-
म निवेदक आधुनिक तथा शास्त्रीय गीतकी गायिका भएकोले २०२८ सालमा आधुनिक सँगीत प्रतियोगितामा प्रथम भई विभिन्न सम्मान र पुरस्कार समेतबाट सम्मानित र पुरस्कृत भई गायन र सँगीतका क्षेत्रमा हालसम्म क्रियाशील रहेकी छु । सँगीतको औपचारिक शिक्षा लिने क्रममा सन् १९७८ मा भारतको प्रयाग सँगीत समिति इलाहवादको कलानिधि सँगीत महाविद्यालय, काठमाडौं केन्द्रबाट प्रथम श्रेणीमा "सँगीत प्रभाकर" उपाधि हासिल गरी प्राप्त गरेको प्रमाणपत्रलाई लोक सेवा आयोगले निजामती सेवाको लागि मान्यता समेत दिएको र त्रिभुवन विश्वविद्यालयले समेत आफ्नो सेवाको लागि उक्त कलानिधि सँगीत महाविद्यालयबाट प्राप्त उपाधिलाई मान्यता दिएको छ । वि.सं.२०३५ सालमा लोकसेवा आयोगले समेत प्रयाग सँगीत समिति इलाहवादबाट मैले प्राप्त गरेको "सँगीत प्रभाकर" उपाधिलाई स्नातक सरहको मान्यता दिएको कुरा त्रिभुवन विश्व विद्यालय, पाठ्यक्रम विकास समितिले विपक्षी समितिलाई मिति २०६३।२।७ मा लेखेको पत्रबाट समेत पुष्टि भइरहेको छ । मैले मिति २०३५।९।२० मा रेडियो नेपालमा अस्थायी सेवा प्रवेश गरी मिति २०३९।८।९ मा तत्कालीन श्री ५ को सरकार, प्रसार विभाग अन्तर्गतको रेडियो नेपालमा राजपत्र अनंकीत प्रथम श्रेणी, विविध सेवा प्राविधिक सँगीत कलाकार पदमा स्थायी नियुक्ति पाऊँ । समान उपाधि प्राप्त गरी सेवामा कार्यरत रहनु भएका स्व.नातीकाजी, तारादेवी र शिवशंकरले सोही उपाधिको आधारमा नेपाल सरकारको राजपत्राङ्कित द्वितीय श्रेणीसम्म बढुवा भै सेवा निवृत्त हुनु भएको थियो ।
तत्कालीन प्रसार विभाग अन्तर्गतको रेडियो नेपाललाई रेडियो प्रसार सेवा विकास समिति अन्तर्गत राख्ने गरी तत्कालीन श्री ५ को सरकारबाट निर्णय हुँदा निजामती सेवामै रहने वा रेडियो प्रसार सेवा विकास समिति अन्तर्गत रेडियो नेपालमा नयाँ नियुक्ति प्राप्त गर्ने भन्ने विषयमा सम्बन्धित कर्मचारीलाई नै निर्णय गर्ने अधिकार दिएको हुँदा तत्कालको अवस्थामा म निवेदकले मिति २०४९।५।१८ देखि लागू हुने गरी निजामती सेवातर्फको रा.प.अनं.प्रथम श्रेणीको पदबाट राजिनामा दिई सोही मितिमा विपक्षी रेडियो प्रसार विकास समिति अन्तर्गतको गायन अधिकृत पदमा स्थायी नियुक्ति पाई कार्यरत रहेको थिएँ । त्यसरी गायन अधिकृत पदमा स्थायी नियुक्ति दिदां विपक्षी समितिले त्यस बखत मेरो "सँगीत प्रभाकर" उपाधिलाई स्नातक सरहको शैक्षिक योग्यताको रुपमा मान्यता दिएको र त्यसपछि पनि मिति २०५४।५।१६ मा त्यसै उपाधिका आधारमा मलाई विपक्षी समितिहरूको सिफारिस र निर्णय बमोजिम सातौं तहको वरिष्ठ सँगीत संयोजक पदमा मिति २०५४।५।२ देखि लागू हुने गरी बढुवा गरिएको थियो । त्यसै गरी मिति २०५८।११।२० मा मिति २०५८।११।१५ देखि नै ज्येष्ठता कायम हुने गरी मुख्य सँगीत प्रबन्धक पदको आठौं तहमा बढुवा गरी हाल म सोही पदमा कार्यरत रहेको छु । यसै सिलसिलामा मिति २०६४।९।१२ मा सूचना नं १।०६४।६५ बाट कार्य क्षमताको आधारमा मूल्यांकन गरी बढुवा गर्ने बारेको विपक्षी समितिको बढुवा सूचना प्रकाशित गरी कार्यक्रम महाशाखा अन्तर्गत विविध सेवा, कार्यक्रम समूह नवौं तहको उप–निर्देशक पदसंख्या २ को विज्ञापन गरियो । सो सूचनामा कर्मचारी सेवा शर्त नियमावली, २०५७ बमोजिम २०६४ साल असार मसान्त सम्म नियम ५७ बमोजिमको नोकरी अवधि पूरा गरी सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र आफूले प्राप्त गरेको नियुक्ति, शैक्षिक योग्यता र तालीमको प्रमाणपत्र सहितको निवेदन आव्हान भएकोमा नियम ५७(१) बमोजिम आठौं तहमा मेरो सेवा अवधि ३ वर्ष पूरा भएको र नियम ५७(२) बमोजिम मैले स्नातक सरहको उपाधि प्राप्त गरिसकेको समेतका आधारमा उक्त विज्ञापित पदमा दरखास्त दिएको थिएँ । तर विपक्षी बढुवा समितिको मिति २०६५।२।२४ को निर्णय बमोजिम बढुवा सम्बन्धी सूचना प्रकाशित गर्दा विज्ञापित २ पद मध्ये १ पदमा मात्र बढुवा गरी १ पदमा बढुवा नै नगरिएको र म निर्विवादरुपमा उक्त २ पदमध्ये एक पदमा स्वतः बढुवा पाउने उम्मेदवार छँदाछँदै मलाई बिना कानूनी आधार बढुवा हुनबाट बञ्चित गरी अन्याय गरेको कारण बढुवा सम्बन्धी निर्णयको सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्रै कर्मचारी सेवा शर्त नियमावली २०५७ को नियम ६६(१) बमोजिम विपक्षी सञ्चालक समिति समक्ष उजूरी गरेको थिएँ । तर सो समितिले समेत मेरो उजूरीको बस्तुनिष्ठ र कानूनसम्मत आधारलाई वेवास्ता गरी मिति २०६५।५।११ मा मेरो उजूरीलाई आधारहीन ठहर गरी निर्णय गरेको कुरा मैले मिति २०६५।७।२१ मा जानकारी पाऊँ । विपक्षी पदपूर्ति समिति र सञ्चालक समिति समेतको उपर्युक्त निर्णयहरूबाट नेपालको अन्तरिम संविधान, २०६३ को धारा १३, १२(३)(च), १८ द्वारा प्रदत्त मौलिक हक एवं रेडियो प्रसार सेवा विकास समिति कर्मचारी सेवा शर्त नियमावली, २०५७ को नियम ५५, ५६, ५७, ५९, ६० र ६६ द्वारा प्रदत्त कानूनी हकमा गंम्भीर आघात पर्न गएको र त्यसको उपचारको लागि अन्य बैकल्पिक एवं प्रभावकारी बाटो समेत नभएकोले प्रस्तुत रिट निवेदन दिन आएको छु । नियम ५८ बमोजिम म विज्ञापित पदको संभाव्य उम्मेदवार भएको र आवश्यक शैक्षिक योग्यता प्राप्त गरी सेवा अवधि समेत पूरा गरेको कुरामा कुनै विवाद नभएको अवस्थामा मलाई बढुवा नगरी भएको विपक्षीहरूको निर्णय र सो सम्बन्धमा प्रकाशित सुचना र पत्रहरू समेत उत्प्रेषणको आदेशद्वारा बदर गरी म निवेदकलाई तह नौको उप–निर्देशक पदमा बढुवा गर्नु गराउनु भनी विपक्षीहरूको नाममा परमादेशको आदेश समेत जारी गरिपाऊँ । साथै म निवेदकले मिति २०६६।६।१९ मा उमेर हदको कारणले अनिवार्य अवकाश पाउने भएकोले सो मिति अगावै प्रस्तुत रिट निवेदनको टुंगो लगाउने गरी अग्राधिकार प्रदान गरी इन्साफ दिलाइ पाऊँ भन्ने समेत व्यहोराको मिति २०६५।८।१६ को रिट निवेदन ।
यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? यो आदेश प्राप्त भएका मितिले बाटोको म्याद बाहेक १५ दिनभित्र लिखित जवाफ पेश गर्नू भनी विपक्षीहरूलाई सूचना पठाउनू साथै प्रस्तुत निवेदनको विषयबस्तु र निवेदकको सेवामा बहाल रहन पाउने उमेर समेतलाई विचार गरी प्रस्तुत मुद्दालाई अग्राधिकार दिई न्याय निरोपण हुनुपर्ने देखिँदा प्रस्तुत रिट निवेदनलाई अग्राधिकार दिई पेश गर्नु भन्ने यस अदालतको मिति २०६५।८।१७ को आदेश ।
रेडियो प्रसार सेवा विकास समिति कर्मचारी सेवा शर्त नियमावली २०५७ को नियम ५७(२) बमोजिम नवौ तहको विज्ञापित पदको बढुवा पाउनको लागि कुनै पनि उम्मेदवारले स्नातह तह उत्तीर्ण गरेको प्रमाणपत्र पेश गर्नुपर्छ । रिट निवेदकले नेपालबाट एस.एल.सी, प्रमाणपत्र तह र स्नातक तह उत्तीर्ण गरेको शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्नु भएको छैन । निजले पेश गरेको भारतको प्रयाग सँगीत समिति ईलाहवादको "सँगीत प्रभाकर" उपाधिलाई त्रिभुवन विश्वविद्यालयबाट २०६४ मंसीरमा प्रकाशित (Directory of Recognition and Equivalence of Educational Qualifications) मा समावेश नगरिएको हुँदा निवेदकले प्राप्त गरेको उपाधिलाई स्नातक सरह भनी मान्न मिल्दैन । मान्यता नै नदिइएको उपाधिलाई आधार मानी कानून विपरित हुने गरी निवेदकलाई बढुवा गर्न मिल्दैन । निवेदकको शैक्षिक योग्यता नै नपुगेको अवस्था हुँदा पदपूर्ति समितिको मिति २०६५।२।२४ को निर्णय बमोजिम निजको नाम बढुवा सूचीमा नपरेको र सञ्चालक समिति समक्ष निजले दिएको उजूरीमा पनि सोही आधारमा निर्णय भएको हो । यस्तो निर्णयबाट निवेदकको मौलिक र कानूनी हकमा कुनै आघात पर्ने अवस्था नै नभएकोले हकदैयाविहीन रिट निवेदन खारेज गरिपाऊँ भन्ने विपक्षी रेडियो प्रसार सेवा विकास समिति, रेडियो नेपाल समेतकोतर्फबाट मिति २०६५।९।२९ मा पेश भएको लिखित जवाफ ।
नियमबमोजिम पेशीसूचीमा चढी निर्णयार्थ यस इजलास समक्ष पेश भएको प्रस्तुत मुद्दामा रिट निवेदकको तर्फबाट उपस्थित विद्वान अधिवक्ता सतिषकृष्ण खरेलले निवेदकलाई सातौं तहको बरिष्ठ सँगीत संयोजक पद र आठौं तहको मुख्य सँगीत प्रबन्धक पदमा क्रमश मिति २०५४।५।१६ र मिति २०५८।११।२० मा विपक्षी पदपूर्ति समितिले बढुवा गर्दा निवेदकले प्राप्त गरेको यसै शैक्षिक योग्यतालाई मान्यता दिएको र हालको उप निर्देशक पदसंख्या २ मा विज्ञापन भएकोमा १ पदमा मात्र बढुवा गरी अर्को एक पदमा निवेदकलाई बढुवा नगरी खाली नै राखेको कार्य दुराषययुक्त र भेदभावपूर्ण छ । एकपटक मान्यता दिएको उपाधिलाई त्यसै समितिले अर्को पटक मान्यता दिनु नपर्ने कुनै कारण छैन । तसर्थ माग गरिएको उप निर्देशक पदमा बढुवा हुने योग्यता छँदाछँदै विना कानूनी आधार बढुवा नगर्ने गरेको निर्णय त्रुटिपूर्ण हुँदा माग बमोजिमको आदेश जारी गरिपाऊँ भनी बहस गर्नुभयो ।
विपक्षी रेडियो प्रसार सेवा बिकास समिति, रेडियो नेपाल समेतको तर्फबाट उपस्थित विद्वान अधिवक्ता दुर्गाप्रसाद अधिकारीले रेडियो प्रसार सेवा विकास समिति, कर्मचारी सेवा शर्त नियमावली, २०५७ मा भएको तेश्रो संशोधन २०६३ बमोजिमको नियम ५७(२) ले नवौंतहको उप– निर्देशक पदमा बढुवा हुन स्नातक तह उतीर्ण गरेको प्रमाणपत्र पेश गर्नु पर्ने अनिवार्य व्यबस्था गरेको, निवेदकले पेश गरेको प्रयाग सँगीत समितिको "सँगीत प्रभाकर" उपाधिलाई त्रिभुवन बिवबिद्यालयबाट प्रकाशित Directory of Recognition and Equivalence of Educational Qualifications मा समावेश नगरेको हुँदा सो उपाधिलाई स्नातक सरह मान्न नमिलेकोले निवेदकको शैक्षिक योग्यताको अभाबमा निजलाई बढुवा गर्न नमिल्ने भनी भएको निर्णय कानूनसम्मत हुँदा रिट जारी हुन सक्ने अवस्था छैन भनी गर्नु भएको वहस समेत सुनियो ।
निवेदकको रिट निवेदन जिकिर एंव दुवै पक्षका विद्वान अधिवक्ताहरूले गर्नु भएको बहस समेतलाई मध्यनजर राखी निवेदन माग बमोजिमको आदेश जारी हुनुपर्ने हो होइन ? भन्ने प्रश्नमा नै निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा भारतको प्रयांग सँगीत समिति ईलाहवादबाट प्राप्त गरेको "सँगीत प्रभाकर" उपाधिका आधारमा मिति २०४९।५।१८ मा गायन अधिकृत पदमा स्थायी नियुक्ति पाई सोही उपाधिका आधारमै मिति २०५४।५।२ मा सातौ तहको वरिष्ठ सँगीत संयोजक र मिति २०५८।११।१५ मा आठौं तहको मुख्य सँगीत प्रबन्धक पदमा बढुवा समेत भइसकेको अवस्थामा हाल बढुवा माग गरिएको नवौं तहको उप निर्देशक पदमा भने सो उपाधिलाई मान्यता नदिई बढुवामा नाम समावेश नगर्ने गरी विपक्षीहरूबाट भएका निर्णय सूचना समेत बदर गर्न माग गर्दै यस अदालतमा प्रस्तुत रिट निवेदन दर्ता भएको देखियो । शैक्षिक योग्यताको समकक्षता प्रमाणित गर्ने आधिकारिक निकाय त्रिभुवन विश्व विद्यालय भएकोमा उक्त विश्वविद्यालयबाट प्रकाशित Directory of Recognition and Equivalence of Educational Qualifications मा निवेदकले भारतको प्रयाग सँगीत समिति इलाहवादबाट प्राप्त गरेको ू सँगीत प्रभाकरू उपाधिलाई मान्यता प्रदान नगरिएको साथै रेडियो प्रसार सेवा विकास समिति, कर्मचारी सेवा शर्त नियमावली, २०५७ को नियम ५७(२) बमोजिम नवौं तहको उप– निर्देशक पदमा बढुवा हुनको लागि सम्भाव्य उम्मेदवारले स्नातक तहको योग्यता हासिल गर्नु अनिवार्य भएको अवस्थामा निवेदकले पेश गरेको उपाधि उक्त कानूनी व्यवस्था बमोजिमको उपाधि नभएको कारण निजलाई उक्त विज्ञापित उप–निर्देशक पदमा बढुवा गर्न नमिल्ने गरी विपक्षी पदपूर्ति समिति र सञ्चालक समिति समेतबाट निर्णय भएको भन्ने लिखित जवाफ रहेको पाइन्छ ।
३. यी निवेदकले भारतको इलाहवादस्थित प्रयाग सँगीत समितिबाट "सँगीत प्रभाकर" उपाधि प्राप्त गरेको भन्ने उक्त उपाधिको प्रमाणपत्रबाट देखिन्छ । सो प्रमाण पत्रमा सो "सँगीत प्रभाकर" उपाधि के कुन तहको हो भन्ने तथ्य खुलेको पाइदैन । निजले प्राप्त गरेको उक्त उपाधिलाई लोकसेवा आयोगबाट २०३६ सालमा प्रकाशित "मान्यता प्राप्त उपाधि , डिप्लोमा तालीम तथा शिक्षण संस्थाहरू विषयक" विवरणको पृष्ठ ८५ सि.नं १४ ख मा डिप्लोमा सरह मान्यता दिएको देखिन्छ । सोही आधारमा निवेदकले रेडियो प्रसार सेवा विकास समितिको सेवामा मिति २०४९।५।१८ मा गायन अधिकृत पदमा स्थायी नियुक्ति पाएको भन्ने देखियो । तत्पश्चात् मिति २०५४।५।२ मा सातौं तहको वरिष्ठ सँगीत संयोजक र मिति २०५०।११।१५ मा आठौं तहको मुख्य सँगीत प्रबन्धक पदमा बढुवा हुँदा पनि उक्त "सँगीत प्रभाकर" उपाधिलाई नै आधार लिएको भन्ने निवेदकको भनाइलाई विपक्षीहरूले स्वीकारै गरेको देखियो । तथापि सो सातौं र आठौं तहको क्रमश : वरिष्ठ सँगीत संयोजक र मुख्य सँगीत प्रबन्धक पदमा यी निवेदक बढुवा हुँदा रेडियो प्रसार सेवा विकास समिति कर्मचारी सेवा शर्त नियमावली, २०५७ मा २०६३ सालमा भएको तेश्रो संशोधन लागू हुनु पूर्वको कानूनी व्यवस्था वहाल रहेको र उक्त दुवै तहमा बढुवा हुन हालको उप निर्देशक पदको बढुवाको लागि चाहिने न्यूनतम शैक्षिक योग्यता स्नातक तह नै आवश्यक भएको भन्ने देखिदैन । तर सो नियमावलीमा भएको तेश्रो संशोधन २०६३ ले नवौ तहको उपनिर्देशक पदमा बढुवा हुन स्नातक तहको शैक्षिक योग्यता अनिवार्य गरेको कुरा सो नियमावलीको नियम ५७ (२) बाट प्रष्ट हुन्छ ।
४. निवेदकले प्राप्त गरेको "सँगीत प्रभाकर" उपाधिलाई २०४७ चैत्र मसान्तसम्म लागू हुने गरी सेवाको लागि त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्रदान गरिएको भन्ने सो विश्वविद्यालयले रेडियो नेपाललाई लेखेको च.नं. ७६१ मिति २०६३।२।७ को समक्षकता निर्धारण विषयको पत्रबाट देखिन्छ । नेपाल बाहिरको अन्य राष्ट्र अन्तर्गतका शिक्षण संस्थाहरूबाट प्राप्त शैक्षिक योग्यता वा उपाधिलाई नेपालभित्रको सरकारी वा सार्वजनिक सेवाको लागि मान्यता दिने प्रयोजनको लागि त्यस्तो योग्यता वा उपाधिको समकक्षता निर्धारण गर्ने अधिकारप्राप्त आधिकारिक निकाय त्रिभुवन विश्वविद्यालय नै भएको तथ्यमा कुनै विवाद छैन । नेपालको सरकारी वा सार्वजनिक सेवाको गंम्भीरता, उत्तरदायित्व र कार्यबोझ समेतलाई ध्यानमा राखी त्यस्तो सेवाको कुनै पनि पदमा सेवा प्रवेशका लागि र सो भन्दा माथिल्लो पदमा पदोन्नति हुनका लागि सम्बन्धित निकायले न्यूनतम् शैक्षिक योग्यता निर्धारण गर्ने गर्दछ र त्यस्तो शैक्षिक योग्यता कुनै अर्को राष्ट्रबाट हासिल गरेको अवस्थामा त्यसको समकक्षताको निर्धारण गर्ने कार्य त्रिभुवन विश्वविद्यालयबाट हुने भएको सन्दर्भमा नै २०४७ चैत्र मसान्तसम्म सेवाको निमित्त भारतको इलाहावादस्थित प्रयाग सँगीत समितिबाट प्रदान गरिने विभिन्न उपाधिलाई पनि मान्यता दिएको देखिन आयो । त्यसरी एकपटक समकक्षता निर्धारण भएको कुनै पनि उपाधि वा शैक्षिक योग्यतालाई त्रिभुवन विश्वविद्यालयले स्वदेश भित्रका शैक्षिक संस्थाहरूले निर्धारण गरेको पाठय्क्रमको स्तरसँंग तुलना गरी कुनै उपाधिलाई यथावत् राख्ने वा नराख्ने भन्ने निर्णय गर्न सक्ने र यसै सिलसिलामा सो विश्वविद्यालयबाट २०६४ मार्गमा प्रकाशित Directory of Recognition and Equivalence of Educational Qualifications को तेश्रो संस्करण, सातौं पुनर्मुद्रणमा यी निवेदकले प्राप्त गरेको "सँगीत प्रभाकर" उपाधि प्रदान गर्ने संस्था भारतको इलाहवादस्थित प्रयाग सँगीत समितिबाट प्रदान गरिने विभिन्न उपाधिलाई साविकको मान्यता तथा स्तरर्निधारणको सूचीबाट हटाएको देखिन आउँछ ।
५. यसप्रकार, रेडियो प्रसार सेवा विकास समिति कर्मचारी सेवा शर्त नियमावली २०५७ को नियम ५७(२) ले नवौं तहको उप निर्देशक पदमा बढुवा हुनको लागि न्यूनतम शैक्षिक योग्यतामा सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने भनी अनिवार्य व्यवस्था गरेको अवस्था एकातिर देखिन्छ भने अर्कोतिर यी निवेदकले प्राप्त गरेको "सँगीत प्रभाकर" उपाधिलाई त्रिभुवन विश्वविद्यालयले समकक्षता निर्धारण सम्बन्धी सूची समेतबाट हटाई सकेको स्थितिमा सो उपाधिलाई निवेदकले दावी गरे जस्तो स्नातक सरहको उपाधि मान्न सकिएन । तसर्थ यी निवेदक नवौं तहको उप निर्देशक पदमा बढुवा हुन योग्यता प्राप्त सम्भाव्य उम्मेदवार भन्ने देखिन आएन ।
६. जहाँसम्म पहिले स्थायी नियुक्ति गर्दा मान्यता दिएको निवेदकको उपाधिलाई हाल बढुवा हुने बेलामा मान्यता नदिएको मिलेन भन्ने निवेदन जीकिर रहेको छ, सो सम्बन्धमा हेर्दा यी निवेदकले तत्कालीन अबस्थामा रेडियो प्रसार सेवा विकास समितिको गायन अधिकृत पदमा स्थायी नियुक्ति पाउँदा निजले प्राप्त गरेको सँगीत प्रभाकरको उपाधिलाई त्रिभुवन विश्वविद्यालयले मान्यता दिई समकक्षता निर्धारण समेत गरेको अबस्था भएको र हाल कर्मचारी सेवा शर्त नियमावली, २०५७ को नियम ५७(२) को कानूनी व्यवस्था बमोजिम बढुवाको दरखास्त माग गरिएको नवौं तहको उप– निर्देशक पदको लागि न्यूनतम शैक्षिक योग्यता सम्बन्धित बिषयमा स्नातक तह उतीर्ण गरेको हुनुपर्ने गरी सो नियमावलीले अनिवार्य कानूनी व्यवस्था गरेको साथै निवेदकले प्राप्त गरेको सो उपाधिलाई हाल त्रिभुवन विश्वविद्यालयले स्नातक सरहको समकक्षता सूचीबाट हटाइ सकेको स्थितिमा हालको संशोधित नियमावली बमोजिम निवेदक स्नातक उपाधि प्राप्त भनी अर्थ गर्न मिल्न आएन । कर्मचारी सेवा शर्त नियमावली, २०५७ मा २०६३ मा भएको तेश्रो संशोधनबाट संशोधित नियम ५७(३) को प्रतिबन्धात्मक वाक्याँश हेर्दा "हाल कार्यरत कर्मचारीको हकमा सेवाको पदमा तोकिएको न्यूनतम् शैक्षिक योग्यता नपुगेको भएतापनि यो नियमावली लागू भए पश्चात सातौं तहसम्मको पदमा बढुवा हुन बाधा पर्ने छैन" भनी सातौं तहको कुनै पनि पदमा बढुवा हुन न्यूनतम् शैक्षिक योग्यता नभएपनि हुने गरी विशेष व्यवस्था गरेको र सो बाहेकको माथिल्लो तहमा बढुवा हुन तोकिएको न्यूनतम शैक्षिक योग्यता हुनु अनिवार्य गरेको देखिन आयो । त्यसैले एक पटक कुनै पदमा सेवा प्रवेश गरेको कुनै पनि कर्मचारी न्यूनतम् शैक्षिक योग्यताको अभावमा सातौ तहभन्दा माथिल्लो पदमा बढुवा हुन नसक्ने गरी नियमावलीले नै विशेष वन्देज लगाइरहेको स्थितिमा नियमावलीको सो व्यबस्थाको बैधतामा यी निवेदकले कुनै प्रश्न समेत नउठाएको अबस्थामा सो नियमावलीको नियम ५७(२) ले निर्धाण गरेको शैक्षिक योग्यताको अभावमा यी निवेदक नवांै तहको उप निर्देशक पदमा बढुवाको लागि योग्यता प्राप्त रहेको देखिएन ।
७. तसर्थ माथि गरिएको विवेचना एवं कानूनी आधार समेतबाट यी निवेदकले रेडियो प्रसार सेवा विकास समिति कर्मचारी सेवा शर्त नियमावली, २०५७ को नियम ५७(२) बमोजिम स्नातक तहको योग्यता प्राप्त गरेको नदेखिएको, सो योग्यताको अभावमा नवौं तहको उप निर्देशक पदमा बढृवा हुन नपाउने गरी सो नियमावलीमा नै कानूनी व्यवस्था भईरहेको स्थितिमा विपक्षी पदपूर्ति समिति एवं संन्चालक समितिबाट यी निवदेकलाई सो नवौ तहको उपनिर्देशक पदको बढुवा सूचीमा समावेश नगर्ने गरी भएका निर्णय एवं सूचना र पत्रहरू समेत गैरकानूनी देखिन आएन । तसर्थ निवदेकको माग बमोजिमको आदेश जारी हुन सक्ने अबस्था नहुँदा प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । दायरीको लगत कट्टा गरी मिसिल बुझाई दिनु ।
उक्त् रायमा म सहमत छु ।
न्या.ताहिर अली अन्सारी
इति संवत् २०६५ चैत १६ गते रोज १ शुभम्
इजलास अधिकृत : बिदुर कोइराला