शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८१५० - ज्यान मार्ने उद्योग

भाग: ५१ साल: २०६६ महिना: भाद्र अंक:

निर्णय नं.८१५०      भदौ, २०६६         अङ्क ५

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री बलराम के.सी.

माननीय न्यायाधीश श्री प्रेम शर्मा

संवत २०६४ सालको स.अ.फौ.पु.नं. CR–०४५७

फैसला मितिः २०६५।१०।२८।३

मुद्दा : ज्यान मार्ने उद्योग 

पुनरावेदक वादीः भैरवबहादुर थापाको जाहेरीले नेपाल सरकार

विरुद्ध

विपक्षी प्रतिवादीः सर्लाही जिल्ला बागमती घर भई हाल का.जि.का.म.न.पा. वडा नं. १३ बस्ने दीपक लाय मगर समेत

पुनरावेदन फैसला गर्ने :

मा.न्या. श्री लक्ष्मणमणि रिसाल

मा.न्या. श्री हरिप्रसाद घिमिरे

 

§  एउटै वारदातलाई केही प्रतिवादीको हकमा व्यक्तिवादी मुद्दामा परिणत गर्ने र केही प्रतिवादीको हकमा सरकारवादी मुद्दा कायम गर्न नसकिने 

(प्रकरण नं.२)

§  मनसाय भनेको कुरो कार्यले पनि प्रमाणित गर्ने कुरा हो । प्रतिवादीहरूको हुलको संख्या, हातमा लिएको खुकुरी जस्तो धारिलो हतियार, घाउको संख्या, बरामद भएको हतियार र त्यस्तो धारिलो हतियारले प्रहार गर्नु नै प्रतिवादीको मनसाय प्रमाणित हुनु हो 

(प्रकरण नं.३)

 

पुनरावेदक तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री मोहनबहादुर कार्की

प्रत्यर्थी तर्फबाटः

अवलम्वित नजीरः

सम्बद्ध कानूनः

§  सरकारी मुद्दा सम्बन्धी.ऐन, २०४९ को दफा २७

 

फैसला

न्या.बलराम के.सी.: न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) अनुसार मुद्दा दोहोर्‍याउने निस्सा प्रदान भई पुनरावेदनको रोहमा दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः

मिति २०५९।१२।२५ गते बेलुका १७.३० बजेको समयमा नातिहरू धीराज थापा, अधिराज थापा र निजको साथीले होटलमा मःम खाइरहेको अवस्थामा १०२० जना केटाहरूले हातहातमा तरवार खुकुरी लिई आई यिनीहरूको ज्यान मार्नु पर्छ भनी धीराज थापाको गर्धनमा ताकी हान्दा निजले दाइने हातले छेक्दा कुहिनासहित छिनाली दिएको र निजको छाती तथा पेटमा पटकपटक प्रहार गरेका अधिराज थापा र निजको साथीलाई समेत छातीसमेतका अंगमा पटकपटक प्रहार गरी काटी ज्यान मार्ने उद्योग गरेकाले निजहरूलाई कारवाही गरिपाऊँ भन्ने समेतको भैरवबहादुर थापाको जाहेरी दरखास्त 

दीपक मगर, प्रेमजंग ठकुरी, राजजंग ठकुरीसमेतले हातमा खुकुरी तरवारसमेत लिई आई मार्ने उद्देश्यले साथी धीराज थापालाई गर्दनमा ताकी प्रहार गर्दा निजको हातले छेक्न पुग्दा दाहिने हातको कुहिना मुनीको भाग छिनाली दिएको र त्यसपछि पेट र ढाडमा प्रहार गरी अव यो मर्यो भनी मलाई मेरो ढाडमा र अधिराज थापालाई ढाड र छातीमा चोट पुर्‍याई ज्यान मार्ने उद्योग गरेकाले कारवाही गरिपाऊँ भन्ने घाइते सुमन श्रेष्ठको जाहेरी 

२०५९।१२।२५ गतेका दिन म, ज्योति लामा, उमेश बस्नेत, श्याम गुरुङ, प्रेमजंग ठकुरी, राजजंग ठकुरी, सुपिन्द्र भन्ने समेतले खुकुरीसमेत लिई आई धीराज थापा समेतसँग ग्याङफाइट गरेकाले निजहरूलाई अन्धाधुन्ध तरिकाले धारिलो हतियारले प्रहार गरेको हो । मैले धीराज थापाको गर्दन ताकी मार्ने उद्देश्यले खुकुरी प्रहार गर्दा निजले दाहिने हातले छेक्दा दाहिने हात छिनालिएको हो । धीराज थापालाई म, सुपिन्द्र, उमेश बस्नेतले पटकपटक प्रहार गरी मर्यो भनी छाडेको हो । अधिराज थापा, सुमन श्रेष्ठ समेतलाई चोट पटक लागेको र निजहरू समेत घाइते भएका छन् धीराजले हातले नछेकेको भए निजको मृत्यु हुन्थ्यो भन्ने प्रतिवादी दीपक लाय मगरको अनुसन्धानको क्रममा भएको बयान  कागज 

का.जि.का.म.न.पा. वडा नं. ३३ ज्ञानेश्वरको आरोलोको मोडनेरको पसलमा मःम खाई बसिरहेको अवस्था दीपक लाय मगर, सुमिन्द्र भन्ने, श्याम गुरुङ, ज्योति तामाङ, प्रेमजंग ठकुरी, राजजंग ठकुरीसमेतले हातमा खुकुरीसमेतका हतियार बोकी आई दीपक लाय मगरले दाजु धीराज थापाको गर्दन ताकी धारिलो हतियार खुकुरी प्रहार गर्दा दाजुले रोक्न खोज्दा निजको दाहिने हात छिनाली दिएका हुन् । म र सुमन श्रेष्ठलाई समेत निजहरूले खुकुरी प्रहार गरी ज्यान मर्नेसम्मको काम गरेका हुन । दाजु धीराज थापालाई पटकपटक प्रहार गरी अव यो मरिहाल्छ भनी फरार भएका हुन । दीपक लाय मगरलाई देखाउँदा देखेँ चिनेँ, निजले दाजु धीराजलाई खुकुरी प्रहार गरेका हुन भन्ने घाइते अधीराज थापाको कागज 

नाति धीराज थापालाई घातक हतियार प्रयोगगरी मर्नेसम्मको गैह्रकार्य गरी ज्यान मार्ने उद्योग गर्ने व्यक्तिहरू, दीपक लाय मगर, उमेश बस्नेत, सुपिन्द्र भन्ने, श्याम गुरुङ, ज्योति तामाङ, प्रेमजंग ठकुरी, समेत हुन् भन्ने भैरवबहादुर थापाको थप जाहेरी 

का.जि.का.म.न.पा. वडा नं. ३३ ज्ञानेश्वरको ओरालो नजिककुमार गुरुङको घरमा हर्क राईले सञ्चालन गरेको मःम पसलभित्र टेवुल कुर्सीमा बसिरहेको अवस्थामा धीराज थापालाई खुकुरी प्रहार गरी घाइते बनाएको भन्ने घटनास्थल प्रकृति मुचुल्का 

पसलमा मःम खाई रहेको अवस्थामा दीपक लाय मगरसमेतका १०१२ जना व्यक्तिहरू एक्कासी आई दीपक लाय मगरले खुकुरीले मेरो गर्दनमा ताकी प्रहार गर्दा मैले उक्त चोट छेक्न खोज्दा दाहिने हात छिनालिएको हो । निजहरूले मेरो शरीरको विभिन्न भागमा प्रहार गरेका थिए । उक्त वारदातमा प्रेमजंग ठकुरी, उमेश बस्नेत, राजजंग ठकुरी, सुपिन्द्र भन्ने श्याम गुरुङ, ज्योति तामाङसमेत संलग्न छन् । निजहरूको हातमा खुकुरी तरवार थियो । निजहरूले मेरो भाई र सुमन श्रेष्ठलाई समेत मार्ने उद्देश्यले धारिलो हतियार प्रहार गरेका थिए । मेरो हात काम लाग्दैन भनी डाक्टरले अलग गरिदिएका हुन । हामीहरू वारदातस्थलमा स्थानीय मानिस र प्रहरीको सहयोगले वाँचेको हो भन्ने समेत घाइते धीराज थापाको कागज 

दीपक लाय मगर, राजजंग ठकुरी, सुपिन्द्र भन्ने सोविन्द्र घले, श्याम गुरुङ, ज्योति तामाङ, प्रेम जंग ठकुरी, उमेश बस्नेतसमेतका व्यक्तिहरूले धीराज थापा, अधिराज थापा, सुजन श्रेष्ठलाई धारिलो हतियार प्रयोग गरी धीराज थापाको दाहिने हात छिनाली दिएको र अन्यको शरीरको विभिन्न भागमा चोट पुर्‍याई घाइते बनाई ज्यान मार्ने उद्योग गरेका हुन । निजहरूलाई हदैसम्म कारवाही हुनुपर्छ भन्ने बुझिएका हर्कबहादुर राई र शोभा थापाको  कागज 

, मेगी गुरुङ, दीपक लाय मगर, उमेश बस्नेत, ज्योति लामा, प्रेम ठकुरीसमेत भै गई दिपक लाय मगरले खुकुरीले धीराज थापाको गर्दन ताकी प्रहार गर्दा निजले हातले छेकेकाले हात छिनालिएको हो । मैले खुकुरीले धीराज थापासँगै बसेका दुई जनालाई प्रहार गरेको हुँ । निजहरूले उक्त चोट छली बाँच्न सफल भएका र हामीहरूले प्रहार गरेकै ठाउँमा चोट लागेको भए निजहरूको मृत्यु हुने थियो भन्ने प्र. सुपिन्द्र भन्ने सोविन्द्र घलेको अनुसन्धानको क्रममा भएको बयान कागज 

उक्त वारदातमा हामीहरूलाई हतियार प्रयोग गर्ने दिपक लाय मगर र सोविन्द्र घले हुन देखेँ चिनेँ भनी घाइते धीराज थापा र अधिराज थापाले गरिदिएको छुट्टाछुट्टै सनाखत कागज 

उक्त वारदातमा प्र. सुपिन्द्र भन्ने सोविन्द्र घले समेत संलग्न रहेका हुन देखेँ चिनेँ भनी प्र. दीपक लाय मगरले गरेको सनाखत कागज 

धीराज थापाको शरीरको भागमा काटेको कडा घाउ चोट भएको भन्ने समेत बीर अस्पतालको घाउ जाँच केश फाराम 

सुमन श्रेष्ठको पछाडि काटेको घाउ चोट भएको भन्ने बीर अस्पतालको घाउ जाँच केश   फाराम 

अधिराज थापाको देव्रेपट्टि छातीमा घाउचोट भएको भन्ने त्रि.वि. शिक्षण अस्पतालको घाउ जाँच केश फाराम 

धीराज थापाको दाहिने कुहिना पछाडिको मासु र छालामात्र वाँकी रहेको हड्डी र नशाहरू सबै छिनालिएको पेटमा तीन ठाउँमा र ढाडमा एक ठाउँमा धार भएको हतियारले काटेको घाउ चोट भएको कडा, रगतको प्रवाह धेरै भएमा मर्नेसम्म सम्भव हुने भन्ने त्रि.वि. शिक्षण अस्पतालको घाउ शिक्षण अस्पतालको घाउ जाँच केश फाराम 

मिति २०५९।१२।२५ गते का.जि.का.म.न.पा. वडा नं ३३ ज्ञानेश्वरको ओरालो नेरको मःम पसलमा मःम खाई बसेका धीराज थापा, अधिराज थापा, सुजन श्रेष्ठलाई मार्ने मनसायले प्र.हरू दीपक लाय मगर, सुपिन्द्र भन्ने सोविन्द्र घले, मेगी गुरुङ, उमेश वस्नेत, प्रेम जंग ठकुरी, राजजंग ठकुरी, श्याम गुरुङ, ज्योति तामाङसमेतले खुकुरी तरबार समेत लिई आई दीपक लाय मगरले धीराज थापाको गर्दन ताकी खुकुरी प्रहार गर्दा निजले दाहिने हातले छेक्दा दाहिने हात छिनालिएको र त्यसपछि निज दीपक लाय मगरसमेतका अन्य प्रतिवादीहरूले समेत अन्धाधुन्ध रुपमा धीराज थापा, अधिराज थापा र सुजन श्रेष्ठको शरीरको विभिन्न भागमा धारिलो हतियार खुकुरीसमेत प्रहार गरी निजहरूको ज्यान मर्न सक्नेसम्मको घाउ चोट पुर्‍याई गम्भीर घाइते बनाएकोमा अन्य स्थानीय व्यक्तिहरू र प्रहरीको उपस्थितिमा घाइतेहरूले तत्कालै उपचार पाएको कारणले निजहरूको ज्यान बँच्न गएको तथ्यगत अवस्था सप्रमाण पुष्टि भएकाले प्र. दीपक लाय मगर, सुपिन्द्र भन्ने सोविन्द्र घले, मेगी गुरुङ, प्रेम जंग ठकुरी, राजजंग ठकुरी, ज्योति तमाङ (लामा), श्याम गुरुङ र उमेश वस्नेतलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ र १५ नं. को कसूरमा सोही महलको १५ नं. बमोजिम सजायको माग दावी लिई प्र. दीपक लाय मगरलाई साथै पेश गरेको छु भन्ने समेत अभियोग पत्र 

म सरस्वती कुञ्ज स्कुलमा पढ्ने विद्यार्थी हुँ । मेरो एस.एल.सी. परीक्षा चलिरहेको थियो । अगाडिको परीक्षा दिई २७ गतेको परीक्षाको लागि ऐ. २५ गते विहान १० बजेतिर आफ्नै साथी मन्जि साहकोमा गएको थिएँ । २७ गतेको जाँच सकेपछि म आफ्नो ठूली आमाको घर उदयपुरमा गएको   थिएँ । उदयपुरमा नै मलाई प्रहरीले सोधपुछ छ भनी बैशाखको ७ वा ८ गते समाती काठमाडौं ल्याएको हो । त्यहाँ मलाई कुटपीट गरी खुकुरी हान्ने तिमी नै हौ भनी भन्दा मैले कसैलाई खुकुरी हानेको छैन भन्दा पनि नमानी कुटपीट गरी लेखी राखेको कागजमा सहीछाप गराएका हुन् । मैले खुकुरीले हानेको होइन । पीडितहरूलाई चिन्दिन भन्ने समेत प्रतिवादी दीपक लाय मगरको अदालतमा भएको बयान कागज 

२०५९।१२।२५ गते म आफ्नै घरमा छु । बेलुकासमेत कहीँ बाहिर निस्केको छैन । कसैलाई कुटपीट तथा हतियार प्रयोग गरी ज्यान मार्ने कार्य गरेको छैन । २०६०।१।४ गते दिउँसो बजार आई बेलुका कालोपुल नजिक रहेको एउटा नाम थाहा नभएको होटल नजिक पुग्दा प्रहरीले मलाई होटलमा तोडफोड गरेको भनी समाई पाँच गतेदेखि सार्वजनिक मुद्दा लगाई थुनामा राखेको हो । मैले तोडफोड गरेको थिइन । प्रहरीमा गरेको बयान मैले राजीखुशीबाट गरेको होइन । सार्वजनिक मुद्दामा अनुसन्धानको लागि समाई यस मुद्दामा समेत बयान गराई फसाएको हो । मैले कसूर गरेको छैन भन्ने समेत प्र. सुपिन्द्र भन्ने सोविन्द्र घलेको अदालतमा गरेको बयान 

२०५९।१२।२५ गते दिउँसो मेरो एस.एल.सी. को अंग्रेजी विषयको प्राक्टिकल परीक्षा भएकोले सो परीक्षा दिन गएको थिएँ । १ बजेसम्म परीक्षा दिई १.३० मा घर आएको हुँ । १७.३० बजेको समयमा यी प्रतिवादीहरू तथा घाइतेहरूसँग मेरो भेटघाट भएको छैन र दावीको कसूर मैले गरेको होइन भन्ने समेत म्यादमा हाजिर भई बयान गर्ने ज्योति तामाङको अदालतमा भएको बयान 

वारदात मितिभन्दा अगावै २० गते नै मेरो मामा घर म्याग्दी जि.राकु भन्ने ठाउँमा दाजुको विवाहको लागि गै २०६० साल वैशाख महिना १० गते फर्केको हुँ । पीडित जाहेरवाला तथा अन्य प्रतिवादीहरूलाई मैले आजसम्म चिनेको छैन । मेरो नाम कसरी जाहेरीमा लेखे जान्दिन । घाउजाँच केश फारामबमोजिमको केश जाँच फारामबमोजिमको चोट पटक घाइतेलाई कसरी लाग्यो मलाई थाहा छैन । मामा घर म्याग्दी गएपछि मलाई टाउको दुख्ने रोगले समाती  २०५९।१२।२४ गते म म्याग्दी अस्पतालमा देखाई म्याग्दीबाट मामा घर गै त्यही आराम गरी बसेको हुँ । अभियोग दावीबमोजिम कसूर गरेको छैन भन्नेसमेत प्रतिवादी प्रेमजंग ठकुरीले अदालतमा म्यादमा उपस्थित भै गरेको बयान 

२०५९।१२।२३ गते म मेरो मामा घरमा गै बसी २,३ हप्ता पछाडि चैते दशैं मानी घर आएको हुँ । जाहेरी तथा घटना सम्बन्धमा मलाई केही थाहा छैन । अभियोग दावीबमोजिम मैले कसूर गरेको छैन भन्ने समेत म्यादमा उपस्थित भै बयान गर्ने उमेश बस्नेतको अदालतमा भएको बयान 

अदालतको आदेशबमोजिम बुझिएका सोविन्द्र घलेका साक्षी रवि घले दीपक लाय मगरका साक्षी मन्जिल शाह, उमेश बस्नेतका साक्षी गोपाल खड्का, धनबहादुर बस्नेत, प्रेमजंग ठकुरीका साक्षी यमबहादुर वाँनिया, ज्योति तामाङका साक्षी रामबहादुर लामा, प्रतिवादी जीवन तामाङका साक्षी चमार सिँह तामाङ, प्रेमजंगबहादुर सिँहको साक्षी नरेन्द्र दाहाल, जाहेरवाला भैरवबहादुर थापा, पीडित धीराज थापा, अधिराज थापा बुझिएका शोभा, थापा बुझिएका सुजन श्रेष्ठ म्याग्दी अस्पतालमा प्रेमजंग सिंहलाई परीक्षण गर्ने डा.कविन भट्टचन समेतको बकपत्र मिसिल सामेल रहेछ 

प्रतिवादी मेगी गुरुङ, राजजंग ठकुरी र श्याम गुरुङका नाउँमा जारी भएको म्यादभित्र उपस्थित भै बयान गरेको देखिएन 

यसमा ज्यान मार्ने उद्योगका कसूर अपराधका लागि आवश्यक पर्ने तत्व भन्ने ज्यानै लिनेसम्मको मनसाय तथा पूर्व रिसइवी नभएको र अप्रत्याशित रुपमा तेस्रो पक्षको उपस्थिति वा हस्तक्षेप नभएकोले ज्यानसम्बन्धी महलको १५ नं. बमोजिमको कसूर अपराध नभई कुटपीटको महल अन्तर्गतको कुटपीटको कसूर अपराध देखिँदा प्रस्तुत मुद्दा कुटपीटमा परिणत गरिदिएको छ । साथै पीडितमध्येका धीराज थापाको कुहिना सहित दाहिने हात काटी अंगभंग भएकोले अंगभंग सम्बन्धी मुद्दा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को अनुसूची १ मा पर्ने देखिँदा निज धीराज थापालाई सकार गराउन नपर्ने भई प्रतिवादी दीपक लाय मगरले कुटपीटको २ नं. बमोजिमको कसूर अपराध गरेको हुँदा निजलाई कुटपीटको ६ नं. बमोजिम ४ (चार) वर्ष कैद र रु. २५००।जरीवाना हुने ठहर्छ । उक्त जरीवाना पीडित धीराज थापालाई घा खर्च बापत दिलाई भराई दिने ठहर्छ । पीडित धिराज थापा, अधिराज थापा र सुजन श्रेष्ठ समेतलाई झिकाई निजहरूले कुटपीटको महलबमोजिम कुटपीटमा मुद्दा चलाउन सकार गरे वादी पक्ष कायम गरी यसै मुद्दाबाट कुटपीटमा कारवाही गरी दिने समेत ठहर्छ भन्ने समेत व्यहोराको शुरु काठमाडौं जिल्ला अदालतको मिति २०६३।६।३० को फैसला 

घा केश फारामबाट पीडित धीराज थापाको शरीरमा लागेको चोट हेर्दा धारिलो हतियारले दाहिने हातको कुहिना माथि, पेट अगाडि र ढाडमा प्रहार गरेको, कुहिना पछाडिको मासु र छालामात्र वाँकी रहेको, हड्डी र नसाहरू सबै छिनेको, उक्त चोटहरू कडा भएको रगत प्रवाह धेरै भएमा मर्नेसम्म संभव भएको, प्रतिवादीहरूसँग ग्याङफाइट भइरहने भएकोले पूर्व रिसइवी भएको अवस्थामा ज्यानसम्बन्धी महलको १५ नं. को कसूर अपराध हुने र अंगभंग ठहर भएको अवस्थामा पनि वारदातमा संलग्न अन्य प्रतिवादीहरूका सन्दर्भमा केही नबोली भएको प्रस्तुत फैसलामा अ.वं. १९२ नं. को त्रुटि समेत भएकोले सो फैसला बदर गरी प्रतिवादीहरूलाई अभियोग मागदावीबमोजिम सजायँ गरिपाऊँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन पत्र 

प्रस्तुत मुद्दामा स्थानीय, मानिस र प्रहरीको सहयोगबाट हामी बाँचेका हौं भनी पीडित धीराज थापाले कागज गरिदिएको भएपनि स्थानीय मानिस र प्रहरी तत्काल नआई पीडित धीराज थापा बेहोस भएपछि स्थानीय मानिस र प्रहरीहरू आएको भन्ने निजकै कागजबाट देखिन आएकोले पीडितलाई ज्यान मार्नको लागि तेस्रो पक्षले प्रतिवादीहरूलाई रोकेको भन्ने मिसिल संलग्न कागज प्रमाणबाट देखिन आउँदैन । प्रतिवादीहरूले पीडितलाई मार्ने मनसाय रहे भएको भए पटकपटक खुकुरी प्रहार गरी हत्या गर्नसक्नेमा सो गरेको देखिन आउँदैन । पीडितको ज्यान मार्ने उद्योगको कसूर अपराधको लागि आवश्यक पर्ने तत्व तथा मनसाय भएको नदेखिएको र पूर्व रिसइवीसमेत रहे भएको मिसिल संलग्न कागज प्रमाणबाट देखिन नआएकोले प्रतिवादीहरूलाई ज्यान मार्ने उद्योगमा सजाय गरिपाऊँ भन्ने अभियोग दावी पुग्न नसक्ने ठहराई कुटपीटतर्फ परिणत गर्ने गरेको शुरु जिल्ला अदालतको फैसलालाई अन्यथा गर्नुपर्ने देखिन आएन 

प्रतिवादी दीपक लाय मगरले खुकुरी प्रहार गरी पीडित धीराज थापाको दाहिने हात काटी छिनाली दिएको हुँ भनी अधिकारप्राप्त अधिकारीसमक्ष सावित भई बयान गरेको पाइन्छ । पीडित धीराज थापाले प्रहरीमा कागज गर्दा यिनै प्रतिवादी दीपक लाय मगरले मेरो दाहिने हात खुकुरी प्रहार गरी काटी छिनाली दिएका हुन भनी उल्लेख गरी प्रतिवादीको साविती बयानलाई समर्थन गरी सो कागज गरेको पाइन्छ । धीराज थापाको घा केशफारम हेर्दा, “धारिलो हतियारले दाहिने हातको कुहिनामाथि पछाडिको छाला र मासु मात्र वाँकी, पेटमा ३ ठाउँमा ४ से.मी.को घाउ र ढाडमा त्यस्तै एक घाउ र पेटमा एक ठाउँमा सामान्य छाला खुइलेकोभन्ने उल्लेख भएकोले निज प्रतिवादी दीपक लाय मगरले पीडितको दाहिने हात काटी अंगभंग पारी वेकम्मा पारेको देखिन आएकोले निजले मुलुकी ऐन कुटपीटको महलअन्तर्गत २ नं. को कसूर अपराध गरेको देखिंदा ऐ. ऐनको ६ नं. बमोजिम निज प्रतिवादी दीपक लाय मगरलाई ४ वर्ष कैद र रु. २५००।जरीवाना गरेको र पीडितहरूको अन्य घाउ खतको सम्बन्धमा निजहरूले प्रतिवादीहरू उपर कुटपीटतर्फ मुद्दा चलाउन सकार गरे प्रस्तुत मुद्दाबाटै पीडितहरूलाई वादी पक्ष कायम गरी कुटपीटको महलअन्तर्गत कारवाही किनारा गर्न पाउने ठहर गरेको शुरु काठमाडौं जिल्ला अदालतको मिति २०६३।६।३० को फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकीर पुग्न सक्दैन भन्ने समेत पुनरावेदन अदालत पाटनको फैसला 

पुनरावेदन अदालत पाटनको फैसला त्रुटिपूर्ण छ । पीडित धीराज थापालाई निजको हात छिन्ने गरी प्रतिवादी दीपक लाय मगरले प्रहार गरेको भनी फैसलाले स्वीकार गरे तापनि अंगभंग मात्र ठहर गरेतर्फ हेर्दा पनि निजैलाई लागेको पेट र पिठ्यूँको चोटको सम्बन्धमा समेत मुद्दा कुटपीटमा परिणत हुने ठहर भएकोले एकै व्यक्तिलाई लागेको चोटमा सरकारवादी र दुनियाँवादी दुई थरि वारदात कायम गरी फैसला भएकोले कुटपीटको १५ नं. को कानूनी व्यवस्थाले सो फैसला त्रुटिपूर्ण छ । प्रतिवादी दीपक लाय मगरले धीराज थापालाई खुकुरी प्रहार गरी हात नै छिनाली अरु चोट पनि प्रहार गरी अव त मर्छ भन्ने ठानी वारदात स्थलबाट भागेको भनी मौकामा बयान गर्दा लेखाएको र प्रतिवादी सोविन्द्र घलेले समेत मौकामा सोही व्यहोराको बयान गर्दै यी प्रतिवादीलाई पोल गरेका छन् । निजहरूको अदालतमा भएको इन्कारी बयानलाई अदालतले मान्यता नदिई मौकाको बयान पुष्टि भएको छ 

प्रतिवादीहरूले खुकुरीजस्तो जोखिमी हतियारले प्रहार गर्नु, गर्दन ताकी हानेको चोट हातमा लाग्दा हात छिनिनु, पीडित मर्छ भन्ने ठानी भाग्नु, पीडितको शरीरमा लागेका अन्य चोटहरू, प्रतिवादीले ग्याङफाइट हुने गर्थ्यो भनी उल्लेख गरेबाट पूर्व रिसइवी देखिनु, पसलको मालिकले मानिस मार्न पाइदैन भनी खबरदारी गर्नुजस्ता कुराहरूले ज्यान मार्ने उद्योगको पुष्टि गरेको छ । उक्त घटनाक्रमलाई समर्थन हुने गरी मौकामा कागज गर्ने अधिराज थापाको कागज र जाहेरी दरखास्त समेतबाट पुष्टि भएको छ । प्रतिवादीहरूले मौकामा बयान गर्दा अन्य प्रतिवादीहरू समेत संलग्न भएको भनी उल्लेख गरेका छन् । कुटपीटको १५ नं. ले एकै दिन एकैवारदातमा एकै जनालाई कुटपीट गरेकोमा ठूलो खतको सजाय गर्नुपर्ने व्यवस्था भएकोमा पनि उक्त फैसला त्रुटिपूर्ण देखिन आएको छ 

अतः उपरोक्त आधार प्रमाणबाट शुरु जिल्ला अदालतको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत पाटनको फैसलामा मुद्दा दोहोर्‍याई हेरी प्रतिवादीहरूलाई अभियोग दावीबमोजिम सजाय गरिपाउन अनुरोध छ भन्ने समेत नेपाल सरकारको तर्फबाट यस अदालतमा परेको पुनरावेदन 

यसमा प्रतिवादीहरूले पीडितलाई मार्ने मनसाय भएको भए पटकपटक खुकुरी प्रहार गरी हत्या गर्नसक्नेमा सो गरेको नदेखिएको भनी मनसाय तत्वको गलत व्याख्या गरी गरिएको पुनरावेदन अदालतको फैसलामा प्रमाण ऐन २०३१ को दफा ५४ र ज्यानसम्बन्धी महलको १५ नं. को त्रुटि रहेको देखिँदा न्याय प्रशासन ऐन २०४८ को दफा १२(१)(क) अनुसार मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिएको छ पुनरावेदनको लगतमा दर्ता गरी सम्बन्धित मिसिलहरू र प्रतिवादीहरू समेत झिकाई पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतको  आदेश 

नियमबमोजिम दैनिक पेशी सूचीमा चढी आज यस इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा प्राप्त हुन आएका मिसिल संलग्न कागज प्रमाणहरूको अध्ययन गरी पुनरावेदक नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री मोहनबहादुर कार्कीले प्रतिवादी दीपक लाय मगरले पीडितको गर्दन ताकी खुकुरीजस्तो धारिलो हतियारले प्रहार गरेकोमा पीडितको हातले छेक्दा हातनै छिनिएको अवस्था छ । समूहमा गै खुकुरीले प्रहार गर्नु र पहिला पनि ग्याङफाइट हुन्थ्यो भनी भन्नुबाट पीडितसँग पूर्व रिसइवी र निजलाई मार्नेसम्मको मनसाय भएको स्पष्ट देखिन्छ । वारदातस्थलमा रहेका पीडितका साथीभाई र पसलेको अवरोधका कारणबाट मात्र पीडित धीराज थापाको ज्यान वाँच्न सकेको देखिन्छ । स्वयं यी प्रतिवादीले पीडित अव त मर्छ भनी भागी गएको कुरा मौकामा लेखाएका छन् । यी प्रतिवादीहरू अदालतमा इन्कारी रहे पनि निजहरूको इन्कारी बयानलाई अदालतले मान्यता नदिई मौकाको बयान पुष्टि भएको छ । खुकुरी प्रहार गरी पीडितको हात छिनिएको तथ्यलाई अदालतले समेत स्वीकार गरेको अवस्था छ । यस्तो अवस्थामा प्रतिवादी दीपक लाय मगरलाई ज्यान मार्ने उद्योगमा सजाय गर्नुपर्नेमा सो नगरी अंग भंगमा मात्र सजाय गरेको र अन्य प्रतिवादीहरू सोही एउटै वारदातमा व्यक्तिवादीमा परिणत गर्ने गरेको फैसलामा कानूनी व्याख्याको त्रुटि भएकोले उक्त फैसला बदर गरी अभियोग दावीबमोजिम सजाय गरिपाऊँ भनी गर्नु भएको बहससमेत सुनी निर्णयतर्फ बिचार गर्दा पुनरावेदन अदालत पाटनको फैसला मिले नमिलेको रहेछ ? त्यसमा निर्णय दिनु पर्ने देखियो 

२.    यसमा ज्यान मार्ने उद्योग गरिएको भन्ने पीडित धीराजकुमार थापाको शरीरको मर्मस्थल हात, पेट र पिठ्यूँको भागमा देखिएको घाउ चोट र निज पीडितको दायाँ हात काटी छुट्टिएको हुँदा निज पीडितउपर भएको घाउको गाम्भीर्यताले नै ज्यान मार्ने उद्योगको अपराध भएको कुरा प्रमाणित भएको देखिन्छ भनी उपरोक्त प्रमाणको आधारमा प्रतिवादीहरूलाई ज्यानसम्बन्धी महलको १५ नं. को अपराधमा सोहीबमोजिमको सजाय माग गरी ज्यान मार्ने उद्योगको अभियोग लगाई मुद्दा चलाएकोमा शुरु का.जि.अ.ले ज्यान मार्ने उद्योग नठहराई प्र. दीपक लाय मगरको हकमा कुटपीटको ६ नं. अन्तर्गत ४ (चार) वर्ष कैदको सजाय गरेको र अन्य प्रतिवादीहरूलाई स.मु.स.ऐनको दफा २७ बमोजिम पीडितले सकारे व्यक्तिवादी भै कुटपीटको महलअन्तर्गत परिणत गर्ने गरी फैसला गरेको शुरुको फैसलालाई पु.वे.अ.ले सदर गरेको देखियो । सर्वप्रथम प्रस्तुत मुद्दाको यसै अभियोग माग दावी ज्यानसम्बन्धी महलअन्तर्गतको भएकोमा अपराध नै फेरी अदालतले एउटै वारदातको एउटै मुद्दालाई केही प्रतिवादीको हकमा स.मु.स. ऐनको व्यवस्थाबमोजिम सरकारवादी मुद्दा कायम गर्ने र केही प्रतिवादीलाई व्यक्तिवादी मुद्दामा परिणत गर्ने गर्न सक्छ   सक्दैन ? सो नै हेर्नुपर्ने हुन आयो । स.मु.स. ऐन, २०४९ को दफा २७ मा सरकार वादी भै चल्ने मुद्दामा मुद्दाको कारवाहीअगाडि बढ्दै जाँदा सवुद प्रमाणबाट स.मु.स. ऐनको अनुसूचीमा पर्न नसकी सरकार वादी हुन नसक्ने देखिएमा जाहेरवाला वा पीडितले सकार गरी त्यस्तो मुद्दालाई व्यक्तिवादी मुद्दामा परिणत गर्न   सकिन्छ । स.मु.स.ऐनको उक्त व्यवस्था मुद्दा नै सरकारवादीबाट व्यक्तिवादीमा परिणत हुने व्यवस्था हो । एउटै मुद्दाको एउटै बारदातमा केही प्रतिवादीको हकमा सरकारवादी कायम राख्ने र केही प्रतिवादीको हकमा व्यक्तिवादीमा परिणत गर्ने कानूनी व्यवस्था होइन । एउटै वारदातलाई कसरी दुईवटा ऐन अन्तर्गतको दुई वटा वेग्लावेग्लै वारदात कायम गर्न सकिन्छ ? एउटै वारदातलाई केही प्रतिवादीको हकमा व्यक्तिवादी मुद्दामा परिणत गर्ने र केही प्रतिवादीको हकमा सरकारवादी मुद्दा कायम गर्न सकिंदैन । सो सम्बन्धमा पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण देखियो । 

३.    अव अर्को प्रश्नतर्फ हेर्दा घाइते धीराज थापाको घाउ चोट हेर्दा समयमा उपचार नपाएको भए मर्न सक्ने खालको देखिन्छ । ज्यान मार्ने उद्योगको अपराध ठहरिन अभियुक्तको मनसाय र कुनै तेस्रो पक्ष घटनास्थलमा मौजूद भई वा उपस्थित हुन पुगी त्यस्ता तेस्रो पक्षको मौजूदी वा उपस्थितिको कारणले गर्दा मात्र ज्यान भने मर्न नपाएको अवस्था हुनुपर्छ । पहिलो प्रश्न अर्थात् प्रतिवादीको घाइते धीराज थापालाई मार्ने नै मनसाय थियो कि थिएन भनी हेर्दा मनसाय भनेको कुरो कार्यले पनि प्रमाणित गर्ने कुरा हो । प्रतिवादीहरूको हुलको संख्या, हातमा लिएको खुकुरी जस्तो धारिलो हतियार, घाउको संख्या, बरामद भएको हतियार र त्यस्तो धारिलो हतियारले प्रहार गर्नु नै प्रतिवादीको मनसाय प्रमाणित हुनु हो । मानसिक अवस्था ठीक र सामान्य भएका जुनसुकै व्यक्तिले धार भएको तिखो फलामको हतियारले कसैलाई हान्न हुन्न भन्ने कुरा र यदि त्यस्तो हतियारले प्रहार गरेमा मानिस मर्न सक्छ भन्ने कुरा स्वयं जानकारी राख्ने कुरा हो । यसैबाट प्रस्तुत मुद्दामा मनशाय प्रमाणित भएको देखिन्छ । साथै निजहरू बीच ग्याङफाइट हुने गरेको भनी स्वयं प्रतिवादी दीपक लाय मगरले अधिकारप्राप्त अधिकारीसमक्ष लेखाएको कुरालाई यी प्रतिवादीहरूको समूह भै हातमा धारिलो हतियार लिई घटनास्थलमा उपस्थित हुनुले समर्थन गरेको देखिन्छ । यसबाट यी प्रतिवादी दीपक लाय मगरले पूर्व रिसइवी लिएको भन्ने देखिन्छ । जहाँसम्म तेस्रो व्यक्तिको हस्तक्षेपको प्रश्न छ, घाइतेलगायत मौकामा बुझिएका व्यक्ति तथा जाहेरवालाको वकपत्रबाट घाइते पक्षका तीन जना व्यक्तिहरूको पनि  घटनास्थलमा उपस्थितिको कारण प्रतिवादीहरूको योजना पूर्ण सफल हुन नसकेको देखिँदा पुनरावेदन अदालतले कुटपीट महलअन्तर्गतको अपराध कायम गरी प्रतिवादी दीपक लाय मगरलाई कुटपीटको महलअन्तर्गत अङ्गभङ्गमा ४ (चार) वर्ष कैद र रु. २५००।जरीवाना हुने सजाय गरी गरेको फैसला उल्टी भई उल्लिखित आधार प्रमाणहरूको आधारमा प्रतिवादी दीपक लाय मगरलाई ज्यान मार्ने उद्योग गरेको ठहरी ज्यानसम्बन्धी महलको १५ नं. बमोजिम पहिलो पटक भएकोले ५ वर्ष कैद हुने ठहर्छ । अन्य प्रतिवादीको हकमा निजहरू घटना स्थलमा उपस्थित भए पनि कसूरमा संलग्नता नदेखिएकोले सफाइ पाउने ठहर्छ । अरुमा तपसिलबमोजिम गर्नू 

     

तपसिल

माथि इन्साफ खण्डमा ठहरेबमोजिम प्रतिवादी दीपक लाय मगरले ज्यान मार्ने उद्योग गरेको ठहरी निजलाई पाँच वर्ष कैदको सजाय हुने ठहरेकाले निजको हकमा प्रस्तुत मुद्दामा शुरु काठमाडौं जिल्ला अदालतले कसैको सम्पूर्ण लगत कट्टा गरी ज्यान मार्ने उद्योगमा कैद वर्ष ५(पाँच) को लगत कसी थुनामा रहेको मितिबाट कट्टा हुने गरी वाँकी कैद नियमानुसार असूल गर्नु भनी काठमाडौं जिल्ला अदालतलाई लेखी पठाईदिनू । ...१

अन्य प्रतिवादीहरू सोविन्द्र घले,मेगी गुरुङ, प्रेम जङ्ग  ठकुरी, ज्योति तामाङ (लामा), श्याम गुरुङ र उमेश बस्नेतले आरोपित  कसूरबाट सफाइ पाउने ठहरेकाले निजहरू जिल्ला अदालतबाट छुटी गएकाले केही गर्नु परेन । ....१

प्रस्तुत मुद्दाको फैसला जानकारीको लागि महान्यायाधिवक्ताको कार्यालयलाई दिनू ..१

प्रस्तुत मुद्दाको दायरीको लगत काटी मिसिल नियमानुसार गरी बुझाइदिनू  .....

 

 

उक्त रायमा सहमत छु 

न्या.प्रेम शर्मा

 

इति संवत २०६५ साल माघ २८ गते रोज ३ शुभम्

इजलास अधिकृत : उपेन्द्रप्रसाद गौतम

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु