निर्णय नं. ८१५५ - अंश नामसारी

निर्णय नं.८१५५ भदौ, २०६६ अङ्क ५
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी
माननीय न्यायाधीश श्री प्रकाश वस्ती
संवत् २०६३ सालको दे.पु.नं. – ८८६९
फैसला मितिः २०६५।१२।१२।४
मुद्दा : अंश नामसारी
पुनरावेदक प्रतिवादीः जिल्ला रुपन्देही आभा गा.वि.स. वडा नं. ८ बडबलिया बस्ने रोहु मुसलमान समेत
विरुद्ध
प्रत्यर्थी वादीः जिल्ला रूपन्देही आभा गा.वि.स. वार्ड नं. ८ वडवलिया बस्ने अकबर अली मुसलमान
शुरु फैसला गर्नेः
मा.जि.न्या.श्री इन्द्रमान कर्माचार्य
पुरावेदन फैसला गर्नेः
मा.न्या.श्री राजेन्द्रप्रसाद कोइराला
मा.न्या.श्री विश्वनाथ जोशी
§ कुनै अंश मुद्दाको अन्त्य या त अंश नपाउने ठहरेको अवस्थामा हुन्छ या त अंश पाउने ठहरेको अवस्थामा हुन्छ । अर्थात् अंश मुद्दाको अन्तिम परिणति सम्पत्ति प्राप्त हुनु वा नहुनु हुन्छ । अंश पाउने ठहरेको स्थितिमा अंश बुझिलिएको वा विधिवत् तवरले सो हक छाडेको स्थितिमा मात्र मुद्दाको अन्त्य हुनसक्ने ।
(प्रकरण नं.३)
§ बाबुको जीवनकालमै पनि छोराले बाबु निजका बाबु, दाजु भाइसमेतलाई अंश मुद्दा दिन सक्दछ र सगोलको सम्पत्तिमा निजको हिस्सा अन्तरभूत मानिन्छ भने बाबु र छोरालाई स्वतन्त्र हैसियत राख्ने दुई अलग एकाइ मान्नुपर्ने हुन्छ । तसर्थ सोही मुद्दाको हकमा आकर्षित हुने अ.वं. ८५ अलग मुद्दामा आकर्षित नहुने ।
(प्रकरण नं.३)
पुनरावेदक तर्फबाटः
प्रत्यर्थी तर्फबाटः
अवलम्वित नजीरः
सम्बद्ध कानूनः
§ मुलुकी ऐन अ.वं. ८५ नं.
फैसला
न्या.प्रकाश वस्तीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को उपदफा १ को खण्ड (ग) अन्तर्गत पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :–
मूल पुरुष नेगु मुसलमानको २ छोरामध्ये जेठा विपक्षी टुवर मुसलमान, कान्छा मेरो बाबु सुनाउल्लाह मुसलमान भएकोमा मेरो आमा हारुन्नीसा मुलसमान्नी बाबुलाई छाडी पोइला गइसकेकी तथा मेरो बाबु सुनाउल्लाह मुसलमानको परलोक भइसकेको, मेरो कुनै दाजुभाइ दिदीबहिनी छैनन् । विपक्षी जेठा बाबु टुवर र विपक्षी निजकी श्रीमती ठूलीआमा रोहु मुसलमान्नीबाट जन्मेका ३ छोरामध्ये क्रमशः जेठा विपक्षी हकिकुल्लाह, माहिला विपक्षी जमिरुल्लाह, कान्छा विपक्षी जमाल अहमद मुसलमान भएको तथा विपक्षी हकिकुल्लाहको श्रीमती विपक्षी भुल्ठी मुसलमान भएकोमा विपक्षीहरू सबै जीवित हुँदा म फिरादी सँगै एकासगोलमा बसिआएका थियौँ । यता केही दिनदेखि विपक्षीहरूले मप्रति हेपाहा व्यवहार गर्न थालेपछि मेरा बाबु सुनाउल्लाहको आधा अंश म फिरादीलाई दिई रीतपूर्वक बण्डा गरी आ–आफ्नो खती उपति गरी बसौं भनी मिति २०५९।१२।२३ गतेका दिन विपक्षीहरूसँग अनुरोध गर्दा विपक्षीहरू एकमुख भई तलाई अंश दिन्नौँ भनी जवाफ दिएकाले यो फिराद पत्र प्रस्तुत गरेको छु । मेरो साक्षी प्रमाणको मूल्याङ्कन गरी अंशबण्डाको २०।२१।२२।२३ नं. बमोजिम तायदाती फाँटवारी लिई सम्पूर्ण सम्पत्तिमा २ भाग लगाई एक भाग विपक्षीहरूको पर सारी एक भाग अंश दिलाई पाऊँ भन्ने समेत व्यहोराको फिराद पत्र ।
विपक्षी वादी हामी प्रतिवादीहरूको अंशियार अर्थात् सुनाउल्लाहको छोरा नाताका व्यक्ति नै नहुँदा निजलाई अंश दिनपर्ने होइन, छैन । हाम्रो वास्तविक पुस्तेवारीको हकमा मूल पुरुष नेगु मुसलमान भई निजका २ छोरा जेठा प्रतिवादीमध्येको म टुवर मुसलमान, कान्छा सुनाउल्लाह मुसलमान भएको टुवरकी श्रीमती प्रतिवादीमध्येकी म रोहु मुसलमान भई हामीबाट ३ छोरा प्रतिवादीहरू हकिकुल्लाह, जमिरुल्लाह र जमाल अहमदको जायजन्म भएको, हकिकुल्लाहको श्रीमती प्रतिवादीमध्येकी म भुल्ठी मुसलमान हुँ । सुनाउल्लाह र निजकी श्रीमतीबाट जातक जन्म नै नभएपछि निजलाई छाडी भारत गएकी, निज सुनाउल्लाह निःसन्तान भएको हुँदा विपक्षीले परिपञ्च मिलाई पुस्तेवारी भिडाई दूषित मनसायले प्रस्तुत नालेस दायर गरेकोसम्म हुन् । निज सुनाउल्लाहकै छोरा नाताका व्यक्ति भएको भए वादी सुनाउल्लाह मुसलमान प्रतिवादी हामी समेत भएको संवत् २०४८ सालको दे.नं. १२२१ को अंश नामसारी मुद्दाको दण्ड सजायको ४६ नं. को प्रक्रिया पूरा नगरी म्यादै गुजारी बसेको मुद्दाको तथ्यको बारेमा जानकारी हुने नै थियो । सो विषयमा मौनतासमेतले यी विपक्षी मृतक सुनाउल्लाहका छोरा नाताका व्यक्ति नै नभई उनाउ भारतीय व्यक्ति भएको र हामी प्रतिवादीहरूको अंशियार नभएको तथ्य प्रतिविम्वित हुन्छ । अतः हाम्रा साक्षी प्रमाण, सर्जमिन, प्रमाण मिसिल समेत साथै राखी झूठ्ठा दाबीबाट फुर्सद दिलाई पाऊँ भन्ने समेत व्यहोराको संयुक्त प्रतिउत्तर पत्र ।
मूल पुरुष निगु मुसलमानका २ छोरा सुनाउल्लाह र टुवर मुसलमान हुन् । सुनाउल्लाह र निजको श्रीमती हारुन मुसलमानबाट जन्म भएको १ मात्र छोरा म वादी अकवर अली मुसलमान हुँ । टुवर मुसलमान मेरो जेठा बाबु हुन् । निजको श्रीमती रोहु मुसलमान्नी हुन् । निजबाट जन्मेका छोरा क्रमशः जमिरुल्लाह, जमाल, हकिकुल्लाह हुन् । निजहरूलाई अंशियार नाता कायम गरी दाबीबमोजिम २ भागको १ भाग मैले अंश पाउनुपर्ने हो भन्ने समेत व्यहोराको वादी अकवर अली मुसलमानले नातामा गरेको बयान ।
वादीले गरेको बयान झूठ्ठा हो । यी वादी भारतीय मानिस हुन् । सुनाउल्लाह मुसलमानको छोरा होइनन् । निजलाई हामीले अंश दिनुपर्ने अंशियार होइन, अंशियार नाता कायम हुने होइन भन्ने समेत व्यहोराको प्र.वा.स.टुवर मुसलमानले नातामा गरेको बयान ।
यसमा नातामा विवाद भएकोमा सरजमिनका सम्पूर्ण व्यक्तिले यी वादी सुनाउल्लाहको छोरा र प्रतिवादी टुवर यी वादीका जेठा बाबु भनी लेखाएका, सुनाउल्लाहले टुवरउपर दायर गरेको २०४८ सालको दे.नं. १२२१ को अंश नामसारी मुद्दाको फिराद पत्रको प्रकरण २ मा फिरादी सुनाउल्लाहले मेरो छोरा अकवर अली भनी उल्लेख गरेको तथा सो मुद्दामा दाबीबमोजिम २ भागको १ भाग अंश पाउने ठहर भई फैसला अन्तिम भएको समेतबाट वादी सुनाउल्लाहको छोरा र प्रतिवादी टुवर ठूला बाबुको नाता कायम हुने र वादीका पिताले दायर गरेको अंश मुद्दामा प्रतिवादी टुवर मुसलमानबाट अंश पाउने ठहर भई यस अदालतबाट मिति २०५१।११।२९ मा फैसला भइराखेको देखिँदा अंशको हदसम्म अ.वं. ८५ नं. बमोजिम वादीको दाबी खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको रुपन्देही जिल्ला अदालतले मिति २०६१।१।१६ मा गरेको फैसला ।
बाबु सुनाउल्लाहको अंश भाग मलाई दिलाई नामसारी गराइ पाऊँ भन्ने दाबी भएकोमा तथ्य प्रमाणको मूल्याङ्कन गरी दाबीबमोजिम ठहर फैसला गर्नुपर्नेमा अंशतर्फ खारेज गरेको हदसम्म शुरू फैसला त्रुटिपूर्ण छ । बाबुले बण्डा नछुट्टाए पनि सगोलमै बसी भोगचलन गरेको र निजको मृत्युपछि मेरो दाबी परेको अवस्थामा कानून र नजीरको उचित पालना नगरी गरिएको फैसला उल्टी गरी फिराद दाबीअनुसार अंश दिलाई पाऊँ भन्ने समेत व्यहोराको वादी अकवर अली मुसलमानको पुनरावेदन अदालतमा परेको पुनरावेदन ।
यसमा वादी अंशियार ठहर भएको, तर निजले अंश लिइपाइसकेको भन्ने अवस्था नदेखिँदा छलफलको लागि अ.वं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ अनुसार प्रत्यर्थी झिकाई आए वा म्याद नाघेपछि नियमानुसार पेश गर्नु भन्ने मिति २०६१।१०।१३ को आदेश ।
वादी सुनाउल्लाह मुसलमान प्रतिवादी टुवर मुसलमान समेत भएको २०४८ सालको दे.दा.नं. १२२१ को अंश नामसारी मुद्दाको प्रमाण मिसिल साथै पेश भएको ।
यिनै वादीका बाबु सुनाउल्लाह मुसलमानले यिनै प्रतिवादी टुवर मुसलमान समेत उपर दायर गरेको २०४८ सालको दे.दा.नं. १२२१ को अंश नामसारी मुद्दामा वादी दाबीबमोजिम २ भागको १ भाग अंश वादीले छुट्याई लिन पाउने ठहरी रुपन्देही जिल्ला अदालतबाट मिति २०५१।११।२९ मा फैसला भई अन्तिम रहेको प्रमाण मिसिलबाट देखिन आउँछ । प्रस्तुत मुद्दा सोही दे.नं. १२२१ का फिरादीले गरेको नभई उक्त मुद्दामा पेश हुन आएको तायदाती सम्पत्ति नै भोग गरी बसी आएका सुनाउल्लाहका छोरा तथा प्रतिवादी टुवरका भतिजा नाताका वादी आएकोबाट अ.वं. ८५ नं. ले एक पटक उनै व्यक्तिले उनै व्यक्तिउपर नालेस गरिसकेको भन्न मिलेन । अतः वादीले प्रतिवादीबाट अंश पाउने नै देखियो । दे.नं. १२२१ को अंश मुद्दामा मिति २०४८।८।१७ मा प्रतिवादीले पेश गरेको तायदातीमा देखाइएको ऋणको हकमा साहूको उजूर परेको बखत ठहरेबमोजिम हुने नै हुँदा अन्य सम्पत्तिमा आधा अथवा दुई भागको एक भाग अंश वादीले प्रतिवादीहरूबाट छुट्याई लिन पाउनेमा सोबमोजिम नगरी अंशतर्फको फिराद खारेज हुने ठहराएको शुरु रुपन्देही, जिल्ला अदालतको मिति २०६१।१।१६ को फैसला सो हदसम्म नमिलेकोले उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, वुटवल रुपन्देहीको मिति २०६२।४।३१ को फैसला ।
दे.नं. १२२१ को अंश नामसारी मुद्दामा वादी सुनाउल्लाह मुसलमान प्रतिवादी टुवर मुसलमानसमेत भै सो मुद्दामा यस मुद्दाका वादीको अस्तित्वको बारेमा स्पष्ट उल्लेख नै नभएको, उक्त मुद्दामा सुनाउल्लाहले अंश पाई निजले दण्ड सजायको ४६ नं. बमोजिम बण्डा नै छुट्याउन नसकेपश्चात् उक्त तथ्यलाई लोप गरी दायर भएको प्रस्तुत मुद्दामा अ.बं. ८५ नं. बमोजिम नालेस खारेज हुनुपर्नेमा जिल्ला अदालतको फैसलालाई अंशको हदसम्म उल्टी गरेको पुनरावेदन अदालतको फैसलामा मुलुकी ऐन, अदालती बन्दोबस्तको ८५ नं. दण्ड सजायको ४६ नं. समेतको त्रुटि भएको छ । यसरी वादीले कथितरुपमा झूठ्ठा नाता देखाई आफ्नो बाबु भनी जिकीर लिएका सुनाउल्लाह नै वादी भै चलेको अंश मुद्दामा फैसला भै दण्ड सजायको ४६ नं. बमोजिम बण्डा नछुट्टाई त्यसै बसी अंश हक पुनः दाबी गरी प्राप्त गर्ने हक नहुने हुँदा पुनरावेदन अदालतको फैसला बदर गरी शुरु रुपन्देही जिल्ला अदालतको इन्साफ नै सदर गर्ने गरी इन्साफ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीहरूको यस अदालतमा परेको पुनरावेदन ।
नियमबमोजिम आजको दैनिक मुद्दा पेशी सूचीमा चढी इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनसहितका मिसिल संलग्न सम्पूर्ण कागजातहरूको अध्ययन गरी निर्णयतर्फ विचार गर्दा, पुनरावेदन अदालत, वुटवलको फैसला मिलेको छ, छैन ? पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकीर पुग्न सक्छ, सक्दैन भन्ने प्रश्नमा नै केन्द्रित भई निर्णय दिनुपर्ने देखिन आयो ।
२. यसमा नेगु मुसलमानका दुई भाई छोरामध्ये जेठा प्रतिवादी टुवर मुसलमान र कान्छा आफ्नो बाबु सुनाउल्लाह मुसलमान भएको, बाबुको मृत्यु भैसकेको हुँदा प्रतिवादीहरूबाट २ भागको १ भाग अंश दिलाई पाऊँ भन्ने मुख्य फिराद दाबी भै सुनाउल्लाहको छोरा वादी नभएको, सुनाउल्लाहले २०४८ सालमा दायर गरेको अंश नामसारी मुद्दा फैसला भई फैसलाअनुसार दण्ड सजायको महलको २६ नं. बमोजिम बण्डा नछुट्टाई त्यसै बसेकोमा पुनः अंश मुद्दा दिने हक समेत नहुँदा फिराद दाबीबाट अलग फुर्सद पाऊँ भन्ने प्रतिउत्तर जिकीर भएको प्रस्तुत मुद्दामा वादी दाबी खारेज हुने ठहर गरेको जिल्ला अदालतको फैसलालाई केही उल्टी गरी वादीले अंश पाउने ठहर गरेको पुनरावेदन अदालतको फैसलाउपर प्रस्तुत पुनरावेदन पर्न आएको देखियो ।
३. प्रत्यर्थी वादी अकवर अली मुसलमान सुनाउल्लाह मुसलमानको छोरा तथा पुनरावेदक प्रतिवादीमध्येका टुवर मुसलमानको भतिजा नाताका व्यक्ति होइनन् भनी प्रतिउत्तर एवं नातातर्फको बयानमा जिकीर लिएको भएपनि शुरु रुपन्देही जिल्ला अदालतबाट फैसला हुँदा वादी दाबीबमोजिमको नाताभित्रको व्यक्ति हुने ठहर भएको पाइन्छ । उक्त नातातर्फको ठहर फैसलाउपर यी पुनरावेदक प्रतिवादीहरूको कुनै पुनरावेदन नै नपरेको अवस्थामा नाता कायम भै त्यसमा थप विवेचना गर्नु परेन । प्रत्यर्थी वादीका बाबु सुनाउल्लाह मुसलमानले यिनै पुनरावेदक/ प्रतिवादीमध्येका टुवर मुसलमानसमेत उपर दायर रहेको प्रमाणको रुपमा आएको संवत् २०४८ सालको दे.नं. १२२१ को अंश नामसारी मुद्दामा वादी दाबीबमोजिम २ भागको १ भाग अंश वादीले छुट्टाई लिन पाउने ठहरी रुपन्देही जिल्ला अदालतबाट मिति २०५१।११।२९ मा फैसला भएको देखियो । उक्त फैसला अन्तिम भएर बसेकोसमेत देखिन आयो । उक्त फैसलाले यी प्रत्यर्थी/वादीको बाबुको अंश हक स्थापितसम्म गरेको र प्रस्तुत मुद्दा उसै व्यक्तिले उसै व्यक्ति उपर दायर गरेको नभै बाबुको मृत्युपश्चात् छोरा यी वादीले मुद्दा दायर गरेको अवस्थामा पुनरावेदक प्रतिवादीको जिकीरअनुसार मुलुकी ऐन अदालती बन्दोबस्तको ८५ नं. आकर्षित हुने अवस्था देखिएन । त्यस्तै गरी यी वादीको बाबुले फैसलाबमोजिम बण्डा नछुट्टाएको भन्ने आधारमा अंश जस्तो नैसर्गिक हक निष्प्रयोजन हुने भनी प्रस्तुत छुट्टै अंश मुद्दामा अर्थ गर्न समेत न्यायोचित नहुँदा पुनरावेदक प्रतिवादीको उक्त जिकीरसँग समेत सहमत हुन सकिएन ।
अंश यस्तो हक हो, जो प्राप्त नगरेसम्म समाप्त हुँदैन । अ.वं. ८५ मा व्यवस्थित प्राङ न्यायको यस्तो सिद्धान्त हो जसले मुद्दाको सुनिश्चित अन्त्यको व्यवस्था गर्दछ । कुनै अंश मुद्दाको अन्त्य या त अंश नपाउने ठहरेको अवस्थामा हुन्छ या त अंश पाउने ठहरेको अवस्थामा हुन्छ । अर्थात् अंश मुद्दाको अन्तिम परिणति सम्पत्ति प्राप्त हुनु वा नहुनु हुन्छ । अंश पाउने ठहरेको स्थितिमा अंश बुझिलिएको वा विधिवत तवरले सो हक छाडेको स्थितिमा मात्र मुद्दाको अन्त्य हुन्छ । प्रस्तुत मुद्दामा बाबुले अंश पाउने ठहरे पनि फैसला कार्यान्वयन भइसकेको स्थिति छैन । यस्तो अवस्थामा उक्त अंश मुद्दा टुंगिएको अर्थ गरी सो मुद्दामा अंशियार र अंश भाग कायम भएर बसे पनि निजको छोराले सो मुद्दाका कारणले फिराद गर्न नै नपाउने भन्दा अंश भन्ने कुरा नैसर्गिक हक भन्ने मान्यतामा आँच आउँछ । अ.वं. ८५ को यति संकीर्ण व्याख्या गर्न त्यसमा प्रयुक्त शब्दावलीले नै अनुमति दिँदैनन् । यहाँ मुद्दा गर्नुपर्ने कारण अलग छ र पक्ष समान छैनन् । जितेको मुद्दामा पुनरावेदन गरिँदैन । वादीको बाबुले अंश मुद्दा जितेबाट पुनरावेदन गर्नुपर्ने अवस्था छैन । अ.वं. ८५ को प्रारम्भिक वाक्यांशले पुनरावेदनको पर्यायवाची फिराद पत्र हुन सक्दैन भनेको हो । यहाँ वादीले न पुनरावेदन गर्ने हैसियत राख्दछन् न त उनलाई यसको आवश्यकता नै छ । बाबुको जीवनकालमै पनि छोराले बाबु, निजका बाबु, दाजु भाइसमेतलाई अंश मुद्दा दिन सक्दछ र सगोलको सम्पत्तिमा निजको हिस्सा अन्तरभूत मानिन्छ भने बाबु र छोरालाई स्वतन्त्र हैसियत राख्ने दुई अलग एकाइ मान्नुपर्ने हुन्छ । तसर्थ सोही मुद्दाको हकमा आकर्षित हुने अ.वं. ८५ अलग मुद्दामा आकर्षित हुँदैन ।
४. यसप्रकार प्रत्यर्थी वादी सुनाउल्लाह मुसलमानको छोरा भै अंशियार नाताभित्रको भएको तथ्य स्थापित भई बसेको र प्रत्यर्थी वादीका बाबु सुनाउल्लाह मुसलमानले दायर गरेको अंश मुद्दाबाट प्रत्यर्थी/वादीका बाबुले २ भागको १ भाग अंश पाउने ठहरी अंश हक स्थापित भै बसेको अवस्थामा शुरु जिल्ला अदालतको फैसलालाई केही उल्टी गरी वादीले प्रतिवादीहरूबाट अंश छुट्टाई लिन पाउने ठहर गरेको पुनरावेदन अदालत वुटवलको मिति २०६२।४।३१ को फैसला अन्यथा नभई मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकीर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.ताहिर अली अन्सारी
इति संवत् २०६५ साल चैत १२ गते रोज ४ शुभम्
इजलास अधिकृत : युवराज गौतम