निर्णय नं. ८१५७ - विवाह बदर

निर्णय नं.८१५७ भदौ, २०६६ अङ्क ५
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री प्रेम शर्मा
माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला
संवत २०६२ सालको फौ.पु.नं... ३७३०
फैसला मितिः २०६६।१।२२।३
मुद्दाः विवाह बदर ।
पुनरावेदक वादीः जिल्ला वारा कलैया नगरपालिका वडा नं. ४ वस्ने सोमेश्वरप्रसाद कायस्थ
विरुद्ध
प्रत्यर्थी प्रतिवादीः भारत मधुवनी अन्तर्गत पर्ने हरिपाटी गाउँ भैया टोल जन्मघर भै हाल जि.वारा कलैया न.पा.वडा नं. ७ वस्ने शिवशंकर दास समेत
शुरु निर्णय गर्ने :
मा.जि.न्या.दिनेशकुमार कार्की
पुनरावेदन फैसला गर्नेः
मा.न्या.श्री ऋृषिराज जोशी
मा.न्या.श्री हरिबहादुर वस्नेत
§ जीवनको सहयात्रामा एक अर्काको हातेमालो गरी जीवन निर्वाह गर्नुपर्ने जीवन सँगीनी (Life Partner) शारीरिक एवं मानसिक अस्वस्थ एवं विकलाङ्ग भएमा त्यसरी ऐनमा भएको कानूनी मनसायलाई दिग्भ्रमित पारी गरे गराएको विवाह स्वतः बदर हुने अवस्थासमेत हुँदा आफूलाई झुक्याई, ढाँटी विहेवन्धनमा बाँधिएकी स्वास्नी मानिसलाई त्याग्न वा अस्वीकार गर्न पाउने अधिकार जीवनको अधिकार (Right of Life) अन्तर्गतकै व्यक्तिगत अधिकारमा लिन सकिने ।
§ मानिसको व्यक्तिगत जीवनसँग सरोकार राख्ने अति महत्वपूर्ण विषयमा अदालत समेतले संवेदनशील भएर मौजुदा कानूनी व्यवस्थाको परिधिभित्र रही न्यायिक मनको समेत उदारताका साथ यथेष्ट रुपमा ध्यान केन्द्रित गरी त्यस्तो पीडित पक्षलाई न्याय निश्रित गर्नैपर्ने ।
(प्रकरण नं.८)
पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ताहरू श्री शम्भु थापा, मिथिलेशकुमार सिँह र कृष्ण सापकोटा
प्रत्यर्थी तर्फबाटः
अवलम्वित नजीरः
सम्बद्ध कानूनः
§ विवाहवारीको ५ नं.
§ सर्वोच्च अदालत नियमावली, २०४९ को नियम १०४(च)(ख)
फैसला
न्या.प्रेम शर्माः पुनरावेदन अदालत हेटौंडाको फैसलाउपर वादीको तर्फबाट मुद्दा दोहोर्याई हेरी पाऊँ भनी परेको निवेदनमा यस अदालतबाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (क) को आधारमा निस्सा प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ:-
मेरी कन्या सुयोग्य, सुशिक्षित सद्दे भएकी हुँदा कुशल गृहणी हुनेछिन भनी प्र. शिवशंकर दासले भनेबाट प्रतिष्ठित सम्भ्रान्त परिवारका निजको कुरामा लागी जातीय रीतिअनुसार २०४८।२।९ मा मैले प्र.पुनमसँग विवाह गरी लोग्नेस्वास्नीको सम्बन्ध स्थापित भएकोमा निजले घरका समान तोडफोड गर्ने, ओछ्यानमा दिशा पिसाव गरी फोहर गर्ने, घातक हतियारहरू लिई जाइलाग्ने, अपशव्द प्रयोग गरी गाली गलौज गर्ने आदि बहुलाएको जस्तो क्रियाकलापहरू गरेबाट डाक्टरलाई देखाउँदा साधारण औषधि तत्काल नियन्त्रणको लागि दिएबाट काठमाडौं टिचिङ्ग अस्पतालका डाक्टरको सल्लाहसमेतबाट मानसिक अस्पताल काठमाडौंमा भर्ना गराई औषधिउपचार गराउँदा निज २,३ वर्ष अगावै देखि बौलाएकी र राँची लानुपर्ने सल्लाह सुझाव दिएकोमा प्र. शिवशंकरलाई बोलाई तपाइकी छोरी सद्दे छ भनी ढाँटी किन विवाह गराउनु भएको हो भनी सोध्दा निजले छोरी १९८९ को सेप्टेम्वरदेखि नै बौलाएकी र कहिले काहीँ मात्र सामान्य स्थितिमा आउने गरेको हुँदा विवाह भएपछि ठीक हुन्छ की भनी ढाँटी विवाह गराएको भनेबाट निज प्र.पुनम बौलाएकी भन्ने यकीन २०४८।३।३२ गते थाहा जानकारी भएबाट नालेस गर्न आएको छु । बौलाएकी स्वास्नी मानिसलाई सद्दे भनी ढाँटी गराएको विवाह मन्जूर नभएबाट विवाह बदर गरी सजायसमेत गरिपाऊँ भन्ने वादीको फिराद पत्र ।
विवाहअगाडि म पुनम दास बौलाएको कुनै सवूद प्रमाण वादीले पेश गर्नु भएको छैन, विपक्षीको दावी झूठ्ठा हो खारेज गरिपाऊँ । विवाहपछि म घर आई पुगेपछि ससुराले वुवालाई कुशलपूर्वक आएको र विदा गरी दिनको लागि लेखेको पत्रबाट पनि वादीको दावी कपोलकल्पित देखिन्छ । पतिदेवले पितालाई लेखेको पत्रबाट समेत मबाट परम्परानुसारको रीतिरिवाज कार्यसहित सम्पूर्ण इष्टमित्रलाई खुवाइपियाइ गरेको स्पष्ट छ । विवाहपूर्व म अध्ययनरत् रहेको र केही महिनाअघि परीक्षामा सम्मिलित भई राम्रो नम्वर ल्याई सफल भएको, त्यस्तै सेकेन्ड्री स्कूल परीक्षा, विश्वविद्यालयबाट पनि I.sc. B.Sc. को केमेष्ट्री अनर्सको परीक्षामा समेत सफल भएको भन्ने प्रमाणहरूबाट पनि म विवाहपूर्व बौलाएको होइन भन्ने कुरा प्रष्ट छ । मेरो विवाहमा पिताले दिन सक्ने दाइजो उपहार दिएपछि पनि विपक्षीको दाजु भवेश्वरले मेरो माइतीको सम्पन्नतालाई देखेर नाजायज फाइदा उठाउने नियतले भा.रु. एक लाखको माग गरेको पतिले भन्दा मैले पिताले दिन नसक्ने कुरा गर्दा विपक्षीको परिवारले रिसइवी लिएका थिए । सोही कारणबाट विपक्षी तथा विपक्षीका दाजुले मलाई कुटपीट गरी घरबाट निकाला गर्न लागेपछि सोको विरोध गरी कराउँदा मलाई बौलाएको भनी टोल छिमेकलाई वताई आफ्नो अन्याय ढाकछोप गर्न लागे । जेठाजुले निर्मम कुटपीट गरेपश्चात् थला पर्दा नमालुम के कुन औषधि खान दिई जीउ शिथिल बनाई दिन्थे । औषधि र कुटपीटको कारणले मेरो शारीरिक र मानसिक अवस्था विग्रन थाल्यो । औषधिको प्रभावमा मेरो मनस्थिति सुस्त तुल्याई विवाह बदर गराई अर्को विवाह गर्ने उद्देश्यले यो नालेस गरेका हुन् । म शिवशंकर दासको भनाई के छ भने मेरो छोरीलाई कुटपीट, यातना र धेरै पावरको औषधि दिएबाट मानसिक तथा शारीरिक स्थिति विग्रन गएको हो भनी डाक्टरहरूको भनाई छ । निज विपक्षीहरूले पठाएको पत्रबाट पनि मेरी छोरी स्वस्थ्य रहेको कुरा प्रष्ट छ । दहेजको लोभमा परी अमानवीय व्यवहार विपक्षीले गर्नु भएकोले विवाह बदर हुनुपर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादीहरूको सँयुक्त प्रतिउत्तर पत्र ।
वादीको वुवालाई ज्ञान नभएको र औपचारिकताको उद्देश्यले वेहुला वेहुली सकुशल आई पुगे भनी वुवाले पत्र लेख्नु भएको हो । २–६–९१ को पत्र ज्वाईले ससुरालाई पत्र लेख्दा प्र.पुनममा अस्वाभाविक लक्षणहरू देखा परेका थिए तर तत्काल बौलाएको भन्न नमिल्ने भएकोले नलेखेको हो भन्ने समेत वादीका वा. भवेश्वरले पत्र सम्बन्धमा गरेको बयान ।
प्र.पुनमलाई निजको पति, ससुरा तथा जेठाजुले कुटपीट गरी मानसिक अवस्था सन्तुलन नभएको देखी पुनमलाई लिन आउँदा भरपाई नगरी नदिने भएकोले भरपाई लेखी प्र. शिवशंकर दासले दिएका हुन भन्ने समेतको प्र.वा.दशरथको बयान ।
अहिकमा भनी लेखेको पत्र प्र. पुनम दासको आमाले लेखेको पत्र हो, पापा र चन्दा भनी लेखेको पत्र खुलाउन सक्दिन भन्ने प्र.पुनम समेतको वा. दशरथले ४–६–९१ को पत्र सम्बन्धमा गरेको बयान ।
प्र. पुनमदासलाई १९८९ मा मानसिक रोगको उपचार गराएको भनिएकोमा त्यसलाई प्रमाणित गर्न सकेको छैन, प्र. पुनम ६–९–१९९० मा परीक्षामा सम्मिलित भै वी.एस्सी पाससमेत भएकोले १९८९ देखि नै बौलाएकी भनी अनुमान गर्न मिलेन । त्यस्तै वादीका वावुले विवाह पश्चात् आफ्नो ससुरा तथा सम्धीलाई लेखेको पत्रमा सवै ठीक समाचार लेखेको हुँदा प्र. पुनम विवाहपश्चात् घरमा आउने वित्तिकै बौलाहा मानिसले गर्ने जस्तो व्यवहार गरेको भन्ने वादीको भनाई स्वयं वादीले लेखेको चिठ्ठीबाट खण्डन भई रहेकै अवस्थामा जातीय रीतिअनुसार विवाह भएकोले केटी र निजको परिवारको बारेमा सोधी खोजी गरी जानकारी लिई विवाह हुने हुँदा विवाह गर्ने कुरामा वादीलाई अरुले ढाँटन सक्ने अवस्था भएको नदेखिनाले समेतबाट प्र. पुनमलाई विवाह पूर्व नै मानसिक रोग लागेको भन्न नसकिने र विवाहपश्चात् मानसिक रोगको उपचार गराएको देखिँदा विवाह बदर हुन नसक्ने हुँदा विवाह बदर गरिपाऊँ भन्ने वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेत व्यहोराको शुरु जिल्ला अदालतको मिति २०५१।२।१८ को फैसला ।
मानसिक अस्पताल लगनखेलबाट प्राप्त विपक्षीको इतिहासमा विपक्षी १९८९ मा साईकोसिसबाट पीडित भई पटनामा उपचार गरेको कुरा अस्पतालको मेडिकल रिकर्डबाट नै प्रष्ट छ । यसरी आफ्नो सन्ततिलाई रोग लागेकोमा निजको पितालाई थाहा थिएन भन्न मिल्दैन । विहावारीको ५ नं. बमोजिम विवाह ढाँटी गराउन हुँदैन भन्ने व्यवस्था विपरीत विपक्षीले ढाँटी विवाह गराएको कुरा अस्पतालमा स्वीकारेको र सोको रिकर्ड अदालतसमक्ष पेश भइरहेको अवस्थामा बौलाएको भनी मान्न मिलेन भनी शैक्षिक योग्यतालाई मानसिक सन्तुलनको आधार मान्न नमिल्नेमा सोलाई समेत आधार मानी गरिएको शुरु फैसला त्रुटिपूर्ण रहेकोले सो फैसला बदर गरी फिराद दावी कायम गरिपाऊँ भन्ने समेत व्यहोराको वादीको पुनरावेदन अदालत हेटौँडामा परेको पुनरावेदन पत्र ।
यसमा प्रत्यर्थीमध्येकी पुनम दास PHYCHOSIS बाट पीडित भएकी भन्ने चिकित्सकको राय भएको र रोगीको पूर्व ईतिहासमा विवाहपूर्व पनि सन् १९८९ मा पटनामा उपचार गराएको भनी लेखाएको देखिएबाट निज पुनम दासलाई विवाहपश्चात् मात्र रोग लागेको भनी शुरुले गरेको विवेचना विचारणीय भई शुरुको फैसला फरक पर्ने भएकोले छलफलको लागि प्रत्यर्थी झिकाउने भन्ने पुनरावेदन अदालत हेटौँडाको आदेश ।
प्रस्तुत मुद्दामा प्रतिवादी शिवशंकर विदेशी नागरिक भएको र वैवाहिक सम्बन्ध पनि विदेश भारतमा भएको तथ्यलाई अध्ययन गर्दा अ.वं. २९ नं. को देहाय २(३) अनुसार अधिकारक्षेत्रको प्रश्न समावेश भै विवाह बदर जस्तो फौजदारी मुद्दा वारा जिल्ला अदालतको क्षेत्राधिकारभित्र नपरी क्षेत्राधिकार नभएमा सो अदालतले तथ्यमा प्रवेश गरी गरेको फैसला बदर भै फिराद दावी खारेज हुने ठहर्छ भन्ने समेत पुनरावेदन अदालत हेटौंडाको मिति २०५३।२।२० को फैसला ।
फिराद दावी नै खारेज गर्ने गरेको पुनरावेदन अदालत हेटौँडाको फैसला त्रुटिपूर्ण हुंदा बदर गरी फिराद दावीअनुसार इन्साफ गरिपाऊँ भन्ने समेत वादी सोमेश्वर दासले यस अदालतमा गरेको पुनरावेदन पत्र ।
विपक्षी पुनम दाससँगको विवाह बदर गरिपाऊँ भन्ने मुख्य दावी भएको र सो बदर हुने आधार मात्र बहुलाएकीलाई सद्दे भनी विवाह गराई दिएको भन्ने देखिन आएकोमा प्रतिवादी पुनम नेपाली नागरिक देखिँदा नेपालको अदालतमा मुद्दा हेर्न मिल्नेमा क्षेत्राधिकारभित्र नपर्ने भनी खारेज गरेको पुनरावेदन अदालत हेटौंडाको निर्णय फरक पर्ने देखिँदा अ.वं. २०२ नं. बमोजिम विपक्षी झिकाउने भन्ने समेत यस अदालतको मिति २०५५।१२।२९ को आदेश ।
यसमा नेपालको नागरिकले आफने पारिवारिक उपचारको मार्ग अवलम्वन आफ्नो देशको प्रचलित कानूनअनुसार गर्न पाउने नै हुँदा नेपाल अधिराज्यको अदालतको क्षेत्राधिकारभित्र नपर्ने भनी फिराद दावी नै खारेज गर्ने गरेको पुनरावेदन अदालत हेटौंडाको मिति २०५३।२।२० को फैसला त्रुटिपूर्ण हुँदा बदर गरिदिएको छ । अव आफू कहां परेको पुनरावेदन हेरी प्रचलित कानूनबमोजिम जो जे बुझ्नु पर्ने बुझी कानूनबमोजिम निर्णय गर्नु भनी हाजिर रहेका पक्षलाई तारेख तोकी मिसिल समेत पुनरावेदन अदालत हेटौंडामा पठाई दिनु भन्ने समेत व्यहोराको यस अदालतको मिति २०५६।१०।१० को फैसला ।
यसमा पुनरावेदक र प्रत्यर्थी पुनमबीच २०४८।२।९ मा जातीय परम्पराअनुसार वैवाहिक सम्बन्ध कायम भएर मिति २०४८।४।१५ मा फिराद परेको देखिई प्र. पुनम दासको औषधोउपचार प्र.शिवशंकर दासको रोहवरमा भएको, परीक्षण गर्दा पारिवारिक इतिहासमा विवाहपश्चात् पनि सामान्य रही डाक्टरले समेत किटानी रुपमा मगज बिग्रिएको भनी लेखी नदिएको अवस्थामा विवाहपूर्व देखिकै रोग हो भनेको पनि पाइदैन । प्रतिवादीले वी.एस्सी सम्मको अध्ययन सहज रुपमा पूरा गरेको र पारम्परिक रुपमा आफ्नो संस्कारअनुरूप विवाह सम्पन्न हुँदा विवाहपूर्व नै इष्टमित्र, छरछिमेक समेतबाट जाँची बुझी भएको यथार्थ कुरा पत्ता लगाई यस्तो वैवाहिक कार्य सम्पन्न हुने हुँदा समेत बिना अकाट्य सवूद प्रमाण विवाहपूर्व नै रोग लागेको भनी अनुमान गर्न नमिल्ने हुँदा त्यस्तो रोग लागेकै कारणबाट विवाह बदर गर्न मिल्ने गरी प्रचलित नेपाल कानूनमा व्यवस्था भएको नदेखिँदा वादी दावी पुग्न नसक्ने ठहराएको शुरु जिल्ला अदालतको फैसला सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत हेटौंडाको मिति २०५७।८।४ को फैसला ।
प्रत्यर्थी पुनम दासलाई मानसिक अस्पताल लगनखेलमा उपचारार्थ लैजाँदा सँगसाथमा रहेका निजका पिता प्रत्यर्थी शिव शंकर दासले H/O History of Psychosis in 1989TT Patna details not known but PT says she had mania.TT for 15 days then became normal completely भनी विवरण लेखाई दिएबाट विवाह पूर्व नै निज प्र. पुनम दास बौलाएको यथार्थ चित्रण भएको स्पष्ट छ । सो कुरालाई स्थानीय चिकित्सक सुमनप्रसादले मिति २०४८।३।१ मा निज पुनममा असमान्य व्यवहार, निद्रा नआउने (insomnia) जस्ता बहुलापनको लक्षण देखिएकोले मनोरोग चिकित्सकसँग उपचार गर्न सल्लाह दिएको, त्रि.वि.वि. शिक्षण अस्पतालको प्रेस्क्रिप्सनको छोटकरी MDP अर्थात् मैनिक डिप्रेशिश साईकोसिस (Manic depressive psychosis) देखिएको एवं मानसिक अस्पताल लगनखेलले मिति २०४८।३।७ देखि २०४८।३।३२ सम्म लक्षण र उपचारको आधारमा मिश्रित लक्षणयुक्त कडा किसिमको बहुलापन (Acute Phychosis with mixes features) डिस्चार्ज पूर्जीमा लेखी सोही व्यहोराको सो अस्पतालले वारा जिल्ला अदालतलाई मिति २०४९।५।३ मा लेखेको पत्र समेतले सपुष्ट गरेकै पाइन्छ । रोग लाग्नु र सोको उपचारको कार्य जारी राखी अध्ययन गर्नु भिन्ना–भिन्नै परिस्थिति हो । त्यस अर्थमा हासिल गरेको योग्यताले रोग सम्बन्धको प्रमाण हुन सक्दैन । दाइजो एवं घरेलु हिंसासम्बन्धी उठाएको कुरा विलकूल झूठ्ठा भई माईतीघर र पतिको घरको असहज परिस्थितिले गर्दा रोग लाग्न सक्ने भन्दै काल्पनिक व्याख्या गरी विवावारीको ५ नं., अ.वं. ८२, १८४, १८४(क), प्रमाण ऐन, २०३१ को दफा ३ दफा १(ग), ५४ समेतको कानूनी व्यवस्था प्रतिकूल वादी दावी पुग्न नसक्ने ठहर्याएको पुनरावेदन अदालत हेटौंडाको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरी शुरु फिराद दावीबमोजिम इन्साफ गरी पाउन मुद्दा दोहर्याई हेरी पाऊँ भन्ने समेत व्यहोराको वादीको तर्फबाट यस अदालतमा पर्न आएको निवेदन पत्र ।
यसमा वादी र प्रतिवादीबीच २०४८।२।९ गते जातीय रीतिथितिअनुरूप विवाह भएको भन्ने देखिन्छ । विवाह सम्पन्न भएपछि प्र.पुनम दासले घरमा भएको सामानहरू तोडफोड गर्ने, कराउने गरी बौलाएको स्वास्नी मानिसले गर्ने क्रियाकलाप गरेको कारण उपचार गराउँदा डाक्टरहरूले यी प्रतिवादी २।३ वर्ष अगाडिदेखि नै बौलाएको व्यक्ति हुन भनेको भन्ने देखिन्छ । मानसिक अस्पताल लगनखेलबाट मिति २०४९।१०।२८ को पत्रसाथ नेपालीमा अनुवाद नगरिएको अंग्रेजीमा लेखिएको संलग्न उपचार Record हेर्दा उपचारमा संलग्न चिकित्सकको रायमा प्रतिवादीको व्यथा Acute Psychosis भएको भन्ने उल्लेख भएको र प्रतिवादीलाई Discharged today with diagonosis of Acute psychosis with mixed features and advised to go to Ranchi for psychometric tests to confirm the diagnosis भन्ने उल्लेख भएको देखिन्छ । मुलुकी ऐन विहावारीको महलको ५ नं. मा वौलाएकी स्वास्नी मानिसलाई सद्दे छ भनी ढाँटी विवाह भएकोमा लोग्ने मानिसले मञ्जूर नगरे विवाह बदर हुन्छ भन्ने कानूनी व्यवस्था देखिन्छ । प्रस्तुत मुद्दामा प्रतिवादीलाई उपचार गर्ने चिकित्सकको रायमा उल्लेख भएको Acute Psychosis भन्ने रोग र बौलाहा एउटै रोग हो, होइन ? यदि होइन भन्ने Acute Psychosis कस्तो रोग हो ? सो प्रश्न प्रमाण ऐन, २०३१ को दफा ३ को "स्पष्टीकरण" उल्लेख भएको सम्वद्ध कुरा हो । यस्तो सम्वद्ध कुराको उपलव्ध भएसम्म उपचार गर्ने सम्बन्धित चिकित्सक यदि सम्बन्धित चिकित्सक उपलव्ध हुन नसके वीर अस्पताल वा कुनै अस्पतालको उक्त रोगसम्बन्धी चिकित्सक (विशेषज्ञ) लाई प्रमाण ऐन, २०३१ को दफा ५२ बमोजिम झिकाई वकाई सम्पूर्ण कुराको प्रमाण बुझी अङ्ग पुर्याएर मात्र फैसला गर्नुपर्नेमा यस्तो गरेको देखिएन । यसका साथै विहावारी महलमा बौलाएकी स्वास्नी मानिसलाई सद्दे भनी ढाँटी विवाह गराएमा त्यस्तो विवाह बदर हुने भन्ने व्यवस्थाको अर्थ विवाह हुनुभन्दा अगाडि बौलाहा भै निको भएपनि पहिला बौलाएको कुरा नभनेको कारण विवाह बदर हुने भनेको हो वा बौलाएकी स्वास्नी मानिसलाई सद्दे छ भनी ढाँटी विवाह गराएमा विवाह बदर हुने हो ? सो समेत व्याख्याको प्रश्न भएको प्रस्तुत मुद्दामा सो समेतको कुनै विवेचना नगरी वादी दावी नपुग्ने ठहराएको पुनरावेदन अदालत हेटौँडाको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ३,५२ र ५४ एवं विहावारीको महलको ५ नं. को व्याख्यासम्बन्धी प्रश्न समावेश भएको हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (क) बमोजिम प्रस्तुत मुद्दा दोहर्याई हेर्ने निस्सा प्रदान गरिएको छ । कानूनबमोजिम गर्नु भन्ने यस अदालतको आदेश ।
यसमा प्रतिवादी शिवशंकर दास र पुनम दास समेतको २०६२।४।७ मा तामेल भएको म्यादमा नगरपालिकाको सदस्य वा सचिवलाई रोहवरमा राखी म्याद तामेल भएको नदेखिँदा सो म्याद बदर गरिदिएको छ , निजहरूको नाऊँमा कानूनबमोजिमको म्याद पठाई पुनः म्याद तामेल गर्न लगाउनू । तामेल भएको म्यादभित्र पनि हाजीर हुन नआए सर्वोच्च अदालत नियमावली, २०४९ को नियम १०४ (च) देहाय (ख) बमोजिम कुनै राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गरी उपस्थित भएपछि वा म्याद नाघेपछि नियमानुसार पेश गर्नु भन्ने यस अदालतको आदेश ।
नियमबमोजिम पेशी सूचीमा चढी निर्णयार्थ इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीको तर्फबाट उपस्थित विद्धान अधिवक्ताहरू शम्भु थापा, मिथिलेशकुमार सिँह र कृष्ण सापकोटाले विहावारीको ५ नं. मा बौलाएकी स्वास्नी मानिसलाई सद्दे छ भनी ढाँटी विवाह भएकोमा लोग्ने मानिसले मञ्जूर नगरेमा त्यस्तो विवाह बदर हुन्छ भन्ने कानूनी व्यवस्था छ । प्रतिवादी पुनम दास विवाहपूर्व नै वौलाएको तथ्य प्र. शिवशंकर दाससहित वादीको रोहवरमा मानसिक अस्पताल लगनखेलनमा प्रतिवादीलाई उपचारार्थ भर्ना गर्दा लेखाई दिएको History बाट प्रमाणित भएको छ । सो कुरालाई स्थानीय चिकित्सिक सुमनप्रसादले मनोरोग चिकित्सकसँग उपचार गर्न दिएको सल्लाह, त्रि.वि.वि.शिक्षण अस्पतालको प्रेस्क्रिप्सनमा उल्लेख भएको MDP (Mani depressive Psychosis) एवं मानसिक अस्पताल लगनखेलको Discharge पूर्जीमा राँची लैजानु भनी उल्लेख गरेको र सो अस्पतालले शुरु वारा जिल्ला अदालतलाई प्र. पुनमलाई Acute Psychosis छ भनी लेखेको पत्र समेतले समर्थन गरेकै अवस्था छ । केवल दुःख दिने नियतले मात्र दाइजो एवं घरेलु हिंसाको कुरा प्रतिवादीहरूले प्रतिउत्तर लेखमा उल्लेख गरेका मात्र हुन् । सोको कुनै आधारयुक्त प्रमाण प्रतिवादीहरूले पेश दाखिल गर्न सकेका छैनन् । अध्ययन र रोग भन्ने कुरा बेग्ला बेग्लै प्रकारान्तरको विषयवस्तु र अवस्था हो । उपचारलाई निरन्तरता दिई अध्ययन कार्य जारी राख्न सकिने हुनाले प्रतिवादीले प्राप्त गरेको प्रमाणपत्रको आधारमा निजलाई सद्दे भन्न सकिने अवस्था हुँदैन । त्यस्तै माइतीघर र लोग्नेको घरको असमाञ्जस्यताले बौलाउनु पर्ने कुनै कारण र आधार हुन सक्दैन । त्यस्तै कुलपरपम्परा अनुसार विवाह हुँदैमा केटीको सम्पूर्ण कुराहरूको पूर्व जानकारी हुन्छ नै भन्नु काल्पनिक व्याख्यान मात्र हो । यस्तो अवस्थामा मानवमात्रको वैवाहिक दाम्पत्य जीवनले अति महत्वपूर्ण स्थान राख्ने हुनाले त्यस्तो जीवन धरासायी भएमा त्यसको असर हरेक पक्षहरूलाई पर्ने हुनाले प्रतिवादी बौलाएको तथ्य प्रमाणित भएको अवस्थामा वादी दावी पुग्न नसक्ने ठहराएको पुनरावेदन अदालत हेटौँडाको फैसला बदर उल्टी गरी शुरु वादी दावीबमोजिम विवाह बदर गरियोस् भन्ने समेत व्यहोराको बहस जिकीर सुनियो ।
२. सर्वप्रथम प्रस्तुत मुद्दा अध्ययन गर्दा विपक्षी प्रतिवादीमध्येका शिवशंकर दासको छोरी प्र. पुनम दाससँग सामाजिक कुल परम्पराअनुसार विवाह भएकोमा निज विवाहपूर्व नै सन् १९८९ सेम्टेम्वरदेखि बौलाएको अवस्थामा सद्दे छ भनी ढाँटी विवाह गर्नु गराउनु भएकोले विवाह बदर गरिपाऊँ भन्ने समेत वादी दावी । विपक्षीले म पुनम दास पर घरेलु हिंसा गरी थप दाइजोको रकमसमेत माग गर्दा नदिएकोले झूठ्ठा फिराद दावी लिएको हो भन्ने समेत प्रतिउत्तर जिकीर रहेकोमा वादी दावी पुग्न नसक्ने ठहराएको शुरु जिल्ला अदालतको फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालत हेटौँडाको तथ्य एवं कानूनी त्रुटिपूर्ण फैसलामा चित्त बुझेन । प्रतिवादी पुनम दासको उपचारको क्रममा विशेषज्ञ (डाक्टर)ले दिएको रायमा लेखाइएको History लगायत मानसिक अस्पताल पाटनले डिस्चार्ज पूर्जीमा Acute Psychosis भन्ने उल्लेख गरेबाट पनि निज विवाहपूर्व नै वौलाएको कुरा पुष्टि भइराखेको हुँदा वादीको तर्फबाट मुद्दा दोहोर्याई हेरी पाऊँ भनी परेको निवेदन पत्रमा यस अदालतबाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (क) को आधारमा दोहोर्याई हेरी दिने निस्सा प्रदान भई पेश हुन आएको रहेछ ।
३. उपरोक्तानुसारको पक्षको तर्फबाट उपस्थित कानून व्यवसायीहरूको बहस जिकीर एवं पुनरावेदन पत्रसहितको मिसिल संलग्न कागजातहरूको अध्ययन मनन् गरी हेर्दा प्रस्तुत मुद्दामा देहायबमोजिमको निर्णायक प्रश्नहरू इजलाससमक्ष निर्णयार्थ उपस्थित भएको पाइयो –
(१) प्रचलित नेपाल कानूनमा के कस्तो अवस्थामा विवाह बदर (Voidable Marriage) हुने कानूनी प्रावधान छ ?
(२) प्र. पुनम दास बौलाएको हो–होइन ? वौलाएको भए विवाहपूर्व नै वा विवाह पश्चात् बौलाएको हो ?
४. पहिलो कानूनी प्रश्नतर्फ नियाल्दा यी पुनरावेदक वादी र प्र. पुनम दास बीच २०४८।२।९ मा जातीय रीतिस्थितिअनुसार वैवाहिक कार्य सम्पन्न भई लोग्ने स्वास्नीको सम्बन्ध स्थापित भएको पाइयो । विवाहपश्चात् निज प्र. पुनम दासले घरका सरसामानहरू तोडफोड गर्ने, ओछ्यानमा दिसापिसाव गर्ने, उच्छृङखल गाली गलौज गर्नेलगायत घातक हतियार लिई आक्रमण गर्ने समेतका क्रियाकलाप गरेकोले मानसिक अस्पतालमा देखाउँदासमेत सद्दे नभै बौलाएकी भनेकाले विवावारीको ५ नं. को कानूनी आधारमा उक्त विवाह आफूलाई मञ्जूर नभएकोले बदर गराई पाऊँ भनी मिति २०४८।४।१५ मा प्रस्तुत मुद्दाको फिरादपत्र परेको देखिन्छ । उक्त विवाहवारीको ५ नं. हेरिएमा, "वक्कलाटी, महारोगी, लुली, कुंजी, दुवै आँखाको अन्धी, योनिहीन, हात गोडा भाँची वेकम्मा भएकी, बौलाहा वा छारे रोग भएकी स्वास्नी मानिसलाई सद्दे छ भनी ढाँटी विवाह भएकोमा लोग्ने मानिसले मञ्जूर नगरेमा विवाह बदर हुन्छ । त्यस्तो ढाँटी विवाह गर्ने गरी दिनेलाई पाँच सय रुपैयासम्म जरीवाना हुन्छ" भन्ने कानूनी व्यवस्था भएको पाइन्छ । उपरोक्तानुसारको शारीरिक वा मानसिक अवस्था भएकी स्वास्नी मानिसलाई सद्दे छ भनी ढाँटी विवाह भएमा सो विवाहलाई लोग्ने मानसिले मञ्जूर गर्न पनि सक्ने र मञ्जूर नगर्न पनि सक्ने कानूनी व्यवस्था रहे भएको देखिन्छ । त्यसरी विवाह भएकी स्वास्नी मानिस विवाहपूर्व नै बौलाएको तथ्य प्रमाणित भएमा सो वैवाहिक सम्बन्ध कायम राख्ने वा नराख्ने स्वविवेकीय अधिकार लोग्ने मानिसको इच्छामा निर्भर रहने देखिन्छ । उक्त कानूनी प्रावधान हेर्दा विवाह पश्चात् वौलाएको स्वास्नी मानिसको प्रसँग अर्न्तसम्बन्धी पनि देखिँदैन । त्यस्तो विवाह लोग्ने मानिसले स्वीकार नगरे निश्चित रुपमा त्यस्तो विवाह बदर हुने विवाह (Voidable Marriage) को श्रेणीमा लिएको सो दफाको कानूनी मनसाय हो । मानवमात्रको दाम्पत्य जीवनमा वैवाहिक सम्बन्धले अहम भूमिका निर्वाह गर्ने हुँदा दुवै पक्ष सत्य र तथ्य पूर्व अवगत होस् भनी विधि निर्माणकर्ताले सो तथ्यलाई गुमराहमा राखी विवाह गर्ने र विवाह वन्धनमा वाँधी दिने कार्यलाई अपराध मानी त्यस्तो व्यक्तिसमेतलाई जरीवाना गर्ने प्रावधान गरेको पाइन्छ । यसरी हेर्दा कुनै स्वास्नी मानिसमा उक्त कानूनी व्यवस्थामा उल्लेख भएबमोजिम शारीरिक वा मानसिक विरामी (अपलाङ्ग) भएको स्थिति विवाहपूर्व नै विद्यमान भई सोको पूर्व जानकारी सम्बन्धित विहे गर्ने लोग्ने मानिसलाई नभएको तथ्य प्रमाणबाट समर्थन वा पुष्टि हुन आएमा त्यस्तो लोग्ने मानिसले मञ्जूर नगरेमा त्यस्तो विवाह बदर हुने कानूनी व्यवस्था रहे भएको देखियो ।
५. अव दोस्रो निर्णायक प्रश्नतर्फ विचार गर्दा माथि निर्णायक नं. १ मा उल्लेख गरिएबमोजिम प्र. पुन दासलाई घरमा भित्राएपश्चात् विभिन्न अमर्यादित, उच्छृखल एवं अवान्छित क्रियाकलाप गरेकोले स्थानीय डाक्टरलाई देखाउँदा तत्काल नियन्त्रणको लागी औषधि दिई काठमाडौं उपचारको लागि लैजान सल्लाह दिएकोमा त्रि.वि.वि. टिचिङ्ग अस्पताल एवं मानसिक अस्पताल लगनखेलमा समेत उपचारार्थ लगेकोमा समेत निज प्र. पुनम दास २।३ वर्ष अगावैदेखि बौलाएको र थप उपचारार्थ विदेश भारत राँची लैजानु भनेको भन्ने शुरु फिराद पत्रमा दावी लिएको देखिन्छ । मिसिल संलग्न स्थानीय कलैया अस्पतालका डा. सुमनप्रसादले प्र. पुनम दासमा असमान्य व्यवहार, निद्रा नआउने जस्ता बहुलापनको लक्षण देखिएकोले मनोरोग चिकित्सकबाट उपचारको सल्लाह दिएको पाइन्छ । त्यस्तै प्रत्यर्थी पुनमलाई MDP Mania ठहर गरी To coutinue Treatment From Mental Hospital भनी त्रि.वि.वि.शिक्षण अस्पताल महाराजगन्जको डायग्नोसिससहितको राय आफ्नो प्रेस्क्रिप्सनमा उल्लेख गरिदिएको देखिन्छ । तत्पश्चात् निज प्र. पुनमलाई मानसिक अस्पताल लगनखेलमा उपचारार्थ मिति २०४८।३।७ मा भर्ना गरेको देखिन्छ । उक्त अस्पतालले मिति २०४८।३।३२ मा निजलाई Discharge गर्दा Patient showing no marked improvement even after 24 days of admission and treatment. She often says that she hears the voice of her brother talking her something "नाङ्गै हुनु" 'Necklace' लगाउनु etc. Once she tried to become naked after hearing the voice. She often showed the distinhibited symtoms: trying to embrace her husband in front of others, expressing sexual desire openly, expressing desire to go out in good restaurant. Once she was found talking to herself and moving her hands in the air..........: भन्ने उल्लेख गर्दै Diagnosis of acute psychosis with mixed features and advise to go to Ranchi psychometric tests........ भनी आफ्नो Discharge Report मा उल्लेख गरेको देखिन्छ । सोही व्यहोरालाई हुवहु समर्थन हुने गरी उक्त मानसिक अस्पतालले मिति २०४८।६।२७ मा प्रमाणितसमेत गरिदिएको अवस्था छ । यी तथ्यहरूको विश्लेषण गर्दा निज प्र. पुनम दास मानसिक विरामी भएको कुरा पुष्टि र समर्थन भएकै मान्नु पर्ने हुन आयो ।
६. मूलतः यहां निराकरणको प्रश्न प्र.पुनम दास विवाहपूर्व नै बौलाएकी यथार्थ कुरा गुपचुप राखेर ढाँटी विवाह गराएको हुँदा यी पुनरावेदक वादी र निज प्रतिवादीबीच कायम भएको विवाह बदर गरिपाऊँ भन्ने नै शुरु फिराद र पुनरावेदन पत्रको मुख्य जिकीर रहेको अवस्थामा सो तथ्यको सुक्ष्मरुपमा मूल्याङ्कन गरी हो, होइन भन्ने प्रश्नको निरुपण गर्नुपर्ने अपरिहार्यता देखिन्छ । सोतर्फ मनन् गर्दा उपचारको क्रममा प्र. पुनम दासलाई मानसिक अस्पताल लगनखेलमा भर्ना गर्दाको अवस्थामा निज प्रतिवादीको लोग्ने यी वादी सोमेश्वरप्रसाद कायस्थ र वावु प्र. शिवशंकर दास समेत सँगसाथमा रहेको भन्ने फिरादमा उल्लेख देखिन्छ । निज प्रतिवादी पुनम दासलाई उक्त अस्पतालमा उपचारार्थ भर्ना गर्दा निजको विवरणहरू लेखाउने सिलसिलामा PH अर्थात् Pre-History अन्तर्गत History of Psychosis in 1989 .TT in Patna. Details not Known .But pt says she had mania. Took TT for 15 days only and then become normal completely भन्ने व्यहोरा लेखाई दिएको पाइन्छ । सो कुरालाई समर्थन र पुष्टि गर्दै विरामी (पुनम) लाई यस अस्पतालमा भर्ना गर्दा बिरामीसँगै निजको श्रीमान श्री डा.सोमेश्वर दास र पिता श्री शिवशंकर दासको उपस्थिति भएको , निज पुनम दासलाई विवाह हुनुभन्दा अगावै करीव २ वर्ष पहिले ई.स.१९८९ मा मानासिक विरामी भएर पटनामा नै उपचार भएको र विरामीलाई यस अस्पतालबाट मिति २०४८।३।३२ मा डिस्चार्ज गरी भारतको विहार राची अस्पताल वा दिल्ली स्थित भारत आर्युविज्ञान संस्थानमा अन्य आवश्यक जाँच र उपचारको लागि जान वा लैजान सल्लाह दिएको व्यहोरा समेत अभिलेखबाट देखिँएको भनी उक्त अस्पतालले मिति २०४८।६।२७ मा प्रमाणित गरिदिएको देखिन्छ । तसर्थ प्रतिवादी पुनम दासलाई विवाहपूर्व नै सन् १९८१ मा पटनामा उपचार गरेको तथ्यगत यथार्थ विवरण निजको आफ्नै पिता प्रतिवादी शिव शंकर दासले आफ्नी छोरीको उपचारको क्रममा लेखाएको अवस्थामा त्यस्तो विवरणलाई अन्यथा अर्थ गर्न नमिली सही, सत्य र साँचो व्यहोरा नै मान्नु पर्ने हुन्छ । त्यसरी विपक्षीका आफ्नै पिताले लेखाई दिएको विरामीको पूर्व इतिहास लेखावद्ध गर्ने सम्बन्धित अस्पतालको जिम्मेवारी र कर्तव्यभित्र पर्ने हुँदा वस्तुत विवाद गरिरहन वा शंकासम्म गर्नुपर्ने अवस्था देखिएन । यस्तो अवस्थामा प्रमाण ऐन, २०३१ को दफा १४ अनुसार नियमित रुपमा राखिएका खाता, वही, किताब वा अन्य स्रेस्तामा जनिएका तथ्यलाई अन्यथा प्रमाणित नभएसम्म प्रमाणमा ग्रहण गर्नुपर्ने नै हुनाले उक्त अस्पतालको विवरण सहितको रेकर्डलाई समेत प्रमाणमा लिनु पर्ने नै देखिंन आएकोले निज प्रतिवादी पुनम दास विवाह पूर्व नै Acute Psychosis बाट ग्रस्त भएको तथ्य शंकारहित रुपमा स्थापित हुन आएकोमा दुई मत राख्नु पर्ने अवस्था सिर्जंना हुन आएन ।
७. जहाँसम्म वादीका दाजु (जेठाजु) लगायतका घरका परिवारले कुटपीटलगायतको घरेलु हिंसा गरी थप दाइजो माग गरेको , अवाञ्छित औषधि प्रतिवादी पुनम दासलाई सेवन गराई बौलाउने अवस्थामा पुर्याएको, विवाह पश्चात्का दिनहरूमा प्रतिवादी पुनम दास सु–स्वास्थ्य रही आफ्नो पारिवारिक जिम्मेवारी बहन गरेको, लोग्ने (वादी) को र माइतीघरबीच आदान–प्रदान भएको पत्राचार एवं निज पुनम दासले वी.एस्सी (B.Sc.) अनर्ससम्म अध्ययन गरेकासमेतका कार्यहरूले निज विवाहपूर्व सद्दे नै भएकोले फिराद दावी झूठ्ठा हो भन्ने प्रतिउत्तर जिकीर छ, सोतर्फ संकलित र प्रेषित तथ्यतर्फ अध्ययन गर्दा वादीले सो तथ्यगत कुराहरूलाई पूर्ण रुपमा इन्कार गरी आफूसमेत सभ्रान्त परिवारकै व्यक्तित्व भएकोले त्यस किसिमको थप दाइजोको माग नगरी घरेलु हिंसा गर्ने कार्यसमेत नगरेको त्यस्तो चेष्टा वा मनसायसमेत अभिव्यक्त नगरेको भनी पूर्णरुपेण अस्वीकार गरेको पाइन्छ । विवाह भएको दुई दिनपश्चात् नै निज प्रतिवादी पुनम दासले उच्छृङ्खल व्यवहार गरेको भन्ने वादी दावी लिएको मा मिसिल संलग्न कागजातहरू हेर्दा प्रतिवादी पुनम दासलाई मानसिक रोगले ग्रस्त पारेपछि यी पुनरावेदक वादीले स्थानीय डाक्टरलाई औषधोपचारको लागि जाँच गराउँदा स्थानीय डाक्टरले थप उपचारको लागि सल्लाह दिएपश्चात् निज वादी र प्रतिवादीहरू प्रतिवादी पुनमको पितासमेतले एकैसाथ त्रि.वि.वि.शिक्षण अस्पताललगायत मानसिक अस्पताल लगनखेलमा समेत उपचार गराएको कुरामा विवाद देखिँदैन । उक्त बमोजिमको स्थानीय चिकित्सक एवं अस्पतालमा उपचारका क्रममा निज प्र. पुनम दासले यो–यो औषधि सेवन गरेको कारण निजको मानसिक अवस्था विग्रेको भनी कहिँकतै उल्लेख गरिदिएको पनि देखिँदैन । त्यस्तै सामान्य रुपमा औपचारिकता निर्वाह गर्ने किसिमको पत्रहरू निजहरू बीच आदान–प्रदान भएको पाइन्छ । त्यस्तो पत्राचारको व्यहोराले मात्र बादी दावीलाई पूर्णतः खण्डन गरेको छ भनी अनुमान गर्न मिल्दैन । वि. एस्सीसम्मको अध्ययन पूरा गर्दैमा त्यस्तो व्यक्ति Acute Psychosis बाट ग्रस्त थिएन भनी अनुमान गर्नसक्ने अवस्था हुँदैन । यस रोगको प्रकृतिबाट नियमित औषधि सेवन गरेको अवस्थामा नियन्त्रणको लक्षण हुन्छ । यसको निरन्तर सेवनमा क्रमभंगता भएमा पुनः यस रोगले सताउने अवस्था प्रचूर मात्रमा हुन्छ । वास्तविक वस्तुस्थिति अध्ययन गर्दा पुनमको विवाहपश्चात् घरको परिवारलाई सो तथ्य उजागर नहोस् भनी औषधि सेवन छोडेपश्चात् पुनः रोगको लक्षण देखा पर्नुलाई अस्वाभाविक मान्न मिल्दैन । तसर्थ Acute Psychosis को रोग लाग्नु र अध्ययन कार्य जारी राख्नु बेल्ला बेग्लै तथ्य, विषयवस्तु र अवस्था हो । रोगले ग्रस्त भएको अवस्थामा अध्ययन कार्य क्षणिक रुपमा ठप्प भई विरामीमा भएको रोगको संक्रमणको अवस्था हेरी उपचारको कार्य जारी राखेमा उपचारबाट लाभ भएपश्चात् अध्ययनको क्रमलाई अनवरतता दिन सकिने प्रचूर सम्भावना नहुने पनि होइन । त्यसमा पनि यस अदालतबाट प्रस्तुत मुद्दा दोहोर्याई हेरिदिने निस्सा प्रदान भै निज प्रत्यर्थी प्रतिवादीहरूलाई झिकाउने आदेश हुँदा निजहरूको नाममा म्याद तामेल विधिपूर्वक गर्दा समेत उपस्थित भै वादी दावीबाट उन्मुक्ति लिन सकेको पाइदैन । तत्पश्चात् पुनः यस अदालतको आदेशबमोजिम स.अ. नियमावली,२०४९ को नियम १०४(च) (ख) बमोजिम मिति २०६४।१०।१५ को गोरखापत्रमा सूचना प्रकाशित गर्दा पनि निजहरू उपस्थित हुन आएको नदेखिँदा निज प्रतिवादी पुनम दासलाई Acute Psychosis भएको भनी परीक्षणको क्रममा डाक्टरद्वारा गरेको Diagnosis सम्बन्धमा निजको अनुपस्थितिले विज्ञ विशेषज्ञ (डाक्टर) हरूलाई उपस्थित गराई जिरह गर्ने अवस्था नै सम्पन्न हुनसक्ने स्थिति रहेन । अव निजको अनुपस्थितिमा जिरह (Cross Examination) हुनसक्ने अवस्था नहुँदा Acute Psychosis भएको भनी अन्यथा प्रमाणित नभएसम्म सो तथ्यलाई स्वीकार गरी निजको विरुद्ध प्रमाणमा लिनु पर्ने हुंदा सोलाई निर्विवाद रुपमा निजको विरुद्ध प्रमाणमा ग्रहण गर्नुपर्ने हुन आयो । अर्को तर्फ निजको अनुपस्थितिमा अदालत स्वयंले परीक्षणको कार्यविधि अनुशरण गरिरहनु कानूनी प्रक्रियाभित्र पर्न आएन । प्रत्यर्थी प्रतिवादीहरूको प्रतिउत्तर जिकीर सत्य तथ्यमा आधारित भए स्वयं आफैलाई प्रत्यक्ष असर पर्ने कारवाहीयुक्त विचाराधीन मुद्दाको बारेमा मौकामा चासो राख्नु पर्ने कर्तव्यप्रति निजहरू विमुख रहनुका अतिरिक्त निजहरूको नाममा तामेल भएको म्याद एवं प्रकाशित सूचनाअनुसार उपस्थित भई आफ्नो जिकीरलाई अकाट्य रुपमा पुष्ट्याई गर्नुपर्ने दायित्व वा भारबाट समेत निज विमुख भएको पाइयो । यस्तो अवस्थामा बिना ठोस आधार प्रमाण केवल प्रतिउत्तर पत्रको व्यहोराले मात्र वादी दावीलाई खण्डन गरेको भन्न मान्न र वादीको विरुद्ध निर्णय गर्न मिलेन ।
८. यस प्रकार मानवमात्रको धार्मिक, साँस्कृतिक , आर्थिक एवं सामाजिक परिवेश तथा परिस्थितिहरूमा दाम्पत्य जीवन (Conjugal Life) ले अहम भूमिका निर्वाह गर्ने कुरामा कसैको पनि विमती रहन सक्दैन । सफल दाम्पत्य जीवन निर्वाह गर्नका लागि विवाह गर्ने पक्षहरू (युवायुवती) बीच शारीरिक, मानसिक तथा यथासम्भव वैचारिक एवं भावनात्मक सुसम्बन्ध कायम रहनु आवश्यक पनि हुन्छ । विवाहको उद्देश्य भनेकै सतही रुपले भन्नु पर्दा जैविक आवश्यकता (Biological Needs) परिपूर्तिदेखि लिएर गहन रुपमा हेर्दा मानव अस्तित्वको वंश परम्परा धान्ने समेतका यावत कुराहरू त्यसको परिधिभित्र सँगालिने विषयवस्तु भएको तथ्य निर्विवाद एवं सर्वस्वीकार्य कुरा पनि हो । त्यस्तो वैवाहिक जीवनमा कहीँ कतै नकारात्मक असर परेमा मानिस सामाजिक प्राणी भएको नाताले त्यसको असर प्रत्यक्ष रुपमा पक्षहरूलाई नै परेको देखिए पनि सोको परोक्ष प्रभाव निजहरूसँग आश्रित एवँ सम्बन्धित घरपरिवार, नलनाता, कुलकुटम्ब, छरछिमेक समेतमा परी अन्ततोगत्वा निजहरूसँग सोझै सम्पर्क र सामीप्यता राख्ने समाज एवं राष्ट्रलाई समेत पर्न जाने हुन्छ । त्यस किसिमको वुहआयामिक अर्थ राख्ने वैवाहिक सम्बन्धले क्षणिक होइन दीर्घकालीन असर पार्ने हुन्छ । सोही गम्भीरतम् कुरालाई मध्यनजर एवं हृदयंगम गरेरै विधायिकाले माथि उल्लिखित मुलुकी ऐन, विहेवारीको ५ नं. मा विवाहपूर्व वक्कलाटी, महारोगी, बौलाएकी, योनिहीन,कुँजी, छारेरोग लगायतका मानसिक शारीरिक असमर्थ एवं अस्वस्थ स्वास्नी मानिसलाई सद्दे छ भनी ढाँटी विहे गरे गराएमा सो तथ्य पुष्टि भएमा सो विवाह मञ्जूर नगरेमा त्यस्तो विवाह बदर हुनुका अतिरिक्त त्यसरी विवाह गर्ने र गराउने समेतलाई जरीवाना हुने समेतको कानूनी प्रावधान राखेको देखिन्छ । जीवनको सहयात्रामा एक अर्काको हातेमालो गरी जीवन निर्वाह गर्नुपर्ने जीवन सँगीनी (Life Partner) शारीरिक एवं मानसिक अस्वस्थ एवं विकलाङ्ग भएमा त्यसरी ऐनमा भएको कानूनी मनसायलाई दिग्भ्रमित परी गरे गराएको विवाह स्वतः बदर हुने अवस्थासमेत हुँदा आफूलाई झुक्याई, ढाँटी विहेवन्धनमा बाधिएकी स्वास्नी मानिसलाई त्याग्न वा अस्वीकार गर्न पाउने अधिकार जीवनको अधिकार (Right of Life) अन्तर्गतकै व्यक्तिगत अधिकारमा लिन सकिने पनि हुन्छ । त्यस अर्थमा त्यस्तो मानिसको व्यक्तिगत जीवनसँग सरोकार राख्ने अति महत्वपूर्ण विषयमा अदालतसमेतले संवेदनशील भएर मौजुदा कानूनी व्यवस्थाको परिधिभित्र रही न्यायिक मनको समेत उदारताका साथ यथेष्ट रुपमा ध्यान केन्द्रित गरी त्यस्तो पीडित पक्षलाई न्याय निश्रित गर्नै पर्ने हुन्छ । यसरी प्र. पुनम दासलाई Acute Psychosis विवाहपूर्व नै भएको तथ्य स्थापित एवं प्रमाणित भएको अवस्थामा निज वादी प्रतिवादीहरू बीच भएको वैवाहिक सम्बन्ध कायमै राखी रहन स्वयं प्रतिवादीसमेतलाई श्रेयष्कर नभई सर्वाङ्गीण दृष्टिकोणकाट वाञ्छनीय एवं उपयुक्तसमेत देखिँदैन । तसर्थ यस अदालतको सँयुक्त इजलासबाट निस्सा प्रदान गर्दा ग्रहण गरिएको आधार कारण कानूनसँगत देखिँदा यो इजलास पूर्णरुपेण सहमत हुन आयो ।
९. अतः माथि उल्लिखित एवं विवेचित तथ्य र कानूनी प्रावधान तथा प्रमाण समेतको आधारमा प्रतिवादी पुनम दासलाई विवाहपूर्व देखि नै Acute Psychosis भएको भन्ने तथ्य शंकारहित रुपमा प्रमाणित भएको अवस्थामा विहेवारीको ५ नं. मा भएको कानूनी व्यवस्था अनुसार वादी दावीबमोजिम विवाह बदर गर्नुपर्नेमा विवाह बदर नहुने ठहर्याएको पुनरावेदन अदालत, हेटौंडाको मिति २०५७।८।४ को फैसला कानूनसँगत नदेखिँदा उल्टी भै वादी पुनरावेदकको जिकीरअनुरूप विवाह बदर हुने ठहर्छ । अरुमा तपसिल बमोजिम गर्नू ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिएबमोजिम शुरु बारा जिल्ला अदालतले वादी दावी पुग्न नसक्ने ठहर्याएको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला उल्टी भै वादी दावीबमोजिम विवाह बदर हुने ठहरेकाले पुनरावेदक वादी सोमेश्वर दास कायस्थलाई शुरु वारा जिल्ला अदालतको मिति २०५१।२।१८ को फैसलाको देहाय १ (एक) मा निजलाई विहावारीको ५ नं. अनुसार दण्ड सजायको १८ नं बमोजिम रु १००। जरीवाना हुने ठहर्याई सो रकम असूलउपर गर्न राखेको लगत कायम नहुने हुँदा सोको जानकारी लागि सम्बन्धित जिल्ला अदालतलाई लेखी पठाई दिनू......१
प्रतिवादीहरू शिवशंकर दास– १, पुनम दास– १, के माथि इन्साफ खण्डमा लेखिएबमोजिम वादी दावी पुग्न नसक्ने ठहराएको पुनरावेदन अदालत हेटौंडाको फैसला उल्टी भै विवाह बदर हुने ठहरेकाले विहावारीको ५ नं. बमोजिम निज प्रतिवादीहरूलाई जनही रु २००। जरीवाना हुने भएकोले निजहरू अनुपस्थित हुँदा सो जरीवानाको लगत कसी असूलउपर गर्नु भनी शुरु बारा जिल्ला अदालतमा लेखी पठाई दिनू...........२
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू ....३
उक्त रायमा सहमत छु ।
न्या.मोहनप्रकाश सिटौला
इति संवत् २०६६ साल वैशाख २२ गते रोज ३ शुभम्
इजलास अधिकृतः काजीबहादुर राई