शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८१६० - कर्तब्य ज्यान

भाग: ५१ साल: २०६६ महिना: भाद्र अंक:

निर्णय नं.८१६०       भदौ, २०६६        अङ्क ५

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री रणबहादुर बम

माननीय न्यायाधीश श्री भरतराज उप्रेती

साधक नं.065–RC–0067

फैसला मितिः २०६६।३।२१।१

मुद्दा :कर्तब्य ज्यान 

पुनरावेदक/वादीः खर्कबहादुर गुरुङको जाहेरीले नेपाल सरकार

विरुद्ध

प्रत्यथी/प्रतिवादी : जिल्ला मनाङ, गा.वि.स. ताचै बगरछाप वडा नं.३ घर भई हाल कारागार कार्यालय मनाङमा थुनामा रहेको रतन घले

 

शुरु फैसला गर्नेः

मा.जि.न्या.श्री सुदर्शनराज पाण्डे

पुनरावेदन फैसला गर्नेः

मा.न्या. श्री ऋषिराज जोशी

मा.न्या श्री देवेन्द्रराज शर्मा

 

§  ऐनद्वारा निर्धारित सजाय अपराधको तुलनामा अत्यधिक भई न्यायपूर्ण नहुने भएमा मात्र विशेष न्यायिक विवेकको प्रयोगबाट अपराध र सजायमा अदालतले न्यायिक संतुलन कायम गर्ने 

(प्रकरण नं.६)

§  आफ्नै संरक्षकत्वमा रहेकी बृद्घ अवस्थाकी वर्ष ५६ वर्ष उमेर पुगेकी  पत्नीलाई मध्यरातमा धारिलो हतियारले संवेदनशील भागमा प्रहार गरी हत्या गरेको देखिनु र बृद्घ पत्नीलाई अर्कोसँग विवाह गरी जान लागेकी भनी कल्पनाको सतही भावमा आएर शंकालु दृष्ट्रिभाव राखी मार्ने योजना बनाई मार्नु भनेको अकल्पनीय र अत्यन्तै क्रूर अपराध भएकाले यस्तो प्रकृतिको हत्यामा आपराधिक कार्य गर्ने अपराधीलाई अ.बं.१८८ नं.को प्रयोग गरी  सजायमा कमी वा छुट दिन न्यायिक र स्वविवेकीय अधिकारको प्रयोग हुन नसक्ने 

§  मार्ने मनसायले जोखिमी हतियार प्रयोग गरी हत्या गर्ने दुर्दान्त अपराधीलार्ई अ.बं. १८८ नं.अनुसार सजायमा छुट दिन अदालतलाई प्राप्त विशेष न्यायिक र स्वविवेकीय अधिकारको प्रयोग हुन नसक्ने 

(प्रकरण नं.८)

वादी तर्फबाटः

प्रत्यर्थी तर्फबाटः

अवलम्वित नजीरः

सम्बद्ध कानूनः

§  मुलुकी ऐन अ.वं. १८८ नं.

 

फैसला

न्या.रणबहादुर बमः पुनरावेदन अदालत, पोखराको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १० बमोजिम साधकको रोहमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार :

मनाङ जिल्ला चामे गा.वि.स वडा नं.३ तिमाङ स्थित पूर्व र दक्षिणमा धारापानी चामे गा.वि.स तर्फ जाने आउने कच्ची बाटो, पश्चिममा तिमाङ खोला, उत्तरमा खड्कबहादुर गुरुङको खाली जग्गा यति चार किल्लाभित्र रहेको पूर्व मोहोडा भएको काठैकाठले बनेको घरभित्र पसी हेर्दा पश्चिमपूर्वपट्टि खाटमाथि सेतो सिरक ओढाई मृतक पाते घलेको लाश रहेको, सिरक हटाई हेर्दा मृतकको वाँया आखा माथिको भागमा ४ से.मी लामो गहिरो चोट भई रगत जमेको र आखाको भाग निलो भई सुन्निएको भन्ने समेत व्यहोराको घटनास्थल तथा लाशजाँच मुचुल्का 

मनाङ जिल्ला, चामे गा.वि.स वडा नं.३ तिमाङ स्थित पूर्व दक्षिणमा धारापानी चामे गा.वि.स तर्फ जाने आउने कच्ची बाटो, पश्चिममा तिमाङ खोला, उत्तरमा खड्कबहादुर गुरुङको खाली जग्गा यति चार किल्लाभित्र मृतक पाते घले बस्ने गरेको रहेको पूर्व मोहोडा भएको काठैकाठले बनेको घरभित्र पट्टि पश्चिमपूर्वतर्फ रहेको खाट मुनि मृतक पाते घलेलाई प्रहार गरेको गोल आकारको काठको विड (तीन फीट) जडान भएको फलामे बन्चरो थान १ बरामद भएको बरामदी मुचुल्का एबं खानतलासी मुचुल्का 

वाँया टाउकोमा लाग्न गएको चोटको कारणले मृतकको मृत्यु भएको हो भन्ने व्यहोराको लाशजाँच प्रतिवेदन 

मिति २०६४।५।१० गते रातको समयमा मेरी बहिनी वर्ष ५६ की पाते घलेलाई निजकै श्रीमान रतन घलेले टाउकोमा बन्चरोको पासोले प्रहार गरी सख्त घाइते बनाएको र पछि उपचारको क्रममा ऐ. ११ गतेका दिन निज बहिनी पाते घलेको मृत्यु भएको हुँदा कानूनबमोजिम कारवाही गरिपाऊँ भन्ने खर्कबहादुर गुरुङको जाहेरी दरखास्त 

मिति २०६४।५।१० गते रातको समयमा प्रतिवादी रतन घलेले आफ्नै श्रीमती पाते घलेलाई टाउकोमा बन्चरोको पासोले प्रहार गरी आफू फरार रहेको र मसमेतको प्रहरी कर्मचारीले अनुसन्धानको क्रममा खोजतलास गर्दा धारापानी गा.वि.स वडा नं. ८ मा निज रतन घलेलाई फेला पारी दाखिला गरेका छौं भन्ने प्र.स.नि.धर्मबहादुर अधिकारीसमेतको प्रतिवेदन 

मिति २०६४।५।१० गते रातको समयमा श्रीमती र म एउटै बिस्तारामा सुतेका थियौं । श्रीमती पाते घलेले मलाई छाडी अन्य लोग्ने मानिससँग विवाह गरी जाने कुरा सुनेकोले मेरो मनमा अनेक कुरा खेल्न थाल्यो । आफैले पालेको श्रीमतीले आफू हुँदाहुँदै आफूलाई छाडी विवाह गरी अन्य लोग्ने मानिससँग जाने भएको हुँदा रिस थाम्न नसकी मार्ने उद्देश्यले घरमा नै भएको फलामे बन्चरोले निज श्रीमतीको टाउकाको भागमा हानी म पनि कतै गई मर्ने उद्देश्यले घरबाट फरार भएको हुँ । उक्त घटना म एक्लैले घटाएको हो कसैको संलग्नता छैन । उपचारको क्रममा सोही घटनाको पीडाले श्रीमती पाते घलेको मृत्यु भएको हो भन्ने समेत व्यहोराको प्रतिवादी रतन घलेको बयान 

मेरो सहोदर दाजु रतन घले र हाल मृतक भाउजू पाते घले आफ्नो पुरानो घर छाडी विगत १७ । १८ वर्षदेखि चामे गा.वि.स. वडा नं. ३ तिमाङ भन्ने ठाउँमा घर बनाई बसेका  थिए । दाजु भाउजुबाट जायजन्म भएको थिएन । मिति २०६४।५।१० गते रातको समयमा मृतक भाउजू पाते घले आफ्नो बिस्तारामा सुतिरहेको अवस्थामा दाजु रतन घलेले खाट मुनी राखेको फलामको बन्चरोको पासोले टाउकामा प्रहार गरी घाइते बनाई आफू फरार रहेको हो । दाजु रतन घलेलाई कहिले काहीं आँखा पोल्ने झन्कने गर्दथे । पछि थाहा पाएअनुसार घाइते पाते घलेको उपचारको क्रममा ऐ. ११ गतेका दिन मृत्यु भएको हो । निज दाजु रतन घलेले श्रीमती पाते घलेलाई बन्चरोको पासोले टाउकोमा प्रहार गरी मारेकोमा विश्वास लाग्दछ भन्ने समेत व्यहोराको वीर घलेको कागज 

मिति २०६४।५।१० गते रातको समयमा निज प्रतिवादी रतन घलेले आफ्नै श्रीमती पाते घलेलाई खाटमुनी राखेको बन्चराको पासोले टाउकोमा प्रहार गरी सख्त घाइते बनाएको र पछि घरमा नै उपचारको क्रममा ऐ. ११ गते मृत्यु भएको हुँदा उक्त घटना रतन घलेले घटाएको भन्ने समेत व्यहोराको बिन घलेको घटना विवरण कागज 

विगत १७।१८ वर्षदेखि मेरो जग्गामा निज प्रतिवादी रतन घले र निजको श्रीमती मृतक पाते घले समेत भई घर बनाई बस्दै आएका थिए । श्रीमान श्रीमतीबीच कहिल्यै नराम्रो भएको  थिएन । मिलिजुली जीविकोपार्जन गर्दै आएका थिए । निजहरूबाट जायजन्म भएको थिएन । प्रतिवादी रतन घलेले श्रीमती पाते घले अन्य मानिससँग विवाह गरी जाने कुरामा शंका मानी मनमा कुरा खेलाउने गर्दथे । त्यसै कुरामा मिति २०६४।५।१० गते रातिको समयमा आफ्नै श्रीमती वर्ष ५६ की पाते घले विस्तारामा सुतिरहेको अवस्थामा खाटमुनी राखेको फलामे बन्चरोको पासोले टाउकोमा प्रहार गरी सख्त घाइते बनाएको हो भन्ने थाहा हुनासाथ मसमेत गई निज पाते घलेलाई प्राथमिक उपचार गराउँदा गराउँदै निजको ऐ.११ गते मृत्यु भएको हो । निजलाई रतन घलेले कर्तव्य गरी मारेको हो भन्ने आशिष गुरुङको कागज 

मिति २०६४।५।१० गते रातको समयमा हामीहरू आआफ्नै घरमा सुतिरहेका थियौँ । रातको अन्दाजी ३.०० बजेको समयमा गुहार गुहार भन्ने आवाज सुनेँ । मसमेत उक्त स्थानतर्फ जादा प्रतिवादी रतन घलेको श्रीमती पाते विस्तारामा लडेकी , टाउकाको भागबाट प्रशस्त मात्रामा रगत बगेको सख्त घाइते अवस्थामा फेला पारी तत्कालै प्राथमिक उपचार गर्न थालियो । निज रतन घले घरमा थिएनन् । खोजतलास गर्दा फेला पार्न सकिएन । उपचार गर्दा गर्दै पाते घलेको मृत्यु भएको हो  हालसम्म घटनाबारे बुझ्दा पाते घले अन्य लोग्ने मानिस सँग विवाह गरी जाने कुरामा शंका मान्दै मनमा कुरा खेलाई रिस थाम्न नसकी खाटमुनी रहेको फलामे वन्चराले सुतिरहेकी पाते घलेलाई टाउकोमा हानी सख्त घाइते बनाई उपचारको क्रममा मृत्यु भएको हो भन्ने समेत व्यहोराको मनबहादुर गुरुङसमेतका व्यक्तिहरूको वस्तुस्थिति मुचुल्का । 

प्रतिवादी रतन घलेले आफ्नै श्रीमती पाते घले अन्य लोग्ने मानिससँग विवाह गरी जाने कुरामा शंका मान्दै मनमा कुरा खेलाउने गरेको र सोही कारणले मिति २०६४।५।१० गते रातको समयमा आफ्नै श्रीमती वर्ष ५६ की पाते घलेलाई एक्लै बन्चरोक पासोले टाउकाको भागमा प्रहार गरी सख्त घाइते बनाएको र उपचार हुँदा हुँदै ऐ.११ गते सोही चोटको पीडाले मृत्यु भएको भनी वस्तुस्थिति मुचुल्काका मानिसहरूले खुलाई लेखाइदिएको पाइन्छ । मृतक पाते घलेको शरीर टाउकोको वाँयापट्टि कन्चटमा परेको चोटको कारण हेड इन्जुरीको कारण  मृत्यु भएको भन्ने पोष्टमार्टम रिपोर्टबाट देखिन आएको हुँदा  निज प्रतिवादीको कार्य मुलुकी ऐन ज्यानसम्बन्धीको महलको १नं. बमोजिम कसूर अपराध भए गरेको देखिँदा निजलाई सोही महलको १३(३) नं. बमोजिम सजाय गरिपाऊँ भन्ने अभियोग मागदावी 

मिति २०६४।५।१० गते राति श्रीमती पाते घले र म आफ्नै घरमा सुतिरहेको अवस्थामा   श्रीमती पाते घलेले मलाई छाडी अन्य लोग्ने मानिससँग विवाह गरी पोइल जाने सल्लाह गरेको थाहा पाई रिस थाम्न नसकी खाटमुनी रहेको फलामे बन्चरोले निज श्रीमतीको टाउकाको भागमा हानी सोही राति म भागेर धारापानी गा.वि.स को बाटो हुदै जाँदा प्रहरीले पक्राउ गरी ल्याएका हुन । श्रीमतीले अर्कोसँग विवाह गर्न मेरो जेठानसँग विवाहको मिलेमतो भएको आशंकामा मलाई रिस उठी रिस थाम्न नसकी बन्चरोले हानी हत्या गरेको हुँ भन्ने समेत व्यहोराको प्रतिवादी रतन घलेको शुरु अदालतमा गरेको बयान 

मिति २०६४।५।१० गतेको राति ३.०० बजे आफ्नो घर तिवाङमा सुतिरहेको बेलामा प्रतिवादी रतन घलेले पाते घलेलाई बन्चरोले हानी लाग्न गएको चोटको कारण भोली पल्ट पाते घलेको मृत्यु भएको हो भन्ने समेत व्यहोराको लक्षिनबहादुर गुरुङ, आशिष गुरुङ, मारजङ गुरुङ मनबहादुर गुरुङसमेतको एकै मिलानको बकपत्र ।  

मिति २०६४।५।१० गतेको राति ३.०० बजेतिर पाते घले राती सुती निदाएको अवस्थामा जुवाई रतन घलेले बन्चरोले हानी ताचैको घरमा गएका रहेछन । ऐ. ११ गते निज वहिनीलाई घरमा नै उपचार गर्दागर्दै निजको मृत्यु भएको   हो । बूढाबूढीको झगडाको कारणले प्रतिवादीले बन्चरोले हानी मारेको हो । अभियोग माग दावीअनुसार निजलाई सजाय हुनु पर्दछ भन्ने समेत व्यहोराको जाहेरवाला खर्कबहादुर गुरुङको बकपत्र 

प्रतिवादी रतन घलेले आफ्नी श्रीमती पाते घलेलाई टाउकाको वाँया आँखानेर बन्चरोको पासोले प्रहार गरी ज्यान मारी अभियोग माग दावीअनुसार मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) नं. अनुसारको कसूर गरेको पुष्टि हुन आएको हुँदा निज प्रतिवादीलाई सोही महलको  १३ (३) नं अनुसार सर्वस्वसहित जन्मकैद हुने ठहर्छ । प्रतिवादीको उमेर, निजको कमजोर शारीरिक तथा मानसिक अवस्था, पश्चातापको भावना तथा मुद्दाको अनुसन्धान तहकिकातमा प्रतिवादीले देखाएको समर्थन समेतबाट प्रतिवादीलाई सर्वस्वसहित जन्मकैद गर्दा चर्को पर्न जाने देखिँदा निजलाई मुलुकी ऐन अ.बं. १८८ नं. बमोजिम कैद वर्ष ७ हुन मनासिब देखिएकोले सोही बमोजिमको राय व्यक्त गरेको छु भन्ने समेत व्यहोराको मनाङ जिल्ला अदालतको मिति २०६४।९।९ को फैसला । 

प्रतिवादी रतन घलेको साविती बयान व्यहोरा, लाश प्रकृति मुचुल्का, लाशजाँच प्रतिवेदन, बरामदी मुचुल्का तथा जाहेरवाला र प्रहरीमा कागज गर्ने मनबहादुर गुरुङ समेतको बकपत्रबाट प्र. रतन घलेले आफ्नी श्रीमती पाते घलेलाई बन्चरोको पासोले प्रहार गरी ज्यान मारेको पुष्टि भएकोले निज प्र. लाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) नं. अनुसार सर्वस्वसहित जन्मकैद हुने ठहर गरेको शुरुको फैसला अन्यथा देखिएन । निज प्रतिवादीलाई ७ वर्षमात्र कैदको सजाय गर्न अ.बं. १८८ नं. बमोजिम राय व्यक्त गरेको सम्बन्धमा विचार गर्दा ज्यानै लिनेसम्मको मनसायले सुनियोजित रुपमा अपराध गरेको नभई आफ्नो श्रीमती अर्को लोग्नेसँग विवाह गर्ने कुरा थाहापाई रिस थाम्न नसकी मानसिक सन्तुलन गुमाई घटना घट्न गएको हुँदा प्रतिवादीलाई ७ वर्ष कैद सजाय गर्न अ.बं. १८८ नं. बमोजिम राय व्यक्त गरेको शुरु मनाङ जिल्ला अदालतको मिति २०६४।९।९ को फैसला मिलेकै हुँदा सदर हुने ठहर्छ । मृतकलाई मार्नुपर्ने पुर्व मनसाय नदेखिएको, पश्चातापको भावना तथा तहकिकातमा प्रतिवादीले देखाएको समर्थन एबं न्यायिक प्रक्रियामा सहयोग पुर्‍याएको अवस्था र निजको कमजोर शारीरिक तथा मानसिक अवस्था समेतलाई विचार गर्दा सर्वस्वसहित जन्मकैदको सजाय गर्दा चर्को हुने चित्तमा लागेकोले अ.बंं १८८ नं. बमोजिम ७ वर्ष कैदको सजाय गर्दा उचित हुने राय व्यक्त गरी सर्वोच्च अदालतमा साधक जाहेर गर्ने भन्ने पुनरावेदन अदालत पोखराको मिति २०६५।३।८।१ को  फैसला । 

नियमबमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन अदालत पोखराले प्रतिवादीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) नं. अनुसार सर्वस्वसहित जन्मकैद हुने ठहर गरी ७ वर्ष कैद सजाय गर्न अ.बं. १८८ नं. बमोजिम राय व्यक्त गरेको मिति २०६५।३।८।१ को पुनरावेदन अदालत पोखराको फैसला साधकको रोहबाट पेश भई मिसिल अध्ययन गरी हेर्दा  फैसला मिलेको छ छैन सोही विषयमा निर्णय दिनु पर्ने देखियो 

२.    निर्णयतर्फ विचार गर्दा श्रीमती पाते घलेले मलाई छाडी अन्य लोग्ने मानिससँग विवाह गरी जाने कुरा सुनेकोले मेरो मनमा अनेक कुरा खेल्न थाल्यो । आफैले पालेको श्रीमतीले आफू हुँदा हुँदै आफूलाई छाडी विवाह गरी अन्य लोग्ने मानिससँग जाने भएको हुँदा रिस थाम्न नसकी मार्ने उद्देश्यले घरमा नै भएको फलामे बन्चरोले निज श्रीमतीको टाउकाको भागमा हानी उक्त घटना घटाएको हुँ भनी अनुसन्धान अधिकारीसमक्ष तथा अदालतमा समेत कसूरमा सावित भई प्रतिवादी रतन घलेले बयान गरेको देखिन्छ । अपराध गरेको कुरा स्वीकार गरेको र आफ्नी श्रीमती अर्को व्यक्तिसँग विवाह गर्ने कुरा थाहा पाई ज्यान लिने मनसायले जोखिमी हतियार बन्चरोले संवेदनशील अंग टाउकोमा प्रहार गरी सो चोटबाट पाते घलेको मृत्यु भएको तथ्य शंकारहित तवरले प्रमाणित भएको अवस्था छ 

३.    घटनास्थल तथा लाशजाँच मुचुल्का हेर्दा मृतकको वाँया आँखामाथि टाउकोको भागमा ४.से.मी लामो गहिरो चोट रहेको भन्ने उल्लेख भएको छ । पोष्टमार्टम रिपोर्टमा मृत्युको कारण "Head injury blunt object with subdural to # of zygomatic & frontal bone Respiratory compromise due to as privation of nose & mouth bleeding" भन्ने उल्लेख भई मृतकको टाउकोमा धारिलो हतियारले प्रहार गरिएको ठूलो चोट रहेको अवस्था छ । पाते घलेलाई कर्तव्य गरी मारेको तथ्य स्वीकार गरी प्रतिवादीले अनुसन्धान अधिकारीसमक्ष गरेको साविती बयान उक्त घटनास्थल तथा लासजाँच मुचुल्का र पोष्टमार्टम रिपोर्ट, वीर घलेको कागज, बिन घलेको घटना विवरण कागज, लक्षिनबहादुर गुरुङ, आशिष गुरुङ, मारजङ गुरुङ, मनबहादुर गुरुङको बकपत्र र जाहेरवाला खर्कबहादुर गुरुङको बकपत्र समेतबाट समर्थित भएको देखिन आउँछ 

४.    प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष र अदालतमा गरेको साविती बयान, घटनास्थल तथा लाशजाँच मुचुल्का, पोष्टमार्टम रिपोर्ट, प्रतिवादीका जेठान तथा मृतकका दाजु खर्कबहादुर गुरुङले गरेको कागज लगायतका प्रमाणहरू समेतबाट मृतक पाते घलेलाई यी प्रतिवादी रतन घलेले नै कर्तव्य गरी मारेको तथ्य प्रमाणित हुन आएकोले निज प्रतिवादीलाई कसूरदार ठहर गरी अभियोग मागदावीबमोजिम सजाय हुने ठहर गरेको पुनरावेदन अदालत पोखराको फैसला अन्यथा  देखिँदैन । सो हदसम्म मिलेकै देखिन आयो 

५.    अब जहाँसम्म निज प्रतिवादीले मृतकलाई मार्नुपर्ने पूर्व मनसाय नदेखिएको, पश्चातापको भावना तथा तहकिकातमा प्रतिवादीले देखाएको समर्थन एबं न्यायिक प्रक्रियामा सहयोग पुर्‍याएको अवस्था र निजको कमजोर शारीरिक तथा मानसिक अवस्था समेतलाई विचार गर्दा सर्वस्वसहित जन्मकैदको सजाय गर्दा चर्को हुने चित्तमा लागेकोले अ.बं १८८ नं. बमोजिम ७ वर्ष कैदको सजाय गर्दा उचित हुने राय व्यक्त गरी अ.बं. १८८ नं. को प्रयोग गरी न्यूनतम् सजाय गरेतर्फ विचार गर्नुपर्ने हुन आएको छ 

६.    यसको लागि सर्वप्रथम अदालती बन्दोबस्तको १८८ नं.को बनौट र उद्देश्यतर्फ विचार गर्नुपर्ने देखिन्छ । उक्त १८८ नं.को व्यवस्था न्यायकर्तालाई एउटा विशेष अधिकार प्रदान गरेको व्यवस्था हो जुन सर्वस्वसहित जन्मकैद वा जन्मकैद गर्नुपर्ने भएको मुद्दाका कसूरदारको हकमा मात्र लागू हुने व्यवस्था हो । यो व्यवस्था अपराधीलाई क्षमादान गर्ने वा अपराधीप्रति सहानुभूति वा दयाभाव दर्शाएर सजाय कम गर्ने व्यवस्था होइन । अ.बं.१८८ नं.ले निर्धारित गरेको पूर्वावस्थाको परिधिभित्र रहेर ऐनको उद्देश्य अनुरूपमात्र सजायमा कमी गर्नसक्ने अदालतको विशेष तजवीजी अधिकार हो । यो दफा अपराधीहरूको सुविधानुसार प्रयोग गरिने र अपराधीलाई कानूनले निर्धारित गरेको सजायबाट छुट पाउने गरी क्षमा प्रदान गर्ने व्यवस्था होइन । अपितु अपराध गर्दाको अवस्था र वारदातको प्रकृतिका साथै अभियुक्तको शारीरिक, मानसिक र पारिवारिक अवस्था समेत विचार गर्दा ऐनद्वारा निर्धारित सजाय अपराधको तुलनामा अत्यधिक भई न्यायपूर्ण नहुने भएमा मात्र विशेष न्यायिक विवेकको प्रयोगबाट अपराध र सजायमा अदालतले न्यायिक संतुलन कायम गर्दछ 

७.    प्रस्तुत मुद्दाको सन्दर्भमा हेर्दा मृतकलाई मार्ने योजना बनाई घरमा आफूसँग सँगै सुती निदाई रहेको अवस्थामा धारिलो हतियार बन्चरोले पाते घलेको टाउकोमा प्रहार गरी मारेको देखिन्छ । अर्को व्यक्तिसँग विवाह गरी जाने कुरा चलाएकोले मार्ने योजना बनाई राति सुती निदाई रहेको अवस्थामा निज मृतकलाई घातक हतियारले टाउकोमा प्रहार गरी निज प्रतिवादी भागिगएको अवस्था छ । सामान्य प्रकृतिबाट घटना घटेको भन्ने तथ्य घटनाको प्रकृतिले नै मान्न सकिने अवस्था छैन । आफ्नै संरक्षकत्वमा रहेकी बृद्घ अवस्थाकी ५६ वर्ष उमेर पुगेकी  पत्नीलाई मध्यरातमा धारिलो हतियारले संवेदनशील भागमा प्रहार गरी हत्या गरेको देखिनु र बृद्घ पत्नीलाई अर्कोसँग विवाह गरी जान लागेकी भनी कल्पनाको सतही भावमा आएर शंकालु दृष्टिभाव राखी मार्ने योजना बनाई मार्नु भनेको अकल्पनीय र अत्यन्तै क्रुर अपराध हुन जान्छ 

८.    यस्तो प्रकृतिको हत्यामा आपराधिक कार्य गर्ने अपराधीलाई अ.बं.१८८ नं.को प्रयोग गरी  सजायमा कमी वा छुट दिन न्यायिक र स्वविवेकीय अधिकारको प्रयोग हुन सक्दैन । अपराध गर्दा पनि अत्यन्त क्रूर र अमानवीय ढंगले संवेदनशील अंग टाउकोमा बन्चरो जस्तो जोखिमी हतियारले प्रहार गरी मार्ने काम गर्ने र अदालतमा कसूरमा सावित भएको भनी यस्तो अवस्थाको अपराधीलाई अ.बं. १८८ नं. अनुसार सजायमा छुट गर्दै जाने हो भने समाजमा आपराधिक अराजकता बढ्दै गई आपराधिक गर्ने व्यक्तिलाई प्रश्रय पुग्न जान्छ । राति सुती निदाई अर्धचेतन अवस्थामा रहेकी बृद्घ अवस्थाकी वर्ष ५६ की आफ्नै श्रीमतीलाई मार्ने मनसायले जोखिमी हतियार प्रयोग गरी हत्या गर्ने दुर्दान्त अपराधीलार्ई अ.बं. १८८ नं.अनुसार सजायमा छुट दिन अदालतलाई प्राप्त विशेष न्यायिक र स्वविवेकीय अधिकारको प्रयोग हुन सक्दैन । त्यसो गर्दा त्यसबाट ऐनको उद्देश्य पराजीत हुन्छ । किनभने अ.बं.१८८ नं.को व्यवस्था सजायको सुधारात्मक सिद्घान्तअनुरूप कसूरदार ठहरेकालाई पनि सुधार र पुनर्स्थापना गर्ने प्रयोजनले गरिएको हो । प्रस्तुत मुद्दामा प्रतिवादीले घटाएको घटनाक्रम योजनामुताविक भएको र घटना जोखिमी हतियार प्रयोग गरी क्रूरतापूर्वक घटाएको अवस्था हुँदा प्रतिवादीलाई ७ वर्ष कैद सजाय गर्न अ.बं. १८८ नं. बमोजिम राय व्यक्त गरेको शुरु मनाङ जिल्ला अदालतको मिति २०६४।९।९ को फैसला सदर गरी पुनरावेदन अदालत पोखराले प्रतिवादी रतन घलेलाई ७ वर्ष कैद सजाय गर्न अ.बं. १८८ नं. बमोजिम राय व्यक्त गरेको मिति २०६५।३।८ को फैसला मिलेको देखिन आएन । सो रायसँग सहमत हुन सकिएन 

९.    तसर्थ प्रतिवादी रतन घलेलाई अ.बं. १८८ नं. बमोजिम राय व्यक्त गरी ७ वर्ष कैद सजाय हुने ठहर गरेको पुनरावेदन अदालत पोखराको राय मिलेको नदेखिँदा उक्त राय बदर भई प्रतिवादी रतन घलेलाई अभियोग मागदावी बमोजिम मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३  (३) नं.बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर्छ । फैसलाको जानकारी प्रतिवादीलाई दिनू । दायरीको लगत कट्टा गरी मिशिल नियमानुसार बुझाई दिनू 

 

उक्त रायमा म सहमत छु 

 

न्या.भरतराज उप्रेती

 

इति संवत् २०६६ साल असार २१ गते रोज १ शुभम्

इजलास अधिकृतः दीपक ढकाल

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु