निर्णय नं. ७७०३ - लेनदेन

निर्णय नं.७७०३ ने.का.प.२०६३ अङ्क ५
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री खिलराज रेग्मी
माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा
संवत २०५९ सालको दे.पु.न. ८३०७
फैसला मितिः २०६३।५।२८।४
मुद्दा :– लेनदेन ।
पुनरावेदक
प्रतिवादीः गोरखा जिल्ला च्याङली गा.वि.स.वडा नं.९ वस्ने दुर्गा माया पुडासैनी समेत
विरुद्ध
प्रतिवादी
वादी गोरखा जिल्ला च्याङली गा.वि.स. वडा नं.९ वस्ने लक्ष्मण देवकोटा
§ लेनदेन व्यवहारको ८ नं. वमोजिमको एकाघरको मुख्य मानिस रहे भएको भन्ने व्यवहार प्रमाणवाट समेत देखिन नआएको स्थितिमा वावु जिवित छदैको अवस्थामा प्रतिवादीलाई घरको मुख्य व्यक्ति मान्न नमिल्ने ।
§ कानून वमोजिमको प्रक्रिया नपुराई गरेको व्यवहारको सम्बन्धमा लेनदेन व्यवहारको १० नं.अनुरुप वादी दावी वमोजिमको लिखतको दायित्व वहन गर्नुपर्ने कर्तव्य तथा जिम्मेवारी पनि सोही सम्पत्ती वेचविखन गर्ने वा हक छाड्ने व्यक्ति माथिनै निहित रहने ।
§ कानूनले नै लिखतको हैसियत र सो लिखत वमोजिमको थैली तिर्नुपर्ने दायित्वको वारेमा स्पष्ट व्यवस्था गरेको अवस्थामा उक्त कानूनको गलत व्याख्या गरी दावीको लिखतको दायित्व यि पुनरावेदक प्रतिवादीहरु समेतले व्यहोर्नु पर्ने गरी भए गरेको पुनरावेदन अदालतको फैसला मिलेको नदेखिदा उल्टी हुने ।
(प्रकरण नं.१३)
पुनरावेदक प्रतिवादी तर्फवाटः विद्धान अधिवक्ता श्री शम्भुराज आचार्य
प्रतिवादी वादी तर्फवाटः
अवलम्वित नजीरः
फैसला
न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत पोखराको मिति २०५९।१।१५ को फैसला उपर चित्त नबुझी न्याय प्रशासन ऐन २०४८ को दफा १२ वमोजिम प्रतिवादीहरुको मुद्दा दोहोर्याई हेरी पाउँ भनी निवेदन परी निस्सा प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :–
२. मैले विपक्षीहरु मध्येका राममणी पुडासैनी संग मिति ०५४।२।१३ मा राजीनामा लिएको गोरखा च्याङली गा.वि.स.वडा नं.९ को कि.नं.१३८७ को जग्गालिखत वदर हुने ठहरी मिति ०५६।६।१२ मा फैसला भएकोले ०५७।१।२ गतेथैली रकम समेत माग्न जादा नदिएकोले उक्त राजीनामाको साँवा रु.५०,०००।–र व्याज रु.१५,६७१।३० समेत जम्मा रु.५६,६७१।३० विपक्षीहरु वाट भराई दिलाई पाउँ भन्ने समेत व्यहोराको लक्ष्मण देवकोटाको फिराद ।
३. प्र.राममणी पुडासैनी हामीहरुको छोरा तथा दाजु नाताका व्यक्ती भई आधीकारीक रुपमा वण्डा पारीत नभएता पनि ०४६ सालमै हामीवाट मानो छुटृीई वसेका व्यक्ती हुँदा निज राममणीले विक्री गरेको जग्गा बदर हुने भएकोमा निज राममणीले व्यवहार गरेको ऋण हामीले तिर्नु पर्ने अवस्था नभएकोले हामी उपरको फिराद दावीवाट फुर्सद गरिपाऊँ भन्ने समेत व्यहोराको प्र.भवप्रसाद, दुर्गा माया, इन्द्रमणी, नारायण मणी, भरतमणी र दिपक मणी पुडासैनी समेत जना ६ को संयुक्त प्रतिउत्तर ।
४. वादीले मेरो कि.नं.१३८७ को जग्गा राजीनामा पारीत गरी लिएको दिन देखिनै वालीको आयस्तावाली खाई आएको र पछि उक्त लिखत बदर भएपश्चात म संग कुनै रुपैया माग्नसमेत आएका छैनन् । जग्गा भोगचलनगरेको हुँदा वादीले व्याजमा दावी गर्न पाउने होइन भन्ने समेत व्यहोराको प्र.राममणी पुडासैनीको प्रतिउत्तर ।
५. मिसिल संलग्न प्रमाणवाट प्रतिवादीहरुले वादीलाई रजिष्ट्शनको ६ नं.वमोजिमको थैली र रजिष्ट्शन दस्तुर तथा व्याज समेत भरि भराउगरि दिनुपर्ने ठहर्छ भन्ने समेत व्यहोराको शुरु गोरखा जिल्ला अदालतको मिति ०५८।२।२९ को फैसला ।
६. शुरुको निर्णयमा चित्त वुझेन । लेनदेन व्यवहारको १० नं.वमोजिम फिराद गर्न साथ वेचविखन गर्ने प्रतेवादी राममणी र हामी सगोलमा रहेवसेको भन्ने प्रमाणीत हुन नसक्ने प्रष्ट हुँदा लिखत बदर मुद्दावाट संगोलमा रहेको देखिएकोले अहिले आएर हामीहरु प्रतेवादीहरुले उक्त रकम तिर्नु नपर्ने भनि लिएको जिकिर मनासिव मान्न मिलेन भन्ने तर्क लगाई हामीले समेत वादी दावीको थैली तिर्नु पर्ने ठहराई भएको फैसला कानून संगत छैन । वादीको थैली हामी प्रतेवादीहरुले तिर्नु पर्ने कानूनी आधार नै नदेखाई सिर्फ प्रतिविादी सम्म वनाएको आधारमा थैली तिर्न पर्ने भनि भएको फैसला न्याय संगत छैन । बदर भागी छ बदर गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीहरुको पुनरावेदन अदालतमा परेको संयुक्त पुनरावेदन ।
७. विवादित २०५४।२।१३ को लिखत बदर भएवाट र मानु छट्टिएको लिखत प्रमाण समेत पेश हुन सकेको नदेखिएवाटप्रतिवादी हरुवाट वादीले रजिष्ट्रेशन को ६ नं.वमोजिमको थैली र रजिष्ट्रेशन दस्तुर तथा व्याज समेत भरी पाउने ठहर्याएको शुरु गोरखा जिल्ला अदालतको मिति २०५८।२।२९ को फैसला मुनासिव हुँदा सदर हुने ठहर्छ भन्ने समेतको पुनरावेदन अदालत पोखराको मिति २०५९।१।१५ को फैसला ।
८. प्रतिवादी मध्येका राममणी, हामी भवप्रसाद, दुर्गामायाका जेठा छोरा तथा अन्य निवेदकहरुका जेठा दाजु हुनु हुन्छ । राममणी २०४६ सालमा नै मानो छुट्टिई अलग वसेका हुन् । हाम्रो समेत अंश भाग लाग्ने उक्त कि.नं.६४३ क्षे.फ.१७–८–३–२ मध्ये उत्तरतर्फको ४–११–०–० जग्गा कि.फो.गरी कि.नं. १३८७ कायम गरी राममणी दिने विपक्ष लक्ष्मण देवकोटा लिने गरी राजिनामा पासगरेकोमा हाम्रो समेत अंश हक लाग्ने जग्गा जालसाजी पूर्वक पास गरेको हुँदा राजिनामा बदर र जालसाजी समेतमा विपक्षी लक्ष्मण तथा राममणी उपर फिराद परी लिखत बदर र जालासजी समेत ठहर भै अन्तिम भै वसेको अवस्था रहेको छ । यसरी मानो छुट्टिएको व्यक्तिले गरेको व्यवहार सम्बम्न्धमा निज नै जिम्मेवार हुनु पर्ने र त्यसको दायित्व अन्य अंशियाराले वहन गर्न नपर्ने कानूनी व्यवस्था मुलुकी ऐन अंशवण्डाको १८ नं. ले गरेको छ । मानो नछुट्टिएको मान्ने हो भने पनि घरको मुख्य व्यक्ति म भवप्रसाद पुडासैनीको लिखत मन्जुरी नभै गरेको व्यवहारको दायित्व प्र. मध्येको राममणीलाई मात्र पर्ने हो । यस सम्बन्धमा मुलुकी ऐन लेनदेन व्यवहारको ८ र ९ नं.ले प्रष्ट व्यवस्था गरेको अवस्थामा हामी निवेदक समेतवाट थैली भरी भराउ हुनेगरी पुनरावेदन अदालतवाट भएको फैसलामा समेत मुलुकी ऐन अ.वं.१८४(क) नं.लेनदेन व्यवहारको ८,९ र १० नं.तथा अंश वण्डाको १ नं. तथा प्रमाण ऐन २०३१ को दफा ३४ समेतको कानूनी त्रूटि रहे भएको देखिदा प्रस्तुत मुद्दा दोहोर्याई हेरी हाम्रो प्रतिउत्तर जिकिर तथा पुनरावेदन जिकिर वमोजिम गरी न्याय ईन्साफ पाउँ भन्ने समेतको प्रतिवादीहरुको यस अदालतमा पर्न आएको निवेदन पत्र ।
९. यसमा लिखत गरिदिने राममणी पुडासैनीले दावीको लिखतको रुपैया तिर्न नपर्ने भनी जिकिर लिन नसकी लिखत बदर हुने ठहरी फैसला भए पश्चात वादीले आफुसंग रुपैया माग्न समेत नआएको भन्ने सम्म जकिर लिई प्रस्तुत मुद्दामा प्रतिवाद गरेको देखिन्छ । लेनदेन व्यवहारको १० नं. वमोजिम उजुर परी जग्गा फिर्ता भएकोमा साहुको थैली परेको भए फिर्ता भएजतिको थैली र ऐन वमोजिमको व्याज लिखत रजिष्ट्रेशन दस्तुर समेत सो सम्पत्ती वेचविखन गरी हकछाडी दिनेवाट साहुले कपाली सरह असुल उपर गरी लिन पाउने छ भन्ने समेत कानूनी व्यवस्था रहेको पाईन्छ । साहुलाई जग्गा विक्रीगरी थैली खाने आसामी प्रतिवादी राममणी देखिन आएको स्थितिमा दावीको लिखतको दायित्व अन्य प्रतिवादीहरुले समेत व्यहोर्नु पर्ने गरी गरेको पुनरावेदन अदालत पोखराको फैसलामा लेनदेन व्यवहारको १० नं.को कानूनी त्रूटि देखिन आएकोले न्याय प्रशासन ऐन २०४८ को दफा १२(१) को खण्ड–क) को आधारमा प्रस्तुत मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने मिति २०५९।६।१६ को यस अदालतको आदेश ।
१०. नियम वमोजिम पेशी सूचीमा चढी निर्णयार्थ इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा विपक्षी वादीको तर्फवाट उपस्थित विद्धान अधिवक्ता श्री शम्भुराज आचार्यले रजिष्ट्रेशन को ६ नं. वमोजिम थैली परेकोमा सो थैली र लिखत वमोजिमको सम्पत्ती भोग गर्न नपाएकोमा भोग गर्न नपाए जतिको कानून वमोजिमको व्याज समेत साहुले कपाली सरह भराई लिन पाउने किटानी कानूनी व्यवस्था रहे भएको र प्रतिवादी मध्येको राममणी पुडासैनी लगायत अन्य अंशियारहरु छुट्टी भिन्न नभै एका सगोलमा नै रहे भएको देखिएको अवस्थामा वादी दावी वमोजिमको थैली रकम सवै प्रतिवादीहरुवाट दिलाई भराई पाउने हुँदा पुनरावेदन अदालतको फैसला सदर हुनुपर्ने भनी गर्नु भएको वहस सुनी मिसिल संलग्न अन्य कागजात अध्ययन गरी हेर्दा शुरु जिल्ला अदालतले गरेको फैसलालाई सदर गरेको पुनरावेदन अदालतको फैसला मिले नमिलेको के छ ? सो सम्बन्धमा नै निर्णय दिनुपर्ने देखिन आयो ।
११. निर्णय तर्फ विचार गर्दा मैले विपक्षी मध्येका राममणी पुडासैनीसंग ०५४।२।१३ मा राजिनामा लिएको कि.नं.१३८७ को जग्गा लिखत बदर हुने ठहरी ०५६।६।१२ मा फैसला भएकोमा उक्त राजिनामाको थैली रकम माग्दा नदिएकोले उक्त राजिनामाकोसाँवा रु.५० हजार र सो को भरी भराउ गर्दाको मिति सम्मको व्याज र रजिष्ट्रेशन दस्तुर समेत विपक्षीहरुवाट दिलाई भराई पाउँ भन्ने वादी दावी र प्रतिवादी राममणी पुडासैनी ०४६ सालमा नै हामीवाट मानो छुट्टी वसेका हुँदा निज राममणीले विक्री गरेको जग्गा बदर भएको हुँदा वादी दावी वमोजिमको ऋण निज राममणीले नै तिर्नु व्यहोर्नु पर्ने हो भन्ने प्रतिवादी भवप्रसाद पुडासैनी समेतको र वादीले मेरो कि.नं.१३८७ को जग्गा राजिनामा पारितगरी लिएको दिन देखिनै भोग गरी वालीको आयस्ता खाएको हुँदा वादीले व्याजमा दावी गर्न पाउने होइन भन्ने समेतको प्रतिवादी राममणी पुडासैनीको प्रतिउत्तर जिकिर रहे भएको पाइएको प्रस्तुत मुद्दामा शुरु जिल्ला अदालतवाट वादी दावी वमोजिमको थैली रजिष्ट्रेशन दस्तुर तथा व्याज समेत प्रतिवादीहरुवाट वादीले भरी पाउने ठहर्याईगरेको फैसला उपर प्रतिवादी मध्येका राममणी र इन्द्र मणीले पुनरावेदन नगरी शुरु फैसलामा नै चित्त वुझाई वसेका र अन्य प्रतिवादीहरुको शुरु फैसला उपर चित्त नबुझी पुनरावेदन परेकोमा पुनरावेदन अदालतवाट शुरु जिल्ला अदालतको फैसला सदर हुने ठहर्याईगरेको फैसला उपर समेत यि प्रतिवादीहरुको चित्त नबुझी यस अदालतमा मुद्दा दोहोर्याई हेरी पाउँ भनी परेको निवेदनमा निस्सा प्रदान भै निर्णयार्थ यस इजलास समक्ष पेश भएको देखियो ।
१२. यसमा मिसिल संलग्न कागजात हेर्दा संगोलको प्रतिवादी मध्येको राममणीको नाउँमा रहेको कि.नं.६४३ को अवण्डा कित्ता जग्गा मध्ये उत्तर तर्फको क्षे.फ.४–११–०–० जग्गा कित्ता फोड गरी राममणीले अन्य अंशियारको मन्जुरी वेगर यस मुद्दाका वादी लक्ष्मण देवकोटालाई राजिनामा पारित गरी दिएकोमा सोही राजिनामा लिखत उपर यिनै प्रतिवादी दुर्गा माया पुडासैनी समेत वादी र यस मुद्दाका वादी यिनै लक्ष्मण देवकोटा समेत प्रतिवादी भई चलेको संवत २०५४ सालको दे.दा.नं.९।१०८ को राजिनामा लिखत वदर मुद्दामा वादी दावी वमोजिमको लिखत बदर भएको हुँदा उक्त राजिनामा वमोजिमको थैली दिलाई भराई पाउँ भनी वादी लक्ष्मण देवकोटाले यि प्रतिवादीहरु उपर समेत दावी लिई प्रस्तुत फिराद दिएको देखिन आयो । जहाँसम्म वादी दावी वमोजिमको रकम यि प्रतिवादीहरु समेतवाट भरी भराउ गर्न मिल्ने हो होइन भन्ने सम्बन्ध छ लेनदेन व्यवहारको १० नं.लाई हेर्दा अंश नभएका अंशियारले संगोलको अचल सम्पत्ती वेच विखन गर्दा वा कुनै किसिमले हक छाडी दिंदा ऐनले आफुखुसी गर्न पाउने अरुको मन्जुरी लिनु नपर्नेमा वाहेक अरुमा एकाघर संगका अंशियार सवै साक्षी बसेको वा निजहरुले मन्जुरीको लिखत गरी दिएको भएमात्र पक्का ठहर्छ । साक्षी पनि नवसेको र मन्जुरीको लिखत पनि नभए मन्जुर नहुनेले रजिष्ट्रेशन भएको मितिले १ वर्ष सम्ममा थाहा पाएको ३५ दिन भित्र उजुर गर्यो र निजको मन्जुरी ठहरिएन भने निजको हक जति सो सम्पत्ती निजलाई फिर्ता गराई दिनु पर्छ । सो वमोजिम फिर्ता भएकोमा साहुको थैली परेको भए फिर्ता भएजतिको थैली र ऐन वमोजिमको व्याज लिखत रजिष्ट्रेशन दस्तुर समेत सो सम्पत्ती वेचविखन गरी वा अरु कुनै किसिमले हक छाडी दिनेवाट साहुले कपाली सरह असुलगरी लिन पाउँछ भन्ने उल्लेख भएको पाईन्छ । त्यस्तै सोही लेनदेन व्यवहारको ८ नं.लाई हेर्दा घरको मुख्य भै कामकाज गर्ने वा संगोलमै वसी विभिन्न ठाउँमा घर खेती व्यापार वा अरु कुनै काम गरी वस्ने उमेर पुगेका जानकार लोग्ने मानिस वा स्वास्नी मानिस आफु बसी काम गरेको ठाउँको मुख्य ठहर्छन् । त्यस्ता मुख्यले गरेको व्यवहार वा एकाघरका उमेर पुगेका अरुले गरेकोमा मुख्य जानाकारको पनि सहिछाप वा लिखत भएको व्यवहार मात्र गोश्वारा धनवाट चल्छ भन्ने उल्लेख भएको पाईन्छ ।
१३. प्रस्तुत मुद्दामा प्रतिवादी मध्येका राममणीले उक्त कि.नं.को जग्गा विक्री गर्दा माथि उल्लेख गरे वमोजिम उक्त लेनदेन व्यवहारको १० नं.ले निर्दिष्ट गरे वमोजिमको प्रक्रिया समेत नपुर्याई यी प्रतिवादीहरुका मन्जुरी नलिई राजिनामा सुक्री विक्री गरेको देखिन्छ । साथै प्रतिवादी राममणी लेनदेन व्यवहारको ८ नं.वमोजिमको एकाघरको मुख्य मानिस रहे भएको भन्ने व्यवहार प्रमाणवाट समेत देखिन नआएको यस स्थितिमा निज राममणीको वावु जिवित छदै को अवस्थामा निज राममणीलाई घरको मुख्य व्यक्ति रहेछ भनी मान्न मिल्ने अवस्था समेत देखिन आएन । यस्तो हैसियत तथा अवस्थाका व्यक्तिले कानून वमोजिमको प्रक्रिया नपुर्याई गरेको व्यवहारको सम्बन्धमा लेनदेन व्यवहारको १० नं.अनुरुप वादी दावी वमोजिमको लिखतको दायित्व वहन गर्नुपर्ने कर्तव्य तथा जिम्मेवारी पनि सोही सम्पत्ती वेचविखन गर्ने वा हक छाड्ने व्यक्ति माथिनै निहित रहने देखिन्छ । यसरी कानूनले नै त्यस्तो प्रकृतिको लिखतको हैसियत र सो लिखत वमोजिमको थैली तिर्नु पर्ने दायित्वको वारेमा स्पष्ट व्यवस्था गरेको अवस्थामा उक्त कानूनको गलत व्याख्या गरी दावीको लिखतको दायित्व यि पुनरावेदक प्रतिवादीहरु समेतले व्यहोर्नु पर्ने गरी भए गरेको पुनरावेदन अदालत पोखराको मिति २०५९।१।१५ को फैसला सो हदसम्म मिलेको नदेखिदा उल्टी हुने ठहर्छ । अरुमा तपसिल वमोजिम गर्नु ।
तपसिल
पुनरावेदक प्रतिवादी दुर्गा माया पुडासैनी १, दिपकमणी पुडासैनी १, नारायणमणी पुडासैनी १, भरतमणी पुडासैनी १, भवप्रसाद पुडासैनी १, के माथि इन्साफ खण्डमा लेखिए वमोजिम शुरु जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालतको फैसला उल्टी भई वादी दावी वमोजिमको विगो यि प्रतिवादीहरुवाट भरी भराउ हुन नसक्ने ठहरी फैसला भएको हुँदा यि प्रतिवादीहरु समेतवाट भरी पाउने भनी शुरु जिल्ला अदालतको फैसलाको तपसिल खण्डमा कसेको लगत कायम रहने नहुँदा यि प्रतिवादीहरुको हकमा सम्म सो लगत कट्टा गर्नु भनी शुरु गोरखा जिल्ला अदालतमा लेखी पठाउनु ––––– १
दायरीको लगत कट्टागरी मिसिल नियमानुसार गरी वुझाई दिनु–––––––– २
उक्त रायमा सहमत छु ।
न्या. दामोदरप्रसाद शर्मा
इति संवत २०६३ साल भाद्र २८ गते रोज ४ शुभम––