निर्णय नं. ७७०४ - लागू औषध

निर्णय नं.७७०४ ने.का.प.२०६३ अङ्क ५
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री खिलराज रेग्मी
माननीय न्यायाधीश श्री गौरी ढकाल
सम्बत् २०६१ सालको फौ.पु.नं.३३८१
फैसला मितिः २०६३।३।१४।४
मुद्दा : लागूऔषध (चरेस) ।
पुनरावेक
प्रतिवादीः काठमाडौं जि.का.म.न.पा.वडा नं.२९ ठमेल घर भई हाल जिल्ला प्रशासन कार्यालय, कारागार शाखा त्रिपुरेश्वर काठमाडौं अन्तरगत केन्द्रीय जेलमा थुनामा रहेको जितेन्द्र श्रेष्ठ
विरुद्ध
प्रत्यर्थी
वादीः प्रहरी प्रतिवेदनले श्री ५ को सरकार
§ अख्तियारवाला व्यक्ति कार्गो अफिसरले विदेश कार्गो गरी सामान पठाउँदा अर्काले प्याक गरी ल्याएको सामान सोझै पठाउने नभई ति सामान कानूनद्वारा निषेधित सामान हो होइनन् सो समेतको चेक जाँच गरी पठाउनु पर्नेमा प्रतिवादीले उक्त सामान आफै वुझी लिई प्याकिङ्ग समेत आफैले गरी कार्गो गराउन पठाएको भनी बयान गरेको समेत देखिएको अवस्थामा कार्गो गरिएको प्याकेज भित्रको बरामद भएको वस्तु चरेस रहेछ भन्ने कुरा निज प्रतिवादीलाई थाहा रहेनछ अथवा थाहा हुन सक्ने अवस्था रहेनछ भनी भन्न नमिल्ने ।
§ प्रतिवादीले जानी वुझिकन कानून बमोजिम पालना गर्नुपर्ने दायित्व तथा कर्तव्य समेतलाई उल्लघन गरी कानूनद्वारा निषेधित लागूऔषध चरेस आफ्नो कार्गो कम्पनी मार्फत निकासी गर्न लागेको देखिएको अवस्थामा उक्त लागूऔषधको ओसार पोसार बिक्री वितरण गरेको छैन, कार्गो गरी पठाउन लागिएको सामान धुपका वट्टा तथा धुप भएको भनी जिकिर लिने प्रतिवादीले सो जिकिरलाई भरपर्दो ठोस सवुद प्रमाण पेश गरी प्रमाणित गर्नुपर्नेमा सो प्रमाणित गर्न सकेको नदेखिंदा निजले आरोपित कसूर गरेको रहेछ भन्ने स्पष्ट देखिने ।
(प्रकरण नं.२३)
पुनरावेदक प्रतिवादी तर्फवाटः
प्रत्यर्थी वादी तर्फवाटः
अवलम्वित नजीरः
फैसला
न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत पाटनको मिति २०५७।६।३० को फैसला उपर चित्त नवुझी न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम प्रतिवादीको पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः–
२. श्रेष्ठ कार्गोका कामदार नरेश भुषालले आम्सटारडम पठाउनको लागि एयर कार्गो गराउन भनी ल्याएको धुप लगायतको सामानहरु जाँच गर्दा १० थान धुपको वट्टामा लागूऔषध चरेस फेला परेको हुँदा कानून बमोजिम बरामद गरी कानूनी कारवाही गरिपाऊँ भन्ने २०५५।१२।१७ को प्र.ना.नि.कृष्ण गोपाल पनेरुको जाहेरी प्रतिवेदन ।
३. श्रेष्ठ कार्गो मार्फत सो कार्गोको काम गर्ने नरेस भुषालले आम्सटारडम पठाउने एयर कार्गो गर्नको लागि ३ नं.निर्यात गोदाममा ल्याएको सामान मध्ये घङचेन भन्ने लेखिएको १० थान वट्टाको बीच भागमा लागू औषध चरेस र तल माथि धुप राखिएको अवस्थामा १ किलो लागूऔषध चरेस बरामद भएको र सो लागूऔषध चरेस राखिएको सामान श्रेष्ठ कार्गो सर्भिसले प्याकिङ्ग लिष्ट तयार पारिएको देखिएको भन्ने २०५५।१२।१७ को बरामदी मुचुल्का र प्रहरीको प्रतिवेदन ।
४. १ किलो लागूऔषध चरेस लुकाएको अवस्थामा वरामद भएको धुप लगायतको सामानहरु प्याकिङ्ग गरी श्रेष्ठ कार्गोका मालिक जितेन्द्र श्रेष्ठले हलैण्डको ठेगाना समेत लिई ३ नं.निकासी गोदाममा गएर एयर कार्गो गरी आउ भनेकाले मैले कार्गो गराउन ३ नं.गोदाम स्थित भन्सार कार्यालयमा लगी जाँच गराउँदा सो सामान मध्ये १० थान धुपको वट्टाबाट लागूऔषध चरेस १ किलो बरामद भएको हो । बरामद लागूऔषध चरेस सो सामान छ भन्ने कुरा मलाई थाहा थिएन र सो लागूऔषध चरेस कसको हो भन्ने समेत मलाई थाहा छैन । मेरो मालिक जितेन्द्र श्रेष्ठलाई थाहा होला भन्ने समेत व्यहोराको नरेश भुषालले गरेको कागज ।
५. नरेश भुषाललाई खोजी भएका बखत दाखिल गर्ने छु भनी माया देवी श्रेष्ठले नरेश भुषाललाई हाजिर जमानीमा लिई गरेको कागज ।
६. मैले काम गरेको श्रेष्ठ कार्गो सर्भिसका मालिक जितेन्द्र श्रेष्ठलाई आजै यस कार्यालयमा दाखिल गर्न ल्याएको छु भन्ने नरेश भुषालको मिति २०५५।१२।२५ को निवेदन ।
७. १ के.जि. लागूऔषध चरेस मध्येबाट नमुनाको लागी ३ ठाउँमा ३।३ ग्रामका दरले जम्मा ९ ग्राम नमुना निकालिएको भन्ने लागूऔषध चरेसको नमुना निकालेको मुचुल्का ।
८. आम्सटारडमको लागि हवाई कार्गो गराउन मैले मेरो अफिसमा काम गर्ने नरेश भुषाललाई पठाएको धुप, किताव, चिया पेपर ल्याम्प लगायतका सामान मध्ये १० वट्टा धुपको वट्टामा लुकाइएको अवस्थामा बरामद भएको लागूऔषध चरेस मेरो होइन । त्यसमा लागूऔषध चरेस छ भन्ने कुरा मलाई ज्ञान थिएन । सो सामानहरु हलैण्ड नागरिक महिला Helena Veld नाम बताउनेले मेरो निजी प्रयोगको सामानहरु छ भनी श्रेष्ठ कार्गो सर्भिसमा ल्याएकीले मैले वुझी लिई प्याकिङ्ग समेत म आफैले गरी कार्गो गराउन मेरा कामदार नरेश भुषालको जिम्मा पठाएको हुँ । उल्लेखित Helena Veld नाम गरेकी महिलाले मलाई झुक्याई धुपको वट्टामा लागूऔषध चरेस राखी लुकाई ल्याईछन् मैले राम्रोसँग चेक गरी वुझ्न पर्ने हो यसमा कानूनले जो ठहर्छ सहने वुझाउने छु भन्ने समेत व्यहोराको प्रतिवादी जितेन्द्र श्रेष्ठले गरेको बयान ।
९. Helena Veld नाम गरेकी हलैण्ड आम्सटारडम निवासी महिलाको खोजतलास गर्दा मलाई आवश्यक मद्दत सहित पठाएकोमा निजको सम्भाव्य स्थानहरुमा खोजतलास गर्दा फेला पर्न नसकी नेपालबाट अन्यत्र गई सकेकी हुनुपर्ने वुझिएको भन्ने समेत प्रहरीको प्रतिवेदन ।
१०. वरामद १ के. जि. लागूऔषध चरेस मध्ये ९ ग्राम नमुना निकाली बाँकी रहेको ९९१ ग्राम लागूऔषध चरेस जलाई नष्ट गरिएको भन्ने नष्ट गरेको मिति २०५६।१।८ को मुचुल्का ।
११. परीक्षणको लागि प्राप्त हुन आएको नमुना जाँच गर्दा गाँजाबाट तयार गरिएको लागूऔषध चरेस देखिएको भन्ने राष्ट्रिय विधिविज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदन ।
१२. कार्गो गर्न पठाइएको प्याकेट भित्र लागूऔषध चरेस भएको जानकारी भएर ने लागु ओषध चरेस निकासी गर्न पठाइएको प्रमाणित हुन आएको हुँदा प्रतिवादी जितेन्द्र श्रेष्ठलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ को दफा ४(क) को विपरीत बरामद लागूऔषध चरेस निकासी समेतको कारोवार गरेको कसूर अपराधमा सोही ऐनको दफा १४ (१)(घ)(३) बमोजिम सजाय हुन र हालसम्म फक्राउ नपरेका नेदरलैण्डको आम्सटारडम निवासी Helena Veld नाम गरेकी महिलाको हकमा नेपाल सरहद भित्र फक्राउमा परेका बखत कानून बमोजिम अभियोग पत्र पेश गरिने भनी उल्लेख भएको अभियोग मांग दावी ।
१३. मेरो अफिसले सामान आयात निर्यात गर्न रजिष्टर्ड भएको नाताले मैले लाग्ने दस्तुर लिई उक्त सामान विदेशीले नै प्याक गरी ल्याएको सामान भन्सार कार्यालयमा पठाएको हुँ। मैले उक्त सामान खोली हेर्दा धुपको वट्टामा धुपहरु मात्र थिएँ । मुनि लुकाई धुपले किनी ल्याएको प्याक मैले खोस्री हेरिन । मैले कुनै लागूऔषध ओसार पसारको लागि पुलिन्दाहरु पठाएको होइन । त्यसैले अभियोग मांग दावी अनुसार सजाय हुनुपर्ने हैन । त्यसैले आरोपित कसूरबाट सफाई पाउनु पर्छ भन्ने समेत व्यहोराको प्रतिवादी जितेन्द्र श्रेष्ठले गरेको बयान ।
१४. जितेन्द्र श्रेष्ठ लागूऔषध चरेसको कारोवार गर्ने खालको मानिस होइन । उहाँलाई ग्राहकहरुले फसाउने नियत राखेर त्यस्तो कार्य गरेको हुनुपर्छ भन्ने सोनाम लामाले बकेको बकपत्र ।
१५. मिति २०५५।१२।१७ को श्रेष्ठ कार्गोका कर्मचारी नरेश भुषालले मिनरल वाटरको वट्टाभित्र कागजको ल्याम सिट किताव र धुप राखी आम्सटारडम निकासी गर्ने ३ नं.गोदाममा क्लीयर गर्न गएको र सो सामान चेक गर्दा धुपको १० वटा वट्टा भित्र १७ वटा चरेसको लाम्चो आकारमा बनाएको मेटिएको हो भन्ने समेत व्यहोराको वादीका गवाह प्र.ना.नि.कृष्णगोपाल पनेरुले गरेको बकपत्र ।
१६. बरामद मुचुल्कामा भएको सही मेरो हो । त्यसमा १ के.जि.चरेस बरामद भएको थियो भन्ने व्यहोराको वादीका गवाह साक्षी प्र.ज.रामप्रसाद देवकोटाले गरेको बकपत्र ।
१७. कसैले धुप राख्ने वट्टामा त्यस्तो लागूऔषध पठाउँछ भने सो कुरा सामान्य समझबाट थाहा पाउने अवस्था हुँदैन । फौज्दारी अपराधको कसूर कायम हुन कुनै व्यक्तिबाट भएको काममा उसको बदनियत Mensrea हुनुपर्दछ । तर त्यस्तो बदनियतको अभाव रहेको प्रस्तुत मुद्दामा यो कार्य यि प्रतिवादीबाट भएको अर्थ गरी सजाय गर्नु न्याय र कानूनी संगत नहुँदा आरोपित कसूरबाट यि प्रतिवादी जितेन्द्र श्रेष्ठले सफाई पाउँने ठहर्छ भन्ने समेत व्यहोराको शुरु काठमाडौं जिल्ला अदालतको मिति २०५६।९।२९ को फैसला ।
१८. शुरु जिल्ला अदालतले प्रतिवादीलाई सफाई दिने गरी भएको फैसलामा चित्त बुझेन। शुरुको फैसला बदर गरी प्रतिवादीलाई वादी दावी बमोजिम सजाय गरिपाऊँ भन्ने वादी श्री ५ को सरकारको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र ।
१९. यसमा मौकाको बरामदी मुचुल्काबाट बरामद लागूऔषध चरेस विदेश पठाउन लागेको हो भन्ने समेतको प्रतिवादीको अदालत समक्ष साविती बयान रहेको अवस्थामा अभियोग दावीबाट प्रतिवादीले सफाई पाउने सन्दर्भमा बदनियतको अभाव देखाई निज प्रतिवादीलाई कसूरबाट सफाई पाउने ठहराई गरेको शुरु जिल्ला अदालतको फैसला लागूऔषध नियन्त्रण ऐन, २०३३ को दफा १२ को परिप्रेक्ष्यमा समेत फरक पर्न सक्ने देखिंदा अ.वं.२०२ नं.तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ अनुसार विपक्षी झिकाई उपस्थित भएपछि वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालतको आदेश ।
२०. अर्काले प्याक गरी ल्याएको सामान पठाउने नभई ति सामान जाँची नाम उल्लेख गर्ने गरी इन्स्योर गर्ने समेतको काम गर्नुपर्ने दायित्व कार्गो अफिसको हुने हुनाले प्रतिवादी आफैले मिनरल वाटरको बाकसमा आफैले प्याक गरी राखको भन्ने कुरा निज स्वयं सावित भई कागज गरी राखको देखिंदा कार्गो गरिएको प्याकेज भित्रको बरामद भएको बस्तु चरेस रहेछ भन्ने कुरा निजलाई थाहा रहेनछ भन्न सकिने भएन । बयान र प्रस्तुत भएको पासपोर्टमा वेगल र निजबाट प्रस्तुत भएको निर्यात प्रज्ञापन पत्रको नाम वेगल भएबाट पनि प्रतिवादीले आफ्नो सफाईको लागि प्रस्तुत गरेको प्रमाण तथ्ययुक्त भएको पाइन्न । आफुले कार्गो गर्न लागेको सामान कानूनद्वारा निषेधित सामान हो होइन ? जाँचवुझ गरी पठाउनु पर्नेमा नगरेबाट समेत निज प्रतिवादीले कसूर नगरेको भन्न सकिन्न । लागूऔषध नियन्त्रण ऐन, २०३३ को दफा १२ ले निश्चित दायित्व तोकिएको कुरामा बदनियत नभई गरेको कार्यको संज्ञा दिई शुरुले प्रतिवादीलाई सफाई दिने गरेको फैसला मिलेको नदेखिंदा शुरु काठमाडौं जिल्ला अदालतबाट मिति २०५६।९।२९ मा भएको फैसला उल्टी भई प्रतिवादीले दावी बमोजिम लागूऔषध नियन्त्रण ऐन, २०३३ को दफा ४(क) को कसूर गरेको देखिंदा ऐ.ऐनको दफा १४(१)(घ)(३) बमोजिम प्रतिवादी जितेन्द्र श्रेष्ठलाई ६(छ) महिना कैद र रु.५,०००।– रुपैयाँ जरिवाना हुने ठहर्छ भन्ने समेतको पुनरावेदन अदालतको मिति २०५७।६।३०को फैसला ।
२१. प्रस्तुत मुद्दामा मेरो कहिकतैबाट लागूऔषध ओसार पसार कार्यमा संलग्नता थियो भन्ने मिसिल संलग्न प्रमाण कागजातबाट देखिदैन । अधिकार प्राप्त अधिकारी समक्ष मैले गरेको बयानमा समेत लागूऔषध ओसार पोसार, बिक्री वितरण गरेको कुरामा कहिकतै सावित भएको छैन । वादी श्री ५ को सरकारले मलाई कसूरदार भनी प्रमाणित गर्न नसकी केवल शकाकै भरमा ग्राहकलाई सेवा प्रदान गर्ने अफिसको मालिकलाई नै प्रतिवादी कायम गरी दायर भएको अभियोग मांग दावी अनुसार सजाय गर्न मिल्ने होइन । श्रेष्ठ कार्गोको मालिक आफु भएको र ग्राहकहरुले कार्गो गर्न ल्याएका सामानहरुको उचित दस्तुर लिई भन्सार कार्यालयमा पठाउनु पर्ने आफ्नो दायित्व र कर्तव्य भएकोले विदेशी नागरिकले प्याक गरी आफ्नो निजी प्रयोगका सामानहरु भनी आफ्नो अफिसमा कार्गो गर्न ल्याएकोले उक्त प्याक आफुले खोली हेर्दा धुपका वट्टामा धुप मात्र भएकोले उक्त प्याक आफ्नो कर्मचारी मार्फत भन्सार कार्यालयमा पठाएकोमा उक्त प्याकबाट लागूऔषध चरेस बरामद भएको भनी उक्त कार्यमा मेरै संलग्नता थियो भनी अनुमान गरी केवल शंकाको आधारमा मलाई कसूरदार ठहर्याई सजाय गर्ने गरेको पुनरावेदन अदालत पाटनको फैसला त्रूटिपूर्ण हुँदा उक्त फैसला बदर गरी शुरु जिल्ला अदालतको फैसला नै सदर कायम राखि पाउँ भन्ने समेतको प्रतिवादीको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
२२. नियम बमोजिम पेशी सूचीमा चढी निर्णयार्थ इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितको मिसिल कागजात अध्ययन गरी हेर्दा शुरु जिल्ला अदालतले प्रतिवादीलाई अभियोग दावीबाट सफाई दिने ठहर्याईगरेको फैसलालाई उल्टी गरी प्रतिवादीलाई कसूरदार ठहर्याईसजाय गर्ने गरेको पुनरावेदन अदालत पाटनको फैसला मिले नमिलेको के छ ? सो सम्बन्धमा नै निर्णय निरुपण गर्नुपर्ने देखिन आयो ।
२३. निर्णयतर्फ विचार गर्दा– प्रतिवादी जितेन्द्र श्रेष्ठले आफुले कार्गो गर्न पठाएको कार्टुन भित्र लागूऔषध चरेस छ भन्ने कुरा आफुलाई जानकारी नभएको भनी इन्कारी भएतापनि उक्त सामान चेक जाँच गरी हेरी प्याक गरी पठाएको भनी बयानमा लेखाएको देखिंदा निजलाई कार्गो गर्न पठाइएको प्याकेट भित्र लागूऔषध चरेस भएको जानकारी भएर नै लागूऔषध चरेस निकासी गर्न पठाइएको प्रमाणित हुन आएको हुँदा प्रतिवादी जितेन्द्र श्रेष्ठलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ को दफा ४(क) को विपरीत बरामद लागूऔषध चरेस निकासी समेतको कारोवार गरेको कसूर अपराधमा सोही ऐनको दफा १४(१)(घ)(३) बमोजिम सजाय हुन मांग दावी लिइएको भन्ने समेतको अभियोग दावी भएको प्रस्तुत मुद्दामा १ किलो लागूऔषध चरेस बरामद भएको र सो वस्तु प्रतिवादीको नामको कार्गोबाट आम्सटारडम पठाउन लागेको भन्ने तथ्यमा कुनै विवाद नदेखिएको, प्रतिवादीले अधिकार प्राप्त अधिकारी समक्ष वयान गर्दा Helena Veld नाम गरेकी महिलाले मलाई झुक्याई धुपको वट्टामा लागूऔषध चरेस राखि लुकाई ल्याइछन्, मैले राम्रोसँग चेक गरी वुझ्नु पर्ने हो, यसमा कानूनले जे ठहर्छ सहने बुझाउने छु भनी बयान गरेको देखिन्छ । साथै अदालत समक्ष गरेको बयानमा समेत यि प्रतिवादीले मैले लाग्ने दस्तुर लिई उक्त सामान आम्सटारडम पठाउन भन्सार कार्यालयमा पठाएको हुँ भनी सामान पठाएको कुरा स्वीकार गरेको देखिन्छ । यसरी सामान पठाउने अख्तियारवाला व्यक्ति कार्गो अफिसरले विदेश कार्गो गरी सामान पठाउँदा अर्काले प्याक गरी ल्याएको सामान सोझै पठाउने नभई ति सामान कानूनद्वारा निषेधित सामान हो होइनन् सो समेतको चेक जाँच गरी पठाउनु पर्ने हुन्छ । तर प्रस्तुत मुद्दामा प्रतिवादीले उक्त सामान आफै वुझी लिई प्याकिङ्ग समेत आफैले गरी कार्गो गराउन पठाएको भनी बयान गरेको समेत देखिएको अवस्थामा सो कार्गो गरिएको प्याकेज भित्रको बरामद भएको वस्तु चरेस रहेछ भन्ने कुरा निज प्रतिवादीलाई थाहा रहेनछ अथवा थाहा हुन सक्ने अवस्था रहेनछ भनी भन्न मिल्ने अवस्था समेत देखिन आएन । अतः प्रतिवादीले जानी वुझिकन कानून बमोजिम पालना गर्नुपर्ने दायित्व तथा कर्तव्य समेतलाई उल्लघन गरी कानूनद्वारा निषेधित लागूऔषध चरेस आफ्नो कार्गो कम्पनी मार्फत निकासी गर्न लागेको देखिएको अवस्थामा उक्त लागूऔषधको ओसार पोसार बिक्री वितरण गरेको छैन, कार्गो गरी पठाउन लागिएको सामान धुपका वट्टा तथा धुप भएको भनी जिकिर लिने प्रतिवादीले सो जिकिरलाई निजले नै भरपर्दो ठोस सवुद प्रमाण पेश गरी प्रमाणित गर्नुपर्नेमा सो प्रमाणित गर्न सकेको समेत नदेखिएको विद्यमान स्थितिमा निज प्रतिवादीले आरोपित कसूर गरेको रहेछ भन्ने कुरा मिसिल संलग्न कागजातबाट स्पष्ट नै देखिन आयो ।
२४. तसर्थ शुरु जिल्ला अदालतले प्रतिवादीलाई सफाई दिने गरेको फैसलालाई उल्टी गरी प्रतिवादीले अभियोग दावी बमोजिम लागूऔषध नियन्त्रण ऐन, २०३३ को दफा ४ (क) को कसूर गरेको देखिंदा ऐ.ऐनको दफा १४(१)(घ)(३) बमोजिम निज प्रतिवादी जितेन्द्र श्रेष्ठलाई ६ महिना कैद र रु.५,०००।– जरिवाना हुने ठहर्छ भनी पुनरावेदन अदालत पाटनबाट मिति २०५७।६।३० मा भएको फैसला मिलेकै देखिंदा सो सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार वुझाई दिनु।
उक्त रायमा सहमत छु ।
न्या. गौरी ढकाल
इति सम्वत् २०६३ साल असार गते रोज शुभम