निर्णय नं. ८०८१ - आयकर आ.व. २०४७/४८

निर्णय नं. ८०८१ जेठ २०६६ अङ्क २
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ
माननीय न्यायाधीश श्री भरतराज उप्रेती
संवत् २०५४ सालको पुनरावेदन अनुमती ३२०५
फैसला मितिः २०६५।१०।२८।१
मुद्दाः आयकर आ.व. २०४७/४८
निवेदकः जिल्ला धनुषा जनकपुर नगरपालिका वडा नं. १ मिल्स एरिया स्थित वि.के.ट्रेडर्स एण्ड सन्स प्रोपाइटर शीप फर्मको प्रोपाइटर राजेशकुमार अग्रवाल
बिरुद्ध
विपक्षीः श्री कर फर्छ्यौट आयोग, २०५१ काठमाडौ
§ कर फर्छ्यौट आयोग ऐन २०३३ को दफा १२ बमोजिम कानूनी प्रश्नमा अनुमती दिने व्यवस्था मै उक्त दफा १२(२)(ग) बमोजिम अनुमती दिंदा आयोगको निर्णयमा उल्लिखित कुन कुराको असान्दर्भिक प्रमाण बुझेको वा कुनै बुझ्न पर्ने प्रमाण नबुझेको हो स्पष्ट गर्नुपर्ने ।
(प्रकरण नं.३)
§ आफ्नो कारोवारको लेखा नराख्ने करदाताको आयकर निर्धारण गर्दा तोकिएका विभिन्न आधारहरू मध्ये कुनै एक वा सबै आधारहरू कर अधिकृतले अवलम्वन गर्न सक्ने ।
(प्रकरण नं.४)
निवेदकतर्फवाटः विद्वान अधिवक्ता श्री प्रसन्नकृष्ण दास
विपक्षीतर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री कृष्णप्रसाद पौडेल
अवलम्वित नजीरः
सम्बद्ध कानूनः
§ आयकर ऐन, २०३१ को दफा ३३(२) तथा ३३(४)
§ कर फस्र्यौट आयोग ऐन, २०३३, को दफा १२(२)
फैसला
न्या.कल्याण श्रेष्ठः कर फर्छ्यौट आयोग, काठमाडौको निर्णय उपर पुनरावेदन गर्न अनुमती पाऊँ भनी पर्न आएको निवेदनमा कर फर्छ्यौट आयोग ऐन, २०३३ को दफा १२(२)(ग) बमोजिम पुनरावेदन गर्न अनुमतीप्राप्त गरेको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा तथा निर्णय यसप्रकार छः–
कर कार्यालय जनकपुरको कार्य क्षेत्र अन्तर्गतका करदाता श्री बि.के. ट्रेडर्स एण्ड सन्स (प्रो) को आ.व. २०४७।४८ को कर निर्धारण गर्ने प्रयोजनकोलागि आयकर ऐन, २०३१ को प्रक्रिया अनुसार खुद आयको अङ्क किटान गरी सोही ऐनको दफा ३३(४) बमोजिम दिन ७ सातको मौका प्रदान गरी आयोगको क्षेत्राधिकारबमोजिम सक्कल फायल प्राप्त गरी पेश हुन आएको ।
करदाताले चुरोट, घ्यू, समेतको किराना सामानको बिक्री कारोबार गर्ने गरेको ब्यहोरा सक्कल फायलबाट अवगत हुन आयो । मिति २०५०।२।४ मा सवूद प्रमाण पेश गर्ने गरी खुद आय कायम गरी दिएको पत्र निज करदाताले मिति २०५०।२।३१ मा बुझी सोही मितिमा सोको जवाफ सम्म दिएको ब्यहोरा कर कार्यालय जनकपुरको मिति २०५१।१२।१० को पत्रसाथ संलग्न फायलबाट अवगत हुन्छ । साथै यस आयोगबाट मिति २०५२।१।७ मा उपस्थितिकोलागि पत्र लेखिएकोमा निज करदाता हाल सम्म उपस्थित भएको पाइएन ।
कर कार्यालयले सवूद प्रमाण पेश गर्न मौका मिति २०५०।२।४ मा कानूनको रीत पुर्याई दिएको तर तत्सम्बन्धमा सोको जवाफ सम्म दिएको, ठोस सवूदप्रमाण करदाताले पेश नगरेको तथा आयोगबाट मिति २०५२।१।७ मा उपस्थित हुनको लागि वोलाउँदा आयोगमा उपस्थित समेत नभएको कारणबाट करदाताको आ.व. २०४७।४८ को सम्बन्धमा कर कार्यालय जनकपुरको मिति २०५०।२।४ मा सूर्य टोवाको कं.प्रा.लि. को चुरोट बापत कमिशन रु.८,६५,५७७।– सोको धरौटी बापतको ब्याज रु.६१८४।१०, शिवशक्ति घ्यू उद्योगको घ्यू उठाएको रु.१४,११,४७१।४३ र किराना सामान बिक्रीको रु.६,००,०००।– को कारोवारमा कायम गरेको खुद आय मनासिव नै देखिएकोले उक्त आ.व. २०४७।४८ मा क्रमश खुद आय रु.९३,२८८।५०, रु.६,१८४।१० रु.४२,३४४।१४ र रु.४८,०००।– समेत जम्मा खुद आय रु.१,८९,८१६।७४ र सोमा आर्थिक ऐन, २०४७ बमोजिम हुने कर रु.७०,६५८।७ र जरीवाना रु.२,०६०।८६ समेत जम्मा रु.७२,७१९।२३ (अक्षेरेपी रु.बहत्तर हजार सात सय उन्नाइस र पैसा तेह्र मात्र) कर फर्छ्यौट आयोग ऐन २०३३ को दफा ६(१) बमोजिम निर्धारण गरिएको छ भन्ने समेत व्यहोराको कर फर्छ्यौट आयोग काठमाडौको निर्णय ।
यस फर्मले यस आर्थिक बर्षमा मात्र सूर्य टोवाको कम्पनीबाट उत्पादित चुरोटको डिस्ट्रिब्यूटर्स सिप लिई तत्सम्बन्धी थोक ब्यापार मात्र गरेको छ । शिवशक्ति घ्यू उद्योग वा कुनै अन्य उद्योगको उत्पादन सम्बन्धी व्यापार भएकै छैन । शिवशक्ति घ्यू उद्योगबाट कुनै प्रोपाइटर भएको फर्मको कुनै व्यक्तिले घ्यू तेल खरिद गरेको हो सो सम्बन्धमा स्पष्ट जवाफ आउन सकेको छैन । स्थानीय किराना खरिद बिक्री गर्ने प्रश्न किन पनि सान्दर्भिक छैन भने यस फर्मको कुनै पसल छँदै छैन । डिस्ट्रीब्यूटर भएकोले आएको चुरोट गोदाममा स्टोरेज गर्ने र सानो कार्यालयवाट सोको बिक्री गर्ने गरिएकोले स्थानीय किराना खरिद बिक्री गरेको भन्ने कुरा काल्पनिक हो । यस फर्मको कुनै व्यक्तिले शिवशक्ति उद्योगवाट घ्यू तेल खरिद गरेको खुल्न सकेको छैन । कुनै स्थानीय व्यापारीबाट किराना खरिद गरेको र कसलाई बिक्री गरेको भन्ने कुरा निर्दिष्ट रुपमा लेख्न सकिएको छैन भने स्वेच्छीक तवरबाट गर्दै नगरेको कारोवारलाई कारोवार कायम गर्ने र सोमा क्रमशः रु.४२,३४४।१४ र रु.४८,०००।– समेत जम्मा रु.९०,३४४।१४ बढी खुद आय कायम गरी सोमा रु.४४६३८।४४ बढी कर लगाईएकोले आयकर ऐन, २०३१ (संशोधन सहितको) दफा १।१२।३३(२) प्रमाण ऐन, २०३१ को दफा ५४ को प्रतिबन्धात्मक वाक्यांश समेतको ब्याख्यात्मक त्रुटि गरी ऐ कार्यविधीसम्बन्धी कानूनहरूको उल्ल्ंघन र प्रमाणको गलत मूल्यांकन समेत गरी गरेको निर्णय त्रुटिपूर्ण हुँदा सम्मानित अदालतमा पुनरावेदन गर्न अनुमती पाँऊ भन्ने समेत व्यहोराको निवेदन दावी ।
यसमा बि.के. ट्रेडर्स र बिक्की ट्रेडर्स अलग अलग फर्म भन्ने निवेदकको जिकिर भएकोमा सोतर्फ बुझ्दै नबुझी आयकर असूल उपर गर्ने गरेको कर फर्छ्यौट आयोगको निर्णय त्रुटिपूर्ण देखिँदा कर फर्छ्यौट आयोग ऐन, २०३३ को दफा १२(२)(ग) बमोजिम पुनरावेदन गर्न अनुमती प्रदान गरिएको छ भन्ने व्यहोराको यस अदालतको मिति २०५८।११।८ को आदेश ।
नियमबमोजिम दैनीक मुद्दा पेशीसुचीमा चढी निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री प्रसन्न कृष्ण दासले कर फर्छ्यौट आयोगले करदातालाई वोलाउँदा उपस्थित नभएको भन्ने आधार लिएको तर मिति २०५२।१।१७ मा द.नं. ६३८५ मा निवेदन दर्ता गराई आयोगमा हाजिर हुन गएको, यस फर्मले मिति २०५०।२।८ र २०५०।१।२३ को पत्रद्वारा यस फर्मले सूर्य टोवाको कम्पनीको डिस्ट्रीब्यूटरशिप बाहेक स्थानीय वा अन्य कुनै कम्पनीको उत्पादनको व्यापार नगर्ने गरेको, शिवशक्ति घ्यू उद्योग वा अन्य उद्योगको उत्पादन सम्बन्धी ब्यापार भएकै छैन । कुन स्थानीय व्यापारीबाट किराना खरिद गरेको र कसलाई बिक्री गरेको भन्ने किटान गर्न सकेको छैन भने स्वेच्छिक तवरबाट गर्दै नगरेको कारोवारलाई कारोवार कायम गरी सोमा बढी खुद आय कायम गरी कर कायम गर्ने गरेको निर्णय त्रुटिपूर्ण हुँदा बदरहोस् भनी गर्नुभएको बहस तथा विपक्षी महान्यायाधिवक्ताको कार्यालयकोतर्फबाट उपस्थित हुनुभएका उप न्यायाधिवक्ता श्री कृष्णप्रसाद पौडेलले विपक्षी फर्मको कारोवारमा बढी खुद आय कायम गरी भएको निर्णय मिलेकै हुँदा कर फर्छ्यौट आयोगको निर्णय सदर होस भनी गर्नुभएको बहस समेत सुनियो ।
पुनरावेदन सहितको मिसिलको अध्ययन र विद्वान कानून व्यवसायीहरूको बहस जिकिरलाई मनन् गरी निर्णयतर्फ बिचार गर्दा कर फर्छ्यौट आयोगको फैसला मिले नमिलेको के रहेछ? सो सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
निवेदकले पुनरावेदनको अनुमती माग गर्ने निवेदनमा फर्मले गर्दै नगरेको कारोवारमा खुद आय कायम गरी कर लगाएको भन्ने दावी लिएको देखिन्छ भने यस अदालतबाट मिति २०५८।११।८ मा कर फस्र्यौट आयोग ऐन २०३३ को दफा १२(२) अनुसार पुनरावेदनको अनुमती प्रदान गर्दा बि.के. ट्रेडर्स र विक्की ट्रेडर्स अलग अलग भन्ने निवेदनको जिकिर भएकोमा कर फस्र्यौट आयोगले सोतर्फ नबुझी निर्णय गरेको भन्ने कुरालाई आधार मानेको देखिन्छ ।
यसमा करदाताको आ.व. २०४७।४८ को आय सम्बन्धमा कर कार्यालय जनकपुरले मिति २०५०।२।४ मा सुर्य टोवाको क.प्रा.लि. को चुरोट बापत कमिशन रु.८,६५,७७।– सो को धरौटी बापतको ब्याज रु.६१८४।१०, शिवशक्ति घ्यू उद्योगको घ्यू उठाएको रु.१४,११,४७१।४३ र किराना सामान बिक्रीको रु.६,००,०००।– को कारोवारमा कायम गरेको खुदआय मनासिव नै देखिएकोले उक्त आ.व. मा क्रमश खुदआय रु.९३,२८८।५० रु.६१८४।१० रु.४२,३४४।१४ र ४८,०००।– समेत जम्मा खुदआय १८९८१६।७४ र सोमा हुने कर रु.७०,६५८।३७ र जरीवाना रु.२,०६०।८६ समेत जम्मा रु.७२,७१९।२३ कर फर्छ्यौट आयोग ऐन, २०३३ को दफा ६(१) बमोजिम निर्धारण गरिएको निर्णय उपर चित्त नबुझी निवेदक करदाताले यस अदालतमा दिएको निवेदनमा पुनरावेदन गर्ने अनुमती प्राप्त भई यस इजलास समक्ष पेश हुन आएको देखियो ।
यसमा करदाता श्री वि.के. ट्रेडर्स एण्ड सन्स (प्रो.) का नाउमा कर फर्छ्यौट आयोग २०५१ वाट आय निर्धारण भएको छ । निवेदकले पुनरावेदनको अनुमती माग गरेको निवेदनमा पनि बि.के. ट्रेडर्सको नाउँमा गैरकानूनी आय निर्धारण गरेको भनी किटानी जिकिर लिएको देखिदैन । पुनरावेदकले पेश गरेको आय विवरण फारममा फर्मको नाउँ वि.के. ट्रेडर्स (प्रो) मा निवेदक राजेश कुमार अग्रवाल लेखिई निजको दस्तखत समेत रहेभएको पाइन्छ । निवेदकले मिति २०४९।१२।८ गते कर कार्यालय जनकपुरमा बयान गर्दा मेरो फर्म वि.के. ट्रेडर्स हो, विक्की ट्रेडर्स भन्ने फर्म मेरो होइन भनी बयान गरेको देखिन्छ भने मिति २०५०।१।२३ को जनकपुर उद्योग वाणिज्य संघको पत्रबाट वि.के. ट्रेडर्स जनकपुरको प्रोपाइटर राजेश कुमार अग्रवाल रहेको भनी खुलाई पठाएको देखिन्छ । मिति २०५१।३।८ र २०५१।१२।७ मा निवेदक (प्रो) राजेश अग्रवालले वि.के. ट्रेडर्स एण्ड सन्स लेखिएको आफ्नो फर्मको प्याडमा व्यहोरा उल्लेखगरी कर कार्यालय जनकपुरलाई सम्बोधन गरी पत्राचार समेत गरेको देखिएबाट यी निवेदकको फर्म उल्लिखित फर्म नै रहे भएको कुरामा विवाद देखिएन ।
२. यसमा सर्वप्रथम पुनरावेदनको अनुमति प्रदान गर्दा लिइएको आधारसँग सहमती हुन सकिने अवस्था छकी छैन भन्ने कुरा हेर्न पर्ने भई त्यसतर्फ विचारगर्दा पुनरावेदक वि.के. ट्रेडर्सले घ्यूको कारोवार गरेको छ छैन भन्ने सम्बन्धमा कर कार्यालय जनकपुरधामले छानविन गरेको कुरा मिसिल संलग्न प्रमाणवाट देखिन्छ । यही क्रममा श्री शिवशक्ति घ्यू उद्योग प्रा.लि. ले कर कार्यालय धनुषालाई मिति २०४९।१२।९ मा लेखेको पत्रमा उक्त घ्यू उद्योगले आ.व. २०४७।४८ मा वि.के. ट्रेडर्स, जनकपुरधामलाई २४६ ड्रम (मूल्य रु.१४,११४७१।४३ र विक्की ट्रेडर्सलाई ७४० ड्रम घ्यू बिक्री गरेको विवरण दिइएको पाइन्छ । तर कर कार्यालय जनकपुरधाम तथा कर फस्र्यौट आयोगले पुनरावेदकको आ.व. २०४७।४८ को आयकर निर्धारण गर्दा विक्की ट्रेडर्सले गरेको उक्त कारोवारलाई समावेश नगरेको र केवल वि.के. ट्रडर्सले शिवशक्ति घ्यू उद्योग प्रा.लि. वाट खरिद गरेको उक्त २४६ ड्रम घ्यूको कारोवारलाई मात्र समावेश गरेको कुरा मिसिलवाट देखिन्छ । तसर्थ विक्की ट्रेडर्सको कारोवारलाई पनि वि.के. ट्रेडर्सको कारोवारमा समावेश गरेको भन्ने आसयको पुनरावेदकको भनाई र पुनरावेदनको अनुमती दिनेसम्बन्धमा यस अदालतले लिएको आदेशको आधारसँग सहमत हुन सकिने अवस्था देखिएन । यसको साथै कर निर्धारण गर्दा उक्त ऐनको दफा ३३(४) अनुसार सफाई पेश गर्ने अवसर नै नदिएको भन्ने अवस्था पनि देखिएन ।
३. यसमा विपक्षी कर फर्छ्यौट आयोगले मिति २०५२।१।७ मा करदातालाई आफ्नो कुरा सप्रमाण पुष्टि गर्न आयोगमा वोलाएकोमा नआएको भनी उल्लेख गरेको छ भने यी पुनरावेदकले पनि निवेदनमा आयोगले उपस्थित हुन तोकेकोदिन आयोगमा उपस्थित भएको भनी भन्न नसकेको स्थिति देखिन्छ । यसरी यी करदाता आयोगले वोलाउँदा आफ्नो कुरा सप्रमाण पुष्टि गराउन नगई वसेको र आयोगले खुदआय कायमगरी कर निर्धारण गरेको निर्णय बदर गराउन पुनरावेदनको अनुमती प्राप्त गरी यस अदालतमा आएको देखिन्छ भने यस अदालतबाट भएको मिति २०५८।११।८ को अनुमतीको आदेशमा वि.के. ट्रेडर्स र विक्की ट्रेडर्स अलग अलग फर्म भन्ने निवेदकको जिकिर भएकोमा सोतर्फ सवूत प्रमाण बुझ्दै नबुझी आयकर असूल उपर गर्ने गरेको कर फर्छ्यौट आयोगको निर्णय त्रुटिपूर्ण हुँदा कर फर्छ्यौट आयोग ऐन, २०३३ को दफा १२(२)(ग) बमोजिम पुनरावेदनको अनुमती प्रदान गरिएको देखिन्छ । यसरी कर फर्छ्यौट आयोग ऐन २०३३ को दफा १२ बमोजिम कानूनी प्रश्नमा अनुमती दिने व्यवस्था मै उक्त दफा १२(२)(ग) बमोजिम अनुमती दिंदा आयोगको निर्णयमा उल्लिखित कुन कुराको असान्दर्भिक प्रमाण बुझेको वा कुनै बुझ्न पर्ने प्रमाण नबुझेको हो स्पष्ट गर्न पर्नेमा सो हुन सकेको देखिएन ।
४. पुनरावेदक फर्मले गर्दै नगरेको कारोवारलाई पनि खुदआयमा समावेश गरी कर निर्धारण गरेको भन्ने पुनरावेदन जिकिरको सम्बन्धमा हेर्दा यी पुनरावेदकले आर्थिक वर्ष २०४७।४८ को आय विवरणसम्म पेश गरेको तर कारोवारको लेखा राखेको अवस्था देखिदैन । यसरी आफ्नो कारोवारको लेखा नराख्ने करदाताको हकमा आयकर निर्धारण गर्ने प्रक्रिया र आधारको वारेमा आयकर ऐन, २०३१ को दफा ३३(२) तथा ३३(४) मा व्यवस्था गरिएकोमा कारोवारको लेखा नराख्ने करदाताको आयकर निर्धारण गर्ने आधारहरूको वारेमा उक्त ऐनको दफा ३३(२) को खण्ड (क) देखि (छ) सम्म उल्लेख भएको पाइन्छ । आफ्नो कारोवारको लेखा नराख्ने करदाताको आयकर निर्धारण गर्दा उल्लिखित आधारहरू मध्ये कुनै एक वा सबै आधारहरू कर अधिकृतले अवलम्वन गर्न सक्ने नै देखिन्छ । यी मध्ये कुनै पनि आधारहरू कर कार्यालयले अवलम्वन गरेको छैन भन्ने भनाई पुनरावेदकले लिएको अवस्था छैन । पुनरावेदकले आ.व. २०४७।४८ मा घ्यू को कारोवार गरेको छ भन्ने कुरा शिवशक्ति घ्यू उद्योग प्रा.लि. ले मिति २०४९।१२।१८ मा कर अधिकृत जनकपुरलाई लेखेको पत्रबाट देखिएको हुनाले पुनरावेदकले आ.व. २०४७।४८ मा सूर्य टोबाको प्रा.लि. को चुरोट बापतको कमिशन र सो को धरौटी बापतको कमिसन बाहेक अन्य कारोवार नगरेको भन्ने पुनरावेदन जिकिरसँग सहमत हुन सक्ने अवस्था देखिएन ।
५. कर फर्छ्यौट आयोग २०५१ को निर्णय र निवेदकको मागदावी समेतमा उल्लेख नभएको विक्की टेडर्सका कारोवारको सम्बन्धमा प्रमाण नबुझेको भनी तथ्यको प्रश्नमा प्रवेश गरी पुनर्विचार गर्न नमिल्ने हुनाले यस अदालतको मिति २०५८।११।८।४ को पुनरावेदनको अनुमतीको आदेश व्यहोरासँग सहमत हुन सकिएन । पुनरावेदकले आफ्नो कारोवारको लेखा नराखेको कुरामा विवाद नरहेको र यस्तो अवस्थामा कर निर्धारण गर्दा करदाताको सम्बन्धमा कर कार्यालयलाई प्राप्त तथ्यपूर्ण प्रतिवेदन, कर अधिकृतले बुझेको आधार तथा यस्तै किसिमका अरु करदाताको कारोबार वा व्यवसायमा के कति खुद निर्धारण भएको छ सोको आधार र करदाताको सम्बन्धमा कर अधिकृतले प्राप्त गरेको प्रमाण वा आधार लगायतका विषयलाई आधार लिनु पर्ने वारेमा आयकर ऐनको दफा ३३(२) मा गरिएको व्यवस्थाको आधारमा कर कार्यालय जनकपुरधामले मिति २०५२।२।४ मा गरेको निर्णय र सोलाई सदर गर्ने गरी कर फर्छ्यौट आयोगले खुदआय कायम गरी कर निर्धारण गरेको निर्णय कानूनसम्मत देखिएको हुनाले पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनु ।
उक्त रायमा सहमत छु ।
न्या.भरतराज उप्रेती
इति संवत् २०६५ माघ २८ गते रोज १ शुभम् ––
इजलास अधिकृतः दिपककुमार खरेल