निर्णय नं. ९०४१ - उत्प्रेषण, परमादेश

ने.का.प. २०७०, अङ्क ८
निर्णय नं.९०४१
सर्वोच्च अदालत, संयुक्त इजलास
सम्माननीय का.मु.प्रधान न्यायाधीश श्री दामोदरप्रसाद शर्मा
माननीय न्यायाधीश श्री प्रकाश वस्ती
आदेश मिति : २०७०।५।३१।२
रिट नं. ०६७–WO–१०६४
मुद्दाः उत्प्रेषण, परमादेश ।
निवेदक : पर्सा जिल्ला, अमरपट्टी गा.वि.स. वडा नं. १ घर भई क्षेत्रीय प्लान्ट क्वारोन्टिन कार्यालय, वीरगञ्जमा कृषि सेवा बाली संरक्षण समूहको रा.प.तृ. श्रेणीमा कार्यरत् जीतेन्द्र यादव
विरूद्ध
विपक्षी : लोकसेवा आयोग, केन्द्रीय कार्यालय अनामनगर, काठमाडौसमेत
§ न्यूनतम् शैक्षिक योग्यताको लहरमा लेखिँदैमा सबै शैक्षिक उपाधिको स्तर र मान्यता सामान हुने अर्थ गर्न नमिल्ने ।
(प्रकरण नं.११)
§ कानूनले अख्तियारी दिएको निकायले गरेको निर्णय पूर्वाग्रही, कपटपूर्ण र विधि प्रक्रियाप्रतिकूल रहेको भनी यस अदालतमा चुनौती दिइएको अवस्थामा मात्र सो निर्णयको न्यायिक परीक्षण हुन सक्दछ । अन्यथा अधिकारप्राप्त निकायको विधिसम्मत् प्रक्रियाबाट सम्पन्न भएको निर्णयका हकमा आशंका गर्न नमिल्ने ।
(प्रकरण नं.१२)
§ सर्वोच्च अदालतको उपल्लो इजलासको नजीर सर्वोच्च अदालतकै उपल्लो भन्दा कम न्यायाधीश संलग्न इजलासका लागि र सर्वोच्च अदालतको नजीर मातहातका अदालतसमेतका न्यायिक तथा अर्धन्यायिक निकायलगायत सबैका लागि न्यायाधीश निर्मित कानूनका रूपमा बाध्यकारी हुने ।
(प्रकरण नं.१४)
§ बी.एस्सी. (एग्री.) कै आधारमा एम.एस्सी. इन्टिमोलोजी अध्ययन गरी उत्तीर्ण हुन्छ र सोलाई सम्बन्धित निकायहरूले स्नातकोत्तर मान्दछन् भने त्यो अतिरिक्त शैक्षिक उपाधि हो । सेवा प्रवेश गर्दा बी. एस्सी. (एग्री.) को उपाधि देखाई सेवा प्रवेश गरेकाहरू मध्ये कसैले एम.एस्सी. (एग्री) को शैक्षिक योग्यता प्राप्त गरेको भए अतिरिक्त शैक्षिक उपाधि मानिने, तर कसैले एम.एस्सी. इन्टिमोलोजी गरेको भए नमानिने भनी अर्थ गर्नु तर्कसंगत नहुने ।
(प्रकरण नं.१८)
§ सेवा प्रवेश गर्दा प्राप्त गरेको उपाधिभन्दा माथिल्लो शैक्षिक योग्यताको उपाधि प्राप्त भै सो उपाधि उक्त सेवा समूह वा उपसमूहसँग सम्बन्धित विषयको अतिरिक्त उपाधि भएको स्पष्ट देखिएको अवस्थामा कार्यक्षमता मूल्याङ्कनद्वारा गरिने बढुवामा निवेदकले प्राप्त गरेको उपाधिलाई अतिरिक्त उपाधिको अङ्क प्रदान गरी बढुवा गर्नुपर्ने ।
(प्रकरण नं.१९)
निवेदकतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री हरिप्रसाद उपे्रती, विद्वान अधिवक्ताहरू श्री सतीसकुमार झा र श्री अरूण ज्ञबाली
विपक्षीतर्फबाट: विद्वान सहन्यायाधिवक्ता श्री रेवतीराज त्रिपाठी, विद्वान अधिवक्ता श्री मातृकाप्रसाद निरौला
अवलम्बित नजीर :
सम्बद्ध कानून : नेपाल कृषि सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमावली, २०५० को नियम ७ सँग सम्बन्धित अनुसूची ३ को दयहा (च) ५
आदेश
मा.न्या.श्री प्रकाश वस्ती : नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२) बमोजिम यस अदालतको असाधारण अधिकारअन्तर्गत दायर हुन आएको प्रस्तुत निवेदनको तथ्य र ठहर यस प्रकार छः–
म निवेदक नेपाल कृषि सेवा बाली संरक्षण समूहको रा.प.तृतीय श्रेणीको पदमा मिति २०५१।१२।१३ मा नियुक्ति पाई विभिन्न कार्यालयहरूमा कार्यरत् रहिआएको छु । यसैबीचमा लोकसेवा आयोगको मिति २०६६।६।२७ को गोरखापत्रमा प्रकाशित बढुवा सूचना नं.४२/०६७–०६८ को विज्ञापनबमोजिम नेपाल कृषि सेवा बाली संरक्षण समूहको रा.प. द्वितीय श्रेणीको पद संख्या एक र पछि थप गरिएको एक पद गरी जम्मा पद संख्या दुईमा कार्यक्षमताको मूल्याङ्कनका आधारमा बढुवाद्वारा पूर्ति गर्ने भनी सूचना प्रकाशित गरिएकोमा म निवेदकले पनि सम्भाव्य उम्मेद्वारको हैसियतले बढुवाको दरखास्त फाराम भरी बढुवासम्बन्धी सिफारिश सूचीमा आफ्नो नामसमेत समावेश हुने आशाका साथ प्रतीक्षारत् रहेको थिएँ ।
यसै क्रममा बढुवा समितिको सचिवालयद्वारा मिति २०६७।११।२६ को गोरखापत्रमा प्रकाशित बढुवा सूचीमा मेरो नाम सिफारिश नगरी अन्य व्यक्तिहरूको नाम बढुवाको लागि सिफारिश गरेकोमा सो बढुवा सिफारिशमा मेरो चित्त नबुझेकोले मैले "National Chung Hsing University Taiwan" को "College of Agriculture and Natural Resources" बाट जुलाई ५, २०१० मा हासिल गरेको एम.एस्सी इन्टिमोलोजी (M.Sc Entomology) विषयको शैक्षिक उपाधि आफू कार्यरत् रहेको समूहसँग सम्बन्धित भएको तथा त्रिभुवन विश्वविद्यालयले सम्बन्धित विषयमा मास्टर डिग्रीसरह समकक्षता निर्धारण गरी प्रथम श्रेणी कायम गरिदिएकोले सो शैक्षिक उपाधिबापत अतिरिक्त शैक्षिक योग्यताको अङ्क प्रदान गरी मेरो नाम बढुवाको लागि सिफारिश गरी पाऊँ भनी लोकसेवा आयोगसमक्ष उजूरी गरेकोमा सो उजूरीको सम्बन्धमा आयोगबाट मिति २०६८।१।१९ मा निर्णय हुँदा, “नेपाल कृषि सेवा (गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरू, २०५१ मा नेपाल कृषि सेवा बाली संरक्षण समूहको रा.प. तृतीय श्रेणीको लागि न्यूनतम् शैक्षिक योग्यतामा मान्यता प्राप्त शिक्षण संस्थाबाट बी.एस्सी. (एग्री.) वा प्लाण्ट प्याथोलोजी वा इन्टिमोलोजीमा एम.एस्सी. वा सो सरह उल्लेख भएको र निजले प्राप्त गरेको एम. एस्सी. इन्टिमोलोजी विषयको शैक्षिक उपाधि सेवा प्रवेशको लागि तोकिएको न्यूनतम् शैक्षिक योग्यता भएको देखिँदा बढुवा समितिले सो शैक्षिक उपाधिलाई न्यूनतम् शैक्षिक योग्यता मानी अङ्क गणना गरी बढुवा सिफारिश गरेको मिलेकै देखिएकोले उजूरकर्ताको जिकीर पुग्न नसक्ने भई खारेज हुने ठहर्छ” भन्नेसमेत व्यहोराको निर्णय भएको कुरा सो आयोगको निर्णयको नक्कल माग गर्दा मिति २०६८।१।२१ मा नक्कल प्राप्त भई थाहा जानकारी हुन आएकोले अन्यायमा परी न्यायिक उपचारको निमित्त सम्मानीत अदालतमा प्रस्तुत रिट निवेदन लिई उपस्थित भएको छु ।
मैले प्राप्त गरेको उक्त उपाधि ताईवानको "National Chung Hsing University" अन्तर्गत "Collage of Agriculture and Natural Resources" बाट हासिल गरेको उपाधि हो । अर्थात् उक्त उपाधि विशुद्ध विज्ञान (Pure Science) तर्फको उपाधि नभई कृषि विज्ञान (Agriculture Faculty) तर्फको उपाधि हो भन्ने कुरामा कुनै विवाद छैन । मैले बी.एस्सी.(एग्री) को उपाधि हासिल गर्दा अध्ययन गरेका विषयहरू मध्येको इन्टिमोलोजी विषयसमेत अध्ययन गरेको कुरा मैले हासिल गरेको बी.एस्सी (एग्री) को ट्रान्सक्रिप्टबाट प्रष्ट देखिन्छ ।
बी. एस्सी. (एग्री.) अध्ययन गर्दा कृषिसँग सम्बन्धित जे जुन विषयहरू अध्ययन गरिन्छन् तिनै विषयहरू मध्ये कुनै विषयमा स्नातकोत्तर तहको अध्ययन गरिने हुनाले मैले बी.एस्सी. (एग्री.) मा अध्ययन गरेको कृषिसम्बन्धी विषयहरू मध्ये इन्टिमोलोजी विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुँ । सो उपाधि कृषि विषयअन्तर्गतकै स्नातकोत्तर उपाधि हो भन्ने कुरा सो शैक्षिक उपाधिको प्रमाणपत्रले नै बताइरहेको अवस्था छ । उक्त शैक्षिक उपाधिलाई त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले मिति २०६७।४।३१ मा सम्बन्धित विषयमा मास्टर्स डिग्री सरह भनी समकक्षता निर्धारण गरेको अवस्था छ भने नि.से.नि. को नियम १२७ बमोजिमको सम्बद्धता निर्धारण समितिबाट मिति २०६७।९।२० को निर्णयअनुसार मैले हासिल गरेको उक्त शैक्षिक उपाधिलाई नेपाल कृषि सेवा बाली संरक्षण समूहसँग सम्वद्धता निर्धारण गर्ने गरी निर्णय भएको छ । सामान्य प्रशासन मन्त्रालयका सचिव स्वयम् सम्बद्धता समितिमा बसी निर्णय गरेको अवस्थामा निजकोसमेत प्रतिनिधित्व भएको बढुवा समितिले सोबापत अङ्क नदिने निर्णय गर्नु आफैंमा विरोधाभाषपूर्ण छ ।
सम्बद्धता समितिले मिति २०६७।९।२० मा नै सम्बद्धता निर्धारण गर्ने निर्णय गरेको र बढुवा समितिले बढुवाको लागि सिफारिश गर्ने मिति २०६७।११।२५ को निर्णयानुसार मिति २०६७।११।२६ मा बढुवाको नतिजा प्रकाशन गरेको अवस्थामा बढुवा समितिले सम्बद्धता समितिको उक्त निर्णयबारे जानकारी लिई नि.से.ऐनको दफा २४घ (८) र नि.से.नि.को नियम १२७ बमोजिम सो शैक्षिक उपाधिको अङ्क प्रदान गर्नुपर्ने कानूनी कर्तव्यबाट विचलित भएको प्रष्ट देखिन्छ ।
बी. एस्सी. (एग्री) गरिसकेपछि कृषि महाविद्यालय (Agriculture College) बाटै एम.एस्सी. गरेको हुनाले सो उपाधि एम. एस्सी. (एग्री) सरहकै उपाधि हो । अध्ययनको प्रमुख विषय इन्टिमोलोजी भएको कारणले मात्र एम.एस्सी. इन्टिमोलोजी भनिएको हो । सो कुरा "National Chung Hsing University Taiwan" को ६ मे २०११ तथा "Institute of Agriculture and Animal Science (IAAS) Department of Entomology, Rampur, Chitwan" को मिति २०६८।१।२६ को पत्रबाटसमेत पुष्टि भएको छ । विशुद्ध विज्ञानतर्फको एम.एस्सी. इन्टिमोलोजीमा इन्टिमोलोजीका आधारभूत (Basic) कुराहरू मात्र अध्ययन गराइने हुनाले त्यस्तो उपाधिलाई रा.प.तृ श्रेणीको पदमा सेवा प्रवेशको योग्यताको रूपमा समावेश गरेको अर्थात् बी.एस्सी. (एग्री) को वैकल्पिक उपाधिको रूपमा राखिएको पाइन्छ । तर, बी.एस्सी (एग्री) पछि अध्ययन गरी मैले हासिल गरेको उक्त उपाधिअन्तर्गत अध्ययन गराइने इन्टिमोलोजी विषयको अध्ययन गराउँदा इन्टिमोलोजीको उपल्लो (Advanced) कुरा अध्यापन गराइने हुनाले प्रस्तुत विवादको निरोपण गर्दा सो कुन स्तरको शैक्षिक उपाधि (Degree) हो भन्ने कुरा गहिराइका साथ बुझ्नु जरूरी हुन आउँछ ।
विपक्षीहरूको उक्त काम कारवाही र निर्णयबाट मलाई अन्तरिम संविधानको धारा १२(३)(च), १३ (१) र १९(१) द्वारा प्रदत्त मौलिक हक तथा माथि उल्लिखित निजामती सेवा ऐन र नि.से.नि. द्वारा प्रदत्त कानूनी हकहरूकोसमेत हनन् भएकोले ती हकहरू प्रचलन गराउन अन्य वैकल्पिक एवं प्रभावकारी उपचारको व्यवस्था नभएकोले अन्तरिम संविधानको धारा ३२ र १०७(२) बमोजिम प्रस्तुत रिट निवेदन लिई सम्मानीत अदालतसमक्ष उपस्थित भएको छु ।
मैले हासिल गरेका एम. एस्सी. इन इन्टिमोलोजी शैक्षिक योग्यतालाई सेवा प्रवेशको न्यूनतम् शैक्षिक योग्यताभन्दा माथिल्लो शैक्षिक योग्यताको मान्यता नदिने गरी भएको बढुवा समितिको मिति २०६७।११।२५ को निर्णय सो बढुवा समितिको निर्णयलाई नै सदर गर्ने गरी आयोगबाट भएको मिति २०६८।१।१९ को निर्णय एवं सो निर्णयबमोजिम विपक्षीहरूलाई बढुवा नियुक्ति दिने निर्णय, बढुवा नियुक्ति पत्र, पदस्थापना पत्रलगायत मलाई प्रतिकूल असर पर्ने गरी विपक्षीहरूबाट यस सम्बन्धमा गरे भएका यावत् काम कारवाही र निर्णयहरूलाई उत्प्रेषणको आदेशले बदर गरी निवेदकले प्राप्त गरेको एम.एस्सी इन इन्टिमोलोजीको शैक्षिक उपाधिलाई माथिल्लो उपाधिबापतको पाउनु पर्ने अङ्क प्रदान गरी निवेदकलाई अन्य उम्मेद्वारहरू सरह जेष्ठता कायम गर्ने गरी नि.से.नि. को नियम ८४ बमोजिम बढुवा नियुक्ति दिई नियमानुसार पाउने तलब भत्ता र सुविधासमेत प्रदान गर्नु भन्ने परमादेशलगायत अन्य जो चाहिने उपयुक्त आदेश जारी गरी पूर्ण न्याय पाऊँ भन्ने निवेदन पत्र ।
निवेदन मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो, आदेश जारी हुनु नपर्ने कुनै कारण भए यो आदेश प्राप्त भएका मितिले बाटाका म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेश गर्नु भनी सूचना दिनु भन्ने यस अदालतको आदेश ।
नेपाल कृषि सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरू, २०५१ ले नेपाल कृषि सेवा, बाली संरक्षण समूह, रा.प.तृतीय श्रेणीको लागि न्यूनतम् शैक्षिक योग्यता, “मान्यता प्राप्त शिक्षण संस्थाबाट बी.एस्सी (एग्री) वा प्लाण्ट प्याथोलोजी वा इन्टिमोलोजीमा एम.एस्सी वा सो सरह” भन्ने तोकिएको देखिन्छ । निवेदक जीतेन्द्र यादवले आफ्नो दरखास्त फाईल साथ एम. एस्सी. इन्टिमोलोजीको शैक्षिक उपाधिको छायाँप्रति पेश गर्नु भएकोमा सो शैक्षिक उपाधि उक्त सेवा समूहको न्यूनतम् शैक्षिक योग्यतासरह देखिएकोले निजले प्राप्त गरेको उक्त उपाधिलाई सेवा प्रवेशको लागि तोकिएको न्यूनतम् शैक्षिक योग्यता सरहको अङ्क प्रदान गरी कार्यक्षमता मूल्याङ्कन गर्दा निज बढुवा सिफारिश सूचीभित्र पर्न नसक्नु भएको हो । बढुवा समितिको सिफारिशउपर निज यादवले लोकसेवा आयोगमा उजूरी गरेकोमा आयोगको निर्णयअनुसार बढुवा समितिको सिफारिश यथावत् कायम भएकोले बढुवा नियुक्तिको लागि आवश्यक कारवाही अघि बढाइएको हुँदा रिट निवेदन खारेजयोग्य छ भन्ने बढुवा समिति, सामान्य प्रशासन मन्त्रालयको लिखित जवाफ ।
नेपाल कृषि सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरू, २०५१ मा नेपाल कृषि सेवा, बाली संरक्षण समूह, रा.प.तृतीय श्रेणीको लागि न्यूनतम् शैक्षिक योग्यतामा मान्यता प्राप्त शिक्षण संस्थाबाट बि.एस्सी (एग्री) वा प्लाण्ट प्याथोलोजी वा इन्टिमोलोजीमा एम.एस्सी वा सो सरह भएको र निजले प्राप्त गरेको एम. एस्सी. इन्टिमोलोजी विषयको शैक्षिक उपाधि सेवा प्रवेशको लागि तोकिएको न्यूनतम् शैक्षिक योग्यतामात्र भएको देखिँदा सो शैक्षिक उपाधिलाई न्यूनतम् शैक्षिक योग्यता मानी अङ्क गणना गरी बढुवा सिफारिश गरेको कानूनसम्मत् हुँदा रिट निवेदन खारेजभागी छ, खारेज गरी पाऊँ भन्ने लोकसेवा आयोगको लिखित जवाफ ।
रिट निवेदकले यस मन्त्रालयलाई किन विपक्षी बनाउनु भएको हो र यस मन्त्रालयको के कुन कार्यले निजलाई अन्याय परेको हो भन्ने स्पष्ट पार्नु भएको छैन । रिट निवेदकले हासिल गरेको इन्टिमोलोजीमा एम.एस्सी को शैक्षिक उपाधिलाई त्रि.वि.ले माष्टर डिग्रीसरह भनी समकक्षता निर्धारण गरी दिएको र निज रिट निवेदक कृषि विषयमा स्नातक गरी सेवा प्रवेश गरेकोले निजले हासिल गरेको स्नातकोत्तर तहको उपाधिलाई माथिल्लो योग्यता मानी यस मन्त्रालयबाट निजामती सेवा नियमावली, २०५० को नियम १२७ बमोजिम सो शैक्षिक उपाधिलाई नेपाल कृषि सेवाअन्तर्गत बाली संरक्षण समूहसँग सम्वद्धता प्रदान गरिदिएकै छ । यसर्थ रिट निवेदकले बिनाकारण र आधारमा यस मन्त्रालयलाई विपक्षी बनाउनु भएको देखिएकाले यस मन्त्रालयलाई विपक्षी बनाएको हदसम्म उक्त रिट निवेदन खारेजयोग्य हुन गएको छ । नेपाल कृषि सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरू, २०५१ ले नेपाल कृषि सेवा, बाली संरक्षण समूह, रा.प.तृतीय श्रेणीको लागि न्यूनतम् शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट बी.एस्सी (एग्री) वा प्लाण्ट प्याथोलोजी वा इन्टिमोलोजीमा एम.एस्सी वा सो सरह उल्लेख गरेको छ । जसको अर्थ बी.एस्सी (एग्री) नगरेकाको हकमा इन्टिमोलोजीमा एम.एस्सी (प्योर साईन्स) वा सो सरह गरेको भए सो अवस्थामा त्यस्तो माष्टर डिग्रीलाई पनि सेवा प्रवेशको लागि तोकिएको न्यूनतम् शैक्षिक योग्यता मान्नुपर्ने हुन्छ । तर, बी.एस्सी.(एग्री) गरेकाको हकमा इन्टिमोलोजीमा गरेको एम. एस्सी. लाई अतिरिक्त उपाधि मान्नुपर्ने हुन्छ भन्ने कृषि तथा सहकारी मन्त्रालयको लिखित जवाफ ।
सर्वप्रथम यस मन्त्रालयको के कुन काम कारवाहीबाट विपक्षीको के कस्तो हक अधिकार हनन् भएको हो रिट निवेदनमा स्पष्ट दावी लिन सकेको नदेखिँदा बिनाआधार र कारण यस मन्त्रालयलाईसमेत विपक्षी बनाई दायर गरिएको रिट खारेजयोग्य छ । एम.एस्सी. इन्टिमोलोजी उपाधिबापत माथिल्लो शैक्षिक योग्यताबापतको अङ्क नदिएको विषयमा, सो उपाधि उक्त पदको न्यूनतम् शैक्षिक योग्यताको रूपमा सेवा समूहसम्बन्धी नियमावलीमा व्यवस्था भइरहेकोमा उक्त उपाधिबापत माथिल्लो शैक्षिक योग्यताको अङ्क दिन मिल्ने नदेखिएकोले बढुवा समिति तथा लोकसेवा आयोगबाट भएको निर्णय बदरयोग्य नभएको हुँदा रिट खारेजयोग्य छ । यस मन्त्रालयबाट विपक्षीको संवैधानिक तथा कानूनी हक अधिकारमा आघात पुग्ने गरी कुनै काम कारवाही नभएको नगरेको हुँदा प्रस्तुत रिट निवेदन खारेज गरी पाऊँ भन्ने सामान्य प्रशासन मन्त्रालयको लिखित जवाफ ।
म लिखित जवाफवालाले एस.एल.सी.मा प्रथम श्रेणी, आई.एस्सी. द्वितीय श्रेणी, बढुवाको लागि आवश्यक न्यूनतम् शैक्षिक योग्यता बी.एस्सी. (एग्री) प्रथम श्रेणी र माथिल्लो शैक्षिक योग्यता एम.एस्सी. (एग्री) प्रथम श्रेणीको अङ्क हासिल गरी उत्तीर्ण गरेको छु । आफ्नो अध्ययनको विषयसँग सम्बन्धित नेपाल कृषि सेवा बाली संरक्षणको समूहको बाली संरक्षण अधिकृत पदमा प्रतिस्पर्धात्मक परीक्षामा उत्तीर्ण भएको हुँ । नेपाल कृषि सेवाको रा.प. द्वितीय श्रेणीमा बढुवा समितिले बढुवाका सम्भाव्य उम्मेद्वारहरूको कार्यक्षमताको आधारमा तयार पारिएको बढुवा योग्यताक्रम निर्धारण गर्दा म लिखित जवाफवाला योग्यताक्रम संख्या २ मा कायम रहेको थिएँ । सो बढुवा सिफारिशमा चित्त नबुझाई विपक्षीले लोकसेवा आयोगसमक्ष उजूरी गरेकोमा आयोगबाट साविक निर्णय नै यथावत् कायम हुने निर्णय भएबमोजिम मिति २०६८।१।२१ को नेपाल सरकारको निर्णयानुसार बढुवा भएको सो पदमा नियुक्ति पाई पद तथा जिम्मेवारीमा रही हालसम्म कार्यरत् छु ।
रिट निवेदकले निवेदनमा नेपाल सरकारले मनोनीत गरी अध्ययन गर्न पठाएको भनी लेखिएको व्यहोरा सत्य होइन । विपक्षी स्वयंले विश्वविद्यालय तथा अध्ययनको विषयसमेत छनौट गरी तलबी बिदा माग गर्नु भएको हुँदा बिदा स्वीकृतसम्म नेपाल सरकारबाट भएको हो । विपक्षी स्वयंले छनौट गरी उच्च शिक्षा अध्ययन गरेको सो विषय अर्थात् एम.एस्सी. इन्टिमोलोजी सेवा प्रवेशको लागि न्यूनतम् योग्यता हो, अतिरिक्त शैक्षिक योग्यता होइन ।
नेपाल कृषि सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरू २०५० को नियम ७ को न्यूनतम् शैक्षिक योग्यता तथा ११ बमोजिमको अनुसूची ३ अनुसार सेवा प्रवेशका लागि चाहिने न्यूनतम् योग्यतासम्बन्धी व्यवस्थाको देहाय (च)५. मा राजपत्राङ्कित तृतीय श्रेणीको पदका लागि न्यूनतम् शैक्षिक योग्यता (मान्यता प्राप्त शिक्षण संस्थाबाट बी. एस्सी. (एग्री) वा प्लाण्ट प्याथोलोजी वा इन्टिमोलोजीमा एम. एस्सी वा सो सरह उत्तीर्ण भनी निर्धारण गरिएको छ । जसबाट विपक्षीले हासिल गरेको एम.एस्सी. इन्टिमोलोजीको डिग्री केवल सेवा प्रवेशको लागि न्यूनतम् डिग्री हो भन्ने प्रष्ट छ । सेवा प्रवेशका लागि निर्धारित न्यूनतम् शैक्षिक योग्यता माथिल्लो तहमा बढुवाका लागि वाञ्छनीय योग्यता कदापि हुन सक्दैन, विपक्षीको रिट निवेदन खारेजभागी छ ।
विपक्षीले दावी गरेबमोजिम मण्डल सरबाट लेखाई लिएको पत्र तथा "National Chung Hsing University" बाट लेखाई लिएको पत्र उहाँको निजी सम्बन्ध र सम्पर्कका उत्पत्ति हुन् । ती यत्तिकै प्रमाणमा ग्राह्य हुँदैनन् । तापनि ती पत्रहरूलेसमेत निजले हासिल गरेको डिग्री एम.एस्सी. इन्टिमोलोजी नै हो भन्ने थप पुष्टि गरेको छ । विपक्षीले नै आफ्नो व्यक्तिगत पहुँचमा लेखाई ल्याएका ती पत्रलाई ग्रहण गरी हेर्दा पनि विपक्षीले ताईवानबाट सेवा प्रवेशका लागि चाहिने न्यूनतम् शैक्षिक योग्यता एम. एस्सी. इन्टिमोलोजी नै हासिल गरेको विपक्षी स्वयंले प्रष्ट पारेको देखिन्छ । विपक्षीले दावी गरेको सम्बद्धता वा समकक्षतासम्बन्धी निर्णयले पनि विपक्षीले हासिल गरेको उपाधिलाई एम.एस्सी. इन्टिमोलोजी मानेको छ । सो डिग्री सेवा प्रवेशका लागि तोकिएको न्यूनतम् शैक्षिक योग्यता नै भएको, सो एम.एस्सी. इन्टिमोलोजी न्यूनतम् शैक्षिक योग्यता होइन सेवा प्रवेशका लागि चाहिने डिग्रीभन्दा माथिल्लो डिग्री हो भनी विपक्षीले उजूर बाजूर गरी बदर वातिल नगराई स्वीकार गरी बसेको र नेपाल कृषि सेवा (गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरू, २०५० को नियम ७ अनुसूची ३ ले निर्धारण गरेको न्यूनतम् शैक्षिक योग्यता सो अनुसूची ३ को देहाय (च) ५. ले प्रष्ट गरेको छ । विपक्षीको डिग्री माथिल्लो डिग्री नै मानिए पनि उक्त कानूनी व्यवस्थाको परिपे्रक्षमा बी.एस्सी (एग्री) सरहको सो सेवा प्रवेशको न्यूनतम् योग्यता भएकोले लोकसेवा आयोगसमेतले सोही आधारमा मूल्याङ्कन गरेको र मैले पनि अन्यथा उजूरबाजूर गर्नै नपर्ने भएको हो ।
कृषि सेवा नियमहरू, २०५० को नियम ७ बमोजिम अनुसूची ३ को कानूनी व्यवस्थाले बी. एस्सी (एग्री) वा प्लाण्ट प्याथोलोजी वा इन्टिमोलोजीमा एम.एस्सी.लाई एकै स्तरमा राखेको प्रष्ट छ । एम.एस्सी. हुनेवित्तिकै इन्टिमोलोजी विषयको रहेछ भने माथिल्लो उपाधि हुनै सक्दैन केवल सेवा प्रवेशका लागि आवश्यक तल्लो र न्यूनतम् शैक्षिक योग्यता हुन जान्छ । त्यसैले सोही (च)६ मा द्वितीय श्रेणीमा सेवा प्रवेशका लागि सबै विषयमा एक तह माथिको उपाधि चाहिने अनिवार्य व्यवस्था गरेको हुँदा विपक्षीले सोही इन्टिमोलोजीमा विद्यावारिधि हासिल गर्नुपर्ने हुन्छ वा निजले बी. एस्सी (एग्री) गरी सेवा प्रवेश गरेको हुँदा अब एम. एस्सी. (एग्री) को उपाधि हासिल गर्नुपर्ने व्यवस्था कानूनले गरेको छ । उल्लिखित कानूनले नै सो प्रष्टसँग एम.एस्सी इन इन्टिमोलोजीलाई सेवा प्रवेशको न्यूनतम् शैक्षिक योग्यता निर्धारण गरेको देख्दादेख्दै त्यही डिग्री हासिल गरी पेश गर्ने र न्यूनतम् योग्यतालाई अतिरिक्त उपाधि मान्नु पर्दछ भन्ने विपक्षीको भनाईबाट निजलाई कानून मिचेर बढुवा दिनुपर्दछ भन्ने देखिन्छ । कानूनसम्मत् आधारमा लोकसेवा आयोग तथा बढुवा समितिबाट भए गरेको निर्णय तथा कामकारवाहीले विपक्षीको कुनै हक हनन् नभएको हुँदा झूठ्ठा तथा बद्नियतपूर्ण रिट निवेदन खारेजभागी छ, खारेज गरी पाऊँ भन्ने विपक्षी होमनाथ लम्सालको लिखित जवाफ ।
म लिखित जवाफ प्रस्तुतकर्ता नारायणकुमार श्रेष्ठले एस.एल.सी. मा प्रथम श्रेणी आई.एस्सी. (एग्री.) प्रथम श्रेणी बढुवाको लागि न्यूनतम् आवश्यक योग्यता बी.एस्सी.(एग्री.) प्रथम श्रेणी र माथिल्लो शैक्षिक योग्यता एम.एस्सी.(एग्री.) प्रथम विशिष्ट श्रेणीको उच्च अङ्क हासिल गरी उत्तीर्ण गरेको छु । आफ्नो अध्ययनको विषयसँग सम्बन्धित लोकसेवा आयोगद्वारा लिइएको नेपाल कृषि बाली संरक्षण समूहको बाली संरक्षण अधिकृत पदमा प्रतिस्पर्धात्मकरूपले परीक्षामा उत्तीर्ण भई २०५४ सालदेखि नियुक्ति पाई आफ्नो जिम्मेवारी पूरा गर्दै आइरहेको छु ।
मिति २०६७।६।२७ को लोकसेवा आयोगद्वारा गोरखापत्रमा प्रकाशित सूचनामा रिक्त कृषि सेवा, बाली संरक्षण समूहको रा.प. द्वितीय पद संख्या दुई मिति २०६७ साल असार मसान्तसम्ममा कार्यक्षमता र योग्यता पुगेका सम्भाव्य उम्मेद्वारबाट दरखास्त आव्हान भएअनुसार आफूले योग्य ठानी उक्त उम्मेद्वारको फाराम भरेपछि बढुवा समितिले बढुवाको कार्यक्षमता र योग्यताको आधारमा योग्यताक्रम निर्धारण गर्दा म लिखित जवाफवालालाई योग्यताक्रम संख्या १ मा कायम गरी त्यसउपर कसैले दावी गर्ने वा बदर गर्ने गराउनेतर्फ प्रयास भएन र मेरो योग्यताक्रम संख्या १ मा नै अन्तिम रूपले कायम भएको थियो । पछि सामान्य प्रशासन मन्त्रालय बढुवा समितिको सचिवालयबाट २०६७।११।२६ मा प्रकाशित सूचनामा लोकसेवा आयोगको बढुवा सूचनाबमोजिम निजामती सेवा ऐन, २०४९ को दफा २०(४) र दफा २४(च) को प्रयोजनको लागि प्रकाशित सूचनामा नेपाल कृषि सेवा बाली संरक्षण समूहको बाली संरक्षण अधिकृत (प्रा.) रा.प. द्वितीय श्रेणीमा योग्यताक्रम संख्या १ मा नै म लिखित जवाफवालाको नाम प्रकाशित भएको हो । हाल उक्त बढुवा भएको पदमा नियुक्ति पाई आफ्नो जिम्मेवारी कर्तव्य सम्झी हाल उक्त पदमा कार्यरत् छु ।
विपक्षीले, "National Chung Hsing University Taiwan" बाट हासिल गरेको एम.एस्सी. इन इन्टिमोलोजी उपाधि सेवा प्रवेशको लागि न्यूनतम् शैक्षिक योग्यता हो, अतिरिक्त योग्यता होइन । नेपाल कृषि सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरू, २०५१ मा नेपाल कृषि सेवा बाली संरक्षण समूहको रा.प. तृतीय श्रेणीको लागि न्यूनतम् शैक्षिक योग्यतामा मान्यता प्राप्त शिक्षण संस्थाबाट बी.एस्सी.(एग्री.) वा प्लान्ट प्याथोलोजी वा इन्टिमोलोजीमा एम.एस्सी. वा सो सरहको उल्लेख भएको छ । जसको अर्थ निजले प्राप्त गरेको एम. एस्सी इन इन्टिमोलोजी विषयको शैक्षिक उपाधि सेवा प्रवेशको लागि तोकिएको न्यूनतम् शैक्षिक योग्यतामात्र भएको पुष्टि गर्दछ ।
म तथा मेरो कारणबाट विपक्षीको कुनै हक हनन् भएको छैन, नेपालको संविधान र प्रचलित कानून, प्राकृतिक न्याय र समन्यायको सिद्धान्तमा आधारित मैले कानूनसम्मत् ढङ्गले बढुवा नियुक्ति पाई कार्यभार सम्हाली आएको कुरामा कुनै दुई मत छैन । विपक्षीले अस्वाभाविक र कानून प्रतिकूलताको माग दावी प्रस्तुत गरी अनावश्यक मुद्दा मामिला गरी दुःख हैरानी दिने नियतले मात्र गरेको हुँदा उक्त रिट निवेदन खारेजभागी छ ।
विपक्षीले नेपाल कृषि सेवा बाली संरक्षण समूहको वरिष्ठ बाली संरक्षण अधिकृत (प्रा) रा.प. द्वितीय श्रेणीमा योग्यता क्रम संख्या १ मा म लिखित जवाफवालाको नाम प्रकाशित भई सो बढुवा सिफारिशमा चित्त नबुझी लोकसेवा आयोगसमक्ष उजूरी दर्ता गरेकोमा आयोगबाट बढुवाकै निर्णयलाई सदर गरी मिति २०६८।१।२१ को नेपाल सरकारको निर्णयअनुसार बढुवा भएको सो पदमा नियुक्ति पाई पदीय जिम्मेवारीमा रही हालसम्म कार्यरत् छु । उल्लिखित प्रचलित कानूनको व्यवस्था र योग्यता र क्षमताको आधारमा उत्कृष्ट अङ्कका साथ मेरो बढुवा भएको हो । विपक्षीले आफ्नो बढुवा हुनको लागि आवश्यक शैक्षिक योग्यता र क्षमताको ख्यालै नगरी निजले प्राप्त गरेको एम.एस्सी इन इन्टिमोलोजी विषयको शैक्षिक उपाधिको सेवा प्रवेशको लागि तोकिएको न्यूनतम् शैक्षिक योग्यता भएकोले सोहीअनुसार अङ्क गणना गरी विपक्षीको बढुवा हुन नसकेको स्वाभाविक र न्यायसम्मत् भएकोले लोकसेवा आयोग र बढुवा समितिबाट भएको निर्णयबाट विपक्षीको कुनै हकमा आघात नभएको हुँदा उक्त झूठ्ठा रिट निवेदन खारेजभागी छ, खारेज गरी पाऊँ भन्ने नारायणकुमार श्रेष्ठको लिखित जवाफ ।
नियमबमोजिम दैनिक पेशी सूचीमा चढी आएको प्रस्तुत रिट निवेदनमा निवेदकतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री हरिप्रसाद उपे्रती, विद्वान अधिवक्ताहरू श्री सतीशकुमार झा र श्री अरूण ज्ञबाली विपक्षी लोकसेवा आयोगसमेत का तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री रेवतीराज त्रिपाठी, विपक्षी होमनाथ लम्सालतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री मातृकाप्रसाद निरौलाले बहस गर्नुभयो । साथै उहाँहरूले आ–आफ्ना पक्षबाट बहसनोटसमेत प्रस्तुत गर्नुभयो ।
२. निवेदकतर्फबाट उपस्थित कानून व्यवसायीहरूले रिट निवेदकले बी.एस्सी (एग्री.) को शैक्षिक उपाधिको आधारमा सेवा प्रवेश गरी सेवा प्रवेशपश्चात् सो उपाधिभन्दा माथिल्लो कृषि विज्ञानको उपाधि हासिल गरेको हो । नेपाल कृषि सेवा बाली संरक्षण समूहको रा.प. तृतीय श्रेणीको सेवा प्रवेशको लागि तोकिएको बी.एस्सी. (एग्री.) को एउटा योग्यता हो भने बी. एस्सी. (एग्री.) को योग्यता नभएका व्यक्तिको हकमा त्यसको विकल्पमा विशुद्ध विज्ञानको इन्टिमोलोजी विषयमा एम.एस्सी गरेको पनि सेवा प्रवेशको लागि योग्य भनिएको हो । इन्टिमोलोजी विषयमा एम.एस्सी. भन्नाले सो उपाधि विशुद्ध विज्ञानको उपाधिलाई जनाउँछ भने बी.एस्सी. (एग्री.) को उपाधि कृषि विज्ञानअन्तर्गतको उपाधि भएकाले यी दुई उपाधि सारभूतरूपमै फरक छन् । सेवा प्रवेशका लागि आवश्यक यी दुई उपाधि फरक भएकाले नै नियममा सोहीबमोजिम व्यवस्था गरिएको हो । बी.एस्सी. (एग्री.) भन्दा माथिल्लो उपाधिमा इन्टिमोलोजीमा एम.एस्सी. हुने र विशुद्ध विज्ञान विषयमा पनि इन्टिमोलोजी हुने भए पनि कृषि विज्ञानअन्तर्गतको इन्टिमोलोजीमा विस्तृतरूपमा अध्ययन हुने, तर विशुद्ध विज्ञानअन्तर्गत आधारभूत विषयहरू मात्र अध्ययन हुने हुन्छ । एम.एस्सी. (एग्री.) को इन्टिमोलोजी विषय भनेको विशुद्ध विज्ञानको एम. एस्सी. इन्टिमोलोजीभन्दा माथिको विषय हो भन्ने कुरामा विवाद छैन । निवेदकले हासिल गरेको शैक्षिक योग्यतालाई त्रि.वि. ले समकक्षता निर्धारण गर्दा पनि विशुद्ध विज्ञानअन्तर्गतको उपाधि नमानी कृषि विज्ञानअन्तर्गतको स्नातकोत्तर तहको उपाधि मानेको छ ।
३. रिट निवेदकले प्राप्त गरेको उपाधि बी.एस्सी. (एग्री.) भन्दा माथिको उपाधि भएकोमा सो उपाधिलाई सेवा प्रवेशको शैक्षिक योग्यतामा भन्दा माथिको योग्यताको मान्यता नदिने गरी भएको बढुवा समितिको निर्णय र सो निर्णयलाई सदर गर्ने लोकसेवा आयोगको निर्णय त्रुटिपूर्ण भएकाले उत्प्रेषणको आदेशले बदर गरी निवेदकले प्राप्त गरेको शैक्षिक उपाधिबापत पाउनुपर्ने अङ्क प्रदान गरी बढुवा नियुक्ति दिनु भनी परमादेशसमेत जारी हुनुपर्छ भन्नेसमेत बहस गर्नुभयो ।
४. विपक्षी लोकसेवा आयोगसमेत तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ताले नेपाल कृषि सेवाको रा.प. तृतीय श्रेणीमा सेवा प्रवेशको लागि बी.एस्सी. (एग्री.) वा प्लाण्ट प्याथोलोजी वा इन्टिमोलोजीमा एम.एस्सी. वा सो सरह उत्तीर्ण गरेको नियमको व्यवस्था भएकाले स्वाभाविकरूपमा इण्टिमालोजीमा एम.एस्सी. गरेको रिट निवेदकको शैक्षिक योग्यता सेवा प्रवेशकै योग्यता हो । सेवा प्रवेशका लागि कानूनले विभिन्न शैक्षिक योग्यता तोकेकोमा त्यसरी तोकिएको न्यूनतम् योग्यता अतिरिक्त शैक्षिक योग्यता हुन सक्तैन । कानूनमा भएको व्यवस्था यथास्थितिमा रहेसम्म निवेदकको उपाधि अतिरिक्त उपाधि हुन सक्तैन । निवेदकले प्राप्त गरेको एम.एस्सी इन इन्टिमोलोजीको शैक्षिक उपाधि न्यूनतम् शैक्षिक योग्यताको रूपमा रहनु उपयुक्त हो वा होइन भन्ने कुरा बौद्धिक छलफलको विषय बन्न सक्ने भए पनि नेपाल कृषि सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरू, २०५० को नियम ७ अनुसूची ३ को देहाय (च)५ को व्यवस्था कायम रहेसम्म निवेदकको शैक्षिक उपाधि अतिरिक्त शैक्षिक योग्यता मान्न सकिँदैन । कानूनको उक्त व्यवस्थामा कुनै किसिमको अस्पष्टता वा द्विविधा नभएकोले कानून नै स्पष्ट रहेको अवस्थामा व्याख्याको आवश्यकता पनि छैन । निवेदकले हासिल गरेको उपाधि सेवा प्रवेशको लागि आवश्यक न्यूनतम् योग्यता भएकाले अतिरिक्त योग्यता नमानी बढुवा समितिले गरेको निर्णयलाई सदर गरेको लोकसेवा आयोगको निर्णय कानूनसम्मत् भएकाले रिट खारेज हुनुपर्छ भन्नेसमेत बहस गर्नुभयो ।
५. विपक्षी होमनाथ लम्सालतर्फबाट उपस्थित विद्वान अधिवक्ताले कृषि सेवाको रा.प. तृतीय श्रेणीमा सेवा प्रवेशको लागि आवश्यक योग्यतामा बी.एस्सी. (एग्री.) वा प्लाण्ट प्याथोलोजी वा इन्टिमोलोजीमा एम.एस्सी. गरेको भन्ने नियममा स्पष्ट व्यवस्था छ । रिट निवेदकले प्राप्त गरेको शैक्षिक योग्यता एम.एस्सी. इन्टिमोलोजी भएकाले सो उपाधि बी.एस्सी. (एग्री.) वा प्लाण्ट प्याथोलोजीमा एम. एस्सी. सरह मात्र हो । नियममा प्रष्टरूपमा एम.एस्सी. इन्टिमोलोजीलाई सेवा प्रवेशको लागि आवश्यक न्यूनतम् शैक्षिक योग्यता भन्ने व्यवस्था भएकाले निवेदकको उपाधि अतिरिक्त हुनै सक्तैन । नेपाल कृषि सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमावली, २०५० को नियम ७ अनुसूची ३ को देहाय (च)५ मा प्रयोग भएका बी.एस्सी. (एग्री.) वा प्लाण्ट प्याथोलोजीमा एम. एस्सी. वा इन्टिमोलोजीमा एम. एस्सी. भन्ने सबै शब्दहरू सजातीय शब्द हुन् । कानूनको सजातीय शब्दको व्याख्या गर्दा त्यस्तो सजातीयमध्ये कुनै शब्दलाई अलग गरी पृथक स्तर कायम गर्न कानून व्याख्यासम्बन्धी "Ejusdem Generis" को सिद्धान्तले मिल्दैन । रिट निवेदकले प्राप्त गरेको उपाधि सेवा प्रवेशको मात्र भएकाले बढुवा प्रयोजनको लागि एम.एस्सी. (एग्री.) वा विद्यावारिधि गर्नैपर्छ । यस अवस्थामा रिट निवेदकलाई अतिरिक्त शैक्षिक योग्यताको अङ्क प्रदान नगर्ने गरेको बढुवा समिति र लोकसेवा आयोगको निर्णयमा कुनै कानूनी त्रुटि नभएकाले रिट निवेदन खारेज हुनुपर्छ भन्नेसमेत बहस गर्नुभयो ।
६. आज निर्णय सुनाउन तोकिएको प्रस्तुत रिट निवेदकको निवेदन, विपक्षीहरूको लिखित जवाफ तथा पेश दुबै पक्षको बहस एवम् बहस नोटसमेतलाई अध्ययन गरियो । निर्णयतर्फ विचार गर्दा रिट निवेदकले प्राप्त गरेको इन्टिमोलोजीको एम.एस्सी शैक्षिक उपाधि अतिरिक्त शैक्षिक योग्यता हो वा सेवा प्रवेशको न्यूनतम् शैक्षिक योग्यता हो भन्ने कुराको निक्र्योल गर्दै सो उपाधिलाई अतिरिक्त शैक्षिक उपाधिबापतको अङ्क प्रदान गरी बढुवा सिफारिश गर्नु भन्ने परमादेश जारी हुनुपर्ने हो होइन भन्ने विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।
७. यस सम्बन्धमा लोकसेवा आयोगबाट प्राप्त भएको बढुवा उजूरीसम्बन्धी फायल अध्ययन गर्दा नेपाल कृषि सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियममा नेपाल कृषि सेवा, बाली संरक्षण समूह, रा.प.तृतीय श्रेणीको लागि न्यूनतम् शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट बी.एस्सी (एग्री.) वा प्लाण्ट प्याथोलोजी वा इन्टिमोलोजीमा एम.एस्सी. वा सो सरहको उल्लेख भएको र निवेदकले प्राप्त गरेको एम.एस्सी. इन इन्टिमोलोजी विषयको शैक्षिक उपाधि सेवा प्रवेशको लागि तोकिएको न्यूनतम् शैक्षिक योग्यता भएको देखिँदा बढुवा समितिले सो शैक्षिक उपाधिलाई न्यूनतम् शैक्षिक योग्यता मानी अङ्क गणना गरी बढुवा सिफारिश गरेको मिलेको देखियो भनी २०६८।१।१९ मा निर्णय गरेको देखिन्छ ।
८. नेपाल कृषि सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमावली, २०५० नियम ७ सँग सम्बन्धित अनुसूची ३ को देहाय (च) ५ मा भएको व्यवस्थालाई हेर्दा राजपत्राङ्कित तृतीय श्रेणीको सेवा प्रवेश गर्दा आवश्यक पर्ने न्यूनतम् शैक्षिक योग्यतामा मान्यता प्राप्त शिक्षण संस्थाबाट बी.एस्सी. (एग्री.) वा प्लाण्ट प्याथोलोजी वा इन्टिमोलोजीमा एम. एस्सी वा सो सरह उत्तीर्ण गरेको भन्ने उल्लेख भएको देखिन्छ । नियमावलीको उक्त व्यवस्थाको अध्ययन गर्दा कृषि सेवाको रा.प. तृतीय श्रेणीको पदमा सेवा प्रवेश गर्दा निम्न शैक्षिक योग्यतालाई न्यूनतम् शैक्षिक योग्यता भनिएको देखिन्छः–
(क) बी.एस्सी. (एग्री.) वा
(ख) प्लाण्ट प्याथोलोजी विषयमा एम. एस्सी. वा
(ग) इन्टिमोलोजी विषयमा एम.एस्सी. गरेको वा
(घ) सो सरह उत्तीर्ण भएको ।
९. उक्त नियममा भएको व्यवस्थाले कृषि सेवाको रा.प.तृतीय श्रेणीको पदको लागि आवश्यक शैक्षिक योग्यतामा बी.एस्सी. (एग्री.) वा एम.एस्सी. (इन्टिमोलोजी) वा एम. एस्सी. (प्लाण्ट प्याथोलोजी) लाई समानरूपमा सेवा प्रवेशका आधार मानेको छ ।
१०. यस सम्बन्धमा रिट निवेदकले मिति २०५१।१२।१३ मा सेवा प्रवेश गर्दा नेपाल कृषि सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमावली, २०५० नियम ७ सँग सम्बन्धित अनुसूची ३ को देहाय (च) ५ मा व्यवस्था भएको आवश्यक न्यूनतम् शैक्षिक योग्यतामध्ये बी. एस्सी (एग्री.) को शैक्षिक उपाधिका आधारमा सेवा प्रवेश गरेको भन्ने कुरामा विवाद छैन । निवेदकले सेवा प्रवेश गर्दा देखाएको शैक्षिक उपाधि स्नातकसरहको उपाधि हो भन्ने कुरामा पनि विवाद छैन । रिट निवेदकले कृषि सेवाको रा.प. तृतीय श्रेणीमा सेवा प्रवेश गरेपश्चात् नेपाल सरकारको पूर्व स्वीकृतिमा ताइवानको नेशनल चुँगसिंग विश्वविद्यालयको कलेज अफ एग्रिकल्चर एण्ड नेचुरल रिसोर्सेसबाट एम.एस्सी. (इन्टिमोलोजी) को शैक्षिक योग्यता सन् २०१० (२०६७ साल) मा प्राप्त गरेको देखिन्छ । रिट निवेदकले उक्त शैक्षिक उपाधि प्राप्त गरेको भन्ने कुरामा पनि कुनै विवाद रहेको देखिँदैन । निवेदकले प्राप्त गरेको उक्त उपाधिलाई त्रिभुवन विश्वविद्यालयको मिति २०६७।४।३१ को निर्णयअनुसार सम्बन्धित विषयमा मास्टर्स डिग्री सरहको समकक्ष मान्यता प्रदान गरिएको भन्ने पनि संलग्न कागजातबाट देखिन्छ । उक्त शैक्षिक उपाधिलाई निजामती सेवा नियमावली, २०५० को नियम १२७ बमोजिमको सम्बद्धता निर्धारण समितिबाट २०६७।९।२० मा सम्बद्धता निर्धारण गर्दा नेपाल कृषि सेवा बाली संरक्षण समूहसँग सम्बद्ध भएको भनी निर्णय गरेको देखिन्छ । बी.एस्सी. (एग्री.) गरेकाको हकमा इन्टिमोलोजीमा गरेको एम. एस्सीलाई अतिरिक्त उपाधि मान्नुपर्ने हुन्छ भन्ने कृषि तथा सहकारी मन्त्रालयले यसै मुद्दामा यस अदालतमा पेश गरेको लिखित जवाफमा उल्लेख गरेको पाइन्छ ।
११. उपरोक्त कानूनी व्यवस्थाको अध्ययन गर्दा नेपाल कृषि सेवाको रा.प. तृतीय श्रेणीको पदको लागि आवश्यक बी.एस्सी. (एग्री.) मुख्य शैक्षिक योग्यता भएको देखिन्छ भने बी.एस्सी. (एग्री.) को उपाधि नहुनेका लागि अन्य स्नातकोत्तर उपाधिका आधार सेवा प्रवेशका लागि मात्र समान स्तरमा राखिएको मान्नुपर्ने हुन्छ । उक्त शैक्षिक योग्यता नभएका अर्थात् बी.एस्सी. (एग्री.) को शैक्षिक उपाधि नभएका उम्मेद्वारको हकमा त्यसको विकल्पका रूपमा शुद्ध विज्ञानको प्लाण्ट प्याथोलोजी वा इन्टिमोलोजीमा एम.एस्सी. उत्तीर्ण भएका उम्मेद्वार पनि उक्त पदमा आवेदन गर्न योग्य हुन सक्ने व्यवस्थालाई यी सबै उपाधि समानस्तरका हुन् भन्ने अर्थ गर्न मिल्दैन । बी.एस्सी. (एग्री.) को शैक्षिक योग्यता नहुनेका लागि एम.एस्सी इन्टिमोलोजी वा प्लाण्ट प्याथोलोजीलाई पनि सेवा प्रवेशका लागि दरखास्त दिन सुविधा दिइएकोसम्म अर्थमा ग्रहण गर्नुपर्दछ । न्यूनतम् शैक्षिक योग्यताको लहरमा लेखिँदैमा सबै शैक्षिक उपाधिको स्तर र मान्यता सामान हुने अर्थ गर्न मिल्दैन ।
१२. कुन शैक्षिक उपाधिको स्तर के कस्तो भन्ने कुरा निक्र्योल गर्ने कानूनी अख्तियारी प्राप्त निकाय त्रिभुवन विश्वविद्यालय हो । विश्वविद्यालयले सम्बन्धित शैक्षिक उपाधिको पाठ्यक्रमसमेतका कागजात हेरी सो उपाधिको स्तर निर्धारण गर्दछ । कानूनले अख्तियारी दिएको निकायले गरेको निर्णय पूर्वाग्रही, कपटपूर्ण र विधि प्रक्रियाप्रतिकूल रहेको भनी यस अदालतमा चुनौती दिइएको अवस्थामा मात्र सो निर्णयको न्यायिक परीक्षण हुन सक्दछ । अन्यथा अधिकारप्राप्त निकायको विधिसम्मत् प्रक्रियाबाट सम्पन्न भएको निर्णयका हकमा आशंका गरिन मिल्दैन ।
१३. प्रस्तुत विवादमा निवेदकले हासिल गरेको इन्टिमोलोजीको एम.एस्सी. उपाधिलाई स्नातोकत्तर सरह मानी त्रिभुवन विश्वविद्यालयले २०६७।४।३१ मा समकक्षता निर्धारण गरेको छ र सो उपाधिलाई सम्बद्धता पनि अख्तियार प्राप्त निकायले प्रदान गरेको छ । कृषि क्षेत्रका स्नातक र स्नातकोत्तर उपाधि समान हुन सक्दैनन् । सरोकारवाला कृषि तथा सहकारी मन्त्रालय बी.एस्सी (एग्री) पछि को एम.एस्सी. (इन्टिमोलोजी) अतिरिक्त शैक्षिक उपाधि हो भनी स्वीकारेको विषय पनि त्यत्तिकै विचारणीय छ । उक्त उपाधि अध्यनार्थ निवेदकलाई नेपाल सरकारले नै २०६५।३।३१ मा मनोनीत गरेको र अध्ययन अवधिभर पूरा तलब पाउने गरी अध्ययन बिदा स्वीकृत गरेको पक्षलाई पनि अनदेखा गर्न मिल्दैन ।
१४. समान कानूनी प्रश्न र सादृश्य तथ्यको आधारमा भएको व्याख्यायुक्त नजीर निःसन्देह पछिल्लो मुद्दाको लागि अनुकरणीय हुन्छ । पूर्वनिर्णयको बढुवा भन्ने एउटा प्रकृति मिल्दैमा पछिल्लो मुद्दाका लागि त्यो अवलम्बनकारी नजीर बन्न सक्दैन । सर्वोच्च अदालतको उपल्लो इजलासको नजीर सर्वोच्च अदालतकै उपल्लो भन्दा कम न्यायाधीश संलग्न इजलासका लागि र सर्वोच्च अदालतको नजीर मातहातका अदालतसमेतका न्यायिक तथा अर्धन्यायिक निकायलगायत सबैका लागि न्यायाधीश निर्मित कानूनका रूपमा बाध्यकारी हुन्छन् भन्ने कुरामा विवाद गरिरहनु पर्दैन । समान स्तरका इजलासले पनि समान कानूनी प्रश्न र प्रसङ्ग रहेको नजीरप्रति असहमति राखी उपल्लो इजलासमा पठाउन सक्ने सिद्धान्तमा पनि असहमति प्रकट गरिँदैन । तर, प्रत्येक निर्णय नजीर हुन सक्दैनन् भने प्रत्येक नजीर बेमेल तथ्य, विसंगत कानूनी प्रश्न र अमिल्दो निर्णयाधार भएमा पछिल्लो मुद्दाका लागि अनुकरणयोग्य नहुने वस्तुस्थितिमा पनि कुनै संशय राखिरहनु पर्दैन । यस सन्दर्भमा विद्वान कानून व्यवसायीहरूले बहस नोटमा केही नजीरहरूको उल्लेखन गर्नुभएको छ । लोकसेवा आयोगसमेत सरकारी निकायको प्रतिनिधित्व गर्नुहुने विद्वान सहन्यायाधिवक्ताले बहसनोटमा उल्लेख गर्नु भएको सुमित्रा हाडाको ने.का.प २०६७, भदौ, नि.नं. ८३६३, पृष्ठ ६९९ को कानून नै स्पष्ट भएकोमा व्याख्याको गुञ्जायस नरहने भन्ने नजीर प्रस्तुत मुद्दामा सान्दर्भिक छैन । कानूनको अस्पष्टताको व्याख्याकै लागि निवेदक अदालत प्रवेश गरेको स्थिति छ । निजामती सेवा नियमावली, २०५० को नियम १२३ को अस्थायी सेवा बढुवा प्रयोजनका लागि अङ्क दिँदा मात्र प्रयोग हुने वा समुच्चा सेवा अवधिकै प्रयोजनका लागि गणना हुने भन्ने कानूनी प्रश्नका सन्दर्भमा प्रतिपादित नजीरले यस मुद्दाका लागि अवलम्बनकारी नजीरको स्वरूप ग्रहण गर्दैन । यसैगरी उहाँले प्रस्तुत गर्नुभएको रेणु अधिकारीको ने.का.प २०६३, असोज, नि.नं. ७७१०, पृष्ठ ७२० को नजीर कृषि अर्थशास्त्रमा एम.ए. स्नातकोत्तरका आधारमा सेवा प्रवेश गर्ने व्यक्तिले पछिबाट कृषि अर्थशास्त्रमै “एम.एस्सी” र ग्रामीण विकासमा “एम.एस्सी.” गरेकोलाई “समानस्तर अर्थात् दुईवटा Master Degree लाई नै एउटालाई न्यूनतम् र अर्कोलाई सोभन्दा माथिल्लो डिग्री मान्न न्याय र विवेकसम्मत नहुने” भन्ने नजीरले पनि प्रस्तुत विवादको तथ्यसँग टाढाको सम्बन्ध पनि राख्दैन । प्रस्तुत मुद्दामा सेवा प्रवेश गर्दा निवेदकसँग स्नातकको उपाधि छ, पछिबाट काम लगाउने निकायकै स्वीकृतिले प्राप्त शैक्षिक उपाधि स्नातकोत्तरको छ ।
१५. यसै गरी विपक्षी होमनाथलम्सालका तर्फबाट विद्वान अधिवक्ताले आफ्नो बहस नोटमा रेणु अधिकारीको नजीरका अतिरिक्त अन्य तीन नजीरको आधारमा रिट निवेदन खारेज गरिनु पर्ने जिकीर लिनु भएको छ । उहाँले प्रस्तुत गर्नुभएको नेत्रबहादुर भण्डारी (०६६–WO–७७८, निर्णय मिति (नि.मि) २०६७।९।२० को कृषि सेवाका लागि समाजशास्त्र जस्ता विषयका स्नातकोत्तर उपाधिलाई पहिले सेवा प्रवेशभन्दा माथिल्लो शैक्षिक योग्यता मानिएकोमा पछिबाट सो उपाधिलाई सम्बद्धता निर्धारण समितिले अस्वीकार गर्दै पूर्वनिर्णय उल्टाउन सक्ने भन्दै “सम्बद्धता निर्धारण समिति जस्तो निकायले आफूले एक पटक गलत वा त्रुटिपूर्ण निर्णय गरेको छ भने त्यसलाई सच्याउँदै पछि सही निर्णय गर्न कुनै कानूनी बाधा रहेको छैन” भन्ने कुरा मानिएको नजीरको यस मुद्दामा प्रासङ्गिकता नै स्थापना हुन सक्दैन । यसैगरी उहाँले बहस नोटमा इङ्गित गर्नु भएको मुरलीधर मिश्र (०६६–WO–००९३) निर्णय मिति २०६६।८।२३ को नजीर पनि बाली संरक्षणमा स्नातकोत्तर (Master of Environment Protection) को उपाधिलाई पहिले सम्बद्धता दिएकोमा पछिबाट नदिने भनी गरेको सम्बद्धता निर्धारण समितिले गरेको निर्णयलाई यस अदालतले, “सम्बद्धता निर्धारण समितिले आफूले गरेको निर्णय सच्याउन पाउँछ वा पाउँदैन” भन्ने प्रश्नलाई विवादको विषय मानी सो पाउने भनी गरिएको व्याख्या र प्रस्तुत मुद्दाको विवादको प्रश्नसँग परोक्षरूपमा समेत सामीप्यता स्थापना गर्न सकिने स्थिति छैन । उहाँले बहस नोटमा नै प्रस्तुत गर्नु भएको अर्को ने.का.प. २०५६, जेठ, नि.नं. ६६६३ पृष्ठ ८१ को शम्भुप्रसाद दाहालको नजीर दुई अलग सेवासम्बन्धी नियम अर्थात् शिक्षा नियमहरू, २०५० र निजामती सेवा नियमावली, २०५० का पृथक व्यवस्थाका सन्दर्भमा प्रश्न उठी, सम्बन्धित सेवासम्बन्धी ऐन नियमले स्पष्ट गरेको बाहेकको अरू विषयको पनि सुविधा पाउनुपर्ने भन्न मिल्दैन भन्ने नजीरको प्रसङ्ग र पृथक तथ्यले प्रत्यर्थीलाई कुनै फाइदा पुग्न सक्ने स्थिति छैन ।
१६. मूलतः कुनै नजीरको प्रयोगका सन्दर्भमा उक्त मुद्दामा निर्णय गरिनुपर्ने प्रश्न के थियो र त्यसमा कुन कानूनको कस्तो व्याख्या भयो भन्ने कुराको नै सर्वप्रथम निक्र्योल गरिनुपर्ने हुन्छ । निर्णयमा प्रसङ्गवश बोलिएका कुरा न त नजीर हुन्छन्, न त ती अनुकरणीय नै हुन्छन् । प्रस्तुत विवादमा निवेदकले स्नातक उपाधि देखाएर सेवा प्रवेश गरेको १६ वर्षपछि काम लगाउने सरकारी निकायकै स्वीकृति र अनुमतिले स्नातकोत्तर उपाधि हासिल गरेको, त्यो उपाधिलाई सम्बन्धित अख्तियारी प्राप्त दुई कानूनी निकायहरूले स्नातकोत्तर हो र सेवासँग सम्बद्ध हो भनेको स्थिति छ । यसका अतिरिक्त निवेदकसमेतलाई काम लगाउने सम्बन्धित निकायले नै निवेदकको सो उपाधिलाई उपल्लो शैक्षिक उपाधि मानिनुपर्छ भनेको स्थिति छ ।
१७. अब रिट निवेदकले प्राप्त गरेको एम.एस्सी. (इन्टिमोलोजी) को उपाधि विशुद्ध विज्ञान हो वा सो उपाधि कृषि विज्ञानअन्तर्गतको उपाधि हो भन्ने सम्बन्धमा पनि विचार गर्नुपर्ने भई सोतर्फ अध्ययन गर्दा रिट निवेदकले ताइवानको, "National Chung Hsing University" बाट एम.एस्सी. उत्तीर्ण गरेको पाइन्छ । सो विश्वविद्यालयको "College of Agriculture and National Resources" बाट रिट निवेदक एम.एस्सीको उपाधि हासिल गरेको देखिन्छ । सो विश्वविद्यालयबाट रिट निवेदकले प्राप्त गरेको स्नातकोत्तर उपाधि कृषिसँग सम्बन्धित रहेको र उक्त उपाधिमा अध्यापन हुने विषयहरू “एग्रिकल्चर र एग्रिकल्चरल इन्टिमोलोजी” मा प्रयोगयोग्य भएको भन्ने कुरा प्रमाणित गरिदिएको देखिन्छ । निजामती सेवा नियमावली, २०५० को नियम १२७ बमोजिमको समकक्ष निर्धारण समितिले पनि निवेदकले प्राप्त गरेको शैक्षिक उपाधि कृषि सेवा बाली संरक्षण समूहसँग सम्बद्धता भएको भनिएको सन्दर्भमा रिट निवेदकले प्राप्त गरेको उपाधि विशुद्ध विज्ञानतर्फको एम.एस्सी. इन इन्टिमोलोजीको नभई कृषि विज्ञानअन्तर्गतको एम.एस्सी. इन इन्टिमोलोजीको विषय रहेको मान्नुपर्ने हुन्छ ।
१८. रिट निवेदकले बी.एस्सी. (एग्री.) को आधारमा सेवा प्रवेश गरेकाले सेवा प्रवेशपश्चात् अब बी.एस्सी. (एग्री.) कै आधारमा एम.एस्सी. इन्टिमोलोजी अध्ययन गरी उत्तीर्ण हुन्छ र सोलाई सम्बन्धित निकायहरूले स्नातकोत्तर मान्दछन् भने त्यो अतिरिक्त शैक्षिक उपाधि हो । सेवा प्रवेश गर्दा बी. एस्सी. (एग्री.) को उपाधि देखाई सेवा प्रवेश गरेकाहरू मध्ये कसैले एम.एस्सी. (एग्री) को शैक्षिक योग्यता प्राप्त गरेको भए अतिरिक्त शैक्षिक उपाधि मानिने, तर कसैले एम.एस्सी. इन्टिमोलोजी गरेको भए नमानिने भनी अर्थ गर्नु तर्कसंगत हुँदैन । जबकि यी दुवै शैक्षिक योग्यता स्नातकोत्तर उपाधि हुन् । समान परिवेशमा समान स्तरका शैक्षिक उपाधि एउटा स्नातक सरह र अर्को स्नातकोत्तर सरहको भनी अर्थ गर्न मिल्ने हुँदैन । सेवा प्रवेशका लागि सुविधा दिइनु एउटा कुरा हो भने बढुवाका लागि मूल्याङ्कन गरिनु अर्को कुरा हो ।
१९. रिट निवेदकले बी.एस्सी. (एग्री.) को शैक्षिक योग्यताको आधारमा सेवा प्रवेश गरी सोभन्दा माथिको कृषि विज्ञानसँग सम्बन्धित एम.एस्सी. इन इन्टिमोलोजीको शैक्षिक उपाधि हासिल गरेको देखिएकाले निजले प्राप्त गरेको उक्त शैक्षिक उपाधि सेवा प्रवेशको लागि आवश्यक न्यूनतम् योग्यता नभई सोभन्दा माथिको अतिरिक्त शैक्षिक उपाधि भएको देखिन आयो । निजामती सेवा ऐन, २०४९ को दफा २४घ(१)(ख) मा कार्य क्षमताको आधारमा बढुवा गर्ने प्रयोजनका लागि निजामती कर्मचारीलाई शैक्षिक योग्यताको अङ्क दिँदा निजामती सेवाको कुनै पदमा सेवा प्रवेश गर्न आवश्यक पर्ने न्यूनतम् शैक्षिक योग्यता र न्यूनतम् शैक्षिक योग्यताभन्दा माथिको सेवा समूह वा उपसमूहसँग सम्बन्धित विषयको एक अतिरिक्त शैक्षिक उपाधिबापत अतिरिक्त अङ्क प्रदान गर्नुपर्ने स्पष्ट व्यवस्था छ । सेवा प्रवेश गर्दा प्राप्त गरेको उपाधिभन्दा माथिल्लो शैक्षिक योग्यताको उपाधि प्राप्त भै सो उपाधि उक्त सेवा समूह वा उपसमूहसँग सम्बन्धित विषयको अतिरिक्त उपाधि भएको स्पष्ट देखिएको अवस्थामा कार्यक्षमता मूल्याङ्कनद्वारा गरिने बढुवामा निवेदकले प्राप्त गरेको उपाधिलाई अतिरिक्त उपाधिको अङ्क प्रदान गरी बढुवा गर्नुपर्नेमा सो नगर्ने गरी भएको बढुवा समितिको २०६७।११।२५ को निर्णय र सोही निर्णयलाई सदर गरेको लोकसेवा आयोगको मिति २०६८।१।१९ को निर्णय सो हदसम्म त्रुटिपूर्ण देखिन आयो ।
२०. तसर्थ, उल्लिखित आधार र कारणबाट रिट निवेदकलाई निजको एम.एस्सी (इन्टिमोलोजी) को शैक्षिक उपाधिलाई सेवा प्रवेश गर्दाको न्यूनतम् उपाधिभन्दा माथिल्लो अतिरिक्त शैक्षिक उपाधिका रूपमा मान्यता नदिई सोबापतको अतिरिक्त अङ्क नदिने गरी गरिएको सो हदसम्म बढुवा समितिको निर्णय सदर गरेको लोकसेवा आयोगको निर्णयसमेत त्रुटिपूर्ण भएकाले उत्प्रेषणको आदेशले बदर गरिदिएको छ । अब रिट निवेदकले प्राप्त गरेको अतिरिक्त शैक्षिक उपाधिलाई पनि बढुवा प्रयोजनका लागि निजामती सेवा ऐन, २०४९ को दफा २४ घ(१) को देहाय (ख) बमोजिम अङ्क प्रदान गरी नियमानुसार बढुवा सिफारिश गर्नु गराउनु भनी विपक्षी लोकसेवा आयोगको नाममा परमादेश जारी हुन्छ । यो आदेशले बढुवा बदर भएको विपक्षी कर्मचारी सम्बन्धमा निजामती सेवा नियमावली, २०५० को नियम ८९ख. बमोजिम बढुवा मिलान गर्ने सम्बन्धमा स्पष्ट कानूनी व्यवस्था भै रहेको सन्दर्भमा यस रिट निवेदनमा त्यसतर्फ थप केही बोलिरहनु परेन । यो आदेशको प्रतिलिपिसहित महान्यायाधिवक्ता कार्यालयमार्फत विपक्षीहरूलाई आदेशको जानकारी दिई मिसिल नियमानुसार बुझाइ दिनू ।
उक्त आदेशमा सहमत छु ।
का.मु.प्र.न्या.श्री दामोदरप्रसाद शर्मा
इति सम्वत् २०७० भदौ ३१ गते रोज २ शुभम् .......................।
इजलास अधिकृत : विश्वनाथ भट्टराई