निर्णय नं. ८०८२ - कर्तव्य ज्यान ।

निर्णय नं. ८०८२, जेठ २०६६ अङ्क २
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री गौरी ढकाल
माननीय न्यायाधीश श्री रणबहादुर बम
२०६४ सालको फौ.साधक नं.– ६९
फैसला मितिः २०६५।११।२२।५
मुद्दा :– कर्तव्य ज्यान ।
वादीः गणेश श्रेष्ठको जाहेरीले नेपाल सरकार
विरुद्ध
प्रतिवादीः इलाम जिल्ला फिक्कल गा.वि.स. वडा नं. ६ बस्ने तोरण मुखिया
शुरु फैसला गर्नेः
मा.जि.न्या. श्री लेखनाथ घिमिरे
पुनरावेदन फैसला गर्नेः
मा.न्या. श्री ऋषिराज मिश्र
मा.न्या.श्री पुरुषोत्तम भण्डारी
§ मृतकलाई मार्नका लागि प्रयोग गरिएको छुरी घटनास्थल उत्तर स्कूलको झ्यालमा माथिबाट पानी बगी आएको हिलो, सोही हिलोमा धारिलो ११ इन्च लामो छुरी फेला परेको बरामदी मुचुल्काबाट देखिन्छ । उल्लिखित आधार प्रमाणहरूबाट कसूर अपराध प्रमाण ऐन, २०३१ को दफा २५ अनुसार बस्तुनिष्ठ तथा तथ्यगत आधारबाट प्रमाणित हुन आएको देखिने ।
(प्रकरण नं.४)
§ सह–अभियुक्त समेतको पोल, प्रमाणमा बुझिएका जाहेरवाला, घटनाका प्रत्यक्षदर्शी, मौकामा थाहा पाउने व्यक्तिहरूले गरिदिएको बकपत्र समेतका आधार प्रमाणबाट फलामको छुरी जस्तो धारिलो हतियारले रोपी घाइते बनाई सोही चोटपिरको कारणबाट उपचारार्थ लैजादै गर्दा बाटोमा नै मृत्यु भएको पुष्टि हुन आएको तथा कुनै चोट पीर अवरोध समेत पुर्याएको मिसिलबाट नदेखिएको अवस्थामा एकपक्षीय रुपमा सांघातिक हमला गरी कर्तव्य गरी मारेको तथ्य स्थापित भएको देखिँदा कसूर अपराध गरेको ठहर्ने ।
(प्रकरण नं.५)
वादीतर्फवाटः
प्रतिवादीतर्फवाटः
अवलम्वित नजीरः
सम्बद्ध कानूनः
§ मुलुकी ऐन ज्यानसम्बन्धी महलको १, १३, १३(१) १७ र १७(२) नं.
फैसला
न्या.गौरी ढकालः न्याय प्रशासन ऐन २०४८ को दफा १० बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र परी साधक जाहेर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :-
मिति २०५१।७।२९ गते मेरो भाइ निरोज श्रेष्ठलाई फिक्कले खोल्सीमा तोरण मुखिया समेतको हुल जम्मा भई पासाङ घिसिङले हान मार भनी आदेश दिई तोरण मुखियाले छुरी झिकी भाइको पेटमा प्रहार गरे । भाइलाई उठाउँदा पासाङ घिसिङले खुकुरी प्रहार गर्न उज्याउँदा विमल श्रेष्ठले खुकुरी खोस्ने प्रयास गरेपछि भागी गए । भाईलाई उपचार गर्न लाँदा बाटैमा मृत्यु भएकोले तोरण मुखिया समेतलाई ज्यानसम्बन्धी महलको कसूरमा सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको गणेश श्रेष्ठले २०५१।७।३० गते जिल्ला प्रहरी कार्यालय, ईलाममा चढाएको जाहेरी दरखास्त ।
मृतकको बायाँपट्टि काछमा धारिलो हतियारले रोपेर १ इन्च लम्बाई, १/२ इन्च चौडाई , २ इन्च गहिराईको घाउ भई उक्त घाउबाट रगत बगी सुकी कटकटीएको , पेन्ट हाफ कट्टु , काछी समेतमा १ इन्च गोलाइको प्वाल परेको भन्ने समेत व्यहोराको लाश प्रकृति मुचुल्का ।
बायाँपट्टि काछमा मुख्य नशा काटिई अत्यधिक रक्तश्राव भई निरोज श्रेष्ठको मृत्यु भएको भन्ने समेत व्यहोराको लाश जाँच रिर्पोट ।
मिति २०५१।७।२९ गते निरोज श्रेष्ठलाई पासाङ घिसिङ समेतले घेरी निजले ठोक भनेपछि तोरण मुखिया समेत भई कुटपिट गरी धारिलो हतियार प्रहार गरी शक्त घाइते भएका निरोज श्रेष्ठलाई उपचार गर्न लाँदा लादै बाटैमा मृत्यु भएको भन्ने समेत व्यहोराको मोहन श्रेष्ठ,राजु राई, कमल कुमार प्रधान, अर्जुन कुमार गुरुङ , नरेश शाह, विमल प्रधान समेतले गरिदिएको प्रायः एकै मिलान व्यहोराको अलग अलग कागज ।
मिति २०५१।७।२९ गते फिक्कल चोकबाट प्रहरी चौकीमा रिपोर्ट गर्न जान्छु भनी निरोज श्रेष्ठ समेत जाँदा म पनि पछि लागि गई गा.वि.स. भवनमाथि तोरण मुखियाले छुरी निकाली निरोज श्रेष्ठलाई प्रहार गरे । हुल हुज्जत गरी सहयोग गर्ने म समेत थियौं भन्ने समेत व्यहोराको प्रतिवादी नरेन सुव्वाले अधिकारप्राप्त अधिकारी समक्ष गरिदिएको बयान कागज ।
मिति २०५१।७।२९ मा सर्जनले निरोजलाई कुटेछन भनेर मलाई भन्यो त्यसपछि चौकीमा रिपोर्ट गर्न जाँदा दीपक तामाङ आइपुगे पछि तोरण मुखिया र ७।८ जनाले कुट्यो र छुरी पनि देखायो भनी निरोजले निजका दाजुहरूलाई भने, त्यसपछि दिपक तामाङ र निरोज बीच विवाद हुँदाहुदै पासाङ घिसिङ समेत आई म समेत भई निरोज श्रेष्ठलाई घेराउ गरी तोरण मुखियाले छुरी झिकी निरोज श्रेष्ठलाई प्रहार गरी घाइते बनाई उपचार गराउन लाँदा लाँदै मृत्यु भएछ भन्ने समेत व्यहोराको प्रतिवादी रविकर मुखियाले अधिकारप्राप्त अधिकार समक्ष गरिदिएको बयान कागज ।
मिति २०५१।७।२९ मा पासाङ घिसिङले ठोक भनेपछि म समेत भई निरोज श्रेष्ठ र निजसँग आएका गणेश श्रेष्ठ समेतलाई घेराउ गरी तोरण मुखियाले छुरीले निरोज श्रेष्ठलाई प्रहार गरे भन्ने समेत व्यहोराको प्रतिवादी सुरेन सुन्दासले अधिकारप्राप्त अधिकारी समक्ष गरिदिएको बयान कागज ।
निरोज श्रेष्ठलाई छुरी प्रहार भएको स्थानदेखि उत्तरतर्फ ११ इन्च लामो छुरी बरामद भएको भन्ने समेत व्यहोराको बरामदी मुचुल्का ।
तोरण मुखियाले निरोज श्रेष्ठलाई छुरी प्रहार गरेको भन्ने समेत व्यहोराको केशव प्रधानले गरिदिएको कागज ।
मिति २०५१।७।२९ गते निरोज श्रेष्ठलाई तोरण मुखियाले छुरी प्रहार गरी निरोज मुर्छा परी लडेपछि प्रतिवादीहरू भागेका हुन् भन्ने समेत व्यहोराको अम्बर गुरुङले गरिदिएको कागज ।
मिति २०५१।७।२९ मा शान्ति सुरक्षाको लागि चौकीतर्फ जाँदा दीपक तामाङले निहुँ खोजी पासाङ घिसिङले मार भन्ने आदेश दिएपछि मोहन घिसिङ, दावा, तोरण मुखिया समेत भई कुटपिट गर्न थालेपछि तोरण मुखियाले निरोज श्रेष्ठलाई छुरी हानेको हो भन्ने समेत व्यहोराको फुकाका लामा, सर्जन राई, पूजन श्रेष्ठ, निमा लामा, तारा राई, टेकबहादुर गुरुङ समेतले प्रायः एकै मिलानमा गरिदिएको अलग अलग कागज ।
प्रतिवादी तोरण मुखियाले मुलुकी ऐन , ज्यानसम्बन्धी महलको १ नं. को प्रतिकूल १३ नं. को कसूर गरेको हुँदा निजलाई ऐ. १३ नं. बमोजिम सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको मागदावी लिई पेश भएको अभियोग पत्र ।
निरोज श्रेष्ठलाई तोरण मुखियाले छुरी हानी मारेको सुनेको हो । म वारदात स्थलमा नभएकोले मैले मार्नमा सहयोग गरेको छैन भन्ने समेत व्यहोराको प्रतिवादी इन्द्र लामाले अदालतमा गरेको बयान ।
राजु राईले मलाई भने अनुसार तोरण मुखियाले निरोज श्रेष्ठलाई छुरी रोपी उपचार गर्न लाँदा बाटोमा मरेको भन्ने सुनेको हो । निरोजलाई मार्नमा मेरो संलग्नता छैन भन्ने समेत व्यहोराको प्रतिवादी सुरेन सुन्दासले अदालतमा गरेको बयान ।
निरोज श्रेष्ठलाई तोरण मुखियासमेतले कुटपिट गरी छुरी हानी मारेको भोलिपल्ट सुनेको हुँ । म घटनास्थलमा थिइँन भन्ने समेत व्यहोराको प्रतिवादी नरेन सुव्वाले अदालतमा गरेको बयान ।
म ए.मा.लेको मानिस भएको र आरोप लगाउने पक्ष नेपाली कांग्रेस भएकोले मलाई फसाउने उद्देश्यले आरोप लगाएको हो । म वारदात स्थलमा थिइँन भन्ने समेत व्यहोराको पक्राउ परी आएका पासाङ घिसिङले अदालतमा गरेको बयान ।
निरोज श्रेष्ठलाई तोरण मुखियाले छुरी हानी मारेको भन्नेसम्म सुनेको हो । को कसले मारे थाहा भएन भन्ने समेत व्यहोराको पक्राउ परी आएका प्रतिवादी चन्द्र अधिकारीले अदालतमा गरेको बयान ।
मृतक निरोज श्रेष्ठलाई फिक्कल खोल्सीमा तोरण मुखिया लगायतले छुरी निकाली कुटपिट गर्न लाग्दा मैले छुट्याएपछि निरोज भाग्यो । पछि निरोज छुरीसाथ मलाई मार्यो भन्दै कराउँदै आएको थियो । त्यसपछि म चौकीमा रिर्पोट गर्न जाँदा छुरी तोरण मुखियाले हानेको हो भन्ने कुरा निरोजकै मुखबाट सुनेको हुँ भन्ने समेत व्यहोराको प्रहरीमा कागज गर्ने टेकबहादुर गुरुङको बकपत्र ।
निरोज श्रेष्ठलाई तोरण मुखिया हतियारले हानी मारेको हो भन्ने समेत व्यहोराको प्रहरीमा कागज गर्ने राजु राई, इन्दु लामाले गरेको बकपत्र ।
निरोज श्रेष्ठलाई मार्नेमा तोरण मुखिया, दावा घिसिङ, मोहन, पासाङ, कुमार प्रधान आदि थिए छुरी प्रयोग गरेर मारेका रहेछन् भन्ने समेत व्यहोराको प्रहरीमा कागज गर्ने पुजन श्रेष्ठले गरेको बकपत्र ।
निरोज श्रेष्ठलाई छुरी हान्ने तोरण मुखिया हो । निजसँग दीपक तामाङ, कुमार प्रधान, दावा घिसिङ, मोहन घिसिङहरू संलग्न थिए भन्ने समेत व्यहोराको प्रहरीमा कागज गर्ने मोहन श्रेष्ठको बकपत्र ।
प्रहरी चौकी भन्दा ५० फुट वर एक्कासी ठोक मार भन्ने आदेश पासाङ घिसिङबाट भएपछि त्यहां ठुलो झगडा शुरु भयो । त्यसै बखत एक्कासी भाईको मुखबाट ऐया मार्यो भन्ने आवाज सुनेर भाई भएको ठाउँमा म पुगी भाईलाई कसले मार्यो भनी सोध्दा तोरणले छुरी हान्यो भनी छटपटाएर लडीरहेको थियो । तोरण मुखियाले प्रहार गरेको हतियारबाट निरोज श्रेष्ठको मृत्यु भएको हो भन्ने समेत व्यहोराको जाहेरवाला गणेश श्रेष्ठको बकपत्र ।
प्रतिवादी पासाङ घिसिङको साक्षी लालबहादुर सुब्बा, प्रतिवादी इन्द्र लामाको साक्षी यामबहादुर गुरुङ, प्रतिवादी चन्द्र अधिकारीको साक्षी लोकबहादुर खड्काले गरेको बकपत्र मिसिल संलग्न रहेको ।
प्रतिवादी पासाङ घिसिङ, रविकर मुखिया, नरेन सुव्वा, सुरेन सुन्दास , इन्द्र लामा , चन्द्र अधिकारी समेतले आरोपित कसूरबाट सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको इलाम जिल्ला अदालतबाट मिति २०५४।५।१९ मा भएको फैसला ।
२०५१।७।२९ गते निरोज श्रेष्ठलाई छुरी लागी उपचार गर्न लगेकोमा बाटैमा मृत्यु भएको कुरा सुनेको हुँ । म समेत भई निरोज श्रेष्ठलाई कर्तव्य गरी मारेको होइन । तोरण मुखियाले छुरी हानी मारेको भन्ने सुनेको भन्ने समेत व्यहोराको प्रतिवादी दावा घिसिङले अदालतमा गरेको बयान ।
मिति २०५१।७।२९ मा निरोज श्रेष्ठलाई तोरण मुखियाले छुरी हानेको भन्ने रेडियोको समाचार सुनी थाहा पाएको हुँ । म घटनास्थलमा नभएकोले कसले निरोजलाई मारे थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी मोहन घिसिङले अदालतमा गरेको बयान ।
तोरण मुखियाले निरोज श्रेष्ठलाई छुरी हानेको कुरा भोलिपल्ट रेडियोबाट सुनेको हो । म समेत भई निरोजलाई कर्तव्य गरी मारेको होइन भन्ने समेत व्यहोराको प्रतिवादी बेलकुमार भन्ने कुमार प्रधानले अदालतमा गरेको बयान ।
निरोज श्रेष्ठलाई तोरण मुखियाले छुरी हानी मारेको भन्ने रेडियोको समाचारबाट सुनेको भन्ने समेत व्यहोराको प्रतिवादी पुण्य मुखियाले अदालतमा गरेको बयान ।
म समेत भई निरोज श्रेष्ठलाई कर्तव्य गरी मारेको होइन । तोरण मुखियाले छुरी हानी निरोजको मृत्यु भएको भोलिपल्ट समाचार सुनेको भन्ने समेत व्यहोराको प्रतिवादी डम्बर गुरुङले अदालतमा गरेको बयान ।
तोरण मुखियाले छुरी प्रहार गरी निरोज श्रेष्ठलाई मारेको कुरा भोलिपल्ट रेडियोको समाचारमा सुनेको, आफू संलग्न नभएकोले कसले कर्तव्य गरी मारे थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी पूर्ण लामाले अदालतमा गरेको बयान ।
वारदात मिति समयमा म आफ्नो घरमा थिएँ । भोलिपल्ट रेडियोबाट तोरण मुखियाले निरोज श्रेष्ठलाई छुरी प्रहार गरी निरोजको मृत्यु भएको सुनेको हो भन्ने समेत व्यहोराको प्रतिवादी दिपक तामाङले अदालतमा गरेको बयान ।
तोरण मुखियाको छुरी प्रहारबाट निरोज श्रेष्ठको मृत्यु भएको कुरा रेडियोबाट सुनेको हुँ । म वारदात स्थलमा नभएकोले को को भई कसरी मारे थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी शम्भु गुरुङले अदालतमा गरेको कागज ।
मिति २०५१।१०।१९ मा तामेल भएको म्यादी पूर्जीको म्याद गुजारी बसेको प्रतिवादी तोरण मुखियाको मिति २०५४।११।२४ मा अंश रोक्का भई मुचुल्का मिसिल सामेल रहेको ।
प्रतिवादीहरू मोहन घिसिङ, दावा घिसिङ, बेलकुमार भन्ने कुमार प्रधान भनेको बलबहादुर श्रेष्ठ, डम्बरबहादुर गुरुङ, पुण्य मुखिया, पूर्ण लामा, दिपक तामाङ, शम्भुगुरुङ समेतले आरोपित कसूरबाट सफाई पाउने ठहरी प्रतिवादी तोरण मुखियाको हकमा अ.वं. १९० नं. बमोजिम पक्राउ परी आए वा हाजिर भए सोही बखत नभए अंश रोक्का भएको मितिले ६ वर्ष पछि जगाई कारवाही गर्ने गरी मुलतबी रहने गरी मिति २०५४।१२।३० मा इलाम जिल्ला अदालतबाट भएको फैसला ।
प्रतिवादी तोरण मुखियाको हकमा अ.वं. १९० नं. बमोजिम मुल्तबी राख्ने र अन्य प्रतिवादीलाई सफाई दिने ठहरेको इलाम जिल्ला अदालतको फैसला सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, इलामको मिति २०५७।११।२२ को फैसला ।
तोरण मुखियाको हकमा अंश रोक्का डोरबाट मिति २०५४।११।२४ मा भई आएको देखिँदा प्रस्तुत मुद्दा मुलतबीबाट जगाई दिएको छ । सरकारवादी फौज्दारी दायरीमा दर्ता गर्नु भन्ने समेत व्यहोराको ईलाम जिल्ला अदालतको मिति २०६४।१।२ को आदेशानुसार प्रस्तुत मुद्दा मुल्तबीबाट जागी मिति २०६४।१।२ गते दर्ता भएको रहेछ ।
यसमा प्रतिवादी तोरण मुखियाले फलामको छुरी जस्तो घातक हतियार प्रहार गरी घाइते बनाई सोही चोट पिरको कर्तव्यबाट निरोज श्रेष्ठको मृत्यु भएको देखिँदा ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम प्रतिवादीलाई सर्वस्वसहित जन्मकैद हुने ठहर्छ र साधक सदरको लागि प्रस्तुत मिसिल पुनरावेदन अदालत इलाममा पठाई दिनु भन्ने ईलाम जिल्ला अदालतको मिति २०६४।२।२७ को फैसला ।
ईलाम जिल्ला अदालतको च.नं.२८७ मिति २०६४।५।२३ को पत्रबाट प्रस्तुत मुद्दा साधक जाँचको लागि पेश हुन आएको रहेछ ।
प्रतिवादी तोरण मुखियाको हकमा साधकको रोहबाट विचार गर्नुपर्ने अवस्था भएकोले पुनरावेदन सरकारी वकील कार्यालय ईलामलाई पेशीको सूचना दिई नियमानुसार पेश गर्नु भन्ने मिति २०६४।८।११ को आदेश ।
सह – अभियुक्त भनिएका प्रतिवादीहरूको पोल , प्रमाणमा बुझिएका जाहेरवाला तथा घटनाका प्रत्यक्षदर्शी एवं मौकामा थाहा पाउने व्यक्तिहरूले गरी दिएको बकपत्र समेतका आधार प्रमाणबाट प्रतिवादी तोरण मुखियाले फलामको छुरी जस्तो धारिलो हतियारले निरोज श्रेष्ठलाई रोपी घाइते बनाई सोही चोट पीरको कारणले उपचारार्थ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको पुष्टि हुन आएको तथा मृतक निरोज श्रेष्ठले प्रतिवादीलाई कुनै चोट पिर अवरोध समेत पुर्याएको मिसिलबाट नदेखिएको अवस्थामा प्रतिवादी तोरण मुखियाले एकपक्षिय रुपमा कलिलो उमेरको मृतक निरोज श्रेष्ठ माथि साँघातिक हमला गरी कर्तव्य गरी मारेको तथ्य स्थापित भएको देखिँदा प्रतिवादी तोरण मुखियाले अभियोग दावी बमोजिमको कसूर गरेको ठर्याई निजलाई ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वश्वसहित जन्म कैदको सजाय हुने गरी ठहर गरी साधक जाँचको लागि पठाएको शुरु ईलाम जिल्ला अदालतको मिति २०६४।२।२७।१ को फैसला मनासिब देखिँदा सो इन्साफ सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत इलामको मिति ०६४।९।१७ गतेको फैसला ।
पुनरावेदन अदालत इलामकको च.नं.१५४८ मिति ०६४।११।१० को पत्रानुसार साधक जाहेरीका लागी पेश हुन आएको प्रस्तुत मुद्दा यस अदालतको साधक न. ६९ र मिति ०६४।१२।१ मा दर्ता भएको देखिन्छ ।
नियमबमोजिम दैनिक मुद्दा पेशीसुचीमा चढी इजलास समक्ष साधक जाँचको लागी पेश हुन आएको प्रस्तुत मुद्दाको सम्पूर्ण मिसिल कागजातहरू अध्ययन गरियो । यसमा पुनरावेदन अदालत इलामबाट भएको फैसला मिले नमिलेको के रहेछ भन्ने सम्बन्धमा ठहर निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा प्रतिवादी तोरण मुखियाले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १नं.ले प्रतिकूल १३ नं. को कसूर गरी धार भएको जोखिमी हतियार छुरीले हानी रोपी निरोज श्रेष्ठलाई कर्तव्य गरी मारेको पुष्टि हुन आएकोले प्रतिवादीलाई सोही महलको १३(१) नं. बमोजिम, प्रतिवादी पासाङ घिसिङले आफू वारदातस्थलमा सरीक रही ज्यान मार्न बचन दिएकोले निजलाई ज्यानसम्बन्धीको १३(४) नं. बमोजिम तथा प्रतिवादी रविकर मुखिया, नरेन सुब्बा, सुरेन सुन्दास, दावा घिसिङ, मोहन घिसिङ, कुमार प्रधान, इन्द्र लामा, चन्द्र अधिकारी, पूर्ण लामा, डम्बरबहादुर गुरुङ, दीपक तामाङ, शम्भु गुरुङ, पुण्य मुखियाले ज्यान सम्बान्धीको १ नं.को प्रतिकूल ऐ.,१७ नं. को कसूर गरेको देखिँदा निजहरूलाई ऐ.महलको १७(२) नं. बमोजिम सजाय गरिपाऊँ भन्ने अभियोग दावी भएकोमा प्रतिवादी मध्येका पासाङ घिसिङ, इन्द्र लामा, सुरेन सुन्दास, नरेन सुब्बा, रविकर मुखिया, बेलकुमार भन्ने कुमार प्रधान भनेको बलबहादुर श्रेष्ठ, डम्बरबहादुर गुरुङ, पुण्य मुखिया, पूर्ण लामा, दीपक तामाङ, शम्भु गुरुङ समेतका हकमा मिति ०५४।१।१९ मा सफाई दिने ठहरी फरार रहेका यी प्रतिवादी तोरण मुखियाका हकमा मुल्तबी रही मुल्तबीबाट जगाई कारवाही हुँदा निज प्रतिवादी तोरण मुखियाले छुरी प्रहार गरी घाइते बनाई सोही चोट पीरको कारणले निरोज श्रेष्ठको मृत्यु भएको देखिँदा ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वश्वसहित जन्मकैद सजाय हुने ठहराई ईलाम जिल्ला अदालतले मिति ०६४।२।२७ गते फैसला गरी साधक जाँचको लागि पुनरावेदन अदालत इलाममा जादा सो अदालतले मिति ०६४।९।१७ मा साधक सदर गरे पश्चात पुनः साधक सदरको लागि पुनरावेदन अदालत इलामको च.नं. १५४८ मिति ०६४।११।१० को पत्रानुसार मिसिल यस अदालतमा प्राप्त हुन आएकोले पुनरावेदन अदालतको इन्साफ मिले नमिलेको सम्बन्धमा साधकको रोहबाट इन्साफ गर्नुपर्ने देखिन आयो ।
३. मिसिल संलग्न घटनास्थल प्रकृति विवरण हेर्दा फिक्कल गा.वि.स.वडा नं.६ स्थित गा.वि.स. भवन देखि पश्चिम, तारा तामाङको घर देखि पूर्व, फिक्कल गा.वि.स. वडा नं. ६ स्थित इलामबाट विर्तामोड झापासम्म जाने आउने पूर्वपश्चिम बाटो भएको, ऐ. बस्ने लक्ष्मण प्रधानको घर देखि पूर्व उक्त सडकको बीच भागमा रगतका थोपाहरू झर्दै गा.वि.स.भवनको अगाडिको सडकको बीच भागसम्म झदै आई सुकिसकेको अवस्थामा भएको, लाश प्रकृति विवरणमा बायापट्टी काछमा आधा इन्च चौडाई, एक इन्च लम्बाई, दुई इन्च गहिराई भएको धारिलो हतियारले रोपेको घाउ भएको देखिएको तथा लाश जाँच प्रतिवेदनमा बाँयापट्टी काछमा मुख्य नसा काटिई अत्यधिक रक्तश्राव भई निरोज श्रेष्ठको मृत्यु भएको हो भन्ने व्यहोराको मृत्युको कारण उल्लेख भएको डाक्टरको राय देखिएबाट मृतक निरोज श्रेष्ठको मृत्यु कर्तव्यबाटै भएको पुष्टि हुन आयो ।
४. अब मृतक निरोज श्रेष्ठको मृत्यु के कसको कर्तव्यबाट भएको हो भन्ने सम्बन्धमा मिसिल संलग्न प्रमाण कागजातहरू अध्ययन गर्दा ०५१।७।२९ गतेको संसद सदस्यको निर्वाचनको क्रममा फिक्कल गा.वि.स.वडा नं.२/६ को मतदान केन्द्रमा मतदान कार्य सम्पन्न भई कर्मचारीहरू फर्किएपछि बेलुका ७.३० बजेको समयमा प्रतिवादी तोरण मुखियाले अन्य प्रतिवादीहरू इन्द्र लामा समेत भई फिक्कले खोल्सीमा निरोज श्रेष्ठलाई कुटपिट गर्दै पिछा गर्दै आई फिक्कल प्रहरी चौकी नजिक ५० फिट दुरीमा पुनः अन्य प्रतिवादीहरूले कुटपिट गर्न थालेपछि प्रतिवादी तोरण मुखियाले छुरी झिकी मृतक निरोज श्रेष्ठलाई प्रहार गरी घाइते बनाई उपचारको लागि दार्जिलिङ लैजादा लैजादै बीच बाटोमै मृत्यु भएको भन्ने गणेश श्रेष्ठको किटानी जाहेरी दरखास्त भई प्रतिवादी तोरण मुखियाले नै प्रहार गरेको हतियारबाट निरोज श्रेष्ठको मृत्यु भएको हो भनी जाहेरी व्यहोरालाई समर्थन गर्दै अदालतमा समेत बकपत्र गरिदिएको देखिन्छ । पोल परेका अन्य प्रतिवादीहरू पासाङ घिसिङ, रविकर मुखिया, नरेन सुब्बा, बेलकुमार भन्ने कुमार प्रधान, पूण्य मुखिया, डम्बर गुरुङ, पूर्ण लामा, दीपक तामाङ, शम्भु गुरुङ समेतले मृतक निरोज श्रेष्ठसँग के विषयमा झगडा भएको हो भन्ने नखुलाएको भएतापनि प्रतिवादी तोरण मुखियाले निरोज श्रेष्ठलाई छुरीले रोपी हानी मारेको हो भन्ने सुनेको हो भनी पोल गरी लेखाई दिएको पाइन्छ । मौकामा कागज गर्ने टेकबहादुर गुरुङले निरोज श्रेष्ठलाई फिक्कल खोल्सीमा तोरण मुखियासमेतले छुरी निकाली कुटपिट गर्न लाग्दा निजले छुट्याए पछि निरोज भाग्यो पछि चौकीमा रिर्पोट गर्न जाँदा तोरण मुखियाले छुरीले हानेको हो भन्ने कुरा निरोज कै मुखबाट सुनेको हुँ भनी बकपत्र गरेको देखिन्छ । आफू समेतका विरुद्ध रिर्पोट गर्न प्रहरीमा गयो भनी उत्तेजित भै आफ्नो साथमा रहेको धारिलो छुरी निकाली निरोज श्रेष्ठलाई प्रहार गरेको देखिन्छ । उक्त कुरालाई किटानी जाहेरी, वस्तुस्थिति मुचुल्का, बुझिएका मानिसहरूको कथन समेतबाट पुष्टि हुन आएको देखिन्छ । यस्तै प्रकारले तोरण मुखियाले निरोज श्रेष्ठलाई छुरी हानी मारेको हो भनी मौकामा बुझिएका राजु राई, इन्द्र लामा पूजन श्रेष्ठ, मोहन श्रेष्ठसमेतले अदालतमा उपस्थित भई बकपत्र गरेको पाइन्छ । प्रतिवादी तोरण मुखिया मौकामा फरार रही शुरु अदालतबाट तामेल भएको म्यादीपूर्जी अनुसार हाजिर नभई गुजारी बसी मुद्दा मुल्तबीमा रही मुल्तबीबाट जगाई कारवाही हुँदाको अवस्थासम्ममा पनि हाजिर नभई फरार नै रहेको देखिन आयो । निज प्रतिवादीले आरोपित कसूर नगरेको भए अदालत समक्ष उपस्थित भई आफ्नो सफाइको लागि प्रमाण पेश गर्न सक्नु पर्नेमा सो भए गरेको देखिन आएन । मृतकलाई मार्नका लागि प्रयोग गरिएको छुरी घटनास्थल उत्तर स्कूलको झ्यालमा माथिबाट पानी बगी आएको हिलो, सोही हिलोमा धारिलो ११ इन्च लामो छुरी फेला परेको बरामदी मुचुल्काबाट देखिन्छ । माथि उल्लिखित आधार प्रमाणहरूबाट प्रतिवादी तोरण मुखया उपरको कसूर अपराध प्रमाण ऐन, २०३१ को दफा २५ अनुसार बस्तुनिष्ठ तथा तथ्यगत आधारबाट प्रमाणित हुन आएको देखिन्छ ।
५. तसर्थ, माथि उल्लिखित सह–अभियुक्त समेतको पोल, प्रमाणमा बुझिएका जाहेरवाला, घटनाका प्रत्यक्षदर्शी, मौकामा थाहा पाउने व्यक्तिहरूले गरिदिएको बकपत्र समेतका आधार प्रमाणबाट प्रतिवादी तोरण मुखियाले फलामको छुरी जस्तो धारिलो हतियारले मृतक निरोज श्रेष्ठलाई रोपी घाइते बनाई सोही चोटपीरको कारणबाट उपचारार्थ लैजादै गर्दा बाटोमा नै मृत्यु भएको पुष्टि हुन आएको तथा मृतक निरोज श्रेष्ठले प्रतिवादीलाई कुनै चोट पिर अवरोध समेत पुर्याएको मिसिलबाट नदेखिएको अवस्थामा प्रतिवादी तोरण मुखियाले एकपक्षिय रुपमा मृतक निरोज श्रेष्ठ माथि सांघातिक हमला गरी कर्तव्य गरी मारेको तथ्य स्थापित भएको देखिँदा प्रतिवादी तोरण मुखियाले अभियोग दावी बमोजिम कसूर अपराध गरेको ठहर्याई निजलाई ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वश्वसहित जन्मकैदको सजाय हुनेठहर गरी साधक जाँचको लागि यस अदालतमा पठाएको पुनरावेदन अदालत इलामको मिति ०६४।९।१७ को फैसला मनासिब देखिँदा साधक सदर हुने ठहर्छ । प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू ।
उक्त रायमा म सहमत छु ।
न्या.रणबहादुर बम
इति संवत् २०६५ फागुन २२ गते रोज ५ शुभम् ।
इजलास अधिकृत–परशुराम भट्टराई