निर्णय नं. ८०८३ - लागू औषध सेतो हेरोइन खरिद तथा बिक्री वितरण ।

निर्णय नं. ८०८३ जेठ २०६६ अङ्क २
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री गौरी ढकाल
माननीय न्यायाधीश श्री गिरीशचन्द्र लाल
२०६१ सालको फौ.पु.नं.– ३५२१
फैसला मितिः २०६५।११।२६।२
मुद्दा :– लागू औषध सेतो हेरोइन खरिद तथा बिक्री वितरण ।
पुनरावेदक वादीः प्रहरीको प्रतिवेदनले नेपाल सरकार
विरुद्ध
प्रत्यर्थी प्रतिवादीः जिल्ला सोलखुम्बु केरुङ्गा गा.वि.स. वडा नं.६ बस्ने लाक्पा तामाङ समेत
शुरु फैसला गर्नेः
मा.जि.न्या.श्री हरिकुमार पोखरेल
पुनरावेदन फैसला गर्नेः
मा.न्या. श्री हरि बाबु भट्टराई
मा.न्या.श्री केशरमान पति
§ लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा १७(क) अनुसार कसूरदार ठहर हुनको लागि कुनै पदार्थलाई लागूपदार्थ हो भन्ने विश्वासमा पारी कारोबार समेत गरेको देखिनु पर्ने ।
§ लागूपदार्थ हो भन्ने विश्वासमा पारी कारोबार समेत गरेको भन्ने देखिन नआएको र कुनै वस्तु बरामद भै जाँच गराउँदा सो वस्तुलाई लागूपदार्थ नभएको भन्ने देखिएकोमा अन्य वस्तुलाई लागूपदार्थ भन्ने विश्वासमा पारी कारोबार गरेको भनी कसूर गरेको ठहर गर्न न्यायोचित नहुने ।
(प्रकरण नं.३)
पुनरावेदकतर्फवाटः विद्वान सहन्यायाधिवक्ता श्री किरण शर्मा पौडेल
प्रत्यर्थीतर्फवाटः
अवलम्वित नजीरः
सम्बद्ध कानूनः
§ लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा १४(१)(६)(३) र दफा १७(क)
फैसला
न्या.गौरी ढकालः न्याय प्रशासन ऐन २०४८ को दफा ९ अनुसार यसै अदालतको क्षेत्राधिकार भित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :-
काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २९ सामाखुसी चक्रपथ स्थित सामाखुसीबाट चक्रपथ निस्कने सडकको चोकमा रामबहादुर थापा, सुरज गुरुङ, डम्बर श्रेष्ठ र लाक्पातासाङ समेतका ४ जना व्यक्तिहरू उभिई रहेका निजहरू मध्ये रामबहादुर थापाको हातमा रहेको कालो छालाको व्याग हेर्दा अंग्रजी अक्षरमा Made in thailand Heroin भनी लेखिएको र भित्रपट्टि हेर्दा सेतो हेरोइन फेला परेको र त्यसलाई तत्काल तौल गर्दा ४१० ग्राम भएको भन्ने समेत व्यहोराको मिति २०५२।११।१४ को बरामदी मुचुल्का ।
बरामद भएको ला.औ. हेरोइन ४१० ग्राम र रामबहादुर थापा समेतका ४ जना व्यक्तिलाई पेश गरेको छु भन्ने समेत व्यहोराको प्र.नि. मनोज न्यौपाने समतेको प्रतिवेदन ।
बरामद भई आएको हेरोइन ४१० ग्रामबाट ३/३ ग्रामका नमूना निकाली छुट्टै खाममा राखेको भन्ने समेत व्यहोराको मिति २०५२।११।१५ को मुचुल्का ।
काठमाडौं जिल्ला अदालतका डि. दिलिप श्रेष्ठ समेतको रोहवरमा बरामद भएको ४१० ग्राम हेरोइन नष्ट गरिएको भन्ने समेत व्यहोराको मिति २०५२।११।२५ को नष्ट गरिएको मुचुल्का ।
म घरबाट काठमाडौं आई जग्गाको खोजी गर्दा जग्गाको दलाल रामबहादुर थापासँग भेटघाट भयो । त्यस्तैमा केहिदिन अगाडि कृष्ण नेवारले साथि डम्बरबहादुर श्रेष्ठसँग ला.औ. खरिद गर्ने मानिस छ ला.औ. खोज बिक्री गरेर फाईदा बाडौला भनी साथी डम्बर श्रेष्ठलाई भनी उक्त कुरा साथी डम्बर श्रेष्ठले मलाई भनेको र रामबहादुर थापाले चिनेको मानिस मार्फत ला.औ. छ भनी निज रामबहादुर थापाले भनेको र सुरज गुरुङ नामक व्यक्तिसँग भेट गर्न भनी म र रामबहादुर थापा गौशाला गयौं । चोकमा नै निज सुरज गुरुङलाई भेट्यौं । लागू औषध भएको मदन गुरुङ , सुमन गुरुङ, सामाखुशीमा बस्ने गरेको थाहा पायौं । अनि सुरजलाई लिएर सामाखुशी आयौं । त्यहां पुगेपछि लागू औषध किन्ने कुहिरे हो । उ लिन आउदैन उसको घरबेटी गुरुङ लिन आउछन् भनेपछि सो को योजना बनाई भोलिपल्ट २०५२।११।१४ गतेका दिन पूर्व योजना मुताबिक हामी पक्राउ परेका ४ जना सबै सामाखुशी गयौं । लागू औषध लिने गुरुङलाई कृष्ण नेवार भन्नेले चिनाई दिए अनि रामबहादुर थापाले निज गुरुङ भन्नेलाई लिई मदन गुरुङ र सुमन गुरुङलाई भेटाउन निजको कोठामा गए । केहीबेरपछि रामबहादुरले हातमा टाईगर लेखिएको लागू औषध लिई हामी भएको ठाउँमा आए सोहि अवस्थामा प्रहरीले पक्राउ गरेको हो भन्ने समेत व्यहोराको लाक्पा तामाङको बयान कागज ।
गाउँले सुरज गुरुङ मार्फत लाक्पा तामाङसँग चिनजान भएको हो । निज लाक्पाबाट डम्बर श्रेष्ठलाई चिनेको हुँ । त्यसपछि मदन गुरुङ, सुमन गुरुङसँग टाईगरछाप सेतो हेरोइन छ भन्ने भनेको हो सो को व्यवस्था गरी मिति २०५२।११।१४ गते लागू औषध हेरोइन बिक्री गर्नको लागि म समेत ४ जना उभिई बसेको अवस्थामा प्रहरीले ४१० ग्राम सेतो हेरोइन सहित पक्राउ गरेको हो भन्ने समेत व्यहोराको प्रतिवादी रामबहादुर थापाको बयान कागज ।
आफू भारतको सिलगुडीबाट काठमाडौं आई बसेको ६।७ महिनापछि पैसा सकिएको र गुरुङ जात भएको नाताले चिनजान भएका मदन गुरुङको कोठामा गई पैसा माग्दा पैसा छैन । टाईगर छाप सेतो हेरोइन छ, बिक्री गर्ने हो । खरिद गर्ने मानिस खोज्नुहोस् । बिक्री भएपछि फाइदाबाट ४,५ हजार तिमीलाई हुन्छ भनेकोले जग्गाको कारोबार गर्न रामबहादुर थापासँग उक्त कुरा गरी त्यसपछि निजले कृष्ण नेवार, डम्बर श्रेष्ठ, लाक्पा तामाङसँग चिनी परिचय गराएपछि लागू औषध लिने करो छ । आज छैन उसको घरबेटी गुरुङ नै छ उलिन आउँछ भनी भोलिपल्ट सोही मुताबिक रामबहादुरलाई लागू औषध खरिद भई मानिस सुरज गुरुङको कोठामा पुर्याएको करिब आधा घण्टापछि म पुग्दा गुरुङ केटाहरू सुमन गुरुङको कोठा बाहिर रहेछन् । यसपछि सुमन गुरुङ र मदन गुरुङले रामबहादुर थापालाई लागू औषध दिए । सो लिएर रामबहादुर समेतका हामी सडकमा आयौं । मदन र सुमन हामी भएको ठाउँ आई नपुग्दै प्रहरीले हामी ४ जनालाई लागू औषध हेरोइन सहित पक्राउ गरेको हो भन्ने समेत व्यहोराको सुरज गुरुङको बयान कागज ।
लागू औषध खरिद गर्न गुरुङ केटालाई रामबहादुर थापाले सुरज गुरुङको कोठामा लगि गए । केहिबेरपछि रामबहादुर थापाले लागू औषध हेरोइन लिएर हामी भए ठाउँ आए । मदन गुरुङ र सुमन गुरुङ आई नपुग्दै म समेतका ४ जनालाई लागू औषध सहित पक्राउ गरेको हो भन्ने समेत व्यहोराको डम्बरबहादुर श्रेष्ठको बयान ।
“The sample does not contain the above mentioned drug” भन्ने समेत व्यहोराको रोनाष्टको मिति २०५२।१२।१५ को प्रतिवेदन सहितको पत्र ।
रामबहादुर थापा समेतका व्यक्तिहरूको साथबाट लागू औषध हेरोइन बरामद गरी निजहरूलाई पक्राउ गरेको भन्ने कुरापछि थाहा पाएको हुँ भन्ने समेत व्यहोराको रमेश, भिमबहादुर गुरुङ, हरिकुमार लामा समतेका व्यक्तिको बेग्लाबेग्लै कागज ।
मदन गुरुङ, सुमन गुरुङ, र निजहरूले घरधनि समेत फेला नपरेको भन्ने समेत व्यहोराको प्र.स.नि. श्याम कुमार खड्काको मिति २०५२।१२।२२ को प्रतिवेदन साथै कृष्ण नेवार भन्ने व्यक्ति फेला नपरेको भन्ने समेत व्यहोराको प्र.स.नि. दिलबहादुर थापाको मिति २०५२।१२।२२ को प्रतिवेदन ।
बरामद भएको लागू औषध हेरोइन परीक्षणको लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाउँदा लागू औषध होइन भनी परीक्षण प्रतिवेदन प्राप्त भएको देखिन्छ । तापनि निजहरूले बरामद भएको चिजवस्तुलाई लागू औषध हेरोइन नै हो भनी एक आपसमा राखी लागू औषध हेरोइन हो भनी विश्वासमा पारी बिक्री वितरण समेतको लागि हिडेको अवस्थामा निजहरू पक्राउ परेको भन्ने देखिन्छ । अतः विपक्षीहरू रामबहादुर थापा, लाक्पा तामाङ, डम्बरबहादुर श्रेष्ठ र सुरज गुरुङ समेतका व्यक्तिहरूले लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १७क को कसूरमा ऐ. को १४(१)(छ)(३) ले सजायमा ऐ. को दफा १७क बमोजिम आधा सजाय हुन मानिसहरू र मिसिल समेत यसै साथ पेश गरी सादर अनुरोध गरिन्छ । साथै स्पष्ट वतन नखुलेका मदन गुरुङ, सुमन गुरुङ , कृष्ण नेवारको हकमा पछि निजहरू पक्राउ परेमा वा वतन स्पष्ट खुलेमा सोही वतनमा निजहरूका विरुद्ध कानूनबमोजिमको मागदावी लिइने व्यहोरा समेत छ भन्ने समेतको अभियोग–पत्र ।
अन्य प्रतिवादीलाई म चिन्दिन, मलाई प्रहरीले चाबहिलबाट पक्राउ गरेको हो । बरामदी मुचुल्का हिरासतमा तयार गरेको हो । अधिकारप्राप्त अधिधकारी समक्ष गरेको बयान मेरो राजी खुशीबाट गरेको नभई डरत्रास देखाई गराएको हो । अभियोग–पत्रमा उल्लेख गरेको अपराध मैले नगरेको हुँदा सजाय पाउनु पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी सुरज गुरुङले मिति २०५२।१२।२८ मा शुरु अदालतमा गरेको इन्कारी बयान ।
अभियोगमा उल्लिखित कसूर अपराध पनि मैले नगरेको अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान डरत्रासमा परी गरेको हो । मिति २०५२।११।१४ को बरामदी मुचुल्कामा प्रहरी कार्यालयमा सहिछाप गराएका हुन् बरामद गरेको होइन । मलाई २०५२।११।१० गते महाराजगंजबाट पक्राउ गरेको हो । अभियोग मागदावी बमोजिम गल्ती नगरेकोले सजाय पाउनु पर्ने समेत होइन भन्ने व्यहोराको प्रतिवादी रामबहादुर थापा भन्ने पदमबहादुरले मिति २०५२।१२।२८ मा शुरु अदालतमा गरेको इन्कारी बयान ।
म एउटा ट्रेकिङ पेशा गरिरहेको मानिस हुँ । मिति २०५२।११।१४ गतेका दिन मलाई हनुमान ढोकामा लगेर थुनेको हो । बरामदी मुचुल्का उक्त मितिमा प्रहरी हिरासतमा तयार गरेको र जबरजस्ती सही गराएको हो । अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान मेरो स्वेच्छाले गरेको बयान होइन । डरत्रासमा पारेर गरेको हो । अभियोग मागदावी अनुसार सजाय पाउनु पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी लाक्पा तामाङले गरेको मिति ०५२।१२।२९ मा अदालत समक्ष गरेको इन्कारी बयान ।
मिति २०५२।११।८ गते नया बसपार्क गंगबुमा काम विशेषले गएकोमा प्रहरीले सोधपुछका लागि हुनमानढोकामा ल्याई त्यतिकै थुनामा राखेको थियो । अपराध नगरेकोले दावी बमोजिमको सजाय पाउनु पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी डम्बरबहादुर श्रेष्ठले अदालत समक्ष गरेको इन्कारी बयान ।
प्रतिवादीले लागू औषध कारोबार गरेको भन्ने नदेखिँदा अभियोग दावी बमोजिम सजाय गरिपाऊँ भन्ने मागदावी पुग्न सक्दैन । आरोपित कसूरबाट प्रतिवादीहरूले सफाई पाउने ठहर्छ भन्ने शुरु काठमाडौं जिल्ला अदालतको फैसला ।
प्रतिवादीहरूले उक्त लागू पदार्थ लागू औषध हो भन्ने विश्वासमा परेर अरुलाई समेत लागू औषध नै हो भनी बिक्री गर्न लागेको अवस्थामा पक्राउ भएको अवस्थामा प्रतिवादीहरूले सफाई पाउने गरी भएको का.जि.अ. को मिति २०५८।८।१९ को फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी प्रतिवादीहरूलाई अभियोग मागदावी बमोजिम सजाय गरिपाऊँ भन्ने समेतको श्री ५ को सरकारको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र ।
शुरु फैसला फरक पर्न सक्ने हुँदा छलफलको लागि अ.वं. २०२ नं. तथा पु.वे.अ. नियमावली २०४८ बमोजिम विपक्षी झिकाई पेश गर्नु भन्ने समेतको मिति ०५९।६।३ को पुनरावेदन अदालतको आदेश ।
प्रतिवादीहरूले आरोपित कसूरबाट सफाई पाउने ठहर्याई काठमाडौं जिल्ला अदालतबाट मिति २०५८।८।२०।४ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । अभियोग दावी बमोजिम गरिपाऊँ भन्ने समेतको वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने पुनरावेदन अदालत पाटनको मिति ०६०।९।१ गतेको फैसला ।
लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा १७(क) को व्यवस्था लागू औषध बाहेकको अन्य पदार्थलाई लागूपदार्थ हो भनी विश्वासमा पारी कारोबार बेचबिखन समेतका कार्यलाई आपराधिक कार्यमानी अभियुक्तलाई सजाय गर्ने मनसाय हो । जहाँसम्म प्रस्तुत मुद्दामा विश्वासमा पारे नपारेको कुरा छ विधिविज्ञान प्रयोगशालाको प्रतिवेदन, प्याकको बाहिर उल्लिखित व्यहोरा, मौकामा यी प्रतिवादीहरूले लागू औषध हो भनी गरी दिएको बयान र प्रतिवेदक प्र.नि .मनोज न्यौपानेको प्रतिवेदनबाट प्रमाणित भईरहेको अवस्थामा प्रतिवादीहरूलाई सफाई दिएको पुनरावेदन अदालतको फैसला कानूनी त्रुटिपूर्ण हुँदा उल्टी गरी अभियोग दावी अनुसार होस भन्ने नेपाल सरकारको पुनरावेदन जिकिर ।
यसमा मौकामा प्रतिवादीहरूको साथबाट बरामद भएको प्याकेटमा सेतो हेरोइन, Special no 1 Made in Thailand भन्ने उल्लेख भएको दशी बरामद भएको देखिन आएको र मौकामा प्रतिवादीहरू आरोपित कसूरमा सावित रहेको अवस्थामा प्रतिवादीहरूलाई सफाई दिने गरी भएको पुनरावेदन अदालत पाटनको मिति २०६०।९।१ को फैसलामा लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १७क को व्याख्याको गम्भीर त्रुटि देखिनाले न्याय प्रशासन ऐन २०४८ को दफा १२(१) को खण्ड (क) को आधारमा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिदिएको छ भन्ने आदेशानुसार प्रस्तुत मुद्दा पुनरावेदनको रुपमा दर्ता भएको देखिन्छ ।
नियमबमोजिम दैनिक मुद्दा पेशीसूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको सम्पूर्ण मिसिल कागजातहरू अध्ययन गरियो । पुनरावेदक वादी नेपाल सरकारकोतर्फबाट उपस्थित विद्वान सहन्यायाधीवक्ता श्री किरण शर्मा पौडेलले प्रतिवादीहरूले लागू औषध कारोबार गर्ने गरेको सुराक पाई प्रहरीद्वारा खोजतलास हुदै जाँदा निजहरू पक्राउ भएको र निजहरूबाट प्लाष्टिकले प्याक गरेको सेतो पदार्थ बरामद भएको तथ्य मिसिल संलग्न बरामदी मुचुल्काबाट प्रष्ट भएको छ । प्रतिवादीहरूको बयान हुँदा उक्त पदार्थ लागू औषध भएको र खरिद बिक्रीका लागि आफूहरू जम्मा भएको भनी एक अर्कालाई पोल समेत गरी अधिकारप्राप्त अधिकारीसमक्ष बयान गरेको अवस्था छ । सो बयानलाई अदालतमा इन्कारी गरेपनि प्रमाण ऐन, २०३१ को दफा ९ अनुसार अन्यथा प्रमाणित गरेको अवस्था छैन । मिसिल संलग्न, बरामदी मुचुल्का समेतका आधारमा प्रतिवादीहरूलाई सफाई दिने ठहर गरेको पुनरावेदन अदालत पाटनको फैसला कानूनी त्रुटिपूर्ण हुँदा उल्टी गरी अभियोग दावी अनुसार सजाय होस् भनी बहस प्रस्तुत गर्नुभयो ।
उपर्युक्त विद्वान सहन्यायाधिवक्ताको बहस जिकिरसमेत सुनी इन्साफतर्फ विचार गर्दा पुनरावेदन अदालत पाटनबाट भएको फैसला मिले नमिलेको के रहेछ ? वादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन ? भन्ने सम्बन्धमा ठहर निर्णय दिनुपर्ने देखिन आयो ।
तत्सम्बन्धमा हेर्दा लागू औषध बिक्री गर्न हिडीरहेको अवस्थामा पक्राउ परेका प्रतिवादीहरूलाई लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा १४(१)(६)(३) को कसूरमा सोही ऐनको दफा १७(क) अनुसार सजाय गरिपाऊँ भन्ने अभियोग मागदावी भएकोमा वादी दावी पुग्न नसक्ने ठहर गरेको शुरु काठमाडौं जिल्ला अदालतको फैसला उपर वादीको पुनरावेदन, पुनरावेदन अदालत पाटनमा पर्दा सो अदालतले पनि शुरु जिल्ला अदालतको फैसलालाई नै सदर गरे उपर वादी नेपाल सरकारको पुनरावेदन यस अदालतमा पर्न आएको देखिन्छ ।
२. निर्णयतर्फ विचार गर्दा लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा १७(क) मा” लागू औषध बाहेकको अन्य कुनै पदार्थलाई लागू औषध हो भन्ने विश्वासमा पारी त्यस्तो कारोबार बेचबिखन निकासी पैठारी एवं उत्पादन समेतको कार्य गर्ने व्यक्ति वा गिरोहलाई सो अपराध गरे वापत हुने सजायको आधा सजाय हुनेछ “ भन्ने व्यवस्था गरेको पाइन्छ ।
३. बरामद भएको पदार्थ लागू औषध नभएको भन्ने व्यहोरा अभियोग पत्रको व्यहोराबाटै देखिएको छ । लागू औषध नियन्त्रण ऐन,२०३३ को दफा १७(क)मा उल्लिखित उक्त प्रावधान अनुसार कसूरदार ठहर हुनको लागि कुनै पदार्थलाई लागूपदार्थ हो भन्ने विश्वासमा पारी कारोबार समेत गरेको देखिनु पर्दछ । प्रस्तुत मुद्दाका प्रतिवादीहरूको अन्य कसैलाई लागूपदार्थ हो भन्ने विश्वासमा पारी कारोबार समेत गरेको भन्ने देखिन आउदैन । प्रतिवादीहरूसँगबाट कुनै वस्तु बरामद भै जाँच गराउँदा सो वस्तुलाई लागूपदार्थ नभएको भन्ने आधारमा मात्र अन्य वस्तुलाई लागूपदार्थ भन्ने विश्वासमा पारी कारोबार गरेको भनी प्रतिवादीहरूले कसूर गरेको ठहर गर्नु न्यायोचित हुदैन । प्रतिवादीहरूले अदालतमा बयान गर्दा आरोपित कसूर अपराध गरेकोमा पूर्ण इन्कार रही बयान गरेको देखिएको छ । निजहरूले अधिकारप्राप्त अधिकारी समक्ष गरेको बयानबाट पनि यी प्रतिवादीले लागू औषध नियन्त्रण ऐन ,२०३३ को दफा १७(क) बमोजिम कसैलाई विश्वासमा पारी कारोबार समेत गरेको भनी भन्न सकिने अवस्था नरहेको हुँदा प्रतिवादीहरूलाई लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा १७(१) को गंभीर त्रुटि भएको भन्ने अवस्था मिसील संलग्न प्रमाणबाट पुष्टि हुन आएन र ऐ.को १७(क) बमोजिम सजाय गरीनु पर्छ भन्ने पुनरावेदन जिकिरसँग र यस अदालतबाट मिति ०६१।१२।१० गते भएको मुद्दा दोहोर्याउने निस्सा प्रदान गर्ने आदेशसँग पनि सहमत हुन सकिएन । तसर्थ प्रतिवादीहरूले अभियोग दावी अनुसार आरोपित कसूरबाट सफाई पाउने ठहराई भएको शुरु जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत पाटनको मिति ०६०।९।१ गतेको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्तैन । प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.गिरीशचन्द्र लाल
इति संवत् २०६५ फागुन २६ गते रोज २ शुभम् ।
इजलास अधिकृत–परशुराम भट्टराई