निर्णय नं. ८०८४ - मोही नामसारी गरी मोही पुर्जा पाऊँ ।

निर्णय नं. ८०८४ जेठ २०६६ अङ्क २
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री गौरी ढकाल
माननीय न्यायाधीश श्री प्रकाश वस्ती
२०६१ सालको दे.पु.नं.– ८९२०, ८९२१
फैसला मितिः २०६५।१२।३०।१
मुद्दा :– मोही नामसारी गरी मोही पुर्जा पाऊँ ।
पुनरावेदक प्रतिवादीः जि. सुनसरी इनरुवा नगरपालिका वडा नं. ३ बस्ने सीतादेवी आचार्य
विरुद्ध
प्रत्यर्थी वादीः जिल्ला सुनसरी नरसिंह गा.वि.स. वडा नं.१ बस्ने जुमराती मियाँ
एवं
पुनरावेदक प्रतिवादीः जिल्ला सुनसरी इनरुवा न.पा. वडा नं. १ बस्ने मो.रहमान मियाँ समेत
विरुद्ध
प्रत्यर्थी वादीः जिल्ला सुनसरी नरसिंह गा.वि.स. वडा नं. १ बस्ने जुमराती मिया
शुरु निर्णय गर्नेः
भु.सु.अ.श्री ईश्वरलाल जोशी
पुनरावेदन फैसला गर्नेः
मा.न्या .श्री कृष्णप्रसाद बस्याल
मा.न्या.श्री गोविन्द कुमार श्रेष्ठ
§ बाटो भन्ने किल्ला प्रायः परिवर्तन हुँदैन भने व्यक्तिका जग्गाको हस्तान्तरणसँगै स्वामित्व परिवर्तन हुन सक्ने ।
§ २०२१ सालदेखि हालको अवस्थामा आउँदासम्म विभिन्न व्यक्तिको नाउँमा फरक फरक कित्ता कायम भई स्वामित्वमा फेरवदली हुँदै आउनु स्वाभाविक हुने ।
(प्रकरण नं.५)
§ जग्गाको मोही आफू रहेको दावी गर्दै अनुसूचीवाला व्यक्तिले दावी लिएको स्थितिमा अनुसूचीसँग सम्वन्धित जग्गा अन्यत्र छ भन्ने व्यक्तिले नै प्रमाण ऐन, २०३१ को दफा २८ ले जिकिर लिने पक्षमै सो जग्गा देखाउने कुराको प्रमाणको भार हुने ।
(प्रकरण नं.८)
§ पुनरावेदन गर्ने हक परित्याग गर्न पनि सकिने, चित्त नबुझेको कुरामा पुनरावेदन गरिने हुँदा आंशिक कुरामा मात्र पनि पुनरावेदन गर्न सकिने नै हुँदा कुनै पनि कित्तामा मोही कायम नगरेको निर्णय उपर कित्ता नै किटान गरी केवल दुई कित्ताको मात्र मोही कायम गरी माग्दछ भने अन्य कित्ताका हकमा पुनरावेदन नपरेको मान्नु पर्ने ।
(प्रकरण नं.१२)
पुनरावेदक प्रतिवादीतर्फवाटः विद्वान वरिष्ठ अधिवक्ताद्वय श्री हरिहर दाहाल र श्री कमलनारायण दास तथा विद्वान अधिवक्ताहरू श्री जग्गनाथ महतो सिंह र श्री सतीश झा
प्रत्यर्थी वादीतर्फवाटः विद्वान अधिवक्ताद्वय श्री देवीबहादुर घिमिरे र श्री वोर्णबहादुर कार्की
अवलम्वित नजीरः २०६० सालको दे.पु.नं. ९५५१, गोपीलाल लुइटेल समेत वि.वच्चा महतो
सम्बद्ध कानूनः
§ प्रमाण ऐन, २०३१ को दफा २८
§ भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ को उपदफा ८
फैसला
न्या.गौरी ढकालः न्याय प्रशासन ऐन २०४८ को दफा ९ बमोजिम यस अदालतको क्षेत्राधिकार भित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः-
साविक जग्गाधनी मीनबहादुर शाही तथा भोजबहादुर शाही र जगतकुमारी शाही समेत एकै परिवारका व्यक्ति भएकोले मेरा पिता रितु मियाले मोहीमा कमाई आएको भूमिसुधार लागू हुँदा पिता रितु मियाले मोही हकको १ नं. लगत भरी, २ नं. प्रकाशित भई, ४ नं. जोताहा निस्सा प्राप्त गरेको जि.सु.भोक्राहा वडा नं. ३ अन्तर्गत पर्ने साविक चौहदीमा पूर्वमा बाटो, पश्चिममा अगरु, उत्तरमा बाटो र दक्षिणमा अमिन मिया यति ४ किल्ला भित्रको जग्गा ४–१–०–० जग्गा सर्वेनापी हुँदाको अवस्थामा मीनबहादुर शाहीका नाउँमा जि.सु. भोक्राहा वडा नं.३ क को कि.नं. ४१ को १–१५–१८ ऐ. कि.नं. ४० को ज.वि. ०–४–११ ऐ. कि.नं. १५२ को ०–१९–१३ ऐ. कि.नं. १५३ मा ०–३–१५ समेत गरी जम्मा जग्गा ३–३–१७ कायम भएको सो जग्गा अधिया बटैया शर्तमा मेरा पिता रितु मियाले जोती कमाई आउनुभएकोमा साविक ज.ध. मीनबहादुरबाट लिखित रजिष्ट्रेशन गरी दा.खा. भै उक्त जग्गा भोजबहादुर शाहीको नाममा दा.खा. भै २०४१।२।२४ को राजिनामाबाट बलराम गुरुङका नाममा रजिष्ट्रेशन पारीत भएको बलराम गुरुङबाट समेत कि.नं. ४१ को जग्गा मध्ये उत्तर पश्चिमतर्फबाट ०–१९–४ कि.नं. ४० को जग्गा ०–४–११ ससीम र कि.नं.१५३ को जग्गा मध्ये पश्चिमतर्फबाट ०–०–९ समेत जम्मा १–४–४ जग्गा मिति ०४८।१।३ मा सीतादेवी आचार्यलाई राजिनामा पारीत गराई दिई निज नाउँ क्रमशः कि.नं. ४० को ०–४–११ कि.नं. ४४९ को ०–१९–४ कि.नं. १५३ कि.फो.भै कायमी कि.नं. ४५१ को ज.वि. ०–०–९ गरि जम्मा ज.वि. १–४–४ समेत दर्ता कायम रहेको, त्यसैगरी साविक कि.नं.४१ कि.फोड भै विपक्षी बलरामका नाउँमा बाँकी कायम रहेको कि.नं. ४५० को ०–१६–४ र कि.नं. १५३ कि. फोड भै कि.नं. ४५२ मा कायम रहेको ०–३–६ समेत गरी जम्मा ज.वि. ०–१९–१० जग्गा समेत विपक्षी बलराम गुरुङले क्रमशः विपक्षीहरू उपेन्द्रप्रसाद गुप्ता मो.रहमान मिया र उर्मिलादेवी महतो समेतका नाउँमा संयुक्त रुपमा २०५७।५।१४ को राजिनामा पास गरी हकछाडी दिंदा उक्त जग्गाहरू विपक्षी उपेन्द्रप्रसाद, मो.रहमानमियाँ र उर्मिलादेवी महतो समेत ३ जनाका नाममा संयुक्त दर्ता भएको छ । पिता रितु मियाले उल्लिखित जग्गाहरू जोतकोड गरी आएकोमा पिताको ०३४ सालमा र आमाको समेत ०५७ सालमा मृत्यु भएपश्चात् निजहरूको हक खाने म फिरादीले मोहीमा उक्त जग्गाहरू कमाई साल सालकै कुतबाली विपक्षी ज.ध.हरूलाई बुझाई आजसम्मको भरपाई लिइसकेको र उल्लिखित जग्गाहरू म वादीले नै जोतभोग गर्दै आएकोले कि.नं. ४०।४१।१५ कित्ता फोर भै हाल विपक्षी सीतादेवीका नाउँमा दर्ता कायम रहेको कि.नं.४० को ०–४–११ कि.नं. ४४९ को ०–१९–४ कि.नं. ४५१ को ०–०–९ गरी जम्मा १–४–४ र सा.कि.नं. ४१,१५३ को कि.फो.भै हाल विपक्षी उपेन्द्रप्रसाद मो.रहमान मिया र उर्मिला देवी समेत ३ जनाका नाउँमा संयुक्त दर्ता कायम रहेको कि.नं.४५० को ०–१६–४ कि.नं. ४५२ को ०–३–६ समेत गरी जम्मा ज.वि. ०–१९–१० जग्गा समेतमा भू.सं. ऐन , २०२१ को दफा २६(१) मुताबिक स्व. पिता रितु मियाँका नाउँबाट मेरा नाउँमा मोही हक नामसारी गरी मोही हकको स्थायी प्रमाण पत्र बनाई पाऊँ भन्ने फिराद पत्र ।
प्रतिवादीहरूले पेश गरेको प्रतिउत्तर पत्रमा वादी दावीको जग्गा मीनबहादुर शाहीलाई जग्गाधनी देखाई ९नं. लगत भरी २ नं. लगत प्रकाशित भै ४ नं. जोताहा अस्थायी निस्सा समेत प्राप्त गरेको र सर्भे नापीमा मीनबहादुरका नाममा नापी भएको कि.नं. ४।४१।१५२।१५३ का जग्गाहरू मीनबहादुरबाट भोजबहादुरमा गएको भन्ने उल्लेख गरेको पाइन्छ । सो कुरा विल्कूलै होइन । सर्वप्रथम मीनबहादुर शाहीका नाममा भोक्राहा गा.पं. हाल परिणत गा.वि.स. वडा नं. ३ मा जग्गा दर्ता नै छैन किनभने भूमिसुधार लागू हुँदाको अवस्था भु.सं. ऐन, २०२१ को दफा ७ को प्रयोजनका लागि प्रत्येक जग्गावालाले आफ्नो र आफ्ना परिवारका नाममा रहेको जग्गाको ७ नं. फाँटवारी पेश गर्नु पर्नेमा बाध्यात्मक कानूनी व्यवस्था अनुसार मीनबहादुरले ०२२।९।८।५ मा ७ नं. फाँटवारी भर्दाको अवस्था भोक्राहा गा.पं. वडा नं. २।५ मा पर्ने क्रमशः साविक कि.नं. ४।९३।२७५ वडा नं. २।५ कै साविक कि.नं. ५।१४।९३।२७७।२७८ को गरी २४–९–४ जग्गा दर्ता रहेको कुरा निजले पेश गरेको ७ नं. फाँटवारीबाट देखिन आउँछ । जसअनुसार भोक्राहा गा.पं.वडा नं. ३ मा मीनबहादुर शाहीका नाममा जग्गा दर्ता नै नरहेको स्पष्ट छ । साथै जगतकुमारी शाहिका नाममा पनि सो जग्गा तत्कालिन अवस्थामा दर्ता थिएन । जुन कुरा निजले भरेको २०२२।९।८ को ७ नं. फांटवारीबाट पनि वडा नं. ५ को जग्गा दर्ता रहेकोबाट स्पष्टै छ । सो जग्गा भु.सु. लागू हुँदाका अवस्था कपुर शम्सेरका नाममा दर्ता रहि निजबाट जगतकुमारीले राजिनामाबाट प्राप्त गरि २ नं. ४१६७ मिति २०२६।२।१३ मा भोजबहादुर शाहिलाई मो.वि.बालबाट राजिनामाबाट प्राप्त गरी दिनु भै सोही राजिनामाका आधारमा भोजबहादुर शाहिका नाममा २०२६।९।१९ मा मो.वि. मालको र.नं. ४१६७ को पारीत लिखत बमोजिम नापी भएको कि.नं. ३६।४०।४१ मा नापी भएको हो मीनबहादुर शाहीबाट भोजबहादुरले राजिनामा लिई भोजबहादुरको नाममा दा.ख भै आएको जग्गै दावीको जग्गा होइन छैन । मोही हुनलाई प्रचलित भू.सं. ऐन,२०२१ को दफा २५।१(२) अनुसार ऐन लागू हुनु १ नं. लगतको आधारमा २ नं. प्रकाशित भै त्यसमा कसैको उजूर नपरेपछि ४ नं. जो.अ.नि प्राप्त गरेको हुनुपर्ने , जग्गावालाले जग्गा कमाउन दिई ३ प्रति कबुलियत खडा गरी १ प्रति जग्गा कमाउने मोहीलाई १ प्रति आफूले १ प्रति जग्गावालाले गाउँ पंचायतमा पेश गरेको हुनुपर्ने यी दुई अवस्था बाहेक तेश्रो अवस्थामा मोही हुन सक्नेअवस्था नरहेको र साविक ज.ध. कपुर शम्सेर र सो पछिका जग्गाधनी जगतकुमारी दर्ताको जग्गा देखाई विपक्षीका पिता रितु मियाले मोहीको लगत भरेको समेत नदेखिएको र जग्गा दर्ता नै नभएको मीनबहादुर शाहीका नामबाट भरेको १ नं. लगत र प्रकाशित २ नं. अनुसूचीका आधारमा साविक ज.ध. कपुर शम्सेर र सो पछि जगतकुमारीका नाउँमा आई जगतकुमारीबाट उक्त जग्गा राजिनामाका आधारमा भोज बहादुरको नाममा नापी दर्ता भएको जग्गाको मोही रितु मिया भन्न मिल्दैन । उल्लिखित जग्गा सर्भेनापीका अवस्था किसानको महल तथा कैफियत महलमा पनि विपक्षीको नाम उल्लेख छैन । ज.ध. श्रेस्तापुर्जाको मोही महलमा पनि विपक्षीका पिताको नाम छैन । जग्गा साविक जग्गाधनी कपुर शम्सेर र निजबाट प्राप्त गर्ने जगतकुमारी र जगतकुमारीबाट राजिनामा गरी लिने भोजबहादुर शाहिकै जोतभोग चलनमा रहेको जग्गा हो । भोजबहादुरबाट जग्गा लिने बलरामले नै बाली लगाउने उठाउने गरी आउनु भएको थियो । बलरामको काम धाम गर्नेमानिस सहादत्त मिया पनि होइन । सहादत्त मिया विपक्षीका मानिस हुन । निजसँग मिलोमतो गरी एकै व्यक्तिबाट एकै मितिमा दामकाम गर्ने व्यक्ति हुँ भनी गरिदिएको भर्पाइले दावीका जग्गाको मोही हो भन्न मिल्ने अवस्था पनि छैन । पेश भएका भरपाईहरू देखाए सुनाएका अवस्थामा नभएका कुरा गरी जग्गाधनीका नामबाट लगतै नभरेको स्थितिमा पेश भएका रसिद भरपाइले सान्दर्भिक महत्व नराख्ने हुँदा ती भरपाई प्रमाण लाग्न सक्ने होइन छैन । अतः वादीका झुठा दावीबाट अलग फुर्सद गरिपाऊँ भन्ने प्रतिउत्तर पत्र ।
रितु मियाँका नाउँमामोही हक स्थापित भै सकेको नदेखिएको, वादीले दावी लिएका कित्ता जग्गाहरूको मोहियानी हक वादीका नाउँमा नामसारी हुन नसक्ने ठहर्छ भन्ने भूमिसुधार कार्यालय सुनसरीको मिति २०५९।५।२०।५ को फैसला ।
साविक जग्गाधनी मीनबहादुर शाहीले आफ्नी छोरी जगतकुमारी शाहीका नाउमा समेत जग्गा राखी भूमिसुधार लागू भएपछि दुवै बाबु छोरीले गलत वतन र बसोबास देखाई ७ नं. फाँटवारी भरेका जग्गा मेरा स्वर्गीय पिता रितु मियाले कमाई आएको र १ नं. लगत भरी २ नं. अनुसूची समेत प्रकाशित भएकोमा जगतकुमारीले २०२६ सालमा भोजबहादुर शाहीलाई १६ विगाहा जग्गा बिक्री गरेपछि २०२६ सालमा नापी भै भोजबहादुरकै नाउँमा फिल्डबुक तयार भएकोमा मेरा पिताको नाम किसान महलमा छुटसम्म भएको, त्यसबेला पनि मेरा पिता र म समेतलाई जग्गा मोहीमा कमाउन दिई भरपाई गरिदिएका र यी प्रत्यर्थीहरूले खरिद गरेपछि पनि उक्त जग्गाको कुत बुझाई ०५७।०५८ सालको भु.सु.का.मा धरौटी राखेको छु । साविक जग्गाधनी भोजबहादुर शाही समेतलाई नबुझी गरेको भु.सु.का. सुनसरीको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी विवादको भोक्राहा गा.वि.स. वार्ड नं.३(क) कि.नं. ४५० ,४५२ को जग्गाको मोही स्व.पिताको नामबाट मेरो नाउँमा मोही हक नामसारी गराई मोही हक प्रमाण पत्र बनाई दिने इन्साफ गरिपाऊँ भन्ने वादीको पुनरावेदन पत्र ।
यसमा वादीका पिता रित मियाले अनुसूची १ नं. फारम भरी २ नं. प्रकाशित भएको देखिन आएको र २०२१ सालमा मीनबहादुर शाहीले कपुर शम्सेरबाट लिएको राजिनामासमेतको मुल्याकंन गरी पुनरावेदक उक्त जग्गाको मोही हो होइन भन्ने निराकरण गर्नुपर्ने देखिँदा सो को विवेचना नगरी भएको शुरु भूमिसुधार कार्यालय सुनसरीको इन्साफ त्रुटिपूर्ण भै फरक पर्नसक्ने भएकोले अ.वं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली ,२०४८ को नियम ४७ बमोजिम विपक्षी झिकाउनु भन्ने पुनरावेदन अदालतको मिति २०६०।४।२० को आदेश ।
वादीले फिरादसाथ पेश गरेको कुरा बुझाएका भरपाईहरूको सक्कल प्रति र पुनरावेदकले निवेदनसाथ पेश गरेको लिखतको सक्कलप्रति समेत पुनरावेदक वादीबाट दाखिल गराई अ.वं.७८ न. बमोजिम प्रत्यर्थी प्रतिवादीलाई सुनाउन नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालतको २०६०।८।१६।३ को आदेश ।
कर्ण शम्शेर र कपुर शम्सेरका नाउँबाट साविक जग्गाधनी जगतकुमारी देवी शाहीले र.नं. २०७६ मिति २०२१।११।३ मा मो.वि. मालबाट राजिनामा गरी लिएका २१ न. कित्ताका जग्गाको २०२५ सालमा जगतकुमारी देवीले पुनरावेदनका बाबुलाई भरपाई गरिदिने प्रश्नै आउदैन । भरपाई कीर्ते हो । भोजबहादुर शाहीले बाली बुझी भरपाई गरिदिएको होइन । सो भरपाईमा परेका सहिछाप कीर्ते हो । सहादत्त मिया बलरामको कामदार नरहेको र निजले बाली बुझी गरिदिएका ०४१ सालदेखि २०५६ सालसम्मका भरपाई सबै जालसाजबाट खडा गरेका हुन् भन्ने व्यहोराको प्रत्यर्थी वारेस माधवप्रसाद कोइरालाले गरेको अ.वं. ७८ नं. बमोजिमको बयान ।
मैले दाखिल गरेका भरपाईहरू जुनजुन व्यक्तिले सहीछाप गरेका हुन् सोही मितिमा लेखी सही गरिदिएका हुन । कीर्ते जालसाज गरेका होइनन् । सद्दे सांचो भरपाईहरू हुन् । प्रत्यर्थी वारेसले गरेको बयान सबै झुठा हो भन्ने व्यहोराको वादीले गरेको प्रतिउत्तर बयान ।
अ.वं. ७८ नं. बमोजिम भरपाई सनाखत गराउँदा जालसाजीमा पोलिएका बाठुलाल उराव, बच्चा मण्डल र सहादत्त मियाँका नाउँमा प्रतिवादीसरह म्याद जारी गर्नु भन्ने समेत व्यहोराको मिति २०६०।९।२२ को पुनरावेदन अदालतको आदेश ।
पुनरावेदकबाट पेश भएका मैले लेखेका भरपाईहरू २०३८, ०३९, ०४० सालको तत्कालिन जग्गावाला भोजबहादुर शाहीलाई मोही स्वर्गीय रितु मियाका छोरा जुमराती मियाले कुतबाली बुझाउँदा निजले कुत बुझी गरिदिनु भएको सद्दे साँचो भरपाई हुन् । २०४१ सालदेखि २०५६ साल तकको कुतबाली बलराम गुरुङको कामदाम गर्ने साहदत्त मियाले बुझ्नु भएको सो भरपाई पनि सद्दे साँचो हो । सद्दे भरपाई कागज र व्यवहारलाई जालसाजीको संज्ञा दिई झुठ्ठा बयान गर्ने प्रत्यर्थीहरूलाई सजाय गरिपाऊँ भन्ने जालसाजतर्फका प्रतिवादी बच्चा मण्डलले गरेको बयान ।
बलराम गुरुङको जग्गा जमिनको कामदाम गर्ने म सहादत्त मिया भएकाले विवादीत जग्गा २०४१ सालदेखि २०५६ साल तक जम्मा १६ वर्षको प्रत्येक सिजनको कुत धानबाली जुमराती मियाले पटक पटक मलाई बुझाउँदा मैले बुझी भरपाई गरिदिएको हुँ । मैले बुझेको धानबाली पटक पटक तत्कालिन जग्गावाला बलराम गुरुङले बुझी लिई खानुभएको छ । सद्दे साँचो भरपाईलाई कीर्ते जालसाजको संज्ञादिने प्रत्यर्थीलाई सजाय गरिपाऊँ भन्ने जालसाजतर्फका प्रतिवादी सहादत्त मियांले गरेको बयान ।
मिति २०६१।२।१७ का आदेशानुसार मिति २०६१।३।१२ मा नाप नक्सा भई मिसिल सामेल रहेको ।
वादीले दावी गरेका कि.नं. ४४९,४०,४५१ को हकमा साविकका जग्गाधनी एवं दाता बलरम गुरुङले जेसुकै भने तापनि हालको जग्गाधनी सीतादेवी आचार्यले प्रतिउत्तरै नफर्काई वादीलाई मोही मानी दावी स्वीकार गरेको समेत बाट र कि.नं. ४५० र ४५२ को हकमा १ नं. अनुसूची २ नं. अनुसूची ४ नं.जो.अ.नि. तथा यस अदालतबाट भै आएको नक्साबाट समेत किल्ला मिले भिडेको हुँदा वादी दावी बमोजिम उपरोक्त कित्ताहरूमा स्वर्गीय रितु मियाँको नामबाट वादी जुमराती मियाका नाममा मोहियानी नामसारी भै मोहियानी हकको प्रमाण पत्र समेत निजले पाउने ठहर्छ । मोही नामसारी हुन नसक्ने भनी भूमिसुधार कार्यालय सुनसरीले मिति २०५९।५।२० मा गरेको इन्साफ उल्टी हुन्छ भन्ने पुनरावेदन अदालत विराटनगरको मिति ०६१।३।३१ को फैसला ।
दावीको जग्गा भूमि सम्बन्धी ऐन, २०२१ लागू हुँदाका अवस्था २०२१।११।३ सम्मका जग्गाधनी कपुर सम्सेर राणा थिए । निजले राजिनामा दिए पश्चात् जगतकुमारी साहीका नाउँमा दर्ता हुन आयो । त्यसपछि २०२६।२।१३ का पारीत लिखत अनुसार भोजबहादुर शाहीका नाउँमा दर्ता हुन आयो । निजबाट बलराम गुरुङहुदै मेरा नाउँमा दर्ता भै मैले फिराद गर्नु अगावै दावीको कि.नं. ४४९ र ४५१ बावा पेपर मिल्स प्रा.लि. लाई दिइसकेकी छु । सो जग्गा मीनबहादुर शाहीबाट हस्तान्तरण भई आएको जग्गा होइन । वादीका बाबुबाट भरीएको १ नं. लगत, २ नं. प्रकाशित हेर्दा मीनबहादुरलाई जग्गाधनी भनी उल्लेख गरेको पाइन्छ । मीनबहादुर बाट जगतकुमारीका नाउँमा जग्गा आएको छैन । जग्गा दर्ता नै नभएका व्यक्तिलाई जग्गाधनी देखाई भरेको लगत र प्रकाशित २ नं.अनुसूचीको आधारमा भु.सु.ऐन, २०२१ को दफा २५(१) नं. बमोजिम मोही मान्न मिल्दैन । जगतकुमारीले गरीदिएको बाली बुझेको भरपाई वादीले पेश गर्न सकेका छैनन् । तसर्थ वादी विधिवत नभएको हुँदा दावीको जग्गाको मोही वादी नभएको स्थितिमा वादीलाई मोही कायम गरी मोही नामसारी हुने गरी भएको पुनरावेदन अदालत विराटनगरको फैसला बदर गरी शुरु भूमिसुधार कार्यालय सुनसरीको इन्साफ सदर गरिपाऊँ भन्ने पुनरावेदन प्रतिवादी सीतादेवी आचार्यको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
दावीको जग्गाको जग्गावाला जगतकुमारीलाई जग्गाधनी देखाई लगतै नभरेको स्थितिमा मीनबहादुरलाई जग्गाधनी देखाई भरेको लगतको आधारमा कित्ता नम्बर पनि नभिडेको र कीर्ते गरी खडा गरेका भरपाईलाई प्रमाणमा लिनै नमिल्ने कागज प्रमाणमा ग्रहण गर्नुका साथै मीनबहादुरका नाउमा नापी दर्ता नै नभएका दावीका जग्गा मीनबहादुरका नाउँमा दर्ता भै मीनबहादुर भोजबहादुर हुदै प्रतिवादीका नाउँमा कायम भएका जग्गा हुन् । किल्ला भिड्छ भन्दैमा किल्लालाई प्राथमिकता दिई लिखित प्रमाण र प्रतिपादित कानूनी सिद्धान्तको उपेक्षा गरी रितु मियाको मोही हक कायम नभएकोलाई कायम भएको भन्दै मोही कायमै नभएकोले मोही नामसारी हुन नसक्ने ठहराई कानूनसम्मत भु.सु.का.बाट भएको फैसला उल्टी गरी दावी बमोजिम मोही नामसारी हुने ठहराएको पुनरावेदन अदालत विराटनगरको फैसला कानूनी त्रुटिपूर्ण हुँदा उल्टी गरिपाऊँ भन्ने पुनरावेदक प्रतिवादी मो.रहमान मिया, उपेन्द्रप्रसाद गुप्ता र उर्मिला देवी महतो समेतको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
यसमा पुनरावेदक प्रतिवादीको विवादित जग्गा साविकमा जगतकुमारी शाहीको नाममा रही तह तहको राजिनामाबाट आई २०४१।४।२४ मा भोजबहादुर शाहीबाट बलराम गुरुङले कि.नं. ४०, ४१, १५२, १५३ का जग्गाहरू राजिनामा पारीत गरी लिई निजका नामको जग्गाधनी प्रमाण पुर्जामा ती जग्गाहरूको जोतहा निज जग्गाधनीनै रहेको देखिएको, मीनबहादुर शाहीको नाममा सो जग्गाहरू २०२६ सालमा नापी भएपनि निजका नामको जग्गाधनी प्रमाण–पूर्जा कायम भएको, निस्सा देखिन नआएको मिति २०४१।२।२४ को राजिनामाबाट बलराम गुरुङका नाममा आएको, कि.नं. ४०, ४१, १५२, १५३ मध्ये कि.नं.१५२ को जग्गाको हकमा मोहीको विवाद पनि नरहेको तथा मीनबहादुर शाहीको नामको जग्गाको मोही १ नं. र २ नं. अनुसूची प्रकाशित भएको र निज मीनबहादुरका नाममा विवादका जग्गाहरूको जग्गाधनी श्रेस्ता कायम नभएको अवस्थामा निजलाई सोही आधारमा मोहीकायम गर्ने गरी भएको पुनरावेदन अदालत विराटनगरको फैसला फरक पर्ने हुँदा अ.वं.२०२ नं. बमोजिम विपक्षी झिकाई नियमानुसार पेश गर्नु भन्ने यस अदालतको झ.झी आदेश ।
यसमा प्रत्यर्थी वादीतर्फका विद्वान कानून व्यवसायी श्री देवीबहादुर घिमिरेले वादी दावीको विवादित कि.नं.४४९, ४५१ र कि.नं.४० का जग्गाका हालका जग्गाधनी बाबा पेपर मिल्सले यी वादी जुमराती मियालाई मोही स्वीकार गरी भु.सु.का. सुनसरीमा मोही बाँडफाँडका लागि निवेदन दिई कारवाही चलाई सकेको हुँदा उक्त कारवाहीयुक्त फाइल झिकाई प्रमाण लगाई पाऊँ भनी इजलास समक्ष व्यक्त गर्नु भएकोले उक्त पक्ष बिपक्ष भएको जग्गा बाँडफाँड सम्बन्धी मुद्दाको मिसिल भु.सु.का. सुनसरीबाट झिकाई नियमानुसार पेश गर्नु भन्ने यस अदालतको आदेश ।
यसमा पुनरावेदन अदालत विराटनगरबाट मिति ०६१।३।१२ मा भएको विवादीत जग्गाको नक्साको न.न.४, ५, ६ र १२ मा बाबा पेपर मिलको भोग चलन रहेको भनी उल्लेख भएको देखिँदा बाबा पेपर मिल विराटनगर–१२ मोरङलाई अ.वं. १३९ नं. बमोजिम बुझ्न सूचना पठाई नियमानुसार पेश गर्नु भन्ने यस अदालतको आदेश ।
भोजबहादुर शाहीले विवादका जग्गाहरू विभिन्न मितिमा विभिन्न व्यक्तिहरूलाई बिक्री गरेको र उक्त जग्गा मध्ये कि.नं. ४०, ४१, १५२ को जग्गा २०४१।२।२४ मा बलराम गुरुङको नाउँमा बिक्री गरेको र कि.नं. ३६ को जग्गा कित्ताकाट भई कायम भएको, कि.नं. १५३ को जग्गा २०३२।७।२७ मा असूल मियाले खरिद गरेको र मिति २०३६।७।१६ मा असूल मियाबाट ऐनुल मियाको नाउँमा राजिनामा पास भई उक्त कि.नं. १५३ को जग्गा गएको हो । कि.नं. ३६बाट कित्ताकाट हुँदा कायम भएको कि.नं. १५४ को जग्गा भोजबहादुर शाहीबाट बेदप्रसाद आचार्यको नाउँमा राजिनामा पारीत भई मिति ०५३।२।२८ मा निजबाट बाबा पेपर मिलका नाउँमा पास भई आएको हो । विवादित कि.नं. ४०, ४१, १५२, १५३ का जग्गा बलराम गुरुङबाट मिति ०४८।१।३ मा कि.नं.४० को ससीम कित्ता ४१ मध्ये कि.का. भई कायम भएको ४५१ को जग्गा समेत सीतादेवी आचार्यको नाममा राजिनामा पारीत गराई आएको हो । सीतादेवीको नाउँबाट मिति ०५३।२।२८ मा कि.नं. ४०, ४४९, ४५१ को जग्गाहरू बाबा पेपर मिलका नाउँमा पास भई आएका हुन् । त्यस्तै कि.नं. ४१ को जग्गा कित्ता काट भई बाँकी रहेको कि.नं. ४५० , कि.नं. १५३ को जग्गा कित्ता काट भई बाँकी रहेको कि.नं. ४५०,कि.नं. १५३ को जग्गा कित्ता काट भई बाँकी रहेको कि.नं. ४५२ को जग्गा मिति ०५७।५।१४ मा बलराम गुरुङबाट मो .रहमान मिया, उर्मिला देवी महतो , उपेन्द्रप्रसाद गुप्ताको संयुक्त नाममा पारीत भई आएको समेतका विवादित कित्ताका जग्गा विपक्षी वादीको मोही हकको हो भनी हकभोग रहेको कुरा कहिकतैबाट नदेखिँदा मोही नामसारी हुन नसक्ने भनी अ.वं. १३९ नं. बमोजिम बुझिएका बाबा पेपर मिल्स प्रा.लि.कोतर्फबाट यस अदालतमा भएको बयान ।
नियमबमोजिम दैनिक मुद्दा पेशीसूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितका सम्पूर्ण मिसिल कागजातहरू अध्ययन गरियो । पुनरावेदक प्रतिवादी मो.रहमान मिया समेतकातर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र अधिवक्ता श्री जगन्नाथ महतो सिंहले विपक्षी वादीले कि.नं. ४०, ४१, १५२ र १५३ को जग्गाको साविक श्रोत मीनबहादुर शाहीको नामको जग्गा हो भन्ने कुरा कुनै पनि लिखतबाट पुष्टि गर्न सकेका छैनन् । वादीले आफू कति जग्गाको मोही हुँ भन्ने कुरा किटान गर्न सकेका छैनन । केही कित्ता छाडी केही कित्तामा मात्र मोही हुँ भन्ने दावी गरेका छन् । यस्तो हचुवा दावी र वेप्रमाण मोही नामसारी हुन सक्तैन । मीनबहादुर शाहीलाई जग्गाधनी देखाई गरेको १ नं. लगत एवं २ नं. अनुसूचीको आधारमा जगतकुमारी शाही जग्गाधनी भएको जग्गाको मोहियानी हकमा दावी गर्न मिल्दैन । जग्गाधनी एउटालाई देखाई १ नं. लगत र २ नं. अनुसूची प्रकाशित भएको अवस्थामा अर्को व्यक्तिको जग्गामा मोही कायम गर्न नमिल्ने सिद्धान्त सम्मानित अदालत समेतबाट प्रतिपादत भइसकेका छन् । मीनबहादुर शाहीको नामबाट कुनै पनि जग्गा भोजबहादुर शाहीको नाममा हस्तान्तरण भएको कुरा कुनै पनि लिखतबाट वादीले देखाउन नसकेको अवस्था छ । वादीले बलराम गुरुङलाई प्रतिवादी बनाएको तर निजको दातालाई प्रतिवादी बनाउन सकेका छैनन । मीनबहादुर शाही र जगतकुमारी शाही बाबु छोरी भएपनि भिन्न भएकी छोरी भनी २०२६।२।१३ को लिखतमा साक्षी बसी सनाखत गरेको अवस्था छ । मीनबहादुर शाही र भोजबहादुर शाही एकै पुस्तेवारी भित्रका व्यक्तिहरू होइनन । वादीले पेश गरेका भरपाईलाई कीर्ते भनी प्रतिवादी वारेसले नामाकरण गरे पछि विशेषज्ञबाट जाँच गराउनु पर्नेमा सो समेत नगराई भएको पुनरावेदन अदालत विराटनगरको फैसला कानूनी त्रुटिपूर्ण हुँदा उल्टी गरी मोही नामसारी हुन नसक्ने ठहर गरिपाऊँ भनी बहस प्रस्तुत गर्नुभयो ।
त्यसै गरी अ.वं.१३९ नं. बमोजिम बयानका लागि झिकाइएका प्रतिवादी बाबा पेपर मिल्स प्रा. लि. कोतर्फबाट उपस्थित वरिष्ठ अधिवक्ता श्री कमल नारायण दास र अधिवक्ता श्री शतिष झाले भूमि सम्बन्धी ऐन, २०२१ सालमा लागू हुँदा भोक्ताहा मौजामा मीनबहादुरको कुनै जग्गा थिएन । यस कुराको पुष्टि मीनबहादुरले ०२२।९।८ मा पेश गरेको ७ नं. फाँटवारीबाट भएको कुरा सम्मानित अदालतमा पक्षले गरेको बयानबाट पुष्टि हुन्छ । मा.पो.का.मोरङको र.नं.२०७६ मिति २०२१।११।३ को पारीत राजिनामाबाट साविक जग्गाधनी अमृतकुमारी राणा र कपूर शम्सेर राणाले २५–०–० विगाहा जग्गा जगतकुमारीलाई हक छाडी दिएको र सोही जग्गा मध्ये १६ विगा जग्गा जगतकुमारीले मिति २०२६।२।१३ मा र.नं.४१६७ मार्फत भोजबहादुर शाहीलाई हक छाडी लिखत पारीत गरिदिएको हो । सोही जग्गा भोजबहादुरले भोक्राहा वडा नं. ३(क) कि.नं. ४०, ३६, ४१ समेतमा २०२६।९।१९ र २० का दिन जोत खाली र स्वामित्वमा निजको नाम उल्लेख भई नापी भएको देखिन्छ । साविक जग्गाधनीबाट हक टुटाई लिने जगतकुमारीको नाउँबाट रितु मियाले कुनै १ नं. अनुसूची नभर्नुका साथै २ नं. प्रकाशित नहुनुका साथै नापी गराउन नसकेको अवस्थामा भु.सं. ऐन २०२१ को दफा २५(१), ३४ र भु.सं.ऐन, २०२१ को नियम ३, ५, ६ को पूर्व अवस्था नै नपुगी मोही कायम हुन चाहिने आधारभूत प्रमाण बिना वादी दावी नपुग्ने हुन्छ । यस कारण जुन जग्गा मीनबहादुरको स्वामित्वमा आएकै छैन र साविक जग्गाधनी अमृतकुमारी/ कपूर शम्सेरबाट जगतकुमारी र निजबाट भोजबहादुर हुदै सीता आचार्य मार्फत बाबा उद्योगको नाउँमा आएको जग्गामा गैह्र व्यक्ति मीनबहादुर नाउँको अनुसूची देखाई मोही कायम हुन नसक्ने भएकोले दावी अनुसार निर्णय गर्न मिल्दैन भनी बहस प्रस्तुत गर्नुभयो ।
त्यसै गरी प्रत्यर्थी वादीकातर्फबाट उपस्थित विद्वान अधिवक्ताहरू श्री देवीबहादुर घिमिरे र श्री बोर्णबहादुर कार्कीले वादी जुमराती मियाको पिता रितु मियाले मोहीमा कमाएको जग्गाको जग्गाधनी अविवाहित जगतकुमारीदेवी शाही भएपनि जग्गा हेरविचार र भोग चलन गर्ने एकासगोलको पिता मीनबहादुर शाही भएकोले र २०२६ सालमा जग्गा बिक्रीगर्दा अविवाहिता जगतकुमारी भन्ने उल्लेख भइरहेको अवस्थामा मोहीको १ नं. लगत लिदा निजको नाम लेखिन गएको हो । पछि खास जग्गाधनी जगतकुमारी शाहीले वादीको पिता रितु मियालाई मोही स्वीकार गरी जग्गाको बाली बुझी २०२५।११।१६ गते भरपाई गरिदिएको अवस्थामा वादी मोही हुने निर्विवाद छ । वादीको पितालाई मोही स्वीकार गरी खास जग्गाधनी जगतकुमारीले अधिकारप्राप्त निकायमा बाली बुझी भरपाई गरिदिएको छिन । २०२१ सालमा जग्गा लिंदा साविक कि.नं. १४ बाटै कित्ताकाट गरी बाबु छोरीले जग्गा लिएको तथ्य २०२१ सालको राजिनामाबाट देखिन्छ । एका सगोलका परिवारको पिताबाट १ नं. अनुसूची भर्नु र २ नं. प्रकाशित हुनु अस्वभाविक होइन । वादीले ४ नं. अस्थायी निस्सा समेत प्राप्त गरिसकेका छन् । तसर्थ पुनरावेदन अदालत विराटनगरबाट फैसला कानूनसम्मत भएकोले सदर होस् भनी बहस जिकिर प्रस्तुत गर्नुभयो ।
उपर्युक्त विद्वान कानून व्यवसायीहरूको बहस जिकिर तथा वहाँहरूले आ–आफ्नो पक्षकातर्फबाट पेश गर्नु भएका तर्कयुक्त बहसनोट तथा मिसिल प्रमाणसमेत अध्ययन गरी हेर्दा पुनरावेदन अदालत विराटनगरबाट भएको फैसला मिले नमिलेको के रहेछ ? र प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्ने नसक्ने के हो ? सो सम्बन्धमा ठहर निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा भूमिसुधार लागू हुँदा मोहीको १ नं. लगत भरी २ नं. अनुसूची प्रकाशित भई ४ नं. अस्थायी जोताहा निस्सा रितु मियाले प्राप्त गरेको देखिन्छ । उक्त २ नं. अनुसूचीमा सुनसरी भोक्राहा वडा नं. ३ को पूर्वमा बाटो, पश्चिमा जगन, उत्तरमा बाटो, दक्षिणमा अमिन मियाँ भएको यति ४ किल्ला भित्रको जग्गा उल्लिखित छ । उक्त अनुसूचीमा जग्गाधनीमा मीनबहादुर शाहीको नाम उल्लेख भएको देखिन्छ । यही अनुसूचीको आधारमा वादीले सुनसरी भोक्राहा ३ क को कि.नं. ४०, ४१, १५२ र १५३ को मोहियानी दावी गर्दै रितुको छोरा जुमरातीबाट यो कारवाही उठान भएको देखिन्छ । २०२६।९।२० को सर्भे नापीबाट कायम यी कित्ताहरू साविकमा कपुर शमशेर र अमृत शमशेरको स्वामित्वमा रही साविक कि.नं. १४ मा रहेको तथ्य पनि स्थापित छ । २०२१।११।३ मा पारीत लिखतबाट ज.वि. २५–०–० जगतकुमारी देवी शाही (र.नं. २०७६) र यसतै गरी ज.वि. ९–०–० मीनबहादुर शाहीका नाममा सोही मितिको र.नं. २०७५ बाट आएको देखिन्छ । जगतकुमारी मीनबहादुर बाबु छोरी भएको र छोरी जगतकुमारी त्यस बेलामा अविवाहित रहेको कुरामा पनि विवाद देखिन्न । जगतकुमारी शाहीको नामको सो जग्गा नै विभिन्न मितिका लिखतद्वारा भोजबहादुर शाही, बलराम गुरुङ असुल मियाँ, ऐनुल मियाँ हुँदै विभिन्न कित्ता हुँदै कि.नं. ४० सीतादेवी, कि.नं. ४१ को कित्ताकाट पछि कि.नं. ४४९ सीतादेवी र कि.नं. ४५० रहमान मियाँ, उपेन्द्रप्रसाद गुप्ता र उर्मिलादेवी महतो तथा कि.नं. १५३ को कि.का. पछिको कि.नं. ४५१ सीतादेवी र कि.नं. ४५२ रहमान मियाँ, उपेन्द्रप्रसाद गुप्ता र उर्मिलादेवीका नाममा कायम रहेको पाइन्छ । कि.नं. १५२ फिरादीले फिरादको पेटबोलीमा उल्लेख गरे पनि माग खण्डमा उल्लेख नगरेबाट यसमा वादीको दावी रहेको मान्न मिलेन । बाँकी कित्तामा मोहियानी हक पाउन वादीको दावी देखिन्छ ।
३. उक्त जग्गामा विपक्षीका पिताले मोहीको हैसियतले विपक्षीले कमाएको नहुँदा मोही नामसारी हुन सक्दैन भन्ने प्रतिबाद भएको जिकिरमा वादीका पिताले साविकमा जोतभोग गरी आएको जग्गा र प्रत्यर्थीका नाउँमा कायम भएको जग्गा एकै हो होइन भन्ने सम्बन्धमा विवाद उत्पन्न हुँदा भुमि सुधार कार्यालय सुनसरीले रितु मियाका नाँउमा मोहियानी हक स्थापित भै सकेको भन्ने नदेखिँदा वादीले दावी लिएका कित्ता जग्गाहरूको मोहियानी हक वादीका नाउँमा नामसारी हुन नसक्ने ठहराई भएको निर्णयमा चित्त नबुझी वादी जुमराती मियाको पुनरावेदन पत्र पुनरावेदन अदालत विराटनगरमा पर्दा सो अदालतले शुरु भु.सु.का.को निर्णय उल्टी गरी वादी दावी अनुसार मोही नामसारी हुने ठहराई भएको फैसलामा चित्त नबुझी प्रतिवादीहरूको छुट्टा छुट्टै पुनरावेदन यस अदालतमा पर्न आएको देखिन्छ ।
४. प्रतिवादीहरूको हकको मूलस्रोत २०२१ सालमा पारीत राजिनामाको चार किल्ला हेर्दा पूर्व बाटो पश्चिम पर्ति, उत्तर बाटो र दक्षिण कि.नं. २१ भनिएको छ । अर्थात पूर्व र उत्तर बाटो तथा अन्य किल्ला व्यक्तिका जग्गा समेत उल्लेख छ । वादीका पिताका नामको अुनसूचीमा पनि पूर्व र उत्तर बाटो भन्ने जनिएको छ । दुवै लिखतका जग्गा वा.नं. ३ कै देखिन्छन् । जगतकुमारीले २०२५।१०।१६ मा सम्बन्धित गा.पं.को रोहवरमा निज रितु मियाबाट धानबाली बुझी भरपाई गरिदिएको मिसिल संलग्न भरपाइबाट देखिन आउँछ । र यो भरपाई तत्कालीन गा.पं. बाट प्रमाणित पनि छ । सम्बन्धित कार्यालयबाट प्रमाणित गरी राखिएको यी कागजातहरू अन्यथा नभएसम्म सही रुपमा रहेको भनी प्रमाण ऐन, २०३१ को दफा ६ग बमोजिम अनुमान गर्नुपर्ने देखिन आयो ।
५. बाटो भन्ने किल्ला प्रायः परिवर्तन हुँदैन भने व्यक्तिका जग्गा क हस्तान्तरणसँगै स्वामित्व परिवर्तन हुन सक्दछ । रितु मियाँको २ नं. अनुसूचीको चार किल्ला र पुनरावेदन अदालत विराटनगरको आदेशानुसार मिति २०६१।३।१२ मा भएको नक्सा कुण्डलीमा उल्लिखित चार किल्ला एक आपसमा मिले भिडेको पुनरावेदन अदालतको विश्लेषण समेत देखिन्छ । साविकमा रहे भएको उत्तर र पूर्वको बाटो यथावत अवस्थामा कायमै रहेको पाइन्छ भने जग्गा २०२१ सालदेखि हालको अवस्थामा आउँदासम्म विभिन्न व्यक्तिको नाउँमा फरक फरक कित्ता कायम भई स्वामित्वमा फेरवदली हुँदै आउनु स्वभाविक हो ।
६. पुनरावेदन अदालत विराटनगरको आदेशानुसार अदालतमा पेश हुन आएका कुत बुझेका भरपाई लगायतका लिखतलाई सद्दे साँचो होइनन्, कीर्ते जालसाजीका तवरबाट खडा गरेका हुन् भनी प्रतिवादी वा.ले सद्दे साँचो हुन भनी वादीले बयान गरेकोमा कीर्ते जालसाजी गर्नुपर्ने कारण र प्रयोजन प्रतिवादीबाट खुल्न नआएको र ती लिखतहरू लिखतको रुप आकृतिबाट पनि अन्यथा भन्न मिल्ने अवसथा देखिएन ।
७. भूमिसुधारको टोलीले २०२३।८।४ मा वादीका बाबु रितु मियाको नाउँमा १ नं. फारम भर्दा विराटनगर निवासी मीनबहादुर शाहीको नाउँको ज.वि. ४–१०–० जग्गा मोहियानीमा कमाएको र सर्वेनापी हुनु पूर्वको अवस्थामा कित्ता नै नहुँदा कमाएको जग्गाको चार किल्ला पूर्व बाटो, पश्चिम जागेन, उत्तर बाटो, दक्षिण अमिन मिया भन्ने लेखिएको र सोही अनुरूप २ नं. अनुसूची प्रकाशित भएको पाइन्छ । जुन अनुसूची उपर जग्गाधनी वा अरु कसैको उजूर नपर्दा ४ नं. जोताहा अस्थायी निस्सा वितरण भई रितु मियाका नाउँमा मोहियानी हक कायम भएको देखिन्छ । लिखतले प्रष्ट पारी रहेकोछ । साथै रितु मियाले भरेको २ नं. अनुसूचीमा जग्गाधनी मीनबहादुर शाही विराटनगर अरुको अधियामा कमाएको भनी लेखाएको पाइन्छ भन्ने १ नं. मोहीको लगतमा जग्गावालाको नाम मीनबहादुर शाही भनी लेखिएको अवस्था छ । मीनबहादुर शाही र जगतकुमारी शाही एका सगोलका बाबु छोरी हुन भन्ने कुरा माथि उल्लेख भैसकेको छ ।
८. भूमि सम्बन्धी ऐन, नियम अन्तर्गतका १ नं., २ र ४ नं. अनुसूचीहरू शुन्यमा विलिन हुन सक्दैनन् । २ नं. अनुसूचीमा जग्गाधनी महलमा बाबु मीनवहादुरको नाम उल्लेख भएबाट विवादित जगतकुमारीको यी जग्गासँग तिनको सम्बन्ध छैन भन्ने पुनरावेदक तर्फका कानून व्यवसायीहरूको जिकिर रहेको छ । प्रतिउत्तरमा मीनबहादुर शाहीको नाममा सुनसरी भोक्राहा ३ मा जग्गा नै नभई वा.नं. २ र ५ मा छ भनिएको छ । तर, अनुसूची हेर्दा जग्गा वा.नं. ३ को देखिन्छ र पछिल्ला पारीत लिखतहरू हेर्दा पनि विवादित जग्गा वा.नं. ३ कै देखिन्छन् । यसबाट समेत मोहीले जग्गाधनीको नाम खुलाउँदा अविवाहित छोरीको सटृा बाबुको नाम लेखाएको देखिन्छ । यो हाम्रो सामाजिक अवस्थाको परिप्रेक्ष्यमा अस्वाविक पनि होइन । जग्गाधनीको नाम फरक परेको अनुसूची अमान्य हुन्छ भन्ने पुनरावेदन तर्फका विद्वान कानून व्यवसायीहरूको जिकिर छ । यस सन्दर्भमा उहाँहरूले ने.का.प. २०४३, पृष्ठ ११८, नि.नं. २६२० को नजीरलाई विशेषरुपमा उल्लेख गर्नु भएको छ । उक्त नजीरमा २०१६ सालमै वण्डा भई अलग भएका दाजु मध्ये जो जग्गाधनी होइन उनको नाम अनुसूचीमा उल्लेख छ । तर, यस मुद्दामा अविवाहित छोरीको नामको जग्गामा वावुलाई जग्गाधनी देखाइएको छ । २०२६।२।१३ को र.नं. ४१६७) जगतकुमारीले भोजबहादुरलाई गरिदिएको लिखतमा भिन्न भएकी छोरी लेखिएबाट सो लिखतपूर्व मिति २०२३।८।४ मा अनुसूची भर्दाको स्थितिमा बाबु छोरी भिन्न भएको मान्ने आधार देखिएन । २०२५।११।१६ मा जगतकुमारीले रितु मियाँलाई वाली बुझी तत्कालीन गा.पं. समक्ष गरिदिएको रसिदले पनि निज बाबु छोरी व्यवहार तथा सम्बन्ध देखाउँछ । यसका अतिरिक्त सो नजीर पछि २०६१।१०।२९ मा गोपीलाल लुइटेल समेत वि. वच्चा महतो भएको २०६० सालको दे.पु.नं. ९५५१ को मोही प्रमाणपत्र पाऊँ भन्ने मुद्दामा यसै अदालतबाट बालकृष्ण लुइटेलका नाममा नापी दर्ता भएको जग्गाको परशुराम उपाध्यायका नामबाट प्रकाशित भएको २ नं. अनुसूचीका आधारमा विपक्षीलाई मोही कायम गर्न मिल्दैन भन्ने पुनरावेदक प्रतिवादीहरूको जिकिर रहेको देखिए पनि परशुराम र बालकृष्ण तत्काल एकापरिवारका अंशियार नाताका व्यक्ति थिए भन्ने तथ्यलाई पुनरावेदक प्रतिवादीका वारेसले पुनरावेदन अदालतमा मिति २०५८।१।५ मा गरिदिएको कागजमा अन्यथा भन्न सकेको पाइदैन .. भन्दै मोहियानी हकको प्रमाण पत्र दिनुपर्ने निर्णय भएको पाइन्छ । यो नजीर यस मुद्दामा सान्दर्भिक देखिन्छ । यो जग्गाको मोही आफू रहेको दावी गर्दै अनुसूचीवाला व्यक्तिले दवी लिएको स्थितिमा अनुसूचीसँग सम्वन्धित जग्गा अन्यत्र छ भन्ने व्यक्तिले नै प्रमाण ऐन, २०३१ को दफा २८ ले जिकिर लिने पक्ष मै सो जग्गा देखाउने कुराको प्रमाण भार हुन्छ । पुनरावेदक पक्षले यो दायित्व पुरा गर्न सकेको पनि पाइन्न ।
९. साविक जग्गाधनीबाट जगतकुमारीबाट २०२६।२।१३ मा भोजबहादुर, निजबाट २०४१।२।२४ मा बलराम गुरुङका नाउँमा स्वामित्व सरेको देखिन्छ । पुनः बलराम गुरुङले सो कि.नं. १५३ का जग्गा पनि असुल मियाँ, ऐनुल मियाँ तथा २०४८।१।३ को राजिनामाले उक्त जग्गा मध्ये कि.नं. ४० को ससिम, कि.नं. ४१ बाट कित्ताफोड गरी कि.नं. ४४९ मा ०–१९–४, कि.नं. १५३ बाट कित्ताफोड गरी कि.नं. ४५१ मा ०–०–९ समेत जम्मा ज.वि. १–४–४ जग्गा प्र. सीतादेवी आचार्यलाई हक छाडी राजिनामा गरी दिएको पाइन्छ । यसरी राजिनामा गर्दा लिने दिने कसैले पनि भूमि सम्बन्धी ऐन, २०२१ को दफा २६ को उपदफा ८ बमोजिम जग्गाधनी फेरिएको सूचना मोहीलाई दिनुपर्नेमा अनिवार्य कानूनी व्यवस्थाको पालना गरेको पनि देखिएन ।
१०. बलराम गुरुङले सीतादेवीलाई ०४८।१।३ मा राजिनामा गरी दिई कि.नं. ४१ को कित्ताफोडबाट बाँकी रहन आएको कि.नं.४५० को ०–१६–४ र कि.नं. १५३ को कित्ताफोडबाट बाँकी रहन गएको कि.नं.४५२ को ०–३–६ जग्गा ०५७।५।१४ को राजिनामाले बलराम गुरुङबाट प्रतिवादी उपेन्द्रप्रसाद गुप्ता, उर्मिलादेवी महतो र मो.रहमान मियाका नाउँमा हक सरेको देखिन्छ । सो जग्गामा कुनै मोही थिएन भन्ने प्रतिवादीहरूको शुरु प्रतिवाद र पुनरावेदन जिकिर भएकोमा २०५७।५।१४ मा राजिनामा लिने लिएको जिकिरलाई त्यस अघिका साविक दाता, परदाता एवं दर्तावालाका पालामा भए गरेका काम कारवाही तथा सोही वेला स्थापित भएको हक र दायित्व समेतबाट विमुख गर्न कानूनतः मिल्दैन ।
११. विवादित कि.नं. का जग्गाको कुतबाली साविक जग्गाधनी भोजबहादुर शाहीले २०३८, २०३९ र २०४० सालमा वुझी भर्पाइ गरिदिएको छ भने बलराम गुरुङको दामकाम गर्ने व्यक्ति सहादत मियाँले सोही जग्गाको २०४५, २०४६, २०४७ सालको बाली बुझेको भरपाई गरिदिएको मिसिल संलग्न प्रमाणबाट देखिन्छ । २०४८ सालमा कित्ताफोड गरिलिने सीतादेवीले झै २०५७ सालमा वाँकी जग्गा खरीद गर्ने उपेन्द्र, उर्मिला र मो.रहमानले पनि दाताले स्वकारेको मोहीलाई अस्वीकार गर्न पाउने कानूनी आधार हुँदैन । यस अदालतवाट २०६० सालको दे.पु.नं. ९५५१ को लक्ष्मी देवी लुइटेल बि.बच्चा महतो भएको मोही प्रमाण पत्र मुद्दामा यस अदालतबाट प्रतिपादित सिद्धान्त समेत यस सन्दर्भ आकर्षित हुने देखिन आयो । उक्त प्रतिपादित सिद्धान्त हेर्दा “स्वयं जग्गाधनी पुनरावेदकले विपक्षी वादीसँग साल सालै बाली बुझी भरपाई गरीदिएको तथ्य समेतबाट पुनरावेदकले आचरणगत रुपमा निजलाई मोही स्वीकार गरेको देखिँदा” भन्ने आधार समेतमा मोही कायम भएको पाइन्छ । दाताले जे जस्तो हक दायित्व हुन्छ त्यो हक प्राप्त गर्ने व्यक्तिमा सर्दछ । तसर्थ वादी मोही नै होइन भन्न मिल्दैन ।
१२. अव वादी जुमराती मियाँको कति जग्गाको मोही हुने भन्ने सम्बन्धमा हेर्दा निजले पुनरावेदन अदालत विराटनगरमा दिएको पुनरावेदन पत्रको पृष्ठ नं. ८ को प्रकरण ४ मा भोक्राहा गा.वि.स. वडा नं.३(क) कि.नं. ४५० र ४५२ को जग्गाको मोही हक नामसारी गराई मोही प्रमाण पत्र बनाई दिने गरी न्याय पाऊँ भनी उल्लेख गरेको देखिन्छ । फिराद दावी गर्दा माग खण्डमा उल्लेख नगरेको कि.नं. १५२ का हकमा निजले दावी नगरेको मान्नु पर्ने हुन्छ । यसै गरी पुनरावेदन अदालत विराटनगरमा पुनरावेदन गर्दा कि.नं. ४५० र ४५२ का हकमा मात्र मोही प्रमाण पत्र वनाई पाउने दावी वादी जुमराती मियाँले गरेको छ । पुनरावेदन गर्ने हक यस्तो हक हो जो परित्याग गर्न सकिन्छ । चित्त नबुझेको कुरामा पुनरावेदन गरिन्छ । आंशिक कुरामा मात्र पनि पुनरावेदन गर्न सकिन्छ । वादी दावी भन्दा वढी बोल्न नमिल्ने भन्ने मान्य सिद्धान्त हो । त्यसैगरी उही पुनरावेदकले आफ्नो पुनरावेदनमा कुनै पनि कित्तामा मोही कायम नगरेको निर्णय उपर कित्ता नै किटान गरी केवल दुई कित्ताको मात्र मोही कायम गरी माग्दछ भने अन्य कित्ताका हकमा पुनरावेदन नपरेको मान्नु पर्ने हुन्छ । पुनरावेदनमा नमागिएका वा नपरेको कित्ताहरूका हकमा केही वोल्न उपयुक्त हुँदैन ।
१३. तसर्थ माथि उल्लिखित आधार कारण र प्रतिपादित सिद्धान्त समेतबाट वादी जुमराती मियाँले दावीका कित्ताहरू सुनसरी भोक्राहा वडा नं. ३(क) कि.नं. ४५० र ४५२ का कित्ताहरू वादीका स्वर्गीय बाबु रितु मियाँको नाउँबाट वादी जुमराती मियाका नाउँमा मोहियानी नामसारी भई मोहियानी हकको प्रमाण पत्र पाउने ठहर्छ । कि.नं.४५० र कि.नं.४५२ का जग्गाहरूमा मात्र मोही कायम गर्नुपर्नेमा मागदावी भन्दा बढी जग्गाको मोही कायम हुने ठहर्याएको पुनरावेदन अदालत विराटनगरको इन्साफ केही उल्टी हुने ठहर्छ । प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्तैन । अरुमा तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत विराटनगरको फैसला केही उल्टी भई जिल्ला सुनसरी भोक्राहा गा.वि.स. वडा नं. ३(क) कि.नं. ४५० , र ४५२ को जग्गाको मोही वादीका नाउँमा नामसारी भई स्थायी प्रमाण पत्र पाउने ठहर भएकोले उक्त जग्गाको मोही नामसारी गरी प्रमाण पत्र पाऊँ भनी वादी जुमराती मियाँको निवेदन परेमा फैसला बमोजिम गरिदिनु भनी भु.सु.का.सुनसरीमा लेखि पठाई दिनु ...१
प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनु ..२
उक्त रायमा म सहमत छु ।
न्या.प्रकाश वस्ती
इति संवत् ०६५ चैत ३० गते रोज १ शुभम् ।
इजलास अधिकृत– परशुराम भट्टराई