निर्णय नं. ८०८६ - जग भत्काई खिचोला मेटाई चलन ।

निर्णय नं. ८०८६ जेठ २०६६ अङ्क २
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी
माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय
संवत् २०५९ सालको दे.पु.नं. ८५३९
फैसला मितिः २०६५।११।१९।२
मुद्दा :– जग भत्काई खिचोला मेटाई चलन ।
पुनरावेदक वादीः जिल्ला पर्सा गा.वि.स. बेलवा ५ बस्ने सत्य नारायण राउत कुर्मी
विरुद्ध
प्रत्यर्थी प्रतिवादीः जिल्ला पर्सा गा.वि.स. बेलवा ५ बस्ने राम अयोध्याप्रसाद कुर्मी समेत
शुरु फैसला गर्नेः
मा.जि.न्या.श्री जगन्नाथ ढकाल
पुनरावेदन फैसला गर्नेः
मा.न्या.श्री गोविन्दकुमार उपाध्याय
मा.न्या. श्री हरिबहादुर बस्नेत
§ जग भत्काउनेतर्फ दावी लिई सकेपछि विवादित अवस्थामा प्रतिवादीले घर बनाउँछ भने त्यसको परिणाम प्रतिवादीले व्यहोर्नु पर्ने, जग भत्काई पाऊँ भनी मुद्दापरी विचाराधीन अवस्थामा रहेकोमा घर निर्माण कार्य भएको देखिएको हुँदा घर निर्माण कार्य सम्पन्न हुनु पूर्वनै घरको जग भत्काई पाऊँ भनी दावी परिसकेको अवस्थामा घर भत्काई पाऊँ भनी छुट्टै दावी लिनुपर्छ भन्ने तर्क औचित्यपूर्ण नहुने ।
(प्रकरण नं.४)
§ मुद्दा परी कारवाही चली विचाराधीन रहेको अवस्थामा घर निर्माण भएको देखिँदा जग बाहेकको बाँकी घरको भाग भत्काउनेतर्फ छुट्टै दावी लिनै पर्ने नभई जग भत्काई पाऊँ भन्ने दावीबाट नै सो अवैध जगमाथि निर्माण भएको घर भत्काउन मिल्ने ।
(प्रकरण नं.५)
पुनरावेदक वादीतर्फवाटः विद्वान अधिवक्ताद्वय श्री उपेन्द्र अर्याल र उमेश गौतम
प्रत्यर्थी प्रतिवादीतर्फवाटः
अवलम्वित नजीरः
सम्बद्ध कानूनः
आदेश
न्या.ताहिर अली अन्सारीः पुनरावेदन अदालत हेटौंडाको फैसला उपर पर्न आएको प्रस्तुत पुनरावेदन न्याय प्रशासन ऐन,२०४८ को दफा ९(१)(ग) ले यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :-
मेरो नाममा दर्ता रहेको जिल्ला पर्सा गा.वि.स. बेलवा वडा नं. ५ कि.नं. ३३८ को ज.वि. ०–१–७ जग्गा पूर्वतर्फ विपक्षीहरूको कि.नं. ३३७ को जग्गा पर्दछ । विपक्षीले केही जग्गा मसँग बिक्री गर्न माग गर्दा मैले उक्त जग्गा बिक्री गर्न इन्कार गरेकोमा सोही कुराबाट रिसइवी लिई मिति २०५७।१।५ गतेको दिन बिहान १० बजेको समयमा विपक्षीहरूले आफ्नोसँग साथमा ५–७ जना मिस्त्रि जना मजदुर लगाई जग खन्ने कार्य शुरु गरी मेरो जग्गाको पूर्वतर्फबाट ज.वि. ०–०–२ समेत मिसाई जग खन्न लाग्दा मैले मनाही गर्दा विपक्षीहरूले मलाई कुटपिट गर्ने धम्की दिंदा मैले चुप लागि बसेपछि विपक्षीहरूले मिति २०५७।१।२५ गतेसम्म पक्की जग तयार गरी जग्गा खिचोला गर्नु भएकोले मेरो नाम दर्ताको जिल्ला पर्सां गा.वि.स. बेलवा वडा नं. ५ कि.नं. ३३८ को ज.वि. ०–१–७
जग्गा मध्ये पूर्वतर्फबाट रु २०००।– पर्ने जग्गा विगाहा ०–०–२ जग्गा च्यापी आफ्नो जग्गामा मिसाई पक्की जग बनाई खिचोला गर्नु भएकोले जग भत्काई खिचोला मेटाई चलन चलाई लागेको कोर्टफी समेत विपक्षीबाट दिलाइ भराईपाऊँ भन्ने समेत व्यहोराको वादीको फिराद पत्र ।
वादी दावी अनुसार हामीले वादीको जग्गा खिचोला गरी जग लगाएको होइन छैन । वादी दावी बमोजिम जग भत्काई खिचोला चलन चलाउनुपर्ने होइन छैन । मैले आफ्नो जग्गामा घर बसाई घरको वरिपरि खाली जग्गा करिब ८–९ फिट छाडी सो छाडिएको जग्गामा मैले आफ्नोतर्फबाट नै कि.नं. ३३७ को जग्गा मै आँपको रुख १ समेत अमलाको रुख १, अम्बाको रुख १, सजिवनको रुख १, समेत वृक्षारोपण गरी भोग चलन गरी आएको छु । विपक्षीको जग्गा मिची जग बनाएको होइन छैन । विपक्षीको जग्गा र मेरो जग्गा छुट्टा छुट्टै छ । मैले विपक्षीलाई जग्गा बिक्री गर भनी कहिले पनि भनेको छैन । वारदात मिति समयमा प्रतिवादी मध्येका महिरा राउत कुर्मी उक्त देखाइएको स्थानमा नभै एस.एल.सी. परीक्षा दिन गएका थिए । म परीक्षामा सम्मिलित भएको व्यक्तिले जग्गा खिचोला गर्ने कुरै आउँदैन । तसर्थ विपक्षीको दावी अनुसार हामीले खिचोला नगरेको हुँदा झुठा फिरादबाट फुर्सत गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीहरूको संयुक्त प्रतिउत्तर पत्र ।
वादी दावी अनुसारको प्रतिवादीहरूले जग्गा कव्जा गरी खिचोला गरेको हेइन । वादीको फिराद दावी झुठा हो भन्ने समेत व्यहोराको प्रतिवादीको साक्षी रामबालक राउतले अदालतमा गरेको बकपत्र मिसिल संलग्न रहेको ।
वादीको जग्गामा प्रतिवादीहरूले खिचोला गरेका हुन् । वादीले खिचोला मेटाई चलन पाउनु पर्ने हो भन्ने समेत व्यहोराको वादीका साक्षी जगरनाथ राउत कुर्मीले शुरु अदालतमा गरेको बकपत्र मिसिल संलग्न रहेको छ ।
शुरु अदालतको आदेशानुसार मा.पो.का. पर्साको च.नं. ३०८५ मिति २०५७।८।५ को पत्रबाट प्राप्त भएको कि.नं. ३३७ र कि.नं. ३३८ को जग्गाको दर्ता श्रेस्ता उतार मिसिल संलग्न रहेको ।
शुरु अदालतको आदेशानुसार डोरबाट भै आएको नाप नक्सा मुचुल्का मिसिल संलग्न रहेको ।
शुरु अदालतको आदेशानुसार नापी शाखा पर्साको च.नं. १०३६ मिति २०५८।३।२५ को पत्रबाट प्राप्त हुन आएको ट्रायल चेक मिसिल संलग्न रहेको ।
क्षेत्रफल एवं नक्सा प्रकृति समेतको हिसाबबाट न.नं. ३ को जग्गा वादीको कि.नं. ३३८ भित्रको देखिएको र उक्त न.नं. ३ को जग्गामासमेत पर्ने गरी प्रतिवादीले जग बनाई हाल नक्सा हुँदा घर समेत भएको देखिएकोले उक्त न.नं. ३ भित्रको घर स्वयं जग हटाई वादीले खिचोला मेटाई चलन चलाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरु पर्सा जिल्ला अदालतको मिति २०५८।५।२० को फैसला ।
२० दिनको बीचमा विपक्षीको जग्गामा पर्ने गरी के कति कोठाको कति फिट मिटरको घर बनाएको हो सो तथ्य फिरादमा उल्लेख भएको छैन । हाम्रो पक्की घर सम्बन्धमा भई आएको नक्सा मुचुल्का समेतमा उल्लेख छ । उक्त नक्सा मुचुल्कामा दावी बमोजिम कुनै जग निर्माण भएको देखिदैन भने न.नं. ३ ले खपडाको घरको केहि भाग सम्म देखिएको र सो प्रतिवादीको न.नं.४ सँग जोडिएको एउटै घर भै सो प्रतिवादीको भोगमा रहेको भनी उल्लेख छ । सर्जमिन मुचुल्का समेत भएको छैन । घर ०४६ सालमा बनाई बसोबास गरी आएको भन्ने प्रष्ट देखिँदा देखिदै पनि खिचोला ठहर गरेको शुरु फैसला बदर गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीहरूको संयुक्त पुनरावेदन जिकिर ।
यस्मा जग सम्बन्धि विवादमा घर समेतमा खिचोला ठहर्याएको तथा नक्सा ट्रायल र अदालत समेतको नापको फरक फरक अवस्था समेततर्फ विवेचना नगरी भएको शुरु फैसला फरक पर्न सक्ने भई विचारणीय हुँदा अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली २०४८ को नियम ४७ बमोजिम विपक्षी झिकाउनु भन्ने समेत व्यहोराको पुनरावेदन अदालतको मिति २०५८।१०।२२ को आदेश ।
प्रत्यर्थी वादीको मिति २०५८।१२।९ को लिखित प्रतिवाद मिसिल संलग्न रहेको ।
नक्सा प्रकृतिबाट नक्सा न.नं. १ र २ कि.नं. ३३८ को जग्गाको क्षेत्रफल ०–०–१८–६ र ०–०–५–१२ मात्र भई दर्ताभन्दा कम देखिएको र नक्सा नं. ४,५ र ६ कि.नं. ३३७ को जग्गाको क्षेत्रफल ०–१६–० भई दर्ताभन्दा बढी एकातर्फ देखिन्छ भने ट्रायल चेकबाट देखाइएको लम्बाई चौडाई र अदालतबाट भई आएको नक्साको नापबाट समेत झगडा जनिएको नक्सा नं. ३ को प्रत्यर्थी वादीको कि.नं. ३३८ भित्रको देखिदा सो जग्गामा पुनरावेदक प्रतिवादीले खिचोला ठहर गरेको हदसम्म शुरु पर्सा जिल्ला अदालतको फैसला मिलेकै हुँदा सदर हुने ठहर्छ । निर्माण भइसकेको घरतर्फ दावी नरहेकोमा घर समेत भत्काई दिने ठहर गरेको शुरुको फैसला फिराद दावी भन्दा बाहिरको अवस्था हुँदा र जगसम्म भत्काउने गरी ठहर गर्दा समेत सो फैसला कार्यान्वयन गर्दा घर नै भत्कन जाने हुँदा घर भत्काई पाऊँ भन्ने दावी नै नरहेकोमा घर समेत हटाई दिने ठहर गरेको शुरु पर्सा जिल्ला अदालतको मिति २०५८।५।२० को फैसला केही उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत हेटौंडाको फैसला ।
मुल जग मै दावी परी विचाराधीन रहेको अवस्थामा जगको अंगको रुपमा विस्तार गरिएको गारो र छाना रुपी घर समेत भत्काउने जिल्ला अदालतको ठहरलाई माग बाहिरको विषय मानी पुनरावेदनले उल्टी गर्नु अन्याय हो । जगै भत्काई पाऊँ भन्ने मुल दावी भएकोमा सो दावीको अभिन्न भागलाई अलग्याई सो माथिको भाग भत्काई पाऊँ भन्ने माग दावीलाई अलग्याई सो माथिको भाग भत्काई पाऊँ भन्ने मागदावी सो मुद्दामा नभएको भन्दै हराउन पुगेको केही उल्टी गर्ने हदसम्मको पुनरावेदन अदालत हेटौंडाको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी मागदावी बमोजिम गरिपाऊँ भन्ने वादीको पुनरावेदन जिकिर ।
यसमा यसै लगाउको दे.पु.नं. ८५८४ को घर हटाई बाटो निकास चलन मुद्दामा आजै यसै इजलासबाट अ.वं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाउने आदेश भएको हुँदा सो मुद्दाको अन्तरप्रभावी हुँदा प्रस्तुत मुद्दामा समेत छलफलको लागि अ.वं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार गरी पेश गर्नु भन्ने यस अदालतको आदेश ।
नियमबमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकतर्फका विद्वान अधिवक्ता श्री उपेन्द्र अर्याल र उमेश गौतमले विवादित जग्गामा प्रतिवादीहरूले जग निर्माण गरी मुद्दा विचाराधीन रहेको अवस्थामा घर निर्माण गरेकोमा जगसम्म भत्काउने तर सोही जगबाट उठाई निर्माण भएको घर नभत्काउने ठहर गर्नु न्यायसम्मत छैन । तसर्थ पुनरावेदन अदालतको फैसला बदर गरी वादी दावी बमोजिम इन्साफ गरीपाऊँ भन्ने समेत बहस गर्नु भयो ।
यसमा पुनरावेदकतर्फबाट विद्वान अधिवक्ताहरूले गर्नु भएको बहस समेत सुनी मिशिल अध्ययन गरी निर्णयतर्फ विचार गर्दा जिल्ला पर्सा गा.वि.स.बेलवा वडा नं. ५ कि.नं. ३३८ को ज.वि. ०–१–७ जग्गा को पूर्वतर्फ विपक्षीहरूको कि.नं. ३३७ को जग्गा पर्दछ । मेरो जग्गाको पूर्वतर्फबाट ज.वि. ०–०–२ समेत मिसाई जग खन्न थाली मिति २०५७।१।२५ गते सम्म पक्की जग तयार गरी जग्गा च्यापी आफ्नो जग्गामा मिसाई पक्की जग बनाई खिचोला गर्नु भएकोले जग भत्काई खिचोला मेटाई चलन चलाईपाऊँ भन्ने मागदावी भएकोमा घर हटाई खिचोला मेटाई चलन चलाई पाउने ठहर गरेको शुरु पर्सा जिल्ला अदालतको फैसला केही उल्टी गरी घरतर्फ दावी नपुग्ने ठहर गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला उपर वादीको पुनरावेदन परी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा निम्न विषयमा निर्णय दिनुपर्ने देखियोः
(१) वादी दावीको जग्गामा प्रतिवादीहरूले खिचोला गरेका हुन होइनन ?
(२) जग भत्काई पाऊँ भन्ने दावी भएकोमा मुद्दा विचाराधीन रहेको अवस्थामा निर्माण भएको घर भत्काउन मिल्ने हो वा होइन ?
(३) पुनरावेदन अदालतले गरेको फैसला मिलेको छ छैन ?
२. पहिलो प्रश्नतर्फ विचार गर्दा जिल्ला पर्सा गा.वि.स. बेलवा वडा नं. ५ को कि.नं. ३३८ को ज.वि.०–१–७ जग्गाको पूर्वतर्फबाट ०–०–२ समेत प्र.ले आफ्नो कि.नं. ३३७ मा मिसाई २०५७।१।२५ गते सम्म पक्की घरको जग निर्माण गरी खिचोला गरेको भनी वादीले दावी लिएको देखिन्छ । वादी दावी बमोजिम खिचोला गरेको छैन भनी प्रतिवादीहरूले प्रतिउत्तर जिकिर लिएपनि वादीको कि.नं. ३३८ को क्षेत्रफल ज.वि. ०–१–७
जग्गा र प्रतिवादीको कि.नं. ३३७ को क्षेत्रफल ०–०–१५
जग्गा श्रेस्ताबाट र ट्रायल चेक समेतबाट देखिएको छ । ट्रायल चेक र अदालतबाट भई आएको नक्सा मुचुल्का हेर्दा वादीको कि.नं. ३३८ को निर्विवाद जग्गा देखाइएको न.नं. १ मा ०–०–१८–६ र न.नं. २ मा ०–०–५–१२ गरी जम्मा ज.वि.०–१–३–१८ देखिन्छ । जुन श्रेस्ता भन्दा कम रहेको छ । अर्कोतर्फ प्रतिवादीको कि.नं. ३३७ को न.नं ४ मा ०–०–६–१२ न.नं. ५ मा ०–०–६–१४ र न.नं. ६ मा ०–०–३–० समेत गरी ज.वि ०–०–१६–६ जग्गा देखिन आएको छ । जुन प्रतिवादीको श्रेस्ता अनुसारको क्षेत्रफल भन्दा बढी देखिन्छ ।
३. नक्सा मुचुल्कामा वादीको कि.नं. ३३८ को निर्विवाद न.नं. १ को दक्षिणतर्फ ७१ फिट देखिन्छ भने विवादित न.नं. ३ को दक्षिणतर्फ १५ फिट देखिन्छ । वादीको कि.नं. ३३८ को दक्षिणतर्फ ८६ फिट छ भन्ने कुरा मिति २०५८।२।१० मा प्राप्त ट्रायल चेकबाट देखिन्छ । सोही मुचुल्काको न.नं. १,२ र ३ को क्षेत्रफल जोड्दा वादीको श्रेस्ता अनुसारको क्षेत्रफल पुग्न आउँछ । नक्सा र जग्गाको प्रकृति अनुसार पनि विवादित न.नं. ३ वादीको जग्गा भित्र देखिन्छ । त्यसकारण प्रतिवादीले उक्त न.नं. ३ को जग्गा आफ्नो भनी मिची खपडाको घर बनाएको देखिएकोले प्रतिवादीहरूले वादीले दावी लिएको विवादित जग्गा मिची खिचोला गरी घर समेत निर्माण गरेको देखिन आयो ।
४. अब दोश्रो प्रश्नतर्फ विचार गर्दा प्रतिवादीहरूले विवादित जग्गामा जग खनी ५७।१।२५ मा पक्की घरको जग तयार गरी खिचोला गरेको भन्ने वादी दावी भएकोमा सो मिति भन्दा अगाडि नै घर निर्माण गरेको भनी प्रतिवादीले हदम्याद सम्बन्धमा खण्डन गर्न सकेको पाइँदैन जग मात्र हालेको अवस्थामा प्रस्तुत फिराद परी मुद्दा विचाराधीन हुँदा घर निर्माण भएको देखिन्छ । मुद्दा विचाराधीन रहेको अवस्थामा घर निर्माण कार्य रोक्का गरिपाऊँ भनी निवेदन दिएकोमा निर्माण कार्य रोक्का नरहेको कारणबाट घर निर्माण भएको देखिन्छ । जग भत्काउनेतर्फ दावी लिई सकेपछि विवादित अवस्थामा प्रतिवादीले घर बनाउँछ भने त्यसको परिणाम प्रतिवादीले व्यहोर्नु पर्ने नै हुन्छ । जग भत्काई पाऊँ भनी मुद्दा परी विचाराधीन अवस्थामा रहेकोमा घर निर्माण कार्य भएको देखिएको हुँदा घर निर्माण कार्य सम्पन्न हुनु पूर्वनै घरको जग भत्काई पाऊँ भनी दावी परिसकेको अवस्थामा घर भत्काई पाऊँ भनी छुट्टै दावी लिनु पर्छ भन्ने तर्क औचित्यपूर्ण हुँदैन ।
५. जग माथि नै घर अडेको हुन्छ । जग नै अवैध ढंगले अर्काको जग्गा मिची बनाएको देखिइरहेको अवस्थामा त्यस माथि जबरजस्ती बनाइएको घरतर्फ छुट्टै मुद्दा गर्न नसकेबाट जगतर्फको दावी निष्कृय हुन सक्दैन । घर निर्माणको प्रकृयामा समय लाग्ने हुन्छ । सामान्यतया जग देखि छत समेतको संरचनालाई घर भन्न सकिन्छ । तर पनि बस्न योग्य घरका लागि अन्य कामहरू (finishing works) पनि गर्नुपर्ने हुन्छ । ती मध्ये कुनै एकको सम्बन्धमा उजूर नगरेको वा नपरेको भन्ने अर्थ गरी अवैध ढंगले गरिएको घर निर्माणको प्रारम्भिक कार्य पनि वैध हुन सक्दैन । प्रस्तुत मुद्दा परी कारवाही चली विचाराधीन रहेको अवस्थामा घर निर्माण भएको देखिँदा जग बाहेकको बाँकी घरको भाग भत्काउनेतर्फ छुट्टै दावी लिनै पर्ने नभई जग भत्काई पाऊँ भन्ने दावीबाट नै सो अवैध जग माथि निर्माण भएको घर भत्काउन मिल्ने नै देखिन्छ ।
६. उपरोक्त प्रकरणहरूमा विवेचना गरिए अनुसार वादी दावीको कि.नं. ३३८ को न.नं.३ को जग्गामा प्रतिवादीले जग खनी घर निर्माण गरेकोमा खिचोला ठहर गरी निर्माण गरिएको घर भत्काउने फैसला गर्नु पर्नेमा नगरी उक्त विवादित जग्गा सम्म खिचोला गरेको ठहर गरी पुनरावेदन अदालतले गरेको फैसला मिलेको देखिएन । तसर्थ वादीको हक दर्ताको कि.नं. ३३८ को विवादित न.नं. ३ मा निर्मित खपडाको घर समेत भत्काई दिने ठहर गरेको शुरु फैसला केही उल्टी गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला सो हदसम्म उल्टी भई विवादित कि.नं. ३३८ को न.नं. ३ भित्र निर्मित जग सहितको घर हटाई वादीले खिचोला मेटाई चलन चलाई पाउने ठहराएको पर्सा जिल्ला अदालतको फैसला सदर हुने ठहर्छ । अरु कुराको हकमा तपसिल बमोजिम गर्नु ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिए बमोजिम पुनरावेदन अदालत हेटौंडाको फैसला केही उल्टी भई वादी दावीको कि.नं. ३३८ को न.नं. ३ मा निर्मित घर जग समेत भत्काई वादीले चलन चलाई पाउने ठहरेकोले पुनरावेदन अदालत हेटौंडाले तपसिल खण्डको प्रकरण १ मा राखेको लगत कायम नरहने हुँदा उक्त लगत कट्टा गर्नु भनी पुनरावेदन अदालत हेटौंडामा लेखी पठाई दिनू ...१
माथि इन्साफ खण्डमा लेखिए बमोजिम दावी बमोजिम जि.पर्सा गा.वि.स. बेलवा वडा नं. ५ कि.नं. ३३८ को न.नं. ३ को जग्गामा बनेको प्रतिवादीको घर हटाई वादीले खिचोला मेटाई चलन पाउने ठहरी फैसला भएकोले दण्ड सजायको ४३ नं. का म्याद भित्रमा उक्त घर जग हटाई चलन चलाई पाऊँ भनी वादीले दरखास्त दिएमा घर बनाउनेको ४ नं. बमोजिमको कार्यविधि अपनाई चलन चलाई दिनु भनी शुरु पर्सा जिल्ला अदालतमा लगत दिनु ....२
वादीले फिराद दायरगर्दा पर्सा जिल्ला अदालतमा राखेको कोर्टफी रु.३००।– र यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रु ४५।– समेत जम्मा कोर्टफी रु.३४५।– प्रतिवादीहरूबाट भरी पाउने हुँदा उक्त कोर्टफी भराई पाऊँ भनी कोर्टफी ऐन, २०१७ को म्याद भित्र वादीले दरखास्त दिएमा प्रतिवादीहरूबाट वादीलाई उक्त कोर्टफी भराई दिनु भनी शुरु पर्सा जिल्ला अदालतमा लेखिपठाई दिनू .. ३
दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनु .....४
उक्त रायमा म सहमत छु ।
न्या. कृष्णप्रसाद उपाध्याय
इति संवत् २०६५ फागुन १९ गते रोज २ शुभम् ।
इजलास अधिकृतः दीपक ढकाल