निर्णय नं. ७७१२ - अख्तियार दुरूपयोग गरी भष्ट्राचार गरेको
निर्णय नं.७७१२ ने.का.प.२०६३ अङ्क ६
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी
माननीय न्यायाधीश श्री गौरी ढकाल
सम्बत् २०५८ सालको फौ.पु.नं ३०८०
फैसला मितिः २०६३।१।१७।१
मुद्दा:– अख्तियार दुरुपयोग गरी भ्रष्टाचार गरेको ।
पुनरावदेक
वादीः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तर्फबाट श्री ५ को सरकार
बिरुद्ध
प्रत्यर्थी
प्रतिवादीः काठमाडौं जिल्ला सितापाईला घर भई दुर शिक्षा केन्द्र सानो ठिमीको उप निर्देशक पदमा कार्यरत श्री केदारचन्द्र खनाल समेत
§ शंकारहित प्रमाणको अभावमा प्रतिवादीहरुलाई कसूरदार कायम गर्नु फौजदारी न्यायको सर्वमान्य सिद्धान्त विपरीत हुन जाने ।
§ मुद्दाको तथ्यगत अवस्थाबाटै आरोपित कसूर ठहर गर्न सो कार्यालय र पदाधिकारीलाई अलग्याएर कदापि नमिल्ने ।
§ वादी पक्षले नै प्रतिवादी बनाउन नसकेको पदाधिकारी वा निकायलाई अदालत आफैं वादी वनी कसूरदार ठहर गर्न नमिल्ने ।
§ मुद्दाको सुनुवाईको क्रममा पछिबाट देखिएको कुनै नविन तथ्यका सम्बन्धमा स्पष्ट हुन आवश्यक देखिएमा मात्र मुलुकी ऐन अ.वं. १३९ नं. को प्रयोग हुने ।
§ वादी पक्षले जानी जानी प्रतिवादी नबनाएको पक्षलाई अदालत आफैं सक्रिय भई अ.वं. १३९ नं. को प्रयोग गरी झिकाई रहने हो भने अभियोजन पक्षको काम अदालत आफैले लिए सरह हुन जान्छ जुन Adversial कानूनी प्रणाली अवलम्बन गरिएको हाम्रो जस्तो न्यायिक परिपाटीको मूल्य र मान्यता समेतका विपरीत हुन जाने ।
(प्रकरण नं.१९)
पुनरावेदक वादी तर्फवाटः
प्रत्यर्थी प्रतिवादी तर्फवाटः
अवलम्वित नजीरः
फैसला
न्या.गौरी ढकालः पुनरावेदन अदालत पाटनको मिति २०५८।६।८ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(क) बमोजिम वादी श्री ५ को सरकारको तर्फबाट यस अदालतमा पुनरावेदन दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र फैसला यस प्रकार छः–
२. परिक्षा नियन्त्रक हरिवोलले आफ्नो छोरी अनुतिर्ण भएको सूचना मिति २०५६ असार २१ गतेको कान्तिपुरमा छपाए तापनि सि.नं. १२७०६५१ ई बाट फेल भएकी छोरीलाई सातै विषयमा ४० देखि ४५ अंक दिई पास गराएको, छोरीले जाँच दिएको केन्द्र संजिवनी केन्द्रको उत्तर पुस्तिकाहरु आफ्नो नियन्त्रणमा लिई षडयन्त्र गरेको । परिक्षा नियन्त्रक हरिवोल खनाल, शा.अ निमराज जोशी, सुरेन्द्र जोशी, माधव दाहाल, ढुण्डी पोखरेल, कम्प्यूटर प्रोग्रामर परशुराम थापा समेतको गुटले उत्तर पुस्तिकाहरु परिक्षककहाँ वितरण गर्न शुरु गरे पछि शा.अ. निमराज जोशीलाई एक महिना सम्म मूख्य मूख्य शहरका मूख्य मूख्य विद्यालयहरुमा सम्पर्क गर्न पठाएको, रिजल्ट तयार गर्ने क्रममा टेवुलेशन कार्य भैरहेको अवस्थामा अंग्रेजी, गणित र विज्ञानका शिक्षकहरुबाट पुनः उत्तर पुस्तिकाहरु जँचाउने काम गराइएको, असार १४ गतेबाट टेवुलेशन शुरु भएकोमा १६ गते विहान ३ जना शिक्षकहरुलाई वोर्डिङ स्कुलहरुका उत्तरपुस्तिकामा अंक थपघट गराउने काम गराइएको, असार १५ गते राती १२ वजे वोर्डको के स्थिती छ भनी हेरी अंक थपघट गराई ५० लाख पैसा असुल गराई वोर्डमा ल्याउने काम गरेको, २०५४ सालको पुरक एस.एल.सी. परिक्षाले ४० हजार परिक्षार्थी कम हुँदा हुँदै प्रश्न पत्र छपाईमा रु. १० लाख वढी खर्च गराएको, रिटोटलिङ्गबाट प्रति विषय १५ हजार अशुल गर्दै हिडेको कुरा परिक्षा नियन्त्रकको छोरीको र वोर्डमा आएका परिक्षार्थीहरुको उत्तर पुस्तिकाहरुको केरमेट थपघटबाट स्वतः स्पष्ट हुने देखिएकोले छानविन गरी कारवाही गरिपाऊँ भन्ने व्यहोराको यस आयोगमा परेको उजुरी निवेदन ।
सम्परिक्षक केदार चन्द्र खनाल
(उपप्राध्यापक दुर शिक्षा):
प्रधान परिक्षकको हस्ताक्षर भन्ने स्थानमा हस्ताक्षर गर्न छुटेको रहेछ । उक्त उ.पु. मैले सम्परिक्षण गरेको हुँ । परिक्षकले परिक्षार्थीको उत्तर बमोजिम अंक प्रदान गरेकोमा चित्त नबुझि सम्परिक्षण गरी ६५ अंक दिएको, प्र.नं. ८ र ९ को उत्तर परिक्षकले नजाँची अंक प्रदान नगरेकोले जाँची अंक दिएको हुँ कुनै दवाव, प्रलोभन र निर्देशनबाट कार्य गरेको होइन । छैन भन्ने बयान ।
सम्परिक्षक, वासुकीराज रेग्मी (शिक्षक, श्री विरेन्द्र सैनिक उच्च महाविद्यालय):
एस.आई.टि.ए. स्कुलका शिक्षक किर्ती प्रसाद पाण्डेले दवाव दिई अरु थप गर्न बाध्य गराएकोले सम्परिक्षण निर्देशिकाको परिधि भित्र रही अंक थप गरी उत्र्तिण गराएको भन्ने बयान।
सम्परिक्षक केदार चन्द्र खनाल
(उपनिर्देशक दुर शिक्षा):
प्रधान परिक्षकको स्थानमा दस्तखत गर्न छुटेको रहेछ , भित्री र अंक थप गरेको स्थानहरुमा दस्तखत गरेको छु, प्रधान परिक्षकले रातो मसी समेत प्रयोग गरी गरेको, उ.पु.मा परिक्षार्थीले लेखे अनुसार परिक्षकले अंक नदिएकोले कडा परिक्षण गरेको देखिएकोले अंक थपेको हुँ । १५ भन्दा वढी थप गर्न विशेषज्ञको सहमती लिने भन्ने भनिए तापनि हाल सम्म त्यस्तो भएको छैन । उ.पु. सम्परिक्षण गर्दा कतैबाट दवाव प्रलोभन तथा निर्देशन आएको थिएन भन्ने बयान ।
सम्परिक्षक ईश्वर प्रसाद सापकोटा (सह प्र.अ. कन्या मा.वि. डिल्लीबजार):
परिक्षकले कतिपय उ.पु.हरु परिक्षण नगरि अंक नदिएकोले परिक्षण गरी अंक दिएको, मार्किङ्ग स्कीम बमोजिम अंक नदिएको हुँदा थप घट गराएको हुँ । सम्परिक्षण निर्देशिका बमोजिम १५ अंक वढी परेको हुँदा टेलिफोन मार्फत प.नि.का लाई जानकारी गराई अंक दिएको, कसैको दवाव, प्रलोभन वा निर्देशनले गरेको होइन । उक्त सि.नं. को परिक्षार्थी तत्कालीन परिक्षा नियन्त्रक हरिबोल खनालको छोरी हुन भन्ने कुरा आयोगको क्रममा मात्र थाहा पाएको भन्ने बयान ।
सम्परिक्षक भिमसेन खत्रि (प्र.अ. गणेश मा.वि.चपली:
परिक्षकले मार्किङ्ग स्कीम अनुसार अंक नदिएको हुँदा सम्परिक्षण गर्दा २० अंक दिएको, सम्परिक्षण निर्देशिका बमोजिम विषय विशेषज्ञ म आफै भएकोले परिक्षा नियन्त्रण कार्यालयलाई जानकारी नगराई २० अंक थप गरेको हुँ । अंक थप गर्न सकैको प्रलोभन, निर्देशन पाएको छैन । निज परिक्षार्थी तत्कालीन परिक्षा नियन्त्रक हरिवोल खनालको छोरी हुन भन्ने मलाई थाहा नभएको र निज परिक्षा नियन्त्रकबाट समेत कुनै दवाव नपाएको भन्ने बयान ।
३. अनुसन्धान तथा तहकिकातको क्रममा स्थलगत निरीक्षण सम्बन्धित कागजातको अध्ययन छानविन एवं सम्बन्धित व्यक्तिहरुको बयान समेतबाट देहाय बमोजिमको अवस्था देखिएकोः– वोर्ड फष्ट ०२९९०९७ एस, वोर्ड चौथा ०३२३८१३ डब्लु, वोर्ड पाँचौ ०३२२६८३ डब्लु, ०३४०७७९ डब्लु, बोर्ड सातौ ०२९०७१५ आई को संलग्न कैफियत विवरणमा उल्लेख भए बमोजिम केरमेट, डवल ट्रेस टिपेक्स प्रयोग, अंश सच्याउने, घटाउने, वढाउने गरिएको । वोर्ड द्वितीय ०२९१०७४ डि, वोर्ड औठौं ०२९०८६३ ए तथा एस. आई. टि.ए. ज्ञानेश्वरका सि.न.. ०२९०८७७ औं ०२९०८८२ टि, ०२९०८८३ यु, ०२९०८९२ डि, ०२९०८९४ एफ र ०२९०८९६ एच को संलग्न कैफियत बमोजिमको नेपाली विषयमा थप अंकहरु तत्कालीन शहीद स्मारक मा.वि.का प्रिन्सिपल हाल यस.आई.टि.ए. ज्ञानेश्वरका को–अर्डिनेटर किर्ती प्रसाद पाण्डेले सम्परिक्षक वासुकीराज रेग्मीलाई सम्परिक्षण निर्देशिकाको (१५ अंक सम्म थपघट गर्न सकिने) आधारमा दवाव, करकाप गरी अंक थप गराएको, स्वास्थ्यमा आफू स्वयंले थप गरेको तथा लेखा विषयमा सम्परिक्षक केदार चन्द्र खनालले उल्लेखित २ उ.पु.हरु मा मात्र अंक थप गरी सो थप अंकको कारण सि.नं. ०२९१०७४ डि वोर्ड द्वितीय र ०२९०८६३ ए वोर्ड आठौं र उल्लेखित सि.नं. का अनुतिर्ण परिक्षार्थीहरु उत्तिर्ण भएको देखिन आएको । वोर्ड छैटौं सि.नं. ०१०३०३० आर र वोर्ड नवौं ०१०३०९२ वी को संलग्न कैफियत विवरण बमोजिमको अंकहरु थप भएको कारण वोर्डमा आउन सफल भएको । तत्कालीन परिक्षा नियन्त्रक हरिवोल खनालकी छोरी सि.नं. १२७०६५१ इ परिक्षार्थीको संलग्न कैफियत विवरण बमोजिमको अंक थप भई उत्तिर्ण भएको देखिएको, अंक थप मार्किङ स्कीम बमोजिम अंक थप गरेको र सम्परिक्षण निर्देशिका बमोजिम सम्परिक्षकहरुले आफूहरुलाई स्वयं विशेषज्ञ मानी १५ अंक भन्दा वढी अंक समेत दिएको देखिएको ।
४. मिसिल संलग्न हुन आएको सम्पूर्ण प्रमाणहरु अध्ययन गरी हेर्दा विरुद्ध खण्डमा लेखिएका प्रतिवादीहरु मध्ये हाल दुर शिक्षा केन्द्र सोनोठिमीको उप निर्देशक केदार चन्द्र खनालले १५ अंक वा सो भन्दा वढी थप गर्न परेमा उत्तर पुस्तिका सम्परिक्षण निर्देशिकाको ९ नं. बमोजिम परिक्षा नियन्त्रण कार्यालय वा परिक्षण केन्द्रको प्रमूखले तोकेको विषय विशेषज्ञको सहमति लिनु पर्नेमा नलिई सम्परिक्षकको हैसियतले ०२९१०७४ डि सिम्बल नम्बर भएको परिक्षार्थीको अफिस प्राक्टिस एण्ड बुक किपिङमा विषयको उत्तर पुस्तिकामा २३ अंक थप गरी प्रथम दश स्थान भित्र पनि पर्न नसक्ने (वोर्डमा आउन नसक्ने) परिक्षार्थीलाई वोर्ड द्वितीय बनाउने र वोर्ड द्वितीय भै रहेकोलाई सो स्थानबाट हटाउने वदनियत राखी ६५ अंक बनाएको प्रमाणित हुन आएको । यसै गरी उल्लेख भए अनुसार सहमति लिनु पर्नेमा नलिई हाल एस.आई. टि.ए. स्कुल ज्ञानेश्वरमा कार्यरत किर्ती प्रसाद पाण्डेले सम्परिक्षकको हैसियतमा ०२९०८६३ ए सिम्बल नम्बर भएका परिक्षार्थीको स्वास्थ्य विषयको उत्तर पुस्तिकामा १५ अंक थप गरी ९१ बनाई वोर्डको कुनै पनि स्थानमा आउन नसकिने परिक्षार्थीलाई वोर्ड आठौं बनाएको र सोही परिक्षार्थीको विद्यालयका अन्य अनुतिर्ण परिक्षार्थीहरुलाई उत्तिर्ण गराउन अर्को सम्परिक्षक वासुकिराज रेग्मीलाई अनुचित रुपमा दवाव दिएको र यसरी आफै वा आफ्नो दवावद्वारा वोर्डमा ल्याइएका तथा उत्तिर्ण गराइएका विद्यालयमा उल्लेखित कार्य गरे पश्चात निज किर्तिप्रसाद पाण्डेले त्यसरी गैर कानूनी लाभ पुगेको विद्यालयको समन्वयकर्ताको पदमा नियुक्ति पाएबाट आफू लाभान्वित हुने वदनियत राखी त्यस्तो काम कारवाही गरेको पुष्टि हुन आएको छ । यसै गरी हाल विरेन्द्र सैनिक उच्च मा.वि.मा कार्यरत शिक्षक वासुकिराज रेग्मीले सम्परिक्षकको हैसियतमा ०२९०८९२ डि सिम्बल नम्बरका परिक्षार्थीको नेपाली विषयको उत्तर पुस्तिकामा उल्लेखित उत्तर पुस्तिका सम्परिक्षण निर्देशिका विपरीत १५ अंक थप गरी ३२ बनाई अनुतिर्ण परिक्षार्थीलाई उतीर्ण गराएको र उल्लेखित व्यक्तिका अतिरिक्त अन्य परिक्षार्थीलाई किर्तिप्रसाद पाण्डेको दवामा उत्तिर्ण गराएको कुरामा निज स्वयं सावित रहेबाट प्रमाणित भएकै छ। त्यसै गरी पदम कन्या मा.वि. डिल्लीबजारको सह–प्राध्यापक पदमा कार्यरत इश्वर प्रसाद सापकोटाले सम्परिक्षकको हैसियतमा १२७०६५१ ई सिम्बल नम्बरका परिक्षार्थीको गणित विषयको उत्तरपुस्तिकामा उल्लेखित निर्देशिका विपरीत २४ अंक थप गरी ३९ बनाई अनुतिर्ण परिक्षार्थीलाई उत्तिर्ण गराएको र उक्त परिक्षार्थी तत्कालीन परिक्षा नियन्त्रकको छोरी भएको अनुसन्धानबाट खुल्न आएको हुँदा उक्त कार्यहरुलाई गैह्र कानूनी लाभ पुर्याउँने नियतका अतिरिक्त आफूले पनि गैह्र कानूनी लाभ लिई गरेको देखिन आएको छ । यसका अतिरिक्त हाल गणेश मा.वि. चपलीको प्रधानाध्यापक पदमा कार्यरत भिमसेन खत्रीले सम्परिक्षकको हैसियतमा १२७०६५१ ई सिम्बल नम्बर भएका परिक्षार्थीको भूगोल विषयको परिक्षाको उत्तर पुस्तिकामा निर्देशिका विपरीत २० अंक थप गरी ३५ बनाई अनुतिर्ण परिक्षार्थीलाई एस.एल.सी. परिक्षामा उर्तिण गराएको र उक्त सिम्बल नम्बरको परिक्षार्थी तत्कालीन परिक्षा नियन्त्रकको छोरी भएको कुरा अनुसन्धानबाट खुल्न आएको हुँदा निज खत्रीले उक्त कार्य अरुलाई गैह्र कानूनी लाभ पुर्याउँने नियत राखी गर्नुका साथै आफूले पनि गैह्र कानूनी लाभ लिई गरेको देखिन आएको छ । तसर्थ वदनियत पूर्वक उत्तर पुस्तिका सम्परिक्षण गर्दा आफूलाई र अंक थप पाएका परिक्षार्थीलाई गैह्र कानूनी लाभ पुर्याउँने तथा श्री ५ को सरकार एस.एल.सी. परिक्षा वोर्डको विश्वासनियतामा गैह्र कानूनी हानी पुर्याउँने वदनियत राख्ने सम्परिक्षकहरु मध्ये उप निर्देशक केदार चन्द्र खनाललाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(१) बमोजिमको कसूरमा सोही ऐन बमोजिम र किर्तिप्रसाद पाण्डे, वासुकिराज रेग्मी, इश्वर प्रसाद सापकोटा र भिमसेन खत्रीलाई ऐ. ऐनको दफा ७(२) बमोजिमको कसूरमा सोही ऐन बमोजिम सजाय तथा ऐ. ऐनको दफा २९ बमोजिम जरिवाना समेत गरिपाऊँ ।
५. मार्किङ स्किम र परिक्षा नियन्त्रण कार्यालय उत्तर पुस्तिका सम्परिक्षण निर्देशिका अधिनमा रही सिम्बल नं. १२७०६५१ ई भएको उत्तर पुस्तिकामा २० अंक मैले दिएको ठिक हो सो अंक मेरो राजी खुसी एवं वदनियत पूर्वक दिएको होइन र मैले कुनै गैह्र कानूनी कार्य गरेको छैन भनी प्र. भिमसेन खत्रीले गरेको बयान ।
६. मैले जाँच गरेको सिम्बल नम्बर ०२९०८६३ ए भएको र विद्यार्थी को हो कहाँको हो आफूलाई सम्बन्धित कुनै जानकारी नभएको र उत्तर पुस्तिकामा १५ नं. थप गरेको हुँ उक्त उत्तर पुस्तिकामा मैले नम्बर दिएको ठिक छ भनी प्र. किर्ति प्रसाद पाण्डेले पुनरावेदन अदालत पाटनमा गर्नु भएको बयान ।
७. उत्तर पुस्तिकामा १५ अंक भन्दा वढी थप्नु परे परिक्षा नियन्त्रण कार्यालयसँग लिखित पत्राचार गर्ने परिपाटी नभएकोले मौखिक स्वीकृती लिई सिम्बल ०२९१०७४ डि का परिक्षार्थीको प्रश्न नं. ८ र ९ मा परिक्षार्थीले लेखेकोमा परिक्षकले अंक नै नदिएको भेटिएको हुँदा प्रमाण परिक्षकको हैसियतले मैले परिक्षण गरी १३ अंक दिएको हुँदा मैले १५ अंक भन्दा वढी थपेको भन्न मिल्दैन । जम्मा अंक थपेको १० मात्र हो । यसमा तत्कालीन परिक्षा नियन्त्रक हरिवोल खनालको मौखिक स्वीकृती लिई उक्त कार्य गरेको हो । दावी बमोजिम मैले कसूर अपराध गरेको छैन भनी प्रतिवादी केदार चन्द्र खनालले पुनरावेदन अदालत पाटनमा गर्नु भएको बयान ।
८. मैले सिम्बल नम्बर १२७०६५१ ई भएका परिक्षार्थीको उत्तर पुस्तिका परिक्षण गर्ने क्रममा उक्त पुस्तिका परिक्षण गर्न छुट देखिएकोले उत्तर पुस्तिका परिक्षण गरी अंक दिएको हो जम्मा ३९ अंक रहन गएको हो संपरिक्षकको नाताले नम्बर दिएको हो । यसमा कुनै वदयितपूर्वक नम्बर दिएको छैन । परिक्षकले परिक्षण गर्न छुट गरिएका उत्तरहरु सम्परिक्षणको क्रममा छुट देखिएकोमा पुनः परिक्षण गरी अंक दिने प्रावधान रहेको हुनाले सोही अनुसार अंक दिएको हो । उत्तर पुस्तिका सम्परिक्षण निर्देशिकाको दफा ३ अनुसार नम्बर दिएको हो । मैले वदनियत पूर्वक आफू खुसी नम्बर दिएको नभै निर्देशिका बमोजिम अंक दिएको हुँदा मैले कुनै कसूर अपराध गरेको छैन भनी प्रतिवादी इश्वर प्रसाद सापकोटाले पुनरावेदन अदालत पाटनमा गर्नु भएको बयान।
९. फरार रहेका प्रतिवादी वासुकी राज रेग्मीको हकमा कानून बमोजिम म्याद जारी गर्ने गरी अ.वं. १२४(ग) नं. बमोजिमको यो पर्चा आदेश गरी दिएको छ भन्ने मिति २०५७।९।४ को पुनरावेदन अदालत पाटनको आदेश ।
१०. मिति २०५५ सालको एस.एल.सी. को उत्तर पुस्तिकाहरु मध्येमा सिम्बल नं. ०२९०८९२ डि को उत्तर पुस्तिका सम्परिक्षकका हैसियतले सम्परिक्षण गर्दा उत्तर पुस्तिका अंक थप गर्ने पर्ने स्थानमा मैले हेरी अंक थप गरी सही समेत गरेको हुँ । सम्परिक्षण गर्दा उक्त उत्तर पुस्तिकामा जम्मा १४ अंक थप गरेको हुँ । सम्परिक्षणको हैसियतले नम्बर दिँदा परिक्षा नियन्त्रण कार्यालयले प्रदान गरेको सम्परिक्षण निर्देशिका बमोजिमको सो निर्देशिकाको अधिनमा रही उत्तर पुस्तिका परिक्षण गर्दा परिक्षकले कडाइका साथ परिक्षण गरेको हुदा मैले परिक्षार्थीलाई आवश्यक ठाउँमा अंक थप गरेको हुँ । निर्देशिकाले १५ अंक सम्म थपघट गर्न सक्ने हुँदा सोही आधारमा गरेको हुँ । आफ्नो विवेक प्रयोग गरी निर्देशिकाको अधिनमा रही अंक थप गरेको हुँदा म उपर लागेको आरोप झुठ्ठा हो । आरोप अनुसार मैले कसूर अपराध गरेको छैन भनी प्रतिवादी वासुकिराज रेग्मीले गरेको बयान ।
११. यसमा प्रतिवादी वासुकिराज रेग्मीको बयान पश्चात वादी तर्फबाट शा.अ. श्री सुर्दशन लामिछाने र निज प्रतिवादी तर्फबाट श्री हरिहर दाहालले गर्नु भएको वहस समेत सुनी थुनछेक तर्फ विचार गर्दा आरोपित कसूरमा इन्कार रही बयान गरेता पनि परिक्षा नियन्त्रण कार्यालय उत्तर पुस्तिका सम्परिक्षण निर्देशिकाको अधिनमा रही प्रस्तुत हुन आएका उत्तर पुस्तिकामा १४ अंक थप गरेको तथ्यलाई स्विकार गरी बयान गरेको देखिदा पछि बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाललाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा २७(४) र अ.वं. ११८ को देहाय १० बमोजिम यी प्रतिवादी वासुकिराज रेग्मीबाट रु. १०,०००।– दश हजार रुपैया नगद घरौट वा सो वापतको जेथा जमानी दिए पूर्पक्षको निमित्त तारेखमा राख्नु दिन नसके ख श्रेणीको सिधा खान पाउने गरी अ.वं. १२१ नं. बमोजिम थुनुवा पूर्जि दिई थुनामा पठाई दिने गरी अ.वं. १२४(ग) नं. बमोजिम यो पर्चा आदेश गरी दिएको छ भन्ने मिति २०५७।९।२० गतेको पुनरावेदन अदालत पाटनको आदेश ।
१२. २०५५ सालको एस.एल.सी. परिक्षाको सम्परिक्षण गर्ने विशेषज्ञको सूची र सम्परिक्षण निर्देशिकाको प्रकरण नं. ९ को प्रयोजनका लागि तोकिएको विशेषज्ञको नामावली समेत परिक्षा नियन्त्रण कार्यालय सानो ठिमीबाट झिकाई आए पछि पेश गर्नु भन्ने मिति २०५७।११।२ को आदेश ।
१३. यसमा उजुरी प्रकरणको पृष्ठ ५ को प्रकरण नं. (घ) को १, २, ३ र ४ मा उल्लेखित सिम्बल नम्बरको लब्धाङ्क पत्रको प्रमाणित प्रतिलिपि परिक्षा नियन्त्रण कार्यालय सानोठिमीबाट झिकाई पेश गर्नु भन्ने मिति २०५८।४।१७ को पुनरावेदन अदालत पाटनको आदेश ।
१४. परिक्षा नियन्त्रण कार्यालय भक्तपुरको उत्तर पुस्तिका सम्परिक्षण निर्देशिकाको न.नं. ९ मा उल्लेख भए अनुसार सम्परिक्षण गर्दा अंक थपघट गर्दा तत्काल प.नि.का. संग सहमति लिएको छ, छैन ? भन्नका लागि तत्कालीन परिक्षा नियन्त्रक हरिवोल खनाललाई अ.वं. १३९ नं. बमोजिम बुझी पेश गर्नु भन्ने मिति २०५८।४।२९ को आदेश ।
१५. सम्परिक्षण निर्देशिकाको न.नं. ९ मा उल्लेख भए अनुसार १५ अंक वा सो भन्दा वढी अंक थपघट हुने स्थितिमा सो को प्रयोजनका लागि छुट्टै विषय विशेषज्ञ तोक्ने गरिएको नभई सम्परिक्षकहरुले नै सो को निमित्त विषय विशेषज्ञको रुपमा पनि कार्य गरी आएका छन । किनकी सम्परिक्षण गर्दा अंक थपघट गर्न सक्ने अधिकार निज मै निहित राखिनु उपर्युक्त भएकोले पनि मेरो कार्यकाल भन्दा अघि देखिकै चलन रही आएको थियो । सोही अनुसार मेरो कार्यकालमा पनि सम्परिक्षकहरु नियुक्ति गर्दा नै सहमती प्रदान गर्ने गरिएको थियो र अहिले पनि सोही प्रचलन कायम छ । मिति २०५७।११।२४ मा वर्तमान परिक्षा नियन्त्रकले प्रेषित गर्नु भएको पत्रले सो को यथार्थता बोध हुन आउँछ । सम्परिक्षक भनेकै विशेषज्ञ भएकोले पुस्तिकामा अंक थपघट गर्ने अधिकार प्रयोग गर्न सहमति दिएको थिए भनी अ.वं. १३९ नं. बमोजिम वुझिएका हरिवोल खनालको पुनरावेदन अदालत पाटनमा भएको बयान ।
१६. प्रस्तुत मुद्दामा अंक प्राप्त गरी एस.एल.सी. परिक्षा पास गर्ने अर्थात अंक प्राप्त गरी लाभ उठाउने परिक्षार्थीहरुलाई प्रतिवादी कायम नगरेको र निजहरुको परिक्षाफल सम्बन्धमा कुनै दावी जिकिर नलिई परिक्षाफल प्रकाशित गर्ने परिक्षा नियन्त्रक र परिक्षा नियन्त्रण कार्यालयलाई विपक्षी नबनाएकोले प्रतिवादीहरुले प्रदान गरेको अंक अनियमित भन्ने श्री ५ को सरकारको अभियोग दावी कानून सम्मत देखिएन । साथै यी प्रतिवादीहरुले के कस्तो लाभ प्राप्त ग¥यो भन्ने कुरा वादी श्री ५ को सरकारले शंका रहित तवरबाट पुष्टि गर्न सकेको नपाउनुको साथै वादी श्री ५ को सरकारले प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम शंका रहित तवरबाट प्रतिवादीहरुको वदनियत पुष्टि गर्न सकेको नदेखिएकोले केवल अनुमान र तर्कको भरमा शंकै शंकाको आधारमा यी प्रतिवादीहरुलाई कसूरदार कायम गर्न मिलेन । सम्पूर्ण प्रतिवादीहरुले अभियोग दावीबाट सफाई पाउने ठहर्छ भन्ने समेत पुनरावेदन अदालत पाटनको फैसला ।
१७. मुद्दासँग सम्बद्ध देखिन आएको कुनै पनि व्यक्तिलाई अ.वं. १३९ नम्बरको अधिकार प्रयोग गरी बुझी न्याय निरोपण गर्नु पर्नेमा त्यस तर्फ विचारै नगरी प्रतिवादीहरुलाई सफाई दिने आधार बनाएको पुनरावेदन अदालत पाटनको फैसलामा त्रुटि हुँदा वदर गरी दावी बमोजिम सजाय गरिपाऊँ भन्ने श्री ५ को सरकारको तर्फबाट यस अदालतमा परेको पुनरावेदन पत्र ।
१८. नियमानुसार पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन सहित मिसिल अध्ययन गरी प्रतिवादीहरुलाई आरोपित कसूरबाट सफाई दिने ठहर्याएको पुनरावेदन अदालत पाटनको फैसला मिलेको नमिलेको के रहेछ ? सो सम्बन्धमा निर्णय दिनु परेको छ ।
१९. निर्णय तर्फ विचार गर्दा उत्तर पुस्तिकामा अंक थपघट गराउने काम गरी ५० लाख रुपैया असुल गराई वोर्डमा ल्याउने काम गरेको, प्रश्नपत्र छपाईमा वढी खर्च गराएको, उत्तर पुस्तिकाहरु केरमेट गरिएको समेत आधारमा भ्रष्टाचारमा कारवाही गरिपाऊँ भनी परेको उजुरीको आधारमा प्रस्तुत मुद्दाको कारवाही अघि वढेको देखिन्छ । यसरी उजुरी परेपछि भएको अनुसन्धान कार्यमा प्रमाणहरु संकलन गर्ने क्रममा प्रतिवादी नबनाईएका परिक्षा नियन्त्रक हरिवोल खनालको बयान लिर्ईएको समेत देखिन्छ । पुनरावेदन अदालत पाटनले परिक्षा नियन्त्रक र परिक्षा नियन्त्रण कार्यालयलाई विपक्षी नबनाइएको, प्रतिवादीहरुले के कस्तो लाभ प्राप्त गरेको र वदनियत पुष्टि हुन नसकेको भन्ने समेतको आधारमा प्रतिवादीहरुलाई कसूरबाट सफाई दिएको पाइन्छ । श्री ५ को सरकारले यस अदालतमा पुनरावेदन दिदा कुनै पनि व्यक्तिलाई अ.वं. १३९ नं. बमोजिम बुझी न्याय निरोपण गर्नु पर्नेमा सो नगरेको भन्ने मूख्य जिकिर लिएको देखिन्छ । अभियोग पत्रमा उल्लिखित व्यहोरा अध्ययन गर्दा कुन कुन प्रतिवादीले कस्तो कसूर गरेको र के कति हानी नोक्सानी र लाभ लिएको भनी तथ्यपूर्ण ढंगले खुलाउन सकेको पाईएन । शंका रहित प्रमाणको अभावमा प्रतिवादीहरुलाई कसूरदार कायम गर्नु फौजदारी न्यायको सर्वमान्य सिद्धान्त विपरीत हुन जाने हुन्छ । प्रस्तुत मुद्दाको उठान परिक्षा नियन्त्रक हरिवोल खनालले आफ्नो छोरीलाई गैह्र कानूनी किसिमले अंक थपी उत्तिर्ण गराएको, वोर्डमा नआउने विद्यार्थीलाई वोर्डमा ल्याउन ठूलो धनरासी लिई अंक थपघट गर्ने कार्य गरेको जस्ता प्रत्यक्षतः परिक्षा नियान्त्रण कार्यालय र तत्कालीन परिक्षा नियन्त्रक हरिवोल खनालसँग सम्बन्धित विषय वस्तुहरुमा केन्द्रीत रही भएको देखिन्छ । मुद्दाको तथ्यगत अवस्थाबाटै आरोपित कसूर ठहर गर्न सो कार्यालय र पदाधिकारीलाई अलग्याएर कदापि मिल्ने देखिदैन । मुद्दामा ठहर गर्नु पर्ने त्यस्तो मूख्य निकाय र अधिकारीलाई श्री ५ को सरकारले मुद्दा दायर गर्दा प्रतिवादी बनाएको देखिएन । वादी पक्षले नै प्रतिवादी बनाउन नसकेको त्यस्तो पदाधिकारी वा निकायलाई अदालत आफैं वादी वनी कसूरदार ठहर गर्न मिल्ने हुँदैन । मुद्दाको सुनुवाईको क्रममा पछिबाट देखिएको कुनै नविन तथ्यका सम्बन्धमा स्पष्ट हुन आवश्यक देखिएमा मात्र मुलुकी ऐन अ.वं. १३९ नं. को प्रयोग हुने हो । वादी पक्षले जानी जानी प्रतिवादी नबनाएको पक्षलाई अदालत आफैं सक्रिय भई अ.वं. १३९ नं. को प्रयोग गरी झिकाई रहने हो भने अभियोजन पक्षको काम अदालत आफैले लिए सरह हुन जान्छ जुन Adversial प्रणाली अवलम्बन गरिएको हाम्रो जस्तो न्यायिक परिपाटीको मूल्य र मान्यता समेतका विपरीत हुन जाने देखिन्छ । यस अवस्थामा अ.वं. १३९ नं. बमोजिम वुझ्न र प्रतिवादी बनाउन सकिन्छ भन्ने जिकिर पनि तर्क संगत र न्यायोचित देखिएन।
२०. तसर्थ प्रतिवादीहरुलाई आरोपित कसूरबाट सफाई दिने ठहराएको पुनरावेदन अदालत पाटनको फैसला परिवर्तन गर्न मिलेन । सदर हुने ठहर्छ । माग दावी बमोजिम सजाय गरिपाऊँ भन्ने श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाईदिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.केदारप्रसाद गिरी
इति संवत् २०६३ साल वैसाख १७ गते रोज १ शुभम्............................