निर्णय नं. ८०८७ - अंश ।

निर्णय नं. ८०८७ जेठ २०६६ अङ्क २
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी
माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय
२०५८ सालको दे.पु.नं. ७९२८
फैसला मितिः २०६६।१।१६।४
मुद्दा :– अंश ।
पुनरावेदक/ वादीः भक्तपुर जिल्ला चाँगु गा.वि.स वडा नं.९ बस्ने गणेशबहादुर खत्रीको मु.स. गर्ने ऐ.ऐ. बस्ने रामगोपाल खत्री समेत
विरुद्ध
प्रत्यर्थी /प्रतिवादीः भक्तपुर जिल्ला चाँगु गा.वि.स वडा नं. ९ बस्ने भक्तकुमारी खत्रीको मु. स. गर्ने ललितपुर जिल्ला इमाडोल गा.वि. स. वडा नं. २ वस्ने मन विष्ट समेत
§ सगोलमा रहनु र संयुक्त दर्ता हुनु दुई अलग–अलग अवस्था हुन् । अंश नलिई सगोलमा रहेको बेला कुनै अंशियारको परलोक भएमा निजको नामको सम्पत्ति कुनै एक अंशियारको नाममा नामसारी भए पनि त्यसबाट सबै अंशियारको भाग लाग्ने तर अंशबण्डा भईसकेपछि कुनै एक अंशियारको परलोक भएपछि निजको सम्पत्ति अन्य अंशियारहरूको संयुक्त नामसारी दर्ता गराएका छन् भने सो संयुक्त नामसारी दर्ता गराएकै आधारमा ती अंशियारहरूलाई सगोलको अंशियार भन्न नमिल्ने ।
(प्रकरण नं.६)
§ भिन्न भएको बाबुको परलोकपछि निजका नामको बाँकी रहेको जग्गा वा अचल जेथामा कानूनबमोजिम अन्यथा भएमा बाहेक निजका जीवित छोरा–छोरीहरू सबैको भाग लाग्नु स्वभाविकै हुनेहुदा संयुक्त नामसारी गराइएको जग्गामा सबै दर्तावालाहरूको बराबर भाग लाग्छ र आफूले चाहेको बेला आफ्नो भागसम्म छुट्याई लिन पाउने पनि हुन्छ । तर बाबुको नामको जग्गा निजको परलोकपछि पहिलादेखि भिन्न भई बसेका छोराहरूले सगोलमा वा संयुक्त रुपमा नामसारी गराएबाटै अंशबण्डाको प्रयोजनका लागि तिनीहरूको स्थिति सगोलको अंशियार जस्तो हुनजाने भनी अर्थ गर्न नमिल्ने ।
(प्रकरण नं.७)
शुरु फैसला गर्नेः
मा.जि.न्या.श्री देवेन्द्र राज शर्मा
पुनरावेदन फैसला गर्नेः
मा.न्या.श्री विनोदप्रसाद ढुंगेल,
मा.न्या श्री कोमल नाथ शर्मा
पुनरावेदकतर्फवाटःविद्वान अधिवक्ता श्री कमलबहादुर बोगटी
प्रत्यर्थीतर्फवाटः विद्वान अधिवक्ता श्री इश्वरी भटृराई
अवलम्वित नजीरः
(ने.का.प. २०४३, अंङ्क ३, निर्णय नं. २६६४
(ने.का.प.२०५३, अङ्क ११, निर्णय नं.६२९२, पृष्ठ ८०२
( ने.का.प. २०५६, निर्णय नं. ६८२४, पृष्ठ ८५५
सम्बद्ध कानूनः
§ मुलुकी ऐन अ.बं. ७८
§ अंशवण्डाको ३० नं. र रजिष्ट्रेशनको १ नं
फैसला
न्या.ताहिर अली अन्सारीः पुनरावेदन अदालत पाटनको मिति २०५५।१२।२९ को फैसलाउपर वादीकोतर्फवाट परेको मुद्दा दोहोर्याई पाऊँ भन्ने निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) (ख) अनुसार दोहोराउने निस्साप्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त टिपोट र ठहर यसप्रकार छ :–
बाबु उदयबहादुरका ४ छोरामा जेठो म फिरादी, माहिलो रामबहादुर, साहिलो श्यामबहादुर र कान्छो मदनबहादुर भएकोमा बाबु उदयबहादुर, आमा, माहिलो रामबहादुर र साहिलो श्यामबहादुरको परलोक भइसकेको छ । हाल जीवित अंशियारमा जेठो म फिरादी–१ माहिलो रामबहादुरको हकखाने निजको श्रीमती भक्त कुमारी–१, साहिलो श्यामबहादुरको हकखाने निजको श्रीमती सीता देवी र छोराहरू बलबहादुर, भरतबहादुर, पवनबहादुर, प्रकाशबहादुर–१ र कान्छो मदनबहादुर गरी ४ अंशियार छौं । विवाह खर्च परसार्नु पर्ने छैन । बाबुको २०२८ सालमा मृत्यु भएपछि हामी दाजु भाईहरू चल सम्पत्ति सोहीबखत लिई मानो छुट्टीई वसेका छौं । अचल सम्पत्ति वण्डा नभई सँगोलमा नै छ । यसरी अचल सम्पत्ति सँगोलमा नै रही विपक्षीहरूले कब्जा गरिरहेको र मलाई जीविकाको लागि थोरै मात्र सम्पत्ति दिएको साथै सधै अचल सम्पत्ति अवण्डा भै राखी राख्न उचित नभएकोले अचल सम्पत्ति पनि ४ वण्डा लगाई आ–आफ्नो भाग लिऊँ भनी विपक्षीहरूलाई भन्दा विपक्षीहरूले अंशवण्डा गर्न नमानेकोले सम्पूर्ण सम्पत्तिको ४ भाग लगाई ४ भागको १ भाग अंश छुट्याई चलन समेत चलाई पाऊँ भन्ने समेत व्यहोराको गणेशबहादुर खत्रीको फिराद दावी ।
सम्पूर्ण जग्गा म प्रतिवादी समेतको सँगोल तथा अवण्डामा रहेको भन्ने वादीको कथन सत्य होइन । सर्भे नापीमा वादी गणेशबहादुरको नाममा भक्तपुर जिल्ला चाँगुनारायण गा.वि.स वडा नं. ९ (ग) को कि.नं. २०, ६३ को जग्गा नापी भई दर्ता भएको छ । यसरी वादीको नाममा सर्भे नापीमा नै अलग अलग जग्गा नापी भई निजले अलग्गै भोग गरी आएकोबाट दावी असत्य रहेको प्रमाणित हुन्छ । साथै वादीको नाममा निजले अन्य व्यक्तिको मोही भई कमाएको जि. भक्तपुर चाँगुनारायण गा.वि.स वडा नं. ९ (ग) को कि.नं. ३८, ऐ. वडा नं. ९ (क) को कि.नं. १८, १९, १९० को जग्गा निजको नाममा अलग्गै दर्ता रहेको तथ्यबाट समेत अंशवण्डाको ३० नं. बमोजिम वादीको अंश भएको पुष्टि हुन्छ । अंशियार भनेका व्यक्तिहरू मध्ये श्यामबहादुरको नाममा चाँगुनारायण गा.वि.स वार्ड नं. ९ (ग) मा कि.नं. १८,२०, ६० मा जग्गा दर्ता रहेको र ऐ. वार्ड नं. ९(क) को कि.नं. २० को जग्गा निजले मोही भै कमाउनु भएको छ । त्यस्तै, मदनबहादुर खत्रीको नाममा पनि चाँगुनारायण गा.वि.स. वडा नं. ९(ग) कि.नं. ६१, ६२, ७० र ऐ. वडा नं. ९ (घ) को कि.नं.२१४, २४९ र २५९ को जग्गा नापी भई दर्ता भएको र निजले ऐ. वडा नं. ९(क) को कि.नं. १८९ को जग्गा मोहीमा कमाई आएका छन् । साथै मेरो नाममा पनि ऐ. चाँगुनारायण गा.वि.स वडा नं. ९(घ) को कि.नं. ४३४, ४३५, २३८, २२०, २३१ र २३६ समेतका जग्गाहरू नापी भई दर्ता भएका छन् । यसरी सबै अंशियारको नाममा अलग अलग जग्गा दर्ता भएकोवाट अंश भएको तथ्य किटानी रुपमा प्रमाणित हुन्छ । साथै मैले जग्गा हक हस्तान्तरण गर्दा मिति २०३३।१।२३ मा पारीत र.नं. ६६० को राजिनामा लिखतमा वादी “ऋणिको भिन्न भएको जेठाजु” भनी साक्षी वसेको र सो हक हस्तान्तरण गरेको जग्गामा अन्य कसैको हक नभै म प्रतिवादी भक्तकुमारीको मात्र हक भएको भन्ने व्यहोरा उल्लेख भएवाट अचल सम्पत्ति पनि अलग अलग भोग बिक्री व्यवहार गरी आएको प्रमाणित हुन्छ । भूमिसुधार लागू हुँदा एउटै लगत नभरी अलग अलग लगत भरिएको र वादीले पनि आफ्नो अंश भोगको सम्पत्ति बिक्री व्यवहार गरेकोबाट हामीहरू बीच अंश भइसकेको प्रमाणित हुने हुँदा वादी दावीबाट अलग फुर्सदपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी भक्तकुमारी खत्रीको प्रतिउत्तर पत्र ।
प्रतिवादीहरू सीतादेवी खत्री, बलबहादुर खत्री, भरतबहादुर खत्री, पवनबहादुर खत्री, प्रकाशबहादुर खत्री तथा मदनबहादुर खत्रीका नामको म्याद मिति २०५२।४।१९ मा तामेल भएकोमा शुरु म्यादै गुजारी प्रतिउत्तर नफिराई वसेको देखिन्छ ।
रं नं. ६६० मिति २०३३।१।२३ को राजिनामा लिखतमा वादी साक्षी बसेको र उक्त सहिछाप वादीको हो भन्ने समेत व्यहोराको वादीका वा. राम गोपाल खत्रीको सनाखत वयान मिसिल सामेल रहेको ।
२०२८ सालमा वादी मानोसम्म छुट्टिएको, अंशियारहरू ४ जनाका नाउँमा आ–आफ्नो जोत सम्म लेखिएको जग्गामा भोग चलन गरी बसी आएका छन् । वादी प्रतिवादीका बाबुका नाउँको पैत्रिक सम्पत्ति रीतपूर्वक अंशवण्डा भएको छैन । पैत्रिक सम्पत्ति मध्ये कि.नं. २२३ क्षे. फ. २–१३–० को जग्गा २०५२ साल सम्म वादी गणेशबहादुरले तिरो तिरी जोत भोग गरी आएको मलाई थाहा छ । अंशवण्डा नभएको हुँदा चारै जनाले ४ खण्डको १ खण्ड पैत्रिक सम्पत्ति पाउनु पर्छ भन्ने समेत व्यहोराको वादीका साक्षी चन्द्र नारायण भडेलको बकपत्र ।
उदयबहादुरका छोरा बुहारीको बीचमा २०२० साल भन्दा अघिदेखि नै चल अचल सम्पत्ति घरसारमा वण्डा गरी आ–आफ्नो जोत भोग गर्दै आएका र नापीको समयमा पनि सोही बमोजिम नाप नक्सा गराएका हुन् । भक्त कुमारीको लोग्ने पहिले नै परलोक भएको हुँदा निजको हकको जग्गा भक्तकुमारी कै नाउँमा नापी गराएका थिए । सबै अंशियारहरूले २०२० साल अगाडि नै आ–आफ्नो भाग भोग चलन गरी खाई आएको हुँदा वादीले अंश पाउनु पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादीका साक्षी लालबहादुर थापाको बकपत्र ।
मिति २०३३।१।२३ को राजिनामालाई अ.वं. ७८ नं. बामोजिम सद्दे कीर्तेमा वयान गराउँदा वादी वारेश निजको छोरा राम गोपाल खत्रीले स.ज. २ मा “मेरो बुबा साक्षी वसेको र उक्त राजिनामा र राजिनामामा लागेको सहिछाप मेरै बुवाको हो” भनी प्रमाणित गरिदिएको तथा १ नं. अनुसूची अर्थात पारीवारिक लगत र ७ नं. अनुसूची वादी प्रतिवादीले वेग्लावेग्लै भरेकोले सो समेतबाट वादी प्रतिवादीको परिवार भिन्न वसेको देखिन्छ, यसबाट प्रमाण ऐन, २०३१ को दफा ३४ अनुसार वादी पक्ष विवन्धित देखिएकोले प्रतिवादीहरूबाट अंश पाऊँ भन्ने वादी दावी पुग्न सक्दैन भन्ने समेत व्यहोराको शुरु भक्तपुर जिल्ला अदालतको मिति २०५४।५।१८ को फैसला ।
विपक्षी भक्तकुमारी बाहेकका अन्य अंशियारहरूले अंश पाऊँ भन्ने वादी दावीलाई स्वीकार गरेको र विपक्षीले छुट्टाछुट्टै दर्ता भनी देखाउनु भएका जग्गाहरू ४ अंशियारका नाउँमा संयुक्त दर्ता भएको भन्ने बुझिएका दर्ता श्रेस्ता उतारबाट देखिन्छ । १ नं. र ७ नं. फाँटवारी वेग्ला वेग्लै भरेकोले भिन्ना भिन्नै वसेको देखिने भन्ने शुरु फैसलाको आधारतर्फ फाँटवारीमा म वादीको भनी फाराममा देखाएको जग्गा र अन्य अंशियारको फाँटवारीमा देखाएको जग्गाहरू विपक्षी भक्तकुमारी समेतका नाममा संयुक्त दर्ता भई पूर्जा प्राप्त गरेको दर्ता श्रेस्ता भएकोमा फाँटवारी वेग्लै भरेको भन्ने सो निर्णयाधार हचुवा छ । गुठीबाट प्राप्त मिसिल समेतवाट अंश नभएको देखिएको अवस्थामा बुझिएका प्रमाणको वेवास्ता गरि सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतको विपरीत हुने गरि भएको शुरुको फैसला अ.वं. १८४ (क), १८५ नं. तथा अंशवण्डाको महलको ३० नं. तथा प्रमाण ऐन २०३१ को दफा ३ को कानूनी व्यवस्थाको समेत विपरीत हुँदा उल्टी गरिपाऊँ भन्ने समेत व्यहोराको वादी गणेशबहादुर खत्रीको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र ।
मिति २०३३।१।२३ मा र.नं. ६६० मा विपक्षीबाट भएका लिखतमा यी पुनरावेदकले ऋणीको भिन्न भई वसेको जेठाजु भनी सहिछाप गरी भिन्न भई बसेको स्वीकार गरेको देखिन आउँछ । वादी पुनरावेदकले समुच्चा अंश नलिई नपाएबाट ४ भागको १ भाग अंशतर्फ दावी लिई फिराद परेको र नापीकै अवस्थामा पुनरावेदकको नाममा विभिन्न कित्ता जग्गा नापी भै निजको हकमा कायम हुन आएको समेतमा विवाद देखिएन । पुनरावेदकको दावीमा अवण्डा रहन आएको जग्गासम्ममा वण्डा गरिपाऊँ भन्ने नभै समुच्चा वण्डा गरिपाऊँ भन्ने रहेको देखिँदा पुनरावेदकले अंशबापत केही नपाएको नलिएको एकासगोलमा रहेको भन्ने कथनको प्रमाणिक पुष्ट्याई भएको नदेखिएको अवस्था देखिनआएबाट शुरु भक्तपुर जिल्ला अदालतको मिति २०५४।५।१८ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको मिति २०५५।१२।२९ को फैसला ।
प्र.भक्तकुमारी बाहेकका अन्य प्रतिवादीहरूले प्रतिवाद नै नगरी वादी दावीलाई स्वीकारी वसेका छन् भने विपक्षीले प्रतिउत्तरमा मेरो नाममा रहेको भनी उल्लेख गरेको कि.न.. २० र ६३ को जग्गा मेरो नाममा एकलौटी दर्ता नभै विपक्षी समेतका ४ अंशियारको नाममा सँगोल दर्ता भएको छ भन्ने कुरा पुर्जा श्रेस्तावाट देखिँदा देखिंदै सोतर्फ दृष्टी दिइएको छैन । कि.नं. ४३४ ,४३५ ,२३८, २२०, २३१ र २३६ समेतका जग्गा आफ्नो नाममा छुट्टै दर्ता छ भन्ने विपक्षीको जिकीर झुठ्ठा हो किनभने उपरोक्त कित्ताहरू मेरो पिता उदयबहादुरको नाउँमा लगत दर्ता तिरो भएको जग्गा हो । अंशवण्डाको ३० नं. को प्रावधानले भिन्न भैसकेको भन्न सो दफाले वर्णित गरे अनुसार सबै अंशियारको छुट्टा छुट्टै दर्ता देखिनु पर्नेमा सो केही नदेखिएको अवस्थामा समेत अंशवण्डाको ३० नं. को गलत व्याख्या गरिएको छ । ७ नं. फाराम भु.सु. ऐनको प्रयोजनको लागि भरिएको हो । त्यतिकै आधारमा अंश भएको भन्न नमिल्ने भनी सिद्धान्त समेत प्रतिपादन भएको अवस्थामा वादी दावी नपुग्ने गरि गरिएको शुरुको फैसला सदर गर्ने गरी गरिएको पुनरावेदन अदालत पाटनको फैसलामा अंशवण्डाको १, २, ५, २०, २१, २२, २३, ३०, र ३५ नं., प्रमाण ऐन २०३१ को दफा ३, अ.वं. १८४ (क) १८५ नं. तथा श्री सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतको गम्भिर त्रुटि हुँदा मुद्दा दोहोर्याई हेरी सो फैसला उल्टी गरिपाऊँ भन्ने समेत व्यहोराको वादी गणेशबहादुर खत्रीको यस अदालतमा परेको निवेदन पत्र ।
वादी गणेशबहादुरले भिन्नभएको जेठाजु भनी मिति २०३३।१।२३ को लिखतमा साक्षी वसेको र व्यवहार प्रमाणबाट वादी प्रतिवादीहरू छुट्टिई भिन्न वसेको भन्ने आधारमा पुनरावेदन अदालत पाटनबाट शुरु भक्तपुर जिल्ला अदालतको फैसला सदर भएको देखिन्छ । अंशवण्डाको लिखत भए नभएको र बावु उदयबहादुरका नामको दर्ता फोड गरी वादीका नाममा के कति जग्गा दर्ता भएको हो सो नबुझि तथा मानो छुट्टिएकाले भिन्न भनी लेखेको भएतापनि अचल सम्पत्ति अंशवण्डा भएको छैन भन्ने वादी लेखलाई प्रमाण नवुझि भक्तपुर जिल्ला अदलतको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसलामा अंशवण्डाको ३० नं. प्रमाण ऐन २०३१ को दफा ५४ तथा ने.का. प. २०४७, भाग ३२, नि.नं. ४०८३, पृष्ठ १८५, पुनरावेदक कुदुस मुसलमान समेत र विपक्षी हसमती मुसलमाननी समेत भएको अंश मुद्दामा “प्रमाणको अभावमा वादी प्रतिवादीका नाममा जग्गा रहेको नाताबाट अंशवण्डा भएको भनी अनुमान गर्न नमिल्ने” भनी प्रतिपादित कानूनी सिद्धान्तको प्रतिकूल देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा १ को खण्ड (क) र (ख) को आधारमा मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिदिएको छ । प्रस्तुत मुद्दा पुनरावेदन दायरीमा दर्ता गरि विपक्षी झिकाई आएपछि वा अवधि भुक्तान भएपछि लगाउका नि.नं. ५६४१, ५६४२, ५६४३ र ५६४४ का मुद्दाहरू समेत साथै राखी नियमानुसार गरि पेशगर्नु भन्ने समेत यस अदालतको आदेश ।
वादी प्रतिवादीहरूका मूल पुर्खा उदयबहादुर खत्रीले मिति २०२१।९।२५ मा भूमिसुधार कार्यालयमा दाखिल गरेको ७ नं. फाँटवारीमा उल्लिखित भक्तपुर जिल्ला चाँगुनारायण गा.वि.स वडा नं. ९ कि.नं. २९७३, २३४३, १७८४, २१११, ३१, ५१८, ५२३, ७२८, ७५८ र ८०२ समेतका जग्गा हाल सर्भे नापीमा कुन कुन कित्ता कायम भै कस कसका नाउँमा के कति कि नं. क्षेत्रफलको जग्गा दर्ता भएको छ सो सम्बन्धमा अ.वं. १३३ नं. बमोजिम वादी प्रतिवादीहरूको कागज गराई सो बमोजिमको जग्गाको दर्ता उतार प्राप्त भएको भए सोही अनुसार र प्राप्त नभएको भए खुलाएका कित्ता जग्गाहरूको दर्ता उतारको प्रतिलिपि सम्बन्धित कार्यालयबाट झिकाई आएपछि लगाउका मुद्दा साथै राखी पेश गर्नु भन्ने यस अदालतको मिति २०६१।६।१३ को आदेश ।
प्रमाणको नाउँसारी मुद्दाको मिसिलबाट स्व.पिता उदयबहादुरको जग्गा चारै जना अंशियारको नाउँमा संयुक्त नामसारी दाखिल खारेज भै आएको र भूमि सम्बन्धी नियमहरू, २०२१ को अनुसूची १ र ७ नं. का जग्गाहरू विधिवत् दर्ता फुटी अंशियारहरूको नाउँमा दर्ता भएको देखिदैन । २०२८ सालमा मानो भिन्न भएको भन्ने फिरादको प्रकरण ३ मा उल्लेख भएकोमा प्रतिवादीहरूले सो कुरामा विवाद गरेको नहुँदा र २०२८ साल सम्म उल्लेख भएको साल महिना जनिएको अवस्था नहुँदा २०२८ साल चैत्र मसान्तलाई मानो छुट्टिएको मिति कायमगरि दुवै पक्षबाट अंश लाग्ने सम्पत्तिको मुलुकी ऐन अंशवण्डाको २०, २१, २२, २३ नं. बमोजिम तायदाती फाँटवारी लिई परस्परमा सुनाई कानूनन लाग्ने कोर्टफी लिई लगाउका मुद्दा साथै राखी नियमबमोजिम पेश गर्नु भन्ने यस अदालतको मिति २०६१।१२।२४ को आदेश ।
यस अदालतको मिति २०६१।१२।२४ को आदेश बमोजिम वादी गणेशबहादुर खत्रीको मु.स गर्ने राम गोपाल खत्री र सुरेश खत्रीले मिति २०६२।२।१६ मा पेश गरेको तायदाती फाँटवारी र प्रतिवादी मध्येकी भक्तकुमारी खत्रीको मु.स गर्ने मन विष्टले मिति २०६२।३।३१ मा पेश गरेको तायदाती फाँटवारी मिसिल सामेल रहेको ।
नियमबमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकतर्फका विद्वान अधिवक्ता कमलबहादुर बोगटीले २०२८ साल देखि मानोसम्म छुट्टिएको वण्डा भएको छैन भन्ने पक्षको दावी भएर नै भिन्न बसेको भनी २०३३ सालमा लिखतमा लेखेको तथ्यलाई उल्टो अर्थ गरी अंश भैसकेको भनी ठहर गर्न मिल्ने होइन । वादी प्रतिवादी बीच दर्ता फुटेको छैन । अंश भएको लिखत प्रमाण छैन । मानो छुट्टिनु नै अंशवण्डा हुनु होइन । अंशवण्डाको ३० नं. को ब्यवस्था अनुसार वण्डा भै सकेको मान्नुपर्ने आधार प्रमाण केही छैन । विना आधार अंश नपाउने ठहर गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर हुनु पर्दछ भन्ने समेत लिखित बहसनोट पेश गर्नु भयो । प्रत्यर्थीतर्फबाट विद्वान अधिवक्ता श्री इश्वरी भट्टराईले वादी प्रतिवादीहरू पहिला देखि भिन्न भई बसेका हुन् । भक्त कुमारीले जग्गा हक हस्तान्तरण गर्दा भिन्न भएको जेठाजु भनी यिनै वादी गणेशबहादुर खत्री साक्षी बसी सहीछाप गरी अलग बसेको स्वीकार गरेका छन् । अलग– अलग जग्गा नापी, दर्ता भई गुठीको जग्गामा मोहियानी हक पनि अलग–अलग जनिएको छ । २०२८ सालदेखि अलग रहेको भनी वादीले स्वीकार गरेको र गुठीको जग्गा प्रतिवादी भक्त कुमारीले निरन्तर रुपमा कमाएको जग्गा समेत वण्डा लाग्छ भन्न मिल्दैन । लिखत, भोग प्रमाण समेतबाट वादी र प्रतिवादीहरू सगोलको अंशियार नहुँदा वादीले अंशमा दावी गर्न मिल्दैन । पुनरावेदन अदालतको फैसला सदर हुनुपर्दछ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।
यसमा पुनरावेदकतर्फबाट प्रस्तुत भएको विद्वान अधिवक्ताको लिखित बहसनोट तथा प्रत्यर्थीतर्फका विद्वान अधिवक्ताको बहस जिकिर सुनी मिसिल अध्ययन गरी हेर्दा शुरु भक्तपुर जिल्ला अदालतले वादी दावी नपुग्ने ठहराई गरेको फैसला सदर हुने ठहर गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेको छ छैन सो सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
यसमा निर्णयतर्फ विचार गर्दा बाबु उदयबहादुरका ४ छोरामा जेठो म फिरादी, माहिलो रामबहादुर, साहीलो श्यामबहादुर र कान्छो मदनबहादुर भएकोमा बाबु उदयबहादुर, आमा, माहिलो रामबहादुर र साहिलो श्यामबहादुरको परलोक भइसकेको छ । हाल जिवित अंशियारमा जेठो म फिरादी–१ माहिलो रामबहादुरको हक खाने निजको श्रीमती भक्त कुमारी–१, साहिलो श्यामबहादुरको हक खाने निजको श्रीमती सीता देवी र छोराहरू वलबहादुर, भरतबहादुर, पवनबहादुर, प्रकाशबहादुर–१ र कान्छो मदनबहादुर गरि ४ अंशियार भएकोमा बाबुको २०२८ सालमा मृत्यु भएपछि हामी दाजु भाईहरू चल सम्पत्ति सोही बखत लिई मानो छुट्टीई वसेका छौं । अचल सम्पत्ती वण्डा नभई सँगोलमा नै भएको र निजहरूले मलाई जीविकाको लागि थोरै मात्र सम्पत्ति दिएको हुँदा सम्पूर्ण सम्पत्तिको ४ भाग लगाई ४ भागको १ भाग अंश छुट्याईपाऊँ भन्ने समेत व्यहोराको फिराद दावी भएकोमा भक्तपुर जिल्ला अदालतबाट वादी दावी पुग्न नसक्ने गरी भएको फैसला सदर हुने ठहर गरेको पुनरावेदन अदालत पाटनको फैसला उपर दोहो–याई पाऊँ भन्ने निवेदन परी दोहोर्याउने निस्सा प्रदान भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा निम्न विषयमा निर्णय दिनु पर्ने देखियो ।
(क) वादी दावी बमोजिम वादीले प्रतिवादीहरूबाट अंश पाउने हुन होइनन ?
(ख) पुनरावेदन अदालत पाटनको फैसला मिलेको छ छैन ?
२. पहिलो प्रश्नतर्फ विचारगर्दा वादी प्रतिवादीहरू बीच नातामा विवाद नदेखिई मुख मिले तापनि मूल रुपमा अंशमा विवाद रहेको देखिन्छ । वादी तथा प्रतिवादीहरूका बाबुको २०२८ सालमा मृत्यु भएपछि दाजु भाईहरू चल सम्पत्ति लिई सोही बखतदेखि मानो छुट्टिई वसेको कुरा वादीले स्वीकार गरेको देखिन्छ । अचल सम्पत्ति मा अंशबण्डा नभएकोले त्यसबाट अंश पाऊँ भन्नेसम्म वादीको दावीतर्फ विचार गर्दा स्व.उदयबहादुर खत्रीका चार छोराहरू मध्ये यी वादी जेठा छोरा हुन् । निज उदयबहादुर २०२८ सालमा परलोक भएकोमा विवाद देखिदैन । तर २०२८ साल भन्दा अगावै २०२१ सालमा सर्वे नापी हुँदा उदयबहादुर लगायत निजका चारै छोराहरूका नाममा अलग–अलग नापी भई सोही अनुसार अलग–अलग जग्गा दर्ता भएको समेत देखिन्छ । यी वादीका नाममा पनि चाँगु नारायण गा.वि.स.वडा नं.९(ग) को कि.नं.२० र ६३ का रैकर जग्गा सर्वे नापीबाट नापी दर्ता भएको पाइन्छ । गुठी जग्गाधनी भएको सोही गा.वि.स. वडा नं. ९(क) कि.नं. १८, १९ र १९० का जग्गाहरू वादी गणेशबहादुरको मोहीमा दर्ता भएको समेत छ । अन्य अंशियारहरूका नाममा पनि अलग–अलग जग्गा दर्ता रहेको छ ।
३. यसको अतिरिक्त नापीको समयमा १ नं. पारीवारिक लगत तथा सम्पत्तिको फाँटवारी ७ नं. अनुसूची पनि यी वादी तथा प्रतिवादीहरूले आ–आफ्नो नाममा अलग अलग भरी सोही अनुसार नापी दर्ता भई भोग गरी आएको तथ्य पेश भएका प्रमाण कागजातहरूबाट देखिएको छ । उदयबहादुरका माहिला छोरा रामबहादुर खत्रीको मृत्यु पश्चात् निजको अंश हकको जग्गा निजकी श्रीमती प्रतिवादी भक्त कुमारीको नाममा आएको अवस्था छ । सर्भे नापीको समयमा नै सम्पत्ति आ–आफ्नो नाममा गराई आफ्नो हकको हुन आएको जग्गा मध्ये भक्तपुर जिल्ला चांगु नारायण गा.वि.स वडा नं. ९(घ) को कि.नं. २२३ को जग्गा मिति २०३३।१।२३ मा र.नं. ६६० बाट प्रतिवादी भक्तकुमारीले रामप्रसाद लुइटेललाई राजिनामा लिखत पारीत गरीदिंदा उक्त लिखतको साक्षीको महलमा यी वादीले आफूलाई दाता भक्त कुमारीका भिन्न बसेको जेठाजु भनी सहीछाप गरेको देखिन्छ । कुनै पनि अंशियारले आफ्नो अंश भाग नलिएको अवस्थामा सगोलको सम्पत्ति एक अशियारले अन्य व्यक्तिलाई कुनै पनि व्यहोराले हक हस्तान्तरण गर्दा भिन्न बसेको भनी सहीछाप गर्ने प्रश्न नै उठ्दैन । वादीको मुद्दा सकार गर्ने निजको छोरा रामगोपाल खत्रीले अ.बं. ७८ नं. बमोजिम बयान गर्दा मिति २०३३।१।२३ को र.नं. ६६० को राजिनामा लिखतमा मेरो बुबा साक्षी बसेको र उक्त लिखतमा लागेको सहीछाप मेरो बुबाको हो भनी लिखत सद्दे भएको भनी स्वीकार गरेको पाइन्छ ।
४. अंशको हक जन्मबाटै व्यक्तिले प्राप्त गर्ने हुनाले यो कुण्ठित हुनु हुदैन तर जे जति भए पनि एक पटक अंश लिई सकेपछि सो हक समाप्त हुन्छ । अंशमा दोहोरो दावी गर्न पाउने अधिकार कानूनले कसैलाई पनि प्रदान गरेको छैन । अंशवण्डा सम्बन्धी कानूनी ब्यवस्था हेर्दा अंशियारहरू बीचको अंशबण्डाको लिखत रजिष्ट्रेशन पारीत हुनै पर्ने ब्यवस्था अंशबण्डाको ३० नं. र रजिष्ट्रेशनको १ नं. ले गरेको छ जुन प्रस्तुत मुद्दामा यी वादी प्रतिवादी बीच भएको छैन । तर सोही अंशबण्डाको ३० नं. ले कानूनबमोजिमको लिखत नभएमा पनि भोग, ब्यवहार प्रमाणबाट अंशवण्डा हुन सक्ने अवस्थालाई पनि कानूनी मान्यता प्रदान गरेको छ । अंशबण्डाको महलको ३० नं. मा मुलुकी ऐन सातौ संशोधनले २०३४।९।२७ देखि भएको संशोधनबाट सो मितिसम्म घरसारमा नरम गरम मिलाई अचल अंशबण्डा गरी छुट्टिई आफ्नो–आफ्नो हिसाब भागशान्ति बमोजिम लिई पाई दाखिल खारेज समेत गराई सकेको वा बण्डाबमोजिम आफ्नो–आफ्नो भागको अचल छुट्टा छुट्टै भोग बिक्री ब्यवहार गरेकोमा ब्यवहार प्रमाणबाट बण्डा भइसकेको ठहरेमा पछि बण्डापत्र रजिष्ट्रेशन भएको छैन वा बण्डा घटी बढी असल कमसल भयो भन्न नपाउने समेत कानूनी ब्यवस्था गरिएको छ । प्रस्तुत विवादको सन्दर्भमा हेर्दा बाबु उदयबहादुर र निजका चार छोराहरूको नाममा अलग–अलग पारीवारिक लगत, ७ नं.फाँटवारी लगायत अलग–अलग २०२१ सालको सर्वे नापीमा नै नापी भई सोही बमोजिम अलग–अलग पक्ष भएर यी वादीले लिखित रुपमा आफू भिन्न भएको भनी स्वीकारी सकेपछि अचल सम्पत्तिमा बण्डा भएको छैन भन्न सक्ने अवस्था रहेको देखिन आएन ।
५. अंशवण्डाको ३० नं. अनुसार वादी प्रतिवादी बीच पहिल्यै २०२१ सालमा सर्भे नापी हुँदाका बखत पैत्रिक सम्पत्ति आ–आफ्नो नाममा नापी गराई घरसारमा नरम गरम मिलाई हिसाब शान्ति भोग गरेको तथ्य पेश भएको प्रमाण कागजातबाट देखिन आएको छ । यसै सन्दर्भमा “ वादी स्वयंले आफू भिन्न भएको भनी उल्लेख गरे पछि भिन्न भएको छैन भन्न विवन्धनको सिद्घान्त समेतले नमिल्ने” भनी ने.का.प. २०४३,अङ्क ३, नि.नं.२६६४, राम स्वरुप सहनी मलाह विरुद्घ राम सेवक सहनी मलाह समेत भएको लिखत बदर मुद्दामा संयुक्त इजलासबाट तथा “अंशवण्डाको ३० नं. ले आफ्नो आफ्नो भागको अचल छुट्टाछुट्टै भोग बिक्री ब्यवहार गरेकोमा ब्यवहार प्रमाणबाट वण्डा भई सकेको ठहरेमा वण्डापत्र रजिष्ट्रेशन नभएको वा घटी बढी असल कमसल भएको भन्न नपाउने र वादी प्रतिवादीले आ–आफ्नो भागको अचल छुट्टा छुट्टै भोग बिक्री ब्यवहार गरेको प्रमाणबाट पुष्टि भएको देखिदा वादीले प्रतिवादीबाट अंश भाग छुट्टाई लिन पाउने अवस्था देखिन नआउने ” भनी ने.का.प.२०५३, अङ्क ११, नि.नं. ६२९२ पृ.८०२ संयुक्त इजलासबाट गंगाबहादुर महर्जन विरुद्घ राम महर्जन भएको अंश चलन मुद्दामा कानूनी सिद्घान्त प्रतिपादित भइसकेको छ । यस्तै “अन्य तथ्यबाट वादी प्रतिवादी भिन्न भई बसेको प्रमाणित भईरहेको अवस्थामा वादीले प्रतिवादीबाट अंश पाउने नदेखिने ” भनी ने.का.प.२०५६, नि.नं. ६८२४ पृ.८५५ पूर्ण इजलास भीमराज गिरी विरुद्घ मु.स गर्ने मैया गिरी भएको अंश मुद्दामा यस अदालतको पूर्ण इजलासबाट सिद्घान्तहरू प्रतिपादन भएको देखिन्छ । उक्त सिद्घान्तहरूको आधारमा र प्रस्तुत मुद्दामा मिशिल सामेल अन्य प्रमाणहरूबाट यी वादी प्रतिवादी भिन्न नभई सगोलमा नै रहेको भनी मान्न मिल्ने देखिदैन ।
६. अब यी वादी, प्रतिवादीहरूका बाबु उदयबहादुरका नामको जग्गा निजको परलोक भए पछि सगोलमा नामसारी गराएको भन्ने पुनरावेदन जिकिर तथा यस अदालतबाट दोहोर्याउने निस्सा प्रदान गर्दा लिएका आधारतर्फ विचार गर्नु पर्ने हुन आउँछ । सो सम्बन्धमा हेर्दा प्रस्तुत फिराद पर्दासम्म यी वादी प्रतिवादीहरू सगोलमै रहे बसेको भन्ने वादीको भनाई नै छैन । २०२८ सालमा मानो छुट्टिए सम्मको कुरा फिरादपत्रमा स्वयं वादीले स्वीकार गरेको अवस्था छ । सगोलमा रहनु र संयुक्त दर्ता हुनु दुई अलग–अलग अवस्था हुन् । अंश नलिई सगोलमा रहेको बेला कुनै अंशियारको परलोक भएमा निजको नामको सम्पत्ति कुनै एक अंशियारको नाममा नामसारी भए पनि त्यसबाट सबै अंशियारको भाग लाग्छ । तर अंशबण्डा भई सकेपछि कुनै एक अंशियारको परलोक भएपछि निजको सम्पत्ति अन्य अंशियारहरूको संयुक्त नामसारी दर्ता गराएका छन् भने सो संयुक्त नामसारी दर्ता गराएकै आधारमा ती अंशियारहरूलाई सगोलको अंशियार भन्न मिल्दैन ।
७. मिसिल सामेल रहेको नामसारी सम्बन्धी मिशिल हेर्दा उदयबहादुरको नामको जग्गा यी वादी प्रतिवादीहरूले सगोलमा संयुक्त दर्तासम्म गराएको देखिन्छ । भिन्न भएको बाबुको परलोकपछि निजका नामको बाँकी रहेको जग्गा वा अचल जेथामा कानूनबमोजिम अन्यथा भएमा बाहेक निजका जीवित छोरा–छोरीहरू सबैको भाग लाग्नु स्वभाविकै हो । त्यस्तो अवस्थामा संयुक्त नामसारी गराइएको जग्गामा सबै दर्तावालाहरूको बराबर भाग लाग्छ र आफूले चाहेको बेला आफ्नो भागसम्म छुट्याई लिन पाउने पनि हुन्छ । तर बाबुको नामको जग्गा निजको परलोक पछि पहिला देखि भिन्न भई बसेका छोराहरूले सगोलमा वा संयुक्त रुपमा नामसारी गराएबाटै अंशबण्डाको प्रयोजनका लागि तिनीहरूको स्थिति सगोलको अंशियार जस्तो हुनजाने भनी अर्थ गर्न मिल्दैन । किनभने भोग, ब्यवहारबाट होस वा अंशबण्डाको लिखत पारीत गराएर होस भिन्न भएका अंशियारहरू पुनः अंश जोडिएको लिखत पारीत नभए सम्म तिनीहरूलाई सगोलको अंशियारको संज्ञा दिन मिल्दैन । त्यस कारण सगोलमा नामसारी गराएको कारण प्रतिवादीहरूबाट यी वादीले अंश पाउनु पर्ने भन्ने निस्सामा लिइएको आधार र पुनरावेदन जिकिरसँग यो इजलास सहमत छैन ।
अब दोश्रो प्रश्नतर्फ विचार गर्दा वादी प्रतिवादीले १ नं. पारीवारिक लगत र ७ नं. फाराम छुट्टा छुट्टै भरेको देखिन्छ भने २०३३।१।२३ को रजिष्ट्रेशन पारीत राजिनामा लिखतमा यी वादी गणेशबहादुर खत्रीले भिन्न बसेको जेठाजु भनी सहीछाप गरेको समेत देखिदा वादी प्रतिवादीहरू सगोलका अंशियारहरू रहेछन् भनी मान्न मिल्ने देखिएन । लिखत प्रमाण, व्यवहार, भोग, बिक्री समेतबाट यी वादी प्रतिवादीहरूबाट अलग भिन्न भएको पुष्टि भएको अवस्थामा हाल आएर वादीले प्रतिवादीहरूसँग अंशमा दावी गर्न मिल्ने देखिएन । तसर्थ वादी दावी पुग्न नसक्ने ठहर गरेको शुरु भक्तपुर जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको मिति २०५५।१२।२९ को इन्साफ मनासिब हुँदा सदर हुने ठहर्छ । वादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । दायरीको लगत कट्टा गरी मिशिल नियमानुसार बुझाईदिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.कृष्णप्रसाद उपाध्याय
इति संवत् २०६६ बैशाख १६ गते रोज ४ शुभम् ।
इजलास अधिकृत (शा.अ.)–दीपक ढकाल