निर्णय नं. ८७६४ - कर्तव्यज्यान

ने.का.प. २०६९, अङ्क २
निर्णय नं. ८७६४
सर्वोच्च अदालत, पूर्ण इजलास
माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा
माननीय न्यायाधीश श्री अवधेशकुमार यादव
माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल
फौ.पु.नं. २०६६–CR–०००४
फैसला मितिः २०६८।८।१।५
मुद्दाः कर्तव्य ज्यान ।
पुनरावेदक वादीः ओजराज विष्टको जाहेरीले नेपाल सरकार
विरुद्ध
प्रत्यर्थी प्रतिवादीः लमजुङ जिल्ला, चिती गा.वि.स.वडा नं. ८ बस्ने यज्ञबहादुर थापा समेत
शुरु फैसला गर्नेः
मा.जि.न्याः श्री तीर्थराज देवकोटा
पुनरावेदन फैसला गर्नेः
मा.न्याःश्री माधवराज थापा
मा.न्याःश्री पुरुषोत्तम पराजुली
यस अदालत संयुक्त इजलासमा फैसला गर्नेः
मा.न्या.श्री रामप्रसाद श्रेष्ठ
मा.न्या.श्री मोहनप्रकाश सिटौला
§ जाहेरी दरखास्तमा लेखिएका कुराहरूलाई आधार बनाई अनुसन्धानकर्ताले अपराधको सम्बन्धमा महत्वपूर्ण सूचना संकलन गरी सम्भाव्य अपराधीको पहिचान गर्न र अपराध पुष्टि गर्नसक्ने ।
§ जाहेरी दरखास्तलाई अदालतले अन्य संकलित प्रमाणको रोहमा परीक्षण नगरेसम्म वा अन्य प्रमाणहरूले समर्थन (Corroborate) नगरेसम्म त्यस्तो जाहेरी दरखास्त आफैँमा स्वतन्त्र प्रमाण हुन सक्तैन । अन्य प्रमाणबाट समर्थित नगरेसम्म जाहेरी दरखास्त केवल अपराध अनुसन्धानको क्रममा मात्र सहयोगी हुन सक्तछ । त्यसैले जाहेरी दर्खास्तलाई अभियोग लगाइएको कुनै पनि व्यक्तिका विरुद्ध प्रमाणको रुपमा ग्रहण गर्नुपूर्व सो जाहेरी दरखास्तको न्यायिक परीक्षण त्यत्तिकै आवश्यक हुने ।
§ जाहेरी दरखास्तको मूल्याङ्कन गर्ने महत्वपूर्ण आधारको रुपमा प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम त्यस्तो जाहेरी दिने व्यक्ति अर्थात् जाहेरवाला स्वयं साक्षीका रुपमा अदालतमा उपस्थित भई आफूले जाहेरी दरखास्तमा लेखाएको कुरालाई अदालतमा वकपत्र गरी समर्थन गरेको स्थिति विद्यमान हुनु पर्दछ । अन्यथा कुनै पनि जाहेरीको व्यहोराले अपराध पुष्टि गर्ने प्रामाणिक महत्व ग्रहण गर्न नसक्ने ।
(प्रकरण नं.६)
§ लासजाँच मुचुल्का र शव परीक्षण प्रतिवेदनबाट कसैको मृत्यु कर्तव्यबाटै भएको देखिए तापनि त्यस्ता प्रमाणहरूले कुनै अमुक व्यक्ति नै कसूरदार हो भन्ने कुरा निर्धारण गर्न सक्तैनन् । अनुसन्धानको क्रममा संकलन भएका अन्य प्रमाणहरूले सिलसिलेवार रुपमा आरोपित व्यक्तिउपरको कसूरलाई स्थापित गरेको अवस्थामा मात्रै शव परीक्षण प्रतिवेदन तथा लासजाँच मुचुल्काले त्यस्तो आरोपित व्यक्तिउपर कसूर कायम गर्ने प्रमाणको स्थान ग्रहण गर्ने ।
§ लासजाँच मुचुल्का र शव परीक्षण प्रतिवेदनलाई मात्रै पनि आरोपित व्यक्तिका विरुद्ध स्वयंमा अकाट्य प्रमाण मान्न नसकिने ।
(प्रकरण नं.७)
§ न्याय निरोपण गर्ने निकायबाट परीक्षण गरिएका प्रमाणहरूबाट वारदातमा प्रतिवादीहरूको संलग्नता पुष्टि नभएको स्थितिमा आफूले परीक्षण नगरेको प्रमाणको आधारमा मात्रै कसैलाई दोषी करार गर्नु फौजदारी न्याय व्यवस्थाको प्रतिकूल हुन जाने ।
(प्रकरण नं.९)
§ कुनै पनि फौजदारी कसूरलाई शंकारहित तवरले पुष्टि गर्नुपर्ने दायित्व अभियोजन पक्षको हुने, अदालतले प्राप्त प्रमाणहरूको परीक्षण एवं मूल्याङ्कन गरी ती प्रमाणहरूले ठहरेबमोजिम मात्र न्याय निरोपण गर्नुपर्ने भन्ने नै हुन्छ । तर अदालत स्वयंले कुनै प्रमाणको सिर्जना गरी कुनै कसूर स्थापित गर्ने वा कसै उपरको अभियोग पुष्टि गर्न नहुने ।
§ संकलित भएका प्रमाणहरूबाट कसैउपरको अभियोग पुष्टि हुने अर्थात त्यस्तो अभियोग शंकारहित देखिँदैन भने अदालतले वादी वा अभियोजन पक्षको हैसियत ग्रहण गरी विना आधार कसैलाई दोषी करार गर्न नसक्ने ।
(प्रकरण नं.१४)
§ अनुसन्धानको क्रममा भएको प्रतिवादीहरूको साविती बयान अन्य प्रमाणहरूबाट स्वतन्त्ररुपमा समर्थित नभएसम्म अदालतले त्यस्तो साविती बयान मात्रैलाई आधार मानी कसूर कायम गर्नु न्यायसंगत हुन नसक्ने ।
§ प्रमाणहरूले परस्पर पोलापोल गरिएका बयान पुष्टि हुन् र त्यसको प्रामाणिकता स्थापित हुन नसकेको स्थितिमा सो पोल मात्रै निजहरू उपरको आरोप पुष्टि हुने निरपेक्ष प्रमाण हुन नसक्ने ।
(प्रकरण नं.१५)
पुनरावेदक वादी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता कृष्णप्रसाद पौडेल
प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता शम्भु थापा, विद्वान अधिवक्ताहरू लभकुमार मैनाली, मेघराज पोखरेल र शीतोष्ण तिमल्सिना
अवलम्बित नजीरः
सम्बद्ध कानूनः
o अदालती बन्दोबस्तको ११५ नं.
o प्रमाण ऐन, २०३१ को दफा १८
o अ.वं. १९० नं.
o ज्यानसम्बन्धी महलको १३(१), (४) नं.
फैसला
न्या.दामोदरप्रसाद शर्माः पुनरावेदन अदालत, पोखराको मिति २०६०।३।१५ गतेको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन दर्ता भएको प्रस्तुत मुद्दामा यस अदालतको संयुक्त इजलास माननीय न्यायाधीशहरू बीच मतैक्य हुन नसकी निर्णयार्थ यस इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः–
पूर्व धौ खोला, पश्चिम यामराज विष्टको खेत, उत्तर निजकै खेत, दक्षिण धौखोला यति ४ किल्लाभित्र रहेको जिल्ला लमजुङ चिती गा.वि.स.वडा नं. ६ धौखोलाको पूर्वबाट पश्चिमतर्फ जाने बाटोको बायाँ पट्टि जमिनको डिलको सतहदेखि तल मृतक मदनराज विष्टको उत्तानो अवस्थामा रहेको मृतक लासको घटनास्थल प्रकृति मुचुल्का ।
मृतकको घाँटीमा ३ इञ्च लम्बाइको काटेको घाउ देखिएको दायाँ कानको माथि पछाडिपट्टि १ इञ्च गोलाईको प्वाल भएको देखिएको मृतकको लिङ्ग र गुदद्वारबाट केही ननिस्केको देखिएको मृतकको लासजाँच प्रकृति विवरण ।
मिति २०५७।५।२२ गतेका दिन मेरो बुबा मदनराज विष्ट र म समेत भएको ज्यान मुद्दा सम्मानीत अदालत लमजुङमा पेशी तारिख भएको हुँदा हामी बाबु छोरा विहानको खाना खाई बेंशीशहर तर्फ आउँदै गरेको अवस्थामा चिती गा.वि.स.वडा नं. ६ स्थित धौखोलामा आई पुग्दा एक्कासी सोही खोलामा लुकी छिपी बसेका मैले चिनेका जिल्ला लमजुङ चिती गा.वि.स.वडा नं. ८ बस्ने डिलबहादुर कमली, टेकबहादुर कमली, शेरबहादुर कमली, गोविन्दबाबु तिवारी, अन्य देखे चिने नाम नजानेको ५–७ जना मानिसहरूले एक्कासी चारैतिरबाट घेराउ गरी बुबालाई धौखोलाको डिलमा लडाई मेरो बुबालाई बाँधछाँद गरी भाग्न उम्कन नपाउने गरी बाटोमा लडाई कर्तव्य गरी मारेको हुँदा निजहरूलाई पक्राउ गरी कानूनबमोजिम कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको ओजराज विष्टको जाहेरी दरखास्त ।
ओजराज विष्टको जाहेरीले वादी श्री ५ को सरकार प्रतिवादी डिलबहादुर कमली समेत भएको कर्तव्य ज्यान मुद्दामा प्रतिवादी डिलबहादुर कमली समेतका प्रतिवादीहरूलाई खोज तलास गरी फेला परेमा बाटोमा भाग्न उम्कन नपाउने गरी सुरक्षाको व्यवस्था मिलाई यस कार्यालयमा दाखिला गर्नु भनी म समेतका प्रहरी अधिकृत तथा जवानहरूलाई खटाई पठाइएकोमा निजहरूलाई खोजतलास गर्दै जाँदा निज डिलबहादुर कमली, शेरबहादुर कमली, टेकबहादुर कमली र गोविन्दबाबु तिवारीलाई गाउघरमा फेला पारेको हुँदा निजहरूलाई यसै प्रतिवेदन साथ दाखिला गरेका छौँ, कानूनबमोजिम कारवाही गरिपाऊँ भन्ने प्र.ना.नि.अभय जोशी समेतको प्रतिवेदन ।
मिति २०५७।५।२२ गतेका दिन विहानको खानपीन गरी म आफ्नो घरबाट रा.बा.बैंक बेंशीशहरमा आउन लागेको अवस्थामा चिति ६ स्थित आफ्नो बगैचामा मृतक मदनराज विष्ट र निजको छोरा ओजराज विष्टसँग भेट भएपछि म र ती दुवै जना बाबुछोरा समेत दलालतर्फ आइरहेको अवस्थामा धौखोला नजीक आई पुग्दा मलाई पिसाब लागेकाले म पिसाब फेर्न लागेँ मृतक र निजको छोरा अगाडि जाँदै थिए । सोही खोलामा लुकी छिपी बसेका व्यक्तिहरूले मृतक मदनराज विष्टलाई समातेर सोही खोलाको डिलमा लडाई राखेको अवस्थामा मैले देखे पछि सो ठाउँमा जाँदा त्यहाँबाट भागेर गइहाल भन्दा म र मृतकको छोरा ओजराज विष्ट सो ठाउँबाट हो हल्ला गर्दै दलालतर्फ भाग्दै जान लागेको अवस्थामा निजहरूले तीन फायर गोलीको जस्तो फायर गरेको जस्तो पडकाएको आवाज सुनी सोही ठाउँमा रहेका टेकबहादुर कमलीले मृतक मदनराजको हात समातेको र गोविन्दबाबु तिवारीले मृतकको शरीर समातेको निजहरूले नै मदनराज विष्टलाई कर्तव्य गरी मारेका हुन् भन्ने समेत व्यहोराको सन्तबहादुर घर्तीको मौकाको कागज ।
मलाई गोविन्दनिधि तिवारी समेतले हामीलाई बहस सुन्न मनलागेको छ भोली, अर्थात् मिति २०५७।५।२२ गते बेंशीशहर जानुपर्छ भनी मलाई भनेकोले म घरबाट बाँझाखेत हुँदै बेंशीशहर १० बजे पुगेको सो ठाँउमा मोहननिधि तिवारी समेतका व्यक्तिहरूसँग भेट हुँदा निजहरूले आज अं ८.३० बजेको समयमा धौखोलामा मदनराज विष्टको मृत्यु भएको छ भनी निजहरूले कुरा गर्दा सुनेको हुँदा निजलाई को कसले कर्तव्य गरी मारेका हुन् मलाई थाहा छैन उल्लिखित व्यक्तिहरूले मिति २०५७।५।२२ गते तारिखमा जाँदा कहाँ जालास् भन्ने धाक धम्की समेत दिएको कुरा मैले गाउँ घरमा सुनेको हुँ भन्ने तोपबहादुर थापाको मौकाको कागज ।
मिति २०५७।५।२२ गते लमजुङ जिल्ला अदालतमा तारिख भएकोले ससुरा मदनराज विष्ट र देवर ओजराज विष्ट सो दिनको विहानको खानपीन गरी तारिख लिन बेंशीशहर आइरहेको अवस्थामा म पनि खाना खाइ केही समय पछि बेंशीशहरतर्फ आइरहेको थिएँ । सो दिनको अं. ८.३० बजेको समय हुँदो होला म बजार खुट्टाबाट ओरालो लाग्दै थिए । अचानक देवर ओजराज गुहार गुहार भन्दै दलाल तर्फ दौडेको देखें, तत्कालै गोलीको आवाज पनि सुनेको हुँ । दौडदै तल झर्दा घटनास्थलमा ८–९ जना मानिसहरू देखें सो समयमा निजहरू दायाँबायाँ लागेको र भागेका हुन् । सो समयमा मैले घटना स्थलमा देखेका मानिसहरू टेकबहादुर कमली, शेरबहादुर कमली, डिलबहादुर कमली, गोविन्दबाबु तिवारी, यज्ञबहादुर थापा, मोहनबाबु तिवारी, जनकबाबु तिवारीलाई मैले देखेको र चिनेको, निजहरूले नै मेरो ससुरा मदनराज विष्टलाई कर्तव्य गरी मारेका हुन अन्य घटनास्थलबाट दाँया बाँया लागेका मध्ये उमेशनिधि तिवारी, रुद्रनिधि तिवारी पनि सो घटनामा संलग्न रहेको भन्ने बुझिएको, निजहरूले मेरो ससुरालाई कर्तव्य गरी मारेको नभए पनि निजहरूको पनि मार्न लगाउनमा षडयन्त्र भएको हुनुपर्छ, निजहरूलाई पक्राउ गरी अन्य को को भई कर्तव्य गरी मारी ससुरालाई कर्तव्य गरी मारेका हुन् । निजहरूबाट खुलाई कानूनबमोजिम कारवाही गरिपाऊँ भन्ने मृतक मदनराज विष्टको बुहारी सीता विष्टले मौकामा गरेको कागज ।
मिति २०५७।५।१९ गतेका दिन जाहेरवालाको घर घेर्न भनी १५–२० जना व्यक्तिहरू आएका थिए । निजहरूको घर घेर्न लाग्दा जाहेरवालाको बाबु मदनराज विष्ट गुहार–गुहार भनी हो हल्ला गर्दा मैले घरबाट सुनेको हुँ । म निजको घर तर्फ आउन लाग्दा निजहरूले मर्न मन छ भने यता आइज भनी धाक धम्की दिँदां म डरले निजको घरमा आउन सकिन । भोलिपल्ट अर्थात ऐ २० गते निजको घरमा जाँदा मदनराज विष्टले घर घेर्न आएका मध्ये गोविन्दनिधि तिवारीले मदनराज विष्टको खुट्टा तान भनी भनेकोले मैले निज मृतकबाट सो कुरा सुनेको हुँ र निजहरूले ऐ २२ गने तारिखमा जाँदा कहाँ जालास् भन्ने कुरा समेत निज मृतककै मुखबाट सुनेको हुँ निज जाहेरवालाको बाबु मृतक मदनराज विष्टलाई जाहेरीमा लेखिएका प्रतिवादी शेरबहादुर कमली, टेकबहादुर कमली, डिलबहादुर कमली, गोविन्दबाबु तिवारी, यज्ञबहादुर थापा, मोहनबाबु तिवारी, जनकबाबु तिवारी, उमेशनिधि तिवारी, रुद्रनिधि तिवारी समेतले कर्तव्य गरी मारेकोमा शंका लाग्छ भन्ने बुझिएका बुद्धिबहादुर सार्कीको घटना विवरण कागज ।
जाहेरवालाको बाबु मृतक मदनराज विष्ट बेंसीशहरमा तारिख लिन जान्छ भन्ने कुरा मलाई पहिले देखिनै थाहा थियो । म र मेरै गाउँ बस्ने टेकबहादुर कमली, शेरबहादुर कमली, गोविन्दबाबु तिवारी समेत हामी चिती ६ स्थित धौखोला नेर रहेको चौतरामा आएर हामी सबैजना बसेका थियौँ । निज जाहेरवालाको बाबु मदनराज विष्ट धौखालामा आइपुग्दा निजलाई चारैतिरबाट लडाई निजलाई म समेतका व्यक्तिहरूको सहयोगमा निजलाई कर्तव्य गरी मारेको हो भन्ने समेत व्यहोराको पक्राउमा परेका प्रतिवादी डिलबहादुर कमलीको बयान कागज ।
जाहेरवालाको बाबु मदनराज विष्ट बेंशीशहरमा तारिख लिन जान्छ भन्ने हामी सबैलाई थाहा थियो । मेरै गाउँ बस्ने गोविन्दबाबु तिवारी समेतले मलाई बोलाएर लगेको हुँदा म निजहरूसँग चिती ६ स्थित वर पिपलको चौतारामा गई बसेकोमा सो ठाउँमा गोविन्दबाबु तिवारी र शम्भु तिवारीले मलाई चौतारामा बस्ने भनी ड्युटी राखेको र म सो वारदात हुँदा सोही चौताराको नजीक बसेको थिएँ । केही बेरपछि जाहेरवालाको बाबुलाई गोविन्दनिधि तिवारी र भाडामा ल्याएका मानिसहरूले मारेको हो भन्ने कुरा सुनेको हुँ भन्ने समेत व्यहोराको प्रतिवादी यज्ञबहादुर थापाको बयान कागज ।
मिति २०५७।५।२२ गतेका दिन जाहेरवालाको बाबु मदनराज विष्ट बेंशीशहरमा तारिख लिन जान्छ भन्ने कुरा मलाई थाहा थियो । सो दिन गोविन्दबाबु तिवारी र शम्भु तिवारीले निज मदनराज विष्ट आएपछि निजलाई मार्ने हो भनी योजना बनाएको हुँदा म घटनास्थलदेखि १०० हातको पूर्वमा भएको र सो मध्ये शम्भुले भाडामा ल्याएको एकजनाले कट्टा जस्तो बन्दुक पडकाएको गोविन्दबाबु तिवारीले मृतकको घाँटी रेटेर मारेको, अन्य व्यक्तिहरू चारैतिरबाट फरक फरक विभिन्न ठाउँमा गौडा छेकी बसेको हुन् भन्ने समेत व्यहोराको प्रतिवादी टेकबहादुर कमलीको कागज ।
मिति २०५७।५।२२ गते मुद्दाको तारिख लिन मृतक मदनराज विष्ट बेंशीशहर जान्छ सोही बेला निजलाई मार्नु पर्यो भनी गोविन्दबाबु तिवारी समेतले मार्ने योजना बनाई चिती ६ डाँडा चोकमा विहान गई बस्ने भनी निज गोविन्दले मलाई ड्यूटी खटाएकोले म सोही ठाउँमा बसेँ । सो दिनको ८.३० बजेको समयमा धौखोलामा आई पुग्दा निजलाई चारैतिर घेरा हाली बसेका गोविन्दबाबु तिवारी समेतका व्यक्तिहरूले निज मदनराज विष्टलाई कर्तव्य गरी मारेका हुन् यसमा म समेत सबैको सहमती थियो भन्ने समेत व्यहोराको पक्राउमा परेका प्रतिवादी शेरबहादुर कमलीको बयान कागज ।
मिति २०५७।५।२२ गते मदनराज विष्ट बेंशीशहरमा तारिख लिन जान्छ भन्ने कुरा सबैलाई थाहा थियो । सो दिनमा म र शम्भु तिवारी समेतका व्यक्तिहरू चिती ६ स्थित वरपिपलको चौतारामा आई पुग्यौ । सो चौतारादेखि मलाई दक्षिण डाँडामा गएर बस्नु, चारैतिर हेर्नु भनी मलाई पठाई केही बेरपछि मृतक मदनराज विष्ट धौखोलामा आइपुग्दा सो ठाउँमा लुकीछिपी बसेका गोविन्दनिधि तिवारी र भाडामा ल्याएका मानिसहरू समेतले निजलाई कर्तव्य गरी मारेका हुन् भन्ने कुरा मैले केही बेरपछि थाहा पाएको भन्ने समेत व्यहोराको प्रतिवादी मोहनबाबु तिवारीको बयान कागज ।
मिति २०५७।५।२२ गते जाहेरवालाको बाबु मदनराज विष्ट बेंशीशहरमा तारिख लिन जान्छ भन्ने कुरा मलाई पहिलेनै थाहा थियो । निजलाई मार्नुपर्छ भन्ने योजना बनाइ अन्य व्यक्तिहरूलाई विभिन्न स्थानमा ड्युटी राखेको र म समेतका अन्य व्यक्तिहरू धौखोलाको वरपर लुकी छिपी बसेको हो । निज मदनराज विष्ट सो धौखोलामा आइपुग्नासाथ सो खोलाको वरिपरि लुकि छिपी बसेका शम्भुले भाडामा ल्याएका व्यक्तिहरूले निजलाई समाई हामीमध्येका उज्जल भन्नेले कट्टा बन्दुकले मदनराज विष्टलाई टाउकोमा र घाटीमा बन्दुक फायर गरेपछि मदनराज विष्ट भूइँमा ढले र छटपटाए त्यसपछि मलाई पनि रिस उठी खुकुरी मागी मदनराज विष्टको घाँटी रेटेको हुँ, अन्य व्यक्तिहरूलाई घटनास्थलमा अन्य कोही व्यक्तिहरू आउँछन् कि भनी खवर गर्नको लागि घटनास्थल भन्दा केही पर विभिन्न ठाउँमा हेर्नको लागि राखिएको थियो भन्ने व्यहोराको प्रतिवादी गोविन्दबाबु तिवारी भन्ने गोविन्दनिधि तिवारीको प्रहरीमा गरेको बयान रहेछ ।
मिति २०५७।५।२२ गतेका दिन जाहेरवालाको बाबु मदनराज विष्ट बेंशीशहरमा तारिखमा जान्छ भन्ने कुरा हामीलाई थाहा थियो । सो दिन गोविन्दनिधि तिवारी, शम्भु तिवारी र अन्य ५–७ जना व्यक्तिहरू र म समेत भई चिती ६ स्थित वरपिपलको चौतारामा बसेका थियौं । निज गोविन्दबाबु तिवारीले मलाई घटनास्थलदेखि पश्चिम केही पर गएर बस्ने भनी मलाई पठाएकोले म घटनास्थलभन्दा धेरै पर गएर बसे केही बेरपछि मृतक मदनराज विष्ट धौखोलामा आई पुग्दा सोही खोलामा लुकी छिपी बसेका व्यक्तिहरूले निजलाई कर्तव्य गरी मारेका हुन् भन्ने प्रतिवादी गणेश तिवारीको प्रहरीमा गरेको बयान कागज ।
जाहेरवालाको बाबु मदनराज विष्टलाई प्रतिवादी शेरबहादुर कमली, टेकबहादुर कमली, डिलबहादुर कमली, गोविन्दबाबु तिवारी, यज्ञबहादुर थापा समेतका अन्य प्रतिवादीहरूले कर्तव्य गरी मारेको होइन भन्ने बुझिएका दिनेश राना, कोषनिधि तिवारी, जंगबहादुर विष्ट, शंकरबाबु तिवारी समेतको घटना विवरण कागज ।
जाहेरवालाको बाबु मदनराज विष्टलाई प्रतिवादी शेरबहादुर कमली, डिलबहादुर कमली, टेकबहादुर कमली, गोविन्दबाबु तिवारी, यज्ञबहादुर थापा समेतका अन्य प्रतिवादीहरूले कर्तव्य गरी मारेकोमा हामीहरूलाई विश्वास लाग्दछ भन्ने बुझिएका युवराज सिलवाल, इन्द्रराज विष्ट, तारानिधि तिवारी, चुडामणि पन्त समेतको घटना विवरण कागज ।
घाँटी र टाउकोमा गोली लागेको र घाँटीमा काटिएको कारणबाट अत्याधिक रक्तश्राव हुन् गई मृत्यु भएको हो भन्ने समेत व्यहोराको मृतकको लासजाँचको प्रतिवेदन ।
मिति २०५६।८।२३ का दिन अदालतबाट नक्सा हुँदा म पनि उपस्थित भएकोमा गोविन्दनिधि, डिलबहादुर, शेरबहादुर, टेकबहादुर र मोहनबाबु समेतले यसलाई मार्नै पर्छ भन्दै जाइलागेर यस्तो आतंक हुनबाट रोकी मेरो धन सम्पत्ति र जीउ ज्यानको सुरक्षा गरिपाऊँ भन्ने समेतको मदनराज विष्टले प्रहरी चौकी चितिमा दिएको मिति २०५६।६।२९ को निवेदन पत्र ।
यसमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट अनुसन्धान कार्य सम्पन्न भइ प्राप्त प्रस्तुत कर्तव्य ज्यान मुद्दामा संकलित मिसिल संलग्न जाहेरी दरखास्त, घटनास्थल तथा लास प्रकृति मुचुल्का, प्रतिवादी गोविन्दनिधि तिवारी, डिलबहादुर कमली, टेकबहादुर कमली, शेरबहादुर कमली, यज्ञबहादुर थापा, मोहनबाबु तिवारी, गणेश तिवारी समेतको बयान बुझिएका मानिसहरू सीता विष्ट, युवराज सिलवाल, इन्द्रराज विष्ट, तारानिधि तिवारी , चुडामणि पन्त, बुद्धिबहादुर सार्की समेतको घटना विवरण कागज समेतका कागजातहरू अध्ययन गर्दा मिति २०५७।५।२२ गते जाहेरवाला ओजराज विष्टको बुवा मदनराज विष्टलाई कर्तव्य गरी मारेको वारदात सिद्ध हुन आयो ।
प्रतिवादी गोविन्दनिधि तिवारीले आफू र शम्भु तिवारीले मदनराजलाई मार्ने योजना बनाएको र सोही योजनाअनुसार भाडामा मानिसहरू ल्याई घेराउ गरी भाग्न उम्कन नपाउने गरी लडाएपछि भाडामा ल्याएका मानिसहरू मध्येका उज्वल भन्ने व्यक्तिले मृतकको घाँटी र टाउकोमा गोली हानी ढलाएपछि मैले घाँटी रेटेको हुँ भनी साविती बयान गरेको र प्रत्यक्षदर्शी सन्तबहादुरले घटनास्थलमा मृतकको शरीर समातेको अवस्थामा गोविन्दलाई देखेको र निजउपर किटानी जाहेरी समेत भएको देखिंदा गोविन्दनिधि तिवारीले मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ नं. र १३(१) नं. विपरीतको कसूर गरेको देखिंदा सोही महलको १३(१) नं. अनुसार सजाय हुन माग दावी लिइएको छ । मृतकलाई हात र शरीरमा समाउने र बाँदछाँद गर्ने कार्य समेत गरी मार्नको लागि संयोग पारि दिने कार्यमा डिलबहादुर कमली, शेरबहादुर कमली र टेकबहादुर कमलीले सहयोग पुर्याएको भन्ने कुरा डिलबहादुरको बयान र प्रत्यक्षदर्शी सन्तबहादुर घर्तीको कागज समेतबाट खुलेको देखिंदा निजहरूले मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १ नं. र १३(४) नंं विपरीत कसूर गरेको देखिंदा निजहरू डिलबहादुर कमली, शेरबहादुर कमली, टेकबहादुर कमलीलाई सोही महलको १३(४) नंं बमोजिम सजाय हुन् माग दावी लिइएको छ । अर्का प्रतिवादीहरू शम्भु तिवारीले मृतकलाई मार्नको लागि मुख्य भई षडयन्त्र गर्ने, योजना बनाउने र मार्नको लागि भाडामा मानिसहरू ल्याउने कार्य गरेका भन्ने कुरा पक्राउमा परेको गोविन्दनिधि तिवारी समेतको बयानबाट खुलेको हुँदा निजले मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १ नं. र १६ नं. विपरीतको कार्य गरेको हुँदा निजलाई सोही महलको १६ नं अनुसार सजाय हुन माग दावी लिइएको छ । अन्य प्रतिवादीहरू मोहनबाबु तिवारी, यज्ञबहादुर थापा, गणेश तिवारी, ध्रुब तिवारी, प्रकाश तिवारी, उमेशनिधि तिवारी, जनकबाबु तिवारी, रुद्रनिधि तिवारीहरू घटनास्थल भन्दा टाढा विभिन्न ठाउँमा कोही आएमा खवर दिन भनी बाटो गौडा छेकी बसेको देखिंदा निजहरूले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. र १७(२) नं. विपरीत कसूर गरेको हुँदा सोही महलको १७(२) नं. बमोजिम सजाय गरिपाऊँ । खास नामथर वतन हाल नखुलेका उज्जल भन्ने व्यक्ति र अन्य व्यक्तिको नाम थर वतन पछि खुल्न आएमा सोही बखत छुट्टै अभियोगपत्र प्रस्तुत गरिने हाल पक्राउमा परिआएका प्रतिवादी डिलबहादुर कमली, टेकबहादुर कमली, शेरबहादुर कमली, यज्ञबहादुर थापा, गोविन्दबाबु भन्ने गोविन्दनिधि तिवारी, मोहनबाबु तिवारी, गणेश तिवारी तथा प्रस्तुत कागजातसहितको सक्कल मिसिल यसै साथ प्रस्तुत गरिएको छ । साथै हाल पक्राउमा नपरेका प्रतिवादीहरू शम्भु तिवारी, ध्रुब तिवारी, प्रकाश तिवारी, जनकबाबु तिवारी, उमेशनिधि तिवारी र रुद्रनिधि तिवारीलाई त्यहाँ अदालतबाटै कानूनबमोजिम म्याद जारी गरी पाउन सादर अनुरोध छ भन्ने समेत व्यहोराको अभियोग माग दावी ।
मिति २०५७।५।२२ गते विहानदेखि १० बजेसम्म घरमा थिएँ । घरमा श्राद्ध भएकाले सानोतिनो काम गरी घरमा बसेको हुँ । म अं. ९ बजेतिर मदनराज विष्टलाई धौखोलामा मारे भन्ने सुनेको हो । सो दिन समयमा डिलबहादुर कमलीलगायत सहअभियुक्त कसैसँग मेरो भेट भएको होइन सो दिन विहानदेखि दिनभरी म घरमा छु । प्रहरीमा कागज गर्ने चुडामणि पन्त, तारानिधि तिवारी, इन्द्रराज विष्टले मउपर झूठा शंका गरेका हुन् । सहअभियुक्त टेकबहादुर, गोविन्दनिधि समेत सँग मिति २०५७।५।१९ र मिति २०५७।५।२२ कुनै दिन रात मेरो भेट भएको छैन । मैले प्रहरीमा गरेको कागजमा सो कुरा भनेको होइन । प्रहरीले पिटपाट गरी बलजफ्ती सहिछाप गरेका हुन् । प्रहरी माग दावीबमोजिम मलाई सजाय हुने होइन भन्ने समेत व्यहोराको प्रतिवादी अभियुक्त गणेश तिवारीले अदालतमा गरेको बयान ।
मिति २०५७।५।२२ गते विहान मल किन्न घरबाट साढे आठ बजेको हुँदो हो । म सँगसँगै गौरीराज पन्त, टेकबहादुर कमली, कोषनिधि, इन्द्रनिधि तिवारी, गोविन्द तिवारी, मोहनबाबु तिवारी, डिलबहादुर कमली समेत भई बेंशीशहर आउँदै गरेका थियौँ । म र गौरी पन्त, टेकबहादुर कमली अली पछि र अरु अली अघि गरी आएका थियौँ । हामी अघिपछि भएर आएपछि फलिया साँघु मोटर बाटोमा भेट भयो । त्यहा आई पुग्दा पौने १० बजेको हुँदो हो, म मल किन्न र प्रतिवादी मदनराज विष्ट भएको कर्तव्य ज्यान मुद्दाको बहस हुन्छ भनेर सुन्न आएको थिएँ । मसँग आउने अन्य रुद्रनिधि समेत बहस सुन्न भनी आएको भनेर भन्दथे । सोही बाटोमा आएपछि मदनराज विष्टलाई मारे अरे भन्ने सुनेको हो । त्यसपछि भोटेओडारबाट मदनराज विष्टको छोराले प्रहरी ल्याई फलिया साँघुमा प्रहरीले जाहेरवाला ओजराजले यो पनि हो कि हैन ? की हो कि भनी म समेतलाई प्रहरीले पक्राउ गरी गाडीमा हाली बेंशीशहर ल्याएका हुन् । प्रहरीमा कागज गर्ने सीता विष्टको कागज सुने म सो घटनास्थलमा गएको छैन । कसले मार्यो मलाई थाहा छैन । रामकृष्ण मरेको कर्तव्य ज्यान मुद्दामा यथार्थ बकी लेखेको हुँदा सोही रिसइवीले झूठा लेखाएको हो । मैले मृतकलाई मारेको, मार्न सहयोग गरेको होइन । म समेतले मारेको भनी बुद्धिबहादुर समेतका व्यक्तिहरू मदनराजका गठमेलका मानिस हुन् । सहअभियुक्त टेकबहादुर समेतले प्रहरीमा गरेको कागज सुनो । प्रहरीमा निजहरूले सो कुरा भनेको होइन । प्रहरीमा डरत्रासले भनेका होलान् सो कामकारवाही मैले गरेको होइन भन्ने समेत व्यहोराको अभियुक्त प्रतिवादी यज्ञबहादुर थापाले अदालतमा गरेको बयान ।
कोषनिधि तिवारी, रुद्रनिधि, डिलबहादुर, गोविन्दबाबु, म मोहनबाबु, केदारबाबु कमली सँगसगै मिति २०५७।५।२२ गते साढे ८ पौने ९ बजेको हुँदो हो, घरबाट हिडेको । सोही दिन ९ सवाँ ९ बजेको हुँदो हो, फलिया साँघुमा आइ पुगेको थिएँ । मदनराज विष्टलाई धौखोलाको कुलामा मारी दिए भन्ने सुनेका हौ । त्यसपछि मोटर बाटोमा आई मोटर पर्खी बसेका थियौं । मदनराजको छोरा जाहेरवालाले भोटेओडार प्रहरी भ्यानबाट ओर्ली जाहेरवालाले गोविन्दबाबुलाई यो हो कि होइन होला अघि कालो जुत्ता लगाएको थियो । अहिले पाइन्ट कट्टु लगाएर आएछ त्यसपछि डिलबहादुर कमलीलाई यो पनि हुन सक्छ यसलाई पनि डाक्नुहोस,यज्ञबहादुर थापालाई यो पनि हुन सक्छ भनेपछि प्रहरीले पक्राउ गरे सो दिन हामी बेंशीशहर आउनको कारण त्यसदिन प्रतिवादी मदनराज विष्ट भएको रामकृष्ण तिवारी कर्तव्य गरी मारेको ज्यान मुद्दामा सो दिन फैसला हुने भएकोले निर्णय सुन्न आएको हौं । प्रहरीमा कागज गर्ने सीता विष्टले आरोप लगाउनुको कारण रामकृष्ण तिवारीलाई मार्दाको बखत मैले देखेको कुरा भनेको हुँदा सोही रिसइवीको कारणले मलाई पोलेको हो । प्रहरीमा कागज गर्ने बुद्धिबहादुर सार्की, मदनराज विष्टसँग लेनदेन कारोवार भएकोले मलाई शंका लाग्छ भनेको हो । सहअभियुक्त डिलबहादुर कमली समेतले प्रहरीमा गरेको कागज सुने । मिति २०५७।५।१९ गते मृतकको घर घेराउ गर्न गएको होइन, टेकबहादुर कमली र मेरो घर एकै ठाउँमा नजीकै छ । दुवैजना वातचित गरेर सुतेको हो । मिति २०५७।५।२२ गते विहान अं. ८ बजे खाना खाई डिलबहादुर कमली, टेकबहादुर, यज्ञबहादुर, गौरीराज, गोविन्दबाबु तिवारी, केदारबाबु तिवारी र मोहन बाबु तिवारी सँगसगै आएको हो । डि.एस.पी.साहेव र सरकारी वकील साहेवले मलाई बाबुको नाम बाजेको नाम आफ्नो नाम वडा नं. सम्म सोधेको हो । अरु कुराहरू मलाई सोध्नु भएको होइन । सहिछाप लगा भनेपछि त्यसमा के छ सुन्न पाए हुन्थ्यो भन्दा बढी होइन भनेपछि सही लगाएको हुँ । म मृतक मदनराज विष्ट धेरै पहिला देखिंनै हामीसँग मुद्दा मामिला गर्ने मानिस हुँदा सोही रिसइवीले निवेदन दिएको हो । हामीले यस्तो कार्य गरेको छैन । अभियोग माग दावीबमोजिम मलाई सजाय हुने होइन भन्ने समेत व्यहोराको प्रतिवादी अभियुक्त मोहनबाबु तिवारीले अदालतमा गरेको बयान रहेछ ।
मिति २०५७।५।२२ गते विहान ९ बजे घरबाट बेंशीशहर आउँदा डाडाथोकमा शिवजी तिवारी, अमरराज विष्ट नाम नजानेको थपलिया सोही थपलियाको घरमा चिया खाइरहेका थियौं । त्यस पछि ठाडा चौर भन्ने ठाउँ हुँदै पौने ९ बजे बेंशीशहर आएको हुँ । म मिटर बक्स लिन मसँग रुपैयाँ नपुगेकोले नलिई सोही दिनको ११ बजेतिर घरतर्फ फलिया साँघु हुँदै गएको हुँ । म बेंशीशहर आउँदा दोकानदार बालचन्द्रसँग भेट हुँदा बालचन्द्रले मदनराज विष्टलाई मारे भनेको सुनेको हो सीता विष्टको कागज सुनो । म घटनास्थलमा थिइन । मिति २०५५।४।१६ गते रामकृष्णको हत्या भएको मैले देखेको र देखेको कुरा मैले बकी लेखाई दिएको, सोही रिसईवीको कारणबाट सो कागज गरेको हुनुपर्छ । प्रहरीमा कागज गर्ने बुद्धिबहादुर सार्की समेतको कागज सुनो, यो विषयमा मलाई केही थाहा छैन । मृतक मदनराज विष्टलाई मार्नमा मेरो कुनै सहमती छैन भन्ने समेत व्यहोराको प्रतिवादी शेरबहादुर कमलीले अदालतमा गरेको बयान ।
मिति २०५७।५।२२ गते फलिया साँघुमा आई पुग्दा मदनराज विष्टको मृत्यु भएको सुनेको हुँ । म सो दिन मिति २०५७।५।२२ गते विहान घरबाट अं. ८ बजे बुवा रुद्रनिधि तिवारी, कोषनिधि तिवारी र म समेत ३ जना भई बान्द्रे फाँटमा अं ८.३० बजे आई पुगेका थियौँ । उक्त ठाउँमा मोहनबाबु तिवारी, केदारबहादुर कमली, डिलबहादुर लगायतका मानिसहरू भेट भई ओडार भन्ने ठाउँमा दिपेन्द्र तिवारी भेट भयो र हामीहरू मर्स्याङ्दीको किनारको बाटो हुँदै फलिया साँघु अं ९ बजे आई पुग्यौ । त्यहाँ मदनराज विष्टलाई काटे भन्ने सुनेका हौ । कसले काट्यो केही थाहा भएन फलिया साँघु आई पुग्ने वित्तिकै यज्ञबहादुर थापा, टेकबहादुर कमली, गौरीराज पन्त सोही साँघुमा आई पुग्नुभयो । बेंशीशहर अदालतमा चलेको मृतक मदनराज विष्ट प्रतिवादी भएको कर्तव्य ज्यान मुद्दाको बहस सुन्नको लागि माथिल्लो मोटरबाटोमा आई बसको प्रतिक्षामा बसेका थियौ । केही समयपछि भोटेवडारबाट प्रहरीको भ्यान आयो । उक्त भ्यानमा मृतक मदनराजको छोरा जाहेरवाला ओजराज पनि रहेछन् । भ्यानबाट ओर्ली हामीनेर आई यो पनि होला भन्दै यज्ञबहादुर थापालाई पक्राउ गर्न लगाइयो, मलाई पक्राउ गर्न लगाइयो । फेरि यो पनि हो भनी डिलबहादुर कमलीलाई पक्राइयो । हामीहरू ३ जना प्रहरी पक्राउमा परी जिल्ला प्रहरी कार्यालयको हिरासतमा बसेको हो । सन्तबहादुर घर्तीको मौकाको कागज सुनें । सन्तबहादुर घर्तीले प्रहरीमा गरेको ठाडो कागज के कस्तो परिवन्दमा परी मउपर नाम दिए सो कुरा उनै जानून् । तोपबहादुर थापाले गरेको कागज सुने त्यस बारेमा मलाई केही थाहा छैन । मिति २०५७।५।२० गते बेलुका मदनराज विष्टको घरमा अपरिचित मानिस गएका थिए अरे भन्ने सुनी थाहा पाएको हौं । मिति २०५७।५।१९ गते राती मदनराजको घरमा गई उ मदने भाग्न लाग्यो खुट्टा समात भनेको र आज त उम्कीस् पर्सी २२ गते तारिखमा कहाँ जालास् भन्ने समेतका कुराहरू नभनेको हुँदा म उपर कुनै उजूरबाजूर हुन सकेन । मिति २०५७।५।२२ गते मदनराज विष्टको कर्तव्यमा परी देहान्त भएपछि अघिल्ला दिनको कुरा त्यस दिनको घटनालाई कपोलकल्पित कुरालाई जाहेरी लेखी मलाई परिस्थितिमा पारेका हुन् । सीता विष्ट र जाहेरवालाले म उपर किटानी जाहेरी किटानी कागज दिनु पूर्व रिसइवीको कारण हो । मिति २०५५।४।१६ गते कर्तव्यबाट रामकृष्णको मृत्यु भयो । उक्त वारदातमा गुहार लगाएपछि म समेतका डिलबहादुर कमली समेत छुट्याउन खोज्दाखोज्दै रामकृष्णको मृत्यु भयो उक्त ज्यान मुद्दामा मलाई प्रत्यक्षदर्शी साक्षी राखेका रहेछन् । मैले प्रहरीमा र सम्मानीत अदालतमा आई देखें जानेको यथार्थ विवरण लेखी लेखाई दिएको थिए । सोही रिसइवीले किटानी जाहेरी दिएका हुन् । मैले प्रहरीमा गरेको कागजको व्यहोरा झुट्टा हो । मलाई बाध्य पारी सही गर्न लगाइयो प्रहरी प्रतिवेदन साथ प्राप्त डोरी देखे, मृतक मदनराज विष्ट के कसरी मरेको हो मलाई थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी अभियुक्त गोविन्दबाबु तिवारीले अदालतमा गरेको बयान ।
मिति २०५७।५।२२ गते विहान खाना खाएर प्रतिवादी मदनराज विष्ट समेत भएको कर्तव्य ज्यान मुद्दामा बहस सुन्न विहान साढे ९ बजेतिर घरबाट हिडेको हुँ । म पर मर्स्याङ्दीको बाटो हुँदै आउँदा ओडार बाटोमा गौरीराज पन्त, यज्ञबहादुर थापा, दिपेन्द्र तिवारी समेत भेट भएर कहाँ जान लागेको हो भन्दा बेंशीशहर जान लागेको भने । त्यसरी आउँदा फलिया साँघु आएपछि मदनराज विष्टलाई धौ खोलामा मारे अरे भनेको सुने र म बेंशीशहरमा आएर बहस नभएकोले घर तर्फ गएको हुँ । जाहेरीमा लेखिएको व्यहोरा मलाई थाहा छैन । प्रहरीमा कागज गर्ने सन्तबहादुर घर्ती, सीता विष्ट समेतको कागज सुने । घटनास्थलमा गएको छैन । घटना कहाँ घट्यो मलाई थाहा छैन । सीता विष्ट समेतको कागज झूठा हो । प्रतिवादी गोविन्दबाबु तिवारीले मलाई किन पोल गरी लेखाए मलाई थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी टेकबहादुर कमलीले अदालतमा गरेको बयान ।
मिति २०५७।५।२२ गते विहान ७ बजे खाना खाई अं ८ बजे म बेंशीशहर जान भनी हिँडेको हुँ । वान्द्रे भन्ने ठाउँमा आई पुग्दा मैले रुद्रनिधि तिवारी, कोषनिधि तिवारी, मोहनबाबु तिवारी, गोविन्दनिधि तिवारी, केदारबहादुर कमलीलाई भेटेको हुँ । निजहरूसँग बेंशीशहर आएपछि मीनबहादुर मगरको घरमा आई पुग्यौ । मिनबहादुरको छोरा साइलोले मेरी श्रीमती विरामी भएको छ हेरी दिनु पर्यो भनेर मलाई भन्यो । म निजको घरमा गएं । निजको श्रीमतीलाई हेर्यौं । म उपचार गर्न सक्दीन म बेंशीशहर जान लागेको भनेर म समेतका सबैजना बेंशीशहरतर्फ लाग्यौ । अं. ९ बजे फलिया साँधुमा आई पुग्यौ । त्यहाँ आई पुग्दा मदनराजलाई मारे भन्ने सुनेको हुँ । हामी सबै उपल्लो बजारमा गएर बस्यौ । टेकबहादुर कमली, यज्ञबहादुर थापा, गौरीराज पन्त बेंशीशहर जान हाम्रो पछाडि आएका थिए । सोही ठाउँमा भेट भयो हामी मोटरको प्रतिक्षा गरी बसिरहेको थियौ । त्यतिकैमा भोटेओडारबाट प्रहरीको भ्यान आई पुग्यो । मदनराजको छोरा जाहेरवाला ओर्लेर गोविन्दनिधिलाई देखाई मार्नेमा यो हो कि भनी गोविन्दनिधिलाई देखाएर प्रहरीले पक्राउ गरेका हुन् । त्यसपछि मलाई यो पनि हो कि भनी निज जाहेरवालाले देखाएर मलाई प्रहरीले पक्राउ गरी यज्ञबहादुर थापालाई पनि पक्राउ गरी बेंशीशहर ल्याएका हुन् । जाहेरी दरखास्तको सम्बन्धमा मलाई केही थाहा छैन । टेकबहादुर कमली पनि हामी भए ठाउँ फलिया साँघु उपल्लो बजारमा थिए । तर निज त्यही बसे । प्रत्यक्षदर्शी सन्तबहादुर घर्तीको कागज सुने सन्तबहादुर घर्तीले प्रहरीमा गरेको कागजको व्यहोरा मलाई थाहा छैन । तोपबहादुर थापाको प्रहरीमा भएको कागज सुनें । सो कुरा मैले सुनिन । सीता विष्टले प्रहरीमा गरेको कागज सुने, यस विषयमा मलाई थाहा छैन । २०५५ साल श्रावण १६ गते रामकृष्णलाई मदनराज विष्टको परिवारले कर्तव्य गरी ज्यान मारेको सो कुरा अदालतमा मैले भए गरेको बयान गरेको थिएँ । सोही रिसइवीको कारणबाट जाहेरवाला र सीता विष्टले किटानी पोल उजूर गरेको हो, बुद्धिबहादुर सार्की समेतको व्यहोरा सुने यस विषयमा मलाई केही थाहा छैन । सहअभियुक्त गोविन्दबाबु तिवारी, टेकबहादुर कमली समेतको प्रहरीको बयान कागज सुनें । सहअभियुक्त गोविन्द, मोहनबाबु, टेकबहादुर तल्लो बाटो हुँदै फलिया साँघु आएका हौँ । घटना घटेको बाटोबाट आएको होइन । घटनासम्बन्धी केही पनि थाहा थिएन । मैले प्रहरीमा गरेको कागज झूठा हो । माग दावीबमोजिम मलाई सजाय हुने होइन भन्ने समेत व्यहोराको अभियुक्त प्रतिवादी डिलबहादुर कमलीले अदालतमा गरेको बयान ।
अदालतको मिति २०५७।६।१० को आदेशबमोजिम प्रतिवादीहरू डिलबहादुर कमली, टेकबहादुर कमली, शेरबहादुर कमली, मोहनबाबु तिवारी, गोविन्दनिधि भन्ने गोविन्दबाबु तिवारी, यज्ञबहादुर थापा पुर्पक्ष निमित्त थुनामा रहेका ।
मिति २०५७।५।२२ गतेका दिन विहान ८.३० बजेतिर छोरा गोविन्दनिधि तिवारी, कोषनिधि तिवारी र म सँगै भई रामकृष्ण विष्ट समेत भएको कर्तव्य ज्यान मुद्दाको बहस सुन्न भनी बेंशीशहर आउने क्रममा बान्द्रे फाँटमा झरी मोहनबाबु तिवारी समेत सोही बान्द्रे फाँटमा भेट भए र सँगै आउँदा दलाल आउने बाटो भएकाले सोही बाटो आउँदा गौरीराज पन्त र यज्ञबहादुर थापा ओडार फाँटमा भेट भई दलाल आई पुग्दा चिति गा.वि.स.वडा नं. ६ दलाल बस्ने फवरदिन मियाँ सँग भेट भएर पुल तरी बस रोडमा आउँदा शरणहरि जोशीसँग भेट भयो र निजले मदनराज विष्टलाई धौखोला माथि कसले हो मारेछ मैले देखो भनेपछि गौरीराज पन्त लास भए तर्फ जानुभयो । हामी मोटरको बाटोमा बसी रहेका थियौ । हामी सबै एकै ठाउँमा बसिरहेको अवस्था मृतकको छोरा जाहेरवाला ओजराज विष्ट प्रहरी भ्यानमा आएका रहेछन् । एकजना यही जस्तो लाग्छ भनी गोविन्दनिधि तिवारीलाई देखाए, यज्ञबहादुर थापालाई पनि देखाए, डिलबहादुर कमली पनि हो भनी देखाए एकजना हरायो भन्दै घटनास्थलतर्फ लागेपछि गोविन्दनिधि तिवारीलगायत ३ जनालाई प्रहरी भ्यानमा राखी बेंशीशहर ल्याएका हुँदा हामी पनि बेंशीशहर आयौ । पक्राउमा परेका गोविन्दनिधि समेतलाई भेट्न प्रहरीले नदिएपछि फर्की घरमा बेलुका गइयो । घरमा पुग्दा शेरबहादुर कमलीलाई प्रहरीले पक्राउ गरी लगे भन्ने सुनेको थिए । मिति २०५७।५।२२ गते विहान मदनराज विष्टसँग मेरो देख भेट भएको होइन । मैले निजलाई मार्नु पर्ने कारण केही छैन पूर्व रिसइवीको कारण र ज्यान मुद्दामा साक्षी बसेको हुँदा सोही रिसइवीको कारण अभियोग लगाएको होला । यस विषयमा म निर्दोष छु । प्रहरीमा कागज गर्ने सीता विष्ट, बुद्धिबहादुर सार्की, मदनराजको हली भएको लेनदेन समेत भएकोले नभएको झूठा कुरा बोलेको हो । सीता विष्ट मदनराजको बुहारी भएको हुँदा झूठा कुरा लेखाएका हुन् मैले मदनराज विष्टलाई मार्नमा मेरो कुनै सहमति छैन भन्ने समेत व्यहोराको फरार रहेका अभियुक्त रुद्रनिधि तिवारीले अदालतमा गरेको बयान ।
अदालतको मिति २०५७।७।१६ को आदेशबमोजिम प्रतिवादी रुद्रनिधि तिवारी तारिखमा रहेको ।
मिति २०५७।५।२२ गते विहानभरी बेंशीशहर वडा नं. १ बस्ने बासु पन्तको दोकानमा थिए । सो दिन अगाडि मिति २०५७।५।२१ गते रा.बा.बैंक बेंशीशहरमा नोकरी गर्ने हुँदा घरबाट बेंशीशहर आइ सो २१ गते राति जिल्ला शिक्षा कार्यालयमा काम गर्न युद्धबहादुर घर्तीको डेरामा खाना खाई सो राति निजको डेरामा बसेको हुँ । ऐ २२ गते विहान बाबु पन्तका पसलमा बसी खाना खाई रा.बा.बैंकमा हाजीर भै दिनभर काम गरी बसेको हुँ । मिति २०५७।५।२२ गते विहान ८.३० बजेको समयमा धौखोलामा मदनराज विष्टलाई म समेतको सहयोगबाट मारेको होइन सो घटनामा म संलग्न छैन सो समयमा म बेंशीशहरमा नै छु निज मृतक मदनराज विष्टलाई किन कर्तव्य गरी मारेका हुन् ? सो विषयमा मलाई केही थाहा छैन भन्ने समेत व्यहोराको फरार अभियुक्त ध्रुब तिवारीले अदालतमा गरेको बयान ।
अदालतको मिति २०५७।७।१७ को आदेशबमोजिम प्रतिवादी ध्रुब तिवारी तारिखमा रहेको ।
मिति २०५७।५।२२ गते विहान म मेरो घरमा बसेर पढिरहेको थिएँ । मेरो घरबाट धौखोला भन्ने ठाउँ २ किलो मिटर फरकमा पर्दछ । उक्त वारदातस्थलमा म छदै छैन, गएको पनि छैन । प्रहरीमा कागज गर्ने सीता विष्टले रिसइवीले मलाई पोल गरेकी होलिन् । मेरो हजुरबुवा विश्वनिधि र सीता विष्टको ससुरा मदनराज विष्टको बीचमा मुद्दा परी सो मुद्दाको तारिख समेत मेरो बुबाले लिने गरेको रिसइवीको कारणबाट मलाई पोल गरेकी होलिन् बुद्धिबहादुर सार्कीले गरेको कागज पनि झूठा हो । मैले सो अपराध गरेको छैन । मृतकलाई कसले मार्यो मलाई थाहा छैन भन्ने समेत व्यहोराको फरार प्रतिवादी जनकबाबु तिवारीले अदालतमा गरेको बयान ।
मिति २०५७।५।२२ गते विहान साढे ६ बजेको समयमा घरबाट हिँडी बेंशीशहर ८ बजेको समयमा आएको थिएँ । रामकृष्ण तिवारीको हत्या भएको ज्यान मुद्दामा म जाहेरवाला भएको र सो २०५७।५।२२ गते उक्त ज्यान मुद्दा पेशी भएको हुँदा मेरो वकीलहरू काठमाडौँबाट अघिल्लो दिन आइ पुगेको खवर पाएकोले वकीलहरूसँग सम्पर्क राख्नु पर्दा मिति २०५७।५।२२ गते विहान बेंशीशहर आई पुगेको हुँ । गा.वि.स.भवनमा आइ अधिवक्ता गुमानसिंह अर्यालसँग भेटभई मुद्दाको छलफल भयो । गुमानसिंह सँग छलफल गरिरहेको अवस्थामा अं ९ बजेको समयमा मैले नचिनेको कोही मानिस आएर गुमानसिंह अर्यालसँग आज फलिया साँघु भन्दा माथि मदनराजको कर्तव्यबाट मृत्यु भयो भनेर भन्दा सोही दिनमा सुनेको हो । मदनराजको हत्या भएको मिति समयमा म बेंशीशहरमा गुमानसिंह अर्यालको साथमा छु । रामकृष्णको कर्तव्य ज्यान मुद्दामा मदनराजका परिवारका नाउँमा जाहेर गरेको र जग्गा मुद्दा पनि परेकाले मदनराजसँग सो रिसइवीले मलाई फसाँउने नियतले बुद्धिबहादुर सार्की तथा सीता विष्टले यो कागज गरेका होलान् । बुद्धिबहादुर सार्कीले मदनराज विष्टको कर्तव्यबाट मरेको हो कसले मारे मलाई थाहा छैन । तसर्थ अभियोग माग दावीबमोजिम मलाई सजाय हुने होइन भन्ने समेत व्यहोराको फरार प्रतिवादी उमेशनिधि तिवारीले अदालतमा गरेको बयान ।
अदालतको मिति २०५७।७।२० को आदेशबमोजिम प्रतिवादी उमेशनिधि तिवारी, जनकबाबु तिवारीले जनही रु.१५,०००।– का दरले धरौट दाखिल गरी पुर्पक्ष निमित्त तारिखमा रहेको ।
प्रतिवादी शम्भु तिवारीले मिति २०५७।७।१५ गते तामेल भएको तामेली म्याद गुजारी बसेको रहेछ । साथै अदालतको आदेशानुसार निजको अंश रोक्का समेत भई मिसिल संलग्न रहेको ।
अर्का प्रतिवादी प्रकाश तिवारीको नाउँको म्याद निजको घर ठेगाना पत्ता नलागी बेपत्ते तामेल भएको ।
अदालतको आदेशानुसार बुझिएका प्रतिवादीहरूको साक्षीको बकपत्र र प्रहरीमा कागज गर्ने मानिसहरूको बकपत्र भै मिसिल सामेल रहेछ ।
अदालतको आदेशानुसार जाहेरवाला ओजराज विष्टलाई उपस्थित गराउन भनी जिल्ला सरकारी वकील कार्यालयमा लेखी पठाउँदा उपस्थित नगराएकोमा पुनः अदालतबाट अ.बं ११५ नं. बमोजिमको म्याद जारी गर्दा पनि निज जाहेरवाला उपस्थित नभै म्याद समेत गुजारी बसेको ।
यसमा यी प्रतिवादी गोविन्द समेतले १ वर्ष अगाडिदेखि मृतकलाई मार्ने धम्की दिएको भनी प्रहरीमा निवेदन दिएको, लासजाँच मुचुल्काबाट मृतकको नाक र मुखमा रगत भएको, कपाल पूरै रगतले भिजेको, घाटीमा काटेको घाउ देखिएको, मृतकको बाँया हातमा नाइलनको डोरी बाँधिएको, दुवै आँखामा नील डाम सुन्निएको, बाया कानको माथि पछाडि पट्टी प्वाल भएको, दायाँ कानको नजीक गिदी समेत निस्केको भन्ने समेत देखिएको र पोष्टमार्टम रिपोर्टबाट घाँटीमा काटिएको, टाउकोमा दुईटा बन्दुकको गोली लागेको भई अत्याधिक रक्तश्रावबाट मृत्यु हुन गएको भन्ने राय पाइएको स्थितिमा प्रतिवादी गोविन्दनिधिले अदालतसमक्ष बयानमा इन्कार रहेतापनि डिलबहादुर, यज्ञबहादुर, टेकबहादुर समेतका सहअभियुक्तहरूले प्रहरीमा बयान गर्दा प्रतिवादी गोविन्दले नै मृतकको घाँटीमा काटेका हुन् भनी किटानी पोल गरेका र प्रतिवादी गोविन्दले पनि प्रहरीमा बयान गर्दा उक्त कुरा स्वीकार गरेको हुँदा प्रतिवादी गोविन्दनिधि तिवारीले ज्यान सम्बन्धी महलको १३(१) नं. अनुसार कसूर गरेको ठहर्छ । साथै अर्का प्रतिवादीहरू वारदात स्थलमा संलग्न रहे भएको भन्ने प्रहरी समक्षको बयान तथा एकआपसमा गरेको पोल समर्थित हुन आएकोले निज प्रतिवादीहरू डिलबहादुर, टेकबहादुर, मोहनबाबु, यज्ञबहादुर र शेरबहादुरलाई मुलुकी ऐन, ज्यानसम्बन्धी १७(३) को कसूर गरेको हुँदा जनही १ वर्ष कैद हुने र अर्का प्रतिवादीहरू गणेश, उमेशनिधि, जनकबाबु, रुद्रनिधि, ध्रुब तिवारीको हकमा अन्य सहअभियुक्तहरूले पोल गरेतापनि अदालत र अन्य स्वतन्त्र सबूद प्रमाणबाट प्रहरी समक्षको साविती एवं पोललाई समर्थन गरेको नपाइदा सफाइ पाउने ठहर्छ र फरार प्रतिवादी शम्भु तिवारी र प्रकाश तिवारीको हकमा पुनः कारवाही गर्ने गरी मुलतवी राखी दिने ठहर्छ भन्ने समेत व्यहोराको शुरु लमजुङ जिल्ला अदालतको फैसला ।
उक्त इन्साफमा हामीलाई चित्त बुझेन । यसमा हामीहरूले डरत्रासका कारण अधिकारप्राप्त अधिकारीसमक्ष कर्तव्य गरी मारेकोमा साविती भै बयान गरेतापनि पोलको आधारमा मात्र अन्य स्वतन्त्र तथा तथ्ययुक्त सबूद प्रमाणको अभावमा शंकाको भरमा मात्र अपराधी सिद्ध गरी जनही १ वर्ष कैद गर्ने फैसला गैरन्यायिक, अन्यायपूर्ण तथा फौजदारी न्याय समेतको प्रतिकूल भएको हुँदा लमजुङ जिल्ला अदालतको अन्यायपूर्ण फैसला बदर गरी हाम्रो पुनरावेदन जिकीरबमोजिम गरिपाऊँ भन्ने समेत व्यहोराको पुनरावेदक यज्ञबहादुर थापा, डिलबहादुर कमली, शेरबहादुर कमली, मोहनबाबु कमली र टेकबहादुर कमलीको पुनरावेदन पत्र ।
अन्य सहअभियुक्तहरूले डरत्रासका कारण अधिकारप्राप्त अधिकारीसमक्ष प्रतिवादी गोविन्दनिधि नै मृतकको घाँटी रेटेका हुन् भनी बयान गरेको व्यहोरालाई अदालतले प्रमाणमा लिई मेरा तर्फबाट उपस्थित गौरीराज पन्त, जंगबहादुर विष्ट समेतका साक्षीहरूले मैले सो वारदात नघटाएको भनी अदालतसमक्ष स्पष्ट बकपत्र गरेको तथ्यलाई बेवास्ता गरी चश्मदिद् गवाहका भनाई फरक फरक रहेको अवस्थामा पनि शंकाको भरमा मात्र मलाई सर्वश्वसहित जन्मकैद हुने गरी अन्यायपूर्ण तथा गैरकानूनी फैसला गरेको हुँदा शुरु लमजुङ जिल्ला अदालतको त्रुटिपूर्ण फैसला बदर गरी सफाइ पाऊँ भन्ने समेत व्यहोराको पुनरावेदक गोविन्दनिधि तिवारीको पुनरावेदन पत्र ।
एउटै वारदात र प्रकृतिको कसूरमा मुछिएका अभियुक्तलाई प्रतिवादीहरूको कार्य के कुन हदसम्मको थियो भन्ने तथ्यलाई प्रष्ट पार्ने आधारहरू जाहेरी दरखास्त, मृतकले मर्नुभन्दा अगाडि मौकामा व्यक्त गरेको लिखित कुरा, प्रतिवादीहरूले कसूर अपराधमा साविती रही गरेको बयान, सहअभियुक्तको पोल समेतका आधारलाई प्रमाण मानी फैसला गर्नुपर्नेमा तिनै तथ्य र प्रमाणलाई न्यायिक तवरले विचार नै नगरी प्रतिवादीहरू कसैलाई कम सजाय र कसैलाई सफाइ पाउने गरी भएको शुरु जिल्ला अदालतको फैसला केही उल्टी गरी सबै प्रतिवादीहरूलाई अभियोग माग दावीबमोजिम सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको वादी नेपाल सरकारको तर्फबाट पर्न आएको पुनरावेदन पत्र ।
यसमा शंकाको सुविधा अभियुक्तले पाउने सर्वमान्य सिद्धान्तअनुसार पुनरावेदक प्रतिवादीहरूले शंकाको सुविधा पाउने नै हुनाले प्रतिवादी गोविन्दनिधि तिवारीको कर्तव्यबाटै मृतक मदनराज विष्टको ज्यान मरेको भन्ने मिसिल संलग्न प्रमाण कागजातबाट पुष्टि हुन आएको नदेखिंएको र पुनरावेदक प्रतिवादी यज्ञबहादुर थापा समेतले मार्ने कार्यमा सहयोग गरेको भन्ने समेत नदेखिंदा प्रतिवादीहरूलाई कसूरदार ठहराई सजाय गर्ने गरेको शुरु लमजुङ जिल्ला अदालतको मिति २०५९।३।१९ को फैसला मिलेको नदेखिंदा उक्त फैसला उल्टी भै पुनरावेदक प्रतिवादीहरूले अभियोगबाट सफाइ पाउने ठहर्छ भन्ने पुनरावेदन अदालत, पोखराको मिति २०६०।३।१५ गतेको फैसला ।
प्रतिवादीहरूले मौकामा गरेको साविती बयान र लासजाँच मुचुल्का तथा प्रतिवेदनबाट मृतकको शरीरमा भएको घाउचोट र प्रकृतिबाट यी प्रतिवादीहरूबाट नै मदनराजलाई मार्ने अपराध भएको भन्ने पुष्टि हुन्छ । शंकाको सुविधा अभियुक्तले पाउँछ भन्ने सिद्धान्त निरपेक्ष होइन । मुद्दाको ठहर गर्नुपर्ने विषयमा प्रतिवादीले कसूर गरेको देखिंने अवस्था विद्यमान छ भने शंकाको सुविधाको प्रश्न नै आउँदैन । आकर्षित हुन नसक्ने शंकाको सुविधाको सिद्धान्तको आधारमा प्रतिवादीहरूलाई अभियोगबाट सफाइ दिएको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी प्रतिवादीहरूलाई अभियोग माग दावीबमोजिम सजाय गरिपाऊँ भनी वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा परेको पुनरावेदन ।
यसमा कर्तव्यबाट मदनराजको मृत्यु भएको कुरामा विवाद देखिंदैन । प्रतिवादीहरूले अनुसन्धान अधिकारीसमक्ष उल्लेख गरेको गोविन्दबाबु तिवारी, शम्भु तिवारी, यज्ञबहादुर थापा समेतको संलग्नतामा घटना घटित भएको भनेका र अदालतसमक्ष आएर कसूरमा इन्कार रहेतापनि निजहरूले प्रहरीमा गरेको साविती बयानमा घटनाको सम्बन्धमा उल्लेख गरेको परिस्थिति र लासजाँच प्रतिवेदनबाट सो साविती बयान पुष्टि भैरहेको परिप्रेक्ष्यमा सबै प्रतिवादीहरूलाई सफाइ दिने ठहर्याएको पुनरावेदन अदालत, पोखराको मिति २०६०।२।१५ को फैसला फरक पर्न सक्ने देखिंदा छलफलको निमित्त विपक्षीलाई म्याद दिई झिकाई आएपछि नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०६२।९।३ गतेको आदेश ।
प्रतिवादी गोविन्दनिधि तिवारीले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा मदनराज घटनास्थल धौखोलामा आइपुग्दा उक्त ठाउँमा लुकिछिपी बसेका ५।७ जनाले मदनराजलाई समाएर लडाए, उज्वल भन्नेले मदनराज विष्टलाई टाउकोमा र घाँटीमा बन्दुक फायर गरेपछि मदनराज विष्ट भूइँमा ढलेर छटपटाएको, त्यसपछि मलाई पनि रिस उठी खुकुरीले मदनराजको घाँटी रेटेको हुँ । अन्य व्यक्तिहरूलाई घटनास्थलमा कोही आउँछन् कि भनी खवर गर्न घटनास्थल भन्दा केही पर विभिन्न ठाउँमा हेर्नु भनी खटाएको र मृतक मदनराज विष्टलाई आफू समेतको संलग्नतामा कर्तव्य गरी मारेको भनी कसूरमा साविती रहेको र अदालतमा बयान गर्दा आफ्नो कुनै संलग्नता नरहेको भनी कसूरमा इन्कारी रहेतापनि निजको अधिकारप्राप्त अधिकारीसमक्षको साविती बयानलाई अन्यथा भनी सबूद प्रमाणबाट खण्डन गर्न सकेको देखिंदैन ।
प्रतिवादीहरू डिलबहादुर कमली, टेकबहादुर कमली, शेरबहादुर र मोहनबाबु तिवारी समेतले अनुसन्धान अधिकारीसमक्ष गरेको बयानमा मदनराज विष्टलाई मार्ने भनी गोविन्दनिधि तिवारी र शम्भु तिवारीले षडयन्त्र गरी मिति २०५७।५।१९ गते रातको ८ बजेको समयमा आफूहरूको साथै गोविन्दबाबु तिवारी, गणेश तिवारी, शम्भु तिवारी , यज्ञबहादुर थापा, प्रकाश तिवारी, ध्रुव तिवारी समेत भै निजको घरमा गै चारैतिरबाट घर घेराउ गर्दा मदनराज विष्टले हार गुहार मागेकोले प्रहरीले थाहापाई हामीलाई पक्राउ गर्न सक्छ भनी आज त बँचिस पर्सि कहाँ जालास् भनी मिति २०५७।५।२२ गते तारिखमा बेंशीशहर जाँदा मार्ने धाक धम्की समेत दिएका थियौं । गोविन्दबाबु तिवारी र शम्भु तिवारीले निज मदनराज विष्टलाई मार्ने योजनाबमोजिम मृतक मदनराज विष्ट र जाहेरवाला समेत भई मिति २०५७।५।२२ गते विहान ८.३० बजेको समयमा धौ खोलानिर आई पुग्दा गोविन्दबाबु तिवारीले मदनराज विष्टलाई समात् भनी भन्दा हामीले चारै तिरबाट घेराउ गरी समाएर भूइँमा लडायौं । हामी मध्ये टेकबहादुर कमलीले बाँया हात समातेको र डिलबहादुर, शेरबहादुर, गोविन्दबाबु तिवारीले मृतकको शरीर समातेको र अन्य ४–५ जना अपरिचित व्यक्तिले मृतकको हात खुट्टामा नाइनलको डोरीले बाँधछाँद गरेको, अन्य व्यक्तिहरू मृतकको वरिपरी घेरा हाली बसेको, सोही बखत नचिनेको व्यक्तिले मदनराजलाई बन्दुक हानेको, गोविन्दबाबु तिवारीले मदनराज विष्टको घाँटीमा धारिलो हतियार प्रहार गरेको र मृतकलाई मार्नमा आफूहरूको समेत संलग्नता रहेको भनी कसूर गरेकोमा साविती रहेका र अदालतमा आई गरेको बयानमा रामकृष्ण तिवारीको कर्तव्य ज्यान मुद्दामा यथार्थ सत्य कुरा बकी लेखेको हुँदा सोही रिसइवीले आफूहरू उपर जाहेरी दिएको, प्रहरीले लठ्ठी समेतले कुटपीट गरेकोले अनुसन्धान अधिकारीसमक्ष साविती बयान गरेको आफूहरूले मृतकलाई कर्तव्य गरी मार्नमा संलग्न नरहेको भनी कसूरमा इन्कार रहेतापनि यी प्रतिवादीहरू समेतले मृतक मदनराज विष्टको ज्यान मार्ने कुरामा सहमती जनाई सो कामको निम्ति साथै गै गोविन्दबाबु तिवारीले खुकुरी प्रहार गर्दा वारदातस्थलमा उपस्थित भई अपराधमा संलग्न रहेको देखिन्छ । तसर्थ, मुल्तबीमा रहेका प्रतिवादीहरू शम्भु तिवारी र प्रकाश तिवारीका हकमा बाहेक सबै प्रतिवादीहरूले अभियोगबाट सफाइ पाउने ठहर्याई भएको पुनरावेदन अदालत, पोखराको फैसला मिलेको नदेखिंदा उल्टी भै अभियोग माग दावीबमोजिम प्रतिवादी गोविन्दनिधि तिवारीलाई ज्यानसम्बन्धी महलको १ नं. र १३(१) नंं को कसूरमा सोही महलको १३(१) नम्बर अनुसार सर्वश्वसहित जन्मकैद र प्रतिवादीहरू डिलबहादुर कमली, टेकबहादुर कमली, शेरबहादुर कमली, मोहनबाबु तिवारी, यज्ञबहादुर थापाले ज्यानसम्बन्धी महलको १७(३) को कसूरमा सोही महलको १७(३) नम्बरअनुसार निजहरूलाई जनही एक वर्ष कैद हुने ठहरी भएको लमजुङ जिल्ला अदालतको मिति २०५९।३।१८ को फैसला मिलेको देखिंदा सदर हुने ठहर्छ भन्ने यस अदालतका मा.न्या. श्री रामप्रसाद श्रेष्ठको राय ।
कुनै पनि घटनाको शिकार भई मृत अवस्थामा फेला परेको शवको अवस्था घटना गराउने भनिएका व्यक्तिहरूका लागि आफैं प्रमाण हुँदैन । लासजाँच मुचुल्का शव परीक्षण प्रतिवेदनले मृतकको अवस्था, शारीरिक चोट र मृतकको कारणसम्म जनाउने र कर्तव्यबाट मरेको हो, होइन भन्ने यकीन गर्ने प्रमाण मात्र हो । यसर्थ, अन्य प्रमाणबाट समर्थित नभएको अवस्थामा अभियुक्तहरूलाई लासजाँच मुचुल्का र शव परीक्षण प्रतिवेदनको आधारबाट मात्र दोषी हुन् भनी कसूर कायम गर्न मिल्दैन । प्रतिवादीहरू कसूरमा मौकामा साविती भई परस्पर पोलापोल समेत गरेको भएपनि अधिकारप्राप्त अधिकारीसमक्षको साविती बयान अन्य वस्तुगत प्रमाणबाट पुष्टि हुनुपर्छ । अभियुक्तहरूको मौकाको साविती कथनलाई समर्थित हुने ठोस प्रमाणको सर्वथा अभाव रहेको देखिन्छ । सहअभियुक्तहरूको परस्पर पोल स्वतन्त्र प्रमाण हुँदैन । त्यस्तो पोललाई अरु प्रमाणबाट पुष्टि हुन्छ भने मात्र प्रमाण ग्राह्य हुन्छ । मृतकको छोरा वादी पक्षको प्रत्यक्ष प्रमाणको रुपमा पेश गरेको पाइन्छ । त्यस्तो प्रमाणको रुपमा रहेको ओजराज विष्टलाई वादी पक्षले बकपत्रको लागि अदालतमा उपस्थित गराउन सकेको पाइदैन । प्रमाण ऐन, २०३१ को दफा १८ मा “कुनै काम, घटना वा अवस्थाका सम्बन्धमा भएको तहकीकात वा जाँचबुझको सिलसिलामा प्रचलित नेपाल कानूनबमोजिम तयार भएको कुनै लिखतमा उल्लेख भएको कुनै कुरा सो कुरा व्यक्त गर्ने व्यक्ति साक्षीको रुपमा अदालतमा उपस्थित भै बयान गरेमा प्रमाणमा लिन हुन्छ” भन्ने बाध्यात्मक कानूनी व्यवस्था रहे भएको पाइन्छ । उक्त कानूनबमोजिम वादी पक्षले मुख्य प्रमाण भनेका ओजराज विष्टलाई साक्षी परीक्षणको लागि अदालतमा उपस्थित गराउन नसकेका र अदालतबाट पनि निजलाई अ.ब. ११५ नं. प्रयोग गरी बकपत्रको लागि बुझ्दा पनि निज उपस्थित नभएको स्थितिमा निजको मौकाको जाहेरी कथन प्रस्तुत मुद्दामा प्रमाणको लागि अस्वीकार्य हुन गएको छ ।
मौकामा वारदातको मानिसहरू प्रतिवादीहरू कसैलाई देखिंन, माओवादीले मारेको सुनेको हो भनी बकी लेखाई दिएको देखिन्छ । मौकामा प्रत्यक्षदर्शीको रुपमा ठाडो कागज गर्ने सन्तबहादुर घर्तीले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा “मिति २०५७।५।२२ गते विहान खानपीन गरी मृतक मदनराज निजको छोरा ओजराज र म दलालतर्फ आइरहेको अवस्थामा धौखोला नजीक आइपुग्दा सोही खोलामा लुकी बसेका व्यक्तिहरूले मदनराजलाई समातेर सोही खोलाको डिलमा लडाए, मलाई भागेर गई हाल भन्दा म र ओजराज हल्ला गर्दै दलानतर्फ भाग्न लाग्दा तीन फायर गोली पडकाएको सुनें । सोही ठाउँमा रहेका टेकबहादुरले मदनराजको हात समातेको गोविन्दबाबुले शरीर समातेको, निजहरूले नै मदनराजलाई कर्तव्य गरी मारेका हुन् भनी आफ्नो भनाई लेखाई दिएको पाइन्छ । तर साक्षी परीक्षणको क्रममा निजले “ मलाई प्रहरीले कुटी मौकामा कागज गराएका हुन् । मैले नचिनेका मानिसहरूले मदनराजलाई पल्टाई सकेका रहेछन् तिनीहरूले मलाई पेस्तोल देखाए म भागे” भनी बकपत्र गरेको पाइन्छ । चश्मदिद् गवाह भनेका सन्तबहादुर घर्तीको बकपत्रबाटै मौकामा निजले व्यक्त गरेको कथन खण्डित हुन आएकोले निजको मौकाको भनाई प्रतिवादीहरूका विरुद्ध प्रमाणयोग्य हुन आएन । यसरी वादी पक्षका र प्रतिवादी पक्षका साक्षीहरूको बकपत्र प्रमाण ऐन, २०३१ को दफा ८ बमोजिम प्रमाणको रुपमा अदालतले ग्रहण गर्नुपर्ने हुँदा र ती सबै साक्षीहरूको बकपत्रबाट मदनराज विष्टलाई कर्तव्य गरी मारेको भनी ज्यानसम्बन्धी महलको विभिन्न दफाहरूको अभियोग लगाइएका यी प्रतिवादीहरूले सोबमोजिम आरोपित कसूर गरेको देखिंन आएन । अतः प्रतिवादी गोविन्दनीधि तिवारीलाई मुख्य ज्यान मार्ने भनी ज्यानसम्बन्धी महलको १ र १३(१) नं. एवं प्रतिवादीहरू क्रमशः डिलबहादुर, शेरबहादुर, मोहनबाबु, यज्ञबहादुर र टेकबहादुरलाई ऐ महलको १७(३) नं बमोजिमको कसूर गरेको पुष्टि नभएकोले निजहरूले अभियोग दावीबाट सफाइ पाउने ठहर्याएको पुनरावेदन अदालत पोखराको मिति २०६०।२।१५ को फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ भन्ने मा.न्या.श्री मोहनप्रकाश सिटौलाको राय ।
नियमबमोजिम पेशी सूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट विद्वान सहन्यायाधिवक्ता श्री कृष्णप्रसाद पौडेलले प्रतिवादीहरूले पूर्वयोजना बनाई सदरमुकाममा तारिख लिन गएका बखत बाटोमा लुकीछिपी मृतकलाई कर्तव्य गरी मारेको तथ्य प्रतिवादीहरूको मौकाको बयान, मृतकका छोराले दिएको जाहेरी दर्खास्त, चश्मदिद् साक्षीहरू सीता बिष्ट र सन्तबहादुर घर्तीले गरेको मौकाको कागज समेतबाट पुष्टि भईरहेको छ । चश्मदिद् व्यक्तिहरू सीता बिष्ट र सन्तबहादुर घर्तीले अदालतमा गरेको बकपत्रमा मौकाको कागजलाई आफूले भनेको होइन भनी अन्यथा भन्न सकेका छैनन् । मौकाको कागज र बकपत्रमा सामान्य कुरा फरक पर्दैमा वारदात पुष्टि हुने प्रमाणहरूको महत्व घट्ने होइन । तसर्थ अभियोग दावीबमोजिम प्रतिवादीहरूलाई सजाय गर्ने गरी भएको शुरुको फैसला उल्टी गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला उल्टी गरी शुरुको सदर गर्ने गरी संयुक्त इजलासका माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठले व्यक्त गर्नु भएको राय कानूनसम्मत् हुँदा सोही राय कायम हुनुपर्दछ भन्ने समेत बहस गर्नुभयो ।
प्रत्यर्थी प्रतिवादीहरूको तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भु थापा, बिद्वान अधिवक्ताहरू श्री लभकुमार मैनाली, श्री मेघराज पोखरेल र श्री शीतोष्ण तिमल्सिनाले जाहेरी दिने ओजराज बिष्टले अदालतमा आई बकपत्रको व्यहोरालाई पुष्टि गर्न सकेको छैन । चश्मदिद् व्यक्तिहरू सीता बिष्ट र सन्तबहादुर घर्तीको मौकाको कागज र निजहरूको बकपत्र व्यहोरा एकापसमा विरोधाभाषपूर्ण छ । घटनाको समयपछि प्रकाशित भएका कान्तिपुर दैनिक लगायतका पत्रपत्रिकाहरूमा मृतक मदनराज बिष्टको हत्या माओवादीबाट भएको भनी उल्लेख गरिएको छ । घटनाको पृष्ठभूमि समेतबाट माओवादीबाटै वारदात घटाएको भन्ने देखिन्छ । मृतक उपर चलिरहेको कर्तव्यज्यान मुद्दाको बिषयलाई लिएर जाहेरवालाले झूठा जाहेरी दिएको भन्ने देखिन्छ । कुनै पनि प्रमाणबाट यी प्रतिवादीहरू वारदातमा संलग्न रहेको भन्ने शंकारहित तवरले पुष्टि हुन सकेको छैन । अतः तथ्ययुक्त एवं शंकारहित प्रमाणहरूको अभावमा प्रतिवादीहरूलाई सफाइ दिने गरी पुनरावेदन अदालतबाट भएको फैसला सदर गरेको यस अदालत संयुक्त इजलासका माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौलाको राय कानूनसम्मत् हुँदा सोही राय सदर हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो ।
विद्वान कानून व्यवसायीहरूले गर्नुभएको बहस जिकीर सुनी सम्पूर्ण मिसिल अध्ययन गरियो । यस अदालतको संयुक्त इजलासका माननीय न्यायाधीशहरू वीच मतैक्य हुन नसकी यस इजलाससमक्ष पेश भएको सन्दर्भ समेतबाट प्रस्तुत मुद्दामा देहायका प्रश्नहरूको निरोपण गरिनु पर्ने देखिन आएको छ:–
१. अभियोग दावीबमोजिम प्रतिवादीहरूलाई कसूरदार कायम गर्न मिल्ने नमिल्ने के हो ?
२. संयुक्त इजलासका माननीय न्यायाधीशहरूको फरक फरक रायमध्ये कुन राय मनासिव हो ?
२. उपर्युक्त प्रश्नहरूको सम्बन्धमा निरोपण गर्नु पूर्व प्रस्तुत मुद्दाको केही तथ्यगत अवस्थाको अवलोकन गर्नु वाञ्छनीय देखिन आउँछ । सो सम्बन्धमा हेर्दा मिति २०५७।५।२२ का दिन विहान ८.०० बजेको समयमा मदनराज बिष्ट आफ्नो घरबाट बेंशीशहर आउँदै गर्दाका बखत पूर्वयोजना बमोजिम धौखोलामा लुकी बसेका प्रतिवादीहरूले बाटो छेकी लडाई बाँधी गोली प्रहार गर्नुका साथै प्रतिवादीहरू मध्येका गोविन्दनिधि तिवारीले निज मदनराजको घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको हुँदा निजलाई ज्यानसम्बन्धी महलको १३(१) को कसूरमा सोही १३(१) नं. बमोजिम सजाय हुन् र सो वारदातमा मृतकको हात, शरीर समाई, डोरीले बाँधछाँद गर्ने समेतको कार्य गरी मार्ने संयोग पारेको हुँदा प्रतिवादीहरू डिलबहादुर कमली, शेरबहादुर कमली र टेकबहादुर कमलीलाई ज्यानसम्बन्धी महलको १३(४) नं. को कसूरमा सोही १३(४) नं. बमोजिम सजाय हुन् तथा अर्का प्रतिवादी शम्भु तिवारीले मृतकलाई मार्ने षड्यन्त्र गरी योजना बनाई भाडामा मानिसहरू ल्याई ज्यानसम्बन्धी महलको १ र १६ नं. विपरीतको कसूर गरेको हुँदा सोही १६ नं. बमोजिमको सजाय हुन् भनी अभियोगपत्र पेश भएको देखिन्छ । त्यसैगरी प्रतिवादीहरू मोहनबाबु तिवारी, यज्ञबहादुर थापा, गणेश तिवारी, ध्रुब तिवारी, प्रकाश तिवारी, उमेशनिधि तिवारी, जनकबाबु तिवारी, रुद्रनिधि तिवारी समेतले गोली हान्ने, घाँटी रेट्ने र मृतकलाई समाउने, बाँधछाँद गर्ने कार्यमा प्रत्यक्ष संलग्न नभए पनि घटनास्थलबाट केही टाढा विभिन्न ठाउँमा घेरा हाल्दै बाटो, गौँडा छेकी ज्यानसम्बन्धी महलको १७(२) नं. विपरीतको कसूर गरेको हुँदा सोही १७(२) नं. बमोजिमको सजाय हुन भनी अभियोगपत्रमा माग दावी लिएको देखिन्छ ।
३. मिसिल संलग्न लासजाँच मुचुल्का हेर्दा मृतकको नाक र मुखबाट रगत बगी रगताम्य भै कपाल समेत रगतले पोतिएको, घाँटीमा काटेको घाउ देखिएको, मृतकको बायाँ हातमा नाइलनको डोरीले बाँधिएको, दुवै आँखामा नीलडाम भै सुन्निएको, बायाँ कानको माथि पछाडिपट्टि प्वाल पारी दायाँ कानमाथिबाट गिदी समेत निस्केको देखिन्छ । त्यसैगरी शव परीक्षण प्रतिवेदन (Post Mortem Report) बाट पनि घाँटीमा काटिएको, टाउकोमा बन्दूकको दुईवटा गोली लागेको समेतबाट अत्याधिक रक्तश्राव भई मृत्युभएको भन्ने देखिन्छ । यसप्रकार मृतक मदनराज बिष्टको मृत्यु टाउकोमा गोली प्रहार गर्नुका साथै घाँटी समेतमा धारिलो हतियारले काटी छिनाली कर्तव्यबाट भएको भन्नेमा विवाद रहेन ।
४. उल्लिखित तथ्यगत अवस्थाहरूलाई विचार गर्दै प्रतिवादीहरू उपर लगाइएको अभियोग दावी स्थापित हुने नहुने के हो ? भन्ने मूलभूत विषयको निरोपण गर्नुपर्ने भएको छ । आरोपको व्यहोरा हेर्दा प्रतिवादीहरू गोविन्दनिधि तिवारी र शम्भु तिवारीले मार्ने योजना बनाई मृतक मदनराज बिष्ट तारिख लिन बेंशीशहर तर्फ जाँदै गर्दाको अवस्थामा भाडामा मानिसहरू ल्याई घेराउ गरी भाग्न उम्कन नपाउने गरी धौखोला भन्ने स्थानमा निजउपर हमला गरी लडाएपछि उज्वल भन्ने व्यक्तिले मृतकको घाँटी र टाउकोमा गोली हानी ढालेको, त्यसपछि मैले घाँटी रेटेको हुँ भनी प्रतिवादी गोविन्दनिधि तिवारीले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गरेको हुँदा निजहरू उपर ज्यानसम्बन्धी महलको १३ (१) नं. बमोजिमको सजाय हुन् भन्दै अभियोगमा माग दावी लिएको देखिन्छ । प्रतिवादीमध्येका शम्भु तिवारी र प्रकाश तिवारी फरार रही निजहरूका हकमा अ.वं. १९० नं. बमोजिम मुल्तवी रहेको देखिँदा निजहरूको हकमा बोलिरहनु पर्ने देखिएन ।
५. यी प्रतिवादीहरू उपर लगाइएको अभियोगदावी पुष्टि गर्ने क्रममा अभियोजन पक्षबाट जाहेरी दर्खास्त, लासजाँच एवं शव परीक्षण प्रतिवेदन, प्रतिवादी गोविन्दनिधि तिवारीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान, मृतककी बुहारी सीता बिष्टले मौकामा गरेको कागज एवं मौकामा कागज गर्ने सन्तबहादुर घर्तीको मौकाको कागजको व्यहोरा र प्रतिवादीहरूले मौकामा बयान गर्दा एक अर्कालाई पोल गरेको भन्ने कुरालाई मुख्य आधार बनाइएको देखिन्छ । वारदातको प्रकृतिबाट मृतकलाई बाटो छेकी समाई बाँधछाँद समेत गरी गोली प्रहार गरी घाँटी समेत काटी हत्या गरिएको भन्ने देखिँदा यस वारदातमा निःसन्देह रुपमा एकभन्दा बढी व्यक्तिहरूको संलग्नता रहेको कुरा देखिन्छ । तर अभियोग लगाईएका यी प्रतिवादीहरू नै सो वारदातमा संलग्न भएका हुन् वा होइनन् भन्ने कुराको निर्क्यौल गर्न अभियोगपत्र साथ पेश गरिएका सम्पूर्ण सबूद प्रमाणहरूको वस्तुनिष्ठ रुपमा मूल्याङ्कन गरिनु आवश्यक देखिएको छ । यस सन्दर्भमा हेर्दा जाहेरी दर्खास्त मृतकको छोरा ओजराज बिष्टको नामबाट दर्ता भएको देखिन्छ जो मृतकसँगै बेंशीशहर जाँदै गरेको भन्ने देखिएको छ । सो जाहेरीबाट वारदातस्थलमा निज जाहेरवाला स्वयं पनि मृतक मदनराजसँगै रहेको भन्ने पुष्टि भएको छ । गोविन्दनिधि तिवारी सहितका प्रतिवादीहरू र अन्य नचिनेका ५।७ जना मानिसहरूले एक्कासी घेरा हाली बुबालाई समाई लडाएपछि डोरीले बाँधेको अवस्थामा आफू वारदातस्थलबाट उम्किएर फलिया साँघुतर्फ दौडिँदै गर्दा २।३ पटक बन्दूकको आवाज आएको हुँदा प्रतिवादीहरूले नै बुबाको कर्तव्य गरी मारेको भन्दै सजाय हुन् भनी निजले जाहेरी दिएको देखिन्छ । निज जाहेरवाला प्रस्तुत वारदातमा मृतकउपर गोली प्रहार हुनुपूर्वको चश्मदिद् गवाहको रुपमा रहेको भन्ने निजको जाहेरी लेखाईबाट देखिन्छ । मृतकको मृत्यु गोली प्रहार र घाँटीमा धारिलो हतियार समेतले काटी रक्तश्राव समेतबाट भएको भन्ने देखिन्छ । तर मृतकउपर गोली प्रहार भएको र हतियार प्रहार गरेको कुरा जाहेरवाला स्वयंले देखेको भन्ने जाहेरीबाट खुलेको छैन । आफू भाग्दै गर्दा २।३ पटक गोलीको आवाज आएको र यी प्रतिवादीहरू समेतले बुबालाई घेरा हाली समाई लडाएपछि आफू वारदातस्थलबाट भागेको भन्ने जाहेरवालाको प्रारम्भिक कथन देखिन्छ ।
६. फौजदारी कसूरको अनुसन्धान गरी अभियोग पुष्टि गर्ने क्रममा जाहेरी दरखास्तको महत्वपूर्ण प्रामाणिक महत्व रहन्छ । जाहेरी दरखास्तमा लेखिएका कुराहरूलाई आधार बनाई अनुसन्धानकर्ताले अपराधको सम्बन्धमा महत्वपूर्ण सूचना संकलन गरी सम्भाव्य अपराधीको पहिचान गर्न र अपराध पुष्टि गर्न सक्तछ । सोही क्रममा त्यस्तो जाहेरीलाई अभियोग प्रमाणित गर्ने महत्वपूर्ण प्रमाण मानिएको हो । तर जाहेरी दरखास्तलाई अदालतले अन्य संकलित प्रमाणको रोहमा परीक्षण नगरेसम्म वा अन्य प्रमाणहरूले समर्थन (Corroborate) नगरेसम्म त्यस्तो जाहेरी दरखास्त आफैमा स्वतन्त्र प्रमाण हुन सक्तैन । अन्य प्रमाणबाट समर्थित नगरेसम्म जाहेरी दरखास्त केवल अपराध अनुसन्धानको क्रममा मात्र सहयोगी हुन सक्तछ । त्यसैले जाहेरी दर्खास्तलाई अभियोग लगाइएको कुनै पनि व्यक्तिका विरुद्ध प्रमाणको रुपमा ग्रहण गर्नुपूर्व सो जाहेरी दरखास्तको न्यायिक परीक्षण त्यत्तिकै आवश्यक हुन्छ । जाहेरी दरखास्तको मूल्याङ्कन गर्ने महत्वपूर्ण आधारको रुपमा प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम त्यस्तो जाहेरी दिने व्यक्ति अर्थात् जाहेरवाला स्वयम् साक्षीका रुपमा अदालतमा उपस्थित भई आफूले जाहेरी दरखास्तमा लेखाएको कुरालाई अदालतमा वकपत्र गरी समर्थन गरेको स्थिति विद्यमान हुनु पर्दछ । अन्यथा कुनै पनि जाहेरीको व्यहोराले अपराध पुष्टि गर्ने प्रामाणिक महत्व ग्रहण गर्नसक्ने देखिँदैन । प्रस्तुत विवादमा पनि जाहेरवाला ओजराज बिष्टलाई अभियोजन पक्षले साक्षीको रुपमा अदालतमा उपस्थित गराई जाहेरी दरखास्तमा लेखिएको कुरालाई समर्थन गराउन सकेको अवस्था छैन । यसका अतिरिक्त यस अदालतको आदेश अनुसार अ.वं. ११५ नं. को प्रक्रिया पूरा गरी निज जाहेरवाला ओजराज बिष्टलाई बुझ्ने सिलसिलामा सम्बन्धित जिल्ला प्रहरी कार्यालयमार्फत् निजका नाममा पक्राउ पूर्जी जारी गर्दा समेत निज घरद्वारमा समेत फेला नपरेको र के कहाँ छन् ? भन्ने यकीन थाहा नभएको भन्ने व्यहोराको स्थानीय व्यक्तिहरूबाट मुचुल्का समेत भै सो पक्राउ पूर्जी फिर्ता आएको देखिन्छ । प्रस्तुत वारदात हुँदाका बखत जाहेरवाला अदालतसमक्ष उपस्थित हुन नसक्ने कुनै अन्यथा कारण रहेभएको थियो कि भनी मान्ने नै हो भनेपनि यस अदालतबाट निजलाई बुझ्ने आदेश भैसकेपछि हालको अवस्थामा निज अदालतमा उपस्थित हुन नसक्ने वा हुनु नपर्ने कुनै विश्वासप्रद आधार पनि सरकारी पक्षबाट प्रस्तुत हुन सकेको छैन । यथार्थमा यिनै प्रतिवादीहरू प्रस्तुत वारदातमा संलग्न रहेको भन्ने निज जाहेरवालाले प्रत्यक्ष देखे चिनेको अवस्था भए सो कुरा निजले अदालतमा आई बिना रोकटोक भन्न लेखाउन नपर्ने स्थिति देखिँदैन । तर निज जाहेरवालाले सो कर्तव्य निर्वाह नगरेको यस स्थितिमा निजले प्रारम्भमा लेखाएको जाहेरी दरखास्तलाई यथार्थ हो भनी यस अदालतले मान्ने स्थिति देखिँदैन । तसर्थ सो जाहेरीको व्यहोराले प्रस्तुत वारदातमा प्रतिवादीहरूको संलग्नता पुष्टि गर्ने प्रमाणको स्थान ग्रहण गर्नसक्ने देखिएन ।
७. जहाँसम्म मृतकको लासजाँच मुचुल्का र शव परीक्षण प्रतिवेदनको प्रश्न छ, सो सम्बन्धमा विचार गर्दा लासजाँच मुचुल्काले मृतकको शारीरिक अवस्था, चोटपटक लगायतको लासमा देखिने वाह्य अवस्थाहरूको पहिचान गर्न सहयोग पुर्याउने र शव परीक्षण प्रतिवेदनबाट मृतकको शारीरिक अवस्थाहरू, वाह्य एवं आन्तरिक चोटपटकहरू तथा मृत्यु हुनाको कारण अर्थात् मृतकको मृत्यु स्वाभाविक हो वा कुनै घटना वा व्यक्तिको कारणबाट अर्थात् कर्तव्यबाट भएको हो भन्ने कुरा पहिचान गर्न महत्वपूर्ण सहयोग पुर्याउँछ । लासजाँच मुचुल्का र शव परीक्षण प्रतिवेदनबाट कसैको मृत्यु कर्तव्यबाटै भएको देखिए तापनि त्यस्ता प्रमाणहरूले कुनै अमुक व्यक्ति नै कसूरदार हो भन्ने कुरा निर्धारण गर्न सक्तैनन् । अनुसन्धानको क्रममा संकलन भएका अन्य प्रमाणहरूले सिलसिलेवार रुपमा आरोपित व्यक्तिउपरको कसूरलाई स्थापित गरेको अवस्थामा मात्रै शव परीक्षण प्रतिवेदन तथा लासजाँच मुचुल्काले त्यस्तो आरोपित व्यक्तिउपर कसूर कायम गर्ने प्रमाणको स्थान ग्रहण गर्दछ । त्यसमा पनि त्यस्ता सवै प्रमाणहरूको अदालत स्वयंबाट प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम परीक्षण गरिएको स्थिति हुनु पर्दछ । त्यसैले लासजाँच मुचुल्का र शव परीक्षण प्रतिवेदनलाई मात्रै पनि आरोपित व्यक्तिका विरुद्ध स्वयंमा अकाट्य प्रमाण मान्न सकिँदैन ।
८. प्रस्तुत विवादमा अभियोजन पक्षबाट प्रतिवादीहरूले अनुसन्धान अधिकारीसमक्ष गरेको बयानलाई निजहरू विरुद्धको महत्वपूर्ण प्रमाणको रुपमा प्रस्तुत गरिएको अवस्था हुँदा यस मुद्दाका प्रतिवादीहरूले अनुसन्धान अधिकारीसमक्ष गरेको बयानको व्यहोरा र त्यसको प्रामाणिक महत्वका बारेमा पनि विश्लेषण गर्नुपर्ने देखिएको छ । प्रतिवादी गोविन्दनिधि तिवारीले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा वारदात मिति समयमा वारदातस्थल धौखोला निर निज मदनराज आइपुग्दा सोही ठाउँमा लुकी बसेका ५।७ जनाले मदनराजलाई समाई लडाएपछि उज्वल भन्ने व्यक्तिले बन्दुकले टाउको र घाँटीमा प्रहार गरेकोले निज भूईमा ढलेपछि घाँटीमा मैले पनि रेटेको हुँ । अन्य प्रतिवादीहरूलाई घटनास्थलमा कोही आउँछन् कि भनी विभिन्न ठाउँमा हेर्न खटाएको भन्ने व्यहोरा उल्लेख गरेको देखिन्छ । त्यस्तै प्रतिवादीहरू डिलबहादुर कमली, टेकबहादुर कमली, शेरबहादुर कमली र मोहनबाबु तिवारी समेतको अनुसन्धान अधिकारीसमक्षको बयान हेर्दा धौखोलानिर मदनराज बिष्ट आईपुग्दा गोबिन्दबाबु तिवारीले मदनराजलाई समात् भनेपछि हामीहरूले चारैतिर घेरा हाली भूइँमा लडायौं, टेकबहादुरले बाँया हात समाते, डिलबहादुर, शेरबहादुर गोविन्दबाबु तिवारीले मृतकको शरीर समाते । अन्य ४।५ जना अपरिचित व्यक्तिले नाइलनको डोरीले बाँधछाँद गरे । नचिनेको व्यक्तिले मदनराजउपर गोली प्रहार गरे, गोबिन्दबाबु तिवारीले मदनराज बिष्टको घाँटीमा धारिलो हतियार प्रहार गरेको हो भनी एकापसमा पोलापोल गरी साविती बयान दिएको देखिन्छ । तर यी सबै प्रतिवादीहरूले अदालतमा आइ बयान गर्दा अनुसन्धान अधिकारीसमक्ष भएको साविती बयानको खण्डन गर्दै अभियोग दावीमा इन्कार रहेको पाइन्छ ।
९. फौजदारी कसूरमा प्रतिवादी वा अभियुक्तको साविती बयानको छुट्टै महत्व रहन्छ । तर त्यस्तो साविती कस्तो अवस्था र परिस्थितिमा गराइएको छ र वारदातको पृष्ठभूमी कस्तो छ भन्ने सन्दर्भले त्यस्तो साविती बयानको प्रामाणिक महत्व कायम हुन्छ । किनभने साविती बयान मात्रै आफैँमा कसूर स्थापित गर्ने अकाट्य प्रमाण होइन । सो सावितीलाई घटनाको पृष्ठभूमि र अन्य प्रमाणहरूको शृंखलाले समर्थित (Corroborate) र पुष्टि गर्नु पर्दछ । अन्यथा कुनै पनि फौजदारी कसूरमा अभियुक्तको साविती बयान एउटा सहायक प्रमाण मात्रै हुन जान्छ । साविती बयानलाई प्रमाणको रुपमा ग्रहण गर्न त्यस्तो साविती बयानलाई समर्थन हुने गरी वा साविती बयानका अन्तरवस्तुहरू स्वीकार गरी सो साविती बयान गर्ने व्यक्तिले अदालतसमक्ष पनि बयान गर्नु उत्तिकै आवश्यक हुन्छ । प्रस्तुत वारदातमा अनुसन्धानको क्रममा संकलित भएका प्रमाणहरूबाट प्रतिवादीहरूको साविती बयान पुष्टि भएको भन्ने भएतापनि अनुसन्धानको क्रममा संकलित त्यस्ता सवै प्रमाणहरू अदालतबाट परीक्षण गर्दा सारभूत रुपमा खण्डित भैरहेका छन् । न्याय निरोपण गर्ने निकायबाट परीक्षण गरिएका प्रमाणहरूबाट वारदातमा प्रतिवादीहरूको संलग्नता पुष्टि नभएको स्थितिमा आफूले परीक्षण नगरेको प्रमाणको आधारमा मात्रै कसैलाई दोषी करार गर्नु हाम्रो फौजदारी न्याय व्यवस्थाको प्रतिकूल हुन जान्छ ।
१०. प्रस्तुत वारदातको विषयलाई लिएर तत्कालको समयमा प्रकाशित भएका कान्तिपुर दैनिक एवं अनौपचारिक क्षेत्र सेवा केन्द्रबाट प्रकाशित भएको मानव अधिकार वर्ष पुस्तक, २००१ समेतमा मृतक मदनराज बिष्टलाई सुराकी गरेको आरोपमा माओवादीहरूले गोली हानी हत्या गरेको र चिती गा.वि.स. ८ का गोविन्दनिधि तिवारी, डिलबहादुर कमली, मोहनबाबु तिवारी, शेरबहादुर कमली, टेकबहादुर कमली र यज्ञबहादुर थापालाई सोही ठाउँका मदनराज बिष्टको हत्यामा संलग्न रहेको भन्ने आरोपमा राजनीतिक प्रतिशोधका कारण प्रहरीले गिरफ्तार गरी थुनामा राखिएको भन्ने लगायतका समाचारहरू सम्प्रेषित गरिएको देखिन्छ । वारदातको पृष्ठभूमि हेर्दा पनि मृतक मदनराज बिष्ट लमजुङ जिल्ला अदालतमा तत्काल विचाराधीन रहेको कर्तव्य ज्यान मुद्दामा प्रतिवादीको रुपमा रहेको र सो मुद्दाको जाहेरी दरखास्त प्रतिवादीमध्येका गोविन्दनिधि भन्ने गोविन्दबाबु तिवारी समेतबाट दर्ता भएको र सोही कारणबाट प्रतिवादीहरू गोविन्दनिधि तिवारी र मृतक मदनराज बिष्टको परिवारबीच एक अर्कालाई फसाउनेसम्मको प्रतिशोधको भावना रहेको भन्ने पनि मिसिलबाट देखिएको छ । यी सबै परिस्थिति एवं परिवेशलाई विचार गर्दा यी प्रतिवादीहरू उपरको जाहेरी एवं अभियोग समेत शंकारहित देखिँदैन । यस्तो शंकास्पद जाहेरीका आधारमा अनुसन्धान गरी प्रतिवादीहरूसँग लिइएको साविती निरपेक्ष रुपमा प्रमाण ग्राह्य देखिएन ।
११. त्यसैगरी मौकामा कागज गर्ने मृतक मदनराजकी बुहारी सीता बिष्टले अनुसन्धानको क्रममा गरेको कागजमा खाना खाइवरि ससुरा मदनराज र देवर ओजराज हिँडेको केही समय पछि आफू पनि पछिबाट हिँडी ओरालो लाग्दै गर्दा ओजराज गुहार गुहार भन्दै दलालतर्फ दौडेको देखेको र तत्काल गोलीको आवाज पनि सुनो । दौडँदै घटनास्थल पुग्दा ८।९ जना मानिसहरू देखो । चिनेका टेकबहादुर, शेरबहादुर, डिलबहादुर, गोबिन्दबाबु, यज्ञबहादुर, मोहनबाबु र जनकबाबु घटनास्थलमा थिए । घटनास्थलबाट उमेशनिधि र रुद्रनिधि दायाँ बायाँ गइसकेका थिए । निजहरू समेत भै मारेका हुन् भनी लेखाएको देखिन्छ भने निजले अदालतमा आइ बकपत्र गर्दा प्रतिवादीहरू कसैलाई पनि देखिन । पत्रिकाहरूबाट माओवादीले मारेको भन्ने सुनेकी हुँ । अरु मलाई थाहा छैन भनी मौकामा ठाडो कागज गर्दा खुलाएको व्यहोरालाई अदालतमा आइ खण्डन गरेको अवस्था विद्यमान रहेको छ । त्यस्तै मौकामा ठाडो कागज गर्ने अर्को व्यक्ति सन्तबहादुर घर्तीले सो कागजमा मदनराज बिष्ट, निजको छोरा ओजराज र म खानपीन गरी वारदात मिति समयमा दलालतर्फ आइरहेको अवस्थामा धौखोला नजीक पुग्दा सोही ठाउँमा लुकी बसेका व्यक्तिहरूले मदनराजलाई समाती खोलाको डिलमा लडाए, मलाई भागेर गैहाल भनेकाले म र ओजराज हल्ला गर्दै दलालतर्फ भाग्दै गर्दा तीन पटक गोली चलेको सुनो । टेकबहादुरले मदनराजको हात समाते, गोविन्दबाबुले शरीर समाते । निजहरूले नै मदनराजलाई मारेका हुन् भनी उल्लेख गरेको देखिन्छ । तर निजले अदालतमा आइ वकपत्र गर्दा भने मलाई प्रहरीले कुटपीट गरी मौकामा कागज गराएका हुन् । मैले नचिनेका मानिसहरूले मदनराजलाई पल्टाई सकेका रहेछन् । तिनीहरूले मलाई पेस्तोल देखाए, म भागो भनी लेखाएको देखिन्छ ।
१२. यसरी वादी पक्षबाट प्रस्तुत मुद्दामा चश्मदिद् साक्षीको रुपमा प्रस्तुत गरिएका जाहेरवाला ओजराज बिष्टलाई साक्षीको रुपमा परीक्षण गर्ने सिलसिलामा अदालतसमक्ष उपस्थित गराउन नसकेको साथै अदालतमा स्वयंले अदालती बन्दोबस्तको ११५ नं. को कानूनी व्यवस्था प्रयोग गरी निजलाई बुझ्दा समेत निज जाहेरवाला अदालतमा उपस्थित भई आफूले दिएको जाहेरी समर्थन गर्न सकेको पाइँदैन । प्रत्यक्ष साक्षीकै रुपमा प्रस्तुत गरिएका सीता बिष्ट र सन्तबहादुर घर्तीले अदालतमा उपस्थित भै बकपत्रमा निजहरूले मौकामा ठाडो कागज गर्दा उल्लेख गरेको कुरालाई खण्डन गर्दै सीता बिष्टले यी प्रतिवादीहरूलाई नदेखेको भनी र सन्तबहादुरले समेत यी प्रतिवादीहरूलाई किटान नगरी नचिनेका व्यक्तिहरूले मदनराजलाई समाइ लडाएको र पेस्तोल देखाएकोले आफू त्यहाँबाट भागेको भनी बकपत्र गरेको देखिन आउँछ । यसरी वादीपक्षबाट वारदातको प्रत्यक्ष साक्षीको रुपमा प्रस्तुत गरिएका जाहेरवाला ओजराज बिष्टले अदालतमा उपस्थित भई जाहेरीको व्यहोरा समर्थन हुने गरी बकपत्र नै नगरेको र सीता बिष्ट र सन्तबहादुर घर्तीले बकपत्र गरेको भए पनि सो बकपत्रबाट निजहरूको मौकाको कागजको व्यहोरा खण्डन भइरहेको यस स्थितिमा अनुसन्धानको सिलसिलामा खडा भएका जाहेरी दरखास्त तथा सीता बिष्ट र सन्तबहादुर घर्तीको मौकाको कागजको व्यहोरालाई मात्र अदालतले निरपेक्ष प्रमाणको रुपमा ग्रहण गर्न सक्ने अवस्था देखिँदैन ।
१३. माथि विश्लेषण गरिएका प्रमाणहरूका अतिरिक्त अन्य प्रमाणहरूको विद्यमानता तर्फ हेर्दा मिसिलबाट आरोपित कसूरमा प्रतिवादीहरूको संलग्नता पुष्टि हुने कुनै पनि विश्वसनीय प्रमाणको विद्यमानता देखिँदैन । प्रतिवादीहरू अदालतसमक्षको बयानमा पूर्णरुपमा इन्कार रहेका र निजहरूको इन्कारी बयान निजहरूका साक्षीको बकपत्रबाट समर्थित भइरहेको अवस्था विद्यमान देखिन्छ । यस्तो स्थितिमा प्रस्तुत विवादमा मिसिलको वस्तुतथ्यको समग्र अवलोकन गर्दै मिसिल संलग्न प्रमाणहरूको आधारमा निष्कर्षमा पुग्नुपर्ने अवस्था देखिएको छ ।
१४. कुनै पनि फौजदारी मुद्दामा प्रचलित कानूनबमोजिम अनुसन्धान पक्षले वस्तुनिष्ठ रुपमा कसूर वा वारदातको विषयमा अनुसन्धान गरी संकलित प्रमाणका आधारमा कसैका उपर कुनै अभियोग लगाउने र त्यस्तो मुद्दा हेर्ने अधिकारप्राप्त अदालत वा निकायले पनि पेश भएका प्रमाणहरूको शंकारहित तवरले परीक्षण गरी मूल्याङ्कन गर्दा ठहरेबमोजिमको निर्णय गर्नुपर्ने हाम्रो फौजदारी न्याय प्रणालीको प्रमुख विशेषता हो । यस कुरालाई प्रमाण ऐन, २०३१ को दफा २५ ले आरोपित कसूर प्रमाणित गर्ने भार अभियोजन पक्षमा रहने गरी गरेको व्यवस्था तथा सोही ऐनको दफा ८ मा वादी र प्रतिवादी पक्षका साक्षीहरूले गरेको बकपत्रलाई प्रमाणमा लिनुपर्ने भनी गरेको व्यवस्था समेतले स्थापित गरिरहेको देखिन्छ । यी समग्र कानूनी व्यवस्थाहरूको सन्दर्भबाट हेर्दा कुनै पनि फौजदारी कसूरलाई शंकारहित तवरले पुष्टि गर्नुपर्ने दायित्व अभियोजन पक्षको हुने, अदालतले प्राप्त प्रमाणहरूको परीक्षण एवं मूल्याङ्कन गरी ती प्रमाणहरूले ठहरेबमोजिम मात्र न्याय निरोपण गर्नुपर्ने भन्ने नै हुन्छ । तर अदालत स्वयंले कुनै प्रमाणको सिर्जना गरी कुनै कसूर स्थापित गर्ने वा कसै उपरको अभियोग पुष्टि गर्ने भन्ने हुँदैन । साथै संकलित भएका प्रमाणहरूबाट कसै उपरको अभियोग पुष्टि हुने अवस्था छैन अथवा त्यस्तो अभियोग शंकारहित देखिँदैन भने अदालतले वादी वा अभियोजन पक्षको हैसियत ग्रहण गरी विना आधार कसैलाई दोषी करार गर्न पनि सक्तैन । त्यस्तो गर्नु हाम्रो फौजदारी विधिशास्त्र हामीले अपनाई आएको कानून प्रणाली एवं स्थापित न्यायिक पद्धतिकै बर्खिलाप हुन जान्छ । त्यसैले कुनै फौजदारी कसूर शंकारहित रुपमा पुष्टि हुन नसकेको स्थितिमा आरोपित व्यक्तिले शंकाको सुविधा पाउने र अभियोगबाट उन्मुक्ति पाउने भन्ने फौजदारी न्यायको महत्वपूर्ण सिद्धान्त नै रही आएको छ । यस अदालतले पनि अनेकौँ फौजदारी विवादहरूमा यस सिद्धान्तको अनुशरण गर्दै न्याय निरोपण पनि गर्दै आएको छ । तसर्थ यस विषयमा यहाँ थप विवेचना गरिरहनु पर्ने देखिँदैन ।
१५. अब जहाँसम्म प्रतिवादीहरूको मौकाको बयानमा अपराध स्वीकार गरी परस्पर पोल समेत गरेको भन्ने प्रसङ्ग छ, सो तर्फ हेर्दा निजहरूको सो बयान अनुसन्धानको क्रममा भएको र त्यसलाई निजहरूले अदालतमा बयान गर्दा खण्डन गर्दै आरोपमा इन्कार रहेका र निजहरूको इन्कारीलाई निजका साक्षीहरूको बकपत्र समेतबाट समर्थन भएको अवस्था विद्यमान छ । यसरी अनुसन्धानको क्रममा भएको प्रतिवादीहरूको साविती बयान अन्य प्रमाणहरूबाट स्वतन्त्ररुपमा समर्थित नभएसम्म अदालतले त्यस्तो साविती बयान मात्रैलाई आधार मानी कसूर कायम गर्नु न्यायसंगत हुन नसक्ने र त्यस्तो सावितीमा प्रतिवादीहरूले एक अर्कालाई पोल गरेको कुरा पनि प्रमाण ग्राह्य हुने देखिएन । तसर्थ मिसिल संलग्न अन्य प्रमाणहरूले प्रतिवादीहरूको परस्पर पोलापोल गरिएका बयान पुष्टि हुन् र त्यसको प्रमाणिकता स्थापित हुन नसकेको स्थितिमा सो पोल मात्रै निजहरू उपरको आरोप पुष्टि हुने निरपेक्ष प्रमाण हुन सक्तैन ।
१६. यसप्रकार प्रस्तुत मुद्दामा प्रतिवादीहरू गोविन्दबाबु तिवारी समेतका व्यक्तिहरू विरुद्धको अभियोग दावी पुष्टि हुने प्रत्यक्ष एवं विश्वसनीय प्रमाणहरूको विद्यमानता नदेखिँदा निजहरूलाई आरोपित कसूरमा सजाय हुने अवस्था देखिन आएन । तसर्थ शुरु लमजुङ जिल्ला अदालतले प्रतिवादीहरू गोविन्दनिधि तिवारी भन्ने गोविन्दबाबु तिवारी, डिलबहादुर कमली, टेकबहादुर कमली, मोहनबाबु तिवारी, यज्ञबहादुर थापा र शेरबहादुर कमलीलाई कसूरदार ठहर गरी अन्य प्रतिवादीहरूलाई सफाइ दिने गरेको फैसला उल्टी गरी सबै प्रतिवादीहरूले अभियोग दावीबाट सफाइ पाउने गरी पुनरावेदन अदालत, पोखराबाट मिति २०६०।३।१५ मा भएको फैसला मिलेको देखिँदा सो फैसला सदर गर्ने गरेको यस अदालत संयुक्त इजलासका माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौलाको राय मनासिव देखिँदा सोही राय कायम हुन्छ । दायरीको लगत कट्टा गरी नियमानुसार मिसिल बुझाई दिनू ।
उक्त रायमा म सहमत छु ।
न्या.गिरीश चन्द्र लाल
माननीय न्यायाधीश श्री अवधेशकुमार यादवको रायः–
प्रस्तुत विवादमा मूलतः प्रतिवादीहरूले आरोपित कसूर गरेको प्रमाणित हुने प्रमाणको विद्यमानता छ, छैन भन्ने मूल प्रश्नको निरोपण हुनुपर्ने देख्दछु । सो सम्बन्धमा हेर्दा वारदात मिति समयमा मृतक मदनराज बिष्टको साथमा निजको छोरा अर्थात् जाहेरवाला ओजराज बिष्ट र सन्तबहादुर घर्ती समेतसँगै घरबाट बेंशीशहरतर्फ जाँदै गर्दा प्रतिवादीहरूले बाटोमा घेरा हाली मदनराजलाई समाई बाँधछाँद गरी लडाए पछि निज जाहेरवाला समेत भागी उम्केको अवस्थामा मदनराजउपर प्रतिवादीहरूले गोली प्रहार गरेको भन्ने जाहेरी दरखास्त देखिन्छ । मौकामा अनुसन्धान अधिकारीसमक्षको बयानमा प्रतिवादीहरूले आफूहरूको मृतकसँग पहिलेदेखि नै रिसइवी समेत रही प्रस्तुत वारदात मितिभन्दा अगाडि पनि निजको घर घेरा हाली मार्ने प्रयास गरेकोमा असफल भएपछि लमजुङ जिल्ला अदालतमा तारिख लिन जाने मिति यकीन गरी सोही मितिमा निजउपर हमला गर्ने योजना बनाएको र सोही बमोजिम मिति २०५७।५।२२ का दिन मदनराज बिष्ट निजको घरबाट लमजुङ जिल्ला अदालत जाने क्रममा स्थानीय धौखोलामा घेरा हाली छेकी समाई डोरीले बाँधछाँद गरी लडाई सकेपछि गोली प्रहार गरेको भन्ने समेत कुरालाई सिलसिलेवार रुपमा उल्लेख गरी वारदातमा संलग्न रहेको कुरालाई स्वीकार गरी प्रतिवादीहरूले एक अर्कोलाई पोलापोल गरेको अवस्था छ । घटनास्थल एवं लासजाँच प्रकृति मुचुल्काबाट मृतक मदनराज बिष्टको मुख समेतमा रगताम्य भएको, टाउकोमा गोली प्रहार हुँदा गिदीसम्म बाहिर निस्किएको एवं घाँटीमा धारिलो हतियार प्रहारबाट घा चोट पुर्याइएको भन्ने देखिन्छ । शव परीक्षण प्रतिवेदन (post Mortem Report) हेर्दा पनि सोहीअनुरूपको घाउ चोट देखिनुको साथै गोली प्रहारबाट अत्याधिक रक्तश्राव भै मृत्यु भएको अवस्था विद्यमान देखिन्छ ।
मौकामा कागज गर्ने सन्तबहादुर घर्ती एवं मृतकका छोरा अर्थात् जाहेरवाला ओजराज बिष्ट समेत प्रस्तुत वारदातका प्रत्यक्ष साक्षी अर्थात् चश्मदिद् गवाहको रुपमा रहेका छन् । जाहेरवाला ओजराज बिष्ट बकपत्रको लागि अदालतसमक्ष उपस्थित नभए पनि मौकामा कागज गर्ने सन्तबहादुर घर्तीले मौकाको कागजमा मदनराज बिष्ट, निजको छोरा ओजराज बिष्ट र म समेत खोलातर्फ जाँदै गर्दा धौखोला नजीक आई पुग्दा म पिसाव फेर्न थालें, मृतक र ओजराज खोलातर्फ जाँदै गर्दा सोही ठाउँमा लुकीछिपी बसेका प्रतिवादीहरू समेतका व्यक्तिहरूले मदनराजलाई समातेर खोलाको डिलमा लडाई राखेको मैले देखो । सो ठाउँमा जाँदा मलाई भागेर गैहाल भनेकाले ओजराज र म होहल्ला गर्दै दलालतर्फ भाग्दै गर्दा तीन फायर गरी गोली पड्काएको आवाज आयो । सोही ठाउँमा रहेका टेकबहादुर कमलीले मदनराजको हात र गोबिन्दबाबु तिवारीले शरीरमा समातेका थिए । निजहरूले नै मदनराज बिष्टलाई कर्तव्य गरी मारेका हुन् भनी किटानीसाथ लेखाई दिएको देखिन्छ । निजले अदालतमा उपस्थित भै वकपत्र गर्दा मदनराजलाई मैले नचिनेका मानिसहरूले पल्टाई सकेका रहेछन् । तिनीहरूले मलाई पेस्तोल देखाई भाग भनेकाले भागो भन्ने व्यहोरा लेखाई दिएको देखिन्छ । यसरी निजको मौकाको कागजको व्यहोरा र अदालतको बकपत्र समेतमा वारदातस्थलमा निज सन्तबहादुर पुग्दा मृतकलाई विभिन्न व्यक्तिहरूले समाई लडाई सकेको र पेस्तोल देखाई भाग भनेपछि आफू त्यहाँबाट भागेको भनी लेखाएको अवस्थामा सो वकपत्रको व्यहोरा निजको मौकाको कागजको सारभूत कुराको प्रतिकूल नदेखिई मृतकलाई वारदातस्थलमा रहेका प्रतिवादीहरू समेत भै मार्ने क्रममा निजले देखेको वस्तुस्थितिको उल्लेखन गरेको देखिन्छ । पछि अदालतमा गरेको बकपत्रमा स्वभाविक रुपमा केही कुराहरू मात्र सिलसिलेवार रुपमा हु–बहु नमिलेको भन्ने देखिन्छ । आफूसँगै जिल्ला सदरमुकामतर्फ गईरहेका मृतक मदनराज बिष्टलाई वारदातस्थलमा पूर्व योजनाअनुरूप बाटोमा ढुकी बसेका प्रतिवादीहरू लगायतका धेरै व्यक्तिहरू मध्ये को कसले के कस्तो गरी मृतकलाई मारेका हुन् भनी अक्षरशः रुपमा हु–बहु उल्ल्ेख गर्नुपर्ने वा मौकामा गरेको कागज र बकपत्रको व्यहोरामा कत्ति पनि फरक पर्नै नहुने भन्ने अर्थ गर्नु न्यायसँगत हुँदैन । त्यसो गर्ने हो भने कुनै पनि अपराधमा अदालतले कसैउपरको अभियोग पुष्टि हुने आधार सहजै पत्ता लगाउन समेत सक्तैन । अनुसन्धान एवं प्रमाण मूल्याङ्कनको क्रममा देखिएका सामान्य विरोधाभाष वा छिद्रहरूको कुराले फौजदारी कसूरमा संकलित समग्र प्रमाणको महत्वलाई नै समाप्त गर्छ भन्ने अर्थ गर्ने हो भने फौजदारी मुद्दामा हामी कहाँ विद्यमान रहेको अनुसन्धान पद्धतिबाट कुनै पनि अपराधमा अपराधिले सहजै उन्मुक्ति हुने अवसर प्राप्त गर्दछ । जो न्यायको रोहमा उपयुक्त तर्क होइन ।
यस विवादमा मौकामै कागज गर्ने सीता बिष्ट समेतले अदालतमा आई बकपत्र गर्दा मौकाको कागजको व्यहोरालाई खण्डन गरी बकपत्र गरेको विषय र जाहेरवाला ओजराज बिष्टले बकपत्र गर्न अनुपस्थित रहेको कुराले मात्र प्रस्तुत मुद्दामा खडा भएका यावत् प्रमाणहरूलाई निस्तेज वा निष्प्रयोजन बनाउने अवस्था छैन । न्याय निरोपण गर्ने क्रममा अदालतले अनुसन्धानको क्रममा खडा भएका समग्र प्रमाणहरूको स्वतन्त्र परीक्षण र मूल्याङ्कन गर्नुपर्दछ । त्यसमा कुनै सन्देह छैन । तर प्रमाण परीक्षण गर्दा अनुसन्धानको सिलसिलामा खडा भएका त्यस्ता प्रमाणहरूलाई हुबहु समर्थन नगरी अदालतमा बकपत्र गर्ने कुनै पक्षको साक्षीले अन्यथा भनेकै भरमा मात्रै त्यसरी अनुसन्धानको क्रममा संकलन भएका सबै प्रमाणहरूको महत्व समाप्त हुने भन्नु न्यायसंगत हुँदैन । यस विवादमा पनि मृतक मदनराज बिष्टलाई गोली प्रहार गरी घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको तथ्यमा कुनै विवाद छैन । मौकामा पक्राउ परेका सबै प्रतिवादीहरूले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा अभियोग बमोजिमको वारदातमा निजहरूको संलग्नतालाई स्वीकार गरी सावित भै एकअर्कामा पोलापोल गरेको अवस्था छ । सो साविती बयान मुद्दामा संकलित अन्य प्रमाणहरूले सिलसिलेवार रुपमा समर्थित भईरहेको छ । निजहरूले अदालतमा गरेको बयानमा कसूरमा इन्कार हुनुले मात्रै प्रतिवादीहरूको निर्दोषिता प्रमाणित हुन सक्तैन । अधिकारप्राप्त अधिकारीसमक्षको बयान झूठा हो भन्नु मात्रै निर्दोषिताको आधार बन्ने हो भने कुनै पनि प्रतिवादी वा अभियुक्तले अदालतसमक्ष अपराधमा साविती बयान दिने तब मात्र कसूर कायम गर्ने भन्ने कुरा कल्पनातित बन्न जान्छ । प्रतिवादी वा अभियुक्तको ईन्कारी बयान पनि समग्र मुद्दाको संकलित प्रमाणहरूद्वारा समर्थित हुनु पर्दछ । तर यस विवादमा प्रतिवादीहरूले अदालतमा इन्कार भै गरेको बयान पुष्टि हुने कुनै बलियो प्रमाण विद्यमान छैन ।
मृतक मदनराज बिष्टले प्रतिवादीहरू गोविन्दनिधि तिवारी, शेरबहादुर कमली, डिलबहादुर कमली र टेकबहादुर कमली समेतले मिति २०५६।८।२३ मा मलाई मार्नु पर्छ भनी मउपर जाइलागेका र यस अघि पनि पटक पटक यस्तो गरी आएको हुँदा मेरो जीउ ज्यान समेत सुरक्षा गरिपाऊँ भनी मिति २०५६।८।२९ मा प्रहरी चौकी चितीमा निवेदन दिएको भन्ने मिसिलबाट देखिन्छ । सो कुराबाट प्रतिवादी गोविन्दनिधि तिवारी समेतले मृतकलाई धेरै पहिले देखि नै रीसईवी साँधी मार्ने योजना बनाएको भन्ने तथ्यलाई नै पुष्टि गर्दछ । यसका साथै प्रतिवादी गोविन्दनिधि तिवारीका काका नाता पर्ने रामकृष्ण तिवारीलाई कर्तव्य गरी मारेको भन्ने अभियोगमा मुद्दा चली सो मुद्दाको तारिख लिन जाने क्रममा नै मृतक मदनराज बिष्टउपर प्रस्तुत वारदातमा हमला गरी हत्या गरिएको भन्नेमा पनि विवाद छैन । रामकृष्ण तिवारीको हत्या गरेको भन्ने अभियोगमा लमजुङ जिल्ला अदालतमा विचाराधीन कर्तव्य ज्यान मुद्दामा प्रतिवादी रहेका मृतक मदनराज बिष्टलाई प्रतिवादी गोविन्दनिधि तिवारी समेत भै मिति २०५७।५।१९ को राती घर घेरी आक्रमण गर्ने प्रयास गर्दा निजले गुहार मागी सो दिन प्रतिवादीहरू निज मदनराजलाई हमला गर्न असफल भएको र मिति २०५७।५।२३ मा बेंशीशहर तारिख लिन जाँदा कहाँ जालास् भनी धम्की समेत दिएको तथ्य पनि मिसिलको अध्ययनबाट खुल्दछ । यसरी यी प्रतिवादी गोविन्दनिधि तिवारी समेतले मृतक मदनराजलाई मार्नु पर्ने पूर्व रिसईवी साँधी वारदात मिति २०५६।५।२२ मा तारिख लिन गएका बखत नै धौखोलामा पुग्दाको अवस्थामा घेरा हाली छेकी, डोरीले बाँधछाँद गरी प्रस्तुत वारदात घटाएको तथ्य पुष्टि हुन आउँछ ।
यसप्रकार प्रस्तुत मुद्दामा संकलित प्रमाणहरू एवं वारदातको प्रकृति, वारदात गराइएको अवस्था एवं मृतक र प्रतिवादीहरू बीच पहिलेदेखिको शत्रुतापूर्ण सम्बन्ध एवं रीसइवीलगायतका प्रमाण, वस्तुतथ्य एवं परिस्थितिहरूले प्रतिवादीहरू गोविन्दनिधि तिवारी, डिलबहादुर कमली, टेकबहादुर कमली, शेरबहादुर कमली, मोहनबाबु तिवारी, यज्ञबहादुर थापा समेतको संलग्नताबाटै मृतक मदनराज बिष्टको हत्या भएको तथ्य स्थापित भइरहेको देखिँदा यी प्रतिवादीहरूले अभियोग दावीबाट सफाइ पाउने अवस्था देखिएन । तसर्थ अभियोग दावीबमोजिम प्रतिवादी गोविन्दनिधि तिवारीलाई ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वस्व सहित जन्मकैद र अन्य प्रतिवादीहरूलाई सोही महलको १७(३) नं. बमोजिम जनही १ वर्ष कैद हुने ठहर गरेको शुरु लमजुङ जिल्ला अदालतको फैसला सदर गर्नुपर्नेमा नगरी सो फैसला उल्टी गरी सबै प्रतिवादीहरूलाई सफाइ दिने गरेको पुनरावेदन अदालत, पोखराको मिति २०६०।३।१५ को फैसला नमिलेकोले उल्टी गरी शुरु लमजुङ जिल्ला अदालतको फैसला यथावत कायम हुने भनी यस अदालत संयुक्त इजलासका माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठले व्यक्त गरेको राय मनासिव देख्दछु । बहुमत माननीय न्यायाधीशहरूबाट सवै प्रतिवादीहरूले सफाइ पाउने भनी पुनरावेदन अदालत, पोखराबाट भएको फैसला सदर गर्ने गरी यस अदालत संयुक्त इजलासका माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौलाबाट व्यक्त राय सदर हुने ठहर्याएकोमा म सहमत हुन नसकी आफ्नो अल्पमतको छुट्टै राय व्यक्त गरेको छु । मिसिल नियमानुसार गरी बुझाई दिनू ।
इति संवत् २०६८ साल मंसिर १ गते रोज ५ शुभम्–
इजलास अधिकृतः विदुर कोइराला