निर्णय नं. ७७१४ - लागू औषध गाँजा
निर्णय नं.७७१४ ने.का.प.२०६३ अङ्क ६
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री अनूपराज शर्मा
माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा
संवत् २०५९ सालको फौ.पु.नं. ..२८८७
फैसला मितिः २०६३।३।१२।२
मुद्दा:– लागू औषध (गाँजा) ।
पुनरावेदक र प्रतिवादी मकवानपुर जिल्ला मनहरी गा.वि.स. वडा नं. ४ बस्ने पदमबहादुर तितुङ
विरुद्ध
प्रत्यर्थी र वादीः प्र.नि बलिराम यादव समेतको प्रतिवेदनले नेपाल सरकार
§ पुनरावेदक कसूरमा संलग्न रहेका भनी अनुसन्धान क्रममा बयान गर्दा सहअभियुक्तले गरेको पोल मात्रलाई यी पुनरावेदकलाई कसूरदार ठहर गर्ने पर्याप्त प्रमाण मान्न नमिल्ने ।
§ प्रतिवादी पदमबहादुर समेतलाई बारदातका दिन पक्राउ गरेको भनी बकपत्र गरेको भएपनि यी प्रतिवादीको अनुसन्धान क्रममा बयान नभएको र निजलाई पक्राउ गरेको भन्ने जिल्ला प्रहरी कार्यालयको पत्र भएबाट प्रतिवेदक प्रहरीहरुको सो भनाई प्रमाण ग्राह्य नदेखिने ।
§ अदालतले एउटै तथ्यलाई एक मुद्दामा मान्यता दिनु र अर्को मुद्दामा मान्यता नदिनु न्यायपूर्ण हुन नसक्ने ।
§ अदालतमा इन्कारी बयान गर्ने सह अभियुक्तले अनुसन्धान क्रममा गरेको पोल बाहेक पुनरावेदक विरुद्ध प्रमाण लाग्ने ठोस सबुद मौजुद नरहेको, प्रतिवेदक प्रहरीहरुले पनि अदालतमा बकपत्र गर्दा यी पुनरावेदकलाई गडाउ गर्न नसकेको अवस्थामा अभियोग दावीबमोजिम कसूर गरेको ठहराएको जिल्ला अदालतको इन्साफ सदर गरेको पुनरावेदन अदालतको फैसला मिलेको नदेखिने ।
(प्रकरण नं.३४)
पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री बाबुराम दाहाल
प्रत्यर्थी वादी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री अमृतबहादुर वस्नेत
अवलम्वित नजीरः
फैसला
न्या.अनुपराज शर्माः पुनरावेदन अदालत हेटौंडाबाट २०५८।१२।२५।१ मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(ख) बमोजिम मुद्दा दोहोर्याई हेर्ने आदेश भै दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ:–
२. जि.म.मनहरी गा.वि.स. वडा नं. ४ सिमपानी स्थित पूर्व रामबहादुर ढकालको घर, पश्चिम शेषकान्त कालाखेतीको घर, उत्तर महेन्द्र राजमार्ग, दक्षिण कृष्णप्रसाद कालाखेतीको जग्गा यती ४ किल्ला भित्र १० × १५ फिटको १ तले गाई बाध्ने कृष्णप्रसाद कालाखेतीको गोठबाट मिति २०५४।६।९ गते जुटको बोरामा राखेको ५ बोरा गांजा बरामद भएको भन्ने समेत व्यहोराको बरामदी मुचुल्का ।
३. मिति २०५४।६।९ गते बेलुका ७ :३० बजेको समयमा कृष्णप्रसाद कालाखेतीको गोठ खान तलासी गर्दा ५ बोरामा ११० के.जी. अवैध लागू औषध फेला परेकोले कृष्णप्रसाद कालाखेती समेत जना ५ लाई यसै प्रतिवेदन साथ दाखिला गरेको छु । कानून बमोजिम गरिपाऊँ भन्ने समेत व्यहोराको प्र.नि. बलिराम यादव समेतको प्रतिवेदन ।
४. ११० के.जी. गांजा मध्येबाट परीक्षणको लागि स्याम्पल झिकी बांकी रहेको गांजा नष्ट गरिएको भन्ने समेत व्यहोराको मुचुल्का ।
५. मिति २०५४।६।८ गते कालिकाटार गा.वि.स.वडा नं. १ बस्ने हरिशरण कालाखेतीको घरबाट ४ बोरा गांजा झिकी निकाली म समेतले बांकी रामचन्द्र कालाखेतीको घरमा रातारात पुर्याएको र कृष्णप्रसाद कालाखेतीलाई उठाई सोद्धा गोठमा लगि परालले छोपी राख भनि कृष्णप्रसाद कालाखेतीले भनेपछि गोठमा लगि राखेको हुं भन्ने समेत व्यहोराको गणेश बहादुर प्रजाको बयान कागज ।
६. मिति २०५४।६।९ गते रामचन्द्र कालाखेती र पदमबहादुर तितुङ समेत जना २ ले हामीले गांजा किनेका छौं । तिमीहरुलाई दशै खर्च दिन्छौ बोकी हिंड भनेपछि हरिशरण कालाखेतीको घरबाट २०।२० के.जी.को ४ बोरा गांजा बोकी आई हरिशरणले आफ्नो बाबु कृष्णप्रसादलाई उठाएपछि सबै गांजाको भारी गोठमा लुकाई राख भनेपछि सो बोकी ल्याएको गांजा गोठमा लगि राखेका हौं भन्ने समेत व्यहोराको प्रतिवादी जनकबहादुर कार्कीको बयान कागज ।
७. मिति २०५४।६।८ गते रामचन्द्र कालाखेती र पदमबहादुर तितुङ २ जना मिलि आज हाम्रो गांजा लानु छ दशै खर्च दिन्छौं बोकी हिंड भनेपछि हरि बरण कालाखेतीको घरबाट १।१ बोरा हामी ४ जनाले बोकी रातारात ल्याई रामचन्द्र कालाखेतीको बाबु कृष्णप्रसाद कालाखेतीलाई उठाई सोद्धा गोठमा लगी लुकाई राख भनेपछि हामीले बोकी ल्याएको ४ बोरा गांजा लुकाई राखेका हौं भन्ने समेत व्यहोराको कृष्णबहादुर प्रजाको बयान कागज ।
८. मिति २०५४।६।९ गते रामचन्द्र कालाखेती आई हरिशरण कालाखेतीको घरमा गांजा छ बोकी जाउं भनेपछि म समेत भई गांजा बोकी ल्याई गांजा बरामद भएको गोठमा लुकाई राखेका हौं भन्ने समेत व्यहोराको बलराम मैनालीको बयान कागज ।
९. मिति २०५४।६।९ गते ५ बोरा गांजा मेरा गाई बाध्ने गोठबाट प्रहरीले बरामद गरेको हो, बरामद गर्दा बलराम मैनाली समेतले ४ बोरा लुकाई राखेको गांजा बोकी ल्याएका थिए, १ बोरा गांजा रामचन्द्र र हरिशरण कालाखेतीले ल्याई राखेको हुनुपर्छ भन्ने समेत व्यहोराको कृष्णप्रसाद कालाखेतीको बयान कागज ।
१०. रामचन्द्र कालाखेती र पदमबहादुर तितुङ भन्ने मानिस पहिलादेखि नै गांजाको कारोवार गर्ने व्यक्ति हुन । वारदातको मिति समयमा ५ बोरा गांजा कृष्णप्रसाद कालाखेतीको गोठबाट बरामद भएको हो भन्ने समेत व्यहोराको कर्णबहादुर थापाको कागज ।
११. पदमबहादुर तितुङ र रामचन्द्र कालाखेती यस भन्दा पहिलादेखि नै गांजाको कारोवार गर्ने व्यक्ति हुन्, पदमबहादुर तितुङ यस घटनामा संलग्न छ, छैन सो कुरा मलाई थाहा छैन । रामचन्द्र कालाखेतीले ल्याई लुकाई राखेको भन्ने समेत व्यहोराको पूर्णबहादुर सुनारको कागज ।
१२. पदम र रामचन्द्रहरु पहिलादेखि नै गांजाको कारोवार गर्ने मानिस हुन् । निजहरु जना २ को सर सल्लाहबाट मिति २०५४।६।९ गते बरामद भएको गांजा राखेको हुन सक्छ भन्ने समेत व्यहोराको पार्वती थापाको कागज ।
१३. प्रतिवादी कृष्णप्रसाद कालाखेती, पदमबहादुर तितुङ, हरिशरण कालाखेती, कृष्णबहादुर प्रजापति, जनक कार्की, बलराम मैनाली, गणेशबहादुर प्रजा, रामचन्द्र कालाखेती समेतले लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(क) को कसूर गरेको हुनाले ऐजन ऐनको दफा १४(१)(घ)(५) अनुसार सजायँको माग दावी गरिन्छ । लागू औषध गांजा बरामद भएको गोठ जग्गा ऐजन ऐनको दफा १५ अनुसार जफत हुने माग दावी गरि फरार प्रतिवादीहरुलाई कानून बमोजिम म्याद जारी गर्न अनुरोध गर्दै पक्राउमा परेका प्रतिवादी कृष्णप्रसाद कालाखेती, कृष्ण प्रजा, जनक कार्की, बलराम मैनाली, गणेशबहादुर प्रजा र सक्कल मिसिल यसै अभियोग पत्र साथ पेश गरिएको व्यहोरा अनुरोध छ भन्ने समेत व्यहोराको अभियोग पत्र ।
१४. मिति २०५४।६।९ गते कृष्णप्रसाद कालाखेतीको घरमा म पहिला पहिला पनि काम गर्ने गर्थे। त्यस दिनपनि म कृष्णप्रसाद कालाखेतीको घरमा घरेडी सम्याई जग हाल्ने भनि निजको घरमा आएको थिएं । त्यसदिन बेलुका राती कृष्णप्रसाद कालाखेतीको घरको पालीमा म कृष्णबहादुर प्रजा, बलराम मैनाली गणेशबहादुर प्रजा समेत जना ४ त्यही सुत्यौं । राती अं. ८ बजे बजेतिर प्रहरीहरु गई हामीहरुलाई गांजा यिनकै हो भनी समातेर ल्याए । सजाय माग दावी झुठ्ठा हो हामीहरुले गांजा ल्याएको होइन । अभियोग दावी बमोजिम सजाय पाउनु पर्ने भन्ने समेत व्यहोराको प्रतिवादी जनक कार्कीले शुरु जिल्ला अदालतमा गरेको बयान ।
१५. मैले गांजा बोकी ल्याएको होइन, ज्यामिरे भन्ने ठाउंमा ज्याला गर्न भनि म कृष्णबहादुर प्रजा, बलराम मैनाली, जनक कार्की आएको कृष्णप्रसाद कालाखेतीका घरमा पहिला पहिला पनि आएर ज्याला काम गर्ने गरेको थियो, यो पल्टपनि काम छ कि भनेर आयौं । रात पर्यो। त्यही कृष्णप्रसाद कालाखेतीको घरमा रोटी तरकारी खाई उसैका घर बाहिर छिडीमा सुति रहेका थियौं । राती–बेलुका ६ बजेतिर प्रहरीहरु आई बुटले हिर्कायो । लछार पछार ग¥यो ५ बोरा गांजा कांहाबाट निकाल्यो काहांबाट थाहा नै पाइएन । अनि त्यो गांजा र हामीलाई भेनमा राखेर ल्याएको हो गांजा बोकेको होइन । उसै परेको हो मलाई सजाय हुनु पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी गणेशबहादुर प्रजाले शुरु जिल्ला अदालतमा गरेको बयान ।
१६. म काम गरी खाने मानिस भएको हुंदा मिति २०५४।६।९ गते मनहरी तर्फ गएको थिएँ र कृष्ण कालाखेतीको घरमा पुग्दा रात परेको हुंदा र निजलाई पहिलादेखि चिने जानेको मानिस भएको र निजको खेतीपातीको काम गर्न पहिला पनि जाने गरेको हुंदा निज कृष्णप्रसाद कालाखेतीको घरमा बास मागी घरको पिडीमा सुतेका थियौं । त्यतिकैमा प्रहरीहरु आई हामीलाई गणेशबहादुर, जनकबहादुर बलराम मैनाली समेतलाई उठाई काहांबाट ५ बोरा गांजा ल्याई यिनीहरुले नै यो गांजा ल्याएको हो भनि हामीहरु जना ४ (चार) लाई घोक्रयाई मुन्ट्याई गरि प्रहरीले भ्यानमा राखी गांजा सहित हामीहरुलाई पक्राउ गरि ल्याएको हो । उक्त गांजा हामीले बोकी ल्याएको होइन । दावी बमोजिम मैले सजायँ पाउनु पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी कृष्णबहादुर प्रजाले शुरु जिल्ला अदालतमा गरेको बयान ।
१७. मेरो गोठबाट बरामद भएको गांजा मैले राखेको होइन र मैले कसैलाई पनि गांजा राख्न दिएको पनि छैन सो गोठमा कहिलेदेखि कसले गांजा राखेको थियो भन्ने कुरा समेत मलाई थाहा थिएन । प्रहरी कर्मचारीहरु गएर गांजा बरामद गरेपछि मात्र मेरो गोठमा गांजा राखेको रहेछ भन्ने कुरा थाहा पाएको हं । उक्त गांजा मैले राखेको होइन र कसले राख्यो भन्ने कुरा समेत थाहा छैन । अभियोग माग दावी झुठ्ठा हो दावी बमोजिम सजाय पाउनु पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी कृष्णप्रसाद कालाखेतीले शुरु जिल्ला अदालतमा गरेको बयान ।
१८. म लगायत जनक कार्की, कृष्णबहादुर प्रजा, गणेशबहादुर प्रजा समेत ४ जना ज्याला बनिय कामको सिलसिलामा मिति २०५४।६।९ गते बिहान कालिकाटार गा.वि.स.वडा नं. १ हाम्रो घरबाट हिंडी ऐजन दिनको ३ बजेतिर मनहरी गा.वि.स.वडा नं. ४ मा पर्ने कृष्णप्रसाद कालाखेतीको घरमा आई पुगी कृष्णबहादुर कालाखेतीलाई पहिलादेखि नै चिनेको मानिस हुंदा कृष्णबहादुरले आज यही बस गाउंतिर घरेडी खन्न जग हाल्ने काम छ, भोलीबाट काम गरौंला भनि त्यही घरमा सुतेको थिएं । सोही अवस्थामा पुलिसहरु आई घर गोठ खान तलासी गरी हामीहरु घरको पालीमा सुतिरहेको बेला उठाई निज प्रतिवादी कृष्णप्रसाद कालाखेतीको गोठमा गांजा बोक्ने यिनीहरु नै हुन भनि हामीलाई प्रहरी गाडीमा हालेको हो । उक्त गांजा को कसले गोठमा राखे मलाई केही थाहा छैन । अभियोग माग दावी झुठ्ठा हो । दावी बमोजिम सजाय पाउनु पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी बलराम मैनालीले शुरु जिल्ला अदालतमा गरेको बयान ।
१९. अभियोग दावी अनुसारको कसूर मैले गरेका छैन गांजा काहांबाट बरामद भयो कति बरामद भयो सो कार्यमा को को संलग्न थिए, मलाई केही थाहा छैन । मिति २०५४ साल आश्विन ८ गतेदेखि मेरो हजुरआमा कान्छीमाया तितुङको काजकृया गर्नु पर्ने भएको हुंदा र हाम्रो परम्परा अनुसार मृत्यु भएको व्यक्तिको ४ दिन काजकृया गर्नु पर्ने भएको हुंदा २०५४ साल आश्विन ८ गतेदेखि ऐ १२ गतेसम्म कृयामा बसेको छु । कृया समाप्त भएपछि अफिसमा गएर कामकाज गरि रहेकै थिए । सोही अवस्थामा मिति २०५४।६।१४ गते मात्र पक्राउ गरेको हो । तसर्थ म गांजा बोक्न समेत गएको छैन र सो कसूरमा मेरो कुनै संलग्नता नभएको हुंदा म उपर लगाइएको अभियोग दावी सम्पूर्ण झुठ्ठा हो । दावी बमोजिम मैले सजाय पाउनु पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी पदमबहादुर तितुङले शुरु जिल्ला अदालतमा गरेको बयान ।
२०. हाम्रो घरबाट प्रहरीले गांजा पक्राउ गर्दा म घरमा थिइन, म त्यो समयमा काठमाडौं कलंकीमा तरकारी व्यापार गरी बसेको थिए । गांजा प्रहरीले घरबाट पक्राउ गरेको कुरा ४,५ दिनपछि खवर गएपछि थाहा पाएं मेरो बुबा कृष्णप्रसाद कालाखेती पनि पक्राउ पर्नु भएको कुरा पनि थाहा पाएँ । त्यसको लगतै वडा दशै आंदैछ दशैमा घर गएर सबै कुरा सोधनी गर्दा हाम्रो गोठबाट गांजा बरामद गरी बुबा कृष्णप्रसाद कालाखेतीलाई समेत रातको ७,८ बजेको समया पक्राउ गरी लग्यो त्यो गांजा कसले कहांबाट कसरी ल्याए केही थाहा भएन भनि परिवारले मलाई भनेपछि थाहा पाएको हो । गांजा मैले ल्याएर राख्न लगाएको होइन । हाम्रो परिवारमा गांजाको काम गर्ने कोही छैन । म माथि लगाइएको अभियोग दावी बमोजिम मलाई सजाय हुनु पर्ने होइन । म माथि लगाइएको आरोप सरासर झुठ्ठा हो भन्ने समेत व्यहोराको प्रतिवादी राम चन्द्र कालाखेतीले म्यादमा हाजिर भै शुरु जिल्ला अदालतमा गरेको बयान ।
२१. प्रतिवादी हरिशरण कालाखेतीका नाउँमा शुरु अदालतबाट जारी भएको म्याद पूर्जी २०५४।०७।२९ मा तामेल भै म्याद गुजारी बसेको ।
२२. यसमा प्रतिवादी रामचन्द्र कालाखेती र पदमबहादुर तितुङ भै हरि शरण कालाखेतीको घरबाट ४ बोरा गांजा खरीद गरी अन्य प्रतिवादीहरुलाई ज्याला दिई बोकाई कृष्णप्रसाद कालाखेतीको कि.नं. ८२ को गोठ घरमा लुकाएको र बरामद गर्दा ५ बोरा गांजा भेटिएबाट यी प्रतिवादीहरु गांजाको कारोवार ओसार पसार र संचय गर्ने व्यक्ति देखिंदा निज कृष्णप्रसाद कालाखेती, रामचन्द्र कालाखेती र पदमबहादुर तितुङको कार्य लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा ४(क) को कसूर देखिंदा निजहरु ३ जनालाई उक्त ऐनको दफा १४(१)(घ) ५ अनुसार जनही २ वर्ष ६ महिनाको दरले कैद सजाय र रु. २५,०००।– का दरले जरिवाना भै ऐ.को दफा १५ अनुसार गांजा राखेको गोठ घर र सो घरले चर्चेको जग्गासम्म जफत हुने ठहर्छ साथै प्रतिवादीहरु कृष्णबहादुर प्रजा, जनक कार्की, बलराम मैनाली र गणेशबहादुर प्रजालाई सोही कसूरमा २ वर्ष कैद र १५,०००।– रुपैयां जरिवाना हुने ठहर्छ भन्ने समेत व्यहोराको शुरु मकवानपुर जिल्ला अदालतबाट मिति २०५७।२।३२ मा भएको फैसला ।
२३. मैले अभियोग दावी बमोजिमको कसूर गरेको कुरामा पूर्णतया इन्कारी रही गरेको बयानलाई प्रमाणित हुने गरी मेरा साक्षीहरुले अदालत समक्ष आई बकपत्र गरिदिएको तथा म दोषि हो भन्ने कुरा मनासिव कारण प्रमाण समेत केही नहुंदा मलाई दोषि करार गर्दै सजाय समेत गर्ने गरी फौजदारी न्याय सिद्धान्त विपरीत भएको शुरु फैसला कानून न्याय सम्मत नहुंदा उक्त फैसला बदर गरी अभियोग दावीबाट सफाई पाउँ भन्ने समेत व्यहोराको पदमबहादुर तितुङ, रामचन्द्र कालाखेती र कृष्णप्रसाद कालाखेती समेतले पुनरावेदन अदालतमा गरेको पुनरावेदन ।
२४. पुनरावेदक प्रतिवादी रामचन्द्र कालाखेती कसूरमा इन्कारी रहेको र निजको संलग्नता संकलित प्रमाणबाट प्रमाणित भई नरहेको तथा पुनरावेदक प्रतिवादी पदमबहादुर तितुङ २०५४।६।९ को बरामदी मुचुल्काको गांजा सम्बन्धमा चलेको अर्को मिसिलबाट सफाई पाएको देखिंदा प्रमाण मूल्यांकनको रोहमा शुरु फैसला फरक पर्नसक्ने हुंदा पु.स.व.का. हेटौंडालाई पेशीको सूचना दिई पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालतबाट भएको आदेश ।
२५. गांजा आफ्नो घर गोठबाट बरामद भएको कुरा प्र. कृष्णप्रसादले स्वीकार गरिरहेको तर सो गांजा ओसार पसार तथा संचय गर्ने कार्य आफूले नगरी निर्दोष रहेको भनी प्र. कृष्णप्रसाद कालाखेतीले बयान गरेतापनि निजका साक्षीले गांजा बरामद नै भएको होइन भनि प्रतिवादीको गांजा बरामदी सम्बन्धमा भएको स्वीकारोक्ती कुरालाई खण्डन गरी प्रतिवादीको बयान जिकिरलाई समर्थन हुने गरी बकपत्र गर्न सकेको पनि पाइदैन । कसूर वारदातमा प्रतिवादी रामचन्द्र कालाखेती पनि संलग्न थियो भनि सह–अभियुक्तहरुले भन्नु पर्ने कारण सम्मपनि निजले खुलाउन सकेको देखिंदैन । अर्का प्रतिवादी पद्मबहादुर तितुङ वारदात समयमा आफू हजुरआमाको काजक्रियामा रहेको भनि जिकिर लिएपनि त्यस्को प्रमाणित आधार दिन वा देखाउन नसकेको अवस्थामा उनी कृयामा रहेको भनी मान्न मिल्ने देखिएन । अतः उल्लेखित आधार प्रमाण एवं शुरु अदालतले लिएको बुंदा प्रमाण समेतबाट शुरु मकवानपुर जिल्ला अदालतले प्रतिवादीहरुलाई लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(क)को कसूरमा ऐ.को दफा १४(१)(घ) ५ नं. अनुसार कैद सजाय गर्ने गरेको र ऐ.को दफा १५ नं. बमोजिम गोठघर र सो घरले चर्चेको जग्गासम्म जफत हुने ठह–याई गरेको मिति २०५७।२।३२ को फैसला मनासिव देखिंदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीहरुको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत पुनरावेदन अदालत हेटौंडाबाट भएको २०५८।१२।२५।१ को फैसला ।
२६. प्रस्तुत मुद्दामा २०५४।६।९ को वारदात मिति देखाई मलाई सजाय भएको छ । सोही मितिको वारदात देखाई म उपर चलेको अर्को लागू औषध मुद्दामा म अन्यत्रै रहे बसेको भन्ने आधारमा मैले सफाई पाउने गरी ०५६।९।२१ मा मकवानपुर जिल्ला अदालतबाट फैसला भएको छ । सो मुद्दामा मलाई सफाई दिंदा म क्रियामा बसेको भन्ने आधार अदालतबाट लिइएको छ । तर यस मुद्दामा अर्को मुद्दामा पुष्टि भै सकेको प्रमाणलाई प्रमाणमा नलिई भएको फैसला त्रूटिपूर्ण भएको छ । बरामदी गाँजा सहित रंगे हात मलाई पक्राउ गरेको अवस्था छैन । मैले लागू औषधको बिक्री, वितरण, ओसार पसार, संचय इत्यादि गरेको भन्ने कुराको तथ्ययुक्त प्रमाण वादीबाट पेश हुन सकेको छैन । म २०५४।६।८ देखि ऐ १२ गतेसम्म लगातार चारदिन हजूर आमाको क्रियामा बसेको कुरा अदालतको बयानमा उल्लेख गरेको छु । सो कुरा मेरा साक्षीको बकपत्रबाट दुष्टि भएको अवस्थामा सो कुरा प्रमाणमा नलिई भएको शुरु तथ्य पुनरावेदन तहको फैसलामा प्रमाण ऐन, २०३१ दफा ३ र ५४ समेतको त्रूटि भएको छ । अदालत समक्ष बकपत्र गर्ने प्रतिवेदकहरु समेतले मेरो संलग्नता देखाउन सकेका छैनन् । तसर्थ मलाई सजाय गर्ने गरेको शुरु जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला न्याय प्रशासन ऐन २०४८ को दफा १२(१)(क) र (ख) मुद्दा दोहोर्याई हेरी पाउँ भन्ने प्रतिवादी पदमबहादुर तितुङको यस अदालतमा परेको निवेदन ।
२७. प्रतिवादी निवेदकलाई सह अभिव्यक्तको पोलसम्मको आधारमा आरोपित कसूर गरेको ठहर्याई सजाय गरेको शुरु जिल्ला अदालतको फैसला यस अदालतबाट ने.का.प. २०४९ अंक ५ नि.नं. ४५४५, पृष्ठ ५०२ मा प्रतिपादित सिद्धान्त विपरीत देखिदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा १ को खण्ड (ख) का आधारमा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने समेत यस अदालतबाट २०५९।५।३।५ मा भएको आदेश ।
२८. नियम बमोजिम पेशी सूचिमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन जिकिर लगायत सम्पूर्ण मिसिल अध्ययन गरी पुनरावेदनका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री बाबुराम दाहाल तथा प्रत्यर्थी तर्फबाट उपस्थित विद्वान उपन्यायाधिवक्ता श्री अमृतबहादुर वस्नेतले गर्नु भएको वहस समेत सुनि विचार गर्दा यसमा प्रतिवादी पदमबहादुर तितुङको हकमा पुनरावेदन अदालतबाट भएको इन्साफ मिले नमिलेको के रहेछ सो सम्बन्धमा निर्णय दिनु पर्ने हुन आयो ।
२९. निर्णयतर्फ बिचार गर्दा प्रस्तुत मुद्दामा पुनरावेदक पदमबहादुर तितुङ समेत उपर लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(क) को कसूरमा ऐ. ऐनको दफा १४(१)(घ) (५) अनुसार सजायँ हुन माग दावी लिएकोमा निजलाई अभियोग दावी बमोजिमको कसूरमा २ वर्ष ६ महिना कैद र २५०००।– जरिवाना हुने गरी भएको शुरु जिल्ला अदालतको फैसला पुनरावेदन अदालत हेटौंडाबाट सदर भए उपर प्रतिवादीको निवेदन बमोजिम प्रस्तुत पुनरावेदन दायर हुन आएको देखियो ।
३०. पुनरावेदन अदालतको फैसला हेर्दा प्रतिवादी पदमबहादुर तितुङले प्रतिवादी हरिशरणको घरमा भएको गांजा बोक्न लगाई कृष्णप्रसाद कालाखेतीको गोठमा पुर्याएको भनी अनुसन्धान क्रममा सह अभियुक्तहरुले गरेको बयानबाट देखिएको र प्रतिवादीले वारदात समयमा आफू हजूर आमाको काजक्रियामा रहेको जिकीर लिएपनि त्यसको प्रमाणिक आधार दिन नसकेको भन्ने आधारमा कसूरदार ठहर्याएको देखिन्छ ।
३१. ०५४।६।९ गते साँझ अं. ७:३० बजेका समयमा प्रतिवादीहरु मध्ये कृष्णप्रसाद कालखेतीको गोठबाट ५ वटा बोरामा ११० के.जी. गाँजा सहित प्रतिवादीहरु कृष्णप्रसाद कालाखेती, गणेशबहादुर प्रजा, जनकबहादुर कार्की कृष्णबहादुर प्रजा र बलराम मैनाली पक्राउ परेको आधारमा कारवाही शुरु भएको छ । अनुसन्धान क्रममा बयान गर्दा प्रतिवादीहरु मध्ये कृष्णबहादुर प्रजा र जनकबहादुर कार्कीले यी पुनरावेदक पदमबहादुर तितुङ समेतले सो गाँजा हरि शरणको घरबाट कृष्णप्रसाद कालाखेतीको घरसम्म पुर्याई दिन भनेकोले हामीले वोकी ल्याएका हौं भनी उल्लेख गरेको सम्म देखिन्छ । तर ती प्रतिवादीहरुले अदालत समक्ष बयान गर्दा कसैलाई पोल गरेको पाइदैन । सो गाँजा बोकि ल्याउने भनीएका प्रतिवादीहरु बलराम मैनाली र गणेशबहादुर प्रजाको मौकाको बयानमा पदमबहादुरले अह्राएर सो गाँजा बोकेको भन्ने उल्लेख छैन । प्रतिवादी पदमबहादुरले आफ्नो गोठमा गांजा राख्न लगाएको भन्ने कुरा प्रतिवादी कृष्णप्रसाद कालाखेतीको मौकाको बयान पनि उल्लेख छैन। २०५४।६।८ को राती गाँजाको वोरा सहित प्रतिवादी कृष्णप्रसादको घरमा आउने व्यक्तिहरु भनी प्रतिवादी रामचन्द्र सहित अन्य व्यक्तिको नाम निज कृष्णप्रसादले मौकाको बयानमा उल्लेख गरेपनि यी पदमबहादुरको नाम उल्लेख भएको देखिदैन । यस्तो अवस्थामा यी पुनरावेदक कसूरमा संलग्न रहेका भनी अनुसन्धान क्रममा बयान गर्दा सह अभियुक्तले गरेको पोल मात्रलाई यी पुनरावेदकलाई कसूरदार ठहर गर्ने पर्याप्त प्रमाण मान्न मिल्ने देखिएन ।
३२. गाँजा बरामद गर्ने प्रतिवादीहरुमध्ये हरिबहादुर खड्का, अशोक कुमार श्रेष्ठ बलिराम, भरतबहादुर थापा समेतले अदालतमा बकपत्र गर्दा सो बारदातमा प्रतिवादी पदमबहादुरको संलग्नता रहेको भनी कसैले पनि उल्लेख गर्न सकेको देखिंदैन । अन्य प्रतिवेदक साक्षीहरु मीनबहादुर पाख्रिन र विश्वनाथ सिंहले प्रतिवादी पदमबहादुर समेतलाई बारदातका दिन पक्राउ गरेको भनी बकपत्र गरेको भएपनि यी प्रतिवादीको अनुसन्धान क्रममा बयान नभएको र निजलाई ०५४।६।१५ मा मात्र पक्राउ गरेको भन्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरको पत्र भएबाट निज प्रतिवेदक प्रहरीहरुको सो भनाई उल्लेखित पत्रका आधारमा प्रमाण ग्राह्य देखिएन ।
३३. प्रतिवादी पदमबहादुर तितुङ अदालतमा उपस्थित भै बयान गर्दा आफूले बरामद भएको गाँजा बोक्न लगाएको भन्ने लगायत अभियोग दावीमा इन्कार रही बयान गर्नुका साथै २०५४।६।८ देखि ऐ. १२ गते हजूरआमाको काजक्रियामा रहेको उल्लेख गरेका छन् । सो कुरा समर्थन हुने गरी निजका साथी रामचन्द्र वर्तालाले अदालत समक्ष बकपत्र गरेको देखिन्छ । प्रस्तुत मुद्दाकै वारदात मिति २०५४।६।९ को वारदातका सम्बन्धमा बलिराम यादवको जाहेरीले वादी श्री ५ को सरकार प्रतिवादी पद्मबहादुर तितुङ समेत भएको लागू औषध गांजा मुद्दा २०५६।९।२१।४ मा मकवानपुर जिल्ला अदालतबाट फैसला हुंदा यी पुनरावेदक २०५४।६।८ देखि हजूर आमाको क्रिया बसेको भन्ने तथ्यलाई मान्यता दिई सो कुरा प्रमाणमा लिएर यी पुनरावेदकलाई सफाई दिएको देखिन्छ । तर प्रस्तुत मुद्दामा भने सो तथ्यलाई मान्यता नदिएको शुरु मकवानपुर जिल्ला अदालतको फैसलालाई पुनरावेदन अदालतले सदर गरेको पाइयो । अदालतले एउटै तथ्यलाई एक मुद्दामा मान्यता दिनु र अर्का मुद्दामा मान्यता नदिनु न्यायपूर्ण हुन सक्दैन ।
३४. उल्लेखित विवेचनाबाट अदालतमा इन्कारी बयान गर्ने सह अभियुक्तले अनुसन्धान क्रममा गरेको पोल बाहेक पुनरावेदक विरुद्ध प्रमाण लाग्ने ठोस सबुद मौजुद नरहेको, प्रतिवेदक प्रहरीहरुले पनि अदालतमा बकपत्र गर्दा यी पुनरावेदकलाई गडाउ गर्न नसकेको अवस्थामा यी पुनरावेदकलाई अभियोग दावी बमोजिम कसूर गरेको ठहराएको मकवानपुर जिल्ला अदालतको इन्साफ सदर गरेको पुनरावेदन अदालत हेटौंडाको २०५८।१२।२५।१ को फैसला मिलेको नदेखिंदा उल्टी हुने ठहर्छ । अरुमा तपसील बमोजिम गरी मिसिल नियमानुसार बुझाई दिनु ।
तपसील
प्रतिवादी पदमबहादुर तितुङलाई २ वर्ष ६ महीना कैद र रु.२५,०००।– (पच्चीस हजार रुपैयां) जरिवाना हुने ठहरेको शुरु जिल्ला अदालतको इन्साफ सदर गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला उल्टी हुने ठहर भएकोले प्रतिवादी पदमबहादुर तितुङका हकमा शुरु र पुनरावेदन अदालतको फैसला बमोजिम राखेको कैद र जरिवानाको लगत कट्टा गरिदिनु भनी शुरु मकवानपुर जिल्ला अदालतमा लेखिपठाउनु .......... १
प्रतिवादी पदमबहादुर तितुङले पुनरावेदन अदालत हेटौंडामा पुनरावेदन गर्दा अ.वं. १९४ नं. बमोजिम जमानत वापत राखेको राममाया स्याङतान नाउ दर्ताको जि.म. ज्यामिरे गा.वि.स.वडा नं. ३ कि.नं. ६१० को ज.वि.०–१–० जग्गा नै यस अदालतमा पनि जमानत वापत राखेको देखिएको र निज प्रतिवादीले सफाई पाउने ठहरेकाले उक्त जग्गाको रोक्का फुकुवा गरिदिन सम्बन्धित मालपोत कार्यालयमा लेखि पठाउनु भनी मकवानपुर जिल्ला अदालतमा लेखि पठाउनु । साथै उक्त जग्गाको कागजात सम्बन्धितलाई फिर्ता दिनु भनी पुनरावेदन अदालत हेटौंडालाई लेखि पठाउनु .............१
उक्त रायमा सहमत छु ।
न्या.दामोदरप्रसाद पराजुली
इति संवत् २०६३ साल असार १२ गते रोज २ शुभम् .....................।