शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८२९५ - अपुताली हक कायम ।

भाग: ५२ साल: २०६७ महिना: बैशाख अंक:

निर्णय नं. ८२९५        वैशाख, २०६७

 

सर्वोच्च अदालत संयुक्त इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री अनूपराज शर्मा

माननीय न्यायाधीश श्री तपबहादुर मगर

दे.पु.नं. ०६३CI०३७१

फैसला मितिः २०६६।९।२९।४

 

मुद्दा: अपुताली हक कायम 

 

पुनरावेदक/वादीः उदयपुर जिल्ला जोगिदह गा.वि.स.वडा नं.६ बस्ने दुर्गीदेवी चौधरी थारू

विरुद्ध

प्रत्यर्थी/प्रतिवादीः ऐ.त्रियुगा नगरपालिका वडा नं. ५ बस्ने रामकुमारी चौधरी थारू समेत

 

यस अघि निर्णय गर्ने:

जि.न्या. श्री शिवप्रसाद पराजुली

पुनरावेदन निर्णय गर्ने:

मा.न्या. श्री तर्कराज भट्ट

मा.न्या. श्री गौरीबहादुर कार्की

 

§  बाबु वा छोराको अपुताली पर्ने सम्पत्तिमा जे जस्तो हक हिस्सा रहन सक्थ्यो, त्यसरी नै निजहरूका छोरीहरूले प्राप्त गर्नु पर्दछ भन्ने तर्कले अपुतालीभन्दा पनि बढी अंशबण्डाको कानूनसँग सामिप्यता राख्ने 

§  बाबु र छोराका छोरीहरू दुवैको समान तरिकाले अपुताली हक कायम नहुने विधायिकाको मनसाय रहेको भए सो कुरा प्रष्ट रुपले अभिव्यक्त हुनु सहज र स्वभाविक मान्न सकिन्छ । जव कानूनको त्यस्तो विशेष अवस्था जनाउने उद्देश्य हुन्छ त्यो प्रष्ट रुपमा अभिव्यक्त हुन्छ । तर विवादित कानूनमा त्यस्तो विशेष (Special) अभिव्यक्ति नभई दुवैले बाँडी खान पाउँछन् भन्ने सामान्य (General) वाक्यांशको प्रयोग भएको देखिँदा त्यसको आशय बाबु र छोराका छोरीले बराबर बाँडी खान पाउने हो भन्ने निष्कर्षमा पुग्नु सहज र स्वाभाविक हुने 

§  कानूनमा प्रयुक्त भाषाले जे जस्तो अर्थ अभिव्यक्त गरिरहेको हुन्छ, त्यसलाई सोही रुपमा ग्रहण गर्नु स्वाभाविक र न्यायोचित हुन जाने 

(प्रकरण नं.६)

 

पुनरावेदक/वादी तर्फबाटः विद्वान अधिवक्ता श्री सुरेन्द्रकुमार खडका

प्रत्यर्थी/प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री हरिप्रसाद भण्डारी

अवलम्वित नजीरः

सम्बद्ध कानूनः

o   मुलुकी ऐन, अपुतालीको ४ नं.

 

फैसला

प्र.न्या.अनूपराज शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम पुनरावेदन अदालत राजविराजको मिति २०६१।११।१६ को फैसला दोहो¥याई हेरिपाऊँ भनी वादी दुर्गीदेवी चौधरीको यस अदालतमा पर्न आएको निवेदनमा मिति २०६३।६।२७ मा निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र आदेश यस प्रकार छ:-

मूलपुर्खा भौसाईको एक छोरा दुर्गानन्द तथा दुई छोरी म फिरादी दुर्गीदेवी र भिखनीदेवीको जन्म भएको थियो । भाइ दुर्गानन्दको छोरी प्र.रामकुमारीको जन्म भएपछि २०३६ सालमा मृत्यु भैसकेको छ । भौसाइका हामी छोरीहरूको विवाह भैसकेको  । प्र.रामकुमारीको पनि विवाह भैसकेकोे र आमाको समेत मृत्यु भएको र बुबाको पनि २०५६ सालमा मृत्यु भैसकेको छ । बुबाको पालनपोषण मैलेनै गरेकोले बुबाको नाउँको जग्गा अपुताली परेको हुँदा हामी ३ जनाले ३ भाग गरी अपुताली नामसारी गरौं भन्दा प्रतिवादी रामुकमारीले यो सबै जग्गा मेरो हुन्छ म दिन्न भनी अन्यायपूर्ण जवाफ दिएकोले फिराद गर्न आएको छु । पिता भौसाई चौधरी नामदर्ता रहेको जिल्ला उदयपुर गा.वि.स. गाइघाट वार्ड नं. २ख. कि.नं. २२९ को ०० र कि.नं. २३१ को ०० जग्गाको ३ खण्डको एक खण्ड जग्गामा मेरो अपुताली हक कायम गरी मेरो नाउँमा दर्ता गरिपाऊँ भन्ने समेत व्यहोराको फिरादपत्र 

विपक्षीले फिरादमा उल्लेख गरेको नाता र पुस्तामा विवाद छैन । हजुरबुबा भौसाई तथा हजुरआमा बेचनी देवीबाट मेरो बुबा दुर्गानन्द र फिरादी दुर्गीदेवी एवं भिखनीको जन्म भएको हो । बुबाको एक मात्र म छोरी जन्म भएकोमा म साह्रै नावालक हुँदा बुबा तथा हजुरबुबा र हजुरआमाको कालगतिले मृत्यु भएको हुँदा मेरो आमा अन्यत्र पोइल गएकी थिइन । जो भएको पैतृक सम्पत्ति बाजेकै नाममा रहेको र मेरो बुबाको अंश समेत नभएको तथा बाजेका नामको अन्य सम्पत्ति कि.नं.१९०, कि.नं. ८८ र कि.नं. २२८ समेतको जग्गा यी वादीले लिएको हुँदा बाँकी रहेको सम्पत्ति मेरो बुबाको अंश भागको हुँदा वादीले अपुताली पाउने होइन । वादी दावी झूठा हो भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकीर 

यसमा भौसाईको छोरी भिखनीदेवी चौधरी समेत भएको भन्ने फिराद र प्रतिउत्तर लेखबाट देखिंदा निजलाई अ.वं. १३९ नं. बमोजिम बुझ्ने भन्ने शुरु अदालतको आदेश 

बुबा भौसाईको अपुताली हक खाने वादी दुर्गीदेवी चौधरी, दिदी, प्र.रामकुमारी चौधरी र म भिखनीदेवी समेत हुँदा हामी ३ जनाले बराबर पाउने हौ भनी अ.वं. १३९ नं. बमोजिम बुझिएकी भिखनी देवी चौधरीले गरेको बयान 

वादी दावीको स्वर्गीय भौसाई चौधरीको नाममा दर्ता कायम रहेका विवादित कि.नं.२२९ र २३१ का दुई कित्ता जग्गामध्येबाट नरम गरम मिलाई आधामध्येबाट दुई भाग गरी दुर्गीदेवी र भिखनी देवीको तथा आधा प्रतिवादी रामकुमारी चौधरीको अपुताली हक कायम हुने र सो जग्गा निजहरूका नाउँमा छुट्टाछुट्टै दा.खा.दर्ता समेत गराई दिने ठहर्छ भन्ने समेत व्यहोराको उदयपुर जिल्ला अदालतको मिति २०६१।१।२ को फैसला 

वादी दावी भन्दा बाहिर गई वा वादीले दावी लिएको भन्दा बढी विषयमा अदालतले निर्णय गर्न नमिल्ने भनि नेकाप २०५०, अङ्क ९, नि.नं.४७९६ समेतको नजीरमा उल्लेख भएतापनि शुरु जिल्ला अदालतले अपुतालीको तत्कालीन ४ नं. अनुसार भनी भिखनीदेवी र रामकुमारी चौधरी समेतको अपुताली हक कायम हुने गरी मिति २०६१।१।२ मा गरेको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला उल्टी गरी वादी दावी कायम हुने गरी हक इन्साफ गरिपाऊँ भन्ने समेत व्यहोराको दुर्गीदेवी चौधरीको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र 

मेरो पिता दुर्गानन्दको अपुताली सम्पत्ति पिताको स्वर्गवास भएपछि अपुतालीको २ नं.बमोजिम मेरो निर्विवाद हक स्थापित भएको र मैले विपक्षीहरू उपर दिएको हक कायम अंश दर्ता मुद्दाबाटै निरोपण हुनुपर्नेमा सो नगरी शुरु उदयपुर जिल्ला अदालतले गरेको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी उक्त अपुताली सम्पत्तिमा मेरो हककायम हुने गरी फैसला गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी रामकुमारी चौधरीको पुनरावेदन जिकीर 

यसमा छोरो दुर्गानन्दको २०३६ र बाबु भसाईको २०५६ सालमा मृत्यु भई अपुताली परेको देखिंदा तत्कालीन अपुतालीको ४ नं. बमोजिम वादी दावीको स्वर्गीय भौसाई चौधरीको नाममा दर्ता कायम रहेको विवादित कि.नं.२२९ र २३१ का जग्गामध्येबाट नरम गरम मिलाई आधामध्येबाट दुई भाग गरी भौसाइका छोरीहरू वादी दुर्गीदेवी र भीखनीदेवीको तथा बाँकी आधा दुर्गानन्दकी छोरी प्रतिवादी रामकुमारी चौधरीको अपुताली हक कायम हुने र सो जग्गा निजहरूका नाउँमा छुट्टाछुट्टै दा.खा. दर्ता हुने ठहराई शुरु उदयपुर जिल्ला अदालतबाट भएको मिति २०६१।१।२ को फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत राजविराजको मिति २०६१।११।१६ को फैसला 

प्रस्तुत मुद्दा अंश मुद्दा नभएकोले अंशजस्तो गरी निर्णय गर्न मिल्दैन । तत्कालीन अपुतालीका ४ नं. मा अघिबाट छोरा र पछिबाट बाबु मरी परेको अपुताली बाबु छोराकै छोरीहरू दुवैले बाँडी खान पाउने भन्ने कानूनी व्यवस्था रहेको थियो । सो कानूनी व्यवस्थाअनुसार बाबुका छोरीले के कति बाँडी खाने भन्ने प्रष्ट रुपमा अभिव्यक्त नभएकोले जीवित छोरीहरू तीन जनाले बराबर बाँडी खानपाउने ठहर गर्नुपर्नेमा किन आधाआधा खान पाउने हो भन्ने फैसलामा बोलिएको पाइदैन । दावीको सम्पूर्ण विषयमा नबोली भएको फैसलामा अ.वं. १८५ नं.को त्रुटि छ । तत्कालीन अपुतालीको २ नं. अनुसार बाबुको सम्पत्तिमा छोरीले अपुताली पाउने व्यवस्था भए पनि नातिनीले पाउने व्यवस्था थिएन । भौसाईको नाउँमा दर्ता रहेको सम्पत्ति विपक्षी रामकुमारीले पाउने अवस्था नभएपनि बाबु छोरा दुबैका ३ जना छोरीहरूले बराबर बाँडी खानु राम्रो हुने सदासयताले मैले फिरादमा नै सो कुराको दावी गरेकोमा दावीभन्दा बाहिर गई भएको फैसलामा मुलुकी ऐन अंशबण्डाको ३ नं.अपुतालीको ४ नं. समेतको गम्भीर कानूनी त्रुटि हुनुका साथै नेकाप २०५०, पृष्ठ ५५४ र नेकाप २०४७, पृष्ठ ३३५ को प्रतिकूल हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्‍याई हेरिपाऊँ भन्ने समेत व्यहोराको वादीको यस अदालतसमक्षको निवेदन पत्र 

यसमा भौसाइको छोरा दुर्गानन्दको २०३६ सालमा मृत्यु भएपछि बाबु भौसाईको २०५६ सालमा मृत्यु भएको अवस्था देखिन्छ । अपुतालीको ४ नं.ले भौसाइका छोरीहरू दुर्गीदेवी, भिखनी तथा दुर्गानन्दकी छोरी रामकुमारीले बराबर अपुताली बाँडी खान पाउनेमा सो बमोजिम नगरी १ भागमा भौसाइकी छोरीहरूलाई र १ भागमा दुर्गानन्दकी छोरीको अपुताली हक कायम हुने ठहराएको पुनरावेदन अदालतको फैसलामा उक्त अपुतालीको ४ नं. को व्याख्यात्मक त्रुटि देखिंदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालतको मिति २०६३।६।२७ को आदेश 

नियमबमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीका तर्बाट उपस्थित विद्वान अधिवक्ता श्री सुरेन्द्रकुमार खड्काले अंश र अपुताली एकै विषय होइन । अपुताली कानूनले निर्धारण गरेबमोजिम प्राप्त हुन्छ । अपुतालीको ४ नं.ले अघिबाट छोरा र पछिबाट बाबु मरी अपुताली परेमा बाबु र छोराका छोरीले बाँडी खान पाउँछन भन्ने कानूनी व्यवस्था छ । बाँडी खाने भनेको बराबर वाँड्ने हो । अंश जस्तो गरी आधा बाबुका छोरी र आधा छोरीका छोरीले पाउने ठहर्‍याएको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी दावीबमोजिम बराबर अपुताली खान पाउने ठहर गरिनु पर्दछ भन्ने समेत वहस प्रस्तुत गर्नुभयो 

प्रत्यर्थी रामकुमारी चौधरीका तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री हरिप्रसाद भण्डारीले जसरी अंश पाउने हो अपुताली पनि सोही तरिकाले प्राप्त हुन्छ । बाबु र छोराको विवादित सम्पत्तिमा आधा आधा अंश हक निहित रहेको हुँदा बाबुको अपुताली निजकै छोरी वादी समेत र छोराको अपुताली प्रतिवादी रामकुमारीले पाउने प्रष्ट छ । सो बमोजिम भएको फैसला कानूनसम्मत भएकोले सदर कायम हुनु पर्दछ भन्ने समेत वहस गर्नुभयो 

पक्ष विपक्षका विद्वान कनून व्यवसायीहरूले गर्नु भएको उपरोक्त वहस जिकीर मनन गरी पुनरावेदन पत्र सहितको मिसिल कागजात अध्ययन गरी हेर्दा विवादित सम्पत्तिमा बाबु र छोराका छोरीहरूको आधा आधा अपुताली हक कायम हुने ठहर्‍याएको शुरुको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालतको फैसला मिलेको छ, छैन ? र पुनरावेदकको पुनरावेदन जिकीर पुग्नसक्ने हो, होइन भन्ने सम्बन्धमा नै निर्णय दिनुपर्ने देखिन आयो 

२. निर्णयतर्फ विचार गर्दा बाबु भौसाईका नाउँ दर्ताको जग्गामा फिरादी दुर्गीदेवी र भीखनी एवं दुर्गानन्दकी छोरी रामकुमारीको बराबर अपुताली हक हुने हुँदा सोही हिसावले अपुताली हक कायम गरिपाऊँ भन्ने समेत वादी दावीमा विवादित सम्पत्तिमा आफ्नो बाबु दुर्गानन्दको मात्र अंश हक रहेकोले वादीले अपुताली पाउने होइन भन्ने समेत प्रतिउत्तर जिकीर रहेको देखिन्छ । शुरुले विवादित कि.नं.२२९ र २३१ को जग्गाबाट नरम गरम मिलाई आधा भौसाईका छोरी वादी दुर्गीदेवी र भिखनी तथा बाँकी आधामा दुर्गानन्दकी छोरी प्रत्यर्थी रामकुमारीको अपुताली हक कायम हुने ठहर्‍याएको फैसला सदर गरेको पुनरावेदन अदालतको फैसलाउपर वादीको यस अदालतमा मुद्दा दोहोर्‍याई पाऊँ भन्ने निवेदन परेको पाइन्छ । अपुतालीको ४ नं.मा बाँडी खान पाउँछन भन्ने कानूनी व्यवस्था भएकोले तीनै छोरीले बराबर खान पाउनेमा अंशको हिसावले दुई भाग लगाएको फैसलामा उल्लिखित कानूनको त्रुटि रहेको भन्ने समेत निवेदन जिकीर भएकोमा यस अदालतबाट सोही आधारमा मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भएको देखियो 

३. यसमा पुनरावेदक वादी दुर्गीदेवी एवं प्रत्यर्थीमध्येकी भिखनी चौधरीका बाबु भौसाइको २०५६ सालमा मृत्यु हुनु अगावै ०३६ सालमा नै भौसाईका छोरा एवं प्रत्यर्थी रामकुमारीका बाबु दुर्गानन्दको मृत्यु भएको भन्ने तथ्यमा विवाद रहेको देखिदैन । पुनरावेदक वादी र प्रत्यर्थी बाहेक भौसाई र दुर्गानन्दको अन्य हकवाला कोही नभएकोले मृतकहरूको अपुताली निजहरूले नै पाउने भन्ने कुरा समेत स्पष्ट नै देखिन्छ । पुनरावेदक वादी र प्रत्यर्थीहरू तीनै जनाको विवाह भैसकेको भन्ने देखिंदा अपुताली परेको सम्पत्तिमा कसैको पनि अग्राधिकार रहेको देखिदैन 

४. प्रस्तुत मुद्दामा मुख्य रुपमा विवादित सम्पत्तिमा स्व. भौसाईका छोरीहरू र दुर्गानन्दकी छोरीको आधा आधा अपुताली हक कायम हुने हो कि सबैले बराबर अपुताली हक पाउने हो भन्ने नै विवादको मुख्य विषयवस्तु रहेको देखिन्छ । सो सम्बन्धमा मुलुकी ऐन, अपुतालीका महलमा तत्काल कायम रहेको ४ नं. मा देहायबमोजिम कानूनी व्यवस्था रहेको देखिन्छः

 

संगै बसेका वा भिन्न बसेका बाबु छोरामा अघिबाट छोरो र पछिबाट बाबु मरी अपुताली परेमा त्यो अपुताली छोरीहरूले पाउने रहेछन भने बाबुकी छोरी र छोराकी छोरी दुवै भए दुवैले बाँडी खान पाउँछन् 

 

५. प्रस्तुत विवादमा संगै बसेका बाबु र छोराहरूमध्ये अघिबाट छोरा दुर्गानन्द र पछिबाट बाबु भौसाईको मृत्यु भएको र उनीहरूको अपुताली छोरीहरूले पाउने अवस्था भएकोमा विवाद छैन । त्यसै गरी बाबु र छोरा दुवैका छोरी भएको अवस्था समेत देखिएबाट सो कानूनले परिकल्पना गरेको अवस्था हुवहु मेल खान आएको पनि देखिन्छ । यस स्थितिमा उक्त ४ नं.मा उल्लेख भएको अन्तिम वाक्यांश दुवैले बाँडी खान पाउँछन्भन्ने कुराले बाबु वा छोराका छोरीले सो सम्पत्तिमा बाबु छोराको जे जस्तो अंश हक रहने थियो सोही हैसियतअनुसार बाँडी खान पाउने हो वा दुवैका छोरीले बराबर बाँडी खान पाउने हो भन्ने व्याख्यात्मक प्रश्न उपस्थित भएको देखिन्छ 

६. बाबु वा छोराको अपुताली पर्ने सम्पत्तिमा जे जस्तो हक हिस्सा रहन सक्थ्यो, त्यसरी नै निजहरूका छोरीहरूले प्राप्त गर्नु पर्दछ भन्ने तर्कले अपुतालीभन्दा पनि बढी अंशबण्डाको कानूनसँग सामिप्यता राख्ने देखिन्छ । बाबु र छोराका छोरीहरू दुवैको समान तरिकाले अपुताली हक कायम नहुने विधायिकाको मनसाय रहेको भए सो कुरा प्रष्ट रुपले अभिव्यक्त हुनु सहज र स्वभाविक मान्न सकिन्छ । जव कानूनको त्यस्तो विशेष अवस्था जनाउने उद्देश्य हुन्छ त्यो प्रष्ट रुपमा अभिव्यक्त हुन्छ पनि । तर विवादित कानूनमा त्यस्तो विशेष (Special) अभिव्यक्ति नभई दुवैले बाँडी खान पाउँछन भन्ने सामान्य (General) वाक्याशंको प्रयोग भएको देखिंदा त्यसको आशय बाबु र छोराका छोरीले बराबर बाँडी खान पाउने हो भन्ने निष्कर्षमा पुग्नु सहज र स्वाभाविक हुने देखिन्छ । कानूनमा प्रयुक्त भाषाले जे जस्तो अर्थ अभिव्यक्त गरिरहेको  हुन्छ । त्यसलाई सोही रुपमा ग्रहण गर्नु स्वाभाविक र न्यायोचित हुन जान्छ । यसको विपरीत बलपूर्वक गरिएको व्याख्याले विधायिकी मनसायको नजिक पुग्न सकिदैन । त्यसकारण प्रस्तुत विवादमा बाबु भौसाईका छोरी पुनरावेदक वादी दुर्गीदेवी समेतले आधी र छोरा दुर्गानन्दकी छोरी प्रत्यर्थी रामकुमारीको आधा अपुताली हक कायम हुने ठह¥याई भएको फैसलामा सो कानूनी व्यवस्थाको गलत व्याख्या भएको देखिंदा यस अदालतबाट दोहोर्‍याउने निस्सा प्रदान गर्दा ग्रहण गरिएको आधारसँग असहमत हुनु पर्ने कुनै कारण देखिन आएन 

७. तसर्थ स्व. भौसाईको नाउँमा दर्ता कायम रहेको विवादको कि.नं.२२९ र २३१ को जग्गामा भौसाइका छोरी वादी दुर्गीदेवी र भिखनीको आधा तथा भौसाईको छोरा स्व.दुर्गानन्दको छोरी प्रत्यर्थी रामकुमारीको आधा अपुताली हक कायम हुने ठहर गरेको शुरु उदयपुर जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत राजविराजको मिति २०६१।११।१६ को फैसलामा मुलुकी ऐन अपुतालीको महलमा तत्काल कायम रहेको ४ नं.को व्याख्यात्मक त्रुटि देखिंदा सो फैसला केही उल्टी भई पुनरावेदक वादीको दावी र पुनरावेदन जिकीरबमोजिम विवादित सम्पत्तिमा पुनरावेदक वादी दुर्गीदेवी तथा प्रत्यर्थीहरू रामकुमारी र भिखनीदेवी चौधरीको बराबर अपुताली हक कायम भै सोही हिसावले निजहरूका नाउँमा दर्ता समेत हुने ठहर्छ । अरुमा तपसील बमोजिम गर्नू 

 

तपसील

माथि ठहर खण्डमा उल्लेख भएबमोजिम शुरुको फैसला सदर गरेको पुनरवेदन अदालत राजविराजको फैसला केही उल्टी भई पुनरावेदक वादीको दावी र पुनरावेदन जिकीर बमोजिम विवादको कि.नं.२२९ को ज.वि. ०० र कि.नं.२३१ को ०० जग्गामा पुनरावेदक वादी दुर्गीदेवी तथा प्रत्यर्थीहरू रामकुमारी चौधरी र भिखनी देवी चौधरीको बराबर अपुताली हक कायम हुने ठहरेकोले ऐनका म्याद भित्र दा.खा.दर्ता गरिपाऊँ भनी वादी प्रतिवादीहरूको दर्खास्त परे सोही हिसावले नरम करम मिलाई दा.खा. दर्ता गरी दिनु भनी सम्बन्धित मालपोत कार्यालयमा लेखी पठाउनु भनी शुरु उदयपुर जिल्ला अदालतमा लेखी पठाउनु ...     ...    ...    ...    ...  

वादी दावी पुग्ने ठहरी फैसला भएकोले पुनरावेदक वादीले शुरुमा राखेको कोर्टफी
रु.१०२०।-, पुनरावेदन अदालतमा पुनरावेदन गर्दा राखेको थप कोर्ट फी. रु.४०।३० तथा यस अदालतमा राखेको थप कोर्टफी रु.१६८।समेत जम्मा रु.१२२८।३० प्रतिवादी रामकुमारी चौधरीबाट भराई पाऊँ भनी ऐनका म्यादभित्र दर्खास्त दिए केही दस्तूर नलिइ भराई दिनु भनी शुरुमा लेखी पठाउनू ...   ...        ...    ...    ...    ...    ...   ...    ...    ...    ...    ...  

दायरीको लगत कट्टा गरी मिसिल नियमबमोजिम गरी बुझाई दिनू ...   ...    ...    ...  

उक्त रायमा सहमत छु 

न्या.तपबहादुर मगर

इति संवत् २०६६ साल पुस २९ गते रोज ४ शुभम्

इजलास अधिकृतः नारायण सुवेदी

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु