शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८३०० - उत्प्रेषण समेत ।

भाग: ५२ साल: २०६७ महिना: बैशाख अंक:

निर्णय नं. ८३००          वैशाख, २०६७

 

सर्वोच्च अदालत संयुक्त इजलास

माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ

माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला

संवत् २०६१ सालको रिट नं. ३४७७

आदेश मितिः २०६६।७।१६।२

बिषय: उत्प्रेषण समेत 

 

निवेदकः जिल्ला पर्सा गा.वि.स. अमरपट्टी वडा नं. ६ इटियाही स्थित कविर पन्थी     मठको पुजारी एवं सञ्चालक स्वर्गीय हरिदास बैरागीको चेला ऐ.ऐ. बस्ने सतन भगत

विरुद्ध

विपक्षीः  जिल्ला प्रशासन कार्यालय, पर्सा वीरगञ्ज समेत

 

§  संस्था दर्ता गर्ने हक संस्थापकहरूको हुने भए पनि कसैको निजी गुठी हकमा असर पार्ने गरी संस्था राख्न दर्ता गर्न, वा सो नाताले कार्य गर्न नपाइने 

§  मठको सम्पत्ति एक ढंगले परम्परादेखि नै व्यवस्था भएकोमा मठका सम्बन्धित हकदारहरूको सहमतिवेगर अन्य वेसरोकार व्यक्तिहरू सम्मिलित भई संस्था खडा गरी व्यवस्थापन हस्तान्तरण गर्न समेत नमिल्ने 

§  साविकदेखि मठको सेवा गरी मठको जग्गा लगायत सम्पत्ति संरक्षण गरी आएका व्यक्तिहरूसँग सरोकार नै नराखी सोही मठको नामबाट अर्को छुट्टै संस्था दर्ता गर्नुको औचित्य नदेखिने 

(प्रकरण नं.४)

§  आफ्नो हितअनुसार संस्था खडा गरी कार्य गर्ने स्वतन्त्रता रहने भए पनि धार्मिक हक एवं कर्तब्य निर्वाह गरेको कुरामा दखल दिने उद्देश्यले भने त्यस्तो संस्था खडा गरी सञ्चालन गर्न नपाउने 

(प्रकरण नं.५)

 

 

निवेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री किशोर अधिकारी

विपक्षी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री सरोज खड्का

अवलम्वित नजीरः

सम्बद्ध कानूनः

o   नेपालको अन्तरिम संविधान, २०६३ को धारा १३, १९(२), २३(२)

o   गुठीको ११ नं.

o   अ.वं. २९

आदेश

न्या.कल्याण श्रेष्ठः नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२), ३२ नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२), २३ अन्तर्गत पर्न आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः

जिल्ला पर्सा गा.वि.स. अमरपट्टी वडा नं. ६ इटियाहीमा पूर्व कालदेखि कविर पथीहरूको मठ रहिआएको छ । मठको देवदेवताको पुजाआजा, धर्म, सदावर्त, साधु सन्त अभ्योगतहरूको भोजन आदि आवश्यक काम चलाउन भेषधारी जिजु गुरु रामऔतार दासले गुठीको ११ नं. बमोजिम गुठी नराखी निजको नाम दर्ताको जग्गाहरूको आयस्ताबाट काम चलाई मठको रेखदेख संरक्षण समेत गरी आउनु भएको अवस्था आफ्नो कालगतिले परलोक हुनुभयो । निजपछि वादीको चेला सुर्जदास वैरागीले सो जग्गाहरू निजको नाममा नामसारी गरी मठको पूजाआजा समेत सोही जग्गाहरूको आयस्तबाट चलाई आउँदा निज पनि परलोक हुनुभयो । निज सुर्जदास परलोक भएपछि निजको चेला हरिदास वैरागीले सोही जग्गाहरूको आयस्ताबाट साविकबमोजिम नै मठको पूजाआजा समेत चलाई आउनु भएकोमा निज पनि २०५७।५।१३ मा परलोक हुनुभयो । निज हरिदास वैरागीको एक मात्र चेला म निवेदक हुँ । गुरु हरिदास परलोक भएपछि सोही जग्गाहरूको आयस्ताबाट साविकबमोजिम मठको नित्य पूजाआजा, अभ्यागतहरूको भोजनादी म निवेदकले नै गरी मठको सञ्चालन एवं संरक्षण समेत गरी आइरहेको छु 

उक्त मठको जिल्ला पर्सा अमरपटृी गा.वि.स. वडा नं. ६ का विभिन्न कित्ता जग्गा भएकोमा साविकमा रामऔतार दासका नाममा दर्ता भएका जग्गाहरू निजको परलोक पश्चात् निजका चेला सुर्ज (सूर्य) दास वैरागीका नाममा भू. प्र. का. को मिति २०२८।८।५ को निर्णयबाट नामसारी भई ज.ध.प्र. पूर्जा समेत प्राप्त छ । निज सूर्यदास वैरागीको मृत्युपश्चात् ती जग्गाहरू निवेदकका गुरु हरिदास वैरागीको नाममा नामसारी भै ज. ध. प्र. पूर्जा समेत प्राप्त छ । उक्त जग्गाहरू मध्ये कि. नं. ३९५ को जग्गा क्षेत्रफल ०१ मध्ये ०७ जग्गा सूर्यदासले विक्रम राउत कुर्मी (प्रत्यर्थी नं. ४) लाई २०३७।७।२४ मा वकसपत्र गरी दिएको निवेदकका पिता गुरु हरिदास वैरागीले लिखत बदर समेत मुद्दा गर्नु भएकोमा उल्लिखित जग्गा गुठीको महलको ११ नं. बमोजिम जग्गा कायम भै उल्लिखित लिखत बदर हुने गरी पुनरावेदन अदालत हेटौडाबाट मिति २०५०।२।३ मा फैसला भई अन्तिम भै वसेको छ । त्यसैगरी सूर्यदास वैरागी दिने र देश वन्धुलाल कायस्थ लिने भै पारित भएको २०३७।१०।१३ को राजीनामा जालसाजी घोषित गरी लिखत बदर समेत गरिपाऊँ भन्ने मुद्दा पिता हरिदास वैरागीले गरेकोमा पुनरावेदन अदालत हेटौडाबाट उल्लिखित जग्गा गुठीको ११ नं. बमोजिम नै ठहरी मिति २०५०।२।३ मा  फैसला भई अन्तिम भै वसेको छ । माथि लेखिएबमोजिम उक्त इटियाही मठ गुठीको महलको ११ नं. अन्तर्गतको जग्गा भई तिरो तिरी आएको आयस्ताबाट देव देवताको पूजा पाठ गरी बाँकी शेष खान पाउने र दर्ता वाला भेषधारी मरेपछि चेला छोराहरूमा सर्दै जाने व्यहोरा स्पष्ट छ । जुन कुरा मैले विभिन्न मुद्दाहरू सकार गरी अन्तिम भई वसेबाट पनि स्पष्ट भएको छ 

यसै क्रममा मठको सम्पत्ति हत्याउने उद्देश्यबाट प्रेरित भई प्रत्यर्थी विक्रम राउतले २०६१।४।२५ गते द. नं. ५२ मा रामऔतार दास मठ गठन गर्ने विधान र निवेदन पेश गरी आफ्नै अध्यक्षतामा जि. प्र.का. पर्सामा प्रमाण पत्र नं. ७८६ मिति २०६१।५।१८ मा रामऔतार दास मठ सेवा समिति गठन गरेको रहेछ 

एकपटक गुठीको सम्पत्ति हिनामिना गरी असफल भइसकेका व्यक्ति विक्रम राउत कुर्मीले निजकै अध्यक्षतामा गठन गरेको रामऔतार दास मठ सेवा समिति प्रत्यर्थी नं. १ र २ ले गठन गर्ने गरी गरेको निर्णय एवं द. नं. ७८६ मिति २०६१।५।१८ मा जारी गरिएको प्रमाण पत्रले नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११(१) तथा मुलुकी ऐन, गुठीको महलको ११ नं. ले मलाई प्रदान गरेको हकाधिकारमा समेत आघात पुगेकोले उत्प्रेषण लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जी जारी गरी प्रत्यर्थीहरूले गठन गरी प्रत्यर्थी १ र २ ले जारी गरेको मिति २०६१।५।१८ द. नं. ७८६ को रामऔतार दास मठ सेवा समिति बदर एवं खारेज गरी मुलुकी ऐन गुठीको महलको ११ नं. बमोजिम निवेदकलाई प्राप्त हक अधिकार संरक्षण गरिपाऊँ भन्ने समेत रिट निवेदन व्यहोरा 

यसमा के कसो भएको हो । निवेदकको मागबमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? यो आदेश प्राप्त भएका मितिले बाटाका म्याद वाहेक १५ दिन भित्र सम्बन्धित मिसिल साथ राखी महान्यायाधिवक्ताको कार्यालयमार्त् लिखित जवाफ पठाउनु भनी रिट निवेदनको एक प्रति नक्कल साथै राखी विपक्षी जिल्ला प्रशासन कार्यालय, पर्सा वीरगञ्जलाई सूचना पठाई त्यसको वोधार्थ महान्यायाधिवक्ताको कार्यालयमा पठाई दिनु । निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? यो आदेश प्राप्त भएका मितिले बाटाका म्याद बाहेक १५ दिन भित्र लिखित जवाफ लिई आफै वा आफ्नो प्रतिनिधिद्वारा उपस्थित हुनु भनी रिट निवेदनको १ प्रति नक्कल साथै राखी विपक्षी राम औतार दास मठ सेवा समिति जिल्ला पर्सा गा.वि.स. अमरपट्टी वडा नं. ६ समेतलाई सम्बन्धित जिल्ला अदालतमार्त् सूचना पठाई लिखित जवाफ आएपछि वा अवधि नाघेपछि नियमबमोजिम पेश गर्नु भन्ने समेत यस अदालतबाट भएको मिति २०६१।१२।३१ को आदेश 

जिल्ला पर्सा गा.वि.स. अमरपट्टि वडा नं. ६ कि. नं. १ मा स्थित कवीरपन्थी मठको श्रीसम्पत्तिको संरक्षण, सम्बर्धन र विकासको लागि स्थानीय समुदायको सल्लाह र सहमतिबाट श्री रामऔतार दास मठ सेवा समितिनामक संस्था दर्ता गर्न प्रस्तावित विधान पदाधिकारीहरूको नामावली, नागरिकताको प्रतिलिपि एवं जिल्ला विकास समिति, पर्साको च.नं. १२६, मिति २०६१।०४।२४ गतेको संस्था दर्तासम्बन्धी सिफारिश साथ प्रस्तावित विधानमा उल्लिखित कार्य समितिका अध्यक्ष विक्रम राउत कुर्मीले यस कार्यालयमा मिति २०६१।०४।२५ गते निवेदन दर्ता गरेपछि यस कार्यालयबाट पदाधिकारीहरूको चाल चलन, संस्था दर्ता गर्दा विवाद आउने नआउने सम्बन्धमा गुठी संस्थान एवं सम्बन्धित गा.वि.स. मा समेत बुझ्दा जिल्ला प्रहरी कार्यालय, पर्साको च.नं. ६५४, मिति २०६१।०४।२६ गतेको पत्र, गुठी संस्थान, शाखा कार्यालय वीरगञ्जको च.नं. ४९ मिति २०६१।०५।०९ को पत्र, तथा गा.वि.स. को कार्यालय अमरपट्टिको च. नं. २० मिति २०६१।०५।०७ गतेको पत्र साथ सर्जमिन मुचुल्का समेतका छानबीनका क्रममा प्राप्त आधार प्रमाणहरूबाट कवीरपन्थी मठ सञ्चालनको लागि पेश भएको श्री रामऔतार दास मठ सेवा समितिनामक संस्था दर्ता गर्न उपयुक्त देखिएकोले मिति २०६१।०५।१८ गतेका निर्णयअनुसार उक्त संस्था दर्ता गरी प्रमाणपत्र दिइएको हो । यसरी संस्था दर्ता ऐन, २०३४ को दफा ४ को प्रक्रिया पूरा गरी संस्था दर्ता प्रमाणपत्र दिइएको हुँदा प्रस्तुत रिट निवेदन खारेज गरिपाऊँ भन्ने समेत जिल्ला प्रशासन कार्यालयको तर्बाट प्रस्तुत लिखित जवाफ 

विपक्षीले आफूलाई इटियाही स्थित कवीर पन्थी मठको पूजारी तथा सञ्चालक भनी पूर्णतः असत्य तथा मनगढन्ते कुरा उल्लेख गर्नु भएको छ । विपक्षी सो मठका सञ्चालक तथा पूजारी होइनन् । निज विपक्षी गृहस्थ व्यक्ति भई परिवार साथ गृहस्थ आश्रममा वस्नु भएको छ । विपक्षीले आफूलाई गुठीको पूजारी र स्व. हरिदास वैरागीको चेला भने पनि सोको कुनै प्रमाण पेश गर्नु भएको छैन । हरिदास वैरागीले सो मठ सञ्चालन गर्न वा पूजारी मुकरर गरी कुनै लिखत पारित गरी विपक्षीलाई दिनु भएको छैन । विना लिखत प्रमाण कै आधारमा विपक्षीले आफूलाई पूजारी तथा संरक्षक भनी मठको सम्पत्ति खाने दुष्प्रयास गर्नु भएको छ । विपक्षी हरिदासको चेला भए प्रमाण साथ सो जग्गा नामसारी गराउनु पर्नेमा सो केही गर्नु भएको छैन । विपक्षीले गुठीको ११ नं. को हक प्रचलनको माग गर्नु भएको छ । सो हकको लागी पूजारी वा सञ्चालक संरक्षक कायम गराउन अदालतको साधारण अधिकारक्षेत्र अन्तर्गत अ.वं.२९ नं. अनुसार जिल्ला अदालतमा मुद्दा दिनु पर्नेमा सो केही नगरी असाधारण अधिकार अन्तर्गत दायर भएको प्रस्तुत रिट निवेदन लाग्न सक्ने अवस्था छैन । सो संस्थाले मुलुकी ऐन गुठीको महल ११ नं. मा भेषधारीहरूले गुठी नराखी आफ्ना नाउँमा दरिएको वा आफ्नो हक पुग्ने जग्गाको पोत तिरो तिरी बाँकी रहेको आफूले खान पाउने आयस्ताबाट देव देवताको पूजाआजा धर्म सदावर्त इत्यादि काम चलाउने गरी राखेको वा काम चलाई आएका जग्गा ती मरिसकेपछि तिनका चेलाले लागेको पोत तिरो तिरी बाँकी रहेको आयस्ताबाट साविकबमोजिमको काम चलाई शेष बाँकी रहनेमा सो शेषसम्म खान हुन्छ । त्यस्तो जग्गा वन्धक राख्न वा हक छोडी विक्री दान वकस इत्यादि गरी दिन लिन समेत हुँदैन । मालपोत तिरो बाँकी राखे कानूनबमोजिम पजनी हुन्छ भन्ने व्यवस्था भइरहेको पाइन्छ । सो कानूनी व्यवस्थाअनुसार पनि निवेदकले मठका जग्गा हक छाडि दिएको नदेखिएको अवस्थामा पूजाआजा, धर्म, सदार्वत गरी काम चलाउन नपाउने भन्न मिल्ने देखिएन । परम्पराअनुसारको धर्म र सम्पत्ति संरक्षण गर्ने मठ मन्दिर संरक्षण गर्ने हुनाले त्यसबाट मठको सम्पत्ति नोक्सान हुने अवस्था छैन । कानूनको प्रक्रिया अपनाई दर्ता भएको संस्था खारेज वा बदर हुन नसक्ने हुँदा रिट खारेज गरिपाऊँ भन्ने समेत प्रत्यर्थी राजेन्द्रप्रसाद चौरसिया समेतको लिखित जवाफ 

यसमा, निवेदक समेत पक्ष भएको मिलापत्र बदर, जग्गा खिचोला चलन समेतका मुद्दाहरूको पुनरावेदन अदालत हेटौडाबाट २०६४।३।११ मा भएको फैसला सहितको सक्कल मिसिल पुनरावेदन अदालत हेटौडाबाट र सोको शुरु मिसिल पुनरावेदन अदालत हेटौडा वा पर्सा जिल्ला अदालत वीरगञ्ज जहाँ छ झिकाई आएपछि नियमानुसार पेश गर्नु भन्ने यस अदालतबाट मिति २०६४।७।२८ मा भएको आदेश 

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनमा निवेदन समेतको मिसिल अध्ययन गरी रिट निवेदकको तर्बाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता किशोर अधिकारीले निवेदकले पुस्तौ पुस्तादेखि मठको सम्पत्ति संरक्षण गर्दै आएको कुरा विभिन्न मितिमा परेका विभिन्न मुद्दाहरूबाट पनि देखिएको छ । विभिन्न मुद्दाहरूमा अन्तिम भएर रहेका फैसलाबाट पनि मठको सम्पत्ति निवेदकहरूबाट संरक्षण भई धार्मीक कार्य सञ्चालन भएको देखिएको अवस्थामा मठको सम्पत्ति खाने उद्देश्यबाट प्रेरित भई विपक्षीहरूले संस्था दर्ता गराएको कुरा स्पष्ट भएकोले सो संस्था दर्ता गर्ने निर्णय एवं जारी गरिएको प्रमाण पत्र समेत खारेज होस् भनी र प्रत्यर्थी नेपाल सरकारका तर्बाट उपस्थित विद्वान उपन्यायाधिवक्ता सरोज खड्काले संस्था दर्ता भएकै कारण मठको सम्पत्ति र धर्म कार्यमा कुनै वाधा परेको छैन । सम्पत्तिको संरक्षण र व्यवस्थापन गर्न गरिएको संस्था दर्ताबाट निवेदककको कुनै संवैधानिक एवं कानूनी हक हनन् नभएकोले रिट खारेज होस् भनी गर्नु भएको बहस समेत सुनी निवेदन मागबमोजिम रिट जारी हुने नहुने के रहेछ निर्णय दिन परी निर्णयतर् विचार गर्दा पर्सा जिल्ला अमरपट्टी गा.वि.स. वडा नं. ६ इटियाहीको मठ गुठीको जग्गा हिनामिना गर्ने उद्देश्यले विक्रम राउत कुर्मीले निजकै अध्यक्षतामा राम औतारदास मठ सेवा समिति गठन गर्ने गरी विपक्षीले गरेको निर्णय एवं द.नं. ७८६ मिति २०६१।५।१८ मा जारी गरिएको प्रमाण पत्रले मलाई संविधान एवं कानूनद्वारा प्रदान गरिएको हकाधिकारमा आघात पुगेकोले उक्त सेवा समिति बदर एवं खारेज गरी निवेदकलाई मुलुकी ऐन गुठीको महल ११ नं. बमोजिम प्राप्त हकाधिकार संरक्षण गरिपाऊँ भन्ने समेत निवेदन दावी एवं कानूनको रीत पुर्‍याई दर्ता गरिएको संस्था हुँदा खारेज हुने होइन, मठको जग्गाको संरक्षण गर्नलाई नै संस्था दर्ता गराएको हुँदा रिट खारेज होस् भन्ने समेत लिखित जवाफ देखिन्छ 

२. निवेदक सतन भगतले आफू हरिदास वैरागीको चेला हुँ भनी मठको प्रतिनिधिको हैसियतमा वादी सतन भगत प्रतिवादी लालवावु चौरसिया भएको पर्सा जिल्ला अदालतको द. नं. १८२५ को खिचोला मुद्दा, वादी ऐ. प्रतिवादी मीरादेवी भएको पर्सा जिल्ला अदालतको दे. नं. ११४५ को लिखत दर्ता बदर मुद्दा, वादी ऐ. प्रतिवादी रामानन्दप्रसाद वरैसँगको द. नं. १७८६ को जग्गा वाली मुद्दा, वादी ऐ. प्रतिवादी असर्फी दाससँगको दे. नं. १७९१ को जग्गा खिचोला मुद्दा समेत गरेको कुरा प्रमाणको रुपमा पेश भएका उल्लिखित मुद्दाहरूको मिसिल समेतबाट देखिन्छ । उक्त मुद्दाहरूमा भएको काम कारवाहीमा यी निवेदकले मठको प्रनिनिधिको हैसियतले मुद्दा गर्न नपाउने भनी विपक्षी लगायत कसैले सो कार्यलाई चुनौती दिई बदर गराउन सकेको अवस्था देखिदैन 

३. यसरी गुरु चेला परम्पराबाट गुठी वन्दोवस्त भई पूजाआजा चलाई आएको र त्यस्तो परम्परामा व्यवधान ल्याउनु पर्ने कानूनी कारण विद्यमान देखिन आएको छैन । निवेदकले चेलाको हैसियतले जग्गा नामसारी गर्दा निजी प्रयोजनको लागि तजविज गरेको भन्ने प्रश्न .विद्यमान देखिएन । निवेदकले मठको सम्पत्ति जग्गा हिनामिना गरी धर्म कार्यमा वाधा पुर्‍याई धर्मलोप हुने कार्य भएको अवस्थामा प्रचलित कानूनको प्रक्रिया शुरु हुन सक्ने स्थिति समेत कायमै रहेको अवस्था छ । यस्तो स्थितिमा निवेदकले निर्वाह गरी आएको हक दायित्व र भूमिकालाई इन्कार गरी गुठीको संरक्षक हुन पुजारी वा संरक्षक नियुक्ति हुनपर्छ निवेदक सो हुन सकेको छैन भनी त्यसमा हस्तक्षेप गर्ने उद्देश्य विपक्षी संस्थाले राखेको भन्ने कुरा विपक्षी विक्रम राउत समेतको लिखित जवाफको प्रकरण ६ मा उल्लिखित कुराबाट देखिन्छ । विपक्षीले गुठीको ११ नं. को हक प्रचलनको माग गर्नु भएको छ । सो हकको लागि पुजारी वा संरक्षक कायम गराउन अदालतको साधारण अधिकारक्षेत्रअन्तर्गत अ.वं. २९ नं. अनुसार जिल्ला अदालतमा मुद्दा दिनु पर्ने भनी उल्लेख गरेबाट पनि प्रष्ट हुन आउँछ । यसरी गुठीको स्वार्थसँग द्वन्द भएका व्यक्तिहरू भई गुठीको स्वामित्वको सञ्चालन वा वन्दोवस्तमा प्रभावित हुने उद्देश्यले उक्त संस्थाको काम कारवाही निर्देशित भएको देखिन आएकोले विपक्षीहरूको काम कारवाही असल नियतले संस्थाको काम कारवाही अघि वढाउन भएको भन्ने देखिन आउँदैन 

४. संस्था दर्ता गर्ने हक संस्थापकहरूको हुने भए पनि कसैको निजी गुठी हकमा असर पार्ने गरी संस्था राख्न दर्ता गर्न, वा सो नाताले कार्य गर्न पाईने देखिदैन । निवेदकले पूजाआजा एवं सेवाको व्यवस्था गरी आएको संस्था इटिहायी मठ भएकोमा कुनै विवाद छैन । उक्त मठको सम्पत्ति एक ढंगले परम्परादेखि नै व्यवस्था भएकोमा मठका सम्बन्धित हकदारहरूको सहमति वेगर अन्य वेसरोकार व्यक्तिहरू सम्मिलित भई संस्था खडा गरी व्यवस्थापन हस्तान्तरण गर्न समेत मिल्ने देखिदैन । साविकदेखि मठको सेवा गरी मठको जग्गा लगायत सम्पत्ति संरक्षण गरी आएका निवेदक लगायतका व्यक्ति हरूसँग सरोकार नै नराखी सोही मठको नामबाट अर्को छुट्टै संस्था दर्ता गर्नुको औचित्य देखिन आएन । विपक्षीहरूले प्रस्तुत गरेको संस्थाको विधान हेर्दा प्रस्तावनामा नै इटियाही मठको श्रीसम्पत्तिको संरक्षण समेत सम्वर्धन गर्न भनी उल्लेख भएबाट प्रचलित व्यवस्थामा हस्तक्षेप हुने स्थिति देखिन आएको छ । अर्थात प्रत्यर्थीले दर्ता गराएको संस्थाको विधान अनुसार हटियाही मठको सम्पत्ति संरक्षण सम्वर्धन गर्ने जिम्मेवारी निवेदकबाट प्रत्यर्थीहरूमा हस्तान्तरण भई निवेदकले गर्दै आएको मठको सम्पत्तिको संरक्षणको हकमा हस्तक्षेप हुने स्थिति देखिन आएको छ 

५. प्रत्यर्थीहरूलाई यसो गर्ने हकाधिकार प्रचलित कुनै पनि नेपाल कानूनले प्रदान गरेको देखिदैन र प्रत्यर्थीले त्यसो गर्न पाउने संवैधानिक कानूनी हकाधिकार भएको भन्ने कुरा पुष्टि गर्न सकेको पनि देखिदैन । नेपाल अधिराज्यको संविधान, २०४७ ले प्रत्याभूत गरेको समानताको हक, सम्पत्ति सम्बन्धी हक, एवं धार्मिक हक एवं वर्तमान नेपालको अन्तरिम संविधान, २०६३ को धारा १३ द्वारा प्रदत्त समानताको हक, धारा १९(१) द्वारा प्रदत्त प्रत्येक नागरिकलाई प्रचलित कानूनको अधिनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने वेचविखन गर्ने र सम्पत्तिको अन्य कारोवार गर्ने हक हुनेछ भन्ने र धारा १९ को सार्वजनिक हितको लागि वाहेक राज्यले कुनै व्यक्तिको सम्पत्ति अधिग्रहण वा प्राप्त गर्ने वा त्यस्तो सम्पत्तिउपर अरु कुनै प्रकारले कुनै अधिकारको सिर्जना गर्ने छैन भन्ने सम्पत्तिको हक, एवं धारा   २३(२) द्वारा प्रदत्त गरेको प्रत्येक धार्मिक सम्प्रदायलाई कानूनबमोजिम आफ्नो स्वतन्त्र अस्तित्व कायम राखी आफ्नो धार्मिक स्थल र धार्मिक गुठीको सञ्चालन र संरक्षण गर्ने हक हुनेछभन्ने व्यवस्था देखिन्छ । सो बमोजिम विपक्षीले आफ्नो हितअनुसार संस्था खडा गरी कार्य गर्ने स्वतन्त्रता रहने भए पनि निवेदकले आफ्नो धार्मिक हक एवं कर्तब्य निर्वाह गरेको कुरामा दखल दिने उद्देश्यले भने त्यस्तो संस्था खडा गरी सञ्चालन गर्न पाउने देखिन्न । निवेदकले आफूले वन्दोवस्त गरी आएको गुठीको कार्य वा धर्म लोप हुने कार्य गरेमा प्रचलित कानूनको प्रक्रिया शुरु हुन सक्ने अवस्था कायमै देखिएको छ । विपक्षीले दर्ता गरेको संस्थाको विधानको प्रस्तावनामा लेखिएको इटियाही मठको श्री सम्पत्तिको संरक्षण, सम्वर्धन एवं विकासको लागि भन्दै श्रीराम औतारदास मठ सेवा समितिको विधान तर्जुमा गरिएको छ भन्ने उल्लेख भएबाट निवेदकको हक अधिकारको प्रयोग गरी कर्तब्य निर्वाह नगरेको देखिनाले त्यस्तो अवस्थामा हस्तक्षेप गर्न सकिने स्थिति देखिएकोले त्यस्तो संस्थाको दर्ता उपरोक्त उल्लिखित संवैधानिक एवं कानूनी व्यवस्था समेतको आधारमा कानूनसम्मत मान्न मिलेन र गुठीको ११ नं. विपरीत गठन गर्न दिन पनि मिलेन । तसर्थ निवेदन मागबमोजिम प्रत्यर्थीहरूले मिति २०६१।५।१८ मा रामऔतार दास मठ सेवा समिति गठन गर्ने गरी भएको निर्णय एवं सो आधारमा जारी गरेको मिति २०६१।५।१८ द. नं. ७८६ को प्रमाण पत्र समेत उत्प्रेषणको आदेशद्वारा बदर एवं खारेज गरी दिएको छ । मुलुकी ऐन गुठीको ११ नं. विपरीत हस्तक्षेप नगर्नु भनी विपक्षी जिल्ला प्रशासन कार्यालय समेतका नाउँमा परमादेश समेत जारी हुने ठहर्छ । आदेशको जानकारी जिल्ला प्रशासन कार्यालय समेतलाई दिई दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू ।   

                

उक्त रायमा सहमत छु 

 

न्या.राजेन्द्रप्रसाद कोइराला

इति संवत् २०६६ साल कार्तिक १६ गते रोज २ शुभम्

 

इजलास अधिकृतः नारायणप्रसाद पराजुली

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु