निर्णय नं. ८३०१ - अंश चलन ।

निर्णय नं. ८३०१ वैशाख, २०६७
सर्वोच्च अदालत, संयुत्त इजलास
माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ
माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय
मुद्दा नं. ०६१ सालको दे.पु.नं. –––––– ८३९७
फैसला मितिः २०६६।७।१८।४
मुद्दा:– अंश चलन ।
पुनरावेदक वादीः जिल्ला सुनसरी सिंगिया गा.वि.स.वडा नं. ३ बस्ने भगलु चौधरी
विरुद्ध
प्रत्यर्थी प्रतिवादीः ऐ.ऐ. बस्ने संगिलाल चौधरी
शुरु तहमा फैसला गर्नेः
मा.जि.न्या. श्री कमलचन्द्र नेपाल
पुनरावेदन फैसला गर्नेः
मा.न्या. श्री शारदाप्रसाद पण्डित,
मा.न्या. श्री उद्धवप्रसाद बाँस्कोटा
§ नागरिकताको प्रमाणपत्रलाई नाताको प्रमाणपत्र भन्न नमिल्ने ।
§ नागरिकताको प्रमाणपत्र वादीसँग रहने वादीको प्रयोजनको लागि तयार हुने कागज भएकाले सो प्रमाण पत्र लिंदा प्रतिवादीको सहमति संलग्नता रहने कुरा हुँदैन । प्रतिवादीको सहमतिवेगर त्यहाँ लेखिएको व्यहोरा अकाट्य प्रमाण हुन नसक्ने ।
(प्रकरण नं.७)
§ नाताको कुरा स्वाभाविक रुपमा पहिलो रक्त सम्बन्धको कुरा र दोस्रो भावनात्मक कुरा हो, रक्त सम्बन्ध बारे भौतिक प्रमाणबाट पुष्टि गर्न वादी पक्ष अनिच्छुक देखिनुले वादीको विपक्षमा अनुमान गर्नुपर्ने ।
(प्रकरण नं.८)
§ डी.एन.ए. परीक्षण गर्न असहयोग गर्नुका पछाडि सो डी.एन.ए. परीक्षण भए निजका विरुद्ध प्रमाण लाग्नसक्ने भएकाले नै अनुपस्थित रहेको अनुमान गर्नुपर्ने ।
(प्रकरण नं.९)
पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ता श्री सुन्दरलाल चौधरी
प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री बोर्णबहादुर कार्की
अवलम्वित नजीरः
सम्बद्ध कानूनः
o अ.वं. १३९
o प्रमाण ऐन, २०३१ को दफा ७(ख)
o मोहीको १ नं.
फैसला
न्या.कल्याण श्रेष्ठः पुनरावेदन अदालत बिराटनगरको मिति २०६०।९।९ गतेका फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्याउने निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :–
पिता संगिलालको एकमात्र श्रीमती भुलियादेवीबाट एकमात्र छोरा म फिरादी भगलु चौधरी हुँ । यसरी आमा, बुबा र म समेत ३ अंशियार मात्र हो । हामीहरूका बीच आजका मितिसम्म अंशबण्डा भएको छैन । एकाघर सगोलमा नै छौं । घरको मुख्य मानिस पिता संगिलाल हुनु भएकोमा आजसम्म उहाँकै खटनमा कार्य गरी रहेको थिए । पिता संसारीक जीवनबाट वाक्क भई जोगी हुनुका अतिरिक्त घरको सम्पूर्ण चल अचल श्रीसम्पत्ति पनि सबै जोगीहरूलाई, सन्यासीहरूलाई र धार्मिक कार्यमा खर्च गर्ने ईच्छा व्यक्त गरी सम्पत्ति बिक्री गर्न लाग्नु भएकोले सो कुरा आमालाई भन्दा आमा पनि विपक्षीतिरै लागी अव हामी सबै सम्पत्ति बिक्री गर्छौं भन्दा त्यसो भए हाम्रो कानूनबमोजिमको अंश र ईज्जत आमदअनुसारको खान पाउन पुग्ने आय आयस्ता दिई खाने लाउने व्यवस्था गरी दिनु नदिए अंश छुट्याई दिनुभन्दा खान लाउन दिन्न अंश पनि दिन्न भनी मिति २०५८।३।९ गतेका दिन प्रमाणका मानिसले सम्झाउंदा समेत नमानी घरबाट समेत निकाला गरी दिएकाले अंशबण्डाको १, २१०, ३५ नं. का आधारमा अ.वं. ३६ नं. का हदम्यादभित्रै अ.वं. ७२, ८२ नं. बमोजिम फिराद गर्न आएको छु । अंशबण्डाको २०, २१, २२, २३ नं. बमोजिम तायदाती फांटवारी दाखिला गराई ३ खण्डको १ खण्ड बण्डा छुट्याई पाउँ भन्ने समेत वादीको मुख्य फिराद दावी ।
यी वादी हामीहरूका छोरा नाताका मानिस होइनन् । हामी प्रतिवादीहरूको कोही पनि छोरा छोरी नभएका र जायजन्म भएको पनि छैन । हामी निसन्तान छौं । हाम्रो छोराछोरी नभएको प्रमाण म सगीलाल चौधरीले भु.सु.का. सुनसरीमा २०२२ सालमा भरेको १ नं. लगत समेतबाट प्रष्ट भइराखेको छ । यी वादी हाम्रो छोरा नभई मेरा दाजु भंगिलालका छोरा मेरा भतिजा नाताका मानिस हुन् । वादी दावी सम्पूर्ण झूठा हो । वादीकी आमा कस्टी थरुनी हालसम्म जीवित नै छन् । झूठा फिराद अ.वं. १८० नं. बमोजिम खारेज हुने हुँदा खारेज गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीहरूको संयुक्त प्रतिउत्तर पत्र ।
प्रतिउत्तरको पेटबोलीमा उल्लेख भएका भंगिलाल निजका छोराहरू दशन, रक्सु, सुदन लाल, पाचु, छविनाथ र निजको आमा कस्टी थरुनी समेतलाई अ.वं. १३९ नं. बमोजिम बुझी पेश गर्नु भन्ने समेत व्यहोराको ०५९।४।२८ को आदेश ।
यी वादी प्रतिवादीका बिच नातामा विवाद देखिएकाले दुवै पक्षको नातातर्फ अ.वं. ८० नं. बमोजिम बयान गराउनु भन्ने आदेश ।
प्रतिवादी संगिलाल चौधरीको एकमात्र छोरा वादी भगलु चौधरी हुन भुलिया चौधरी वादीको आमा, हुन्, यिनीहरूका बीच अंशबण्डा भएको छैन भन्ने वादी वा कृष्णकुमार चौधरीले अ.वं. ८० नं. बमोजिम नातामा गरेको बयान ।
वादी हाम्रो छोरा नाताका मानिस होइनन् । यी वादी हाम्रो अंशियार पनि होइनन् यी वादी भगिलाल र कष्टी चौधरीका छोरा हुन हामीले वादीलाई अंश दिनुपर्ने होइन भन्ने प्र. वा.युवराज दाहालले अ.वं. ८० नं. बमोजिम नातामा गरेको बयान ।
वादीको बाबु संगिलाल आमा भुलिया देवी चौधरी हुन यिनीहरू ३ अंिशयार छन् । यिनीहरूका वीच अंशबण्डा भएको छैन भन्ने वादीका साक्षी मायाराम चौधरीले गरेको बकपत्र ।
वादी प्रतिवादी काका भतिजा नाताका हुन् । वादीको बाबुको नाम भंगिलाल आमा कस्टी थरुनी हुन् । प्र. संगिलालको छोरा छोरी छैनन् । वादीलाई प्रतिवादीले अंश दिनु पर्ने होइन । वादी प्रतिवादी अंशियार होइनन् भन्ने प्रतिवादीका साक्षी घुरन चौधरीले गरेको बकपत्र ।
यी वादी प्रतिवादीबीच कुनै नाता पर्छ पर्दैन ? र यी वादीले प्रतिवादीहरूबाट अंश पाउने हो होइन । सो सम्बन्धमा जानकारी राख्नसक्ने स्थानीय व्यक्तिहरू समेत राखी सर्जमिन मुचुल्का गर्नु भन्ने मिति २०५८।९।१७ को आदेश ।
यी वादी र प्रतिवादी काका भतिजा नाताका मानिस हुन् । प्रतिवादीका छोरा वादी होइनन्, वादीका बाबु भंगिलाल चौधरी हुन वादीले प्रतिवादीबाट अंश पाउने होइनन् भन्ने समेत मिति २०५९।१।२१ को सर्जमिन मचुल्का ।
यी वादी भगलु चौधरी भंगिलाल चौधरीका छोरा हुन् । प्रतिवादी संगिलाल वादीका काका हुन । वादीले प्रतिवादीबाट अंश पाउने होइन भन्ने अ.वं. १३९ नं. बमोजिम बुझिएका रक्सु चौधरीले गरेको बयान ।
वादी मेरो माहिलो दाजु हुन् । यी प्रतिवादी वादीका काका हुन् वादीले प्रतिवादीबाट अंश पाउने होइन भन्ने अ.वं. १३९ नं. बमोजिम बुझिएका सुरतलाल चौधरीले गरेको बयान ।
वादी प्रतिवादी अंशियार होइनन्, वादीको बाबुको नाम भंगिलाल हो म भगिलालको श्रीमती हुँ वादी प्रतिवादी काका भतिजा नाताका मानिस हुन् भन्ने अ.वं. १३९ नं. बमोजिम बुझिएको कस्टी थरुनीले गरेको बयान ।
वादी प्रतिवादीहरू अंशियार होइनन् वादीले प्रतिवादीबाट अंश पाउने होइन प्रतिवादीका भतिजा नाताका वादी हुन भन्ने अ.वं. १३९ नं. बमोजिम बुझिएका दशन चौधरीले गरेको बयान ।
मेरो अंश खाने पचाउने नियतले म संगिलालको छोरा हुन् भनी जालसाजी तरिकाले नागरिकता लिएका हुन वादी मेरो छोरा नहुँदा अंश दिनु पर्ने होइन भनी प्र.वा. युवराज दाहालले गरेको कागज ।
वादी संगिलाल चौधरीको छोरा तथा अंशियार नाताको व्यक्ति देखिन आएन । सो नआउनाले प्रतिवादीबाट अंश दिलाई पाउँ भन्ने वादी दावी पुग्न सक्दैन । वादीले प्रतिवादीबाट अंश पाउने ठहदैन भन्ने समेत व्यहोराको सुनसरी जिल्ला अदालतको मिति २०५९।११।४ को फैसला ।
मेरो जिल्ला प्रशासन कार्यालय सुनसरीबाट लिएको नगारिकता प्रमाण पत्रमा संगिलाल चौधरीको छोरा भगलु चौधरी भनी स्पष्ट उल्लेख भएको कुरालाई मतदाता नामावली समेतलाई प्रमाणमा नलिई वेवास्ता गरी प्रमाण ऐन, २०३१ को दफा ६(ग) र (ङ) तथा दफा २५ ले प्रमाण लाग्ने हुँदाहुदै सो व्यवस्थाको उल्लंघन गरी लिखित प्रमाणलाई उल्लंघन गरी मौखिक प्रमाणलाई मान्यता दिई वादी दावी नपुग्ने ठहर्याएको शुरु फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी वादी दावीबमोजिम इन्साफ पाऊँ भन्ने समेत व्यहोराको वादीको पुनरावेदन पत्र ।
यसमा नागरिकता, मतदाता सूचीमा उल्लिखित नाम तथा २०४४ सालको राजीनामा समेतका वादीका प्रमाण समेतको विवेचना नगरी भएको शुरुको फैसला फरक पर्नसक्ने देखिंदा छलफलको लागि अ.वं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई पेश गर्नु भन्ने यस अदालतको २०६०।६।२९ को आदेश ।
वादी संगिलाल चौधरीको छोरा अंशियार देखिन नआएकोले सो आधारमा अंश पाऊँ भन्ने वादी दावी पुग्न नसक्ने ठहराई शुरु सुनसरी जिल्ला अदालतले २०५९।११।४ गते गरेको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ भन्ने समेत मिति २०६०।९।९ गतेको फैसला ।
नागरिकताको प्रमाणपत्रमा र मतदाता परिचयपत्र समेतमा संगिलाल चौधरीको छोरा भगलु चौधरी हो भनी स्पष्ट उल्लेख भएकोमा सो प्रमाणपत्रलाई बदर बातील नगरी मौखिक प्रमाणलाई आधार मानी शुरु फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी मुद्दा दोहोर्याउने निस्सा प्रदान गरी सो फैसला बदर गरी फिराद दावीबमोजिम इन्साफ पाऊँ भन्ने यस अदालतमा परेको मुद्दा दोहोर्याई पाऊँ भन्ने निवेदन पत्र ।
निवेदक वादी भगलु चौधरी विपक्षी संगिलालको छोरा हो भन्ने कुरा निजले जिल्ला प्रशासन कार्यालय सुनसरीबाट मिति २०३५।२।२२ मा प्राप्त गरेको नागरिकता, मतदाता नामावली, मतदाता परिचयपत्र, पारिवारिक लगत र विभिन्न जग्गाको निजले बिक्री गर्दा तयार भएको लिखत समेतबाट पुष्टि भएको र उक्त कागजपत्रहरू बदर नभइसकेको अवस्थामा वादीलाई संगिलालको छोरा होइन भनी अंश नपाउने ठहराएको शुरु मोरङ जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत विराटनगरको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ६, को खण्ड (ग)(ङ) ५४ र नेकाप २०४६, अङ्क ३, पृ. २७१ मा प्रतिपादित नजीर सिद्धान्त समेतको त्रुटि भई न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क)(ख) को अवस्था विद्यमान हुँदा मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने समेत यस अदालतको मिति २०६१।३।१६ को आदेश ।
यसमा भगलु चौधरीले जिल्ला प्रशासन कार्यालय सुनसरीबाट मिति २०३५।२।२२ मा १६४७४/२७६ बाट नेपाली नागरिकताको प्रमाणपत्र लिंदा कार्यालयमा भरी पेश गरेको दरखास्त फाराम र त्यसमा संलग्न रहेका प्रमाण कागजहरू समेतको सक्कल फायल उक्त कार्यालयबाट झिकाई पेश गर्नु भन्ने मिति २०६३।३।२१ को आदेश ।
यसमा, पुनरावेदक वादीबाट डी.एन.ए. परीक्षणका लागि लाग्ने दस्तूर दाखिल गर्न लगाई दस्तूर दाखिल गरेमा प्रतिवादी संगिलाल चौधरी र पुनरावेदक वादी भगलु चौधरीका बीचमा पितापुत्र देखिने अनुवंशिक गुण छन् छ्रैनन् ? रोनाष्टबाट डी.एन.ए. परीक्षण गराई परीक्षण प्रतिवेदन समेत लिई पेश गर्नु भन्ने मिति २०६४।८।५ को यस अदालतको आदेश ।
आदेशानुसार प्रतिवादी संगिलाल चौधरी डी.एन.ए. परीक्षणलाई उपस्थित हुन आएको र वादीले दस्तूर पनि दाखेल नगरेको र उपस्थित हुन नसकेको भनी वारेसमार्फत् निवेदन परी मिसिल सामेल रहेको ।
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन समेतको मिसिल अध्ययन गरी पुनरावेदक वादीको तर्फबाट उपस्थित विद्वान अधिवक्ता सुन्दरलाल चौधरीले मेरो पक्षले संगिलालको छोरा भनी नागरिकताको प्रमाणपत्र लिएको छ, मतदाता नामावली, मतदाता प्रमाण पत्रमा सो कुरा उल्लेख छ, त्यसलाई अन्यथा प्रमाणित गर्न सकिएको छैन, यस्तो अवस्थामा मौखिक प्रमाणलाई आधार मानी फैसला गर्न मिल्दैन । डी.एन.ए. परीक्षणको लागि मौका पुन प्रदान होस पुनरावेदन अदालतको फैसला मिलेको छैन भनी र प्रत्यर्थी प्रतिवादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता वोर्णबहादुर कार्कीले वादी प्रतिवादीका छोरा होइनन् भन्ने वादीकै आमाले अदालतमा उपस्थित भई गरेको बयान समेतबाट पुष्टि भएको छ । अदालतबाट पटक पटक डी.एन.ए. परीक्षण गर्न आदेश भएकोमा वादीले त्यसबाट सत्य पत्ता लाग्ने डरले अनुपस्थित रहेका छन्, नाम एउटै भएको अर्कै व्यक्ति संगिलाललाई यीनले बाबु भनी दावी गरेका छन् । आफ्नै छोरा भए प्रतिवादीले ढाँट्नु पर्ने कारण छैन, पुनरावेदन अदालतको फैसला सदर होस् भनी गर्नु भएको वहस समेत सुनी पुनरावेदन अदालतको फैसला मिलेको छ, छैन ? पुनरावेदकको पुनरावेदन जिकीर पुग्न सक्छ सक्दैन भन्ने कुराको निर्णय दिन परी निर्णयतर्फ बिचार गर्दा, यसमा, पिता संगिलाल र भुलियादेवीको एक मात्र छोरा म वादी हुँदा विपक्षीहरूबाट अंशको तायदाती फाँटवारी लिई, फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी खुल्न आएको तायदातीको सम्पत्तिबाट ३ भागको १ भाग अंश छुट्टाइ दिलाई चलन समेत चलाई पाउँ, भन्ने समेत फिराद दावी तथा वादी हाम्रो छोरा नै नभएकोले हामीले फिरादीलाई अंश दिन पर्ने होइन, वादी भतिजा नाताका व्यक्ति हुन् भन्ने समेत प्रतिवादीको प्रतिउत्तर भएको प्रस्तुत मुद्दामा वादी प्रतिवादीको छोरा नै नभएकोले अंश पाऊँ भन्ने वादी दावी पुग्न सक्दैन भन्ने शुरु फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला बदर होस् भन्ने मूल पुनरावेदन जिकीर देखिन्छ ।
२. वादी भगलु चौधरी प्रतिवादी संगिलालको छोरा अँशियार हुन होइनन् ? निजले प्रतिवादी संगिलालबाट अंश पाउने हो होइन ? भन्ने नै निर्णय गर्नुपर्ने मूल प्रश्न रहेको छ । वादी भगलु चौधरी प्रतिवादी संगिलालको छोरा हुन होइनन् भन्ने तर्फ विचार गर्दा, वादीले बाबु आमा भनी दावी गरेका प्रतिवादी संगिलाल र भुलिया देवीले प्रतिउत्तर फिराउँदा हामी प्रतिवादीहरूका छोरा छोरी छैनन्, हामीबाट जाय जन्म नै भएको छैन, नि सन्तान नै रहेका छौ । वादी भगलु हाम्रो छोरा होइन मेरा दाजु भंगिलाल चौधरीको माइलो छोरा मेरो भतिज नाताका व्यक्ति हुन् भनी इन्कारी प्रतिउत्तर फिराएको देखिन्छ । प्रतिवादीकै छोरा भए आफ्नै छोरालाई आफ्नै बाबु आमाले मेरो छोरा होइन हाम्रो सन्तान नै छैन भनी झूठा कुरा भन्नुपर्ने अवस्था सामान्यतः रहँदैन ।
३. त्यस्तै प्रतिवादी संगिलालले दाजु भनी प्रतिउत्तरमा लेखाएका भंगिलालले भूमिसुधार कार्यालय सुनसरीमा भरी बुझाएको मोहीको १ नं. लगतमा भगलु चौधरीलाई परिवारका सदस्यमध्ये छोरा भनी उल्लेख गरेको कुरा मिसिल संलग्न मोहीको लगत फारमबाट देखिन्छ । यसबाट पनि वादी प्रतिवादीहरूको छोरा नभई भंगिलालको छोरा हुन भन्ने प्रतिउत्तर जिकीर समर्पित भएको देखिन्छ । त्यस्तै प्रतिवादी संगिलालले भूमीसुधार कार्यालय सुनसरीमा भरी बुझाएको मोहीको १ नं. लगतमा छोरा छोरीको नाम उल्लेख गरेको देखिंदैन । प्रतिवादीको सन्तान छोराछोरी भएमा वा यी वादी प्रतिवादीको छोरा भए वादीले निजको नाम सो फारममा उल्लेख गर्नुपर्ने हो तर सो पनि उल्लेख भएको पाइएन ।
४. प्रतिवादी वारेस युवराज दाहालले अदालतमा उपस्थित भई बयान गर्दा यी वादीलाई प्रतिवादीको छोरा होइनन् भंगिलाल र कस्टी थरुनीका छोरा हुन भनी बयान गरेको देखिन्छ । त्यस्तै शुरु जिल्ला अदालतबाट मिति २०५९।१।२० गते भएको मुचुल्कामा वादीलाई प्रतिवादीको छोरा होइनन् भंगिलालको छोरा हुन भनी सरजमिन व्यहोरा लेखाई दिएको देखिन्छ ।
५. भंगिलालकै छोरा रकसु चौधरी, दशन चौधरी, सुदनलाल चौधरी भन्ने सुरत चौधरी समेतलाई अ.वं. १३९ नं. बमोजिम अदालतबाट झिकाई बुझ्दा वादी भगलु चौधरी हाम्रो आफ्नो दाजु भाइ एवं छोरा हो भनी बयान गरेको देखिन्छ । आफ्नो छोरा नभए वादीलाई निजकी आमा कस्टी चौधरीले मेरो गर्भबाट जन्मेको छोरा भन्नुपर्ने अवस्था रहँदैन ।
६. वादी भगलु चौधरी संगिलालको छोरा नभई भंगिलालको छोरा भन्ने कुरा प्रतिवादी संगिलाल समेतको प्रतिउत्तर पत्र, निजकै बयान, भगलु चौधरीकै आमा कष्टी दाजु रक्सु चौधरी समेतले गरेको बयान एवं भूमिसुधार कार्यालय सुनसरीमा भरी बुझाएको मोहीको १ नं. लगत फारम समेतबाट पुष्टि भएको देखिन्छ ।
७. अर्कातर्फ वादीले आफूलाई प्रतिवादी संगिलालको छोरा हुँ भनी फिराद दावी गरी अदालतमा उपस्थित भई बयान गरी नागरिकतामा बाबुको नाम संगिलाल लेखी नागरिकताको प्रमाणपत्र, मतदाता नामावली समेत राखी जिकीर लिएको पाइन्छ । तर उक्त नागरिकताको प्रमाणपत्र लिने प्रक्रियामा भरेको फारम लगायतका कागजमा सांगिलाल संलग्न भए नभएको कुरा झिकाई त्यसको मूल्याङ्कन गर्न खोज्दा उक्त फारमहरू जिल्ला प्रशासन कार्यालयबाट उपलव्ध गराउन सकेको पाइएन । नागरिकताको प्रमाणपत्रलाई नाताको प्रमाणपत्र भन्न पनि मिल्दैन । नागरिकताको प्रमाणपत्र वादीसँग रहने वादीको प्रयोजनको लागि तयार हुने कागज हो । सो प्रमाण पत्र लिंदा प्रतिवादीको सहमति संलग्नता रहने कुरा हुँदैन । प्रतिवादीको सहमति वेगर त्यहाँ लेखिएको व्यहोरा अकाट्य प्रमाण हुन नसक्ने हुन्छ । साथै रेकर्डबाट वादीले नागरिकताको प्रमाण–पत्र लिंदा प्रतिवादी संगिलालको कुनै संलग्नता रहेको प्रमाण पनि आउन सकेको छैन ।
८. नाताको कुरा स्वाभाविक रुपमा पहिलो रक्त सम्बन्धको कुरा र दोस्रो भावनात्मक कुरा हो, रक्त सम्बन्ध बारे भौतिक प्रमाणबाट पुष्टि गर्न वादी पक्ष अनिच्छुक देखिनुले वादीको विपक्षमा अनुमान गर्नुपर्ने हुन्छ भने प्रतिवादीलाई वादीले बाबु आमा देखाएपनि निजहरूले स्पष्ट त इन्कार गरेको र वास्तविक सम्बन्ध भए यस्तो स्थिति सामान्यतया अपेक्षा नगरिने हुनाले पनि वादीको दावी तथ्य प्रमाण र व्यवहारहरूबाट पुष्टि भएको भन्न सकिने भएन । त्यस्तै नाताको सम्बन्धमा वैज्ञानिक रुपले पुष्टि गर्ने प्रमाण डी.एन.ए. परीक्षण गरी विवादको निरुपण गर्न यस अदालतबाट वादी भगलु र प्रतिवादी संगिलालको पिता पुर्खा देखिने गुण छ छैन भनी डी.एन.ए. परीक्षण गर्न मिति २०६४।८।५ गते आदेश भई आदेशानुसार वादी प्रतिवादीलाई झिकाउन तारेख तोकिएकोमा प्रतिवादी संगिलाल उपस्थित भए पनि वादी वारेसले वादीलाई उपस्थित गराउन नसकिने भनी निवेदन दिई मिसिल सामेल रहेको देखिन्छ । यसबाट पनि वादीले आफ्नो दावी पुष्टि गराउन समर्थ नभएको पुष्टि हुन आएको छ । वादी प्रतिवादीबीचमा डी.एन.ए. परीक्षण भएको भए सो स्पष्ट हुन सक्ने देखिने भए पनि पटक पटक मौका दिंदा पनि वादीले सो प्रयोजनका लागि अदालतमा उपस्थित भई अदालती प्रक्रियालाई सहयोग गरेको देखिंदैन ।
९. प्रमाण ऐन, २०३१ को दफा ७(ख) ले कुनै व्यक्तिको साथमा रहेको लिखत पेश गर्न निजलाई अदालतले आदेश दिंदा निजले पेश नगरेमा सो लिखत पेश भएको खण्डमा निजका विरुद्ध प्रमाण लाग्नसक्ने किसिमको छ भनी अदालतले अनुमान गर्न सक्नेछ भन्ने व्यवस्थाका आधारमा पनि डी.एन.ए. परीक्षण गर्न असहयोग गर्नुका पछाडि सो डी.एन.ए. परीक्षण भए निजका विरुद्ध प्रमाण लाग्न सक्ने भएकाले नै वादी अनुपस्थित रहेको अनुमान गर्नुपर्ने अवस्था आएको छ । यसरी माथि उल्लिखित एवं विवेचित आधार र कारणहरूबाट वादी भगलु चौधरी प्रतिवादी संगिलाल चौधरीको छोरा भन्ने पुष्टि हुन आएन र निजहरू वादी प्रतिवादी अंशियार नाताका देखिएनन ।
१०. अव पुनरावेदक वादीले प्रतिवादीबाट अँश पाउने हुन् होइनन् भन्नेतर्फ विचार गर्दा पुनरावेदक भगलु चौधरी प्रतिवादी संगिलाल चौधरीको छोरा र अंशियार नदेखिई दाजुका छोरा भतिजा नाताको देखिंदा निजले प्रतिवादी काका संगिलालबाट अंश पाउन सक्ने अवस्था नै रहेन ।
११. तसर्थ, वादी संगिलाल चौधरीको छोरा अंशियार देखिन नआएकोले सो आधारमा अंश पाऊँ भन्ने वादी दावी पुग्न नसक्ने ठहराई गरेको शुरु सुनसरी जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत बिराटनगरको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । यस अदालतबाट मिति २०६१।३।१६ गते मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गर्दा लिइएका आधारसँग सहमत हुन सकिएन । पुनरावेदकको पुनरावेदन जिकीर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या.कृष्णप्रसाद उपाध्याय
इति संवत् २०६६ साल कात्तिक १८ गते रोज ४ शुभम्
इजलास अधिकृतः नारायणप्रसाद पराजुली