निर्णय नं. ७७१९ - भ्रष्टाचार
निर्णय नं.७७१९ ने.का.प.२०६३ अङ्क ६
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री शारदा श्रेष्ठ
माननीय न्यायाधीश श्री वद्रीकुमार वस्नेत
संवत् २०५८ सालको फौ.पु नं. २८९४
फैसला मितिः २०६३।६।४।४
मुद्दाः– भ्रष्टाचार ।
पुनरावेदक र वादी : राष्ट्रिय वाणिज्य बैंकको पत्रले नेपाल सरकार
विरुद्ध
प्रत्यर्थी र प्रतिवादीः काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १६ वालाजु वस्ने मोहन कृष्ण गुरुङ्ग समेत
§ दिने व्यक्तिले आफ्नो वयानमा रु.१०००। दिएको भन्ने भनाई नभएको अवस्थामा यसको पुष्टी नभएपछि प्रतिवादीहरुले भ्रष्टाचार जन्य कार्य गरेको भन्न नमिल्ने ।
(प्रकरण नं.३४)
§ विवादित कर्जा २०४४/ २०४५ साल सम्ममा प्रवाह भएको र राष्ट्रिय वाणिज्य बैंकबाट मिति २०४६।११।९ मा परिपत्र हुँदा मात्र फोटोकपी वा अन्य कागजात प्रमाणित गर्ने भनी भएको परिपत्रमा अवदेखि ग्राहकले पेश गर्ने कागजमा फोटोकपी प्रमाणित गरी मात्र लिनु भन्ने उल्लेख भएकोवाट यस भन्दा अगाडि वेप्रमाणित फोटोकपी लिने भन्ने कुराको प्रचलन भई राखेको भन्ने देखिंदा फोटोकपीका आधारमा ऋण प्रवाह गरेको कुरालाई अन्यथा भन्न नमिल्ने।
§ धितोवाट कर्जा उठ्ने संभावना छैन भन्ने अभियोग पनि नभएको र झुठ्ठा जग्गा धितो दिई लिई बैंकलाई हानी नोक्सानी भएको तथ्य देखाउन नसकेकोवाट वैकले आफ्नो धितो रोक्का राखेको जग्गावाट असुल उपर गर्न पाउने कुरामा विवाद नभएको र धितो स्वरुप राखेको जग्गावाट बैंकलाई यति घाटा वा नोक्सान भएको भन्ने पनि दावी नभएको अवस्थामा प्रतिवादीहरुवाट भ्रष्टाचारजन्य कार्य भयो भन्नु न्यायसंगत नहुने ।
(प्रकरण नं.३५)
पुनरावेदक वादी तर्फवाटः विद्वान सहन्यायाधिवक्ता श्री टीकावहादुर हमाल
प्रत्यर्थी प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ताहरु श्री इन्दिरा कार्कि, श्री वोर्णवहादुर कार्की, श्री रवीराज भण्डारी र प्रतिक घिमिरे
अवलम्वित नजीरः
फैसला
न्या.वद्रीकुमार वस्नेतः पुनरावेदन अदालत पाटनको मिति २०५६।१०।१९ गतेको फसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य एवं ठहर यसप्रकार छ :-
२. रा.वा. बैंक शाखा कार्यालय फर्पिङका प्रवन्ध (लेखा अधिकृत) मोहन कृष्ण गुरुङ्ग समेतको मिलेमतोमा प्रा.फ.नं.घ.उ.वि. १३७१२।७१२।०४५।०४६ हरि उनी धागो कटाई उद्योग नाम किर्ते उद्योगका नाउंमा कर्जा नं. २४।१८ वाट कर्जा प्रवाह गरि भ्रष्टाचार गरेकोले कारवाही गरिपाऊँ भन्ने समेत रा.वा. बैंक केन्द्रिय कार्यालयको वि.प्र.वि.मा परेको उजुरी पत्र ।
३. कर्जा नं. २४/१८ को हरि उनी धागो कटाई उद्योगका प्रो. हरिप्रसाद आचार्यका नाउंमा मेरो पालामा मैले रु ५५,०००। कर्जा प्रवाह गरेको हुं । उद्योग दर्ता प्रमाणपत्र किर्ते भन्ने कुरा मलाई थाहा थिएन । रामवहादुर र कृष्णवहादुर कुंवरले कर्जा प्रवाह गरेमा फरक पर्दैन भनि जिम्म लिएकोले कर्जा प्रवाह गरेको हुँ । उद्योगको स्क्रीम र शिव कुमारले तयार पार्दथ्यो । परियोजना वनाए वापत उद्यमीले रु १,०००। दिन्थे सो रकम म र एकाउन्टेन्टले लिने गर्दथ्यौं भन्ने समेत व्यहोराको मोहन कृष्ण गुरुङ्गले वि.प्र.वि.मा गरेको वयान ।
४. कृष्णवहादुर कुँवर र रामवहादुर कुँवर फेला नपरेको भन्ने प्र.ना.नि. मीनवहादुर थापाको प्रतिवेदन ।
५. परियोजना बैंकको कर्मचारीले बनाई दिए वापत रकम लिन पाइने व्यवस्था नभएको भन्ने रा.वा. बैंक केन्द्रिय कार्यालयको पत्र ।
६. हरिप्रसाद आचार्यको घर डेरा वसोवास यस छैमले गा.वि.स.वडा नं: ८ मा नभएको भन्ने सुर्यवहादुर विश्वकर्माले गरि दिएको मुचुल्का ।
७. कर्जा नं. २४/१८ को फाईलको एकाउन्टेन्ट महलमा शिव कुमार खत्री भनि गरिएको हस्ताक्षर सहि मेरो हो । योजना वनाए वापतको रकम प्रवन्धक र मैले वाड्ने गरेका थियो भन्ने समेत प्रतिवादी शिव कुमार खत्रीले वि.प्र.वि.मा गरेको वयान ।
८. रा.वा. बैंक फर्पिङ शाखाका तत्कालीन प्रवन्धक मोहन कृष्ण गुरुङ्गको पालामा ऋण लगानी भएको सम्वन्धमा उद्योग दर्ता प्रमाण–पत्र रामवहादुर समेतले एउटा उद्योगको सक्कल प्रमाणपत्रवाट फोटोकपि निकाली सो फोटोकपिमा भएको नामलाई मेटी, मेटिएको ठाउँमा ऋणी हुने व्यक्तिको नाम ठेगाना लेखि त्यसवाट अर्को फोटोकपि निकाली पेश गर्ने गरेको हुंन भन्ने समेत राजेन्द्र कुमार राजभण्डारीले वि.प्र.वि.मा गरेको वयान ।
९. हरि उनी धागो कटाई उद्योगको नाउंमा कर्जा प्रवाह भएको फाईलहरु देखाउदा देखे उक्त फाईलमा कतै निमित्त एकाउन्टेन्ट र कहि शिव हरि अर्याल भनि गरिएको दस्तखत मेरो हो भन्ने शिव हरि अर्यालले वि.प्र.वि.मा गरेको वयान ।
१०. रा.वा. बैंकवाट प्राप्त कर्जा नं. २४/१८ का फाईल संलग्न कागजातमा पुरुषोत्तम घिमिरे भनि लेखिएका ठाउँमा भएको दस्तखत मेरो हो । म समेतवाट कर्जा प्रवाह भएको हो भन्ने समेत प्रतिवादी पुरुषोत्तम घिमिरेले वि.प्र.वि.मा गरेको वयान ।
११. हरि उनी धागो कटाई उद्योग समेतका ३० वटा उद्योग यस विभागमा दर्ता छैन भन्ने उद्योग विभागको पत्र ।
१२. का.जि. वाडभन्ज्याङ गा.वि.स.वडा नं: ९ (च) कि.नं: ८४ र थानकोटको कि.नं. १०८ को क्रमशः क्षे.फ. ०–२–०, ०–५–० जग्गा हरिप्रसाद आचार्यका नाउंमा दर्ता प्रमाणित भै रोक्का समेत रहेको भन्ने मा.पो.का. कलंकीको पत्र ।
१३. गैर सरकारी राष्ट्र सेवक मोहन कृष्ण गुरुङ्ग, शिव कुमार खत्री, शिव हरि अर्याल र पुरुषोत्तम घिमिरेलाई यस अघिको मुद्दामा विभागीय कारवाहीको लागि लेखि गै सकेको हुंदा यस मुद्दावाट विभागीय कारवाही गर्न पर्ने नदेखिएको हुंदा वादी श्री ५ को सरकार प्रतिवादी कविता मानन्धर समेत भएको भ्रष्टाचार मुद्दामा सक्कल कागजात समावेश भएकोले उक्त मिसिल झिकाई प्रमाण लगाई पाउँ भनि उल्लेख भएको देखिएको ।
१४. रा.वा. बैंक फर्पिङ शाखाका तत्कालीन प्रवन्धक मोहन कृष्ण गुरुङ, शिव कुमार खत्री, शिव हरि अर्याल र पुरुषोत्तम घिमिरे समेत भै कृष्णवहादुर कुंवर, रामवहादुर कुवर राजेन्द्र कुमार राजभण्डारी र हरिप्रसाद आचार्य समेत संग गैर कानूनी मिलोमतो गरि हरि उनी धागो कटाई उद्योग नामक किर्ते उद्योगका प्रो निज हरिप्रसाद आचार्यका नाउँमा कर्जा नं. २४/१८ वाट ०४५।६।२७ मा रु १,००,०००। कर्जा स्वीकृत गरि गराई सोही मितिका तमसुक बमोजिम प्रथम किस्ता रु ५५,०००। ऋण प्रवाह गरि सो उद्योगको स्क्रीम तयार गरे वापत रु १,०००। घुस दिने लिने काम गरि अधिकारको दुरुपयोग गरि आफुलाई गैर कानूनी फाईदा र रा.वा. बैंक फर्पिङ शाखालाई हानी नोक्सानी पु र्यार्ई भ्रष्टाचार गरेकोले प्रतिवादी मोहन कृष्ण गुरुङ, शिव कुमार खत्री, उपर भ्र.नि. ऐन २०१७ ( सम्शोधित) दफा ३ दफा ७ (२) र दफा १३ बमोजिम सजाय हुन र निजहरुले लिए खाएको घुस असुल गरि राजश्वमा आम्दानी वाँध्न तथा शिव हरि अर्याल र पुरुषोत्तम घिमिरे उपर सोही ऐनको दफा ७ (२) र १३ बमोजिम सजाय हुन कृष्णवहादुर कुँवर, रामवहादुर कुँवर र राजेन्द्र कुमार राजभण्डारी उपर दफा ४ र ८ बमोजिम सजाय हुन र प्रतिवादी हरिप्रसाद आचार्य उपर दफा ४ र ८ बमोजिम सजाय भै दफा २९ नं बमोजिम साँवा र व्याज समेत रा.वा. बैंक फर्पिङ शाखालाई दिलाई भराई पाउन प्रतिवादीहरुका नाउँमा यसै अदालतवाट म्याद जारी गरि झिकाई कारवाही गरि पाउँ भन्ने समेत व्यहोराको अभियोग पत्र माग दावी ।
१५. प्रतिवादीहरुको नाउँमा दिन ३० को समाव्हान जारी गरि हाजिर भए वयान गर्न र गुजारे थमाउने अवधि नाघेपछि पेश गर्नु भन्ने विशेष अदालतको मिति ०५३।११।१७ को ०५३।११।१७ को आदेश ।
१६. हरि उनी धागो कटाई उद्योगका नाउँमा कर्जा प्रवाह मैले नै गरेको हुं । उद्योग किर्ते भन्ने कुरा मलाई थाहा थिएन । उद्योग दर्ता गराउने काम ग्राहकको हो । कर्जा प्रवाह गरे वापत वाडभन्ज्याङ गा.वि.स.को २–०–० र थानकोट गा.वि.स.को ०–४–० जग्गा धितो लिई रोक्का राखेको छु । धितो लिलामवाट असुल नभएमा मात्र बैंकलाई हानी नोक्सानी पुग्ने हो । नलिएको रकम तिर्नु पर्ने होईन र नगरेको कसूरको भागीदार हुनु पर्ने होइन भन्ने समेत मोहन कृष्ण गुरुङले विषेश अदालतमा मिति २०५४।६।७ मा गरेको वयान ।
१७. ऋण प्रवाह गर्ने व्यक्तिले ऋण प्रवाह गरे वापत वदनियती गरेको भन्ने नदेखिंदा प्रतिवादी मोहन कृष्ण गुरुङवाट रु १०००। नगद धरौट वा सो वरावरको जेथा जमानत दिए लिई मुद्दाको पुर्पक्ष गर्नु भन्ने विशेष अदालतको मिति ०५४।६।७ को आदेश ।
१८. मैले कर्जा प्रवाह गर्ने सम्वन्धमा सिफारिस नगरेको र मेरो संलग्नता नभएको र तमसुक तयार गरेकोमा लेखकको हैसियतले दस्तखत सम्म गरेको हुं । मैले बैंकलाई हानी नोक्सानी पुर्याएको छैन । मैले स्क्रीम वनाएको पनि होईन र रकम लिए खाएको नहुंदा म माथिको अभियोगदावीवाट फुर्सद गराई पाउँ भन्ने समेत शिव कुमार खत्रीले विशेष अदालतमा २०५४।६।१३ मा गरेको वयान ।
१९. प्रतिवादी शिव कुमार खत्रीले अभियोग दावी बमोजिम कसूर गरेको भन्ने तत्काल प्राप्त प्रमाणवाट नदेखिंदा पछि वुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी अ.वं. ४७ नं. बमोजिम तारेखमा राखी पुर्पक्ष गर्नु भन्ने विशेष अदालतको मिति २०५४।६।१३ कोआदेश ।
२०. भ्रष्टाचार गरेको भन्ने सम्वन्धमा मलाई केहि थाहा छैन । मैले नभए नगरेको कसूरमा सजाय पाउनु पर्ने होईन भन्ने समेत राम वहादुर कुँवरले विशेष अदालतमा ०५४।७।१९ मा गरेको वयान ।
२१. प्रतिवादी रामवहादुर कुवरवाटरु ५,०००। नगद धरौट वा सो वरावरको जेथा जमानत दिए तारेखमा राख्ने दिन नसके थुनामा राखी कारवाही गर्नु भन्ने विशेष अदालतको मिति २०५४।७।१९ को आदेश ।
२२. मैले किर्ते प्रमाण–पत्र तयार गराएको होईन किन मलाई अभियोग लगाएको हो थाहा छैन । राजेन्द्र राजभण्डारीले के कस्तो वयान गरे मलाई थाहा छैन । अभियोग माग दावीवाट सफाई पाउँ भन्ने समेत कृष्णवहादुर कुंवरले विशेष अदालतमा ०५४।८।१२ मा गरेको वयान ।
२३. प्रतिवादी कृष्णवहादुर कुँवर संग पछि ठहरे बमोजिम हुने गरी रु १,०००। नगद धरौट वा सो वरावरको जेथा जमानत दिए तारेखमा राख्ने दिन नसके थुनामा राखी कारवाही गर्नु भन्ने विशेष अदालतको मिति २०५४।८।१२ को आदेश ।
२४. ऋण लगानी गरिएको हो परियोजना वनाए वापत रकम लिनु खानु गरेको होइन । किर्ते भन्ने थाहा थिएन । सो परियोजना कस्ले बनाएको हो थाहा छैन । रकम लिए खाएको मलाई थाहा छैन । आफु भन्दा माथिका हाकिमले लगाएको काम गर्दै आएको छु । मैले आदेशानुसार तमसुक वनाई सहि गरेको हुं । रकम लिएको छैन । अभियोग दावीवाट सफाई पाउँ भन्ने समेत शिव हरि अर्यालले विशेष अदालतमा ०५४।१२।२६ मा गरेको वयान ।
२५. प्रतिवादी शिव हरि अर्यालले आरोपित कसूर गरेको भन्ने तत्काल प्राप्त प्रमाणवाट नदेखिंदा पछि वुझदै जाँदा ठहरे बमोजिम हुने गरि हाल निजलाई अ.वं. ४७ नं. बमोजिम तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्नु भन्ने समेत विशेष अदालतको मिति २०५४।१२।२६ को आदेश ।
२६. वकपत्र गराउन प्रतिवादीका साक्षी हाजिर गराउनु भनी प्रतिवादीलाई वकपत्रको तारेख तोकी पेश गर्नु भन्ने विशेष अदालतको मिति २०५६।५।२४ को आदेश ।
२७. अन्य प्रतिवादीहरु हाजिर नभै शुरु म्यादै गुजारी वसेको रहेछन् ।
२८. हरि उनी धागो कटाई उद्योगका नाउंमा कर्जा प्रवाह भएको फाईल र वि.प्र.वि.वाट कारवाही भएको फाईल प्रमाणको लागि प्राप्त भएको रहेछ ।
२९. प्रतिवादीहरुले अभियोग दावी बमोजिमको कसूर गरेको भन्न सकिने मौजुदा प्रमाण रहेको देखिन नआएवाट अभियोग दावी बमोजिम प्रतिवादीहरुले कसूर गरेको भन्न नमिली अभियोग दावीवाट सफाई पाउने ठहर्छ भन्ने समेत पुनरावेदन अदालत पाटनको २०५६।१०।१९ गतेको फसला ।
३०. प्रत्यर्थीहरुले अभियोग दावी बमोजिमको कसूर गरेको पुष्टी भएको हुँदा सोको न्यायोचित मुल्यांकन र विवेचना नै नगरी निजहरुलाई सफाई दिने गरी भएको त्रूटिपूर्ण फसला वदर गरी प्रत्यर्थीहरुलाई माग दावी बमोजिम सजाय गरिपाऊँ भन्ने समेत यस अदालतमा परेको सरकार पक्षको पुनरावेदन पत्र ।
३१. यसमा दर्ता नभएको उद्योगलाई दर्ता भएको भनी राष्ट्रिय वाणिज्य बैंकमा नक्कल कागजात पेश गरी ऋण लिए दिएको भन्ने अभियोगमा प्रतिवादीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०१७ अन्तर्गत विभिन्न कसूर कायम गरी प्रतिवादीहरुको कसूर अनुसार सोही ऐनको दफा ४ दफा ८ (२) दफा १३ को संजाय माग गरी मुद्दा चलेकोमा पुनरावेदन अदालतले प्रतिवादीहरुलाई घुस तर्फको मात्र विश्लेषण गरी सफाई दिएको देखिंन्छ । जुन उद्योगको नामवाट ऋण प्राप्त गरेको हो उक्त उद्योग श्री ५ को सरकारमा दर्ता नै नभएको भन्ने मिसिल संलग्न पत्रहरुवाट देखिन्छ । मिसिल संलग्न राष्ट्रिय वाणिज्य बैंकको पत्रवाट बैंकवाट श्री ५ को सरकारमा दर्ता नभएको उद्योगलाई कर्जा प्रवाह गर्न नमिल्ने हुँदा कर्जा प्राप्त गर्नु अगाडि कर्जा माग गर्ने उद्योग श्री ५ को सरकारमा दर्ता छ छैन ? हेरी जाँची वुझी यदि दर्ता भएको एक्किन भएमा मात्र कर्जा प्रवाह गर्न पर्ने भन्ने देखिन्छ । कर्जा प्रवाह गर्ने सम्वन्धमा बैंकको स्पष्ट निर्देशन हुँदा हुँदै दर्ता नै नभएको उद्योगलाई पेश भएको नक्कली पुर्जी कागजातका आधारमा कर्जा प्रवाह गरेको देखिएको हुंदा प्रतिवादीहरुको काम कारवाही भ्रष्टाचार निवारण ऐन २०१७ को भ्रष्टाचारको परिभाषामा पर्ने र कर्जा प्रवाह गरिएको उद्योग श्री ५ को सरकारमा दर्ता नै नभएकोमा नक्कली पुर्जि कागजात पेश हुनवाट अपराध भयो भएन भन्ने कुरा कागज आफैंले वोली रहेकोमा कर्जा लिने दिने प्रतिवादीहरुको कार्य कसूर जन्य देखिएकोमा पनि पुनरावेदन अदालतले प्रतिवादीहरुलाई सफाई दिएको फसला फरक पर्न सक्ने हुँदा अ.वं. २०२ नं. बमोजिम छलफलको लागि प्रतिवादीहरुलाई झिकाई आएपछि नियमानुसार पेश गर्नु भन्ने यस अदालतवाट मिति २०६१।१०।२५ गते भएको आदेश ।
३२. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन समेतको मिसिल अध्ययन गरी पुनरावेदक तर्फवाट उपस्थित महान्यायाधिवक्ताको कार्यालयका विद्वान सहन्यायाधिवक्ता श्री टीकावहादुर हमालले हुँदै नभएको कम्पनीको नक्कली स्क्रीम वनाएर ऋण प्रवाह गरेको छ, प्रतिवादीले तथ्यमा मात्र होइन कसूरमा पनि सावित नै छन तसर्थ प्रतिवादीहरुलाई सजाय हुनुपर्छ भनि र प्रत्यर्थी मोहनकृष्ण गुरुङको तर्फवाट उपस्थित विद्वान अधिवक्ता श्री इन्दिरा कार्किले प्रतिवादीले कसूरमा स्वीकार गरेको छैन, धितो राखेको पर्याप्त छ, बैंकलाई नोक्सानी पुर्याएको छैन भनी र प्रतिवादी शिवहरी, शिव कुमार, र मोहन कृष्णको तर्फवाट उपस्थित विद्वान अधिवक्ता श्री वोर्णवहादुर कार्कीले प्रतिवादी कसूरमा इन्कार छन्, नक्कली कागज वनाएको नहुँदा पुनरावेदन अदालतवाट भएको फसला सदर हुनुपर्छ भनी र प्रतिवादी पुरुषोत्तम घिमिरेको मु.स. गर्ने मिनेशको तर्फवाट उपस्थित विद्वान अधिवक्ता श्री रवीराज भण्डारी, प्रतिक घिमिरे समेतले प्रतिवादीले कसूर गरेमा इन्कार गरेको हुँदा पुनरावेदन अदालतको फसला सदर हुनु पर्छ भनी गर्नु भएको वहस समेत सुनी पुनरावेदन अदालतवाट भएको फसला मिले नमिलेको के रहेछ ? पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन भन्ने कुराको निर्णय दिन पर्ने देखियो ।
३३. यसमा निर्णय तर्फ विचार गर्दा, मोहन कृष्ण गुरुङ, हरिप्रसाद आचार्य समेतका प्रतिवादीहरुले भ्रष्टाचार निवारण ऐन, २०१७ अन्तर्गतको कसूर गरेको हुनाले सोही ऐन बमोजिम सजाय गरी प्रतिवादी मध्येका हरिप्रसाद आचार्यवाट बैंकवाट उद्योग संचालन गर्न भनी लिएको रकम समेत रा.वा. बैंक फर्पिङ शाखालाई दिलाई भराई पाउँ भन्ने समेत अभियोग दावी तथा अभियोग दावी अनुसार कसूर अपराध गरेको होइन भन्ने समेत उपस्थित प्रतिवादीहरुको वयान भएको प्रस्तुत मुद्दामा प्रतिवादीहरुले अभियोगदावीवाट सफाई पाउने ठहर्छ भन्ने समेत पुनरावेदन अदालत पाटनवाट भएको फसला वदर गरी प्रत्यर्थीहरुलाई माग दावी बमोजिम सजाय गरिपाऊँ भन्ने समेत वादी नेपाल सरकारको पुनरावेदन जिकिर देखिन्छ ।
३४. यसमा दावी लिंदाका अवस्थामा रु १०००। रुपैया स्क्रिम वनाउँदा रिसवत लिएको हुँदा भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७ (२) को दावी लिएको, रकम प्रवाह गरे तर्फ आफूले यति फाईदा लिएको भन्ने दावी नभएको प्रस्तुत मुद्दामा प्रतिवादीहरुले भ्रष्टाचारजन्य कार्य गरेको हो होइन भन्ने नै मुल विषय भएको प्रस्तुत मुद्दामा स्क्रिम वनाए वापत रु.१०००। दिएको भन्ने कुराको प्रमाणित कतैबाट पुष्टी भएको नदेखिएको । दिने व्यक्तिले आफ्नो वयानमा समेत रु.१०००। दिएको भन्ने भनाई नभएको अवस्थामा यसको पुष्टी नभएपछि प्रतिवादीहरुले भ्रष्टाचार जन्य कार्य गरेको भन्न मिलेन ।
३५. जहाँसम्म यस अदालतवाट प्रत्यर्थीहरुलाई झिकाउने आदेश हुँदा जुन उद्योगको नामवाट ऋण प्रवाह गरिएको भनिएको छ उक्त उद्योग दर्ता नै नभएको र यसरी दर्ता नभएको उद्योगको फोटोकपी पेश गरी बैंकको निर्देशन विपरीत कर्जा प्रवाह गरेको भन्ने सम्वन्धमा विवादित कर्जा २०४४/ २०४५ साल सम्ममा प्रवाह भएको र राष्ट्रिय वाणिज्य बैंकबाट मिति २०४६।११।९ मा परिपत्र हुँदा मात्र फोटोकपी वा अन्य कागजात प्रमाणित गर्ने भनी भएको परिपत्रमा अवदेखि ग्राहकले पेश गर्ने कागजमा फोटोकपी प्रमाणित गरी मात्र लिनु भन्ने उल्लेख भएकोवाट यस भन्दा अगाडि वेप्रमाणित फोटोकपी लिने भन्ने कुराको प्रचलन भई राखेको भन्ने देखिंदा फोटोकपीका आधारमा ऋण प्रवाह गरेको कुरालाई अन्यथा भन्न मिल्ने अवस्था भएन । जहाँ सम्म धितो राखी दिएको कर्जाको धितोवाट कर्जा उठ्ने संभावना छैन भन्ने अभियोग पनि नभएको र झुठ्ठा जग्गा धितो दिई लिई बैंकलाई हानी नोक्सानी भएको तथ्य देखाउन नसकेकोवाट वैकले आफ्नो धितो रोक्का राखेको जग्गावाट असुल उपर गर्न पाउने कुरामा विवाद नभएको र धितो स्वरुप राखेको जग्गावाट बैंकलाई यति घाटा वा नोक्सान भएको भन्ने पनि दावी नभएको अवस्थामा अहिले नै प्रतिवादीहरुवाट भ्रष्टाचारजन्य कार्य भयो भन्नु न्याय संगत नहुने देखिन्छ । त्यस्तै यस्तै प्रकृतिको वादी श्री ५ को सरकार प्रतिवादी मोहन कृष्ण गुरुङ समेत भएको विभिन्न भ्रष्टाचार मुद्दामा पुनरावेदन अदालतले मुद्दा फसला गर्दा वादी दावी पुग्न नसक्ने गरि भएको काठमाडौं जिल्ला अदालतको इन्साफ सदर गरे उपर सरकार पक्षको पुनरावेदन समेत नपरेको प्रमाण स्वरुप प्राप्त मिसिलवाटदेखि रहेको अवस्थामा एकै प्रकृतिको मुद्दामा एउटा मुद्दा अन्तिम भएर प्रतिवादीले सफाई पाउने भएपछि प्रस्तुत मुद्दा पनि सोही प्रकृतिको भएको र उक्त मुद्दाको कार्यवाही र प्रस्तुत मुद्दाको कारवाहीको प्रकृति समेत एउटै भएको अवस्थामा एउटामा प्रतिवादी निर्दोष ठहर्ने र अर्कामा आरोपित कसूर ठहर्नु पर्ने भन्ने कुरा पनि आपैmमा विवादित देखिंदा प्रस्तुत मुद्दामा भ्रष्टाचारजन्य अपराध कायम हुन नसक्ने ठहराएको पुनरावेदन अदालत पाटनको इन्साफ मनासिव ठहर्छ । पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या.शारदा श्रेष्ठ
इति सम्वत् २०६३ साल असोज ४ गते रोज ४ शुभम––––––––––––––––––––––