शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८३०३ - आयकर ।

भाग: ५२ साल: २०६७ महिना: बैशाख अंक:

निर्णय नं. ८३०३          वैशाख, २०६७

 

सर्वोच्च अदालत संयुक्त इजलास

माननीय न्यायाधीश श्री प्रेम शर्मा

माननीय न्यायाधीश श्री भरतराज उप्रेती

संवत् २०६१ सालको फौ.पु.नं. ३७९७

फैसला मितिः २०६६।६।२०।३

 

मुद्दाः आयकर 

 

पुनरावेदक/ विपक्षीः आन्तरिक राजश्व कार्यालय, काठमाडौँ क्षेत्र नं. १ बबरमहल

विरुद्ध

प्रत्यर्थी/निवेदकः विदेश रुको स्टाभोपोल स्थित ज्वाईन्टस्टक एयरलाइन्सका तर्फबाट अधिकार प्राप्त प्रतिनिधि मिखाईल मलिक समेत

 

§  सम्झौता गर्ने विषयमा पक्षहरू स्वायत्त हुनेहुँदा सम्झौताका विभिन्न शर्तहरू पक्षहरूको सहमतिमा निर्धारण हुने हुन्छ । किस्तावन्दी रुपमा वस्तुको पूर्व निर्धारित मूल्य भुक्तानी भइसकेपछि त्यो वस्तुको स्वामित्व खरीदकर्तामा हस्तान्तरण हुने हुन्छ । रकम भुक्तानी गरिसकेको अवस्थामा भाडामा दिने पक्ष अर्थात् वस्तुको मालिकले स्वामित्व हस्तान्तरण नगरेमा त्यस्तो स्वामित्वको हक हस्तान्तरण गराई पाउने अधिकार भाडामा लिने पक्षमा रहेको हुन्छ । सामान्यतया किस्तावन्दीमा भुक्तानी गरिएको रकम खरीद रकमको हिस्सा मानी भुक्तानी गरिने हुंदा यस्तो रकम फिर्ता नहुने प्रकृतिको हुने 

(प्रकरण नं.२)

§  सामान्य भाडा संझौता (Lease Agreement) अन्तर्गत अर्को व्यक्तिको वस्तु प्रयोग गर्दा त्यो वस्तु प्रयोग गरेबापत प्रयोगकर्ताले वस्तुको स्वामीलाई निश्चित रकम भुक्तानी गर्नेगरी संझौता गरिएको हुन्छ । भाडा संझौताअन्तर्गत प्रयोग गरिएको वस्तुको स्वामित्व वास्तविक स्वामीमा नै रहेको तथा रहने हुन्छ । प्रयोगकर्ताले संझौतामा उल्लेख भएको अवधिसम्म त्यो वस्तु प्रयोग गर्न पाउँछ । समय व्यतीत भएपछि त्यो वस्तु स्वामिलाई नै फिर्ता गर्नुपर्ने 

§  लिज पर्चेजका सम्बन्धमा सम्झौताको शर्तअनुसार किस्ता रकम वा भाडाको रकम नबुझाई उक्त लिज पर्चेज सम्झौता समाप्त भएको अवस्थामा सम्झौता समाप्त हुनुभन्दा पहिला बुझाएको रकमलाई भाडामा लिएको वस्तुको मूल्य नमानी बहाल वा भाडाको रकम नै मानिने 

(प्रकरण नं.३)

 

पुनरावेदक विपक्षीका तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री महेश थापा

प्रत्यर्थी निवेदकतर्फबाट: विद्वान अधिवक्ता श्री सतिशकृष्ण खरेल

अवलम्वित नजीरः

सम्बद्ध कानूनः

o   आयकर ऐन, २०३१ को दफा ५, ५(ख), , ४२

o   आर्थिक ऐन, २०५५

o   आर्थिक ऐन, २०५२ को अनुसूची ४ को दफा २५.१.१६

o   आर्थिक ऐन, २०५३ को अनुसूची ४ को दफा २५.१.१८

 

फैसला

            न्या.भरतराज उप्रेतीः आयकर ऐन, २०३१ को दफा ८(ख) बमोजिम यस अदालतबाट पुनरावेदनको अनुमति प्रदान भएको प्रस्तुत  मुद्दाको संक्षिप्त विवरण र ठहर यस प्रकार छः

            हवाइ सेवा सञ्चालन गर्नका लागि विदेशबाट आयात गरेको MI-17 हेलिकप्टर तथा 9N-ADO/9N-ADP विमानहरूको लागि के कति रकम भुक्तानी गएको छ, सोको प्रत्येक आ.व. को छुट्टा-छुट्टै भुक्तानी विवरण, जहाजहरूको खरीद संझौताको प्रतिलिपि एवं नियमानुसार लाग्ने लिज टेक्स समेत दाखिला गर्नुहुन भनी २ नं. क्षेत्र कर कार्यालयले एभरेष्ट एयर लि. लाई लेखेको मिति २०५५।२।७ को  पत्र 

            विदेशी कम्पनीहरूसँग खरीद गरी नेपालमा ल्याइएका जहाजहरूमा समयसमयमा विदेशी कम्पनीले गर्नुपर्ने मर्मत संभार आदि आफ्ना कर्तव्य र दायित्वहरू पूरा नगरेबाट जहाजहरू सञ्चालनमा आउन सकेका छैनन् । खरीद संझौताअन्तर्गत ल्याइएको पूँजीगत सामानहरूको खरीद मूल्यको कुनै पनि प्रकारको कर तिर्नुपर्ने प्रावधान नभएको हुँदा यस प्रकारको कर माग्नु कानूनसम्मत नभएको व्यहोरा अनुरोध छ भनी एभरेष्ट एयर लि.ले २ नं. क्षेत्र कर कार्यालयलाई मिति २०५५।२।२९ मा लेखेको पत्र 

            स्टाभ्रोपोल ज्वाइन्ट स्टक एयरलाइन्स र कस्मीक एयरवीच 9N-ADP  9N-ADO हेलिकप्टरहरू खरीद विक्रीको सम्झौता सम्पन्न भैसकेकोले उक्त हेलिकप्टरहरूको स्वामित्व परिर्वतन गराई सञ्चालन गर्न आवश्यक कारवाही गरिपाऊँ भन्ने व्यहोराको उक्त हेलिकप्टरहरूको स्वामी स्टाभ्रोपोल ज्वाइन्ट स्टक एयरलाइन्सले हवाई विभागलाई अनुरोध गरी मिति १९९८ सेप्टेम्बर ६ मा लेखेको पत्र 

            रसिया स्थित Stavropol Jiont Stock Airlines-SAAK (स्वामी) र कस्मीक एयर (प्रा.) लि. सञ्चालकवीच 9N-ADO 9N-ADP    दुई हेलिकप्टर खरीदसम्बन्धी भएको संझौता पत्रको प्रतिलिपि र यससँग सम्बद्ध अन्य कागजात यसै साथ संलग्न छ । स्वामित्व परिवर्तन गराई सञ्चालन गराउन तहाँको सहमतिको लागि विभागीय निर्णयानुसार अनुरोध गर्दछु भनी हवाई विभागले मिति २०५५।५।२१ मा २ नं. क्षेत्र कर कार्यालयलाई लेखेको पत्र 

            यस कार्यालयको मिति २०५५।५।२२ को निर्णयबमोजिम लिज टेक्सबापत रू.४१,४५,९५९।५४ र पारिश्रमिक करबापत रू. १०,८१,२३७।५० समेत गरी जम्मा कर रू. ५२,२७,१९७।०४ यस कार्यालयमा दाखिल गरिसकेपछि मात्र कर प्रयोजनको लागि उक्त जहाजहरूको स्वामित्व परिर्वतन गराई सञ्चालन गर्न स्वीकृति दिन सकिने भनी २ नं. क्षेत्र कर कार्यालयले हवाई विभागलाई लेखी स्टाभ्रोपोल ज्वाइन्ट स्टक एयरलाइन्स समेतलाई बोधार्थ दिएको मिति २०५५।५।२२ को पत्र 

             प्रस्तुत करदाताको आर्थिक वर्ष २०५२।५३ र २०५३।५४ मा लिज टेक्स बापत भुक्तानी दिएको यू.एस.डलर ६०,३९२।७१ को प्रति यू.एस. डलर रू. ६८।६५ ले हुने रू. ५२,२७,१९७।०४ दाखिला गरे पछि कर प्रयोजनको लागी फुकुवा गर्ने भन्ने व्यहोराको मिति २०५५।५।२२ को २ नं. क्षेत्र कर कार्यालय काठमाडौँ टिप्पणी आदेश 

            स्वामी कम्पनी स्टाभ्रोपोल ज्वाईन्ट स्टक एयरलाइन्सको दायित्व नै नभएको पूर्व सञ्चालक कम्पनी एभरेष्ट एयर लि.ले भुक्तानी गर्नुपर्ने दायित्व स्टाभ्रोपोल कम्पनीलाई हालिएको कानून संगत नभएको हुँदाहुँदै पनि तत्काल उक्त हेलिकप्टर नामसारी गर्नुपर्ने आश्यकता भएकोले सो कर निर्धारण विरुद्ध कानूनी उपचारको अधिकार सुरक्षित राख्दै धरौटीको रुपमा उक्त रकम दाखिला गर्न आएको छु भन्ने समेत कस्मीक एयर (प्रा.) लि.का. तर्फबाट सञ्चालक रविन्द्रप्रसाद प्रधानको मिति २०५५।५।२२ मा २ नं. क्षेत्र कर कार्यालयलाई लेखेको पत्र 

            तत्काल प्रचलित कानूनबमोजिम लिज टेक्स नलाग्नेमा अन्यथा अर्थ गरी शुर कर कार्यालयले लिज टेक्स लगाएको गैह्रकानूनी हुँदा बदर गरी लिज टेक्स नलाग्ने गरी इन्साफ पाउँ भन्ने समेत व्यहोराको स्टाभ्रोपोल ज्वाईन्ट स्टक एयरलाईन्स र कस्मीक एयर (प्रा.) लि. को राजश्व न्यायाधिकरण काठमाडौँमा परेको पुनरावेदन पत्र 

            पुनरावेदक कस्मीक एयरले एभरेष्ट एयर लि.लाई असर पर्ने जो जस्तो जिकीर लिए तापनि हेलिकप्टर खरीद सम्झौताको आधारमा खरीद गरी आफ्नै नाउँमा आयात गरी ल्याएको हेलिकप्टरहरूको सञ्चालनबाट कुनै लिज टेक्सको दायित्व व्यहोर्नु नपर्ने हुँदा यस एभरेष्ट एयर लि. माथि कुनै पनि करको दायित्व नपर्ने गरी कानूनबमोजिम गराई पाउँ भन्ने समेत व्यहोराको एभरेष्ट एयर लि.को. राजश्व न्यायाधिकरण काठमाडौँमा परेको निवेदन 

            यसमा शुरु निर्णय फरक पर्नसक्ने हुँदा अ.वं. २०२ नं. बमोजिम सरकारी वकीललाई सूचना दिई नियमानुसार पेश गर्नु भन्ने राजश्व न्यायाधिकरण काठमाडौँबाट भएको आदेश 

            आयकर ऐन, २०३१ मा लिज टेक्सको व्यवस्था भएको देखिएन । आर्थिक ऐन, २०५५ मा मात्र विदेशबाट भाडा, रेन्ट वा पर्चेज लिजमा विमान (हवाइ जहाज र हेलिकप्टर) ल्याई सञ्चालन गरे बापतको भुक्तानीमा कर लाग्ने व्यवस्था देखिंदा सो भन्दा अगावैका आर्थिक वर्षमा लिज टेक्ससम्बन्धी व्यवस्था नभएकोले त्यस्तो कर लाग्ने अवस्था नदेखिंएकोले कस्मीक एयरले हेलिकप्टरहरू आफ्नो नाममा नामसारी गर्ने सिलसिलामा विक्रेता कम्पनीको निमित्त भनी लिज टेक्सबापत राखेको रकम रू.४१,४५,९५९।५४ कस्मीक एयरले फिर्ता पाउने ठहर्छ । पारिश्रमिक करबापत भनी लगाएको रू.१०,८१,२३७।५० का सम्बन्धमा उक्त रकम यो यस आधार प्रमाणबाट दाखिला गर्नुपर्ने होइन भनी पुष्ट्याई गर्न नसकेको हुँदा उक्त रकम माग गरेको कर कार्यालयको निर्णय मिलेकै देखियो भन्ने राजश्व न्यायाधिकरण काठमाडौँको मिति २०५८।६।२४ को फैसला 

            आयकर ऐन, २०३१ को दफा ५७ बमोजिम कर अधिकृतले गरेको कर निर्धारणको आदेशउपर पुनरावेदन लाग्ने अवस्था हुँदा प्रस्तुत मुद्दामा कर निर्धारण नै नभई तेस्रो पक्षको पुनरावेदन लिई सुनुवाइ गर्न मिल्ने होइन । आयकर ऐन, २०३१ को दफा ५, , ३६ अनुसार आयकर लाग्ने कुनै रकम भुक्तानी दिंदा स्रोतमा अग्रिम कर कट्टी गरी भुक्तानी गर्नुपर्ने अवस्था छ । आर्थिक ऐनमा करको दर तोकिन्छ । दर स्पष्ट तोकिएको अवस्थामा सोहीबमोजिम र स्पष्ट रुपमा नतोकिएको अवस्थामा सो वर्षको लागि जुनसुकै आयको भुक्तानी भन्ने शीर्षक अन्तर्गत तोकिएको दरले अग्रिम कर कट्टा गर्नुपर्ने हुन्छ SAAK ले कर तिर्न मञ्जूर गरिसकेको तथा SAAK तथा कस्मीक एयरबीच भएको संझौता अनुसार उक्त करको दायित्व कस्मीक एयरमा रहेको देखिन्छ । तसर्थ निवेदकबाट कर असुल गर्ने गरी भएको निर्णय कानूनसम्मत हुँदा पुनरावेदनको अनुमति पाऊँ भन्ने आन्तरिक राजश्व कार्यालय काठमाडौँ क्षेत्र नं. १ को तर्फबाट यस अदालतमा पर्न आएको निवेदन पत्र 

            यसमा २ नं. क्षेत्र कर कार्यालयको मिति २०५५।५।२२ को टिप्पणी आदेश हेर्दा अ.व. ०५२।०५३ को अवधिमा भुक्तानी भएको रकममा १०% ले हुने यू.एस. डलर ५१,८९६।५१ र आ.व. २०५३।०५४ को अवधिमा भुक्तानी भएको यू.एस. डलर १,६९,९२४ को ५ प्रतिशतले हुने लिज टेक्स समेतको रकम दाखिला गर्ने निर्णय भएको देखिंन्छ । विवादको भुक्तानी  Lease Purchase अन्तर्गत विदेशीले भुक्तानी पाएको परिश्रमिकअन्तर्गत ऐ. ऐनको दफा ५ बमोजिमको स्रोतलाई लिएको र दफा ६ को प्र्रतिवन्धात्मक वाक्यांशमा तर अस्थायी बासिन्दाको हकमा निजले नेपाल अधिराज्य भित्र आर्जन वा प्राप्त गरेको र विदेशमा रही नेपाल अधिराज्यबाट प्राप्त गरेको खुद आयमा कर लाग्ने छभन्ने व्यवस्था गरेको देखिन्छ । विवादको दुइवटा हेलिकप्टर शुरु खरीद विक्री नभई Lease Purchase अन्तर्गत किस्ता किस्ता भुक्तानी हुँदै जाने प्रकृतिको देखिन्छ । हेलिकप्टरको स्वामित्व Stavropol Joint Stock Airlines मा नै निहित रहेको अवस्थामा सो कम्पनीले उक्त हेलिकप्टर सञ्चालन गर्न दिएबापत पाउने भुक्तानी आयकर मुक्त हुन्छ भनी आयकर ऐन, २०३१ को दफा ४२ ले नभनेको अवस्थामा आयकर ऐन, २०३१ को दफा ३६ अनुसार हेर्नुपर्ने हुन्छ । राजश्व न्यायाधिकरण काठमाडौँले माथि उल्लिखित कानूनको पृष्ठभूमिमा हेलिकप्टर बारेमा भएको संझौताको प्रावधानतर्फ ध्यान नदिई बुझ्नु पर्ने प्रमाण नबुझी फैसला गरेको देखिंदा राजश्व न्यायाधिकरण ऐन, २०३१ को दफा ८ (ख) अन्तरगत पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको छ भन्ने यस अदालतको मिति २०६१।२।१३ को आदेश 

            नियमबमोजिम दैनिक पेसी सूचीमा चढी यस इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री महेश थापाले कर कार्यालयले अन्तिम रुपमा कर निर्धारण गरिसकेको अवस्था छैन । यस्तोमा पुनरावेदन लाग्न सक्ने होइन Lease मा सञ्चालन गरेको हेलिकप्टरको Lease भुक्तानी गरेको रकममा आयकर लाग्छ । हेलिकप्टरका स्वामीले कर तिर्छु भनी स्वीकार गरेका छन् । कस्मीक एयर र SAAK वीच भएको संझौताअनुसार उक्त करको दायित्व कस्मीक एयरमा कायम भएको छ । कर फिर्ता दिने गरेको राजश्व न्यायाधिकरणको फैसला नमिलेको हुँदा उल्टी हुनुपर्छ भनी बहस गर्नुभयो । विपक्षी कस्मीक एयरका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री शतीशकृष्ण खरेलले Lease Purchase  मा खरीद गरेको हेलिकप्टरमा कर लाग्दैन । भाडाबापतको रकम भुक्तानी भएको होइन । खरीदबापतको रकम नै भुक्तानी भएको हो । आर्थिक ऐन, २०५५ ले मात्र Lease Purchase  मा कर लाग्ने व्यवस्था गरेको र सो भन्दा अगाडिका वर्षहरूमा कर लाग्ने कुनै व्यवस्था नभएको अवस्थामा करको दायित्व बहन गराउन मिल्ने हुँदैन । राजश्व न्यायाधिकरणको फैसला मिलेको हुँदा सदर हुनुपर्छ भनी बहस गर्नुभयो 

            यसमा 9N-ADP 9N-ADO दुईवटा हेलिकप्टरहरू एभरेष्ट एयर लि.ले मिति २०५२।६।१६ मा स्पेशल कार्गो एयर लाइन्स रसियामार्फत स्टाभ्रोपोल ज्वाइन्ट स्टक एयरलाइन्स रसियाबाट किस्ताबन्दीमा रकम भुक्तानी गर्ने गरी संझौता गरी लिजमा लिएको र उक्त सम्झौताको शर्तअनुसार बुझाउनु पर्ने रकम हेलिकप्टर भाडामा लिने पक्षले बुझाएको अबस्थामा निजले सो हेलिकप्टर खरीद गर्नसक्ने शर्तमा नेपालमा ल्याएको भन्ने देखिन्छ । तर एभरेष्ट एयर लि.ले पूरा किस्ता भुक्तान नगर्दैका अवस्थामा संझौता भङ्ग भई हेलिकप्टरहरू नेपालमै ग्राउन्डेड भएका र उक्त हेलिकप्टरहरू स्टाभ्रोपोल ज्वाइन्ट स्टक एयरलायन्सबाट कस्मीक एयरलायन्सले खरीद गर्ने संम्झौता गरी स्वामित्व परिर्वनको सिलसिलामा २ नं. क्षेत्र कर कार्यालय काठमाडौँले एभरेष्ट एयरले आ.व. २०५२।०५३ मा भुक्तानी गरेको यू.एस. डलर ५,१८,८६५।१० को १० प्रतिशतले हुने लिज टेक्स यु.एस. डलर ५१,८९६।५१ र आ.व. २०५३।०५४ मा भुक्तानी भएको यू.एस. डलर १,६९,९२४।१२ को पाँच प्रतिशतले हुने ८,४९६।२० समेत गरी जम्मा यू.एस. डलर ५०,३९२।७१ को नेपाली रू. ४१,४५,९५९।५४ र स्टाभ्रोपोल ज्वाइन्ट स्टक एयरलायन्सका स्टाफहरूलाई भुक्तानी भएको पारिश्रमिक रकमको कर रू. १०,८१,२३७।५० समेत जम्मा रू. ५२,२७,१९७।०४ दाखिला गरेपछि मात्र हेलिकप्टरको स्वामित्व परिर्वतन हुने निर्णय गरेको पाइन्छ । उक्त निर्णयउपर कस्मीक एयर तथा स्टाभ्रोपोल ज्वाइन्ट स्टक एयरलायन्सको राजश्व न्यायाधिकरण काठमाडौँमा पुनरावेदन परेकोमा उक्त न्यायाधिकरणबाट लिज टेक्स नलाग्ने भएकोले सो फिर्ता दिने तथा पारिश्रमिक कर फिर्ता नहुने निर्णय गरेकोमा सो निर्णयउपर कर कार्यालयको तर्फबाट यस अदालतमा निवेदन परी पुनरावेदनको अनुमति प्रदान भई निर्णयको लागि यस इजलाससमक्ष पेश हुन आएको छ 

            राजश्व न्यायाधिरणले पारिश्रमिक कर फिर्ता नहुने निर्णय गरेकोमा सो निर्णयका सम्बन्धमा कस्मीक एयर तथा स्टाभ्रोपोल एयरलायन्सले चित्त बुझाई बसेको देखिंदा सो तर्फ विचार गरिरहनु परेन Lease Tax फिर्ता दिएको सम्बन्धमा मात्र कर कार्यालयको तर्फबाट पुनरावेदन परेको देखिंदा सो सम्बन्धमा नै निर्णय दिनुपर्ने हुन आयो 

            यस सम्बन्धमा निर्णय गर्नुभन्दा पहिला निम्न दुई प्रश्नहरूको निरोपण गर्नुपर्ने देखियोः

 

(१) लिज पर्चेज संझौता (Lease Purchase Agreement) तथा लिज संझौता (Lease  Agreement) को प्रकृति के हो र यी प्रत्येक संझौताअन्तर्गत गरिने  भुक्तानीको प्रकृतिमा के फरक
हुन्छ ?

(२) हेलिकप्टर जस्ता हवाइ सवारीका साधनहरूको लिज संझौता (Lease  Agreement) अन्तर्गत भुक्तानी गरिएको भाडाबापत विदेशी फर्म वा कम्पनीले प्राप्त गरेको रकममा आयकर लाग्ने हो होइन ?

 

            २. पहिलो प्रश्नतर्फ विचार गर्दा, आधुनिक समयमा विज्ञान र प्रविधिमा भएको विकासको कारणबाट अत्याधिक मूल्य पर्ने वस्तुहरूको उत्पादन हुन थालेको छ । यस्ता  वस्तुहरूको मुल्य अधीक हुने हुँदा परम्परागत रुपमा जस्तो सोझै एकमुष्ठ रुपमा रकम भुक्तानी गरेर ती वस्तुहरूको खरीद विक्री गर्ने कार्य कठिन हुन गएको छ । यस्तै कठिनाइबाट पार पाउन तथा वाणिज्य व्यापार क्षेत्रको विकास गर्न वस्तुहरूको खरीद विक्री तथा प्रयोगमा सहजता प्रदान गर्नको लागि विभिन्न किसिमका विकल्पहरूलाई प्रयोगमा ल्याइएको पाइन्छ । वस्तु खरीद विक्री गर्ने विभिन्न विकल्पहरू मध्ये लिज पर्चेज संझौताको माध्यमबाट वस्तु खरीद विक्री गर्ने प्रचलन पनि लोकप्रिय हुँदै आएको छ । हवाई जहाज जस्ता हवाई यातायातका साधनहरूको सन्दर्भमा भाडामा लिएको जहाजको मासिक वा बार्षिक रुपमा प्रति उडान घण्टामा बुझाउनु पर्ने निश्चित रकम बुझाए पछि सम्झौताको शर्तअनुसार भाडामा लिने पक्षले चाहेमा खरीद गर्ने शर्त राखी जहाज खरीद गर्ने प्रचलन रहेको पाइन्छ । यस प्रकारबाट कुनै पनि वस्तुलाई भाडामा लिने पक्षले खरीद गर्नसक्ने शर्त राखी भाडामा लिनेगरी गरिएको संझौतालाई लिज पर्चेज संझौता भनिन्छ । सामान्यतया यस्तो सम्झौता भएको अबस्थामा बस्तुको मूल्यलाई विभिन्न किस्तामा बिभाजन गरी किस्ताबन्दीको रुपमा भुक्तानी गर्ने प्रचलन रहेको पाइन्छ । सम्झौता गर्ने विषयमा पक्षहरू स्वायत्त हुने हुँदा सम्झौताका विभिन्न शर्तहरू पक्षहरूको सहमतिमा निर्धारण हुने हुन्छ । किस्तावन्दी रुपमा वस्तुको पूर्व निर्धारित मूल्य भुक्तानी भइसकेपछि त्यो वस्तुको स्वामित्व खरीदकर्तामा हस्तान्तरण हुनेहुन्छ र रकम भुक्तानी गरिसकेको अवस्थामा भाडामा दिने पक्ष अर्थात वस्तुको मालिकले स्वामित्व हस्तान्तरण नगरेमा त्यस्तो स्वामित्वको हक हस्तान्तरण गराइपाउने अधिकार भाडामा लिने पक्षमा रहेको हुन्छ । सामान्यतया किस्तावन्दीमा भुक्तानी गरिएको रकम खरीद रकमको हिस्सा मानी भुक्तानी गरिने हुंदा यस्तो रकम फिर्ता नहुने प्रकृतिको हुन्छ 

३. किस्तावन्दी रुपमा रकम भुक्तानी गर्दै जाने क्रममा भाडामा लिनेले तोकिएको समयमा किस्ता वा बहालको रकम पूरा भुक्तानी गर्न नसकेको अवस्थामा के हुने भन्ने कुरा पक्षहरूको सहमतिमा निर्धारण हुने हुन्छ । उनिहरूले सहमति गरी बुझाउन बाँकी रकम भुक्तानी गर्ने अवधि वढाउने तथा लिज पर्चेज संझौतालाई सामान्य भाडा संझौतामा परिणत गर्न पनि सक्दछन् । तर सामान्य भाडा संझौता (Lease Agreement) अन्तर्गत अर्को व्यक्तिको वस्तु प्रयोग गर्दा त्यो वस्तु प्रयोग गरेबापत प्रयोगकर्ताले वस्तुको स्वामीलाई निश्चित रकम भुक्तानी गर्नेगरी संझौता गरिएको हुन्छ । भाडा संझौता अन्तर्गत प्रयोग गरिएको वस्तुको स्वामित्व वास्तविक स्वामीमा नै रहेको तथा रहने हुन्छ । प्रयोगकर्ताले संझौतामा उल्लेख भएको अवधिसम्म त्यो वस्तु प्रयोग गर्न पाउँछ । समय व्यतीत भएपछि त्यो वस्तु स्वामिलाई नै फिर्ता गर्नुपर्ने हुन्छ । तर लिज पर्चेजका सम्बन्धमा सम्झौताको शर्तअनुसार किस्ता रकम वा भाडाको रकम नबुझाई उक्त लिज पर्चेज सम्झौता समाप्त भएको अवस्थामा सम्झौता समाप्त हुनु भन्दा पहिला बुझाएको रकमलाई भाडामा लिएको वस्तुको मूल्य नमानी बहाल वा भाडाको रकम नै मानिन्छ । प्रस्तुत मुद्दामा भाडामा लिइएको हेलिकप्टर भाडा वा किस्ताको रकम संझौता अनुसारभुक्तानी नभएको कारणले SAAK र एभरेष्ट एयरबीच भएको (Lease Purchase Agreement) समाप्त भई हेलिकप्टरको स्वामित्व SAAK मा रहेको अवस्थामा एभरेष्ट एयरले SAAK लाई बुझाएको रकमलाई खरीद मूल्य मान्न सक्ने अवस्था नभई उक्त रकमलाई हेलिकप्टरको बहालबापतको भाडाको रकम नै मान्नुपर्ने देखियो 

            ४. अब दोस्रो प्रश्न हेलिकप्टर जस्ता हवाइ सवारीका साधनहरूको लिज संझौता (Lease  Agreement) अन्तर्गत भाडाबापत भुक्तानी गरेको रकममा आयकर लाग्ने हो होइन भन्ने सम्बन्धमा विचार गर्दा, आय कर ऐन, २०३१ को दफा ६ मा कुनै व्यक्तिले आफ्नो आय वर्षमा दफा ५ मा तोकिएको कुनै वा सवै स्रोतहरूबाट नेपाल अधिराज्यभित्र आर्जन वा नेपाल अधिराज्यबाट कारोवार गरी विदेशमा आर्जन वा प्राप्त गरेको आयमा यस ऐनबमोजिम पाउने खर्चहरू कट्टा गरी खुद आयमा कर लाग्नेछ तर अस्थायी वासिन्दाको हकमा निजले नेपाल अधिराज्यभित्र आर्जन वा प्राप्त गरेको र विदेशमा रही नेपाल अधिराज्यबाट प्राप्त गरेको खुद आयमा कर लाग्नेछभन्ने व्यवस्था रहेको पाइन्छ । हेलिकप्टर, हवाइजहाज जस्ता हवाइ सवारीका साधनहरूको भाडाबापत भुक्तानी भएको रकम कर प्रयोजनको लागि कर योग्य हो वा करमुक्त हो भन्ने सम्बन्धमा हेर्दा भाडाबापत भुक्तानी हुने रकम आयकर ऐन, २०३१ को दफा ५(ख) बमोजिमको उद्योग, व्यापार, पेशा, व्यवशायअन्तर्गत वर्गीकृत गरिएको आयअन्तर्गत परेको देखिन्छ । उक्त ऐनको दफा ६ अनुसार दफा ५ मा उल्लेख भएका स्रोतबाट प्राप्त खुद आयमा कर लाग्ने भन्ने व्यवस्था रहनुका साथै सो ऐनको दफा ४२ ले पनि त्यस्तो रकमको भुक्तानीमा कर नलाग्ने भन्ने कुनै व्यवस्था समेत गरेको देखिंदैन । यस्तो अवस्थामा हवाइ सवारीका साधनको भाडाबापत भुक्तानी गरेको रकममा आयकर नलाग्ने भन्न मिलेन । यस्तो रकममा आयकर लाग्ने देखियो 

५. अव लिज टेक्सबापतको रकम फिर्ता गर्ने गरेको राजश्व न्यायाधिकरण काठमाडौको फैसला मिले नमिलेको सम्बन्धमा हेर्दा, कस्मीक एयरले आ. ब. २०५२।०५३ तथा २०५३।०५४ मा हेलिकप्टरको किस्ताबापत भुक्तानी गरेको रकममा Lease Tax लाग्ने व्यवस्था थिएन । आर्थिक ऐन, २०५५ आए पछि मात्र उक्त कर लाग्ने व्यवस्था गरेकोले सो अवधिमा भुक्तानी गरेको रकमको कुनै कर नलाग्ने भन्ने जिकीर लिए तापनि माथि प्रश्न नं. २ मा गरिएको विबेचनाअनुसार यस्तो रकममा आयकर नलाग्ने भन्न नमिलेकोले कर लाग्ने नै देखियो । आयकर ऐन, २०३१ अनुसार कर लाग्ने आय भएपछि के कति दरमा कर लाग्ने भन्ने कुरा विभिन्न आर्थिक बर्षमा लागू गरिने आर्थिक ऐन अनुसार निर्धारण हुने कुरा हो । आर्थिक ऐन, २०५२ को अनुसूची ४ को दफा २५.१.१६ मा जुनसुकै आयको भुक्तानीमा १० प्रतिशत अग्रीम आयकर कटृी गर्नुपर्ने व्यबस्था रहेको र आर्थिक ऐन २०५३ को अनुसूची ४ को दफा २५.१.१८ मा विदेशबाट भाडा वा लिजमा विमान (हवाइ जहाज) ल्याइ सञ्चालन गरेबापतको भुक्तानीमा भुक्तानी रकमको ५ प्रतिशतका दरले अग्रिम कर कटृी गर्नुपर्ने व्यबस्था रहेको पाइन्छ । शुरु आन्तरिक राजश्व कार्यालयले उल्लिखित आर्थिक ऐनमा भएको व्यवस्थाअनुसार नै कर असूल गर्ने सम्बन्धमा गरेको निर्णय कानूनअनुकूल नै देखियो 

            ६. स्टाभ्रोपोल ज्वाइन्ट स्टक एयरलायन्सले २ नं. क्षेत्र कर कार्यालय काठमाडौँमा मिति 31 August 1998 मा "…we request you ascertain and inform us about the amount to be paid as tax for such release and transfer. We are in a position to instruct the buyer to deposit the ascertained amount…" भनी पत्र लेखी कर तिर्ने कुरालाई मञ्जूर गरेको देखिन्छ । यसैगरी हेलिकप्टर खरीद गर्ने विषयमा स्टाभ्रोपोल ज्वाइन्ट स्टक एयरलायन्स र कस्मीक एयरबीचमा भएको 18 July 1988 मा भएको संझौताको दफा २.१ मा भएको व्यवस्थाअनुसार नेपालले लगाउने कुनै पनि प्रकारको कर रकम कस्मीक एयरले तिर्नु पर्ने भन्ने देखिन्छ भने दफा ४.२ मा Purchase party B shall indemnify party A from any taxes and dues for the afore said helicopters imposable in Nepal  भन्ने व्यहोरा उल्लेख गरी Stavropol joint Stock Airline लाई कस्मीक एयरले उक्त हेलिकप्टरमा भएका करसम्बन्धी कानूनी दायित्वबाट छुट्कारा हुने सुनिश्चितता प्रदान गर्ने भन्ने कुराबाट उक्त करको दायित्व कस्मीक एयरमा रहेको भन्ने देखिएकोले उक्त कर भुक्तान गर्ने दायित्वबाट कस्मीक एयरले छुट्कारा पाउने भन्न मिल्ने अवस्था देखिएन 

            ७. अतः माथि विवेचना गरिएअनुसार Lease Tax को रकम कस्मीक एयरले तिर्नुपर्ने देखिएकोले सो रकम फिर्ता गर्ने गरेको राजश्व न्यायाधिकरण काठमाडौँको फैसला सो हदसम्म नमिलेकोले केही उल्टी हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु 

तपसील

राजश्व न्यायाधिकरण काठमाडौँको फैसला केही उल्टी भई लिज टेक्स बापत नलाग्ने हद सम्मको फैसला बदर भई कस्मीक एयर (प्रा.) लि.ले. अग्रिम भुक्तानी गरेको रकम रू. ४१,४५,९५९।५४ फिर्ता नहुने भएकोले सो फिर्ता दिनु भनी राजश्व न्यायाधीकरण काठमाडौको फैसलाको तपसील खण्ड १ मा उल्लिखित फिर्ता दिनु भन्ने व्यहोरा कार्यान्वयन गर्नु नपरेकोले सोको जानकारी कर कार्यालय क्षेत्र नं. २ काठमाडौँमा पठाइदिनु ....... ....... ....... ....... ....... १

दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाईदिनु ..... ....... ....... ....... ....... .... 

 

उक्त रायमा सहमत छु 

                       

न्या.प्रेम शर्मा

 

इति सवत् २०६६ साल असोज २० गते रोज ३ शुभम्

इजलास अधिकृतः शिशिरराज ढकाल

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु