शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८३०४ - जालसाजी ।

भाग: ५२ साल: २०६७ महिना: बैशाख अंक:

निर्णय नं. ८३०४       वैशाख, २०६७

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री गिरीशचन्द्र लाल

माननीय न्यायाधीश श्री प्रकाश वस्ती

संवत् २०६१ सालको फौ पु.नं.३२७२, ३२७३

फैसला मितिः २०६६।१२।२३।३

 

मुद्दाःजालसाजी 

 

पुनरावेदक/प्रतिवादीः रूपन्देही जि., कम्हरिया गा.वि.स. ५ बरेवा बस्ने कृष्णकुमार कर्ण समेत

विरुद्ध

प्रत्यर्थी/वादीः रूपन्देही जिल्ला वरगदवा गा.वि.स.वडा नं.५ हाल विसुनपुरा गा.वि.स वडा नं. ५ बस्ने मोहनप्रसाद थारू

 

पुनरावेदक/प्रतिवादीः रूपन्देही जिल्ला, बसन्तपुर गा.वि.स. वडा नं. ८ ठूलोवालापुर बस्ने राजेशकुमार दुबे

विरुद्ध

प्रत्यर्थी वादीः रूपन्देही जिल्ला वरगदवा गा.वि.स.वडा नं.५ हाल विसुनपुरा गा.वि.स वडा       नं. ५ बस्ने मोहनप्रसाद थारू    

 

शुरू फैसला गर्नेः

मा.जि.न्या.श्री जगदीश शर्मा पौडेल

पुनरावेदन फैसला गर्नेः

मा.न्या.श्री राजेन्द्रकुमार भण्डारी

मा.न्या.श्री चन्द्रबहादुर कार्की

 

§  सधैं अड्डा अदालतमा लेखापढी वा कानून व्यवसायसंग सम्बन्धित रहेका पेशाकर्मीहरू एक अर्कामाथि विश्वास गरी वारेसनामा इत्यादिका लिखतहरूमा साक्षी बस्नु तिनीहरूको लागि दिनानुदिनको कार्य हुने हुनाले यस्तो कार्यलाई वद्नियतपूर्वक कसैको हक मेट्ने उद्देश्यले भएको कार्य भन्नको लागि सो कुरालाई समर्थन हुने विश्वासलायक प्रमाणको आवश्यकता पर्ने 

§  जानीजानी हक मेट्ने उद्देश्यले प्रेरित भै वारेसनामामा साक्षी बसेको कुरा प्रस्तुत भएका कुनै प्रमाणबाट स्पष्ट नभएकाले हक मेट्ने उद्देश्यले कीर्ते कागजको १ नं. वा ३ नं. लगायतको हुने कसूर गरेको प्रमाणित हुन नआउने 

(प्रकरण नं.५)

पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री दुर्गाप्रसाद पाण्डे

प्रत्यर्थी वादी तर्फवाटः

अवलम्वित नजीरः

सम्बद्ध कानूनः

o   कीर्ते कागजको १, , ७ र १० नं.

 

फैसला

न्या.गिरीशचन्द्र लालः पुनरावेदन अदालत, बुटवलको मिति २०६०।१०।५ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :

लेनदेन मुद्दाको तामेली हराएकोले अदालतमा प्रतिउत्तरपत्र दर्ता गर्न ल्याउँदा सो मुद्दामा मिति २०५५।३।२६ गते मोहन थारूको वारेसमार्फत प्रतिउत्तरपत्र दर्ता गराएको देखिँदा पुन मोहनप्रसाद थारूको म्यादसमेत दाखिल गर्न नसकेको स्थिति हुँदा प्रतिउत्तर दर्ता गर्न नमिली अ.बं.२७ नं.बमोजिम दरपीठ हुन्छ भनी मिति २०५५।५।१० मा दरपीठ भयो । विपक्षीहरूले वादी दावी समर्थन गर्दै जालसाजपूर्ण लिफाबाट मिति २०५५।३।२५ को वारेसनामा खडा गरी मेरो सर्वस्व हुने किसिमले प्रतिउत्तर लगाएका हुन् । मैले कोमलनाथ उपाध्यायलाई कुनै पनि लिफा आदि दिएको छैन । २०५५।३।२६ को प्रतिउत्तरको ब्यहोरा मेरो होइन । विपक्षीहरू आपसमा मिलेमतो गरी जालसाजी वारेसनामा खडा गरी लेनदेन मुद्दामा मेरो नामबाट प्रतिउत्तर लगाई कीर्ते कागजको १ नं. र ३ नं.बमोजिमको कसूर गरेकोले प्रतिवादीहरूलाई सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको फिराद पत्र 

२४५५ को लेनदेन मुद्दामा निजका नाउँमा जारी भएको तामेली म्याद फिरादपत्रको नक्कल, वारेसनामा दिई म्यादभित्र प्रतिउत्तरपत्र दर्ता गरिदिनुहोस् भनेकोले निजको रोहबरमा प्रतिउत्तरपत्र लेखी विपक्षीलाई सुनाई दर्ता गरेको हो । वारेसनामा लेखी विपक्षीले सो वारेसनामामा सहिछाप गरेका हुन् । वारेसनामा लिफामा लेखिएको जालसाजी होइन भन्नेसमेत व्यहोराको कोमलनाथसमेतको प्रतिउत्तर पत्र 

मसंग विपक्षीले रु.३,००,०००।– (तीन लाख) लिई सहिछाप गरिदिनु भएको र निजको वारेसनामाबाटै प्रतिउत्तर लगाएको हुनुपर्दछ । कुनै जालसाजी कार्य गरेको नहुँदा फिराद खारेज गरिपाऊँ भन्ने समेत व्यहोराको राजेशकुमार दुबेको प्रतिउत्तर पत्र 

विवादित लिखतको जाँच भई मिसिल सामेल रहेको 

सर्वोच्च अदालतका लेखा तथा रेखा विशेषज्ञको राय प्रतिवेदन हेर्दा लेनदेन मुद्दाको वारेसनामा र कपाली तमसुकमा भएको सहिछाप र वादीको नमूना सहिछाप एकआपसमा मिल्न भिड्न आएको भनी लेखिआएको र उक्त कपाली तमसुकसमेत लेखी सकेपछि सही भएको देखिँदा लिफामासमेत भएको नदेखिएको भनी विशेषज्ञको राय ब्यक्त भई आएको देखिँदा र वारेसनामासमेत यी वादीले नै गरिदिएको सद्दे साँचो ब्यहोराको देखिंदा प्रतिवादीहरूले जालसाजी गरी कीर्ते वारेसनामा समेतबाट प्रतिउत्तर लगाई कीर्ते लिखत तयार गरी प्रतिउत्तर लगाएको नदेखिँदा वादी दावी नपुग्ने ठहर्छ भन्नेसमेत व्यहोराको रूपन्देही जिल्ला अदालतको मिति २०५७।४।३० को फैसला ।                                                                                                                                                      

मुख्य विवाद भनेको मिति २०५१।१२।२६ मा खडा भएको तमसुक र सो सम्बन्धमा परेको लेनदेन मुद्दामा खडा भएको वारेसनामा हो । तथाकथित तमसुक र वारेसनामाका सम्बन्धमा प्रस्तुत भएको विशेषज्ञको रायबाट नै सो लिखतमा भएका सहिछापमा पर्याप्त रेखा गुणहरू प्रष्ट नभएको भन्दै दोहोरो ल्याप्चेछाप लाग्न गएको भनी मिति २०५७।१।७ को प्रतिवेदनको क(१)(२) मा लेखिएकोबाट विशेषज्ञको राय आपसमा बाझिएको देखिन्छ । विवादित तमसुक र वारेसनामाको सहिछाप यकीन गर्नुपर्ने हो भने प्रतिवेदनमा लिफामा सहिछाप नगराएको भनी थप ब्यहोरा प्रस्तुत गर्नुले यथार्थताबमोजिम नभएको यकीन  हुन्छ । यसरी फैसलामा आधारित राय प्रतिवेदन नै सत्यतामा नरहेको कुरालाई जवरजस्ती अवलम्बन गरिनु हुँदैन । विपक्षीसंग रु.तीन लाख नगद दिने हैसियत नभएको र मैले ऋण लिएको होइन । ऋण लिनु पर्ने अवस्थासमेत छैन । तथाकथित तमसुकलाई समर्थन गराउने किसिमबाट कीर्ते जालसाज वारेसनामा खडा गरेको कुरामा सन्देह छैन । त्यस्तो कीर्ते वारेसनामालाई सद्दे ठहर गरी भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी दावीबमोजिम इन्साफ पाऊँ भन्ने समेत ब्यहोराको मोहनप्रसाद थारूको पुनरावेदन अदालत बुटवलमा परेको पुनरावेदनपत्र 

यसमा यसै लगाउको दे.पु.नं. १९३१ को लेनदेन मुद्दामा प्रत्यर्थी झिकाउने आदेश भएकोले प्रस्तुत मुद्दासंग उक्त मुद्दा अन्तरप्रभावी देखिंदा प्रस्तुत मुद्दामा समेत शुरू रूपन्देही जिल्ला अदालतको फैसला फरक पर्नसक्ने देखिँदा अ.बं.२०२ नं.तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम विपक्षी झिकाई आएपछि नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत, बुटवलको मिति २०५८।१०।२४ को आदेश 

यसमा मिति २०५९।१०।१४ को आदेशानुसार राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट भई आएको राय हेर्दा मिति २०५१।१२।२६ को लिखत लिफामा खडा गरेको भन्ने उल्लेख हुँदा मिति २०५१।१२।२६ को रु.३,००,०००।– (तीन लाख) को कपाली तमसुक प्रतिवादी राजेशकुमार दुबेले कीर्ते कागजको १ नं. अनुसार कीर्ते गरेको र त्यस्तै मिति २०५५।३।२५ को वारेसनामा पनि लिफामा खडा गरेको भनी लेखी आएको हुँदा वादी मोहनप्रसादको हक हितमा प्रत्यक्ष अहित हुने गरी लिफामा लेखिएको वारेसनामा पेश गरी एउटा विषयलाई भनी दिएको ब्यहोरा फरक पारी अर्कै कार्यमा लगाएको स्थिति हुँदा प्रतिवादीहरूले कीर्ते कागजको ३ नं. अनुसारको अपराध गरेको देखिन आएकोले वारेसनामा लेख्ने कोमलनाथ उपाध्याय, अन्तरसाक्षी शेषनारायण भण्डारी र कृष्णकुमार कर्णले दावी अनुसार कसूर गरेको देखिन आयो । तसर्थ मिति २०५१।१२।२६ को लिखत लिफामा खडा गरेको देखिनाले प्रतिवादी राजेश कुमार दुबेले सो लिखत मुलुकी ऐन, कीर्ते कागजको १ नं.अनुसार कीर्ते गरेको ठहर्छ । मिति २०५५।३।२५ को वारेसनामा लिखतमा लागेको सहिछाप पुनरावेदक वादी मोहनप्रसाद थारूको भन्ने मिले तापनि सो वारेसनामा लिखत एउटा कामको लागि दिएकोलाई अर्कै ब्यवहार प्रयोगमा ल्याई प्रतिवादीहरूले जालसाजी गरेको ठहर्छ । वादी दावी पुग्न नसक्ने ठहर गरेको शुरू रूपन्देही जिल्ला अदालतको मिति २०५७।४।३० को फैसला मिलेको नदेखिँदा उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत बुटवलको मिति २०६०।१०।५ को फैसला 

एउटै प्रकृतिको भनिएको दुईवटा लिखतमध्ये कपाली तमसुक लिफामा लेखेकोले कीर्ते तथा वारेसनामालाई जालसाजी ठहर गरेको राय नै परस्पर बाझिएको छ । कपाली तमसुकलाई कीर्ते भनी सो उपर उजूर गर्न तथा वारेसनामालाई जालसाजी ठहराउन दावी छैन । लिखत जाँच गर्ने विशेषज्ञको दुबै रायबाट मोहनको ल्याप्चे एबं हस्ताक्षर एकआपसमा मिलेको भन्ने छ । वादीले लेनदेन मुद्दामा वारेसनामामार्फत् प्रतिउत्तर फिराउँदा रकम लिएको स्वीकार गरेकै छन् । दुबै लिखतको ल्याप्चे एबं हस्ताक्षर मोहनप्रसाद थारूको हो । लिखत जाँच गर्ने विशेषज्ञको बकपत्र नगराई सो रायलाई प्रमाणमा लिएको मिलेको छैन । वारेसनामा लिफामा लेखिएको र ब्यहोरा फरक पारी लेखिएको समेत होइन । विपक्षीले भनेबमोजिम कोमलनाथ उपाध्याय वारेस भई लेनदेन मुद्दाको प्रतिउत्तरपत्र लेखी सक्कल म्यादसहित प्रतिउत्तरपत्र दर्ता गरेको हो । कोमलनाथको अनुरोधमा हामी शेषनारायण एवं कृष्णकुमार कर्ण साक्षीसम्म बसेको हो । प्रतिउत्तरपत्र दर्ता गर्ने क्रममा लेनदेन मुद्दाका वादीसंग हामीहरूको कुनै मिलेमतो रहेको छैन । हामीले कुनै जालसाजी कार्य नगरेको अवस्थामा सजाय हुने ठहर गरेको पुनरावेदन अदालत बुटवलको फैसलामा मुलुकी ऐन अ.बं. १८४(क), १८५ नं. तथा प्रमाण ऐन, २०३१ को दफा ५४ को त्रुटि गरी भएको हुँदा उक्त फैसला बदर गरी दावीबाट फुर्सद दिलाईपाऊँ भन्नेसमेत व्यहोराको प्रतिवादीहरू कृष्णकुमार कर्ण, शेषनारायण भण्डारी र कोमलनाथ उपाध्यायको यस अदालतमा परेको पुनरावेदन पत्र 

एउटै प्रकृतिको भनिएको दुईवटा लिखतमध्ये कपाली तमसुक लिफामा लेखेकोले कीर्ते तथा वारेसनामालाई जालसाजी ठहर गरेको राय नै परस्पर बाझिएको छ । कपाली तमसुकलाई कीर्ते भनी सो उपर उजूर गर्न तथा वारेसनामालाई जालसाजी ठहराउन दावी छैन । लिखत जाँच गर्ने विशेषज्ञको दुबै रायबाट मोहनको ल्याप्चे एवं. हस्ताक्षर एकआपसमा मिलेको भन्ने छ । वादीले लेनदेन मुद्दामा वारेसनामार्फत प्रतिउत्तर फिराउदा रकम लिएको स्वीकार गरेकै छन् । दुबै लिखतको ल्याप्चे एबं हस्ताक्षर मोहनप्रसाद थारूको हो । लिखत जाँच गर्ने विशेषज्ञको बकपत्र नगराई सो रायलाई प्रमाणमा लिएको मिलेको छैन । वारेसनामा लिफामा लेखिएको र ब्यहोरा फरक पारी लेखिएको समेत होइन । विवादित वारेसनामा लेख्ने, सोमा साक्षी बस्ने र लेनदेन मुद्दामा प्रतिवाद गर्ने ब्यक्ति म होइन । ती कार्यहरू गर्दा अन्य प्रतिवादीहरूसंग मेरो कुनै मिलेमतो र संलग्नता छैन । मैले कुनै कीर्ते तथा जालसाजी कार्य नगरेको अवस्थामा सजाय हुने ठहर गरेको पुनरावेदन अदालत बुटवलको फैसलामा मुलुकी ऐन अ.बं. १८४(क) १८५ नं.तथा प्रमाण ऐन, २०३१ को दफा ५४ को त्रुटि गरी भएको हुँदा उक्त फैसला बदर गरी दावीबाट फुर्सद दिलाइपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी राजेशकुमार दुबेको यस अदालतमा परेको पुनरावेदन पत्र 

यसमा विवादित मिति २०५१।१२।२६ को लिखत जाँच गरी राय ब्यक्त गर्ने राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको विशेषज्ञलाई प्रमाण ऐन, २०३१ को दफा २३ बमोजिम बकपत्र नगराई प्रमाणमा लिई गरेको पुनरावेदन अदालत बुटवलको फैसला फरक पर्न सक्ने देखिँदा छलफलको निमित्त अ.बं.२०२ नं. बमोजिम विपक्षी झिकाई राय ब्यक्त गर्ने विशेषज्ञहरूलाई प्रमाण ऐन, २०३१ को दफा २३ बमोजिम बकपत्र गराई नियमानुसार पेश गर्नु भन्नेसमेत व्यहोराको यस अदालतको मिति २०६३।१२।९ को आदेश 

आदेशानुसार रेखा तथा लेखा विशेषज्ञ पदमराज काफ्ले र घनश्याम मुखियाले गरेको मिति २०६५।७।२५ को बकपत्र 

नियमबमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकहरूमध्ये कोमलनाथ उपाध्याय, शेषनारायण भण्डारी र कृष्णकुमार कर्णको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री दुर्गाप्रसाद पाण्डेले लेनदेन मुद्दाका प्रतिवादी मोहनप्रसाद थारूले भने मुताविक प्रतिउत्तर मसौदा तयार गरी कोमलनाथ वारेस भई शेषनारायण एबं कृष्णकुमार साक्षीसम्म बसेका हुन् । प्रतिउत्तरपत्र मस्यौदा गर्ने तथा दर्ता गर्ने कार्य कानूनअनुरूप भएको हो । लेनदेन मुद्दामा प्रतिउत्तर दर्ता गर्न मोहनले वारेसनामा दिएका हुन् । सो मुताविक नै कार्य भएको छ । अन्य कार्यको लागि भनी वारेसनामा दिएका होइनन । फरक ब्यहोरा पार्ने मेरो पक्षको कुनै नियत नहुँदा जालसाजी ठहर गरेको पुनरावेदन अदालतको फैसला मिलेको  छैन । तसर्थ पुनरावेदन अदालतको फैसला उल्टी हुनु पर्दछ भनी प्रस्तुत गर्नु भएको बहस समेत सुनी मिसिल अध्ययन गरी हेर्दा पुनरावेदन अदालत बुटवलको फैसला मिलेको छ छैन सोही विषयमा निर्णय दिनुपर्ने देखियो 

२. निर्णयतर्फ विचार गर्दा लिफामा कपाली तमसुक खडा गरी सो आधारमा राजेशकुमार दुबेले लेनदेन मुद्दा दायर गरेको र उक्त मुद्दामा वादी दावी समर्थन गर्दै जासलाजपूर्ण लिफाबाट वारेसनामा खडा गरी विपक्षीहरूले प्रतिउत्तर लगाई कीर्ते कागजको १ नं. र ३ नं. बमोजिमको कसूर गरेकोले प्रतिवादीहरूलाई सजाय गरिपाऊँ भन्ने वादी दावी भएकोमा दावी नपुग्ने ठहर गरेको शुरूको फैसला उल्टी गरी दावी पुग्ने ठहर गरेको पुनरावेदन अदालतको फैसलाउपर प्रतिवादीहरूको पुनरावेदन परी प्रस्तुत मुद्दा निर्णयार्थ पेश हुन आएको पाइयो 

३. यसमा अर्कै कामको लागि भनी दिएको लिफा प्रयोग गरी मिति २०५१।१२।२६ को कपाली तमसुक तथा मिति २०५५।३।२५ को वारेसनामा कीर्ते गरी मिलुवा प्रतिउत्तर लगाएको हुँदा लिखतहरू निष्क्रिय गरी प्रतिवादीहरूलाई सजाय गरिपाऊँ भन्ने वादी दावी रहेको देखिन्छ । उक्त मितिका कपाली तमसुक तथा वारेसनामा वादीले स्वहस्ताले सहिछाप गरिदिएको हुँदा कीर्ते जालसाज गरेको होइन भन्ने प्रतिउत्तर र पुनरावेदन जिकीर रहेको छ । धनी राजेश कुमार दुबे भएको कपाली तमसुकबमोजिमको रकम भरिपाउन परेको मुद्दामा प्रतिउत्तर मस्यौदा गरी वारेस समेत कोमलनाथ उपाध्याय आफै भई लेनदेन मुद्दामा प्रतिउत्तर दर्ता गराएको देखिँदा मुख्य कारणी लेनदेन मुद्दाको वादी राजेशकुमार दुबे र लेनदेन मुद्दामा वारेस समेत भै प्रतिउत्तर लगाएको कोमलनाथ उपाध्याय भएको देखियो । निजहरूको हकमा विचार गर्दा दावीबमोजिम कपाली तमसुक र वारेसनामा लिफामा खडा भएको हो होइन र निज प्रतिवादीहरूलाई आरोपित कसूर बमोजिम सजाय हुनुपर्ने हो होइन भन्ने तर्फ हेर्दा पुनरावेदन अदालत बुटवलको मिति २०५९।१०।१४ को आदेशानुसार राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट विवादित लिखत तथा वारेसनामा जाँच भई मिति २०६०।८।१८ को पत्रसाथ प्राप्त भएको राय हेर्दा २०५१।१२।२६ को कपाली लिखत र २०५५।३।२५ को वारेसनामा लिफामा लेखिएको तर लिखत र वारेसनामामा परेको ल्याप्चे सहिछाप हस्ताक्षर तथा अदालतबाट नमूनाको रुपमा लिएको ल्याप्चे सहिछाप हस्ताक्षर एउटै ब्यक्तिको हो भन्ने उल्लेख भएको पाइन्छ । उक्त ल्याप्चे सहिछाप र हस्ताक्षर मोहनप्रसाद थारूको भएपनि लिफामा लेखिएको भन्ने तथ्य विवादित लिखतहरूमा विशेषज्ञ बोर्ड जाँच प्रतिवेदन र सोहीअनुरूप निजहरूले अदालतमा गरेको बकपत्र समेतबाट पुष्टि हुन आएको छ । कुनै कार्यको उद्देश्य र मनसाय भएको उक्त कार्यबाट नै धेरै हदसम्म स्थापित हुने कुरामा विवाद हुन सक्दैन । प्रस्तुत मुद्दाको सन्दर्भमा विचार गर्दा विवादको कपाली तमसुक लिफामा लेखिएको र सो मुद्दाको वादीको अनुकूल हुने गरी लिफामा नै वारेसनामा तयार गरी मिलुवा प्रतिउत्तर प्रतिवादी मध्येको कोमलनाथ उपाध्यायलाई वारेस बनाई लगाउन लगाएको कार्य एक पछि अर्को क्रमअनुसार जोडिएर आएको देखिन्छ । प्रस्तुत मुद्दाको सन्दर्भमा सो सम्बन्धमा हेर्दा विवादको लिखत लिफामा तयार गरी गराई सोलाई परिणाममुखी बनाउन अर्को लिफाको प्रयोग गरी प्रतिउत्तर लगाइएको देखिनाले प्रतिवादी राजेशकुमार दुबेले वादीको हस्ता भएको लिफा प्रयोग गरी मिति २०५१।१२।२६ मा रु.३,००,०००।– (तीन लाख) को कपाली तमसुक खडा गरी आफूलाई फाइदा र मोहनप्रसाद थारूको हक हितमा प्रतिकूल असर पार्ने मनसायले कीर्ते कागजको १ नं. विपरीतको कसूर गरेको देखिन आयो ।   

४. मिति २०५५।३।२५ को वारेसनामा लिफामा तयार गरिएको तथ्यको पुष्टि भईसकेको अवस्थामा सो कार्य गर्नमा प्रतिवादी कोमलनाथ उपाध्यायको के कस्तो भूमिका रहेको छ भन्ने सन्र्दर्भमा हेर्दा २०५५।३।२५ को वारेसनामा लिफामा लेखिएको भन्ने कुरा स्वयम यी प्रतिवादीले स्वीकार गरी सो कुरालाई अन्यथा भन्न सकेका छैनन । प्रतिउत्तरपत्र प्रस्तुत गर्ने उद्देश्यले लिफामा वारेसनामा तयार गरेको र सो वारेसनामा लेख्ने साक्षी एवं प्रतिउत्तरपत्रको वारेससमेत यिनै प्रतिवादी कोमलनाथ उपाध्याय रहेका र सोबाट वादीको हक मेट्ने कार्य भएकोबाट सो कार्य कीर्ते कागजको ३ नं. ले परिभाषित गरेको अपराधभित्र पर्ने देखिनाले एउटा कामको लागि दिएको लिफालाई अर्कै काममा प्रयोग गरी वारेसनामा तैयार गरी वारेस भई प्रतिउत्तरपत्र दर्ता गराएको कारणबाट वादीको हकमा प्रत्यक्ष असर पर्न गएको देखिँदा निज प्रतिवादीले कीर्ते कागजको ३ नं.को कसूर गरेको ठहराएको पुनरावेदन अदालतको फैसला मिलेकै देखियो । 

५. प्रतिवादीहरूमध्ये शेषनारायण भण्डारी र कृष्णकुमार कर्णको हकमा विचार गर्दा मिति २०५१।१२।२६ को लिफामा लेखिएको तमसुक सम्बन्धमा वादीले जालसाजीतर्फ दावी लिएको देखिएपनि त्यसका साक्षीहरू माथि दावी लिएको छैन । शेषनारायण भण्डारी र कृष्ण कुमार कर्ण सम्बन्धित लेनदेन मुद्दाको प्रतिउत्तर प्रस्तुत गर्ने प्रयोजनको निमित्त तैयार गरिएको वारेसनामामा मात्र साक्षी बसेका देखिन्छन् । सधैं अड्डा अदालतमा लेखापढी वा कानून व्यवसाय संग सम्बन्धित रहेका पेशाकर्मीहरू एक अर्कामाथि विश्वास गरी वारेसनामा इत्यादिका लिखतहरूमा साक्षी बस्नु तिनीहरूको लागि दिनानुदिनको कार्य हुन्छ । यस्तो कार्यलाई वदनियतपूर्वक कसैको हक मेट्ने उद्देश्यले भएको कार्य भन्नको लागि सो कुरालाई समर्थन हुने विश्वासलायक प्रमाणको आवश्यकता  पर्दछ । यी प्रतिवादीहरूले जानी जानी वादीको हक मेट्ने उद्देश्यले प्रेरित भै सो वारेसनामामा साक्षी बसेको कुरा यस मुद्दामा प्रस्तुत भएका कुनै प्रमाणबाट स्पष्ट भएको पाइएको छैन । अतएवः यी प्रतिवादीहरूले समेत वादीको हक मेट्ने उद्देश्यले कीर्ते कागजको १ नं. वा ३ नं. लगायतको हुने कसूर गरेको प्रमाणित हुन आएको देखिदैन । त्यसकारण पुनरावेदन अदालत बुटवलको फैसला निज प्रतिवादीहरूको हकमा मिलेको देखिएन । 

६. तसर्थ प्रस्तुत मुद्दामा प्रतिवादी राजेशकुमार दुबेलाई कीर्ते कागजको १ नं. को कसूरमा ऐ. को ७ नं. अनुसार र कोमलनाथ उपाध्यायलाई ऐ. को ३ नं. को कसूरमा ऐ. को १० नं. अनुसार सजाय हुने ठहर गरेको पुनरावेदन अदालतको फैसला सो हदसम्म मिलेको देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीहरू शेषनारायण भण्डारी र कृष्णकुमार कर्णको हकमा जालसाजीमा सजाय गरिपाऊँ भन्ने वादी दावी पुग्न सक्दैन । प्रतिवादीहरू शेषनारायण भण्डारी र कृष्ण कुमार कर्णलाई आरोपित कसूरबाट सफाइ दिनु पर्नेमा सजाय हुने ठहर गरेको पुनरावेदन अदालत बुटवलको मिति २०६०।१०।५ को पैmसला सो हदसम्म मिलेको नदेखिँदा केही उल्टी हुने ठहर्छ । अरूमा तपसील बमोजिम गर्न

 

तपसील

माथि इन्साफ खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत बुटवलको फैसला केही उल्टी भई प्रतिवादीमध्ये राजेशकुमार दुबेको हकमा निजले कीर्ते कागजको १ नं.को कसूर गरेको हुँदा सोही महलको ७ नं. बमोजिम रु.१,५०,०००।– (एकलाख पचास हजार रुपैंया) जरीवाना हुने ठहर गरेको पुनरावेदन अदालतको फैसला सदर हुने ठहरी फैसला भएकोले निजले पुनरावेदन अदालत बुटवल मार्फत यस अदालतमा पुनरावेदन गर्दा जरीवानाबापत जिल्ला रूपन्देही गा.वि.स बसन्तपुर वडा नं.८ बस्ने साधुशरणको छोरा मोदनारायण चौधरीको नाउँ दर्ताको जिल्ला रूपन्देही गा.वि.स. बसन्तपुर वडा नं.८(ख) कि.नं. ५६ को ज.वि. ०१९१३ जेथा जमानी राखेको देखिँदा जरीवाना रु.१,५०,०००।बुझाएमा उक्त जग्गा फुकुवा गरिदिनु र जरीवाना नबुझाएमा सो जग्गा कानूनबमोजिम लिलाम बिक्री गरी असूलउपर गर्नु भनी शुरू रूपन्देही जिल्ला अदालतमा लगत दिनू .... .... .... .... .... .... .... .... .... .... .... .... .... .... .... .... .... .... .... .... .... .... 

प्रतिवादी कोमलनाथ उपाध्यायको हकमा निजले कीर्ते कागजको ३ नं.को कसूर गरेको ठहर भई सोही महलको १० नंं बमोजिम रु १००।जरिवाना हुने ठहर गरेको पुनरावेदन अदालत बुटवलको फैसला सदर हुने ठहर भएकोले निजलाई लागेको जरीवाना रूपन्देही जिल्ला अदालतमा र.नं. ११७६२ मिति २०६१।३।२१ मा बुझाइसकेको देखिँदा केही गरिरहनु परेन ..... .... .... .... ...२

पुनरावेदन अदालत बुटवलको फैसला केही उल्टी भई प्रतिवादीमध्ये शेषनारायण भण्डारी र कृष्णकुमार कर्णको हकमा वादी दावी नपुग्ने ठहरी फैसला भएकोले शेषनारायण भण्डारीले मिति २०६१।४।१७ र कृष्ण कुमार कर्णले २०६१।४।१९ मा रूपन्देही जिल्ला अदालतमा जनही रु.१००।जरीवाना तिरेको देखिँदा उक्त रकम निजहरूले फिर्ता पाउने हुँदा कानूनको रीत पुर्‍याई फिर्ता दिनु भनी रूपन्देही जिल्ला अदालतमा लेखी पठाईदिनू........ ........ ........ ........ ........ ........ .......३

प्रस्तुत मुद्दाको दायरीको लगत कटृा गरी मिसिल नियमानुसार बुझाई दिनू..... ..... ..... ४

उक्त रायमा म सहमत छु 

न्या.प्रकाश वस्ती  

इति संवत २०६६ साल चैत २३ गते रोज २ शुभम्

इजलास अधिकृतदीपक ढकाल

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु