निर्णय नं. ७७२१ - चोरी
निर्णय नं.७७२१ ने.का.प.२०६३ अङ्क ६
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री बद्रीकुमार बस्नेत
माननीय न्यायाधीश श्री परमानन्द झा
सम्वत २०५९ सालको फौ.पु.नं. ३२९२
फैसला मितिः २०६३।१।२५।२
मूद्दा:– चोरी ।
पुनरावेदक
वादीः अग्निधर पराजुलीको जाहेरीले नेपाल सरकार
बिरुद्ध
प्रत्यर्थी
प्रतिवादीः स्यांजा जिल्ला चिलाउनेबास गा.वि.स. वडा नं. ४ बस्ने गंगावहादुर क्षेत्री समेत
§ सवारीधनी वा तत्कालीन भोगाधिकारी मध्येको जो कसैबाट हक टुटाई लगेको भएपनि चोरीको महलको प्रयोजनको लागी खासै फरक नदेखिने ।
§ एक ठाउँबाट अन्य ठाउँमा आवतजावत भै स्थानान्तरण भइरहने सवारी साधन सवारीधनी वा अबस्थानुसार उसको निर्देशन अनुसारका व्यक्तिको नियन्त्रणमा रहन सक्ने कुरालाई न्याय निरुपणको हिसावले अन्यथा मान्न नसकिने ।
§ सवै अबस्थामा करार वा लिखत नै गराउनु पर्ने भन्ने कुरालाई त्यति व्यवहारिक मान्न सकिदैन । किनकि यस्ता कुराहरु पक्षहरुको सहमतीको आधारमा अत्यन्तै छोटो समयको लागी हुने गर्दछ । यसकारण लिखत नगराई साहुबाट जाहेरवालाले गाडी कब्जामा लिएको मान्न मिल्दैन भन्ने प्रतिवादीहरुको भनाई तर्क र न्यायसंगत मान्न नसकिने ।
(प्रकरण नं.२२)
§ चोरी गरिएको भनिएको गाडी विवाहको लागि रिजर्वमा रहेको, प्रतिवादीहरु सोही ठाउँका स्थानीय वासिन्दा रहेका र विवाहवाट फर्कने क्रममा वैवाहिक मनोरन्जनको लागि रोकि राखिएको उक्त गाडीलाई २ कि. मि. परसम्म लगेको देखिदा प्रतिवादीहरुबाट विवाहको लागि रिजर्वमा रहेको र रोकि राखेको अबस्थामा रहेको गाडीलाई चोरी गरी लगिएको हो भन्ने कुरा प्रासंगिक नदेखिने ।
§ सवारी जस्तो साधनलाई व्यक्तिले तुरुन्त लुकाउन छिपाउन सक्ने अबस्था पनि रहदैन भने सडक बाहेक अन्यत्र लैजान सम्भव पनि देखिदैन । साथै उक्त सवारीबाट पार्ट पुर्जा लगायत कुनै पनि सर समान हराए, नासिएको अबस्था पनि देखिदैन । गाडीको रङ नम्बर इत्यादि परिवर्तन गरिएको अबस्था पनि देखिदैन । यसकारण गाडी नै गायव पारी लिने खाने नियत यी प्रतिवादीहरुमा रहे भएको देखिन नआउने ।
§ सवारी जस्तो सम्बन्धित यातायात कार्यालयबाट नामसारी नगरेसम्म हस्तान्तरण हुन नसक्ने साधनलाई यी प्रतिवादीहरुले वास्तविक गाडीधनीको हक मेटाई लिन खानका लागी लगेको भन्ने देखिन नआउने ।
(प्रकरण नं.२३)
पुनरावेदन वादी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता ब्रजेश प्याकुरेल
प्रत्यर्थी प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री खेमनारायण ढुंगाना
अवलम्वित नजीरः
फैसला
न्या.वद्रीकुमार वस्नेतः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत पोखराको मिति २०५८।९।२ को फसला उपर वादी सरकारी पक्षवाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :-
२. ०५५ साल माघ १३ गतेका दिन पोखरावाट जुग्लेसम्म तिनवटा टेक्सी रिजर्वमा ल्याएका थियौं सो मध्ये ग. अ. ज. ६५७ नं. को टेक्सी लक गरि राखेकोमा ध्रुवराज पौडेल, गंगा क्षेत्री विष्णुप्रसाद ढकाल र अर्का एकजना व्यक्ति समेतका ४ जनाले टेक्सी त्यहाँबाट लगी २ कि. मि. यता पुर्याएकोले पिछा गर्दै आउँदा वादविवाद भई नगद रु २,४००।– समेत चोरि लगेको हुंदा खोजतलास गरिपाऊँ भन्ने समेत व्यहोराको अग्नीधर पराजुलीको निवेदन ।
३. ०५५।१०।१३ गते विहान पोखरावाट स्यांजा जिल्ला जुग्ले बजारसम्म भाडामा विवाहको जन्तीहरु लिई आएको ग.अ.ज. ६५७,८४०, १११२ नं. को टेक्सीहरु साँझ ६.५५ वजेको समयमा आईपुगी खाजा खान होटेलमा बसेको अबस्थामा मैले हाकेको ग.अ.ज. ६५७ नं. को टेकसीको साँचो मिलाई विगो रु.५,००,०००।– पर्ने टेकसी नगद रु.१२,४००।– समेत चोरि भएकोले पिछा गरि गाडी र मानिसलाई छेक हाली चोरहरु ध्रुवराज पौडेल, गंगा क्षेत्री, विष्णुप्रसाद ढकाल र नाम थाहा नभएको १ जनालाई पक्राउ गर्न खोज्दा विष्णुप्रसाद ढकाल वाहेक अरु भागी गएकोले कानून बमोजिम होस् भन्ने अग्नीधर पराजुलीको जाहेरी दरखास्त ।
४. जिल्ला स्यांजा सेती दोभान गा. वि. स. वडा नं. ८ नाउडाडा देखी जुग्ले बजार जाने वेतानेको पाखोनेर कच्ची सडकमा २ वटा लुकिंग ग्लास र दायाँ लाईट फुटेको च्याम्बर फुटी मोविल चुहिएको र च्यासिस वाङ्गो भएको अबस्थामा ग. अ. ज. ६५७ नं. को टेक्सी फेला परेको भन्ने बरामदी मुचुल्का ।
५. २०५५।१०।१३ गतेका दिन नै थाहा नभएको बसमा विवाहको जन्ती पोखरा गई साँझ सोही बसमा फर्की आई दाईजोको समानहरु झारि रहेको अबस्थामा ध्रुवराज पौडेलले टेक्सीको साँचो पाएको छु जाउँ घुम्न भनि मलाई गंगा क्षेत्री र राजु क्षेत्रीलाई भनेकोले हुन्छ भनि हामी चारै जना ग. अ. ज. ६५७ नं. को टेक्सी खडा भएको स्थानमा पुगी उक्त टेकसी ध्रुवराजले हाकेको र हामहिरु बसि उक्त नं. का टेक्सी लिई हिडेका हौ । पछि भैरे कुण्डमा जाहेरवालाले फेला पारि ल्याएका हुन् भन्ने प्रतिवादी विष्णुप्रसाद ढकालको बयान ।
६. २०५५।१०।१३ गते राती जाहेरवाला अग्नीधर पराजुलीको ग. अ. ज. ६५७ नं. को टेकसी प्रतिवादी ध्रुवराज पौडेल, गंगा क्षेत्री, राजु र बिष्णुप्रसाद ढकालले चोरि गरि लगेका हुन् । निजहरुले जाहेरवालाको रु १२,४००।– नगद समेत चारेका हुन् भन्ने बुझिएका ग. अं. ज. ८४० नं. को टेकसी चालक रनवहादुर सुनार ग. अ. ज. १११२ नं. को टेक्सी चालक प्रेमवहादुर दर्जिको कागज ।
७. २०५५।१०।१३ गते राती प्रतिवादी विष्णुप्रसाद ढकाल, गंगा क्षेत्री, राजु क्षेत्री घुम्न जान भनि बसेको जाहेरवाला अग्नीधर पराजुलीले हाक्ने गरेको ग.अ.ज. ६५७ नं. को टेक्सी प्रतिवादी ध्रुवराज पौडेलले हामी बिष्णुप्रसाद ढकाल, गंगा क्षेत्री र राजु क्षेत्री समेत सो टेक्सीमा बसि लगेको हुन् भन्ने व्यहोराको वस्तुस्थिति मुचुल्का ।
८. २०५५।१०।१३ गते विहान नेत्रवहादुरको विवाहमा पोखरा गै ध्रुवराज पौडेल, विष्णुप्रसाद ढकाल, राजु क्षेत्री र म समेत सोही साँझ ६ वजेको समयमा भेट भै दाइजोको सामान बसको छतवाट झार्दै थियौं । सो समयमा जुग्ले बजारमा तिनवटा टेक्सी रोकी राखेको र टेक्सी चालकहरु होटल भित्र नास्ता गर्न लागेको बेला ध्रुवराज पौडेलले टेक्सीको साँचो मिलाई ग. अ. ज. ६५७ नं. को टेक्सी स्टार्ट गरे तत्कालको सल्लाह अनुसार हामी चारजना मिली ध्रुवराज पौडेलले चलाउने र हामी तीनजना टेक्सीमा चढी नाउडाडा हुँदै पोखरा तर्फ जाने भनि घुम्न जान लाग्दा सेती दोभान भैरेकुण्ड भन्ने ठाउँमा २ वटा टेक्सीमा आएका मानिसले बाटो छेकी हामी बसेको टेक्सी रोके ध्रुवराज पौडेलले उनिहरुलाई कुटपिट गरेको र ग. अ. ज. ६५७ को टेक्सी सोही स्थानमा बरामद भएको हो सो टेक्सी विक्रि गर्ने उद्देश्यले नभई घुम्न जाने उद्देश्यले चारैजना मिलि लिई आएकोमा जाहेरवालाले थाहा पाई बरामद भएको हो नगद रु १२,४००।– ध्रुवराज पौडेलले र राजु रोका क्षेत्रीले चोरि गरेका हुनुपर्छ भन्ने समेत व्यहोराको गंगावहादुर क्षेत्रीको बयान ।
९. प्रतिवादीहरु गंगावहादुर क्षेत्री, ध्रुवराज पौडेल र राजु क्षेत्रीलाई मु. ऐन चोरिका महलको १ नं. को कसूरमा सोही महलको १२ नं. अनुसार पहिलो पटक पारि र प्रतिवादी मध्येका विष्णुप्रसाद ढकालको उमेर वारदात मितिमा १४ बर्ष माथि र १६ बर्ष मुनिको देखिदा निजलाई वाल वालीका सम्बन्धि ऐन, २०४८ को दफा ११(३) बमोजिम चोरिको विगोमा मु. ऐन चोरिका १ नं. को कसूरमा सोही महलको ११ नं. अनुसार सजाय हुने र प्रतिवादीहरुले चोरि गरेको जाहेरवालाको धनमाल मध्ये वरामद हुन आएको विगो रु ५,००,०००।– को टेक्सीको हकमा सो टेक्सी नै र नपुग विगो रु १,२४,०००।– को हकमा चारै जना प्रतिवादीहरुवाट चोरिका १०(३) नं. र ११ नं. अनुसार जाहेरवाला अग्नीधर पराजुलीलाई दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको अभियोग पत्र माग दाबी ।
१०. चोरी भयो भनिएको दिन ०५५।१०।१३ गते म घर गाउँमा तथा स्यांजा जिल्ला मै छैन । रुपन्देही जिल्ला सरौदी गा. वि. स. वडा नं. ५ मा छु मैले चोरि गरेको छैन । अभियोग दावीवाट सफाई पाउँ भन्ने समेत व्यहोराको गंगावहादुर क्षेत्रीले अदालतमा गरेको बयान ।
११. मिति २०५५।९।११ गते पोखरा दिदीको घरमा गएको थिए । ०५५।१०।१३ गते पनि म दिदीको घरमा नै थिए टेक्सी कसले चारेको हो मलाई थाहा छैन । मैले ग. अ. ज. ६५७ को टेक्सी चोरी गरेको पनि होईन र मलाई अभियोग अनुसारको सजाय हुनुपर्ने हैन । मैले चोरिको कुनै अभियोग समेत नगरेको हुँदा सजायवाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको ध्रुवराज पौडेलले अदालतमा गरेको बयान ।
१२. वारदातको समय म वारदात स्थलमा भएकोले टेक्सी चोर्ने यो पनि हो भनि मलाई समाते। मैले चोरेको होईन, मलाई प्रहरीमा कुटपिट गरी नभएको लेखी सही गराएका हुन् म चोरी भएको टेक्सीमा चढेको थिइन भन्ने समेत व्यहोराको प्रतिवादी विष्णुप्रसाद ढकालको अदालतमा भएको बयान ।
१३. अदालत समक्ष भएको साक्षीको बकपत्र मिसिल सामेल रहेछ, प्रतिवादी राजु रोका क्षेत्रीका नाउँमा अदालतवाट ३० दिने म्याद जारी भै मिति २०५६।१०।१० मा तामेल भएकोमा सो म्यादै गुजारी बसेको ।
१४. मिसिल संलग्न प्रमाणवाट प्रतिवादी मध्येका ध्रुवराज पौडेललाई चोरिका महलको१२ नं.ले कैद महिना १ र रु.१,२०,०००।– जरिवाना समेत हुने ठहर्छ । प्रतिवादी मध्येका गंगावहादुर क्षेत्री र विष्णुप्रसाद ढकालको हकमा विचार गर्दा निज प्रतिवादीहरु ध्रुवराज पौडेलले चलाएको टेक्सीमा निज ध्रुवराजले आउ घुम्न जाउँ भनी भनेकोले चोरिको टेक्सी हो भन्ने नजानी पोखरा घुम्न जान सम्म टेक्सीमा चढेको देखिदा चोरि जस्तो फौज्दारी अभियोगमा कसूरदार ठहराउन मिलेन । निज गंगावहादुर क्षेत्री र विष्णुप्रसाद ढकालले अभियोग दावीवाट सफाई पाउने ठहर्छ भन्ने समेत ब्यहोराको शुरु स्यांजा जिल्ला अदालतको फसला ।
१५. उक्त फसलामा चित्त बुझेन । प्र. ध्रुवराज पौडेलको हकमा कसूर ठहर भै सकेपछि अन्य जिकिर समेत नरहेको समान स्थिति र अबस्थाका सहअभियुक्तहरुलाई अलग गरि सफाई दिएको हदसम्म उक्त शुरु स्यांजा जिल्ला अदालतको फसला त्रूटिपूर्ण भएकोले बदर गरि अभियोग दावी बमोजिमको विगो टेक्सीको रु.५,००,०००।– र नगद १२,४००।– कायम गरि प्रतिवादीहरु विष्णुप्रसाद ढकाल र गंगावहादुर क्षेत्रीलाई मु. ऐन चोरिको १२ नं.अनुसार भै प्र. विष्णुप्रसादको उमेर वारदातका समयमा १४ बर्ष देखिदा वालवालिका सम्बन्धी ऐन २०४८ को दफा ११(३) अनुसार सजाय गरि पाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको पुनरावेदन पत्र ।
१६. उक्त फैसलामा चित्त बुझेन । मलाई दोषि करार गर्दा लिएको वुंदा नै खण्डित भएको अबस्थामा उक्त बुंदालाई आधार बनाई मलाई दोषि करार गरि शुरु स्यांजा जिल्ला अदालतको फसला त्रूटिपूर्ण भएकोले बदर गरि अभियोग दावीबाट पूर्ण रुपमा सफाई पाउने गरि फसला गरि न्याय पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी मध्येका ध्रुवराज पौडेलको पुनरावेदन अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
१७. यसमा ठोस आधार वेगर दावी भन्दा कम विगो ठहर्याएको र गंगावहादुर क्षेत्री र विष्णुप्रसाद ढकाल चोरि भएको टेक्सी नं ६५७ मा चढेको तथ्य प्रमाणीत भए पनि उक्त दुवै जनालाई सफाई दिएको र अर्कोतिर चोरि भएको भनिएको टेक्सी कारको स्वामित्व कसको हो सो एकिन नगरि स्यांजा जिल्ला अदालतले गरेको फसला फरक पर्न सक्ने देखिएकोले प्रतिवादी ध्रुवराज पौडेलको पुनरावेदनको सम्बन्धमा अ. वं. २०२ नं. को प्रयोजनार्थ पुनरावेदन सरकारी वकिल कार्यालय पोखरालाई सूचना दिनुको साथै अ.वं. २०२ नं. अनुसार सफाई पाएका प्रतिवादीहरुलाई झिकाई आए वा अवधी नाघेपछि नियमानुसार गरि पेश गर्नु भन्ने पुनरावेदन अदालतको आदेश ।
१८. प्रस्तुत मुद्दाको अभियोग दावीको प्रकृतिवाटै चारीको परिभाषा अन्तर्गतको नदेखिएको र वास्तविक गाडी धनीको जाहेरी समेत नपरेको प्रस्तुत मुद्दामा प्र. ध्रुवराज पौडेललाई चोरकिो कसूरदार ठहराई गरेको शुरु स्यांजा जिल्ला अदालतको २०५७।९।५ को फसला मिलेको नदेखिदा उल्टी भै प्रस्तुत अभियोग दावी पुग्न नसकी निज प्र. ध्रुवराज पौडेलले अभियोग दावीवाट सफाई पाउने ठहर्छ । शुरुले सफाई दिएका प्र. गंगावहादुर र विष्णुप्रसाद उपरको दावी समेत ठहर गरी प्र. ध्रुवराजको हकमा समेत माग बमोजिम ठहर गरिपाऊँ भन्ने वादी सरकारी पक्षको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने पुनरावेदन अदालत पोखराको मिति २०५८।९।२ को फसला ।
१९. प्रतिवादीहरुलाई सफाई दिने गरी भएको पुनरावेदन अदालतको त्रूटिपूर्ण फसला वदर गरी प्रतिवादीहरुलाई शुरु अभियोग माग दावी बमोजिम सजाय गरिपाऊँ भन्ने सरकारी पक्षको पुनरावेदन जिकिर ।
२०. यसमा जाहेरवालाको भोग कव्जामा रहेको गाडी नामसारी हुन बाँकी रहेको अबस्थामा चोरी भएकोमा गाडीको वास्तविक धनी नभएको भन्ने आधारमा अभियोग दावी पुग्न नसक्ने ठहराएको पुनरावेदन अदालत पोखराको फसला फरक पर्न सक्ने देखिदा छलफलको निमित्त अ. वं. २०२ नं. बमोजिम विपक्षी झिकाई नियमानुसार पेश गर्नु भन्ने मिति २०६१।७।२६ को आदेश ।
२१. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक सरकारी पक्षबाट विद्वान उपन्यायाधिवक्ता ब्रजेश प्याकुरेलले प्रस्तुत मुद्दाको वारदात स्पष्ट रुपमा चोरकिो महल अन्तर्गत पर्ने कुरामा विवाद छैन । प्रतिवादीहरुले लक गरी रोकि राखेको अबस्थामा रहेको टेक्सीलाई गाडी धनी अर्थात तत्कालीन भोगाधिकारीको मन्जुरी विना लिएर गएको अबस्था छ । सवारी साधन जस्तो यातायात कार्यालयवाट पास गरेर मात्र नामसारी हुने साधन सवारी धनी वा तत्कालीन भोगाधिकारीको मन्जुरी विना लिएर गएको अबस्थामा चोरीको महल अन्तर्गत कारवाही र सजाँय नगरी छुट दिने हो भने यस्ता आपराधिक कृयाकलापले प्रोत्साहन पाई पछि अपराध नियन्त्रण गर्ने राज्यको उद्देश्य निष्कृय हुनुको साथै फौज्दारी कानूनको कार्यन्वयनमा शिथिलता आउने हुँदा प्रतिवादीहरुलाई सफाई दिने गरी पुनरावेदन अदालत पोखराबाट भएको त्रूटिपूर्ण फसला बदर गरी शुरु अभियोग माग दाबी बमोजिम सजाय गरिपाऊँ भनी तथा प्रतिवादीहरुका तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता खेमनारायण ढुंगानाले प्रस्तुत मुद्दाको प्रकृति हेर्दा यो वारदात चोरीको परिभाषा अन्तर्गत पर्ने प्रकृतिको नभै सार्वजनिक अपराध प्रकृतिको देखिन्छ । चोरी गरिएको भनिएको टेक्सी विवाहको लागी रिजर्व गरिएको र वारदात स्थलकै स्थानीय वासिन्दा समेत हुँदा प्रतिवादीहरुले गरेको कार्यलाई चोरी मान्न सकिने अबस्था देखिदैन । प्रतिवादीहरुको कार्य सामान्य गल्ती हेलचत्र्mयाई वा लापरवाही सम्मको देखिन्छ । यस्तो अबस्थामा प्रतिवादीहरुलाई अपराधीको कोटीमा राखी चोरीको महल अनुसार सजाय गर्नुपर्ने अबस्था नदेखिदा अभियोग दावीबाट सफाई दिने ठहराएको पुनरावेदन अदालत पोखराको फसला मनासिव हुँदा सदर गरिपाऊँ भनी गर्नुभएको बहस समेत सुनियो । अव पुनरावेदन अदालत पोखराको फसला मिलेको छ, छैन तथा सरकारी पक्षको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
२२. निर्णय तर्फ विचार गर्दा जाहेरवालाले मिति २०५५।१०।१३ गते दिएको निवेदन अनुसार ग. अ. ज. ६५७ नं. को गाडी लक गरी रोकी राखेको ठाउँबाट प्रतिवादीहरु समेतका ४ जना व्यक्तिहरुले लक खोली करिव २ कि. मि. टाढा पु¥याए पछि ग. १ ज. १११२ र ८४० नं. का गाडीहरुले पिछा गर्दै गई ओभरटेक गरी पक्राउ गर्न खोज्दा वादविवाद भई ८४० नं. को गाडीको चालकलाई चोट लाग्न गएको हुँदा चोरी भएको गाडीको चालक वा साहुको साथबाट ढिकुटी बुझाउन राखेको रु १०,०००।– तीनवटा गाडीको रिजर्व भाडा रु २,४००।– साथ उक्त ८४० नं. गाडीको चालकको हातको घडी फुटाएको हुँदा उक्त कार्यमा संलग्न व्यक्तिहरुलाई खोजतलासी गर्नको लागि जाहेरी गरेको भन्ने देखिन आउँछ भने सो जाहेरी दिएको भोलिपल्ट मिति २०५५।१०।१४ को जाहेरीमा चोरी भएको भनिएको ग. १ ज. ६५७ नं. को टेक्सीको क्षति भै सो को मर्मतको लागि रु १५,५००।– समेत चोरी गर्ने विपक्षीहरुबाट भराई पाउँ भनी दावी लिएको देखिन्छ । चोरी भएको मानिसको ६५७ नं. टेक्सी जाहेरवाला अग्नीधर पराजुलीको नाममा दर्ता नभै बुद्धिराज आचार्यका नाउँमा दर्ता रहेको ब्लु बुकको प्रतिलिपिबाट देखिएतापनि सवारी साधन जस्तो एक ठाउँबाट अन्यत्र गईरहनु पर्ने साधन सधैभरी सवारी धनीकै नियन्त्रणमा रहनु पर्छ भन्ने प्रतिवादीहरु तर्फको भनाईलाई त्यति व्यवहारिक मान्न सकिदैन । यसकारण उक्त सवारी तत्काल नियन्त्रणमा रहेको जाहेरवालाको हकबाट प्रतिवादीहरुले टुटाई लगेको कुरामा विवाद गरी रहनु पर्ने अबस्था देखिदैन । यसकारण चोरी गरिएको भनिएको सवारी धनी वा तत्कालनि भोगाधिकारी मध्ये कसको नियन्त्रणमा थियो भन्ने प्रश्न मूलभुत मान्न सकिदैन । सवारी धनी वा तत्कालीन भोगाधिकारी मध्येको जो कसैबाट हक टुटाई लगेको भए पनि चोरीको महलको प्रयोजनको लागि खासै फरक केही देखिदैन । एक ठाउँबाट अन्य ठाउँमा आवतजावत भै स्थानान्तरण भईरहने सवारी साधन सवारीधनी वा अबस्थानुसार उसको निर्देशन अनुसारका व्यक्तिको नियन्त्रणमा रहन सक्ने कुरालाई न्याय निरुपणको हिसावले अन्यथा मान्न सकिदैन । यसको लागी सवै अबस्थामा करार वा लिखत नै गराउनु पर्ने भन्ने कुरालाई पनि त्यति व्यवहारिक मान्न सकिदैन । किनकि यस्ता कुराहरु पक्षहरुको सहमतीको आधारमा अत्यन्तै छोटो समयको लागि हुने गर्दछ । यसकारण लिखत नगराई साहुबाट जाहेरवालाले गाडी कब्जामा लिएको मान्न मिल्दैन भन्ने प्रतिवादीहरुको भनाई पनि तर्क र न्यायसंगत मान्न सकिएन ।
२३. प्रस्तुत मुद्दामा चोरी गरिएको भनिएको गाडी विवाहको लागि रिजर्व गरिएको देखिन्छ भने प्रतिवादीहरु स्वयं सोही विवाहका जन्ती भएको देखिन आउँछ । साथै प्रतिवादीहरु वारदात स्थलका स्थानीय वासिन्दाहरु नै रहे भएको देखिन आउँछ । प्रस्तुत वारदातको प्रकृति हेर्दा चोरी गरिएको भनिएको गाडी विवाहको लागि रिजर्वमा रहेको, प्रतिवादीहरु सोही ठाउँका स्थानीय वासिन्दा रहेका र विवाहवाट फर्कने क्रममा वैवाहिक मनोरन्जनको लागि रोकि राखिएको उक्त गाडीलाई २ कि. मि. परसम्म लगेको देखिन्छ । यसकारण प्रतिवादीहरुबाट विवाहको लागि रिजर्वमा रहेको र रोकि राखेको अबस्थामा रहेको गाडीलाई चोरी गरी लगिएको हो भन्ने कुरा त्यति प्रासंगिक पनि देखिदैन । यस बाहेक, सवारी जस्तो साधनलाई व्यक्तिले तुरुन्त लुकाउन छिपाउन सक्ने अबस्था पनि रहदैन भने सडक बाहेक अन्यत्र लैजान सम्भव पनि देखिदैन । साथै उक्त सवारीबाट पार्टपुर्जा लगायत कुनै पनि सर समान हराए, नासिएको अबस्था पनि देखिदैन । गाडीको रङ नम्बर इत्यादि परिवर्तन गरिएको अबस्था पनि देखिदैन । यसकारण गाडी नै गायव पारी लिने खाने नियत यी प्रतिवादीहरुमा रहे भएको देखिन आएन । साथै सवारी जस्तो सम्बन्धित यातायात कार्यालयबाट नामसारी नगरेसम्म हस्तान्तरण हुन नसक्ने साधनलाई यी प्रतिवादीहरुले वास्तविक गाडी धनीको हक मेटाई लिन खानका लागी लगेको भन्ने देखिन आएन। तसर्थ प्रतिवादीहरुलाई अभियोग माग दावीवाट सफाई दिने ठहराएको पुनरावेदन अदालत पोखराको मिति २०५८।९।२ को फसला मिलेकै देखिदा सदर हुने ठहर्छ । मिसिल नियमानुसार बुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या. परमानन्द झा
इति सम्वत २०६३ साल बैशाख २५ गते रोज २ शुभम –––––––––––––––––––