शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९०४५ - कर्तव्य ज्यान

भाग: ५५ साल: २०७० महिना: मंसिर अंक:

ने.का.प. २०७०,           अङ्क ८

निर्णय नं.९०४५

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल

माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय

फैसला मिति : २०७०।७।४।२

 

सम्वत् २०६६–CR–०१८८

मुद्दा : कर्तव्य ज्यान  ।

 

पुनरावेदक/वादी : स्याने थापाको जाहेरीले नेपाल सरकार

विरूद्ध

विपक्षी/प्रतिवादी : तनहुँ जिल्ला, व्यास न.पा. वडा नं ११ वस्ने सुकराम श्रेष्ठसमेत

 

§  उसै मौकामा उठेको रिस थाम्न नसक्ने अवस्थाको समय क्षणिक हुँदा लामो समयसम्म रहदैन । रिस उठने घटना वारदात भएपछि लामो अन्तरालपछि भएको अवस्थालाई यसले समेट्दैन । एकै क्षणमा एक वा बढी मानिसलाई आवेश वा थाम्न नसक्ने रिस उठन सक्छ वा सक्दैन भन्ने कुरा आवेश उत्पन्न गर्ने कारणमा निर्भर गर्ने गर्दछ । कुनै व्यक्ति विशेषलाई उसको आत्मसम्मानमा चोट पुग्ने वा गम्भीर सम्वेदनशील विषय लिई बेइज्जत गर्ने कार्य गरेमा त्यही व्यक्ति विशेषलाई क्षणिक आबेश वा तत्काल थाम्न नसक्ने रिस उठन सक्छ र अरू छेउछाउमा रहने सुन्नेलाई रिस उठे पनि थाम्न नसक्ने रिस भने उठेको नै हुन्छ भन्न सकिने

(प्रकरण नं.४)

 

पुनरावेदक/वादीका तर्फबाट : विद्वान सहन्यायाधिवक्ता गोपालप्रसाद रिजाल

विपक्षी/प्रतिवादीका तर्फबाट :

अवलम्बित नजीर :

सम्बद्ध कानून : मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १४ नं.

 

शुरूतहमा फैसला गर्नेः–     माननीय न्यायाधीश श्री ईश्वरराज आचार्य

तनहुँ जिल्ला अदालत

पुनरावेदनतहमा फैसला गर्नेःमाननीय न्यायाधीश श्री ओमप्रसाद सुवेदी

माननीय न्यायाधीश श्री चोलेन्द्र शम्शेर ज.ब.रा

पुनरावेदन अदालत, पोखरा

 

फैसला

मा.न्या.वैद्यनाथ उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :

            मिति २०६४।२।६ गतेका दिन तनहुँ जिल्ला, व्यास न.पा. वडा नं.११ बस्ने शुकबहादुर थापालाई सुकराम श्रेष्ठ र सोमलाल श्रेष्ठ जना २ दाजुभाइले हात मुक्का दाउराले हानी घाइते बनाएको भन्ने घटनास्थल मुचुल्का विवरण ।

            मिति २०६४।२।६ गतेका दिन मेरो दाजु शुकबहादुर थापालाई सोमलाल श्रेष्ठ र सुगम श्रेष्ठको मुक्का बक्सिङ र चिरपट दाउराले हानी घाइते भएको र उपचारको क्रममा निज दाजुको मिति २०६४।२।७ गतेका बिहान मणिपाल शिक्षण अस्पताल, पोखरामा मृत्यु भएको हुँदा  सोमलाल श्रेष्ठ र सुगम श्रेष्ठलाई पक्राउ गरी कारवाही गरी पाऊँ भन्ने स्याने थापाको जाहेरी ।

            शुकबहादुर थापाको टाउकोमा गम्भीर चोट लागी चर्किएको कारणबाट मृत्यु भएको भन्नेसमेत व्यहोराको लास जाँच प्रतिवेदन ।

            मिति २०६४।२।६ गतेका दिन म र दाजु सुकराम श्रेष्ठ तनहुँ, व्यास नगरपालिका वडा नं १० स्थित मेनका चलचित्र हलतर्फ आईरहेका थियौ । सोही स्थानको सार्वजनिक बाटोमा आई पुग्दा शुकबहादुर थापाले रक्सी खाई बसेक रहेछ । मेरो दाजु सुकराम श्रेष्ठले ल्याएको छातामाथि निज बसेका र दाजुले किन बसेको हो भनी भन्दा तैँले चश्मा लगाएर हिरो बनी हिडेको छस् भनी विभिन्न प्रकारका गाली गलौज र अपशब्दसमेत प्रयोग गरेको, दुबैजनाबीच १ घण्टा जति वादविवाद परेको र मलाई पनि शुकबहादुर थापाले अपशब्द प्रयोग गरेको थियो । दाजु सुकराम श्रेष्ठले निजलाई एक थप्पड हाने पनि दुबैजनाको हात हालाहाल भएको हो र मलाई पनि रिस उठी नजिकै सुकाएको चिरपट दाउराले निजको टाउकोमा दुई पटकसम्म हानेको हुँ र निजको उपचारको क्रममा सोही चोट पीडाबाट मिति २०६४।२।७ गते मृत्यु भएको हो भन्नेसमेत व्यहोराको सोमलाल श्रेष्ठको अनुसन्धानको क्रममा भएको बयान कागज ।

            मिति २०६४।२।६ गतेका दिन म र भाइ सोमलाल श्रेष्ठ खाना खाई मेनका चलचित्र हलतर्फ आर्ईरहेका थियौं सोही स्थानको सार्वजनिक बाटोमा आईपुग्दा शुकबहादुर थापा रक्सी खाई बसेको रहेछ । मैले ल्याएको छातामाथि निज बसेको र मैले किन बसेको हो भनी भन्दा मलाई कालो चश्मा लाएर हिरो बनी हिडेको छस् भनी विभिन्न प्रकारको गाली अपशब्द प्रयोग गरेकोले मैले निजलाई एक थप्पड हानेको हुँ त्यसपछि निजले पनि मलाई हातपात गरेकोले दुबैजनाबीच हात हालाहाल भएको हो । मैले मुक्का बक्सिङले निजको मुख छाती पेटसमेतमा हानेको हुँ । निज भूर्इंमा बसेपछि भाइ सोमलाल श्रेष्ठले चिरपट दाउराले २ पटकसम्म निजको टाउकोमा हानेको हो र निज लडेपछि हामी दुईजना बजारतर्फ हिडेको हौं । पछि निजको उपचारको क्रममा सोही चोट पीडाबाट मृत्यु भएको हो भन्नेसमेत व्यहोराको सुकराम श्रेष्ठको अनुसन्धानको क्रममा भएको बयान ।

            मिति २०६४।२।६ गतेका दिनको ११ वजेको समयमा शुकबहादुर थापालाई सुकराम श्रेष्ठ र सोमलाल श्रेष्ठले मुक्का बक्सिङ र दाउराले हानी सोही चोट पीडाबाट शुकबहादुर थापा राती १० बजे बेहोस भएका र निजको उपचारको क्रममा मिति २०६४।२।७ गते मणिपाल शिक्षण अस्पताल, पोखरामा मृत्यु भएको हो भन्नेसमेत व्यहोराको रिमान सिंह परियारसमेतको कागज ।

            मिति २०६४।२।६ गते शुकबहादुर थापालाई सुकराम श्रेष्ठ र सोमलाल श्रेष्ठले मुक्का र चिरपट दाउराले टाउकोसमेतमा हानेका हुन् र निजको उपचारको क्रममा मिति २०६४।२।७ गते मणिपाल शिक्षण अस्पतालमा  मृत्यु भएको हो भन्नेसमेत व्यहोराको प्रेमबहादुर परियारको कागज ।

            २०६४।२।६ गतेका दिन मेरो श्रीमान् शुकबहादुर थापालाई सोमलाल श्रेष्ठ र सुकराम श्रेष्ठले हात मुक्का र चिरपट दाउराले टाउकोसमेतमा हानी सोही चोट पीडाको कारणबाट बेहोस भई निज श्रीमान्‌को मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको क्रममा २०६४।२।७ गते मृत्यु भएको हुँदा सोमलाल श्रेष्ठलाई कानूनबमोजिम होस भन्नेसमेत व्यहोराको विष्णुमाया थापाको कागज ।

            प्रतिवादीहरूले हात मुक्का चिरपट दाउराले शुकबहादुर थापालाई टाउकोसमेतको भागमा प्रहार गरेका घटनास्थलमा फेला परेको चिरपट दाउरासमेत सनाखत गर्दै आफूहरूले प्रहार गरेको चोट पीडाबाट नै उपचारको क्रममा शुकबहादुर थापाको मृत्यु भएको साबित भै बयान गरेका, लासजाँच मुचुल्काबाट मृतकको बायाँ टाउकोको भागमा छाला खुईलिएको र सुनिएको घाउ देखिएको भन्ने उल्लेख भएको र पोष्टमार्टम रिपोर्टबाट पनि टाउकोको कडा चोटसमेतका कारण शुकबहादुर थापाको मृत्यु भएको भन्ने देखिएका समेतका मिसिल संलग्न आधार प्रमाणहरूबाट प्रतिवादीहरूले ज्यान मार्ने मनसाय स्वरूपले शुकबहादुर थापालाई छाती, पेट, टाउको जस्तो सम्वेदनशिल अङ्गहरूमा हात मुक्का चिरपट दाउराले जथाभावी प्रहार गरी सोही प्रहारको चोट पीडाबाट शुकबहादुर थापाको उपचारका क्रममा मृत्यु भएको तथ्य सप्रमाण पुष्टि हुन आएकोले प्रतिवादी सोमलाल श्रेष्ठ र सुकराम श्रेष्ठलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(३) नं. विपरीत कसूर अपराधमा सोही महलको १३(३) नं. बमोजिम सजाय हुन माग दावी लिएको छ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको अभियोग माग दावी रहेछ ।

मिति २०६४ साल जेष्ठ ६ गते म र दाजु सुकराम जेष्ठ दुईजना घरबाट खाना खाएर तल पुरानो मेनका चलचित्र फिल्मको बाटो हुँदै रोडतिर रेक्साहरू चलेका छन् छैनन् भनी हेर्न जाँदा फिल्महल चोक अगाडि मृतक शुकबहादुर रक्सीले मातेर हल्ला गरिराखेका रहेछन् एक्कासी दाजुलाई कालो चश्मा किन लगाएको भने त्यसपछि मृतकले अश्लील अपशब्द प्रयोग गर्‍यो दाजुले आँखा दुखेर चश्मा लगाएको हो भन्नु भयो । त्यसपछि हामीबीच भनाभन भयो । निज मृतक र हामी दाजुभाइ हात हालाहाल भयो । निज मृतकले पनि हाम्रो गालामा हान्यो हामीले पनि हानेम् । रिसको आवेशमा आई मैले पनि मृतकको गालामा एकचोटी  हिर्काएको हो । रक्सी खाएर मातेको मृतकलाई सानो लठ्ठीले डर देखाउनको लागि हिर्काएको हो र सोही रातको ९।१० बजेतिर उसलाई खाना खान उठाउँदा पनि नउठेको कारण रक्सीले मातेर हो की भनेर मलाई खबर गरे । त्यसपछि मृतकलाई उपचार गर्न हस्पिटल लग्यौं । मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा निज शुकबहादुर थापाको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी सोमलाल श्रेष्ठले अदालतमा गरेको बयान ।

            मिति २०६४।२।६ गते बिहान अ. १०,११ बजेको समयमा म र मेरा भाइ सोमलाल श्रेष्ठ २ जना भै घरबाट बजार जान भनी मेनका चलचित्रको बाटो हुदै जाँदा मृतक शुकबहादुर थापा मेनका चलचित्र मन्दिर अगाडी बाटोमा रक्सी खाई फिट अवस्थामा थियो । त्यहाँ मलाई आमा चकारी लगाई रण्डी राँडीको पोइ भन्ने जस्ता शब्द प्रयोग गरेकाले मैले उक्त कुरा सहेर बसेको थिएँ । मेरो आँखा पाकेकोले कालो चश्मा लगाएको थिएँ । निज मृतक शुकबहादुर थापाले चश्मा लगाएर हिड्ने राडीको, रण्डिको छोरा हिरो भएर हिड्ने भनी आमा चकारीसमेतका शव्द प्रयोग गरेकाले म रिसको आवेशमा आई मैले निजलाई १ थप्पड हातले निजको देब्रे गालामा हिर्काएँ । त्यसपछि मृतक र भाइ सोमलालबीच हात हालाहाल धकेलाधकेल भयो । मैले छुट्याउने प्रयास गरेँ तर दुबैले हानाहान गरे भाइले शुकबहादुरलाई  गालामा हातले हिर्काए र त्यहीं भएको एउटा सानो लठ्ठीले टाउकोमा बिस्तारै हिर्काए त्यसपछि निजले हामी दाजुभाइलाई गाली गर्दै आफ्नो बाटो हिँडे । रातको १० बजेतिर टोलको छिमेकीले शुकबहादुरलाई हातपात गरेछौ तिमीहरूले हातपात गरेको मानिस ऐलेसम्म पनि उठेको छैन भनी भनेपछि सोही रातको १०:३० बजेको समयमा उपचार गराउन मणिपाल शिक्षण अस्पताल, पोखरामा लगियो र उपचार हुँदाहुँदै मिति २०६४।२।७ गते बिहान ५ बजेको समयमा मृत्यु भएको हो । कानूनले जो ठहर्छ भन्नेसमेत व्यहोराको सुकराम श्रेष्ठले अदालतमा गरेको बयान ।

            आदेशानुसार जाहेरवाला स्याने थापा अनुसन्धानका क्रममा कागज गर्ने विष्णुमाया थापा तथा चिजकुमारी श्रेष्ठ र प्रतिवादीहरूका साक्षी कल्पना श्रेष्ठ, रामकुमार प्रधान, राजेन्द्र शाही, अशोककुमार मास्के, नरेशकुमार श्रेष्ठ र सन्तराम प्रधानको बकपत्र भै मिसिल सामेल रहेछ ।

            ज्यानसम्बन्धी महलको १४ नं को कानूनी व्यवस्था हेर्दा ज्यान मार्नको मनसाय रहेनछ ज्यान लिनु पर्नेसम्मको इवी पनि रहेनछ लुकी चोरीकन पनि हानेको रहेनछ उसै मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी साधारण लाठा, ढुङ्गा, लात, मुक्का इत्यादिले हान्दा सोही चोट पीडाले ऐनका म्यादभित्र ज्यान मरेमा १० वर्षकैद हुने भन्ने देखिँदा प्रतिवादीले प्रस्तुत मुद्दामा उक्त कानूनी व्यवस्थाबमोजिम तत्काल उठेको रिसको आवेशमा मुक्का, लठ्ठी र चिरपट दाउराले हानेको कारण शुकबहादुर थापाको मृत्यु भएको तथ्य स्थापित भएको र प्रतिवादीमध्ये सुकराम श्रेष्ठले मुख, छाती, पेटसमेतमा हानेको र सोमलालले दाउराले टाउकोमा हानेको भन्ने देखिँदा प्रतिवादीहरूले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं बमोजिमको कसूर गरेको ठहर्छ सो ठहर्नाले जनही कैद वर्ष १०(दश) हुन्छ भन्नेसमेत व्यहोराको शुरू तनहुँ जिल्ला अदालतको मिति २०६५।३।१५ को फैसला ।

            यसमा शुरू तनहुँ जिल्ला अदालतले गरेको फैसलामा चित्त बुझेन । प्रस्तुत वारदातमा कुनै पूर्व रिसइबी छैन, कुनै योजना छैन । घटनाको प्रकृति हेर्दा सामान्य विवादमा कुटपीट भएको र अत्यधिक रक्सी सेवन, गर्ने आदत भएका शुकबहादुर थापालाई अस्पताल लानु पर्ने देखिएपछि हामी प्रतिवादीहरूले मर्ने शुकबहादुर थापालाई उपचारको लागि तनहुँ अस्पतालमा लगेका थियौँ । तनहुँ अस्पतालले रेफर गरेअनुसार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा र त्यहाँबाट मणिपाल शिक्षण अस्पतालमा लगेका थियौँ । उपचारको सिलसिलामा रगत किन्दा र निधनपश्चात लास तनहुँसम्म ल्याउँदा रू २५,०००। जति खर्चसमेत गरेका थियौँ । जाहेरवालासमेतले दिएको जाहेरी गडाउ नगरी बकेको बकपत्रसमेतको उचित मूल्याङ्कन भएको छैन । कुटपीटबाट भवितव्य भएको कुरालाई स्वीकार गरिएको हुँदा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ५ नं को वारदात भएकोमा सोही महलको १४ नं बमोजिम जनही १०वर्ष कैद सजाय गर्ने गरी भएको शुरू फैसला त्रुटीपूर्ण हुँदा बदर गरी न्याय पाऊँ भन्नेसमेत व्यहोराको प्रतिवादी सुकराम श्रेष्ठ र सोमलाल श्रेष्ठको पुनरावेदन अदालत, पोखरामा परेको संयुक्त पुनरावेदन पत्र ।

            मृतकले प्रतिवादीहरूलाई नसाको सुरमा गाली गलौज गरेको विषयलाई लिएर प्रतिवादीहरूले मृतकलाई निर्ममरूपमा कुटपीट गरी ढलाएका र त्यसपछि पनि जोखिमी चिरपट दाउराले टाउको जस्तो सवेदनशील ठाउँमा पटकपटक प्रहार गरेको कारणबाट मृतक शुकबहादुर थापाको मृत्यु भएको तथ्य पुष्टि भै रहेको र सो कुरालाई निज प्रतिवादीहरूका साक्षीहरूको बकपत्रबाटसमेत समर्थित भएको तथ्यलाई उचित मूल्याङ्कन नगरी वारदातलाई हलुकारूपमा आँकलन गरी प्रतिवादीहरूको ज्यान मार्ने कार्यमा योजना मनसाय नभई जोखिमी हतियारले प्रहारसमेत नभएको भन्नेसमेत आधारमा प्रतिवादीहरूलाई कम सजाय गरिएको उक्त फैसलामा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं को व्याख्यात्मक त्रुटी विद्यमान हुँदा सो शुरू फैसला बदर गरी प्रतिवादीहरूलाई अभियोग दावीबमोजिम सजाय गरी पाऊँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको पुनरावेदन पत्र ।

            प्रतिवादीहरूले सोमलाल श्रेष्ठ र सुकराम श्रेष्ठले अनुसन्धान अधिकारी तथा अदालतमा समेत बयान गर्दा कुटपीट गरेको कुरामा सावित भै बयान गरेको देखिन्छ । त्यस्तै बुझिएका मानिसको कागज एवं जाहेरवाला तथा निज प्रतिवादीकै साक्षीको बकपत्रबाट पनि प्रतिवादीहरूले मृतकलाई कुटपीट गरेका होइनन् र निजहरूको पिटाईको कारणबाट मृतक शुकबहादुरको मृत्यु भएको होइन भन्ने कुरा कतै मिसिल संलग्न कागजबाट नदेखिएको हुँदा प्रतिवादीहरूको कुटाईका कारणले मृतक शुकबहादुर थापाको मृत्यु भएको देखिन्छ । तर मृतकलाई मार्नको लागि यी प्रतिवादीहरूसँग मार्नु पर्ने सम्मको पूर्व मनसाय, योजना तथा रिसइबीसमेत रहे भएको कुरा मिसिल संलग्न कागजातबाट भने देखिँदैन । तत्काल उठेको रिसको आवेगमा यी प्रतिवादी सुकराम श्रेष्ठले मुक्काले मुख, छाती, पेटसमेतमा हानेको र अर्का प्रतिवादी सोमलाल श्रेष्ठले दाउराले टाउकोमा हानेको कारणबाट मृतक शुकबहादुर थापाको मृत्यु भएको देखिँदा यी प्रतिवादीहरू सुकराम श्रेष्ठ र सोमलाल श्रेष्ठले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं बमोजिमको कसूर अपराध गरेको ठहर्‍याई जनही कैद वर्ष १० हुन्छ । ज्यानसम्बन्धी महलको १३(३) नं बमोजिम सजाय गरी पाऊँ भन्ने अभियोग माग दावी पुग्न सक्दैन भनी शुरू तनहुँ जिल्लाअदालतले गरेको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी नेपाल सरकार तथा पुनरावेदक प्रतिवादी सुकराम श्रेष्ठसमेतको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने पुनरावेदन अदालत, पोखराको फैसला ।

            प्रतिवादीहरूको मृतकसँग भनाभन भै झगडा भएपश्चात् भएको कुटपीटको वारदातको परिणाम नै मृतकको मृत्यु भएको, प्रतिवादीमध्येका सुकराम श्रेष्ठले मुक्काले छाती र पेटमा तथा अर्का प्रतिवादी सोमलाल श्रेष्ठले दाउराले टाउको जस्तो संवेदनशील ठाउँमा प्रहार गर्दा मृतकको मृत्यु भएको, /२ जना प्रतिवादीहरू मिली एकजना मृतकलाई प्रहार गरी मारेको अवस्थालाई तत्काल उठेको रिसइबीको कारण प्रहार गरिएको भनी मान्न सकिने अवस्था नभएकोलाई ज्यानसम्बन्धी महलको १४ नं अन्तरगत पर्ने भनी प्रतिवादीहरूलाई अभियोग दावी भन्दा कम सजाय हुने गरी गरिएको पुनरावेदन अदालत, पोखराको फैसला बदर गरी प्रतिवादीहरूलाई शुरू अभियोग दावीबमोजिम सजाय गरी पाऊँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर ।

अदालतको ठहर

नियमबमोजिम दैनिक पेशी सूचिमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान सह न्यायाधिवक्ता श्री गोपाल प्रसाद रिजालले प्रतिवादीमध्येको सुकराम श्रेष्ठले मुक्काले छाती र पेटमा तथा अर्का प्रतिवादी सोमलाल श्रेष्ठले दाउराले टाउको जस्तो संवेदनशील ठाउँमा प्रहार गर्दा मृतकको मृत्यु भएको अवस्था र प्रतिवादीहरूको मृतकसँग भनाभन भएपछि २/२ जना प्रतिवादीहरू मिली ज्यान मार्ने मनसायले संवेदनशील अङ्गहरूमा प्रहार गरेको कारण मृत्यु भएकोले अभियोग दावी पुष्टि भएकोमा सो भन्दा कम सजाय प्रतिवादीहरूलाई गर्ने गरी ज्यानसम्बन्धी महलको १४ नं बमोजिम सजाय गर्ने गरेको पुनरावेदन अदालत, पोखराको फैसला त्रुटीपूर्ण भएकोले उल्टी गरी अभियोग दावीबमोजिम सजाय गरी पाऊँ भनी गर्नु भएको बहस सुनियो ।

            प्रतिवादीहरूले ज्यान मार्ने मनसायले मृतक शुकबहादुर थापालाई छाती, पेट, टाउको जस्तो संवेदनशील अङ्गहरूमा हात, मुक्का, चिर्पट दाउराले जथाभावी प्रहार गरी सोही चोट पीडाबाट शुकबहादुर थापाको उपचारको क्रममा मृत्यु भएकोले प्रतिवादीहरू सोमलाल श्रेष्ठ र सुकराम श्रेष्ठलाई मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १ र १३(३) नं. विपरीत कसूर अपराधमा सोही महलको १३(३) नं. बमोजिम सजाय हुन अभियोग दावी लिएको प्रस्तुत मुद्दामा शुरू तथा पुनरावेदन अदालतबाट प्रतिवादीहरूले गरेको कसूर ज्यान सम्बन्धी महलको १४ नं. बमोजिमको आवेश प्रेरित हत्या ठहराई सोहीबमोजिम सजाय गरेउपर वादी नेपाल सरकारको यस अदालतमा पुनरावेदन परेको देखिनाले अब शुरू जिल्ला अदालत तथा पुनरावेदन अदालतबाट भएको फैसला मिलेको छ छैन तथा पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकीर बमोजिम शुरू तथा पुनरावेदन अदालतको फैसला उल्टी हुने हो, होइन भनी निर्णय दिनुपर्ने देखिन आयो ।      

            २. निर्णयतर्फ विचार गर्दा मिति २०६४।२।६ गते ११ बजेको समयमा पुरानो फिल्महल रोड भन्ने स्थानमा मेरो दाइ शुकबहादुर थापासँग प्रतिवादीहरू सुकराम श्रेष्ठ र सोमलाल श्रेष्ठसँग भेट भै भेट हुनासाथ दाइ शुकबहादुर थापाले सुकराम श्रेष्ठलाई चश्मा लगाएर हिरो भएको भनेपछि सोही विषयलाई लिएर वाद विवाद भै रिसको आवेशमा रहेका प्रतिवादीहरू दुबैजनाले मुक्का तथा चिरपट दाउराले हानी सोही चोट पीडाबाट शुकबहादुरको मृत्यु भएको भन्ने स्याने थापाको जाहेरी व्यहोरा देखिन्छ भने सोही व्यहोरालाई थप पुष्टि गर्दै निजले अदालतमा बकपत्र गर्दा प्रतिवादीहरू र मृतक दाइ शुकबहादुरबीच चश्माको विषयमा सामान्य झगडा भएको भन्ने कुरा त्यहाँका स्थानीय मानिसले भनी थाहा पाएको र प्रतिवादीहरूले मृतकलाई चिरपट दाउराले हानेको देख्ने मानिस प्रेम परियारले मलाई भनेकाले जाहेरीमा उल्लेख गरेको भन्ने देखिन्छ । घटनास्थलमा सुकराम श्रेष्ठ र सोमलाल श्रेष्ठले हानी मृतकलाई घाइते बनाएको चिरूवा दाउरा प्रहरीले फेला पारी बरामद गरेको भन्ने घटनास्थल मुचुल्का देखिन्छ । बायाँ कानमाथी टुप्पी नजिकको टाउकाको भागमा आधा इन्च गोलाईको छाला खुइलिइएको र सुनिएको ठाउँ देखिएको भन्ने घटनास्थल तथा लास प्रकृति विवरण देखिन्छ । Cause of death intra cranial hemorrage leading severe head injury भन्ने शव परीक्षण प्रतिवेदन (Autospy Report) देखिन्छ । दाजु सुकराम श्रेष्ठलाई मृतकले चश्मा लगाई हिरो भएको छस् भनेको दाजुले ल्याएको छातामाथि नबस् भन्दा अपशब्द बोलेको हुँदा सुकराम श्रेष्ठले गालामा थप्पड हानेका र मृतक शुकबहादुरले पनि धकेलेकाले दाजु सुकरामले बक्सिङले, मुक्काले मुख, छाती पेटसमेतमा ७/८ पटक हानेका र मलाई पनि रिस उठी चिरपट दाउराले टाउकोको दाहिनेतर्फ जोडसँग दुईपटक हानेको भनी प्रतिवादी सोमलाल श्रेष्ठले आफूले मृतकलाई चिरपटले कुटपीट गरेको व्यहोरा मौकामा अधिकारप्राप्त अधिकारीसमक्ष स्वीकार गरी बयान गरेको र प्रतिवादी सुकराम श्रेष्ठले पनि मृतकले अपशब्द बोली थप्पड हानेकोमा निजले मलाई धकेलेकोमा रिस उठी मुक्का बक्सिङले मुख छाती पेटसमेतमा हानेको र भाइले नजिकैको चिरपट दाउराले २ पटकसम्म जोडले हानेको भन्ने घटना व्यहोरा खुलाई मौकामा अधिकारप्राप्त अधिकारीसमक्ष कुटपीट गरेको तथ्यमा सावित नै रहेको पाइयो ।  Fracture over the RT. temporo – perital region size about 15 cm भनी शव परिक्षण प्रतिवेदन रहेको पाईन्छ । सो प्रतिवेदनबाट एकचोट बाहेक अरू कुनै चोट देखिँदैन । लास जाँच मुचुल्कामा पनि बाँया कानमाथी टुप्पी नजिकको टाउकाको भागमा आधा इन्च गोलाईको छाला खुइलिएको भन्ने देखिएको र अन्य निलडामसमेत नदेखिएको अवस्था सोही चोट नै मृतकको मृत्यु हुनुको मुख्य कारक तत्त्व मान्नु पर्ने देखिन आयो । प्रतिवादीहरूलाई आमाचकारी अपशब्द गाली प्रयोग मृतकले गरेको कारण प्रतिवादी आफूहरू आवेशमा आएको भन्दै निज दुबै प्रतिवादीहरूले अदालतमा बयान गर्दा मृतकलाई सुकरामले एक थप्पड र सोमलालले सानो लाठीले एक पटक हानेको भनी कुटपीट गरेको तथ्यमा अदालतमा समेत साविती नै रहेको देखिएको र प्रतिवादीहरूको पिटाईको कारणले मृतकको मृत्यु भएको होइन भन्ने प्रतिवादीहरूको जिकीर पनि नभएको र मिसिलबाट पनि नदेखिएकोले यी प्रतिवादीहरूको दुई दाजु भाइमध्ये दाजु सुकरामले मुक्काले एक थप्पड र भाइ सोमलालले दाउराले एक पटक कुटपीट गरेको कारणबाट मृतकको मृत्यु भएको देखिन आयो । उपरोक्त मिसिल संलग्न तथ्यबाट प्रतिवादीहरूले एक एक पटक मृतकउपर हात हालेको देखिन आए पनि पटकपटक चोट छाडेको भन्ने अभियोग दावी पुष्टि हुन आएन ।

३. जाहेरवालाको जाहेरी व्यहोरा एवं निजको अदालतसमक्षको बकपत्र, मृतकको श्रीमती विष्णुमाया थापाले अदालतमा बकपत्र गर्दा स.ज. ७ मा मेरो पतिलाई यी प्रतिवादीहरूले मार्नु पर्ने पूर्व रिसइबी केही थिएन भनी उल्लेख गरेको व्यहोरासमेतका मिसिल प्रमाणबाट यी प्रतिवादीहरूले मृतक शुकबहादुरलाई मार्नु पर्नेसम्मको पूर्व रिसइबी एवं मार्नु पर्नेसम्मको पूर्व मनसाय योजना केही देखिँदैन । मृतक शुकबहादुरको मृत्यु प्रतिवादीहरूले चिरपट दाउरासमेतले हानी मृत्यु भएको तथ्य स्थापित भएको र मृतक र प्रतिवादीहरूबीच मार्नु पर्नेसम्मको पूर्व रिसइबि नदेखिएको एवं प्रतिवादी सुकरामले चश्मा लगाएकोमा आजकल जो कोही पनि चश्मा लगाई हिरो हुनुपर्ने भनी मृतकले नै गिज्याएको र प्रतिवादी सुकरामको छातामा मृतक शुकबहादुर थापा बसिदिएको कारणले मृतक र प्रतिवादी पक्षबीच वादविवाद भएको तथा सोही वादविवादको क्रममा मृतकले आमा चकारीसमेतका अपशब्द बोली मृतकको व्यवहारबाट नै प्रतिवादी उत्तेजित भएको देखिन  आउँछ । त्यस्तै सोही विवाद हुँदाकै अवस्थामा मृतक र प्रतिवादी सुकरामबीच धकेलाधकेल हुँदै प्रतिवादी सुकरामले मृतकलाई मुक्काले मुख छाती पेटमा ७/८ पटक हानेको र घटनास्थलमै भएका प्रतिवादी सोमलाल श्रेष्ठले शुकबहादुरलाई नजिकै रहेको चिरपट दाउराले टाउकोमा २ पटक हानेको भन्नेसम्मको मौकाको बयान देखिए तापनि प्रतिवादीहरूको अदालतको बयानमा मृतकलाई सुकरामले एक थप्पड र सोमलालले लठ्ठीले एक पटक हानेको भन्ने बयानलाई शव परीक्षण प्रतिवेदन (Autopsy Report) र लास जाँच मुचुल्काले समर्थित गरेको देखिन आएकोले प्रतिवादीहरूले पटकपटक हानेको भन्ने नदेखिएको एवं यी प्रतिवादी सोमलाल श्रेष्ठ र सुकराम श्रेष्ठ दुई दाजुभाइ देखिन आएको र मृतकले आमा चकारी दाजुलाई अपशब्द प्रयोग गरी दाजुसँग धकेलाधकेल गरेको अवस्थामा अर्को भाइ पनि रिसको आवेशमा आउनु स्वभाविक नै देखिन आउँछ ।

            ४. ज्यानसम्बन्धीको १४ नं मा ज्यान मार्नको मनसाय रहेनछ, ज्यान लिनु पर्नेसम्मको इबि पनि रहेनछ, लुकी चोरिकन हानेको पनि रहनेछ उसै मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी साधारण लाठा ढुङ्गा, लात, मुक्का इत्यादीले हान्दा सोही चोटपीरले ऐनका म्यादभित्र ज्यान मरेमा दश वर्ष कैद गर्नुपर्छ भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । उक्त १४ नं. को प्रयोग हुन उसै मौकामा उठेको रिस थाम्न नसकी हत्या भएको हुनु पर्ने,  मार्ने मनसाय वा ज्यान लिनु पर्नेसम्मको इबि हुन नहुने र जोखिमी हतियारको प्रयोग नभई साधारण लाठा, ढुङ्गा, लात इत्यादिसम्मको प्रयोग हुनु पर्ने गरी यी तीन तत्त्वको विद्यमानता रहनु पर्ने हुन्छ । प्रस्तुत मुद्दाको रोहमा मृतकलाई मार्ने मनसाय वा ज्यान लिनै पर्नेसम्मको इबि प्रतिवादीको नरहेको र प्रहार पनि दाउरा र थप्पडसम्मबाट भएको हुँदा यहाँ केबल उसै मौकामा उठेको रिस थाम्न नसकी प्रहार भएको हो होइन भन्नेसम्मको विचार गर्नु पर्ने देखिन आयो । उसै मौकामा उठेको रिस थाम्न नसक्ने अवस्थाको समय क्षणिक हुन्छ । यो लामो समयसम्म रहदैन । तसर्थ  रिस उठने घटना वारदात भएपछि लामो अन्तरालपछि भएको अवस्थालाई यसले समेट्दैन । प्रस्तुत मुद्दामा दुईजनालाई एकै पटक क्षणिक आवेश आउन सक्छ भन्ने विषय गाँसिएको देखिन्छ । एकै क्षणमा एक वा बढी मानिसलाई आवेश वा थाम्न नसक्ने रिस उठन सक्छ वा सक्दैन भन्ने कुरा आवेश उत्पन्न गर्ने कारणमा निर्भर गर्दछ । साधारणतया कुनै व्यक्ति विशेषलाई उसको आत्मसम्मानमा चोट पुग्ने वा गम्भीर सम्वेदनशील विषय लिई बेइज्जत गर्ने कार्य गरेमा त्यही व्यक्ति विशेषलाई क्षणिक आवेश वा तत्काल थाम्न नसक्ने रिस उठन सक्छ र अरू छेउछाउमा रहने सुन्नेलाई रिस उठे पनि थाम्न नसक्ने रिस भने उठेको नै हुन्छ भन्न सकिन्न । तर कुनै व्यक्तिलाई त्यस्तो अपमानजनक व्यवहार गर्दा अबस्थासार अरू पनि अपमानित हुन सक्छ र त्यसै अवस्थामा एकै पटक अरूलाई पनि थाम्न नसक्ने रिस उठनु स्वाभाविक हुन जान्छ । यस मुद्दाको रोहमा दुबै प्रतिवादीका आमा नाम लिई गाली गलौज गरेकोमा दुबै प्रतिवादीलाई तत्काल थाम्न नसक्ने रिस उठनु स्वाभाविकै देखिन आयो । मार्नु पर्नेसम्मको पूर्व रिसइबि मनसाय नदेखिएको आमाचकारी अपशब्द प्रयोग गरी मृतकको कारणबाट प्रतिवादी दुई दाजुभाइ आवेशमा आएको देखिएको अर्थात् तत्काल उठेको रिसको आवेश थाम्न नसकि प्रतिवादी सुकराम श्रेष्ठले एक मुक्का र सोमलाल श्रेष्ठले लठ्ठी वा चिरपट दाउराले मृतक शुकबहादुर थापालाई एक पटक कुटपीट गरेको कारण मृत्यु भएको शव परीक्षण प्रतिवेदनसमेतका मिसिल प्रमाणबाट देखिन आएको अवस्थामा एकजना भन्दा बढी प्रतिवादीले चोट छोडेको भन्ने कारणले मात्रै आवेश प्रेरित हत्या नहुने भन्न मिल्ने देखिएन । साथै ज्यानसम्बन्धीको १४ नं. को कानूनी व्यवस्था तथा समग्र घटनाक्रमबाट आवेशप्रेरित हत्या देखिन आएकाले प्रतिवादीहरू सोमलाल श्रेष्ठ र सुकराम श्रेष्ठलाई ज्यानसम्बन्धी महलको १४ नं. वमोजिमको कसूर अपराध गरेको ठहर्‍याई जनही १० वर्ष कैद हुने गरी गरेको शुरू तनहुँ जिल्ला अदालतको मिति २०६५।३।१५ र पुनरावेदन अदालत, पोखराको मिति २०६६।२।२७ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकीर पुग्न सक्दैन । यो मिसिलको दायरी लगत कट्टा गरी नियमानुसार बुझाई दिनु ।

 

उक्त रायमा सहमत छु ।

 

न्या. गिरीश चन्द्र लाल

 

इति सम्वत् २०७० साल कात्तिक ४ गते रोज २ शुभम् ......................

 

इजलास अधिकृत : हर्कबहादुर क्षेत्री।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु