निर्णय नं. ३६९८ - लिखत बदर

निर्णय नं. ३६९८ ने.का.प. २०४६ अङ्क १
संयुक्त इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४३ सालको दे.पु.नं. ५२६
फैसला भएको मिति : २०४५।११।२९।१ मा
पुनरावेदक/वादी : जि.धनुषा वरमझिया गा.पं.वा.नं.६ बस्ने दुर्गाप्रसाद प्रधानाड्ड
विरुद्ध
विपक्षी/प्रतिवादी : ऐ.ऐ. बस्ने वेतिमाया प्रधानाड्डसमेत
मुद्दा : लिखत बदर
(१) बन्देजी मिलापत्रको सम्बन्धमा करकाप मुद्दा परी करकाप नठहरी सो मिलापत्र कायमै रहेको स्थितिमा एकासगोलको मान्न नमिल्ने ।
(प्रकरण नं. १३)
(२) बेगल भई आफू खुस गर्न पाउने जग्गा विक्री गरेकोमा सो लिखत बदर हुन नसक्ने ।
(प्रकरण नं. १३)
विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री बद्रीबहादुर कार्की
फैसला
प्र.न्या.धनेन्द्रबहादुर सिंह
१. म.क्षे.अ.को फैसला कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमतिपाउँ भन्ने निवेदनमा स.अ. डि.बे.का मिति २०४३।४।२२ गतेको आदेशद्वारा अनुमति प्राप्त गरी पुनरावेदन पर्न आएकोमा मुद्दाको तथ्य यसप्रकार छ ।
२. वेतिमाया काकी नाताको भएको निजको लोग्ने जगतबहादुर मेरो बाबु कृष्णबहादुर एकासगोलमा बसेको जगतबहादुर स्वर्गे भई निजका नाममा रहेको मसमेतको हकाधिकारको जग्गा मसमेतले भोगादी चलन गरि आएको र म समेतको हक लाग्ने विपक्षी वेतिमायाका नाममा दर्ता रहेको विभिन्न कित्ताको ज.वि. १–१२–१० विपक्षी वेतिमायाले विपक्षी वेचुवा तामाङलाई विक्री गरेकोले मेरो मन्जूरी बेगर सो कार्य गरेको हुँदा २ खण्ड को १ खण्ड लिखत दर्ता बदर गरी मेरा नाममा दर्ता गरी पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।
३. विपक्षी मसंग भिन्न भई बसेका भतिजा हुन । मेरा पति २०१९ सालमा नै भिन्न भई बेगल बस्नु भएको हो । मैले बिक्री गरेको जग्गा पैतृक सम्पत्ति नभई मेरा पतिले बाँडफाँड गरी १९८३ मा नापी गराएको जग्गा हो तसर्थ झुठ्ठा दावीबाट फुर्सद गरिपाउँ भन्ने समेत व्यहोराको वेतिमाया प्रधानाङ्गको प्रतिउत्तरपत्र ।
४. वेतिमायाबाट मैले खरीद गरी लिएको जग्गा जगतबहादुरको स्वआर्जनको सम्पत्ति हो । तसर्थ अ.बं. ८२ नं. बमोजिम हकदैया नपुग्ने व्यक्तिले गरेको अनाधिकार फिराद खारेज गरिपाउँ भन्ने समेत व्यहोराको वेचुवा तामाङको प्रतिउत्तरपत्र ।
५. सगोलको नै हो भन्ने प्रमाण पेश नभएको घरको मुख्यले आधिसम्म व्यवहार चलाउन बिक्री गर्न पाउने कानुनी व्यवस्था भएको समेतबाट वादी दावी पुग्न सक्दैन भन्ने समेत व्यहोराको धनुषा जिल्ला अदालतको मिति २०३८।१०।१२ गतेको फैसला ।
६. सो फैसलामा चित्त बुझेन, उक्त फैसला बदर गरी इन्साफ पाउँ भन्ने समेत व्यहोराको दुर्गाप्रसाद प्रधानाड्डको जनकपुर अञ्चल अदालतमा परेको पुनरावेदनपत्र ।
७. यी पक्षहरू अंशियार भए पनि अचल सम्पत्ति सगोलमा रहेको तथ्य पुष्टि हुन आएको काकी नाताको वेतिमायालाई अंश बण्डाको १९ नं. को सुविधा प्राप्त हुन सक्ने नहुनाले आधा लिखत र दर्ता बदर गरी फिरादीको नाममा दर्ता हुने ठहर्छ भन्ने समेत व्यवहोराको जनकपुर अञ्चल अदालतको फैसला ।
८. सो फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने प्र.वेतिमाया समेतको निवेदन मा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत म.क्षेत्रीय अदालतको आदेश ।
९. रघुनाथपुर मालमा मिलापत्र गरे भनेको मिति २०१९।८।२८ गतेको मिलापत्रबाट वादी र वेतिमायााको पति जगतबहादुर छुट्टी भिन्न भएको देखिन्छ । जगतबहादुरले वादी उपर करकाप मुद्दा दिएकोमा उक्त मिलापत्र मन्जूरीबाट भएको हो भनी निज दुर्गाप्रसादले प्रतिवाद गरेको र सोही आधारले करकाप मुद्दा खारेज हुने ठहरी मिति २०२०।३।२७ मा ईलाका अदालत जलेश्वरबाट फैसला भई मिलापत्र कायम रहेको देखिँदा भिन्न भएका अंशियारले आफ्नो हक लाग्ने सम्पत्ति बिक्री गर्न नपाउने देखिँदैन । साथै दर्ता बदर गरी लिखत बदर गरिपाउँ भन्ने वादी दावी नपुग्ने ठहर्छ । जनकपुर अं.अ.को इन्साफ उल्टी हुन्छ भन्ने म.क्षे.अदालतको मिति २०४२।१२।२८ गतेको फैसला ।
१०. सो फैसला कानुनी त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमतिपाउँ भन्नेसमेत निवेदन परेकोमा २०१९।८।२८ गतेको मिलापत्रको लिखतको सही मूल्यांकन नगरी वादी दावी नपुग्ने ठहराएको म.क्षे.अ.को फैसलामा सार्वजनिक महत्वको विषयमा प्रमाण ऐन, ०३१ को दफा ५४ र मु.ऐ., अ.बं. १८४ (क) को प्रत्यक्षः त्रुटि हुँदा पुनरावेदनको अनुमति दिइएको छ भन्नेसमेत स.अ.डि.बेञ्चको मिति २०४३।४।२२ गतेको आदेश ।
११. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा विपक्षी प्रतिवादी तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री बद्रीबहादुर कार्कीले मिति २०१९।८।२८ गतेको मिलापत्र वादीले फिराद गर्दा देखिएको छैन । मिलापत्र बमोजिम गरिदिएन गरिपाउँ भन्ने यो उजूरी होइन । दर्ताहरूबाट सो मिलापत्र बमोजिम नरमकरम मिलाई अंश भइसकेको प्रमाणित हुन्छ तसर्थ वादी दावी नपुग्ने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छ सदर हुनुपर्दछ भन्ने समेत बहस गर्नु भयो ।
१२. प्रस्तुत मुद्दामा म.क्षे.अ.को इन्साफ मिलेको छ, छैन ? सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।
१३. यसमा निर्णयतर्फ हेर्दा वेतिमाया काकी नाताकी भएको निजको लोग्ने जगतबहादुर र मेरा बाबु कृष्णबहादुर एकासगोलमा बसेको जगतबहादुर स्वर्गे भई निजका नाममा रहेको म समेतको हकको जग्गा विपक्षी वेतिमायाका नाममा दर्ता रहेको ज.वि. १–१२–१० विपक्षी वेतिमायाले विपक्षी बेचुवा तामाङ्गलाई बिक्री गरे २ खण्ड मध्ये १ खण्ड लिखत दर्ता बदर गरिपाउँ भन्ने समेत फिराद दावी देखिन्छ । पति २०१९ सालमा भिन्न भई बसेको बिक्री गरेको जग्गा पैतृक सम्पत्ति होइन । ०२३ सालमा नापी गराएको जग्गा हो । झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत प्रतिवादीले जिकिर लिएको पाइन्छ । झिकाई आएको दर्ता उतारबाट ज्ञानबहादुरका नामको जग्गा वादी दुर्गाप्रसादका नाममा जग्गा दर्ता कायम रहेको दर्ता उतारबाट देखिन्छ । यही वादी दुर्गाप्रसादले भूमिसुधार कार्यालयमा मिति २०३०।२।९ मा कागज गर्दा उक्त जग्गा मेरो अंश भागको भनी भनेको भूमिसुधार कार्यालय, धनुषाबाट मिति २०३०।२।९ मा यिनै वादी दुर्गाप्रसादका नाममा जग्गा दर्ता गर्ने निर्णय भएको प्रमाण मिसिलबाट देखिन्छ । त्यसरी वादीका नाममा जग्गा नामसारी दर्ताको सन्दर्भमा बयान गर्दा मेरो अंश भागमा परेको जग्गा भनी प्रष्टरुपमा स्वीकार गरेको पाइन्छ । २०१९।८।२८ मा भएको बन्देजी मिलापत्रको सम्बन्धमा करकाप मुद्दा परी करकाप नठहरी अन्तिम रहेको देखिन्छ । सो मिलापत्र कायमै रहेको स्थितिमा वादी प्रतिवादीहरू एकासगोलको मान्न मिलेन । जगतबहादुरको मृत्युपछि निजका श्रीमती प्रतिवादी वेतिमायाका नाममा रीतपूर्वक नामसारी दर्ता भएको पाइन्छ । सो नामसारी दर्ताको अवस्था विवाद उठेको देखिदैन । मिति २०१९।८।२८ गतेको मिलापत्र बमोजिमको कुनै पनि जग्गा मैले पाएको छैन भनी पुनरावेदक दुर्गाप्रसादले बहसमा जिकिर लिएको छ । तर त्यस कुराको तथ्ययुक्त आधार पुनरावेदक तर्फबाट आउन सकेको देखिँदैन । यस्तो अवस्थामा बेगल भई आफूखुस गर्न पाउने जग्गा बिक्री गरेकोमा सो लिखत बदर हुनसक्ने अवस्था रहेन । यस स्थितिमा लिखत दर्ता बदर गरी पाउँ भन्ने पुनरावेदन जिकिर पुग्न सक्दैन । अतः लिखत र दर्ताबदर गरिपाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहराएको म.क्षे.अ.को इन्साफ मनासिब ठहर्छ । कोर्टफी लागेको मुद्दा हुँदा कसैलाई केही गर्नु परेन । पुनरावेदक वादी दुर्गाप्रसाद प्रधानाङ्गबाट प्र.हरू वेतिमाया प्रधानाङ्ग र बेचुवा तामाङलाई म.क्षे.अ.को मिति २०४२।१२।२८ गतेका फैसलाले भराउने गरेको कोर्टफी रु. ४।५० मिति २०४३।४।२७ मा स.अ.ल.न.मार्फत का.जि.अ.मा धरौट राखेको देखिँदा सो धरौटीबाट भराई पाउँ भनी प्रतिवादीहरूको ऐनका म्यादभित्र दरखास्त परे दस्तूर केही नलिई सो धरौटी रहेकोबाट भरी भराउ गराई दिनु र सो फैसलाले भराउने गरेको मध्यमाञ्चल क्षे.अदालतको फैसलाको लगत काटी दिनु भनी काठमाडौं जि.अ.मा लगत दिई मिसिल नियमबमोजिम गरी बुझाइदिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.प्रचण्डराज अनिल
इति सम्वत् २०४५ साल फाल्गुण २९ गते रोज १ शुभम् ।