शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९०४६ - वैदेशिक रोजगार

भाग: ५५ साल: २०७० महिना: मंसिर अंक:

ने.का.प. २०७०,           अङ्क ८

निर्णय नं.९०४६

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल

माननीय न्यायाधीश श्री ज्ञानेन्द्र बहादुर कार्की

फैसला मिति : २०७०।१।२२।१

०६५CR०७१२

 

मुद्दा : वैदेशिक रोजगार ।

 

पुनरावेदक/प्रतिवादी : झापा जिल्ला, दमक नगरपालिका वडा नं.११ बस्ने सतिस साह

विरूद्ध

विपक्षी/वादी : प्रहरी प्रतिवेदन जाहेरीले नेपाल सरकार

 

§  वैदेशिक रोजगार ठगी कसूर हुनको लागि विदेश पठाई रोजगारमा लगाई दिन्छु भनी इजाजत लिएका कम्पनी सञ्चालक हुन वा अन्य जो कोही व्यक्तिले अर्को व्यक्तिलाई झुक्यानमा पारी कुनै सम्पति लिई विदेश नपठाएको र रकम पनि फिर्ता नगरेको अवस्था हुनुपर्ने ।

§  ठगी गर्ने मनसाय पनि नभएको, ठगी गर्ने भनिएका मुख्य व्यक्तिसँग ठगी गर्ने कार्यमा मिलेको नदेखिएको र ठगी गर्दछ भन्ने थाहा जानकारी पनि नभएको अवस्थामा अर्को व्यक्तिलाई आफूसँग कुनै काम गर्न सल्लाहमात्र दिएको आधारमा ठगी गरेको हो भन्न नमिल्ने ।

(प्रकरण नं.६)

 

पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता हरिहर दाहाल

विपक्षी/वादीका तर्फबाट : विद्वान उपन्यायाधिवक्ता भरतलाल शर्मा

अवलम्बित नजीर :

सम्बद्ध कानून : वैदेशिक रोजगार ऐन, २०४२

 

फैसला

न्या. ज्ञानेन्द्रबहादुर कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम पुनरावेदन अदालत, इलामको मिति २०६५।८।११ को फैसलाउपर प्रतिवादीको तर्फबाट यस अदालतमा दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :

प्रतिवादी सतिस साहले मलाई वैदेशिक रोजगारका लागि अमेरिका पठाई दिन्छु भनी रू. ८,००,०००। (आठ लाख) लिई वैदेशिक रोजगारमा नपठाई भारतको दिल्ली हुदै बम्बईसम्म मात्र पुर्‍याई अलपत्र पारी आफू बेपत्ता भई मेरो रकम फिर्ता नगरी ठगी गरी वैदेशिक रोजगार ऐन, २०४२ को दफा २४(२) बमोजिम अपराध गरेको हुँदा निजलाई पक्राउ गरी सोही ऐन बमोजिम कारवाही गरी मबाट लिएको रकम र क्षतिपूर्तिसमेत दिलाई भराई पाऊँ भन्ने व्यहोराको जाहेरवाला मानकुमार श्रेष्ठले श्रम तथा रोजगार प्रबर्द्धन विभागसमक्ष दिएको जाहेरी दर्खास्त ।

जाहेरवाला र मसमेतका व्यक्तिहरूले अमेरिका जान भनी भारतीय नागरिक विजेन्द्र शर्मालाई हामी सबैले रू.१५,२५,०००।– (पन्ध्र लाख पच्चीस हजारमात्र) भारतीय रूपैया बुझाएका हौं । निज विजेन्द्र शर्मासँग ममार्फत जाहेरवालाको सम्पर्क भएको र जाहेरवालाले नै रकम दिएका हुन् । मैले जाहेरवालाबाट रकम लिई वैदेशिक रोजगारमा पठाउने गरेको होइन भन्ने व्यहोराको प्रतिवादी सतिस साहले अनुसन्धान अधिकृतसमक्ष गरेको बयान ।

प्रतिवादी सतिस साहसँग रू ७५,००० नगद धरौट माग गर्ने गरी अनुसन्धान अधिकृतबाट खडा गरेको निर्णय पर्चा र प्रतिवादीले धरौट राख्न नसक्ने भनी गरी दिएको कागज ।

जाहेरवालालाई वैदेशिक रोजगारमा पठाई दिन्छु भनी जाहेरवालाबाट रू. ८,००,०००।– (आठ लाख) लिएको भन्ने कुरा प्रतिवादीबाटै सुनी थाहा पाएको हुँ भन्ने व्यहोराको भीम पौडेल समेतका मानिसहरूले लेखाई दिएको वस्तुस्थिति मुचुल्का ।

जाहेरवालालाई वैदेशिक रोजगारको लागि अमेरिका पठाउन भनी प्रतिवादीले साथमा लिई गएको देखेको हो । धेरै समयपछि जाहेरवालालाई दमकमा नै भेट्दा विदेश नपठाई प्रतिवादीले ठगी गरेको भन्ने थाहा भयो । त्यसपछि समाजका मानिसहरू बसेर छलफल गर्दा जाहेरवालाको रकम मैले भारतीय नागरिक विजेन्द्र शर्मालाई बुझाउन लिएको हो । उक्त रकमको दायित्व मैले लिनुपर्छ भनी लिखत कागज गरी दिएका हुन् भन्ने व्यहोराको राजकुमार थापाले गरी दिएको कागज ।

जाहेरवाला मानकुमार श्रेष्ठले मसँग वैदेशिक रोजगारमा जान रकम सापटी मागेको र मैले निजलार्ई दुईलाख सापटी दिई जम्मा रू.८,००,०००।– (आठ लाख) मेरै अगाडि गनेर सतिस साहलाई बुझाउन गएका हुन् । जाहेरवाला मानकुमार श्रेष्ठ अमेरिका जान भनी हिंडेका थिए । एक महिनापछि निजलाई मैले दमकमा नै देखेर अमेरिका जाने विषयमा सोध्दा  प्रतिवादी सतिस साहले अमेरिका लैजाने भनी बम्बै पुर्‍याई अलपत्र पारेको भन्ने थाहा पाएको हुँ । प्रतिवादी सतिस साहलाई समाजका मानिसहरू बसी छलफल गरी ठगी गरेको रकमको बारेमा सोधनी गरेकोमा प्रतिवादीले आठ लाख लिएको हुँ सोमध्ये लागेको खर्च कट्टा गरी पाँच लाख फिर्ता दिने भनेकोले सोही सहमति भई समाजकै रोहवरमा लिखत गरी दिएका हुन् भन्ने व्यहोराको गणेशकुमार श्रेष्ठले गरेको कागज ।

मिति २०६१।१०।२ गते समाजका मानिसले बोलाएकाले जाँदा सतिस साहले मानकुमार श्रेष्ठलाई वैदेशिक रोजगारमा अमेरिका पठाई दिन्छु भनी भनेको कुरा समाजबाट नै थाहा भयो । सतिस साहले तीन महिनाको समय लिई पाँच लाख बुझाउने कागज राजीखुसीले नै गरेकाले मसमेत साक्षी बसी लिखत कागज भएको हो भन्ने व्यहोराको नारायण गौतमले गरी दिएको कागज ।

मानकुमार श्रेष्ठलाई सतिस साहले वैदेशिक रोजगारमा अमेरिका लैजान भनी दिल्ली हुदै बम्बइ गएर भारती चलचित्र कल्चरमा प्रोग्रामको लागि भनेर गएको सुनेको थिएँ । मानबहादुर श्रेष्ठ मेरो घरमा आएकाले सोद्धा सतिस साहले ठगी गरेको कुरा समाजबाट सुने, समाजमा छलफल गरी खर्च कटाई ५ लाख तिर्छु भनी तीन महिनाको समय माग गरेकोले समाज कै रोहवरमा सतिस साहले कागज गरी दिएका हुन् भन्ने व्यहोराको नारायणबहादुर श्रेष्ठले गरेको कागज ।

भारत निवासी विजेन्द्र कुमार शर्मालाई ३ महिनाभित्र दाखिला गर्ने र दाखिला गर्न नसके प्रतिवादी सतिस साहले जाहेरवालालाई खर्च कटाएर रू.५,००,०००।– (पाँचलाख) फिर्ता बुझाउने शर्त गरी मिति २०६०।११।२ गते प्रतिवादी सतिस साहले गरी दिएको सक्कल लिखत जाहेरवाला मानकुमार श्रेष्ठले मिति २०६२।६।१४ को निवेदन साथ संलग्न राखी पेश गरेको हुँदा मिसिल संलग्न रहेको देखिएको ।

अनुसन्धानको क्रममा सङ्कलन भएका मिसिल संलग्न जाहेरी दरखास्त, प्रतिवादी सतिस साहको बयान, मौकामा बुझिएका मानिसहरूले गरी दिएको कागज तथा वस्तुस्थिति मुचुल्का समेतका प्रमाण कागजातहरूबाट प्रतिवादी सतिस साहले वैदेशिक रोजगार ऐन, २०४२ को दफा ३ र २४(२) बमोजिम कसूर अपराध गरेकोले निजलाई ऐ ऐनको दफा २४(२) बमोजिम सजाय हुन र प्रतिवादीले लिएको रकम रू ८,००,०००।–(आठ लाख) र सो को ५० प्रतिशतले हुने हर्जाना बापतको रू ४,००,०००।– (चार लाख) गरी जम्मा रू, १२,००,०००।– (बाह्र लाख) प्रतिवादीबाट जाहेरवालालाई दिलाई भराई पाऊँ भन्ने व्यहोराको माग दावी लिई पेश भएको अभियोग पत्र ।

म दमकमा मेसिनरी पसल गरी बसेको व्यक्ति हुँ । विजेन्द्र कुमार शर्मा केरियरको काम गरी सामान ल्याउने काम गर्दथे । विजेन्द्रकुमारसँग मानकुमार श्रेष्ठको चिनजान मैले गराएको हो । म, विकास स्नेत, सोमनाथ रिजाल र मानकुमार श्रेष्ठसमेत विजेन्द्रकुमार शर्मामार्फत अमेरिका जाने भनी हामीहरू निजको घर भारत गाजियावाद गई मान कुमार श्रेष्ठले उक्त रूपैया दिएका हुन् । निजले सो रकम मलाई दिएका होइनन् । विजेन्द्रकुमार शर्मालाई मैले अमेरिका जानको लागि भनी रू ३,३७,०००।– (तीन लाख सैंतीस हजार) भारतीय रूपैया दिएकोमा मलाईसमेत विचल्ली पारेकाले मैले गाजियावाद (उत्तर प्रदेश) मा विजेन्द्रकुमारलाई मुद्दा हालेको छु । मैले मानकुमार श्रेष्ठलाई वैदेशिक रोजगारमा पठाई दिन्छु भनी रू. ८,००,०००।– (आठ लाख) रूपैया लिएको होइन । मानकुमार श्रेष्ठले विजेन्द्रकुमार शर्मालाई आफैले रूपैया दिएका हुन् । मैले निजलाई अमेरिका पठाइदिन्छु भनी कुनै रकम नलिएको हुँदा म निर्दोष छु । अभियोग दावीबाट सफाइपाऊँ भन्ने व्यहोराको प्रतिवादी सतिस साहको बयान ।

यी प्रतिवादीसहित विदेश जान भनी बम्वई पुगी फर्की आएको र विजेन्द्र शर्मा भन्ने भारतीय व्यक्तिले झुक्याई भागेको कुरा दुवै पक्षले स्वीकार गरेको, भारतीय व्यक्तिले विदेश पठाउने भनी रकम लिएको देखिएको र पीडित मानकुमार श्रेष्ठकै बकपत्रले सकारेको, दिल्ली स्थित राजदूतावासको पत्रसमेतले प्रतिवादीको दोष नदेखिई प्रतिवादीसमेत मर्कामा परेको भन्ने कुरा स्थापित गरेको देखिंदा अभियोग दावी प्रमाणित भएको मान्न मिलेन । प्रतिवादी सतिस साहले आरोपित कसूरबाट सफाइ पाउने ठहर्छ भन्ने झापा जिल्ला अदालतबाट मिति २०६४।२।२२ मा भएको फैसला ।

रकमको कारोवार दिल्ली स्थित घनश्याम होटलमा हुनुले जाहेरवालालाई प्रतिवादीले झुक्यानमा पारी भारतमा पुर्‍याई विदेश नलगी अलपत्र पारेको र विजेन्द्र शर्मा र सतिस साहको मिलेमतोमा मानकुमार श्रेष्ठलाई ठगी गरेका हुँदा सतिस साह पनि ठगिएको भन्ने शुरू फैसलाको आधार त्रुटिपूर्ण छ । वैदेशिक रोजगारमा पठाउने कुनै इजाजत प्रतिवादीसँग नभएको र त्यस्ता ठगी गर्ने गिरोहकै सदस्य निज प्रतिवादी सतिस साह पनि हुन् भन्ने स्पष्ट भएको अवस्थामा विजेन्द्रले दुवैलाई ठगी गरेको भन्ने आधारमा प्रतिवादीलाई सफाइ दिने गरी भएको शुरूको फैसला गम्भीर त्रुटिपूर्ण हुँदा बदर गरी शुरू अभियोगपत्र माग दावीअनुसार गरी पाऊँ भन्ने व्यहोराको वादी नेपाल सरकारको पुनरावेदन अदालत इलाममा परेको पुनरावेदन पत्र ।

जाहेरवालाले जाहेरीमा एकमुष्ट आठ लाख दिएको भनेकोमा अदालतमा बकपत्र गर्दा एडभान्स स्वरूप शुरूमा एक लाख र त्यसपछि पटकपटक गरी ७ लाखमध्ये केही रकम  प्रतिवादी सतिस साहलाई र केही निजको आदेशमा विजेन्द्रलाई दिएको भनी लेखाइदिएको देखिन्छ । तापनि जाहेरीमा उल्लिखित व्यहोरा र धेरै समयको अन्तरालपछि जाहेरवालाले अदालतमा गरेको बकपत्रमा सामान्य व्यहोरा फरक पर्दैमा प्रतिवादीमार्फत जाहेरवालाको रकम गएकै रहेनछ भन्न मिलेन । यसरी प्रतिवादीले आफ्नो जमानतमा जाहेरवालाबाट प्रतिवादी विजेन्द्र शर्मालाई रकम दिलाई दिएको र सोको दायित्व प्रतिवादी सतिस साहले सकारी रू. ५,००,०००।– (पाँच लाख) जाहेरवालालाई तिर्न बुझाउन मन्जुरसमेत भई कागज गरी दिएको देखिएपछि निजले जाहेरवालालाई सो रकमको दायित्व र वैदेशिक रोजगार ऐन, २०४२ को दफा २४(२) बमोजिम सो रकमको ५० प्रतिशत हर्जानासम्म बेहोर्न पर्ने नै देखिन आयो । प्रत्यर्थी प्रतिवादीले गरी दिएको कागजबाट भन्दा बढी रू. ५,००,०००।भन्दा बढीको दायित्व निजले स्वीकार गरेको नदेखिएको र जाहेरवालाले प्रतिवादीलाई वा निजमार्फत रू, ८०००००।नै दिएको हो भन्ने कुराको अन्य कुनै तथ्ययुक्त प्रमाण नहुँदा अभियोग दावीबमोजिम रू. ८,००,०००।नै र सोको कानूनबमोजिम हुने क्षतिपूर्ति भराई दिनुपर्ने भन्ने दावीसँग सहमत हुन सकिएन । तसर्थ प्रतिवादीले वैदेशिक रोजगार ऐन, २०४२ को दफा २४ मा उल्लिखित कसूर गरेकै देखिँदा दावी नपुग्ने ठहराई भएको शुरू झापा जिल्ला अदालतको मिति २०६४।२।२२ को फैसला नमिलेको हुँदा उक्त फैसला उल्टी भै प्रत्यर्थी प्रतिवादीबाट जाहेरवालाले वैदेशिक रोजगार ऐन, २०४२ को दफा २४(४) मा उल्लेख भएबमोजिम मिति २०६१।११।२ मा प्रतिवादीले दायित्व बेहोर्न मञ्जूरी जनाई गरिदिएको लिखतबाट देखिएको रू. ५,००,०००।र सो को ५० प्रतिशत ले हुने हर्जाना रकमसमेत गरी जम्मा रू. ७,५०,०००।–   (सात लाख पचास हजारमात्र) भरी पाउने र प्रत्यर्थी प्रतिवादीलाई उक्त दफाबमोजिम विदेश पठाइसकेको अवस्था भए तजबीजी रू.५०,०००।– (पचास हजार) जरीवाना हुनेमा त्यसरी पठाई नसकेको अवस्था नदेखिंदा सोको आधा रकम रू. २५,०००।– (पच्चीस हजार) जरीवानासमेत हुने ठहर्छ भन्ने व्यहोराको पुनरावेदन अदालत, इलामको फैसला ।

वैदेशिक रोजगार ऐन, २०४२ ले ऐन लागू हुने समयमा सरकारले मुद्दा हेर्ने अधिकारी तोकेको थिएन । सरकार वादी हुने फौजदारी मुद्दाहरूको अनुसन्धान र तहकीकात गर्ने निकाय एउटा र अभियोग पत्र पेश गर्नेसमेत अभियोजन गर्ने निकाय अलगअलग गरेको छ । तसर्थ प्रस्तुत मुद्दाको अभियोजन गर्ने अधिकार सरकारी वकीललार्इ छ । मलाई श्रम कार्यालय, झापाले अनुसन्धान गरी अभियोग पत्र दायर गरेको छ । सो कार्यालयलाई मुद्दा चलाउने तथा अभियोजन गर्ने अधिकार छैन । अधिकारबिहिन निकायले दायर गरेको प्रस्तुत अभियोग पत्र खारेजभागी छ । त्यस्तै मैले समाजको अगाडि जाहेरवालालाई गरी दिएको कागजमा विजेन्द्र शर्मालाई भेटाउन सकिन भने आठ लाखमध्ये पाँच लाख रकम मेरो चल अचल सम्पत्तिबाट लिन बुझाउन मञ्जूर छ भनी कागज गरेको हो । त्यसरी गरेको कागजले मलाई फौजदारी दायित्व सिर्जना हुने होइन । अतः पुनरावेदन अदालतबाट भएको फैसला बदर गरी अभियोग दावीबाट सफाइ पाऊँ भन्ने व्यहोराको प्रतिवादी सतिस साहको यस अदालतमा परेको पुनरावेदन पत्र ।

यसमा मिति २०६१।११।२ को विवादित लिखतको व्यहोरा अध्ययन गर्दा जाहेरवाला मानकुमार श्रेष्ठबाट यी पुनरावेदक प्रतिवादी सतिस साहले रू. ५,००,०००।– (पाँच लाख)  लिएको भन्ने व्यहोरा उल्लेख नभई भारतीय नागरिक विजेन्द्र शर्मालाई अमेरिका लैजाने शर्तमा यी जाहेरवालाले रकम दिएको भन्ने देखिएकोमा सो रकम ठगी गर्ने भारतीय नागरिक निज विजेन्द्र शर्मालाई उपस्थित गराउन नसकेमा सो रकम बेहोर्ने जिम्मेवारीसम्म लिएका यी पुनरावेदकबाट वैदेशिक रोजगार ऐन, २०४२ को दफा १० को कसूरमा ऐ.को दफा ४३ बमोजिम लिखतबमोजिमको रकम निज जाहेरवाला मानकुमार श्रेष्ठलाई भराई हर्जाना दिलाई दिने र जरिवानासमेत गर्ने गरेको पुनरावेदन अदालत, इलामको फैसला फरक पर्न सक्ने देखिँदा अ.बं.२०२ नं. को प्रयोजनार्थ महान्यायाधिवक्ताको कार्यालयलाई सूचना दिई नियमानुसार गरी पेश गर्नु भन्ने व्यहोराको यस अदालतको मिति २०६९।०६।१४ को आदेश ।

नियमबमोजिम दैनिक पेशीसूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक/ प्रतिवादी सतिस साहका तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहालले प्रतिवादीले वैदेशिक रोजगारको लागि अमेरिका पठाईदिन्छु भन्ने व्यहोरा जनाई गरेको भनिएको कागजमा जाहेरवालालाई प्रतिवादी आफैले अमेरिका पठाईदिने शर्तमा रकम वुझी भरपाई गरी दिएको देखिएको छैन । आफूसमेत विदेश जान भनी विजेन्द्र शर्मालाई रकम दिएको भनी प्रतिवादीले बयान गरेको र सो कुरालाई वादी पक्षबाट अन्यथा भन्न सकेको देखिदैन । आफ्नो समेत रकम लिएका मानिस विजेन्द्र शर्मालाई खोजतलास गरेर फेला पारी दिने र फेला पार्न नसकेमा जाहेरवालालाई आफैले रकम दिने भन्ने शर्तनामासम्म गरेको देखिन्छ । पुनरावेदकले आफैले विदेश पठाउने भनी पैसा लिएको भन्ने कुरा उक्त लिखतबाट पुष्टि हुन सक्दैन । प्रतिवादीको अनुसन्धानका क्रममा र अदालतमा भएको बयानबाट प्रतिवादीले ठगी गरेको हो भन्ने नखुलेको एवं वादीले पेश गरेका कुनै प्रमाणबाट प्रतिवादी आफै वैदेशिक रोजगारमा पठाई दिने भनी रकम लिने कार्यमा संलग्न रहेको भन्ने कुनै प्रमाण पेश गर्न सकेको देखिंदैन । यस्तो शर्तनामा जस्तो कागजबाट ठगीको वारदात स्थापित हुन नसक्ने हुँदा प्रतिवादी/ पुनरावेदक सतिस साहलाई अभियोग दावीबाट सफाइ हुनुपर्छ भनी बहस गर्नु भयो । त्यस्तै वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान उपन्यायाधिवक्ता श्री भरतलाल शर्माले जाहेरवाला मानकुमार श्रेष्ठलाई अमेरिका जानको लागि भनी यिनै प्रतिवादी सतिस साहले प्रस्ताव राखेका र यिनैको सल्लाहअनुसार रकम लेनदेनसम्म भएको छ । प्रतिवादीले अर्को व्यक्ति विजेन्द्र शर्मा भन्ने मानिसलाई रकम दिएको हो भनी बयान गर्नुले मात्र अपराधबाट छुट्कारा पाउने आधार बन्न सक्ने होइन । वैदेशिक रोजगार ठगी जस्तो संगठित र गम्भीर अपराधमा प्रतिवादी सतिस साहको प्रत्यक्ष संलग्नता देखिन्छ । यस ठगी कार्यमा यी प्रतिवादीले रकम विजेन्द्र शर्मासम्म पुयाई रकम लिए दिएकोसमेत देखिन्छ । प्रतिवादीले विदेश पठाउने भन्ने मानिसलाई उपस्थित गराउन नसकेमा रकम उपलब्ध गराउने भनी गरेको कागजले सो रकम विजेन्द्र शर्मा र यी प्रतिवादीले संयुक्तरूपमा लिएको भन्ने देखिन्छ । विजेन्द्र शर्मालाई उपस्थित गराउने र निजलाई उपस्थित गराउन नसकेको खण्डमा आफैले रकम फिर्ता दिने भनी गरेको कागज मिसिल संलग्न रहेको छ । यी प्रतिवादीको ठगी कार्यमा संलग्नता रहेको देखिएकोले पुनरावेदन अदालत, इलामबाट यी प्रतिवादीलाई कसूरदार ठहर गरी भएको फैसला मिलेकै हुँदा सो फैसला सदर हुनुपर्छ भनी बहस गर्नु भयो ।

उपर्युक्त विद्वान वरिष्ठ अधिवक्ता तथा उपन्यायाधिवक्ताको बहस जिकीर, प्रतिवादीको पुनरावेदन जिकीर तथा मिसिल संलग्न कागज प्रमाणहरू समेतको अध्ययनबाट पुनरावेदन अदालत, इलामबाट भएको फैसला मिलेको छ छैन सोही विषयमा निर्णय दिनुपर्ने देखियो ।

२. यसमा प्रतिवादी सति कुमार साहले मलाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाई दिन्छु भनी रू.८,००,०००।– (आठ लाख) लिई वैदेशिक रोजगारमा नपठाई भारतको दिल्ली हुँदै बम्बईसम्म पुर्‍याई अलपत्र पारी हिडेको र रकमसमेत फिर्ता नगरेको हुँदा निज प्रतिवादी सतिस साहलाई वैदेशिक रोजगार ऐन, २०४२ को दफा २४(२) बमोजिम सजाय गरी मबाट लिएको रकम, क्षतिपूर्ति र हर्जानासमेत दिलाई भराई पाऊँ भन्ने जाहेरी परी सोही आधारमा अनुसन्धान शुरू भई अनुसन्धानका क्रममा सङ्कलित जाहेरी दरखास्त, प्रतिवादीको बयान, मौकामा कागज गर्ने व्यक्तिहरूले गरेको कागज, प्रतिवादीले रकम दिन कवुल गरेको कागज समेतका आधारहरूवाट प्रतिवादी सतिस कुमार साहले वैदेशिक रोजगार ऐन, २०४१ को दफा ३ र २४(२) बमोजम कसूर अपराध गरेकोले निजलाई ऐ.ऐनको दफा २४(२) बमोजिम सजाय र प्रतिवादीले लिएको रू.८,००,०००। (अक्षेरेपी आठ लाख) र सोको ५०% हुने हर्जाना  रू.४,००,०००।– (चार लाख) गरी जम्मा रू. १२,००,०००।– (बाह्र लाख) समेत भराई पाउने मागदावी भएकोमा म र जाहेरवालासमेत विजेन्द्र शर्मामार्फत अमेरिका जान भनी विजेन्द्र शर्माको घर भारतको गाजियावाद गई उक्त रकम मान कुमार श्रेष्ठले निजलाई दिएका हुन् । मलाई रकम दिएका होइनन् । मलाई विजेन्द्रले अमेरिका पठाईदिन्छु भनेकोले मैले विजेन्द्रलाई रू.३,३७,०००।– (तीन लाख सैतीस हजार) भारतीय रूपैया दिएकोमा मलाईसमेत विदेश नपठाएको र रकमसमेत फिर्ता नगरेकोले मैले भारतको गाजियावादमा विजेन्द्र शर्मालाई मुद्दा हालेको छु । जाहेरवालावाट मैले कुनै रकम लिएको छैन । अभियोग दावीबाट सफाइ पाऊँ भनी गरेको प्रतिवादीको बयानसमेतको आधारबाट प्रतिवादीसमेत विदेश अमेरिका जान नपाई बम्बईबाट फर्की आएको, पीडित मान कुमार श्रेष्ठको बकपत्रबाट यी प्रतिवादीको रकम हिनामिना भएको देखिएको तथा दिल्ली स्थित नेपाली दूतावासको पत्रसमेतले प्रतिवादी दोषी नदेखिई मर्कामा परेको देखिंदा अभियोग दावी ठहर नहुने गरी झापा जिल्ला अदालतबाट भएको फैसलाउपर वादी नेपाल सरकारको चित्त नबुझी पुनरावेदन अदालत, इलाममा पुनरावेदन परी जाहेरीमा भएको व्यहोरा र लामो अन्तरालमा जाहेरवालाको अदालतमा भएको बकपत्रको सामान्य व्यहोरा फरक पर्दैमा प्रतिवादीमार्फत जाहेरवालाको रकम गएको नै रहेनछ भन्न नमिलेको समेतका आधारबाट झापा जिल्ला अदालतको फैसला उल्टी गरी अभियोगदावी बमोजिम प्रतिवादीलाई सजाय हुने र जाहेरवालालाई क्षतिपूर्तिसमेत भराई पाउने ठहर गरी पुनरावेदन अदालत, इलामवाट फैसला भएको देखिन्छ ।

३. अभियोग दावीमा उल्लेख गरिएको वैदेशिक रोजगारमा पठाई दिने भनी झुक्यानमा पारी गरेको कार्यलाई निरूत्साहन गर्नको लागि बनाइएको तत्कालीन वैदेशिक रोजगार ऐन, २०४२ को दफा ३ र २४(२) को कानूनी व्यवस्थालाई हेर्दा दफा ३ ले सो ऐनको व्यवस्थाबमोजिम इजाजतपत्र नलिई कसैले वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न नपाउने र दफा २४(२) मा कसैले यो ऐनबमोजिम इजाजतपत्र नलिई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेमा वा कसैलाई झूटो आश्वासन दिई वा प्रलोभन देखाई वैदेशिक रोजगारको लागि पठाउने भनी विदेश पठाएमा वा त्यस्तो बहानाले कुनै रकम लिएमा त्यसरी लिएको रकम र सोको पचास प्रतिशतले हुने रकम हर्जानाबापत असूल गरी त्यस्तो व्यक्तिलाई विदेश जान र आउन लागेको खर्चसमेत निजबाट भराई दिई निजलाई पचास हजार रूपैयाँदेखि पाँच लाख रूपैयाँसम्म जरिवाना वा तीन वर्षदेखि सात वर्षसम्म कैद वा दुवै सजाय हुनेछ भन्ने कानूनी व्यवस्था देखिन्छ ।

४. प्रतिवादी सतिस साहले जाहेरवालालाई गरी दिएको कागजको व्यहोरा हेर्दा अमेरिका लैजाने प्रयोजनका लागि जाहेरवालाले विजेन्द्र शर्मालाई रकम दिएको र विजेन्द्र शर्माले विदेश नपठाई भागेपछि जाहेरवालाको ठगी गर्ने विजेन्द्रकुमार शर्मालाई उपस्थित गराउनु पर्ने र सो गराउन नसकेमा ठगी भएको सो रकम प्रतिवादी सतिस साहले जाहेरवालालाई तिर्नु बुझाउनु पर्ने शर्त राखिएको भन्ने देखिन्छ । त्यस्तै विजेन्द्र शर्मालाई दिएको सो रकमबापत आफूलाई विदेश पनि नपठाएको र अमेरिका पठाउने भनी नक्कली कागजात पेश गरी ठगी गरेको, ठगी गर्ने विजेन्द्र शर्मालाई प्रतिवादीले कागज गरेको मिति २०६१।११।२ गतेबाट ३ महिनाभित्र दाखिला गराउने र दाखिला गराउन नसकेको खण्डमा रू.५,००,०००।– (पाँच लाख) बुझाउनु पर्ने छ भन्ने उल्लेख गरेको पाइन्छ । प्रतिवादी सतिस साहले अदालतमा बयान गर्दा आफूले लिएको केही रकम विजेन्द्र शर्मालाई दिएको र केही रकम जाहेरवाला आफैले विजेन्द्र शर्मालाई दिएको हो, मलाईसमेत अमेरिका पठाउने भनेकोले निजलाई मैले दिएको रकम फिर्ता पाएको छैन । निजबाट आफूसमेत ठगीमा परेको भनी उल्लेख गरेको र जाहेरवालाले अदालतमा गरेको बकपत्रमा समेत विजेन्द्र शर्मालाई रकम दिएको स्वीकार गरेको देखिन्छ ।

५. प्रतिवादीले जाहेरवालालाई मिति २०६१।११।२ मा गरी दिएको कागजको सार व्यहोरालाई हेर्दा निजको दायित्व भनेको विजेन्द्र शर्मालाई ३ महिनाभित्र उपस्थित गराउनु पर्ने, सो समयभित्र उपस्थित गराउन नसके रू.५,००,०००।– (पाँच लाख) बुझाउनु पर्ने भन्ने देखिन्छ । यसअनुसार विजेन्द्र शर्मालाई उपस्थित गराउँदा कुनै कसूर अपराध नहुने तर उपस्थित गराउन नसके कसूर अपराध हुने स्थिति र अवस्था आउँदा विरोधाभाष रहेको देखिन आउँछ । उक्त मिति २०६१।११।२ को कागजको व्यहोराअनुसार पुनरावेदक प्रतिवादीले रकम लिए खाएको भन्ने देखिंदैन । प्रतिवादी आफैले रकम लिए खाएको भए तेश्रो ब्यक्ति विजेन्द्र शर्मालाई उपस्थित गराउनु पर्ने शर्त बन्देज राख्नु पर्ने आवश्यकता नै रहने देखिदैन । शर्त कबोल गरिएअनुसार मानिसलाई उपस्थित गराउन नसकिएको स्थितिमा देवानी दायित्वसम्म आकर्षित हुन सक्ने देखिन्छ । देवानी दायित्व आकर्षित हुनेसम्मको स्थितिमा कानूनबमोजिम सोतर्फ कारवाहीको माग गर्न सकिने नै हुन्छ ।

६. वैदेशिक रोजगार ठगी कसूर हुनको लागि विदेश पठाई रोजगारमा लगाई दिन्छु भनी इजाजत लिएका कम्पनी सञ्चालक हुन वा अन्य जो कोही व्यक्तिले अर्को व्यक्तिलाई झुक्यानमा पारी कुनै सम्पति लिई विदेश नपठाएको र रकम पनि फिर्ता नगरेको अवस्था हुनु पर्ने हुन्छ । आफूसँगै विदेश जाने भनी सल्लाह गरी अर्को साथीसँगै रही प्रतिवादीले समेत रकम दिई प्रतिवादीसमेत ठगीमा परेकोमा आफूले चिनाएको व्यक्तिले ठगी गरेमा चिनाउने व्यक्तिले ठगी गरेको भन्ने अवस्था रहँदैन । ठगी गर्ने मनसाय पनि नभएको, ठगी गर्ने भनिएका मुख्य व्यक्तिसँग ठगी गर्ने कार्यमा मिलेको नदेखिएको र ठगी गर्दछ भन्ने थाहा जानकारी पनि नभएको अवस्थामा अर्को व्यक्तिलाई आफूसँग कुनै काम गर्न सल्लाहमात्र दिएको आधारमा ठगी गरेको हो भन्न मिल्दैन ।

७. अतः प्रतिवादी सतिस साहले गरेको कागजमा मानिस उपस्थित गराउने भन्ने मुख्य आशय रहेको, मानिस उपस्थित गराउने कुराले वैदेशिक रोजगार ऐनअन्तर्गतको अपराध गरेको भन्ने देखिन आएन । प्रतिवादीले जाहेरवालालाई रकम तिर्नु बुझाउनु पर्ने दायित्व भएमा कानूनमा व्यवस्था भएबमोजिम जाहेरवालाले दिलाई भराई पाउने नै देखिनाले प्रतिवादी सतिस साहलाई अभियोगदावीबमोजिम कसूर ठहर हुने गरी भएको पुनरावेदन अदालत, इलामको फैसला मिलेको नदेखिंदा उल्टी भई प्रतिवादीले अभियोग दावीबाट सफाइ पाउने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।

तपसील

१.     माथि ठहर खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत, इलामको फैसला उल्टी भई प्रतिवादीले अभियोगदावीबाट सफाइ पाउने ठहरी फैसला भएकोले झापा जिल्ला अदालतबाट माग भएको धरौटीबापत प्रतिवादीले राखेको जेथा जागोदेवी हलुवाईको नाउँको सिराहा जिल्ला, गौताडी गा.वि.स. वडा नं ६ को कि.नं २८२ को जग्गा फुकुवा गरी दिनु भनी झापा जिल्ला अदालतमा लेखी पठाई दिनू ।

२. दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू ।

 

                                                                                                                       

उक्त रायमा सहमत छु ।

 

न्या. गिरीश चन्द्र लाल

 

 

इति सम्वत २०७० साल वैशाख २२ गते रोज १ शुभम .....................

 

इजलास अधिकृत : अम्बिकाप्रसाद निरौला

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु