निर्णय नं. ३७०३ - उत्प्रेषण

निर्णय नं. ३७०३ ने.का.प. २०४६ अङ्क १
संयुक्त इजलास
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४४ सालको रिट नं. १६४९
आदेश भएको मिति : २०४५।१२।२८।२ मा
निवेदक : का.जि. मच्छेगाउँ गा.पं.वा.नं. १ बस्ने कृष्णबहादुर देसार
विरुद्ध
प्रत्यर्थी : अध्यक्ष तथा महाप्रबन्धक, कृषि विकास बैंकसमेत
विषय : उत्प्रेषण
(१) विशेष अवस्थामा सफाईको सबूद पेश गर्ने अवसरबाट बन्चित गर्ने प्रयोजनका लागि नियम ६(२) बमोजिम पर्चा खडा गरी सजायँ गर्न सकिने देखिन्छ तर यसबाट उचित र पर्याप्त कारण बिना नै पर्चा खडा गरी सजायँ गर्न नमिल्ने ।
(प्रकरण नं. १३)
(२) मौका दिँदा अव्यवहारिक हुने भन्नलाई खडा भएको पर्चामा स्पष्ट र किटान साथ अव्यवहारिक हुने कारणको उल्लेख हुनुपर्नेमा निवेदकको सम्बन्धमा खडा गरिएको पर्चामा सो किसिमले अभिव्यक्त भएको देखिन नआएकोले खडा भएको सो पर्चालाई कृ.बि.बैं, कर्मचारी सेवा शर्त नियमावली, २०२४ को नियम ६(१)ङ को प्रयोजनको लागि सो कानुन अनुकूल भएको भन्न नमिल्ने ।
(प्रकरण नं. १४)
रिटनिवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त
विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री कोमलप्रसाद घिमिरे
उल्लेखित मुद्दा : सामान्य प्रशासन मन्त्रालय विरुद्ध श्रीलाल झा रि.नं. ६८, ६९, मिति २०४५।१०।१८ मा फुलबेञ्चबाट सिद्धान्त प्रतिपादन भएको ।
आदेश
न्या.बब्बरप्रसाद सिंह
१. नेपालको संविधान १६।७१ अन्तर्गत पर्नआएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यसप्रकार छ ।
२. म निवेदक कृषि विकास बैंक मुख्य कार्यालयको मिति २०२८।१०।१६ को पत्रानुसार लेखापाल पदमा ६ महीनाको परीक्षण कालमा नियुक्त भई कार्यरत थिएँ । मिति २०२९।४।१६ देखि परीक्षण काल समाप्त भई सोही लेखापाल पदमा स्थायी रुपमा नियुक्त भएको छु । मिति २०३३।९।१२ को निर्णयानुसार मिति २०३३।९।१४ देखि लागू हुने गरी कार्यालय सहायक पदमा बढुवा भएको र मु.का. को २०३३।१०।८ को पत्रानुसार शाखा कार्यालय कलैयाबाट मु.का. काठमाडौंमा सरुवा भई ०४१ साल मार्ग मसान्तसम्म ७ वर्ष कामकाज गरेको थिएँ । मु.का. को २०४१।७।३ को निर्णयानुसार उपशाखा कार्यालय सिन्धुलीमा कायम मुकायम उपशाखा प्रबन्धक पदमा हाजिर भई कामकाज गरिरहेको थिएँ । यस अवस्थामा कृ.वि.बैं. सिन्धुली उपशाखाको का.मु. उपशाखा प्रबन्धकमा रही कामकाज गर्नु हुँदा सो कार्यालयबाट ऋण लगानी गर्दा किसानबाट कमिशन खाने गरेकोले तपाईले तपाईको आफ्नो पदको जिम्मेवारी अनुसारको आचरण नगरेको अभियोगमा भविष्यमा बैंकको नोकरीको निमित्त अयोग्य नठहरिने गरी अध्यक्ष तथा महाप्रबन्धकज्यूबाट मिति ०४२ साल माघ २४ गते खडा गरेको पर्चा अनुसार तपाईलाई तपाईको पदाधिकार रहेको कार्यालय सहायक पदबाट उक्त मिति देखि नै हटाइसकेको भन्ने पत्र ०४२।१०।२५ मा प्राप्त भयो ।
३. उक्त मितिका निर्णय पर्चाहरूको नक्कल पटक पटक माग गर्दा निर्णय पर्चाको नक्कल दिन मिल्दैन भन्ने जवाफ उक्त विपक्षी कार्यालयबाट पाइयो । मलाई सेवाबाट हटाउँदा पर्चा खडा गरिए तापनि उक्त पर्चामा अन्य व्यवहारिक कारण के पर्यो सोसमेत खुलाउन सकेको छैन । जस्ले गर्दा कर्मचारी सेवा शर्त नियमावली, २०२४ को परिच्छेद ७ को नियम ६(२) को प्रत्यक्ष उल्लंघन भएको छ ।
४. म निवेदकलाई हटाउँदा लगाइएको तथाकथित आरोप ऋण लगानी गर्दा किसानहरूबाट कमिशन खाने गरेकोले आफ्नो पदको जिम्मेवारी अनुसारको आचरण नगरेको भन्ने छ तर म निवेदकले कमिशन खाने इत्यादि गैरकानुनी काम गरेको छैन । विपक्षीहरूबाट प्रमाणित पनि भएको छैन ।
५. विपक्षी सञ्चालक समितिमा पुनरावेदन चढाएकोमा सञ्चालक समितिबाट म निवेदकको न्यायाचित जिकिर उपर कुनै विचारै नगरी हचुवा तवरबाट पुनरावेदन सहितको फाइल हेरी छानबीन गर्दा अध्यक्ष तथा महाप्रबन्धकले गरेको सजायँ मनासिब देखिएकोले सोही सदर गर्ने भनी ०४४।५।१९ मा निर्णय गरियो ।
६. पुनरावेदन सुन्ने निकायले न्याय निरोपण गर्नु भन्दा पहिले शुरु देखिकै विवादित तथ्य प्रमाण एवं कानुन व्याख्याको सिंहावलोकन गर्नु पर्दछ । तर प्रस्तुत केसमा त्यस्तो नभई कमिशन खाने गरेको भन्ने कुरा मन्त्रिपरिषद् सचिवालयको ०४२।१०।२० को पत्रको आधारमा मात्र कारवाई चलाई सेवाबाट हटाइएको भन्ने कुरा सुन्नमा आएको छ । मन्त्रिपरिषद् सचिवालयको मात्र आधारमा बिना कुनै ठोस आधार वास्तविक कुराको छानबीन नगरी सेवाबाट हटाउने जस्तो कठोर सजायँ गर्दा न्यायिक मनको प्रयोग नगरी हचुवा तवरले निर्णय पर्चा गरेको कानुनी त्रुटिपूर्ण छ ।
७. अतः विपक्षीहरूले म निवेदकलाई नोकरीबाट हटाउने गरी मिति २०४२।१०।२५ को पर्चा र सोलाई सदर गरेको सञ्चालक समितिको मिति ०४४।५।१९ को गैरकानुनी निर्णय एवं कृषि विकास बैंकको मिति ०४४।७।१० एवं ०४२।१०।२५ को पत्र समेत उत्प्रेषणको आदेशद्वारा बदर गरी म निवेदकलाई बहाल राख्नु भनी विपक्षीहरूका नाउँमा परमादेश लगायतका आदेश पुर्जी जारी गरिपाउँ भन्ने व्यहोराको कृष्णबहादुर देसारको रिटनिवेदन ।
८. यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो १५ दिनभित्र विपक्षी कार्यालयबाट लिखितजवाफ झिकाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत एक न्यायाधीशको इजलासबाट २०४४।९।२० मा भएको आदेश ।
९. विपक्षी यस बैंकको उपशाखा कार्यालय सिन्धुलीको का.मु. उपशाखा प्रबन्धकमा रही काम गर्नु हुँदा किसानहरूबाट कमिशन खाने र जनतामा निजको व्यवहारले ज्यादै असन्तोष फैलेको कारणबाट निजलाई सेवाबाट अवकाश दिने कार्यवाही १५ दिनभित्र सम्पन्न गर्नु भनी मन्त्रिपरिषद् सचिवालयबाट लेखी आएको भनी कृषि मन्त्रालयबाट मिति २०४२।१०।२२ को पत्रबाट यस बैंकलाई लेखी आएको र बुझ्दा सो बमोजिम गरे भएको ठहरिएकोले निजलाई सजायँ गर्न पाउने अधिकारी अध्यक्ष तथा महाप्रबन्धकले आफ्नो पदको जिम्मेवारी अनुसारको आचरण नगरेको ठहराई पर्चा खडा गरी निजको पदाधिकार रहेको कार्यालय सहायक पदबाट हटाइएको कृषि विकास बैंक कर्मचारी सेवा शर्त नियमावली, २०२४ को परिच्छेद ७ नियम ६(२) अनुसार कानुनसंगत भएको र निजले किसानहरूलाई ऋण दिँदा कमिशन खाने गरेको समेत बुझिएकोले बैंकमा राखी राख्दा बैंकको प्रतिष्ठामा नराम्रो भावना जाग्नुका साथै आँच आउने भएकोले निवेदकले आफ्नो पद अनुसार आचरण नगरेको प्रष्ट हुन आएकोले कर्मचारी सेवा शर्त नियमावली, २०२४ अनुसार सजायँ गरेको कानुन बमोजिम हुँदा निवेदन जिकिर खारेज गरिपाउँ भन्ने समेत व्यहोराको कृ.वि. बैंक मु.का. को लिखितजवाफ ।
१०. यसमा प्रस्तुत रिटनिवेदनको विषय वस्तुसंग सम्बन्धित विषय वस्तु समावेश भएको रिटनिवेदन (रि.फु.नं.६७) यस अदालतको पूर्ण इजलासको विचाराधीन रहेको देखिएकोले उक्त रि.फु.नं. ६७ को निर्णय भएपछि सोको प्रतिलिपि राखी नियम बमोजिम पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०४५।४।२६ को आदेश ।
११. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिटनिवेदनमा रिटनिवेदकको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त र विपक्षी कृषि विकास बैंक का तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री कोमलप्रकाश घिमिरेले गर्नु भएको बहस जिकिर समेत सुनियो ।
१२. प्रस्तुत रिटनिवेदकको माग बमोजिम आदेश जारी हुने नहुने के रहेछ उक्त विषयमा निर्णय दिनु पर्ने हुन आयो ।
१३. यसमा निर्णयतर्फ हेर्दा किसानहरूलाई ऋण लगानी गर्दा कमिशन खाने गरेको आफ्नो पदको जिम्मेवारी अनुसार आचरण नगरेको अभियोगमा भविष्यमा बैंकको नोकरीको निमित्त अयोग्य नठहरिने कृषि विकास बैंकका अध्यक्ष तथा महाप्रबन्धकले दिएको अवकाश माथि विपक्षी सञ्चालक समितिमा पुनरावेदन गर्दा अध्यक्ष तथा महाप्रबन्धकले गरेको निर्णय सदर गरेको हुँदा सफाईको मौकाबाट नै बन्चित गरी पर्चा खडा गरी हटाइएको तर कृ.वि.बैंक कर्मचारी सेवा नियमावलीमा कानुनी व्यवस्था भए बमोजिम पर्चामा कारण उल्लेख नगरी हटाइएको कानुन अनुरुप नहुँदा उक्त नोकरीबाट हटाउने निर्णय बदर गरी पुनः आफ्नो कार्यालय सहायक पदमा नियुक्ति गर्नु भनी विपक्षीका नाउँमा परमादेश जारी गरिपाउँ भन्ने निवेदन जिकिर भएको सो सम्बन्धमा भएको कानुनी व्यवस्था हेर्दा कृषि विकास बैंक नियमावली, ०२४ को नियम ६(२) मा कुनै कर्मचारीलाई विभागीय कारवाही गर्दा विभागीय सजायँको आदेश दिन पाउने अधिकारीको चित्तमा निजलाई सफाईको सबूद दिन मनासिब माफिकको मौका दिँदा अव्यवहारिक हुन्छ भन्ने लागेमा पर्चा खडा गरी त्यस्तो कर्मचारीलाई नोकरीबाट हटाउन बर्खास्त गर्न सक्ने छ तर त्यस पर्चामा सो पर्चा खडा गर्नाको मनासिब माफिकको कारण र कर्मचारी उपर लागेको आरोपको पुष्ट्याई पनि समावेश भएको हुनुपर्नेछ भन्ने उल्लेख भएको पाइन्छ । सोही नियम ६ को (झ) मा कुनै कर्मचारी बहाल रहेको पदको सेवा बैंकलाई आवश्यक नदेखिएमा र सो पद खारेज हुने भएमा सञ्चालक समितिले सो को कारण खुलाई त्यस्तो कर्मचारीलाई १ महिनाको तलब दिई अवकाश दिन सक्ने छ भन्ने उल्लेख छ । सोही नियमको नियम ८ मा सजायँ सम्बन्धी कार्यविधिमा सजायँ दिन पाउने अधिकारीले कुनै कर्मचारीलाई सजायँको आदेश दिनु भन्दा अघि कारवाही गर्न लागेको कारणको उल्लेख गरी सो कर्मचारीलाई सूचना दिई निजलाई आफ्नो सफाई पेश गर्न मौका दिनुपर्छ । यस्तो सूचना दिँदा निज माथि लगाइएको आरोप प्रष्ट रुपले किटिएको हुनुपर्छ र प्रत्येक आरोप कुन कुरा र कारणमा आधारित छ सो समेत खुलाउनु पर्छ भन्ने व्यवस्था भएको पाइन्छ । यसरी कर्मचारीलाई मनोमानी कारवाहीबाट बचाउ गरेको पाइन्छ । सजायँ गर्नु भन्दा अघि कारवाही गर्न लागिएको कारण उल्लेख गरी सो कर्मचारीलाई सूचना दिई निजलाई आफ्नो सफाई पेश गर्ने मौका नियम ८(१) ले बाध्यात्मक रुपमा दिएको पाइन्छ । कृषि विकास बंैक नियमावली, २०२४ को नियम ६(२) मा विभागीय सजायँ दिने अधिकारीको चित्तमा निजलाई सफाईको सबूद दिन मनासिब माफिकको मौका दिँदा अव्यवहारिक हुन्छ भन्ने लागेमा पर्चा खडा गरी नोकरीबाट हटाउन वा बर्खास्त गर्न सक्ने छ । यसरी विशेष अवस्थामा सफाईको सबूद पेश गर्ने अवसरबाट बन्चित गर्ने प्रयोजनको लागि उक्त नियम ६(२) बमोजिम पर्चा खडा गरी सजायँ गर्न सकिने देखिन्छ तर यसबाट उचित र पर्याप्त कारण बिना नै पर्चा खडा गरी सजायँ गर्न मिल्दैन कृषि विकास बैंक नियमावली, २०२४ को नियम ८(१) बमोजिम उचित र पर्याप्त कारण भएमा मात्र सजायँ गर्न सकिने हो । उक्त नियम ६(२) बमोजिम सजायँ गर्न सकिने पर्याप्त कारण भएपछि पनि उक्त नियमावलीको नियम ८(१)(२)(३) बमोजिमको सफाईको मौका दिनुपर्छ र यस्तो मौका दिँदा अव्यवहारिक देखिएमा मात्र पर्चा खडा गर्न सकिन्छ । कृषि विकास बैंकबाट मिति ०४२।१०।२४ मा खडा गरेको पर्चामा ऋण लिने किसानहरूबाट कमिशन खाने र निजको व्यवहारबाट त्यहाँका जनतामा ज्यादै असन्तोष फैलेको कारणले निजलाई सेवाबाट अवकाश दिनु भनी मन्त्रिपरिषद् सचिवालयबाट मिति २०४२।१०।२२ को पत्रबाट लेखिआएको र बुझ्दा पद अनुसारको आचरण नगर्ने भएको हुँदा बैंक कर्मचारी सेवा शर्त नियमावली, २०२४ अनुसार अवकाश दिएको छ भन्ने उल्लेख भएको पाइन्छ । उक्त कुरा सजायँ दिनु पर्ने सम्बन्धमा कर्मचारी सेवा शर्त नियमावली, २०२४ को नियम ८(३)(ग) बमोजिमको कारणको रुपमा खुलाएको देखिन्छ । यस सम्बन्धमा कृ.वि.बैंक कर्मचारी सेवा शर्त नियमावली, २०२४ परिच्छेद ७ को नियम ८(१)(३) को कार्यविधि पूरा गर्नु पर्छ की भन्नलाई पनि उपरोक्त कारणले गर्दा उपरोक्त नियममा व्यवस्थित कार्य गर्न मेरो चित्तमा अव्यवहारिक लागेकोले ऐ. ८(३)(ग) अनुसार यो पर्चा खडा गरी सोही परिच्छेदको नियम (१)(ङ) अनुसार अवकाश दिएको भन्ने देखिन्छ ।
१४. मौका दिँदा अव्यवहारिक हुने भन्नलाई खडा भएको पर्चामा स्पष्ट किटानसाथ अव्यवहारिक हुने कारणको उल्लेख हुनुपर्नेमा निवेदकको सम्बन्धमा खडा गरिएको पर्चामा सो किसिमले अभिव्यक्त भएको देखिन नआएकोले खडा भएको सो पर्चालाई कृषि विकास बैंक कर्मचारी सेवा शर्त नियमावली, २०२४ को नियम ६(१)(ङ) को प्रयोजनको लागि सो कानुन अनुकूल भएको भन्न मिलेन । निवेदक सामान्य प्रशासन मन्त्रालय वि.श्रीलाल झा रि.नं. ६८, ६९ मिति २०४५।१०।१८ फुलबेञ्चबाट भएको निर्णयमा सफाईको सबूद पेश गर्ने मौका दिँदा अव्यवहारिक भन्न खडा भएको पर्चामा स्पष्ट र किटानीसाथ अव्यवहारिक हुने कारणको उल्लेख हुनुपर्ने भनी सिद्धान्त प्रतिपादन भएको पाइन्छ । त्यस अनुरुप सजायँको आदेश दिनु अघि कारवाही गर्न लागेको कारणको उल्लेख गरी सफाईको मौका दिएको र सफाईको मौका दिन अव्यहारिक भन्ने कुरा प्रतिपादित सिद्धान्त अनुरुप अव्यवहारिक हुने कारण समेत उक्त पर्चामा प्रष्ट उल्लेख भएको नदेखिएकोले मिति २०४२।१०।१४ को कृषि विकास बैंकको पर्चा र मिति २०४४।७।१० को सञ्चालक समितिको निर्णय समेत कानुन अनुरुप नभई त्रुटिपूर्ण देखिन आयो । तसर्थ उक्त पत्र र निर्णयहरू उत्प्रेषणको आदेशद्वारा बदर गरिदिएको छ । निवेदकलाई साविक कार्यालय सहायक पदमा बहाल गर्नु भनी विपक्षी कृ.वि.बैंक के.का. का नाउँमा परमादेश समेत जारी हुने ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.प्रचण्डराज अनिल
इति सम्वत् २०४५ साल चैत्र २८ गते रोज २ शुभम् ।