शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३७०५ - बकसपत्र बदर

भाग: ३१ साल: २०४६ महिना: बैशाख अंक:

निर्णय नं. ३७०५    ने.का.प. २०४६      अङ्क १

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

सम्वत् २०४४ सालको दे.पु.नं. ५१९

फैसला भएको मिति :      २०४५।११।२२।१ मा

पुनरावेदक/वादी : झापा जिल्ला धाइजन गा.पं. वडा नं. १ बस्ने मदनकृष्ण प्रसाई

विरुद्ध

विपक्षी/प्रतिवादी : ऐ.ऐ. बस्ने जयन्त प्रसाईसमेत

मुद्दा : बकसपत्र बदर

(१)    आफूखुस गर्न पाउने बाहेक अरुमा अंशियारा वा हक पुग्नेको मन्जूरीको लिखत नलिई अथवा साक्षी नराखी बकस दिएको सदर नहुने ।

(प्रकरण नं. १५)

(२)   एकाघर भन्नाले एकासगोलको भन्ने बुझिने ।

(प्रकरण नं. १५)

(३)   उमेर पुगेका अंशियारा छोराको मन्जूरी लिई बकसपत्र दिएको नदेखिँदा र ३ अंशियार देखिँदा विवादको बकसपत्र लिखत मध्ये ३ भागको १ भाग लिखत र सो लिखतको आधारमा गराएको दर्ता बदर हुने ।

(प्रकरण नं. १५)

पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

विपक्षीतर्फबाट       : विद्वान अधिवक्ता श्री सिन्धुथान प्याकुरेल

फैसला

न्या.पृथ्वीबहादुर सिंह

१.     पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ ।

२.    विपक्षी मध्ये जयन्ता आमा, रमादेवी, दिदी पिता खड्गप्रसाद २००१ सालमा स्वर्गे हुनु भयो । छोरा २ मा जेठा गोपालकृष्ण र म फिरादी, गोपालकृष्ण र आमा अघि नै छुट्टी भिन्न भई गोपालकृष्णलाई अराष्ट्रिय मुद्दा परी वहाँको अंश श्री ५ को सरकारबाटै जफत भएकोमा म फिरादी र आमा जयन्ता एकाघर सगोलमा छौं । म समेतको अंश हक लाग्ने पैतृक सम्पत्ति केही आमाको नाउँमा र केही मेरो नाउँमा दर्ता भई भोगी आएको, आमा वृद्धावस्थाकी हुँदा गोपालकृष्ण र रमादेवीले आफ्नो फाइदा मेरो नोक्सान पार्न म घरमा नभएको मौका पारी पैतृक सम्पत्ति धुलावारी गा.पं. वडा नं. २ को कि.नं. १५२ को जग्गा विगाहा ४० मध्ये रु. ४०,०००।पर्ने रु. १२,०००।मोलिने भनी ०३४।९।१९ मा रमादेवीले जयन्ताबाट बकसपत्र गराई लिनु दिनु भएछ पास गरिपाउँ भनी मुद्दा परी झापा जिल्ला अदालतबाट पास हुने ठहरी ०३५।१२।१२ मा फैसला भएछ र ०३६।१०।९ मा पास गराई लिनु भएछ ०३७।३।४ मा नक्कल लिँदा थाहा पाएकोले उजूर गर्न आएको छु उक्त कि.नं. १५२ को जग्गा विगाहा ४० को बकसपत्र बदर गरिपाउँ भन्ने समेत व्यहोराको वादी दावी ।

३.    वादी र आमा ०१७ सालमा छुट्टी भिन्न हुनुभएको आमाको नाउँको जग्गा आमाले २०१९ सालमा ३ बहिनी छोरी जमुना देवी, पद्मा देवी ओली, रमादेवी वानियालाई ०१९ साल फाल्गुण ७ गते आमाका नाउँको जग्गा बकसपत्र गरिदिएकाले वादी दावी बमोजिम लिखत र दर्ता बदर हुने होइन फिराद दावा झूठ्ठा हो झूठ्ठा दावाबाट अलग फुर्सद गरिपाउँ भन्नेसमेत रमादेवी वानियाको प्रतिउत्तर जिकिर ।

४.    अंशबण्डाको १९ नं. ले अचलसम्पत्तिमा आधासम्म आफूखुस गर्न पाउनेमा सम्पूर्ण बकसपत्र बदर गरिपाउँ भन्ने वादी दावामा आधासम्म बकसपत्र लिखत र दर्ता बदर हुनेठहर्छ भन्नेसमेत शुरु झा.जि.अ.को फैसला ।

५.    आफूखुस गर्न पाउने जग्गा बकसपत्र गरिदिएकोले सो जग्गा मध्ये आधा जग्गाको लिखत र दर्ता बदर हुने ठहर्‍याएको झापा जिल्ला अदालतको फैसला उपर चित्त बुझेन बकसपत्र लिखत सदर हने न्याय गरिपाउँ भन्ने समेत प्र. रमादेवीको पुनरावेदनपत्र ।

६.    विवादास्पद लिखत मध्ये ३ भागको १ भाग लिखत र सो बाट गराएको दर्ता बदर हुने ठहर्छ शुरु झापा जि.अ.ले केही गल्ती इन्साफ गरेकोसमेत ठहर्छ भन्ने समेत मेची अञ्चल अदालतको फैसला ।

७.    ३ भागको १ भाग बदर हुने ठहर गरेको मेची अञ्चल अदालतको फैसला उपर मेरो चित्त बुझेन उक्त फैसला उपर पुनरावेदनको अनुमति पाउँ भन्ने समेत जयन्तादेवी, रमादेवीको  निवेदनपत्र ।

८.    मेची अञ्चल अदालतको फैसला प्रत्यक्ष विवाद रहित त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने ०४२।२।३०।४ को पूर्वाञ्चल क्षेत्रीय अदालत सिंगलबेञ्चको आदेश ।

९.    मेची अञ्चल अदालतको फैसलाले ३ खण्डको १ खण्ड बदर गरिदिने गरी गरेको फैसला उपर मेरो चित्त बुझेन वादी दावी बमोजिम लिखत दर्ता बदर हुनुपर्ने हो उक्त फैसला उपर पुनरावेदनको अनुमति पाउँ भन्ने समेत मदनकृष्ण प्रसाईको निवेदनपत्र ।

१०.    मेची अञ्चल अदालतको फैसला त्रुटिपूर्ण हुँदा पुनरावेदनको लागि अनुमति प्रदान गरिएको छ भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालत सिंगलबेञ्चको आदेश ।

११.    सगोलमा नरही छुट्टा छुट्टै अंशबाट हक हुन आएको जग्गामा दान बकसको १ नं. अनुसार पुनरावेदक प्रतिवादी जयन्तादेवीले दान बकस गरिदिन गरिपाउने नै देखिँदा ०३६।१०।९ को बकसपत्र लिखत बदर गरिपाउँ भन्ने पुनरावेदक फिरादी मदनकृष्ण प्रसाईको फिराद दावी पुग्न सक्तैन झापा जिल्ला अदालत र मेची अञ्चल अदालत दुबैको फैसला गल्ती देखिँदा बदर हुन्छ पुनरावेदक मदनकृष्ण प्रसाईको पुनरावेदन जिकिर पुग्न सक्तैन भन्ने समेत व्यहोराको पूर्वाञ्चल क्षेत्रीय अदालतको ०४३।११।२० को फैसला ।

१२.   पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त बुझेन सो फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत व्यहोराको मदनकृष्ण प्रसाईको यस अदालतमा पर्न आएको निवेदनपत्र।

१३.   पूर्वाञ्चल क्षे.अ.को फैसलामा प्रमाण ऐन, २०३१ को दफा ५४ को व्याख्यात्मक त्रुटि भएको देखिँदा न्याय प्र.सु. ऐन, २०३१ को दफा १३(५)(ख) को अवस्था विद्यमान हुँदा पुनरावेदनको लागि अनुमति दिइएको छ भन्ने समेत यस अदालत संयुक्त इजलासको ०४४।३।१५ को आदेश ।

१३.   यसमा पू.वे. वादी जयन्ता प्रसाई विपक्षी मदनकृष्ण प्रसाई समेत भएको ०३७ सालको पू.नं. १०७।४४ को जालसाज मुद्दाको मिसिल, निवेदक रमादेवी वानिया विरुद्ध भूमिसुधार कार्यालय झापा भएको उत्प्रेषण सम्बन्धी मिसिल र निवेदक जयन्ता प्रसाई विरुद्ध भू.सु. अधिकारी समेत भएको उत्प्रेषणको मिसिलहरू साथै पेश भएको रहेछ ।

१४.   यसमा नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश भई आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा पुनरावेदक वा. प्रेमबहादुर के.सी. प्र.वा. विश्वनाथ पोखरेललाई रोहवरमा राखी पुनरावेदक तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले २०३३ सालको वारेसनामा एकासगोलमा भएको छ, ०३४ सालमा बकसपत्र दिएको छ छुट्टि भिन्न भएको भन्ने देखिएको छैन सर्वोच्च अदालतका २ फैसला र मेची अञ्चल अदालतको फैसलाबाट एकासगोलमा देखिएको छ, फ्नो अंश हकको अचलमा आधा सम्म कसैको मन्जूरी नभएको पनि आफूखुश गर्न पाउने र सबै दिँदा मन्जूरी लिनु पर्ने सगोलका उमेर पुगेका छोराको मन्जूरी लिएको छैन सगोलमा भन्ने निर्विवाद छ अतः विपक्षीहरूले दिएको बकसपत्रको ३ खण्डको १ खण्ड सम्म बदर गर्नुपर्ने हुँदा मेची अञ्चल अदालतको फैसला सदर कायम गरिपाउँ भन्ने र विपक्षी जयन्ता प्रसाईको तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेलले आमा जयन्तादेवी र दुई दाजु भाइ गोपालकृष्ण र मदनकृष्णका बीच ०१७।२।३ मा बण्डापत्र पारित भइसकेको छ । मदनकृष्णले म आमासँग छु गोपालकृष्ण मात्र भिन्न भएको हो भन्ने कुरा गलत हो, श्री ५ को सरकारबाट गोपालकृष्णको सम्पत्ति जफत भएकोले छुट्टिएको हो २०२०।११।१ मा जयन्ताप्रसाईले वादी मदनकृष्णको छोरा मुकुलप्रसाद प्रसाई संग ७ हजार लिएर जग्गा पारित गरिदिनु भएको छ, यी वादी प्रतिवादीका बीचमा अंश मुद्दा चली यो लिखतको वैधतामा लोप आएको छैन, यदि जयन्तादेवी प्रसाई र मदनकृष्ण सगोलमा भएको भए वादीको छोरालाई जग्गा बिक्री गर्नुपर्ने कुनै औचित्य  थिएन । जयन्ताको नाममा अहिले पनि २०।२२ विगाहा जति जग्गा रहेको देखिन्छ । केवल ४ विगाहा मात्र जग्गा दिनु भएको हुँदा अंश बण्डा नभएको भए पनि आफ्नो हकाधिकार भित्रैको दिएको हुँदा यो बकसपत्र बदर हुनुपर्ने होइन सदरै कायम राखिपाउँ भन्ने समेतको बहस सुनियो । अब प्रस्तुत मुद्दामा पूर्वाञ्चल क्षे.अदालतको इन्साफ मनासिब बेमनासिब के रहेछ सो कुराको निर्णय दिनुपर्ने भएको छ ।

१५.   निर्णयतर्फ विचार गर्दा म सगोलको अंशियार छोराको मन्जूरी नलिई झापा जिल्ला धुलावारी गा.पं. वडा नं. २ को कि.नं. १५२ को पैतृक सम्पत्ति जग्गा विगाहा ४० मिति ०३६।१०।९ मा विपक्षी आमाले दिने विपक्षी रमादेवीले लिने गरी गरेको बकसपत्र बदर गरिपाउँ भन्ने समेत वादी दावी, आमा र विपक्षी समेत भिन्न हुँदा आमाका भागमा परेको जग्गा आमाले बकस दिएकोले सो कुरा दान बकसको १ नं. को प्रतिकूल नहुने र ०१७ सालमै हाम्रो बण्डापत्र भएकोले मेरो हक पुग्ने सम्पत्ति दिँदा विपक्षीले बदर गराउन नपाउने हुन् भन्ने समेत प्रतिउत्तर भई चलेको प्रस्तुत मुद्दामा उक्त लिखत बदर हुनुपर्ने हो होइन, बदर हुनुपर्ने हो भने के कति लिखत बदर हुनुपर्ने हो भन्ने सम्बन्धमा हेर्दा यी पुनरावेदक वादी मदनकृष्ण प्रसाई र प्रत्यर्थी प्रतिवादी जयन्तादेवीको बीचमा बण्डापत्र भएको भन्ने सबूद प्रत्यर्थी प्रतिवादीले गुजार्न सकेको देखिँदैन मु. ऐ. स्त्री अंश धनको २ नं. मा सधवा वा विधवाले उमेर पुगेका छोराहरू भए छोराहरूको मन्जूरी लिई अचल पनि आफ्नो खुस गर्न पाउँछन् भन्ने समेत कानुनी व्यवस्था भएको पाइन्छ तर जयन्ताप्रसाईले छोरा मदनकृष्ण समेतको मन्जूरी लिएको देखिँदैन । आफ्नो खुस गर्न आफू खुस गर्न पाउने बाहेक अरुमा अंशियार वा हक पुग्नेको मन्जूरीको लिखत नलिई अथवा साक्षी नराखी बकस दिएको सदर नहुने र प्र. जयन्ताले वादी मदनकृष्णलाई ०३३ सालमा गरिदिएको वारेसनामामा एकाघरको छोरा भन्ने उल्लेख भएको, एकाघर भन्नाले एकासगोलको भन्ने बुझिने र प्रमाण ऐन, ०३१ को दफा ६ ले एकाघर सगोलको अंशियारा मध्ये जुनसुकै अंशियारका नाउँमा रहेको सम्पत्ति सगोलको सम्पत्ति भनी अदालतले अनुमान गर्नेछ भन्ने उल्लेख गरेको र वादी मदनकृष्ण र प्रतिवादी जयन्ताका नाउँमा अलग अलग दर्ता रहेको कारणबाट मात्र छुट्टी भिन्न भइसकेको भन्न मिल्दैन यीनै प्रतिवादी जयन्ता प्रसाई र भू.सु.का.समेत भएको उत्प्रेषणको रिटनिवेदनमा समेत जयन्ता प्रसाईको एकासगोलको छोरा मदनकृष्ण प्रसाई भन्ने उल्लेख भएको साथै यिनै वादी प्रतिवादी भई चलेको जालसाज मुद्दामा मेची अञ्चल अदालतबाट वादी मदनकृष्ण्लाई सगोलकै कायम गरेको समेतबाट एकासगोलको भन्ने निर्विवाद देखिन आएकोले प्रतिवादी जयन्तादेवीले २०३४ साल पौष १९ गते रमादेवीलाई गरिदिएको बकसपत्र लिखतको जग्गा वादी मदनकृष्ण समेतको सगोलको देखिन आयो । अतः यी प्रतिवादी विधवा जयन्तादेवीले उमेर पुगेका अंशियारा छोरा मदनकृष्ण समेतको मन्जूरी लिई बकसपत्र गरेको दिएको नदेखिँदा र जयन्तादेवी गोपालकृष्ण र मदनकृष्ण ३ अंशियारा देखिँदा विवादको बकसपत्र लिखत मध्ये ३ भागको १ भाग लिखत र सो लिखतको आधारमा रमादेवीका नाउँमा गराएको दर्ता समेत बदर हुने ठहर्‍याएको मेची अञ्चल अदालतको फैसला मनासिब ठहर्छ । पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उल्टी हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।

तपसील

माथि इन्साफ खण्डमा उल्लेख भए बमोजिम पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला बदर  भई ३ भागको १ भाग बकसपत्र लिखत बदर र सो लिखतको आधारमा भएको दर्ता समेत बदर हुने ठहरेकोले हक लाग्ने जति दर्ताको लगत कट्टा गरिपाउँ ऐनका म्यादभित्र वादीको दर्खास्त परे ३ भागको १ भागको दर्ताको लगत कट्टा गरिदिनु भनी सम्बन्धित मालपोत कार्यालयमा लेखि पठाउनु भनी झापा जि.अ. लाई लेखी पठाउन का.जि.अ. मार्फत पठाई दिनु ..... १ वादी मदनकृष्ण प्रसाईके माथि इन्साफ खण्डमा उल्लेख भए बमोजिम ठहरेकाले फिराद दायर गर्दा राखेको कोर्टफी रु. २०।मध्ये ३ भागको १ भाग लिखत बदर हुने ठहरेकाले रु. ६।६७ भराई पाउने हुँदा प्र. मध्ये जयन्ता प्रसाईले पुनरावेदन दर्ता गर्दा ०३९।५।३१ गते झापा जिल्ला अदालतमा धरौटी राखेकोे देखिँदा सो धरौटीबाट कोर्टफी रु. ७।६७ भराई पाउँ भनी ऐनको म्यादभित्र वादीको दर्खास्त परे केही दस्तूर नलिई भराई दिने र बाँकी १३।३३ फिर्ता पाउँ भनी जयन्ताको ऐनका म्यादभित्र दर्खास्त परे भराई दिनु ....२ माथि उल्लेख भए बमोजिम ठहरेकाले पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति ०४३।११।२० को फैसलाले राख्ने गरेको लगत कट्टा गरिदिनु भनी झापा जि.अ. मा लेखी पठाउन का.जि.अ.त. शाखामा लगत दिनु ......३ सरोकारवालाले नक्कल मागे नियमानुसार गरिदिनु ....४ मिसिल नियमानुसार गरी पठाई दिनु ५

 

उक्त रायमा म सहमत छु ।

 

न्या.रुद्रबहादुर सिंह

 

इति सम्वत् २०४५ साल फाल्गुण २२ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु